`

‘सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गर्नुपर्छ’ – उपाध्यक्ष घिमिरे

काठमाडौँ, १४ भदौः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

महिलाहरूकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर मात्रै सहकारीलाई दिगो र विश्वासिलो बनाउन सकिने बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले सहकारी भनेको वित्तीय संस्था मात्र नभई आत्मनिर्भरता, सहकार्य र साझा समृद्धिको आधारस्तम्भ पनि भएको उल्लेख गर्नुभयो । “सहकारी समृद्धिका आधार पनि हुन्, तर यो क्षेत्र पूर्णतयाः समस्यामुक्त छैन । पछिल्ला केही वर्षमा सहकारी क्षेत्रमा चुनौतीहरू गहिरिँदै गएका छन्, यी चुनौतीहरूलाई समाधान नगरी हामीले सहकारीलाई दिगो र विश्वासिलो बनाउन सक्दैनौँ । त्यसैले समस्या समाधानका गम्भीर बन्न आवश्यक छ ।”

सहकारी आन्दोलन नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा एउटा शक्तिशाली माध्यम भएको बताउँदै उपाध्यक्ष घिमिरेले पछिल्लो समय सहकारीले सदस्यको बचतलाई उत्पादनमुखी क्षेत्रमा भन्दा पनि छिटो नाफा देखिने जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्तो प्रवृत्तिले सहकारीलाई बदनाम र सहकारी अभियानलाई नै विफल बनाउने अवस्था आइपुगेकाले सहकारी विभाग, स्थानीय तह र अन्य नियामक निकायबीच आवश्यक समन्वय र सूचनाको आदान–प्रदान गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

उपाध्यक्ष घिमिरेले सहकारी क्षेत्रलाई संसद्ले आवश्यक कानुन बनाउन, नीतिगत मार्गनिर्देशन गर्न र कार्यान्वयनमा निरन्तर अनुगमन गर्न भूमिका खेल्ने विश्वास दिलाउनुभयो । महिला नेतृत्वमा सञ्चालित सहकारी संस्थाहरूलाई सबल र प्रभावकारी बनाउनका लागि संसद् निरन्तर साथमा हुने उहाँको भनाइ थियो ।

देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ: अध्यक्ष यादव

जनकपुरधाम, १४ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताउनुभएको छ ।मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सकारात्मक भूमिका जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष यादवले चुरे विनाशका कारण विगतदेखि नै मुलुकको कृषि क्षेत्र सङ्कटमा पर्दै गए पनि हाल भूमि अध्यादेशको नाउँमा थप समस्या निम्तिने जोखिम बढेको दाबी गर्नुभयो ।

जसपा महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले भूमिसम्बन्धी अध्यादेश तराई मधेसका लागि ठीक नभएको भन्दै यसले मधेसमा जनसङ्ख््याको चापमा वृद्धि हुने दाबी गर्नुभयो । मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोलि सम्पन्न हुनेछ ।

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

थियानजिन (चीन), १४ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ ।

थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज यहाँ आइपुगेलगत्तै थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।

“सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ”, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भन्नुभएको थियो, “नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।” नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान (दाबी) प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राख्नुभएको परराष्ट्र सचिव राईले जानकारी दिनुभयो ।

द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीका हैसियतमा यो चौथो औपचारिक चीन भ्रमण हो भने यही अङ्ग्रेजी वर्षमा दोस्रो चीन भ्रमण हो । भेटका अवसरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रूत गति दिन र त्यसबाट नेपालको आर्थिक सामाजिक समुन्नतिमा सहयोग पुग्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशबीच थप नाका सञ्चालन गर्न चीन सकारात्मक रहेको र नेपालको निर्यात बढाउन गुणस्तरीय एवं व्यावसायिक कृषि उत्पादनमा सघाउन पनि तत्पर रहेको छ । नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउने प्रधानमन्त्री ओलीको सङ्कल्पमा सघाउन पनि चीन सधैँ कटिबद्ध रहेको चिनियाँ पक्षले स्पष्ट गरेको छ ।

भेटका अवसरमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र सचिव राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

भ्रमणका अवसरमा बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि प्रधानमन्त्री ओलीको भेट हुनेछ । साथै उहाँले शिखर सम्मेलनका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छः मन्त्री गुरुङ

काठमाडौँ, १४ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ ।

आज यहाँ नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा उहाँले इतिहासमा दासप्रथा औपचारिक रूपमा अन्त्य भए पनि कतिपय ठाउँमा त्यो प्रवृत्तिका अवशेष बाँकी रहेको बताउनुभयो ।

मन्त्री गुरुङले चन्द्र शमशेरले औपचारिक रूपमा दासप्रथा अन्त्य गरे पनि ग्रामीण तथा दुर्गम भेगमा यस प्रथाको प्रभाव अझै कायम रहेको बताउँदै त्यसलाई पूर्ण रूपमा निर्मूल पार्नका लागि सरकार निरन्तर लागिपरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दासप्रथा उहिल्यै अन्त्य भइसकेको इतिहासमा उल्लेख छ, तर अझै पनि केही ठाउँका समाजमा यस्ता अवशेष जीवितजस्तै देखिन्छन् । यस्तो अवशेष अन्त्य गर्न नीतिगत तथा व्यावहारिक रूपमा काम भइरहेको छ ।”

नेपाली समाजले सामन्ती व्यवस्था पार गरेर अब पुँजीवादी संरचनातर्फ गइरहेको धारणा राख्दै मन्त्री गुरुङले सामाजिक व्यवहार, परम्परा र जीवनशैलीमा आएको रुपान्तरणलाई पुँजीवादी परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यस्तो रुपान्तरण सकारात्मक हो कि नकारात्मक भन्ने बहस खुला रहेको जनाउँदै समाजका हरेक परिवर्तनलाई विवेकपूर्ण तरिकाले मूल्याङ्कन गर्न जरूरी रहेको बताउनुभयो ।

एक अर्को प्रसङ्गमा मन्त्री गुरुङले एमालेको ‘मिसन ८४’ अभियानलाई सफल बनाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशले राजनीतिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले देश विकासको मेरुदण्डका रूपमा रहेका युवालाई अघि सार्नुपर्ने भन्दै युवावर्गलाई पनि सकारात्मक सोच तथा राष्ट्रप्रतिको जिम्मेवारीका साथ अघि बढ्न आह्वान गर्नुभयो । “देश विकास गर्ने हो भने अब युवा अग्रसर हुनुपर्छ, रोजगारी छैन भनेर देश छाड्ने होइन, बरु यही अवसर खोज्नुपर्छ, अवसर सिर्जना गर्नुपर्छ”, पण्डितले भन्नुभयो ।

प्रतियोगितामा बागमती प्रदेशका ११ जना युवा सहभागी भएका थिए ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

काँक्रेविहार (सुर्खेत), १४ भदौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रसारणलाइनअन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेका विभिन्न संरचनाको निरीक्षण गर्दै आज उहाँले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । मुख्यमन्त्री कँडेलले आउँदो तिहारसम्म प्रसारणलाइनअन्तर्गत ‘फिल्ड’को काम सकेर सबस्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिनुभयो ।

उहाँले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रसारणलाइनको सबस्टेसन, गाभर निर्माणाधीन टावर अवलोकन गर्नाका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रसारणलाइनका कर्मचारीसँग बाँकी कामबारे छलफल गर्नुभयो ।

चिसापानी गाभरमा सरोकार भएकासँगको छलफलमा सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले निकुञ्जका कर्मचारीलाई कर्णालीवासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिनुभयो ।

वन शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइए पनि केही ढिला हुन पुगेको बताउनुभयो । “मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम हामी गर्छौं, गरिरहेकै छौँ । बाँकी समस्या देखिए लेखेर पठाउनुस्, मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं, काम कुनै पनि कारणले रोकिनुहुँदैन”, उहाँले भन्नुभयो ।

छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले रुख कटान गरिसकेकाले काठ ल्याउन र बाँकी रूख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजना प्रमुख रवि चौधरीले १६२ वटा टावरमध्ये तीनवटा मात्र निर्माण गर्न र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिनुभयो । बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुनेबित्तिकै यसलाई पूरा गरिने उहाँको भनाइ छ ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद समाधान भएको जनाइएको छ । साथै आयोजनाले भौगोलिक जटिलताले रूख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ‘ड्रोन’को सहायताबाट लाइन जोड्ने तयारी गरेको छ । बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर ११, स्थित सुब्बाकुना सबस्टेसन पुगेर टुङ्गिने प्रसारणलाइनको दूरी ५२ किलोमिटर छ ।

प्रतिवाद युद्ध विजयको ८० औँ वार्षिकोत्सवः शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति

चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो ।”

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ जनताले ठूलो सङ्कटको सामना गर्नु परेको थियो । त्यसैबेलादेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो । त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको आक्रमण थियो । सन् १८९४ मा जापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान र फङह द्वीपसमूह माथि कब्जा जमायो । सन् १९०० मा अरु विदेशी आक्रमणकारीसँगै पेइचिङमा आक्रमण भयो ।

सन् १९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भागमा अतिक्रमण भयो । सन् १९१४ मा छीङ ताओ सहरमा आक्रमण गरी कब्जा जमायो । सन् १९१५ मा चीनको अधिकार हनन हुने ू एक्काइस दाबी प्रस्तुत गर्यो । सन् १९३१ को सेप्टेम्बर १८ मा चिनियाँ सेना र जापानी सेनाबिच द्वन्द्वको घटना भयो । यो दिन चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा जापाले आक्रमण गरी कब्जा जमायो । सन् १९३५ मा मध्य उत्तर चीन घटना र सन् १९३७ जुलाई ७ मा युयान्फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुलमा आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो । त्यसवेला उनीहरुले पुरै चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए । यी शृङ्खलाबद्ध कार्यले चिनियाँ जनता माथि अभूतपुर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो ।

देश र देशवासी जीवन मरणको दोसाँधमा पुगेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधलाई दिशा निर्देश गर्यो । विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध , एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो ।

त्यसबेला सोभियत सङ्घ , अमेरिका , कोरिया , भियतनाम , क्यानडा , भारत , न्युजिल्याण्ड , पोल्याण्ड , डेनमार्क , अष्ट्रिया , रोमानिया , बुल्गेरिया फासिस्ट विरोधी योद्धाहरुले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित भएर चीनलाई सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरु पनि युरोप , उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलमा सहयोगी सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए । केही दिन अघि मात्र मैले काठमाडौँस्थित बेलायती राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । त्यस अवसरमा पोखरास्थित ब्रिटिश गोर्खा सेनाले परेड पनि गरेको थियो । दोस्रो विश्व युद्धमा ब्रिटिश सेनामा नेपालीको गोर्खा सैन्यले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सुनेर म प्रशन्न भएको छु । विश्वशान्तिका निम्ति नेपालले पुर्याएको यो अद्वितीय योगदान हो , साथै चिनियाँ र नेपाली जनताले आलो रगतका माध्यमबाट गाँसेको अनमोल मैत्री पनि हो।

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिष्टरुलाई पूर्ण रूपले परास्त गरेभने जापानी सैन्यवादी आक्रमणकारीलाई पनि हराए । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरुविरुद्धको युद्धमा विजय प्राप्त भयो। अन्ततः अन्धकारमाथि उज्यालोको , प्रतिगमनमाथि प्रगतिको विजय भयो । आफ्नो शवबाट ‘ग्रेटवाल’ निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो ।

यो कहालीलाग्दो सङ्कट र वीरतापूर्ण प्रतिरोधको इतिहासले हामीलाई के सन्देश दिएको छ ?

कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको भावना हो । जापानी आक्रमणविरुद्धको युद्धमा चिनियाँ जनतामा प्रतिरोधको भावनाको विकास भयो । चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवादलाई आफ्नो अन्तिम गन्तब्य सम्झेर प्राणको आहुति दिनुपरे पनि आत्मसमर्पण नगर्ने स्वाभिमान , अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने र जति समस्या परे पनि नहट्ने जति दुःख सहनु परे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे । फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि चिनियाँ जनताले सबै जुक्ति सोचे तर कहिले पनि आत्मसमर्पण सोचेनन् ।

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ (आक्रमणमा परेकाहरुले आत्मसमर्पण गरेपनि आक्रमणकरीहरुले नरसंहार गर्न सक्दैनन् । युद्धका निम्ति साहस गर्नु , युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनेर चमत्कारिक रूपमा सफल हुनुको एकमात्र उपाय हो । देश समृद्ध, जनता सबल हुनु नै देशको सुरक्षको भौतिक आधार हो ।

राष्ट्रपति सीले भन्नु भएको छ , “पछाडि पर्नेहरुले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ । फासिष्ट युद्धवादले बिना हिच्किचाहट छिमेकी देशहरुमा आक्रमण गर्ने साहस गर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुकोभन्दा सुदृढ भएर नै हो । आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तरराष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरु देशहरुसँग व्यापार गर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ । यसबाट युद्धको भूत अझै पनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ । चिनियाँ जनताले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्व गहन रूपमा बुझेको छ । आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामथ्र्यमा छ । चीनका हरेक पुस्ताले मेहनत गरी अनुपम उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन्न् । मैले बारम्बार भन्ने गरेको छु , नेपालले अहिले सामना गरिरहेका विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ , चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वास युक्त हुनसक्नेछ ।

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो । सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नानचिङमा आक्रमण गरी छ साताभन्दा लामो अवधिसम्म आगजनी , बलात्कार , लुटपाट नरसंहार गरे । त्यसमा परेर कम्तीमा तीन लाख जनाको ज्यान गयो । हालै चीनमा नानचिङ नरसंहारको दुखद् इतिहासलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र हेरिसकेपछि दुःख र रिसले धेरै दर्शकहरुले आँसु बगाए। । यस प्रकारको पीडाले मानिसहरुलाई सास फेर्नसमेत गाह्रो भएको अनुभव गराउँछ । चिनियाँ जनताले जापानी आक्रमणको दुःख सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ , समानताको आधारमा अरुको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ ।

चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरु कुनै देशमाथि लाद्ने छैन । कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन । विस्तारवादी नीति अपनाउने छैन । प्रभावक्षेत्र बनाउन खोज्ने छैन । चिनियाँ शैलीको आधुनिकीरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो । उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्ने छ भन्ने गलत सोचाइवाट यो पूर्णरुपले मुक्त छ । यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो । हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरुसँग संयुक्त रुपमा मानवजातिको साझा भविष्य निर्माण गर्न चाहन्छौँ , विश्वमा शान्ति , विकास र उन्नतिका निम्ति सघाउन चाहन्छौँ ।

फ्रान्सेली इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा लेखेका छन्: इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन , त्यो त विगतमा के घटना भए र के कारणले घटे , त्यसवारे बुझ्नका निम्ति हो । इतिहासलाई बिर्सनेले अवश्य पनि पहिले कै गल्ती दोहोर्याउने छ । इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन । र, भविष्य पनि ।

यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिष्टविरुद्ध युद्ध विजयको ८० औँ वार्षिकोत्सव धुमधामका साथ मनाउदै छौँ। यसबाट हाम्रो शान्तिप्रतिको उत्कट अभिलाषा प्रकट भएको छ । हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका निम्ति सहयोग गर्ने छौँ । यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो । हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मेवारी पूरा गर्ने छन् ।

लेखक नेपालका लागि चीनका राजदूत हुनुहुन्छ । प्रस्तुत विचार उहाँका निजी हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ, १४ भदौः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।

अध्यक्ष ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको गौतमले बताउनुभयो ।

पहिरोले देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

बैतडी, १४ भदौः वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ । सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

काठमाडौँ -निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो ।

समितिमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुङ्गो लागेको हो । यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषय सकारात्मक ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस विधेयकमा कुलिङ अफ पिरियडबाहेक पनि महत्त्वपूर्ण विषय छन् । निजामती कर्मचारीको नियुक्ति, सरुवा, व्यवस्थापनको विषय छ । अब निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने मान्यता स्थापित भयो । सबै सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ । भोलि अभ्यासमा जाँदा कोहीमाथि अन्याय भएको महसुस भयो वा व्यावहारिक भएन भने सच्याएर संशोधन गरेर पनि जान सकिन्छ । त्यसैले यो विधेयक छिटो समिति र सभाबाट पारित हुनुपर्छ ।”

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्राङ्कित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागू हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागू नहुने व्यवस्थामा सहमति जनाएका छन् ।

समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिनुभयो ।

प्रचण्ड भन्छन् – विभिन्न जातजाति र समूदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाण छैन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित, आदीवासी, जनजाती, मधेशी, थारु, मजदुर किसानको सम्बन्धलाई माओवादी पार्टीले लुज गरेको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले दलित, आदीवासी, जनजाती, मधेशी, थारु, मजदुर किसानको सम्बन्ध जनयुद्धको बेलाको जस्तो प्रगाण नभएको बताएका छन् ।

उनले भने, ‘दलित समुदायको मात्र होइन, आदीवासी जनजातीको कुरा पनि महिलाहरुको कुरामा पनि, मधेशी, थारु, मजदुर किसानको कुरामा हामी अलिकति त्यो वर्गसँगको सम्बन्धलाई माओवादी पार्टीले पनि थोरै लुज गरेकै हो । लुज भयो । हाम्रो सम्बन्ध जनयुद्धको बेलाको जस्तो प्रगाण नङमासुको जस्तो, पानीमाछाको जस्तो अलि भएन ।’

उनले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमिक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए।

‘कोही पानीभित्र डुबिएला कि भनेर छटपटि भइरहने, केही पानी बाहिर मर्ने होकी भनेर छटपटिने जस्ता स्थिति पनि नभएका होइन । तर माओवादी मात्र त्यस्तो पार्टी हो जसले त्यो बिषयमाथि आत्मसमिक्षा गर्ने आँट गर्यो । एउटा वर्गप्रति समुदायप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्नु, गल्ती भयो भन्छ,’ उनले भने ।

नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने हुन्छः मन्त्री चौरसिया

वीरगञ्ज (पर्सा), १४ भदौः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताउनुभएको छ ।

मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उहाँले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताउनुभयो । मन्त्री चौररियाले भन्नुभयो,“दुवै मुलुकबीच सदियौँदेखि सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आए पनि समझदारीमार्फत नै टुङ्ग्याउनुपर्ने हुन्छ ।”

नेपाल र भारतबीचको सम्बन्ध संसारका अन्य कुनै पनि मुलुकमा पाउन नसक्ने उहाँको भनाइ थियो । “दुवै मुलुकका जनताबीचको आत्मीय सम्बन्ध संसारको अन्य कुनै पनि मुलुकमा प्राप्त गर्न सकिँदैन । सञ्चारमाध्यमले दुवै मुलुकलाई तोड्ने नभएर जोड्नेतर्फ अग्रसर हुन जरुरी छ”, कानुनमन्त्री चौरसियाले भन्नुभयो ।

उहाँले नेपाल र भारतका नेतृत्वले दुवै देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण सहयोग र सदासयता देखाएको उल्लेख गर्दै त्यो सम्बन्धलाई थप बलियो बनाउन वर्तमान नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेशसभा सदस्य श्याम पटेलले विगतमा नेपाल र भारतबीचको सम्बन्ध निकै सौहार्द्रपूर्ण र सरल भए पनि पछिल्लो समय संवेदनशील बन्दै गइरहेको बताउनुभयो । दुवै मुलुकबीचको सम्बन्धलाई सौहार्द्रपूर्ण बनाउनका लागि मिडियाले खोजमूलक र सत्यतथ्यमा आधारित भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा सौहार्द्रपूर्ण र सदासयतापूर्ण रहँदै आएको बताउँदै मिडियाले पनि दुवै मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । “नेपाल र भारतबीच जनताको सम्बन्ध मनदेखि नै हुन जरूरी देखिन्छ”, उहाँले भन्नुभयो, “दुवै मुलुकका मिडियाले समाचार सङ्कलन र सम्प्रेषण मात्रै नभएर पृष्ठपोषणमा पनि ध्यान दिन आवश्यक छ । पृष्ठपोषणले मात्रै प्रभावकारी सञ्चार गराउन मद्दत पु¥याउनेछ ।”

अग्रज पत्रकार हस्त गुरुङले नेपाल र भारतबीच ‘ग्रासरुट’देखि नै आत्मीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वराजदूत विजयकान्त कर्णले नेपाल र भारतबीच राजनीतिक सीमा भए पनि जनताबीच कुनै पनि प्रकारको सीमा नरहेको धारणा राख्नुभयो ।

मिडिया फर बोर्डर हार्माेनी, नेपालका अध्यक्ष अनिल तिवारीले कार्यक्रमले दुवै मुलुकका मिडियाबीच आपसी सम्बन्ध विस्तार र प्रवर्द्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । मिडिया फर बोर्डर हार्माेनी, भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सञ्चारमाध्यमले सदियौँदेखि दुई मुलुकबीचको सम्बन्धलाई सहज र प्रभावकारी ढङ्गले सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

मिडिया कन्क्लेभमा दुवै मुलुकका सम्पादक, सञ्चारकर्मी, सञ्चारक्षेत्रका विज्ञ, नीति निर्माता, डिजिटल कन्टेन्ट क्रियटर्सलगायत १०० जनाको सहभागिता रहेको महासचिव रितेश त्रिपाठीले जानकारी दिनुभयो ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन् ।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी तोकेको जनाएको छ ।

ट्रक यातायात व्यवसायी महासंघद्वारा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई बधाई

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटेर बधाई ज्ञापन गरेको छ ।

महासंघको टोली अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा बागमती प्रदेश सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न पुगेको हो ।कार्यक्रममा महासंघले यातायात मन्त्री थापासमक्ष संघीयता लागू भएपछि पनि कतिपय ट्रकका नम्बर अझै अञ्चलगत प्रणालीअनुसार रहेकाले त्यसलाई प्रदेशगत प्रणालीमा रूपान्तरण गर्न आग्रह गरेको महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले जानकारी दिए । यसबाहेक, मुख्यमन्त्री बाँनियासँग भेट गर्दै महासंघले ट्रक प्रमिट लिनका लागि प्रदेशअनुसार फरक–फरक करदरले व्यवसायमा समस्या आएको बताएको छ ।

महासंघका अनुसार मधेश प्रदेशमा ट्रक प्रमिट लिन १० हजार रुपैयाँ तिर्नु पर्नेमा बागमती प्रदेशमा १५ हजार रुपैयाँ तिर्नु पर्ने हुँदा व्यवसायीहरू सस्तो हुने प्रदेशतर्फ आकर्षित हुने गरेको र यसले बागमती प्रदेशको राजस्वमा कमी ल्याएको सुझाव दिएको हो । यसबारेमा मुख्यमन्त्री बानियाले समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएको महासचिव बाँनियाले बताए ।

त्यस्तै, महासंघले ट्रक तथा यातायात क्षेत्रसँग सम्बन्धित कतिपय कानुन संशोधन गर्नुपर्ने माग पनि राखेको छ । यसबारे मुख्यमन्त्री बानियाले विस्तृत छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं । भारतले साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा नेपाललाई ५–० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो ।

यो जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । हिजो बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

कर्णाली प्रदेशमा दश वर्षमा विपद्का घटना : ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति

भेरीगङ्गा (सुर्खेत), १४ भदौ : कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद््का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने अर्बौँको क्षति भएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो ।

तथ्याङ्कअनुसार दश वर्षमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन्भने एक हजार २६६ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा बढी जाजरकोट जिल्लामा विपद्बाट १८४ जनाको मृत्यु भएको छभने सबैभन्दा कम मुगुमा २६ जनाको मृत्यु भएको छ ।

