`

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, १८ साउनः सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ ।

यस्तै, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल गर्ने सूची छ ।

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

काठमाडौँ, १८ साउन ः उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ, १८ साउनः प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ । यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो ।

‘मलाई पार्टी छाड्न आदेश दिनुभएछ, विवाद व्यक्तिगत नभइ वैचारिक र सैद्धान्तिक हो’ – झलनाथ खनाल

काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रको वैचारिक सङ्घर्षलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको महाधिवेशनबाट पारित भएको समाजवादको वैचारिक नीति तथा कार्यक्रम हालसम्म नेतृत्वतहले ल्याउन नसकेको बताउनुभयो । महाधिवेशनबाट अनुमोदित दस्ताबेज वङ्ग्याएर प्रकाशित गरिएकाले सैद्धान्तिक विषय ओझेलमा परेको उहाँको भनाइ छ ।

पार्टीभित्र देखिएका समस्याबारे सचिवालयदेखि स्थायी समितिसम्म छलफल गर्नुपर्नेमा नेता खनालले जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रको वैचारिक सङ्घर्षलाई छलफलमार्फ सम्बोधन गर्नुपर्छ । पार्टीको बैठकमा समस्या समाधानका विकल्पहरू खोज्नुपर्छ ।”

पार्टी अध्यक्ष माधव नेपालसँग करिब पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै नेता खनालले भन्नुभयो, “उहाँले मलाई पार्टी छाड्न आदेश दिनुभएछ, आफू र अध्यक्षबीचको विवाद व्यक्तिगत नभइ वैचारिक र सैद्धान्तिक हो । एमालेबाट विद्रोह गरेको चार वर्ष हुँदा पनि औचित्य स्थापित गर्न नसक्दा कार्यकर्तामाझ निराशा छाएकाले वैचारिक र सैद्धान्तिक स्पष्टता जरुरी छ ।”

दक्षिणपन्थी अवसरवादविरुद्ध क्रियाशील रहने गरी समाजवादी पार्टी बनाउने उद्देश्यले एमालेबाट अलग भएको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले चार वर्षमा नेतृत्वले दक्षिणपन्थी अवसरवाद परिभाषित गर्न नसक्नु दुःखद् विषय भएको उल्लेख गर्नुभयो । ‘बहुदलीय जनवाद’ को युग समाप्त भएकाले पार्टीलाई वैज्ञानिक समाजवादको बाटोमा हिँडाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

केही दिनअघि नेता खनालले एकीकृत समाजवादी गठनको औचित्य पुष्टि गर्न नसके एमाले विभाजन गलतसावित हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

प्राप्तिका लागि योगदान गरेका सहिदहरुको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रजातन्त्रदेखी गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको नाम संकलन गर्न अनुरोध गरेका छन् ।

बिहीबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँ द्वारा आयोजित तारापति भट्टराई स्मृतिग्रन्थ विमोचन कार्यक्रममा उनले विभिन्न कालखण्डमा देशका लागि योगदान गरेका व्यक्तिका बारेमा खोजी गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिनुस् । देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन् त्यसमा महत्वपूर्ण व्यक्तिहरुलाई संकलन गर्नुस् ।’
उनले आफू ८३ वर्ष पुगेको भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लक्षित गर्दै स्वस्थ्य रहन सुझाव दिए

यस्तै उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले तारापति भट्टराईको जीवनशैलीप्रति आफू प्रभावित भएको भन्दै समाज परिवर्तनका सन्र्दभमा यथास्थितीलाई बदल्नुपर्ने बताए ।

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु

काठमाडौँ, १७ साउनः नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरह्दय जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभइ दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र आत्मिय बनाउन मद्दत गर्नेछ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभइ एकताबद्ध गर्ने एउटा पुुलका रूपमा भएको धारणा राख्नुभयो ।

चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशका कलाकारलाई एउटै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नभयो ।

प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै चिनियाँ कलाकारका कलाकृति पनि समावेश छ ।

नेपाली कलाकारका ४४ र चिनियाँ कलाकारका ६० कलाकृति प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा १५ जना चिनियाँ कलाकारसमेत सहभागी भएका प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो । सो क्रममा आज चिनियाँ कलाकारले प्रत्यक्ष रूपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति दिएका छन् । प्रदर्शनी यही साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन

कैलाली, १७ साउनः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको थियो ।

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको जनाउँदै प्रहरी उपरीक्षक शाहीले दुई हजार चार जना घाइते भएका उल्लेख गर्नुभयो । सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडक/मौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका उहाँले जानकारी दिनुभयो ।

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गर्नुभयो । उहाँका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागू गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

लामो दुरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भए/नभएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

दिव्य पशुपतिनाथ सफाइमा कलाकर्मीहरूले गरे पशुपतिनाथ मन्दिर परिसर सफाइ

काठमाडौँ, १७ साउनः दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् । ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।

‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो ।

बढ्दो प्लास्टिक फोहोर व्यवस्थापन, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको अभियानमा समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई सरिक गराउने नीतिअनुसार आज सुदू्रपश्चिमका चर्चित कलाकारले सफाइ गरेका उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रेसन नेपाल, फाउण्डेसनका स्वयम्सेवक र सेन्ट लरेन्स कलेजका विद्यार्थीको समेत सहभागिता रहेको थियो । त्यस क्रममा ३०० सय किलोग्रामभन्दा बढी फोहोर सङ्कलन भएको थियो । फोहोरमा प्रायः चुरोट, गुट्खा र चक्लेटका खोल तथा मेडिकल सामग्रीलगायत भेटिने गरेको अभियान्ता फाउण्डेशनका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

“विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र फोहोर हुनुले नेपालकै छविमा नराम्रो सन्देश जान्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि अभियान सुरु गरेका छौँ, यो निरन्तर जारी रहनेछ । यसमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । यही साउन ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभियान सुभारम्भ गर्नुभएको थियो ।

गायक तुला पर्वत र निर्देशक युवराज वाईबाको सहकार्यमा तयार भयो तिम्रो मेरोको भिडियो

काठमाडौँ । गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ । गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय गरेका छन् ।

प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन् । तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन् । भिडियोले माया गर्ने दुई मनहरु पनि यसरी समयसँगै छुट्नुपर्ने बाध्यताको कथालाई सशक्त रुपमा देखाएको छ । आफ्नो जीवनको खास मान्छे टाढिँदा पनि भोली सम्झेर जीवन बाँच्नै पर्ने कथालाई दर्शकले रुचाएका छन् ।

यो साचार तयार पार्दासम्म २० हजार बढी दर्शकले हेरेको गीतको छायांकन ३ दिन लगाएर गरिएको हो । सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा संगीतका तुलाकै अफिसियल च्यानल वाईडस्क्रिन मिडियाबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनै छुने गीतको भिडियो

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ, १७ साउनः खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उहाँले बताउनुभयो ।

गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो । रु २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उहाँले बताउनुभयो ।

यहाँ रु २५ हजारदेखि चालिस हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५०, रु ६० हजारदेखि ८० हजारसम्म २५ र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ”, उहाँले भन्नुभयो, “छ÷छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।”

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो

काठमाडौँ, १७ साउन: गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वभाविक रूपमा बढेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गतवर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रतिशत छ । कुल रू दुई खर्ब ७७ अर्बको निर्यात गर्दा भटमास तेलको हिस्सा मात्रै रू एक खर्ब छ अर्ब ७९ करोड बराबर छ । “समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ११ हजार ७३३ प्रतिशतले वृद्धि भई रू एक खर्ब छ अर्ब ७९ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा छ दशमलव ०१ प्रतिशतले ह्रास आई रु १६ अर्ब ३६ करोडमा झरेको छ”, केन्द्रले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार वस्तुस्थिति प्रतिवेदनमा भनिएको छ ।

यस्तै, सूर्यमुखी तेलको निर्यातमा सात हजार ४३६ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ३३ करोड पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । केन्द्रका अनुसार गत आवमा धागोको निर्यातमा १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ४० करोड पुगेको छ । ऊनी गलैँचाको निर्यातमा पनि एक दशमलव ९३ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७८ करोड पुगेको छ । विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

“तयारी पोसाकको निर्यातमा दुई दशमलव ३९ प्रतिशतले ह्रास आई रु आठ अर्ब ७५ करोडमा सीमित भएको छ भने प्लाइउडको निर्यातमा चार दशमलव २६ प्रतिशतले ह्रास आई रु सात अर्ब ०९ करोड पुगेको छ”, केन्द्रको प्रतिवेदनमा भनिएको छ, “कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँचीको निर्यातमा तीन दशमलव २४ प्रतिशतले ह्रास आई रु सात अर्ब ६८ करोड पुगेको छ ।” जुसको निकासीमा ११ दशमलव ४१ प्रतिशतले ह्रास आई रु सात अर्ब ७२ करोडमा झरेको छ भने अदुवाको निर्यातमा ५० दशमलव ३८ ले ह्रास आई रु ५८ करोडमा सीमित भएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा जुट तथा जुटका उत्पादनको निर्यातमा १६ दशमलव ८१ प्रतिशतले वृद्धि भई रु आठ अर्ब २३ करोड पुगेको भएको छ । यस्तै, ऊनी फेल्टको निकासीमा ७१६ प्रतिशतले बढेर रू पाँच अर्ब १४ करोड पुगेको छ । यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि २६ दशमलव ६४ प्रतिशतले वृद्धि भई रू चार अर्ब ५९ करोड पुगेको छ । पिना (आयल केक) को निर्यातमा २२ दशमलव ८० प्रतिशतले वृद्धि भई रू तीन अर्ब ६३ करोड पुगेको केन्द्रले जनाएको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा गत आर्थिक वर्षमा मात्रै ११७ दशमलव ८ प्रतिशतले वृद्धि भई रू दुई खर्ब २४ अर्ब ६८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७ दशमलव ७१ प्रतिशत रहेकामा गत आवमा सो हिस्सा ८१ दशमलव १० प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरलेण्ड्स र अफगानिस्तान प्रमुख रुपमा रहेका छन् ।

यसैगरी आयाततर्फ पनि सबैभन्दा बढी वृद्धि देखिएको वस्तुमा कच्चा भटमास तेल पहिलो स्थानमा छ । गत आवमा कच्चा भटमास तेलको आयातमा ७११ दशमलप ९६ प्रतिशतले वृद्धि भई रु एक खर्ब आठ अर्ब ९५ करोड पुगेको छ ।

गत आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातमा चार दशमलव २९ प्रतिशतले ह्रास आई रु दुई खर्ब ८७ अर्ब ६५ करोडमा झरेको छ । फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १० दशमलव १८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ६२ अर्ब ५० करोड पुगेको छ । मेसिनरी तथा पाटपुर्जाको आयातमा १२ दशमलव ९८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २४ अर्ब १५ अर्ब पुगेको छ ।

यस्तै, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयातमा पाँच दशमलव ६८ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा २७ दशमलव २६ प्रतिशतले वृद्धि भई रु एक खर्ब नौ अर्ब १२ करोड पुगेको छ । कच्चा पाम तेलको आयातमा भने ३५ दशमलव ६८ प्रतिशतले ह्रास आई रु छ अर्ब ८२ करोडमा सीमित भएको छ ।

यसैगरी, गत आर्थिक वर्षमा अन्नको आयातमा ३२ दशमलव ७२ प्रतिशतले वृद्धि भई रु ६० दशमलव ७८ अर्ब पुगेको छ भने तयारी पोसाकको आयातमा १६ दशमलव ७९ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब पुगेको छ । गत आवमा रू ४३ अर्ब ०८ करोड बराबरको दूरसञ्चारका सामग्री र रू १९ अर्ब ९५ करोड बराबरको सुन आयात भएको पनि केन्द्रले जनाएको छ । नेपालको पैठारी व्यापारमा प्रमुख स्थानमा रहेका मुलुकहरुमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, युएई, युक्रेन, अष्ट्रेलिया, इण्डोनेसिया, थाइलेन्ड, मलेशिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रुपमा रहेका छन् ।

केन्द्रको तथ्याङ्कअनुसार गत आवमा नेपालको कुल वैदेशिक व्यापार (वस्तुतर्फ) अघिल्लो वर्ष २०८०/८१ को तुलनामा १९ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । कुल व्यापारमा निकासीको योगदान १३ दशमलव तीन प्रतिशत र पैठारीको योगदान ८६ दशमलव सात प्रतिशत रहेको छ । भटमास र सूर्यमुखी तेल निर्यात बढ्दा गत आवमा नेपालको कूल निकासी ८१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७७ अर्ब तीन तीन करोड पुगेको छ । त्यस्तै, गत आवमा नेपालले कुल रू १८ खर्ब चार अर्ब १२ करोड बराबरको वस्तु आयात गरेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा निकासी र पैठारी दुवैमा वृद्धि हुँदा व्यापारघाटामा छ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड पुगेको केन्द्रले जनाएको छ ।

विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल

काठमाडौं । नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् ।बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठुलो कुरा होइन । हाम्रो देश कहाँ जान्छ भन्ने ठूलो कुरा हो । हाम्रो भाग्य, हाम्रो न्याउल्या गीत, हाम्रा होरी(होली), हाम्रा भुगोल जति राम्रा भएपनि त्यसलाई बचाउन पनि कानुन बनाउने मान्छेले, संविधान लेख्ने, राज्य चलाउने मान्छेले लेखिदिएन भने त्यो बाँच्दैन, सकिन्छ

उनले विचौलियाका कारण हामीले खाने खानामा समेत राजनीतिको गन्ध आउने बताए । उनले चामल बनाउने विचौलिया हुने र विचौलियालाई प्रधानमन्त्री मन्त्रीले बचाउने बताएका हुन् ।

‘कहिलेकाही हामीले भात खानेबेला पनि राजनीतिको गन्ध आउँछ । किनभने त्यो चामल बनाउने पनि विचौलिया हुन्छन् । विचौलियालाई बचाउने पनि प्रधानमन्त्री मन्त्री हुन्छन,्’ उनले भने ।

युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ ।पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी निकट भ्रातृसंगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशिल र क्षमतावान युवाहरुको नामावली पठाउन जिल्ला अध्यक्षहरुलाई पत्र काटेका छन् । ४० वर्ष मूनिका युवाहरुको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउनको लागि पार्टीले साउन मसान्तसम्मको समयसीमा तोकेको बस्नेतले बताए ।

समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएको भन्दै क्रियाशिल तथा क्षमतावान युवा शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिएको उनको भनाइ छ ।

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

महोत्तरी, १७ साउन : लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो ।

“अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भन्नुभयो, “पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।” यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् ।

पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउनुहुन्छ ।

“खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगीजस्तो तीन दिनको वर्षाले निकै राहत दियो”, महतो भन्नुहुन्छ, “खासमा यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीलाई अमृत बर्सेजस्तै भयो ।” लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन् ।

पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । “लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,” उहाँले भन्नुभयो । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने गर्‍हामा भरिनेगरी पानी चाहिएको किसान बताउँछन् ।

पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ । यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ । पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन् ।

यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउनुहुन्छ ।

२१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युतमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने

काठमाडौं । बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनामा कुमारी बैंकको अगुवाइमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह–नेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एन आइ सी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइ.सि.एफ.सि. फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको हो ।

काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् ।

नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य उर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी ( प्रतिवद्धता सहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान गरिसकेको छ । जसमध्ये केहि सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान पुरÞ्याइरहेका छन् ।

करीब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी सम्पन्न भइसकेको छ ।
यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रति सेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य सहित अघि बढाइएको छ ।

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० के.भी. को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ। आयोजनाको प्रतिमेगावाट लागत करीब रू. १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित रू. ७ अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।

स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जलविद्युत विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।

भटौली खोलामा कटानपछि मन्थली–पकरबास सडक अवरुद्ध, सवारी आवागमन रोकियो

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुलको किनारमा खोलाले कटान गरेपछि सवारी आवागमन रोकिएको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेपछि शनिबार बिहानबाट आवागमन रोकिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । खोलाको बहावले पुलको पकरबासपट्टिको भागमा हान्दा सडकको भाग खोक्रो बनेको छ । ‘हाललाई दुई पाङ्ग्रे सवारी चल्न दिए पनि ठुला सवारी साधन चल्न सक्ने अवस्था छैन’, वडाध्यक्ष पौडेलले भने ।

पुलको भाग खोलाले खोल्न लागेपछि मर्मतको काम सुरु भएको भए पनि शुक्रबार राति आएको बाढीले त्यो बगाइदिएको पौडेलले जानकारी दिए । तत्काल मर्मत नगर्ने हो भने पुल नै जोखिममा रहेको उनले बताए । खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको थियो । तर समयमा नै काम सुरु नहुँदा थप क्षति भएको छ । ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन, जति ढिला ग¥यो त्यति धेरै क्षति हुने अवस्था छ’, उनले भने ।

भटौली खोलाको सो पक्की पुल रामेछापका तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ ।गत वर्ष खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखा जाने गाडीले समेत यही बाटो प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटको पुलबाट तार्न नमिल्ने ठुला सवारी साधनहरू यही बाटो हुँदै काठमाडौं र तराइबाट आउजाउ गर्ने गर्दछन् ।

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफा तेइस दशमलव चार प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीले प्राप्त नाफा झरेर सात अर्ब एक करोड अमेरिकी डलर बराबरमा सीमित भएको हो । यसअघि गएको वर्षको सोही अवधिमा कम्पनीले प्राप्त गरेको नाफाभन्दा यो उल्लेखनीय रुपमा कम हो ।

‘एक्सनमोबिल’ एउटा ठूलो बहुराष्ट्रिय तेल तथा ग्यास कम्पनी हो, जुन संयुक्त राज्य अमेरिकामा आधारित छ । यो विश्वकै सबैभन्दा ठूलो सार्वजनिक रूपमा कारोबार हुने ऊर्जा कम्पनीहरूमध्ये एक हो । एक्सनमोबिलले तेल र ग्यासको खोज, उत्खनन, प्रशोधन र वितरणको काम गर्दछ । कम्पनीले इन्धन, ग्रीस, पेट्रोकेमिकल उत्पादनहरू उत्पादन र आपूर्ति गर्छ र ऊर्जा प्रविधिमा लगानी पनि गर्दछ । यो कम्पनी एक्सन र मोबिल नामक दुई ठूला कम्पनीहरूको सन् १९९९ मा विलय भएर बनेको हो र विश्व ऊर्जा क्षेत्रमा यसको ठूलो भूमिका रहेको छ ।

कम्पनीका अनुसार, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल पैँसठ्ठी डलरभन्दा कम भएपछि आम्दानी घटेको हो । यसले गर्दा कुल आम्दानी पनि बाह्र दशमलव चार प्रतिशतले घटेर करिब एकसट्ठी अर्ब डलरमा झरेको छ ।

यद्यपि, कम्पनीले गायना र अमेरिकाको टेक्सास तथा न्यू मेक्सिको राज्यको पर्मियन क्षेत्रबाट भएको उत्पादन वृद्धि र आगामी वर्ष सञ्चालनमा आउने ठूला योजनाहरूले लामो समयसम्म लाभ लिन सकिने अपेक्षा राखेको छ ।

कम्पनीले सिङ्गापुर र बेलायतमा रहेका आफ्ना पुराना पेट्रोलियम प्रशोधन केन्द्रहरूमा सुधार गर्दै कम गुणस्तरको कच्चा तेलबाट उच्च मूल्यका उत्पादन निकाल्ने प्रक्रिया अघि बढाएको छ । साथै, क्यानडामा नवीकरणीय इन्धन उत्पादन गर्ने नयाँ परियोजना पनि सुरु गरिएको जनाएको छ ।

एक्सनमोबिलले आफ्ना सेयरधनीलाई नियमित रूपमा फाइदा दिने नीति अन्तर्गत लाभांश वितरण र पुनः सेयर खरिदलाई निरन्तरता दिएको छ ।

यो समाचार सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य शुरुआती कारोबारमा करिब एक प्रतिशतले बढेको बताइएको छ ।

एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

ढोरपाटन (बागलुङ), १७ साउन : बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ ।

बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उहाँको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्य बताउनुहुन्छ ।

आचार्यले भन्नुभयो, “अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेका गर्नुभएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जाने छौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।”

धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाकालको रोग लाग्न सक्ने उहाँको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले सुझाउनुभयो ।

सबैभन्दा बढी कोलिफर्म दिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले मुहान सरसफाइ र संरक्षणमा लागेको बताउनुभयो । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उहाँको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्मा बताउनुहुन्छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १७ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २८, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ५५ र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ८०, सजिवन प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३६०, आँप (माल्दह) प्रतिकिलो रु १८५, आँप (दशहरी) प्रतिकिलो रु १८५, आँप (चोसा) प्रतिकिलो रु १५०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, लप्सी प्रतिकिलो रु ५०, आभोकाडो प्रतिकिलो रु ६५० र निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ३८०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ४०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३००, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ ।

रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

बेरोजगारमध्ये आठ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि हो । त्यसैगरी, कम्पनीबाट हटाइएका व्यक्तिहरुको संख्या घटेर तीन लाख ५० हजारमा पुगेको छ, जुन १४.६ प्रतिशतले कम हो ।

स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको छुट्टै विवरणअनुसार, रोजगारीको उपलब्धता दर ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ । यसले प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि १२२ रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ ।

एक सरकारी अधिकारीका अनुसार, केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्क (टैरिफ) को प्रभाव अझै स्पष्ट नभएको भन्दै नयाँ कर्मचारी भर्ना प्रक्रियामा संकोच देखाएका छन् ।

‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’ – एनपी साउद

कञ्चनपुर – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आयोजित कार्यक्रममा उहाँले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । “यसबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ ।”

पूर्वमन्त्री समेत रहनुभएका उहाँलाई स्थानीय बासिन्दाले जङ्गली जनावरको आतङ्क रोक्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

वैदेशिक रोजगारीमा ठक्कर, बाख्रापालनबाट मिल्यो सफलता

म्याग्दी (बेनी), १७ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गर्नुभएको थियो ।

‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ,” फगामीले भन्नुभयो । उहाँ अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बन्नुभएको छ ।

उहाँले विगत ६ वर्षदेखि बाख्र पालनलाई व्यवस्थित र व्यावसायिक बनाउनु भएको हो । फगामीले सञ्चालन गर्नुभएको ‘सुतारे एकीकृत कृषि तथा पशुपंक्षि फर्म’मा अहिले १५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् । चाडपर्व र विभिन्न पूजा आजामा खसीबोका र पाठा पाठीको बिक्रीहुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको बाख्रा पालक कृषक फगामीले जानकारी दिनुभयो । उहाँकाअनुसार, बाख्रा पालनबाट मासिक रु ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारिसमेत दिइएको छ । हिउँद याममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ । बाख्रा पालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएका फगामीले बाख्र पालनसँगै भेडापालन गर्ने योजनासमेत बनाउनुभएको छ ।

बाख्र पालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२मा अन्नपूर्ण गाउँपालिकाले पशुपंक्षिको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रा पालनगर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ । गाउँपालिकाबाट प्राप्त भएको रु एक लाख ६६ हजार अनुदान रकममा आफूहरुले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको बाख्रा पालनक किसान फगामीका छोरा राजु फगामीले बताउनुभयो ।

छोटो समयमै हुर्कने र अन्य पशुपंक्षिको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकाले सिङ्गो परिवारले नै बाख्रा पालनलाई अङ्गालेका छन् । विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रा पालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।

आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्र पालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताउनुभयो । उत्पादन भएका खसीबोका र पाठा पाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्र पालनलाई अझँै व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ ।

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली, १७ साउन : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने हुनेछ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

किसान नेता भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

कञ्चनपुर, १७ साउन : जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।

साउन १७ गते (आज), देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो ।

विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उहाँले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गर्नुभएको थियो । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा माक्र्सवादको सङ्गमले उहाँभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो ।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारले भन्नुभयो, “शिक्षाले उहाँ विद्वान्मात्र हैन, सामाजिक न्यायको लागि समर्पित योध्दा बने, गीता र माक्र्सलाई आत्मसात् गरेर उहाँले वर्गीय विभाजनमाथि प्रश्न उठाए ।”

उहाँका अनुसार विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उहाँले नेतृत्व गरेको आन्दोलनले उहाँलाई भीमदत्त कांग्रेसको संज्ञा दियो । विसं २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उहाँले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, “अब कुनै जाति ठूलो सानो छैन ।”

त्यसैगरी पूर्वसांसद निरा जैरूले भन्नुहुन्छ, “भाषणमा होइन, उहाँले व्यवहारमै जातीय विभेद तोड्नुभयो, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरू गर्नु भयो ।” भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । उहाँले बेदखली रोक्नुभयो, तमसुख जलाउनुभएको थियो । “सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो”, जैरुले भन्नुभयो, “जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झन लायक छ ।”

हलिया नेता राजुराम भूलले भन्नुहुन्छ, “हामी हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास भीमदत्तबाट पायौँ, उहाँ केवल नेता थिएनन्, हाम्रो आत्मसम्मानका संवाहक थिए, आन्दोलन पुरा नहँुदै उहाँले सहादतप्राप्त गर्दा मुक्तिका लागि वर्षौ पर्खिनुपर्‍यो ।”

उहाँका अनुसार भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उहाँलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो ।

“भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि”, भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्नुहुन्छ, “त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् ।” सहिद पन्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेको उहाँ बताउनुहुन्छ । नेता पन्तले भन्ने गर्नुहुन्थ्यो, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।” अधिकारकर्मी चुनारा थप भन्नुहुन्छ, “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो । उठ जागरे, नेपाली नवजवान जागरे ।”

विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गरेको थियो । नेता पन्तको सपना तव मात्रै पूरा हुन्छ चुनारा भन्नुहुन्छ, “जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ ।”

भीमदत्त पन्त आज भौतिक रूपमा उपस्थित छैनन् । तर उहाँका विचारहरू, सपना र बलिदानले आजको भूमिहीनको आवाजलाई मार्गदर्शन गरिरहेको भूमि अधिकारकर्मीहरू बताउनुहुन्छ ।

माथिल्लो सेती जलविद्युत्मा कुमारी बैङ्कको अगुवाईमा वित्तीय व्यवस्थापन

काठमाडौँ, १७ साउनः सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि आज कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क, एनआइसी एशिया बैङ्क, कृषि विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र आइसिएफसि फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन भएको छ ।

शुक्रबार यहाँ आयोजित एक विशेष समारोहकाबीच कुमारी बैङ्क र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गर्नुभएको हो ।

करिब रू ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजिको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा चार दशमलव पाँच घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४ दशमलव एक घन मिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८ दशमलव नौ मिटर र नेट हेड ७३५ दशमलव छ मिटर रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवद्र्धक गुरागाईले जानकारी दिनुभयो ।

आयोजनाबाट वार्षिक एक हजार २२९ दशमलव छ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० के.भी.को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब रू १९ करोड २५ करोड हुनेछ । आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।

स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६४ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ ।

रेडक्रसले वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।

सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ ।

सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ – अध्यक्ष दाहाल

काठमाडौँ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यस अवसरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौँ ।

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ ।बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदाखेरि जति संवेदनशील भएर बनाइन्छ, त्यसलाई व्यवहारमा पनि त्यत्तिकै संवेदनशील भएर लागू गर्न आवश्यक छ ।’

सांसद भट्टराईले प्रेस स्वतन्त्रता र मिडियाको उत्तरदायित्व दुवै सुनिश्चित गर्ने गरी विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘यदि मिडियाको हक र नागरिकको हकलाई प्रत्याभूत गर्ने अधिकारलाई आधार बनाएर कानुन बनायौं भने मिडिया स्वतन्त्र पनि हुन्छ, उत्तरदायी पनि,’ उनले भनिन् ।समितिको बैठकमा अन्य सांसदहरूले पनि मिडिया काउन्सिलको संरचना, अधिकार, जिम्मेवारी तथा पारदर्शिता लगायतका विषयमा धारणा राखेका थिए ।

मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन

सिराहा, १६ साउन : मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गर्नुभएको छ । अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । कुनै पनि नागरिकले सेवा लिन आउँदा अपमानित महसुस गर्नु हुँदैन । अस्पतालले नागरिकमैत्री व्यवहार र उच्चस्तरीय सेवा दिनुपर्छ ।”

विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष, र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्ने बताउँदै उहाँले चिकित्सक तथा कर्मचारीलाई संवेदनशील र उत्तरदायी हुन आग्रह गर्नुभयो । मन्त्री सिंहले १५० शय्याको यस अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पु-याउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र चीनबीचको सम्बन्ध सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ – प्रधानमन्त्री ओली

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताउनुभएको छ ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट गर्नुभयो ।

“नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वासनीय विकास साझेदार पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्व दिन्छौँ । यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो । यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ ।”

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताउनुभयो । उहाँले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनःपुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाउनुभयो ।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पु्याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रवलीकरण जस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“नेपालले हाम्रा सीमामा रहेका हिमालय र नाजुक पर्यावरणीय प्रणालीको संरक्षणमा चीनसँगको सहकार्यलाई उच्च प्राथमिकता दिन्छ । यसै वर्ष सम्पन्न पहिलो सगरमाथा संवाद यस दिशातर्फको सार्थक कदम थियो । हालै लिङ्गदे खोलामा आएको बाढीले सीमाका दुवै छेउमा व्यापक क्षति पुर्यायो।यसले विपद् पूर्वतयारी, प्रारम्भिक सूचना प्रणाली र दीगो हिमाली विकासमा संयुक्त प्रयासको आवश्यकता झनै बलियो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल चीनले राष्ट्रिय पुनरोदय र आधुनिकतामा हासिल गरेको अद्वितीय उपलब्धिहरूको उच्च सम्मान गर्दछ ।

करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गर्नु, नवप्रवर्तन र दीगो विकासमा अग्रणी बन्नु र अन्तरराष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्नु यी सबै विश्वका लागि प्रेरणादायी छन् । यी उपलब्धिहरूले चीनलाई मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वलाई स्थायित्व र प्रगतिमा योगदान दिएका छन् । हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ ।”

चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, १६ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घरेलु हातहतियार बोकी सार्वजनिक स्थलहरूमा समूह बनाएर हो–हल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अवाञ्छित क्रियाकलापमा संलग्न हुने निज १९ जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।”

प्रहरीले गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट ४७ जना पक्राउ गरेको भएपनि कतिपय असंलग्न व्यक्ति भएको पाइएकाले छाडिएको र बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति मागेको थियो ।

गायक श्रीकृष्ण आलेको नखरामा रबिन, जुना र सरिताको धमाकेदार नृत्य

काठमाडौँ । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

ढले ढले बोलको गीतबाट चर्चामा आएकी गायिका शान्तारानी र निकै राम्रो संभावना बोकेका गायकका रुपमा रहेका श्रीकृष्ण आलेको दमदार स्वरमा तयार गीतको भिडियो रिलिज गरिएको छोटो समयमा नै दर्शकको रोजाईमा पर्न सफल भएको छ । जसमा रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलीएको छ । जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन् । रबिनले तीजमा नखरा देखाउनेहरुको कुरा यो गीतको भिडियोबाट देखाउन खोजेका छन् ।

निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन् । हट अवतारमा उनीहरुको ड्रेसअप पनि निकै सुहाउँदो छ । जुन ययो भिडियो निर्देशक शाहको केही समयपछिको शानदार इन्ट्रीसहितको कमब्याकका रुपमा रहेका कारण पनि केही खास छ । जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन् । भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 

विधेयकमा दिइएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, १६ साउन : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘मिडिया काउन्सिल विधेयक’ लाई ‘आमसञ्चार परिषद् विधेयक’ भनेर अगाडि बढाइने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा भाग लिँदै उहाँले नेपाली शब्द भएसम्म किन अङ्ग्रेजी शब्द प्रयोग गर्ने भनेपछि मिडिया काउन्सिल विधेयकलाई ‘आमसञ्चार परिषद् विधेयक’ राख्ने सहमति भएको उल्लेख गर्नुभयो ।

बोलीचालीका भाषामा मिडिया काउन्सिल भने पनि वास्तवमा आमसञ्चार परिषद् भनेर विधेयकमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री गुरुङले सरकारले प्रेस स्वतन्त्रतालाई तलमाथि गर्ने परिकल्पना नगरेको स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा दिएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफल गर्नका लागि समितिका सदस्य दीपा शर्माको संयोजत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको समिति सभापति अमरबहादुर थापाले जानकारी दिनुभयो । उपसमितिको सदस्यमा प्रभु हजारा, लीलादेवी लिम्बू, ज्ञानु बस्नेत सुवेदी, डा तोसिमा कार्की, विनिताकुमारी सिंह र महेन्द्रकुमार राय रहनुभएको छ ।

उक्त समितिले कार्यप्रारम्भ गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ । समिति सभापति थापाले विधेयकमाथिको छलफलका लागि उक्त उपसमितिलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । दफावार छलफलमा सांस

सबैले मिलेर पार्टी सङ्गठनलाई अझ सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता – सभापति देउवा

पाटन (ललितपुर), १६ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ ।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको बताउनुभयो ।

“देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् । संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमान्दारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राख्नुभयो ।

“देशका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा थारु समुदाय दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिँदै आएको छ, लोकतान्त्रिक मूल्यमान्यता पालना गर्दै आफ्नै जीवनशैलीमा अपनाउने यो समुदायको विशेषता हो”, सभापति देउवाले भन्नुभयो, “उदाहरणका लागि हरेक वर्ष माघमा आफ्नै नेतृत्व लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गर्ने परम्परा थारु जातिमा अत्यन्तै सुन्दर र अनुकरणीय अभ्यास हो ।”

उहाँले थारु समुदायको सामूहिक निर्णयमा हुने अभ्यास पारदर्शिता, उत्तरदायित्व र सहभागितामा आधारित रहने भन्दै यो समुन्नत लोकतान्त्रिक संस्कृतिको नमूनाका रूपमा रहेको बताउनुभयो । नेपाली कांग्रेसले थारुलाई उच्च सम्मान गर्दै आएको उहाँको भनाइ छ ।

थारुको विषयमा पार्टीले लिनुपर्ने नीतिमा सहयोग गर्ने, समुदायको विकास र उत्थानमा टेवा पु¥याउने उद्देश्यले केन्द्रीय सदस्य योगेन्द्र चौधरीको संयोजकत्वमा थारु विभाग गठन गरिएको सभापति देउवाले जानकारी दिनुभयो । “कांग्रेसभित्र सङ्गठित भई पार्टीको सङ्गठन निर्माणमा र आफ्नो समुदायमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल थारु सङ्घको गठन भएको छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले २०५७ सालमा कमैया मुक्ति आन्दोलनको नेतृत्व डिल्लीबहादुर चौधरीले गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “२०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएसँगै संविधानले नेपालका लाखौँ थारुको सम्मान गरी छुट्टै पहिचानसहितको व्यवस्था गरिएको छ ।”

