`

एसिसी पुरुष यु–१ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

काठमाडौँ, ८ असार : मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ८ असार : कालीमाटी फलफूल तथा तरकारी बर विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ३५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, मेथी साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु ८५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ६५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्ने भएको छ । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४२ औं बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ८२ औँ बैठक दिनको २ बजे बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ ।

विकले हात पारिन गण्डकी लोकताराको उपाधि

गण्डकी, ८ असारः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको छ ।

शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल हुनुभएको हो । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ प्राप्त गर्नुभयो । प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै रु ३१ हजार १११, तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले रु २१ हजार १११ प्राप्त गर्नुभयो । सान्त्वना स्थान हासिल गर्ने दिलीप मानन्धरले रु ११ हजार १११ प्राप्त गर्नुभयो ।

उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारलाई प्रदान गरियो । प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर दिइने प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए ।

मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपानेलगायत रहनुभएको थियो । विश्व सङ्गीत दिवसको अवसर पारेर प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गर्नुभएको थियो ।

टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।

टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।
तेसो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो ।

च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पा¥यो । यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त ग¥यो ।प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका

थिए ।तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०–७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२–१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२–१९ र तेस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१–५७ ले अघि थियो । चौथो क्वाटर १९–१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३–२१ ले हरायो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए ।

पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो ।
पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागको धेरै स्थानहरूमा तथा बाँकी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका पहाडी भू–भाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौँ, ८ असारः नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले रु दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

डोकामा पानी बोक्ने दिन गए, धजे–मकरजुङ गाउँका घरमै धारा

इलाम, ८ असारः सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर राईले भन्नुभयो । साठी वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, “पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।”

विसं २०७५ देखि सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताउनुभयो । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।

शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गर्नुभयो ।

“अब धजे–मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताउनुभयो ।

महोत्तरीसहित मधेसका उखु किसानको अनुदान उपलब्ध गराउन सरकारसँग माग

महोत्तरी, ८ असारः महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सङ्घीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन नभएपछि किसानले यसबारे पुनर्विचारका लागि आग्रह गरेका हुन् । अनुदान सम्बोधन गरिनुपर्ने किसानको माग छ ।

“खेतीमा सरकारले दिने अनुदान ठूलो भरथेग थियो, यसपालि बजेटमा त्यो परेन”, बर्दिबास–९ का किसान महेन्द्र महतो भन्नुहुन्छ, “सरकारले यसबारे विचार गरोस् ।” महतोजस्ता सबैजसो उखु किसानको विगतदेखि पाउँदै आएको अनुदान सम्बोधन गरिदिनुपर्ने माग छ । सरकारले पछिल्ला सात वर्षयता उखुखेतीका किसानलाई चिनी उद्योगमा बुझाएको उखुको तौलअनुसार अनुदान दिँदै आएको थियो ।

“समयअनुसारको मूल्य पाउन सकेका छैनौँ”, दुई दशकदेखि उखुखेती गर्दै आएका भङ्गाहा–४ रामनगरका ५० वर्षीय किसान अरुण गिरी भन्नुहुन्छ, “अब यो खेतीबाट उँभो लागिएला भन्ने छाँट छैन ।” सरकारले उखुखेतीमा दिँदै आएको अनुदान आउँदो वर्षलाई सम्बोधन नगरेपछि अब वैकल्पिक खेतीबारे सोच्नुपर्ने भएको उहाँको भनाइ छ । अलि ढिलै भए पनि अनुदान एकमुष्ट पाउँदा घरव्यवहार र खेतीपाती गर्न सघाउ मिलेको थियो ।
सरकारले उखु खेती गर्ने किसानलाई दिदै आएको अनुदान आगामी वर्ष २०८२÷८३ को बजेटमा सम्बोधन नभएको किसानको गुनासो छ । चालु आवमा सरकारले प्रतिक्विन्टल उखुमा रु ७० अनुदानको व्यवस्था गरे पनि अब पाउने÷नपाउने संशयमा किसान छन् । यद्यपि आव २०८१÷८२ मा एभरेष्ट चिनी उद्योगमा उखु दिएका महोत्तरीका १४ हजार ५३३ किसानले पाउनेगरी रु २१ करोड ७२ लाख ९१ हजारको सिफारिस भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आउने दसैँअगावै पाउने आस गरिएको यो रकम अब आउने वर्षको प्रस्तावित बजेटमा अनुदानबारे उल्लेख नहुँदा किसानलाई पाउने÷नपाउनेबारे संशय बढेको हो । यसअघि आव २०८०÷८१ मा जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापत रु २० करोड ३३ लाख गत दसैँअघि बुझेका थिए ।

“बजारको मूल्यवृद्धिअनुसार उखुको उचित मूल्य पाएनौँ, तर पछिल्ला तीनचार वर्षयता चिनी उद्योगले भुक्तानी प्रक्रिया सरलीकृत गर्दा र सरकारले अनुदान पनि दिँदा खेती बढाउँदै लगिएको थियो”, बर्दिबास–१३ का किसान ठाकुरप्रसाद सिंह कुशवाहा भन्नुहुन्छ ।

उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा आउने वर्षलाई बजेटमा अनुदानको सम्बोधन नहुँदा यो खेतीले निरन्तरता पाउने अवस्था नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले अनुदानको कुरा पुनर्विचार गर्नैपर्छ ।”

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौँ, ८ असार : नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ ।

स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले अधिकांश सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको र त्यसका लागि भारतीय रुपैयाँको पनि माग अत्यधिक रहेको जनाएको छ । सो प्रदेशका अस्पतालमा आवश्यक उपकरण, दक्ष चिकित्सक, जनशक्ति तथा अन्य स्वास्थ्य उपकरणमा आवश्यक स्रोतसाधनको व्यवस्था गर्नु चुनौतीको रूपमा रहेको अध्ययनमा देखिएको छ ।

सरकारी विद्यालयहरूको गुणस्तर सुधार, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता र ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने कार्यलाई पनि चुनौतीका रूपमा देखाइएको छ । प्रदेशमा अवस्थित जनकपुर र वीरगञ्जजस्ता ठूला र व्यापारिक सहरलाई शैक्षिक हबका रूपमा विकास गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्नु आवश्यक छ । वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्दै प्रदेशलाई सुन्दर र आकर्षक प्रदेशका रूपमा विकास गर्नका लागि सहरी क्षेत्रका सडकमा जताततै थुप्रने फोहर व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ ।

कृषि उत्पादनका लागि उचित बजारमा पहुँच नहुनाले किसान प्रायः बिचौलियामा निर्भर रहेकाले बजारसम्म कृषि उपजको पहुँच विस्तार गर्नु तथा कृषि उपजको उचित मूल्य प्राप्तिको व्यवस्था गर्ने कार्यलाई चुनौतीका रूपमा देखाएको छ ।

त्यसैगरी, माछापालनका लागि प्रसिद्ध रहेको जनकपुर तथा परवानीपुरलगायत मत्स्य विकास भइरहेको स्थानमा माछा उत्पादन क्षमता थप अभिवृद्धि गर्नु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । परम्परागत रूपमा हँुदै आएको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्नु, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन मलखादको सुलभ आपूर्ति, उत्पादित अन्नको उचित मूल्य प्राप्ति तथा व्यवस्थापन मिलाउनुका साथै बजारको प्रबन्ध गरी कृषिजन्य क्रियाकलापमा युवाहरूलाई आकर्षित गर्नु जरुरी रहेको छ । प्रदेशका दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्तिमा वृद्धि भएकाले सेवा क्षेत्र सञ्चालनका लागि प्राविधिक, स्वास्थ्यकर्मी, शिक्षक, सूचना प्रविधिविज्ञको व्यवस्था गरी रोजगारीको वातावरण सृजना गर्ने कार्य पनि चुनौतीपूर्ण देखिएको छ ।

वैदेशिक रोजगारीमा रहेका युवाबाट प्राप्त विप्रेषणलाई स्थानीय तहको समन्वयमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु अत्यावश्यक छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा विकास गर्दै जानकी मन्दिर, पर्सा वन्यजन्तु आरक्ष, नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष, सिन्धुलीको युद्ध सङ्ग्रहालय, भरत ताललगायत क्षेत्रको संरक्षण र संवर्द्धन गरेर आर्थिक गतिविधि बढाउनुपर्नेमा केन्द्रीय बैंकले जोड दिएको छ ।

मधेस प्रदेशमा निर्माण सुरु भएका आयोजना हुलाकी राजमार्ग, काठमाडाँै–निजगढ द्रुतमार्ग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका आयोजना विभिन्न सरोकारवाला निकाय तथा क्षेत्रहरूबीच समन्वय कायम गर्दै निर्धारित लागत र समय तालिकाभित्र सम्पन्न गर्ने कार्य चुनौतीपूर्ण रहेको अध्ययनको ठहर छ । प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गरी सीमान्तकृत वर्गमा वित्तीय पहुँच अभिवृद्धि गर्नु, आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनु जरुरी रहेको अध्ययनले देखाएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ असारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ , कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३४ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘राज्यलाई कर तिर्नु हाम्रो दायित्व हो’ – अभिनेता घिमिरे

काठमाडौँ, ८ असारः टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताउनुभएको छ ।

चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता घिमिरेले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देशमा समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नबाट पछाडि हट्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुलेमात्र सरोकारवाला निकायलाई चलचित्र क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झ्क्याउन सक्छौँ ।”

चलचित्र ‘माग्ने राजा’मा रु ६१ लाख पारश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाका विषयमा अभिनेता घिमिरेले चर्चा गर्नुभएको थियो । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताउनुभयो ।

“कलाकार घिमिरेले माग राख्नुभयो होला तर हामीले उहाँको लोकप्रियता र बजारको अस्तित्व हरेर लगानी गरेका हौँ । उहाँलाई गरिएको लगानीबाट निर्माताले मुनाफा कमाउनुहुन्छ भने त्यसमा कसैले आपत्ति मान्नुपर्ने ठाउँ छैन”, निर्देशक लामिछानेले भन्नुभयो ।

आफूले आफूलाई राजा ठान्ने स्वभाव रहेको एक व्यक्तिको कथालाई चलचित्र ‘माग्ने राजा’मा प्रस्तुत गरिएको उहाँले बताउनुभयो । सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरीलगायतले अभिनय गर्नुभएको छ । उक्त चलचित्रलाई कलाकार मुनाल घिमिरेले निर्माण गर्नुभएको हो । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि नेपालसहित विदेशमा पनि प्रदर्शन हुनेछ ।

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

काठमाडौँ, ८ असारः मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ । मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही दिन अघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।

नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, ८ असारः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

भक्तपुर–ताथली–नालागढी साइक्लिङ सम्पन्न

भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आज आयोजित २५ किलोमिटर साइक्लिङ एवं हाइकिङ यात्रा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका–९ स्थित ब्रम्हायणी मन्दिरमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज बिहान साइकल यात्राको उद्घाटन गर्नुभएको थियो ।

