`

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ६५, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३०, कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ६०, रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३०, मेथी साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा रु ८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

ढोरपाटन (बागलुङ), ७ असार : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो । योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो ।

विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् ।

घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उहाँको भनाइ छ ।

अध्यक्ष पुनले भन्नुभयो, “यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।”

करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउनुहुन्छ । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउनुहुन्छ ।

वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताउनुभयो । अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउनुहुन्छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताउनुभयो । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उहाँको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले सुनाउनुभयो ।

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ, ७ असारः सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो ।

सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गर्नुभएको सूचनाका बारेमा सम्बन्धित स्थानीय तहसमेतलाई जानकारी गराइएको प्रशासनले जनाएको छ । गत वर्षको असाज–१२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीयवासी विस्थापित भएका थिए ।

वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा),७ असारः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताउनुभयो । “यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उहाँले भन्नुभयो “विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ ।”

चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाले अनुरोध गरेको छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ७ असार : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्टिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, ७ असार ः नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केहि बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६५ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३४ पैसा र बिक्रीदर २१ रूपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६० पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी), ७ असारः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो ।

उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भन्नुभयो, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।”

एकतीस वर्षीय शिवनारायण थारु काठमाडौँबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फस्नुभएको थियो । उहाँ बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाउनुभयो । “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,” शिवनारायणले भन्नुभयो ।

सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् ।

यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रवार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिनुभयो ।

प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताउनुभयो ।

“स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”

विसं २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसुची

काठमाडौँ, ७ असारः सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् । जसमा सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद प्रेम सुवालले पनि विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

संसद् सचिवालयका अनुसार सांसद अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, सांसद प्रभु साहले ऊर्जा, स्वास्थ्य र खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकममा रू एक सय घटाइयोस् भन्ने प्रस्ताव र सांसद रणेन्द्र बरालीले रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, सांसद ज्ञानु बस्नेत सुवेदीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव र सांसद उर्मिला माझीले खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकममा घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सांसद हितबहादुर तामाङ्गले शिक्षा मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आजको बैठकमा सांसद अम्मरबहादुर थापाले विनियोजन विधेयक, २०८२ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचि रहेको छ ।

त्यस्तै, सांसद छिरिङ ल्हामुलामा तामाङले परराष्ट्र मन्त्रालय र नारायणी शर्माले श्रम मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सांसद चित्र बहादुर केसीले विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसद गृह मन्त्रालय शीर्षकको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई रास्वपाले आग्रह गर्ने

काठमाडौँ, ६ असार : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन आयोगलाई विवरण अद्यावधिक गर्न आग्रह गर्ने भएको छ । आयोगको विवरणमा विसं २०८० चैत २० पछि रास्वपाको केन्द्रीय सदस्यका पदाधिकारी तथा सदस्यको हेरफेर भएपनि अद्यावधिक नभएको रास्वपाले जनाएको छ ।

रास्वपाले पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ साउन १७ गते निर्वाचन आयोगसँगैकै परामर्शमा निवेदन पेस गरेको प्रवक्ता झाले जानकारी दिनुभयो ।

“पार्टीका तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सोसम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको छ ।”

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहनुभएको छ ।

इजरायलले इरान आणविक हतियार विकास गर्ने सङ्घारमा रहेको भन्दै एक हप्ताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध ठूलो आक्रमणको लहर सुरु गरेको थियो । उक्त आक्रमणपछि इरानले तत्काल जवाफी आक्रमण सुरु गर्‍यो ।

मैदानमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको बताएको छ । यसमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ पनि समावेश छ ।

सेनाका अनुसार इरानबाट क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलमा साइरन बज्यो । प्रहरीले आपत्कालीन प्रतिक्रिया टोली र बम डिस्पोजल विशेषज्ञहरू दक्षिणी सहरमा ‘प्रक्षेप्य प्रभाव भएको ठाउँमा’ सञ्चालन भइरहेको बताएको छ ।

युरोपेली नेताहरूले इजरायलसँगको इरानको युद्धमा तनाव कम गर्न आग्रह गरेका छन् भने ट्रम्पले ‘आगामी दुई हप्ताभित्र’ लडाइँमा संयुक्त राज्य अमेरिकालाई संलग्न गराउने कि नगराउने निर्णय गर्ने बताउनुभएको छ ।

इजरायल, संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूले इरानलाई आणविक हतियार खोजेको आरोप लगाउँछन् । उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ ।

इरानले ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै, तर अझै पनि आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।

– अब अवसरको झ्याल खुलेको छ –

इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार जेनेभामा आफ्ना फ्रान्सेली, जर्मन, बेलायती र इयु समकक्षीहरूसँग इरानको आणविक कार्यक्रमका बारेमा छलफल गर्न भेट गर्नुहुनेछ ।

उहाँले संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई पनि सम्बोधन गर्नुहुने उक्त निकायका प्रवक्ताले बताएका छन् ।

बेलायतका विदेशमन्त्री डेभिड लामीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग ‘इरानले कहिल्यै आणविक हतियार विकास गर्न वा प्राप्त गर्न सक्दैन’ भन्ने कुरामा सहमत हुँदै ‘कूटनीतिक समाधान प्राप्त गर्न आगामी दुई हप्ताभित्र अब अवसरको झ्याल खुलेको’ बताउनुभयो ।

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले जेनेभामा भइरहेको बैठकप्रति संयुक्त राज्य अमेरिका सचेत र समर्थन दुवै रहेको बताउनुभयो ।

“यदि इरान युद्धको लम्बाइबाट बच्न चाहन्छ भने उसले नयाँ स्तरको गम्भीरता र विश्वसनीयता देखाउन आवश्यक छ भन्ने कुरामा इरान सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले इरानले आणविक अप्रसार सन्धिअन्तर्गत आफ्नो दायित्वको सम्मान गर्ने सुनिश्चित गर्न कूटनीतिक मार्ग नै एकमात्र उपाय हुने बताउनुभयो ।

“सैन्य समाधान दीर्घकालीन समाधान होइन”, उहाँले फ्रान्सेली रेडियो स्टेसन सिएनयुजलाई भन्नुभयो ।

तर इरानका विदेशमन्त्री अराघचीले इजरायलले आफ्नो आक्रमण जारी राखेसम्म अमेरिकासँग वार्ताको कुनै पनि सम्भावनालाई अस्वीकार गर्नुभयो ।

“अमेरिकीहरूले वार्ताका लागि गम्भीरताका साथ आह्वान गर्दै बारम्बार सन्देशहरू पठाएका छन् । तर हामीले यो स्पष्ट पारेका छौँ कि जबसम्म आक्रामकता रोकिँदैन, कूटनीति र संवादका लागि कुनै ठाउँ हुनेछैन”, उहाँले भन्नुभयो ।

– अनुमान –

रुस, चीन र पाकिस्तानको समर्थनमा इरानले अनुरोध गरेको द्वन्द्वमा दोस्रो सत्रका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि शुक्रबार बैठक बोलाउने भएको एक कूटनीतिज्ञले बुधबार बताएका छन् ।

सिएनएनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने विश्वको एक मात्र गैर–घोषित आणविक शक्ति भएको तर हाल आणविक हतियार बनाउनका लागि सबै कम्पोनेन्टहरू छन् भन्ने कुनै प्रमाण नभएको बताउनुभयो ।

“त्यसैले उनीहरूका लागि कति समय लाग्नेछ भन्ने कुरा शुद्ध अनुमान हुनेछ किनभने हामीलाई थाहा छैन कि कोही छ कि छैन, गुप्त रूपमा यी गतिविधिहरू गरिरहेको थियो कि थिएन”, ग्रोसीले भन्नुभयो, “हामीले त्यो देखेका छैनौँ र हामीले भन्नुपर्छ ।”

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले इरान आणविक बम उत्पादन गर्न ‘केही हप्ता’ टाढा रहेको बताउनुभयो ।

“यदि कूटनीतिका लागि अवसर छ भने राष्ट्रपतिले सधैँ यसलाई पछ्याउनुहुनेछ, तर उहाँ शक्ति प्रयोग गर्न पनि डराउनुहुन्न”, उहाँले भन्नुभयो ।

इजरायलको अभियानमा कुनै पनि अमेरिकी संलग्नताले फोर्डोको महत्त्वपूर्ण भूमिगत आणविक सुविधामा शक्तिशाली बङ्कर–बस्टिङ बमहरू प्रयोग गरेर बम प्रहार गर्ने अपेक्षा गरिन्छ जुन अन्य कुनै देशसँग छैन ।

– सहायक क्षति –

युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई समर्थन गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्षेप्यास्त्र आक्रमणमा ४० जना घाइते भएका र धेरै अस्पताल वार्डहरू ध्वस्त भएपछि इरानले ‘भारी मूल्य’ चुकाउने वाचा गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले स्वास्थ्य सुविधाहरूमा भएको आक्रमणलाई ‘भयावह’ भन्नुभएको छ भने संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले नागरिकहरूलाई ‘सहायक क्षति’ का रूपमा व्यवहार गरिएको बताउनुभएको छ ।

इरानमा इजरायलको आक्रमणबाट भाग्ने मानिसहरूले खाद्यान्नको अभाव र सीमित इन्टरनेट पहुँचसहित डरलाग्दो दृश्यहरू र कठिन जीवनयापनको अवस्था वर्णन गरेका छन् ।

“ती दिन र रातहरू धेरै डरलाग्दा थिए… साइरन सुन्दै, रुँदै, मिसाइलले प्रहार गर्ने खतरा”, तेहरान विश्वविद्यालयका विद्यार्थी मोहम्मद हसनले आफ्नो जन्मभूमि पाकिस्तान फर्केपछि भन्नुभयो ।

“मानिसहरू साँच्चै डराएका छन्”, नाम खुलाउन नचाहने ५० वर्षीया इरानी फार्मासिस्टले टर्कीसँगको सीमानामा रहेको एक सीमामा भन्नुभयो ।

– आणविक स्थलहरू –

बिहीबार इजरायलले आंशिक रूपमा निर्मित अराक आणविक रिएक्टर र नातान्जमा युरेनियम संवर्धन सुविधासहित ‘दर्जनौँ’ इरानी लक्ष्यमा प्रहार गरेको बताएको छ ।

इरानी आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद एस्लामीले संयुक्त राष्ट्र आणविक निगरानी निकाय आइएइएलाई लेखेको पत्रमा अराक रिएक्टरमा प्रहार भएको पुष्टि गर्दै इजरायलको ‘अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन’ रोक्न कारबाहीको माग गर्नुभएको छ ।

मध्य इजरायली सहर बात यामममा आइतबार आक्रमण भएको स्थानमा एक महिलाको शव भेटिएको छ । यो शवसँगै जुन १३ देखि इरानी मिसाइलहरूबाट इजरायलमा मृत्युको सङ्ख्यालाई अधिकारीहरूका अनुसार २५ जनामा पुर्‍याएको छ ।

इरानले आइतबार इजरायली आक्रमणले सैन्य कमान्डर, आणविक वैज्ञानिक र नागरिक सहित कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको बतएको छ ।

इरान–इजरायल युद्धले युरोपमा आप्रवासनलाई ‘नकारात्मक’ प्रभाव पार्न सक्ने

इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ ।

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पु¥याउन सक्ने चेतावनी दिनुभएको हो ।

इरानले आणविक अस्त्र विकास गर्न लागेको भन्दै इजरायलले एक साताअघि ठूलो सङ्ख्यामा हवाई आक्रमण गरेपछि इरानले गरेको प्रतिकारका कारण युद्ध चर्किएको छ ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँगको टेलिफोन वार्तामा गरिएको उहाँको भनाइ उद्धृत गर्दै एर्दोगानको कार्यालयले भनेको छ, “इजरायलको आक्रमणले निम्त्याएको हिंसाको चक्रले यस क्षेत्र र युरोपलाई आप्रवासन समस्या बढाउने र आणविक चुहावटको सम्भावना रहने भएकाले यो युद्धले युरोपलाई व्यापक प्रभाव पार्नसक्छ ।

एर्दोगानले इरानसँगको आणविक असहमतिको समाधान ‘वार्ताबाट’ मात्रै हुने बताउनुभएको छ ।

उहाँले हिंसाले क्षेत्रीय सुरक्षाका लागि खतरालाई उच्च स्तरमा पु¥याएको र टर्कीएले ‘द्वन्द्व अन्त्यका लागि प्रयास गरिरहेको’ बताउनुभयो ।

बढ्दो द्वन्द्वका बावजुद टर्कीएको रक्षा मन्त्रालय स्रोतले बिहीबार इरानबाट बाहिरिने सङ्ख्यामा ‘कुनै वृद्धि’ नभएको बताएको छ ।

टर्कीएका अधिकारीहरूले यस दावीलाई पुष्टि गर्ने कुनै तथ्याङ्क सार्वजनिक गरेका भने छैनन्।

टर्कीएको पूर्वी शहर वान नजिकैको मुख्य कापिकोय सीमा नाकामा एएफपीका संवाददाताहरूले दुवै दिशाबाट सयौं मानिस पार गरेको देखेको बताएका छन्।

रक्षामन्त्री यासर गुलेरले बुधबार सीमाक्षेत्रको भ्रमणका क्रममा भन्नुभयो, “हाम्रो सीमामा सुरक्षा व्यवस्था बढाइएको छ ।”

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच भेटवार्ता

काठमाडौँ, ६ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो । पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ ।

नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश

काठमाडौँ, ६ असार : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ ।
श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमार्फत सर्वाेच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै निगमले अवकाश दिए उपर श्रम अदालतमा दायर भएको मुद्दाको सुनुवाइपश्चात् आज वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन श्रम अदाललते उक्त आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा एक सय ३५ जना परिचारक र परिचारिकाको सेवा सुविधा र उमेर हदको विभेद उपरको मुद्दा विचाराधीन अवस्थामा छ । कार्कीलाई असोज १८ देखिकै खण्डित अवधिको सेवा सुविधा उपलब्ध गराउन श्रम अदालतको आदेशमा भनिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई र विशाल थापाले कार्कीको तर्फबाट बहस गर्दै सर्वाेच्च अदालतको आदेश विपरीत सेवाबाट हटाउन नमिल्ने जिकिर गरेका थिए । श्रम अदालतले काममा लगाएर असार १८ मा अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा छलफलमा उपस्थित हुन निगमलाई आदेश दिएको कार्कीका कानुन व्यवसायी अधिवक्ता लुईंटेलले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३ (१) (ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ वर्ष पुग्ने वित्तिकै अवकाश दिएको थियो । जबरजस्ती हटाए उपर सर्वाेच्च अदालतमा निगम सञ्चालक समिति विरूद्ध अवहेलनाको मुद्दा परेको छ ।

सर्वाेच्च अदालतलका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाइको लागि पठाइसकेको छ । उक्त इजलासले निवेदकहरूको पक्षमा एक वर्षअघि नै जारी अन्तरिम आदेशलाई निरन्तरता दिइसकेको छ ।

रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकामा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान नदिनेलगायत प्रावधानको बदर माग गरिएको छ ।

रिटमा जिन्दगीभर एउटै पदमा काम लगाएरविना कुनै सुविधा जहिल्यै सुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरूको दाबी छ । सामान्य कम्पनीले सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याविन क्रुमाथि गभ्मीर विभेद गरेको उनीहरूको गुनासो छ। आफूहरूले पटकपटक व्यवस्थापनसमक्ष कुरा राख्दा सुधारको प्रक्रिया अघि नसारहेकाले सर्वाेच्च अदालतमा रिट निवेदन दिनुपरेको रिट निवेदनमा उल्लेख छ ।

श्रम अदालतको आदेश पश्चात् परिचारिका कार्कीले न्याय पाएको प्रतिक्रिया दिनुभयो । उहाँले विनियमावलीमा भएको विभादास्पद प्रावाधान हटाएर समान व्यवहार गर्न व्यवस्थापसमक्ष पटकपटक आग्रह गर्दा सुनुवाई नभएकोमा अदालतबाट न्याया पाउने विश्वास व्यक्त गर्नुभयो ।

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ६ असार : बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आवतजावत गर्छन् ।

बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ ।

‘देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको छ’ – सञ्चारमन्त्री गुरुङ

लमजुङ, ६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

लमजुङ बेँसीसहर नगरपालिका–८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरुप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने बताउनुभयो ।

सरकारप्रति गुनासो नआउने गरी सरकार अघि बढिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरुले कस्ता काम गरेका छन् भनेर जनताले मूल्याङ्कन गरिरहेका छन् ।” सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम गरेमा मात्र पार्टीप्रति जनता आकर्षित हुने उहाँको भनाइ छ ।

“हामी फेरि २०४८ तिरकै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिबेलाकै आचरणमा फर्कनुपर्छ । आचरणमा सुधार हुनुपर्छ । हामी नैतिकवान, इमान्दार, शासकीय सुधारमा क्षमतावान बन्न सकेमा मात्र हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौँ”, उहाँले भन्नुभयो ।

प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनको दावी

शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ ।

अनुसन्धाताहरूले संसारभरि प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताएका छन् ।

प्लास्टिकको यो प्रचुरता मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुराको कुनै प्रत्यक्ष प्रमाण छैन, तर अनुसन्धानको बढ्दो क्षेत्रले यसको फैलावट मापन गर्ने लक्ष्य राखेको छ ।

फ्रान्सेली खाद्य सुरक्षा निकाय (एएनएसइएस) का अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसले एएफपीसँग भन्नुभयो, “टोलीले फ्रान्समा बिक्री हुने विभिन्न प्रकारका पेयपदार्थमा माइक्रोप्लास्टिकको मात्राबारे अनुसन्धान गर्न र विभिन्न कन्टेनरले पार्न सक्ने प्रभावको परीक्षण गर्न खोजेको छ।

अनुसन्धानकर्ताहरूले नरम पेय पदार्थ, लेमोनेड, आइस्ड टी र बियरका ग्लासका बोतलमा प्रतिलिटर औसत १०० माइक्रोप्लास्टिक कण फेला पारेका थिए । यो प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको दरभन्दा पाँचदेखि ५० गुणा बढी हो ।

“हामीले प्राप्त गरेकोभन्दा ठीक उल्टो नतिजा आउने अपेक्षा गरेका थियौं,” अनुसन्धान गर्ने पीएचडीकी छात्रा इसलिन चाइबले एएफपीसँग भन्नुभयो ।
उहाँले भन्नुभयो, “त्यसपछि हामीले थाहा पायौँ, शिशामा नमूनाहरूबाट निस्केका कणहरू एउटै आकार, रङ र बहुलक संरचना थिए ।

“सम्भवतः विर्कोको घर्षणका कारण विर्कोको रङमा ‘नाङ्गो आँखाले नदेखिने स–साना दागहरू पनि थिए र ती बिर्कोले उसको सतहमा छोडेका कणहरू थिए,” एएनएसइएसले एक विज्ञप्तिमा जनाएको छ ।

– वाइन फाइन –

समतल र चम्किलो शिशा र प्लाष्टिक दुबै भाडाका पानीमा माइक्रोप्लास्टिकको मात्रा सामान्यतया कम थियो तर शिशाको बोतलमा प्रति लिटर ४.५ कण थिए भने प्लास्टिककोमा १.६ कण थिए ।

शिशाका बोतलका वाइनमा केही बढी माइक्रोप्लास्टिक्स पनि थिए । यो विसंगतिको कारण ‘व्याख्या गर्न बाँकी रहेको’ चाइबले बताउनुभयो ।

सफ्ट ड्रिंक्समा प्रतिलिटर ३०, लेमोनेडमा ४० र बियरमा ६० माइक्रोप्लास्टिक हुन्छ ।

“माइक्रोप्लास्टिक्सको सम्भावित विषाक्त मात्राको लागि कुनै सन्दर्भ स्तर नभएकाले यी आँकडाहरूले स्वास्थ्य जोखिमको प्रतिनिधित्व गर्दछ कि गर्दैन भनेर भन्न सम्भव छैन,” एएनएसईएसले भनेको छ ।

तर पेय पदार्थ उत्पादकहरूले बोतलको बिर्कोले बगाएको माइक्रोप्लास्टिकको मात्रा सजिलै घटाउन सक्छन्।

एजेन्सीले बिकोलाई हावाले सुकाउने, त्यसपछि पानी र रक्सीले कुल्ला गर्ने एक सफाई विधिको परीक्षण गरेको थियो, जसले प्रदूषणलाई ६० प्रतिशतले कम गरेको थियो।

