तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि समझदारी भएको छ । ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक प्राडा सन्दुक रुइटको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गरिनेछ ।
यस्तै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए।
“हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा पुर्याउने प्रयास गरेका छौँ, हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ,” उनले भने।
तिलगङगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए। उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शीता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको उल्लेख गरे।
