फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक
नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ ।
साहिल खानले तयार पारेको ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती (सुपुष्पा भट्ट)को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ ।
फिल्मले सुन, पैसा र जनावरको अवैध चोरी निकासीलाई मुख्य विषयवस्तु बनाएर प्रेम र पारिवारिक कथा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ । विराजको छोरीको भूमिकामा दिव्या रायमाझी देखिएकी छन्, जसको सुशीलसँग प्रेम रहेको देखाइएको छ । स्व.सुनिल थापा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरले एक्सनप्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
