`

प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन

बेइजिङ (चीन), १९ मङ्सिर : चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गर्नुभयो । चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ ।  प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फकँदैछ ।

कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश

फुङ्लिङ (ताप्लेजुङ), १९ मङ्सिर : ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुङ्गिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित रू तीन लाख दुई हजार ८१ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रू एक लाख ५१ हजार ८१ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिता लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो । समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

चिलीका राष्ट्रपति चाँडै पिता बन्दै

ल्याटिन अमेरिकाका सबैभन्दा कम उमेरका नेता चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले चाँडै पिता बन्ने घोषणा गर्नुभएको छ ।इन्स्टाग्राममा आफ्नी श्रीमती पाउला कारास्कोसँग संयुक्त पोस्टमा ३८ वर्षीय वामपन्थी राष्ट्रपतिले शिशुको अल्ट्रासाउण्ड छवि साझा गर्नुभयो ।

“तिमीलाई पर्खँदा… तिमी न्यायपूर्ण र सुखी चिलीमा बस्न सक्छौ भनेर सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ”, उहाँहरूले एक पोस्टमा भन्नुभयो । उक्त पोस्टले बुधबार बिहानै तीन लाखभन्दा बढी लाइक प्राप्त गर्यो ।

आफ्नी साथीसँग विवाह नगरी बच्चा जन्माउने बोरिक सामाजिक रूढीवादी, क्याथोलिक बहुल देशको पहिलो राष्ट्रपति हुनुहुनेछ ।

तीस वर्षीया कारास्को वातावरण रसायनशास्त्री हुनुहुन्छ । उहाँ चिलीको वातावरण मन्त्रालयमा काम गर्नुहुन्छ । साथै देशको राष्ट्रिय टोलीमा पेशेवर बास्केटबल खेलाडी पनि हुनुहुन्छ ।

बोरिकले उहाँलाई गत अक्टोबरमा प्यान अमेरिकन खेलकुद हुँदा भेट्नुभएको थियो र सन् २०२४ सेप्टेम्बरमा आफ्नो सम्बन्ध सार्वजनिक गर्नुभएको थियो ।

सन् २०२२ मार्चमा कार्यालय सम्हाल्दा कारास्को राष्ट्रपतिको दोस्रो प्रेमिका हुनुहुन्छ ।

उहाँको अघिल्लो साझेदार राजनीतिक वैज्ञानिक र समाजशास्त्री इरिना कारामानोसले एक वर्षभन्दा कम समयपछि राजीनामा दिनुअघि संक्षिप्त रूपमा प्रथम महिलाको भूमिका लिनुभएको थियो । उहाँ र बोरिकले सन् २०२३ नोभेम्बर मा आफ्नो सम्बन्ध तोड्नुभएको थियो ।

चीनमा मौसमको तथ्याङ्क राख्न सुरु भएयताकै सबैभन्दा तातो शरद् रेकर्ड

चीनमा यो बर्षको शरद्मा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ ।

चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।

वैज्ञानिकहरूका अनुसार हरितगृह ग्याँस उत्सर्जनको प्रमुख उत्सर्जकमध्ये एक चीन भएको र यसले विश्वव्यापी जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ, जसले चरम मौसमी दुर्घटनाहरूलाई अझ बढी नियमित बनाइरहेको छ ।

बेइजिङले सन् २०३० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

केन्द्रले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा उल्लेख गरेको छ, “यस वर्षको शरद् ऋतु (सेप्टेम्बर १ देखि नोभेम्बर ३०) मा राष्ट्रिय औसत तापक्रम ११.८ डिग्री सेल्सियस थियो । यो औसत वर्षको तुलनामा १.५ डिग्री बढी हो र यो सन् १९६१ यताकै सबैभन्दा बढी हो।”

चीनको अधिकांश क्षेत्रमा औसतभन्दा १ देखि २ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ भने मध्य, पूर्व, दक्षिणपश्चिम र उत्तरपश्चिम चीनका केही भागमा अघिल्लो वर्षको तुलनामा २ देखि ४ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लियाओनिङ, तियानजिन र चोङकिङलगायत १६ वटा प्रान्त र क्षेत्रमा सन् १९६१ यताकै सबैभन्दा उच्च औसत शरद ऋतुको तापक्रम रेकर्ड गरिएको छ ।

चीनले सन् १९६१ यताकै सबैभन्दा गर्मी अगस्टमा आफ्नो उत्तर र पश्चिमका अधिकांश भूभागमा अत्यधिक गर्मीको सामना गर्नुपरेको केन्द्रले सेप्टेम्बरमा जनाएको थियो ।

हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक

प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिक रूपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् । यसले हमासको शासनलाई प्रभावकारी रूपमा अन्त्य गर्नेछ र इजरायलसँग युद्धविराम वार्तालाई अगाडि बढाउन मद्दत गर्नेछ ।

सन् २००७ मा गाजामा हमासले सत्ता कब्जा गरेपछि प्रतिद्वन्द्वी गुटहरूले मेलमिलाप गर्ने थुप्रै असफल प्रयासहरू गरेका छन् । 

यसैबीच इजरायलले गाजामा पश्चिमी समर्थित प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउने हमास वा फतहको कुनै पनि युद्धपछिको भूमिकालाई अस्वीकार गरेको छ ।

कायरोमा हप्तौँको वार्तापछि प्रारम्भिक सहमति भएको मङ्गलबार प्यालेस्टिनी सरकारका एक अधिकारीले पुष्टि गरेका छन् । अधिकारीले कमिटीमा १२÷१५ सदस्य हुने र तीमध्ये अधिकांश गाजाबाट हुने बताए ।

कमिटीले इजरायलद्वारा कब्जा गरिएको पश्चिमी किनारामा रहेको प्यालेस्टिनी प्राधिकरणलाई प्रतिवेदन दिनेछ र मानवीय सहायता र पुनर्निर्माणका लागि स्थानीय र अन्तर्राष्ट्रिय पक्षहरूसँग काम गर्नेछ ।