उक्त साइकल यात्रा साँझ ताथलीको फैढोकामा आइपुगेको हो । साइक्लिङमा २७६ जना सहभागी थिए । नगर प्रमुख खत्रीले नगरपालिका क्षेत्रका सम्पदालाई विश्वस्तरमा पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरिएको बताउँदै युवा पुस्ता सक्रिय भएर लागे पर्यटनको विकास मात्रै नभइ समग्र आर्थिक एवं भौतिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले ताथलीमा विश्वकै दुर्लभ चट्टान अभिलेख भएको बताउनुभयो । नगरकोट भ्रमण वर्ष २०८२ का विज्ञ डा घनश्याम खतिवडाले ऐतिहासिक क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

साइक्लिङमा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले ताथलीका विभिन्न स्थानमा साइक्लिङ गर्न पाउँदा बेग्लै अनुभव गर्न पाएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा कलाकार सम्राट सापकोटा, ब्रेभ राइडर कमला पुन, फरक क्षमताका साइक्लिष्ट पुरूषोत्तम साहुखललगायतलाई जनप्रतिनिधिले प्रमाणपत्र एवं मायाको चिनो वितरण गर्नुभएको थियो ।

त्यसैगरी सञ्चारकर्मी हरिसुन्दर छुकाङद्वारा सम्पादित ‘हाम्रो ताथली’ पत्रिका विमोचन गरिएको थियो । कार्यक्रममा आयोजक समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्रका बारेमा साइकल यात्रीहरुलाई जानकारी दिँदै यसको विश्वव्यापी प्रचार गर्न साइक्लिङ तथा हाइकिङ कार्यक्रम गरिएको बताउनुभयो ।

‘जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ’ : उपाध्यक्ष पोखरेल

मलेखु (धादिङ), ७ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताउनुभएको छ ।

एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।” जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानको सर्वाेच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भन्दै यसमा पार्टीका नेता तथा कार्यकर्ताको योगदान र सहयोगको खाँचो औँल्याउनुभयो ।

एमाले जिल्ला कमिटीका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले पार्टीको सङ्गठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्नुभयो ।

प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिङ्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत नेताले पार्टीको आगामी योजना र निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताका विषयमा आ–आफ्ना धारणा राद्यनुभएको थियो । परिषद्को नवौँ जिल्ला अधिवेशनले पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले साङ्गठनिक सुदृढीकरण र वैचारिक स्पष्टतालाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो । प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरूलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए ।

उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौ । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होईन । हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ ।’

यस्तै, उनले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए ।
काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो ।

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

लम्की (कैलाली), ७ असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गर्नुभएको छ ।

सरकारले यस अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री शाहले पहिलोपटक अनुगमन गर्नुभएको हो । गत जेठ २६ मा नेपाल सरकारको मन्त्रीपरिषद बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सरकारले यस अस्पतालको आकस्मिक कक्ष तथा प्रयोगशालाका लागि रु दुई करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो । उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा मुख्यमन्त्री शाहले अनुगमनका क्रममा जानकारी लिनुभयो । साथै अस्पतालको निर्माणाधीन भवनको जानकारी लिनुभयो ।

प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई उपलब्ध गराएको बर्थिङ सेन्टरको आकस्मिक कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री प्राप्त गरी सञ्चालनमा ल्याएको र केही उपकरण नयाँ भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइने अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले जानकारी दिनुभयो ।

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी, ७ असारः लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन् ।

पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताउनुभयो । पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट दर्शनार्थी पुग्ने गरेका उहाँको भनाइ छ ।

समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जलसतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिनुुभयो । “जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरीकुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जलसतह घटेको बताउनुभयो । “सुरुमा यहाँ पुग्दा देखेको जलसतह अहिले ५० प्रतिशतले घटेको छ”, उहाँले भन्नुभयो, “कुण्डको उत्तरतर्फबाट हिउँपहिरोका कारण कुण्ड पुरिने जोखिम छभने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ ।”

तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनुलगायत कारणले जलसतह घट्दै गएको पथप्रदर्शक घलेले बताउनुभयो ।

लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँंलगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन् । कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गर्नुभयो । यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उहाँको भनाइ छ ।

मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङग गुरुङले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रका साथै मानव बस्तीबाट टाढा रहेको यस तीर्थस्थल पुग्ने प्राचीन भेँडीगोठ, नून बोक्न जाने प्राचीन मार्गलाई सम्पदा पदमार्गका रूपमा अघि बढाउँदै पदयात्रा पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

सङ्घको आयोजनामा पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङसम्म अन्वेषणात्मक पदयात्रा गरिएको थियो । त्यस्तै दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कफुचे हिमताल, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो ।

तेस्रो चरणअन्तर्गत हालै लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२६ देखि यस गुरुङ सम्पदा पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरीकुण्डको जलसतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताउनुभयो ।

“दूधपोखरीकुण्डको महत्त्वलाई जीवन्त राख्न, यसको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यस तीर्थस्थलको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्दै कुण्डको संरक्षणसहित यहाँ पुग्ने पदमार्गको अत्यावश्यकीय पूर्वाधार विकास गर्नु जरुरी छ ।”

विविध कार्यक्रम गरी योग दिवस मनाइयो

मन्थली (रामेछाप), ७ असारः “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११औँ अन्तरराष्ट्रिय योग दिवस आज यहाँ विविध कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा प्रभातफेरी, प्रवचन सांस्कृतिक कार्यक्रम र योगका विभिन्न नमूना प्रदर्शन गरियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा योगसँग सम्बन्धित, प्रवचन, गीत, कविता वाचन गर्नुका साथै पतञ्जली योग समिति र जीवन विज्ञानका साधक साधिकाले योग अभ्यास प्रदर्शन गरे ।

यसैबीच योग दिवसकै अवसरमा कञ्चनपुरमा आयोजित एक कार्यक्रमका वक्ताले डिजिटल जीवनशैलीले मानिसलाई शारीरिकभन्दा बढी मानसिक तनावमा पारेको बेला योगले मानसिक शान्ति र भावनात्मक सन्तुलन कायम गर्ने बताए ।

“तनावग्रस्त जीवनशैलीलाई सन्तुलनमा ल्याउने सबभन्दा सरल, सुरक्षित र दिगो उपाय योग मात्रै हो”, योग प्रशिक्षक इश्वरी भट्टले भन्नुभयो, “योगले शरीर, मस्तिष्क र आत्मालाई एउटै लयमा बाँध्छ, जसले बाह्य जीवनलाई मात्रै होइन, आन्तरिक अस्तित्वलाई पनि समृद्ध बनाउँछ ।”

प्राचीन हिन्दू परम्परा ज्ञान र अभ्यासमाथि आधारित योगले श्वासप्रश्वास, मस्तिष्क, स्नायु र आत्मालाई नियन्त्रणमा राखी सन्तुलनमा ल्याउने अद्भूत क्षमता राख्ने केशवदत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास समस्या, मानसिक तनाव, अनिद्रा, मोटोपन जस्ता दीर्घरोगमा उल्लेखनीय सुधार ल्याउने गर्दछ ।

शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँं, ७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनशीप’का विजेतालाई आज पुरस्कार प्रदान गर्नुभएको छ ।काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम भएका कृष महर्जनलाई प्रधानमन्त्री ओलीले आज रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको उक्त कार्यक्रममा पछिल्ला अन्तरराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै देशवासीको स्वास्थ्य सबल बनाउन तयार पारिकएको स्वास्थ्य नीतिको मूल उद्देश्य निरोगी नेपाल भएकाले आरोग्यका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले अन्तरराष्ट्रिय प्रतियोगितामा विजयी भएर देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको बताउनुुभयो ।

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौँ, ७ असारः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ ।

आज सङ्घीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल भएको हो ।

छलफलमा सांसदहरू डा चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मिना तामाङ, लालप्रसाद साँवा लिम्बु, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी हुनुभयो ।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र सचिवालयको विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफका लागि यही असार ८, ९ र १० गतेका लागि समय निर्धारण गरिएको जानकारी गराउनुभयो ।

सभामुखले प्रतिनिधिसभाको भोलिको बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ८ गते बिहान ११ बजे बस्नेछ ।

चीनमा टेस्लाको पहिलो ग्रिड स्केल पावर स्टेशन निर्माण गर्ने सम्झौता

टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ ।टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, “यो परियोजनाले ग्रिड संसाधनहरूको लचिलो समायोजनमा मद्दत गर्नेछ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाबहरू प्रभावकारी रूपमा समाधान गर्नेछ।”

टेस्लाले भनेको छ, “यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ ।”यस्ता ऊर्जा भण्डारण प्रणालीहरूले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ ।

टेस्ला साङ्घाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ ।

उक्त सम्झौतामा चार अर्ब युआन (५६ करोड अमेरिकी डलर) को लगानी समावेश गरिएको बताइएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करवृद्धिपछि दुवै पक्षले दीर्घकालीन व्यापार सम्झौता गर्न बाँकी रहेका बेला वासिङ्टन र बेइजिङबीच तनाव उत्पन्न भएको बेला यो सम्झौता भएको हो ।चीन र संयुक्त राज्य अमेरिकाले यसै महिनाको सुरुमा यस परियोजनाका लागि लण्डनमा ‘फ्रेमवर्क’ सम्झौतामा वार्ता गरेका थिए।

रुसलाई हतियार बनाउने औजार आपूर्ति पश्चिमा कम्पनीले गराएको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाउनुभएको छ ।जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनिसंयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उहाँले बताउनुभयो ।

युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ ।

जेलेन्स्कीले भन्नुभयो, “रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् ।रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उहाँले बताउनुभयो । “हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ । हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।

सामाजिक सेवा संस्थासँग सहकार्य गर्दै मानव कल्याणमा अघि बढ्छौं :मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै संस्थाले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवा मार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

शनिबार जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको टोलीसहित आश्रम पुगेका मुख्यमन्त्री सिंहले सेवा भावना, व्यवस्थापन र समर्पित टोलीको कार्यप्रति गहिरो सम्मान व्यक्त गरे ।

अवलोकनपछि उनले प्रदेश सरकार सामाजिक सेवामा संलग्न यस्ता संस्थाहरूसँग सहकार्य गर्दै मानव कल्याणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

मानवसेवा आश्रमले सडकमा बेवारिसे, मानसिक असन्तुलनयुक्त र विपन्न अवस्थाका व्यक्तिहरूलाई उद्धार गरी आश्रय, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्दै आएको छ। मुख्यमन्त्रीको भ्रमणले संस्थाको सेवा कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको आश्रम प्रशासनको भनाइ छ ।

असार सुरु भएसँगै महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी, ७ असारः असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् ।

असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताउनुभयो ।

“गर्मीयाम र पानी परेपछि सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्तोबेला घटना बढ्छन् । गर्मीमा हावा खान र वर्षामा दुलो पानीले भरिँदा सर्प बाहिर निस्कने र यस्तैबेला सर्पदंशका घटना बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ । वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्य सर्तकता अपनाउन केन्द्रका प्राविधिक प्रमुख चौधरीले सबैलाई आग्रह गर्नुभयो ।

विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ । यस वर्षको वैशादेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्याङ्कमा उल्लेख छ । वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ ।

सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् ।

सर्पको खानी भनिने बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडाबस्तीमा विगतको तुलनामा सर्प घटेका पाइएको केन्द्रको सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाको बताउनुभयो । जताततै पर्ति जग्गा खनजोत गर्ने र घर बनाउने क्रम बढेसँगै १० वर्ष पहिले भन्दा अहिले यहाँ विषालु सर्प घट्दै गएका उहाँको भनाइ छ ।

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

पाटन (ललितपुर), ७ असारः पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताउनुभएको छ । ब्रिटिसगोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिसगोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन कार्यक्रममा उहाँले ब्रिटिसगोर्खा सैनिकको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर प्रशंसा हुने गरेको बताउनुभयो ।

“गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुरÞ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको एउटा महत्वपूर्ण सम्बन्धको रूपमा गोर्खा फौज स्थापित भएको छ ।” सभापति देउवाले भन्नुभयो ।

उहाँले ब्रिटिसगोर्खा सैनिकले समान पेन्सनलगायत आफ्ना अधिकारका विषयमा आवाज उठाउँदै आएका बताउँदै उहाँले ब्रिटिसगोर्खा सैनिकलाई बेलायती सैनिक सरह सुविधा दिनुपर्छ भन्ने नेपाल सरकारको धारणा बेलायतका अधिकारीहरुसँग आफूले राखेको जानकारी गराउनुभयो ।

“म ब्रिटिसगोर्खाहरुले त्यहाँका अरु सैनिक सरहनै सेवा तथा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छु, ब्रिटिस गोर्खा सैनिकहरुले उनीहरुको नेपाली नागरिकताको निरन्तरताको माग उठाइरहनु भएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ ”, सभापति देउवाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले विश्वको परिस्थितिअनुसार नेपालको नागरिकता दिने व्यवस्थालाई उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नेपालमा बाबुको नामबाट मात्रै नभएर बच्चाले चाहेअनुसार बाबुआमाको नामबाट नागरिकता लिन सक्ने व्यवस्था भएको बताउनुभयो ।

पुस्तकका लेखक ज्ञवालीले ब्रिटिसगोर्खामा भर्ना भई त्यस देशको मानार्थ नागरिक भएका आधारमा नेपालको वंशजको नागरिकताबाट उनीहरूलाई वञ्चित गरिन हुँदैन भन्नुभयो ।

योग, ज्ञान र निरोगी नेपाल

केपी शर्मा ओली
आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैैभन्दा लामो दिन । आज योग प्रारम्भ भएको दिन । हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरुलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रुपमा मानेको छ । यस दिवसको सन्दर्भमा म सबैैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छुु ।

योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र मानिसको मानवीय प्रवृत्ति अर्थात् सामाजिकपन, सामाजिक प्रवृत्तिको विकास र त्यसको कार्यान्वयनका लागि योग सिर्जना र विकास हुँदै आएको छ ।
बीचमा योग अलिकति लुप्त भयो । आज योग अलिकति भड्किन पनि खोजेको छ । योगबाट योगातिर जान खोजेको छ । योगा होइन, योग हो । ‘योगा’को कुनै अर्थ हुँदैन, योगको अर्थ हुन्छ । दीपक नाम मैले भन्दा बत्ति हुन्छ, ज्योति हुन्छ, उज्यालो हुन्छ, अनेक होला तर बिगारेर अर्को नाम राखेँ भने त्यसको अर्थ हुँदैन । त्यस्तै योगलाई योगा बनाउनुु हुँदैन । योग हो ।

योग पहिलो भगवान् शिवबाट उत्पत्ति भएको थियो अर्थात् यस धर्तीमा योग उत्पत्ति भएको थियो । यहाँका पूर्खाहरुबाट, यहाँका अग्रजबाट भएको हो । हामी पूर्खालाई भगवान्् भन्छौँ । हामी भगवान् दुईवटा चिजलाई मान्छौँ । एउटा पूर्खाहरुलाई मान्छौँ, शिव, दुर्गा, मातादेवी, देवता, विष्णु, ब्रह्मा जेसुकै भन्नुस्, जति देवताको नाम लिइन्छ, ती सबैै पुर्खा हुन् । पुर्खालाई हामी देवतुल्य मान्छौंं र देवता भन्छौँ । अर्को हामी प्रकृतिलाई देवता मान्छौँ । अघि यहाँ गायत्री संस्थाले गायत्री वाचन भनिरहेको थियो–सूर्य देवता, चन्द्र देवता, वरुण, मरुत देवता आदि अथवा पानी पनि देवता हो, जसले हाम्रो जीवन चलाएको छ । मरुत अर्थात् हावा जसले हामीलाई बचाएको छ । जीवनका लागि सबैैभन्दा महत्वपूर्ण हावा अर्थात् अक्सिजन छ ।

जुन बिना हामी दुई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौं । त्यस्तो अक्सिजन, त्यो हाम्रा लागि भगवान् हो, हाम्रा लागि जीवनदायीनी हो । त्यसकारण हामी गर्भमा हुँदा पनि अक्सिजनबाट बाँचेका हुन्छौंँ र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका हुन्छौँ । जीवनभर अक्सिजनबाट बाँचेका हुन्छौँ । त्यो सबैैभन्दा महत्वपूर्ण हुन्छ । त्यसकारण वायु जो देखिदैन, वायुमा धुलो उड्यो भने धुलो देखिन्छ तर वायु देखिंदैन । वायु अदृश्य छ । वायु पनि देवता हो भनेर अघि भर्खर मन्त्र उच्चारण भयो । अर्थात् हाम्रा पूर्वजहरु धेरै ज्ञानी थिए, विश्व शान्ति भने, वनस्पतय शान्ति भने, आकाश शान्ति भने, पृथ्वी शान्ति भने सबैैतिर शान्ति भने । आज आकाश शान्तिको कति अर्थ र महत्व रहेछ, पृथ्वी शान्तिको कति महत्व रहेछ, त्यो हामी बुझ्दै छौँ । धेरै सोचेर, चिन्तन गरेर निष्कर्षहरु निकालेर, अनुभूतिहरुलाई ज्ञानमा परिणत गरेर, ज्ञानहरु सङ्ग्रह गर्दै ज्ञानलाई व्यवहारमा हेर्दै, अनुभूतिलाई अनुभवमा बदलेर, अनुभवहरुलाई संहग्र गर्दै ज्ञानमा बदलेर, ज्ञानलाई प्रयोगहरुमार्फत् तिनलाई सिद्धान्त र सूूत्र बनाएर अगाडि बढ्ने कामहरु भइरहेको छ ।

यसै सन्दर्भमा आज हामी जुन अष्टाङ्ग योगका चर्चा गर्छौंं, म त्यसको अलिकति मात्रै चर्चा गर्न चाहन्छुु ।
पहिले योगको प्रारम्भ भयो शिवबाट । त्यसकारण शिवलाई आदियोगी भनिन्छ । त्यसपछि विश्वामित्रको समय आयो र विश्वामित्रले योग विकास गर्नुभयो । विश्वामित्रले योग मात्रै विकास गर्नु भएन, विश्वामित्रका सुपुत्र सुश्रुतले लगभग तीन हजार वर्ष अगाडि ‘सर्जरी’विद्याको विकास गर्नुभयो । त्योभन्दा अगाडि चरकले जसरी आयुर्वेदको विकास गर्नुभयो, यी सबैै योगबाट प्रारम्भ भएका छन् । विश्वामित्रका पिताजीले आफ्ना नाती चरकलाई सर्जन डाक्टर बनाउनुभयो । अहिले पनि सङ्ग्रहालयहरुमा चरकले चलाएका सर्जरीका उपकरणहरु अहिलेसम्म पाइन्छ । चरकसंहिता लिखित रुपमा पाइन्छ ।

जो, तीन हजार वर्ष लगभग अगाडि हो । जति बेला अक्षरहरु दुनियाँमा आए । अक्षरहरु आएपछि ३२ सय वर्षको आसपासका बेला अथवा महाभारत युद्धको लगत्तैपछि जसको समयमा हुनुपर्छ, अक्षरहरु आएपछि त्यसैबेला वेदव्यासले श्रुति र स्मृतिमा रहेको वेदलाई अपौरुषीय अथवा मानवद्वारा निर्मित वेद होइन भनिएको हो । किनभने कोही रचनाकार थाहा छैन, अज्ञात रचनाकार, यो परम्परा हुँदै आयो, कसले बनायो भन्ने थाहा छैन । त्यसो भएको हुनाले यसलाई अपौरुषीय समेत भनियो । अथवा मानव निर्मित होइन, देव निर्मित भनियो भन्ने भनाइ छ । वेदलाई वेदव्यास भनिन्छ, किनभने उनले लिपि सिकेर लिपिमा वेदलाई उतारेपछि यो मानवीय अथवा मानव भयो । वेदव्यासको आलोचना पनि भयो, विरोध पनि भयो । यो अलौकिक मानवताभन्दा बाहिरको, मानव सिर्जितभन्दा बाहिरको अपौरुषीय चिजलाई पौरुषीय अथवा मानवको सिर्जना, यो असिर्जनीय चिजलाई सिर्जनामा परिणत गराए र यो पाप कर्म गरे यिनले भन्ने खालका धर्मान्धहरुले भने ।

जनकको समयमा वेदको गार्गी, मैत्री आदि ऋषिमुनि, विदुषीहरुले तयार गर्दा ती लिपिमा तयार गरिएको थिएन, वाणीमा तयार गरिएको थियो, मनमनै रचना गरेर प्रस्तुत गरिएको थियो । त्यो श्रुतिबाट स्मृतिमा रहेको थियो । स्मृतिबाट फेरि प्रवचनमा गएर फेरि श्रुतिमा जान्थ्यो । यो सिलसिलाबाट आयो ।

विश्वामित्रको समय एउटा चमत्कारको समय थियो, योग विज्ञानको सन्दर्भमा र अरु विभिन्न विज्ञानको सन्दर्भमा । हामी सबैैलाई थाहा छ, विश्वामित्र सत्ययुग र त्रेतायुगको बीचको समयको अथवा संक्रमणकालीन समयको हुनुहुन्थ्यो । विश्वामित्रले राम–लक्ष्मणलाई शिक्षादीक्षा दिनुभएको थियो । राम–लक्ष्मण त्रेतायुगको हुनुहुन्थ्यो । दशरथ र पर्शुरामहरु सत्ययुगका हुनुहुन्थ्यो । रामले धनुष भंग गरेपछि पर्शुरामले आएर राम–लक्ष्मणसँगको विवाद गर्दा राममाथि भुलवस बञ्चरो प्रहार गर्न खोज्दा बञ्चरो उठेन, प्रहार हुन सकेन । फेरि कोसिस गर्दा झन् कमजोर भए ।

कतिपय कुराहरु मिथमा आधारित हुन सक्दछ । मिथ भए पनि हाम्रा शास्त्रका (तथ्य प्रमाणित भनौं) विज्ञान प्रमाणित होइन । उनले बचपनमा वा सानैमा आपूmलाई कुनै भविष्यवाणी भएको थियो, तिमी सत्ययुगको अन्तिम प्रतिनिधि पात्र हौ र सत्ययुग त्यतिबेला समाप्त हुनेछ, जतिबेला तिमीले तिम्रो अगाडि एउटा यस्तो व्यक्ति भेट्नेछौ, जसमाथि तिमीले भुलवस प्रहार गर्न खोज्ने छौ । तिम्रो अहङ्कार त्यहीँ समाप्त हुनेछ । तिम्रो तागत समाप्त हुनेछ । पहिलो कुरा, त्यो व्यक्तिलाई भेट्ने बित्तिकै तिम्रो आधा शक्ति उसमा गइहाल्छ । उसमाथि भुलबस प्रहार गर्न खोज्दा अर्को शक्ति आधा फेरि जान्छ । फेरि आक्रोशित भएर तिमीले प्रहार गर्न खोज्दा तिम्रो फेरि आधा शक्ति गएपछि तिमीसँग एकदमै थोरै शक्ति मात्रै बाँकी रहन्छ । र ऊ जो व्यक्ति ऊ आफैँ एउटा अवतार हो र उसँग असाधारण शक्ति हुन्छ ।

त्यसमाथि पहिलो देख्ने बित्तिकै तिम्रो आधा शक्ति उसमा सरेपछि असाधारण शक्तिवान् हुन्छ । अर्को पल्ट फेरि आधा बाँकी रहेको आधा सरेपछि र फेरि अर्को प्रहार गर्न खोज्दा आधा शक्ति सरेपछि तिम्रो शक्ति समाप्त हुन्छ, बुझ्नु । अब तिम्रो युग समाप्त भयो अर्थात् सत्ययुग समाप्त भयो र त्रेतायुग प्रारम्भ भयो । यसरी पर्शुराम र रामको भेट एउटा संयोगले हुन्छ, धनुष भंगको प्रसङ्गले हुन्छ, राम–सीता विवाहको प्रसङ्गमा हुन्छ र त्यसै प्रसङबाट पर्शुराम र रामको भेटबाट नै शिवको धनु अथवा यहाँनेरी शिवको प्रसङ्ग आउँछ । अघि मैले भनेँ, शिवले योगको प्रारम्भ गर्नुभएको थियो भनेर । शिवले राखेको धनु जनकपुरमा राजा जनकको दरबारमा छँदै थियो, जसलाई सीताले खेलाउने गर्थिन् ।

त्यही धनुको ताँदो चढाउन खोज्दा भाँचियो । यसरी सुरु भयो राम पर्शुराम मिलापको प्रसङ्ग । त्यही मिलापबाट पर्शुरामले थाहा पाए कि अब मेरो युग समाप्त भयो । अब रामको युग प्रारम्भ भयो । यही संक्रमणकालीन युगमा, जस्तोमा हाम्रो तानाशाहीबाट गणतन्त्र, लोकतन्त्रमा आयो, राजतन्त्रबाट गणतन्त्रमा आयो । यो संक्रमणकालीन युुग हो । कसैलाई मन पर्ला, कसैलाई नपर्ला । पर्शुरामलाई पनि मन परेको थिएन आफ्नो युग समाप्त भएको तर के गर्ने ! युग समाप्त, युग समाप्त हो । आफ्नो युग समाप्त भएपछि त्यो युग समाप्त भयो । अर्को मन पर्नु नपर्नुको केही पनि अर्थ छैन । यो यति बलवान हुन्छ समय कि, त्यो परिवर्तन भयो भयो ।

बिमारी भएपछि म आफैँ पनि ध्यान गर्छु । तर जेलमा हुँदा मलाई कति यातना दिइयो, त्यतापट्टि जान चाहन्नँ । जेलमा हुँदा मलाई उपचार उपलब्ध थिएन । पेनकिलर जम्माजम्मी दिइन्थ्यो । लगातार मलाई पेट्टिक अल्सर भएको थियो । डुडेनिम अल्सर भएको थियो । त्यो अल्सरले घाउ भएको थियो पेटमा र त्यसमा भतभत पोल्थ्यो र सहन नसक्ने अवस्था बन्थ्यो । कहिले कहिले धेरै ब्लड जान्थ्यो मुखबाट । अनि त्यसमाथि क्षयरोग थपियो । म एकदम सिठ्ठा थिएँ, एकपल्ट अलिक ठिक भएपछि नापिहेरेको तौल ३७ केजी रहेछु । त्यस अवस्थामा पेनकिलर मात्र दिइन्थ्यो । पेन किलर औषधि होइन । सोझै प्रत्यक्ष पेनकिलर हो, त्यसपछि किड्नी किलर हो, अरुथोक किलर हो, स्वास्थ्य किलर हो, अनेक चिज किलर हो । औषधि होइन पेन किलर । अब त्यही मात्र मलाई दिन्थ्यो । त्यतिबेरै मरिहालियो भने त के गर्ने पछि उपचार पनि गर्न पाइँदैन । अहिले बाँचियो भने जे जे फेल भए पनि पछि ठिकठाक गरौला भन्ने हुुन्थ्यो । नभन्दै किड्नी फेल भयो । बाहिर आएपछि किड्नी फेल भयो । बाहिर आएर जाँच्ने बित्तिकै मेरो किड्नी फेल हुनेतिर बाटो लाग्न थालिसकेको थियो । मैले रोक्न खोजेँ र जोगाउन खोजेँ तर त्यो जबरजस्त आक्रमणमा परिसकेको थियो पेनकिलर । त्यसको आक्रमणमा परिसकेको थियो । त्यसकारण त्यो फर्किन सक्ने अवस्थामा थिएन । त्यसले विनम्र अनुरोधका साथ भन्यो किड्नीले प्लिज म अब रहन टिक्न सक्दिनँ, मेरो समय गयो, मलाई जान दिनुस् । अरु केही उपाय छ, गर्नुस् । होइन भने म सँगै तपाईं पनि हिंड्नुस् । अनि मैले अरु उपायहरु खोजें, अप्रेसन गरेँ । अप्रेसन त्यस अवस्थामा गर्नै प¥यो । त्यहाँनिर ध्यानले हुँदैन ।

त्रेतायुग र द्वापरयुगको बिचमा फेरि कपिलमुनिले योगलाई अगाडि बढाउनुभयो । उहाँले सांख्य दर्शन प्रतिपादन गर्नुभयो । योगको निरन्तरता त्यसरी आयो । त्यसपछि इसापूर्व २ सयदेखि इसाको २ सयसम्म अथवा यो ४ वर्षको बिचमा पतञ्जलि भन्ने एकजना व्यक्ति निक्लिनुभयो । उहाँँको जन्मस्थान कहाँ भन्दा मान्छेहरुले व्याख्याहरु अनौठो अनौठो गर्छन् । म त्यसमा भ्रम पर्नु हुँदैन भन्छु । कसको जन्मस्थान कहाँ फेरि मान्छेहरुलाई रिस उठ््छ । शिव यहीँका थिए भन्ने कुरामा पनि कुनै दुविधा छ र ? बृहस्पति चतराका थिए भन्ने कुरामा कुनै दुविधा छ र ? चतराबाट कोशी नदी पार गरेर पश्चिमतिर आएर राम–लक्ष्मणलाई शिक्षादीक्षा दिएका थिए । त्यो शास्त्रमा भनेको छ, मैले भनको त होइन । वेदव्यास तनहुँमा जन्मेका थिए, शास्त्रले भन्छ । महाकालीको किनारमा तप गरेका थिए, शास्त्रले भन्छ । व्याकरणका महान् व्याकरणाचार्य पाणिनि अर्घाखाँचीका थिए, शास्त्रले भन्छ, मैले भनेको होइन । अर्घाखाँचीमा पणेना गाउँ त्यहाँ छँदैछ, अस्ति भर्खर हामीले पाणिनि सम्मेलन मनायौं । त्यहाँ एउटा के देखाए भने, पाकिस्तानमा जन्मिएका ऋषि पाणिनि अर्घाखाँची आए रे तर त्यस्तो कुरा होइन । अर्घाखाँचीमा जन्मिएका, अर्घाखाँचीमा हुर्किएका, अर्घाखाँचीमा शिक्षादीक्षा आर्जन गरेका त्यस्ता विद्वान हुन् पाणिनि ।

विश्वामित्रले शिक्षादीक्षा दिँदा अथवा सुश्रुतले सर्जरी विकास गर्दा अथवा चरकले आयुर्वेद विज्ञान विकास गर्दा, आरोग्य विज्ञान विकास गर्दा विश्वको पहिलो विश्वविद्यालय खुलेको थिएन । त्यसो भएर यो यहीँका व्यक्तिहरुबाट सुरु भएको हो । तर यो विश्व कल्याणका लागि, समग्र मानव जातिका लागि कल्याण भएको हो । यसको भूगोलको सीमासँग सम्बन्ध छैन, यो विश्वव्यापी छ । यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन, यो विश्वव्यापी छ । यसरी पतञ्जलि अर्को एउटा विद्वान अर्घाखाँचीमै जन्मनुभयो र अष्टाङ्ग योगको विकास गर्नुभयो । योगलाई पतञ्जलीले सूूत्रीकृत गर्नुभएको छ । यहाँ महत्वपूर्ण कुरा के छ भने, उहाँले योगलाई चार भागमा बाँढ्नुभएको छ । चार पाद भन्नुभएको छ । पाद भनेको पाउ हो । त्यो चार भागको पहिलो भागमा ५६ सूूत्रहरु छन् । दोस्रो भागमा ५१ सूूत्रहरु छन् । तेस्रो भागमा ३३ सूूत्रहरु छन् । चौथो भागमा ३४ सूूत्रहरु छन् । यसरी पतञ्जलि योगको चार पाद, चार भाग छ । यी अष्टाङ्ग योगका आठवटा (अष्टाङ्ग) सूूत्रहरु दोस्रो भागमा पर्दछन् । यसलाई धेरै महत्व दिएको छ, जीवनका लागि र समाजका लागि । अघि डाक्टरले भन्नुभयो, यो ऋषिमुनिका समयको वा ऋषि मुनिका तरिकाका कुराहरु दैनिक जीवनमा धेरै काम लाग्दैन । हामीले योगलाई दैनिक जीवन, हाम्रो जीवनचर्या बनाउनुपर्दछ ।

हामी कोही ऋषिमुनि बनाउन, तपस्वी बनाउन मान्छेहरुलाई खोजिराखेका छैनौं । मान्छेहरुलाई योग गुरु बनाउन खोजिराखेका छौं, हरेकलाई योगी बनाउन खोजिराखेका छौं । त्यसमध्येबाट केही योग गुरु हुनुहोला, केही योग गुरुमा विकास हुनुहोला तर हामीले कमाउनु पनि पर्छ आजको समयमा । फेरि कमाउनु सुख भोग आदि इत्यादि फेरि ऋषिमुनिका भाषणले काम गर्दैन । खानु त पर्छ नै । आरोग्यका कुरा गर्दा, स्वास्थ्यका कुरा गर्दा तीनटा कुरामा ध्यान दिनु पर्दछ । पहिलो कुरा ः खाना हो । जसलाई हामी आहार भन्छौं । दोस्रो योग, विहार, व्यायाम काम हामी जे नाम दिउँ । तेस्रो आराम गर्नुपर्दछ । खाना, काम र आराम तीनवटा चिजको सन्तुलन । सन्तुलित भोजन, राम्रो भोजन, स्वस्थ भोजन, विषादीरहित भोजनमा हामीले ध्यान दिनुपर्दछ, खासगरी योगीहरुले । किनभने सन्तुलित शुद्ध पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि खाने हो भन्ने कुरा हरेकले बुझ्नुुपर्दछ, स्वास्थ्यका लागि खाने । त्यसकारण विषादीयुक्त खाना होइन, विषादी नभएको स्वस्थ र शुद्ध खाना, अर्गानिक त्यस्तो खाना हामीले खानु पर्दछ । ठिक्क खानु पर्दछ । खाना हुने खालको सुखाद्य खानुपर्दछ । खाना नहुने खालको खाने कुराले स्वास्थ्यलाई बिर्गाछ । त्यसकारण तीनटा चिजको सन्तुलन हुनुपर्दछ । सबै योगीहरुले बुझ्नुपर्ने कुरा के छ भने, आहार, विहार र आराम यी चिजहरुको सन्तुलन राम्ररी मिलाउनु पर्दछ ।

अष्टाङ्ग भनेको धेरै महत्वपूर्ण छ, त्यसको निचोड निकालेर आठवटा सूूत्रहरुलाई, पहिलो सूूत्र त नेपाललाई अहिले सबैभन्दा चाहिएको सूत्र त पहिलो सूत्र छ, जहाँबाट १९४ वटा सूत्र सुरु हुन्छ । पहिलो सूत्र अर्धवाक्य छ । अर्धवाक्य भनेको, अथः योगानुशासनम् । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग बन्ने बित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या हो, अनुशासनहीनता । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञानले र ध्यानले केहीले पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ नि, ध्यान गर्दै छ कपाल चलाएको छ, चलेको छ, यता पनि हेर्दै छ, उता पनि हेर्दै छ, त्यो अनुशासनमै बसेन भने ध्यान कसरी हुन्छ ? ध्यानको आफ्नै पनि अनुशासन हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजका अनुशासन हुन्छ । यसरी अष्टाङ्ग योगलाई आठ भागमा र आठ वटा सूत्र छन् । त्यो सूत्रमध्ये यम एउटा, नियम अर्को र नियम समाजसँग, व्यक्तिसँग सम्बन्धित छ तर समाजसँग त्यो सोझै सम्बन्धित के हुन्छ भने यमले पाँच वटा सूत्र भन्छ, पहिलो सूत्र भन्छ अहिंसा । आज विश्वलाई शान्ति चाहिएको छ । हिंसा होइन, अहिंसा चाहिएको छ । हाम्रा पूर्खाहरुले उहिलेदेखि भन्ने गर्दथे, ॐ शान्ति शान्ति शान्ति कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरुले भने, अहङ्कारीहरुले भने, हतियार मात्रै केही खतरा होइन । हतियार आफैँ पड्किदैन, बन्दुक आफैँ पनि पड्किदैन । त्यसमा गोली हुन्छ, जो बहुत खतरनाक हुन्छ ।

मान्छेको अहङ्कार जो हो, त्यसले गर्दा हतियार बनाउँछ, हतियार चलाउँछ, विनाश गर्छ, विनाशमा रमाउँछ, विनाशमा थप अहङ्कार पैदा गर्छ र अहङ्कारी हुन्छ । त्यसकारण हिंसा होइन, अहिंसा । अष्टाङ्ग योगको पहिलो हामीले जान्नै पर्ने र हाम्रो व्यवहारमा लागु गर्नुपर्ने कुरा के हो भने अहिंसा । दोस्रो यम मध्ये दोस्रो सत्य । सत्य व्यवहार गर, असत्य नगर । यो दुनियाँ तपाईं हामी सबैै सत्यमा चल्यौ भने, असत्य अपनाएनौं भने सुन्दर हुँदैन र ? नचाहिने, आपूmलाई आवश्यकता नभएका कुराहरुमा लोभ नगर, अनुशासनमा बस, ब्रह्मचार्यधारण गर, यिनै कुराहरु भनिएको छ ।

नियममा भनिएको छ, आपूmलाई स्वस्थ राख शौच पहिलो सूत्र । आपूmलाई स्वस्थ राख, शारीरिक हिसाबले स्वच्छ राख, मानसिक हिसाबले स्वच्छ राख, स्वच्छ मन राख । अघि डाक्टरले भन्नुभयो खुशी, स्वच्छ मनले खुशी पलाउँछ । म आफ्नो अनुभव भन्छु, म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु, मौका पाएका बेला सुशासन विकासका लागि, देशका लागि काम गर्छु, नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यसकारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ ।

सधै प्रसन्न चित्त हुन्छु । मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरुप्रति ! तर म प्रसन्न रहन्छु, किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैैलाई बुझाउन सक्दिनँ । यदि योगको संगतमा आए भने, तपाईंहरुको संगतमा आए भने ती मान्छेहरु पनि मान्छे हुन्छन् ।

तपाईंहरु कसैलाई मुख छाड्र्दै हिंड्नु भएको छ, गाली गर्दै हिंड्नु भएको छ ? हिंड्नु हुन्न, किनभने तपाईंहरु योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, प्राणायाम गर्नुहुन्छ । योग भनेको के हो चित्तानुशासनम् । चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्तस्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो । पतञ्जली भन्छन, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन । स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन तर राम्रा कुराहरुमा गएर स्थिर हुन्छ । हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौं । डाक्टरहरु ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरु विभिन्न जिच पठाउनु हुन्छ ।

ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनु हुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबैै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ । त्यो हो स्थिर । यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईंको निष्कर्ष पुग्यो । हो त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ, किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो । त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ । हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो ।

म अरु धेरै लामो कुराहरु म भन्दिनँ, त्यो अष्टाङ्गको पनि मैले भन्न भ्याइनँ, यम, नियम, आसन, प्राणायाम आदि गर्दै सबैै आठवटा ध्यान, धारणा र अन्तिममा समाधि धारणा, ध्यान समाधि गरेर हामी आठ योग बन्छौं । र यिनका विभिन्न खण्ड छन्, विभिन्न विभिन्नसँग जोडिएका छन् । कोही एक्लै छ, कोही एउटासँग, फेरि अर्कोसँग, अर्को ब्लकमा गएर पनि जोडिन्छ । फेरि अर्को ब्लकमा गएर जोडिन्छ, कोही मनसँग, कोही ध्यानसँग जोडिन्छ । धारणा ध्यान समाधि तीनवटै फेरि ध्यानसँग जोडिन्छ । ध्यान लाग्यो कि लागेन भन्ने कुरा हुन्छ उहाँहरुको । ध्यान लाग्यो कि लागेन अचम्मको कुरा छ, ध्यान लाग्यो लागेन भन्ने कुरा । ध्यान लाग्छ, कति बेला कसैलाई लाग्दैन । ध्यान लागेन, निकै बेर लाग्यो ध्यान लाग्न, बल्ल ध्यान लाग्यो । लाग्नेले मात्र बुझ्छ कति बेला ध्यान मलाई लाग्यो ! नलाग्नेले त्यो ध्यान बुझ्दैन, लाग्यो कि लागेन ।
अब त्यसका विभिन्न पक्षहरु छन् । यी पक्ष कोही कोही रमाइला रमाइला पनि हुन्छ । यी चिजहरु उहाँहरुले किन गर्न खोज्नुभयो भने यो ब्रह्माण्ड, यहाँ ध्वनि, यहाँ ध्वनिको शक्ति अथवा कसरी ग्रह नक्षत्रहरु ब्रमाण्डमा गनेर साध्य छैन, भनेर साध्य छैन, त्यति सौर्यमण्डलहरु छन् त्यति ग्यालेक्सीहरु छन् र यो अनन्त कस्मिक छ, कस्मिक भत्किदो छ, बिग्रिदो छ, बन्दो छ, यो दुनियाँ अनौठो छ । सबैै क्वान्टमहरुको खेल छ । अरु परमाणुहरुभन्दा पनि मसिना मसिना तत्वहरुको खेल छ । यही कुरालाई हेरेर हाम्रा पूर्वजहरुले, ऋषि मुनिहरुले योग सिर्जना गर्नुभयो ।

योगका यदि यम, नियम मानिँदैन भने जति आसन गर्नुस्, जति प्राणायाम गर्नुस् आफ्ना निम्ति त होला तर समाजका निम्ति हुँदैन । तपाईंको समाजमा व्यक्तित्व बन्दैन, किनभने भने ध्यानले मात्रै पुग्दैन । तपाईं कर्मशील, कर्मवीर, कर्मठ र कर्मयोग बिना हामीले ध्यानै मात्रै ग¥यौं भने, प्राणायाम गरेको छ, गरेको छ, छिट्टै पुगिहाल्छ माथि ! यो लोक बन्दैन फेरि परलोक बन्छ । योगको सम्बन्ध परलोकसँग होइन, यस लोकसँग छ सम्बन्धित छ, मानव जातिसँग छ ।

योगको सम्बन्ध इजरायल र इरानका बिचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्ध छ र दुनियाँमा फेरि शान्ति स्थापना होस्, युद्ध नभड्कियोस र नफैलियोस् भन्ने कामनासँग, यसको प्रयाससँग छ, यसको आवाजसँग छ सम्बन्ध । मान्छेको मारामारलाई युद्ध भनिन्छ । साँढे जुधाईलाई युद्ध भनिंदैन । मान्छे मारामार जस्तो नराम्रो कुरा के हो ? अरु केही हुन सक्छ, मान्छे मारामार ! एउटाले अर्कालाई मा¥योे ओहो ! यो भन्दा नराम्रो कुरा के हुन्छ होला ? त्यही त भइराखेको छ । त्यसमा दाउपेच भइराखेको छ, कसले धेरै मार्ने ! एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, अर्को देशको प्रधानमन्त्रीले त्यो फलानालाई मार्छु र मारेर छोड्छु ! ग्लोबल अर्डर, ग्लोबल अर्डर भनेको के हो ? यस्ता यस्ता कुराहरु आज सुन्न थालिएको छ ।

मैले यो पोलिटिसियनको हिसाबले भनेको होइन, एउटा योगको हिसाबले भनेको हो । यही कुरासँग योग, व्यक्तिभित्रको अशान्ति शान्त होस्, व्यक्तिभित्रको चिन्ता शान्ति होस् । व्यायाम हुनै पर्दछ, ध्यानमा मात्रै पनि भर नपर्नु होला । काम गर्नै पर्छ, तपाईंहरुको रक्तसञ्चार हुनै पर्दछ । हात पाहुहरु चल्नै पर्दछन्, तपाईंको गर्धन चल्नै पर्दछ, तपाईंको हातले केही उठाउनै पर्दछ, तपाईंका मसल चुस्तदुरुस्त हुनै पर्दछ, नत्र भने मसल कमजोर हुनेछ । मसल कम्जोर भयो भने, यो हात बाँधेर राख्नुभयो भने, मेरो हात चलाउँदिन भनेर बाँधेर राख्नुभयो भने दुईतीन महिना त्यस्तै गर्नु भयो भने यो हात फुक्दैन फेरि डाक्टर चाहिन्छ ।

यो हात फुकाउन डाक्टर चाहिन्छ, किनभने फ्रिज भइसक्छ । अनि डाक्टरले फिजियोथेरापिस्ट कहाँ जानुस् भनेर अनि फिजियोथेरापीले गर्छ । आफैँले फिजियोथेरापी कहाँ जानु पर्ने स्थिति बनाउनु हुन्छ, आरामको जिन्दगी बाँच्न खोज्नु भयो भने । आरामको जिन्दगी होइन, सुखको जिन्दगी बाँच्नुस् । आरामको जिन्दगी होइन, स्वस्थ जिन्दगी बाँच्नुस् । आरामको जिन्दगी होइन, स्वस्थ, सुखी, मज्जाको जिन्दगी बाँच्नुस् । प

सिना ननिस्किएको जिन्दगी होइन, पसिना काँढेको जिन्दगी बाँच्नुस् । हातपाउ खियाएको, हिंडेको जिन्दगी बाँच्नुस्, चलेको जिन्दगी बाँच्नुस् । त्यसकारण योगले ती कुराहरु सिकाउँछ । यदि हामी हाम्रो आचरणमा यम र नियममा ध्यान दिँदैनौ भने हुँदैन । सरकारले अहिले मात्र होइन, म प्रधानमन्त्री हुने बित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ । निरोगी नेपालको नीतिभित्र के पर्छ भने, मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने पहिलो कुरा आरोग्यता । निरोगी नेपाल, बिमारी हुनै नदिने, कसरी खाना, काम र आरामको सन्तुलन । सबैै चिज स्वस्थ ।

यससँगै मनको स्वस्थता । मनको पवित्रता । यससँगै हामी सामाजिक प्राणी हौं, समाजले निर्धारण गरेका चिजहरु योगले सिकाउनु पर्दछ । योग गुरुहरुलाई म आग्रह गर्न चाहन्छु, सिकाउनु पर्दछ ब्रह्मचार्य भनिएको छ यम नियममा । तर ब्रह्मचार्य भनेको तपाईंका शारीरिक आवश्यकता पूरा नगर्नुस् भनेको होइन । थितिमा बस्नुस् भनेको हो । नियममा बस्नुस् भनेको हो । अनि सबैै जोगी हुने, सबैै जोगिनी हुने, कसैले बच्चा नपाउने हो भने र योग नसिक्ने हो भने, हाम्रो पालामा योग होला, त्यसपछि त बाँझै ! त्यसकारण ब्रह्मचार्य भनेको समाजले थिति दिएको छ, विधि दिएको छ, सबैै जैविक र मानवीय आवश्यकता, सामाजिक स्वीकार्यताको माध्यमबाट नै पूरा हुन सक्छ । त्यसकारण सामाजिक स्वीकार्यतालाई ध्यान देउँ, सामाजिक मर्यादा राख, सामाजिक नियमहरु पालन गर र त्यसभित्र राज्यका नियमहरु भनेका समाज विकासका क्रममा हुँदै जाने हुन् । सामाजिक नियमले समाज चल्छ ।

सबैभन्दा बलिया हुन्छन् हाम्रा रितिथिति, चाड परम्परा । नाता सम्बन्धभित्र, रगतको नाताभित्र यौन सम्बन्ध आदि गर्नु हुँदैन, विवाह गर्नु हुँदैन भन्ने यो पछि कानुन बन्यो । कानुनभन्दा अगाडिदेखि प्रचलन थियो त हाम्रो । त्यो थिति समाजमा थियो त अथवा कानुन कहिले बन्छन्, कहिले बन्दैनन्, कहिले बनेका हुँदैनन् तर कानुनभन्दा बढी समाजले थिति बनाएको हुन्छ । त्यो सामाजिक प्रबन्धलाई मानेर अगाडि बढ् भनेर योगले भन्छ । त्यसकारण हामीले सामाजिक सुप्रबन्धका कुरा, समाजसँगको वैयक्तिक सम्बन्धका कुरा, जसबाट व्यक्ति सुखमय हुन्छ, व्यक्तिको जीवन सुखमय हुन्छ, परिवारको जीवन, सिंगै परिवार सुखमय हुन्छ, सिंगै छरछिमेक, टोल सुखमय हुन्छ, त्यसले एउटा कम्युनिटी, एउटा समुदाय, एउटा ठाउँ सुखमय हुन्छ, एउटा देश सुखमय हुन सक्छ । देश –देशहरु सुखमय भएर विश्व सुखमय हुन सक्दछ । त्यसकारण योग आवश्यक छ । योग एउटा पक्ष मात्रै होइन, योग जीवनको बहुआयामिक दृष्टिकोण हो । वैज्ञानिक दृष्टिकोण हो, जो हाम्रा पूर्खाहरुले हजारौ वर्ष अगाडि मानव कल्याणको लागि, मानव जातिको लागि र बिना विभेद, धर्मको विभेद, जातिको विभेद, भाषाको विभेद कुनै विभेद बिना, पेशाको विभेद बिना, रङको विभेद बिना, लैंगिक विभेद बिना, जातीय वा अरु कुनै प्रकारका रंगभेद बिना, पेशा व्यवसायका भेद बिना सबैैको कल्याणका लागि योग हाम्रा पूर्खाहरुले धेरै अगाडि निर्माण गर्नु भएको हो ।

यसका विभिन्न शाखा छन् । म तपाईंहरुलाई के आग्रह गर्न चाहन्छु भने, यम मानिएन भने योग सुुुरु नै नगरे हुन्छ । यम मान्नु हुन्न, नियम मान्नु हुन्न, जिम जानुहुन्छ भने तपाईंले कसैको के भत्काउनु हुन्छ । जिम जानुहुन्छ, पाखुरा ठूलो हुन्छ । के गरुँ के गरौ भएर आउँछ, मति बुद्धि ठिकमा ल्याएको छैन, अनि के हुन्छ ? त्यसकारण मति बुद्धिसहितको मसल हुनुपर्छ । यो योगले काम गर्छ । बाटो देखाउने टर्चलाइट जस्तो, बाटो देखाउने उज्यालो, तमसोमा ज्योतिर्गमय योगले त्यो काम गर्दछ । त्यसकारण योग दैनिक जीवनमा गरौं । आज योग दिवस हो । त्यसकारण आज एकछिन् हामीले यहाँ अभ्यास गर्ने होइन, घरघरमा अभ्यास गरौं ।

अर्को कुरा ख्याल राखौ, कसले कुन चिज गर्नु हुन्छ, कसले कुन चिज गर्नु हुँदैन भन्ने कुरा पनि छ । कसले कुन चिज खान हुन्छ, कसैले कुन चिज खान हुँदैन, तपाईंलाई सुगर छ कि ब्लड प्रेसर छ कि फेरि सुनेका भरमा लौकाको रस भन्नुहोला । ब्लड प्रेसर डाउन भएका बेला लौकिको रस बिहानै स्वाट्ट खाँदा नराम्रो गर्ने हो कि ! डाक्टरसँग परामर्श गरेर खानु होला । यो धर्तीमा उत्तर सिरान गरेर नसुत्नु होला । किनभने हाम्रो उत्तरी ध्रुव नजिकै छ, जहाँ म्याग्नेटिक छ ।

उत्तरतिर सिरानी गरेर नसुत्नुस् । कहिले पनि सुत्दा सिरभन्दा माथि हात लगेर नसुत्नुस् । किनभने मुटुले हातसम्मै झड्का (ब्लड प्रेसर) फाल्छ । त्योभन्दा तल मस्तिष्क पर्छ, मस्तिष्कका साना नसाहरुमा झट्का पर्छ र आघात पर्न सक्दछ । त्यसकारण यदि उत्तर सिरानी गरेर, हात पनि टाउकाभन्दा माथि लगेर आरामले सुत्नुभयो भने बिउझिन मुस्किल छ । कहिले कहिले अहिले एकातिर म्याग्नेटले तान्छ । नर्थ पोलले, हाम्रो नजिकै नर्थ पोल छ, ध्रुवीय म्याग्नेटले तान्छ, अर्कातिर हातमाथि पु¥याउनु भएको छ, मुटुले हातको टुप्पासम्म ब्लड फ्याक्नु प¥यो, मस्तिस्कको मसिना नसाहरु बिचमा पर्छ । माािथसम्म पुग्नेगरी फ्याक्दा बढ्ता धक्का लाग्न सक्छ ।

मुटुलाई स्वस्थ राख्नका लागि मुभिलिटी आवश्यक छ । अंग्रेजी शब्द मुभिलिटी, मुभमेन्ट नेपाली शब्द मुटु, मुटु र मुभिलिटी मुभमेन्टको अत्यन्त अन्योयाश्रित सम्बन्ध छ । मुभमेन्ट बन्यो मुटु छ, मुभमेन्ट सिद्धियो मुटु सिद्धियो ! त्यसकारण जेल बस्ने मान्छेहरुलाई हटअट्याक त्यति हुँदैन । खान पाए पो, बोसो लागेकै हुँदैन, कहाँबाट अट्याक हुनु ! तर कमजोर हुँदै गएर हट फेल हुन्छ । मुभिलिटी भएन भने अट्याक होइन फेल हुन्छ, अट्याक पनि हुन सक्छ, किनभने त्यो बोसो काट्न पनि मुभिलिटी चाहिन्छ ।

हिंड्न पर्छ, उफ्रिनु पर्छ, दौड्नु पर्छ र योग चाहिन्छ । हिंड्नु पनि एउटा योग हो नत्र भने व्यायाम चाहिन्छ । यसैकारण हामीले निरोगी नेपाल भनेका हौं ।
डाक्टर चाहिन्छ । हामी डाक्टर उत्पादन गरेका गर्यै छौं । अझ धेरै डाक्टरहरु हामी उत्पादन गर्छौं । अहिले पुगेको छैन तर डाक्टर उत्पादनभन्दा बढी, डाक्टरको संख्या बढाउनेभन्दा बढी, अस्पतालको संख्या बढाउनेभन्दा बढी रोगीको संख्या घटाउने, रोगी हुनै नदिने, निरोगी बनाउनेतिर हाम्रो पहिलो ध्यान छ ।

त्यसकारण सरकारको स्वास्थ्य नीतिमा जोड के छ भने पहिलो कुरा मान्छेलाई रोगी हुन नदिने । रोगी भइहाल्यो, अब प्राकृतिक हिसाबले प्रेग्नेन्सीको अवस्था हुन सक्छ, गाइनोलोेजिस्टलाई देखाउनु पर्छ, उपचार गर्नुपर्छ, डेलिभरीको समस्या यस्ता प्राकृतिक कुराहरुमा चाहिन्छ र कहिले कहिले स्वाभाविक रुपमा हेरिडिटिकल भन्ने रोगका कुराहरु हुन्छन, कहिले के हुन्छ, कहिले कसैमा भएका कुराहरु सरुवा रोग सरेर आइदिन्छ ।

यस्ता अनेक कुराले चाहिएको हुन्छ । ट्रमाका स्थितिहरु हुन्छन् । अचानक केही पर्दिन्छ । त्यस्ताका लागि डाक्टर चाहियो, अस्पताल चाहियो, चिकित्सा चाहियो । सबैै उपकरण चाहिए, औषधि चाहियो, सबैै चाहिन्छ । हामीले तयार राख्नुपर्छ । फेरि हामीले ध्यान गरेपछि केही पनि हुँदैन । यहाँ स्वयम्भुमा पोहोर परार भुइँचालो जाँदा अरु सबैै भागेर बाहिर निस्किए । एक थरी परमपितापट्टि अत्यन्त त आस्था भएका प्रभुले बचाई हाल्नु पर्छ भन्ने, गुरुले भनेछन् बसबस केही हुँदैन, प्रभुले बचाई हाल्नु हुन्छ, प्रभु हुनुहुन्छ रक्षा गर्नुहुन्छ । हुर्र भागेर बाहिर निस्केको भए हुन्थ्यो ।

यस्तैमा थिए, माथि छानो थियो, भाग्न सक्थे, खुर्रर्र बाहिर निस्किने ठाउँ थियो । तर प्रभु हुनुहुन्छ, बस बस केही हुँदैन भनेपछि त्यही बसे, छत खसेर दुई अढाई सय स्वयभुमा बिते । भगवान् ले भुइँचालो जाँदा पनि कच्ची घरबाट बाहिर ननिस्कौं भनेका छन् ? त्यसकारण भगवान् लाई दोष दिने होइन । बेलुका मान्छे टिल्ल जाँड खान्छ । बाटो हेर्दैन, नालीमा पछारिन्छ, खुट्टा भाँच्छ, अनि बेस्सरी भगवान् लाई गाली गर्छ । के गर्ने लेखेको कुरो आखिर टर्दो रहेनछ भन्छ । अनि त्यहाँ भट्टीमा गएर बेस्सरी खान भनेको थियो, लेखेको थियो ? कसले लेखेको थियो ? भगवान् ले त्यस्ता कुरा लेख्छ केही काम छैन अरु ? फुर्सद छ भगवान् लाई ? अनि भगवान् लाई तपाईंको हातसँग र खुट्टासँग रिस उठेको छ र भाँचिदिन्छ ? अरु काम सिद्धियो भगवान् को, हात खुट्टा भाँच्नेतिर लाग्यो भगवान् ?

टोले गुण्डा हो भगवान् भनेको हात खुट्टा भाँच्ने ? भगवान् लाई दोष लगाउनु हुँदैन, आपूm सतर्क हुनुपर्छ र आपूmले गर्नुपर्छ । अनि लापरवाही जिन्दगी बितायो, अनि भगवान् लाई दोष लगायो अनि डाक्टर कहाँ खर्च लिएर गयो । त्यो भन्दा आपूm सर्तक हुने । योगमा ध्यान दिने । योग भनेको मस्तिष्कको, मनको, तनको, सबैै चिज शुद्ध, पवित्र र सामाजिक रह्यो भने हामी निरोगी र स्वस्थ हुन्छौं र समाजलाई स्वस्थ ढंगले अगाडि बढाउन सक्छौं । सबैैलाई यही मेरो आग्रह छ । सरकारको तर्फबाट यस सन्दर्भमा दिने ध्यान हामी दिइरहेका छौं र निरोगी नेपाल, रोग लाग्नै नदिने, लागिहालेमा उपचार गर्ने, आकस्मिक दुर्घटना केही भए उपचार गर्ने, प्राकृतिक खालका कुनै चिज परे उपचार गर्ने तर साधारणतया भन्ने हो भने सधैं स्वस्थ रहन प्रेरित गर्ने, सधैं स्वस्थ रहने बाटो हिंड्ने, स्वस्थताको, स्वस्थ मन र प्रसन्नता । खासमा भन्ने भने इम्मुन सिस्टमको सबैभन्दा प्रमुख जग प्रसन्नता हो । इम्युनिटी कसरी बढ्छ भन्दा प्रसन्नताले बढ्छ । त्यसकारण प्रसन्न हौं ।

योगी बन । योगी बन्न दाह्री पाल्नु पर्दैन, दाह्री पाल्नु प¥यो भने महिलाले के गर्नु हेर्नुस् त ! योगी हुनलाई दाह्री पाल्नु पर्छ भन्दिनु भयो भने त महिला त बाहिर भयो नि । योगी हुन दाह्री पाल्न पर्दैन । दाह्री नपालेरै योगी बन्न सकिन्छ । कपाल पाल्नु भन्यो भने, म जस्तोले टोपी फुकाल्यो भने तपाईंहरु छक्क पर्नु हुन्छ । कपाल पाल्नु पर्छ योगीले भने म जस्तोले के गर्ने ? बिजोग हुँदैन । त्यसकारण योगले स्वस्थसँग, स्वास्थ्यसँग, मनसँग, मस्तिष्कसँग शरीरसँग र समाजसँग सम्बन्ध राख्छ, अरु कुरासँग होइन । आवरणसँग होइन, पहिरनसँग होइन, चन्दन टिकासँग होइन ।

अहिले बाबाजीहरु दुई तीन घण्टा मेकअप गरेर प्रवचन गर्न निस्किनु हुन्छ । बाबाजीलाई मेकअप किन चाहियो ? त्यो मलाई अचम्म लाग्छ । सधैं ऐना हेरेर एकैनासको टिको ट्याक्क मिलाएर चट्ट कहाँदेखि कहाँसम्म लगाउने भन्ने गर्नु हुन्छ । यसै ट्याक्क लगाएको टिको हो, होइन नि । बाबाजी अब फेसियल ? गुरुजी फेसियल ! गुरुजी पार्लर ! गुरुजीका टिथ्यान्ल ! यो योग होइन ।

योग घरै बसेर गर्न सकिन्छ । पहिले आपूmलाई पवित्र सोच्न थाल्नुस्, तपाईं योगी हुन थाल्नु भयो । पवित्र सोच्नुस्, सत्य सोच्नुस्, अहिंसा सोच्नुस्, अर्काको सम्पत्तिमा लोभ नगर्ने, आफ्नो बाहेक र चाहिने बाहेक अपरिग्रह, चाहिने बाहेकका कुराहरुप्रतिको लोभलाई पन्छाइदेउ, प्रत्याहार आठवटा मध्यको एउटै हो । त्यस्ता चिजहरुको कुनै पनि दुष्प्रभावलाई टाडैबाट हटाइदेउ आदि । घरै बसेर योगी हुनुस् । मेरो विनम्र आग्रह छ । तपाईं घर बसेर योगी हुन सक्नु भएन भने अथवा त्यो बाटो हिँड्नु भएन भने संसारलाई योगी बनाउनै सकिंदैन ।
घरै बसेर योगी हुन सकिन्छ । सिक्नका लागि स्टुडियोमा गएर रेकर्डिङ त गर्नुपर्छ । रेकर्डिङ गर्न स्टुडियोमा जानुस् । सिक्ने बेलामा भोकल सिक्न जानुस् । अरु सिक्न जानुस्, म्युजिक सिक्न जानुस् । घरै बस्न सकिन्छ नि, घरै बसेर आफ्नो व्यवहार चलाउँदै गर्न सकिन्छ, त्यस्तै हो । योग अभ्यास गर्न जानुस्, सिक्न जानुस् कस्तोमा गर्नुहुन्छ, कुन योग, कुन अभ्यास कस्तोमा गर्नुहुन्छ कुन आसन, कुन बिमारी, कुन रोग लागेकोले गर्नु हुन्छ हुँदैन डाक्टरहरुसँग परामर्श गर्नुस् । सुगर भएकोले के गर्न हुन्छ, हुँदैन कस्तो आसन गर्नु हुन्छ, हुँदैन । प्राणायाम जसले पनि गर्नु हुन्छ । तर आसनमा अलिकति होस गर्नुपर्छ । कहिलेकहिले शीर्षासन गर्दाखेरि ब्लड प्रेसर हाई भएको मान्छेले लामो समय शीर्षासन ग¥यो भने के हुन्छ, डाक्टरलाई सोध्नुस् ।

म फेरि पनि योग मानवजातिको कल्याणका लागि, मानव जातिले गर्ने मानवका लागि गर्ने, आफ्ना लागि, परिवारका लागि, समाजका लागि, विश्वका लागि, शान्ति र सभ्यताका लागि गर्ने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामीले गर्ने, स्वस्थ सुखी नेपालीहरुको नेपाल बनाउन हामीले गर्ने हो । त्यसर्थ योगलाई त्यसैगरी बुझेर अगाडि बढौँ भन्ने आग्रहका साथ सबैैमा शुभकामना ।
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका आवसरमा ललितपुरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको)

योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तीन लाख मानिसहरुको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाएर वल्र्ड रेकर्ड राख्दैछन् ।शनिबार भारतको आन्ध्र प्रदेशमा आयोजित विशाल योग जमघट कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी सहभागि भई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित गर्न लागेका हुन् । उक्त जमघटमा तीन लाख मानिसहरुले एकै साथ योग दिवस मनाउने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन । ११ औं अन्तर्राष्ट्रिय योग दिवस समारोहका क्रममा विशाखापट्नममा भएको कार्यक्रममा भाग लिदै, उनले योगलाई ‘उमेरभन्दा बाहिर’ उपहारको रूपमा प्रशंसा गरे जसले सबै सीमाहरू पार गर्दछ र मानवतालाई ‘स्वास्थ्य र सद्भाव’ मा एकताबद्ध गर्दछ ।प्रधानमन्त्री नरेन्द्र मोदीले योगमार्फत प्राप्त हुने ‘आन्तरिक शान्ति’ लाई ‘विश्वव्यापी नीति’को रूपमा अँगाल्न र योगलाई सामूहिक विश्वव्यापी जिम्मेवारी बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

मोदीले योगलाई केवल व्यक्तिगत वा सांस्कृतिक अभ्यासको रूपमा नभई मानवताको लागि एकताबद्ध शक्तिको रूपमा अपनाउन आह्वान गरे । ‘म यो महत्वपूर्ण अवसरमा विश्वव्यापी समुदायलाई यो अन्तर्राष्ट्रिय योग दिवसलाई मानवताको लागि योगको सुरुवातको रूपमा चिन्हित गर्न आग्रह गर्न चाहन्छु । यो त्यो दिन होस् जब आन्तरिक शान्ति विश्वव्यापी नीति बन्छ, जहाँ योगलाई व्यक्तिगत अभ्यासको रूपमा मात्र नभई विश्वव्यापी साझेदारी र एकताको लागि एक शक्तिशाली उपकरणको रूपमा अँगालिन्छ । ‘प्रत्येक देश र प्रत्येक समाजले योगलाई साझा जिम्मेवारी, सामूहिक कल्याणको लागि साझा योगदान बनाऔं’, मोदीले भने ।भारतका विभिन्न स्थानमा भएका योग समारोहहरुमा भारतका उच्च पद्स्थ नेता, समाजसेवी, कर्मचारी र भारतीय सेनाका प्रतिनिधिहरु सहभागी भएका छन् ।

जुन २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्वव्यापी योग दिवसको रूपमा पहिलो पटक मान्यता दिएको थियो । त्यसयता हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रमहरु गरेर यो दिवस मनाउने गरिन्छ ।साथै पछिल्लो समय योग विश्वव्यापी अभ्यासमा परिणत भएको छ । मानव स्वास्थ्यलाई प्रकृति सँग जोड्न योगको भूमिका अब्बल रहेको छ ।

पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’

दोलखा । पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ ।बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो ।

कार्यक्रमको समापन गर्दै गौंरिशङ्कर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे ।

उनले भने,‘पाँच गतेदेखि सुरु भएको यस संवादले साझा संकल्पसहित समापन गरेका छौं । यो एउटा सुरुवात मात्र हो । तर यो संकल्प एउटा इतिहास बन्नुपर्छ । साथै यसको पूर्ण कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’कार्यक्रममा दोलखाकी सगरमाथा आरोही तथा २०७५ सालकी मिस शेर्पा दाफुटी शेर्पालाई सम्मानसमेत गरियो । समाज सेवा र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै उनले जलवायु परिवर्तनले हिमाल चढ्न पहिलेको तुलनामा जोखिमपूर्ण बन्दै गइरहेको बताइन् ।
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’ उनले भनिन् । कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तन जस्ता जोखिमहरुको न्यूनिकरण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन् : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा भएको प्रतियोगिता निकै महत्वपूर्ण भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेशनल किक बक्सिङ्ग एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगितामा उनले राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको भन्दै उनको नाममा भएको प्रतियोगिताको निकै महत्व रहेको बताए।

उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा प्रतियोगिता भएको हो। उहाँ राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्नुपर्छ भनेर लाग्नु भएको व्यक्तित्व हो। त्यो बेला महिलाहरुलाई भोट हाल्ने अधिकार पुरुषसरह हुनुपर्छ भनेर र समाजलाई अगाडि बढाउनको लागि छोराहरुलाई मात्र होइन छोरीलाई पनि अगाडि बढाउनुपर्छ। महिलाहरुको लागि पनि विद्यालय खोल्नुपर्छ भनेर जुलुस निकालेर महिलाहरुको अधिकारको लागि मंगलादेवीले धेरै ठूलो योगदान गर्नुभएको थियो।’

यस्तै, उनले मंगलादेवीले महिलाहरुलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए।आज भएको तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगिताले खेल क्षेत्रमा अझ उत्साह थप्ने पनि उनको भनाई छ।

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असार : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदैछ ।

योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवं जीवनपद्धतिका रूपमा पनि लिइन्छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको, “योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ ।” योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक ऊर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवं स्थिरतातर्फ डोर्‍याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्‍याउने बताउनुभएको छ ।

“नेपालमा सांस्कृतिक क्षेत्रको भौतिक तथा अभौतिक सम्पदाहरूमा योग विज्ञानको प्रयोग भएको पाइन्छ । योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गको रूपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको म ठान्दछु”, शुभकामना सन्देश भनियको छ ।

विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिने उहाँको भनाइ छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवनशैलीका रुपमा उपयोग गर्न जरुरी रहेको पनि उहाँले भन्नुभएको छ ।

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

पाटन (ललितपुर), ७ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

स्यस्य समाज यल र ललितपुर महानगरपालिका–१६ को आयोजनामा आज मङ्गलबजारमा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं मस्तिष्क मृत्युपश्चात् मानव अङ्ग प्रत्यारोपण बारेमा सचेतना तथा सम्मान कार्यक्रममा मन्त्री पाण्डेले नेपाली डाक्टरहरूको अथक मेहनत, परिश्रम र लगनशीलताले विकसित देशहरूको तुलनामा मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यो गौरवको कुरा भएको बताउनुभयो ।

“मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कीर्तिमानी कायम गरेको छ, यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा जेजति उपलब्धि हासिल गरिरहेका छौँ, यसका लागि यो क्षेत्रमा क्रियाशील डाक्टरहरूको ठूलो मेहनत, परिश्रम, साधना, समर्पण जोडिएको छ, यस महत्त्वपूर्ण योगदानप्रति नेपाल सरकारबाट हार्दिक सम्मान प्रकट गर्न चाहान्छ,” उहाँले भन्नुभयो ।

समारोहमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठसहित विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई कुनै पनि हालतमा मन्दीमा फस्न नदिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

अर्थशास्त्रीहरूले रुसी अर्थतन्त्रमा मन्दी आउने महिनौंदेखि चेतावनी दिएका छन् र सन् २०२५ को पहिलो त्रैमासिकमा दुई वर्षयताकै सबैभन्दा कमजोर त्रैमासिक सुस्तता देखिएको रुसले जनाएको छ ।

क्रेमलिनले युक्रेनविरूद्धको अभियानका लागि सैन्य खर्च बढाएकाले दुई वर्षको तीव्र आर्थिक वृद्धिपछि यस्तो अपेक्षा गरिएको बताएको छ तर रूसी अर्थमन्त्रीलगायत अधिकारीहरूले आगामी दिनमा हुनसक्ने सम्भावित पीडाबारे चिन्ता व्यक्त गरेका छन् ।

सेन्ट पिटर्सबर्गमा रुसको प्रमुख आर्थिक मञ्चमा पुटिनले भन्नुभयो, “केही अर्थशास्त्री तथा वित्तीय व्यवस्था विश्लेषक विशेषज्ञहरूले स्थिरता र मन्दीको जोखिमलाई सङ्केत गरिरहेका छन्।

“यो कुनै पनि हालतमा हुन दिनु हुँदैन,” राष्ट्रपति पुटिनले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले सक्षम, सुविचारित बजेट, कर र मौद्रिक नीति अवलम्बन गर्नुपर्छ ।”

सन् २०२३ र सन् २०२४ मा सैन्य खर्चमा राज्यको भारी खर्चका लागि एक मजबूत विस्तारपछि पश्चिमाहरूको व्यापक प्रतिबन्धको बावजुद पनि रुसी अर्थव्यवस्थामा वृद्धि भएको थियो ।

विश्लेषकहरूले लामो समयदेखि चेतावनी दिँदै रक्षा क्षेत्रमा भारी सार्वजनिक लगानी अब रूसको अर्थव्यवस्थाका लागि पर्याप्त छैन र यसले उत्पादकत्वमा वास्तविक वृद्धिलाई प्रतिबिम्बित गर्दैन।

शुक्रबार मञ्चलाई सम्बोधन गर्दै पुटिनले रुसको आर्थिक सम्भावनाप्रति उत्साहित रहेको र अर्थतन्त्रलाई रक्षा र ऊर्जा उद्योगले मात्र चलाइरहेको भन्ने कुरालाई अस्वीकार गर्नुभयो ।

“निःसन्देह पनि, रक्षा उद्योगले यस सन्दर्भमा आफ्नो भूमिका खेलेको छ तर वित्तीय र प्रविधि उद्योगहरूले पनि यसमा सहयोग गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई सन्तुलित वृद्धिको खाँचो रहेको बताउँदै अधिकारीहरूलाई ‘हाम्रा उद्योग, कम्पनी र व्यक्तिगत उद्यमहरूको अवस्था सबै सूचकहरूमा नजिकबाट नजर राख्न’ उहाँले आह्वान गर्नुभयो ।

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी), ७ असार : बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक–पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

“जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समयसम्म वैकल्पिक सडक नै प्रयोग गर्नुपर्ने हुन्छ ।”

यस सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

“दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिँदैन, त्यसलाई मर्मत गर्नुपर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनुपर्छ, अन्यथा अहिलेको अवस्थामा ठूला सवारीसाधन यो बाटो चलाउन सकिँदैन”, उहाँले भन्नुभयो, “रातिको समयमा ठूला साना कुनै पनि सवारीसाधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छाँै । यो दाउन्ने सडक मर्मत हुनुपर्यो, पुल सञ्चालन भएपछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । यही निर्णय हामीले माथिल्लो निकायमा पठाएका छौँ ।”

यस सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पार्नुभयो ।

“मालवाहक सवारीसाधन अहिलेकै अवस्थामा कटाउन सक्ने अवस्था छैन, उहाँहरूलाई फर्किएर वैकल्पिक बाटो प्रयोग गर्नुस् भन्ने हो, सकियो भने यो पुल खोलेपछि मात्र चलाउन सक्ने अवस्था छ, अहिलेकै अवस्थामा यहाँबाट पास गराउने अवस्था छैन”, उहाँले भन्नुभयो, “छिटो मर्मत गर्न सकियो भने हप्ता दिन पछि सम्भव होला, तर पनि खोलामा पानी घट्ने अवस्था छैन । ट्रकका चालकलाई के अनुरोध गर्दछौँ भने अहिले फर्कनुस् बाटो पूणरूपमा मर्मत भए पछि मात्र प्रयोग गर्नुस् ।”

देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ६५, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, मूला रातो प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३०, कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ६०, रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३०, मेथी साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा रु ८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु २५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

ढोरपाटन (बागलुङ), ७ असार : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो । योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो ।

विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् ।

घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उहाँको भनाइ छ ।

अध्यक्ष पुनले भन्नुभयो, “यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।”

करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउनुहुन्छ । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउनुहुन्छ ।

वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताउनुभयो । अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउनुहुन्छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताउनुभयो । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उहाँको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले सुनाउनुभयो ।

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ, ७ असारः सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो ।

सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गर्नुभएको सूचनाका बारेमा सम्बन्धित स्थानीय तहसमेतलाई जानकारी गराइएको प्रशासनले जनाएको छ । गत वर्षको असाज–१२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीयवासी विस्थापित भएका थिए ।

वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा),७ असारः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताउनुभयो । “यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उहाँले भन्नुभयो “विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ ।”

चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाले अनुरोध गरेको छ ।