एएनएसईएसले सार्वजनिक गरेको यो अध्ययन गत महिना ‘जर्नल अफ फुड कम्पोजिसन एन्ड एनालिसिस’मा अनलाइनमा प्रकाशित भएको थियो ।

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा, ६ असार : यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले आज नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत गर्नुभएको उक्त बजेटमा चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गर्नुभएको हो ।

यसअन्तर्गत शिक्षातर्फ रु २३ करोड ५८ लाख, स्वास्थ्यतर्फ रु २७ करोड ९३ लाख, कृषितर्फ रु आठ करोड ६६ लाख र पूर्वाधारतर्फ रु ५० करोड विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

नगरपालिकाको आन्तरिक आय रु २५ करोड हुने अनुमान गरिएको छ । सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताउनुभयो ।

नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागुपदार्थ दुव्र्यसन विरुद्ध विशेष फड्को मारेको जिकिर गर्नुभयो । उहाँले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिनुभयो ।

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु

सिरहा, ६ असार : यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

‘कर्णालीको अवस्था बदल्ने जिम्मेवारी अब युवाको काँधमा’ – मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ६ असार : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अब युवाको काँधमा रहेको बताउनुभएको द्ध ।

राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल छ ।” कर्णाली प्राकृतिक हिसाबले भरिपूर्ण छ यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुने उहाँले बताउनुभयो । श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउने नीति प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो । सरकारले कृषि, पर्यटन र लघुउद्योगलाई प्राथामिकतामा राखेर अगाडि बढ्ने जानकारी दिनुभयो । विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं, ६ असार : स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।

स्कटल्याण्डको ग्लासगोमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका छ्न । आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई आराम दिँदै रिजन ढकाललाई मौका दिएको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने बिहीबारको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ८२ करोड विनियोजन

खोटाङ, ६ असार : कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । एकवर्षे तथा बहुवर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो ।

भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम रु सात लाखदेखि रु १० करोडसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते रु ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबारमात्र सार्वजनिक गरेको हो ।

पूर्वतयारीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सभामुखको निर्देशन

काठमाडौँ, ६ असार : सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गर्नुभएको थियो ।

उहाँले काठमाडौँको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ः०० बजे बस्नेछ ।

स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता

काठमाडौः त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ ।

समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख छ ।कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आवद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे ।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन श्रोत थप्नुका साथै नीतिगत सुधार भैरहेको बताउँदै मन्त्री पौडेलले त्रिविका प्राध्यापक विद्यार्थी आबद्ध हुँदा सकारात्मक सन्देश जाने बताए ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले समझदारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास गरे ।त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बीमामा आबद्धताका लागि प्रक्रिया थालिएको भन्दै कार्यदल बनाउने बताए । उनले त्रिवि र मन्त्रालयबीच शिक्षा र स्वास्थ्यमा थप सहकार्य गर्ने बताए ।

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ, ६ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ । श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत हुनुहुन्छ ।

विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

आयोगले उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । यस्तै, आयोगले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’ : मुख्यमन्त्री कार्की

मोरङ, ६ असारः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा उहाँले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक पूर्वाधार निर्माण अघि बढाएकाले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला दिनमा मनसुनजन्य विपद्ले आर्थिक, भौतिक र मानवीय क्षति गरिरहेको छ । यसको मुख्य जिम्मेवारी हामी आफैँ रहेकाले यसप्रति सचेत भई सच्याउनु जरुरी छ ।”

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीले समूहगत रूपमा नागरिकका घरमा पुगी सर्पदंश, आगलागी, बाढीपहिरोलगायत विपद्का जोखिमबाट बच्ने उपायका सम्बन्धमा जनचेतना जागृत गराउनु आवश्यक भएको धारणा राख्नुभयो । उहाँले सरकार मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँचवर्षे ‘प्रदेश विपद् व्यवस्थापन रणनीति कार्ययोजना’ कार्य अघि बढाएको जानकारी दिनुभयो । उहाँले प्रदेशका मनसुनजन्य अति जोखिम दुई हजार ४६६ घरपरिवारलाई स्थान्तरण कार्यमा स्थानीय तहको सहयोगमा कार्य सुरु गरिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेशको विपद् क्षति न्यूनीकरण व्यवस्थापन गर्न रणनीतिक योजना कार्यान्वयनमा आएको जानकारी दिँदै गत जेठ १८ देखि आगामी असोज १४ गतेसम्म प्रदेशमा मनसुनजन्य जोखिम रहेको जल तथा मौसम विज्ञान विभागबाट सूचना प्राप्त भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वसचिव केदार न्यौपानेले ‘मनसुन हिजो, आज र भोलि’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘२०८१ सालको मनसुन चित्रहरूमा’, डिपिनेटका अध्यक्ष डा राजु थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले ‘सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विषयविज्ञ रामकुमार दाहाल र यसप्रसाद सुब्बाले प्रदेशको मनसुनजन्य विपद्सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करबारे संसदीय उपसमितिमा छलफल

काठमाडौँ, ६ असार : सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका विषयमा निरन्तर छलफलमार्फत निष्कर्षमा पुग्न व्यवसायी र सम्बन्धित मन्त्रालय सहमत भएका छन् ।राष्ट्रियसभाअन्र्तगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको उपसमितिले आज डाकेको बैठकमा व्यवसायीहरूले आफ्ना मागबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग वार्ता जारी राख्दै समाधान निकाल्न सहमत भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हीरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटबारे पुनःविचार गरी खारेज गर्न माग राखेका छन् ।

उनीहरूले यही असार मसान्तसम्मको समयसीमा दिँदै आजैदेखि सबै व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले भने आन्दोलनको स्वरूप परिवर्तन गरेर आन्दोलन जारी राख्ने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनका सबै किसिमका गरगहनामा दुई प्रतिशत विलासी कर र बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को व्यवस्थाप्रति व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

आर्थिक मामिला उपसमितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले खैरो सूचीबाट शीघ्र बाहिर निस्किनका लागि यस कर प्रणालीले सहयोग गर्ने बताउनुभयो ।

उहाँले नेपाल खैरो सूचीमा पर्नुका मुख्य कारणमध्ये सुनचाँदी र बहुमूल्य रत्नको निगरानी गर्न नसक्नु भएको भन्दै कर प्रणालीमार्फत यसमा नियमन बढाउन सकिने तर्क राख्नुभयो । करको दायरा विस्तार गर्ने क्रममा पनि यो क्षेत्रलाई पहिचान गरेको उहाँको भनाइ थियो ।

“खैरो सूचीबाट शीघ्र बाहिर निस्किन सरकारले तयार गरेको कार्ययोजना कार्यान्वयनमा छ”, उहाँले भन्नुभयो, “यसले निगरानी र ट्रयाकिङलाई सहज बनाउँछ । कर प्रणालीको माध्यमबाट निगरानी बढाएर फाइनान्सियल एक्सन टास्क फोर्सलाई सिफारिस गर्छ ।”