हमासका एक अधिकारीले हमास र फतहले सामान्य शर्तहरूमा सहमति जनाएका तर केही विवरण र कमिटीका सदस्यहरूका बारेमा अझै वार्ता जारी राखेको जानकारी दिए । सबै प्यालेस्टिनी गुटको कायरोमा बैठकपछि कुनै समयसीमा प्रदान नगरी सम्झौता घोषणा गरिने अधिकारीले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म र धेरै बन्धक फिर्ता नगरेसम्म युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार इजरायलले गाजामा खुला सुरक्षा नियन्त्रण कायम राख्नेछ र क्षेत्रभित्र कोरिडोरहरू राख्न जारी राख्नेछ । बाँकीमा नागरिक मामिलाहरू प्यालेस्टिनी प्राधिकरण वा हमाससँग सम्बन्धित नभएका स्थानीय प्यालेस्टिनीद्वारा व्यवस्थापन गरिनेछ ।

कुनै पनि प्यालेस्टिनीले यस्तो भूमिकाका लागि सार्वजनिक रूपमा स्वयंसेवा गरेका छैनन् र हमासले इजरायली सेनालाई सहयोग गर्ने जो कोहीलाई धम्की दिएको छ ।

संयुक्त राज्य अमेरिकाले पश्चिम किनारा र गाजा दुवैलाई अन्तिम राज्यको दर्जा दिनुअघि शासन गर्न पुनर्जीवित प्यालेस्टिनी प्राधिकरणका लागि आह्वान गरेको छ । प्यालेस्टिनी राज्यको विरोध गर्ने इजरायली सरकारले कथित रूपमा संयुक्त अरब इमिरेट्स (युएई) सँग युद्धपछिको योजनाबारे छलफल गरिरहेको छ । युएईले सन् २०२० मा इजरायलसँग सम्बन्ध सामान्य बनाएको थियो र प्रतिद्वन्द्वी फतह गुटलाई समर्थन गरेको थियो ।

हमासका अधिकारीले उदाउँदो प्यालेस्टिनी सम्झौताले गाजामा हमासको शासनको अन्त्य गरेर इजरायलको युद्ध लक्ष्यहरू मध्ये एउटा पूरा गर्ने बताए । इजरायली अधिकारीहरूले यसलाई यसरी हेर्नेछन् कि छैनन् भन्ने स्पष्ट छैन ।

प्यालेस्टिनी प्राधिकरण र हमासबीचको एकताको अघिल्लो प्रयासहरू प्रायः दुई प्रतिद्वन्द्वीबीचको शक्तिको प्रतिस्पर्धाका कारण असफल भएका छन् र हाल भइरहेका वार्ताविरुद्ध फतहभित्र विरोधीहरू छन् ।

फतहको केन्द्रीय समितिका महासचिव जिब्रिल राजोबले सम्झौताको निन्दा गर्दै भन्नुभयो, “यो गल्ती हो कि हामीले यस विषयमा छलफल गर्ने सिद्धान्तलाई पनि स्वीकार गरेका छौँ ।” उहाँका अनुसार यो व्यवस्थाले दुई प्रशासनलाई स्वीकार गरेर पश्चिम किनारा र गाजा बीचको विभाजनलाई प्रवेश गर्नेछ । 

उहाँले हमासले यसको सट्टा प्यालेस्टिनी प्राधिकरणलाई क्षेत्रको प्रशासन पुनः लिन दिनुपर्ने बताउनुभयो । “हामी भूमि र सरकारको एकताको प्रतिनिधित्व गर्छौँ”, उहाँले पश्चिम किनारा सहर अल–बिरामा पत्रकारहरूलाई भन्नुभयो ।

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

गण्डकी, १९ मङ्सिर: पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।

नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।”

बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।

“यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो, “मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।” कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

“यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पु¥याउनेछ”, आचार्यले भन्नुभयो, “वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।”

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्लेपनि आचार्यले पछि वातावरण विज्ञान रोज्नुभएको थियो । काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढ्नुभएकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गर्नुभएको थियो । स्नातकोत्तर अध्ययनका लागि उहाँले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाउनुभएको थियो ।

स्नातकोत्तर सकेर नेपाल फर्केपछि उहाँले फोहरमैला व्यवस्थापनमा काम सुरू गर्नुभएको थियो । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गर्नुभएको थियो । पर्यावरण अभियन्ताका रूपमा उहाँले नेपालका धेरै ठाउँमा काम गरिसक्नुभएको छ ।

आचार्यले केही वर्षअघि स्थापना गर्नुभएको ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ । फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आउनुभएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाउनुभयो । “फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ”, उहाँले भन्नुभयो, “पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।”

उहाँले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उहाँ ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुनुहुन्छ । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आउनुभएको छ ।

आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उहाँको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोड्नु भएको थियो । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।

आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाउनुभयो । उहाँ नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत पर्नुभएको थियो । हिमाल सफाइ अभियानमा पु¥याएको योगदानबापत नेपाली सेनाबाट पनि उहाँ सम्मानित भइसक्नुभएको छ ।

त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।

समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ ।

समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ । उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा

काठमाडौँ, १९ मङ्सिर : स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा ढकालले विभिन्न २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ । उहाँले पुँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवम् इक्विटी डेरिभेटिभ आदिको विकासका लागि पहल गर्ने, लगानी व्यवस्थापन सेवा, लागि एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवा प्राप्तिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ प्रतिशत गुणासम्म कारोबार सीमा प्राप्त गरिरहेकामा त्यस्तो सीमालाई ५० गुणासम्म बनाउन पहल गर्ने, रू २० करोड पुँजी भएका धितोपत्र ब्रोकर्सले मार्जिन लेन्डिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि पहल गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने

काठमाडौँ, १९ मङ्सिरः नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उहाँ भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उहाँ भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुने पनि निर्देशनालयले जनाएको छ ।

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

बागमती, १९ मङ्सिरः मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका–११ गोल्पीङटार निवासी ५८ वर्षीय मन्ताज मियाँको मृत्यु भएको छ । आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकभन्दा पारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । यस्तै हेटौँडा–सिन्धुली–धरान सडकखण्डअन्तर्गत हेटौँडास्थित खोल्सामा यात्रुवाहक बस खसेर दुर्घटना हँुदा २२ जना यात्रु घाइते भएका छन् ।

हेटौँडाबाट छतिवनतर्फ जाँदै गरको बा५ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट देखि करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । खोल्सामा बस खसेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित भिआइपी चोकमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ५३४४ नम्बरको बसले बा९२प ३०५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ पेन्चे निवासी २७ वर्षीय अमर थिङ र पछाडि सवार २१ वर्षीय नवीन तितुङ घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घाइते दुवैको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्हरीले जनाएको छ ।

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

पाटन (ललितपुर), १९ मङ्सिरः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताउनुभयो । “शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस महत्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

कांग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहलकदम लिने उल्लेख गर्नुभयो । “क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थाको समस्या समाधानका लागि बहस उपयोगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ”, सभापति देउवाले भन्नुभयो ।

पार्टीको शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व र विषयविज्ञले आफ्ना धारणा राख्ने र प्रस्तुतीकरण राखेका थिए ।

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

काठमाडौँ, १९ मङ्सिर : हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो । 

“आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले  आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ,  मार्च र अप्रिलमा रातिमासमेत  आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आएन भने अप्ठ्यारो अवस्था आउने छ”, घिसिङले भन्नुभयो ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरू गर्ने गरी काम भइरहेको बताउनुभयो । 

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछ : गृहमन्त्री लेखक

बारा, १९ मङ्सिर : गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिनुभयो । उहाँले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा मेलामा आउने सर्वधारणलाई सहजरूपमा दर्शन गर्ने वतावरण मिलाउन आयोजक समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखरकुमार यादव, कांग्रेस बाराका सचिव भैयाराम यादवलगायतले गृहमन्त्री लेखकको स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री लेखकले मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखसहित बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूसँग समग्र मधेश प्रदेशको सुरक्षा अवस्थालगायतबारे जानकारी लिनुभएको थियो ।

चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री

बेइजिङ (चीन), १९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावाले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उहाँले भन्नुभयो, “नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ ।”

द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो ।

चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । 

सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गर्नुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उहाँको भनाइ छ ।

सम्मेलनमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराउनुभयो । सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उहाँको भनाइ छ ।

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराउनुभयो । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले भनाइ छ ।

साथै उहाँले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । 

कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन

काँक्रेविहार (सुर्खेत), १९ मङ्सिरः कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।

प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन् । अर्थ समिति गत वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गत असोजदेखि सभापतिविहीन भएका हुन् ।

हालसम्म यी समितिका सभापति नहुँदा चारवटा विधेयकमा छलफल हुनसकेको छैन । सरकारका कामकारबाही अनुगमन गर्ने र सार्वजनिक महत्वका विषयमा सरकारलाई जवाफदेही बनाउने समिति नै सभापतिविहीन भएपछि ती समिति गतिहीन बनेका छन् ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सभापतिको पद खाली हुँदा ज्येष्ठ सदस्यले समितिको काम गर्न मिल्ने भए पनि कर्णालीमा त्यो कार्यान्वयन नभएको बताउनुभयो ।

शौचालयमा लडेर २८ वर्षीय उद्धवको मृत्यु

बागमती, १९ मङ्सिरः शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताउनुभयो ।

एनपिएल क्रिकेटः काठमाडौँ गुर्खाज टस जितेर बलिङ गर्दै

काठमाडौँ, १९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ ।

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियोभने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो । काठमाडौँको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् ।

त्यसैगरी, कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन् ।

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

म्याग्दी, १९ मङ्सिरः बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग रु १० करोड १६ लाख एक हजार तीन सय ६४ मा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ ।

मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ । यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो । प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी– किराखोर छ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको रु तीन करोड सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

प्रदेश सरकारमार्फत रु ६८ करोड लागतमा बेनी–पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापा, १९ मङ्सिरः संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । “संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ”, उहाँ भन्नुहुन्छ, “दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन ।”

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उहाँले बताउनुभयो । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिका–का जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिनु भएको छ । धान खेत मासेर उहाँले डेढ बिघामा सुपारीखेती गर्नुभएको छ । “बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्”, किसान पाण्डेले समस्या सुनाउँदै भन्नुभयो, “दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।”

मेचीनगर–४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गर्नुभयो । बाहुनडाँगीमा ज¬ङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उहाँले दुःख व्यक्त गर्नुभयोे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउनुहुन्छ । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।


अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो

छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बङ्गलादेशले मङ्गलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ ।

अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसीनाको शासन ढालेपछि सम्बन्धहरू झनै तनावपूर्ण बनेका छन् । हसिना अहिले भारतमा बसिरहनुभएको छ ।

नयाँदिल्लीले बारम्बार बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दू समुदायको सुरक्षाको माग गरेको छ । हिन्दूहरूले हसिनाको निष्कासनपछि उहाँको सरकारप्रति उनीहरूको कथित समर्थनका कारण अराजक आक्रमणहरू देखेका छन् ।

हिन्दू कार्यकर्ताहरूले सोमबार दुई देशको साझा सीमाबाट टाढा रहेको सानो भारतीय सहर आगरतलामा विरोध प्रदर्शनका क्रममा बङ्गलादेशी वाणिज्य दूतावासमा आक्रमण गर्ने प्रयास गरेका थिए ।

भारतले उक्त आक्रमणको निन्दा गरेको छ र स्थानीय प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयका अधिकारीहरूलाई भेटेपछि भारतीय उच्चायुक्त (राजदूत) प्रणय वर्माले आफ्नो देश लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्न हसिनाको निष्कासनपछि पदभार ग्रहण गरेको अन्तरिम सरकारसँग संलग्न हुन प्रतिबद्ध रहेको बताउनुभयो ।

“यो व्यापक सम्बन्ध हो, बहुआयामिक सम्बन्ध हो”, उहाँले पत्रकारहरूलाई भन्नुभयो, “सुरक्षा र विकासका लागि हाम्रो साझा आकांक्षाहरू पूरा गर्न हामी बङ्गलादेश सरकारसँग मिलेर काम गर्न इच्छुक छौँ ।”

हसिनाको शासनको विरोधमा महत्वपूर्ण भूमिका खेलेका र अहिले अन्तरिम मन्त्रिमण्डलको हिस्सा बनेका २६ वर्षीय समाजशास्त्र स्नातक नाहिद इस्लामले एक्समा एक पोस्टमा ‘भारतको शासक अभिजात वर्ग’ लाई ‘बङ्गलादेश विरुद्ध घृणा फैलाएको’ आरोप लगाउनुभयो ।

“नरसंहार र बाल हत्यामा जिम्मेवार पलायन शेख हसिनालाई शरण र समर्थन प्रदान गर्न जारी राखेर भारत सरकारले साझा लोकतान्त्रिक मूल्यमान्यताहरूलाई अवमूल्यन गर्ने जोखिम उठाएको छ”, उहाँले भन्नुभयो, “भारतले यो बिर्सनु हुँदैन कि यसको स्थिरता र अखण्डता बङ्गलादेशको स्थिरता र अखण्डतासँग नजिकबाट जोडिएको छ ।”

दूधमतीको भूभाग सीमाङ्कन गरिने : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा)- ऐतिहासिक तथा धार्मिक महत्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन, नक्साङ्कन तथा उत्खनन कार्य सुरु गरिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको दूधमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको संयोजकत्वमा आज जनकपुरधामा दूधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सोसम्बन्धी कार्य तत्काल र तीव्रताका साथ सुरु गर्ने निर्णय गर्नुभएको छ ।

धार्मिक तथा पौराणिक आस्था र विश्वाससँग जोडिएको मात्र नभएर सिँचाइ तथा खानेपानीसमेतको महत्वपूर्ण स्रोत दूधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकार उत्खननसहितको कार्य अगाडि बढाएको उच्चस्तरीय समितिका अध्यक्ष एवं मुख्यमन्त्री सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पवित्र स्नान तथा नदीको पूजन परम्परामार्फत स्थानीय पर्यटन प्रवद्र्धन र प्रदेशका बहुसङ्ख्यक खोला खहरे भएका बेला नदीको प्राकृतिक बहाव क्षेत्र पुनःस्थापन जरुरी हुँदा सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

मुख्यमन्त्री सिंहको अध्यक्षतामा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, मधेस प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशकलगायत सम्मिलित दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिले पिलरसहित सीमाङ्कन, नक्साङ्कन तथा पहिचान भएको सीमाभित्र नदीको प्राकृतिक बहाव क्षेत्रलाई अतिक्रमणमुक्त गराउन उत्खनन गर्ने निर्णय गर्नुभएको छ ।

 धार्मिकरूपमा पूण्यप्राप्तिको लोकविश्वाससँग जोडिएको दूधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान तथा यकिन गरी उत्खनन गर्न उच्चस्तरीय समितिले आवश्यक उपकरण, जनशक्ति तथा अन्य सहयोग गर्न समुदायका सबैलाई आह्वान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको नदीको मुहानदेखि दक्षिणी बहाव क्षेत्रको पूर्णतः अतिक्रमित नदीको भूभाग उत्खननका लागि समुदाय तथा अन्य तहका सरकारको सहयोग अपेक्षासँगै थप जरुरी कायका लागि समितिले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले नदी खन्न तथा नदी संरक्षणसँगै संरक्षणात्मक कार्य (च्यानालाइजेसन तथा रिभर ट्रेनिङविद् प्रोटेक्सन वर्कका लागि दुग्धमती नदीको विकास तथा उत्खनन प्रतिवेदन बनाउन लगाई सोही प्रतिवेदनका आधारमा गुरुयोजना (मास्टर प्लान) स्वीकृतिपछि बहुवर्षीय योजनामा समावेश गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमितिमार्फत ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

चार दिनदेखि सम्पर्कविही १८ वर्षीया सुचिनाको जङ्गलमा गाडिएको अवस्थामा शव फेला

गोरखा- चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको आज शव फेला परेको छ ।

यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले बताउनुभयो ।

युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा आजै पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । घटनास्थलमा जिप्रका गोरखाबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ,प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने

वालिङ (स्याङ्जा), १९ मङ्सिरः सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।

नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताउनुभयो । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा रु ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।

“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उहाँले भन्नुभयो, “मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।” प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताउनुभयो ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आउनुभएको छ । “मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।”

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उहाँले बताउनुभयो । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुने गरेको छ ।

फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ मङ्सिर : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।

यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, घटेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

    त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, १९ मङ्सिरः आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’

काठमाडौँ, १९ मङ्सिर : राष्ट्रिय मानवअधिकार आयोगले सेवा प्रदायक संस्थाहरु शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको जनाएको छ ।

मङ्गलबार आयोगले ‘मानसिक स्वास्थ्य अधिकार व्यवस्था (गण्डकी र बागमती प्रदेश) अध्ययन प्रतिवेदन २०८१’ सार्वजनिक गर्दै सेवा प्रदायकका भवनको गुणस्तर उच्च भएता पनि यी संस्थामा शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त र सम्मानजनक अवस्था सुनिश्चितता नभएको उल्लेख गरेको हो ।

प्रतिवेदनले सरकारी र निजी अस्पतालहरुका साथै अन्य सङ्घसंस्था तथा पुनःस्थापना केन्द्रहरुमा सामान्यतया अपाङ्गता संरचनाको अभाव रहेको देखाएको छ । भवनहरुमा ‘ह्विलचियर’का लागि ‘¥याम्प’ तथा ‘लिफ्ट’ को सुविधा भए पनि सबै अपाङ्गता भएका व्यक्तिका लागि शौचालय, नुहाउने कोठा र भान्सामा पहुँचको सुनिश्चितता नभएको जनाइएको छ । खाद्यान्न, स्वच्छ पिउने पानी, आरामदायी सुत्ने वातावरणजस्ता आधारभूत आवश्यकताहरु उपलब्ध गराउने सन्दर्भमा उपेक्षा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस अध्ययन प्रतिवेदनले बागमती र गण्डकी प्रदेशमा मनोविद्, मनोविमर्शकर्ता, मनोचिकित्सक, नर्स, सामाजिक कार्यकर्ता लगायतका दक्ष जनशक्तिको अभाव रहेको देखाएको छ । त्यसैगरी मानसिक स्वास्थ्य समस्या वा मनोसमाजिक अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको भनिएको छ ।

