`

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँ, २३ मङ्सिरः गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा रु १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु ६० हजार नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु दुई लाख ४० हजारको नोक्सान भएको छ । देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

काठमाडौँ, २३ मङ्सिरः नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् ।

यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।

राप्ती नगरपालिकाले वितरण गर्‍यो भूमिहीनलाई जग्गाको पहिचानपत्र

चितवन, २३ मङ्सिरः राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो ।

तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।

यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।

बेनी–पुलाचौर सडक कालोपत्र, लागत ८२ लाख

म्याग्दी, २३ मङ्सिर ः बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।

बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये रु एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताउनुभयो ।

अब बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

वालिङ (स्याङ्जा) – उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताउनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “जनताको चाहना नै बोलीभन्दा पनि देखिने काम हुनुपर्‍यो भन्ने हो । काम हुनुपर्‍यो, चाँडै हुनुपर्‍यो, देखिनेगरी हुनुपर्‍यो भन्ने छ । अहिलेको सरकारले यो कुरा बुझेरै अगाडि बढिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको सफलताको कामना गर्दै उहाँले यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा स्थापित हुँदै गरेको क्याम्पसको स्तरोन्नतिका लागि नेपाल सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यहाँहरूले पवित्र उद्देश्यसहित थाल्नुभएको यस कार्यको सफलताको कामना गर्छु । आगामी दिनमा अधुरा रहेका कार्य पूरा गर्न सहयोगका लागि म तयार छु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो।

क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुहुनेछ । विसं २०६२ मा स्थापना भएको उक्त क्याम्पस १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

पत्रकार महासङ्घ निर्वाचन : विष्टको नेतृत्वमा प्यानल घोषणा

काठमाडौँ – नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यालन सार्वजनिक गर्नुभएको छ । यहाँ शनिवार पत्रकार सम्मेलन गरी विष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो ।

विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी रहेको छ ।

यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, विष्टको प्यालनबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल हुनुहुन्छ । गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार रहनुभएको छ ।

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदीवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेसी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन् ।

त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेसीमा चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला), अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा धु्रव रावल तथा लेखा समिति सदस्यहरुमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेवार रहेका छन् ।

‘एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन्छ’ – अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा शनिवार यहाँ आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक सातामा भुक्तानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले बैंकको ऋण तिर्नुपर्ने म्याद यही मङ्सिर मसान्तसम्म रहेको जानकारी दिनुभयो । उहाँले सबैको साझा लक्ष्य विकास निर्माण भएकाले सरकारले निर्माण क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्ने बताउनुभयो ।

बजेटमा सूचीकृत रहेका १७ हजार योजना कार्यान्वयन गर्नुपर्ने जानकारी दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटमा रु ७५ हजारका परियोजना छन् । सङ्घले यति सानो परियोजना कार्यान्वयन गर्ने भएपछि स्थानीय तह र प्रदेश सरकारले कस्तो परियोजना बनाउने ? बजेटका कारण पनि धेरै काम गर्न सकिएको छैन ।”

अर्थमन्त्री पौडेलले आधार नै नभएका आयोजनाहरू पनि हजारौँ रहेको जानकारी दिँदै पूर्वाधार निर्माणका लागि ऋण लिनुपर्ने अवस्था रहेकाले यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

गलकोटका दुई सडक कालोपत्र गरिदै

ढोरपाटन (बागलुङ), २३ मङ्सिरःसङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो ।

सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सबै काम रु सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताउनुभयो । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी छ सैनिकको मृत्यु

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ । ती सैनिकले तीन जना बन्दुकधारीको हत्या गरेको बताइएको छ ।

जिहादी र पृथकतावादी समूहहरूले अफगानिस्तानसँग जोडिएको पहाडी सीमामा सेना र प्रहरीलाई निशाना बनाउने गरेका छन् । गत नोभेम्बरमा सो प्रान्तमा २४ घण्टाभन्दा कम समयमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा २० सैनिकको मृत्यु भएको थियो । पाकिस्तानी तालिवानको नामले पनि चिनिने तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आठ सैनिक र नौ लडाकूको ज्यान जाने गरी भएको एउटा आक्रमणको जिम्मेवारी लिएको छ ।

