`

‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’ : कार्यवाहक प्रधानमन्त्री सिंह

चन्द्रपर (रौतहट), १८ मङ्सिर : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताउनुभएको छ । रौतहटको गढीमाई नपा–४ सुन्दपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को आज उद्घाटन गर्नुहुँदै कार्यवाहक तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उँचाइमा पुग्ने र देशको अर्थतन्त्र मजबुत र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशी मित्रराष्ट्रहरूसँग अनुदान लिएर भए पनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले देश विकासको गतिमा अगाडि बढाउन, गरिबी र बेरोजगारी अन्त्य गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।

मेला उद्घाटन कार्यक्रममा रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णाप्रसाद यादव, मधेस प्रदेशका अर्थमन्त्री जीतेन्द्रकुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादव, गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनीप्रसाद जयसवाललगायतका व्यक्तिको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

युद्धपछिको गाजा चलाउन संयुक्त समिति गठन गर्न हमास र फतह सहमत

प्यालेस्टिनी इस्लामवादी सङ्गठन हमास र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीले युद्धोपरान्त गाजा सञ्चालन गर्न संयुक्त समिति बनाउन सहमति जनाएका छन् ।

अब्बासको स्वीकृति आवश्यक पर्ने उक्त योजनाअन्तर्गत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानवीय सहायता र पुनर्निर्माणसँग सम्बन्धित मामिलामा अधिकार भएका १० देखि १५ जना गैर–पक्षपाती व्यक्ति मिलेर समिति गठन गरिने प्रस्तावको मस्यौदामा उल्लेख छ ।

समितिले इजिप्टको सिमानामा रहेको रफाह सीमा चौकीको प्यालेस्टिनी पक्षलाई व्यवस्थापन गर्नेबारे इजिप्टको मध्यस्थतामा कायरोमा भएको वार्तापछि दुई प्रतिद्वन्द्वी गुट सहमत भएका छन् । यो क्षेत्रको एक मात्र क्रसिङ इजरायलसँग साझा गरिएको छैन ।

केन्द्रीय पार्टी कमिटीका सदस्य अजम अल–अहमदको नेतृत्वमा फतहको प्रतिनिधिमण्डल अब्बासको अन्तिम स्वीकृति लिन मङ्गलबार रमल्लाह फर्कने दुवै पक्षका वार्ताकारहरूले बताएका छन् ।

हमास प्रतिनिधिमण्डलको नेतृत्व पोलिटब्युरो सदस्य खलिल अल–हय्याले गर्नुभएको थियो ।

यो पहल गाजा युद्धको अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासको समयमा आएको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो ।

इजिप्ट, कतार र टर्कीसँगै संयुक्त राज्य अमेरिकाको नेतृत्वमा यी प्रयास लेबनानमा इजरायल र हिजबुल्लाहबीच नाजुक युद्धविराम लागु भएको लगभग एक हप्तापछि आएको हो ।

सन् २००६ को चुनावमा हमासको सानदार विजयपछि भएको घातक झडपपछि हमासका लडाकूहरूले गाजा पट्टीबाट फतहलाई बाहिर निकालेपछि हमास र फतह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

हमासले सन् २००७ मा गाजामा नियन्त्रण कब्जा गर्यो । यद्यपि धर्मनिरपेक्ष फतह आन्दोलनले प्यालेस्टिनी प्राधिकरण र इजरायलको कब्जामा रहेको पश्चिमी किनारामा आंशिक प्रशासनिक नियन्त्रण गर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले जनवरीमा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिरहेको बेला प्यालेस्टिनीहरूले युद्ध समाप्त भएपछि गाजामा हमासको कुनै भूमिका नहुने सुनिश्चित गर्न अमेरिकाको कडा दबाबको सामना गरिरहेका छन् ।

इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी मध्ये एक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले गाजामा हमासको विनाश गर्नुलाई आफ्नो मुख्य युद्ध उद्देश्य बनाएको छ । यसले युद्धपछि गाजा पट्टीमा प्यालेस्टिनी प्राधिकरणले कुनै पनि भूमिका खेलेकोमा बारम्बार कडा विरोध व्यक्त गरेको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार : नेता डा कोइराला

मोरङ, १८ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा आज विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले कांग्र्रेस र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पार्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “वर्तमान सरकारलाई असफल हुने छुट छैन । यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ ।” उहाँले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पु¥याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेता डा कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गर्नुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशका एक सय १३ पालिकाका सभापतिको सहभागिता रहेको छ ।

चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने

बेइजिङ, १८ मङ्सिर : चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो ।

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गर्नुभएको थियो । साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उहाँले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।

कमेडी रियालिटी शो ‘मिमिक्री किङ्ग’ आउदै

काठमाडौँ । नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । सिकाईको पाठशाला स्लोगन दिइएको यस रियालिटी शोमा क्यारिकेचर कमेडीयनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ ।

‘मिमिक्री किङ्ग’लाई कमेडियन दिनेश काफ्लेले निर्देशन गर्दैछन् । काफ्लेका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटल रहेको छ । यस्तै शो एक राष्ट्रिय टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ ।

‘हामी अहिले स्टुडियोको काममा ब्यस्त छौं, यो शो नेपालका लागी मात्र नभई वल्र्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरुका लागी छुट्टै शो बनेको छैन ।’ निर्देशक काफ्लेले भने । ‘छिट्टै हामी डिजिटल अडिसन खुलाउने तयारीमा छौं ।’ उनका अनुसार शोमा तीन निर्णायक हुनेछन् ।

भने एक मिमिक्री निर्णायक छुट्टै हुनेछ । काफ्लेले अगाडी भन्छन्, ‘मिमिक्रीसँगै अभिनय गर्नेहरुलाई लक्षित गरेर निर्णायक टिम बनाउँदै छौं ।’शोको बिजेतालाई एक कार र नगद उपहार प्रदान गरिने घोषणा गरिएको छ । साथै बिजेताले बिदेशका केहि कार्यक्रममा प्रस्तुती दिने अवसर समेत पाउनेछन् ।

कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्ड एक साता बन्द हुने

गुल्मी, १८ मङ्सिर : निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।

कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ । उक्त सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्नेे गरगरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी कोरिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो ।

प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुने छ । यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।

 सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

रामजानकी विवाहपञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

महेन्द्रनगर (धनुषा), १८ मङ्सिर : रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ ।

करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गर्नुभयो । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।

यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गर्नुभएको थियो । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ । यो हाम्रा लागि विशेष शौभाग्य हो । जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो ।

जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ । केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ । विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।

सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, भगवान् श्रीरामले कसैले हल्लाउन नसकेको शिव धनुष तीन टुक्रा पारेपछि माता सीतासँग विवाह निश्चित भएको थियो । मटिहानीमा लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले मटिहानीमा जन्तीको स्वागत गर्नुभएको थियो ।

भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती आज जनकपुरधाम पुगेका छन् ।

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

तनहुँ, १८ मङ्सिर : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ ।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब नयाँ ढङ्गबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गर्नुभयो । माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइरालाले पार्टीप्रति जनताको भरोसालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्मेलनले नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । 

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १८ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शितल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ भन्नुभयो ।

“मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन हुनसके मानवअधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक बञ्चित हुने थिएन, सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बनेछ ।”

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई ब्यवहारमा उतारी मानवअधिकारको परिपालना गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ सबैको ध्यान जान आवश्यक भएको बताउनुभयो ।

उहाँले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायतका कुनै पनि प्रकारका विभेद् हुन नदिई समानता, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न आवश्यक छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले मानवअधिकारसम्बन्धी विषयमा व्यापकरूपमा जनचेतना फैलाउनुपर्ने र आयोग मात्र नभई, सरकारी तथा गैरसरकारी संस्थालेसमेत क्रियाशिलतापूर्वक अभियान सञ्चालन गरेमा मानवअधिकारमैत्री समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय एवं विश्वविद्यालय र तालिम केन्द्रका पाठ्यक्रममा यो विषय समावेश गर्न सके मानवअधिकार शिक्षाले संस्थागत स्वरूप ग्रहण गर्न जरूरी थियो ।

आयोगले मानव अधिकार संरक्षणको क्षेत्रमा देखेका चुनौति र समस्या बेलैमा सरकारलाई जानकारी गराउने र सरकारले पनि समयमै आयोगको समस्याको व्यवहारिकरूपमा सम्बोधन गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : मन्त्री राई

फिक्कल (इलाम), १८ मङ्सिर : रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताउनुभएको छ ।इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सव समारोहमा मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

“यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ, एक्काइसौँ शताब्दीमा मानवको रुपमा उभ्याउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।”

मन्त्री राईले समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभयो । “फाल्गुनन्द लिङ्देन र आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको छ, यो समग्र मानव जातिका लागि राम्रो पक्ष हो”, उहाँले भन्नुभयो । धर्मगुरु लिङ्देनको जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उहाँले चर्चा गर्नुभयो ।

धर्मगुरु लिङ्देनको जन्मोत्सव हरेक वर्ष मङ्सिर १८ गते किरात धर्मावलम्बीले उत्सवका रुपमा मनाउने गरेका छन् । मन्त्री राईले धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई अगाडि बढाउन आग्रह गर्नुभयो । धर्मगुरु आत्मानन्दलाई किरात धर्मावलम्बीले ‘विश्व शान्ति र मानव एकता’का प्रतीकको रुपमा मान्दै आएका छन् ।

तीनवटै सरकारले संस्कृति संरक्षणका लागि संस्थागत पहल लिन जरूरी छ : संस्कृतिमन्त्री पाण्डे

काठमाडौँ, १८ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घ, प्रदेश र पालिकाले संस्कृति जोगाउन संस्थागतरूपमा पहल गर्न जरूरी रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट जारी ७ बुुँदे ‘प्राज्ञिक घोषणापत्र २०८१’ ग्रहण गर्दै मन्त्री पाण्डेले संस्कृति कला संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जान जरूरी रहेकोऔँल्याउनुभयो । 

तीनवटै प्रतिष्ठानका अधिकारीले आज मन्त्री पाण्डेलाई उक्त घोषणापत्र समेटेर कार्यान्वयनको पहलका लागि अनुरोधपत्र बुुझाएको हो । यस क्षेत्रमा कानुनी जटिलता रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । साधन श्रोतको अभाव भएकाले क्रमिकरूपमा सुधार लैजाने उहाँले बताउनुभयो । उहाँलेमा प्रतिष्ठानबी एकरूपता बनाउनका लागि मापदण्ड निर्माण गर्न जरूरी रहेको औँल्याउँदै मर्यादाक्रमको पनि वर्गीकरण जरूरी रहेको बताउनुभयो । 

यसअघि तीन वटै प्रतिष्ठानले सोमबार देशभरका प्रदेश सरकार तथा स्थानीय सरकारबाट गठन भएका संस्कृति, ललितकला, साहित्य, सङ्गीत, नाट्य, ज्ञान–विज्ञानसँग सम्बन्धित प्रतिष्ठान/परिषद्स/मितिलगायतका प्रतिनिधिको प्रतिनिधित्व हुुने गरी प्राज्ञिक भेलाको आयोजना गरेको थियो । सोही भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको थियो ।

घोषणापत्र तयार पारेकामा तीनवटै प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै उहाँले पत्रमा व्यक्त गरिएका विषयलाई मन्त्रालयले अध्ययन गरी त्यसको कार्यान्वयनमा आफ्नातर्फबाट सक्दो गृहकार्य गर्ने प्रतिबद्घतासमेत व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूूपाल राई तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुुलपति निशा शर्माले मन्त्री पाण्डेलाई सो अनुरोधपत्र संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

भेलामा उठेका विषयलगायतका विविध विषयलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले उक्त छलफलमा जानकारी गराउनुभएको थियो ।

