`

राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जर्मनी, फिनल्याण्ड, बुर्किनाफासो र कम्बोडियाका लागि नियुक्त राजदूतहरूले प्रमाणपत्र पेश गरेका हुन् ।

जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई राजधानीस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सामान्य प्रशासनमन्त्री मन्त्री न्यौपानेद्वारा निर्देशन

काठमाडौँ, २९ साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्री न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ (क), निजामती सेवा नियमावली, २०५० को नियम ३ (क), तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ बमोजिम सङ्घीय, प्रदेश र स्थानीय तहका निकायमा व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा १८ वटा सङ्घीय मन्त्रालयसहित २६ वटा निकायको व्यवस्थापन परीक्षण सम्पन्न भएको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ मा ३० वटा सङ्घीय मन्त्रालय तथा निकायको व्यवस्थापन परीक्षण गर्ने लक्ष्य मन्त्रालयको माइलस्टोनमा समावेश भएको छ ।

मन्त्री न्यौपानेले व्यवस्थापन परीक्षणलाई सरकारी सेवा प्रवाहको गुणस्तर सुधार, पारदर्शिता वृद्धि र जवाफदेहिताको महत्वपूर्ण माध्यमका रूपमा लिई सम्पूर्ण निकायमा यसलाई नियमित र प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित सबै निकायलाई आह्वान गर्नुभएको छ ।

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन् ।

यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारीसाधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो । यसले अघिल्लो कीर्तिमान—सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्रीलाई पनि पार गरेको छ ।

संस्थाले जनाएअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारीसाधनमा विद्युतीय सवारीसाधनको बजार हिस्सा ९.३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो ।

यसैबीच, इन्धनबाट चल्ने सवारीसाधनको बजार हिस्सा लगातार घट्दै गएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ ।

संकर प्रविधियुक्त सवारीसाधनको बजार हिस्सा दोस्रो त्रैमासिकमा १४.८ प्रतिशत रह्यो, जुन सन् २०२४ को पहिलो त्रैमासिकयता सबैभन्दा न्यून हो ।

मझौला आकारका सवारीसाधन मात्र त्यस्ता वर्ग थिए, जहाँ विद्युतीय र संकर दुवै प्रकारका सवारीसाधनको बजार हिस्सा इन्धनबाट चल्ने सवारीसाधनभन्दा बढी देखिएको हो ।

काश्मीरमा बादल फाटेर आएको बाढीमा परी ३४ जनाको मृत्यु, दर्जनौं घाइते

भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् ।

“समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्दार गर्न प्रयास जारी छ । किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले भन्नुभयो,“हामीले हालसम्म ३४ शव फेला पारिसकेका छौं र ३५ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि केही व्यक्तिहरु हराइरहेका छन् ।”

नजिकैको अथोली गाउँका एक स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भन्नुभयो,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ ।”
प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ, किनभने बाढीपछिका निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएका छन् ।
घटनास्थल श्रिनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो,“संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिनेछ ।”
यसअघि, अगस्ट ५ मा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो, जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ ।

प्रत्येक वर्ष मनसुनको समयमा भारतमा बाढी, पहिरो र वर्षा जन्य विपद् सामान्यझैँ देखिन्छन् । तर विज्ञहरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटनाहरू पहिलेभन्दा धेरै गम्भीर र बारम्बार हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले गत वर्ष चेतावनी दिँदै भनेको थियो,“बढ्दो बाढी र खडेरीहरू जलवायु संकटको गहिरिँदो सङ्केत हुन्, र विश्वको जलचक्र पहिलेभन्दा अझ अनियमित बन्दै गएको छ ।”

‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट हो ’ – सीईओ जोशी

काठमाडौँ, २९ साउनः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ ।

आज नेपाल पर्यटन बोर्डमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उहाँले निजी क्षेत्रको अग्रसरतामा विकास भएको पर्यटनस्थल नगरकोटलाई अन्तरराष्ट्रियस्तरसम्म प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “होटल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाका बीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका रुपमा नगरकोट स्थापित छ । हामीले आगामी दिनमा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा प्रवद्र्धन गर्नेछौँ ।”

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै उहाँले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताउनुभयो ।

नगरकोटका होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गर्नुभयो ।

नगरकोटको प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विविधता झल्काउने उक्त वृत्तचित्रले यस क्षेत्रको ‘पुनः ब्रान्डिङ’ गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