उहाँले यसबाट ‘मनी लन्डरिङ’ को जोखिम न्यूनीकरण र कारोबारको उपयुक्त रिपोर्टिङलाई सुनिश्चित गर्ने बताउनुभयो । कर र भ्याटको व्यवस्थाले अवैध पुँजी प्रवाह हुने स्थितिको निगरानी गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयका प्रतिनिधिको भनाइ थियो । मन्त्रालयले वास्तविक उपभोक्ता र घरेलु व्यवसायमा व्यवसायीको आकलन गरेअनुरूप असर नपर्ने जनाएको छ ।

“करको विषय बढाउँछु, घटाउँछु र हेर्दिन्छु भन्न सकिँदैन”, अर्थसचिव घिमिरेले भन्नुभयो, “छलफललाई निरन्तर अघि बढाउनुपर्छ । व्यवसायीको मागअनुसार निरन्तर छलफलमा बसेर टुङ्गोमा पुग्न सकिन्छ ।” उहाँले विगतमा रु १० लाखभन्दा माथिका सुनका गहनामा विलासिता शुल्क लाग्ने गरे पनि प्रभावकारी नभएको बताउनुभयो ।

उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले परिणात्मक बन्देज हटाउने सम्बन्धमा मन्त्रालय छलफलका लागि तयार रहेको बताउनुभयो । उहाँले विगतमा शोधान्तरका कारण बन्देज लगाइएको उल्लेख गर्दै विदेशी मुद्राको सञ्चिति हेरेर आपूर्ति बढाउन सक्ने बताउनुभयो । त्यसका लागि तथ्याङ्कले पर्याप्त उपभोग देखाउन सक्नुपर्ने र ‘कस्ट इफेक्टिभ’ हुनुपर्ने उहाँको भनाइ थियो ।

“परिणात्मक बन्देज सधैँ एकै हुनुपर्छ भन्ने हैन । तर सोही मात्रामा उपभोग तथ्याङ्क देखाउन सकिँदैन भने बढाएर अर्थ हुँदैन”, उहाँले भन्नुभयो ।

छलफलका क्रममा नेपाल सुनचाँदी व्यवसायी सङ्घ तथा कालिगढ सङ्घर्ष समितिका अध्यक्ष विपिन रामुदामुले विलासी करले अवैध कारोबारले प्रश्रय पाउने भन्दै खोरजीको माग गर्नुभयो । उहाँले सुनचाँदी धर्म र संस्कृतिसँग जोडिएको भन्दै विलासी कर लगाउन नहुने धारणा राख्नुभयो ।

सुनचाँदीको गहना कारोबारमा करको व्यवस्थाले आम उपभोक्तालाई आर्थिक भार थप्ने र उपभोक्ताबाट व्यवसायीले सुनचाँदी खरिद गर्नसमेत व्यावहारिक समस्या उत्पन्न हुने बताउनुभयो ।

“सुनचाँदी विलासिता हैन । धर्म संस्कृतिसँग जोडिएको छ । यसमा कर लगाउनेबित्तिकै अवैधानिक रूपमा कारोबार बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो, “करले त्रसित भएर उपभोक्ताले भारतीय सीमाबाट खल्तीमा राखेर गहना भित्रिने क्रम बढ्नेछ ।”

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव नीरबहादुर विश्वकर्माले सुनचाँदी र हीराजस्ता बहुमूल्य रत्नका गरगहना व्यवसायमा संलग्न झण्डै १५ लाखलाई यस करले प्रभावित पार्ने बताउनुभयो ।

नेपाल बैंकर्स एसोसिएसनका वरिष्ठ अधिकृत कपिल गौतमले व्यवसायीको मागअनुसार सुनचाँदीको परिणाम बढाउन सकिने बताउनुभयो । उहाँले व्यवसायीले शुल्क व्यहोर्न तयार भएमा परिणाम भित्र्याउन कुनै समस्या नभएको बताउनुभयो ।घनश्याम रिजालको संयोजकत्वमा बसेको उक्त उपसमितिको बैठकमा सुनचाँदीमाथिको कर, परिणात्मक बन्देज र खरिदलगायत विषयमा छलफल भएको थियो ।

विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी

काठमाडौँ, ६ असारः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद अमनलाल मोदीले बजेट विनियोजन असमान प्रणालीमा भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटले जनताको आवश्यकतालाई सम्बोधन गर्न नसकिने बताउनुभयो ।

“हुलाकी राजमार्गअन्तर्गतको कटहरी क्षेत्रको काम सम्पन्न गर्न बजेट विनियोजन भएन । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने किसिमको पनि बजेट आएको छैन”, उहाँले भन्नुभयो, “विराटनगर अन्तरराष्ट्रिय विमानस्थलका विषयमा आवाज उठाइरहे पनि हालसम्म सुनुवाइ भएको छैन ।”

सांसद प्रेम आलेले दैलेखमा अन्वेषण भएको पेट्रोलियम पदार्थको अध्ययन प्रतिवेदन आउनु सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले विगतको भन्दा पूर्वाधार तथा विकासका क्षेत्रमा बजेट विनियोजन बढेको भन्दै धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका लागि रु १५ करोड बजेट विनियोजन भएकामा असन्तुष्टि जनाउनुभयो ।

“उक्त सडकखण्डको रु ५० करोड पुरानो दायित्व रहेकाले कसरी ठेक्का लगाउने? सेती लोकमार्गका लागि अहिले रु २५ करोडमात्र बजेट विनियोजन भएको छ । यो न्यून हो । यसरी डोटेली जनतालाई राज्यले किन उपेक्षा गरेको हो?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रमअनुसारको बजेट नआएको बताउनुभयो । “बजेट विनियोजनको अवस्था हेर्दा उत्साहित हुने अवस्थामा छैन । तर निराश भइहाल्ने अवस्थामा पनि छैन”, उहाँले भन्नुभयो ।

सांसद महेश बस्नेतले इलाममा लोपोन्मुख गुम्बाहरू भूकम्पपछि जीर्ण अवस्थामा रहेका भन्दै सुधारका लागि माग गरिए पनि बजेटले सम्बोधन गर्न नसकेको बताउनुभयो । “सीमा सुरक्षामा खटिनेहरूको सेवासुविधालाई पुनःविचार गरियोस् । महेन्द्रबेँसीको पुल २०७२ सालदेखि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भए पनि हालसम्म अन्योल छ, यसमा पनि पुनःविचार गरियोस्”, उहाँले भन्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले संसद्मा बजेटमाथि भएको छलफलमा दिइएको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “बजेटपछि जनता उत्साहितभन्दा बढी निराशा देखिएका छन् । कालिकोट जिल्लालाई बजेटले उपेक्षा गरेको छ । आवश्यकताका आधारमा भन्दा पनि शक्ति केन्द्रित बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