वर्तमान नेपालको संविधान २०७२ लागु भएपछि संविधानप्रदत्त अधिकार प्रयोग गर्दै प्रदेश र पालिकास्तरमा पनि प्रतिष्ठान/प्राज्ञिक संस्थाको गठन भएका सन्दर्भमा प्रतिष्ठान÷प्राज्ञिक संस्थाको गठनविधि, नामकरण, कार्यप्रणाली, प्राज्ञहरूको सेवा सुविधालगायत विषयमा अनेकता र अन्योल देखिएको छ । त्यस अवस्थालाई चिर्दै सङ्घ, प्रदेश र पालिकास्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाबीचको सम्बन्ध र समन्वय के कसरी गर्ने, एकरूपता कसरी गर्ने ? भन्नेबारेमा स्पष्ट नीति बनाइ हाल गठन भएका र अब गठन हुने प्रतिष्ठान/प्राज्ञिक संस्थालाई स्पष्ट मार्गदर्शनसहित काम गर्ने वातावरण निर्माण गर्नका लागि अनुरोधपत्र बुुझाइएको हो । 

आजको भेटघाटमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, भरतपुर प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता थियो । 

निर्वाचन अघिगरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु : मेयर डंगोल

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथागोपनीयताको शपथग्रहण गरेका छन् ।मंगलबारकीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । शपथग्रहण पछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाटकाम सुरु गर्ने जानकारी दिए ।

उनले भने,‘मैले तपाईहरुसामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कायकालमा एकछिन पनि आरामनगरीकन,नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको विश्वास टुट्न दिने छैन् । पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबा ट गर्ने छु ।’

मेयर कृष्णमान डंगोल पाँचहजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । सोमबार राति सकिएको गणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)काशिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।यस्तै, एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्रउम्मेदवार राजमानमहर्जन ‘मानव’ले दुई हजार ३६ मत पाएकाथिए ।

कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन

काठमाडौँ, १८ मङ्सिर : नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहनुभएको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको हो ।

मनोनयन गरिएकामा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाडौँ), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौँ), रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय

कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए । उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग लगाइएको कन्दाल अदालतको एक विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसलाअनुसार उनीहरूलाई ‘चार वर्षको जेल’ सजाय दिइएको छ । यद्यपि सजायको दुई वर्ष निलम्बित हुनेछ ।

अदालतले १३ जनाको ‘पैसाको सट्टामा तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने अभिप्राय छ, जुन मानव बेचबिखनको कार्य हो’ भन्ने बलियो प्रमाण रहेको बताएको छ । अदालतको विवरणमा बच्चाहरूको भविष्यबारे कुनै विवरण दिइएको थिएन ।

फिलिपिनो महिलाका लागि खाना पकाउने कम्बोडियाकी एक महिलालाई पनि सहयोगी भएको आरोपमा दुई महिना र एक दिनको जेल सजाय भएको अदालतले जनाएको छ ।

गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको कम्बोडियाको राष्ट्रिय तस्करी विरोधी समितिका उपाध्यक्ष चाउ बुन एन्गले मङ्गलबार बताउनुभयो ।

सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । त्यसपछि अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका आशावादी अभिभावकहरूको फस्टाउँदो व्यवसाय अचानक बन्द भयो ।

तर चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च छ र कम्बोडियाका एजेन्सीहरूले यो सेवा जारी राखेका छन् ।

धेरैजसो चिनियाँ दम्पतीहरू एक कम्बोडियाली महिलालाई बच्चा बोक्न ४० हजारदेखि एक लाख डलरसम्म तिर्न तयार रहेको राज्यका स्रोतहरूले यसअघि बताएका छन् ।

सन् २०१८ मा एक अस्ट्रेलियाली नर्सलाई कम्बोडियामा १८ महिनाको जेल सजाय दिइएको थियो ।

हालका वर्षहरूमा धेरै कम्बोडियाली महिलालाई चिनियाँ ग्राहकहरूका लागि बच्चा बोक्न पकाइएको थियो तर उनीहरूलाई बच्चा राख्ने सहमतिमा जमानतमा छोडिएको थियो ।

नेपालको ऊर्जा क्षेत्रमा एडिबीको पाँच दशक विषयक तस्वीर प्रदर्शनी

काठमाडौँ, १८ मङ्सिर : ऊर्जा क्षेत्रमा नेपाल र एसियाली विकास बैंक (एडिबी) बीच सहकार्यको पाँच दशकबारे फोटो प्रदर्शनी शुरू भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि शुरू भएको प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले शुभारम्भ गर्नुभयो ।

सो क्रममा राज्यमन्त्री तामाङले नेपालको विद्युत् उत्पादन, प्रशारण तथा वितरण प्रणाली विकासमा एडिबीलगायत दातृ निकाय र विकास साझेदारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । हाल नेपालमा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको बताउँदै उहाँले केही समयभित्रै शतप्रतिशत विद्युतीकरण गर्ने र नेपालमा बढी भएको बिजुली निर्यातका लागिसमेत पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

“नेपालमा ठूलो मात्रामा विद्युत् उत्पादन भएकोमा हामी विदेशमा बेच्ने मात्र नभइ आन्तरिक खपत पनि बढाउनुपर्ने छ । काठमाडौँमा, पोखरा, बिराटनगर, चितवनलगायत ठूला सहरमा चल्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा रूपान्तरण गर्न सकिन्छ”, राज्यमन्त्री तामाङले भन्नुभयो ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले दूधकोशी, माथिल्लो अरूणलगायत ठूला आयोजनामा एडिबीले लगानी गर्न खोजेको र नेपालले त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो ।

एडिबीको नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले विभिन्न जलविद्युत् उत्पादन आयोजनामा, प्रसारणलाइनतर्फ करिब ५० प्रतिशत आयोजना र एक तिहाइभन्दा बढी ३३ केभीका वितरण सबस्टेशन निर्माणमा एडिबीले लगानी गरेको बताउनुभयो ।

नेपालमा विद्युत्को भूमिगत वितरण प्रणाली, सवारी चार्जिङ स्टेसन, विभिन्न उत्पादन तथा प्रशारण आयोजना र निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा पनि एडिबीको लगानी रहेको कोस्वाले बताउनुभयो । विद्युत् पहुँच विस्तारले दुर्गम क्षेत्रमा रोजगारी सिर्जना गरेर तथा विभिन्न अवसर सिर्जना गरेर जीवनस्तर उकास्न भूमिका खेलेको उहाँको भनाइ छ । एडिबीले नेपालमा ऊर्जा क्षेत्रको थप सुदृढीकरण, प्रवर्द्धन, दिगो व्यवसायिक ढाँचा विकासमार्फत् निजी क्षेत्रमा लगानीसहितको लगानी विविधताका लागि निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा सहुलियतपूर्ण ऋण, अनुदान र प्राविधिक सहयोगका लागि एडिबीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विद्युत् उत्पादन, प्रशारण, वितरण प्रणाली, स्मार्ट मिटर जडान, डिजिटल बिलिङ प्रणाली, सबस्टेसन आधुनिकीकरणलगायत क्षेत्रमा एडिबीको लगानी रहेको बताउनुभयो ।

एडिबी र नेपाल सरकारबीच सन् १९७२ मा प्रशारणलाइन परियोजनामा लगानीमार्फत् साझेदारी शुरू भएको थियो । एडिबीको सहयोगमा नेपालकै निजी क्षेत्रको पहिलो लगानीको ६० मेगावाट खिम्ती जलविद्युत् आयोजना, नेपालकै पहिलो एक सय मेगावाटभन्दा ठूलो एक सय ४४ मेगावाटको कालीगण्डकी–ए लगायत आयोजनामा निर्माण गरिएका हुन् ।

एडिबीको आर्थिक तथा प्राविधिक सहयोगमा एक सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, प्रशारणलाइनतर्फ चार सय केभी नयाँ खिम्ती–काठमाडौँ आयोजना, तामाकोशी–काठमाडौँ, महेन्द्रनगर–कोहलपुर, बुटवल कोहलपुर सडकको प्रशारणलाइनलगायत प्रशारणलाइनमा एडिबीले लगानी गरेको छ ।

फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेले नेपालको पूर्वाधार क्षेत्रमा के कस्तो सहकार्य भएको छ भन्ने देखाउन प्रदर्शनी शुरू गरिएको बताउनुभयो । फोटो पत्रकार क्लबले आयोजना गरेको तस्वीर प्रदर्शनी एक हप्ता चल्नेछ ।

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ – माधव नेपाल

काठमाडौँ, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उहाँले उनीहरूको संवैधानिक अधिकार संरक्षण गर्दै राज्यका हरेक निकायमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्दछ भन्नुभयो ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका अधिकार संरक्षण गर्नुपर्ने जनाउँदै उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, सम्मानपूर्ण जीवनयापनलगायत नागरिक अधिकार व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सार्वजनिकस्थल तथा कार्यस्थलमा अपाङ्गतामैत्री वातावरण निर्माण गरी उनीहरूलाई सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कानुनी र सामाजिक सुधारको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि राजनीतिक दलहरू र नागरिक समाजको सहयोग आवश्यक रहेको शुभकामनामा उल्लेख गरिएको छ ।

यसवर्ष ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारा तय गरिएको छभने नेपालमा राष्ट्रिय जनगणनाअनुसार दुई दशमलव दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।

‘कांग्रेस समावेशी लोकतन्त्रको पक्ष छ ’ – देउवा

काठमाडौँ, १८ मङ्सिरः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको उल्लेख गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन कांग्रेस सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उहाँका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व भएको बताउनुभएको छ ।

“अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ”, सभापति देउवाले भन्नुभएको छ, “यस अवसरमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवाला बीच एकता र सहकार्यको खाँचो छ ।”

उहाँले कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारमा निरन्तर योगदान गर्दै आइरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउने उल्लेख गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न कांग्रेस सबैसँग आग्रह गर्ने उहाँको भनाइ छ ।

पुुरुष यु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल हारिसकेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा मङ्सिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटले हार व्यहोर्यो ।

नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् । जसको उपकप्तानमा अर्जुन कुमाल छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रमसिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् । यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली युएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

एनपिएल : विराटनगरले टस जित्यो, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौँ, १८ मङ्सिरः राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

नेपाल प्रिमियर लिगको आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच भिडन्त हुनेछ । यो जारी एनपिएलमा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । चितवन राइनोजमा मल्लसहित अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसै टोलीबाट खेल्दैछन् । चितवन दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल छन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

पोखरामा कुशलसँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ छन् । त्यस्तै, अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इङ्ल्याण्डका म्याट क्रिचली, वेस्टइन्डिजका रेमन राइफर, स्कटल्याण्डका माइकल लिस्क पनि पोखराबाट खेल्दैछन् । पोखराको आइकोनिकका सुदीप आर्याल छन् । जारी एनपिएलमा पहिलो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा हुनेछ ।

पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल हारिसकेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा मङ्सिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटले हार व्यहोर्यो ।

नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् । जसको उपकप्तानमा अर्जुन कुमाल छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रमसिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् । यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली युएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार स्वागत गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।

यसपश्चात् दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछिन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद, मुख्यसचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।

अदम्य हिम्मतले उठेकी जमुना

बेनी (म्याग्दी), १८ मङ्सिरः सङ्घर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ वर्षीया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी उहाँलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग कृत्रिम र अपूरा छन्, तर उहाँले पारिवारिक जिम्मेवारी र सामाजिक क्षेत्रमा गरेका योगदान प्रेरणादायी र प्रशंसनीय छन् । तीन वर्षको उमेरमा हात मर्किएर समयमै उचित उपचार नपाएर बायाँ हात गुमाएपछि आचार्य शारीरिक अपाङ्गता हुनुभएको थियो ।

क्यान्सर भएपछि गुमेको आचार्यको हातलाई सेती नदीमा बगाइएको थियो । विभिन्न समयमा शारीरिक रोग समस्याले शल्यक्रियामार्फत उपचार गराउनुभएकी आचार्यको कानको पछाडिपट्टि तीनवटा कृत्रिम हड्डी राखिएका छन् । हुर्कन नपाउँदै हात गुमाएकी आचार्यले जिन्दगीमा धेरै कुरा गुमाउनुपर्यो तर आफ्नै आँट, साहस र हिम्मतले उहाँ आफू आत्मनिर्भरमात्र बन्नुभएन, परिवारकै बलियो खम्बा र समाजका लागि प्रेरणा र नमूना बन्न सफल हुनुभएको छ ।

आमा चन्द्रवती र बुबा छवानन्द आचार्यका सात बहिनीमध्ये जेठी छोरी जमुनाको जीवनका उतारचढाव गरिबी, अभाव र समस्याका भारी बोकेका सङ्घर्षशील व्यक्तिका लागि प्रेरणा बन्ने गरेका छन् । हात गुमाएकी आचार्यले घरदेखि स्कुल टाढा भएकाले आधारभूत तहको अध्ययन गर्न पनि मुस्किल परेको थियो । अपाङ्गता भएकी आचार्यलाई स्कुल ल्याउन लैजान सहज नभएपछि आठ वर्षको उमेरदेखि मात्र उहाँले विद्यालयमा पठनपाठनका लागि पाइला टेक्नुभएको थियो ।

तत्कालीन फर्से धाइरिङ प्राविमा आधारभूत तह र बेनीस्थित प्रकाश माविबाट एसएलसी उत्तीर्ण गर्नुभएकी आचार्यले म्याग्दी बहुमुखी क्याम्पसबाट ‘बिएड’ र पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । विपन्न परिवारकी जेठी छोरी जमुनालाई शारीरिक अपाङ्गता भए पनि घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने दबाब थियो । अध्ययन गर्दैगर्दा २०५७ सालदेखि गैरसरकारी संस्था सिबिआर बागलुङबाट अपाङ्गता भएका बालबालिकाको शैक्षिक कार्यक्रमबाट आचार्यले जागिर गरेर जीविकोपार्जनको आधार खोज्न सुरु गर्नुभएको थियो ।

आचार्य परिवारमा बुबा दमको रोगी भएकाले आमाले तरकारीखेती गरेर जेनतेन पालनपोषण र शिक्षादीक्षा गर्दै आउनुभएको थियो । “घरको आर्थिक अवस्था अति नै कमजोर थियो, आम्दानीको कुनै स्रोत थिएन, आमाले खेतबारीमा तरकारी रोपेर बेनीका घरघरमा पुर्याएर बिक्री गरी घरखर्च चलाउनुहुन्थ्यो, आमाको कमाइ घरपरिवारका लागि पर्याप्त थिएन, सरसापट पत्याउने समुदाय थिएन”, आचार्य विगतलाई सम्झदै भन्नुहुन्छ । समस्यासँग जुध्दै, अभावसँग खेल्दै आचार्य परिवारको सङ्घर्ष चलिरहेकै थियो, त्यसैमा २०६० सालमा आमा र एक बहिनीलाई खोलाले बगायो । आचार्य परिवारमा शोक, भोक र विपत्ति एकैसाथ सामना गर्नुपर्ने विडम्बना आयो ।

दुई आमाबाट दुई भाइ, आठ बहिनीसहित १० सन्तानमध्ये जेठी छोरी भएकाले आचार्यलाई घरपरिवारको जिम्मेवारीको भारी बोक्नुपर्ने बाध्यता आयो । जान्ने नहुँदै हात गुमाएकी जमुनाले आफू परिपक्व नहुँदै आमा र बहिनी गुमाउनुपर्यो । आमा गुमाउँदा अभिभावकत्व मात्र गुमेन, परिवारको आम्दानीको स्रोत पनि गुम्यो । बिरामी बुबाको हेरचाह र भाइबहिनीको पढाइलेखाइ र हुकाइको जिम्मेवारीको भारी जमुनाले नै बोक्नुपर्ने भयो । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने कथनमा जस्तै जमुनाले आफ्नो जीवनलाई सङ्घर्षमय बनाएकै कारण आज समाजमा अग्रणी नारीको चिनारी बनाउन सफल हुनुभएको छ ।

गैरसरकारी सङ्घसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएकी आचार्यले जीवन बीमा कम्पनीमा अभिकर्ताको भूमिकाबाट शाखा र क्षेत्रीय कार्यालयको समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । अपाङ्गता भएर पनि आफ्नै सङ्घर्षबाट आफ्नै खुट्टामा उभिनुभएकी आचार्यले घरपरिवारको घरखर्च आफैँ जुटाएर समाजमा सकरात्मक सन्देश दिनुभएको छ । “मेरो एक हात नभएपछि धेरैले दयाभावले हेर्ने गर्थे, परिस्थितिले पनि हामीलाई अति नै थिचेको थियो, यति ठूलो परिवारको खर्च जुटाउने कुनै आधार थिएन, अन्तमा मेरै सङ्घर्षले परिवारको भरथेग गर्न सकेँ”, उहाँले भन्नुभयो ।

जीवनभर आफू बाँच्ने र परिवार पाल्ने सङ्घर्षमा समर्पित गर्नुभएकी आचार्य आत्मबल र समाजको प्रेरणा जीवनको असल मार्गदर्शन बन्ने गरेको अनुभूति सुनाउनुहुन्छ । बायाँ हात नभए पनि आचार्य खेत रोप्ने, घाँस काट्नेगायत घरायसी काम गर्न सक्नुहुन्छ । सामाजिक क्षेत्रमा उहाँ अन्य साधारण व्यक्तिभन्दा बढी सक्रिय हुनुहुन्छ । मिठो बोली, सरल व्यवहार र आँटिलो स्वभाव उहाँका विशेषता हुन् ।

