सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…
भक्तपुर। भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए ।
नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले । विपद् उद्धारमा सक्रिय संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले घाइतेको तत्काल उद्धार गर्यो। जिल्लाका चार वटा एम्बुलेन्समा घाइतेलाई भक्तपुर जिल्ला अस्पताल पुर्याइयो । अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।
यो दृश्य आज यहाँ आयोजना गरिएको आकस्मिक दुर्घटनाको कृत्रिम अभ्यासको हो । यहाँ भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको सहकार्यमा दुर्घटनाका बेला विपद्मा उद्धार र उपचारमा गरिने तयारीबारे कृत्रिम अभ्यास गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाइतेको उपचार, भीड नियन्त्रणदेखि उपचारसम्म गरिने तयारीबारे सडक विपद् आपतकालीन अभ्यास गरिएको बताउनुभयो । यसले आगामी दिनमा आउनसक्ने विपद्मा सहज सेवा दिन योगदान पुग्ने उहाँको भनाइ छ ।
कार्यक्रममा अस्पतालका निर्देशक डा सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्मा पनि उपचारका लागि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको र यसले सडक विपद् आपतकालीन अवस्थामा आउनेसक्ने जोखिममा थप सहज रूपमा काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलब्धिमूलक रहेको र आगामी दिनमा आउनसक्ने विपद्का चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीलाई समेत विपद्मा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा प्रयोगात्मक सीप सिकाइएको बताउनुभयो ।
