`

११ महिनामा वीरगञ्ज नाका हुँदै ५९ हजार ४७४ इन्धन सवारी भित्रिए

वीरगञ्ज (पर्सा), ९ असारः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छभने रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा रु एक अर्ब ८० करोडका आठ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी, चालु आवको ११ महिनामा रु एक अर्ब १६ करोड मूल्य पर्ने पाँच हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब दुई करोड मूल्यका तीन सय ७४ वटा बस, रु ६७ करोड मूल्यका एक सय ३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा रु ६६ करोड मूल्यका दुई सय ७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।

त्यस्तै, सोही अवधिमा रु ३९ करोड मूल्यका चार हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन्भने सोही अवधिमा रु एक अर्ब ८४ करोड २३ लाखका सानाठूला दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट रु १७ अर्ब ७० करोड राजस्व सङ्कलन भएको छ ।

वृन्दावनको नगरसभा स्थगित गर्न उच्चको अन्तरिम आदेश

रौतहट : उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ ।यही असार १० गते हुने भनिएको ९औं बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेश आएसँगै वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउन असार १० गरेका लागि आह्वान गरेको नगर अधिवेशन स्थगित भएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आइतबार यस्तो आदेश दिएको हो । वृन्दावन नगर उपप्रमुख संगीतादेवी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले वृन्दावन नगरपालिकाको कार्यालय रौतहटलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अन्तरिम आदेश दिएको हो ।

नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै यो मुद्दाको पेसी अदालतले यही आउँदो असार १३ गरेका लागि तोकेको हो । नगरसभाको विषयमा छलफल गर्न अदालतले असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई अदालतमा बोलाइएको हो । असार १३ गते छलफल भइ कुनै निष्कर्ष ननिस्केसम्मका लागि नगरपालिकाद्वारा असार १० गते बोलाइएको नगरसभा नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश दिएको अदालतको पत्रमा उल्लेख छ ।

अदालतले असार १३ गतेसम्मका लागि नगर अधिवेशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अब वृन्दावन नगरपालिकाले असार १३ गतेसम्म नगर अधिवेशन गर्न नपाउने भएको छ ।

नगर प्रमुख कुर्मीले आफूसँग कुनै राय सल्लाह नै नगरी एकलौटी ढंगले नगरसभा गर्न लागेपछि आफूले अदालत गएर नगरसभा स्थगित गर्न मुद्दा हालेको उपमेयर संगिताले बताइन् ।

पाचुकामाथि रियल मड्रिडको सानदार जित, सातौं मिनेटमै डिफेन्डर रातो कार्ड खाँदै बाहिरिए

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ । खेलको सातौं मिनेटमै डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो ।

रियल मड्रिडका लागि जुडे बेलिङ्घमले ३५औँ मिनेटमा पहिलो गोल गरे भने आर्दा गुलेरले ४३औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७०औँ मिनेटमा फेडेरिको भाल्भर्डेले तेस्रो गोल गर्दै अग्रता ३–० बनाए। पाचुकाका एलियास मोन्टिएलले ८०औँ मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ ।

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी, ९ असार : रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताउनुभयो । अबको १५ दिनमा परीक्षण सकिने उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो ।

विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन, ९ असारः चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्वारा पट्रोलिङ बढाइएको छ ।

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३० स्पाई क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । यी क्यामेरा गोप्य रूपमा राखिएको छ । यसबाट निकुञ्जभित्र हुने चोरीसिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ ।
संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उहाँले बताउनुभयो । टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उहाँको भनाइ छ । यो टोली तीन महिना बस्नेछ ।

मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरीसिकारी बढ्ने जोखिम बढी हुन्छ । चोरीसिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ९ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ३५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ८०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु ८५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु २३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

कल्भर्टले विस्थापित ग-यो झोलुङ्गे पुल

गलकोट (बागलुङ), ९ असार : यहाँको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो ।

गलकोट–२ नरेठाँटीस्थित मूलाखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ । विसं २०७२ को बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस ठाउँमा मोटरबाटो निर्माणसँगै कल्भर्ट बनाइएको हो । नरेठाँटीमा योसँगै चार स्थानमा झोलुङ्गे पुलको सट्टा कल्भर्ट बनाइएको हो ।

नरेठाँटी बजारबाट माथिल्लो बस्ती साविक नरेठाँटी गाविस–१, २ र ३ तर्फ जाने नागरिकलाई लक्षित गरेर रु २० लाखमा कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणले नरेठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरीखोलालगायत स्थानका नागरिकलाई सहज भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकरी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ६.५ मिटरको लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको हो । रु २० लाख लागतमा उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समितिमार्फत निर्माण गरेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार लोकमार्गको वैकल्पिक सडकमा कल्भर्ट बनाएर झोलुङ्गे पुल विस्थापित गरिएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएमा नरेठाँटी–फापरखेती छाप ग्रामीण सडक विकल्प हुने र कल्भर्टले बाह्रैमास सवारीसाधन चल्ने छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर चन्द्र पुनका अनुसार छोटो पुलले ठूलो राहत दिएको छ ।

साविक नरेठाँटी गाविस धेरै खोल्साखाल्सी र खोला भएको क्षेत्र हो । बर्खायाममा खोलामा बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका थिए । अब मोटरबाटोको स्तरोन्नतिसँगै कल्भर्ट निर्माण गरिएपछि झोलुङ्गे पुल विस्थापित भइरहेका इञ्जिनियर पुनको भनाइ छ । नरेठाँटीमा चारवटा कल्भर्ट प्रकृतिका पक्की पुल निर्माण भएकाले झोलुङ्गे पुल उपयोगविहीन भएको उहाँ बताउनुहुन्छ । प्रयोगविहीन झोलुङ्गे पुललाई अर्कै स्थानमा स्थानान्तरण गर्ने नगरपालिकाको योजना छ ।

उपत्यकाका नदीहरुमा जलसतह बढ्दो क्रममा, सावधानी अपनाउन आग्रह

काठमाडौँ, ९ असार : काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।

देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाका साथै एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मेची भन्सारले एघार महिनामा संकलन गर्‍यो १४ अर्ब ४३ करोड राजस्व

भद्रपुर (झापा), ९ असार : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ । यसैगरी तरकारी आयातबाट रु ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु २१ करोड ५४ लाख ७० हजार, दलहनबाट रु २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी सोही अवधिमा रु ४० अर्ब ७७ करोड छ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा रु १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्ताे छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ, ९ असार : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ ।सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाइएको छ ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ, ९ असारः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

इलाम, ८ असारः इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेशस्तरीय बास्केटबलको उपाधि सुनसरीलाई

धरान (सुनसरी), ८ असारः कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीले इलामलाई ८०–७३ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा क्रमशः ११, १६, ३१ र २२ अङ्क जोड्दै कुल ८० अङ्क बनाएको थियो भने इलाम क्रमशः २५, १५, ११ र २२ अङ्क जोड्दै कुल ७३ अङ्कमा सीमित रह्यो । प्रतियोगिताको विजेता सुनसरीलाई रु दुई लाख ट्रफी र प्रमाणपत्र प्रदान गरियो । उपविजेता इलामले नगद रु एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुनसरीका सुसन श्रेष्ठ घोषित भए । उनलाई नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो । यस्तै, ‘म्यान अफ दी म्याच’ सुनसरीकै कैलाश लिम्बू घोषित भए । प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटाको सहभागिता रहेको थियो ।

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ८ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ ।

त्यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम÷स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम÷स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिनुुभयो । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट गर्नुभयो ।

छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरुलगायत सहभागी हुनुुहुुन्थ्यो ।

पोखरा महानगरपालिकाले ल्यायो आठ अर्ब ३५ करोडको बजेट

गण्डकी, ८ असारः पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ । हानगरपालिकाको १७औँ नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा सङ्घीय सर्शत अनुदान रु तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट रु ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान रु ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान रु आठ करोड १५ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आगामी वर्ष आन्तरिक आय रु पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट रु एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट रु चार करोड २८ लाख हुने उपप्रमुख गुुरुङले जानकारी दिनुभयो ।

बजेटका प्राथमिकतामा हरित, उत्थानशील र दियो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन उल्लेख छ । वातावरण संरक्षण, सम्बर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह बजेटका प्राथमिकतामा छन् ।

त्यस्तै स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन, गुणस्तरीय, जवाफदेही र प्रतिष्पर्धी मानवस्रोत विकास बजेटको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । आजै महानगर प्रमुख धनराज आचार्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

महागनरको नीति तथा कार्यक्रममा पोखराको विकास र युवा उद्यमशीलता प्रवर्द्धन र सहजीकरणका लागि पोखरा आइडिया बैँक स्थापना गर्ने उल्लेख गरिएको छ । महानगरले तेस्रो त्रैमासिकभन्दा पछि योजनाहरूको सम्झौता नगर्ने नीति लिने उल्लेख गरेको छ ।

योजना छनोटलाई प्रभावकारी बनाउन आयोजना बैँक सञ्चालन गर्ने, अनौपचारिक क्षेत्रमा क्रियाशील मजदूरको हितका लागि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमअघि सारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मेची भन्सार कार्यालयबाट चिया निर्यात ४० प्रतिशतले बढ्यो

भद्रपुर (झापा), ८ असारः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।
चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । गत आव २०८०÷८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१÷८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ ।  गत आव २०८०÷८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६  हजारको मालवस्तु निर्यात भएको छ ।

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एम.सी.ए.) का समर्थकहरूबीच भएको भागदौडमा परेर तीन जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन् ।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि सुरुमा एक जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो । तर आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रो पटक राष्ट्रिय उपाधि जितेको खुशीयालीमा समर्थकहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए । तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो ।

खेल ५ जुलाइ रंगशाला मा भएको थियो, जहाँ एम.सी.ए. र एन.सी. माग्रा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । यो दुःखद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ ।

इरानमाथिको अमेरिकी आक्रमण : के प्रभावकारी रह्यो ? इरानको सम्भावित प्रतिक्रिया कस्तो होला?

संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा गरेको हवाई आक्रमणले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । यस आक्रमणपछि दुई मुख्य प्रश्नहरू उठिरहेका छन् – पहिलो, आक्रमणले कति प्रभाव पारेको हो ? र दोस्रो, इरान अब कुन बाटो अँगाल्न सक्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सार्वजनिक रूपमा यसलाई ‘पूर्ण रूपमा सफल’ भन्दै, इरानका मुख्य आणविक पूर्वाधारहरू ‘सम्पूर्ण रूपमा नष्ट’ गरिएको दाबी गर्नुभएको छ । उहाँले यसलाई ‘उल्लेखनीय सैन्य उपलब्धि’ का रूपमा प्रस्तुत गर्नुभएको हो ।तर विज्ञहरू भने यस दाबीप्रति सावधानीपूर्ण दृष्टिकोण अपनाइरहेका छन् र पूर्ण मूल्याङ्कन नहुञ्जेल निष्कर्षमा पुग्न नहुने सुझाव दिइरहेका छन् ।

प्रमुख केन्द्रहरूमा लक्षित कारबाही

अमेरिकी रक्षा अधिकारीहरूका अनुसार आक्रमण विशेष गरी तीन मुख्य आणविक केन्द्रहरूमा केन्द्रित थियो, जसमा भूमिगत प्रशोधन केन्द्र फोर्दो पनि पर्दछ । यो केन्द्र झण्डै ९० मिटर गहिराइमा अवस्थित छ र विगतमा संवर्धित युरेनियम प्रशोधनको प्रमुख स्थलको रूपमा चिनिँदै आएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यस आक्रमणबाट इरानको आणविक कार्यक्रममा ‘गम्भीर क्षति पुगेको’ बताउनुभएको छ । तर उपग्रह चित्र तथा अन्य स्वतन्त्र स्रोतहरूले यसको यथार्थ मूल्याङ्कन गर्न केही समय लाग्ने देखिएको छ ।

फ्रान्सस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाकी विज्ञ हेलेओइज फायेका अनुसार, फोर्दो वरिपरि देखिएको गतिविधिले संवर्धित युरेनियम अन्यत्र सारिएको संकेत गर्न सक्छ । यसले अब अन्तर्राष्ट्रिय निरीक्षण संस्थाहरूका लागि चुनौती उत्पन्न गर्नेछ ।

प्रविधि नष्ट हुँदैन, पूर्वाधार मात्र क्षतिग्रस्त हुन्छ

धेरै विज्ञहरूले औंल्याएअनुसार, भौतिक संरचनाहरू नष्ट भए पनि इरानले दशकमै संचित गरेको प्राविधिक ज्ञान कायम रहनेछ । हजारौं वैज्ञानिक र प्राविधिक कर्मचारीहरूका अनुभव र सीप सहजै समाप्त हुँदैनन् ।

लन्डनस्थित किङ्स कलेजका प्राध्यापक आन्द्रेयस क्रिगले यो कारबाहीलाई ‘उच्च जोखिमयुक्त र अनिश्चित परिणाम दिने’ बताएका छन् । उहाँका अनुसार, “फोर्दो जस्तो गहिरो भूमिगत केन्द्रमाथिको आक्रमणले तत्काल ठोस परिणाम दिन्छ भन्ने ठोकुवा गर्न सकिँदैन ।”

तेहरानको प्रतिक्रिया : सावधानीपूर्वक तर सशक्त हुने सम्भावना

इरानको तर्फबाट तत्काल ठोस जवाफ नआए पनि परराष्ट्र मन्त्री अब्बास आरागचीले यस आक्रमणलाई ‘एक गम्भीर सीमारेखा पार गरेको’ भन्दै टिप्पणी गर्नुभएको छ ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले आफ्नो प्रतिक्रिया सावधानीपूर्वक तर स्पष्ट सन्देश दिने गरी प्रस्तुत गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो आवाज पु¥याउने प्रयास गर्नेछ, तर ठूलो सैन्य टकरावबाट बच्ने प्रयत्न पनि गर्न सक्छ ।

विश्लेषक माइकल होरोविट्जका अनुसार सम्भावित विकल्पहरूमा अमेरिकी सैन्य सम्पत्तिहरूमाथि सीमित कारबाही, होरमुजको जलडमरूका बन्द गर्ने, वा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्ने कदम हुन सक्छन्। तर यी विकल्पहरू सबै गम्भीर जोखिम बोकेका छन् ।

दीर्घकालीन समाधानतर्फ संकेत ?

च्याथम हाउसका अनुसन्धानकर्ता रेनाड मन्सूरले इरान अहिले ‘आफ्नो अस्तित्वको रक्षा गर्ने अवस्थामा’ रहेको बताउनुहुन्छ । उहाँका अनुसार अल्पकालीन रूपमा तनाव बढ्न सक्ने भए पनि दीर्घकालमा वार्ताको बाटो खुल्ने सम्भावना रहन्छ ।

अन्य विश्लेषकहरूले इरानले सायद अमेरिकी सम्पत्तिमाथि प्रत्यक्ष आक्रमण नगरी इजरायली स्वार्थलाई लक्ष्य गर्न सक्ने बताएका छन्, जसले अमेरिका सिधै युद्धमा तानिने जोखिमलाई कम गर्नेछ ।

राष्ट्रपति ट्रम्पले सैन्य दृष्टिले यसलाई सफलता मानेका छन् । तर केही विश्लेषकहरू भन्छन् – यदि इरानले दीर्घकालीन रणनीति अपनायो भने, उसले कूटनीतिक र राजनीतिकरूपमा अमेरिकी प्रशासनलाई अप्ठेरोमा पार्न सक्छ ।
यस घटनाले न केवल इरान–अमेरिका सम्बन्धमा तनाव बढाएको छ, तर सम्पूर्ण क्षेत्रीय सुरक्षा सन्तुलनमा पनि नयाँ चुनौतीहरू थपेको छ ।

कांग्रेसभित्र देखिएको निराशा हटाउनुपर्छः नेता कोइराला

दमौली (तनहुँ), ८ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन् । पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशङ्का छ ।”

पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सकेमात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले विसं २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभयो । त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उहाँको भनाइ थियो ।

भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ । जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन ।” दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान विरोधी तत्वलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीलाई आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई सम्मान गरिएको थियो ।

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार: अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

ढकाल अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन समेत हुनुहुन्छ ।“सरकार र अनररी कन्सुलर कर्पस् नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।उहाँले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले प्र्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गर्नुभयो ।

भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘नागरिकहरुको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्था :महामन्त्री थापा

पाटन (ललितपुर), ८ असारः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरुको जीवनस्तर उकास्ने उदारवादी र पुँजीवादी व्यवस्था भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा यहाँ आयोजित बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाका पक्षपोषण गरिरहेको बताउनुभयो ।

“हामीले खोजेको समुन्नत नेपाल हो, हामी पुँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौं, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरुलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन”, उहाँले भन्नुभयो ।

नेपालले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली भएको उल्लेख गर्दै उहाँले संसदीय प्रणालीमा आफ्नो ठूलो विश्वास रहेको बताउनुभयो । उहाँले लेबर पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै पुराना पार्टीहरु सङ्कटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि सङ्कटमा छ भन्ने देखिएको बताउनुभयो ।

सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा आफूहरुले पनि त्यहीँ विषय उठाएको बताउनुभयो । “बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ । हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो,” उहाँले भन्नुभयो ।

बेलायतको लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउनुभयो । नेपाली मूलका कैनी प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य व्यवस्थापन विज्ञ र राजनीतिकर्मी हुनुहुन्छ । उहाँले कुनै समय नेविसङ्घ तनहुँको सचिव समेत हुनुभएको थियो ।

त्यस अवसरमा बेलायतको लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको अभ्यास, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे डा कैनीले अनुभव सुनाउनु भएको थियो ।

मुख्यमन्त्री सिंहले गरे चितवनको माडीमा अवस्थित वाल्मीकि आश्रमको अवलोकन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचिन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन् आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा पूजा–अर्चना गर्दै धार्मिक ऊर्जा अनुभव गरेको बताए ।उनले आश्रमसम्म पुग्न अझै पनि पर्याप्त बाटो नपुगेकोमा चिन्ता व्यक्त गरे । संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग र सरोकारवाला निकायको ध्यान तत्काल आकृष्ट गराउँदै उनले पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताए ।

‘चितवनको माडीमा रहेको यो स्थल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ,’ उनले भने,‘यदि जनकपुरधाम र वाल्मीकि आश्रमलाई धार्मिक मार्गद्वारा जोड्न सकियो भने धार्मिक पर्यटनको सम्भावना अझ प्रगाढ बन्नेछ ।’

धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समुन्नत विकास, रोजगारी सिर्जना र पर्यटन विस्तारका लागि जनकपुरधामदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक मार्ग निर्माणमा मधेश प्रदेश सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरे ।

वाल्मीकि आश्रमसँग सम्बन्धित धार्मिक आख्यान, सीता माता र रामायणसँगको सम्बन्ध, र आसपासका प्राकृतिक सौन्दर्यले यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको स्थानीयको विश्वास छ ।

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने:अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै उनले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘सरकार र अनररी कन्सुलर कर्पस् नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ ।’

ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।उनले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख पनि गरे ।

त्यस्तै, उनले भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले प्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताए ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ ।’

निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे ।

भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली, ८ असारः प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोल्नुभएको थियो । उहाँले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाउनुभयो ।

बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जिसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभयो । माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । विरोधमा नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितको दलहरुले समर्थन गरेका छन् ।

बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गर्नुभएको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन ।अवरोध जारी रहेपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिनुभयो ।

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो

काठमाडौँ, ८ असारः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ ।

सभाको आजको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम सकिएको हो ।

त्यसअघि, आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्न सुझाव प्रस्तुत गर्नुभयो । उहाँले सांसदहरुले जनताका आवश्यकता र योजनाका लागि मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्दै उक्त शाखामा बुझाउन सक्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका सांसद सीता गुरुङले बजेट महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री नबनेको टिप्पणी गर्नुभयो । उहाँले आगामी बजेटले सातै प्रदेशमा घरेलु हिंसा वा हिंसा पीडितहरुका लागि सेवा केन्द्र ‘सेफ हाउस’ बनाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्नेछ । सो बैठकमा यस विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

चीनले ‘चाइनास्याट–९सी’ उपग्रह प्रक्षेपण गर्‍यो

चीनले नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो प्रक्षेपण शुक्रबार साँझ चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट गरिएको हो।

चाइनास्याट–९सी चीनद्वारा निर्माण गरिएको एक उन्नत सञ्चार उपग्रह हो, जसलाई २०२५ जुन २० मा चीनको सिचुवान प्रान्तस्थित शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लामो मार्च–३बी रकेट प्रयोग गरी अन्तरिक्षमा पठाइएको हो। यो उपग्रह मुख्य रूपमा टेलिभिजन प्रसारण, इन्टरनेट सेवा, आपतकालीन सञ्चार र सरकारी तथा सैन्य सञ्चार प्रणाली सुदृढ गर्न प्रयोग गरिनेछ।

सफलतापूर्वक निर्धारित कक्षमा पुगेको यस उपग्रहले चीनको डिजिटल सञ्चार पूर्वाधारलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

उपग्रहलाई लामो मार्च–तीन बी नामक बोक्ने रकेट प्रयोग गरी साँझ ८ बजेर ३७ मिनेटमा प्रक्षेपण गरिएको थियो। उक्त उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको छ।

यो प्रक्षेपण लामो मार्च शृङ्खलाको ५८२ औँ उडान हो, जसले चीनको अन्तरिक्ष अनुसन्धान र प्रविधिमा निरन्तर प्रगति भइरहेको पुष्टि गर्दछ।

कोशी प्रदेशसभामा छलफल

मोरङ, ८ असारः कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि भएको छलफलमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु राजन किराती, गणेशप्रसाद उप्रेती, सपना दर्जी, लिलाबल्लभ अधिकारी र तारादेवी ढकालले अधुरा, क्रमागत र लथालिङ्ग योजनाका लागि बजेट विनियोजन नभएको, टुक्रे योजनामा प्रदेश सरकार अलमलिएको, बजेटमा तराई, हिमाल र पहाडको विकास सन्तुलन कायम नभएकोलगायतका गुनासो व्यक्त गर्नुभयो ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेशका विभिन्न स्थानमा प्रहरी भवन जीर्ण रहेका, उदयपुरका नदी तथा खोल्सामा तटबन्ध निर्माण गर्नुपर्ने, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा हात्ती आतङ्कबाट जनताको जीउधन सुरक्षा गर्नुपर्नेलगायत मुद्दा उठाउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, गीतादेवी रेग्मी र ममता तामाङ मगरले आफ्नो धारणा राख्नुभएको थियो ।प्रदेशसभाको अर्को बैठक सोमबार बस्ने सभामुख अम्बरबहादुर बिष्टले सदनलाई जानकारी दिनुभयो ।

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छः मुख्य सचेतक बर्तौला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिए ।

‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुर्दैनौं । आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ,’ उनले भने, ‘गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ । त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।’

मुख्य सचेतक बर्तौलाले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति व्यक्त गरे ।

आजको बैठकमा त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सहमतिअनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुने राय व्यक्त गरेका थिए ।

राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न आँट नआउने बताए ।

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ ।

उनले भने, ‘समाजमा राजनीति गर्छु भनेर भन्न पनि बढो विचार गरेर, सोचेर तौलिएर, बोल्नुपर्ने अवस्था छ । यो कुरा मैंले नढाँटी भनेको हुँ । किनभने के गर्छस् भनेर कसैले सोध्यो भने राजनीति गर्छु भनेर भन्नको लागि भित्रैदेखि दम आउदैँन् ।

किनकी राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको छ । त्यो अरु कसैका कारणबाट नभएर राजनीतिमा नै रहेकाहरुलका कारण हो । हामी सबैको व्यवहार, कार्यशैलीका कारण यो अवस्था आएको छ । यसलाई सफा गर्ने काम पनि हाम्रो नै हो ।’
यस्तै, उनले राजनीतिज्ञहरुको बारेमा समाजमा भएको नकारात्मक दृष्टिकोण, धारणा र भाष्य चिर्नको लागि यस्तो अभियानले एउटा महत्वपूर्ण योगदान गर्ने बताए ।

सोही कार्यक्रममा लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका टीकाराम यात्रीले ‘सदगमय कार्यक्रम’ लाई एउटा सुन्दर सुरुवातको रुपमा लिएको भन्दै सफलताको शुभकामना दिए ।

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौँ, ८ असारः सांसदहरुले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेट विनियोजनमा असन्तुष्टि जनाउनुभएको हो ।

उहाँहरुले आफूहरुसँग निर्वाचन क्षेत्रका जनताले विकास निर्माणबारे अपेक्षा राखेको उल्लेख गर्दै सरकारले बजेट विनियोजनमा सन्तुलन कायम गर्न नसकेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद वासुदेव घिमिरेले विधायकको अधिकार नीति निर्माण गर्ने भए पनि जनताले आफूहरुसँग विकास निर्माणको अपेक्षा गर्ने गरेको बताउनुभयो । उहाँले आगामी दिनमा जनतामा विधायकको भूमिका नीति निर्माणमा मात्र सीमित हो भन्ने कुरा बुझाउनुपर्ने उल्लेख गर्नुभयो ।

“सांसद विधायक मात्र हो विकास निर्माणमा सांसदहरु जोडिनु पर्दैन भन्ने आमजनताले बुझ्ने गरी व्यवस्था गरौँ”, उहाँले भन्नुभयो, “नत्र सांसदलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराउने विधि तय गरौँ ।” सांसद घिमिरेले सरकारले ल्याएको बजेट हुबहु पारित हुने परम्पराप्रति टिप्पणी गर्दै यसलाई दोहोरिन नदिन आग्रहसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद मैना कार्कीले पनि जनताले आफूसँग विकासको आवश्यकता र मागको आशा राखेको तर बजेटमा जाजरकोट जिल्ला प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो ।

“आज सरकार र मन्त्रीज्यूहरुले सांसदहरु कानुन मात्र बनाउने हो भनेर बुझाइदिएको भए हुन्थ्यो”, सांसद कार्कीले भन्नुभयो, “दुई हात जोडेर भन्छु, मिल्छ भने जाजरकोट र कर्णाली प्रदेशलाई कतैबाट बजेट विनियोजन न्याय दिनुहोस् ।”

सांसद कार्कीले बजेट विनियोजनमा विभेद भएको गुनासो गर्दै जाजरकोटका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्नुभयो । “एक पालिकामा योजना पर्यो अर्को पालिकाको रिसाउँछ । एक वडामा पर्यो अर्को वडाको रिसाउँछ”, सांसद कार्कीले भन्नुभयो, “योेजनाहरु लिएर मन्त्रालयको ढोकाढोका धाउँछौँ । तर, रातो किताबमा शून्य लागत देख्दा बोल्न बाध्य भयौँ ।”

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले बजेट निश्चित क्षेत्रमा मात्रै विनियोजन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । “अहिले पूर्वमन्त्रीहरु रोष्ट्रममा उभिएर आफ्नो क्षेत्रमा बजेट नपरेको गुनासो गर्दै हुनुहुन्छ । उहाँहरुले पनि आफ्नो समयमा यस्तै गर्नुभएको थियो,” सांसद तिमल्सेनाले भन्नुभयो, “आखिर सन्तुलित विकास भएको भए यी गुनासोहरु गर्न पर्दैन थियो, सदन राम्रो हुन्थ्यो ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद प्रभु हजाराले समग्र मधेसको विकासमा जनता आवास कार्यक्रममा अनुगमनका लागि ध्यानाकर्षण गराउनुभयो । उहाँले वीरगञ्जको नारायणी रङ्गशाला, नारायणी अस्पतालको स्तरोन्नति र बन्द छोटी भन्सार कार्यालयहरु सञ्चालनका लागि ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले बजेट विनियोजनको ‘टे«न्ड’ पुरानै शैली भएको उल्लेख गर्दै यसले सङ्घीय प्रणालीको अभ्यासका लागि सहयोग नगर्ने बताउनुभयो । “बजेट कर्मकाण्डी ढङ्गले अघि बढाउने काम भयो । यो सच्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले बजेट समन्यायिक हुनपर्नेमा जोड दिनुभयो । उहाँले बजेट सीमित नेताहरुको क्षेत्रमा मात्र परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “बजेट तत्काल संशोधन हुनुपर्छ, समन्यायिक हुनुपर्छ,” उहाँले भन्नुभयो ।

एमाले सांसद मनबहादुर गुरुङले वित्तीय सङ्घीयता कार्यान्वयनमा जोड दिनुभयो । माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नियमित रुपमा बजेटमा छलफलमा भाग नलिएको भन्दै उहाँहरुको माग वार्तामार्फत सम्बोधन गर्न सुझाव दिनुभयो ।

कांग्रेस सांसद पूर्णबहादुर तामाङले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभयो । एमालेका सांसद दामोदर पौडेल बैरागीले पोखरा महानगरपालिकाभित्रका धेरै पुल र सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन नभएकातर्फ ध्यानाकर्षण गराउनुभयो । पौडेलले फेवातालको सीमाङ्कन र मापदण्ड विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । “फेवातालको सीमाङ्कन र मापदण्डका कारण स्थानीयहरु आहत भइरहेका छन् । अझै टुङ्गो लागेको छैन,” उहाँले भन्नुभयो, “त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

‘बजेटमा अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य जरुरी’

काठमाडौँ, ८ असारः सांसदहरुले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्नुहुँदै सांसद रामहरि खतिवडाले बजेटमा छलफल गरिसकेपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगरी पारित गर्न नहुने बताउनुभयो ।

छलफल भएपछि बजेटमा भएका त्रुटि सच्याउनुपर्ने उहाँको माग छ । ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पु¥याउने विषयलाई अहिलेकै व्यवस्थाअनुसार ६८ वर्ष नै कायम गर्न सांसद खतिवडाले जोड दिनुभयो ।

सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र यसअन्तर्गतका पुल अलपत्र बनेको बताउनुभयो । शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण विकास मन्त्रालय राख्न उहाँले माग गर्नुभयो ।

सांसद बिजुला रायमाझीले विकास निर्माणमा समानुपातिक सांसदलाई विभेद गरिएको बताउँदै यसमा धेरै महिला परेको सुनाउनुभयो । महिला, बालबालिकाका क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने उहाँको माग थियो ।

सांसदद्वय सूर्यप्रसाद ढकाल र मुक्ताकुमारी यादवले बजेटमा भएका त्रुटि सच्याउनुपर्ने, राजनेताको सम्मान गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

सुदूरपश्चिम, ८ असारः सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खप्तड, बडिमालिका, मालिकार्जुन शिखर, सिगसधाम, रमारोशनलगायत क्षेत्रमा केबुलकार निर्माणका लागि आगामी वर्षमा सम्भाव्यता अध्ययन गर्न लागिए

को हो । यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नेपाल सरकारको सहयोगमा बाजुराको बडिमालिका क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि रु सात करोड २५ लाख विनियोजन गरिएको छ । ‘पर्यटन पूर्वाधार, विकासको आधार’ भन्ने मूल नाराका साथ प्रदेशभरिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सिमसार तालतलैयाको संरक्षण प्रवद्र्धनका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यसैगरी, कैलालीको चुरे पहाडको टाकुरा राजकाँडादेखि मैदानी फाँटको डुडेझारी क्षेत्रसम्ममा ‘प्याराग्लाइडिङ’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।

पर्यटकीय एवं ऐतिहासिक क्षेत्र राजकाँडादेखि डुडेझारी नजिकैको चिसापानी बजारसम्मको दूरीमा झन्डै रु चार अर्ब ४१ करोडको लागत अनुमानमा केबुलकार (जालपादेवी केबुलकार) निर्माणको काम गत पुसदेखि नै सुरु भइसकेको छ ।

केबुलकार सञ्चालनमा आएपछि चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लागि मुख्य पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा देखिने सम्भावना छ । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण सुदूरपश्चिम प्रदेशमा पर्यटन उद्योगका प्रशस्त सम्भावना रहे पनि आवश्यक पूर्वाधार निर्माण अझै हुन सकिरहेको छैन ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कैलालीकै बर्दगोरिया क्षेत्रमा पर्यटकीय पूर्वाधार र कञ्चनपुरको ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणका साथै पर्यटक भित्रिने प्रदेशका विभिन्न नाकामा पर्यटन सहायता केन्द्र स्थापनाका लागि पनि बजेट विनियोजन गरेको छ ।

खेलकुदको विकासतर्फ प्रत्येक जिल्लामा एक–एक क्रिकेट खेलमैदान निर्माण गर्ने सरकारको नीति छ । क्रिकेट खेलको सम्भावना र अवसरलाई मध्यनजर गरी ‘एक जिल्ला, एक क्रिकेट खेलमैदान कार्यक्रम’ अन्तर्गत क्रिकेट खेलमैदान निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

कैलालीमा निर्माणाधीन टीकापुर स्पोट्र्स एकेडेमीका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट भई पदक प्राप्त गर्ने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई विशेष सम्मानसहित प्रोत्साहन गर्ने नीति सरकारको छ ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी, ८ असार : गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो ।

“सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भन्नुभयो ।

पहिरो झर्ने क्रम नरोकिएका कारण उहाँले आज केलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताउनुभयो । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । “सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ”, उहाँले भन्नुभयो ।

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

बाल्टिमोर, अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई एकताबद्ध गर्दै नेपालमा समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रवार बाल्टिमोरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले एनआरएनएको विगतको विभाजनप्रति चिन्ता व्यक्त गरे। उनले अबको यात्रा ‘समावेशी एकता र संस्थागत सुधार’ तर्फ केन्द्रित हुने बताए।

एनआरएनए एनसीसी अमेरिकाद्वारा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल समृद्ध बनोस् भन्ने डायस्पोराको चाहना रहेको र नेपालले पनि त्यही अपेक्षा राखेको बताए। “त्यसका लागि हामी ठूलो फन्डको तयारीमा छौँ र एनआरएनए ऐनमा सुधार ल्याउन पहल गरी रहेका छौँ,” उनले भने ।

अध्यक्ष श्रेष्ठले विगतमा एनआरएनएप्रति नकारात्मक धारणा बनेको स्वीकार गर्दै यसको मुख्य कारण सङ्गठनभित्रको विभाजन रहेको बताए। “झगडा मात्र गर्ने संस्था भन्ने छवि बनेको छ। त्यसैले आवाज सुन्ने निकायहरूमा हाम्रो प्रभाव कमजोर भएको हो।”

श्रेष्ठले एकता प्रक्रियाको सन्दर्भमा मे महिनामा अध्यक्ष बन्ने निर्णयबारे स्पष्ट गर्दै भने, “त्यति बेला म अध्यक्ष बन्न तयार थिइनँ, तर सबै मिल्ने प्रस्ताव भएपछि म तयार भएँ, उनले भने।

उनले संस्थाको एकताका लागि आवश्यक परे आफू पद त्याग गर्न तयार रहेको प्रस्ताव गरे पनि अर्कोतर्फबाट कुनै लचकता नदेखिएको बताए । उनले एमआइस (MIS) प्रणालीलाई लिएर जारी विवाद समाधानका लागि स्वतन्त्र समिति बनाउने प्रस्तावसमेत अस्वीकृत भएको बताए।

अमेरिकाबाट एकताको सन्देश

एनआरएनए आइसिसीका उपाध्यक्ष बुद्धि सागर सुवेदीले एकताको विकल्प नरहेको भन्दै सहकार्यको अपिल गरे। उनले उपाध्यक्ष सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको मान्यतासहितको निर्वाचित नेतृत्व भएकाले विवाद गर्न आवश्यक नरहेको बताए। महासचिव बीआर लामाले विभाजन अन्त्य गर्न वार्ता गरिरहेको बताए। “हामी अक्टोबरसम्म कार्यकाल दिन तयार भयौँ, तर हाम्रो प्रस्ताव स्वीकार भएन,” उनले भने।

एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष डा. केशव पौडेलले एनआरएनएको नेतृत्व एजेन्डामा केन्द्रित हुनु आवश्यक रहेको बताए।

कार्यक्रममा मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङले संस्थाको हितका लागि सबै एक ठाउँमा आउनुपर्ने बताए। “हामी दोधारमा छौँ, सदस्यता बनाउन समेत गाह्रो छ, अब एकताको सन्देश दिनुपर्छ,” उनले भने।

एनआरएनए अमेरिका अध्यक्ष डा अर्जुन बन्जाडेले कार्यक्रममार्फत धेरैको अन्योल हटेको बताए। “महेश दाइको नेतृत्वमा सुरु भएको एकता अभियान उत्साहजनक छ । एनआरएनए अमेरिकालाई एक बनाएर लैजान हामी प्रतिबद्ध छौँ,” उनले भने।

त्यस्तै, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले विगत ४–५ वर्षको विवाद हटेर एकताको सुरुआत भएको’ टिप्पणी गरे। अब हामी नागरिकता र लगानीजस्ता विषयमा केन्द्रित हुनुपर्छ,” उनले भने।

यस अघि टेक्सस राज्यको ड्यालस सहरमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो।

‘डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय’

काठमाडौँ – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल जस्ता विकासशील देशका युवाहरूलाई सशक्त बनाउन डिजिटल खाडल अन्त्य गर्न अत्यावश्यक रहेको बताएका छन्।

अमेरिकाको सियाटलमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्बेसडर ग्लोबल समिट २०२५ मा एक प्रस्तुति दिंदै सन् २०२४ मा बेलायत र आयरल्याण्डका लागि शीर्ष एडब्लुएस एम्बेसडर रहेका फुयाँलले भने, “ ग्रामीण युवाहरूलाई आइटी सम्बन्धी सीप सिकाइ कमाउन र नेतृत्व गर्न सक्ने वातावरण बनाउँदा स्थानीय रोजगारी सृजना हुनेछ भने वैदेशिक रोजगारीका लागि भैरहेको युवा पलायन पनि घट्नेछ।”

अहिले हरेक दिन झन्डै १,७०० नेपाली युवाहरुले रोजगारीको खोजीमा देश छोडिरहेका छन्। डिजिटल पूर्वाधार विकास गरी युवाहरुलाई गाउँघरमै सीप सिकाउन सकिने फुयाँलले बताए। उनले भोजपुर, सुर्खेतलगायतका जिल्लामा जेनेस सलुशनले सञ्चालन गरिरहेको तालिम कार्यक्रमहरूको चर्चा गरे।

“हामीले अहिलेसम्म पाँचवटा सामुदायिक टेक ल्याब स्थापना गरिसकेका छौं र क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षामा ३०० भन्दा बढी युवालाई तालिम दिइसकेका छौं। पाँच प्रदेशका १२ जिल्लामा हामी सक्रिय छौं र झन्डै एक दर्जनजति सार्वजनिक–निजी साझेदारहरू हाम्रो अभियानमा सहभागी भइसकेका छन्,” उनले भने।

तालिम सुरु गर्नु अघि ती जिल्लामा विद्यार्थीहरूले क्लाउड प्रविधि वा कोडिङमा कुनै अनुभव प्राप्त गरेका थिएनन् । “छात्रछात्राहरूले पहिले एडब्लुएस प्रयोग गरेका थिएनन्, टेक ल्याबमा पनि काम गरेका थिएनन्। हामीले २५ जना विद्यार्थीलाई लिएर १० दिने ‘इन्टेन्सिव क्लाउड बुटक्याम्प’ सञ्चालन गर्यौं,” फुयाँलले भने।

“ती सबै २५ जना सहभागीहरूले सफलतापूर्वक तालीम पूरा गरेका छन् र धेरैजना अहिले जेनेसमा इन्टर्नको रूपमा कार्यरत छन्। स्थानीय विद्यालय र अभिभावकहरूले अहिले यो कार्यक्रम छिमेकी वडाहरूमा पनि विस्तार गरिदिन माग गरिरहेका छन्,” उनले भने।

“हामी यस्तो भविष्य बनाउने चाहना राख्छौं, जहाँ नेपाली युवाहरूले देशको प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्व गर्न सकुन्। हामी नेपालको युवाशक्ति नै भविष्यको टेक इकोनोमीको इञ्जिन बन्ने परिकल्पना गर्छौं,” फुयाँलले भने। उनले विश्व प्रविधि समुदायलाई नेपालमा युवा सशक्तीकरणका लागि जगदेखि नै सहकार्य गर्न आह्वान पनि गरे।

जेनेस सोलुशन हाल बेलायत, नेपाल, बंगलादेश, नाइजेरिया लगायत १० देशहरूमा क्रियाशील छ र सार्वजनिक तथा निजी क्षेत्रका लागि डिजिटल रूपान्तरण, क्लाउड, र साइबर सुरक्षा सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ।

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

वासिङ्टन डीसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् । शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एनआरएनएको विश्वव्यापी सञ्जाल र यसले प्रवासी नेपालीहरूको हितमा पु¥याएको योगदानको प्रशंसा गरे ।

राजदूत रेग्मीले एनआरएनएले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई सुदृढ गर्न खेलेको भूमिकाको कदर गर्दै अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले थप उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले नेपाली दूतावासको आतिथ्यताप्रति आभार प्रकट गर्दै एनआरएनएको हालै मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता र परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

उनले भने, ‘हाम्रो उद्देश्य प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥याउनु हो ।’ सो अवसरमा नेपाली समुदायका अगुवाहरू, एनआरएनएका पदाधिकारीहरू र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले अमेरिकास्थित नेपाली समुदायलाई एकजुट भएर नेपालको विकासमा थप योगदान गर्न आह्वान गरे । नेपालको कूटनीतिक नियोग र एनआरएनएबीचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणामहरू ल्याउने विश्वास व्यक्त गरे ।

आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली सङ्घको स्थापनाकालदेखि नै सञ्चालन भइ आएको संस्था हो भने गैरआवासीय नेपाली संघ अमेरिका २०२३ देखि सञ्चालन हुँदै आएको हो।

यो एकताको लागि दुई संस्थाका अध्यक्षहरू डाक्टर अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन् । उक्त सहमति अनुसार डा अर्जुन बन्जाडेले नेतृत्व गरेको एनआरएनए एनसीसी अमेरिकाले सङ्घका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालको उपस्थिति रह्यो। त्यस्तै सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले सङ्घका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न न्यू योर्कमा हुन गइरहेको कार्यक्रममा पनि डाक्टर अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरुको उपस्थिति हुने भएको छ।

शुक्रबार बाल्टिमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नै नकारात्मक धारणा बनेको बताए । उनले काठमाडौँमा गत महिना सम्पन्न एकता महाधिवेशनको मर्म बमोजिम संस्थालाई एकजुट बनाउन आफुले सक्दो पहल गरिरहेको पनि जनाए।

२०२२ मार्चमा काठमाडौँमा छुट्टाछुट्टै एनआरएनएका दशौँ महाधिवेशन आयोजना गरिए पछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटिहरु गठन भएका थिए।

अमेरिकाका दुवै कमिटीहरुबीच एकता प्रक्रिया बढाउन भएको सहमतिले संसारभरि नै एउटा सकारात्मक संदेश गएको एनआरएन अभियन्ताहरुले बताएका छन् ।

११ महिनामा वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), ८ असारः चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने रु एक अर्ब छ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् रु सात अर्ब ६४ करोडले बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट रु ६५ अर्ब ५४ करोड सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म रु ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । डिजेल आयातबापत कार्यालयले रु ४१ अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा भने रु ३६ अर्ब चार करोड सङ्कलन गरेको थियो ।

त्यसैगरी, चालु आवको ११ महिनामा रु ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा रु ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले रु २३ अर्ब ३८ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा रु २० अर्ब ७३ करोड सङ्कलन गरेको छ ।

यो नाका हुँदै चालु आवको ११ महिनामा रु ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा रु २७ अर्ब ७१ करोडकोे २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत रु छ अर्ब २४ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट रु पाँच अर्ब १६ करोड सङ्कलन गरेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा रु १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने रु १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ । एटिएफ आयातबापत रु दुई अर्ब ३५ करोड सङ्कलन गर्न सफल भएको छ । जबकि गत आवको सोही अवधिमा रु दुई अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै चालु आवको ११ महिनामा रु ५९ करोड मूल्य पर्ने छ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ । मट्टितेल आयातबाट रु १६ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा रु १६ करोड नै राजस्व सङ्कलन गरेको थियो ।