“जीवनमा धेरै अप्ठेरा आउँदा रहेछन्, त्यसबेला निरास भइँदोरहेछ, तर आफूलाई कमजोर बनाउन नहुने रहेछ, आफूभन्दा कमजोरसँग तुलना गर्दै आत्मबल बढाउँदै आफूलाई पुनः लयमा फर्काउन र हिँडाउन सकियो भने जतिसुकै अप्ठ्यारा पनि सजिलै पार गर्न सकिँदो रहेछ, मेरो जीवनको उतारचढावले यही सिकायो”, आचार्यले भन्नुभयो । उहाँले समाजमा महिलाहरू प्रत्यक्ष रोजगारमा कम आबद्ध हुने भएकाले पनि लैङ्गिक र घरेलु हिंसाजन्य घटना बढ्ने भएकाले आफ्नो खर्च आफैँ जुटाउने बाटोमा सक्रिय बन्न आवश्यक रहेको बताउनुहुन्छ । फजुल खर्च कम गर्ने, अप्ठेरा समस्या र जीवनमा समयको व्यवस्थापन गर्न सकियो भने हरेक व्यक्ति आत्मनिर्भर बन्न कसैले रोक्न नसक्ने उहाँको ठम्याइ छ ।

समाजमा फरक क्षमता भएका व्यक्तिलाई परिवार, समाज, संस्थामा व्यक्तिको अवस्थाअनुसारको व्यवस्था मिलाइदिन सकेमा अपाङ्गता भएका व्यक्तिले पनि साङ्ग व्यक्तिसरह कार्यसम्पादन गर्न सक्ने आचार्य बताउनुहुन्छ । अपाङ्गता भएकी आचार्य आत्मनिर्भर बनेर परिवारको आर्थिक स्रोत जुटाउने काम मात्र गर्नुभएन, समाजमा महिलालाई आर्थिक सशक्तीकरणमा सङ्गठित गर्ने अभियन्तासमेत हुनुहुन्छ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरूको मात्र लगानी र व्यवस्थापनमा सञ्चालन हुनेगरी दिदीबहिनी सहकारी स्थापना गर्न आचार्यले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

सहकारीको अध्यक्ष हुँदा आचार्यले मुठ्ठीदान अभियान सञ्चालन गरेर गरिब, विपन्न र अशक्त व्यक्तिलाई सहकारीमार्फत सहयोग गर्ने परोपकारी अभियान सुरुआत गर्नुभएको थियो । दिदीबहिनी सहकारीले अहिले पनि मुठ्ठीदान अभियानलाई निरन्तरता दिएको छ । अपाङ्गतालाई दयाको भावले हेर्नुभन्दा अवसर र भूमिकामा प्राथमिकता दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूले पनि साङ्गसरह नै काम गर्न सक्छन् भन्ने सन्देश आचार्यले दिनुभएको छ । उहाँ अहिले महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सामाजिक अभियन्ताका रूपमा सक्रिय हुनुहुन्छ । लामो समय गैरसरकारी संस्था र जीवन बीमा कम्पनीको जागिरे जीवनबाट विश्राम लिनुभएकी आचार्य यतिबेला जन्मथलोमा अग्र्यानिक कृषि उत्पादन अभियानमा लाग्नुभएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

वीरगञ्ज (पर्सा), १८ मङ्सिरः वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुुरुयोजनाको काम अघि बढाइएको जानकारी दिनुभयो ।

“एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।”

“अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ”, मेसु दासले भन्नुभयो, “पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।” मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“अस्पतालको गुरुयोजनामा सबैभन्दा पहिला अस्पतालका लागि आवश्यक पर्ने संरचना निर्माणमा जोड दिनेछौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा कार्यरत चिकित्सकका लागि आवासलगायत संरचना निर्माणको कामलाई दोस्रो प्रथामिकतामा राखेका छौँ ।”

अस्पतालको नयाँ आकस्मिक कक्षको ब्लकलाई स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । “ल्याब, इको, अल्टासाउण्ड, फिजियोथेरापीलगायत सेवालाई व्यवस्थित गर्ने जमर्काे गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जीर्ण भएका भवनबाट सारेर अन्य सेवालाई एकीकृत गर्ने प्रयास जारी छ ।”

उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ । “ ल्याब इन्फर्मेसन सेन्टर पनि केही समयभित्रै सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म त ‘म्यानुअल’ ढङ्गबाटै ल्याबको सूचना दिँदै आइरहेका छौँ ।” अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर साढे तीन सयको हाराहारीमा छन् ।

चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दै

काठमाडौं । चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दैछ । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केलगायत छन् ।

हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिरअनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको एक तस्बिरले बताएको छ ।

तर निर्माणपक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही बताएको छैन । सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने संकेत गरेको थियो ।

यता, जितु र दयाहाङको पोस्टर बराबरी संख्यामा आउँदा को मुख्य भूमिकामा छन् भन्ने झनै अन्योल देखिएको छ । क्यारेक्टरको लुक्सबाट को प्रमुख भूमिकामा छन् भनेर अनुमान लगाउन सकिने ठाउँ छैन ।

यदि दयाहाङ राई मुख्य भूमिकामा छन् भने धामी बस्ने क्यारेक्टर पनि हिरो हुन्छ भन्ने यो चलचित्रले प्रमाणित गर्नेछ । चरित्र अभिनेताहरू हिरो हुने सिनेमा आउन थालेको त धेरै भइसक्यो ।

तर, ‘कार्साङ’मा धामी बस्दै हिँड्ने क्यारेक्टर नै हिरो छ भने नेपाली टिपिकल क्यारेक्टरमा सिनेमा बन्न थालेछन् पुष्टि हुनेछ । यसले पैसावाल धनी र हेर्दा आकर्षक क्यारेक्टर मात्रै हुँदैनन् । थप भुइँमान्छेका कथामा चलचित्र बन्न थालेको ‘कार्साङ’ले पुष्टि गरेको छ ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदैछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् ।

सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

काभ्रेको पाँचखालबाट फिल्म ‘प्रेम गीता’को छायांकन सुरु

काठमाडौं । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले यसअघि फिल्म ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए ।

फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ ९भँगेरी डन०, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ ।

विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ ।

‘नजरमा नजर’ भन्दै आए टेक विसी र सिर्मन परियार

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ (नजरमा नजर लाग्ला नि २) सार्वजनिक भएको छ । टेक विसी र सिर्मन परियारको स्वर, भीम विसीको म्युजिक, केशव बाबुको एरेञ्ज र स्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र खुशी कार्कीलाई फिचरिङ गरिएको छ । प्रेम भाव व्यक्त गरिएको गीतको शब्द रचना जति उत्कृष्ट गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नागेन्द्र र सुनिताको हाँसेर माग परान दिन्छुमा प्रवीन र शिला

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको हाँसेर माग परान दिन्छु गीतको भिडिओ सार्वजनिक गरिएको छ । गायिका सुनिता कार्कीको स्वर रहेको सार्वजनिक गीतमा डिपी खनालको शब्द सिर्जना र संगीतकार नागेन्द्रको संगीत छ । राकेश गुरुगंले एरेन्ज गरेका छन् । सफल प्रेमको कथा देखाइएको भिडिओ क्लासिक फ्लेभरमा तयार पारिएको र फरक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउँछन् ।

म्युजिक भिडिओमा प्रवीन डिसी, शिला गजुरेल र हेमन लिम्बुको अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन जस बहादुर याक्खाले गरेका हुन् । दीनेश पराजुलीको छायांकन साथै राकेश दाहालको सम्पादन रहेको भिडिओ संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकाद्वारा चीनको चिप क्षेत्रमा नयाँ निर्यात प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिकाले सोमबार नयाँ निर्यात प्रतिबन्धहरू घोषणा गरेको छ । घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा गहिरो हुँदै गर्दा चीनको उन्नत सेमीकन्डक्टरहरू बनाउने क्षमतालाई लक्षित गरेको छ । सेमीकन्डक्टर हतियार प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुन्छ ।

“संयुक्त राज्य अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षालाई धम्की दिने तरिकाले हाम्रो प्रविधि शत्रुहरूद्वारा प्रयोग हुनबाट बचाउन महत्त्वपूर्ण कदमहरू चालेको छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमा भन्नुभयो, “वासिङ्टनले सहयोगी र साझेदारहरूसँग सक्रिय र आक्रामक रूपमा हाम्रो विश्व–अग्रणी प्रविधिहरू र ज्ञानको रक्षा गर्न काम गरिरहनेछ ताकि तिनीहरू हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर पार्न प्रयोग हुँदैनन् ।”

यी कदमले चीनमा उच्चस्तरीय एआई चिप्स निर्यातमा रहेका विद्यमान अमेरिकी प्रतिबन्धहरूलाई झन् कडा बनाउँछन् ।

राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने केही हप्ताअघि यो घोषणा आएको छ । ट्रम्पले चीनमाथि वासिङ्टनको आक्रामक धारणा अपनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो नियममा चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

वाणिज्य मन्त्रालयका अनुसार चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूहलाई पनि यसले प्रभावित गर्छ ।

नयाँ नियमहरूमा दुई दर्जन प्रकारका चिप बनाउने उपकरण र सेमिकन्डक्टरहरूको विकास वा उत्पादनका लागि तीन प्रकारका सफ्टवेयर उपकरणहरूमा नियन्त्रण पनि समावेश छन् ।

“हामी हाम्रा सहयोगी र साझेदारहरूसँग निरन्तर कुरा गर्दैछौँ, साथै हाम्रा नियन्त्रणहरूको पुनर्मूल्याङ्कन र अद्यावधिक गर्दैछौँ”, उद्योग र सुरक्षा मन्त्रालयका उप–सचिव एलान एस्टेभेजले भन्नुभयो ।

यी प्रयासले ट्रम्पको पहिलो कार्यकालदेखि सुरु भएको नीतिलाई अघि बढाउँछन् । यसको उद्देश्य बेइजिङको प्रविधि अर्थतन्त्रमा अग्रणी स्थान हासिल गर्ने क्षमतालाई रोक्नु थियो ।

सोमबार वाणिज्यमन्त्री जिना रेमोन्डोले राष्ट्रपति जो बाइडेनको सरकार ‘निर्यात नियन्त्रणमार्फत चीनको सैन्य आधुनिकीकरणलाई रणनीतिक रूपमा सम्बोधन गर्न’ विशेष रूपमा कठोर रहेकोमा जोड दिनुभयो ।

“आजको नियमहरूद्वारा नियन्त्रित सेमिकन्डक्टर निर्माण उपकरणहरू उन्नत–नोड एकीकृत सर्किटहरू उत्पादन गर्न आवश्यक छ, जुन उन्नत हतियार प्रणाली र सैन्य अनुप्रयोगहरूमा प्रयोग हुने उन्नत एआईका लागि आवश्यक छ”, वाणिज्य मन्त्रालयले भन्यो ।

बागलुङ नेपानेका बस्नेतले दूध बेचेर वार्षिक ३० लाख आम्दानी गर्दै

गलकोट (बागलुङ), १८ मङ्सिरः बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको हो ।

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिनुहुन्छ । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गर्नुभएका उहाँको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । 

छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गर्नुभएको थियो । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाउनुभएको थियो ।

जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उहाँलाई कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई उहाँकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गर्नुभएको छ । 

दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका बस्नेतले मासिक रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिनुभएका उहाँले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिनुभयो । 

बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । 

दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताउनुभयो । बंैकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती दिएको उहाँको भनाइ छ । 

भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आउनुभएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतले प्रतिक्रिया दिनुभयो । गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेको उहाँको भनाइ छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा रु ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ ।

भारतको विहारबाट रु एक लाख ३० हजार तिरेर भैँसी ल्याएको जनाउँदै बस्नेतले ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने उल्लेख गर्नुभयो । समग्रमा वार्षिक रूपमा रु ३० लाखभन्दा बढी आम्दानी हुने बताउँदै उहाँले स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक,कहाँ को निर्वाचित ?

काठमाडौँ, १८ मङ्सिरः स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । 

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गर्नुभयो । 

दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गर्नुभयो । 

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।  नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । 

उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभयो ।

आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गर्नुभएको छ । 

मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाउनुभएको छ । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो । 

ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा  राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गर्नुभयो । 

दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याउनुभयो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गर्नुभएको छ । 

रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाउनुभयो ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी हुनुभयो । उहाँले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो । 

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाउनुभयो ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँसँग एमालेका बुद्धबहादुर लिम्बू तीन सय ६० मत प्राप्त गरी पराजित हुनुभयो । सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित हुनुभयो ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित हुनुभयो । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी हुनुभयो । उहाँले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित हुनुभएको छ । उहाँसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित हुनुभयो । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाउनुभयो ।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभयो ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गर्नुभएको थियो । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाउनुभयो ।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित हुनुभयो । नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित हुनुभयो ।

काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित हुनुभयो भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाउनुभयो । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभयो । उहाँले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले चार सय ९५ मत पाउनुभयो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित हुनुभयो । 

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाउनुभयो । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाउनुभयो । 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाउनुभयो । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाउनुभयो । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाउनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाउनुभयो । 

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित हुनुभयो । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाउनुभयो । 

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाउनुभयो । रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाउनुभयो । 

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित हुनुभयो । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाउनुभयो ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित हुनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याउनुभयो ।

उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना

काठमाडौँ, १८ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा बसोबास गर्नुभएका फरक क्षमता भएका सबैलाई शुभकामना व्यक्त गर्दै संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिनुभयो । 

उहाँले शुभकामना सन्देशमार्फत नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गर्नुभएको छ ।

“हामी एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न, उहाँहरूको अधिकारको संरक्षण गर्न र हरेक क्षेत्रमा समावेशिताका लागि प्रतिबद्ध भई अघि बढ्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “सबै मिलेर न्यायपूर्ण र समावेशी समाज र देशको निर्माण गर्दै सबैको सम्मान, योगदान र हकअधिकारलाई मान्यता दिन सक्नुपर्दछ ।”

सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ तारिखमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न यो दिवस मनाउने गरिन्छ ।

उपराष्ट्रपति यादवले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा दुई जना परे प्रहरी फन्दामा

खोटाङ, १८ मङ्सिरः बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो । “शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उहाँले भन्नुभयो, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।”

शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी, १८ मङ्सिरः जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।

मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी हुनुभयो ।

यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन् ।

मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउनुहुन्छ ।

अयोध्याबाट आउनुभएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताउनुभयो । सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।

जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन् । मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।

आज मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ । मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।

जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन् । सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ । महोत्सवको दोस्रो दिन सोमबार ‘पूmलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘पूmलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् ।

यसैगरी तेस्रो दिन आज धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ । यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् । रामकलेवा जन्ती बिदाइ गरिने विधि हो । यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ । अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।

एनपीएल खेल्न काठमाडौं आइपुगे चर्चित अस्ट्रेलियन अलराउण्डर बेन कटिङ

काठमाडौँ- अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपाल आउनुभएको छ । शनिबारदेखि सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न उहाँ नेपाल आउनुभएको हो ।

उहाँ लुम्बिनी लायन्सबाट एनपिएल खेल्दै हुनुहुन्छ । ३७ वर्षीय कटिङ दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलरका रूपमा चिनिनुहुन्छ । 

सन् २०१६ मा कटिङ सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको थियो । साथै, उहाँ आइपिएलको फाइनल खेलको म्यान अफ दि म्याच पनि बन्नुभएको थियो । 

उहाँसहित लुम्बिनी लायन्सबाट विदेशी खेलाडी इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफर खेल्दै हुनुहुन्छ । 

लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल हुनुहुन्छ । लुम्बिनी लायन्सले यही मङ्सिर १९ गते दिउँसो १ः१५ बजे विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, १८ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न÷गराउन सरकारले आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । 

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।

महासङ्घले विपद् व्यवस्थापन र मानवीय सङ्कटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ ।

नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ

मोरङ, १८ मङ्सिरः जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।

निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो ।

गौरीशङ्करको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी

काठमाडौँ, १८ मङ्सिरः दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ ।

उहाँले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गर्नुभएको हो । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

   जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ आठ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

    त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ र बिक्रीदर चार सय ४१ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ६५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ २४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७९ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन

काठमाडौँ, १८ मङ्सिरः मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेको जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको छ । आज मध्यराति पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो । 

“दश घण्टा विमानस्थल बन्द गरेर निर्माण तीव्र गतिमा सबै क्षेत्रमा भइरहेको छ । आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, अहिलेको युद्धस्तरमा भइरहेको कामले त्योभन्दा पहिला सम्पन्न हुने सङ्केत गरेको छ”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिनुभयो । विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उल्लेख गर्नुभयो ।

विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ ।

 विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उहाँको भनाइ छ ।

विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

 मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।  

प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता

काठमाडौँ, १८ मङ्सिरः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । 

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबै कार्यक्रम सम्पन्न गरी  प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछ । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उहाँ बेइजिङ पुग्नुभएको हो  । उहाँलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको थियो । 

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत  हुनुहुन्छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीद्वारा शपथ ग्रहण

मोरङ, १७ मङ्सिरः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित समारोहमा प्रमुख खापुङले भण्डारीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) को सिफारिस बमोजिम भण्डारीलाई मन्त्री नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । 

शपथ समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, पूर्वमुख्यमन्त्री उद्धव थापा, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रदेशका प्रम्ख एवं प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।