`

कोशी प्रदेशसभाः विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

विराटनगर, १६ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गर्नुभएको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिनुभएको थियो ।

योजनामन्त्री मागरले छलफलका क्रममा उठेका जिज्ञासाको सम्बन्धमा नीति तथा कार्यक्रमलाई आधार मानी तयार गरिएको सिद्धान्त र प्राथमिकता आगामी आर्थिक वर्षको वार्षिक बजेटको मार्गदर्शक बन्ने बताउनुभयो ।

सबै सांसदहरूको सुझाव रचनात्मक रहेको बताउँदै मन्त्री मगरले आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, अन्तर तह समन्वय, सार्वजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक वित्त र वित्तीय अनुशासन, सामाजिक विकास, न्याय र मानवअधिकार, ग्रामीण विकासलगायत विषयलाई सिद्धान्त र प्राथमिकतामा महत्त्व दिइएको जानकारी दिनुभयो ।

उहाँले जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन र शान्ति सुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यासायीकरण, खानेपानी, सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन, शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्द्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलगायत विषय समेटेर बजेट सर्वपक्षीय, समानुपातिक र सर्वस्वीकार्य बनाइने उल्लेख गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद प्रदीपकुमार सुनुवारले जनताको माग र आवाजका बारेमा छलफल गर्ने संसद् कमजोर बन्न नुहने धारणा राख्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि आउने वार्षिक बजेट पारदर्शी हुनुपर्ने भन्दै सांसदहरूको योजना सुनिश्चितताको माग गर्नुभयो ।

बैठकको शून्य समयमा कोशी प्रदेशसभाका सांसद सपना दर्जी, रमेशकुमार बस्नेत, लीलाबल्लभ अधिकारी, मीना श्रेष्ठ, शीला दीक्षित कार्की, निरादेवी खनाल, मालतीकुमार लिम्बू, ललिताकुमरी चौधरी, रामकुमार खत्री, सुनिता गच्छदार, लखिकुमारी गणेश, शोभा चेम्जोङ, गणेशप्रसाद उप्रेती र राजन किराँतीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरूले पर्यटन, विपद्, विकास, कृषि बीउविजन, रासायनिक मल, गाजा खेती, भाषा र संस्कृति, ग्रामथान र सडक दुर्घटनालगायत समयसापेक्ष विषयमा धारणा राख्नुभएको थियो । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।

परित्यागमा बिपिन कार्की

काठमाडौँ । सुजन थापा क्षेत्री को शब्द र स्वरमा स्माइल दास को संगीत र बिशम आचार्यको एरेन्जमा परित्याग बोलको गीत सार्बजनिक भएको छ । सफल केसी को निर्देशन रहेको उक्त गीत मा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ ।

यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रण गर्दै देश तथा बिदेस मा बस्ने नेपाली माझ तरंग सिर्जना गरिरहेको छ ।

गायक सुजन भन्छन हामीले बेवास्ता गर्ने, ट्याग लगाउने वा डराउने धेरै मानिसहरू वास्तवमा मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्,उनीहरू सधैं हामीले सोचेजस्तो देखिँदैनन्। उनीहरूले पनि बुझाइ र सम्भव भएमा सहयोगको हकदार छन । मिस्टर सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई अहिलेसम्म एक लाख भन्दा बढिपटक हेरिएको छ।

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु, १६ जेठः पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ । मृत्यु हुने पर्यटकहरु जापान, अष्ट्रेलिया, भारत र सिङ्गापुरका दुई÷दुई जना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक÷एक जना छन् । उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये छ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

जसमा सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक÷एक आरोहीले ज्यान गुमाएका छन् भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन् । मेरा पिकमा एक जना बेल्जियमका नागरिक र आमादब्लम आरोहणका क्रममा एक अष्ट्रेलियन नागरिकले ज्यान गुमाए ।

खुम्बु क्षेत्रको सौन्दर्य र चुनौती

खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो । सगरमाथा मात्र नभई यहाँका सम्पूर्ण हिमाली भूभाग, ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृङ्खलाहरूले यो क्षेत्र मनमोह छ । यहाँका गाउँघर, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत छ ।

जसका कारण हरेक वर्ष हजारौँ पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्छन् । तर खुम्बु क्षेत्रमा जोखिम पनि उत्तिकै छ । लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याले पर्यटकहरुले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल घुम्नु जति आनन्द छ त्यतिकै चुनौती पनि छ, यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफँै पनि दुर्घटनामा परँे, सगरमाथाको तेस्रो शिविर माथिबाट खसेको आइसको डल्लाले लागेर मेरो टाउकामा आठ टाँका लगाउनुप¥यो ।”

पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

पर्यटकका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकप्टर उद्धार प्रणालीको मजबुतीकरण, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपायहरू थप मजबुत बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।

यस क्षेत्रमा आउने पर्यटकहरू प्रायः ‘हाइ अल्टिच्यूड’ कै कारण समस्यामा पर्ने गरेको कान्छो सगरमाथा आरोही तेम्बा छिरी शेर्पा बताउनुहुन्छ । पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना र स्थानीय प्रशासनको प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । –

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ । उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।

संसदीय सुनुवाइले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

काठमाडौँ, १६ जेठ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ ।समितिको आजको बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूपमै अनुगमन गरी जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले विषयविज्ञ र सुनुवाइ गरी पठाएका व्यक्तिले प्रस्तुत गरेको कार्ययोजना र अवधारणामार्फत गरिएका प्रतिबद्धता के–कति कार्यान्वयन भए–भएनन् त्यसको जानकारी लिइने सभापति ईश्वरी न्यौपानेले बताउनुभयो ।

संवैधानिक परिषद्, न्याय परिषद् र सरकारद्वारा विभिन्न सार्वजनिक पदमा नियुक्ति गरी संसदीय सुनुवाइका लागि पठाइएका राजदूत, सर्वाेच्च अदालतका न्यायाधीश र सवैधानिक परिषद्का पदाधिकारीको समितिले सुनुवाइ गर्दै आएको छ ।

मुख्य जिम्मेवारी संसदीय सुनुवाइ नै भएकाले सुनुवाइका क्रममा उठेका प्रश्नको सम्बोधन र समितिलाई थप व्यवस्थित र चुस्त तुल्याउन सरोकारवालासँगको परामर्शलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । सभापति न्यौपानेले भन्नुभयो, “संसदीय सुनुवाइका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्न के–कस्ता चुनौती भोग्नुपर्‍यो, कस्ता बाधा अड्चन आए त्यस विषयमा उहाँहरूसँग अन्तक्र्रिया गरिने छ ।”

समितिले जिल्ला निर्वाचन कार्यालयमा के–कस्ता समस्या छन्, सुनुवाइ समितिका लागि लिइने उजुरी दर्ता गर्न के–कस्ता अप्ठयारो परेको छ वा छैन भनी सातै प्रदेशमा गएर अनुगमन गर्ने छ ।

त्यस सिलसिलामा यस आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरामा प्रदेससभा, मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक जानकारी र सुझाव लिने तथा अन्तक्र्रिया गर्ने तयारी गरेको जानकारी दिइएको छ ।

समितिलाई कामयावी, प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जनताले कसरी हेरेका छन् भन्ने सन्दर्भमा समितिले यस किसिमको कार्ययोजना अघि सारेको छ । समितिले विदेशस्थित दूतावासमा समेत गएर अवलोकन र जानकारी लिने बताइएको छ ।

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् । प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तकको लोकार्पण गर्दैै उनले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । उनले कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड भए पनि अहिले त्यो समय नरहेको बताए ।

उनले भने, ‘राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउँछ । आजको युग सम्पादकको युग छैन । कर्पोरेटको युग छ । कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड थियो । तर आज सम्पादकहरुको कमाण्ड छैन । तर सम्पादक र मिडिया मालिकहरु पनि निर्णायक भएका छैनन् । अहिले मिडियाको स्वरुप परिवर्तन भएको छ । कन्टेनलाई प्रस्तुत गर्ने क्षमता छ भने त्यो मान्छे बिना टे«निङ पत्रकार बन्न सक्छ ।’

साथै उनले प्रेस काउन्सिललाई बलियो र प्रभावशाली बनाउनुपर्ने सुझाव दिए । उनले आजको समयलाई गाइड गर्न सक्ने र निर्देश गर्न सक्ने मिडिया काउन्सिल सबैलाई चाहिएको बताए ।

उनले भने, ‘प्रेस काउन्सिलले चाहिने भन्दा पनि नचाहिने काम बढी गर्छ । नचाहिने काम यसले पत्रकारहरुको वर्गीकरण गर्छ । काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने विषय हो । काउन्सिल बलियो चाहिन्छ र प्रभावशाली बनाउनुपर्ने देखिन्छ । चाहिएको शक्तिशाली काउन्सिल हो । आजको समयलाई गाइड गर्न सक्ने, निर्देश गर्न सक्ने मिडिया काउन्सिल चाहिन्छ ।’

सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ :डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए ।

उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’

त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे । उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।

उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।

टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभीए लिगको उपाधि जित्दै इतिहास रच्यो

पोखरा । टिप टप हेल्प नेपालले नवौं संस्करणको पिएम कप एनभीए लिग (पुरुषतर्फ) को उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको छ। यो उपाधि हेल्प नेपालको पाँचौं एनभीए लिग उपाधि हो ।

बिहिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले पराजित ग¥यो । यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ । यो जितसँगै टोलीले माल्दिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट पाएको छ।

गत वर्ष नेपालमै सम्पन्न काभा क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपाल र गण्डकीले आमने–सामने प्रतिस्पर्धा गरेका थिए।
पोखराको खचाखच भरिएको कभर्ड हलमा गण्डकी प्रदेश गत वर्षको फाइनलको हारको बदला लिन दृढ देखिएको थियो। सोहीअनुसार उसले खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई सेट २५–२० र २७–२५ को स्कोरमा जितेको थियो।

एक सेट मात्र जिते पुग्ने अवस्थामा रहेको गण्डकीलाई हेल्प नेपालले चमत्कारिक पुनरागमनका साथ रोक्न सफल भयो। बाँकी तीन सेट क्रमशः २५–२२, २५–१४, र १५–८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि सुरक्षित ग¥यो।

गण्डकी प्रदेशले फेरि एकपटक उपाधिको नजिक पुगे पनि जित हात पार्न सकेन। लगातार तेस्रो पटक च्याम्पियन बनेको हेल्प नेपाल यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि विजेता रहन सफल भएको थियो।

एनआरएनएद्वारा नयाँ बजेटको स्वागत, एनआरएनलाई नेपाली सरह लगानीको अधिकार दिन आग्रह

काठमाडौँ, जेठ १६ — गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ। संघले गैर आवासीय नेपालीहरूको पुँजी, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक समृद्धिमा योगदान दिने दिशामा बजेटले सकारात्मक संकेत दिएको जनाएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटप्रति एनआरएनए आइसिसीले समर्थन जनाउँदै जारी विज्ञप्तिमा महासचिव बी.आर. लामाले विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरूलाई नेपालको धितोपत्र दोस्रो बजारमा कारोबार गर्न दिइने व्यवस्था स्वागतयोग्य रहेको बताए।

“यो नीतिले बैंकिङ, पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्नेछ, जसले नेपालको पुँजी बजारमा तरलता र आर्थिक स्थायित्व कायम गर्न मद्दत पुर्‍याउनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनआरएनएका अनुसार बजेटमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने, विदेशमा संकटमा परेका नेपालीहरूको उद्धार गर्ने, र कूटनीतिक पहललाई प्रभावकारी बनाउने जस्ता प्रावधानहरू प्रशंसनीय छन्।

तर संघले अझै सम्बोधन हुन बाँकी केही महत्त्वपूर्ण विषयहरूको पनि उल्लेख गरेको छ। विशेषगरी गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली सरह लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बीमा तथा सुरक्षा जस्ता विषयहरूमा नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।

“यी मुद्दाहरूमा सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाउँदछौं,” विज्ञप्तिमा भनिएको छ, “बजेटको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनएको साथ र समर्थन सधैं रहनेछ।”

नवौं एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित

पोखरा । महिलातर्फ नवौं पिएम कप एनभीए लिगको उपाधि नेपाल पुलिस क्लबले जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३—१ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा र्गयो ।

दुबै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् । सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको पुलिसले पहिलो सेट २५—२० को स्कोरमा जित्दै बलियो सुरुवात गर्यो तर दोस्रो सेटमा न्यु डायमण्डले पुनरागमन गर्दै २५—२२ को स्कोरमा सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेट निकै रोमाञ्चक रह्यो । कडा प्रतिस्पर्धाबीच पुलिसले २८—२६ को नतिजा निकाल्दै फेरि अग्रता लियो। त्यसपछि चौथो सेटमा पुलिसले पूरै नियन्त्रण जमाउँदै २५(१४ को सहज जित निकाल्दै उपाधि सुनिश्चित गर्यो ।

लिग चरणमै पनि पुलिसले न्यु डायमण्डलाई ३—० ले हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिस लिगको शीर्ष स्थानमा रहँदा न्यु डायमण्ड दोस्रो स्थानमा थियो।

पुरुष र महिलातर्फका विजेता टोली—हेल्प नेपाल र नेपाल पुलिस—ले समान ८ लाख रुपैयाँ प्राप्त गरे। उपविजेता बनेका गण्डकी प्रदेश ९पुरुष० र न्यु डायमण्ड (महिला) ले समान ४ लाख हात र्पायो। तेस्रो स्थानमा रहने पुरुषतर्फको पुलिस र महिलातर्फको एभरेष्ट क्लबले २ लाख रुपैयाँ प्राप्त गरे।नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको यो लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो।

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।
बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।

नारायणगढ–बुटवल सडकखण्डमा डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १६ जेठः नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १६ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, राजमा मूल्य प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ६५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ५०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ८० आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १०००, तोकेको छ ।

मधेश केन्द्रित ५ दलहरुद्धारा संघीय गणतान्त्रिक गठबन्धन घोषणा

जनकपुर । मधेश केन्द्रित साना पाँच दलहरु मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् ।बिहिबार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरुले गठबन्धन घोषणा गरेका छन । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।

घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सक्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए ।

कथित मधेशका मसिहा कहलाउनेहरुले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता रकर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफूहरुको गठबन्धन ईच्छाले नभई जनता र मधेशलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ ।

आज राति भने, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्था र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

वीरगञ्ज (पर्सा), १६ जेठः औद्योगिक नगरी वीरगञ्जका उद्योगी÷व्यवसायीले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमतिप्राप्त उद्योगलाई सुरुका तीन वर्षको भाडा छुट दिने बताउनुभएको छ ।

“विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर रु २० बाट घटाई रु पाँच कायम गरिनेछ”, अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरको सुविधा दिइने उल्लेख गरिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बजेटले समग्रमा निजी क्षेत्रलाई आशा जगाउने प्रयास गरेको बताउनुभयो । “हामीले अपेक्षा गरेको जस्तो त बजेट आएको छैन । यद्यपि उद्योगी व्यवसायीका केही मागलाई सम्बोधन गर्ने प्रयास भने गरेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष गौतमले भन्सारमा लाग्ने अग्रिम आयकर खारेज गर्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । “यसअघि आयातकर्ताले साढे दुई प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने हुन्थ्यो”, उहाँले भन्नुभयो, “अबदेखि यो प्रावधान हटेको छ ।” सरकारले समग्रमा करको दर वृद्धि नगरेर सकारात्मक कार्य गरेको उहाँले बताउनुभयो ।

“सरकारले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर वृद्धि नगरेको कुरालाई सकारात्मक रुपमा लिनुपर्छ”, अध्यक्ष गौतमले भन्नुभयो । अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युत्को आन्तरिक खपत बढाउन त्यस्ता सवारीसाधनमा लगाइएको सबै कर तथा महसुल यथावत राखेकामा उद्योगीले स्वागत गरेका छन् ।

वीरगञ्जमा कार्यक्षेत्र बनाउँदै आएका अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले आव २०८२÷८३ को बजेटमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकको भूमिकामा राखेर अघि बढ्ने सोच सकारात्मक रहेको बताउनुभयो ।

“आगामी आवको बजेटमा उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चिततासहितको प्राथमिकताले आर्थिक वृद्धिको आधार हुन सक्ने आशा जगाएको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई उकास्न कम्पनी दर्ता र बहिर्गमन एकलविन्दुबाट दिने व्यवस्थाले पनि थप सहयोग गर्नेछ ।”

अर्थशास्त्री चौधरीले कम्पनी दर्तादेखि बहिगर्मनसम्मका सबै कार्य एकल विन्दुबाट सम्पादन हुने व्यवस्था स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले यस बजेटमार्फत नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत स्वेट शेयर लिन पाइने कानुनी व्यवस्था पनि सराहनीय भएको बताउनुभयो ।

अर्थशास्त्री चौधरीले आव २०८२÷८३ को बजेटमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकको भूमिकामा राखेर अघि बढ्ने सोच सकारात्मक रहेको बताउनुभयो । “आगामी आवको बजेटमा उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चिततासहितको प्राथमिकताले आर्थिक वृद्धिको आधार हुनसक्ने आशा जगाएको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई उकासनको लागि कम्पनी दर्ता र बहिर्गमन एकलविन्दुबाट दिने व्यवस्थाले पनि थप सहयोग गर्नेछ ।” आगामी आवको बजेटमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा भण्डारणस्थल निर्माण कार्य अगाडि बढाइने उल्लेख गरिएको छ ।

त्यसैगरी वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ । चुरे तथा तराई मधेसको जलचक्रलाई दिगो बनाउन जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन गरिन बजेट वक्तव्यमा उल्लेख छ ।

चार मन्त्रालयलाई एक खर्ब बढी बजेट, शिक्षालाई सबैभन्दा बढी

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सबैभन्दा बजेट बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक खर्ब ५२ अर्ब बजेट पाएको छ । देशभरका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजना कार्यान्वयनका लागि उक्त बजेट उपलब्ध गराइएको हो ।

आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयका लागि रु एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ । यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु ९५ अर्ब ८१ करोड बजेट पाउँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि रु ८६ अर्ब एक करोड विनियोजन भएको छ ।

खानेपानी मन्त्रालयका लागि रु ३३ अर्ब ८९ करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रु ५७ अर्ब ४८ करोड बजेट पाउँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु सात अर्ब ४९ करोड बराबर खर्च गर्न पाउनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु १० अर्ब १४ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका लागि रु १३ अर्ब २८ करोड, वन तथा वातावरण मन्त्रालयका लागि रु १८ अर्ब ६१ करोड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु सात अर्ब ७२ करोड बजेट पाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रु चार अर्ब २८ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि रु ६ अर्ब आठ करोड र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु दुई अर्ब आठ करोड बराबरको बजेट पाएको छ । यसैगरी, विपद् पछिको पुनर्निर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशका लागि रु ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि रु ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । सशर्त अनुदानतर्फ प्रदेशका लागि रु ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि रु दुई खर्ब ११ अर्ब ४६ करोड करोड विनियोजन भएको छ ।

प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान क्रमशः रु तीन अर्ब २८ करोड र रु १० अर्ब ६ करोड उपलब्ध हुनेछ । विशेष अनुदान प्रदेशका लागि रु तीन अर्ब २७ करोड र स्थानीय तहका लागि रु नौ अर्ब ७८ करोड विनियोजन भएको छ । प्रदेश र स्थानीय तहमा राजस्व वाँडफाँटबाट रु एक खर्ब ६५ अर्ब हस्तान्तरण हुने छ । राजस्व वाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा रु पाँच खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण हुने अनुमान गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि कूल खर्च रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ रु चार खर्ब सात अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ७५ अर्ब २४ करोड रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रु ५३ अर्ब ४५ करोड तथा रु पाँच खर्ब ९५ अर्ब ६६ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ३३ अर्ब ६६ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु तीन खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी, १६ जेठ : अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन् । काठमाडौँमा बिहीबार आएका उनीहरू आज पोखरा र शनिबार नाच्याङमा आइपुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“प्रथम आरोही मौरिसका छोरा माथिएस, नाति इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने हीरक जयन्तीका सम्पूर्ण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।”

फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनबिनै सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाडौँमा समारोह आयोजना हुँदै आएका थिए ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन दौड प्रतियोगिताको उद्घाटनसँगै मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री आउने निश्चित भएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा हीरक जयन्ती मनाउन लागिएको हो । अन्नपूर्ण हीरक जयन्तीका अवसरमा ३० किलोमिटर लामो दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ ।

उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा पुख्र्याैली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही र यस हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी हीरक महोत्सवकै अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा बढी हेरफेर

काठमाडौँ, १६ जेठ : सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो ।

बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।

सरकारले रु १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने भएको छ । त्यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मिसिनरी तथा उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल हटाइएको छभने यसमा लाग्ने अन्य सबै खालका कर तथा महसुल खारेज गरिएको छ ।

फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको आयातमा एक प्रतिशतमात्र भन्सार लगाउने व्यवस्था ल्याइएको छभने ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि मिसिनरी उपकरण आयातमा सबै किसिमका कर छुट दिइएको छ । ग्रीन हाइड्रोजन उत्पादकलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था पनि बजेटमा राखिएको छ ।

विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण आयात गर्दा एक प्रतिशत भन्सार महसुलबाहेक अरु कुनै पनि प्रकारका कर लाग्ने छैनन् । साथै, यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिइएको छ । डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरिएको छ । त्यस्तै, खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ । श्रवणशक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवणयन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर पनि खारेज गरिएको छ ।

राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान रु १६ लाखको मूल्य सीमा हटाइएको छ । बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था सरकारले ल्याएको छ ।

मदिरा, वियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि भएको छभने विद्यमान अन्तःशुल्क दरमा पनि वृद्धि भएको छ । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ ।

अन्तःशुल्कमा परिवर्तन

घरपालुवा चराहरू (पोल्ट्री)को ताजा (फ्रेस), चिस्याइएको वा हिमीकृत (फ्रोजन) मासुमा १५ प्रतिशत अन्तःशुल्क लगाइएको छभने खुद्रा बिक्रीका लागि राखिएका कुकुर वा बिरालोको खानाको अन्तःशुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ । त्यस्तै, अम्रिसोमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

सुर्तीजन्य पदार्थको अन्तःशुल्क बढाइएको छ । फिल्टर नभएको चुरोट तथा सिगारको अन्तःशुल्क प्रतिएम रु सात सय ५५ रहेकामा त्यसलाई बढाएर रु सात सय ७८ बनाइएको छ । फिल्टर भएको ७० मिलीमिटरसम्म लम्बाइको चुरोटको प्रतिएम अन्तःशुल्क रु एक हजार ७४० रहेकामा त्यसलाई बढाएर रु एक हजार ७९२ बनाइएको छ । त्यस्तै, ७० भन्दा बढी र ७५ मिलीमिटरभन्दा कम लम्बाइको चुरोटको प्रतिएम रु दुई हजार ३७० बाट रु दुई हजार ४४१ पुर्याइएको छ ।

काठको धुलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेका विभिन्न मोटाइका बोर्डहरूको अन्तःशुल्क पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, निर्माण वा सिभिल इन्जिनियरिङका लागि पूर्वनिर्मित संरचनात्मक अवयवहरूको पनि अन्तःशुल्क पाँच प्रतिशतबाट १० प्रतिशत बनाइएको छ । कर्कतपाता, ब्रेक लाइलिङ प्याडहरूको अन्तःशुल्क पाँच प्रतिशतबाट १० प्रतिशत बनाइएको छ ।

भन्सार दरमा परिवर्तन

सुकाएको अङ्गुर (किसमिस) सार्क मुलुकका लागि सात दशमलव २५ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई घटाएर सार्क मुलुकका लागि छ प्रतिशत र अन्य मुलुकका लागि १० प्रतिशत कायम गरिएको छ ।

चुकुन्दरको चिनी सार्क मुलुकबाट छ प्रतिशत र अन्य मुलुकका ल्याउँदा ३० प्रतिशत भन्सार लाग्ने गरेकामा सार्क मुलुकका लागि लाग्ने भन्सार यथावत राखिएको छभने अन्य मुलुकका लागि भन्सार घटाएर १५ प्रतिशत लाग्ने व्यवस्था कायम गरिएको छ । त्यस्तै, सक्खर गुँड, भेली, गुँडगट्टा, खाँडसारी चिनी, उखुको अन्य चिनी, मिश्रीको भन्सार ३० प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर १५ प्रतिशत बनाइएको छ । ‘फ्रुटपल्स’को भन्सार बढाएर १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । त्यस्तै, सुप, ब्रोथ र सोका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशत रहेकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीको प्रतिकिलो रु १०० भन्सार लाग्ने गरेकामा त्यसलाई परिमार्जन गरी ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ । त्यस्तै, इनर्जी ड्रिङ्समा प्रतिलिटर रु १०० का दरले भन्सार लाग्दै आएकामा अब ४० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । हल्का पेय पदार्थ, बास्नायुक्त दूधका पेय पदार्थको भन्सार पनि ४० प्रतिशत कायम गरिएको छ ।

पेय पदार्थ र अल्कोहलजन्य वस्तुमा यसअघि प्रतिलिटर बराबर निश्चित रकम भन्सार दर तोकिएकामा त्यसलाई संशोधन गरिएको छ । जाँैबाट बनेको बियर आयातमा प्रतिलिटर रु २०० का दरले भन्सार लाग्ने गरेकामा त्यसलाई संशोधन गरी ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ ।

ताजा अङ्गुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको ‘फोर्टिफाइड वाइन’, ‘स्पार्किङ वाइन’को भन्सार प्रतिलिटर रु ३०० रहेकामा अब ८० प्रतिशत लाग्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ । छ्याङ (कन्ट्री वियर), सेम्पेन, सेरी, मिड, पेरी, साइडरको भन्सार ४० बाट बढाएर ८० प्रतिशत बनाइएको छ । त्यस्तै, ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सोभन्दा माथि अल्कोहल भएको ‘अन्डिनेचर्ड इथाइल अल्कोहल’ र जुनसुकै अल्कोहल भएको ‘डिनेचर्ड इथाइल अल्कोहल’ तथा अन्य स्प्रिटको भन्सार प्रतिलिटर रु ६० लाग्ने गरेकामा त्यसलाई अब ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ । यसअघि ब्राण्डीको आयातमा प्रतिलिटर रु एक हजार ५०० सय भन्सार दर रहेकामा अब ८० प्रतिशत कायम गरिएको छ । त्यस्तै अरु विभिन्न खालका अल्कोहलजन्य पदार्थमा १०० प्रतिशत भन्सार लाग्ने गरी आर्थिक विधेयक ल्याइएको छ ।

सिगार र चुरोटको प्रति एक हजार खिल्लीको भन्सार रु रु नौ हजार रहेकामा त्यसलाई बढाएर रु ११ हजार पुर्याइएको छ । तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइको चुरोट र सिगारमा प्रतिहजार खिल्ली रु चार हजार ५०० भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिहजार खिल्ली रु पाँच हजार ५०० बनाइएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको भन्सार ३० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याइएको छ ।

इकोजिन वा अन्य चुन मिश्रित स्मारक वा भवन बनाउने ढुङ्गा र एलावास्टर (स्फटिक ढुङ्गा)को ३० रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ । त्यसैगरी, कपडाबाट बनेको भित्ता ढाक्ने वालपेपर (वाल कभरिङ) विभिन्न बुट्टा कुँदिएको भित्तामा टाँस्ने कागज वा प्लास्टिक वालपेपरमा सार्क मुलुकबाहेक अन्यबाट आयात गर्दा यसअघि १५ प्रतिशत भन्सार लाग्दै आएकामा बढाएर २० प्रतिशत बनाइएको छ ।

ट्रिमिङ भएको टोपीको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको छ । काठको धुलो, सिमेन्ट र विभिन्न वाइन्डिङ केमिकल्स मिश्रण गरी बनेको सङ्घार, फ्याक, झिङ्गटी तथा बोर्डहरू सार्कबाहेक मुलुकबाट आयात गर्दा २० प्रतिशत लाग्ने गरेकामा घटाएर १५ प्रतिशत बनाइएको छ ।

सिमेन्ट क्रङ्क्रिट वा कृत्रिम ढुङ्गाका सामान आयात गर्दा सार्क मुलुकका लागि सात दशमलव २५ बाट घटाएर छ प्रतिशत र सार्कबाहेकका मुलुकका लागि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । विभिन्न निर्माण उपकरण जस्तै, खामो गाड्ने (पाइल ड्राइभर) खामो उखेल्ने (पाइल एक्सट्र्याक्टर) छिद्रण गर्ने (बोरिङ) लगायतका उपकरणमा पाँच प्रतिशत भन्सार लाग्दै आएकामा एक प्रतिशतमा झारिएको छ ।

छुट तथा सहुलियत

अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था ल्याइएको छ । २०८१ चैत मसान्तसम्म बुझाउनुपर्ने अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत हुने रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा गर्ने आर्थिक विधेयकमा उल्लेख छ ।

त्यस्तै, दर्ता हुन बाँकी रहेका अन्तरराष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्ति मूल्य अभिवृद्धि करमा दर्ता भई विसं २०८० कात्तिक १ गतेदेखिको मूअकर आगामी असोज मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने ब्याज, जरिवाना र थप दस्तुर मिनाहा गर्ने नीति सरकारले लिएको छ ।

आय विवरण पेस नगरेका करदातालाई पनि छुटको व्यवस्था आर्थिक विधेयकमार्फत ल्याइएको छ । यसअघिका कुनै पनि आर्थिक वर्षको आय विवरण नबुझाएको भए त्यस्तो विवरण पेस गरी आगामी पुस मसान्तसम्म आयकर बुझाउन सकिने छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६६ पैसा र बिक्रीदर २० रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कञ्चनपुरमा सातवटा आयोजनालाई प्राथमिकतमा राखेर बजेट विनियोजन

कञ्चनपुर, १६ जेठ : कञ्चनपुरमा सातवटा आयोजनाका लागि बजेट सुनिश्चित भई कार्य अगाडि बढ्ने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सातवटा आयोजनालाई प्राथमिकतमा राखेर बजेट विनियोजन गर्नुभयो ।

प्रस्तुत बजेटअनुसार निजी तथा पर्यटन बोर्डको सहकार्यमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणकार्य अगाडि बढाइने भएको छ । पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा सञ्चालन गरिने, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाइने, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने भएको छ ।

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिका लागि रु २१ अर्ब १९ करोड विनियोजन गरिएको छ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङलगायत थारू समुदायमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने भएको छ ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गरिने भएको छ । सडकखण्डको स्तरोन्नतिको कार्य अगामी आवदेखि सञ्चालन गरिने भएको छ । बजेटमा भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान स्थायी रूपमा गरिने भएको छ ।

आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराइने छ । यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिइने बजेट वक्तव्यमा भनिएको छ । कञ्चनपुरमा भूमि आयोगमा पदाधिकारीको पदपूर्ति गरी जग्गा नापजाँचको काम भइरहेको छ । दोधारा–बरेली ४०० केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने छ ।

कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग दुई वर्षभित्रै निर्माण पूरा गरिसक्ने गरी बजेट विनियोजन गरिएको छ । बजेटबारे प्रतिक्रिया दिँदै पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट सन्तुलित रूपमा आएको बताउनुभयो । “बजेट नै एक्सन ओरेन्टेड छ”, उहाँले भन्नुभयो, “विगतमा नीतिगत रूपमा मात्र बजेट आउँथ्यो, काम अगाडि बढ्दैनथे, अहिलेको बजेट कार्यान्वयन हुनेमा विश्वस्त छु ।”

दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहँुदै उहाँले औद्योगिक क्षेत्रको काम ढिलो नगरी छिटो अगाडि बढ्नुपर्छ, बजेटमा सम्बोधन भएकाले काम अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक तथा व्यवस्थापन सङ्कायका पूर्वडिन डा भारती जोशीले बजेट ल्याएर मात्र नहुने भएकाले कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । पुरानै बजेटको निरन्तरताका रूपमा बजेट आएको उहाँले बताउनुभयो । “पुँजीगत खर्च बढी भए मात्र विकासले गति लिन्छ”, उहाँले भन्नुभयो, रोजगारीका अवसर सृजना हुन्छन्, देश आर्थिक समृद्धितर्फ जान्छ ।”

बजेटमा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिए

गण्डकी, १६ जेठ : सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्न रु आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडलले उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलापका दृष्टिले महत्त्वपूर्ण मानिएको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने भएको छ । सालझण्डी–ढोरपाटन सडक निर्माणलाई पनि तीव्रता दिइने उल्लेख छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालपारिको जिल्ला मुस्ताङमा उच्च पर्वतीय खेलकुद रङ्गशाला निर्माण गरिने भएको छ । लामो समयदेखि चर्चामा रहेको ढोरपाटनको उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणकार्य सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण गरिने भएको छ । उक्त आयोजना सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै तनहुँको सेती जलविद्युत् आयोजना सरकारको लगानीमा निर्माण गरिने बजेटमा उल्लेख छ । सम्भाव्यता अध्ययन भइसकेको कास्कीको हेम्जाबाट नयाँ पुलसम्मको सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने जनाइएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने यस क्षेत्रका आकर्षक गन्तव्यस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । कालीगण्डकीलगायत नदीमा जलविहारलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ ।

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, १६ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले बिहीबार आयोजना गरेको ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट– २०२५’ का अवसरमा उहाँले पर्यटन नीति र पर्यटन ऐन छिट्टै ल्याइने सोही माध्यमबाट पर्यटन विकास गरिने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले नीति बनाएर निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानै विश्वास व्यक्त गर्नुभयो । सगरमाथा दिवसलाई आगामी दिनमा थप भव्य र गौरवमय बनाइने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा हिमालको संरक्षण तथा सरसफाइमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर कोशी प्रदेश अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको शान, मान र गौरव रहेको भन्दै यसको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पुरानो पर्यटन ऐनलाई संशोधन गरेर पर्वतारोहणसम्बन्धी कामलाई प्राथमिकतामा राखिनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वल्र्ड समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको समूहगत छलफल सत्र सञ्चालन गरिएको थियो । कीतिमानी आरोही मिङमा डेबिड शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, फुञ्जो लामा, कुञ्जाङ छोपेल शेर्पा, निमा रिञ्जी शेर्पा र दावा तेञ्जी शेर्पाले आरोहण अनुभव सुनाउनुभएको थियो ।

सरकारले पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गर्नुभयो । यो पुरस्कारको राशि रु एक लाख र कदरपत्र रहेको छ । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी (अध्ययन तथा अनुसन्धान) पुरस्कार शेर्पा बुकका लेखक प्रदीप बस्याल र अङ्कित अधिकारीलाई प्रदान गरियो भने तेञ्जिङ हिलारी (खोज तथा उद्धार) पुरस्कार लाक्पा नुर्बु शेर्पा र क्याप्टेन मौरिजियो फोलिनीलाई दिइएको छ ।तेञ्जिङ हिलारी (कीर्तिमानी आरोही) पुरस्कार निमा रिञ्जी शेर्पा र पेमा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी पर्वतीय पर्यटन र पर्वतारोहणका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ ।

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

काठमाडौँ, १६ जेठ : सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रम अघि बढाउने योजनासमेत उहाँले सुनाउनुभयो ।

निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सृजना गर्न अध्यादेशमार्फत कानुनहरूमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको सन्दर्भमा सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिने भएको छ ।

आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गर्ने र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात हुनसक्ने लगानीको न्यूनता पूरा गर्न स्रोतको विविधिकरण गर्ने, राजस्व प्रशासनलाई व्यावसायिक र राजस्व प्रणालीलाई सुदृढ बनाउने सरकारको योजना छ । सार्वजनिक ऋणलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा परिचालन गरिने छ । अनुपयुक्त आयोजना कटौती गरी प्राथमिकताप्राप्त र नतिजामूलक आयोजना कार्यान्वयनलाई उच्च महत्व दिने तथा विकास वित्तको न्यूनता पूर्ति गर्न वैकल्पिक वित्तका नवीन र सम्भाव्य उपकरणको उपयोग गर्ने सरकारको योजना छ ।

प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि र उपभोग्य वस्तुको आन्तरिक उत्पादन प्रवर्द्धनमार्फत व्यापार सन्तुलनमा जोड दिने एवं वैदेशिक रोजगारीमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने एवं नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सृजना गर्न उच्च प्राथमिकता दिने योजनासमेत बजेटमा समेटिएको छ ।

“वर्तमान सरकार गठन भएपछि हासिल भएका सकारात्मक परिणामको जगमा थप उपलब्धि हासिल गर्न, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, सबै प्रकारका निराशा चिर्न र आम जनतामा आशा जगाउन सरकार दृढ सङ्कल्पित छ”, अर्थमन्त्रीले भन्नुभयो ।

रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

काठमाडौँ, १५ जेठ : सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड लाग्ने बताउनुभयो । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उहाँले बताउनुभयो ।

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु ४० करोड विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ ।

यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ ।तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ ।

युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरिरहेको जनाएको छ ।धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिद्वारा अनुमोदित भएमा आइएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । हालको कार्यक्रम अन्तर्गत यसको वितरण १०.७ अर्ब डलरको नजिक पुग्नेछ ।

आईएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमार्फत जारी विज्ञप्तिमा तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बावजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोषले यस वर्ष ‘सामान्य’ मुद्रास्फीति–समायोजित आर्थिक वृद्धिको अपेक्षा दुईदेखि तीन प्रतिशतको बीचमा गरेको छ र यसले श्रम अवरोध र ऊर्जा पूर्वाधारमा क्षतिबाट भएको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्दछ।”

उहाँले खाद्यान्न र श्रमको बढ्दो लागतका कारण मुद्रास्फीति निरन्तर बढ्दै गएको र अप्रिलमा १५.१ प्रतिशत पुगेको बताउनुभयो । कोषले युद्धले जनसङ्ख्या, अर्थव्यवस्था र पूर्वाधारमा ठूलो असर पारिरहेकोले युक्रेनको आर्थिक परिदृश्य ‘असाधारण रूपमा अनिश्चित रहेको जनाएको छ ।“चुनौतीपूर्ण वातावरणको बावजुद, यो कार्यक्रम सही मार्गमा रहेको छ र ठूलो मात्रामा बाह्य प्रतिबद्धताहरूको आधारमा पूर्ण रूपमा वित्तपोषित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

काठमाडौँ, १५ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्ता स्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताउनुभयो ।

उहाँले पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुले नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिनुभयो । ठूलो सङ्ख्यामा सहभागी भएका उनीहरूले सहरका विभिन्न स्थानमा परिक्रमा गरी सभा गरेका थिए ।

बजेटमा लुम्बिनीः सिद्धबाबा सुरुङमार्ग निर्माण र विमानस्थल सञ्चालनमा जोड

लुम्बिनी १५, जेठः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा लुम्बिनी प्रदेशका महत्वपुर्ण आयोजनाहरुलाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गर्नुभयो ।

लुम्बिनी प्रदेशको महत्वपुर्ण राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–सिद्धबाबा मन्दिरदेखि ११२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड विनियोजन गरिएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि ११२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।

सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष राखिएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइनुका साथै विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न बिशेष सुविधा प्रदान गरिने बजेट वक्तव्यमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले घोषणा गर्नुभएको छ ।

नेपालमा अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेको वायुसेवा कम्पनीहरुलाई भैरहवा र पोखराबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाको बबईलगायतका सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको उल्लेख छ । यस्तै बाँके जिल्लामा निर्मित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ र वृहत दाङ उपत्यका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिन रु आठ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स र पावरहाउस निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी रु २ अर्ब ७ करोड विनियोजन गरिएको छ ।

बहुचर्चित कालिगण्डकी–तिनाउ नदी पथान्तरण(डाइभर्सन) आयोजनाका विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिने वजेट वक्तव्यमा उल्लेख छ । साथै दाङ, प्युठान र अर्घाखाँची क्षेत्र भएर बग्ने राप्ती नदीको नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण प्रारम्भ गरिने उल्लेख छ ।

पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न वृहत्त लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ । साथै लुम्बिनी प्रदेशका प्रमुख धार्मिक पर्यटकीय केन्द्र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र प्युठानको स्वर्गद्वारीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ ।

निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यसअन्तर्गत लुम्बिनीदेखि मुक्तिनाथ पदयात्रा सञ्चालन गरिने उल्लेख छ ।

यस्तै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरकारी स्तरको मेडिकल कलेज निर्माणका लागि बुटवल मेडिकल कलेज लगायतका अन्य जिल्लामा निर्माणाधिन तथा प्रस्तावित सरकारी स्तरका मेडिकल कलेजका पूर्वाधार निर्माण अघि बढाउन रु ५६ करोड विनियोजन गरिएको छ ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणका लागि लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवाको एकिकृत जाँच चौकी निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइने उल्लेख छ ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि लुम्बिनीलगायतका प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवर्द्धनका लागि रु ८३ करोड विनियोजन गरिएको छ । रुपन्देहीको सेमलारमा कृषि उपजको सङ्कलन, प्रशोधन, बजारिकरण र निर्यात प्रवद्र्धनका लागि आधुनिक पूर्वाधार निर्माण सुरु गरिने भएको छ ।

नेपालको प्राचिन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गर्ने र अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा पाणिनी ज्ञान उद्यान निर्माण गरिने छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियमलगायतका क्रिकेट स्टेडियम निर्माणका लागि रु ४२ करोड विनियोजन गरिएको छ ।
नेपाल चेम्बर अफ लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अर्थतन्त्रको दबाबकाबीच आएको बजेट राम्रो भएको बताउनुभयो । उहाँले बजेटमा अधिकांश राजस्वका दर यथावत रहनु, विशेष आर्थिक क्षेत्र(सेज) सञ्चालका लागि घोषणा गरिएका सुबिधाहरुले निजी क्षेत्रलाई राहत मिल्ने बजेट आएको बताउनुभयो ।

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ल्याइएका कार्यक्रम र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि सरकारले विगतमा घोषणा गरेका सहुलियतको निरन्तरता र अहिले घोषणा गरिएको सुविधाले विमानस्थल सञ्चालनमा आशा जगाएको बताउनुभयो ।

नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल भट्टराइले बजेटले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि घोषित कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । सिद्धबाबा सुरुङमार्ग, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, सेमलारमा अत्याधुनिक कृषि केन्द्रको निर्माण र बुटवल मेडिकल कलेजको निर्माणलगायतका आयोजनमा बजेटले सम्बोधन गरेकाले रुपन्देहीवासीका लागि उत्साहित हुने बजेट आएको उहाँको प्रतिक्रिया थियो ।

बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिनुभयो ।

“निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उहाँले भन्नुभयो, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको आम्दानी र खर्चको अवस्था हेर्दा दयनीय अवस्था छ ।”

निरन्तरतामा अहिलेको अर्थ व्यवस्था चल्न नसक्ने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले त्यसका लागि अर्थतन्त्रको ‘मोडालिटी’ नै बदलेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताउनुभयो । “अहिले त्यसमा जोड दिएको छैन । भन्सार र विप्रेषणमा होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था नगर्दासम्म विकासले गुणात्मक फड्को मार्न सक्दैन”, उहाँले भन्नुभयो ।

जनजीविकाका सवाललाई प्रस्तुत बजेटले सम्बोधन नगरेको उल्लेख गर्दै उहाँले स्वास्थ्य, शिक्षा, रोजगारी यस बजेटमा ठोस् रुपमा नसमेटिएको प्रतिक्रिया दिनुभयो ।

प्रतिनिधिसभा, अर्थसमिति सभापति सन्तोष चालिसेले भने बजेट उत्कृष्ट आएको प्रतिक्रिया दिनुभयो । “बजेट कार्यान्वयन कस्तो हुन्छ भन्नेमा सबैको चासो छ, समग्रमा कृषि र पर्यापर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर आएको बजेट युवा लक्षित छ । स्वास्थ्य क्षेत्र, रसायनिक मल, टनेलयातायात लागि समयसीमा तोकेर आएको बजेट राम्रो छ”, उहाँले भन्नुभयो ।

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास

दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो ।

जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने सहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन् र उनी कहिल्यै फेला परेकी छैनन् ।

उनकी आमा राक्वेल ‘केली’ स्मिथलाई सानी केटीलाई अपहरण गरेर बेचेको आरोपमा दोषी ठहर गरिएको छ । रिपोर्ट अनुसार उनले छोरीलाई २० हजार र्‍यान्ड (एक हजार एक सय डलर) मा बेचेकी थिइन् ।न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया स्मिथ र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाउनुभएको छ ।

ती सबैलाई अपहरणको आरोपमा समानान्तर रूपमा १० वर्षको जेल सजाय सुनाइएको छ ।“म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु”, इरास्मसले फैसला सुनाउनुभयो ।

स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन् ।उनकी छोरी बेपत्ता हुँदा उनी सुरुमा सहानुभूतिको पात्र बनेकी थिइन्, जसले देशव्यापी व्यापक खोजी अभियान चलाएको थियो ।

जोसलिनको आकर्षक हरियो आँखा, फराकिलो मुस्कान र खैरो चुल्ठोहरू देखाउने फोटोहरूले इन्टरनेटमा बाढी ल्याएको थियो ।यो मुद्दाले राष्ट्रिय ध्यानाकर्षण गरायो । यसमा एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्‍यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणा गरेका थिए ।

तर अभियोजकहरूले स्मिथले आफ्नी छोरीलाई एक पारम्परिक निको पार्ने व्यक्तिलाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो । त्यो व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे ।दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ ।

वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने

काठमाडौँ, १५ जेठः वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउने उल्लेख गरिएको हो । काठमाडौँ उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यसका लागि रु तीन अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वाग्मती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०/५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना गरे पनि अझै नदी सफा हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०५०/५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ ।

‘तराई–मधेसका २८० अधुरा खानेपानी आयोजना सम्पन्न गरिने’

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्षमा तराई–मधेसका २८० अधुरा खानेपानी आयोजना निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गर्ने सरकारको योजना छ । विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनःस्थापना गर्ने पनि सरकारको योजना छ । त्यसका लागि रु ४१ करोड विनियोजन गरिएको छ ।

सङ्घीय संसद्को संयक्त वैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै सबै नेपालीका लागि स्वच्छ एवं गुणस्तरीय खानेपानी उपलब्ध गराउँदै समुदायसँगको साझेदारीमा खानेपानी आपूर्ति दिगो व्यवस्थापन गरिने बताउनुभयो ।

“काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति प्रणालीलाई एकीकृत र व्यवस्थित गरिनेछ, यसका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र मेलम्ची खानेपानी विकास समितिलाई एकीकृत गरिनेछ”, बजेट वक्तव्यमा भनिएको छ ।

जलवायु परिवर्तनको असर, बढ्दो सहरीकरण र भूमिगत पानीको अत्यधिक दोहनबाट खानेपानीका परम्परागत मुहान सुकिरहेका सन्दर्भमा जलाशययुक्त खानेपानी आयोजना, भूमिगत पानीको स्रोतको पुनर्भरण र खानेपानी मुहानको पुनरोत्थान लगायतका कार्यक्रम सञ्चालन गर्ने तथा सङ्घ, प्रदेश, स्थानीय तह र समुदायको सहकार्यमा प्रशोधित खानेपानी उपलब्ध गराउन सात प्रदेशका सात सहरमा नमुना आयोजना सञ्चालन गर्ने सरकारको योजना छ । अर्थमन्त्री पौडेलले कारागारमा रहेका कैदीबन्दीलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिनेछ, सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिनेछ, काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ, यसका लागि रु ६ अर्ब ३७ करोड विनियोजन गरिएको छ ।”

जलवायु अनुकूलित खानेपानी आयोजनाअन्तर्गत १८४ आयोजना निर्माण गर्न रु तीन अर्ब ८५ करोड विनियोजन गरिएको छ । सुर्खेतको भेरी पम्पिङ खानेपानी आयोजना निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्न रु एक अर्ब ३२ करोड विनियोजन गरिएको छ । लिफ्ट प्रविधिबाट खानेपानी सेवा उपलब्ध गराउँदा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्नुका साथै सरकारले प्रमुख सहरहरूमा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रु एक अर्ब नौ करोड विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा ठूला खानेपानी आयोजना सम्पन्न भई ३७ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी सेवा उपलब्ध हुने र त्यसबाट ९८ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्ने सरकारको योजना छ । खानेपानी मन्त्रालयका लागि रु ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।

मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रूपमा विकास गर्ने

काठमाडौँ, १५ जेठः सरकारले सार्वजनिक सेवाको प्रभावकारिता बढाउन र विकासलाई नतिजामुखी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रूपमा विकास गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै नेपालको संविधानमा उल्लेखित सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार सूचीअनुरूप कार्य विस्तृतीकरण प्रतिवेदन पुनरावलोकन गरिने बताउनुभयो । तीन तहका कानुनबीच कार्यक्षेत्रगत तादत्म्यता र एकरूपता कायम गर्न मौजुदा कानुनमा सुधार गर्ने र उच्चस्तरीय शासकीय सुधार आयोगको मार्गदर्शनमा नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्ने सरकारको योजना छ ।

सङ्घीय निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिने भएको छ । त्यसबाट राष्ट्रसेवकको सेवा शर्तमा एकरूपता र वृत्तिविकासमा सुनिश्चितता कायम हुने सरकारको विश्वास छ ।

बजेट वक्तव्यमा भनिएको छ, “सार्वजनिक सेवामा विद्यमान सूचना प्रविधि प्रणालीबीच अन्तरआबद्धता कायम गरिनेछ । नागरिक एपको क्षमता विस्तार गरिनेछ, सार्वजनिक सेवालाई नागरिक एपमा आबद्ध गरी सरल, सहज र मितव्ययी बनाइनेछ । सबै सरकारी निकायका विद्युतीय सूचनालाई एकीकृत गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाइनेछ ।”

सार्वजनिक सेवा प्रवाहलाई सरल, पहुँचयोग्य र गुणस्तरीय बनाउन सूचना प्रविधिको उच्चतम् उपयोग गरिनेछ । बैंक, बिमा, दूरसञ्चार, धितोपत्रलगायत सबै प्रकारका सार्वजनिक तथा वित्तीय कारोबारमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने र राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सेवा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ । विद्युतीय माध्यमबाट नागरिकता वितरण गर्ने प्रबन्धलाई प्रभावकारी बनाउने सरकारको योजना छ ।

कर्मचारी सञ्चयकोषलगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा सुलभ आवास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । त्यस अन्तर्गत सातै प्रदेशका प्रमुख सहरी केन्द्रहरूमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर तथा किस्ताबन्दीमा उपलब्ध गराउने सरकारले व्यवस्था गरेको छ । मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्ने र त्यसको सुरूआत काठमाडौँ उपत्यकाबाट गर्ने सरकारको योजना छ ।

कोटिहोममा कृष्णराजले बजाए आठ मिनेट २५ सेकेण्ड शंख

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ ।
पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटिहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटिहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् । कोटीहोममा उदघोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश्वकै तेस्रो व्यक्ति भएका छन् ।
हालसम्म भारत त्रिपुरा राज्यको अम्वासाका सम्राट वसादले ५५ मिनेट २७ सेकेण्ड, भारतकै शम्भुकुमारले ५१ मिनेट ०३ सेकेण्ड लामो शंख बजाएका थिए । यस्तै भारतकै अनुज तिवारीले आठ मिनेट दुई सेकेण्ड लामो शंख बजाएर चौथो स्थानमा रहेको बताइन्छ ।

लामो शंखघोष गरेका अधिकारीलाई कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराज र अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाले सम्मान गरेका थिए । कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका छन् ।
प्रचारप्रसार संयोजक
लेखराज ढकालका अनुसार बिहीबार बिदाको दिन परेकाले दुई लाख भक्तजन सहभागी भए । कोटिहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटिहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् । कोटिहोममा आउने भक्तजन लिएर आजै साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा गाडी पोखरा भित्रिने आयोजकले जनाएको छ ।

कोटीहोममा बिहीबार अन्तर्राष्ट्रिय भागवत वाचिका देवी प्रतिभाको प्रवचनमा भक्तजन रमाए । शुक्रबारदेखि प्रवचनका लागि भागवत मञ्जरी राधिका दासी आउदैछिन् । उनी आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।

देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।

थापाका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

आन्दोलनमा आएका राजावादीहरु भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुले विहीबार काठमाडौंमा आयोजना गरेको आन्दोलन गणतन्त्र व्यवस्थाप्रतिको वितृष्णा भएको सहभागीहरुले बताएका छन् । बिहीबार काठमाडौँको विभिन्न स्थानबाट र्यालीसहित आन्दोलनमा सहभागी भएकाहरुले सरकारका कारण वाध्य भएर सडकमा आउनुपरेको बताए । उनीहरुले गणतन्त्र फाल्नका लागि सडकमा आएको प्रतिक्रिया दिए ।
आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए । उनले देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएको बताए ।
उनले ‘राज्यले नै उत्पादन गरेको आन्दोलन हो यो । हामी सडकमा आउने चाहना थिएन् । तर वर्तमान सरकारले बाध्य बनाएर सडकमा आएका हौं । देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएका हुन् ।’

त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधिनता भएको उल्लेख गर्दै गणतन्त्रले देश विगारेको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।

उनले भने, ‘राजतन्त्र हुँदा नेपाल थियो, नेपालको स्वाधिनता थियो । अहिले नेपाली विदेशिनु परेको छ । अहिले गणतन्त्रले देश विगारेको छ । गाँसवास कपासको लागि गाह्रो भएको छ । विद्यार्थीहरु १२ सक्किने वित्तिकै विदेशिन बाध्य छन् । त्यसैले गणतन्त्र फाल्नुपर्छ । राजा ल्याउन शुभ मुर्हत आइसकेको छ । नेपाली जनताले देखेका सपना पूरा हुनेछ ।’

त्यस्तै भक्तपुरका नानिराम लामिछानेले गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म साँस्कृति सबै नाश गरेको आरोप लगाए । यि सबै कुरा जिवित गर्न सडकमा आएको बताए ।

उनले भने,‘गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म संस्कृति सबै नाश भइसकेको छ । यि कुरा जिवित गर्नका लागि आन्दोलनमा आएका हौं । राजाका पालामा यस्तो थिएन् । अहिले अन्याय, अत्याचारले सीमा नाघिसकेको छ । यही आन्दोलनले राजतन्त्र पूर्नस्थापना हुन्छ ।’

बानेश्वरबाट सहभागी भएकी सस्मिता सुवेदीले हिन्दु धर्मको लागि एजेन्डा बोकेर सडकमा आएको सुनाइन् । उनले गणतन्त्रवादीहरुले दिएको दुःख, गरेको भ्रष्टचारका कारण नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताइन् ।

अर्का सहभागी सोमराज सिंहले गणतन्त्रको नाममा भ्रष्टतन्त्र मौलाएको बताए । अहिलेको गणतन्त्रले देशलाई बेचिसकेको आरोप लगाए ।

झापा विर्तामोडबाट आएका देवी काफ्लेले गणतन्त्रवादीहरुले जनतालाई सहि गणतन्त्रको परिभाषा दिएको भए नेपाली जनता सडकमा आउने अवस्था नहुने बताए । उनले विकासका नाममा लुटतन्त्र फैलिएको बताए ।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरुको संयुक्त प्रयास भएको आन्दोलनकारीको भनाइ थियो । प्रदर्शनमा सहभागीहरुले हिन्दु ‘राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन्’ लगायतका नारा लगाएका थिए ।

बजेटमा नयाँ के छ ?