छलफलमा भाग लिँदै सांसद प्रकाश ज्वालाले सबै मन्त्रालयको बजेट असन्तुलित, पक्षपातपूर्ण र अन्यायपूर्ण रहेको धारणा राख्नुभयो । “कर्णाली प्रदेशलाई बजेटले उपेक्षा र वञ्चितीकरणमा पारेको छ । राप्ती राजमार्ग सडकखण्डमा सरकारको प्राथमिकतामा पर्न सकेन”, उहाँले भन्नुभयो, “मदन राजमार्गको सल्यानबाट सुर्खेतसम्मको खण्डलाई उपेक्षा गरिएको छ, यसमा सरकारको ध्यान जाओस् ।”

सांसद रामहरि खतिवडाले पोखरा र भैरहवामा विमानस्थल निर्माण भए पनि सञ्चालनमा नआएको भन्दै यसको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “झापामा विकासका आयोजनाले प्राथमिकता पाउँदा ओखलढुङ्गा जिल्लाले प्रथामिकता पाउन सकेको छैन । आफ्नो निर्वाचन क्षेत्र केन्द्रित रहेरभन्दा पनि आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपथ्र्यो । त्यसो हुन सकेन”, उहाँले भन्नुभयो ।

सांसद दामोदर पौडेल बैरागी मुलुकलाई तीव्र आर्थिक वृद्धिमा लाने र जनतामा रहेको निराशा हटाउने लक्ष्य रहेकामा बजेट विनियोजनमार्फत पहल थालिएको बताउनुभयो । “हिजो थालिएको काम पूरा गर्ने लक्ष्य रहेको थियो । अधुरा आयोजना पूरा गर्नुपर्छ । दुब्लिगेट आयोजना खारेज गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “रणनीतिक सडकमा बजेट बढाउनुपर्छ ।”

सरकराले ल्याएको बजेट जनमुखी छ :खानेपानीमन्त्री यादव

काठमाडौँ, ६ असार : खानेपानीमन्त्री प्रदीप यादवले सरकराले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताउनुभएको छ । आज यहाँ आयोजित जनता समाजवादी पार्टीको प्रथम सङ्घीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै मन्त्री यादवले खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

सरकारले ल्याएको बजेट किसानमैत्री भएन : उपमहासचिव बस्नेत

काठमाडौँ, ६ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताउनुभएको छ ।आज यहाँस्थित संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले किसानलाई अन्याय गरेको आरोप लगाउनुभयो ।

४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर दुई बुँदे सहमति गरेको र त्यो कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गर्नुभयो । “यदि ३० दिनभित्र समहति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ तर आशा गरौँ छिट्टै उच्चस्थतरीय छानबिन समिति बन्ने छ”, उहाँले भन्नुभयो ।

नेता बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भन्नुभयो, “विसं २०५२ अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशामा पक्रन नसक्नुको मुख्य कारण सामन्तवादप्रति केन्द्रित थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो ।”

बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकताअनुसार सङ्घर्षका स्वरुप बदलिन सके मात्र किसान आन्दोलनलाई नवीन रुप दिन सकिने बताउनुभयो ।

सङ्गठनका उपाध्यक्ष श्रीगोविन्द महर्जनले जुगेडीलगायतका सङ्घर्षहरुलाई सत्तामा पुग्ने र बिर्सने प्रवृत्ति विरुद्ध आफूहरुले खबरदारी गर्दै आएको बताउनुभयो ।

बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् ।

उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको बताए । उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको तत्कालै उद्धार गर्नेगरी तयारी भएको बताए । हरेक राजमार्गको अवरोध हटाउन देशभर २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरु दुई बर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’ उनले भने ।

‘उच्च जोखिम भएको बेला प्रशासनबाट पनि उद्धार हुन्छ । राजमार्गहरु रातिको समयमा पनि बन्द गर्नुपर्ने हुन्छ । अहिले डाइर्भसनबाटै सबै काम भइरहेको छ । पहिलाको भन्दा व्यवस्थित डाइभर्सन भइरहेको छ ।

पहिलेकै अवस्थामा आउन अझै दुई बर्ष लाग्छ । तर अहिलेचाहीं जोखिमलाई कम गर्न डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । पहिरो खसेको ठाउँमा तीन दिनभित्र मेन्टिनेन्स गरिसक्छौं । जहाँ जतिबेला जे पर्छ मेकानिकल तयार छन् । सबै स्थानमा हामी तयारी अवस्थामा छौं,’ उनले भने ।

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौँ, ६ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गर्नुभएको छ ।

“दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।”

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर, ६ असारः खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।

उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताउनुभयो । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई १०० दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायतका लागि नगरपालिकाले रु पाँच लाख बजेट खर्च गरेको छ । नदीमा जैविक तटबन्ध निर्माण भएपछि खेलमैदानको सुरक्षासँगै हालै निर्माण भएको कभर्ड हल क्षेत्रको जग्गा भूक्षय हुनबाट रोकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । नदी छेउमै रहेको खल्ला बस्तीका बासिन्दालाई पनि नदीको बाढीबाट सुरक्षा हुने शाखा प्रमुख धामी बताउनुहुन्छ ।

“बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुनःस्थापना गर्न सहायक हुन्छ ।”

जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले उल्लेख गर्नुभयो । घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उहाँ बताउनुहुन्छ ।

सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ । सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउमा भने जलस्रोत तथा सिँचाइ विभागको रु १५ लाखको लागतमा ९० मिटर तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।

हेर्नुहोस् लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’

शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। “Empty Bottles, Blank Papers” उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।

चलचित्रमा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ भने रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनयमा साथ दिएका छन्।

प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन र सशक्त संवादले चलचित्रलाई दर्शकहरूका लागि प्रभावशाली बनाएको छ। यो चलचित्रले दर्शकलाई आत्म विश्लेषण गर्न बाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ।

प्राविधिक पक्षमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेंधाइ (छायाङ्कन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्वर्य सङ्गीत)लगायतको भूमिका उल्लेखनीय रहेको छ।

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति ‘खाली सिसी नयाँ कागज’ शर्ट फिल्म कम्पिटिसनमा पर्न सफल भएको लघु चलचित्र हो, सो फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट हेर्न सकिन्छ ।

जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयहरुमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ ।

सन् २०२५ को विश्व लगानी प्रतिवेदनमा युएनसिटिएडीले भनेको छ, “धेरै युरोपेली अर्थतन्त्रहरूमार्फत अस्थिर वित्तीय प्रवाहलाई हटाउन आर्थिक सतर्कता अपनाउँदा गत वर्ष एफडिआई ११ प्रतिशतले घटेर १.५ ट्रिलियन डलरमा झरेको छ ।

गुटेर्रेसले भन्नुभयो, “विश्वले सहयोगलाई प्रगाढ बनाउँदै र अवसर विस्तार गर्नुपर्ने समयमा हामीले यसको ठीक उल्टो भइरहेको देखिरहेका छौँ ।”

“अवरोधहरू बढ्दै छन्। विश्वव्यापीकरण पछि हटेको छ र दिगो विकासको लागि परिणामहरू गम्भीर बनेका छन् ।

“बढ्दो व्यापार तनाव, नीतिगत अनिश्चितता र भूराजनीतिक विभाजनले लगानीको वातावरणलाई अझ खराब बनाउने खतरा छ,” उहाँले भन्नुभयो ।

युएनसिटिएडीकी प्रमुख रेबेका ग्रिनस्पानले पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यसले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) कमजोर रहेको स्पष्ट र अत्यावश्यक सन्देश दिएको बताइन् ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय तनाव, व्यापार विखण्डन र तीव्र औद्योगिक नीति प्रतिस्पर्धाका कारण लगानीको परिदृश्यलाई आकार दिइएको युएनसिटिएडीले जनाएको छ ।

“यी कारणहरूले ‘दीर्घकालीन लगानीकर्ताको विश्वासलाई कमजोर पारिरहेको छ’,” युएनसिटिएडीले भनेको छ।

ग्रिनस्पानले कोभिड–१९ महामारीपछि पहिलो पटक गत वर्ष व्यापारमा सुधारको राम्रो सङ्केत देखिएको तर हालको अनिश्चितताले सन् २०२५ का लागि त्यो सम्भावनालाई समाप्त पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग रहेको समस्या के हो भने हामीले अप्रिलमा ट्रम्पले सुरु गरेको व्यापार युद्ध अन्त्यको तत्काल सम्भावना रहेको कल्पना गरिरहेका छैनौँं ।”

विकसित अर्थतन्त्रमा प्रत्यक्ष वैदेशिक लगानी एफडिआईमा २२ प्रतिशतले गिरावट आएको र युरोपमा ५८ प्रतिशतले गिरावट आएको युएनसिटिएडीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा उत्तरी अमेरिकाले २३ प्रतिशतको वृद्धिको साथ यो प्रवृत्तिलाई कम गरेको छ ।

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव (अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । यसअघि उनी २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०१६ मा सप्तरीको भागवतपुरमा जन्मिएका अध्यक्ष यादवले २०३२ सालमा कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । विसं २०४८ मा नेकपा (एमाले) मा आबद्ध भएका उनले २०६३ सालदेखि मधेसी जनअधिकार फोरम गठन गरी मधेस आन्दोलन सुरु गरे ।

अध्यक्ष यादवले देशको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भई जिम्मेवारी सम्हालिसकेका छन् । अध्यक्ष यादवसँग राससका समाचारदाता सुशील दर्नालले उनको दैनिक गतिविधि, संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, मधेसी समुदायका माग र मुद्दा, सङ्घीयता सुदृढीकरण, राजनीतिक व्यवस्था र जनताको अवस्था, युवाको विदेश पलायन र बेरोजगारी समस्या, राजनीतिक दलका गतिविधि, देशको आर्थिक विकास, जनतासँग गरेको प्रतिबद्धता र मुलुकको समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

अहिले संसद्को बजेट अधिवेशन चलिरहेको छ । बजेटमाथि सांसदले आफ्ना विचार राख्ने काम भइरहेको छ । यसअघि सरकारको नीति तथा कार्यक्रम र सिद्धान्त तथा प्राथमिकताबारे  संसद्मा छलफल भयो । सदनमा कानुन निर्माणको पाटोमा पनि सहभागी हुने गरेको छु । म अध्यक्ष भएकाले पार्टीको दैनिक गतिविधिमा पनि व्यस्त छु ।

संसदीय अभ्यासलाई कसरी हेर्नुभएको छ ? 

ठूला राजनीतिक दलहरुमा लोकतान्त्रिक संस्कृतिको अझै विकास भइसकेको छैन । त्यसले गर्दा संसदीय अभ्यास स्वस्थ ढङ्गले सञ्चालन भएको छैन । दलहरु आग्रह–पूर्वाग्रहले ग्रसित छन् । कार्यकारीणिको झगडा संसद्ले बेहोर्नुपरेको छ । त्यस कारण संसद्को जति प्रभावकारिता हुनपथ्र्याे, त्यो मैले पाएको छैन । सारा जनताको ध्यान अहिले संसद्तिर छ । संसद्प्रति जनताले जुन आशा गरेका थिए, त्यो आशा पूरा गर्ने गरी संसद्ले भूमिका निर्वाह गर्न सकेको छैन । संसद् चलिरहेको देखिए पनि प्रभावकारी ढङ्गले संसदीय कारबाही अगाडि बढ्न सकेको छैन ।

संविधान कार्यान्वयनलाई कसरी हेर्नुभएको छ ?

सबै जनताले संविधानको स्वामित्व ग्रहण गर्न सकेका छैनन् । संविधान जारी गर्ने बेलामा संविधानसभामा व्यापक छलफल र संशोधन प्रस्तावमाथि बहस गरेर जारी गरेको भए त्यसको स्वामित्व सबैले ग्रहण गर्ने थिए । संविधानमा केही महत्वपूर्ण कुरा छन् । केही विभेदकारी विषय पनि छन् । केही दोधारे विषय पनि छन् । संविधानमा भएका महत्वपूर्ण विषय पनि कार्यान्वयन हुन सकेका छैनन । जस्तोः सङ्घीयता पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् । प्रदेशको संरचना खडा गरियो, तर केन्द्रीकृत र एकात्मक मानसिकताबाट मुक्त नभएका कारण पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम र अधिकार पनि केन्द्रमै राखिएको छ ।

केन्द्रमै स्रोत र शक्ति राखेपछि सङ्घीयता कसरी कार्यान्वयन हुन्छ ? सङ्घीयता कार्यान्वयन गर्न न कानुन छ, न कर्मचारीतन्त्र छ । स्रोत/साधन पनि छैन । यस्तो अवस्थामा प्रदेश सरकारले कसरी काम गर्छ ? संविधानमा लेखिएका विशेष क्षेत्र र सुरक्षित क्षेत्रको पनि कार्यान्वयन भएको छैन ।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ? 

संविधान संशोधन गर्न सरकारले चाहेको देखिँदैन । संविधान जारी भएकै बेलादेखि संशोधनको कुरा भइरहेको छ, तर कुरामै सीमित छ । संशोधन कुन विषयमा गर्ने भन्ने विषय नै आएको छैन । कुन लक्ष्य प्राप्तिका लागि संशोधन गर्ने भन्ने नै थाहा छैन । संविधान संशोधन फण्डाजस्तो भएको छ ।

संविधानलाई गति दिन परिमार्जनको आवश्यकता छ । त्यसैले पहिला संविधान संशोधनका लागि विज्ञहरुको टोली बनाउनुपर्छ । त्यो टोलीले दिएको सुझावको आधारमा संशोधन गर्नुपर्छ ।

कुन–कुन विषयमा संशोधन गर्नुपर्छ ? 