यस्तै, रुकुममा ९२ जना, कालीकोटमा ८४ जना, जुम्लामा ४७ जना, हुम्लामा ४६ जनाको विपद््मा घटनामा परी मृत्यु भएको छ ।

यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना र सुर्खेतमा ३० जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । एक दशकको अवधि सबैभन्दा धेरै पहिरोबाट १८० जनाको मृत्यु भएको छ । यस्तै भूकम्पबाट कारण १५४ जनाको मृत्यु हुँदा आगलागीबाट ६४ जनाको मृत्यु भएको प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा विशेषगरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारीजस्ता प्रकोपको कारण अत्यधिक रूपमा क्षति भएको आँकडाले देखाउँछ । यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतासजस्त प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ ।

तथ्याङ्कअनुसार विपद्बाट दश वर्षमा झण्डै रु साढे तीन अर्बको क्षति भएको छ । सबैभन्दा धेरै क्षति भूकम्पबाट भएको छ । गत वर्ष जाजरकोटमा आएको भूकम्पले धेरै क्षति पुर्‍याएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार भूकम्पबाट मात्रै रु दुई अर्ब ४७ करोडभन्दा धेरैको क्षति भएको छ ।

यता, प्रदेश सरकारले सम्भावित विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरणको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ । यस्तै मनसुनको बेला हुनसक्ने विपद् जोखिम कम गर्नसमेत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ९ देखि १२ सम्म १३ हजार विद्यार्थीलाई विपद्बाट जोगिन सक्ने उपायबारेमा हाते पुस्तक वितरण गर्ने योजना बनाइएको भन्दै उहाँले यसले सचेतनामा सघाउ पुग्ने उल्लेख गर्नुभयो । सरकाले यस कार्यका लागि विभिन्न नीतिगत व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई बालेनले भने- ‘लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री चीन प्रस्थान गरेको केहि समयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन सुझाव दिएका हुन् ।

उनले लेखेका छन् – चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।बैठक शनिबार बिहान ११ बजे उक्त समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

चितवन, १४ भदौ : कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहनुभएको छ ।आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते हुुनुभएको थिए । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १४ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली स्थानीय प्रतिकिलो रु १००, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १८०, चमसुरको साग प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु १३००, पुदिना प्रतिकिलो रु १०००, गान्टे मुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रूखकटहर प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने क्रेमलिनले शुक्रबार जनाएको छ।क्रेमलिनका सहयोगी युरी उशाकोभले एएफपीलगायत पत्रकारसँग कुरा गर्दै पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार चीनमा हुने क्षेत्रीय शिखर सम्मेलनका अवसरमा पनि भेटवार्ता गर्ने जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा मस्कोलाई आक्रमण अन्त्य गर्न दबाब दिने अभियानअन्तर्गत नयाँ दिल्लीले रुसी तेलको ठूलो परिमाणमा खरिद गरेको सजायस्वरुप भारतीय सामानमा कर लगाएका छन् ।

ऊर्जा आय मस्कोको बजेटको लागि राजस्वको एक प्रमुख स्रोत हो।रूस भारतको शीर्ष हतियार आपूर्तिकर्तामध्ये एक हो र दुई देशबीचको न्यानो सम्बन्ध सोभियतकालीन हो।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले सैन्य आक्रमण सुरु गरेयता युक्रेनका पश्चिमी मित्रराष्ट्रहरूले रुसको निर्यात आयमा कटौती गर्न खोजेका छन् तर रुसले युरोपबाट भारत र चीनलगायत देशहरूमा ऊर्जा बिक्रीलाई पुनर्निर्देशित गर्न सक्षम भएको छ । इन्धन बिक्रीले अर्बौ डलरको कोषको प्रवाहलाई जारी राखेको छ।

भारतले रुसबाट तेल आयात गरेको तर्क गर्दै आएको छ किनभने द्वन्द्व सुरु भएपछि परम्परागत आपूर्ति युरोपमा डाइभर्ट गरिएको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेका कारण पुटिनले युक्रेनमाथिको आक्रमणपछि आफ्नो विदेश यात्रामा उल्लेखनीय कटौती गर्नुभएको छ ।

भारत आइसिसीको पक्ष राष्ट्र होइन र त्यसैले पुटिनलाई हिरासतमा राख्न बाध्य छैन ।

अठारौँ राष्ट्रिय पुस्तकालय दिवस : ४८ पुस्तकायलय उद्घाटन गरिँदै

काठमाडौँ, १४ भदौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयले अठारौँ पुस्तकालय दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ ।

पुस्तकालयको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पु¥याएबापत पुस्तकालय दिवस मूल समारोह समितिका उपाध्यक्ष तथा विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी संयोजक रहेको पाँच सदस्यीय सम्मान तथा पुरस्कार छनोट उपसमितिले उक्त निर्णय गरेको हो ।

सम्मान तथा पुरस्कारले पुस्तकालय क्षेत्रको विकास, सक्रियता र समुदायसँगको सम्बन्धलाई प्रोत्साहित गर्ने प्रचारप्रसार समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । अठारौँ पुस्तकालय दिवस यही भदौ १५ गते(भोलि) मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

सो अवसरमा सरकारी तथा गैरसरकारीस्तरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको पनि संयोजक पाण्डेयले जानकारी दिनुभयो । उक्त दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो ।

पुस्तक दिवसको यस वर्षको आदर्श वाक्य ‘हाम्रो पुस्तकालय ः हाम्रो भविष्य’ तय गरिएको छ । पुस्तकालय दिवस मुलुकभर विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घअन्तर्गतका सदस्य पुस्तकालयहरूले सातै प्रदेशमा भदौ १ देखि नै दिनहुँ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय तथा विज्ञान केन्द्रीय विभाग, नेपाल लाइब्रेरी फाउन्डेसन, त्रिवि केन्द्रीय पुस्तकालय, पिपुल्स क्याम्पसलगायत शैक्षिक संस्थाले पनि विविध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

दुई सामुदायिक पुस्तकालय स्थापना–भदौ १३ गते मोरङको लेटाङ–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र विशेष समारोहबीच उद्घाटन भएको छ । यही भदौ १५ गते धर्मदेवी नगरपालिका–३, मुढे शनिश्चरेमा निर्माण गरिएको धर्मदेवी सामुदायिक पुस्तकालयको उद्घाटन गरिने कार्यक्रम छ ।

यसै अवसरमा गत बिहीबार अठारौँ पुस्तकालय दिवसकै सन्दर्भ पारेर सङ्घीय संसद् सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा, पुस्तकालय शाखाले ‘पुस्तकालय ऐन : आवश्यकता, औचित्य र महत्त्व’ विषयमा सांसद र सरोकारवालाबीच अन्तरक्रिया गरेको थियो ।

प्रधानमन्त्री ओली चीन प्रस्थान (फोटोफिचर)

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो ।

प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।

शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ ।

हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सक्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि आज चीन जादैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि छिमेकी मुलुक चीन जादैँ छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज (शनिबार) चीन जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीलगायत गरि २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका साथै उपराष्ट्रपति हान चङसँग पनि भेट, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ ।

‘चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन’ :उपसभापति गुरुङ

काठमाडौ,ँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

“सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,” पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको भनाइ थियो ।

घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा रु छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो । “म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,” उहाँको भनाइ थियो ।

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, १४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

बैतडी। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उहाँले बताउनुभयो ।

‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्ग लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन ब्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरू पनि घर फर्किने गर्दछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०० पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

काठमाडौँ, १४ भदौः नेपालले भँैसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।

चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुभएको थियो भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गर्नुभएको थियो ।

नेपालवाट थर्मलरूपमा प्रशोधीत भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यु, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्धिपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्नतलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालवाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।

बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालवाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताउनुभयो । १०० भन्दाबढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भएपनि छिमेकी मुलुकको रूपमा हामीले नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको बैठकमा उहाँले जानकारी दिनुभयो । व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह«ो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ, उपमन्त्री वाङ्गले भन्नुभयो ।

बैठकमा कृषि मन्त्री अधिकारीले नेपालवाट मासु निर्यातका लागि आधारभुत सर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रकृयादेखि चीनको क्वारेन्टाइन मापदण्ड पुरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।

द्धिपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ । बैठकमा मन्त्रालयका तर्फवाट सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा दीपककुमार खराल र सहसचिव सहभागी रहनुभएको थियो भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन

मुस्ताङ, १३ भदौ : वर्खायामको समाप्तिसँगै मनाइने यार्तुङ पर्र्व आज उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । सो पर्वको अवसरमा लोमान्थाङ युवा क्लबको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

यहाँ दुई विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ सांस्कृतिक राजपरिवारको समुउपस्थितिमा आयोजना गरिएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ–५ का वडाध्यक्ष ढुक्के विष्ट च्याम्पियन बन्नुभएको छ ।

कदम घोडा दौड प्रतियोगितामा सहभागी कूल १२ प्रतियोगीमध्ये वडाध्यक्ष विष्ट च्याम्पियन बन्नुभएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कदम घोडा दौडतर्फ छेडुप गुरुङ दोस्रो र निमा वाङ्दी गुरुङ तेस्रो हुनुभएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो । योसँगै कदम घोडा दौडको च्याम्पियन विष्टले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउनुभयो । यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङ च्याम्पियन हुनुभयो ।

प्रतियोगितामा ल्हाक्पा गुरुङ दोस्रो र ढुक्के विष्ट तेस्रो हुनुभयो । भाक्का घोडा दौडाका विजेताले क्रमश नगद ३०, २० र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, क्लबका अध्यक्ष उमेश पौडेल र क्लबका अध्यक्ष पेमा तेन्जिङ गुरुङले पुरस्कार वितरण गर्नुभयो ।

पुटिन र इरानी राष्ट्रपतिबीच चीनमा भेटवार्ता हुने

युरोपेली शक्तिराष्ट्रद्वारा इरानलाई प्रतिबन्ध लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानको आणविक कार्यक्रमबारे आफ्ना इरानी समकक्षी मसूद पेजेस्कियानसँग सोमबार चीनमा छलफल गर्ने बताउनुभएको छ ।

यूरोृपेली शक्तिराष्ट्र बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौताको पालना गर्न असफल भएको भन्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

मस्कोले शुक्रबार आफ्नो प्रमुख सहयोगी इरानलाई समर्थन गर्दै प्रतिबन्धहरू पुनः लागू गर्दा ‘अपूरणीय परिणामहरू’ हुने चेतावनी दिएको छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी उनीहरूलाई अपूरणीय परिणाम र थप त्रासदी निम्त्याउनुअघि आफ्ना गलत निर्णयहरूमा पुनर्विचार एवं पुनरावलोकन गर्न जोडदार आग्रह गर्दछौं।

इरानको आणविक कार्यक्रमलाई लिएर जारी गतिरोधको शान्तिपूर्ण समाधान खोज्न युरोपेली तीनै देशले कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप उसले लगाएको छ ।

क्रेमलिनले पुटिनले सोमबार चीनको तियानजिन शहरमा हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा पेजेस्कियानसँग भेटवार्ता गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य रुस सन् २०१५ को इरानसँगको संयुक्त बृहत् कार्ययोजना (जेसिपिओए) सम्झौताको एक पक्ष हो र उसले इरानलाई उसको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा प्रतिबन्धमा राहत प्रदान गरेको थियो ।

यी तीन देशले बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई सूचित गर्दै इरानले सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता पूरा नगरेको विश्वास व्यक्त गरेका छन् ।

विदेशमन्त्रीहरूले ‘स्न्यापब्याक’ संयन्त्र भनिने प्रक्रियाको आह्वान गरेका थिए । ‘स्न्यापब्याक’ अन्तर्गत उनीहरूले सन् २०१५ को सम्झौताअन्तर्गत निलम्बन गरिएका प्रतिबन्धहरू पुनः लागू गर्न ३० दिनको समयसीमा सुरु गरेका छन् ।

इरानले यस कदमको ‘उचित प्रतिक्रिया’ दिने चेतावनी दिएको छ । यसले इरानी आणविक जोखिमको शान्तिपूर्ण समाधानको लागि सबैभन्दा निरन्तर कूटनीतिक प्रयासलाई रोक्ने खतरा छ।

तेहरान र मस्कोबीच विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बन्दै गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बनेको थियो ।

उद्योगीका समस्यामा सरकार गम्भीर छः मन्त्री भण्डारी

काठमाडौँ, १३ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले उद्योग–व्यवसायहरूले अनेकौ चुनौती सामना गरिरहेकोसमेत बताउनुभयो ।

नेपाल इँटा उद्योग महासङ्घको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा जोखिम बढेको र त्यसको समाधान छलफल तथा बहसमार्फत खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन् । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य छ ।”

नेपाल–चीनबीचको व्यापार र औद्योगिक सहकार्य महत्त्वपूर्ण बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले उद्योगहरूले गुणस्तरको प्रमाणपत्र प्राप्त गरी अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । “यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो, “त्यसैले सरकारले कडाइका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ ।”

उहाँले घर, भवन तथा निर्माणका सबै क्रियाकलाप इँटामै आधारित हुने भएकाले इँटा व्यवसायीको साथमा सरकार रहेको उल्लेख गर्नुभयो । उद्योगहरू प्रविधियुक्त, गुणस्तरीय र जलवायु परिवर्तनको असर कम गर्ने ढङ्गबाट सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले उद्योगीका मागलाई सहजै सुन्ने, सम्बोधन गर्ने र प्रमुख समस्या समाधान गर्ने मन्त्री भण्डारीको भूमिकाप्रति आभार प्रकट गर्नुभयो ।

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, १३ भदौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उहाँले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरू समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले भन्नुयो, “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरूको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लािग आह्वान गर्दछु ।”

मन्त्री डा राणाले जलस्रोत, उर्वर भूमि र नदीहरू, घना जङ्गल, अद्वितीय जैविक विविधता एवं सांस्कृतिक सम्पदाहरूको घरका रूपमा रहेको यस प्रदेश स्रोत र साधनले सम्पन्न भएपनि बत्तिमुनिको अँध्यारोको अवस्थामा रहेकाले यी सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरी वैदेशिक लगानीकर्ताहरलाई आकर्षित गर्न सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको आयोजना गर्नु खुसीको कुरा हो भन्नुभयो ।

मन्त्री डा राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौँलगायत नेपालसँग जोडिन पुगेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार दिगो र स्थायी प्रकृतिको रहेकाले विकासका सम्भावनाहरूलाई पहिलेको तुलतामा थप उजागर गरिरहेको जानकारी दिँदै नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पर्ने कानुनहरूमा पनि संशोधन गरेको स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले मुलुक सङ्घीयतामा गएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारको मुख ताक्ने नभएर आफ्ना सम्भावनाहरूको खोजी आफैँले गरी विकासका मोडलहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य हुदैन: अध्यक्ष नेपाल

काठमाडौँ, १३ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताउँदै त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरूले यस्तो सम्झौता रोकिएको बताउँदै उहाँले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो ।

देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उहाँले अहिले उनीहरू असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

समाजवादी मोर्चालाई थप सुदृढ गरी विभिन्न रूपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने बताउँदै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने प्रष्ट पार्नुभयो ।

बागमती प्रदेशमासभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याउने भएकाले त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको बताउँदै त्यसका असरले युवा श्रमशक्ति पलायन भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी नीति, सिद्धान्त कार्यन्वयनमा प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ : महासचिव गुरुङ

कास्की, १३ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–१७ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विभिन्न शक्तिहरूले देशमा द्वन्द्व सृजना गरेर सङ्कट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधिनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन”, महासचिव गुरुङले भन्नुभयो ।

नेता गुरुङले देश स्वाधिन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनैपर्नेमा जोड दिनुभयो । माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उहाँको भनाइ थियो ।

महासचिव गुरुङले देश विकासमा माओवादी केन्द्रको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही सीमा र कमजोरी भए पनि माओवादीको विकल्प अन्य दल हुन सक्दैनन् । अहिले आकारमा सानो भए पनि व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्छ ।” नेता गुरुङले विभिन्न चाडपर्वहरूले देशमा राष्ट्रिय एकता बलियो बनाउने र नेपाली समाजको एकताको आधार बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, दुर्गा विक, गङ्गा पोखरेल, अखिल नेपाल महिला सङ्घ कास्कीका अध्यक्ष सृजना त्रिपाठीलगायतले देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौँ, १३ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्व प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रूपमा लिएर उक्त प्रकिया निषकर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बेपत्ताविरुद्धको अन्तरराष्ट्रिय दिन (अगस्त ३०)का अवसरमा आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न समेत माग गरेको छ ।

“बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले प्रभावितलाई विश्वासमा लिएर निष्पक्ष, विश्वसनीय र सक्षम रूपमा कार्य गर्न, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न/गराउन, यस आयोगका सिफारिसहरू कार्यान्वयन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “बेपत्ता पार्ने कार्यमा संलग्न भएका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडितका परिवारलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न आयोग नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई निर्देशन गर्दछ ।”

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुनलाग्दा पनि शान्ति सम्झौताबमोजिम बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नहुनु र प्रभावितहरू लामो समयदेखि न्यायको पर्खाइमा रहिरहनु भनेको चिन्ताको विषय हो । विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भएता पनि हालसम्म स्थिति सार्वजनिक नहुँदा प्रभावित परिवारको सत्यतथ्य जान्न पाउने अधिकार, सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्तिको अधिकारसमेत उल्लङ्घन भएको आयोगको ठहर छ ।

“बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीहरूमा आयोगले छानबिन गरी दोषीलाई कारबाही, प्रभावित परिवारलाई क्षतिपूर्ति र बेपत्ता भएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नका लागि सरकारलाई पटकपटक गरी दुई सय २६ वटा सिफारिस गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगमा अझै पनि उजुरीहरू विचाराधीन छन् । तर आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था भने निराशाजनक हुनुले सरकार बेपत्ता पारिएका व्यक्तिहरूको न्यायका सन्दर्भमा जिम्मेवार हुन नसकेको आयोगको ठहर छ ।”

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू पटकपटक गठन भएता पनि ती आयोगहरूबाट कार्य पूर्ण नहुँदै समयावधि समाप्त हुने अवस्था रहनु चिन्ताको विषय भएको र अहिले बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्दछ भन्नेमा आयोग दृढ रहेको जनाएको छ ।

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछाम, १३ भदौः जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ । पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् ।

जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन् । जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो । आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन् ।

अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गर्नुभयो । छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाइने उहाँको भनाइ छ ।

आजै जिल्लाको पञ्चदेवल विनायक–८ बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युु भएको थियो । सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना गम्भीर घाइते हुनुभयो । रत्ना आफ्नो माइती घर बारला जानुभएको थियो ।

यसैबीच, महिनावारी कानुनले वर्जित गरेको विषय हो । महिनावारीको नाममा कुनै पनि विभेद् गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रमा महिनावारी भएका बेला दूध, दही खान नदिने चलन अझै कायम । गाई र भैँसीको दूध, दही र मोही महिनावारी भएका बेला दिँदा गाईवस्तु बाँझो हुन्छन् भन्ने अन्धविश्वासले महिला तथा किशोरीलाई दूध दिइँदैन ।

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पुर्‍याइरहेको छ ।

चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताउनुभयो।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ ।

पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।

जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”

यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताउनुभएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा धेरै भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन्।

जापानको महत्वपूर्ण अटो क्षेत्रले अझै पनि २५ प्रतिशत करको सामना गरिरहेको छ । यद्यपि, जुलाईको व्यापार सम्झौताले उनीहरूलाई लगाउने भनी तयारी गरिएको करमा कटौती गरेको छ । घोषित अतिरिक्त करहरू अझै पनि लागू भएको छैनन्।यसैबीच, प्रधानमन्त्री मोदी र इशिबाले शनिबार चिप कारखानाको भ्रमण गर्ने भएका छन् ।

सन् २०४७ मा भारतीय स्वतन्त्रताको शतवार्षिकीसम्म जापानले सात हजार किलोमिटर (चार हजार ३५० माइल) उच्च गतिको रेल सञ्जालमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूले ‘शिन्कानसेन’ बुलेट ट्रेन बनाउने कारखानाको पनि भ्रमण गर्नेछन्।

पश्चिमी भारतीय शहरहरू मुम्बई र अहमदाबादबीच पहिलो उच्च गतिको लिङ्क निर्माण गर्ने उद्देश्यले एक संयुक्त परियोजना वर्षौंदेखि ढिलाइ भएको छ र लागत वृद्धिको कारण ग्रस्त बनेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको साङ्घाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम तय भएको छ । सन् २०१८ पछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ ।

सबैभन्दा बढी जनसंख्या भएका यी दुई देशदक्षिण एसियामा प्रभाव जमाउने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच सीमा विवादका कारण कुटनीतिक सम्बन्धमा तनाव सिर्जना भएको थियो ।

ट्रम्पद्वारा कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता

ट्रम्प प्रशासनले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता लिएको ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार बताएका छन्।

सीएनएनका अनुसार तत्कालीन राष्ट्रपति जो बाइडनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि निर्वाचित उम्मेदवार ह्यारिसका लागि अनुमोदन गरेको समयावधि जुलाई २१ मा समाप्त भएको थियो ।

ह्यारिसका एक वरिष्ठ सहयोगीले एएफपीलाई बताएअनुसार ह्यारिस ‘अमेरिकी गुप्तचर सेवाको व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटूट प्रतिबद्धताका लागि आभारी हुनुहुन्छ।

ह्यारिसले चुनाव हारेदेखि नै उहाँले आफुलाई कम चर्चामा राख्नुभएको छ । उहाँले आफ्नो असफल राष्ट्रपति पदका लागि आफूले लेखेको पुस्तकको प्रचारका लागि यो शरद ऋतुमा भ्रमण गर्नुहुनेछ। यो यात्राले उहाँलाई अक्सर सार्वजनिक रूपमा उपस्थित हुन बाध्य पार्नेछ।

ह्यारिसले ट्रम्पविरुद्ध आफ्नो छोटो राष्ट्रपतीय दौडको अवधिलाई पुस्तकको शीर्षक ‘१०७ दिन’ दिनुभएको छ।साइमन एण्ड शुस्टरद्वारा प्रकाशित संस्मरण सेप्टेम्बर २३ मा संयुक्त राज्य अमेरिकामा सार्वजनिक हुनेछ ।

संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको रूपमा सेवा गर्ने पहिलो महिला, ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्नुभएको थियो । बाइडेनले आफ्नो संज्ञानात्मक स्वास्थ्यको बारेमा चिन्ताको बीच दौडबाट नाम फिर्ता लिनुभएको थियो ।

ह्यारिसले आफूले पुस्तक ‘स्पस्टवादिता र प्रतिविम्व’का साथ लेखेको र अभियानको ‘पर्दा पछाडिको विवरण’ दिने वाचा गर्नुभएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना कथित शत्रु र राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गरी विभिन्न कदम चाल्नुभएको छ ।

उहाँले अन्य अधिकारी र पूर्व अधिकारीहरूको सुरक्षा स्वीकृति खोस्नुभएको छ, उहाँविरुद्ध विगतका मुद्दाहरूमा संलग्न कानून फर्महरूलाई लक्षित गर्नुभएको छ र विश्वविद्यालयहरूबाट संघीय अनुदान रोक्का गर्नुभएको छ ।

गत हप्ता एफबीआईका प्रतिनिधिहरूले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घर र कार्यालयमा छापा मारेका थिए।

सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरु समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गर्दछु ।’

मन्त्री डा. राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौं लगायत नेपालसँग जोडिन पुगेको बताइन् ।