`

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान (सुनसरी), १७ जेठः अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो ।

सडक अबरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।

चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १७ जेठ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनिका ४० प्रतिशत र ३० वर्ष मुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गर्नुभएको हो । उहाँले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पजि जोड दिनुुभयो ।

अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुुकभन्दा अग्रगामी रुपमा आफूूलाई उभ्याएको स्पष्ट गर्नुभयो ।

मिसन २०८४ को अभियानमा जुट्न महिला वर्गलाई आव्हान गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुुमतको पार्टीका रुपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना

काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

प्रेम वियोगमा रहेकी युवतीको प्रेमगाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्।आफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ। सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्। गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन्।नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा क्रियाशीलता देखाइरहेकी छन्।उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौं जस्ता गीत चर्चामा छन्। सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन्।

मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ सरकारको तयारी ?

इटहरी । शुक्रबारदेखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ।निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ। प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन्।

धनकुटामा कोशी लोकमार्ग १०० मिटर बग्यो

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झण्डै १०० मिटर सडक भाग बगाएको छ। शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहँदा खोलाले सडक नै बगाएपछि सवारी आवागमन ठप्प भएको छ।

यातायात अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ आउने तथा जाने सवारीसाधन रोकिएका छन्। शनिवारकै दिन शिक्षक सेवा आयोगको परीक्षा रहेका कारण सयौं परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी अलपत्र परेका छन्। केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्याएको थियो।

मोरङमा केशलिया खोलाको जोखिम, बस्तीमा त्रास

मोरङ जिल्लाको विराटनगर–१२ मा पर्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारिदिएको छ। स्थानीयवासीहरूका अनुसार खोलामा अस्थायी तटबन्ध निर्माण भए पनि खोलामा आएको अत्याधिक पानीले त्यसलाई समेत काट्दै बस्तीमा पस्ने खतरा बढेको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले केशलियमा ठेकेदारको लापरवाही प्रमुख कारण भएको आरोप लगाएका छन्। उनले आयोजना अनुगमनमा खटिएका अधिकृत र ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन्।

झापामा एसियन हाइवेको निर्माणाधीन डाइभर्सन बगाएपछि यातायात प्रभावित

झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन—कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र एनिमल अन्डरपास क्षेत्र (चारआली)—मा आएको बाढीले संरचना बगाएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार ती डाइभर्सनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पूर्व–पश्चिम लोकमार्गको पूर्वी खण्डमा यातायात प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक आवागमनमा समस्या भएको छ।

सुनसरीमा चतरादेखि बराहक्षेत्र जोड्ने सडकमा पहिरो

सुनसरी जिल्लाको चतरा–बराहक्षेत्र सडकमा पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस मार्गमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र पर्यटकहरूलाई कठिनाइ भएको छ।

सरकारको तयारी के छ ?

कोशी प्रदेश सरकारका अनुसार मनसुन सुरु हुनुअघि नै बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी नकसाङकन अनुसार थालिएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, ‘विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ। स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइन्छ।’

भण्डारीका अनुसार, अघिल्ला वर्षमा विपद् व्यवस्थापनका लागि प्रशासनिक खर्चबाट रकम व्यवस्थापन गर्नुपर्ने बाध्यताले काममा ढिलाइ भएको हो। ‘तर, अब आगामी वर्षदेखि नै योजना अनुसार पूर्वतयारी हुन्छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

राजतन्त्रमा विकास र सुशासन नभएकाले जनताले लडेर गणतन्त्र ल्याए, अब पछाडि फर्कन सम्भव छैन: प्रधानमन्त्री

काठमाडौँ, १७ जेठः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ सुदृढ बनाउनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता सङ्घसङ्गठन खुल्ने स्थिति थिएन । अहिले तपाईँहरु पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ ।”, विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही जेठ १५ गते हामीले गणतन्त्र उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । लोकतन्त्रमा विरोध गर्ने उनीहरुको अधिकार हो । राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । ”

प्रधानमन्त्री ओलीले करिब दुई सय४० वर्ष राजतन्त्रात्मक शासन व्यवस्थामा देशको अवस्था र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कालमा राष्ट्रमा भएका प्रगति र परिवर्तनका मनन गर्न आग्रह गर्नुभयो । आफूविरुद्ध अशिष्टतापूर्वक अभिव्यक्ति दिनेहरुले विगतलाई बिर्सन नहुने उहाँको अभिमत थियो ।

गणतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको दायित्व भएको दोहो¥याउँदै प्रधानमन्त्रीले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षार्थ एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले “प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन”, भन्नुभयो ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवालाई सरकारले प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक बिरामी नपरुन् भन्नेतर्फ आफ्नो ध्यान गएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला बिरामी हुन नदिनेतर्फ लाग्नुपर्छ । सस्तो र सजिलोसँग कसरी स्तरीय उपचार दिन सकिन्छ भन्ने भावनाका साथ काम गर्न स्वाथ्यकर्मी सधै दत्तचित्त रहनुपर्छ ।”

चिकित्सा विज्ञानका कारण असाध्य रोगको पनि उपचार सम्भव भएको तथा आरोग्यतर्फ यसले मानवलाई उन्मुख गराएको वास्तविकता सुनाउँदै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग जोडिएकाले स्वास्थ्यकर्मीलाई आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख नहुन अनुरोध गर्नुुभयो ।

“भगवान्मा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन परिस्थितिमा पनि बिरामीलाई बचाएको देखेको छु । त्यस कारण म भन्छु, ‘डक्टरर्स आर ग्रेट’ । आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा निरोधात्मक उपायतर्फ लाग्नुर्छ । यसमा महासङ्घले सक्रिय भूमिका निर्वाह गरोस् भन्ने मेरो कामना छ”, चिकित्सक र चिकित्सा क्षेत्रको महत्ता दर्शाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै महासंघ र विश्वविद्यालय बीच पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यताका विषयमा थप छलफल गर्ने समझदारी भएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
“उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौं । ” उहाँले भन्नुभयो ।

विश्वविद्यालका कुलपति डा. विन्दुनाथ लोहनीले यो सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो ।” डा. लोहनीले भन्नुभयो ।

यस्तै विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरिय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसंगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

सो अवसरमा दुवै पक्षले संयुक्त अनुसन्धान र नवप्रवर्तन,उद्यमशीलता विकास विद्यार्थीको इन्टर्नशिप र रोजगारीका अवसरहरू सिर्जना जस्ता विषयमा सहकार्य गर्न सकिने कुरामा जोड दिएका थिए ।

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

धनकुटा, १७ जेठ : आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिनुभयो ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

भद्रपुर । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।’

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

खोटाङ, १७ जेठ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ ।

बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी सरकारले यही जेठ–१५ गते प्रस्तुत गरेको बजेटमा समावेश गरेको हो । एमाले नेता विशाल भट्टराईले भन्नुभयो, “दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भए पनि बजेट अभावका कारण निर्धारण हुन सकेको थिएन । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ । अब मुआब्जा निर्धारण गरेर जग्गाधनीलाई वितरण गर्नेगरी काम अघि बढ्छ । यो जिल्लावासीको लागि खुसीको कुरा हो ।”

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गरिने बहुउद्देश्यीय जलविद्युत् आयोजनाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा नेपाल सरकार र लगानीकर्ताबीच सहमति जुटाइएको थियो । करिब ४२ वर्षअघि अध्ययन गरेर सुरू गरिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एसियाली विकास बैंक (एडिबी) लगायतका वित्तीय संस्थाले लगानी गर्ने जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब २५ हजार रोपनी जग्गा प्राप्ति (अधिग्रहण)को प्रक्रिया अघि बढाइएको छ । जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक व्यक्तिको नाममा रहेको करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

बजेट अभावका कारण व्यक्तिको नाममा रहेको जग्गाको मुआब्जा लामो समयसम्म निर्धारण नहुँदा जलविद्युत् आयोजना नै के हुने भन्ने जिल्लावासीमा चिन्ता बढ्दै गएको थियो । मुआब्जा निर्धारण नभए पनि जलविद्युत् आयोजनाबाट प्रभावित हुने जग्गाको किनबेचमा भने, नेपाल सरकारले रोक लगाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । सरकारको राष्ट्रिय गौरवको आयोजनाकोरूपमा रहेको दूधकोशी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारणका लागि रायसुझाव लिन बसेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड निकालेको छ ।

जलविद्युत् आयोजनाका लागि खोटाङतर्फको जग्गा विसं २०७८ असार २३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि विसं २०७८ फागुन २३ गते सूचना प्रकाशित गरेको थियो । जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको तर्फबाट मूल्य निर्धारण समिति र उपसमितिलाई यसअघि नै राय दिइसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । “जग्गाको अन्तिम मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा पुस्तौँदेखि अरूको जग्गा कमाएर बसेका र प्रभावित क्षेत्रमै अरूको जग्गामा ३० देखि ४० वर्षदेखि घरटहरा बनाएर बसिरहेका छन् । उनीहरूको पुनःस्थापनाको विषयले पनि मूल्य निर्धारणमा अलमल गराएको छ । लामीडाँडाको रभुँवाघाटमा वर्षौँदेखि माझी समुदायको ठूलो सङ्ख्यामा बसोबास छ । उनीहरूका लागि उचित ठाउँमा पुनर्वासका स्थानान्तरण गर्नसमेत सम्बन्धित निकायसमक्ष स्थानीय सरकारको तर्फबाट माग गरेका छौँ ।”

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका क्रममा १६२ घरपरिवार पूर्णरूपमा विस्थापित हुने र ९८८ परिवार आंशिक प्रभावित हुने प्रारम्भिक गरिएको छ । बहुवर्षे आयोजनाका रूपमा अगाडि बढाइएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा फर्ने जनाइएको छ ।

खोटाङको लामीडाँडास्थित रभुँवाघाटमा २२० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरूङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाएर जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै जलाशयमा डुङ्गा सयर, माछापालन तथा तीन जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । दूधकोशी जलाशयमा त्रिधार्मिकस्थल हलेसी तथा सर्वोच्च शिखर सगरमाथा आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ ।

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने

काठमाडौं । नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ ।

तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए ।
प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको छ । आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्छ ।

पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ । आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ । नेपालको ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भैसकेको छ । नेपाल ‘बी’ टिमको टुङ्गो भने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

व्यक्तिगत तर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन् । त्यस्तै बंगलादेश तथा भुटानबाट २, २ जना खेलाडीको सहभागिता रहनेछ । नेपाली खेलाडीहरुमा कोशी र गण्डकी प्रदेशबाट ६,६ जना खेलाडी छनौट भएर दर्ता भएका छन् । अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव दिपक आचार्यले बताए ।

व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ । सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ । यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्र्फ याङ्किङ ९डब्लुएजीआर० द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूर्ले याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।

विशेषगरी युवा खेलाडीहरूलाई प्रोत्साहन र उनीहरूको विश्व वरियताको लागि यो प्रतियोगिता महत्वपुर्ण रहने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बताए । घलेले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रायोजकहरू र समर्थकहरूलाई आभार व्यक्त गरे ।

‘अब ११औं संस्करणमा प्रवेश गरेको नेपाल एमेच्योर ओपनले नेपाल र दक्षिण एसियामा युवा विकास प्रवद्र्धन र एमेच्योर गल्फको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेकै छ ।’

उनले थपे,प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।

कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ ।

कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।

उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।

सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भएको बताए ।

‘देवी प्रतिभा जसको बारेमा जसले जति लेखे पनि कमै हुन्छ, सर्वगुणले भरिपूर्ण हुनुहुन्छ, उहाँका प्रत्येक वाणी अमृत सरह हुन्छ ।’ उनले प्रशंसा गरे ।

‘देवी प्रतिभाले भारतमा कैयौँ कार्यक्रम छाडेर, ४५ घण्टा भन्दा लामो यात्रा गरेर पोखरा आउनु भयो, यो जत्तिको महत्वपूर्ण अन्य केही हुन सक्दैन,’ महाराजले भने, ‘देवी प्रतिभा र राधिका दासी मेरा दुई नयन हुनुहुन्छ ।’

उनले भावकु हुँदै थपे, ‘बिदाई शब्द सुन्नै चाहन्न तर बाध्यताले नै बिदाईका लागि म मञ्चमा उभिइरहेको छ, मेरा गोडा लगलग कापिरहेका छन् ।’ महाराजजीले यसो भनिरहँदा देवी प्रतिभाका आँखाबाट बर्बर्ती आँसु खसिरहेका थिए ।

महाराजजीले नेपालको सात वटै प्रदेशमा कोटीहोम सञ्चालन गर्ने उद्घोष गरे । कोटीहोममा देवी प्रतिभाको यो सहभागिता दोस्रो हो । उनले यसअघि पनि १४ दिनसम्म प्रवचन दिएकी थिइन् ।

उनको बिदाईमा ‘देवीजी दोस्रो चोटी पोखरा आउनु भो, हामीलाई मोहनी लाउनुभो’ जस्ता संगीतमय गीत प्रस्तुत गरिएको थियो । गीतमार्फत नै पोखरेलीलाई कहिल्यै नभुल्न देवीसँग आग्रह गरिएको थियो । देवीको टिममा सहभागी सबैलाई सम्मानसहित बिदाई गरिएको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १७ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ६५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ५०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु २८०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकेजी रु ५५, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ९०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ८० आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

कोटिहोममा विद्यार्थीको भीड : शिक्षकहरु भन्छन् – धर्म र संस्कृति बुझाउने मौका मिल्यो

काठमाडौं । पोखराम जारी गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा श्रवणको लागि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको छ ।हिन्दु सनातन धर्म, वैदिक परम्परा संस्कृति आदी विविध विषयमा जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई कोटिहोमको अवलोकनमा लगेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।

छोरेपाटन माध्यम विद्यालयको शिक्षा संघको अध्यक्ष इन्द्र बहादर खत्रीले विद्यालयमा जम्मा दुई हजार तीन सय विद्यार्थी रहेको भन्दै त्यसमध्य एक हजारभन्दा माथि विद्यार्थीलाई कोटिहोममा ल्याएर दर्शन गराइसकेको जानकारी दिए ।
हिन्दु धर्ममाथि विभिन्न प्रहारहरु भइरहेको अवस्थामा युवाहरुले हिन्दु धर्मलाई संरक्षण कसरी गर्ने, धर्ममा के छ भन्ने कुरा बुझाउने मूल उद्देश्यले विद्यार्थीहरुलाई कोटिहोममा ल्याइएको उनले जानकारी दिए ।

उनले भने,‘हामीसँग लगभग दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा एक हजारभन्दा माथि विद्यार्थीलाई यहाँ ल्याएर दर्शन गराइसकेको छौं । अरुलाई पनि यो पूण्य भूमिमा ल्याएर हिन्दु धर्मको संरक्षणको लागि र हिन्दु धर्ममाथि विभिन्न प्रहारहरु भइरहेको अवस्थामा धर्मलाई संरक्षण कसरी गर्ने भन्ने विषयमा बुझाउने उद्देश्यले अवलोकन गराइएको हो ।’

यस्तै, सब्लाइम माध्यमिक विद्यालयका शिक्षक कमलपति शर्माले कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई ऐतिहासिक कोटिहोममा हिन्दु सनातन धर्म वैदिक परम्परा संस्कृति आदी विविध विषयमा जानकारी गराउने उद्देश्यले कोटिहोममा ल्याएको बताए ।आफ्नो संस्कारलाई जोगाउनको लागि पनि गण्डकी कोटिहोममा विद्यार्थीहरुलाई ल्याएर जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले आएको उनले सुनाए ।

उनले भने,कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई ऐतिहासिक कोटिहोममा हिन्दु सनातन धर्म वैदिक परम्परा संस्कृति आदी विविध विषयमा आफ्नै प्रदेशमा आयोजना भएको पून्य कामका बारेमा जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई लिएर आएका हौं । व्यवहारिक रुपमा उहाँहरुलाई यहाँ ल्याएर देखाउनुपर्यो । हाम्रो धर्म, संस्कृति, संस्कार, परम्परा, रितिरिवाजको कसरी संरक्षण गर्नुपर्छ, सनातन धर्ममाथि कसरी प्रहारहरु हुँदै आइरहेको छ,आफ्नो संस्कारलाई कसरी जोगाउने भन्ने विषयलगायतका बारेमा बुझाउन कोटिहोममा विद्यार्थीहरुलाई स्थलगत भ्रमण गराउँदा ज्ञान प्राप्त हुने उद्देश्यले केही समय कथा सुनाउन ल्याएका हौं ।’

त्यस्तै, उनले कोटिहोम गण्डकी प्रदेशमा मात्र नभइ पूर्वीय वैदिक सनातन धर्मको रक्षाको लागि एकदमै उत्कृष्ट रहेको बताए । उनले पछिल्लो समय युवाहरुमा आफ्नो धर्म र संस्कृतिप्रति लगाब कम हुँदै गएको गुनासो गरे । पश्चिमी संस्कृतिकोप्रभाव युवाहरुमा देखिरहेको भन्दै यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई भ्रमण गराउने, धर्म संस्कृति एवम परम्पराबारे आकर्षित गर्न अग्रजहरुले अभिभावकत्व गर्नुपर्ने पनि उनको भनाइ छ ।

उनले भने,‘कोटिहोम गण्डकी प्रदेशमा मात्र नभइ पूर्वीय वैदिक सनातन धर्मको रक्षाको लागि एकदमै उत्कृष्ट छ । आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजयकृष्ण मूर्तिप्रति आभार व्यक्त गर्दछु । उहाँले विभिन्न राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका कथावाचकहरु ल्याउनुभएको छ । पछिल्लो समय युवाहरुमा आफ्नो धर्म र संस्कृतिप्रति कम लगाब भएको जस्तो देखिएकाले कथा श्रवण आवश्यक पनि छ । पश्चिमी संस्कृतिको प्रभाव बढ्ने भएकाले आफ्नो भन्दापनि अरुको देखासिखी गर्ने प्रवृत्ति मौलाएको छ । त्यसैले यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई ल्याउने र धर्म संस्कृति एवम परम्पराबारे आकर्षित गर्नुपर्छ ।’

त्यस्तै , माउन्ट अन्नपूर्ण माध्यममिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थी एलिना घिमिरे युवा पीढिहरुले आफ्नो संस्कृतिलाई विर्सिसकेको टिप्पणी गरिन् । त्यसैले कोटिहोमले गर्दा आफूहरुले आफ्नो संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने अवसर पाएको उनको बुझाई छ । यस्तो महायज्ञले युवा पीढिलाई आफ्नो संस्कृति भुल्न नदिने भन्दै आयोजकलाई धन्यवाद दिइन् ।

पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन पहल

काभ्रेपलाञ्चोक- यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन पुनः सरोकारवालाबीच छलफल गरिएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पनौती नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्रालयका अधिकारी, नगरका प्रतिनिधि, सम्पदा विज्ञ, समुदायका अगुवालगायत सरोकारवाला निकायबीच थप अर्को चरणमा छलफल गरिएको हो ।

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास वर्षौँदेखि भइरहे पनि विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल हुन नसकेको पनौती नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता आवश्यक भएको उहाँले बताउनुभयो । मन्त्रालयका संस्कृति महाशाखाका सहसचिव डा सुरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्व सम्पदा महासन्धी, कार्य सञ्चालन निर्देशिका, सम्भावित सम्पदाको सूचीमा नाम लेखाउने प्रक्रिया, मनोनयन तथा सूचीकरण प्रक्रिया, खतरामा परेका सम्पदाको सूची र संरक्षित स्मारक क्षेत्रका अवधारणालगायतका महत्वपूर्ण विषयमा जानकारी गराउनुभएको थियो ।

छलफलमा सहभागीबीच पनौतीको साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका पक्षलाई आधार बनाएर त्यसलाई युनेस्कोको सूचीमा सूचीकृत गराउने रणनीतिबारे विस्तृत विचार विमर्शसमेत भएको छ । पनौतीको समग्र सम्पदा व्यवस्थापन, संरक्षण, अभिलेखीकरण र प्रवर्द्धनमा सरोकारवाला निकायबीच सहकार्य र दीर्घकालीन योजनाको खाँचो रहेको छलफलले निष्कर्ष निकालेको छ । विशेष गरी पनौतीको वडा नं ७ ९बजार क्षेत्र०लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग ९युनेस्को०को मापदण्ड पुरा गर्ने कार्यमा लागिरहेको नगरले जनाएको छ ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारीअन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक प्रक्रियासमेत भइरहेको जनाइएको छ । यूनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभागहुँदै यूनस्कोमा पठाइने भण्डारीले बताउनुभयो । “नगरद्वारा ब्यवस्थापकीय तयारी गरिरहेको छ, केही समेमा उक्त तयारी सकेपछि सूचीकृतका लागि ‘फाइल’ यूनेस्को पठाउने छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्ने÷नसक्ने बारे स्थानीयस्तरमा छलफलको तयारीसमेत गरिएको छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य विसं २०७९ मा अघि बढाइएपछि युनेस्कोको नेपालप्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पूराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । नेपालस्थित मन्त्रीपरिषद्को निर्णयपछि यूनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगरद्वारा साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे ९घरबास० सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने ९जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर०धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख यूनेस्कोको तत्वावधानमा हुने नीति छ ।

यूनेस्कोको नेपालस्थित निकायले विसं २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता जनप्रतिनिधि तथा सरोकारवालाको वेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको जनाइयो । पुरातत्व विभागद्वारा पनौती नगरका ए्तिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माणसमेत भइसकेको छ ।

पनौती नगरको वडा नं ५, ६ र ७ नंवरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका ९उपत्यका सात क्षेत्र ः काठमाडाँै दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर०, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ ।

ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्च अदालतद्वारा अनुमति

अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ।यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘प्यारोल’ कार्यक्रम (अध्यागमन हिरासतबाट रिहाइ) अन्तर्गत अमेरिका बस्दै आएका करिब पाँच लाख ३२ हजार व्यक्तिलाई देश निकालाको जोखिममा पारेको छ ।

प्यारोल कार्यक्रमले ‘मानव अधिकारको गम्भीर समस्या भएका’ चार देशबाट प्रति महिना ३० हजार आप्रवासीहरूलाई दुई वर्षका लागि संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न अनुमति दिएको थियो ।राष्ट्रपति ट्रम्पले आप्रवासनमा कडा अडान लिएपछि उहाँको प्रशासनले यस महिनाको सुरुमा सर्वोच्च अदालतसम्म पुगेको कानुनी लडाईंमा ती सुरक्षाहरू उल्टाउन कदम चालेको छ ।

सरकारले सर्वोच्च अदालतलाई मानवीय सुरक्षा समाप्त गर्नबाट रोक्न तल्लो अदालतको आदेश हटाउन आग्रह गरेको थियो।
अमेरिकी परम्परावादी समूहको प्रभुत्व भएको अदालतको आदेश अहस्ताक्षरित र व्याख्यारहित रहेको छ र आदेशमा तल्लो अदालतको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

न्यायाधीशद्वय केतनजी ब्राउन ज्याकन र सोनिया सोटोमायोर, ले आदेशमा असहमति जनाउँदै करिब पाँच लाख गैरनागरिकको जीवन र जीविकोपार्जन मासिने गरी आएको निर्णयले विनाशकारी परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

उनीहरूले लेखेका छन्, “अदालतले आज यो मूल्याङ्कनलाई स्पष्ट रूपमा असफल बनाएको छ।”आप्रवासीहरूले अहिले दुइटा असहनीय विकल्पहरूको सामना गर्नुपर्नेछ । पहिलो विकल्प अनुसार, उनीहरूले संयुक्त राज्य अमेरिका छोड्ने निर्णय गर्न सक्छन् र यसरी उनीहरूले ‘आफ्नो देशमा खतराहरूको सामना गर्न सक्छन् अर्थात् विनाशकारी ‘पारिवारिक अलगाव’ को अनुभव गर्न सक्छन् र सम्भवतः उनीहरूको दाबीको आधारमा उपचारको कुनै पनि न्यायको मौका पाउने छैनन्

दोस्रो विकल्पमा उनीहरू संयुक्त राज्य अमेरिकामा रहेर सरकारी अधिकारीहरूको हातबाट निष्कासित हुने जोखिमको सामना गर्नुपर्नेछ । आप्रवासीको दर्जा खारेज गर्न प्रशासनलाई रोक लगाउने तल्लो अदालतले अध्यागमन कानुनको त्रुटिपूर्ण व्याख्यामा काम भइरहेको तर्क गरेको थियो ।

ट्रम्पले ह्वाइट हाउसका लागि लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने वाचाका साथ चुनाबी प्रचारलाई सशक्त गर्नुभएको थियो । उहाँले भेनेजुएलाका सयौँ कथित गिरोहका सदस्यलाई एल साल्भाडोरको जेलमा पु¥याउन युद्धकालीन अस्पष्ट कानुनको प्रयोग गर्नुभएको छ ।

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन, १७ जेठ : लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ ।

यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उहाँले भन्नुभयो, “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।”

पोखरेलले चर्काे गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताउनुभयो । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उहाँ बताउनुहुन्छ । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।

पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उहाँ बताउनुहुन्छ ।

अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताउनुभयो ।

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

वीरेन्द्रनगर (सुर्खेत), १७ जेठः ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुले तालको नाम जनजनका मनमनमा पुगेको थियो ।

अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुले तालबारे जानकारी दिने अवस्था पनि थिएन । तर रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो । एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो । यो गीतले सुर्खेत र बुलबुले ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला । त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुले ताल सुरुको नम्बरमा हुन्छ ।

करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुले ताललाई लिएर कैयौँ गीत बने । विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो । तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुले उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ ।

विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुले तालको विशेष संरक्षण सुरु गरिएको थियो । सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुंगीको बासस्थान पनि हो । अझै पनि मानिसहरु नुहाउन र कपडा धुनका लागि बुलबुले गर्दै जमिन मुनीबाट आउने पानीमै निर्भर छन् ।

वीरेन्द्र्रनगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)का अनुसार बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ । “बुलबुले ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरुले पनि बुलबुले ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुले ताल पुग्छन्”, उहाँले भन्नुभयो ।

बुलबुले तालमा मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुले तालमा आश्रित भइ आम्दानी गर्नेहरुको संख्या पनि बढेको छ । नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले रु २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ ।

“पहिलो बुलबुले ताल परिसरमा जानेहरुसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक रु १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक रु १२ लाख आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरु बढेका छन्, यसबाट कैयौँ युवाहरुका लागि रोजगारी पनि सृजना भएको छ ।” मोटरबोट सञ्चालनमा आएपछि तस्बिर खिच्नकै लागि १० देखि १५ जना युवाहरु क्यामरा बोकेर दिनभरी बुलबुले परिसरमै बस्छन्, उनीहरुका ग्राहक बुलबुले आउने पर्यटक बनेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुले पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ । बुलबुले ताल हेर्न आउनेहरु एतिहासिक काक्रेविहार, लाटिकोइली देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन् । यहाँका मानिसका लागि पहिले समय बिताउनका लागि कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुले उद्यानमा घण्टौ बिताउन मिल्ने अवस्था बनेको छ ।

जमिन मुनीबाट बुलबुले गर्दै पानी आउने भएकाले यसको नाम बुलबुले ताल रहनगएको यहाँका जानकार बताउँछन् । मानिसहरु यही पानीमा नुहाउन र कपडा धुन थाले । पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो । मानिसहरु यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो । संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो । झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो । सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन ।

नगरप्रमुख ढकाल बुलबुले उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउनुहुन्छ । अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ । यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उहाँको विश्वास छ ।

संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुले ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाउनुभएको थियो । उहाँले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गर्नुभयो । उहाँहरुबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए ।

“सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन”, उहाँले सुरुआती दिन सम्झँदै भन्नुभयो, “केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फु¥यो ।” तालमाा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उहाँको भनाइ छ ।

सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रुपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ । यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ । “सहर नजिकै भएर पनि होला, मानिसहरुका लागि यो रिफ्रेस हुनका लागि उपयुक्त गन्तव्य बनेको छ, अहिले हरेक दिन घुम्न, रमाउन, तस्बिर लिन, व्यापार गर्न तथा अध्ययन गर्नका लागि आउनेको संख्या बाक्लो हुँदै गएको छ”, ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो । “ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरुआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ”, ढकालले भन्नुभयो ।

बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ । तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ ।

नगरपालिकाले बुलबुले तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो । पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ ।

सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुले ताल सफाइ गरी मोटबोट सुरु भएपछि मानिसहरुका लागि गन्तव्य बन्दै गएको बताउनुभयो ।

“सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरुको संख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ, मानिसहरुलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुले तालले पूरा गरेको छ”, उहाँले भन्नुभयो, “पहिले ताल सफा नहुँदा निकै कम मानिसहरु मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्, एक प्रकारले भन्दा बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ ।”

मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन बाहिरबाट आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको उहाँको बुझाइ छ । उहाँका अनुसार कर्णालीको गेटवे मात्रै नभइ प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरुको चहलपहल भइरहन्छ, उनीहरुका लागि बुलबुले ताल जस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ ।

“विगतमा पनि ताल संरक्षणका लागि प्रयास नभएका होइनन्, सरकारको लगानीमा सानो ताललाई विस्तार गर्ने काम पनि भयो तर त्यसले पूर्णता पाएन, विस्तार राम्रो नभएपछि फूटबल मैदान जस्तो भयो, सामाजिक सञ्जालमा पनि ताल हो कि फूटबल मैदान हो भन्दै व्यंग पनि गर्ने काम भयो”, उहाँले भन्नुभयो, “नयाँ सरकार आएपछि यसलाई जसरी पनि तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले काम भयो, नगरप्रमुखले पनि राम्रो साथ दिनुभयो ।”

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

दोधारा चाँदनी (कञ्चनपुर), १७ जेठः दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् ।

हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उहाँको बुझाइ छ । लामो समय शिक्षण पेशामा लागेका उहाँ अहिले व्यवसायिक रूपमा कृषिमा लागेका छन् । तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदासुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उहाँको तर्क छ । “महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिम आर्थिक गतिविधिमा न्युन छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस ।” दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निमार्ण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।

भारतका सबैभन्दा ठूला र महत्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको छ । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ ।

महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्द बताउँछन । “करिडोर सञ्चालनमा आइदिए त यहाँका जनतालाई धेरै फाईदा हुन्थ्यो ।” चन्दले भन्नुभयो, “यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ ।” उहाँले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने बताउनुभयो । “छोटो दुरीमा आवतजावत त हुने नै भयो तिङ्करनाका सञ्चालनमा आए आर्थिक गतिविधि पनि बढ्छ ।” उहाँले भन्नुभयो, “सरकारले छिटो काम सम्पन्न गर्नेगरि बजेट विनियोजन गर्नुपर्छ ।”

ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्करनाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदुरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन् । “करिडोर निमार्णपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै यसले धार्मीक पर्यटनको सम्भावना पनि बढाउँछ ।” विष्टले भन्नुभयो, “सजह अवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो ।” करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।

महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मीकस्थल छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मीक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । “महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ ।” यहाँका पर्यटन व्यवसायि जगदीश चन्द्र भट्टले भन्नुभयो, “यसले धार्मीक पर्यटनसमेतलाई फाइदा पुग्छ अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।” उहाँले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धाममा भारतीय धार्मीक पर्यटन आउने गरेको बताउँदै करिडोरले आवागमनमा सहज भएपछि यहाँ धार्मीक पर्यटनको फष्टाउने बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको महाकाली करीडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–तिङ्करसडक) योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकि छ । करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ ।

योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताउनुभयो । “बजेट अभावका कारण निर्माण व्यवसायिलाई भुक्तानी दिन सकेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो ।” उहाँले भन्नुभयो, “न्युन बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निमार्णमा ढिलाइ भइरहेको छ ।” महाकाली करिडोसँगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायिहरूको छ ।

सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिव एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रूपमा प्रयोग हुने छ । निमार्ण सम्पन्न पछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ जेठ : हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।

विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

काठमाडौँ, १७ जेठः विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको ।

अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एकहजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । यिनै समस्याहरूको समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको वारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा बिश्व धूम्र्रपानरहित दिवस मनाइने गरिन्छ ।

धूम्र्रपान भन्नाले के बुझिन्छ ?
सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टीका र निकोटीयना टोवाकम”को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, विडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्र्रपानको सङ्ज्ञा दिइन्छ । यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो ।

सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त ?
सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपहरूमा खाने गर्ने गरिन्छ ।

धुवाँको रूपमा – नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा सुर्ती सेवन गर्दछन् । आर्थिक हैसियतअनुसार सिगार, चुरोट, विडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानीया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिलाहरू जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ ।

धुवाँरहित रूपमा–हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीहरूमा यस्तो रूपको धूम्र्रपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती – पानसँग, सुपारीसँग वा सुर्ती मात्रै जस्तै जर्दा, मावा मुखमा राखी रस लिने÷चुस्ने सुर्ती – जस्तै खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन .दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती – जस्तै बजार दाँत सफा गर्न (मंजनको रूपमा) प्रयोग गरिने सुर्ती – जस्तै गुल, गुडाखु, मिश्री, मसेरी र वास÷गन्ध लिने सुर्ती – जस्तै स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा ।

नकारात्मक असर

एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूम्र्रपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन । वरीपरी बस्ने मानिसलाई पनि खराब असर पु¥याउँदछ । कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूम्र्रपान नै हो । यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सरहरू बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ ।

दाँत, छाला र औँलाहरू निकोटिनले पहेंला त्यसपछि कालो बनाउँछ । रक्तनली एवं भल्भमा निकोटिन जम्दै जाँदा बोसोको मात्रा बढ्दै जाँन्छ । साँघुरिँदै जान्छ । धूम्र्रपानले मायोकार्डीयल इन्फाकेशन, हटफेल र हृदयाघात हुने संभावना तीन गुणा बढाउँछ भने मुटुसम्बन्धी रोगहरू पाँच गुणा बढी हुन्छ । खुट्टामा थोम्ब्रोएण्जाइटिस अवलीटेरन्स हुन्छ । छाती सम्बन्धी रोगहरू दम, खोकी बढ्ने, टिबि (क्षयरोग) निमोनिया, ब्रोङकाइटिस, जीर्ण फोक्सोगत रोगहरू र चाहिने अक्सिजन लिन नसकी स्याँ स्याँ हुन्छ । घुर्ने समस्या बढाउँछ । शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । श्रवणशक्ति कमजोर बनाउँछ, दिमागको कोषलाई असर पारी आई.क्यू लेबल पनि घटाउँछ । समयपूर्व नै छालामा चाउरी पर्ने गराउँछ । कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्न, औषधिले काम नगर्ने, औषधि विरुद्ध अवरोध सृजना गराउने गर्दछ ।

धूम्र्रपान नगर्नेलाई भन्दा गर्नेलाई क्यान्सर हुने अधिक संभावना रहन्छ । हुने गरेका क्यान्सरमा ९० प्रतिशत भन्दा बढी मुखको क्यान्सर, ८५ प्रतिशत फोक्सोको क्यान्सर, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तनको क्यान्सर,पेटको, मिर्गाैला को फियोको क्यान्सरको कारक धूम्र्रपान नै पाइएको छ । जम्मा क्यान्सरमध्ये ६५ प्रतिशत धूम्र्रपानले नै गराउँछ ।. पुरुषमा नपुंशकता र महिलामा बाँझोपन, मांशपेशी कमजोर, हाड कमजोर, मोतिया विन्दु, चपाउने सुर्ती प्रयोग गर्नेमा पेट दुख्ने, पटक पटक थुकिरहनुपर्ने, पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल संभावना । खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँदछ । ३० वर्षको धूम्र्रपानकर्ता र ४२ वर्षको धूम्र्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पुरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेण्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ । छोरा हुने संभावना घटाउँछ । क्रोमोजोमलाई निकोटिनले असर पारी पुरुषको प्रजनन् क्षमतामा कम, शुक्राणु नोक्सान र महिलाको पाठेघरमा नरभ्रुण बस्न नदिने अवस्था ल्याउँछ ।. कपाल र लुगा फोहोर हुने, तालु खुइलिने, कपाल झर्ने, छाला पत्रिंदै फुस्रो हुने (सोरियासीस), अनुहारको चमक हराएर चाँडै चाउरी पर्ने, ओठ सुख्खा, नीलो वा कालो भई सुन्दरता नष्ट भई कुरूप बनाउँछ ।

धूम्र्रपानले मष्तिष्कमा रक्तश्राव गराउनसक्छ र पक्षघात भई मृत्यु हुन सक्छ । खानामा रुची कमी, पेटमा अल्सर, पेटमा गडबडले गर्दा कुपोषण हुन्छ । दम, खोकी, स्याँ–स्याँ र कमजोरीका कारण कामबाट वन्चित भै अम्मली गरिबीको दलदलमा फस्दछन् ।. मासिक श्रावमा गडबडी, स्नायु नशा तथा धमनी सुन्निने, मधूमेह बनाउँछ । निकोटिनको दीर्घकालीन असर हातखुट्टामा पनि परी हातखुट्टामा बढी जाडो महसुस गरेको, औंला र जोर्नी दुखेको तथा बर्गर रोग लागेको देखीन्छ ।

सुर्तीमा के छ र यति धेरै रोग लगाउन सक्ने ?

सुर्तीलाई परापूर्वकालमा औषधीको रूपमा, घरानियाको प्रतिकको रूपमा र धार्मिक रूपमा प्रयोग गरिएता पनि प्राचीनकालमा नै यसका बेफाइदा थाहा भइसकेको कुरा प्राचीनकालमा टर्कीमा धूम्र्रपान गर्नेलाई मृत्युदण्ड दिने चलन र रुसका राजा जारहरूद्वारा धूम्र्रपान गर्ने प्रजाहरूलाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथाबाट प्रष्ट हुन्छ तर वैज्ञानिक आधार पत्ता लागेको ५० वर्ष मात्र भएको छ ।

अप्रशोधित सुर्ती वा ककडमा २५०० भन्दा बढी रसायनिक तत्व हुन्छन् भने ४३ तत्वहरू कार्सीनोजन हुन्छन् । यही सुर्तीलाई धुवाँको रूपमा सेवन गर्दा ४००० रसायन हुन्छ । जसमा ४०० विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यासहरू र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरू हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा जस्तै चुना प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ ।

उक्त कार्सीनोजन तत्वहरूमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलीन्युक्लीयर एरोमेटीक हाइड्रोकार्वन, टार, खोटो फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्वनमोनोअक्साइड, कार्वनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडीहाइड, ट्रेस धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० इत्यादि पर्दछन् । प्रमुख प्राणघातक रसायनमा निकोटिन, खोटो र कार्वनमोनोअक्साइड पर्दछन् । एसीटोन, एमोनिया, आर्सेनिक, वेन्जीन, फर्मालीन जस्ता तत्वहरूले चुरोटको धुवाँमा रहेको विषाक्ततालाई थप उर्जा दिन्छन् ।

धूम्र्रपान विरुद्धमा नेपालमा के गर्नुपर्ला त ?

धूम्र्रपानले व्यक्ति, समाज, परिवार र राष्ट्रलाई नै अधोगति गराउने हुनाले यसको विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्दछ । नेपालमा धूम्र्रपान विरुद्धको अभियानमा निजी, सरकारी, गैरसरकारी, सङ्घसंस्था थुप्रै लागेका छन् तर तिनमा सामन्जस्यको कमी छ भने यस अभियानको दायित्वबोध सबै सङ्घसंस्था, संचारमाध्यम र तपाई, म, हामी सबै नागरिक समाजले नगर्दा यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । धूम्र्रपान जस्तो समाजको साझा समस्यालाई सामुहिक पहलबाट सामाजिक बहिस्कार गर्ने, धूम्र्रपान विरुद्ध अभियानलाई निरन्तर प्रक्रियाका रूपमा वर्षको ३६५ दिन नै सक्रिय रूपमा अघि बढाउनु पर्छ ।

विद्युतीय संचार माध्यममा २०५५ फाल्गुण ७ देखि धूम्र्रपानसम्बन्धी विज्ञापनमा रोक भए पनि सबै संचारका माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउनुपर्छ । धूम्र्रपान सम्बन्धी विज्ञापन वोर्डहरू, होर्डिङ्ग वोर्डहरू, सम्पूर्ण छापा, भित्ते पोष्टरमा बन्देज गरिनु पर्दछ । स्कुलको पाठ्यक्रममा धूम्र्रपानबाट हुने हानीबारे पाठ्यसामग्री बढाउनु पर्छ किनभने धूम्र्रपानको लत स्कूले उमेरबाट नै सुरु हुन्छ । विद्यार्थीलाई दिइएको शिक्षाले उसको ५० वर्षको जीवन स्वस्थ र सुरक्षित रहन्छ ।
उपचारमा ठूला ठूला अस्पताल तथा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल प्रमुख भए पनि देशका पाँचै विकास क्षेत्रमा सहायक केन्द्र हुनु पर्ने तथा स्वास्थ्यचौकी, अस्पताल र सार्वजनिक स्थलमा सुर्ती सेवनका बेफाइदाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । . ठूला व्यक्तिहरू, आदर्श व्यक्तिहरूद्वारा सेवन नगरिदिने गर्दा पनी अम्मलमिा न्युनीकरण हुनसक्छ । बच्चाहरूले देखासिकीमा बाबुआमा, दिदी, दाई, नायक, नायिका, खेलाडी, मोडेलबाट सिक्दछन् ।

सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा स—साना प्याकेट र फुटकरमा किनमेल गर्न नपाइने बनाउदा पनि अम्मलीको र बालबालिकाको सङ्ख्या घटाउन सकिन्छ । चुरोटको सेवनलाई घटाउन वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुनसक्छ । विश्व बैंकका अनुसार चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आय दर भएका मुलुकहरूमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकहरूमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यवृद्धिले पनि करिब ४ करोड २० लाख मानिसहरूले धूम्र्रपानको लत छोड्ने र त्यसको परिणाम स्वरूप कम्तिमा १ करोड मानिसहरू चुरोट सम्वद्ध रोगका कारण मर्नबाट बच्नेछन् ।

बालबालिकालाई ओसार पसार, विक्री वितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनु पर्दछ । अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनु पर्दछ । सार्वजनिक स्थलमा धूम्र्रपान बिक्री वितरण गर्नेलाई कारवाही, दण्ड र सजायको कार्यान्वयन गरी भागीदार गरिनु पर्दछ ।

निःशुल्क स्वास्थ्य शिविर, सहकारी, सरकारी र गैह्र सरकारी संस्थाहरूबाट बेला – बेलामा गरिने कार्यक्रमको आयोजना शहरी क्षेत्रमा मात्र नभई गाउँ – गाउँमा र धेरै सङ्ख्यामा गरी धूम्र्रपानलाई निरुत्साहित पार्नु पर्दछ । आवश्यक सरसुविधा पूर्वाधार र दरबन्दीको व्यवस्था गरी डेन्टल र मेडिकल डक्टर गाउँ – गाउँमा जाने वातावरण बनाइनु पर्दछ । जसले एकातिर धामी झा“क्री, झोले डाक्टर र नक्कली डाक्टरको विगविगी घट्ने र उनीबाट ठगिएका जनताले गुणस्तर र सर्वसुलभ उपचार पाउने छन् भने अर्कोतिर रोजगारी नपाएर डक्टर भौतारिनु र विदेशिने अवस्थाको अन्त्य हुने छ ।

सुर्तीजन्य पदार्थ सेवनबाट बच्न अम्मली स्वयंकै दृढ संकल्प र उच्च मनोबल चाहिन्छ । कुलतबाट छुटकारा पाउन परिवारजनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ । आफूलाई सकेसम्म व्यस्त राख्दा यस्ता लतमा ध्यान जादैनन् । सकेसम्म एक्लै वस्नु हुँदैन, परिवार र साथीस“ग बसी छलफल गर्ने गर्नुपर्दछ । साथीलाई समेत कुलतबाट छुटकारा पाउन सल्लाह दिनु पर्छ । कुलतबाट मुक्त हुन कुनै विशेष तिथिमिति जस्तै जन्मदिन, नया“ वर्ष वा प्रेरक व्यक्तित्वको जन्म दिन पारेर प्रतिज्ञा गर्नु पर्छ । उक्त अठोट बारेमा सकेसम्म धेरै साथी वा परिवारजनलाई बताएर मनोवल बढाउन सकिन्छ । सुर्ती सेवनमा निर्भर भइसकेकाहरूको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बाट गर्न सकिन्छ ।

अन्तमा, धूम्र्रपानले स्वास्थ्यमा प्रतिकुल असर पार्छ नै त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने क्रममा कैयन कामदारहरू अम्मली बन्दछन् जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारको लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्न सक्दछन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजश्व दिन्छ तर अम्मलीलाई केवल कष्टकर प्राणघातक रोगहरू र मृत्यु मात्र दिन्छ । (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव एवं प्रवक्ता हुनुहुन्छ )

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रुपैयाँ ४६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री

काठमाडौँ, १७ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग राससका समाचारदाता हेमन्त जोशीले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः

आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ?
स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आएको छ । खर्च व्यवस्थापनमा हामीले स्रोतको अधिक सदुपयोग हुने कुरालाई जोड दिएका छौँ । आन्तरिक राजस्व र आन्तरिक तथा बाह्य ऋण परिचालनका सवालमा पनि यथार्थपरक हुन खोजिएको छ । पुँजीगत खर्चको विनियोजन बढाइएको छ, निरन्तर बढ्दो चालु खर्चलाई निश्चित सीमाभित्र राख्न खोजिएको छ, र वित्तीय हस्तान्तरणबाट प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि गरिएको छ । यो बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने सिलसिलामा मुख्यगरी दुई–तीनवटा कुरालाई जोड दिएको छ । लगानी वृद्धिका निम्ति अनुकुल नीतिगत सुधारको बाटो तय गरेको छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्ने नीति लिएको छ । उत्पादन वृद्धि र रोजगारी सिर्जनाका निम्ति पनि अनुकुल आधार तयार पारेको छ भन्ने मेरो विश्वास छ । थाती रहेका कैयौँ समस्यालाई समाधान गर्ने दृष्टिकोण पनि बजेटले लिएको छ ।

अहिले औसत खालको मात्रै बजेट आयो भनेर टिप्पणी भइरहँदा तपाईले हस्तक्षेप गर्न नखोजेको कि नसकेको ?

सुधारका नाममा अन्धाधुन्ध हस्तक्षेप गर्ने कुरा भएन । आवश्यक ठाउँमा सही नीति निर्धारण गर्ने र सही नीति लिनका निम्ति बजेटले लिनपर्ने पहलकदमी लिएकै छ । विभिन्न नीतिगत सुधार भएका छन् । वैकल्पिक विकास वित्तको उपयोग नीति लिइएको छ । आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा सुधार थालिएको छ । अर्को आर्थिक वर्ष कुर्ने नभई जेठ १६ गतेबाटै हामीले खरिद प्रक्रिया थाल्नसक्ने व्यवस्था गरेका छौँ । मितव्ययिता र खर्च कटौतीको नीतिले चालु खर्च सन्तुलनमा राख्ने अपेक्षा हामीले गरेका छौँ । सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको छ ।

करका विषयमा बाहिरको बुझाई के थियो भन्नेकुरा मैले भन्न सक्दिन । कस्तो राजस्व नीति लिने भनेर धेरै थरिका सुझाव आएका थिए र सबैका सुझाव सुनेका पनि थियौँ । तर करका सन्दर्भमा अहिले जे निर्णय गरिएको छ, त्यसले राज्यप्रतिको करदाताको विश्वास बढाएको छ भन्ने मलाई लाग्छ ।

यसपटकको बजेटमा तपाईलाई कस्ता राजनीतिक दवाव आए ? तपाईको बजेट राजनीतिक पूर्वाग्रही वा अनुशासित ?
बजेट माथि जेजस्ता प्रतिक्रिया आएका छन्, ती सबै स्वागतयोग्य छन् । बजेट बनाउँदा राजनीतिक दवाव र सजिलो वा अप्ठ्यारोभन्दा पनि यथार्थपरक र अनुशासित भएर बजेट बनाउने कुरामा मेरो ध्यान केन्द्रित थियो । म त्यही हिसाबले अगाडि बढे । बजेट निर्माण दवावको कुरा होइन, औचित्यमा आधारित भएर गरिने कुरा हो । मैले कुनैपनि खालको दवाव महसुस गरिन । कतैबाट पनि दवाव थिएन र त्यसको अनुभव गर्न परेन । यद्यपि, बजेटलाई निरपेक्ष रूपले राजनीतिबाट अलग गर्न मिल्दैन । किनभने बजेटले मुलुकको संविधानलाई पछ्याउनुपर्छ । सरकारको नीति तथा कार्यक्रमलाई पछ्याउनुपर्छ । त्यसैअनुरूप बजेट आएको छ । त्यसकारण यसलाई राजनीतिबाट अलग भएर पूर्णरूपमा प्राविधिक ढङ्गले आएको भन्न मिल्दैन । तर बजेटका आधारभूत मान्यताको सीमाभित्र रहेर यो बजेट आएको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र त उत्साहित भयो तर सर्वसाधारण नागरिक केन्द्रमा परेनन् भन्ने गुनासो आयो नी ?
लोकरिझ्याँईभन्दा पनि अहिले हामी राष्ट्रका आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्ने अवस्थामा थियौँ, चाहे आयोजनाको सन्दर्भमा होस् वा कार्यक्रमको सन्दर्भमा होस् । त्यहि अवस्थालाई ख्याल गरेर बजेट आएको छ । हामी सस्तो लोकप्रियताभन्दा पनि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक वृद्धिदर बढाउने र दिगो बनाउने कुराबाट बढी निर्देशित थियौँ । आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी वृद्धि हुने, रोजगारीका अवसर वृद्धि हुने र पूर्वाधारका आयोजना निर्धारित समयमै सम्पन्न हुने कुराको प्रत्याभूति बजेटले गरेको छ । यसबाट लक्षित आर्थिक वृद्धि हासिल हुनेमा पनि म आशावादी छु ।

बजेटमा परेका आयोजनाको प्राथमिकीकरण र छनौट अन्य वर्षभन्दा यसपटक कसरी फरक छ ?
सङ्घीय सरकारले प्रस्तुत गर्ने र सङ्घीय संसद्ले पारित गर्ने योजना तथा कार्यक्रम ल्याइनुपर्छ भन्ने कुरा हरदम हेक्का राखेर काम गर्यौँ । सङ्घीय महत्वका दायित्वलाई केन्द्रमा राखेर बजेट निर्माण भयो । त्यसले गर्दा कतिपय प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम सङ्घीय सरकारको बजेटको दायराभित्र पर्दैनन् भन्ने कुरामा पनि हामी सचेत थियौँ । बजेटमा रु तीन करोडभन्दा कम लागतका सङ्घीय आयोजना नराख्ने भनिएको छ । सङ्घ सरकारले मात्र होइन प्रदेश र स्थानीय तहले पनि सन्तुलित बजेट ल्याउनुपर्छ भनेर हामीले यो बजेटमा केही व्यवस्था राखेर स्पष्ट सन्देश दिएका छौँ ।

चालु आर्थिक वर्षभित्रै ठेक्का लगाउन सकिने आयोजनालाई हामीले तत्काल अघि बढाउने भनेका छौँ । बजेट निर्माण गर्ने अनि कार्यान्वयनको तयारी सुस्त भएर हुँदैन । बजेट कार्यान्वयनका निम्ति आजैदेखि लाग्नुपर्छ भन्ने मेरो आफ्नो बुझाइ हो । हामीले काम पनि त्यसरी नै गरिरहेका छौँ । हामी सुधारतर्फ फर्किएका छौँ । कतिपय काम बाँकी होलान्, तिनलाई आगामी वर्षमा हामी गर्दै जानेछौँ ।

प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १६ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि लडेका सेनानीको अभिलेख कतै पनि नपाइनु दुःखद् भएको बताउनुभयो ।

“वास्तविक अभिलेख नभएकै कारण प्रजातन्त्र सेनानीको सूची माग्दा आधिकारिक संस्थाबाटै पञ्चायतमा लागेर काम गरेकाको पनि नाम आउने गरेको छ, कांग्रेसलाई जरा गाड्ने अवस्थामा पुर्याउने प्रजातन्त्र सेनानीकै अभिलेख नभएकाले प्रजातन्त्रका लागि काम गरेकाको सूची तयार पारी राख्नुपर्छ”, कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो ।

प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले कांग्रेसले प्रजातन्त्र सेनानीलाई बिर्सन नहुने बताउँदै सर्वाधिकार सम्पन्न प्रजातन्त्र सेनानी आयोग गठन गरिनुपर्ने बताउनुभयो । कांग्रेसभित्र प्रजातन्त्र सेनानीलाई आरक्षणको व्यवस्था गरिनुपर्ने माग पनि उहाँको थियो । आगामी निर्वाचनमा अहिलेसम्म अवसर नपाएका ८० प्रतिशतलाई कांग्रेसले टिकट दिनुपर्ने माग पनि प्रजातन्त्र सेनानी सङ्घले गरेको छ । अध्यक्ष दाहालले कांग्रेस नेता डा शेखर कोइराला र केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेललाई मागपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय ध्यानगोविन्द रञ्जित र टेकप्रसाद गुरुङ, कांग्रेस नेता दामोदर गौतम, प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरी, प्रजातन्त्र सेनानीहरु तुलसीनारायण खमु श्रेष्ठ, मना थापा, गोविन्दप्रसाद गजुरेल, विनोद सिलवाललगायतले प्रजातन्त्र सेनानीले विगतमा गरेका योगदानको अभिलेख राखिनुपर्नेमा जोड दिनुभएको थियो ।

तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’का बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै ब्रिलियन्ट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले पुस्तकमा प्रजातन्त्रका लागि श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको जानकारी गराउनुभयो । विसं २००७ देखि २०८१ सम्म तुलसीनारायणले नेपाली कांग्रेस पार्टीका साथै सामाजिक क्षेत्रमा गरेका योगदानका विषयमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

पुस्तकका सम्पादक कुमार रञ्जितले एक सय ५० पृष्ठको पुस्तक कांग्रेसको इतिहासका रूपमा आएको बताउनुभयो । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापनाका लागि श्रेष्ठले पुर्याउनुभएको योगदानका विषयमा पनि पुस्तकमा चर्चा गरिएको उहाँले बताउनुभयो । छ खण्डमा विभाजित पुस्तकले नेपालको राजनीतिक इतिहासको करिब सात दशकभन्दा लामो समयको यथार्थता सार्वजनिक गरेको बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका १३ जिल्लाका १०० जना प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम : गरिबी न्यूनीकरणमा प्राथमिकता

सुदूरपश्चिम, १६ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा रोजगारी सृजना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने भएको छ ।

प्रदेशसभा आजको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै बढ्दो जनशक्ति पलायनलाई रोक्ने, सामाजिक न्याय र समावेशिता प्रवर्द्धन गर्ने खालका कार्यक्रमलाई पनि प्राथमिकता दिइने बताउनुभयो ।

यसैगरी कमजोर मानव विकास सूचकाङ्क, उच्च गरिबी, दलित, लोपोन्मुख तथा पिछडिएको समुदायको बसोबासलगायत मापदण्डका आधारमा लक्षित वर्गमा ‘मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम’ सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । स्वदेशी एवं विदेशी लागानीको प्रवर्द्धनका लागि प्रदेशमा लगानीका आकर्षक परियोजनाहरूको पहिचान र विकास गरी आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन गरिने उल्लेख छ ।

प्रदेशमा लगानी एवं व्यावसायिक वातावरण सुधार एवं सहजीकरणका लागि मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्रको स्थापना गरी सञ्चालन गरिने छ । रोजगार विकास कोषमार्फत गरिब, असहाय र सीमान्तकृत वर्गका स्वरोजगार र उद्यमशील हुन चाहनेहरूलाई सीपमूलक तालिम, सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कामलाई विस्तार गर्न लागिएको छ ।

बाँस, अल्लो, जुट, रामबाँस, लोक्ता, केराजस्ता प्राकृतिक रेशाबाट कपडालगायत वस्तु उत्पादनका लागि उद्योग सञ्चालनको पूर्वाधार तयार गरिने, फलफूलबाट जुस, खाद्यवस्तु तथा मदिरा उत्पादन, खोटो प्रशोधन र खाद्य प्रशोधनजस्ता उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उत्प्रेरित गर्ने, प्रदेशमा उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने खालका उद्योग स्थापना र सञ्चालनमा जोड दिने, सञ्चालित उद्योगहरूको प्रवर्द्धनका लागि नीतिगत एवं कानुनी सुधार गरिने नीति कार्यक्रममा समेटिएको छ ।

प्रस्तुत नीति कार्यक्रममा सङ्घ प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह, निर्यात प्रवर्द्धन क्षेत्र, औद्योगिक ग्रामजस्ता औद्योगिक पूर्वाधार स्थापना र निर्माणको पहल गरिने, कैलालीको डुडेझारी क्षेत्रमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गरिने, ‘एक जिल्ला, एक उद्योग’ स्थापनाको पहल गरिने उल्लेख छ ।

यसैगरी दशरथ चन्द सीपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने, ‘गरौँ उत्पादन, राखौँ पहिचान’ भन्ने नारालाई सार्थक बनाउँदै स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, स्थानीय सीप र प्रविधिको अभिवृद्धि तथा स्थानीय उत्पादनको प्रवर्द्धन र ब्रान्डिङमार्फत प्रदेशको पहिचान सुदृढ गरिने छ । कृषि क्षेत्रलाई प्रदेशको संरक्षित क्षेत्रका रूपमा घोषणा गरी बहुसङ्ख्यक किसानले लाभ पाउने गरी अनुदान नीति अवलम्बन गरिने छ ।

फलफूल तथा तरकारी, अदुवा, बेसार, अलैँची, मह, छुर्पी, घिउ, माछा, मासुलगायत कृषि उपजको उत्पादनमा क्रमशः आत्मनिर्भर हुँदै निर्यात गर्न सकिने अवस्था सृजना गरिने, निर्माण पूरा भई सञ्चालनमा नरहेका कोल्ड चेम्बर, कोल्डस्टोर, प्रशोधन केन्द्रजस्ता पूर्वाधार सञ्चालन गरिने विषयसमेत नीति कार्यक्रममा समेटिएको छ ।

खेतीयोग्य बाँझो जग्गा, नदी बगर र सरकारी जग्गालाई कृषि कार्यमा उपयोग गर्ने नीति लिइएको छ । विमानस्थल, बस बिसौनी र पर्यटकीयस्थलहरूमा प्रदेशमा उत्पादित वस्तुलाई प्याकेजिङ गरी सहकारी र निजी क्षेत्रको सहकार्यमा कोसेली घर सञ्चालन गरिने, ‘कृषकलाई टेवा : घरदैलोमा प्राविधिक सेवा’ को अवधारणअनुरूप कृषि प्रसारका लागि शिविर सञ्चालन, पशु स्वास्थ्य र नश्ल सुधार सेवालगायत कार्यक्रम सञ्चालन गरिने, भीमदत्त पन्त कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोजगारी सृजना गरी युवा पलाउन रोक्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई कृषि व्यवसायमा आकर्षित गर्ने विषय पनि कार्यक्रम समेटिएको छ ।

माटोको गुणस्तर र उर्वराशक्ति सुधारका लागि अभियानकै रूपमा सुधारिएको गोठेमल हरियो मल र गड्यौला मलको उपयोगका लागि कृषकलाई उत्प्रेरित गर्ने नीति कार्यक्रमा उल्लेख छ । भूमि व्यवस्थापनका लागि एकीकृत भूमि नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, कृषिको व्यावसायीकरण गर्न चक्लाबन्दीखेती र करारखेती प्रणालीलाई प्रोत्साहन गरिने, भूमिहीन सुकुम्बासी, अव्यस्थित बसोबासीको व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरिने नीति छ ।

यसैगरी ‘पर्यटन पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, साहसिक खेल तथा पर्यटनको प्रवर्द्धनका लागि पूर्वाधार तयार गर्नेलगायतका गतिविधि सञ्चालन गरिने छ । ‘सामुदायिक वन, प्रदेशको धन’ भन्ने नाराका साथ वनलाई आर्थिक विकास र स्थानीय रोजगारीको रूपमा उपयोग गर्ने, चुरेलगायत संवेदनशील जलाधारहरूको प्रभावकारी र दिगो व्यवस्थापनका लागि संरक्षण कार्यक्रम सञ्चालन गर्ने, गरिब विपन्न तथा सीमान्तकृत वर्गलाई प्रत्यक्ष लाभ पुग्ने गरी कबुलियती वन, कृषि वन र जिवीकोपार्जन कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

नीति कार्यक्रममा आर्थिक सामाजिक मानवीयता तथा भौतिक विकासको अवस्थाजस्ता सूचकहरूका आधारमा भौगोलिक सन्तुलन एवं समावेशिता कायम हुनेगरी पूर्वाधार विकासका आयोजना सञ्चालन गर्ने, आयोजना छनोटको प्राथमिकीकरण गर्दा प्रत्यक्ष रोजगारी सृजना गर्नेजस्ता योजनालाई समेट्ने जनाइएको छ । प्रदेशस्तरीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता तथा वातावरणीय अध्ययनलगायत पूर्वतयारी सम्पन्न भएका योजनालाई आयोजना बैंकमा समावेश गरिने, प्रदेश गौरवका आयोजना र बहुवर्षीय ठेक्का सम्झौता भई वित्तीय दायित्व सृजना भएका आयोजनको काम पूरा गरिनेजस्ता नीति पनि लिइएको छ । विद्युत् उत्पादनमा प्रदेश सरकार र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने, लघु तथा साना जलविद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न र उत्पादन तथा रोजगार वृद्धि हुने क्षेत्रमा विद्युत् खपत गर्न प्ररित गर्ने नीति लिइएको छ ।

यसैगरी शुद्ध पिउने पानी आपूर्ति कार्यक्रमलाई निरन्तरता दिने, सफा प्रदेश बनाउन पहल गर्ने, तीनवटै सरकारको सहकार्यमा प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा समावेश भएका सडक, सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्र जोड्ने सडक र त्यस्ता सडकमा पर्ने पुल निर्माणलाई उच्च प्राथमिकता दिइने उल्लेख छ । यातायातको वैकल्पिक माध्यमका रूपमा विकास भइरहेका रोपवे, केबुलकार, पोडवेलगायत सडक निर्माणमा अन्य नवप्रवर्तनकारी प्रविधि अवलम्बन गर्नेबारेमा अध्ययन गरिने, जनता आवास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम, स्वास्थ्यमा प्रविधि : समृद्धिमा गति, सबै आमाको हक : सुरक्षित गर्भ सुरक्षित जीवन, घोराघोरी स्वास्थ्य उपचार कार्यक्रम, विभिन्न अस्पतालहरूको स्तरोन्नति गर्नेजस्ता कार्यक्रम समेटिएको छ ।

शिक्षातर्फ जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम, उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम, टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि कानुन तर्जुमा प्रत्येक जिल्लामा एक नमूना क्याम्पस सञ्चालनसम्बन्धी नीतिगत र कानुनी प्रबन्ध गर्ने, खेलकुदको संस्थागत विकास गर्नेलगायत विषय पनि नीति कार्यक्रमा समेटिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको प्रारम्भमा वार्षिक नीति कार्यक्रमको प्रति प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो ।

रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले बिहीबार रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न आह्वान गर्नुभएको छ ।

“भर्खरै इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका रुस युक्रेन कैदीहरूको आदानप्रदानमा सहमत भएका छन् र चाँडै नै दोस्रो चरणको प्रत्यक्ष वार्ता गर्नेछन् । चीन यी सकारात्मक घटनाक्रमलाई स्वागत गर्दछ र शान्तिका लागि सबै प्रयासलाई समर्थन गर्दछ”, राष्ट्रसङ्घका लागि चीनका स्थायी उपप्रतिनिधि गेङ शुआङले भन्नुभयो ।

सुरक्षा परिषद्मा उहाँले लडाइँ रोकिने कुनै सङ्केत नदेखिएको र नागरिक हताहतको सङ्ख्या बढ्दै गएको छ भन्दै यसले युक्रेन सङ्कटमा जटिल गतिशीलता समावेश छ र रातारात समाधान गर्न सकिँदैन भनेर देखाएको बताउनुभयो ।

“द्वन्द्वका पक्षहरूले राजनीतिक इच्छाशक्ति प्रदर्शन गर्नुपर्दछ, शान्ति वार्ताको गति कायम राख्नुपर्दछ, संवाद र परामर्शको माध्यमबाट सङ्कटका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्दछ, ताकि अन्ततः राजनीतिक समाधान प्राप्त गर्न सकियोस्”, गेङले भन्नुभयो ।

द्वन्द्वका पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको निष्ठापूर्वक पालना गर्नुपर्ने र कुनै पनि परिस्थितिमा नागरिक र नागरिक पूर्वाधारमा आक्रमण गर्नबाट टाढा रहनुपर्ने उहाँले बताउनुभयो ।

“दुवै पक्षले युद्धभूमिमा सकेसम्म चाँडो स्थिति शान्त पार्न ठोस प्रयास र सक्रिय उपायहरू अपनाउनु पर्छ”, गेङले भन्नुभयो ।

अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी प्रमुख पक्षहरूले यस सङ्कटको राजनीतिक समाधानका लागि शान्ति वार्तालाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो ।

युक्रेनको मुद्दामा चीनको स्थिति स्थिर र स्पष्ट छ । गेङका अनुसार सङ्कट सुरु भएदेखि नै चीनले वार्ता, वार्ता र राजनीतिक समाधानका लागि आह्वान गर्दै आएको छ ।

चीन रुस र युक्रेन दुवैसँग सम्पर्कमा रहेको र शान्ति वार्तालाई प्रवर्द्धन गर्न निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले ग्लोबल साउथ र व्यापक अन्तर्राष्ट्रिय समुदायसँग मिलेर चीन वास्तविक शान्ति खोज्न रचनात्मक भूमिका खेल्न इच्छुक रहेको पनि बताउनुभयो ।

भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

आर्थिक वर्ष २०२४÷२५ मा भारतको आर्थिक वृद्धि दर ६.५ प्रतिशत कायम भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन ९.२ प्रतिशतले वृद्धि भएको थियो ।

कमजोर उत्पादन क्षेत्र, कडा मौद्रिक नीति र गत वर्षको अधिकांश समय शहरी उपभोक्ताको भावनामा आएको सुस्ततासँग विश्वको सबैभन्दा बढी जनसङ्ख्या रहेको भारत जुधिरहेको थियो ।

पछिल्लो दुई त्रैमासिक अवधिमा अर्थतन्त्रमा सुधार आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिले दिगो पुनरुत्थानका लागि जोखिम निम्त्याएको छ ।

अमेरिकाले ‘पारस्परिक कर’को संज्ञा दिएको कर नीतिबारे नयाँ दिल्लीले हाल वासिङ्टनसँग व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ । वार्ताले ट्रम्पको करनीतिबाट हुनसक्ने सबैभन्दा खराब अवस्थाबाट बचाउने आशा गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार वार्षिक वृद्धिको आँकडा र शान्त मुद्रास्फीतिको तथ्याङ्कले भारतको केन्द्रीय बैङ्कलाई अर्को हप्ताको समीक्षा बैठकमा ब्याज दर सहज चक्र जारी राख्न विश्वस्त पार्नेछ।

शुक्रबार सार्वजनिक गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आँकडा विश्लेषकहरूको ६.३ प्रतिशतको अपेक्षाभन्दा केही माथि थियो तर सरकारले वार्षिक रूपमा ६.५ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ ।

जनवरीदेखि मार्चसम्मको पछिल्लो त्रैमासिकको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको सबैभन्दा छिटो र ६.८ प्रतिशतको वृद्धिको विश्लेषकहरूको अनुमानलाई पछाडि पार्दै कुल गार्हस्थ्य उत्पादन अघिल्लो बर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मार्चको त्रैमासिक वृद्धिलाई बढ्दो निर्माण क्षेत्रले मद्दत गरेको जनाइएको छ।

भारत अझै पनि सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र भए तापनि आर्थिक वर्ष २०२४÷२५ को आर्थिक वृद्धिदर आठ प्रतिशतभन्दा कम रहेको छ । थप आर्थिक वृद्धिका लागि नयाँ दिल्लीले पर्याप्त राम्रो तलब पाउने रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि सिर्जना गर्न आवश्यक रहेको विज्ञहरूको धारणा रहेको छ ।

गत वर्ष आर्थिक गतिविधिमा आएको मन्दीले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई यस वर्ष आयकरमा १२ अर्ब अमेरिकी डलर कटौती गर्न बाध्य बनाएको थियो।

रिजर्भ बैंक अफ इन्डिया (भारतीय केन्द्रीय बैंक)ले पनि फेब्रुअरीमा करिब पाँच वर्षमा पहिलो पटक ब्याज दरमा कटौती गरेको थियो भने अप्रिलमा अर्को कटौती गरेको थियो ।

एक सरकारी अधिकारीले हालै भारतले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको दाबी गरेपछि देशको आर्थिक वृद्धिलाई लिएर सार्वजनिक बहस सुरु भएको थियो ।

यद्यपि, अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानले यो वर्षको अन्त्यसम्म यो परिवर्तन नहुने सङ्केत गरेको छ।

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ ।

करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भन्नुभयो, “गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो ।”

इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उहाँले भन्नुभयो, “यो एक देश वा देश भित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा छ।”

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजा पट्टीमा मानवीय सहायता पु¥याउन संयुक्त राष्ट्रसङ्घले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गर्नुभयो ।

इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकावन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ।

लार्कका अनुसार इजरायलले नाकाबन्दी आंशिक रुपमा हटेपछि ९०० ट्रक मानवीय सहायताका ट्रकलाई गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिएको छ ।

तर अहिलेसम्म गाजातर्फ ६०० वटा ट्रक मात्र उतारिएका छन् र सुरक्षाका कारण थोरै सङ्ख्यामा ट्रक लोड गरिएको छ ।

“यो सीमित सङ्ख्यामा ट्रकहरू आइरहेका छन् । यो न्यूनतम खानाको आवश्यकता पूर्ति गर्ने आपूर्ति हो,” लार्कले भन्नुभयो ।

आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान

तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई ‘भ्रामक’ भएको ठहर गर्दै इरानले शुक्रबार इरानका लागि अष्ट्रियाका कार्यवाहक राजदूतलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

तेहरानले आफ्नो आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको बेला यो विवाद उत्पन्न भएको हो।

अष्ट्रियाको घरेलु गुप्तचर सेवा (डीएसएन) ले विश्वव्यापी खतरासम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा इरानको ‘आणविक हतियार विकास कार्यक्रम राम्रोसँग अघि बढेको’ बताएको छ ।

संयुक्त राज्य अमेरिका, इजरायल र अन्य पश्चिमी देशहरूले बारम्बार इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

इरानले उक्त दाबीको खण्डन गर्दै नागरिक प्रयोजनका लागि मात्र आणविक कार्यक्रम अघि बढाइरहेको तर्क गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार इरान विश्वको एक मात्र देश हो जसले गैर–आणविक हतियारका लागि भन्दै ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गरेको छ ।

यो दर आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको सीमाभन्दा केही कम छ तर सन् २०१५ मा विश्व शक्तिराष्ट्रहरूसँगको सम्झौताअन्तर्गत निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा निकै माथि छ ।

अष्ट्रियाको रिपोर्टमा भनिएको छ, “इरानमाथि प्रतिबन्ध र सम्झौतामार्फत हतियार रोक्ने सबै प्रयासहरू अहिलेसम्म निष्प्रभावी साबित भएका छन् ।”

शुक्रबार इरानको विदेश मन्त्रालयले उक्त प्रतिवेदनमा सम्प्रेषित ‘भ्रामक जानकारी’ को निन्दा गर्दै अष्ट्रिया सरकारसँग स्पष्टीकरण मागेको थियो ।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानले तेहरानस्थित अष्ट्रियाका कार्यवाहक राजदूत माइकला पाचेरलाई विदेश मन्त्रालयमा बोलाएर आरोपप्रति इरानको कडा विरोध जनाएको छ ।

बैठकमा मन्त्रालयले ‘अष्ट्रियाको प्रतिवेदन आइएईएका थुप्रै प्रतिवेदनसँग पूर्णरूपमा विरोधाभास रहेकोमा जोड दिएको’ छ ।

अष्ट्रियाको राजधानीमा मुख्यालय रहेको आइएईएले आगामी दिनमा इरानको आणविक गतिविधिको आफ्नै समीक्षा प्रकाशित गर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तेहरानसँग भएको आणविक सम्झौताबाट हात झिकेपछि इरान र संयुक्त राज्य अमेरिकाले तेहरानको आणविक कार्यक्रमबारे सम्झौता गर्न ओमानी मध्यस्थताको प्रयास गरिरहेका छन् ।

गत साता रोममा भएको छलफलपछि इरान र अमेरिकाबीचको अर्को बैठकका लागि कुनै मिति तय गरिएको छैन ।

बिहीबार विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग सम्झौता हुन लागेकोमा आफू विश्वस्त नभएको बताउनुभएको थियो ।

ट्रम्पले बुधबार दुवै पक्ष ‘समाधानको निकै नजिक’ रहेको बताएपछि अराघचीकोे यो भनाइ आएको थियोे ।

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

वीरगञ्ज (पर्सा), १६ जेठ : सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।

पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको रु दुई लाख ७० हजार मूल्य पर्ने मोटर पाट्र्स बरामद गरेको छ । त्यस्तै गरी रु दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ, १६ जेठ : काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त उक्त आदेश जारी गरिएको उहाँले बताउनुभयो ।

पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने

रौतहट । रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

यो सगै आलमका समर्थकहरुले खुसीमा पट्का पडएका छन भने पीडितहरू भने असन्तुष्ट बनेका छन् ।
२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए ।

तर आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि छुट्टने दिन नै साँझ नाराबाजी जुलुससहित पटका पडकाएका हुन । पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछि समर्थकहरुले फुलमाला लगाइए दिएका थिए ।
सो क्रममा आलमले प्रतिक्रिया दिंदै सत्यको विजय भएको बताए । यसअघि पनि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए । पूर्वसांसद मोहम्मद आफताब आलम रिहाई भएपनि शनिबार (भोलि)रौतहट आउने तय भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए ।

