`

नवनियुक्त पर्यटनमन्त्री पौडेलद्वारा पदबहालीः ‘समृद्धिको खाका मन्त्रालयबाट सुरु हुन्छ’

Nepal One HD १३ चैत २०८२ १९:४२
राजनीति

काठमाडौँ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज पदबहाली गर्नुभएको छ ।राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुक समृद्धिको खाका यहीँ मन्त्रालयबाट सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो । म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग परिचित छु । अब हामीले जनहितलार्ए केन्द्रमा राखेर मुलुकको समृद्धिका क्षेत्रमा गति बढाउनुपर्छ ।”

उहाँले मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सार्नुभयो । साथै, हरेक धर्मसँग जोडिएका पदमार्गको विकास गर्ने योजना आफूसँग रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले आगामी पाँच वर्ष देशका लागि सहकार्य र समन्वयमार्फत काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । “म कुनै प्रलोभनमा पर्ने छैन, सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्”, उहाँले स्पष्ट पार्नुभयो, “कामको मूल्याङ्कन योग्यता (मेरिटोक्रेसी)का आधारमा हुनेछ । हामीले कर्मचारीजस्तो मात्र भएर होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ ।”

मन्त्री पौडेलका मुख्य प्राथमिकताका क्षत्र

मन्त्री पौडेलले पदबहालीका क्रममा आफ्ना मुख्य प्राथमिकताका क्षेका बारेमा कर्मचारीलाई जानकारी दिनुभयो । “एयर कनेक्टिभिटीअन्तर्गत हवाई सम्पर्कको विस्तार र नेपाल वायुसेवा निगमको जहाज थप्ने कार्यलाई तीव्रता दिइने छ । नीतिगत सुधारतर्फ पर्यटन बोर्डको पुनर्संरचना र निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ”, उहाँले भन्नुभयो ।

पूर्वाधार विकासका क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी बढाउने र सम्पदाहरूको महत्वलाई दृश्य माध्यमबाट प्रवर्द्धन गर्ने तथा मन्त्रालय र मातहतका निकायको काममा पारदर्शिता कायम गर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयको वर्तमान अवस्था, नीतिगत संरचना र आगामी योजनाबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *