`

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

Nepal One HD १३ चैत २०८२ २१:५८
जीवनशैली/स्वास्थ्य

कास्की । क्षेत्रफलका हिसाबले देशकै ठुलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।

गरिब घरपरिवारको बिमा गर्ने सम्बन्धमा आज महानगर र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । महानगरपालिकाको अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

उनका अनुसार महानगरपालिकाका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीबमोजिम आगामी विसं २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिनेछ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु सात सय बिमाबापतको रकम महानगरपालिकाले बिमा बोर्डलाई भुक्तानी गर्नेछ।

महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घरपरिवार पहिचानको सिफारिस र दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारमसमेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ।

यसरी पेस हुन आएका विवरणसहितका फारमहरू आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने प्रमुख आचार्यले बताए। यस कार्यक्रमबाट महानगरपालिका क्षेत्रमा रहेका गरिबीको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आचार्यले बताए।

“आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने विश्वास लिएका छौँ । महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको छ”, प्रमुख आचार्यले भने।

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि सुरुआतमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने बताए । लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *