`

भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’ स्थापना

चितवन, २० मङ्सिर : भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”

अस्पतालका सर्जन डा दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ । डा न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं ।”

‘अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी’ – श्रममन्त्री भण्डारी

पाटन (ललितपुर), २० मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरुलाई कसरी जोड्ने भनेर लागिपरेको बताउनुभएको छ ।

नेत्रहीन युवा सङ्घको आयोजनामा ललितपुरमा भएको अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलनको आज समापन समारोहमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरु समतामूलक समाजको हिस्सेदार भएको बताउनुभयो । “यो सम्मेलन सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिन महत्वपूर्ण छ, यहाँबाट बनेको घोषणापत्र तपाईंहरुको हितका लागि नीति, बजेट तथा कार्यक्रम तय गर्न सरकार तत्पर छ, यो सम्मेलन अधिकार प्राप्तिको लडाईंको पहिलो चरण हो”, उहाँले भन्नुभयो ।

सम्मेलनले तय गरेको नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री भण्डारीले बताउनुभयो । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उहाँको भनाइ थियो ।

“हामी श्रम ऐन र रोजगार ऐनको संशोधन तथा व्यवस्थापनमा लागेका छौँ, सार्वजनिक निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकालाई कसरी जोड्ने भनेर लागेका छौँ, रोजगारदाताको मागअनुसारको तालिम दिएर सीप विकास गर्न सक्छौँ, रोजगारदातालाई रोजगारी खोज्नेसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले अब चुनौतीलाई मात्रै सम्झने नभइ त्यसको समाधान गर्न कार्यान्वयनमा जाने बेला भएको उल्लेख गर्नुभयो । “एक्काइसौँ शताब्दीमा सबैलाई समानरुपले अवसर प्रदान गर्नुपर्छ, अपाङ्गता भएका व्यक्ति हाम्रै परिवारका सदस्य हुन्, उहाँहरु सबैलाई सहायता गर्न ठूलो र फराकिलो तरिकाले सोच्नुपर्छ, नेपालले कसैलाइ पछाडि नछोडाँै भन्ने अभिप्रायले योजना तय गर्ने नीति लिएको छ, हामीले मन र मस्तिष्कलाई बदलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

हरेक बालबालिका कुनै अवरोधबिना विद्यालय जान सक्ने, सरकारी सेवासुविधा पाउनसक्ने र स्वास्थ्य सेवा लिनसक्ने बनाउनुपर्ने उल्लेख गर्दै आवासीय प्रतिनिधि सिङ्गरले लिफ्ट बनाउनु, ¥याम्प बनाउनुले मात्रै अपाङ्गतामैत्री सेवा पर्याप्त नभएको भन्दै सेवा प्रवाह पनि अपाङ्गतामैत्री हुनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । समावेशी शिक्षा परिवर्तनको जग हो भन्दै उहाँले अपाङ्गता भएकाहरु पनि अन्य बालबालिकासरह बसेर बढ्न सकुन् भन्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले समाजमा अपाङ्गता किन बढ्दैछ भनेर सोच्नुपर्ने अवस्था आएको छ भन्नुभयो । उहाँले अपाङ्गताको समस्या र यस सम्मेलनबाट बनेको घोषणापत्र संसद्मा प्रस्तुत गरेर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद राजन दाहालले सम्मेलनमा विचारविमर्शबाट तयार भएको घोषणापत्र कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुको सहजताका लागि कानुन संशोधन र राज्यलाई जिम्मेवार तथा जवाफदेही बनाउन भूमिका खेल्ने बताउनुभयो ।

सांसद रेखा यादवले संविधान संशोधनका बेलामा अपाङ्गता भएकाहरुको आवश्यकतालाई सम्बोधन गर्न आवाज उठाउने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आवासीय विद्यालयको व्यवस्थाका लागि आवाज उठाउने भन्दै उहाँहरुको समस्या मेरै समस्या हो भन्ने सम्झेर अधिकार सुनिश्चितताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेत्रहीन युवा सङ्घका अनुसार सङ्घमा आठ सयभन्दा बढी दृष्टिविहीन युवा आबद्ध छन् । देशमा समग्र जनसङ्ख्याको दुई दशमलव १० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो । बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको सम्मेलन ३४बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबीच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता

काठमाडौँ, २० मङ्सिर : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबीच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा आज सहमति भएको छ ।

पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोधवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो । यहाँ आयोजित कार्यक्रममा विभागका प्रमुख डा कुन्दन अर्याल र बोर्ड कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकोले त्यसलाई प्रवर्द्धन गर्न शोधवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । विभाग प्रमुख डा अर्यालले विद्यार्थीहरुलाई आकर्षित गर्न बोर्डले गरेको शोधवृत्तिको सराहना गर्दै यसले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।

जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा छ प्रतिशतले वृद्धि भएको पनि स्विस रेले जनाएको छ ।

यसैबीच, हेलेन र मिल्टन नामक विनाशकारी आँधीबेहरीका कारण बिमा गरिएको क्षति १७ प्रतिशतले वृद्धि भई १३५ अर्ब अमेरिकी डलर पुगेको स्विस रेले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

बीमा घाटा १०० अर्ब डलरभन्दा माथि पुगेको यो लगातार पाँचौं वर्ष भएको कम्पनीले जनाएको छ ।

स्विस रेका विपत्ति र खतराका प्रमुख बाल्ज ग्रोलिमुन्डले एक विज्ञप्तिमा भन्नुभएको छ, “यो बढ्दो क्षतिको बोझको अधिकांश परिणाम शहरी क्षेत्रमा मूल्य एकाग्रता, आर्थिक वृद्धि र बढ्दो पुनर्निर्माण लागतको परिणाम हो।”

स्विस रेले बीमा कम्पनीहरूको बीमाकर्ताको रूपमा काम गर्छ र जलवायु परिवर्तनको प्रभावमा महत्व दिन्छ ।

ग्रोलिमुन्डले भन्नुभयो, “यस वर्षको धेरै विपत्तिको कारण बनेको परिस्थितिलाई समर्थन गरेर, जलवायु परिवर्तनले पनि बढ्दो भूमिका खेलिरहेको छ।”

कम्पनीले विशेष गरी बाढीको बढ्दो बीमा लागतलाई महत्व दिएको छ ।

युरोप र संयुक्त अरब इमिरेट्समा मात्र तीव्र बाढीका कारण बीमाकर्ताहरूले १३ अर्ब अमेरिकी डलर खर्च गरेका छन्।

सन् २०२४ बाढीका लागि विश्वमा तेस्रो र युरोपका लागि दोस्रो सबैभन्दा महँगो वर्ष हो ।

संयुक्त राज्य अमेरिकाले यसबीचमा सबैभन्दा बढी बीमा गरिएको नोक्सानी व्यहोरेको छ ।

सेप्टेम्बरको अन्त्य र अक्टोबरको सुरुमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा आएको ‘हेलेन’ र ‘मिल्टन’ नामक आँधीका कारण मात्रै ५० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको स्विस रेले जनाएको छ ।

तीव्र आँधीबेहरीको उच्च श्रृङ्खलाको मतलब संयुक्त राज्य अमेरिकाले सन् २०२४ को कुल विश्वव्यापी बीमा हानिको कम्तिमा दुई–तिहाईको लागी जिम्मेवार रहेको स्वीस बिमा कम्पनीले जनाएको छ ।

युक्रेनमा रुसी तनाव बढाएकामा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेबार रहेको बताउनुभएको छ ।

युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिन यी दुई नेता माल्टामा हुनुहुन्थ्यो । लाभरोभको सन् २०२२ मा रुसको आक्रमणपछि युरोपेली सङ्घको देशमा पहिलो भ्रमण थियो ।

“अब मलाई खेद छ कि हाम्रा सहकर्मी श्री लाभरोभ कोठा छोडेर जानुभएको छ, हामीले उहाँलाई सुन्दा उहाँले हामीलाई सुन्ने शिष्टाचार दिनुभएन । र निस्सन्देह, हाम्रो रूसी सहकर्मी गलत सूचनाको सुनामीले श्रोताहरूलाई डुबाउन धेरै निपुण हुनुहुन्छ”, ब्लिन्केनले भन्नुभयो, “तर हामी आफैँलाई मूर्ख नबनाऔँ र उहाँलाई वा अरू कसैलाई पनि हामीलाई मूर्ख बनाउन नदिनुहोस् । यो रुसको सुरक्षाका बारेमा होइन र कहिल्यै पनि भएको छैन । यो युक्रेनलाई नक्साबाट मेटाउने श्री पुटिनको साम्राज्य परियोजनाका बारेमा हो, हाम्रा एकजना सहकर्मीले तनाव वृद्धिको बारेमा कुरा गर्नुभयो । उहाँ ठ्याक्कै सही हुनुहुन्छ । तनाव वृद्धिका बारेमा कुरा गरौँ ।”

ब्लिेन्केनले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न सैनिक पठाएको तथ्यलाई सन्दर्भ दिनुभयो । साथै उहाँले ‘युक्रेनको ऊर्जा लगायत त्यसको आणविक प्रसारण समूहमा जारी आक्रमणले यस कोठामा रहेका हरेक देशलाई ठूलो खतरा खडा गर्छ’ भन्नुभयो ।

ब्लिन्केन र लाभरोभको माल्टामा आमनेसामने भेट हुने योजना थिएन ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।

“अमेरिकास्थित मोलिक्युलर डायग्नोस्टिक्स कम्पनी सेफिडले उत्पादन गरेको एक्सपर्ट एमटिबी÷आरआइएफ अल्ट्रा क्षयरोग निदान र एन्टिबायोटिक संवेदनशीलता परीक्षणका लागि पहिलो परीक्षण हो जसले डब्लुएचओको पूर्व–योग्यता मापदण्डहरू पूरा गर्दछ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले भन्यो ।

डब्लुएचओको पूर्व–योग्यताको उद्देश्य प्रमुख स्वास्थ्य उत्पादनहरूले गुणस्तर, सुरक्षा र प्रभावकारिताका लागि विश्वव्यापी मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नु हो ।

डब्लुएचओले पहिले नै परीक्षणको सिफारिस गरिसकेको छ तर पूर्व–योग्यताको अर्थ युनिसेफ जस्ता संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू वा गाभी खोप गठबन्धन जस्ता अन्यसँग सीमित स्रोत भएका देशहरूमा उत्पादन खरिद गर्न र वितरण गर्न सरल मार्ग प्रदान गर्दछ ।

“क्षयरोगको निदान परीक्षणको यो पहिलो पूर्व–योग्यताले डब्लुएचओका सिफारिसहरू र यसको कडा गुणस्तर, सुरक्षा र प्रदर्शन मापदण्डहरू दुवै पूरा गर्ने उच्च गुणस्तरको क्षयरोग जाँचहरूमा पहुँच बढाउन र गति दिन देशहरूलाई सहयोग गर्ने डब्लुएचओको प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो”, डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीले भन्नुभयो, “यसले विश्वको सबैभन्दा घातक सङ्क्रामक रोगहरूमध्ये एकलाई सम्बोधन गर्न त्यस्ता अभूतपूर्व निदान उपकरणहरूको महत्त्वलाई जोड दिन्छ ।”

रोकथाम योग्य र उपचार योग्य रोग क्षयरोग ब्याक्टेरियाको कारणले हुन्छ र यसले सबैभन्दा बढी फोक्सोलाई असर गर्छ । फोक्सोको क्षयरोग भएका मानिसहरूले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा यी ब्याक्टेरिया हावामा फैलिन्छन् ।

सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगका घटनाहरू पत्ता लगाइएको डब्लुएचओले अक्टोबरमा बताएको थियो । यो सन् १९९५ मा विश्वव्यापी क्षयरोग अनुगमन सुरु भएदेखि सबैभन्दा बढी हो ।

साथै डब्लुएचओका अनुसार १२ लाख ५० हजार सम्बन्धित मृत्युसँगै क्षयरोग सम्भवतः एकल सङ्क्रामक कारकबाट अग्रणी मृत्युको कारण बन्यो । यसलाई तीन वर्षपछि कोभिड–१९ ले प्रतिस्थापन गरेको थियो ।

परीक्षणले क्षयरोग ल्याउने ब्याक्टेरियाको आनुवंशिक सामग्रीलाई थुकको नमूनामा पत्ता लगाउँछ र केही घन्टाभित्र सटीक परिणाम प्रदान गर्छ ।डब्लुएचओका अनुसार क्षयरोग विशेष गरी औषधि प्रतिरोधी उपभेदको सही र प्रारम्भिक पहिचान विश्वव्यापी स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता हो ।

“उच्च गुणस्तरको निदान परीक्षणहरू प्रभावकारी क्षयरोग हेरचाह र रोकथामका आधारशिला हुन्”, डब्लुएचओको नियमन र पूर्व–योग्यता निर्देशक रोजेरियो ग्यास्परले भन्नुभयो ।

यो रोगले ३० उच्च–बोझ भएका मुलुकहरूलाई असमान रूपमा प्रभावित गर्छ । भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सहितका पाँच मुलुकले विश्वव्यापी क्षयरोग बोझको आधाभन्दा बढी हिस्सा ओगट्छन् । यसमध्ये एक चौथाइभन्दा बढी केस भारतमा मात्रै पाइन्छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई

अन्नपूर्ण (कास्की), २० मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव समापन कार्यक्रममा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन निर्माणको काम सकेर कार्यान्वयन गर्ने तयारीमा रहेको बताउनुभयो । “शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्नुपर्छ भनेर योजनासमेत बनाइसकेको छ । यो ऐन कार्यान्वयन गर्ने हो भने नेपाल सरकारले २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्छ भन्ने खाकासहित कार्ययोजना तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआत कहाँबाट गर्नेभन्दा सङ्घीय सरकारअन्तर्गतका जति पनि निकाय छन् । तिनीहरुले जति शुल्क उठाइरहेका छन् ती शुल्क हटाउँदै लैजानुपर्छ ।” यसको सुरुआत यही वर्षमा गर्नेगरी तयारी थालिएको उहाँको भनाइ थियो ।

मन्त्रालयले खाजा, पुस्तक, ट्युसन शुल्क निःशुल्क गर्दा पनि सार्वजनिक विद्यालयमा विद्यार्थी घटिरहेकामा मन्त्री भट्टराईको चिन्ता थियो । “जबसम्म स्थानीयले अनुगमन गर्न सक्दैन । त्यतिबेलासम्म विद्यालयले केही पनि गर्न सक्दैन”, उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सबै स्थानीय तहमा शिक्षा योजना हुनुपर्छ भन्ने प्रावधान बनाएको छ ।” यो ऐन कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले नेपालका विद्यालयमा पढाइने पाठ्यक्रम समय सान्दर्भिक बनाउन जरुरी रहेको बताउनुभयो । मन्त्रालयले सामाजिक शिक्षा विषयको पाठ्यक्रमलाई पुनरावलोकन गरिरहेको उहाँले जानकारी दिनुभयो । “देशलाई चिनाउने, माटोलाई चिनाउने अनि हाम्रो देशमा भएका विश्वविद्यालयका बारेमा जानकारी गराउने गरी हाम्रा पाठ्यक्रम निर्माण गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

‘नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा’ :मुख्यमन्त्री आचार्य

लुम्बिनी, २० मङ्सिर : मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

‘प्रदेशस्तरीय खाद्यसुरक्षा तथा बहुक्षेत्रीय पोषण’ विषयक अनुभव तथा सिकाइ आदानप्रदान कार्यक्रमलाई आज प्रदेश राजधानीस्थित राप्ती उपत्यकाको देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम लागू गरिएको बताउनुभयो । “प्रदेशमा कुपोषण प्रमुख स्वास्थ्य समस्याका रुपमा देखापरेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “मातृशिशु मृत्युदरलाई घटाउछौँ । पोषणको अवस्थालाई सुधार गर्छौं । बालमृत्युदर घटाउछौँ ।” 

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागू गरेको बताउनुभयो । यसबाट नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । 

तथ्याङ्कगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागू गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । विभिन्न बहानामा अझै पनि बालबिवाह हुने गरेको, यसले मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या देखापरेकाले यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।   

कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११बँुदे ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्नेलगायत माग समेटिएका छन् । 

अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउछौँ : अर्थमन्त्री पौडेल

लुम्बिनी (मर्चवार), २० मङ्सिर : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनुभएको छ ।

भैरहवामा आजदेखि सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो । “निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ”, पौडेलले भन्नुभयो ।

उहाँले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने जिकिर गर्नुभयो । “सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ”, उहाँले भन्नुभयोे, “उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आमनागरिकमा विश्वास हुँदै गएको छ ।”

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गर्नुभयो । हालको टर्मिनल भवन निर्माण भए त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा भैरहवाको देवकोटा चोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

‘ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्ने’ : प्रमुख महर्जन

पाटन (ललितपुर), २० मङ्सिरः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज यहाँ आयोजित २५औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै काम गरिरहेको उल्लेख गर्नुभयो ।

“तपाईंहरुको हरेक कामको मूल्याङ्कन हुन्छ, यस वर्ष स्वयंसेवक कोषमा नौ लाख रुपैयाँ जम्मा गरिदिनेछौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले दिगो विकास लक्ष्य २०३० को उपलब्धि हासिल गर्न बालबालिकाको मृत्युुदर र मातृ मृत्युदर कम गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो । 

महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले मातृमृत्युदर र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिकामा स्वास्थ्य स्वयंसेविकाहरु रहेकाले उहाँहरुलाई उत्साहित र प्रोत्साहित गरेर अझै सुधार ल्याउनुपर्ने  बताउनुभयो । 

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा स्वयंसेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताउनुभयो । ललितपुर महानगरमा हाल एक सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । 

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय

काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् ।

काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यका भित्र सेवा दिने उदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् ।

काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीहरुलाई लक्षित गर्दै उनीहरुको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने उदेश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ ।

अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमलपोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरुले बोलाएको ठाउँमै गएर व्यटीपार्लरसम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रुपमा काम गर्न थालेको उनले बताएकी छिन् ।

‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौं उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।

हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका छन् ।

‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरुको सामुहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौंमा आफ्नो सेवाको थालनी गर्ने निर्णय गरेकी हुँ, कलाकार गिरीको भनाइ छ ।

कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरुले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।

गिरीका अनुसार यो होम सलूनले सेवाग्रहीलाई उनीहरुले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरुले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरुले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ ।

सलोन टाइमले एउटा रामो व्यूटि पार्लमा जे–जस्ता सुविधाहरु प्रदान गरिन्छ, सलूनको भन्दा कम शुल्कामा त्यो भन्दा गुणस्तीय सेवा दिने अठोट गरेको छ । यो तस्विरमा दिइएको क्यू आर स्क्यान गरेर सलोनटाइमको एप डाउनलोड गर्न सकिने कलाकार गिरी बताउँछिन् ।

सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा व्यूटी सम्बन्धि सम्पूर्ण सेवा लिन सकिन्छ ।

कलाकार गिरीका अनुसार प्रायः होम सलूनको सेवा दिनेहरुले गुणस्तरीय व्यूटी प्रोडक्टहरु प्रयोग गर्दैनन् । ‘तर हामीले भने गुणस्तीयर प्रोडक्ट बिना सेवा नै नदिने निर्णय गरेका छौं’, उनी भन्छिन्– ‘हाम्रो होम सलूनमा लक्जरी प्रोडक्टहरु जस्तै ओ थ्री, सारा, कस्बार (सलोन टाइमको आफ्नै प्रोडक्ट, नेपालमा पहिलो पटक यो प्रोडक्टको प्रयोग गरिएको हो), लक्जरी होममा लक्जरी सेवा दिन प्रोडक्ट पनि लग्जरी दिने तयारी गरिएको छ ।’

‘यो नयाँ प्रयोगमा म सफल हुन्छ कि हुन्न भन्ने थाहा छैन, तर मैले हामी जस्तै व्यस्त महिलाहरुको सुविधा तथा सहजताका लागि यो नयाँ व्यवसाय रोजेकी हुँ, कलाकार गिरीले काठमाडैं उपत्यकामा यो सेवालाई स्थापित गराएपछि काठमाडैं बाहिर खासगरि जनकपुर, इटहरी तथा नेपालगञ्जमा समेत विस्तार गर्ने योजना बनाएकी छिन् ।

कलाकार गिरीले सम्पूर्ण महिला दिदी बहिनीहरुलाई सम्बोधन गर्दै भनेकी छिन्– ‘मैले हजुरहरुका लागि यो सजिलो उपाय निकालेकी छु । किनभने हामी सबैलाई राम्री हुन मन लाग्छ । त्यसैले हाम्रो एप डाउनलोड गरेर आजै हाम्रा सेवा लिन आग्रह गर्दछु ।’

फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा पेश

फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसदमा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिनुभएको छ ।

उहाँ बिहीबार इमानुएल म्याक्रोँलाई भेटी राजिनामा दिएको तर उहाँलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोँले आग्रह गर्नुभएको छ ।

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ः०० बजे ‘एलिसी प्यालेस’ पुग्नुभएको थियो ।

बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल ¥याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

राष्ट्रपति म्याक्रोँले स्थानीय समयअनुसार राति ८:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले जनाएको छ ।

दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार

अमेरिकी सुरक्षा आयोगको अध्यक्षमा डोनाल्ड ट्रम्पको चयनलाई शेयरबजार व्यवसायीहरूले स्वागत गर्दा बिहीबार पहिलो पटक प्रति एक मुद्रा बिटक्वाइनको कारोबार मूल्य एक लाख अमेरिकी डलर नाघेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले यसै हप्ता केही घण्टा मात्र लागु भएको सैनिक शासन र यसको फिर्ता पछि सामना गरेको महाभियोगको प्रस्तावले सियोलको शेयरमा गिरावट आएको छ।

हालैका हप्ताहरूमा ९० हजार अमेरिकी डलरको आसपास घुमिरहेको लोकप्रिय क्रिप्टोकरेन्सी अन्ततः एशियामा ऐतिहासिक स्तरमा पुगेको हो । ट्रम्पले प्रमुख क्रिप्टो प्रस्तावक पल एटकिन्सलाई सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) को अध्यक्षको रूपमा जिम्मेवारी दिने घोषणासँगै क्रिप्टोको कारोबारले उच्च रेकर्ड कायम गरेको हो ।

एटकिन्स जोखिम परामर्श फर्म ‘पाटोमक ग्लोबल पार्टनर्स’का संस्थापक हुनुहुन्छ । यसका ग्राहकहरूमा बैंकिङ, व्यापार र क्रिप्टोकरेन्सी उद्योगका कम्पनीहरू समावेश छन् ।

ट्रम्पको सङ्क्रमणकालीन टोलीले सन् २०१७ देखि डिजिटल च्याम्बर अफ कमर्शको सह–अध्यक्षता गरेको उल्लेख गरेको छ ।

एटकिन्सले अमेरिकालाई पहिलेभन्दा ठूलो बनाउन डिजिटल सम्पत्ति र अन्य नवप्रवर्तन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

‘एसपीआई एसेट म्यानेजमेन्ट’का स्टेफन इन्सले एटकिन्ससँग क्रिप्टोकरेन्सी फर्महरूमा एसईसीको कडा अडानको आलोचना गर्नेहरूको ‘ट्र्याक रेकर्ड’ रहेको बताउनुभयो ।

“यो रणनीतिक कदमले क्रिप्टो समुदायलाई उत्साहित बनाएको छ, एटकिन्सको निगरानीमा सम्भावित अधिक मिलनसार नियामक परिदृश्यको बारेमा लगानीकर्ताको आशालाई बढावा दिएको छ,” इनेसले भन्नुभयो ।

कारोबार मूल्यमा रेकर्ड तोड्दै बिटक्वाइनको प्रति एक मुद्रा बिहीबार एक लाख तीन हजार ८०० अमेरिकी डलरमा कारोबार भएको हो ।

अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पले क्रिप्टोकरेन्सीहरूलाई विनियमित गर्ने उपायहरू मार्फत अघि बढाउने विश्वासमा ट्रम्पको चुनावी जितपछि यो ५० प्रतिशत भन्दा बढी बढेको छ र वर्षको अन्त्यदेखि लगभग १४० प्रतिशत बढेको छ । चुनावी अभियानका क्रममा उहाँले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने वाचा गर्नुभएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटकीय रूपमा सैनिक शासनको घोषणा गरेपछि व्यापारीहरूले त्यहाँ भएका घटनाहरूको अनुगमन गरिरहेका बेला बिटक्वाइनमा उछाल आएको हो ।

दक्षिण कोरियाकोे विपक्षी समूहले अहिले उहाँ (युन) विरूद्ध महाभियोगको लागि दबाब दिएको छ, जबकि रक्षा मन्त्रीले राजनीतिक सङ्कटको कारण राजीनामा दिनुभएको छ ।
विवादास्पद बजेट प्रस्तावसँग जोडिएको अविश्वासको प्रस्तावमा प्रधानमन्त्री मिचेल बार्नियरको तीन महिना पुरानो सरकार ढलेपछि लगानीकर्ताहरूले फ्रान्समाथि पनि नजर राखेका छन् ।

युरोजोनको दोस्रो नम्बरको अर्थव्यवस्था (प्राmन्स) का कारण स्थानीय शेयर कारोबारमा विशेष गिरावट आउने अपेक्षा गरिएको भएपनि युरोले कुनै ठूलो प्रभावको सामना गर्नु परेन तर यस कदमले यस वर्षको सुरुमा विभाजनकारी चुनावपछि फ्रान्समा पहिले नै तनावपूर्ण राजनीतिक स्थितिमा नयाँ अनिश्चितता थपेको थियो ।

एशियाका अन्य ठाउँहरूमा शेयर कारोबार मिश्रित देखिएको छ । लगानीकर्ताहरूले वाल स्ट्रिटमा सबै तीन मुख्य सूचकाङ्कको लागि रेकर्ड राख्न सङ्घर्ष गरे, जहाँ रोजगार र सेवाहरूमा नरम तथ्याङ्कले यस महिना फेडरल रिजर्भ ब्याज दर कटौतीको आशालाई बढावा दिएको थियो ।

टोकियो, साङ्घाई, सिड्नी, सिङ्गापुर, मुम्बई र ताइपेइको मूल्य बढे पनि हङकङ, वेलिङटन, जकार्ता र मनिला भने शेयर कारोबारका हिसाबले ओरालो लागेका छन् ।

काभ्रेमा पहिरोबाट मृत्यु भएका परिवारलाई नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले गर्यो सहयोग

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो । नमोबुद्ध नगरपालिका वडा नं. ५ का शम्भु बिकको नाममा १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । केहिसमय अघि शम्भु बिकको बुबा र आमा दुबैको राती आएको पहिरोबाट पुरिएर ज्यान गएको थियो ।

यस्तै तेमाल गाउँपालिकामा एकै परिवारका दुईजनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई पनि १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । उक्त चेक तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको रोहवरमा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया लगायतको टिमबाट मृतकको परिवारलाई हस्तान्तरण गरियो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका सचिव नेत्र कटुवाल, ब्यवसायी नारायण देवकोटा, लक्ष्मण बन्जाडा, अमन लामा, राजनितिज्ञ सत्मान लामासँगै कलाकार सुरेश थापा (दर्शने)को उपस्थिती थियो ।

नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष चिमोरियाको जन्मदिनको अवसर पारेर सहयोग हस्तान्तरण गरिएको हो । चिमोरियाले मृतकको परिवारमा सानो मलम भएपनि लगाउने कोसिस गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि एसोसियसनबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो । फर्किनुभएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताउनुभएको हो ।

 “भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हरेक परियोजनाअन्तर्गतपछि छुट्टै छलफल र सम्झौता गर्छांै ।”

 नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ । बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको थियो ।

 प्रधानमन्त्री केपी ओलीले र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको थियो । उक्त समझदारीमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

 नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन् । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी ‘प्रोटोकल’मा समझदारी भएको जनाइएको छ ।

 विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ भने स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

उदयपुरमा एक घरमा आगलागी, पाँच लाखको क्षति

उदयपुर (गाईघाट), २० मङ्सिरः त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए ।

एनपिएल: पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

काठमाडौँ, २० मङ्सिर: नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ ।

एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो । आजको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ ।

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको राससलाई बताउनुभयो ।

अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्र्दैै आउनुभएको हो ।

मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताउनुभयो । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँले चार वर्ष धेरै सङ्घर्ष गर्नुभयो । छ महिना यता ठेलामा व्यापार थाल्नुभएकी उहाँ दैनिक १२ घण्टा काम गर्नुहुन्छ । उहाँको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उहाँले बचत पनि गर्नुभएको छ ।

श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उहाँ बिहानदेखि साँझसम्म एक्लै हुनुहुन्छ । सबै सामान आफँैले जुटाउनुहुन्छ । अनि सबै परिकार आफैँ बनाउन उहाँलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उहाँको बुझाइ छ ।

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ, २० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गर्नुभयो ।

नोबेल समितिद्वारा इरानी मोहम्मदीको स्थायी रिहाइको माग

तेहरानले स्वास्थ्यका आधारमा तीन हप्ताका लागि रिहा गरेपछि नर्वेको नोबेल समितिले बुधबार इरानलाई जेलमा रहनुभएकी शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई स्थायी रूपमा रिहा गर्न आग्रह गरेको छ ।

बाउन्न वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्डको व्यापक प्रयोग र महिलाहरूका लागि अनिवार्य ड्रेस कोडको विरूद्ध सक्रिय अभियान चलाएकामा बारम्बार मुद्दा चलाएर र जेलमा हालेको छ ।

उहाँका वकिलले बुधबार सामाजिक सञ्जालमा उहाँलाई ‘ट्युमर हटाउने र हड्डी प्रत्यारोपण गरेको तीन हप्तापछि’ स्वास्थ्य लाभका लागि मुक्त गरिएको घोषणा गर्नुभयो ।

मुख्य रूपमा इरानमा महिलामाथि हुने उत्पीडन विरुद्धको लडाइँका लागि सन् २०२३ मा मोहम्मदीले नोबेल शान्ति पुरस्कार जित्नुभयो । त्यस समयमा उहाँ जेलमा भएकाले सन्तानले उहाँको तर्फबाट पुरस्कार प्राप्त गरेका थिए ।

“उहाँलाई उपचारका लागि २१ दिनका लागि जेलबाट मात्र होइन, सदाका लागि रिहा गरिनु पर्छ भनेर हामीले पहिले जस्तै माग गरेका छौँ”, नोबेल समितिका प्रमुख जोर्गन वाटने फ्राइड्नेसले भन्नुभयो, “शासन र नर्वेली नोबेल समितिसहित बाहिरी संसारको दबाबको परिणामस्वरूप एक दिन उहाँको रिहाइ हुनेछ भन्ने हामीलाई आशा छ ।”

उहाँले भन्नुभयो,, “उहाँको अवस्था गम्भीर छ, सम्भवतः क्यान्सर छ”, उहाँले भन्नुभयो, “मुद्दा निस्सन्देह, यी २१ दिन सम्भवतः पर्याप्त उपचारका लागि पर्याप्त छैन ।”

फ्रिडनेसले समितिले उहाँको २१ दिनको रिहाइको समयमा ‘उहाँलाई डिजिटल रूपमा भेट्ने’ र ‘भविष्यमा कुनै समय... नरगिसलाई व्यक्तिगत रूपमा भेट्ने र कुरा गर्ने’ आशा गरेको बताउनुभयो ।

खडेरीले दुई करोड ६० लाख दक्षिणी अफ्रिकीलाई खाद्य असुरक्षामा धकेल्यो

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार दक्षिणी अफ्रिकामा ऐतिहासिक खडेरीले दुई करोड ६० लाख मानिसलाई खाद्य असुरक्षामा धकेलेको चेतावनी दिँदै तत्काल आर्थिक सहयोगको माग गरेको छ ।

सन् २०२३–२०२४ को एल नीनो जलवायु घटनाले झनै बिग्रेको यो सङ्कट अर्को वर्ष मार्च वा अप्रिलसम्म अर्थात् अर्को फसलसम्म कम्तीमा थप गहिरो हुने अपेक्षा गरिएको छ ।

“आज हामीसँग यस क्षेत्रमा दुई करोड ६० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् र यो एल निनो प्रेरित खडेरीका कारण हो”, डब्लुएफपीका दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले भन्नुभयो ।

पर्डिसनले सबैभन्दा बढी प्रभावित सात देशमा अङ्गोला, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वे रहेको बताउनुभयो ।

डब्लुएफपीका अनुसार उनीहरूलाई सङ्कटको सामना गर्न थप ३० करोड डलरको आवश्यकता छ ।

खडेरीले धेरै बाली र पशुधन नष्ट गरेकाले लेसोथो, मलावी, नामिबिया, जाम्बिया र जिम्बाब्वेसहितका पाँच मुलुकले विगत महिनाहरूमा राष्ट्रिय प्रकोपको अवस्था घोषणा गरेका छन् । 

धेरै ठाउँमा सामान्यतया वर्षको यस समयमा बिउ रोप्ने किसानहरूले त्यसो गर्न सकिरहेका छैनन् ।

मलावीमा डब्लुएफपीले अभावका कारण सहायता प्रदान गर्न खाद्यान्न आयात गर्नुपर्ने बताएको छ । “यस वर्षको सुरुमा एल निनो खडेरीले मकै बालीको लगभग आधा क्षति भएको थियो”, देशका समूहका प्रतिनिधि पल टर्नबुलले भन्नुभयो ।

“जाम्बियालाई ‘दक्षिणी अफ्रिकाको अन्न भण्डार’ मानिन्छ तर अहिले यो मुलुक ‘भोकमरी सङ्कटको सँघारमा खडा छ”, डब्लुएफपीका देशीय निर्देशक सिसी कबासुगाले भन्नुभयो ।

उच्च मध्यम आय भएको देश नामिबियामा पनि स्थिति विकराल छ । “सबै १४ क्षेत्र खडेरीबाट प्रभावित भएका थिए, तीमध्ये केहीमा धेरै चिन्ताजनक स्तर छन् (खाद्य असुरक्षाको) र यो नामिबियाका लागि धेरै चिन्ताजनक अवस्था हो”, डब्लुएफपीका टिवोङ्गे माचिवेनिकाले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार यस क्षेत्रको भ्रमणका क्रममा खडेरीबाट प्रभावित मानिससहित ३१ अफ्रिकी देशलाई एक अर्ब डलरको मानवीय सहायता प्याकेजको घोषणा गर्नुभयो ।

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

भद्रपुर (झापा), २० मङ्सिरः विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उहाँले भन्नुभयो, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”

तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन
झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो । “गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

पूर्वाधार निर्माणमा सघाउन विकासका साझेदारलाई मुख्यमन्त्रीको आग्रह

कर्णाली, २० मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिनुभयो ।


आवासीय प्रतिनिधि योकोसुदाले मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको सुझावप्रति सकारात्मक जवाफ दिनुभएको थियो ।

१४ वर्ष जापानमा विताएका प्रेमको एक करोड बढीको लगानीमा लोभलाग्दो बाख्रापालन

गलकोट (बागलुङ), २० मङ्सिरः केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । ने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् ।

काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम ले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पाल्नुभएको छ । उहाँले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गर्नुभएका हो ।

फार्ममा रु एक करोड ३५ लाख लगानी गर्नुभएका उहाँले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गर्नुभएको छ । उहाँको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन् ।

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

दमौली (तनहुँ), २० मङ्सिर : तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।

बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिनुभयो । उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ । बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताउनुभयो । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ । हालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, “सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ । सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु, २० मङ्सिरः जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताउनुभयो । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताउनुभयो । स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताउनुभयो । “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उहाँले भन्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।” वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताउनुभयो ।

स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाउनुभयो । “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उहाँले दुःखेसो पोख्नुभयो ।
करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाउनुभययो ।

स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताउनुभयो । उहाँले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताउनुभयो । “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भन्नुभयो ।

उहाँले हाल अध्ययनका लागि स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक काम गर्न जिल्ला प्रशासनले समन्वय गर्ने जानकारी दिनुभयो ।

स्थानीय नागरिक र सरोकारवाला पनि हालसम्म अध्ययनमा सङ्लग्न टोलीले समस्या समाधानका लागि उपाय खोज्नेमा आशावादी छन् । सो टोलीको सिफारिसको आधारमा थप अध्ययन वा रोकथामका काम अगाडि बढ्ने अपेक्षा गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । “पहिरो विस्तार हुने क्रम हेर्दा सानोतिनो प्रयासले नियन्त्रण समस्या छ । त्यसैले तिनै तहका सरकारले एकीकृत रूपमा समस्या समाधानका लागि पहल गर्न आवश्यक छ । हामीले पनि आफ्नो तर्फबाट सबैको ध्यानाकर्षण गराइहेकै छौँ । समयमै समस्या समाधान नगरे ठूलो मानवीय र भौतिक क्षति हुनसक्छ । तिङलाबासी आफ्नो बस्तीको अस्तित्व जोगाउन राज्यको सक्रियता प्रतीक्षामा छौँ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बुका अन्य ग्रामीण क्षेत्रमा पनि पहिरोका जाने समस्या छ तर यहाँ भने सुख्खा मौसममा पनि पहिरो गइरहने भएकाले समस्या झन् जटिल बनेको हो । यसैले त्रासमा रहेका यहाँका स्थानीय आफ्नो थातथलोको संरक्षण र ज्युज्यान जोगाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँछन् ।

एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौँ,-शनिबारदेखि काठमाडौँमा सुरू भएको पहिलो संस्करणकोे नेपाल प्रिमियर लिग (एनपिएल) आजसम्म आइपुग्दा सात वटा खेल भए ।

एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । त्यस्तै, आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच पनि  खेल भयो । 

सात खेलमध्ये दुई/दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किङ्ग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोेर्यो । 

कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेलमात्रै खेलेको पोखरा एभेन्जर्स र लुुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गुर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।

एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो । 

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रूपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो । 

एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेकोे जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ । 

एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियोे । 

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरूद्ध जनकपुर बोल्ट्सले सुरूदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो । 

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेकोे चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ ।

पहिलोे खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए । 

चितवनले आफ्नो दोस्रो खेलमा मङ्गलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरूद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरूद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे । 

सन्दीप लामिछाने, विराटनगर किङ्ग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वकोे विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ । 

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरूद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि  झार्न सकेनन् । 

विराटनगर किङ्ग्स आफ्नोे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनकोे फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङततर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् । 

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरूद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके । 

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेकोे कर्णाली याक्सकोे प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुुई खेलमा दुुवै खेल हार्न पुगेको छ । 

पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । योे खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् । 

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित हुुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरूद्ध एक विकेट  लिन भने सफल भए । 

करण केसी, काठमाडौँ गुर्खाज

जारी एनपिएलमा काठमाडौँ गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गुर्खाज  चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो । 

पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले  काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका  थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीकोे प्रर्दशन सानदार नै थियोे । काठमाडौँविरूद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए । 

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

जारी एनपिएलमा एक खेल खेलेकोे सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रर्दशन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गर्यो । 

यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रर्दशन सानदार नै रह्यो । उनले अर्धशतक पारी खेले । विराटनगरविरूद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए । 

बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे । 

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओेपनर समेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराकोे सुरूवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते । 

रोहितकुमार पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् । 

रोहित नेतृत्वको लुुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो । 

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् । 

रामेछापको सुन्तलाले पाएन बजार ,किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य

मन्थली (रामेछाप), २० मङ्सिरः यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताउनुभयो ।

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ । “विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला रु एक सयमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी रु ७५÷८० मै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि ।”

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ ।

यसवर्ष यस वडाबाट करिब रु दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ । “हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ । यसरी त सधैँ व्यवसाय हुँदैन । त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ”, स्थानीय किसानको भनाइ छ ।

‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

काठमाडौँ, २० मङ्सिरः ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् ।

ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।

ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउनुहुन्छ । “पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आउनुभएका उहाँले भन्नुभयो,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।”

ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू । व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् । पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ । “विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन”, व्यवसायी थापाले सुनाउनुभयो ।

ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ । यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताउनुभयो ।

कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउनुहुन्छ । शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् । फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् ।

ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन । “यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्”, उहाँले भन्नुभयो । 

ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको बताउनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताउनुभयो । “यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो”, उहाँले भन्नुभयो, “यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर प¥यो ।”

विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन ।” शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् ।

होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो । यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उहाँको भनाइ छ ।

यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ । ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।

 राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

   केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

बेइजिङ (चीन), २० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्नुहुने कार्यक्रम छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उहाँहरूबीच कुराकानी भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिनुभएको छ । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २० मङ्सिरः हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’ : धिमन्त्री विद्या भट्टराई

काठमाडौँ, १९ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा ऐन ल्याउन जरूरी भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्ने बताउनुभयो ।

“विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात कसरी मिलाउने भन्ने विषयमा २०७६ सालमा पनि अध्ययन भए पनि अहिले प्रविधि र अवस्था धेरै बदलीसकेको छ”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ, स्थानीय तहले राम्रोसँग अध्ययन गर्न जरूरी छ ।”

मन्त्री भट्टराईले मन्त्रालयले पूर्वसचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएकोसमेत जानकारी दिनुभयो ।

उहाँले कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस आधारमा सरकारले आवश्यक काम गर्ने बताउनुभयो । समितिमा सांसदहरूले विद्यालय शिक्षालाई गुुणस्तरीय बनाउनुपर्ने र त्यसका लागि विद्यालय शिक्षा ऐन जरूरी भएको सुझाव राख्नुभएको थियो ।  

‘कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ’

काठमाडौँ, १९ मङ्सिर : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह भएको बताउनुभएको छ । कीर्तिपुरमा आज आयोजित सभामा उहाँले कीर्तिपुरले राजनीतिक रूपमा देशलाई नै सन्देश दिएको बताउनुभयो ।

“राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ । राजनीतिक रूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन् सुदृढ हुँदैछ भन्ने सन्देश गएको छ”, उहाँले भन्नुभयो, “नगर प्रमुख र दुई वटा वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।”

कांग्रेसका पूर्वमहामन्त्री सिंहले कीर्तिपुरमा प्रमुखका लागि ११ जना रहे पनि पार्टीले उम्मेदवारको निर्णय गरेपछि सबै एकताबद्ध भएर लाग्दा परिणाम पार्टीका पक्षमा आएको भन्दै कांग्रेस एकताबद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडल नै स्थापित भएको उहाँको भनाइ थियो । 

त्यस्तै, उहाँले पार्टीमा सङ्गठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डङ्गोल भएको बताउनुभयो । “सङ्गठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको सङ्गठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ”, उहाँले भन्नुभयो । कार्यवाहक प्रधानमन्त्री सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरूलाई सम्बोधन गर्नेगरी काम गर्न सुझाव पनि दिनुभयो । 

प्रताप दासको मस्त जवानीमा खुले उषा र बिजु

गीतकार भोला नाथ पाठक र निर्देशक कृष्णदेव रुपाखेतीको सहकार्यमा तयार भयो मस्त जवानीको भिडियो

काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । समाजसेवी भोला नाथ पाठकको शब्द सृजना रहेको सार्वजनीक गीत मस्त जवानीमा मनोहर सुनामको एरेन्ज तथा संगीत रहेको छ । यसअघि दर्जनौँ गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा पनि देखिएका छन् ।

एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पलहरुलाई रोमान्टिक शैलीमा कैद गरेका छन् । जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यहरुमा दर्शक टक्क अडिनेमा शंका छैन । भिडियोमा मोडल बिजु पार्की पनि उषाका प्रेमी बन्दा गज्जबले खुलेका छन् ।

छमछम नचाउने शैलीमा तयार गरिएको मस्त जवानी हरेक युवाले युवा अवस्थामा गर्ने रमाइलो शैलीलाई भिडियोमा देखाइएको छ । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन

बेइजिङ (चीन), १९ मङ्सिर : चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गर्नुभयो । चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ ।  प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फकँदैछ ।

कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश

फुङ्लिङ (ताप्लेजुङ), १९ मङ्सिर : ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुङ्गिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित रू तीन लाख दुई हजार ८१ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रू एक लाख ५१ हजार ८१ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिता लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो । समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

चिलीका राष्ट्रपति चाँडै पिता बन्दै

ल्याटिन अमेरिकाका सबैभन्दा कम उमेरका नेता चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले चाँडै पिता बन्ने घोषणा गर्नुभएको छ ।इन्स्टाग्राममा आफ्नी श्रीमती पाउला कारास्कोसँग संयुक्त पोस्टमा ३८ वर्षीय वामपन्थी राष्ट्रपतिले शिशुको अल्ट्रासाउण्ड छवि साझा गर्नुभयो ।

“तिमीलाई पर्खँदा… तिमी न्यायपूर्ण र सुखी चिलीमा बस्न सक्छौ भनेर सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ”, उहाँहरूले एक पोस्टमा भन्नुभयो । उक्त पोस्टले बुधबार बिहानै तीन लाखभन्दा बढी लाइक प्राप्त गर्यो ।

आफ्नी साथीसँग विवाह नगरी बच्चा जन्माउने बोरिक सामाजिक रूढीवादी, क्याथोलिक बहुल देशको पहिलो राष्ट्रपति हुनुहुनेछ ।

तीस वर्षीया कारास्को वातावरण रसायनशास्त्री हुनुहुन्छ । उहाँ चिलीको वातावरण मन्त्रालयमा काम गर्नुहुन्छ । साथै देशको राष्ट्रिय टोलीमा पेशेवर बास्केटबल खेलाडी पनि हुनुहुन्छ ।

बोरिकले उहाँलाई गत अक्टोबरमा प्यान अमेरिकन खेलकुद हुँदा भेट्नुभएको थियो र सन् २०२४ सेप्टेम्बरमा आफ्नो सम्बन्ध सार्वजनिक गर्नुभएको थियो ।

सन् २०२२ मार्चमा कार्यालय सम्हाल्दा कारास्को राष्ट्रपतिको दोस्रो प्रेमिका हुनुहुन्छ ।

उहाँको अघिल्लो साझेदार राजनीतिक वैज्ञानिक र समाजशास्त्री इरिना कारामानोसले एक वर्षभन्दा कम समयपछि राजीनामा दिनुअघि संक्षिप्त रूपमा प्रथम महिलाको भूमिका लिनुभएको थियो । उहाँ र बोरिकले सन् २०२३ नोभेम्बर मा आफ्नो सम्बन्ध तोड्नुभएको थियो ।

चीनमा मौसमको तथ्याङ्क राख्न सुरु भएयताकै सबैभन्दा तातो शरद् रेकर्ड

चीनमा यो बर्षको शरद्मा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ ।

चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।

वैज्ञानिकहरूका अनुसार हरितगृह ग्याँस उत्सर्जनको प्रमुख उत्सर्जकमध्ये एक चीन भएको र यसले विश्वव्यापी जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ, जसले चरम मौसमी दुर्घटनाहरूलाई अझ बढी नियमित बनाइरहेको छ ।

बेइजिङले सन् २०३० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

केन्द्रले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा उल्लेख गरेको छ, “यस वर्षको शरद् ऋतु (सेप्टेम्बर १ देखि नोभेम्बर ३०) मा राष्ट्रिय औसत तापक्रम ११.८ डिग्री सेल्सियस थियो । यो औसत वर्षको तुलनामा १.५ डिग्री बढी हो र यो सन् १९६१ यताकै सबैभन्दा बढी हो।”

चीनको अधिकांश क्षेत्रमा औसतभन्दा १ देखि २ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ भने मध्य, पूर्व, दक्षिणपश्चिम र उत्तरपश्चिम चीनका केही भागमा अघिल्लो वर्षको तुलनामा २ देखि ४ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लियाओनिङ, तियानजिन र चोङकिङलगायत १६ वटा प्रान्त र क्षेत्रमा सन् १९६१ यताकै सबैभन्दा उच्च औसत शरद ऋतुको तापक्रम रेकर्ड गरिएको छ ।

चीनले सन् १९६१ यताकै सबैभन्दा गर्मी अगस्टमा आफ्नो उत्तर र पश्चिमका अधिकांश भूभागमा अत्यधिक गर्मीको सामना गर्नुपरेको केन्द्रले सेप्टेम्बरमा जनाएको थियो ।

हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक

प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिक रूपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् । यसले हमासको शासनलाई प्रभावकारी रूपमा अन्त्य गर्नेछ र इजरायलसँग युद्धविराम वार्तालाई अगाडि बढाउन मद्दत गर्नेछ ।

सन् २००७ मा गाजामा हमासले सत्ता कब्जा गरेपछि प्रतिद्वन्द्वी गुटहरूले मेलमिलाप गर्ने थुप्रै असफल प्रयासहरू गरेका छन् । 

यसैबीच इजरायलले गाजामा पश्चिमी समर्थित प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउने हमास वा फतहको कुनै पनि युद्धपछिको भूमिकालाई अस्वीकार गरेको छ ।

कायरोमा हप्तौँको वार्तापछि प्रारम्भिक सहमति भएको मङ्गलबार प्यालेस्टिनी सरकारका एक अधिकारीले पुष्टि गरेका छन् । अधिकारीले कमिटीमा १२÷१५ सदस्य हुने र तीमध्ये अधिकांश गाजाबाट हुने बताए ।

कमिटीले इजरायलद्वारा कब्जा गरिएको पश्चिमी किनारामा रहेको प्यालेस्टिनी प्राधिकरणलाई प्रतिवेदन दिनेछ र मानवीय सहायता र पुनर्निर्माणका लागि स्थानीय र अन्तर्राष्ट्रिय पक्षहरूसँग काम गर्नेछ ।

हमासका एक अधिकारीले हमास र फतहले सामान्य शर्तहरूमा सहमति जनाएका तर केही विवरण र कमिटीका सदस्यहरूका बारेमा अझै वार्ता जारी राखेको जानकारी दिए । सबै प्यालेस्टिनी गुटको कायरोमा बैठकपछि कुनै समयसीमा प्रदान नगरी सम्झौता घोषणा गरिने अधिकारीले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म र धेरै बन्धक फिर्ता नगरेसम्म युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार इजरायलले गाजामा खुला सुरक्षा नियन्त्रण कायम राख्नेछ र क्षेत्रभित्र कोरिडोरहरू राख्न जारी राख्नेछ । बाँकीमा नागरिक मामिलाहरू प्यालेस्टिनी प्राधिकरण वा हमाससँग सम्बन्धित नभएका स्थानीय प्यालेस्टिनीद्वारा व्यवस्थापन गरिनेछ ।

कुनै पनि प्यालेस्टिनीले यस्तो भूमिकाका लागि सार्वजनिक रूपमा स्वयंसेवा गरेका छैनन् र हमासले इजरायली सेनालाई सहयोग गर्ने जो कोहीलाई धम्की दिएको छ ।

संयुक्त राज्य अमेरिकाले पश्चिम किनारा र गाजा दुवैलाई अन्तिम राज्यको दर्जा दिनुअघि शासन गर्न पुनर्जीवित प्यालेस्टिनी प्राधिकरणका लागि आह्वान गरेको छ । प्यालेस्टिनी राज्यको विरोध गर्ने इजरायली सरकारले कथित रूपमा संयुक्त अरब इमिरेट्स (युएई) सँग युद्धपछिको योजनाबारे छलफल गरिरहेको छ । युएईले सन् २०२० मा इजरायलसँग सम्बन्ध सामान्य बनाएको थियो र प्रतिद्वन्द्वी फतह गुटलाई समर्थन गरेको थियो ।

हमासका अधिकारीले उदाउँदो प्यालेस्टिनी सम्झौताले गाजामा हमासको शासनको अन्त्य गरेर इजरायलको युद्ध लक्ष्यहरू मध्ये एउटा पूरा गर्ने बताए । इजरायली अधिकारीहरूले यसलाई यसरी हेर्नेछन् कि छैनन् भन्ने स्पष्ट छैन ।

प्यालेस्टिनी प्राधिकरण र हमासबीचको एकताको अघिल्लो प्रयासहरू प्रायः दुई प्रतिद्वन्द्वीबीचको शक्तिको प्रतिस्पर्धाका कारण असफल भएका छन् र हाल भइरहेका वार्ताविरुद्ध फतहभित्र विरोधीहरू छन् ।

फतहको केन्द्रीय समितिका महासचिव जिब्रिल राजोबले सम्झौताको निन्दा गर्दै भन्नुभयो, “यो गल्ती हो कि हामीले यस विषयमा छलफल गर्ने सिद्धान्तलाई पनि स्वीकार गरेका छौँ ।” उहाँका अनुसार यो व्यवस्थाले दुई प्रशासनलाई स्वीकार गरेर पश्चिम किनारा र गाजा बीचको विभाजनलाई प्रवेश गर्नेछ । 

उहाँले हमासले यसको सट्टा प्यालेस्टिनी प्राधिकरणलाई क्षेत्रको प्रशासन पुनः लिन दिनुपर्ने बताउनुभयो । “हामी भूमि र सरकारको एकताको प्रतिनिधित्व गर्छौँ”, उहाँले पश्चिम किनारा सहर अल–बिरामा पत्रकारहरूलाई भन्नुभयो ।