काठमाडौँ, १५ जेठः आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समाती सकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वभाविक हो ।

आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमलाई राससले बुुँदागत रुपमा केलाएको छ ।
– प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ्यो ।
– आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत ।
– मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ।
– दुई वर्षभित्र चामलमा आत्मनिर्भर ।
– सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता ।
– वृद्धभत्ताको उमेर ७० वर्ष ।
– बाली लगाउने समयभन्दा १५ दिन अगावै समर्थन मूल्य तोक्ने व्यवस्था ।
– चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण ।
– आगामी आवभित्र पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा ।
– भूमि बाँझो राख्न नपाइने नीति, कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक ।
– सहकारीमा पाँच लाखसम्मको बचतको निक्षेप सुरक्षण ।
– सहकारी ऋण असुली न्यायाधिकरण स्थापना ।
– आगामी आर्थिक वर्षभित्र राज्य सुविधा परिचयपत्र ।
– दलित समुदाय लक्षित ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ ।
– विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई तीन वर्षको भाडा छुट, पुरानोलाई भाडा घटाइयो ।
– काठमाडौँ उपत्यकाभित्रका उद्योगलाई बाहिर सारिने ।
– नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने व्यवस्था ।
– आगामी एक वर्षभित्र सात खर्ब बराबरको परियोजना विकास सम्झौता र चार खर्बको आयोजना निर्माण थालनी
– नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति ।
– निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशत विदेशमा लगानी गर्न पाउने ।
– नेपाली नागरिकले विदेशी कम्पनीको श्वेट शेयर लिन पाउने व्यवस्था ।
– दैलेखको पेट्रोलियम खानीको व्यवसायिक उत्पादन ।
– खानीजन्य वस्तुसँग सम्बन्धित अन्तरराष्ट्रिय सम्मेलन आयोजना ।
– पेट्रोलमा वायोइथानोल मिश्रण नीति ।
– सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार ।
– होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकरमा छुट ।
– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने ।
– निजगढ विमानस्थल निर्माण अघि बढाइने ।
– सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माण ।
– अर्घाखाँचीमा पाणिनि ज्ञान उद्यान निर्माण ।
– आगामी मंसिरदेखि ४० माईक्रोनभन्दा पातलो प्लास्टिक प्रयोग बन्द ।
– डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा ।
– नेपालको भू–उपग्रह स्थापनाको आधार तयार पारिने ।
– चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण ।
– रोजगार पोर्टल सञ्चालन ।
– ‘अन द जब’ र र ‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन ।
– सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम ।
– विद्यालय गाभ्ने नीति, शिक्षक दरबन्दी पुनरावलोकन ।
– शिक्षक बैंकको स्थापना ।
– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन ।
– स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी ।
– सबै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार ।
– सबै प्रदेशको कम्तीमा एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग ।
– १६ वर्षभन्दा माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र ।
– हरेक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन ।
– सार्वजनिक क्षेत्रका कार्यकारी पदमा कम्तीमा ३३ प्रतिशत महिला
– हिंसापीडित महिलाका लागि मधेस, सुदूरपश्चिम र काठमाडौँमा पुनस्र्थापना केन्द्र
– हरके वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।
– दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको सबै काम सक्ने ।
– ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन ।
– आगामी आवभित्र नागढुङ्गा र सिद्धबाबा सुरूङ निर्माण सम्पन्न ।
– काठमाडौँ–हेटौँडा रोपवेको विकल्पमा पोडवेको सम्भाव्यता अध्ययन ।
– पूर्व–पश्चिम रेलमार्ग निर्माण विस्तृत सम्भाव्यता अध्ययन ।
– एक वर्षभित्र काठमाडौँ–केरुङ रेलमार्गको डिपिआर ।
– आर्थिक वर्ष २०८२÷८३ भित्र ‘नियो बैंक’ स्थापना गरिने ।
– सशस्त्र द्वन्द्वका घटनाहरुको छानबिन, राहत र परिपुरणका लागि रु एक अर्बको कोष स्थापना ।
– करार सेवाका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ।

विपद्पछिको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठः सरकारले विपद्पछिको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन भएको जानकारी दिनुभयो ।

यसैगरी उहाँले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने उल्लेख गर्नुभयो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेसमेत जानकारी दिनुभएको छ ।

“प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ”, उहाँले भन्नुभयो, “बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ । साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइनेछ ।”

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।

बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा नागरिकको सुरक्षित आवासको संवैधानिक हकको प्रत्याभूति गरिने र सहरी विकासलाई उत्पादन वृद्धि, व्यवसाय विस्तार र रोजगारीका अवसरसँग आबद्ध गरिने बताए ।

“सामूहिक आवास विकासका लागि जग्गा प्राप्ति र वित्तीय पँहुच उपलब्ध गराइनेछ । निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण र सम्भाव्यताका आधारमा जग्गा एकीकरण र सुपथ मूल्यका आवास विकास गरिनेछ”, मन्त्री पौडेलले भने, “स्मार्टसिटी र इको भिलेजअनुरूपका पूर्वाधार निर्माण गर्न अध्ययन तथा जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिनेछ । बस्तीको मौलिक स्वरूप र स्थानीय वास्तुकलाको प्रवद्र्धन गरिनेछ । देशभरका ५० बस्तीहरूको संरक्षण र पूर्वाधार सुधारका लागि बजेटको व्यवस्था गरेको छु ।”

निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित सहर विकास गरिनेछ । काठमाडौँ उपत्यकाको इशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

काठमाडौँ उपत्यकालगायत प्रमुख सहरहरूको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गरिने छ ।

काठमाडौँको शङ्खरापुरमा जहरसिंहपौवा स्टेडियम र गणेशमानसिंह पार्क तथा बूढानीलकण्ठ–गोकर्णेश्वरमा मदनभण्डारी बहुउद्देश्यीय पार्कको निर्माण सुरू गरिनेछ । तनहुँको चुदी रम्घामा भानु साहित्य उद्यान निर्माण गरिने र काठमाडौँको भृकुटीमण्डपमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने उनले बताए ।

“नवलपरासीपूर्वको जिल्ला सदरमुकाममा पूर्वाधार निर्माणकालागि ८० करोड विनियोजन गरेको छु । स्थानीय तहका निर्माणाधीन १२९ प्रशासकीय भवन सम्पन्न गर्न एक अर्ब विनियोजन गरेको छु”, मन्त्री पौडेलले भने, “आगामी वर्ष सङ्घीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ । पुरातात्यिवक महत्त्वका शितल निवास, हरिहरभवन, श्रीमहल र ग्यालरी बैठकको पुनःनिर्माण गरिनेछ ।”

स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा, मल, ब्रिकेटलगायतका सामग्री उत्पादन गरिने र बागमतीलगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका करिडोर सडक विस्तार गर्दै लगिने योजना छ । यसका लागि रु तीन अर्ब ४२ करोड विनियोजन गरिएको छ ।

“मध्यपहाडी पुष्पलाल राजमार्गका प्रमुख १० स्थानमा नयाँ सहर निर्माण अघि बढाउन एक अर्ब ७० करोड विनियोजन गरेको छु । देशभरका विभिन्न सहरी पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु पाँच अर्ब ३६ करोड विनियोजन गरेको छु, साथै स्थानीय पुल तथा झोलुङ्गे पुल निर्माणका लागि रु आठ अर्ब ९० करोड विनियोजन गरेको छु”, उनले भने, “नगर विकास कोषको पुनःसंरचना गरी लगानी क्षमता अभिवृद्धि गरिनेछ । तराई–मधेस समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिन रु एक अर्ब दुई करोड विनियोजन गरेको छु ।”

जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षित नागरिक आवासअन्तर्गत पाँच हजार घरको फुसको छानो विस्थापन गर्न रु ७५ करोड विनियोजन भएको छ । यसैगरी आर्थिक वर्ष २०८२/८३ मा ७२७ किलोमिटर सहरी तथा ग्रामीण सडक कालोपत्र तथा स्तरोन्नति, ४६ स्थानीय सडक पुल र २०० झोलुङ्गे पुल निर्माण सम्पन्न गरिने योजना छ ।

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनुभएको छ ।“स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।”

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।

“बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअप, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन् : सांसद वाग्ले

काठमाडौं । रास्वका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए ।

उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ । तर यो पनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन् । अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ ।