`

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौँ, १८ जेठः सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत राष्ट्रिय कार्ययोजना, २०८२ को छायाँप्रति साथमा राखेर सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले मनसुनजन्य विपद् न्यूनीकरणका लागि उल्लिखित कार्ययोजनामा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने विषयमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्य कार्यान्वयन गर्न र गराउन भन्दै परिपत्र जारी गरिएको बताउनुभयो । स्थानीय तहलाई पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागू गर्न र त्यसको जानकारी मन्त्रालयलाई गराउन, स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनिएको खत्रीले उल्लेख गर्नुभयो ।

परिपत्रमा मनसुनजन्य विपद्को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीहरूको व्यवस्थापन तथा प्रतिकार्यका लागि नगर प्रहरीलाई आवश्यक साधनस्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न पनि भनिएको छ ।

यस्तै, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रमा कार्य गर्ने सङ्घसंस्था, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न तथा मनसुन अगावै सहर, बस्तीका ढल सफा गर्न, खोला नालामा थुप्रिएका गेग्र्यान हटाउन तथा पानी निकास खोल्न पनि अनुरोध गरिएको छ ।

स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य ‘कमान्ड पोष्ट’ स्थापना गरी प्रभावकारी सञ्चालन, मनसुन पूर्वसूचना प्रणालीको विकास तथा मनसुनका समयमा हुने कालोबजारी, कृत्रिम अभाव र आपराधिक घटना नियन्त्रणमा सक्रिय हुन पनि भनिएको छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज सिन्धुलीमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उहाँले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । “आयोजना निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउनुस्, तोेकिएकै समयमा सक्नेगरी लाग्नुस् । ⁠कार्यप्रगतिका आधारमा बजेटको व्यवस्था गर्छौं, त्यसको अभाव हुन दिँदैनौँ”, मन्त्री खड्काले भन्नुभयो ।

आयोजनाको ⁠१३ दशमलव दुई किलोमिटर सुरुङ निर्माण सकिएकाले अब हेडवक्र्सको काम तीव्र गतिमा सक्न निर्देशन दिँदै उहाँले त्यसका लागि स्पष्ट खाका बनाएर लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । “काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ति गर्नका लागि काम गर्नुभएन भने सरकारले वैकल्पिक बाटो सोच्छ, यो सरकारको बाध्यता हो,” ऊर्जामन्त्री खड्काले भन्नुभयो, “आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिँचाइ हुने र ३२ मेगावाट विद्युत् उत्पादन र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराइने छ । यो सिङ्गो मधेश र देशका लागि गौरवको आयोजना हो, त्यसले लक्ष्यलाई भेट्ने गरी काम गर्नुस् ।”

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्य भेट्नेगरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “अहिलेसम्म ५० प्रतिशत काम सकिनुपर्नेमा हेडवक्र्समा जम्मा १९ प्रतिशतमात्रै काम हुनु दुःखद कुरा हो, काम तोकिएकै मितिमा सम्पन्न गर्नेगरी लाग्नुहोस् । अब गति बढाउनुस्”, उहाँले भन्नुभयो,“ हालकै अवस्थाका काम गरिए ठेक्का तोड्नुपर्ने अवस्था आउँछ । रु १४ अर्बको आयोजनामा रु एक अर्ब २० करोड ‘मोबिलाइजेसन’ खर्च परिचालन गरिसकेकाले यसो भएमा सबैका लागि दुर्भाग्य हुनेछ ।”

स्मेक कन्सल्ट्यान्टका प्रतिनिधि दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरूले ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनका प्रतिनिधि रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाइ भएकाले सरकारले सहयोग गरे आफूहरूले समयमै आयोजना सम्पन्न गर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले आयोजनाको टनेल, पावरहाउस र हेडवक्र्सको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो । मन्त्री खड्कासँगै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

गणतन्त्र राजनीतिक दल र जनसङ्घर्षको प्रतिफल हो: अध्यक्ष दाहाल

काठमाडौँ, १८ जेठ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताउनुभएको छ ।

पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताउनुभएको हो ।

“गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ”, अध्यक्ष दाहालले भन्नुभयो, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।”

मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो ।

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि अग्रपङ्क्तिमा उभिने बताउनुभयो ।

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छादान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशीर्वादले नै कोटिहोम ऐतिहासिक वनेको आयोजकको भनाई छ ।

महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।

‘तपाईँहरूको ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएको छ । भक्तजनहरूकै आशीर्वाद, ईश्वरको कृपा र इच्छाले नै कोटिहोम महाज्ञय जस्तो महा अनुष्ठानहरू वास्तामै ऐतिहासिक बन्न सम्भव भएको छ’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने, ‘देशभरिबाट भक्तजनहरू उपस्थित भइदिनुभयो, देश तथा विदेशमा रहनुभएका गुरुहरूको आशीर्वचन प्राप्त हुने दिव्य अवसर प्राप्त भयो र हाम्रो जीवनकालमा दर्शन गर्न मिल्ने शत कुण्डीय गायत्री कोाटिहोमको साक्षात्कार गर्न पाउनुभयो भने यो भन्दा महान् उपलब्धि मानव जीवनको लागि अन्य के नै होला र ?’

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भोलि गुरुङ भेषमा पण्डालमा आउने भएकी छन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले भोलि गुरुङ पहिरनमा रहेर कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसै गरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा जेठ २४ गते हुने छ ।
कार्यक्रममा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुली तथा निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी गायक विमल राज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा श्री नमुना टोल विकास संस्था परिवार पोखरा १७ बाट ६३ हजार ६ सय ८५, शिवजी पौडेल चितवन बाट २५ हजार ५ सय ५५, कृष्ण प्रसाद खनाल स्याङ्जा –८ बाट १५ हजार, रेसम लाल÷प्रेम प्रसाद खनाल स्याङ्जा –८ बाट ११ हजार ५ सय, नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घ नेपाल स्याङ्जा–१ बाट ३१ हजार १ सय ३५, भगवती बराल पोखरा १७ बाट २५ हजार सहयोग प्रदान भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिन्दवाशिनी कंसाकार, लक्ष्मी तिवारी कुसुम महर्जनको उपस्थिति रहेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।
यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ० जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन : महासचिव पोखरेल

काठमाडौँ, १८ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पु¥याउनुपर्ने थियो, त्यस हिसाबले पु¥याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताउनुभयो । उहाँले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रुपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताउनुभयो ।

अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले सीमित जनशक्ति र साधनस्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्ति भ्रमको खेतीमा लागेका उहाँको आरोप थियो । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निकै सुधार भएको महासचिव पोखरेलले बताउनुभयो ।

राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उहाँले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने बताउनुभयो । महासचिव पोखरेलले पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा राख्नुभयो । आजसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

सोमबारदेखि कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने

सुर्खेत । कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् । सरकारले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

सवारी ऐन विपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेकोले आन्दोलन गर्नु परेको यातायात व्यवसायीको भनाई छ । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले सोमबारदेखि सार्वजनिक यातायात चल्न नदिने बताए ।

गण्डकी प्रदेश सरकारले ल्याएको विधेयक खारेज गर्नु पर्ने सापकोटाले बताए । ‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितमा छैन्’ उनले भने, ‘संघीय सवारी ऐन २०४९ को विपरित छ ।’ प्रदेश सरकारले गण्डकीको जस्तै कानून बनाएको अवस्थामा सार्वजनिक यातायात धरापमा पर्ने सापकोटाले बताए । गण्डकीको नियमावली खारेज नभए जेठ १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन नगर्ने उनको भनाई छ ।

यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरुले विभिन्न ७ बुँदे माग राखी आइतबार देशभर एक १ घण्टा चक्काजामसमेत गरेका छन् ।

‘मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेका छौँ’ :मुख्यमन्त्री सिंह

जनकपुरधाम, १८ जेठः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो नेतृत्वको सरकारले मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको आज यहाँ आयोजना गरेको एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण) शिलान्यास कार्यक्रममा उहाँले सङ्घीयताको रक्षा गर्न मधेश सबैभन्दा अगाडि रहेको दाबी गर्दै यहाँका जनता सदैव सङ्घीयताको पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको सीमित साधनस्रोत तथा बजेटका बाबजुद रु १२ अर्ब ७० करोडको लागतमा मधेशका ६४ वटा सडक निर्माण सुरु भएको र यसलाई तोकिएकै समयमा सम्पन्न गरिने बताउनुभयो । उहाँले प्रदेशको समग्र विकास तथा बेथिति नियन्त्रणमा आफूहरू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

“हामीले कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । आफूले गिट्टी, बालुवाको तस्करी नियन्त्रण र अनुगमन तथा प्रदेशमा कानुनविपरीत सञ्चालित नर्सिङ होम, औषधि पसल तथा निजी अस्पतालको अनुगमन गरी कारबाही गरिरहेका छौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ।

त्यस अवसरमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदा बेटी बचाउ, बेटी पढाउ तथा छोरी बिमा कार्यक्रम सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विगतका प्रदेश सरकारले सुशासन तथा पारदर्शिताका साथै विकास निर्माणका सम्बन्धमा तयार गरेको योजनामा हालको सरकारले कुनै भेदभाव नराखी निरन्तरता दिनुपर्ने उहाँले आग्रह गर्नुभयो । कार्यक्रम मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आइतबार अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भएका हुन् ।

राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरेका थिए ।

हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा उहाँले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।

गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ ।

मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ ।

भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पुर्याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए ।

सबै किसिमका परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १८ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित बृहत् स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।”

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उहाँले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताउनुभयो । उहाँले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश्वर गौतमले सधैँ जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताउनुभयो ।

नेपाल प्रेस युनियन, काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्तपालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ ।

सुुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली

जनकपुर, १८ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उहाँले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासमा जोड दिँदै भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुु¥याइने जनाइएको छ । रु ४९ अर्ब ४२ करोडको लागतमा बन्ने सो आयोजनाको ‘हेडवक्र्स’मा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमिका रूपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य र आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताउनुुभयो । उहाँले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुरमा रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता काममा गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीलेसुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गर्नुभयो ।

‘गण्डकी कोटिहोमभन्दा अझै ठूला यज्ञहरुको तयारीमा छौं, सबै प्रदेशमा पुग्छौं’

पोखरा । नेपाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी दिनमा देशका अन्य प्रदेशमा पनि कोटिहोम गर्ने प्रतिवद्धता जनाउँदै कोटिहोमबाट उठेको रकम माग भएको खण्डमा सोही प्रदेशमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले सम्बन्धित प्रदेशमा विभिन्न आश्रम निर्माण गरेर मानव सेवामा समर्पित हुने पनि बताए ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले गण्डकीको रकमलाई सकेसम्म बाहिर जानेभन्दा गण्डकी प्रदेशभित्रकै कुनै ठाँउमा आश्रम स्थापना गरेर सेवा दिने लक्ष्य रहेको जानकारी दिए ।

उनले भने,‘पोखराका केही संस्थाहरुले बालबालिका पाल्ने, आमाबुबा राख्ने हो भने वा केही मानवीय सेवाका कामहरु गर्ने हो भने संकलित चन्दा हस्तान्तरण गर्न तयार छौं । कसैले गण्डकीकै कुनै भागमा जमिन दिन्छौ भनेर आउनुभयो भने संकलित रकम हस्तान्तरण गर्न तयार छौं । यहाँको रकमले अन्य ठाँउमा पनि धर्म जागरण गर्ने काम गर्ने छौ,’ उनले अगाडि भने,‘पशुपति कोटिहोम सफल भएकै कारण गण्डकीमा पनि सफल भएको हो । अब अन्य ठाँउ वा अन्य प्रदेशमा पनि यस्ता बृहत कार्यक्रमहरु आयोजना गर्दै जानेछौं ।’

त्यस्तै उनले गण्डकी कोटिहोम एकदमै व्यवस्थित तरिकाले अगाडि बढिरहेको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीका लाखौं भक्तहरुले कोटिहोमबाट पुण्यलाभ लिइरहेको दाबी गरे ।

कोटिहोम ज्ञान महायज्ञको अवसरमा करिब ५० जिल्लाभन्दा बढि क्षेत्रबाट भक्तहरु आइरहेको छन् भने अन्तराष्ट्रिय जगतबाट पनि सादुसन्त, कथा व्यासहरु, प्रवक्ता, संगितकर्मी, कलाकार, साधक सबै यहाँ आइराखेको उनले जानकारी दिए ।
उनले बिहान उज्यालो भएदेखि रातीसम्मै भक्तहरुको भीडले गर्दा आफूहरुलाई एकदमै उत्साहित बनाएको पनि दाबी गरे ।

उनले भने,‘गण्डकी कोटिहोम ज्ञान महायज्ञको अवसरमा करिब ५० जिल्लाभन्दा बढि क्षेत्रबाट भक्तहरु आइरहनु भएको छ भने देश र विदेशबाट समेत भारतदेखि अन्य अन्तर्राष्ट्रिय जगतबाट पनि सादुसन्त, कथा व्यासहरु, प्रवक्ता, संगीतकर्मी, कलाकार, साधक सबै आइराख्नु भएको छ ।

एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ । साथै तन, मन, धन, वचन र कर्मले पूर्ण रुपमा सहयोग गर्नु भएको छ । बिहान उज्यालो भएदेखि रातीसम्मै भक्तहरुको भीड देख्न सकिन्छ । यसले हामीलाई उत्साहित बनाएको छ ।’
कोटिहोम विराट ज्ञान महायज्ञको आयोजनास्थललाई लिएर सुरुमा तीन महिनासम्म विवाद चलेको थियो । उक्त विवादपछि आयोजनास्थल सारिएका पनि त्यसको कुनै किसिमको प्रभाव नदेखिएको उनी बताउँछन् । जग्गा विवादको कुराले कोटिहोमलाई थप हौसाएको उनको भनाइ छ ।

उनले भने,‘जग्गा विवादको कुरालाई मैंले भगवानको इच्छाको रुपमा लिएको छु । राम्रो हुन कै लागि त्यो विवाद भएको जस्तो छ । त्यो विषय सबै शान्त भइसकेको छ । कुनै पनि विवाद, अवरोध, विरोध र नकारात्मक कुराहरु आएको पाएका छैनौ । योभन्दा अगाडि वडा नं. ६ मा लेकसाइडमा कार्यक्रम गर्ने भनिएको थियो तर विविध कारणबस त्यहाँ हुन सकेन । महानगर र यहाँका उच्चस्तरीय सरकारका कर्मचारीहरुको आग्रहमा स्थान परिवर्तन गरेका हौं । ठाउँ परिवर्तन हुँदा झनै राम्रो भएको छ । यज्ञ सफलताको उचाईमा पुग्न लागेको छ ।’

उनले गण्डही कोटिहोम पशुपति कोटिहोमभन्दा पनि फरक रुपमा सञ्चालन भइहरेको जानकारी गराए । उनका अनुसार पशुपतिमा १० कुण्डको कोटिहोम थियो भने पोखराको सय कुण्ड कोटिहोम हो । पशुपतिमा भगवान शिवलाई प्रसन्न पार्नको लागि आयोजित कोटिहोम थियो भने पोखरामा गायत्री माताको प्रसन्नताको लागि शास्त्रमा वर्णन भएको सय कुण्डिय कोटिहोमको परिकल्पना गरेर आयोजना गरिएको हो ।त्यस्तै उनले पोखरामा चार सय ब्राह्मणहरुद्वारा एक महिनाभन्दा बढि समयदेखि हवन गरिरहेको पनि बताए ।

‘पहिलो कोटिहोम सकिएपछि सातै प्रदेशमा भगवानलाई करोड पटक हवन गरेर, सन्तुष्टि गराउने भनेर गण्डकीमा काम अघि बढेको हो । पशुपतिमा सफलता, भव्य र सभ्य रुपमा कोटिहोम सम्पन्न गरेका थियौं । त्यसपश्चात अर्को प्रदेशमा कार्यक्रम गर्ने लक्ष्य अनुसार अहिले गण्डकीमा आइपुगेका हौं,’ उनले भने,‘ पशुपतिमा १० कुण्डको कोटिहोम थियो भने यहाँ पोखराको सय कुण्ड कोटिहोम हो । पशुपतिमा भगवान शिवलाई प्रसन्न बनाउन आयोजित थियो भने गण्डकी गायत्री माताको प्रसन्नताको लागि शास्त्रमा वर्णन भएको सय कुण्डिय कोटीहोमको परिकल्पना गरेर पोखरामा चार सय ब्राह्मणहरुद्वारा एक महिनाभन्दा बढि समयदेखि हवन गरिरहेका छौ ।’

त्यस्तै पशुपतिमा भन्दा पोखरा कोटिहोममा अन्य भिन्नता पनि रहेका छन् । पोखरा कोटिहोम सांस्कृतिक, धार्मिक महामहोत्सव भएकाले यहाँ ११ हजार कलश पुजन गरिएको छ । ११ हजार शालिग्राम पुजन, विभिन्न वक्तित्वकला प्रतियोगिता, ५ सयभन्दा बढि समुहको भजन प्रतियोगिता चलिरहेको छ ।

पशुपति कोटीहोमभन्दा थप व्यवस्थित पोखरा कोटीहोमलाई बनाइएको उनको दाबी छ । गुरु विजयकृष्ण मूर्तिले कोटिहोमलाई अझै सुधार गर्नुपर्ने बताए । गण्डकी कोटिहोम कुनै जात, धर्म, समूह र सम्प्रदाय विशेष नभएर नेपालभित्र रहेका धार्मिक, सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने, धार्मिक पर्यटकीय रुपमा नेपाललाई अगाडि सार्ने उद्देश्य समिटिएको उनको भनाइ छ ।

उनका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीमा यज्ञ आयोजना गरी संकलित चन्दाले करिब तीन रोपनी जमिन खरिद गरिएको बताए । त्यहाँ १ करोड ११ लाख चन्दा संकलन भएकोमा अन्य पशुपति कोटिहोमबाट आम्दानी भएको रकम थप गरी जग्गा खरिद गरेको र आश्रमको नाममा जमिन आइसकेको उनले जानकारी दिए ।

गण्डकी कोटिहोमबाट प्राप्त रकमले ताथलीकै जग्गामा आश्रम बनाउने लक्ष्य रहेको सुनाए । नेपालका धेरै जिल्लामा अलपत्र परेको आमाबुबाहरुलाई राख्न सयौ जनाले आवेदन दिएको भएपनि उनीहरुलाई राख्ने भवन निर्माण गर्न नसकेको गुनासो गरे । अहिले नेपाल सरकार र बाहिरबाट सहयोग प्राप्त नभएको बताउँदै उनले सहयोगको अपेक्षा समेत गरेका छन् ।

‘गण्डकी कोटिहोमबाट पनि केही भक्तहरुले राम्रो आश्वासन दिनु भएको छ । यहाँबाट पनि केही रकम प्राप्त भएपछि त्यहाँ भवन बनाउने काम गर्ने छौ । कुनै कुनै ठाँउमा गरेको हवन, यज्ञ र सप्ताहा गरेर जम्मा भएको रकम पनि आमाबुबाहरुको स्वास्थ्य उपचार, हेरविचार, खानपिन गर्नको लागि पनि वितरण गरेका छौं,’ उनले भने,‘८६ जना बालबच्चाहरुले ललितपुरमा आश्रय लिनुभएको छ । दर्जनौ आमाबुबाले भक्तपुरमा आश्रय लिनु भएको छ । उहाँहरुका निम्ती सहयोग जुटाउनुपर्ने छ,’उनले भने ।
‘नेपालका धेरै जिल्लामा अलपत्र परेको आमाबुबाहरुलाई राखिदिनुपर्यो भनेर सयौ जनाले आवेदन दिनु भएको छ । हामीले उहाँहरुलाई राख्ने भवन निर्माण गर्न सकिरहेका छेनौ । अनाथ बच्चाहरुको लागि सयौं आवेदनहरु आएका छन् ।

उहाँहरु सबैलाई राख्ने प्रयास हामीले गरेका छौ,’ उनले अगाडि भने,‘त्यसको लागि ठूलो भवन, स्रोत साधन, रकम चाहिन्छ । यस्ता यज्ञको माध्यमबाट एकदमै मनकारी दानवीरहरु जोडिनु हुन्छ । दैनिक खर्च चलाउन पनि सजिलो हुन्छ । अहिले नेपाल सरकार र बाहिरबाट भने सहयोग प्राप्त गरेको अवस्था छैन् तर सहयोगको अपेक्षा भने गरेका छौं,’ उनले भने ।

रोयल ग्लोबल क्विन र किड्स रनवे सिजन फोरको आज ग्राण्ड फिनाले

काठमाडौँ। मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको आज ग्राण्ड फिनाले हुँदैछ । अपराह्न्न ३ बजेपछि काठमाडौँको नाचघरमा हुने शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा एलिना चौधरी, देविका घतानी, दीपा क्षेत्री, दुर्गा चन्द, जिविका दाहाल, मनिषा श्रेष्ठ, मेरिता पोखरेल, नोमी राई, प्राप्ती खड्का, रमा थापा, , रारिका बुढा, सृष्टि मानन्धर, सृजना राई, श्वेता बज्राचार्य र यना राईले सहभागीताता जनाउने आयोजकले जनाएको छ ।

त्यस्तै किड्स रनवे सिजन फोरमा मोनालिजा सुनुवार, शिवानीका यादव, श्रीयन्सी थपलिया, रिसब जंग कार्की, अंशु तिमल्सिना, नियाल्सा पाख्रिन, आरध्या खत्री, प्रस्मिता अर्याल, यूनिका श्रेष्ठ, शान्भी श्रेष्ठ, प्रशन्न अर्याल, रियान भण्डारी, गृष्मा पोखरेल, भाव्या चौहान र यासुमी तिमल्सिनाले सहभागिता जनाउने छन् । स्वतन्त्र हिसाबले प्रतिस्पर्धीले आफ्नो रुची अनुसारको कला देखाउन पाइने यो ब्युटी पेजेट र फेसन शाको सबैभन्दा आकर्षक पक्ष रहेको आयोजक शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाह बताउँछन् ।

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

बेलबारी (मोरङ), १८ जेठ – मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश

काठमाडौँ, १८ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गए राति स्वदेश फर्कनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गर्नुभएको थियो । नेपाल सो सङ्गठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।

यसै कार्यक्रमका सिलसिलामा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

उहाँले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “यस वर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ परेकाले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ ।”

मन्त्री डा राणाले नेतृत्व गर्नुभएको यस नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलगायत परराष्ट्र मन्त्रालय र महावाणिज्य दूतावास हङकङका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

भव्य प्रचारप्रसारमा चलचित्र ‘जन्ते बाख्रो’ टिम

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सिटी स्क्वायर मल सामाखुशीको प्राङ्गणमा ५ बजेदेखि साँझ अवेरसम्म विभिन्न कलाकारहरुले ‘जन्ते बाख्रो साँझ’मा आफ्ना प्रस्तुती देखाएका छन् ।

दर्शकहरुको बाक्लो उपस्थितीले धेरै खुसी लागेको चलचित्र जन्ते बाख्रोकी नायिका गरिमा शर्माले बताइन् । उनले भनिन्, ‘यहाँ जति साँझ हुदै गयो त्यती माहोल तात्दै जान्छ, आज उत्साहीत छु आज आउनुभएका दर्शकहरु २३ गते फिल्म हेर्न आउनुभयो भने हाम्रो फिल्म सफल हुनबाट कसैले रोक्न सक्दैन ।’उनले सबैलाई जन्ते बाख्रो हेरी प्रतिक्रिया दिन आग्रह गरिन् ।

यस्तै, कलाकार विशाल पहाडीले जन्ते बाख्रो साँझले दर्शकलाई फिल्म हलसम्म तान्ने बताए । उनले भने, ‘उहाँहरुले फिल्म नहेरी केही भन्न सक्नुहुन्न् । उहाँहरुलाई फिल्म हलसम्म लानु नै हाम्रो उद्देश्य हो । त्यसपछि आशा छ पक्कै मन पराउनुहुन्छ ।’

सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रको कथा, पटकथा र संवाद लेखक प्रदीप भारद्वाजले लेखेका हुन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, १८ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३२, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु १५, भन्टा डल्लो प्रतिकिलो रु २५, तनेबोडीको मूल्य प्रतिकिलो रु ६५ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २८, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२५, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३५, परबर (लोकल) प्रतिकिलो रु ६५, परबर (तराई) प्रतिकिलो रु ६५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु २५, झिगुनी प्रतिकिलो रु ६५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो साग प्रतिकिलो रु ३५, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु २६०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ९५, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १३०, लिची (भारतीय) प्रतिकिलो रु २१० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् । आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो ।

शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा साढे दुई घण्टा विद्युत अवरुद्ध हुँदा….

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिव दुई घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध हुँदा कुनैपनि विरामीको अकालमा ज्यान गएन ।

अस्पतालको आइसीयू कक्षमा शुक्रबार राति १०ः३० देखि शनिबार बिहान १ः०० बजेसम्म विद्युत् सेवा आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।

सो समयमा अस्पतालको आइसीयू र सिसीयू श्ययमा १७ बिरामी उपचारत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिएका थिए । विद्युत् अवरुद्ध भएपछि हुँदा चिकित्सक र नर्सले मोबाइलबाट ‘लाइट’ बालेर उपचार गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आइसीयू र सिसीयू जस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरतापूर्वक चासो लिएको छ ।

प्रशासनले विद्युत आपूर्तिमा हेलचेक्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डडेन्ट, प्रशासन प्रमुख, अस्पतालका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ विभागमा कार्यरत नर्सिङ स्टाफ, इलेक्टिसियनलगायत अस्पतालसँग जोडिएका सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक राखेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गम्भीर हुनका लागि कडा निर्देशन दिएका छन् ।

“अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो”, प्रजिअ अर्यालले भने, “तपाईँहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो । हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु, । जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।”

प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्टिसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउनका लागि पनि अनुरोध गरे । “अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा इलेक्ट्रियन उपलब्ध नहुनु पनि गम्भीर विषय हो”, उनले भने, “ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हानुपर्छ।”

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले शुक्रबार राति भएको घटना गम्भीर प्रकृतिको भएकाले आगामी दिनमा त्यस्ता खालका घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले आइसीयू र सिसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले सो घटना भएको दाबी गरे । उनले भने। “अस्पताल प्रशासनले आइसीयूमा भएका दुई जना सिकिस्त प्रकृतिका बिरामीलाई अर्काे अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन ।”

काठेखोला गाउँपालिकाले महिलालाई बाख्रा उपहार

ढोरपाटन (बागलुङ), १८ जेठ : काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।

गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । यसै साता मात्र काठेखोला –७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।

स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ । उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ ।

उहाँले भन्नुभयो, “गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम गर्यो, पहिले बाख्रापालन गर्ने चलन कम थियो, अहिले गाउँमा धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एकदुईवटा बाख्रा देखिन्छन्, अप्ठ्यारो परेका बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले रु दुईचार हजार आवश्यक पर्दा ऋण गर्नुपथ्र्यो, अहिले एउटा पाठो बेचे आउँछ ।”

काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन् । बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको जनाइएको छ ।

‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

नारच्याङ (म्याग्दी), १८ जेठ : यहाँस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सव शुभारम्भ गरिएको छ ।

आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए ।

माथिएस हर्गोजसँग आउनुभएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब दुई सय जना सहभागी छन् ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

“आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित भएका छौँ”, पदयात्रा टोलीलाई स्वागत गर्दै उहाँले भन्नुभयो, “हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो ।”

यसअघि काठमाडाँै र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन, नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

जेठ २० गते हुने आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ । २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।

अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो

दोधारा चाँदनी (कञ्चनपुर), १८ जेठः भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ ।आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ । नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उहाँले बताउनुभयो ।

“हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ”, अध्यक्ष पन्तले भन्नुभयो, “यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ ।” उहाँले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताउनुभयो । अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्जा बनेको बताउनुभयो । “असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको अधूरो काम पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।”

भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत सङ्कलन गरिएको छ । त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्बासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत सङ्कलन गरिएको छ । कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन् ।

शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३, भूमिहीन सुकुम्बासी एक सय ५४ र अव्यवस्थित बसोबासी एघार हजार ४८९ जनाको लगत सङ्कलन गरिएको छ । आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६, भूमिहीन सुकुम्बासी दुई सय ६० र अव्यवस्थित बसोबासी तीन हजार ५६१ छन् । त्यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८, भूमिहीन सुकुम्बासी एक सय ८८ र अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी पाँच हजार छ सय ६ को लगत सङ्कलन गरिएको छ ।

पुनर्वास नगरपालिकामा भूमिहीन दलित सात सय ७१, भूमिहीन सुकुम्बासी आठ सय ७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६० रहेका छन् । बेल्डाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ९७, भूमिहीन सुकुम्बासी एक सय ९५ र अव्यवस्थित बसोबासीको चार हजार ४०३ छन् । आयोगका अनुसार लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२, भूमिहीन सुकुम्बासी ९० र अव्यवस्थित बसोबासी चार हजार ४६९ जना छन् ।

यीमध्ये तीन सय सात परिवारले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । जसमा बेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकामा २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि विघटित भूमि आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँका अनुसार, आयोगले भीमदत्त नगरपालिकाका–४, १४, १५, ११ र १७ मा जग्गा नापजाँच गरेको थियो । त्यसैगरी बेदकोट नगरपालिकाको सबै वडामा एक हजार ९२४ हेक्टर जग्गा नापी गरिएको छ । कृष्णपुर नगरपालिकाका वडा नम्बर १, २, ४, ८ र ९ मा दुई हजार ३० हेक्टर जग्गा नापी भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा १, २, ३, ९ मा आठ सय १६ दशमलव ३८ हेक्टर जग्गा नापी भएको छ भने वडा १२ र १० मा नापी हुन बाँकी छ ।

दोधारा चाँदनी नगरपालिकामा–८ मा पाँच सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा ५, ३, ९ र १० मा नापीको काम भइरहेको आयोगले जनाएको छ । त्यसैगरी बेलौरी नगरपालिकामा वडा ४, ८ र १० मा नापी सम्पन्न गरिएको छ । पुनर्वास नगरपालिकामा एक सय २४ हेक्टर जग्गा नापी भएको छ । बेलडाँडी गाउँपालिकाका सबै वडामा एक हजार चार सय हेक्टर जग्गा नापी भएको छ भने लालझाडी गाउँपालिकामा वडा ४, ५ र ६ मा २१ हेक्टर जग्गा नापी भएको छ ।

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

काठमाडौँ, १८ जेठ ः हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ : नेता महर

ताप्लेजुङ- नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । संविधानलाई सङ्कटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताउनुभयो ।

“समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिलाले पाएको संवैधानिक अधिकार सहन नसकेर ती शक्ति संविधान संशोधनको नाममा वर्तमान व्यवस्थालाई नै सङ्कटमा पार्न लागिपरेका छन् ।”

राजावादीहरूको गतिविधितर्फ सङ्केत गर्दै नेता महरले संविधानको रक्षाका लागि अब सोच्ने र स्पष्ट आवाज उठाउने बेला आएको उल्लेख गर्नुभयो । “नेपाली कांग्रेस संविधानको रक्षा गर्न चाहन्छ, दलित, महिला र जनजातिलगायतका समुदायको अधिकार खोसिएको हेर्न चाहँदैन”, उहाँले भन्नुभयो ।

नेतृत्वमा रहेका कोहीकसैबाट साननतिना गल्ती हुन सक्ने स्वीकार गर्दै नेता महरले त्यो आधारमा सम्पूर्ण पार्टीलाई दोष दिनु उचित नहुने बताउनुभयो । स्थानिक उत्पादनलाई प्रवद्र्धन गर्दै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले समावेशी विकास र आर्थिक समानता कांग्रेसको मुख्य प्राथमिकता भएको बताउनुभयो । लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा अझ सुदृढ गर्न कार्यकर्ताबीच ऐक्यबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण

मुस्ताङ, १८ जेठः मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो ।

आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो । यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा रु एक करोड र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा रु एक करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्नेगरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुङ्गा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाइ निर्माण सेवा काठमाडौँले ठेक्का सम्झौता गरेको थियो । मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा दुई सय मिटर दूरीमा छप्पनी ढुङ्गा बिछ्याउने काम भइरहेको इन्जिनियर भण्डारीले उल्लेख गर्नुभयो ।

भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित आठ मिटर चौडा पदमार्ग निर्माण भइरहेको इन्जिनियर भण्डारीले बताउनुभयो । रानीपौवा बजार क्षेत्रमा चार मिटर चौडामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग स्तरोन्नति गरिने बताउनुभयो । रानीपौवामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग निर्माणको पछिल्लो भौतिक प्रगति ४५ प्रतिशत पुगेको उहाँले जनाउनुभयो ।

यसैगरी मुक्तिनाथधामको मुख्य प्रवेशद्वारबाट ज्वालामाईसम्म रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माणको जिम्मा पिके कन्ट्रक्सनले लिएको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । त्यहाँ तीन सय ५० मिटर दूरीमा दुई दशमलव एक मिटर चौडा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ । ज्वालामाईसम्मको रेलिङसहितको सिँढी बाटो पदमार्गको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रुपैयाँ ४६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंण्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

काठमाडौँ, १८ जेठ : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

जनताको माया र विश्वासबाट माओवादी अझ जिम्मेवार बनेको छ: अध्यक्ष दाहाल

काठमाडौँ, १७ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर समितिद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताउनुभयो । पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उहाँले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताउनुभयो । पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै उहाँले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको विचार व्यक्त गर्नुभयो ।

यसैबीच, आज नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गणतन्त्रात्मक संविधानभित्र निर्वाचन लडेर सांसद भएको व्यक्तिले यही व्यवस्थाको विरोध गर्न नपाउने बताउनुभयो । “सदनमा यही संविधानअनुसार सपथ पनि खाने, सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि बिलकुल बेठीक हो,” अध्यक्ष दाहालले भन्नुभयो ।

‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु’ : शेखर कोइराला

खोटाङ, १७ जेठ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताउनुभएको छ ।

किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उहाँले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ । एकले अर्कालाई सम्मान गरेमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।”

फरक सन्दर्भमा नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन, सहज एवं पारदर्शी रुपमा सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ । जनअपेक्षाअनुसारका धेरै काम गर्न जरुरी छ ।”

जिल्लास्थित पार्टीका कार्यकर्तासँग अन्तरक्रियासमेत गर्नुभएका नेता कोइरालाले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरु लागिपरेको जानकारी दिनुभयो ।

इरानले उच्चस्तरीय युरेनियम प्रशोधनमा तीव्रता ल्यायो : आईएईए

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) द्वारा तयार पारिएको गोप्य प्रतिवेदन अनुसार इरानले पछिल्लो केही महिनामा उच्च स्तरको युरेनियम प्रशोधन प्रक्रियामा तीव्रता ल्याएको देखिएको छ ।

सन् २०१५ मा सम्पन्न आणविक सम्झौता कार्यान्वयनमा नआएपछि इरान र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो नियामक निकायबीच सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ । उक्त सम्झौतामा प्रतिबन्ध हटाउने सर्तमा इरानको आणविक गतिविधिमा सीमितता ल्याउने व्यवस्था गरिएको थियो ।

आईएईएको हालैको त्रैमासिक प्रतिवेदनअनुसार, सन् २०२५ मे १७ सम्म इरानले जम्मा ४०८ दशमलव ६ मेट्रिक टन युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म प्रशोधन गरेको जनाएको छ, जुन अघिल्लो प्रतिवेदनको तुलनामा १३३ दशमलव ८ टनले बढी हो ।

संस्थाका अनुसार इरान नै हालसम्मको एक मात्र यस्तो राष्ट्र हो, जसले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउँदै पनि युरेनियमलाई सो स्तरसम्म प्रशोधन गरेको छ । यद्यपि, इरानले बारम्बार आफूप्रति लागेको हतियार विकासको आशङ्कालाई अस्वीकार गर्दै आएको छ ।

आईएईएको अर्को विस्तृत विवरणमा इरानले संस्था सङ्ग समन्वयमा केही क्षेत्रमा अपेक्षित स्तरको सहयोग नगरेको उल्लेख गरिएको छ ।

अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार

अष्ट्रेलियाको सङ्घीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरितगृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ ।

जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा शुक्रबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२४ मा अष्ट्रेलियाबाट जम्मा ४४६ दशमलव चार लाख टन बराबरको कार्बन डाइअक्साइड ग्यास उत्सर्जन भएको छ, जुन सन् २०२३ मा ४४६ दशमलव दुई लाख टन थियो । यो वृद्धि करिब शुन्य दशमलव ०५ प्रतिशतको हो ।

उद्योग र उत्पादनसम्बन्धी प्रक्रियाबाट उत्सर्जन सन् २०२३ को तुलनामा पाँच प्रतिशतले घटेको छ भने कृषिक्षेत्रबाट हुने उत्सर्जनमा पनि दुई प्रतिशतले कमी आएको छ ।

तर, विद्युत् उत्पादन र यातायातका साधनहरूमार्फत उत्सर्जन बढेको उल्लेख गरिएको छ । विद्युत् क्षेत्रबाट उत्सर्जन दुई दशमलव दुई प्रतिशतले र यातायात क्षेत्रबाट उत्सर्जन एक दशमलव नौ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००५ को तुलनामा अष्ट्रेलियाको कुल उत्सर्जन २७ प्रतिशतले घटिसकेको छ भने प्रतिव्यक्ति उत्सर्जनमा ४६ दशमलव तीन प्रतिशतको कमी आएको छ ।

सरकारले सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तीमा ४३ प्रतिशत उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले उक्त प्रतिवेदनबारे प्रतिक्रिया दिँदै सरकार उक्त लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले निरन्तर प्रयास गर्न जरुरी छ, ताकि सम्पूर्ण अर्थतन्त्रभर हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकियोस् ।”

मन्त्रालयद्वारा प्रस्तुत अद्यावधिक विवरणअनुसार सन् २०२४ मा नवीकरणीय ऊर्जाबाट उत्पादन पाँच दशमलव ६ प्रतिशतले बढेको छ । तर, तास्मानिया राज्यमा परेको खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आएको र त्यसको भरपर्दा कोइला तथा ग्यासबाट उत्पादनमा केही वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ को मार्च सम्मको १२ महिनाको अवधिमा अष्ट्रेलियाबाट हुने उत्सर्जन ४४२ लाख टन बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव दुई प्रतिशतले कम हो ।

साउदी विदेश मन्त्रीको सिरिया भ्रमण, आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल हुने

साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी डामास्कस आइपुग्नुभएको छ । उहाँको नेतृत्वमा आएको उच्चस्तरीय आर्थिक प्रतिनिधिमण्डलले द्विपक्षीय आर्थिक सहकार्यका सम्भावनाहरूबारे छलफल गर्ने कार्यक्रम रहेको सिरियाली अधिकारीहरूले जनाएका छन् ।

गृहयुद्धबाट गम्भीर रूपमा प्रभावित सिरियाली अर्थतन्त्रलाई पुनःउत्थान गर्न साउदी अरेबियाले निरन्तर सहयोग र्पुयाउँदै आएको छ । सन् २०२४ डिसेम्बरमा करिब १४ वर्ष लामो द्वन्द्वपश्चात तत्कालीन राष्ट्रपति बशर अल असदको शासन अन्त्य भएपछि नयाँ नेतृत्वले देशको पुनर्निर्माणमा प्राथमिकता दिएको छ ।

यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा रियाध भ्रमणका क्रममा सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको थियो, जसलाई सिरियाको आर्थिक पुनर्निर्माणको दिशामा एक सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।

मन्त्री फैसलको आगमनमा सिरियाका विदेश मन्त्री असद अल शैबानीले डामास्कस विमानस्थलमा स्वागत गर्नुभएको सिरियाली परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै देशका विदेश मन्त्रीहरूबीच आज अपराह्न संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यक्रम रहेको छ ।

साउदी अरेबियाको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित वक्तव्य अनुसार, मन्त्री फैसलले अन्तरिम राष्ट्रपति अहमद अल शरासँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै, उच्चस्तरीय आर्थिक प्रतिनिधिमण्डलले सिरियाली अधिकारीहरूसँग आपसी सहयोगका माध्यमहरूबारे गहन छलफल गर्नेछ, जसले सिरियाको आर्थिक विकास र संस्थागत पुनर्निर्माणमा टेवा र्पुयाउने विश्वास गरिएको छ ।

वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्ने :अध्यक्ष दाहाल

काठमाडौँ, १७ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताउनुभयो । उहाँले यी उपलब्धिको संस्थागत विकासमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले देशको नीतिनिर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दोलखा, १७ जेठः बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि दोलखामा सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको गर्नुभएको हो ।

पूर्वगुहमन्त्रीसमेत रहनुभएका सिटौलाले सबै राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक पद्धतिमा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा स्वाभाभिक रहेको जनाउँदै उहाँले नेतृत्वमा रहेका सबै जनताप्रति पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।

नेता सिटौलाले दलसँगको समन्वय र सहकार्यमा संविधान संशोधन हुने बताउनुभयो । देशको अर्थतन्त्र चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सबैबीच सहयोग र सहकार्यको भावना विकसित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्दै आएको उल्लेख गर्दै नेता सिटौलाले सङ्घीय सरकारले पनि खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरेको जानकारी दिनुभयो ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउँदै गलेको बताउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ मा खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता छिरिङ लामाले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी छ विधाका खेल हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट ११३ जना खेलाडी सहभागी छन् ।

आजै नेता सिटौलाले सिटौलाले नेपाली कांग्रेसको दोलखा भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास पनि गर्नुभयो ।

जसपा नेपालका अध्यक्ष यादव मलेसिया प्रस्थान

काठमाडौँ, १७ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गर्नुभएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किनु हुने छ ।

पोखरामा जारी कोटीहोममा राधिका दासीको प्रवचन सुन्न भक्तजनको ओइरो

पोखरा । पोखरामा जारी कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दावी गरेका छन् ।

कोटीहोममा हालसम्म १७ लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘शनिबार बिदाको दिन परेको र राधिका दासीको प्रवचन सुन्न पनि भक्तजन ओइरिए, यातायात बन्दले कुनै प्रभाव पारेन ।’
आइतबारदेखि कोटीहोमको व्यानर गाडीमा टाँसेर आएमा कुनै अवरोध नहुने आयोजकले जनाएको छ ।
शनिबारदेखि प्रवचन शुरु गरेकी
राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले आज संसारको सबै तीर्थ पोखरामा भएको बताइन् ।
उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ ।

उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।

कोटीहोममा शनिबार भारत उत्तर प्रदेश गोरखपुर नगर निगमका महापाल डा.मंगलेश कुमार श्रीवास्तवसमेत सहभागी भए । उनले कोटीहोमको व्यवस्थापन निकै सुन्दर रहेको बताए । सनातन धर्मको निकै ठूलो महत्व रहेको भन्दै उनले जसले श्रीमद् भागवत सुन्छ उसका सबै पाप नाश हुने बताए ।

साथै नेपाली कांग्र्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, संघीय सांसद दामोदर बैरागी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, वरिष्ठ अधिवक्ता राजु बस्नेत, पर्वतारोही माया गुरुङ पनि सहभागी थिए ।

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ, १७ जेठः नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज विज्ञप्ती जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

“दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ”, विज्ञप्तीमा भनिएको छ ।

प्रस्तुत बजेटले पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक नीति र व्यवस्था ल्याएको देखिएको बताउँदै महासचिव भण्डारीले नेपाल प्रवेशको सुरुआती चरणमा पर्ने हवाई सेवामा प्रत्यक्ष असर गर्ने भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रबन्धले पर्यटकको आवागमनमा निरुत्साहित गरेको धारणा राख्नुभयो ।

“पर्यटकको सम्पूर्ण भ्रमण खर्चको तीन चौथाइभन्दा बढी हवाई यात्रामा खर्च हुने अवस्था सिर्जना भएको छ । पर्यटकको यथेष्ट आवागमनबिना बजेटमा पर्यटन प्रवर्द्धनसम्बन्धी उल्लेख गरिएका सकारात्मक पक्ष ओझेलमा पर्नसक्ने र तिनको कार्यान्वयनमा प्रत्यक्ष अवरोध आउने सम्भावना रहन्छ । जसले गर्दा ती व्यवस्था केवल घोषणामा सीमित रहने सम्भावना प्रबल देखिन्छ”, महासचिव भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नाट्टाले अर्थमन्त्री, पर्यटनमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अत्यन्त अनुचित रहेको, यसले अन्तरराष्ट्रिय मूल्य मान्यतासँग मेल नखाने, पर्यटन प्रवर्द्धनमा प्रतिकूल असर पार्ने र भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नेपालीको हवाई पहुँचमा बाधा पुर्‍याउने भन्दै भ्याट खारेजीका पक्षमा धारणा राख्दै आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

हवाई भाडामा लगाइएको भ्याट खारेजीको प्रक्रिया नथाल्नुले सरकार पर्यटन उद्योगप्रति उदार र गम्भीर नदेखिएको नाट्टाले जनाएको छ । नाट्टाले आव २०८०/८१ देखि निरन्तर रूपमा हवाई भाडादरमा लागू भ्याट हटाउनका लागि पहल लिँदै आएको छ ।

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान (सुनसरी), १७ जेठः अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो ।

सडक अबरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।

चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १७ जेठ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनिका ४० प्रतिशत र ३० वर्ष मुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गर्नुभएको हो । उहाँले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पजि जोड दिनुुभयो ।

अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुुकभन्दा अग्रगामी रुपमा आफूूलाई उभ्याएको स्पष्ट गर्नुभयो ।

मिसन २०८४ को अभियानमा जुट्न महिला वर्गलाई आव्हान गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुुमतको पार्टीका रुपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना

काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

प्रेम वियोगमा रहेकी युवतीको प्रेमगाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्।आफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ। सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्। गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन्।नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा क्रियाशीलता देखाइरहेकी छन्।उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौं जस्ता गीत चर्चामा छन्। सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन्।

मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ सरकारको तयारी ?

इटहरी । शुक्रबारदेखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ।निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ। प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन्।

धनकुटामा कोशी लोकमार्ग १०० मिटर बग्यो

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झण्डै १०० मिटर सडक भाग बगाएको छ। शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहँदा खोलाले सडक नै बगाएपछि सवारी आवागमन ठप्प भएको छ।

यातायात अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ आउने तथा जाने सवारीसाधन रोकिएका छन्। शनिवारकै दिन शिक्षक सेवा आयोगको परीक्षा रहेका कारण सयौं परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी अलपत्र परेका छन्। केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्याएको थियो।

मोरङमा केशलिया खोलाको जोखिम, बस्तीमा त्रास

मोरङ जिल्लाको विराटनगर–१२ मा पर्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारिदिएको छ। स्थानीयवासीहरूका अनुसार खोलामा अस्थायी तटबन्ध निर्माण भए पनि खोलामा आएको अत्याधिक पानीले त्यसलाई समेत काट्दै बस्तीमा पस्ने खतरा बढेको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले केशलियमा ठेकेदारको लापरवाही प्रमुख कारण भएको आरोप लगाएका छन्। उनले आयोजना अनुगमनमा खटिएका अधिकृत र ठेकेदारमाथि कारबाही गर्न माग गरेका छन्।

झापामा एसियन हाइवेको निर्माणाधीन डाइभर्सन बगाएपछि यातायात प्रभावित

झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे अन्तर्गतका तीनवटा डाइभर्सन—कालीखोला (काँकडभिट्टा), ढुकुरे खोला (धुलाबारी) र एनिमल अन्डरपास क्षेत्र (चारआली)—मा आएको बाढीले संरचना बगाएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार ती डाइभर्सनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पूर्व–पश्चिम लोकमार्गको पूर्वी खण्डमा यातायात प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक आवागमनमा समस्या भएको छ।

सुनसरीमा चतरादेखि बराहक्षेत्र जोड्ने सडकमा पहिरो

सुनसरी जिल्लाको चतरा–बराहक्षेत्र सडकमा पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस मार्गमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र पर्यटकहरूलाई कठिनाइ भएको छ।

सरकारको तयारी के छ ?

कोशी प्रदेश सरकारका अनुसार मनसुन सुरु हुनुअघि नै बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनको पूर्वतयारी नकसाङकन अनुसार थालिएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, ‘विज्ञहरूको सुझाव र प्रतिवेदनको अध्ययन गरी विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि बजेट छुट्याइएको छ। स्थानीय तहसँग समन्वय गरी काम अगाडि बढाइन्छ।’

भण्डारीका अनुसार, अघिल्ला वर्षमा विपद् व्यवस्थापनका लागि प्रशासनिक खर्चबाट रकम व्यवस्थापन गर्नुपर्ने बाध्यताले काममा ढिलाइ भएको हो। ‘तर, अब आगामी वर्षदेखि नै योजना अनुसार पूर्वतयारी हुन्छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।