अध्ययनको क्रममा भ्रमण गरिएका सङ्घसंस्था तथा पुनःस्थापना केन्द्रहरुमा सरसफाइको दृष्टिकोणमा व्यापक भिन्नता देखिएको जनाइएको छ । कुनै संस्थामा सरसफाइको मापदण्ड राम्रो पाइएको र कुनैमा अवस्था सामान्य रहेको अध्ययनले देखाएको छ । गोपनीयताको सवालमा भने अधिकांश सङ्घसंस्थाले खासै ध्यान नदिएको पाइएको उल्लेख छ ।

कतिपय निजी अस्पतालमा भने शौचालयहरु अपाङ्गमैत्री नरहेको प्रतिवेदनमा छ । बागमती प्रदेशको तुलनामा ग्रामीण जनसङ्ख्याको बाहुल्यता रहेको गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्या भएका तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययनले मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको उपचार, हेरचाह र सहयोगको गुणस्तरको अवस्थालाई पहिचान गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चित गर्ने र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न सरकार र सरकोकारवाला निकायलाई सिफारिस गरेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले सुदूरपश्चिमलगायत दुरदराजमा मानसिक स्वास्थ्य रोग विशेषज्ञहरु पु¥याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यून लगानीमा थुप्रै काम गर्नुपर्नेछ । प्रादेशिक अस्पतालमा मानसिक वार्डहरु भए पनि सातै प्रदेशमा विशेषज्ञहरु राख्ने प्रयत्न गरिरहेका छौँ ।”

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

काठमाडौँ, १९ मङ्सिर : सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । कूल चार हजार पाँच सय मेगावाट क्षमताका २२ आयोजनालाई सो कार्यक्रममा समावेश गरिएको छ ।

आम नागरिकलाई जलविद्युत् आयोजनामा बढीभन्दा बढी लगानीको अवसर प्रदान गर्ने, विपन्न र कमजोर आर्थिक अवस्थाका नागरिकलाई पनि लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ‘जनताको जलविद्युत् कार्यक्रम’ को दोस्रो संशोधन गरिएको छ । यसअघि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सो कार्यक्रम अगाडि सार्नुभएको थियो ।

कार्यक्रमअनुसार, जलविद्युत्मा आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई विना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गरिने जनाइएको छ । सो कार्यक्रमअन्तर्गत चार सय ८२ मेगावाट क्षमताको अरुण किमाथाङ्का, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण, ३० मेगावाटको इखुवा र तीन सय ७२ मेगावाट क्षमताको अरुण चार रहेको छ । ती सबै आयोजना सङ्खुवासभा जिल्लामा अवस्थित छन् ।

ताप्लेजुङमा आयोजना स्थल रहेको ७२ मेगावाटको घुन्साखोला र ७० मेगावाटको सिम्बुवा खोला जनताको जलविद्युत् कार्यक्रममा समावेश छ । झण्डै एक सय मेगावाट क्षमताको तामाकोशी पाँच, ३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री–बी’ लाई पनि सरकारले सोही कार्यक्रममा समावेश गरेको छ ।

गोरखामा आयोजना रहेको ६० मेगावाट क्षमताको बुढीगण्डकी ग्वारखोला, एक सय मेगावाटको बुढी गण्डकी प्रो ‘क’, ७५ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ पनि क्रमशः सोही कार्यक्रममार्फत अगाडि बढाइने भएको छ ।

नदी पथान्तरण आयोजनाअन्तर्गत रहेको भेरी बबई डाइभर्सन आयोजना पनि जनताको जलविद्युत् कार्यक्रममा समावेश छ । सो आयोजनाको क्षमता ४८ मेगावाट बराबर छ । यस्तै, चार सय ९२ मेगावाट क्षमताको फूकोट कर्णाली पनि प्रक्रियामा अगाडि बढेको छ ।

डोल्पा र जाजरकोटमा आयोजनास्थल रहने ९२ मेगावाट क्षमताको जगदुल्ला–१ र ६५ मेगावाट क्षमताको जगदुल्ला–२ लाई आमनागरिकको लगानी रहने गरी कार्यक्रममा समावेश गरिएको छ । बझाङमा आयोजनास्थल रहेको दुई सय एक मेगावाट क्षमताको चैनपुर सेती, एक सय ६३ मेगावाट क्षमताको सेती नदी तेस्रो र ५० मेगावाटको अपर सेतीलाई सरकारले जनताको लगानी रहने गरी अगाडि बढाउन लागेको छ ।

हालैमात्र निर्माण सम्पन्न भइ सञ्चालनमा आएको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन र एक सय ११ मेगावाट क्षमताको रसुवागढी पनि जनताको जलविद्युत् कार्यक्रममा समावेश छ ।

विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युत्को शेयर सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि सारिएको र थप व्यवस्थित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ ।

हालसम्मको अभ्यासका आधारमा ‘जनताको जलविद्युत् कार्यक्रम’ लाई थप परिस्कृत गरिएको छ । गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर रू दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा उपलब्ध गराइ लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । प्राकृतिक स्रोत माथिको अधिकार सबै नागरिकमा समान हुने भएकाले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजना गर्ने उद्देश्यले शेयर लगानी गर्ने र त्यसको प्रतिफल सुनिश्चित गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार, प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकमा सुनिश्चित गर्न गरिब तथा विपन्न घरधुरीलाई विना धितो सहुलियत कर्जाको व्यवस्था गरिएको हो । “स्रोत माथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्धि हासिल हुन सक्दैन”, मन्त्री खड्काले भन्नुभयो । नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिनेछ । नहुनेका लागि उक्त कार्यविधि ल्याइएको र घरधुरीको आधारमा शेयरको व्यवस्था गरिएको छ ।

विपन्नलाई आर्थिक विकासमा सघाउने र सरकारको सङ्कल्पका रुपमा रहेको समृद्ध मुलुक निर्माणका लागि जनताको जलविद्युत् कार्यक्रम थप प्रभावकारी हुने विश्वास लिइएको छ । परिमार्जित व्यवस्थाअनुसार, न्यून आय भएका राष्ट्रसेवक कर्मचारीले पनि सो कार्यक्रममा समावेश आयोजनामा लगानी गर्न सक्छन् ।

सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यअन्तर्गत जनताको जलविद्युत् कार्यक्रम पनि एक भएकाले थप व्यवस्थित गरिएको मन्त्रालयको भनाइ छ । कार्यक्रमअन्तर्गत यसअघि आयोजना प्रभावित जिल्ला र प्रसारण लाइन रहेका जिल्लाका विपन्न बासिन्दामा लागू गरिए पनि क्रमशः उक्त व्यवस्था मुलुकभर लागू गरिनछ ।

जलविद्युत् आयोजनाको शेयर खरिदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनका लागि कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने छ ।

स्थानीय सरकारले दिएको घरधुरीको सङ्ख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरूको शेयरको सुनिश्चितता सरकारले लिनेछ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि अगाडि सारिसकेको छ ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य विपन्न वर्गको जीवनस्तर उकास्नका लागि उक्त कार्यविधि संशोधन गरिएको बताउनुहुन्छ । सो कार्यक्रमले गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने र समग्रमा राष्ट्रिय मानव विकास सूचाङ्कमा यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले विश्वास लिएको छ ।

नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाडौँ, १९ मङ्सिर: चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

सोही दिन उहाँले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुुभएको थियो । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।

पूर्वी भूमध्यसागरीय अभ्यासमा क्षेप्यास्त्र परीक्षण गरेको रुसको दाबी

रुसको सेनाले मङ्गलबार पूर्वी भूमध्यसागरमा नौसेना र वायु सेनाको अभ्यासको क्रममा हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ । यो रुसको सहयोगी सिरियाले इस्लामी विद्रोहीहरूसँग भूमि गुमाइरहेको समयमा आएको छ ।

सैन्य अभ्यासमा भाग लिनका लागि यस क्षेत्रमा तैनाथ रुसी सेनाको सङ्ख्या ‘बढाइएको’ सेनाले जनाएको छ ।

रुसले हालैका दिनहरूमा राष्ट्रपति बशर अल–असदको सेनाले दोस्रो सहर अलेप्पो गुमाएको विद्रोही आक्रमणको प्रतिकार गर्न हवाई आक्रमण गरिरहेको छ । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि मस्को असदको प्रमुख सहयोगी बनेको छ ।

“डिसेम्बर ३ मा रूसी नौसेना र वायु सेनाका सैन्य समूहहरूको संयुक्त गतिविधिहरूको परीक्षण गर्ने अभ्यासका क्रममा भूमध्यसागरको पूर्वी भागमा सटीक समुद्रमा आधारित मिसाइलहरू प्रक्षेपण गरिएको थियो”, रुसको रक्षा मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भन्यो ।

रूसी जहाजहरूले हाइपरसोनिक जिरकोन मिसाइल र कालिब्र क्रुज मिसाइलको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । एउटा ओनिक्स क्रुज मिसाइल ‘भूमध्यसागरीय तटमा तोकिएको क्षेत्रबाट’ प्रक्षेपण गरिएको पनि मन्त्रालयले बताएको छ ।

रुसको सिरियामा टार्टसमा नौसेना आधार छ तर विज्ञप्तिमा यो अभ्यास कहाँ गरिएको थियो भन्ने उल्लेख गरिएको छैन “अभ्यासको तयारीका क्रममा पूर्वी भूमध्यसागरमा रुसी सशस्त्र बलको सैन्य समूह बढाइयो’, मन्त्रालयले भन्यो । एक हजारभन्दा बढी सेना, १० वटा जहाज र २४ वटा विमान अभ्यासमा संलग्न थिए ।

मन्त्रालयले जहाज र भूमिबाट धेरै मिसाइलहरू प्रक्षेपण गरेको र खुला पानीमा लक्ष्यमा प्रहार र विस्फोट भएको तस्बिरहरू प्रकाशित गरेको छ ।

आइजिपी कप : उद्घाटन खेलमा पुलिस स्कुल विजयी

काभ्रेपलाञ्चोक, १८ मङ्सिर : काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ३०औँ अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता–२०८१ आजदेखि सुरू भएको छ ।

प्रतियोगिताको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रातो) टिमले काठमाडौँ युनिभर्सिटी हाइस्कुल धुलिखेललाई ३ का विरूद्ध शून्य गोल अन्तरले पराजित ग¥यो । यस्तै आजै भएको दोस्रो खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुरले ल्याब स्कुललाई ३–० गोल अन्तरले हरायो । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र नीलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकको गरी १५ विद्यालयका १६ टिमको सहभागिता रहेको छ ।

उद्घाटनका अवसरमा राईले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप र सह–शिक्षात्मक गतिविधिमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउँदै बदलिँदो युगमा खेलकुदले विद्यार्थीलाई शारीरिक स्वास्थ्यता मात्र प्रदान नगरी वैयक्तिक सिर्जनशीलतामार्फत उनीहरूको व्यक्तिगत सीप विकासमा समेत टेवा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा आयोजक विद्यालयका प्राचार्य मोहन पौडेल, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव बद्री भट्टराई, विद्यालयका समादेशक प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर क्षेत्रीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

टिकटकले हटायो छ हजार ७८ भिडियो

काठमाडौँ, १८ मङ्सिर : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।

काठमाडाँैमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताउनुभयो । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उहाँले सुनाउनुभयो ।

त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिनुभयो । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उहाँले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको समेत सुनाउनुभयो ।

अविश्वासको प्रस्तावले फ्रान्स नयाँ राजनीतिक सङ्कटमा

विपक्षी सांसदहरूले तीन महिना मात्र कार्यालयमा रहेको प्रधानमन्त्री मिशेल बार्नियरको अल्पमतको सरकारलाई अविश्वास मतमा हटाउने धम्की दिएपछि फ्रान्स मङ्गलबार नयाँ राजनीतिक सङ्कटमा पुगेको छ । सेप्टेम्बरमा राष्ट्रपति इमानुएल म्याक्रोनले ७३ वर्षीय बार्नियरलाई नियुक्त गरेदेखि स्थायी तनावपछि कटौती बजेटको विवादले वित्तीय बजारमा चिन्ता निम्त्याएको छ । अति वामपन्थी फ्रान्स अनबोव्ड (एलएफआई) विपक्षी दलले बार्नियरले सोमबार कार्यकारी अधिकार प्रयोग गरी सामाजिक सुरक्षा विधेयकलाई मतदानबिना पारित गरेपछि अविश्वासको प्रस्ताव ल्याउने घोषणा गरेको छ ।