आक्रमणको केही घण्टापछि हाफिज गुलबहादुर सशस्त्र समूहले खैबर पख्तुनख्वा प्रान्तको एक चेकप्वाइन्टमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो। टिटिपीले अक्टोबरको अन्त्यमा खैबर पख्तुनख्वाको एक चेक पोस्टमा भएको आक्रमणमा १० जना प्रहरी अधिकारीको मृत्यु भएको दाबी गरेको छ । टिटिपी हाफिज गुलबहादुर समूहबाट अलग छ, तर दुवै सन् २००१ देखि अमेरिकी नेतृत्वको नेटो गठबन्धनविरुद्ध अफगान तालिबानलाई सहयोग गर्न सक्रिय थिए ।

थप दुई क्रिकेट खेलाडीले तलब पाउने

बैतडी, २३ मङ्सिर : सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक रु १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो ।

मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन् । यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उहाँले बताउनुभयो ।

सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रूपमा रु १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ । दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन् ।

“प्रादेशिक क्रिकेट सङ्घले निकट भविष्यमा अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ”, अध्यक्ष जोशीले भन्नुभयो । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)बाट मासिक रूपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउन छनोट भएका थिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले तीन पुरुष र दुई महिला खेलाडीलाई छनोट गरेको हो । छनोट हुने पुरुष खेलाडीमा खडक बोहरा, किरन ठगुन्ना र शेर मल्ल तथा महिला खेलाडीमा सावित्री धामी र स्नेहा महरा रहेका छन् ।

मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन

काँक्रेविहार (सुर्खेत), २३ मङ्सिर : पुष्पलाल राजमार्ग (मध्यपहाडी)अन्तर्गत जाजरकोट खण्ड अझै अधुरै रहेको छ । कुल ८५ किलोमिटर लामो जाजरकोट खण्ड निर्माण पूरा नहुँदा समस्या थपिँदै गएको छ । पाँच खण्ड रहेको यो राजमार्ग भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुङ्गिन्छ । कुदु–स्याउलीखोलासम्मको १७ किलोमिटर सडक २०७५ सालमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि शर्मा सिंह एण्ड ब्रदर्श जेभीलाई २०८१ असोजसम्म निर्माण गर्न समयावधि दिइएको छ ।

यसमा ८० किलोमिटर प्रगति देखिएको आयोजनाका प्रमुख निमित्त योजना प्रमुख इञ्जिनियर अमितकुमार मण्डलले जानकारी दिनुभयो । अठार किमीको भेरी नगरपालिकाको स्याउलेखोला–छेडागाड नगरपालिकाको काँर्कीगाउँसम्मको सडकखण्ड २०७५ सालमा निर्माण गर्नुपर्ने भए पनि हालसम्म सम्पन्न नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यो काम पनि सोही निर्माण कम्पनीले गरिरहेकामा प्रगति अहिलेसम्म ६३ दशमलव प्रतिशत मात्र रहेको आयोजना प्रमुख मण्डलले बताउनुभयो । काँर्कीगाउँ मन्ताभिरको १० किलोमिटर सडक २०७६ सालमै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नहुँदा २०८१ पुस मसान्तसम्म म्याद थप भएको छ । यो सडकको ६३ प्रतिशतमात्र प्रगति भएको छ ।

मन्ताभिर–थलहबजारसम्मको नौ दशमलव ६ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले हालसम्म उक्त सडक निर्माण नगर्दा समस्या थपिँदै गएको आयोजना प्रमुख मण्डलले बताउनुभयो । उक्त सडक २०७६ सालमा निर्माण गर्नुपर्ने भए पनि २०८१ पुस मसान्तसम्म म्याद थपिएको छ । यसको ४५ प्रतिशतमात्र प्रगति भएको छ । एकतीस किमी लामो थलह–सुयाडा सडक निर्माण कार्य सम्पन्न भएको छ । यहाँ यातायातका साधन सञ्चालनमा छन् । सात वर्षसम्म म्याद थप्दा पनि सडक निर्माण पूरा नहुनु दुःखद भएको स्थानीय राजेन्द्रविक्रम शाहले बताउनुभयो । यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ । भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ । यो सडकले पूर्वीरुकुम, पश्चिमरुकुम हुँदै मध्यजाजरकोट र पश्चिम जाजरकोटबाट दैलेखलाई जोडेको छ ।

लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए

बरहथवा (सर्लाही), २३ मङ्सिर : कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो ।

उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ ।

“रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो ।

“सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् । कवाडीमा फालिएका मोटरसाइकलका पाटर््स, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ ।

आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् । “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छाँै ।” यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

आज देशभरको मौसम मुख्यता सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले सोमबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
–––

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की । २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए।

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।

दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा

इलाम,२१मङ्सिरः दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो

बाह्र हजार दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ ।

उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ ।

बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

त्रिशूली (नुवाकोट), २१ मङ्सिरः बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार उठेन राजस्व ,चार महिनामा ४९ अर्ब ९२ करोड सङ्कलन

वीरगञ्ज, २१ मङ्सिरः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।

कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा रु १३ अर्ब २३ करोड, असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ सङ्कलन भएको थियो ।

युक्रेनमा तनाव बढ्दै जाँदा रुस र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता

युक्रेनमा बढ्दो तनावका बीच रुसी र अमेरिकी सेना प्रमुखहरूले गत हप्ता एक दुर्लभ टेलिफोन कुराकानी गरेको दुवै पक्षका अधिकारीहरूले बताएका छन् ।

युक्रेनमा रुसको सैन्य आक्रमणबीच मस्को र वासिङ्टनबीच प्रत्यक्ष सम्पर्क लगभग समाप्त भएको छ र क्रेमलिनले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी मान्छ ।

रुसी पक्षको अनुरोधमा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र अमेरिकी ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स ब्राउनबीचको फोनवार्ता नोभेम्बर २७ मा भएको मस्को र वासिङ्टन दुवैले बताएका छन् ।

“उहाँहरूले युक्रेनमा चलिरहेको द्वन्द्वलाई समावेश गर्न धेरै विश्वव्यापी र क्षेत्रीय सुरक्षा मुद्दाहरूमा छलफल गर्नुभयो”, ब्राउनका प्रवक्ताले भने ।

यो अक्टोबर २०२३ मा ब्राउनले पद सम्हालेयता दुवै नेताबीच पहिलो फोनवार्ता थियो ।

रुसी रक्षा मन्त्रालयले गेरासिमोभले ब्राउनलाई पूर्वी भूमध्यसागरमा रुसी सैन्य अभ्यासको बारेमा जानकारी दिनुभएको र मस्कोले आफ्नो सहयोगी सिरियाका राष्ट्रपति बशर अल–असदलाई समर्थन गर्न हवाई आक्रमण गरिरहेको र इस्लामवादी नेतृत्वको विद्रोहलाई रद्द गरिरहेको बताएको छ । 

“यो जानकारी रूसी अभ्यास क्षेत्र नजिकै अमेरिकी र नाटो जहाजहरूको उपस्थितिको सम्बन्धमा सम्भावित घटनाहरू रोक्ने लक्ष्यका साथ दिइएको थियो”, मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भन्यो । विज्ञप्तिमा युक्रेन वा अन्य कुनै विषय उल्लेख गरिएको छैन ।

न्यूयोर्क टाइम्सले अमेरिकी सैन्य प्रवक्तालाई उद्धृत गर्दै दुवैले रूसको नयाँ ओरेश्निक हाइपरसोनिक ब्यालेस्टिक मिसाइलबारे छलफल गर्नुभएको थियो ।


ब्राउनले युद्धको मैदानमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली सेनाको तैनाथीमा पनि अमेरिकी चिन्ता व्यक्त गर्नुभएको सिएनएनले बताएको छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछि रुस र अमेरिकाबीच तनाव बढेको छ ।

जो बाइडेन प्रशासनले किएभलाई रूसी क्षेत्रमा अमेरिकी–आपूर्ति एटाक्म्स मिसाइल प्रयोग गर्न स्वीकृति दिएको छ भने रूसले आणविक हतियारको प्रयोगको सीमा घटाएको छ ।

किएभले पश्चिमी हतियार प्रयोग गरी रूसी सीमावर्ती क्षेत्रलाई आक्रमण गरेपछि रूसले डिनिप्रो सहरमा गरेको आक्रमणमा पहिले कहिल्यै नदेखिएको आणविक–सक्षम मिसाइलको ‘परीक्षण’ गरेको बताएको छ ।

युक्रेनद्वारा सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान अस्वीकार

युक्रेनले रूससँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ ।

फ्रन्टलाइनमा जनशक्तिको अभावलाई कम गर्न वासिङ्टनले किएभलाई वर्तमान २५ को सट्टा १८ वर्षको उमेरबाट पुरुषहरूलाई भर्ना गर्ने विचार गर्न दबाब दिइरहेको छ ।

“हाम्रो स्थिति सकेसम्म पारदर्शी छ, हामी परिचालन उमेर घटाउने छैनौँ”, नाम नछाप्ने सर्तमा बोल्दै एक अधिकारीले भने ।

परिचालन युक्रेनभित्र निकै संवेदनशील विषय हो ।

सैनिक भर्तीकर्ताहरूले किएभका प्रमुख सहरका सडकहरूमा सर्वेक्षण गरी होटल र बारहरूमा छापा मारेर युद्धका लागि योग्य पुरुषहरूले सैन्य अधिकारीहरूमा दर्ता गरेका छन् वा छैनन् जाँच गर्दछन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यस वर्ष पुरुषहरूलाई २७ बाट २५ पार्नुभयो तर अझै उमेर घटाउने अनुरोधलाई अस्वीकार गरिरहनुभएको छ ।

गत महिना अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनले ‘हाम्रो विचारमा फ्रन्टलाइनमा रहेको सेनाको सङ्ख्याको सन्दर्भमा आफ्नो लाइनलाई बलियो बनाउन अझ बढी गर्न आवश्यक छ’ भन्नुभएको थियो ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले नोभेम्बरमा युक्रेनले ‘अस्तित्वगत’ भर्ती सङ्कटको सामना गरिरहेको बताएका थिए ।

वासिङ्टनले अनिवार्य भर्नाका लागि उपयुक्त न्यूनतम उमेरलाई के मान्दछ भनेर सोधिएको प्रश्नमा अधिकारीले जवाफ दिए, “हामीलाई लाग्छ कि भर्तीको उमेरलाई १८ मा घटाउने विचार गर्दा अमेरिकी मापदण्ड अनुरूप उनीहरूको वास्तविक मूल्य देख्छौँ” ।

यसको सट्टा किएभले पश्चिमलाई रुसी आक्रमण विरुद्ध रक्षा गर्न अझ बढी र राम्रो हतियारहरू दिन दबाब दिइरहेको छ ।

“सेना प्राविधिक रूपमा उन्नत हुनुपर्छ र पर्याप्त हतियारहरू हुनुपर्छ । हामी युवाहरूको कमी वा हतियारको सीमितताको क्षतिपूर्ति गर्नेछैनौँ”, वासिङ्टनले हतियार आपूर्तिमा ढिलाइलाई लिएर ‘युक्रेनमा जिम्मेवारी सार्ने’ प्रयास गरिरहेको आरोप लगाउँदै युक्रेनी अधिकारीले भने, “यो पहिलो विश्वयुद्ध होइन, तर एक आधुनिक प्राविधिक युद्ध हो ।”

जनवरीमा अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि रुसी सेनाले पूर्वी मोर्चामा आक्रमण बढाउने र दुवै पक्षले माथिल्लो हात सुरक्षित गर्ने प्रयास गर्दा बहस सुरु भएको छ ।

दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण

चन्द्रपुर (रौतहट), २१ मङ्सिरः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।

स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।

खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउँछु : मन्त्री यादव

मोरङ- खानेपानीमन्त्री प्रदीप यादवले मोरङमा यस आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेगरी विभिन्न खानेपानी आयोजनाहरूको स्रोत सहमति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी आयोजनाको आज अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री यादवले मोरङका विभिन्न खानेपानी आयोजना अगाडि बढाउन स्रोत सहमति तत्काल उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “कामको समय सुरू भएको छ, स्रोत सहमति म उपलब्ध गराउँछु, खानेपानी आयोजनाको तीव्रगतिमा काम गर्नुहोला ।”

मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न आयोजना प्रमुख सुरतलाल चौधरीलाई समेत निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “सुन्दरपुर खानेपानी आयोजनाको कार्यक्षेत्र बढी भएकाले हालको पानी टयाङ्कीले नभ्याउने भएको हुँदा नयाँ खानेपानी टयाङ्कीको क्षमता र पाइप लाइन विस्तारका लागि काम अगाडि बढाउनुहोला ।”

यसैगरी, मन्त्री यादवले सुन्दरपुर खानेपानी आयोजनामा थप चार लाख ५० हजार लिटर क्षमताको ओभरहेट ट्याङ्की निर्माण गरी सो ट्याङ्कीबाट उपभोक्तलाई शुद्ध पानी वितरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न निर्देशन दिनुभएको आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो ।

उक्त अनुगमन तथा निरीक्षणमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सुन्दरपुर खानेपानी आयोजनाका कर्मचारी एवं पदाधिकारीलगायतको सहभागिता थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

