`

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

त्रिशूली (नुवाकोट), १६ साउनः विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान)मार्फत छाना (झिङ्गटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।

“पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिङ्गटी, झ्याल, बुर्जा, बार्दलीलगायत सामग्रीको संरक्षणका लागि सोहीअनुसार प्रबन्ध मिलाइएको छ ।”

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि १८०१ सालमा विजयी हासिल गर्नुभएको थियो । त्यसपश्चात उहाँले निर्माण गर्न लगाउनुभएको उक्त साततले दरबार १० वर्षअघि २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको हेरचाह कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।

साततले दरबार पुनर्निर्माणका क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र एकिन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

“अहिलेको प्राविधिक अध्ययनअनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययनपश्चात् दरबार पूरै भत्काउने वा जोखिम भएका तलाहरू हटाई सोही ठाउँबाट पुनर्निर्माण गरिने भन्ने विषयमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहयोगअन्तर्गत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित आठवटा संरचनाको पुनर्निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माणअन्तर्गत भूकम्पले पूर्णक्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु)को मन्दिर पूरै भत्काइएको छ ।

हाल उक्त स्थानमा भेट्टिएका पुरातात्विक सम्पदासँग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अध्ययनपश्चात् तलेजु मन्दिरको नयाँ निर्माण पहिलाजस्तो थियो सोहीअनुसार हुनेछ ।

साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण विसं २०८३ असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी निर्माण गरिने चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी छवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्णक्षति भएकाले नयाँ निर्माण गर्न लागिएको हो ।

भूकम्पले क्षति पुगेको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १६ साउन : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अक्षयले युके पठाइदिने रु २७ लाख २९ हजार, सुशानले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै रु ३६ लाख ६३ हजार, प्रदीपले अजरबैजान पठाइदिने भन्दै रु छ लाख २० हजार र मञ्जुले अमेरिका पठाइदिने रु एक लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छभने सुशान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

‘खेल क्षेत्र व्यावसायिक हुनुपर्छ’ – मुख्यमन्त्री कँडेल

कर्णाली, १६ साउन : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वस्थ युवा, समाज र राष्ट्रका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक खेलको माध्यमबाट स्वस्थ र सक्षम नागरिक उत्पादन हुँदा भावी जनशक्तिलाई आत्मनिर्भर सघाउ पु¥याउछ । यसमा सम्बन्धित सबै सरोकारवालाहरूको ध्यान जान आवश्यक छ ।”

खेलकुदले राष्ट्रिय गरिमा बढ्नेदेखि खेल पर्यटनका माध्यमबाट मनोरञ्जन दिने युवा रोजगारी सिर्जना गरी आर्थिक समृद्धि बढाउनतर्फ जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उहाँका अनुसार खेलले युवालाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने भएकाले यस क्षेत्रमा राज्यको लगानी आवश्यक छ ।

उक्त समारोहमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष दीपेन्द्र दाहाल, नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशका पदाधिकारीसहित यहाँका १० जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

महेन्द्रनगर (धनुषा), १६ साउन : सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा प्रदेशका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ ।

प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसङ्कटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन ।” कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो । साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ ।

पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो ।

गठबन्धन रहँदासम्म सरकार निरन्तर सञ्चालन हुने अध्यक्ष नेपालको दाबी

मोरङ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसद्मा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टीविरुद्ध बोल्नुभएको हो भने नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले आफूविरुद्ध पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचारको मुद्दा पूर्वाग्रह रूपमा लगाइएको हो भन्दै हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउन जिल्ला तहदेखि सर्वसम्मत रूपमा निर्णय भएकाले यो भ्रष्टाचारको मुद्दा नै नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन नभएकाले बढी जग्गा बिक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको छ ।” उहाँले नेकपा (माओवादी केन्द्र) सँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं वार्ता भइरहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको राजनीति चुनौतीलाई सामाना गर्न एवं विचार र मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरूबीच सहकार्य गरी अगाडि बढ्न मोर्चा निर्माण गरिएको बताउनुभयो । उहाँले पार्टीको निर्णय उल्लङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा, १६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रङ्गशालाको अवलोकन गर्दै उहाँले रङ्गशालाको निर्माण व्यवस्थित रूपमा भइरहेको उल्लेख गर्नुभयो ।

भद्रपुर क्रिक्रेट क्लबले मेची बहुमुखी क्याम्पसको जग्गा लिजमा लिएर रङ्गशाला निर्माण गरेको हो । रङ्गशालाको निर्माणमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय क्रिक्रेटप्रेमीको रु ६० लाखभन्दा बढी लगानी भइसकेको क्लबका अध्यक्ष आदित्य पराजुलीले अवलोकनका क्रममा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्री कार्कीले मैदान र अन्य भौतिक संरचना सन्तोषजनक रूपमा निर्माण भइरहेको बताउनुभयो । उहाँले रङ्गशालालाई प्रदेशकै उत्कृष्ट क्रिक्रेट मैदानका रूपमा विकास गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्न क्लबलाई सुझाव दिनुभयो । “डिपिआर बनाएर अघि बढ्नुहोस्, प्रदेश सरकारबाट के–कस्तो सहयोग चाहिएको हो, हामी सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय क्रिक्रेटमा महत्त्वपूर्ण योगदान पु¥याउने प्रतिभाशाली खेलाडीहरू झापाकै रहेका उल्लेख गर्दै भद्रपुर-८ का वडाध्यक्ष मनोज सुब्बाले झापाको गौरव बढाउने लक्ष्यसहित भद्रपुरमा अन्तरराष्ट्रियस्तरको क्रिक्रेट रङ्गशाला बनाउन थालिएको बताउनुभयो । उहाँले हाल तयार भएको उक्त मैदानमा आठ हजार दर्शक अट्ने र यही वर्ष क्लबले कोशी प्रिमियर लिग आयोजना गर्न लागेको जानकारी दिनुभयो । रङ्गशाला निर्माणपछि झापाका क्रिक्रेटप्रेमीहरू उत्साहित भएका उहाँको भनाइ छ ।

मेची बहुमुखी क्याम्पसको १६ बिघा क्षेत्रफलमध्ये चार बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भएको हो । वार्षिक रु ५० हजार भाडाबापत तिर्ने शर्तमा २५ वर्षका लागि उक्त जग्गा क्याम्पससँग क्लबले लिएको उहाँले जानकारी दिनुभयो ।

जुलाईमा भित्रिए ७० हजार विदेशी पर्यटक

काठमाडौँ, १६ साउन : सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनःलयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताउनुभयो ।

जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९.४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८.१ प्रतिशत) र छन् अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२.६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

बोर्डका सीईओ जोशीले भन्नुभयो, “भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।”

‘थालेका काम सक्ने’ सङ्कल्पसँगै देखिन थाले विकास निर्माणका प्रगति

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष व्यतित हुँदा विकास निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिन थालेका छन् ।

‘थालेका काम सक्ने’ भन्ने प्रधानन्त्री ओलीको सङ्कल्प र त्यस सङ्कल्पलाई कार्यान्वयनका लागि मन्त्री र सचिवहरूलाई विभिन्न समयमा उहाँले दिनुभएको निर्देशनसँगै प्रगति देखिन थालेको हो ।

निर्माणाधीन आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माणाधीन विकास आयोजनाहरूको तीव्र अनुगमन गरी विकासको गति र कार्यसंस्कृतिमा सुधार ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयले नियमित अनुगमन र फलोअप गरिरहेको छ ।

अघिल्लो सरकारको कार्यकालमा रोकिएका, झमेला भएका, ढिलासुस्ती देखिएका, रुख कटान र न्यून बजेटलगायत समस्या व्यहोरेका आयोजनालाई प्रधानमन्त्री ओली आफैँले विशेष चासो दिएपछि प्रगति देखिन थालेका हुन् ।

वर्तमान सरकारले राष्ट्रिय राजमार्गका रूपमा रहेको मुग्लिङ–पोखरा सडक (पूर्वी खण्ड) सम्पन्न हुने अवस्थामा पुर्‍याइएको छ भने ठप्प प्रायः रहेको कमला–कञ्चनपुर सडकको निर्माण कार्यलाई सुचारु बनाइ सो खण्डमा ६६ प्रतिशत उपलब्धि हासिल गरेको छ । अघिल्लो सरकारका पालामा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायगढ–बुटवल सडक खण्डमा प्रधानमन्त्री आफैँले अग्रसरता लिएपछि ७० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।

प्रवेशविन्दुमा रेखाङ्कनको विवादका बीच काठमाडौँ–तराई–मधेस द्रूूतमार्गमको प्रगति ३५ प्रतिशतबाट बढेर ४२ दशमलव १३ प्रतिशत पुगेको छ । यस्तै, काँकडभिट्टा–लौकही पूर्वी खण्डमा ६ प्रतिशतबाट २२ दशमलव १२ प्रतिशत, पश्चिम खण्डमा ४ दशमलव ७ प्रतिशतबाट २२ दशमलव १ प्रतिशत पुगेको छ । मुग्लिङ–पोखरा सडकको पूर्वीखण्ड ६० प्रतिशतबाट ८२ दशमलव ७४ प्रतिशत पुगेको छ भने पश्चिम खण्ड ४५ प्रतिशतबाट ५४ दशमलव १ प्रतिशतमा पुगेको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

यसैगरी, नागढुङ्गा सुरूङमार्गको प्रगति ६६ प्रतिशतबाट ९२ दशमलव ५ प्रतिशत, सिद्धबाबा सुरूङमार्ग सडकको प्रगति १६ प्रतिशतबाट ५८ दशमलव ३ प्रतिशतमा उक्लिएको उहाँले बताउनुुभयो । केही आयोजनाहरू जस्तै कमला–ढल्केवर–पथलौया सडक र बुटवल–गौरुसिङ्गे–चनौटा सडक २०८१/८२ मा मात्र सुरू गरिएका हुन्, जसमा प्रारम्भिक प्रगति क्रमशः १० दशमलव ९१ र १२ दशमलव २३ प्रतिशत छ । कालिगण्डकी करिडोरमा ६४ दशमलव ८ बाट ७९ दशमलव ८ प्रतिशत, बेनी–जोमसोम–कोरोला खण्डमा ७२ बाट ८५ प्रतिशत र तमोर करिडोरमा २५ बाट ५६ प्रतिशत प्रगति भएको छ ।

प्रधानमन्त्री ओलीकै सक्रियतामा तराई मधेस फास्ट ट्रयाकदेखि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकहीखण्ड, मध्यपहाडी राजमार्ग सडक विस्तार र स्तरोन्नतिले गति लिएका छन् । प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार लामो समयसम्म अन्योलमा रहेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक निर्माणका लागि यस सरकारले विशेष अनुगमन गरी साइट क्लिएर गराई ठेक्का सम्झौताको चरणमा पुर्‍याइएको छ ।

हाल सो सडकमा रुख कटान, साइट क्लियरेन्सलगायत काम सकेर १२ प्रतिशत प्रगति भइसकेको अवस्था छ । यस सरकारले मुलुकमा पूर्व–पश्चिम राजमार्गभित्र आठ मुख्य खण्डमा छुट्याएर काम गरिरहेको छ भने नेपाल, भारत र चीनबीचको व्यापारिक तथा रणनीतिक मार्ग मानिएका उत्तर दक्षिण लोकमार्ग प्राथमकिता दिँदै हुम्लालाई राष्ट्रिय सडक पहुँचमा जोडेको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेससहितको अहिलेको सरकारले मुलुकभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणसहित राष्ट्रिय मार्गचित्रका आयोजना सुरूवात गरेको थियो । यो सरकारले सडक पूर्वाधारमा एसियन मापदण्डस्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरूङ मार्ग निर्माणलगायत पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गर्दै आइरहेको छ ।

विगतमा ओली सरकारकै पालामा नेपाल सुरूङ मार्गमा प्रवेश गरेको हो र नागढुङ्गा सुरूङ मार्गमा छिट्टै निर्वाध रूपमा सवारीसाधन गुड्ने तयारीमा सरकार लागेको छ । प्राविधिक हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरूङमार्गमा ५८ प्रतिशत काम भई नयाँ आयाम थपिएको छ । ओली सरकारले ग्वार्के फ्लाइओभर आयोजना सम्पन्न गरेको छ । यस प्रविधि र पहुँच अन्य सहरमा लागू गर्ने रणनीतिमा जुटेको छ ।

यस समयमा हुलाकी राजमार्गले करिब ७३ प्रतिशत समष्टिगत कार्यप्रगति हासिल गरेको छ । यसैगरी अहिलेको सरकारको पालामा कूल सडकको थप नौ सय ३२ किमी सडक कालोपत्र भएको छ । अघिल्लो सरकारको पालामा छ सय ५७ किमी सडक कालोपत्र भएको थियो ।

कोदो प्रवर्द्धनका लागि राष्ट्रिय कोदो दिवसः कृषिमन्त्री अधिकारी

पाटन (ललितपुर), १६ साउनः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोको प्रवर्द्धनका लागि प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरी मनाउन सुरुवात गरिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागको आयोजना पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित प्रथम राष्ट्रिय कोदो दिवस कार्यक्रममा उहाँले पहिले गरिबले खाने भनेर चिनिएको कोदो अहिले धनीको खानामा परिणत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धनीले खाने भनेर चिनिएको धान दिवस मनाउन हुने तर गरिबले खाने भनिएको कोदो दिवस किन नमनाउने भनेर राष्ट्रिय कोदो दिवस मनाउने निर्णय सरकारले गरेको हो ।”

उहाँले कोदो उत्पादनका लागि रासायनिक मल प्रयोग गर्नुनपर्ने उल्लेख गर्नुभएको छ । मन्त्री अधिकारीले कोदोको परिकार स्वास्थ्यका लागि लाभदायक रहेको बताउनुभयो । उहाँले हिमालमा पाइने याकको संरक्षणका लागि याक दिवस र पहाडमा पाइने कोदोको प्रवर्द्धनका लागि कोदो दिवसको सुरुआत गरेको बताउँदै नेपाली कांग्रेसको नेतृत्वमा भएको असल अभ्यासका रूपमा यी दुवै कार्यहरूको पहिचान कायम रहने धारणा राख्नुभयो ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले ६५ प्रतिशतभन्दा बढी न्यून आय भएका नागरिक कृषि पेसामा सहभागी भएकाले कृषि क्षेत्रमा धेरै सम्भावना भएको बताउनुभयो । विभागका संयोजक डा गङ्गालक्ष्मी अवालले कृषि क्षेत्रको समुचित विकास, आधुनिकीकरण र व्यावसायिक विकास नै देशको आर्थिक समृद्धिको आधार भएको बताउनुभयो । उहाँले कृषि व्यवसायमा निर्भर रहेका अन्नदाता किसानको सम्मान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘कोदोका लागि भविष्य, भविष्यका लागि कोदो’ भन्ने नाराका साथ यस वर्षको कोदो दिवस मनाइएको हो । यसअघि साउन १५ गते कोदो दिवस मनाउँदै आइएको थियो । यसवर्ष सरकारले प्रथम राष्ट्रिय कोदो दिवस भनेर साउन १६ गते मनाउने घोषणा गरेको हो ।

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू

लोथर (चितवन), १६ साउन : बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो ।

राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगन्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १०.७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।

परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना आजदेखि सुरू भएको बताउनुभयो । “सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको छ, अब कार्यान्वयन सुरू भयो”, उहाँले भन्नुभयो, “भोलिबाट सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ, तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउछौँ ।”

यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने उहाँको भनाइ छ । निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारीलगायत व्यवस्था गरिने बताउनुभयो ।

निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने उल्लेख गर्दै टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने विश्वास व्यक्त गर्नुभयो । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताउनुभयो । “यो राप्ती नगरपालिकाको मात्रै नभई चितवनको गौरव हो, परियोजनाको सफलतापूर्वक कार्यान्वयनबाट यस क्षेत्रको आर्थिक आयआर्जन गर्ने, जीविकोपार्जनमा सहज हुनेछ । परियोजनालाई सफल बनाउन राप्ती नगरपालिका तयार छ”, उहाँले भन्नुभयो ।

पाइपलाइन परियोजना विस्तारको कार्य सुरू भएपछि लोथरका स्थानीयले खुसी व्यक्त गरेका छन् । उक्त परियोजना निर्माणबाट यस क्षेत्रका स्थानीयको जीविकोपार्जनमा सहज तथा स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

पाइपलाइनबाट दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ ।

त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ ।

यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिट पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ ।

पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ । भारतको मोतिहारीदेखि अमलेखगन्जेसम्म सञ्चालनमा ल्याइएको अन्तरदेशीय पेट्रोलियम पाइप २०८१ जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो ।

सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो । सोही समझदारीअनुसार गत असोज १७ गते इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच बिटुबी सम्झौता भएको थियो ।

सो सम्झौतामा निर्माण कार्य सुरू भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याउने उल्लेख छ । इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरिसकेको छ ।

भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको हो । सुरूआती चरणमा डिजेल र मट्टितेल पाइपलाइनमार्फत आयात गरिएकामा केही समय अघिदेखि पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याइएको छ ।

सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सजह हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ सालमा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यका लागि निगमको स्थापना भएको थियो ।

धादिङमा ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

मलेखु (धादिङ), १६ साउन : धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा आज ट्याङ्करले दुई सवारीसाधनमा ठक्कर दिँदा सात जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । माइक्रोमा सवार १३ जनामध्ये सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार घाइतेहरू चन्दा गौतम, भीमकुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धनबहादुर खड्का रहेका छन् । तीन जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ । ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङ्करसहित तीन वटै सवारीसाधन घटनास्थलमै रहेका छन् ।

एमाले महासचिव पोखरेल भन्छन् – पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ

काठमाडौँ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताउनुभयो ।

“जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताउनुभयो । उहाँले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गर्नुभयो । उहाँले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राख्नुभयो ।

महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेसागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती, १६ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो ।

“उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ”, आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भन्नुभयो ।

उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।

अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताउनुभयो ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उहाँ बताउनुहुन्छ । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तराईमा पानी पुनःभरण योजना आवश्यक छ, डिपबोरिङ जडानमात्र समाधान होइन : मुख्यमन्त्री सिंह

सिरहा-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताउनुभएको छ । उहाँले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नुमात्र समाधान नभएको स्पष्ट पार्नुभयो ।

“जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ । जमिनबाट लगातार पानी त निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन । पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनु आवश्यक छ ।” उहाँले ‘रेनवाटर हार्वेस्टिङ’ (वर्षाको पानी सङ्कलन प्रणाली) र जमिनले वर्षाको पानी सोस्ने वातावरण सृजना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री सिंहका अनुसार अहिलेका सडक, ढल र नालाहरू ‘सिमेन्टेड’ भएकाले वर्षाको पानी जमिनमा पस्यो भनेर सोच्नै नसकिने अवस्था छ । “पानी सडकबाट नालामा र त्यसपछि खोलामा पुग्छ । जमिनसम्म टच नै हुँदैन । जमिनले पानी सोस्न नपाउँदा भूमिगत जल पुनःभरण प्रक्रिया अवरुद्ध भएको छ ।”

मुख्यमन्त्री सिंहले चुरे संरक्षणलाई पनि पानी पुनःभरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने बताउनुभयो । “चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो । त्यहाँको वनस्पतिले पानीलाई रोक्छ र विस्तारै जमिनमा पठाउँछ । तर अहिलेको अनियन्त्रित दोहन, फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय तहलाई घर नक्सापास गर्दा ‘रेनवाटर हार्वेस्टिङ’ अनिवार्य बनाउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गर्नुभयो । यी कामहरू अभियानकै रूपमा अगाडि बढाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

यस वर्ष मधेसलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ । पचास प्रतिशतभन्दा कम रोपाइँ भएको छ । भूजलको सतह घट्दै गएको र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरासमेत बढेको मुख्यमन्त्रीको भनाइ थियो ।

अनशनरत मेयर भट्टराईको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार जैविक विविधता र परम्परागत संस्कृतिको संरक्षण गर्न आवश्यक नीति निर्माणका लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न माग गर्दै प्रमुख भट्टराई यही साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशन बस्दै आउनुभएको छ ।

उहाँले गिट्टी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन, बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणका लागि नीति बनाउनुपर्नेलगायत माग राख्नुभएको छ । अनशन बस्नुभएका प्रमुख भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।

आयोगले उक्त अनशनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुमगन गरेको तथा सो क्रममा अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग समेत जानकारी लिएको थियो । आयोगले प्रमुख भट्टराईको स्वास्थ्योपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ ।भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न उक्त भ्रमणको सुरुवात डेनमार्कको राजधानी कोपेनहेगनमा गरिएको ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’बाट भएको थियो । सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले युरोपेली मुलुकहरूले शिक्षामा अपनाएका प्रगतिशील अभ्यासहरू नेपालका विद्यालय र विद्यार्थीहरूका लागि पनि उपयोगी हुने धारणा राखेकी थिइन्। प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु निकै सराहनीय रहेको उनले उल्लेख गरिन् ।

सेमिनारमा सहभागी प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई अन्तर्राष्ट्रिय अभ्यासबारे बुझ्न र नयाँ सोच विकास गर्न मद्दत पुग्ने उद्देश्यले भ्रमण आयोजना गरिएको जानकारी दिए। उनका अनुसार नेपाल पनि शिक्षा क्षेत्रको सुधारतर्फ अघि बढ्न सक्ने स्पष्ट संकेत यस्ता कार्यक्रमले दिनेछ ।

प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाले यसअघि नै प्याब्सनले दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर विश्वव्यापी अभ्याससँग नेपालको शिक्षा प्रणालीको जोड बढाउने प्रयास गरेको बताए । युरोप भ्रमणले व्यवहारिक अनुभव हासिल गर्न थप सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे । त्यहाँको विद्यालय शिक्षा प्रणाली, शैक्षिक नीति, अध्यापन प्रविधि र विद्यार्थी केन्द्रित पठनपाठन अभ्यासलाई नेपाली सन्दर्भमा उपयोग गर्न सकिने उनले बताए ।

टोलीले फिनल्यान्डमा पनि विशेष सेमिनारमा भाग लिएको थियो। सो क्रममा त्यहाँका विद्यालयहरूमा अवलोकन भ्रमण गरिएको थियो भने शिक्षण कार्यशैली, मूल्यांकन प्रणाली, र बालमैत्री वातावरण निर्माणका विषयमा अन्तरक्रिया गरिएको थियो। प्याब्सनले यस्ता अभ्यासहरू नेपाली कक्षा कोठामा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको जनाएको छ ।

साउन ७ गतेदेखि सुरू भएको १० दिनको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र भ्रमणका क्रममा संकलित अनुभव तथा सन्देशहरू एक कार्यक्रममार्फत चाँडै सार्वजनिक गरिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३७रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ५० रुपैयाँ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो ९० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ, झिगुनी प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३४० रुपैयाँ, कुरिलो प्रतिकिलो २०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १८० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३३० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७५ रुपैयाँ, आँप (चोसा) १४० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १० रुपैयाँ, रुखकटहर प्रति गोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको छ ।

खानेपानीको हाहाकार भएपछि पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा), १६ साउन : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् ।

वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गर्नुभएको हो ।

वीरगञ्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनःभरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगञ्ज आएको बताउनुभयो ।

“अमलेखगञ्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उहाँले भन्नुभयो, “अमलेखगञ्जको जस्तै प्रविधि अपनाएर वीरगञ्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।”

प्रमुख सिंहले वीरगञ्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताउनुभयो । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उहाँले भन्नुभयो, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।”

अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताउनुभयो । “पहिला यहाँ पनि खानेपानीको चर्काे अभाव थियो । पानीकै लागि यहाँका जनता भौतारिँदै आइरहनुभएको थियो”, उहाँले भन्नुभयो, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगञ्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताउनुभयो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताउनुभयो ।

“भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अमलेखगञ्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगञ्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।”

इञ्जिनियर सिन्हाले अमलेखगञ्जको असल अभ्यासलाई पर्सामा पनि अनुशरण गर्न सकिने बताउनुभयो । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरको प्राविधिकसहितको टोलीले विहीबार नै वीरगञ्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो ।

समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताउनुभयो । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजीकार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताउनुभयो ।

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती, १६ साउनः सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित अधिकांश बहुवर्षीय योजना सम्पन्न भएका छन् । हेटौँडा उपमहानगरपालिका–१० मा वाग्मती प्रदेशसभा भवन पूरा हस्तान्तरणको क्रममा छभने हेटौँडा उपमहानगरपालिका–२ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पनि तयार भएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका भवन पनि पूरा भएका छन् । चितवनकै राप्ती–४ मा ‘इको टुरिजम पार्क’ तयार भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ मा अस्पताल भवन तीव्र गतिमा बनिरहेको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ ।

उक्त कार्यालय प्रमुख सुबोध अधिकारीका अनुसार वाग्मती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आवका लागि हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा पदयात्री मार्ग निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा ‘स्टिट्र फुड पार्क’, चितवनमा कृषि विकास कार्यालयको भवन निर्माण सम्झौता भएको छ ।

कामपाको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’बाट उत्पादित सामग्रीको बजारीकरणमा समस्या

काठमाडौँ, १६ साउन : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरे पनि उक्त स्थानले मात्र अपुग भएको भन्दै अन्यत्र पनि बजारीकरणका लागि स्थान पहिचानको आवश्यकता माग गरिएको छ ।

कामपा वडा नम्बर ११ का महिला वडा सदस्य आशा श्रेष्ठले वडाले वडाहरूमा सामग्री उत्पादन राम्रोसँग भइरहेको भन्दै उत्पादित सामग्री बेच्नका लागि पर्याप्त स्थान नहुँदा थन्क्याएर राख्नुपरेको बताउनुभयो । विभिन्न किसिमका सामग्री उत्पादन गर्नका लागि तालिम प्रशस्त भए पनि उत्पादन भएका सामग्रीलाई सहज बजारीकरणको व्यवस्था नभएको वडा २७ का दलित महिला सदस्य प्रभा परियारको भनाइ छ ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाल कामपाको वडा नं १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । वडा नं २ को मस्यौरा र तितौरा, वडा नं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रूपमा छनोट भएको छ ।

वडा नं ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं ९ को रुद्राक्षको माला र धूप बनाउने, वडा नं १० को मस्यौरा र विभिन्न अचार बनाउने, वडा नं १२ को सुकुल बनाउने, वडा नं १६ को काष्ठकला, वडा नं २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं २२ को जुत्ता बनाउने, वडा नं २४ को ब्याग बनाउने र वडा नं ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रूपमा छानिएको छ ।

गत आर्थिक वर्षमा थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मिठाइका परिकार उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरीसहित खाद्यवस्तु उत्पादन उद्यम सञ्चालन गरिएको छ ।

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

काठमाडौँ, १६ साउनः नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताउनुभएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
“बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु”, उहाँले भन्नुभयो ।

आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया ाद्को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ, १६ साउनः सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

ढोरपाटन (बागलुङ), १६ साउन : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुग्नुभएको थियो ।

झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिनुभएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उहाँसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्नुहुन्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् । टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आउनुभएको थियो ।

उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा नै हुनुहुन्छ । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उहाँले काम गर्नुहुन्छ । धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस पुर्याउन नसकिने हुँदा लेकबेँसी गर्नुपर्ने बाध्यता छ । टीकाधारा बुकीपाटन क्षेत्र हो । यहाँ अरु पनि थुप्रै गोठाला बस्छन् । लेकमा बढी चिसो हुने हुँदा गर्मीयाममा पनि बाक्लो कपडा लगाएर बस्नुपर्ने अवस्था छ । पाँच दशक बढी समय भेडापालनमा खर्चिए पनि अहिलेसम्म कतैबाट अनुदान पाउन नसकेको घतान गुनासो गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो, बेलाबेलामा आएर कर्मचारीहरूले नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्, समाचारले सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, हामीले अहिलेसम्म केही पनि पाएनौँ, बाउबाजेले यही पेसा गरे, हामीहरू पनि यसैमा लागियो अहिलेसम्म यहीबाटै परिवार चलाएका छौँ ।”

बुकीपाटनमा रहेका भेडीगोठ अब असोज लागेपछि मात्रै बेँसी झर्छन् । यतिबेला टीकाधारा क्षेत्रमा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट गोठालाहरू भेडा लिएर आएका छन् । बुकीपाटनभरि छरिएर रहेका गोठ र त्यहाँ बस्ने गोठालाको आ–आफ्नै कथाव्यथा र पीडा छ । तर उहाँहरूको गुनासो भने एउटै छ– सरकारले सहयोग गरेन । रुकुमपूर्वका सत्यराम विश्वकर्माले गोठालाका लागि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री दिए पनि आफूहरूका लागि ठूलो टेवा पुग्ने बताउनुभयो ।

“हाम्रो अघिल्लो पुस्ताले पनि भेडापालन गर्नुभयो, अहिले मैले पनि यही पेसा समाएको छु, अहिले मेरा तीन सयको हाराहारीमा भेडा छन्, गाउँमै बसेर यति धेरै भेडा पाल्न सकिँदैन, ठाउँठाउँमा पुगेर भेडाको स्याहारसुसार गर्नुपर्छ”, विश्वकर्माले भन्नुभयो, “एउटा बर्खामा तीनचार ठाउँमा गोठ सारेर बस्नुपर्छ, गोठ बनाउनका लागि एउटा गतिलो त्रिपाल, रातिमा बाल्ने सोलार दिए हुन्थ्यो ।”

बुकीपाटनमा यतिबेला भेडीका बथान र गोठालाको चहलपहल छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीडभाडनै हुने गरेको छ । पर्यटकले भेडाको बथानमा छिरेर दुःख दिने गरेको भेडीगोठाला लेकबहादुर विकले बताउनुभयो । पर्यटक बथानमा छिरेर नाच्ने र दौडिने गर्दा भेडा भाग्ने गरेको उहाँको भनाइ छ । “घुम्न आएका पाँच–सात जना एकैपटक भेडाको बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, त्यो गर्दा भेडा डराएर टाढाटाढा भाग्छन्, भागेका भेडालाई जम्मा गर्न धेरै समय लाग्छ, यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन् ।”

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखा
ले जनाएको छ । महाशाखाले मधेस प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, १६ साउन : सङ्घीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । दिनको २ः३० बजे समितिको कार्यकक्षमा नै बैठक बस्दैछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे समितिको बैठककक्षमा बस्दैछ । समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ । समितिको कार्यकक्षमा बिहान ११ः०० बजे बैठक बस्नेछ ।

पेट्रोलको मूल्य घट्यो, मट्टितेल र डिजेलको बढ्यो

काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।

यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १५ साउनः राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिमा आज मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न मन्त्रालयबाट भएका काम कारबाहीबारे आयोजित बैठकमार्फत समितिका सभापति कमलादेवी वन्तले निर्देशन दिनुभएको हो । उहाँले तत्काल मधेसको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास आउनुका साथै जनताले खानेपानी अभाव झेल्नुपर्ने उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

“मधेसमा देखिएको सुक्खाको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका लागि उपसमिति गठन गरिएको छ”, उहाँले भन्नुभयो ।

समितिका सदस्य उर्मिला अर्यालको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरुमा नारायणदत्त भट्ट, सावित्री मल्ल, शारदादेवी भट्ट र पूजा चौधरी रहनुभएको छ । बैठकमा सांसद नारायणकाजी श्रेष्ठले खानेपानी जनताको अत्यधिक आवश्यकताको विषय भएको जिकिर गर्दै यसलाई राज्यले प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

“चुरे दोहनका कारण मधेसमा सुक्खा बढेको छ । पानीको हाहाकार सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “मानवसिर्जित यस्ता समस्या समाधान नभए अझै जटिल समस्या उत्पन्न हुनसक्छ । त्यसर्थ, चुरे संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ । मधेसको दीर्घकालीन समस्या समाधानमा राज्यले पहल गर्नुपर्छ ।”

सांसद वामदेव गौतमले तराईका आठ जिल्लामा देखिएको सुक्खासम्बन्धी समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद उर्मिला अर्यालले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण चुरे विनाश भई भूमिगत पानीको स्रोत सुक्दै जाँदा सुक्खाको समस्या देखिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका निमित्त सचिव कमलराज श्रेष्ठले मधेसमा खानेपानीको समस्याका कारण ट्याङ्करमार्फत पानी वितरण भइरहेको जानकारी दिनुभयो । “खानेपानी समस्या समाधान गर्न सरोकारवालासँग छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । बिग्रिएका खानेपानी आयोजना र डिप बोरिङलाई चाँडोभन्दा चाँडो मर्मत गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम, १५ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

आजको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।

नेपाली कांग्रेसका १८ नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिनुभयो । नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)पार्टीका (निलम्बित एक सदस्यबाहेक) तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुभएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिनुभएको छ । सो पार्टीका अन्य छ जना सदस्य भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

यसअघि प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसुस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेस गरेको बताउनुभयो ।

मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामको चर्चा गर्नुहुँदै प्रदेशमा राजनीतिक स्थायित्व र समुन्नतिको सहयात्राको निरन्तरताका लागि सरकारलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी निलम्वित हुनुहुन्छ ।

लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ वटा मौलिक तीजगीतको सामुहिक विमोचन

काठमाण्डौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेज बाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामुहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरियो। कार्यक्रमका सभापती राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, प्रमुख अतिथी सांसद सोविता गौतमको साथमा अतिथी कलाकारहरु गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापाले सामुहिक विमोचन गरे ।

विमोचन हुने गीतहरुमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौं’, भिमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको – ए आमा ‘, यामप्रसाद निउरेको चोली फाटेको’, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारिको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिदैन रानी हार , मदन ढकालको माइतीको दैलो , बिजय अनुरागी ए मैया, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन्।

प्रमुख अतिथी सांसद गौतमले गीत संगीतमा बिकृती, बिसंगती बढ्नु चिन्ता जनक बिषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत संगीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्। ” पछिल्लो समय भ्युजका लागी पनि गीतहरु केन्द्रित छन्। दिर्घकालिन सोंचेर सर्जक आफैले ध्यान दिनु पर्ने हुन्छ। ” गौतमले भनिन्। “सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्दनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायि भइयो भने त्यो धेरै राम्रो हुन्छ।” उनले विमोचन भएका १४ गीतलाई बधाई दिइन्।

समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुऱ्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो । सम्मान ग्रहण गर्दै गायीका न्यौपानेले खुसी व्यक्त गरिन। उनले मौलिक गायनलाई आफुले सधै आत्मसाथ गर्ने बताइन्। उनी भन्छिन्, “धेरै बाट समय परिवर्तन संगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ । हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिक पनलाई परिवर्तन गर्नुहुँदैन ।” यस्तै अतिथी कलाकार गायक राजु परियारले कुनैपनी गीत सिर्जना गर्ने क्रममा सर्जकले लोकरसलाई भुल्न नहुने बताए। उनले लोक छ र त संस्कृती छ, लोकसंस्कती छ र त लोकगीत छ भन्दै सर्जकले नै सिर्जना गर्ने समयमा ध्यान दिन आग्रह गरे । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले गीतसंगीतकै कारण कलाकार साइबर ब्युरो सम्म पुग्ने स्थिती नआवस् भन्दै सबै कलाकारलाई अस्लिलतामा भन्दा मौलिकतामा जोड दिन आग्रह गरे । साथै उनले मिडियाहरुले पनि कतिपय गीतहरुको बारेमा समाचार नबनाइदिने हो भने त्यस्ता गीतको चर्चा पनि नहुने र हराएर जाने भन्दै मिडिया लाई पनि महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। समारोहमा गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ, मन्जु थापा लगायतले पछिल्लो समयका गीतहरु मा मौलिकता हराउँदै गएको र सर्जक हरुले ध्यान दिनुपर्ने धारणा राखे।

सभापती संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्न का लागी गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामुहिक विमोचन गरिएको बताए। आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दैजाने जानकारी दिए। उनले भनेका छन्, “कतिपय कलाकर्मीहरुले समाजमा अपाच्य गीतहरु सार्वजनिक गरेका कारण प्रशासन लाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौ, त्यसैले गृह मन्त्रालय सम्म पुगेका हौं। यो हाम्रो दायित्व पनि हो।”

संस्थाकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजनमा सम्पन्न कार्यकममा संस्थाका सचिव कमल सरगमले स्वागत मन्तब्य राखेका थिए।
यस्तै संस्थापक अध्यक्ष गोविन्द गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिकृती फैलाउने गीतको बन्देजका लागी मात्र आफूहरु गृह मन्त्रालय नगएको र संगीत सेन्सर बोर्डको अवधारणाका लागी पनि पहलगर्नका लागी पुगेको जानकारी दिए।

लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेकोले जनताको अविश्वास बढ्दै गयो – मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेतृत्व पुस्तान्तरण हुन नसकेकाले नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढ्दै गएको बताएका छन् । बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै उनले लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको आम जनताको अविश्वास बढेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममूखी ढङगबाट हामी अगाडि बढ्न सकिरहेका छैनौ । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’

उनले नीतिगत पक्षबाट युवाहरुले हस्तक्षेप गर्नुपर्ने भन्दै पुस्तान्तरणको नँया विकल्प नीतिगतमा हुने बताए । ‘अब पुस्तान्तरण गर्नका लागि प्रक्रिया भन्दा फरक ढङगबाट नेतृत्व चयन हुने स्थिती पनि हुँदैन । हामीले नीतिगत पक्षबाट हस्तक्षेप गर्न सकिएन कि, नीतिगत पक्षबाट विकल्प हो भनेर आउन सकिएन कि विश्वास जित्न सकिएन कि त्यो पक्षलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

निजामती कर्मचारीहरुको खबरदारीले सफलता हासिल भयो, विधेयक आउने कुरा निश्चित – महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको बताए ।

उनले भने, ‘निजामती विधेयक प्राप्त नहुदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहेनत पश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ । राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ । प्रतिनिधि सभाबाट विधेयक पारित भईसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैँन् । त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ । त्यस कारण विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको छ ।’

यस्तै, उनले निजामती कर्मचारीहरुको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ, १५ साउनः तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ । पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।

खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ । साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ ।

अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिनुभएको छ ।

“यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,“ पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भन्नुभयो ।

राष्ट्रपतिले फारसी क्यालेन्डर अनुसार शरद ऋतुको पहिलो महिना अक्टुबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताउनुभएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ ।
राष्ट्रिय स्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।

तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीका अनुसार शहरलाई आपूर्ति गर्ने जलाशयहरूको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।

अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्याङ्की र पम्पहरू जडान गर्न र पानीको संरषण गर्न आग्रह गरेका छन्।

धेरै घरधुरीले हालैका हप्ताहरूमा बारम्बार खानेपानीको आपूर्तिमा समस्या भएको जनाएका छन् ।इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकोमा प्रश्न उठाएका छन् ।

सुधारवादी दैनिक शार्गले आइतबार लेखेको छ, “देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ । अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्ताहरूमाथि आँैंला उठाएका छन्।”

पानीको स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ ।

ग्रिडमाथिको दबाब कम गर्न केही क्षेत्रमा दिनमा एक पटकभन्दा बढी विद्युत् अवरुद्ध हुने गरेको अधिकारीहरूले स्वीकारेका छन् ।

गत हप्ता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्यूज एजेन्सीसँग भन्नुभयो, “हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ । अर्को दुई हप्ताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुनेछैन।”