सन् २०२५ को बजेटमा परिवर्तनको माग गर्ने मरिन ले पेनको अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) ले यो कदमलाई समर्थन गर्ने बताएको छ । फ्रान्सका विधायकहरूले बुधबार मतदान गर्ने र १९०० जिएमटी वरपर नतिजा आउने अपेक्षा गरिएको छ । दुईवटा अविश्वास प्रस्ताव पेस गरिनेछ । अति दक्षिणपन्थीबाट एउटा पास हुने सम्भावना कम छ तर कठोर–वामपन्थीको प्रस्तावले आरएन सांसदहरूको समर्थन पाउने छ । “यस बजेटलाई अवरुद्ध गर्नु, दुर्भाग्यवश, फ्रान्सेली जनतालाई खतरनाक, अनुचित र दण्डात्मक बजेटबाट जोगाउन संविधानले हामीलाई दिएको एक मात्र तरिका हो”, ले पेनले एक्समा भन्नुभयो । – महा अज्ञात – हाल साउदी अरबको भ्रमणमा रहनुभएका म्याक्रोन आकस्मिक चुनावको आदेश दिएर उत्पन्न गरेको सङ्कटमा अधिक दर्शक जस्तै देखिनुभएको छ ।

यसले केही आवाजहरूलाई उहाँले राजीनामा दिन विचार गर्नुपर्छ कि भनेर प्रश्न गर्न प्रेरित गरेको छ । ले फिगारो अखबारले ले पेनले ‘फ्रान्सलाई महान् राजनीतिक र आर्थिक अज्ञातमा डुबाउनुहुनेछ’ भनेको छ । चरम दक्षिणपन्थीको उदय रोक्नका लागि म्याक्रोनले बोलाउनुभएको अनिर्णायक चुनावपछि युरोपेली सङ्घ (इयु) को महत्त्वपूर्ण सदस्य फ्रान्समा महिनौँको राजनीतिक अस्थिरता झनै बढेको छ । बार्नियरमाथि सन् २०२५ मा सरकारी खर्चमा ६० अर्ब युरो (४६४ अर्ब) कटौती गर्ने र सार्वजनिक क्षेत्र घाटालाई यो वर्षको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ६.१ प्रतिशतबाट पाँच प्रतिशतमा झार्ने दबाव छ ।

उहाँले अर्को वर्षदेखि कम उदार प्रिस्क्रिप्शन औषधि प्रतिपूर्ति नीतिका लागि योजनाहरू खारेज गर्नेसहित विपक्षीहरूलाई धेरै सहुलियत दिनुभएको छ । तर विपक्षी सांसदहरूले अझै पनि उहाँको योजनाको विरोध गर्छन् । आइएनजीका अर्थशास्त्रीहरूले बार्नियरको प्रतिस्थापन चाँडै फेला पार्ने सम्भावना ‘अत्यधिक अनिश्चित’ भएको बताएका छन् । “अत्यन्त ध्रुवीकृत राष्ट्रिय सभामा तीन ठूला शिविरमा विभाजित भएको छ… कुनै पनि नयाँ सरकारका लागि अविश्वासको नयाँ मतको जोखिम धेरै उच्च छ ।” वित्तमन्त्री एन्टोइन आर्मन्डले फ्रान्स२ टेलिभिजनमा सांसदहरूले बार्नियरको सरकारलाई हटाएर देशलाई ‘क्षति’ पुर्याउने उल्लेख गर्दै भन्नुभयो, “परिणाम कसले भोग्ने ? सबैभन्दा पहिले र पहिलो रूपमा फ्रान्सेली जनता ।”

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा देशमा आपतकालीन सैन्य कानून घोषणा

सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मङ्गलबार आपतकालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय सङ्घर्षका बीच ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताए ।

‘उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न… म यसैले आपत्कालीन सैन्य कानून घोषणा गर्दछु’, युनले राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भने, ‘जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ ।’

पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले अर्को वर्षको बजेट विधेयकलाई लिएर झगडा जारी राख्दै गर्दा राष्ट्रपति युनको यो आश्चर्यजनक कदम आएको हो । विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत उल्लेखनीय रूपमा घटाएको बजेट योजनालाई अनुमोदन गरेका थिए ।

‘हाम्रो राष्ट्रिय सभा अपराधीहरूका लागि आश्रयस्थल बनेको छ, न्यायिक र प्रशासनिक प्रणालीलाई पक्षाघात गर्न र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्ने विधायी तानाशाहीको अड्डा बनेको छ’, युनले भने ।

उनले विपक्षी सांसदहरूमाथि देशलाई लागुऔषधको शरणस्थल र सार्वजनिक सुरक्षा अराजकताको अवस्थामा परिणत गर्नका लागि लागुऔषध अपराधहरू विरुद्ध लड्ने र सार्वजनिक सुरक्षा कायम राख्ने जस्ता राष्ट्रको मुख्य कार्यहरूका लागि आवश्यक सबै प्रमुख बजेटहरू कटौती गरेको आरोप लगाए ।

युनले ३०० सदस्यीय संसदमा बहुमत राख्ने विपक्षीलाई ‘शासन उखेल्न चाहने विरोधी राज्य शक्तिहरू’ भन्दै आफ्नो निर्णयलाई ‘अपरिहार्य’ बताए । ‘म सकेसम्म चाँडो राज्यविरोधी शक्तिहरूलाई हटाएर देशलाई सामान्य अवस्थामा फर्काउनेछु’, उनले भने ।

‘ललितपुरलाई अपाङ्गतामैत्री सहर बनाउँछौँ’ – चिरीबाबु महर्जन

पाटन (ललितपुर), १८ मङ्सिर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई अपाङ्गतामैत्री सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाद्वारा आज जावलाखेलमा आयोजित कार्यक्रममा प्रमुख महर्जनले अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको जानकारी गराउनुभयो ।

“हामीले यसको सुरूआत गरिरहेका छौँ, हामीले धेरै राम्रो कामहरू गरिरहेका छौँ, अरू स्थानीय तहले फलो गरिरहेका छन्, एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पुल बन्दैछ, धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ, हामीले निर्माण गरेका सबै संरचना अपाङ्गतामैत्री छन्, अपाङ्गतामैत्री फुटपाथलगायत संरचना निर्माण गर्ने पहिलो स्थानीय तह हौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताको जीवन जीउनु रहर नभई बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व हो भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवरत्न पौडेलले समयसमयमा हुने यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई थप हौसला प्रदान गर्ने बताउँदै यस्ता मञ्चबाट उहाँहरूले समान अवसर पाउनका लागि आफ्ना कुराहरू व्यक्त गर्ने अवसर पाउने बताउनुभयो ।

विपद् व्यवस्थापन समितिका सदस्य एवं महानगरको कार्यपालिका सदस्य लक्ष्मी शर्माले संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार सुनिश्चितताका लागि दिवस मनाउन सुरू गरिएको जानकारी गराउँदै सन् १९९३ देखि नेपालमा हरेक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सुरू गरिएको उल्लेख गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको स्थानीय तह समन्वय समितिका सदस्य भोजराज श्रेष्ठले स्थानीय तहले प्रदान गर्ने सेवामा आफूहरूको पहुँचका लागि ललितपुर महानगरले भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाहमा ध्यान दिएर आत्मसम्मान दिएको बताउनुभयो । ललितपुर महानगरको महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

चितवन, १८ मङ्सिर : पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् । ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उहाँले बताउनुभयो । सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उहाँले बताउनुभयो ।

‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’ : कार्यवाहक प्रधानमन्त्री सिंह

चन्द्रपर (रौतहट), १८ मङ्सिर : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताउनुभएको छ । रौतहटको गढीमाई नपा–४ सुन्दपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को आज उद्घाटन गर्नुहुँदै कार्यवाहक तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उँचाइमा पुग्ने र देशको अर्थतन्त्र मजबुत र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशी मित्रराष्ट्रहरूसँग अनुदान लिएर भए पनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले देश विकासको गतिमा अगाडि बढाउन, गरिबी र बेरोजगारी अन्त्य गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।

मेला उद्घाटन कार्यक्रममा रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णाप्रसाद यादव, मधेस प्रदेशका अर्थमन्त्री जीतेन्द्रकुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादव, गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनीप्रसाद जयसवाललगायतका व्यक्तिको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

युद्धपछिको गाजा चलाउन संयुक्त समिति गठन गर्न हमास र फतह सहमत

प्यालेस्टिनी इस्लामवादी सङ्गठन हमास र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीले युद्धोपरान्त गाजा सञ्चालन गर्न संयुक्त समिति बनाउन सहमति जनाएका छन् ।

अब्बासको स्वीकृति आवश्यक पर्ने उक्त योजनाअन्तर्गत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानवीय सहायता र पुनर्निर्माणसँग सम्बन्धित मामिलामा अधिकार भएका १० देखि १५ जना गैर–पक्षपाती व्यक्ति मिलेर समिति गठन गरिने प्रस्तावको मस्यौदामा उल्लेख छ ।

समितिले इजिप्टको सिमानामा रहेको रफाह सीमा चौकीको प्यालेस्टिनी पक्षलाई व्यवस्थापन गर्नेबारे इजिप्टको मध्यस्थतामा कायरोमा भएको वार्तापछि दुई प्रतिद्वन्द्वी गुट सहमत भएका छन् । यो क्षेत्रको एक मात्र क्रसिङ इजरायलसँग साझा गरिएको छैन ।

केन्द्रीय पार्टी कमिटीका सदस्य अजम अल–अहमदको नेतृत्वमा फतहको प्रतिनिधिमण्डल अब्बासको अन्तिम स्वीकृति लिन मङ्गलबार रमल्लाह फर्कने दुवै पक्षका वार्ताकारहरूले बताएका छन् ।

हमास प्रतिनिधिमण्डलको नेतृत्व पोलिटब्युरो सदस्य खलिल अल–हय्याले गर्नुभएको थियो ।

यो पहल गाजा युद्धको अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासको समयमा आएको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो ।

इजिप्ट, कतार र टर्कीसँगै संयुक्त राज्य अमेरिकाको नेतृत्वमा यी प्रयास लेबनानमा इजरायल र हिजबुल्लाहबीच नाजुक युद्धविराम लागु भएको लगभग एक हप्तापछि आएको हो ।

सन् २००६ को चुनावमा हमासको सानदार विजयपछि भएको घातक झडपपछि हमासका लडाकूहरूले गाजा पट्टीबाट फतहलाई बाहिर निकालेपछि हमास र फतह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

हमासले सन् २००७ मा गाजामा नियन्त्रण कब्जा गर्यो । यद्यपि धर्मनिरपेक्ष फतह आन्दोलनले प्यालेस्टिनी प्राधिकरण र इजरायलको कब्जामा रहेको पश्चिमी किनारामा आंशिक प्रशासनिक नियन्त्रण गर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले जनवरीमा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिरहेको बेला प्यालेस्टिनीहरूले युद्ध समाप्त भएपछि गाजामा हमासको कुनै भूमिका नहुने सुनिश्चित गर्न अमेरिकाको कडा दबाबको सामना गरिरहेका छन् ।

इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी मध्ये एक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले गाजामा हमासको विनाश गर्नुलाई आफ्नो मुख्य युद्ध उद्देश्य बनाएको छ । यसले युद्धपछि गाजा पट्टीमा प्यालेस्टिनी प्राधिकरणले कुनै पनि भूमिका खेलेकोमा बारम्बार कडा विरोध व्यक्त गरेको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार : नेता डा कोइराला

मोरङ, १८ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा आज विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले कांग्र्रेस र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पार्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “वर्तमान सरकारलाई असफल हुने छुट छैन । यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ ।” उहाँले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पु¥याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेता डा कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गर्नुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशका एक सय १३ पालिकाका सभापतिको सहभागिता रहेको छ ।