सभापति देउवाले सबैले मिलेर पार्टी सङ्गठनलाई अझ सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल सङ्घीय व्यवस्थामा गइसकेपछि पार्टीभित्र पनि समावेशी सिद्धान्त पालना गरेका छौँ । थारु समुदायसहित महिला, मुस्लिम, आदिवासी जनजाति समुदायबाट सहमहामन्त्री अनिवार्य हुने व्यवस्था पार्टीको विधानमा । क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा थारु आउने अनिवार्य व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल विविधताले भरिएको देश हो भन्दै सभापति देउवाले यहाँका सबै जात, जाति, भाषा र संस्कृतिको उच्च सम्मान गर्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो । “यो देश सबैको साझा हो, सबै नागरिकलाई सम्मान प्राप्त हुने व्यवहार गरिनुुपर्छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायलाई श्रम, सीप उपयोग गरेर उद्यमशीलता विकास गर्नसक्ने अवसरको सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागका अध्यक्ष योगेन्द्र चौधरीले नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएर थारु समुदायमा रहेको कमैया प्रथालाई अन्त्य गरेर मुक्ति दिनुभएको भन्दै उक्त कार्यको प्रशंसा गर्नुभयो । उहाँले थारुको शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरलाई प्रत्याभूत गर्दै समाजको मूलधारमा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य नमिता चौधरीले नेपालभरका पाँच हजार ५०० थारु नेपाली कांग्रेसमा क्रियाशील सदस्य रहेका जनाउँदै २०६२/६३ को आन्दोलनमा थारु समुदायका कतिपयले बलिदानी दिएका स्मरण गर्नुभयो । समुदायको हितका लागि राज्यको नेतृत्वदायी तहमा थारु समुदायलाई स्थापित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’

आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण पोषण हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सुझावअनुसार छ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपानमात्र गराउनुपर्दछ । त्यसपछि दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस आहारका साथ स्तनपान गराइरहनु पर्दछ ।

स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ । बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ । यसैगरी आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ ।

परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान अति आवश्यक रहेको बताउनुभयो । उहाँले स्तनपानको महत्त्व दर्शाउँदै भन्नुभयो, “जन्मिनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । यसैगरी शिशुका लागि पहिलो खोप नै आमाका दूध हो । यसले शिशुको मृत्युदर घटाउनुका साथै शिशुको बौद्धिक विकासमा मद्दत गर्दछ । शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ । कम्तीमा दुई वर्षसम्म स्तनपानसँगै थप आहार खुवाउनुपर्दछ ।”

पोषण शाखा प्रमुख थापाले सरकारले स्तनपानलाई संरक्षण, संवर्द्धन र सहयोग गर्नलाई विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) व्यवस्था गरेअनुरूप सात सय ५३ स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई निरीक्षण गर्ने निरीक्षक तोकिएको छ । ऐन कार्यान्वनयनको निरीक्षण गर्ने र सूसुचित गर्ने काम उहाँहरूको हो ।” यसैगरी उहाँले प्रसूति बिदा, स्तनपान कक्ष निर्माण गरेर पनि स्तनपानलाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।

बालबालिकालाई छ महिना पूरा भएपछि उमेरअनुसार पूरक खानाका साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने हुन्छ । स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई पनि कम गराउन सहयोग पुग्छ ।

सरकारले प्रयास गरिराखेको बताए पनि स्तनपान दर भने घट्दै गएको देखिन्छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउन गरेको देखाएको छ । सन् २०१६ को सर्वेक्षणमा यसको दर ६६ प्रतिशत रहेको थियो । सर्वेक्षणका अनुसार छ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन ।

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’ – पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १६ साउन : नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताउनुभएको छ ।

काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिनुभयो ।

“पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन”, नेता ज्ञवालीले भन्नुभयो, “त्यो पनि तपाईंको आफ्नै हातहातबाट समाचारहरू प्राप्त गर्न सकिन्छ ।”

उहाँले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताउनुभयो । उहाँले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि बताउनुभयो । छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”

पूर्वराजदूत महेश दाहालले देशलाई सकारात्मक दिशामा अघि बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेपाल चेम्बरअफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र विषम परिस्थितिमा रहेको अवस्थामा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

त्रिशूली (नुवाकोट), १६ साउनः विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान)मार्फत छाना (झिङ्गटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।

“पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिङ्गटी, झ्याल, बुर्जा, बार्दलीलगायत सामग्रीको संरक्षणका लागि सोहीअनुसार प्रबन्ध मिलाइएको छ ।”

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि १८०१ सालमा विजयी हासिल गर्नुभएको थियो । त्यसपश्चात उहाँले निर्माण गर्न लगाउनुभएको उक्त साततले दरबार १० वर्षअघि २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको हेरचाह कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।

साततले दरबार पुनर्निर्माणका क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र एकिन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

“अहिलेको प्राविधिक अध्ययनअनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययनपश्चात् दरबार पूरै भत्काउने वा जोखिम भएका तलाहरू हटाई सोही ठाउँबाट पुनर्निर्माण गरिने भन्ने विषयमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहयोगअन्तर्गत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित आठवटा संरचनाको पुनर्निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माणअन्तर्गत भूकम्पले पूर्णक्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु)को मन्दिर पूरै भत्काइएको छ ।

हाल उक्त स्थानमा भेट्टिएका पुरातात्विक सम्पदासँग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अध्ययनपश्चात् तलेजु मन्दिरको नयाँ निर्माण पहिलाजस्तो थियो सोहीअनुसार हुनेछ ।

साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण विसं २०८३ असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी निर्माण गरिने चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी छवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्णक्षति भएकाले नयाँ निर्माण गर्न लागिएको हो ।

भूकम्पले क्षति पुगेको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १६ साउन : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अक्षयले युके पठाइदिने रु २७ लाख २९ हजार, सुशानले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै रु ३६ लाख ६३ हजार, प्रदीपले अजरबैजान पठाइदिने भन्दै रु छ लाख २० हजार र मञ्जुले अमेरिका पठाइदिने रु एक लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छभने सुशान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।