`

लयमा फर्कँदै शिक्षा मन्त्रालय ,सरसफाइ र व्यवस्थापकीय काम हुँदै

काठमाडौँ, २९ भदौः मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधि तथा जारी गरिएका कफ्र्युका एकाएक बन्द हुन पुगेका विद्यालयहरु आजदेखि क्रमशः खुल्न थालेका छन् ।

शिक्षा क्षेत्रमा नीतिगत नेतृत्व गर्दै शिक्षा मन्त्रालयले तत्कालका लागि केशर महलबाट अत्यावश्यक काम कारवाही सञ्चालनमा ल्याइने तयारी गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भवनमा आगलागी र तोडफोडबाट भएको क्षतिको प्रारम्भिक आँकलन गर्न आन्तरिकरुपमा कार्यदल बनाइएको छ । मन्त्रालयमा सरसफाइ एवं अन्य व्यवस्थापकीय कामहरु भइरहेको छ ।

मन्त्रालयको परिसरमा जलाइएका विभिन्न सवारी साधन भने क्षतिको आकलन र सवारी धनीको पहिचनपछि मात्रै हटाउन मिल्ने भएकाले कार्यालय परिसर अस्तव्यस्त हुन पुगेको छ ।

सोही मन्त्रालयको भुँइ तलामा रहेका राष्ट्रिय सतर्कता केन्द्रको कार्यालय पनि प्रभावित भएको छ । जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधिका कारण सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालयहरु ध्वस्त भएका छन् । मुलुकको विषम परिस्थितिका कारण आगामी असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसलाई पनि कुन रुपमा मनाउने भन्ने अन्योल देखिएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरबारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यश्यक कामहरु सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि पूर्ववत्रुपमा सिंहदरबारबाट काम सुरु गरिने जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालय र केशरमहलको लामो परिचय जोडिएको छ । विगतमा त्यहाँ रहेको मन्त्रालय सिंहदरबारमा सारिएको थियो भने त्यसपछि पनि मन्त्रालयको छात्रवृत्ति शाखा त्यहीबाट सञ्चालित थियो । हाल उक्त शाखा भक्तपुर सानोठिमी लगिएको छ । केशरमहलमा विसं २०२६ देखि केशर पुस्तकालय रहेको छ । विगतमा मन्त्रालय रहेको केशरमहलको भवन हाल पुनः निर्माण भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता सापकोटाले आन्दोलन र कफ्र्युका कारण अवरुद्ध भएको विद्यालयहरुको पठनपाठन स्थानीय तहको समन्वयमा क्रमशः आजदेखि खोल्न थालिएको जानकारी दिनुभयो । देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गरी सञ्चालन गर्न मन्त्रालयले स्थानीय तह र विद्यालयहरुलाई आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले विद्यालयमा कुनै क्षति भए–नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न पनि अनुरोध गरेको थियो ।

विद्यालयहरुले मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न पनि स्थानीय तहरुको आग्रह रहेको छ ।

खल्लो भयो राष्ट्रिय बाल दिवस
देशमा पछिल्ला दिनमा सिर्जित विषम परिस्थितिका कारण आजको राष्ट्रिय बाल दिवस, २०८२ खल्लो हुन पुगेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ नाराका साथ ६१औँ राष्ट्रिय बाल दिवस मनाउन अपिल गरे पनि दिवस निष्प्रभावी भएको छ ।

जेनजीले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएको विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर पर्न गएको अवस्थामा उल्लासपूर्णरुपमा दिवस मनाउन सकिने अवस्था भएन । प्रदर्शनमा प्रहरीको दमनबाट भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनुका साथै विभिन्न हिंसा बलात्कार, ज्यान मार्ने, सहकारी ठगी र मानव बेचबिखनका कार्यमा संलग्न भई अपराधको सजाय भोेगिरहेका १३ हजार व्यक्तिहरु जेलबाट बाहिर निस्कनु जस्ता घटनाबाट बालअधिकारसँग सम्बन्धित निकाय र संस्थाहरु चिन्तित देखिएका छन् । ती संस्थाहरुले बालबालिकामा परेको मनोसामाजिक प्रभावबारे प्रारम्भिक अध्ययन पनि गर्न थालेका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले अहिलेको विषम परिस्थितिमा बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “बालबालिका भविष्यका कर्णधार हुन्, जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउनुपर्ने उनीहरुको अधिकार हो । पछिल्ला विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोशाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

यस दुःखद् अवस्थामा बाल दिवसका अवसरमा कुनै उत्सवका कार्यक्रम नराखिएको उहाँको भनाइ छ । यस दिनलाई हिंसा, द्वन्द्व, दुर्व्यवहार र विपद्मा परी ज्यान गुमाएका बालबालिकाको सम्झानमा आज सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्ज्वलन कार्यक्रम राखेर स्मरण गर्ने उहाँले बताउनुभयो ।

“वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था भएकाले समस्यालाई समाधान गर्न हामीले सहजीकरण गर्नुपरेको छ”, उहाँले भन्नुभयो । अधिकारकर्मीहरुले बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत रक्षा गर्नुपर्ने दायित्व रहेकामा जोड दिएका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार उलंघनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवा १०९८ बाट सूचना संकलन गरी आवश्यक सहजीकरण गर्दै आएको छ ।

सामान्य प्रशासन र खेलकूद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज

काठमाडौँ, २९ भदौः ‘जेनजी’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयमा कम क्षति भएको पाइएको छ ।

सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयको भूँइतल्लामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन ।

सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छभने आजदेखि अधिकांश कर्मचारी कार्यालयमा उपस्थित भएका छन् । “क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । नियमित रूपमा कार्यसञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण सङ्कलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले जानकारी दिनुभयो । सबै स्थानीय तहलाई सेवा प्रवाहमा वैकल्पिक व्यवस्था गर्न र क्षतिको विवरण जानकारी गराउन भनिएको उहाँले बताउनुभयो ।

“प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ । अन्य विवरण सङ्कलन भइरहेको छ । मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ । यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए”, सहसचिव पराजुलीले भन्नुभयो ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ । सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनका कारण युवा तथा खेलकूद मन्त्रालयमा पनि छिटफुटबाहेक धेरै क्षति भएको छैन । यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ । सहसचिव सुवास शिवाकोटीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताउनुभयो ।

यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा चार वटामा क्षति भएको छैन । मन्त्री आवासस्थल भँैसेपाटीमा मन्त्री चढ्ने दुई वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन् ।

“मन्त्रालय भवनका एकाध सिसा भने फुटेका छन् । परिसरमा अन्य क्षति भएको छैन । त्यसैले यथाअवस्थामा कार्यालय सञ्चालनमा कुनै समस्या देखिएको छैन”, उहाँले भन्नुभयो,“मातहतका कार्यालयमा पनि ठूलो क्षति भएको छैन । कामको प्रारम्भ गरिसकेका छौँ । सरसफाई एवम् मुचुल्काको काम पनि भइरहेको छ । सवारीसाधनको क्षतिका सन्दर्भमा बीमा दाबीलगायत विषयमा प्रारम्भिक विवरण तयारी भइरहेको छ ।”

मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र सचिवको कार्यकक्षको सिसा फुटेको छ । केही झ्यालको पर्दा जलेको छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ । मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ ।

मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव शिवाकोटीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध

काठमाडौं । जेनजी पुस्ताले उठाएका मागहरूप्रति नेकपा (माओवादी केन्द्र)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू घुसेको भन्दै कडा विरोध जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्य र छविमा धक्का पु¥याउने गरी भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनभित्र घुसेका प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरूले जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ ।’

उनले पार्टीका कार्यालयहरू, अध्यक्ष प्रचण्डसहित नेताहरूको निजी सम्पत्तिमा आक्रमण भएकोप्रति चिन्ता व्यक्त गर्दै दोषी पहिचान भए कडा कारबाही गर्न तयार रहेको स्पष्ट पारे । ‘यदि यस्ता गतिविधिमा हाम्रो पार्टीका कसैको संलग्नता देखिएमा कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, सापकोटाले माओवादी कार्यकर्ताको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर पार्ने प्रयासप्रति आम जनसमुदायलाई सचेत रहन हामी हार्दिक अपिल गर्दछौं,’ सापकोटाले भने।विज्ञप्तिमा सरकारलाई पनि यस्ता घटनामा संलग्नमाथि प्रमाणका आधारमा कडा कारबाही गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

काठमाडौँ, २९ भदौ : नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटीलगायतबाट पौने छ करोड आम्दानी गर्यो

गण्डकी, २९ भदौः जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

उहाँका अनुसार प्राकृतिक स्रोतको स्थानीय उपयोगबाट आव २०८०/८१ मा रु तीन करोड ९० लाख सङ्कलन भएको थियो । सोको तुलनामा पछिल्लो वर्ष झण्डै रु दुई करोडले आम्दानी बढेको उहाँले बताउनुभयो । “जडीबुटी, काठदाउरा, ढुङ्गा गिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गर्छन्”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन् ।”

अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ । ‘एक्याप’ले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ ।

‘एक्याप’ले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । ‘एक्याप’भित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।

विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क उठेको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् ।

ताप्लेजुङका किसान बँदेलबाट पीडित,चार मुरी अन्नबाली एकै रातमा सखाप

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौः सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ ।

स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ ।

मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु ?” उहाँले गुनासो पोख्नुभयो । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ ।

निरन्तर क्षतिका कारण केही किसान बासाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन ।

सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिनुभयो । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताउनुभयो ।

झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा

झापा, २९ भदौ : जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताउनुभएको हो ।

“आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उहाँले भन्नुभयो, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।”

यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन् ।

मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले विद्यालय खोल्ने सम्बन्धमा आज बैठक बस्ने जानकारी दिनुभयो । “प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय हुनेछ”, मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लामा जेनजी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ । अन्य घाइतेको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । जेनजी आन्दोलन सुरु भएको भोलिपल्टदेखि सुरु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको थियो । जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका सहरमा बजार खुल्न थालिसकेको छ ।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोड्ने भएका छन् । उनले पुरानो पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा पनि गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताउका हुन् । उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका बताउका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न ।

अब आजबाट म अलग अभियानमा छु । मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु । म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजै देखि म पार्टी निर्माणमा लाग्ने छु ।’

माओवादीका नेता किरातीले भने-पार्टीभित्रको सीमा र दायरा भत्काउँदै प्रश्न गरौं र उत्तर खोजौं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्,’ पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ । समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको रु स्पष्ट बनौँ ।’

ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भन्नुभएको छ, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार छु र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुनेछ।”

ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै भन्नुभयो, “नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम छ र केहीले रुसी तेल खरिद गर्नु आश्चर्यजनक छ । यसले तपाईंको वार्ताको स्थिति र रूसमाथि मोलतोल गर्ने शक्तिलाई धेरै कमजोर बनाउँछ।”

उहाँले आफ्नो तत्परतामा जोड दिँदै भन्नुभयो, “म तपाईँसँगै अघि बढ्न तयार छु, तपाईंहरूको साथ अवश्यक छ। क्हिले गर्ने निर्णय दिनुहोस्।”

नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गर्नुभएको छ । ट्रम्पले लेख्नुभएको छ, “मलाई विश्वास छ कि रुस र युक्रेनसँगको युद्ध समाप्त भएपछि चीनमाथि ५० देखि १०० प्रतिशतसम्म करवृद्धि गर्ने नेटोले पनि यो घातक तर हाँस्यास्पद युद्ध अन्त्य गर्न ठूलो सहयोग गर्नेछ ।”

उहाँले थप्नुभयो, “रुसमाथि चीनको बलियो नियन्त्रण छ र पकड पनि छ र यो शक्तिशाली करले त्यो पकड तोड्नेछ।”

ट्रम्पले गत हप्ता सात हजार ११८ जनाले जीवन गुमाएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आलोचना गर्नुभयो । उहाँले भन्नुभयोे, “यो ट्रम्पको युद्ध होइन ।

यदि युद्ध शुरू हुँदा म राष्ट्रपति भएको भए यो सुरु हुने नै थिएन । यो बाइडेन र जेलेन्स्कीको युद्ध हो । मैले यहाँ यसलाई रोक्न मद्दत गर्न र हजारौँ रूसी र युक्रेनी जीवन बचाउन मात्र सक्छु। गत हप्ता मात्र सात हजार ११८ जनाले जीवन गुमाएका छन्।”

उहाँले भन्नुभयो, “यदि नेटोले उहाँको प्रस्तावलाई पछ्यायो भने युद्ध चाँडै अन्त्य हुने र ज्यान जोगाउने ट्रम्पको विश्वास छ । “यदि नेटोले मैले भनेजस्तै काम गर्यो भने, युद्ध चाँडै समाप्त हुनेछ, र ती सबैको जीवन बचाउनेछ! होईन भने, तपाईं केवल मेरो समय, र संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र पैसा बर्बाद गर्दै हुनुहुन्छ।”

यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।

शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशालाई सङ्केत गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती देखिएको र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिनुभएको थियो।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप पनि ट्रम्पले लगाउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहितका विश्व नेताहरू सहभागी भएकोसेप्टेम्बर ३ मा भएको चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडपछि यो आरोप लगाइएको हो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वर्षगाँठको अवसरमा चीनले सेप्टेम्बर ३ मा विशाल सैन्य परेड आयोजना गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएपनि ट्रम्पले चिनियाँ नेतृत्वसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताउनुभएको थियो।

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

गण्डकी, २९ भदौः जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ ।

फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुुभयो ।

सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उहाँले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताउनुुभयो ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ ।

केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुुभयो ।

जापानका पूर्व आर्थिक सुरक्षा मन्त्री ताकाइचीले एलडीपी अध्यक्षको दौडमा सहभागी हुने

जापानका पूर्व आर्थिक सुरक्षा मन्त्री साने ताकाइची जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नयाँ प्रधानमन्त्रीको लागि प्रमुख दाबेदार बन्नुभएको छ ।

क्योडो न्यूजले शुक्रबार जारी गरेको दुई दिने राष्ट्रव्यापी टेलिफोन सर्वेक्षणमा २८ प्रतिशत उत्तरदाताले ताकाइची एलडीपीको नेतृत्व गर्न सबैभन्दा उपयुक्त उम्मेदवार भएको बताएका छन् भने कृषि मन्त्री शिन्जिरो कोइजुमीले २२.५ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

इशिबाको राजीनामाको बाबजुद ठूलो बहुमत अर्थात् ७६.४ प्रतिशतले उहाँको बहिर्गमनले एलडीपीलाई जनताको विश्वास पुनः प्राप्त गर्न मद्दत गर्ने विश्वास नगरेको बताएका छन् ।

यद्यपि, उहाँको मन्त्री परिषद्मा समर्थन अघिल्लो हप्ताको तुलनामा १.८ अङ्कले बढेर ३४.५ प्रतिशत पुगेको छ । मन्त्रीपरिषद्लाई अस्वीकृत गर्नेको अवस्था ५१.४ प्रतिशतमा झरेको छ ।

एलडिपीको नेतृत्वका लागि जापानको मन्त्री परिषद्का मुख्यमन्त्री योशिमासा हायाशीलाई ११.४ प्रतिशत, पूर्व विदेशमन्त्री तोशिमित्सु मोटेगीलाई ६.१ प्रतिशत र पूर्व आर्थिक सुरक्षामन्त्री ताकायुकी कोबायासीलाई ३.६ प्रतिशत मत प्राप्त भएको छ ।

इशिबाले एलडीपीको अध्यक्षको रूपमा पद छोड्ने निर्णय गरेको एक दिन पछि मोटेगी र हायाशीले उहाँको उत्तराधिकारी बन्ने दौडमा आफूहरूलाई समावेश गरेका हुन् ।

कुनै पनि उम्मेदवारले प्रारम्भिक चरणको मतदानमा स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना छैन र यसले प्रतिस्पर्धाको सम्भावना उच्च बनाउने परिणामले सङ्केत गर्दछ ।

पहिलो चरणमा ‘एलडीपी डाइट’का सदस्यहरूबाट २९५ मत र ग्रासरुट पार्टीका सदस्यहरूले खसालेको मतपत्रको आधारमा थप २९५ मत छुट्याइएको छ, क्योडो न्यूजले एलडिपी सदस्यहरूलाई उद्धृत गर्दै जनाएको छ ।

यसैबीच, एलडिपी समर्थकहरूबीच कोइजुमी मनपर्ने उम्मेदवार हुनुहुन्छ र उहाँलाई ३६ प्रतिशतले पार्टीको नेतृत्व गर्न सबैभन्दा उपयुक्त उम्मेदवारका रूपमा छनौट गरेका छन्, पार्टीमा ताकाइचीलाई १५.७ प्रतिशत र हायाशीले १४.९ प्रतिशत मत प्राप्त भएको छ ।

उम्मेदवारहरूको आधिकारिक सूची सेप्टेम्बर २२ मा अन्तिम रूप दिइनेछ, जसले अभियान अवधिको सुरुवातलाई चिह्नित गर्दछ।

इशिबाको राजीनामापछि सन् २०२७ मा नेतृत्वको प्रतिस्पर्धा दलको मूल तालिकाबाट अघि सारिएको हो । उहाँले राजिनामाको घोषणा जुलाई २० को चुनावमा हाउस अफ काउन्सिलरहरूको नियन्त्रण कायम गर्न पार्टीको असफलताको जवाफमा भएको बताउनुभएको छ ।

सन् २०२४ अक्टोबरमा इशिबाले पदभार ग्रहण गरेको केही समयपछि आम चुनावपछि एलडिपी र उसको गठबन्धन साझेदार कोमेइतोले पहिले नै अधिक शक्तिशाली प्रतिनिधि सभामा आफ्नो बहुमत गुमाइसकेका थिए।

हाल अल्पमतको सरकारको नेतृत्व गरिरहेको एलडिपीलाई विधेयक पारित गर्न विपक्षी दलहरूको समर्थन आवश्यक छ। नेतृत्वको दौडको विजेतालाई प्रधानमन्त्री पदको ग्यारेन्टी गरिने छैन, जसका लागि संसद्मा बहुमतको आवश्यकता पर्दछ।

यदि ताकाइचीले बहुमत प्राप्त गर्न सफल भएमा उहाँ देशको पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ ।

अफगानिस्तानी भूकम्प पीडितको सहयोगार्थ युएईले दुई हजार ५०० टन सहयोग पठायो

युएईको सहायता जहाज अफगानिस्तानमा हालै गएको भूकम्पपछि अफगानिस्तानका जनतालाई सहयोग गर्न पाकिस्तानको ग्वादर बन्दरगाहतर्फ प्रस्थान गरेको छ।

राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा जहाजले दुई हजार ५०० टन खाना, आश्रय र चिकित्सा सामग्रीहरू बोकेर अफगानिस्तानतर्फ गएको हो।

यो देशको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि अफगानी जनतालाई सहयोग गर्न युएईको राहत सहयोगको एक भागको रूपमा आएको हो।

जहाज युएई सहायता निकायको सहयोगमा युएईमा धेरै परोपकारी र मानवीय सङ्गठन र संस्थाहरूको सहभागितामा तयार गरिएको थियो र यसले राष्ट्रिय ऐक्यबद्धताको भावना र अफगानिस्तानलाई तत्काल राहत सहयोग प्रदान गर्न विभिन्न संस्थाहरू बीचको प्रयासको एकीकरणलाई प्रतिबिम्बित गरेको युएईका अधिकारीहरूले बताएका छन् ।

सहयोगले मित्रवत अफगान जनताका लागि तत्काल मानवीय प्रतिक्रियालाई सुदृढ पार्न, उनीहरूलाई यी असाधारण परिस्थितिहरूको परिणामबाट पार लगाउन र उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न काम गर्न युएईको उत्सुकताको पुष्टि गरेको छ।

यो मानवीय सहयोगले युएईले अपनाएको महान मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता बढाउने, मानवीय सङ्कटबाट प्रभावितहरूलाई सहायता र सहायता प्रदान गर्ने र विश्वभरका राहत प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्ने हो ।

काभ्रेमा ‘जेनजी’ आन्दोलनमा निजी संरचनामा गरिएको क्षतिको विवरण सङ्कलन गरिँदै

काभ्रेपलाञ्चोक, २९ भदौः ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।

कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउनेछन् भने तथा व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुने बताउनुभयो । उहाँका अनुसार करिब एक हप्तामा जिल्लाका सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्नेछ ।

कार्यालयको प्रारम्भिक विवरणअनुसार विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको हो । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा क्षति पुर्याइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ । प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । त्यसैगरी, नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरी आगजनी हुँदा क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । ती कार्यालयमासमेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी र एक हेलिकप्टरमासमेत आगजनी गरेका थिए ।

धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । दुई सय ८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,विद्यालय आजदेखि सञ्चालनमा

चितवन, २९ भदौः जेनजी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए ।

शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था तथा लामो एवं छोटो दूरीका सवारीसाधान सञ्चालन गर्न भनिएको छ ।

आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा सोहीबमोजिमको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र एवं विनयशील रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ । तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने तथा कार्यालयका कर्मचारी सम्भव नहुने प्रकृतिका सरसफाइ कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

कार्यालय प्रमुखहरूको बैठकले सो निर्णय गरेको अर्यालद्धारा जारी सूचनामा जनाइएको छ । तोडफोड तथा आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्नसमेत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।

आज मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्री छनौट भोटिङबाट गरिने

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडौँ, २९ भदौ -हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।

अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्नु भनेको छ।

यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न महानगरले आग्रह गरेको छ।

काभा महिला भलिबल लिग २०२५ स्थगित

काठमाडौं। काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।
तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो ।

जितियाको निराहार व्रत आज

महोत्तरी, २९ भदौः सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।

यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।

पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् । योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्यँुताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।”

उहाँले अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित भएको कुरा सुन्नमा आउँछ, तसर्थ विभिन्न कारणले बालबालिकामा पर्ने असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ भन्नुुहुँदै बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुव्र्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेकोे छ ।

सन्देशमा भनिएको छ, “बालबालिकाको भविष्य सुनिश्चिात गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक खोप एवं बालमैत्री स्वास्थ्य संस्था एवं नीतिगत, कानुनी र बालमैत्री कार्यसम्पादनको प्रबन्ध गर्नु आवश्यक हुन्छ । बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गरी सबै समूह र समुदायका बालबालिकालाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु ।”

बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आआफ्नोतर्फबाट भूमिका निर्वाह गर्न सम्बद्ध सबै पक्षको ध्यानाकृष्ट हुनेछ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर, २९ भदौः सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ ।

सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ ।

राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताउनुभयो । उहाँका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो ।

गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । “टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ”, उहाँले भन्नुभयो, “गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।”

यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् । चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ ।

गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उहाँ बताउनुहुन्छ । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् । खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ ।

गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउनुहुन्छ ।

“विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।”

गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ भदौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १४ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजदेखि पूर्ण रूपमा बीमाको काम गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, २९ भदौः नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो ।

प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ ।

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर

सिरहा, २९ भदौः हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।

घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आउनुभएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहनुभएको छ । “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”

सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । ग।त मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुग्नुभयो । उहाँले राजधानीका दर्जनौँ अस्पताल चहार्नुभयो । चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पार्नुभयो । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गर्नुभयो । त्यसपछि विक्षिप्त बन्नुभएकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताउनुभयो । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरीदेवीले भन्नुभयो ।

विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै हुनुहुन्छ । उहाँले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाउनुभएको हो । सायद उहाँलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उहाँको श्रीमती अझै अर्धचेत अवस्थामा हुुनुहुन्छ । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि !’

सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो । लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्नुहुन्छ, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।” उहाँका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उहाँलाई गोली लाग्यो ।

गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।

नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २९ भदौः नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।
–––राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, २९ भदौः नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

कैदीबन्दी भगाउन सहयोग गरेको अभियोगमा १४ जना पक्राउ

पर्वत, २८ भदौः जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले आज एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाका एक र चितवनका एक जनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् ।

पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट फरार भएका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्नसमेत अनुरोध गरेको छ । प्रहरीले यसरी फरार रहेका व्यक्तिहरू कहीँकतै देखेको अवस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

पोखरामा जिप्रकामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की, २८ भदौः पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।

सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल पोखरा-१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । पोखरामा जेनजी प्रदर्शनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।

पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक/एक जना महिला जलेर निधन भएको अवस्थामा शव फेला परेको थियो । निज दुवै जना कामदार थिए ।

जिल्ला प्रहरी कार्यालयले भने सुरक्षाकर्मीको बल प्रयोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगएको जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, बगर तथा विभिन्न प्रहरी पोष्टहरूमा आगजनी गरेका छन् ।

प्रहरी नायब उपरीक्षक बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरूको सरसफाइ गरी सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलायो

धनुषा, २८ भदौः जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिनुभएको छ ।

उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहनुभएको थियो ।

संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिनुभयो । यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिनुभएको थियो, तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिनुभएन । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएको भनीे आलोचना भएको थियो ।

यहाँ जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तासाझेदार छन् ।

नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौँ, २८ भदौः काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिनुभयो ।

“यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उहाँले भन्नुभयो । आज बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उहाँको भनाइ छ ।

उहाँले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताउनुभयो । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौँ, २८ भदौः राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ ।

“फरार भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै शान्तिसुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियार फिर्ता गर्न तथा यस्ता हतियार र पोसाक दुरुपयोग भएको जानकारी प्राप्त भए सम्बन्धित निकायमा खबर गरी सहयोग पु¥याउनसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।”

राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

बाल सुधारगृहमा रहेका व्यक्तिसमेत भागेका भनी जानकारी आएको र यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको जनाएको छ ।

“यसैगरी प्रदर्शनका क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोसाकहरू प्रदर्शनकारीले नियन्त्रणमा लिएको र उक्त हतियार पूर्ण रूपमा अझै पनि फिर्ता हुन नसक्दा ती हतियारको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने देखिएको छ”, विज्ञप्तिमा उल्लेख छ, “सुरक्षा निकायको हतियार र पोसाक दुरुपयोग गर्नु गैरकानुनी कार्य मात्र नभई यस्तो गैरकानुनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हुन जान्छ ।”

आयोगले भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराधपीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको उल्लेख गरेको छ । यस्तै, कैद भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा, २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराधपीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकारसम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन हुन जानेमा आयोगले सचेत गराएको छ ।

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ,दुई सय ९४ जना अझै फरार

नेपालगञ्ज (बाँके), २८ भदौः जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन सय ४२ बालबन्दी र कैदीबन्दीमध्ये हालसम्म ४८ जना पक्राउ परेका छन् । प्रहरीले दुई सय ९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जना पक्राउ परेको तथा नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जना पक्राउ परेको बालसुधारगृह र नौवस्ता कारागारले जनाएको छ ।

डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले जेनजीको प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेकामा २१ जना पक्राउ परेका छन्। अझै ९४ जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ जना पक्राउ परेको उल्लेख गर्नुभयो । बाँकेबाट छ र दाङको लमहीबाट आठ जना पक्राउ परेको उहाँको भनाइ छ । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ ।

नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अहिलेसम्म १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिनुभयो । सो कारागारमा ५८५ जना कैदी बन्दी थिए ।

पक्राउ परेका ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझैँ पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको छ ।

निषेधाज्ञा हटेसँगै आजदेखि जनजीवन सामान्य बन्दै

भक्तपुर, २८ भदौः जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्याह्नदेखि निषेधाज्ञा एवं कर्फ्यू हटाएपछि यहाँको जनजीवन सामान्य बन्न थालेको छ । यही भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि सिर्जित अवस्थामा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार जिल्लाको सुरक्षा व्यवस्था सुदृढ भएसँंगै कर्फ्यू स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले आगलागीबाट क्षति पुगेका जिल्लाका सरकारी कार्यालहरूको क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै कार्यालयहरूको सफाइ गर्ने र नियमित सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताउनुभयो ।

आज दिनभर भक्तपुरका सडकहरुमा सार्वजनिक यातायातबाहेकका अन्य यातायात सञ्चालन भएका छन् । नेपाली सेनाको टोली आज सडकमा छैनन् भने प्रहरीहरू नियमित काममा फर्कन थालेका छन् । आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्धको घोषणा

अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ ।

यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ।

‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको रूपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरूलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर ५ मा सूचित गरिएको र उनीहरूको पहुँच समाप्त गरिएको थियो। त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरूलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरूबाट पनि अलग गरेका छन् ।

नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टि गर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमित गर्न ‘आन्तरिक कारबाही’ गरेको बताउनुभयो ।

उहाँले प्रतिबन्धहरू संवेदनशील कामहरूको सुरक्षाका लागि आवश्यक थिए।

द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरूको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरूमा धेरै जासुसी घटनाहरू चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।

एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्यो भन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो ।

फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोस्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरू शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताउनुभएको थियो ।

अमेरिकी रक्षा अधिकारीहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन्। स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरू तीव्र पारेको छ ।चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको छ।