उनी हवाइमार्ग हुँदै सिमरा आउने र त्यहाँवाट समर्थकका साथ गाउँ आउने तय भएको उनले जानकारी दिए ।पूर्वसांसद आलमको गाउँमा भव्य स्वागत गर्ने तयारी गरिएको उनले बताए ।

०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए ।५ बर्ष ८ महिना ८दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै निर्दोष साबित भएका थिए ।

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’ :महासचिव पोखरेल

काठमाडौँ, १६ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको राख्नुभयो ।

महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताउनुभयो । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिनुभयो । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उहाँले भनाइ छ ।

अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले पुँजी बजारले नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उल्लेख गर्दै पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको बताउनुभयो । नेपालमा शासकीय क्षमतालाई प्रवर्द्धन गर्न कानुनमा सुधार आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

“हरेक निकायले कानुन सुधारमा जोड दिनुपर्ने छ । ती सेवाप्रवाह र सुशासनमुखी हुनुपर्ने छ । नेपालमा बनेका कानुन यस्ता छन्, जो विकासमैत्री छैनन्, सेवामैत्री छैनन”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले देश निर्माणको लागि प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।

समयमा कार्यसम्पादन नहुनाले नेपालमा भ्रष्टाचार बढ्दै गएको महासचिव पोखरेलको भनाइ छ । उहाँले कुनै पनि काम ढिलो हुँदै जाँदा त्यसको लागत बढ्ने र त्यहाँ भ्रष्टाचार र कमिसनको चक्कर चल्ने सम्भावना रहने भन्दै सेवाप्रवाह पारदर्शी र शीघ्र सम्पादन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बजेट जनमुखी भएको भन्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । उहाँले बजेटले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँं, १६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अधिकारीको यही जेठ १३ गते ९४ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत आज उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व अधिकारीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।

स्व अधिकारीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्लामा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उहाँ कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो ।

विसं १९८८ मा भोजपुरको दिङ्गलामा जन्मनुभएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखनकार्यमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘आजको नेपाल’लगायत पुस्तक प्रकाशित छन् । उहाँको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँं, १६ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनुभएको छ ।

चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले विभिन्न संस्कृतिहरुको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र संस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरु बोकेको विभिन्न प्रकारका द्वन्दहरुले संसारलाई ग्रसित बनाएको विश्व सन्दर्भमा आयोजित संवाद महत्त्वपूर्ण रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

चिनियाँ अन्तरराष्ट्रिय समझदारी सङ्घ तथा गान्सु प्रान्त जनसरकारद्वारा संयुक्त रुपमा आयोजित ‘सिल्क रोड’को मूल भावनालाई आत्मसात गर्दै विश्व सभ्यता कार्यान्वयनलाई गति प्रदान गर्न आयोजित चौथो संवादलाई उहाँले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले उत्तर दक्षिण सिल्क रोड शाखाहरुको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरुसम्बन्धी संवाद आयोजनका लागि उत्तमस्थल रहेको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’ (बीआरआई) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचिन सिल्क रोडलाई पुनर्जिवित, विस्तार र नविकृत गर्ने लक्ष्य राखेको बताउनुभयो । एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु बीआरआई पहलको मुख्य लक्ष्य भएको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी को ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरु विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रुपान्तरण गर्न सहमत भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि नेपालका तर्फबाट संवाद आयोजक र सहभागीलाई बधाइ र शुभकामना व्यक्त गर्नुभयो ।

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह

काठमाडौ, १६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ ।
आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बंैक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनुभयो । “म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ”, उहाँले भन्नुभयो ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोशी प्रदेशसभाः विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

विराटनगर, १६ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गर्नुभएको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिनुभएको थियो ।

योजनामन्त्री मागरले छलफलका क्रममा उठेका जिज्ञासाको सम्बन्धमा नीति तथा कार्यक्रमलाई आधार मानी तयार गरिएको सिद्धान्त र प्राथमिकता आगामी आर्थिक वर्षको वार्षिक बजेटको मार्गदर्शक बन्ने बताउनुभयो ।

सबै सांसदहरूको सुझाव रचनात्मक रहेको बताउँदै मन्त्री मगरले आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, अन्तर तह समन्वय, सार्वजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक वित्त र वित्तीय अनुशासन, सामाजिक विकास, न्याय र मानवअधिकार, ग्रामीण विकासलगायत विषयलाई सिद्धान्त र प्राथमिकतामा महत्त्व दिइएको जानकारी दिनुभयो ।

उहाँले जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन र शान्ति सुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यासायीकरण, खानेपानी, सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन, शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्द्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलगायत विषय समेटेर बजेट सर्वपक्षीय, समानुपातिक र सर्वस्वीकार्य बनाइने उल्लेख गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद प्रदीपकुमार सुनुवारले जनताको माग र आवाजका बारेमा छलफल गर्ने संसद् कमजोर बन्न नुहने धारणा राख्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि आउने वार्षिक बजेट पारदर्शी हुनुपर्ने भन्दै सांसदहरूको योजना सुनिश्चितताको माग गर्नुभयो ।

बैठकको शून्य समयमा कोशी प्रदेशसभाका सांसद सपना दर्जी, रमेशकुमार बस्नेत, लीलाबल्लभ अधिकारी, मीना श्रेष्ठ, शीला दीक्षित कार्की, निरादेवी खनाल, मालतीकुमार लिम्बू, ललिताकुमरी चौधरी, रामकुमार खत्री, सुनिता गच्छदार, लखिकुमारी गणेश, शोभा चेम्जोङ, गणेशप्रसाद उप्रेती र राजन किराँतीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरूले पर्यटन, विपद्, विकास, कृषि बीउविजन, रासायनिक मल, गाजा खेती, भाषा र संस्कृति, ग्रामथान र सडक दुर्घटनालगायत समयसापेक्ष विषयमा धारणा राख्नुभएको थियो । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।

परित्यागमा बिपिन कार्की

काठमाडौँ । सुजन थापा क्षेत्री को शब्द र स्वरमा स्माइल दास को संगीत र बिशम आचार्यको एरेन्जमा परित्याग बोलको गीत सार्बजनिक भएको छ । सफल केसी को निर्देशन रहेको उक्त गीत मा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ ।

यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रण गर्दै देश तथा बिदेस मा बस्ने नेपाली माझ तरंग सिर्जना गरिरहेको छ ।

गायक सुजन भन्छन हामीले बेवास्ता गर्ने, ट्याग लगाउने वा डराउने धेरै मानिसहरू वास्तवमा मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्,उनीहरू सधैं हामीले सोचेजस्तो देखिँदैनन्। उनीहरूले पनि बुझाइ र सम्भव भएमा सहयोगको हकदार छन । मिस्टर सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई अहिलेसम्म एक लाख भन्दा बढिपटक हेरिएको छ।

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु, १६ जेठः पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ । मृत्यु हुने पर्यटकहरु जापान, अष्ट्रेलिया, भारत र सिङ्गापुरका दुई÷दुई जना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक÷एक जना छन् । उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये छ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

जसमा सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक÷एक आरोहीले ज्यान गुमाएका छन् भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन् । मेरा पिकमा एक जना बेल्जियमका नागरिक र आमादब्लम आरोहणका क्रममा एक अष्ट्रेलियन नागरिकले ज्यान गुमाए ।

खुम्बु क्षेत्रको सौन्दर्य र चुनौती

खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो । सगरमाथा मात्र नभई यहाँका सम्पूर्ण हिमाली भूभाग, ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृङ्खलाहरूले यो क्षेत्र मनमोह छ । यहाँका गाउँघर, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत छ ।

जसका कारण हरेक वर्ष हजारौँ पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्छन् । तर खुम्बु क्षेत्रमा जोखिम पनि उत्तिकै छ । लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याले पर्यटकहरुले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल घुम्नु जति आनन्द छ त्यतिकै चुनौती पनि छ, यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफँै पनि दुर्घटनामा परँे, सगरमाथाको तेस्रो शिविर माथिबाट खसेको आइसको डल्लाले लागेर मेरो टाउकामा आठ टाँका लगाउनुप¥यो ।”

पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

पर्यटकका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकप्टर उद्धार प्रणालीको मजबुतीकरण, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपायहरू थप मजबुत बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।

यस क्षेत्रमा आउने पर्यटकहरू प्रायः ‘हाइ अल्टिच्यूड’ कै कारण समस्यामा पर्ने गरेको कान्छो सगरमाथा आरोही तेम्बा छिरी शेर्पा बताउनुहुन्छ । पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना र स्थानीय प्रशासनको प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । –

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ । उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।

संसदीय सुनुवाइले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

काठमाडौँ, १६ जेठ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ ।समितिको आजको बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूपमै अनुगमन गरी जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले विषयविज्ञ र सुनुवाइ गरी पठाएका व्यक्तिले प्रस्तुत गरेको कार्ययोजना र अवधारणामार्फत गरिएका प्रतिबद्धता के–कति कार्यान्वयन भए–भएनन् त्यसको जानकारी लिइने सभापति ईश्वरी न्यौपानेले बताउनुभयो ।

संवैधानिक परिषद्, न्याय परिषद् र सरकारद्वारा विभिन्न सार्वजनिक पदमा नियुक्ति गरी संसदीय सुनुवाइका लागि पठाइएका राजदूत, सर्वाेच्च अदालतका न्यायाधीश र सवैधानिक परिषद्का पदाधिकारीको समितिले सुनुवाइ गर्दै आएको छ ।

मुख्य जिम्मेवारी संसदीय सुनुवाइ नै भएकाले सुनुवाइका क्रममा उठेका प्रश्नको सम्बोधन र समितिलाई थप व्यवस्थित र चुस्त तुल्याउन सरोकारवालासँगको परामर्शलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । सभापति न्यौपानेले भन्नुभयो, “संसदीय सुनुवाइका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्न के–कस्ता चुनौती भोग्नुपर्‍यो, कस्ता बाधा अड्चन आए त्यस विषयमा उहाँहरूसँग अन्तक्र्रिया गरिने छ ।”

समितिले जिल्ला निर्वाचन कार्यालयमा के–कस्ता समस्या छन्, सुनुवाइ समितिका लागि लिइने उजुरी दर्ता गर्न के–कस्ता अप्ठयारो परेको छ वा छैन भनी सातै प्रदेशमा गएर अनुगमन गर्ने छ ।

त्यस सिलसिलामा यस आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरामा प्रदेससभा, मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक जानकारी र सुझाव लिने तथा अन्तक्र्रिया गर्ने तयारी गरेको जानकारी दिइएको छ ।

समितिलाई कामयावी, प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जनताले कसरी हेरेका छन् भन्ने सन्दर्भमा समितिले यस किसिमको कार्ययोजना अघि सारेको छ । समितिले विदेशस्थित दूतावासमा समेत गएर अवलोकन र जानकारी लिने बताइएको छ ।