फागुन २१ को निर्वाचनमा शीर्ष नेता र प्रतिष्ठित व्यक्तिहरू आ–आफ्नो केन्द्रबाट मतदान गर्दै
काठमाडाै- । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारी, शीर्ष राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्ने तयारी गरेका छन्। अघिल्ला निर्वाचनझैं यसपटक पनि सबैले नामावली कायम रहेको केन्द्रमै पुगेर मताधिकार प्रयोग गर्ने जनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्की ले काठमाडौँको टोखा नगरपालिका–धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवीस्थित मयूर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड महाँकाल केन्द्रबाट मतदान गर्ने जनाइएको छ।
पूर्वराष्ट्रपति रामवरण यादव धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला माविबाट मतदान गर्नेछन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले बूढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित केन्द्रबाट मताधिकार प्रयोग गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा को नामावली डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम माविमा भए पनि यसपटक उहाँ विदेशमा रहेकाले मतदान नगर्ने जनाइएको छ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गर्नेछन्। त्यस्तै नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले भरतपुर–१४ शान्तिपुर केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय केन्द्रबाट, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई ले गोरखाको पालुङटार–खोप्लाङस्थित अन्नपूर्ण माविबाट मतदान गर्नेछन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस विज्ञान भवनबाट मतदान गर्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले झापाको हल्दिबारी गाउँपालिका–१ वडा कार्यालय केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले काठमाडौँको विशालनगरस्थित विशाल मिलन केन्द्रबाट मतदान गर्नेछन्।
कलाकारतर्फ अभिनेता राजेश हमाल ले लैनचौरस्थित जननाथ स्मृति माविबाट, अभिनेत्री करिश्मा मानन्धर ले महाराजगञ्जस्थित केन्द्रबाट र अभिनेता भुवन केसी ले गुह्येश्वरी माविबाट मतदान गर्ने जनाइएको छ।निर्वाचनमा शीर्ष नेतृत्वदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। रासस