बाँकेमा ‘जेनजी’ आन्दोलनमा भएको क्षतिको विवरण सङ्कलन हुँदै

नेपालगन्ज, २८ भदौः बाँकेका सरकारी कार्यालय, सार्वजनिक संरचना र पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मुचुल्का उठाएर क्षतिको विवरण सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

जिल्लामा रहेका सबै कार्यालय प्रमुखको बैठक बसेर घटनाका सम्बन्धमा जानकारी लिइएको र आगजनी तथा तोडफोड नभएका कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिइएको उहाँले बताउनुभयो । “अधिकांश कार्यालयमा आगजनी र तोडफोड भएको छ, तर कतिपय कार्यालय सुरक्षित पनि छन् । त्यस्ता कार्यालयबाट अविलम्ब सेवा प्रवाह गर्न भनिएको छ”, प्रजिअ जोशीले भन्नुभयो,“ जिल्लामा मालपोत, भन्सार, जिल्ला अदालत, आन्तरिक राजस्वलगायत अधिकांश कार्यालयमा आगजनी र तोडफोड भएको छभने सडक डिभिजन, खानेपानीलगायत कार्यालयमा सेवा प्रवाह अविलम्ब सुरु गर्न आग्रह गरिएको छ ।”

यसैबीच नेपालगन्जमा जनजीवन सामान्य हुँदै गएको छ । यहाँ बजार सञ्चालन तथा सवारीसाधन सञ्चालनमा आउन थालेकाले जनजीवन सामान्य बन्दै गएको नेपाल यातायात राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य तथा भेरी यातायात समितिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

नेपाल भारत सञ्चालन हुने सवारीसाधन पनि केही दिन बन्द भए पनि पुनः सञ्चालनमा आएका छन् । बाँके सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका अधिकांश सरकारी कार्यालयले सूचना जारी गरी हालका लागि कार्यालयबाट प्रदान गरिने सेवा स्थगित गरिएको जनाएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयमा गरिएको आगजनीबाट कार्यालय ध्वस्त हुनाका साथै सबै कागजपत्र र फर्निचरसमेत जलेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको जनाइएको छ ।

एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा जोड दिनुभएको छ ।

महासचिव पोखरेलले यही भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएपछि राजनीति नयाँ प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री नियुक्त हुने बित्तिकै उहाँकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको प्रतिनिधिसभा विघटनको घोषणाप्रति नेकपा (एमाले) गम्भीर भएको बताउनुभएको छ । एमालेले यही भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

लमहीमा आमाछोरीको पानीमा डुबेर मृत्यु

दाङ – लमही नगरपालिका-१ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही-१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसोखोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो । घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

बिर्तामोडमा लागूऔषध कारोबारको अभियोगमा एक जना पक्राउ

बिर्तामोड (झापा), २८ भदौः पक्राउ सूचीमा रहेका लागूऔषध कारोबारी भानुभक्त खरेललाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ का खरेललाई आज नयाँबसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मङ्गलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले निजद्वारा सञ्चालित गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याव्लेट एम्पुलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

प्रहरीले यसअघि खरेलका सहयोगी दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । बिर्तामोड–५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएका प्रहरी उपरीक्षक लिम्बूले बताउनुभयो । निजको घरमा जाने सिँढीमुनी राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्रामाडोल प्रहरीले बरामद गरेको हो ।

खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ पनि गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको हो ।

स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट

काठमाडौं । सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ । आइतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयका सचिव डा.विकास देवकोटाले जानकारी दिए ।
नेपाल न्यूज बैकंसँगको कुराकानीमा सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाई गरिने साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवम सामानहरु पनि संकलन गरिने बताए ।

उनले भने,‘आइतबार र सोमबार सरसफाई गर्ने योजनामा छौं । नियमित काम भने हाल मन्त्रालय भवन रहेको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने कि भन्नेमा छौं ।

त्यहाँ दुईवटा भवनहरु छन्, जसमध्ये नयाँ भवन सन्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरु लिएर काम सुरु तयारीमा छौं ।’त्यस्तै उनले तत्काल आवश्यक पर्ने काजजात वा डाटाहरु कर्मचारीहरुको इमेल वा हार्डडिस्क साथै कम्युटरबाट प्रिन्ट गरेर सुरु गर्ने पनि जानकारी दिए ।

राष्ट्रपतिले भने- संविधान र संसदीय प्रणाली बाँचेको छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् ।

राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’