“चार नगरपालिका मिलेर पहिलोपटक एउटै गन्तव्य प्रवद्र्धन गर्ने यो पहल ऐतिहासिक मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेको छ । नगरकोटलाई अब केवल ‘सनराइज–सनसेट’ मात्र नभई यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ ।”

वृत्तचित्र हस्तान्तरण कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवद्र्धन महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल बोर्डका सदस्य नरेन्द्र देव भट्टले नगरकोटको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताउनुभयो । उहाँले यस अभियानअन्तर्गत उक्त विृत्तचित्रसँगै अन्य प्रचारात्मक गतिविधि र अन्तरराष्ट्रिय स्तरका करिब ५४ कार्यक्रममार्फत नगरकोटलाई विश्वपर्यटन बजारमा थप आकर्षक रूपमा प्रस्तुत गरिने बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

मुग्लिन (चितवन),२९ साउनः नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उहाँका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् ।

चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुईको अवस्था सामान्य छ । तीनै जनाको सरकारी अस्पताल भरतपुरमा उचार भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २९ साउनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष नेपालका लागि जर्मनीका लागि आवासीय राजदूत उडो एयुगेन भोल्ज, फिनल्याण्डका आवासीय राजदूत पेट्रे जुहानी पुहक्का, बुर्किना फासोका गैरआवासीय डा डिसाइर बोनिफेस सोम र कम्बोडियाका गैरआवासीय राजदूत राथ मेनीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियोे ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल दुषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छ – प्रचण्ड

काठमाडौँ, २९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उहाँले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीमा प्रवेशी युवालाई आगामी दिनमा पार्टीको नीतिगत तथा सङ्गठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशिलतामा लाग्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट, के भयो कुराकानी?

जनकपुर, २९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेटेर मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति सुझाव दिएको छ ।

भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने जनाइएको छ ।

पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी, २९ साउनः मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई सञ्चालनको अनुमति दिइने छ । यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ

काठमाडौँ, २९ साउनः जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् ।

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

एमसीसी परियोजनाः २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदै

काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।

एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको यस प्रसारण लाइनको रातमाटे–नयाँ दमौली खण्ड निर्माणका लागि एमरएस एञ्जेलिक–स्किपर जेभीले ठेक्का पाएको छ । उक्त कम्पनीले ७७.४८ मिलियन अमेरिकी डलरमा (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढी) सम्झौता हुन लागेको हो ।

त्यसैगरी, नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि नेपाली कम्पनीले नेतृत्व गरेको संयुक्त उपक्रम वाइबा–सलासर जेभीले ठेक्का पाएको छ । उक्त ठेक्काको लागत ७७.०३ मिलियन अमेरिकी डलर (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८३ करोड रुपैयाँभन्दा बढी) छ ।

नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त वित्तपोषणमा सञ्चालन हुने यस परियोजनामा कुल १५४.५१ मिलियन अमेरिकी डलर बराबरको सम्झौता हुने एमसीए–नेपालले जानकारी दिएको छ । एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणसँगै सडक मर्मतसम्भार लगायतका काम सञ्चालन हुनेछन् ।

ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ, २९ साउन : यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख २८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छभने उपविजेता टोलीले रु तीन लाख ५० हजार ८२ प्राप्त गर्नेछ ।

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

काठमाडौं । आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ ।प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल गरिने भएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ भने बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठक भने बिहान ११ बजे बस्दै छ ।

बाढीले मुस्ताङको ढी– सुर्खाङ जोड्ने पक्की पुलमा क्षति, सवारी आवागमनमा रोक

मुस्ताङ-उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ । मङ्गलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी—सुर्खाङ) खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिनुभयो

आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको मौसम : देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने

काठमाडौँ, २९ साउनः मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

पवित्र कालीगण्डकीबाट वर्षायाममा पनि अवैध दोहन बढ्दै

पर्वत, २९ साउनः नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्रीको अवैध दोहन कार्य वर्षायाममा झनै बढ्दै गएको पाइएको छ ।

कालीगण्डकी नदीको पर्वत जिल्ला खण्डका विभिन्न स्थानमा अवैध दोहन बढ्दै गएको हो । दिन र रात दुवै समयमा लुकीछिपी बालुवा तथा ढुङ्गा निकाल्ने क्रम नरोकिएको जिल्ला समन्वय समिति पर्वतले हालै गरेको अनुगमनका क्रममा भेटिएको हो । जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकको नेतृत्वको टोलीले पर्वत र म्याग्दीको सिमाना राममन्दिर घाटदेखि दमुवाखोलासम्म अनुगमन गर्दा १० वटा किनारमा घाट खोलेर अवैध रूपमा बालुवा उत्खनन गरेको पाइएको हो ।

अनुगमन टोलीले उत्खननकर्ताले बिक्री गरेको बाहेक झन्डै १४ हजार घनमिटर बालुवा र नम्बर प्लेट नखुलेको जेसिबी जफत गरेको छ । अवैध रुपमा उत्खनन गरेको बालुवाको जरिवाना स्थानीय जलजला गाउँपालिकालाई असुल गर्न निर्देशन दिएको जिल्ला अनुगमन समितिका संयोजकसमेत रहनुभएका विकले भन्नुभयो ।

टोलीले जलजला–४ घुमाउने ताल बगरबाट नम्बर प्लेट नभएको उत्खनन गरिरहेको एक्साभेटर जफत गरेको छ भने लस्ती बगर, जलजला–८ खनियाघाट बगर, फर्से बगर, जलजला एकको रामघाट बगर, जलजला–७ मिलन चोक बगर, लस्ती बगर गरी १० स्थानमा अवैध उत्खनन गरेर बालुवा थुपारेको पाइएको जनाइएको छ । यी स्थानमा नापजाँच गरिएको बालुवाको परिमाणबाट गाउँपालिकाले झन्डै रु डेढ करोड जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ ।

जलजला गाउँपालिकादेखि झन्डै १०० मिटर टाढा घुमाउनेमा उत्खनन गर्दै गरेको एउटा एक्साभेटर सिल गरिएको जिल्ला समन्वय अधिकारी किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षायाममा अवैध रूपमा उत्खनन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभयो ।

सोही गाउँपालिकाको राजस्व शाखाप्रमुख कृष्ण रिजालले गाउँपालिकाले ठेक्का नखुलाउँदै अवैध उत्खनन गर्नेलाई कारबाही गरिने बताउनुभयो । उनीहरुलाई उत्खनन गरेको जरिवाना असुलउपर गर्नाका साथै आगामी दिनमा उत्खनन नगर्नका लागि निरुत्साहित गर्न पालिकाले सम्पूर्ण कार्य गर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अवैध उत्खनन रोक्नका लागि नगर प्रहरीसमेत परिचालन गरिएको बताउनुभयो । नगर प्रहरी नआएको बेला लुकीछिपी उत्खनन गर्नेलाई प्रहरी प्रशासन र जिल्ला अनुगमन समितिले आवश्यक कारबाही गरोस् भन्ने पालिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो ।

यसअघि सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्यय रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको थियो । गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेपछि पुनः उत्खनन सुरु गरिएको थियो ।

जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख विकले अवैध रूपमा प्राकृतिक स्रोतसाधनको उत्खनन र दुरुपयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले आफूहरुसँग कारबाही गर्ने पूरै अधिकार नभएकाले यसमा अरु निकायको सहयोग जरूरी रहेको बताउनुभयो ।

पहाडबाट तराई बसाइँ सर्ने क्रम झनझन् बढ्दै, चुनौती थपिँदै

भीमदत्त, २९ साउनः सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ ।

नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९९७ छभने पुरुषको जनसङ्ख्या १२ लाख ७२ हजार ७८६ रहेको छ । यस प्रदेशबाट धेरै जना पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुकसमेत जाने गरेकाले अन्य प्रदेशको तुलनामा पुरुषको जनसङ्ख्या कम्ती र महिलाको जनसङ्ख्या बढी देखिएको हो ।

तथ्याङ्कअनुसार यहाँ महिलाको जनसङ्ख्या ५२ दशमलव ७७ र पुरुषको जनसङ्ख्या ४७ दशमलव २३ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये तराईका दुईवटा र दुईवटा पहाडका बाहेक पाँचवटा जिल्लाको जनसङ्ख्या घट्दो अवस्थामा छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको जनगणनाअनुसार अछाम, बैतडी, डोटी, बझाङ, डडेल्धुरा जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दो अवस्थामा छ । हिमाली जिल्ला दार्चुलाको जनसङ्ख्या वृद्धिदर स्थिर अर्थात् शून्य प्रतिशत छ ।

पहाडको बाजुरा जिल्लाको जनसङ्ख्या वृद्धिदर सामान्य अवस्थामा बढेको छ । यहाँको वृद्धिदर शून्य दशमलव २५ प्रतिशत छभने कैलालीको सबैभन्दा उच्च एक दशमलव ४८ र कञ्चनपुरको एक दशमलव २५ प्रतिशत रहेको छ । तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार अन्य प्रदेशको जस्तै यस प्रदेशमा पनि पहाडी र हिमाली ठाउँबाट मानिसहरू तराई—मधेसतिर झर्ने र पहाडमा बसे पनि सहरी क्षेत्रतिर बस्ने प्रवृत्ति बढेकाले जनसङ्ख्या वितरणमा समस्या देखिएको हो ।

अन्न उत्पादनको भण्डारका रूपमा चिनिने तराईमा बढ्दो जनसङ्ख्याले कृषियोग्य भूमि घट्दै गइरहेको छ । जनसङ्ख्या व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले बेलैमा चासो नदिएमा निकट भविष्यमा नै ठूलो समस्या निम्तने धेरैको चिन्ता छ ।

“पहाडतिर रोजगारी, शिक्षा, आफू अनुकूल समाज र अवसरहरू कम हुँदा नागरिकहरू त्यस्ता कुरा सजिलै पाउने ठाउँतिर झरेर यस्तो असन्तुलन भएको हो”, कार्यालय न्यौपाने भन्नुहुन्छ, “यसलाई रोक्नका लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनु पर्दछ । तथ्याङ्कमा आधारित योजना र बजेट बनाइयो भने मानिसका आवश्यकता आफू बसेकै ठाउँमा सम्बोधन हुन सक्छन् । नभए सुदूरपश्चिमा असन्तुलित जनसङ्ख्याले दीर्घकालीन रुपमा चुनौती थपिने छ ।”

उहाँले तराईमा बढ्दो जनसङ्ख्याले कृषि उत्पादन क्षेत्र घटिरहेको र पहाडमा बाँझो जमिन बढिरहेको अवस्थाले समयमै उपयुक्त नीति अख्तियार नगरे निकट भविष्यमा आयातको दायरा थप बढ्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

विज्ञहरूका अनुसार सुदूरपश्चिमको जिडिपीमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेकाले उत्पादन घट्दा यहाँको अर्थतन्त्रमा पनि सङ्कुचन आउने देखिन्छ । यहाँको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या कैलाली र कञ्चनपुरमा छ । कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ । जनसङ्ख्याको यो चाप सदरमुकाम भीमदत्तमा मात्र होइन ग्रामीण क्षेत्रतिर पनि उस्तै रहेको छ ।

भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीका अनुसार तराईको सुगम, राजमार्गसँग जोडिएको नगर भएकाले पनि यहाँ मानिसको आकर्षण हुनु स्वाभाविक नै हो । हरेक वर्ष नयाँ मान्छे थपिँदा स्रोत व्यवस्थापन बर्सेनि चाप बढ्दै गएको उहाँको भनाइ छ । “नगरपालिकामा भएका सबै शाखाले आ–आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराउने गरेका छन् । बसाइँसराइ र बढ्दो जनसङ्ख्याले स्रोत व्यवस्थापनमा दबाब छ, तर पनि हालसम्म व्यवस्थापन गरिरहेकै छौँ । यो निरन्तर बढ्ने हो भने समस्या हुनसक्छ”, नगरप्रमुख बोगटीले भन्नुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, सुदूरपश्चिमका अनुसार कञ्चनपुरका नौवटा स्थानीय तहको जनसङ्ख्यामा भीमदत्त नगरपालिकाको जनसङ्ख्या एक लाख २२ हजार ३२० रहेको छ । यसैगरी, कृष्णपुर नगरपालिकाको ७१ हजार ५००, शुक्लाफाँटा नगरपालिकाको ५३ हजार ९६९, वेदकोट नगरपालिकाको ५७ हजार ६८०, दोधारा चाँदनीको ४२ हजार ९७४ जनसङ्ख्या रहेको छ । पुनर्वास नगरपालिकामा ६१ हजार ७४८, बेलौरीमा ५३ हजार ९१०, बेलडाँडी गाउँपालिकामा २१ हजार ८८८ र लालझाडी गाउँपालिकामा २५ हजार ३७ जनसङ्ख्या छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले जनसङ्ख्या व्यवस्थापनका लागि बसाइँसराइ निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । यसलाई नियन्त्रणका लागि पहाडी क्षेत्रमा रहेका स्रोतसाधनको सदुपयोगसँगै राज्य स्रोतलाई समानुपातिक रूपमा वितरण गर्नुपर्नेमा उहाँको जोड छ । सुदूरपश्चिमका पहाडी जिल्लामा तरकारी, फलफूल खेतीसँग पशुपालनको ठूलो सम्भावना रहेकाले त्यसमा सरकारले सरकारी–निजी साझेदारीमा लगानी गर्नुपर्ने भट्टको सुझाव छ ।

“बसाइँसराइका कारण पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो छ, ती क्षेत्रलाई नमूना कृषि पकेट क्षेत्रमा वर्गाीकृत गर्नुपर्छ”, उप–प्राध्यापक भट्टले भन्नुभयो, “ती क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ, किसानलाई सामूहिक खेतीमा आबद्ध गराउने नीति अवलम्बन गरिनुपर्छ । साथै सरकारले उत्पादनको सुरक्षा र बजारीकरणका लागि पूर्वाधार निर्माणसँगै कृषि एम्बुलेन्स, चिस्यान केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता छ ।”

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा हिरा चन्दले रोजगारी, गुणस्तरीय शिक्षा र राम्रो स्वास्थ्य उपचारको खोजीमा पहाडबाट बसाइँसराइ भइरहेकाले त्यसको सुधारमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यहाँका पहाडी जिल्लामा बसाइँसराइ रोक्न प्रदेश सरकारले एकीकृत बस्ती विकास, एक पालिका, एक उत्पादन र पूर्वाधार विकासमा जोड दिएको उहाँको भनाइ छ ।

“पहाडी क्षेत्रमा पूर्वाधार विकास र सेवा प्रवाह खर्चिलो छ । त्यसैले छरिएर रहेको बस्तीलाई एकीकृत गर्नुपर्छ, सामुदायिक विद्यालयमा गुणस्तर सुधारसँगै आवासीय बनाउनुपर्छ”, सदस्य चन्दले भन्नुभयो, “सुदूरका पर्यटकीय क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्न सके नागरिकको जीवनमा सुधार हुन्छ । किसानलाई उत्पादनमा अनुदान, उद्यमीलाई कर्जामा ब्याज अनुदान दिएर प्रोत्साहन गरिनुपर्छ ।”

बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

नेपालगन्ज, २९ साउनः बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको रु २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो । त्यस क्रममा नेपाली र भारतीय गरी रु २२ लाख तीन हजार ९१५ सहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।

यस्तै, उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ । घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, २९ साउनः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ््याङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १९ रूपैयाँ ५४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३२ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १२ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९१ पैसा र बिक्रीदर २२ रूपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७ रूपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ र बिक्रीदर ४५८ रूपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २९ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १८ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

इलाममा एक सय ४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

काठमाडौँ, २९ साउनः मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ ।

कास्कीमा पनि पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।

अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो भारी वर्षा हो । विभागका अनुसार झन्डै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ ।

प्राप्त विवरणअनुसार ती जिल्लाबाहेक दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, बारा, काठमाडौँका तीन जिल्ला, दोलखा ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापालगायत जिल्लामा वर्षा भएको छ ।

मङ्गलबारदेखि पुनः मनसुन सक्रिय भएर बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय भइरहेको बताउनुभएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जनाएको छ ।

हाल देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ : अध्यक्ष यादव

राजविराज (सप्तरी), २८ साउन : जनता समाजवादी पार्टी(जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ ।सप्तरीको राजविराजमा आज आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उहाँले १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले संविधानमा अहिले पनि मधेसी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायलगायत कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै समस्यालाई सच्च्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष यादवले प्रदेशको अधिकारविहीन र कानुनविहीन बनाइएको आरोप लगाउनुभयो ।

घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगी विरुद्ध मुद्दा

काठमाडौँ, २८ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार अभियोगमा आरोप–पत्रदायर गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र लगतकट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस रु रु २४ लाख ५० हजार माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइस एवं घुस रकम रु २४ लाख ५० हजारसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिइएको हो ।”

प्रतिवादीद्वयले घुस रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुनेमा मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच समझदारी

गण्डकी, २८ साउन : पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयकोतर्फबाट प्राध्यापक चोइ जेइयोङले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबीच अन्तरराष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन र प्रविधिका क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने महानगरपालिकाले जनाएको छ ।

सहरी विकास, पर्यटन र दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने समझदारीपत्रमा भनिएको छ ।

महानगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राविधिक शिक्षाका सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तरराष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरूलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताउनुभयो ।

विशेषगरी प्राविधिक शिक्षा, मानवसंशाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँको भनाइ छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरूको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालनमा छन् ।

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान

लुम्बिनी २८, साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनीले वर्तमान प्रदेश सरकारको नेतृत्वमा रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउने जनाएको छ । जिल्लालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजना सम्पन्न गर्न सरकारले विशेष जोड दिएको जनाएको हो ।

आज दाङको लमहीमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौंँ पू्र्ण बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरू गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको उल्लेख गरिएको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेकाले पार्टीका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै अघिल्ला कार्यकालको आयोजनाको निरन्तरता, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधनर भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको निष्कर्ष निकालेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले २०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

एक वर्षे उपलब्धि प्रस्तुत गर्दै उहाँले पूर्व विशिष्ट पदाधिकारीको सेवा–सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पु-याएको, सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल, कालोपत्र सडक र नयाँ सडक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सरकारका काम–कारबाहीबाट गाउँ र सहर जोडिएका छन् । बैठकलाई केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललेलगायतले सम्बोधन गर्नुभएको थियो । बैठकमा १२ जिल्ला अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम, रेशम पक्ष किन चुपचाप ?

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेपछि अहिले रेशम चौधरी पक्ष चुपचाप बसेको छ । रञ्जिता विवादै विवादमा मुछिएपछि रेशम पक्षधरले १४ र १५ साउनमा काठमाडौंमा राष्ट्रिय भेला बोलाएर उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । पदमुक्त गर्ने निर्णय गरेर राष्ट्रिय भेलाले श्रेष्ठ को स्थानमा लालवीर चौधरीलाई नयाँ अध्यक्ष तोकेको थियो ।

तर आयोगले नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने बतायो । अहिले यस बिषयमा रेशम चौधरी पक्षको कुनै पनि निर्णय आएको छैन । आयोगको निर्णय बारेमा संरक्षक रेशम पक्षको बैठक बसेर मात्रै जानकारी आउने महासचिव ठाकुरसिंह थारूले बताउका छन् ।

उनले आयोगको निर्णयले सबै नेता तथा कार्यकर्ताहरूलाई एकबद्ध भएर हिँड्नुको विकल्प नभएको सन्देश दिएको बताए । आयोगको निर्णयलाई सबैले स्वीकार गर्दै पार्टीको अगामी कार्यक्रम, नीति र पद्धतिका लागि एकजुट हुनुपर्ने उनले प्रतिक्रिया दिए ।

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा श्रेष्ठ मुछिएकी थिइन् ।पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिसँग निरन्तर संवाद भएको खुलेको थियो। पोखराका बिचौलियासँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने उनले आश्वासन दिएकी थिइन् । त्यही प्रकरणमा रञ्जितालाई अख्तियारले बयानका लागि पनि बोलाएको थियो । यसै बिषयमा रेशम पक्षधरले उनीमाथि उठेका प्रश्नको स्पष्टीकरण सोधेको थियो तर रञ्जिताले जवाफ दिएकी थिइनन् ।

एकैसाथ ७२ जना सहसचिवको सरुवा, को कहाँ सरुवा ?

काठमाडौं । सरकारले ७२ जना सहसचिवको एकैसाथ सरुवा गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरुवा गरिएकाहरूमा संघीय मन्त्रालयका सहसचिव साथै प्रदेशका सचिवहरूसमेत छन् ।

रुद्रप्रसाद लामिछाने थारू आयोग, हेमराज सुवेदी स्वास्थ्य मन्त्रालय, निता पोखरेल अर्याल स्वास्थ्य मन्त्रालयमा, भूपेन्द्र थापा उद्योग मन्त्रालय, प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालय सरुवा भएका छन् ।

 

पुरा विवरण हेर्नुहोस को कहाँ सरुवा भए

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन् ।

उनले भने, ‘अब लर्याङतर्याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ । स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ । यसका लागि हामीले कतै अवरोध छ भने हटाउनुर्छ ।

प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडाँै, २८ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पु-याएको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक÷वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा मन्त्री गुरुङले नीति, नियम र ऐन कानुन सुधार गरेर सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

साथै, उहाँले संस्थागत सुधारका लागि कर्मचारी, प्रशासन संयन्त्र र कार्यशैलीमा सुधार ल्याउनु अर्को महत्वपूर्ण पक्ष हुने बताउनुभयो । विगतबाट पाठ सिक्दै आगामी कार्य सम्पादनमा अपेक्षाकृत प्रगति गर्न उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । हुलाक सेवाले प्रगति गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

सञ्चार सचिव राधिका अर्यालले मन्त्रालयले केही महत्त्वपूर्ण नीतिगत कार्य गरेको बताउनुभयो । हाल मन्त्रालयले ऐन, संशोधन, नीतिगत सुधार गर्न लागेकाले यसले आगामी कार्यदिशामा काम गर्न सहजता प्रदान गर्ने उहाँको भनाइ थियो ।

बैठकमा मन्त्रालयका सहसचिव कोशहरी निरौलाले मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सीमित स्रोत र साधनका कारण लक्ष्य पूरा गर्ने चुनौती छ । यद्यपि आगामी दिनमा सुधार गर्दै कार्ययोजना बनाउन मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न निकाय प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन र माफी माग्न रास्वपा नेता उपाध्यायलाई पत्रकार महासंघ लुम्बनीको आग्रह

काठमाडौं – नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अभिव्यक्तिप्रति ध्यानकर्षण भएको जनाउदै अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी सो अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले रुपन्देही निर्वाचन क्षेत्र नं। ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकाङ्क्षी रहेका सिद्धार्थनगर–७ निवासी उपाध्यायले पत्रकारिता पेसा र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्यले गैरजिम्मेवार टिप्पणी गरेको बताएका छन् । विज्ञप्तिमा उपाध्यायको उक्त अभिव्यक्ति खेदजनक, आधारहीन र लज्जास्पद भएको उल्लेख गर्दै तत्काल फिर्ता लिई सार्वजनिक माफी माग्न माग गरिएको छ ।

केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले स्थानीय र अन्य मिडियाको आवश्यकता नभएको, समाचार पढ्दा हाँसो उठ्ने र सम्पूर्ण पत्रकारहरू ५ हजार रुपैयाँमा बिक्री हुने जस्ता तथ्यहीन, अपमानजनक र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएका थि ए। यस्ता टिप्पणीले पत्रकारिता पेसाको मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर आघात पुर्याएको महासंघको ठहर छ ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

चितवन, २८ साउनः सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन् । यो रोगको सङ्क्रमण फेब्रुअरीदेखि देखिने भए पनि हाल सङ्क्रमणको जोखिमको समय सुरु भएको उहाँले बताउनुभयो ।

सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । जसमा चिवनका तीन, सिन्धुलीका दुई र काठमाडौँका दुई जना थिए । अहिले यो रोगको सङ्क्रमण देखिने समय भएकाले सबैलाई सजग रहन उहाँले आग्रह गर्नुभएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले सङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । मानिसबाट मानिसमा यो रोग नसर्ने उहाँले बताउनुभयो ।

यस रोगको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ । यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

जापानिज इन्सेफ्लाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस जस्ता घरपालुवा पशुपक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ ।

ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

काठमाडौँ २८ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गर्नुभएको छ ।

आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गर्नुभयो ।

मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । एमसिसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताउनुभयो ।

एमसिसीका सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर, २८ साउन : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।विश्व अङ्गदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बिमासँग विपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अङ्गदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”

अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले सबै सङ्घीय अस्पतालको क्षमता तीनगुणा बढाएर सबैलाई कम्तीमा ५०० श्यया बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यकपर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताउनुभयो ।मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका जारी हुुन लागेको बताउँदै भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले कडाइ गरेको अवस्थामा नेपालमा पनि अङ्गदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।

मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उहाँले विशिष्टिकृत उपचारलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अगाडि सार्नुपर्ने बताउनुभयो ।प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै श्यया अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरूआत हुनु नै स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालमै मिर्गाैला र कलेजो प्रत्यारोपणले राज्यको अर्बौं रूपैयाँ विदेशिनबाट जोगिएको बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण सेवाको सुरूआत भएसँगै बिरामीलाई आर्थिक तथा मानसिक रूपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।कार्यक्रममा प्र्रत्यारोपणका संयोजक डा कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अङ्गदानबाट नयाँ जीवन पाएका शिव महर्जनले अङ्गदान र जीवनबारे अनुभव सुनाउनुभएको थियो ।

मधेश प्रदेश सरकारद्वारा २०८१-८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।

विगत वर्षहरूसँग तुलना गर्दा २०८१÷८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।

प्रदेश सरकारले आव ०७५÷७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६÷७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७÷७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो ।

यसैगरि आव ०७८÷०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९÷८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०÷८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।मधेश प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन गर्ने दायरा बढाएको छ ।

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौँ, २८ साउन : नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन–३ आगामी भदौको पहिलो साता हुने भएको छ ।अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ । विभिन्न चार राष्ट्रका खेलाडी सहभागी हुने उक्त लिगमा विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कूल १० क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ ।

पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेल स्थललाई आकर्षक बनाइने बताउनुभयो ।

उहाँले चीन, भारत, पाकिस्तान र ताइवानका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्ने बताउनुभयो । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् ।

लिग विजेताले रु तीन लाखसहित रनिङ ट्रफी तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रो हुने दुई टोलीले जनही रु ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ, २८ साउनः सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरुले साइबर सुरक्षाका लागि यो विधेयक आवश्यक भएको बताउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयकमाथिको छलफलका क्रममा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले डिजिटल प्लेटफर्मसम्बन्धी अर्को विधेयक राष्ट्रियसभामा रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको घोषणापत्रले नै सुशासनका लागि सूचना प्रविधिमा जाउ भनेकाले यो विधेयक ल्याएको उहाँले जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसलाले पनि निर्देशनात्मक आदेश जारी गरी नेपाली जनताको ‘डेटा’ नेपालमै रहने व्यवस्था गर्नु भने अनुसार यो विधेयक ल्याइएको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

साङ्घाइमा ‘सिक्स जी’ को अनुसन्धान भइरहेकाले प्रविधिमा अघि बढ्न यो कानुन आवश्यक भएको उहाँले बताउनुभयो । कृत्रिम बौद्धिकतासम्बन्धी अर्को कानुन आवश्यक पर्ने मन्त्री गुरुङको भनाइ छ ।

बैठकमा सांसदहरु उर्मिला माझी, दीपा शर्मा, नारायणी शर्मा, सुनिता बराल, रणेन्द्र बराइली, रणकुमारी बलम्पाकी मगर, हितराज पाण्डे, रमा कोइराला पौडेल, ठाकुरप्रसाद गैह्रे, प्रकाश ज्वाला, डा अमरेशकुमार सिंह, सपना राजभण्डारी, भगवती चौधरीलगायतले विधेयकका विषयमा विचार राख्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले साइबर सुरक्षा आवश्यक भएकाले विधेयक सही समयमा आएको, नियमका नाममा नियन्त्रण गर्न नहुने, राष्ट्रहितमा हुने गरी व्यवस्थित गरिनुपर्ने, कृत्रिम बौद्धिकता (एआई) मा प्रवेश गर्न जनशक्ति व्यवस्थापन गरिनुपर्ने, अङ्ग्रेजी शब्दलाई नेपालीकरण गरिनुपर्ने, संविधानमा उल्लेख गरिएका मौलिक हकहरु सूचनाको हक, गोपनीयताको हकलाई असर नगर्ने गरी कानुन बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक सङ्ख्या नपुगेकाले गणनाको माग गर्नुभएको थियो । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ अर्थात् ६९ हुनुपर्नेमा ६६ मात्र भएकाले बाँकी कार्यक्रम हटाइएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

एन्फा महिला लिग छनोट बिहीबारदेखि, १४ टोलीबिच प्रतिस्पर्धा हुने

काठमाडौँ, २८ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

उहाँले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । प्रतियोगिताको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन् ।

त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । प्रतियोगिताको उद्घाटन खेलमा एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ ।

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना

काठमाडौँ, २७ साउन : गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ । समीक्षा अवधिमा वाग्मतीमा चार, मधेसमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगकÞा घटना भएका काउन्सिलले जनाएको छ ।