पहिला निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ । नेपालजस्तो अल्पविकसित मुलुकमा यत्रो महँगो निर्वाचन प्रणाली हुनुहुँदैन । अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद गर्छ । अर्को शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्छ । अहिलेको शासन व्यवस्था व्यवहारिक रुपमै सफल हुन सकेको छैन । अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति  हुनुपर्छ । राष्ट्रपतिले विज्ञहरुबाट सरकार बनाउनुपर्छ । संसद्ले कानुन बनाउने, अनुगमन गर्नेलगायत संसदीय कार्य गर्नुपर्छ । सरकार र संसद्लाई अलग गर्नुपर्छ ।

त्यसैगरी न्यायपालिकालाई पनि पुनःविचार गर्नुपर्छ । न्यायपालिकामा धेरै ढिलासुस्ती छ । जनशक्तिको पनि कमी छ । सङ्घीय प्रणालीमा मुलुक गइसकेपछि एकात्मक प्रणालीमा न्यायपालिका त्यति प्रभावकारी हुन सक्दैन । सस्तो र सजिलो गरी जनताले न्याय सेवा पाउनुपर्छ । न्याय भनेको बजारबाट खरिद गरेको वस्तुजस्तो हुनुहुँदैन । स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने र प्रदेशलाई अधिकार सम्पन्न बनाउने विषयमा संविधान संशोधन गर्नुपर्छ ।

मधेसी समुदायको माग के हो ?

जनसङ्ख्याको आधारमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा समान सहभागिता हुनुपर्छ भन्ने मधेसी समुदायको मुख्य माग हो । संवैधानिक आयोगलगायत राज्यका सबै संरचनामा मधेसी समुदायको समान रुपमा सहभागिता हुनुपर्छ । लोकतन्त्रमा जनसङ्ख्याको आधारमा सबैको प्रतिनिधित्व हुनुपर्छ । तर, अहिले समावेशिता पनि हराउँदै गएको छ ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ ?

सङ्घीयताको आधारभूत सिद्धान्त भनेको प्रदेशमा स्वशासन र केन्द्रमा साझा शासन हो । यो नीतिबाट अगाडि बढ्नुपर्छ । सात प्रदेशलाई पुनःसंरचना गर्नुपर्छ । सङ्घीयताबारे राज्य पुनःसंरचना आयोगले भनेको सामथ्र्य र पहिचानको आधारमा १० प्रदेशको बारेमा सोच्नुपर्छ । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ । प्रदेशलाई स्रोत र जनशक्ति दिनुपर्छ ।

जनताको अवस्थालाई अझै सुधार गर्न के गर्नुपर्छ ?

सत्तामा रहेका ठूला पार्टीहरुले राज्यका संरचनामा आफ्ना मान्छे मात्रै राखेर जनताको अवस्थामा सुधार हुँदैन । अदालत, अख्तियार र अन्य संवैधानिक निकायमा आफ्ना मान्छेभन्दा पनि योग्य र समक्ष मान्छे राखियो भने जनताको अवस्था यतिकै परिवर्तन हुन्छ । त्यसकारण जनताको अवस्था परिवर्तन गर्न राजनीतिक नेतृत्वको मानसिकता परिवर्तन हुन जरुरी छ । राजनीतिक नेतृत्वको मानसिकता परिवर्तन नभएपछि देशको विकास कसरी हुन्छ ? जनताले रोजगारी कसरी पाउँछ ? रोजगारी नपाएपछि जनताको अवस्था कसरी परिवर्तन हुन्छ ?

युवा विदेश पलायन कसरी रोक्न सकिन्छ ?  

गरिबी र बेरोजगारी भएपछि देशमा बाँच्नु कसरी ? बाँच्न गाह्रो भएपछि विदेश पलायन हुनुको विकल्प नै छैन । देशमा राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा नभएपछि युवा पलायन हुनु स्वभाविक हो । त्यसकारण युवा पलायन रोक्न आफ्नो देशको उद्योगधन्दा सञ्चालन गर्नुपर्छ । कृषिमा विकास गर्नुपर्छ । विकास र सुशासन दिन सकियो भने युवा पलायन आफैँ रोकिन्छ ।

ठूला राजनीतिक दललाई तपाईको सुझाव के छ ?

भ्रष्टाचार अन्त्य गर्नुपर्छ । जनतालाई सुशासन दिनुपर्छ । दलहरु विकासको गतितर्फ लाग्नुपर्छ । मूल्य र मान्यताका आधारमा राजनीति गर्नुपर्छ । व्यवस्था राजनीतिक रुपमा परिवर्तन भएको छ । तर, शासन प्रणाली उही छ । प्रशासनको ढाँचा उस्तै छ । आनीबानी, बेहोरा उही छ । त्यसकारण प्रमुख कुरा राजनीतिक दल सुध्रिन आवश्यक छ ।

देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?

विकासको मूल आधार भनेको शिक्षा हो । तलदेखि माथिसम्म शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ । युगअनुसारको शिक्षा प्रणाली हुनुपर्छ । मानिसको जीवनलाई सक्षम बनाउने खालको शिक्षा हुनुपर्यो । सँगैसँगै हाम्रो देश कृषिमा आधारित देश हो । कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्नुपर्छ । बन्द भएका उद्योगधन्दा सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ । विद्युत्मा विकास गर्नुपर्छ । यति मात्रै गर्न सकियो भने नेपाल संसारको सबैभन्दा सुखी र सम्पन्न देश बन्न सक्छ ।

जनतासँग गरेको प्रतिबद्धता कति पूरा गर्नुभयो ?

जसले सत्ता सञ्चालन गर्छ उसले बजेट विनियोजन गरेर विकासको काम अगाडि बढाउने हो । सरकारले बजेटको व्यवस्था गरेन भने विकास  कसरी अगाडि बढ्छ ? मैले मेरो निर्वाचन क्षेत्र रहेको जिल्ला बाराको विकासका लागि गरेका प्रतिबद्धता पूरा गर्नेबारे सरकारलाई लेखेर दिएको छु ।

जनतालाई तपाईँको सन्देश के छ ?

जनता अन्याय र बेतिथिका खिलापमा उठ्नुपर्छ । भ्रष्टाचार र कमिसनतन्त्रलाई अन्त्य गरेर सुशासन र समृद्धिको दिशामा देशलाई अगाडि बढाउने कुरामा सबैको उत्तिकै दायित्व हुन्छ । देशमा भ्रष्टाचार अति भइसक्यो । यस विषयमा जनता सङ्गठित हुँदै जाग्नुपर्छ ।

६७७ प्रहरी जवान पदका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा जागिर गर्न खोज्नेहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो ।

मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा, ६ असारः मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ ।

गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताउनुभयो ।

“नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो”, उहाँले भन्नुभयो । गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ । हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ ।

सुर्खेतमा शशीला मोटर्सले गर्‍यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण

काठमाडौं । शशीला मोटर्स प्रा.लि.ले सुर्खेतको काँक्रेबिहार यातायात प्रा.लि.लाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरेको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो ।

१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।

‘म २३ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छु र आफैँ पनि एक यातायात व्यवसायी हुँ’ खतिवडाले भने, ‘व्यवसायीहरूको सेवा र विश्वासप्रति म सदैव समर्पित रहनेछु ।’
काँक्रेबिहार यातायात प्रा.लि.का अध्यक्ष र
मेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण ‘किटोन’ ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए । उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए । सापकोटाले सन्तोष खतिवडाप्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे ।

कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।