गत महिना इजरायलसँगको १२ दिने युद्धको प्रभाव इरानले अझै पनि सामना गरिरहेको अवस्थाले यो अभावमा भूमिका खेलेको अधिकारीहरूले बताएका छन् ।

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

किमाथाङ्का (सङ्खुवासभा), १५ साउनः सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको धार्मिक एंव ऐतिहासिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्न अनुमति दिइएकामा जिल्ला समन्वय समितिले आपत्ति जनाएको छ ।

भोटखोला–४ मा निर्माण हुन लागेको १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्ने भएका कारण विद्युत् प्रक्रिया अगाडि नबढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । मकालु बरुण राष्ट्रिय निकुञ्जको आरक्ष र संरक्षण क्षेत्र भएर बग्ने बरुण नदीमा विद्युत् उत्पादक कम्पनीलाई विद्युत् उत्पादन कार्य अघि नबढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र विभागको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

धार्मिक एंव ऐतिहासिक महत्व र मौलिक पहिचान तथा अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादन रोक लगाउन माग गरिएको प्रमुख शाक्यले बताउनुभयो । राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रमा विद्युत्लगायत संरचना बनाउन नपाइने उहाँको भनाइ छ ।

भोटखोला गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय गरिएको थियो । सो नदीबाट बिजुली निकाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो । यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् । बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ । बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले महत्वका साथ लिने गरेका छन् ।

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

नारायणगढ (चितवन), १५ साउनः चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।

अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् । गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उहाँले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । खासगरी वर्खाको समयमा यो रोगको सङ्क्रमण बढी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेपछि मुसाहरू घर, गोठ वा ओवानोमा पस्ने गर्छन् । त्यस क्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा सङ्क्रमण हुने सम्भावना हुन्छ ।”

उहाँले अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार आठ सय जनाको परीक्षणमा पाँच सय ५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ विसं २०७२ मा भएको थियो । भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार पाँच सय १६ जनाको परीक्षण गर्दा एक सय २७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी, २०७७÷७८ मा दुई हजार दुई सय ९० जनामध्ये तीन सय १८ जना, २०७८÷७९ मा तीन हजार दुई सय ८६ परीक्षणमध्ये दुई सय ६८ जना र आर्थिक वर्ष २०७९÷८० मा तीह जार चार सय ६१ जनाको परीक्षणमा पाँच सय तीन जनामा सङ्क्रमण देखिएको थियो ।

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

केसीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिनुभयो । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने रहेका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिनुभयो ।

गीत संगीतमा विकृति विसङ्गतीहरु बढ्नु चिन्ताजनक विषय हो – सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पछिल्लो समय सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने काम गरेको बताएकी छिन् । बिहीबार काठमाडौंमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको मौलिक गीतहरुको सामूहिक विमोचन कार्यक्रममा बोल्दै उनले पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको उदाहरण दिँदै उनले सञ्चारमाध्यमको अधिकतम प्रयोगले समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता लागेको बताइन् ।

उनले भनिन्,‘पछिल्लो समय विस्तारित भएका सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र सञ्चार क्षेत्रको विस्तारको कारण समाजलाई बिखन्डित गरेको हो कि जस्तो लाग्छ । सञ्चारमाध्यकको अधिकतम प्रयोग हुँदा र नहुँदाको अवस्थालाई तुलना गर्ने हो भने पनि समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता पनि लाग्छ । पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको छ ।’

त्यस्तै उनले गीत संगीतमा विकृति विसङ्गतीहरु बढ्नु चिन्ताजनक विषय रहेको बताइन् । भ्यूजको सन्दर्भमा सृजना दिने हेर्ने दुबैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको धारणा राखिन् ।

सांसद गौतमले सम्बोधन गर्दै गर्दा बत्ती गएको थियो । सोही सन्दर्भमा पत्रकारहरुले उनलाई वर्तमान समयमा भइरहेको लोडसेडिङको विषयमा प्रश्न गरेका थिए । उनले पछिल्लो केही दिनहरुमा विद्युतमा समस्या देखिँदा देश लोडसेडिङ मुक्त भयो भन्ने कुरा पत्याउन नसक्ने परिस्थिति निर्माण भएको प्रतिक्रिया दिइन् ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

सिरहा, १५ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताउनुभएको छ ।

लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताउनुभयो ।

“महिलाले उत्पादन गरेका सामग्री गुणस्तरीय बनाएर बजारीकरण र अन्तरराष्ट्रियकरण गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “फर्सीको बीउ उत्पादन, गुन्द्रुक र आँपको अचारजस्ता परम्परागत तर गुणस्तरीय वस्तु विदेश निर्यात गर्न सकिने सम्भावना छ ।”

मुख्यमन्त्री सिंहले साना–साना सामग्री आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्ने बताउनुभयो । साथै, महिला उद्यमीलाई आवश्यक तालिम दिएर सीप अभिवृद्धि गरिनुपर्ने र आधुनिक प्रविधिको ज्ञानमार्फत थप लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

महिला उद्यमी महासङ्घकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौँ’ नारासहित देशका ७७ वटै जिल्लामा महिला उद्यमी सङ्घ गठन भइसकेको जानकारी दिनुभयो । उहाँले महिला उद्यमशिलताको विकासले केवल महिलाको जीवनस्तरमा मात्रै सुधार ल्याउने नभएर परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताउनुभयो ।

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले महिलाले अब उद्यमबाटै विदेश जाने पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले रोजगारी, तालिम र उद्यममा अवसर दिँदै आएको उल्लेख गर्दै अब प्रत्येक वडामा महिला समिति गठन गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा भूमिका खेल्ने धारणा राख्नुभयो । मधेसमा महिला प्रहरीको सङ्ख्या अपुग रहेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रले मिलेर महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी सङ्घ नेपाल, सिरहा गठन गरिएको छ ।