काठमाडौँ- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ ।

 गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैरहवा ओर्लिएका छन् । साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । एक महिनामा कूल एक सय ५६ उडान÷अवतरण भएका विमानस्थलले जनाएको छ । थाइ एयर एसियाले चार सय ४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ ।

महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ । अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ । सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ । पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सङ्घीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सङ्घसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ ।

वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन– १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्नू

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ ।

निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिनुभएको हो । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियोे । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

काठमाडौँ, २१ मङ्सिरः विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो ।

अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् ।

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ ।

विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ ।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ ।

अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ ।

अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।

२४ घण्टामा १६ ठाउँमा आगलागी, जोखिम अझ बढ्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव

काठमाडौँ, २१ मङ्सिर : पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।

वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्काे जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो ।

अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् । विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ ।

विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरू गर्नुपर्नेमा उहाँहरूको सुझाव छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो । तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ ।

उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ । शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ । यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उहाँले जोड दिनुभयो ।

डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जङ्गलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो । भुलेलले भन्नुभयो, “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ ।”

नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ । केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो । उहाँले यही मङ्सिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो ।

जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् ।

डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमाण्ड पोष्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरूरी रहेको बताउनुभयो । उहाँले डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । जङ्गलका प्रज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।

विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन । प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताउनुहुन्छ । त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उहाँले बताउनुभयो । डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरूरी रहको उहाँले बताउनुहुन्छ ।

उहाँका अनुसार प्राधिकरणले भर्खरैमात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ । उक्त बहसले महत्त्वपूर्ण सुभाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्र्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको बताउनुभयो ।

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

कञ्चनपुर, २१ मङ्सिर : हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्नेे गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ ।

कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ ।

पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । “यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्”, चराविज्ञ डगौराले भन्नुभयो, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।” तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ,२१ मङ्सिरः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

ऊर्जामन्त्री खड्काद्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा, २१ मङ्सिर : ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरू भएको थियो । रू २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण सुरू भएको हो ।

जमुनी सिँचाइ आयोजनामा कुल लागत रू एक अर्ब छ । जसमा रू ७० करोड बराबरको काम सम्पन्न भइसकेको र रू ३० करोड काम बाँकी छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुनेबित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरून्तै सुरू गर्ने मन्त्री खड्काले बताउनुभयो ।

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २१ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् । खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ । यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ ।

यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । “विवाह पञ्चमीलाई समाजमा सत्यको आदर्शहरूलाई प्रोत्साहित गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ, यसले भगवान् राम र माता सीताको जीवनबाट प्रेरणा लिँदै हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सकोस्”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । विवाह पञ्चमीका अवसरमा आयोजना गरिने लोकनृत्य, लोकसङ्गीत र लोकगीत गायन, लोक झाँकी एवं परम्परागत शोभायात्राले हाम्रो मौलिक संस्कृतिलाई जीवन्त बनाइराख्न सहयोग पुग्ने उपराष्ट्रपति यादवको भनाइ छ । विवाह पञ्चमीका अवसरमा रामायणको कक्षाका माध्यमबाट नैतिक शिक्षा र जीवन मूल्यहरूलाई जन–जनसम्म पुर्याउने महत्त्वपूर्ण कार्य हुन्छ ।

“त्रेतायुगमा भएको भनिएको राम–सीताको विवाहको झझल्को दिनेगरी सम्झनास्वरुप जनकपुरधाममा प्रतीकात्मक राम–सीताको विवाह गराउने परम्परा छ, त्यसका लागि भारतको अयोध्याबाट सन्त महन्थहरूसहितको श्रद्धालु भक्तजनहरूको जन्ती जनकपुरधाम पुग्ने पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ मङ्सिर : नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३० रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आइटिएफ टेनिस : नेपालका आरभ र सुनिरा सेमिफाइनलमा

कास्की, २० मङ्सिर : पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि जारी प्रतियोगिताको आज सम्पन्न खेलमा पुरुष एकलतर्फ नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३–६, ६–४ र ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।

यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाका प्रतीक नवीनसँग ६–३, ६–३ को सोझो सेटमा उनी पराजित भए ।

पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७–५ र ६–२ ले पराजित गरे । भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।

महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकÞीवालालाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् । भारतकै महिका खन्नाले भारतकै रित अरोरालाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।

मङ्गोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६–४, ६–० को जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए । यसैगरी भारतीय खेलाडी सगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६–० र ६–४ को जीत हासिल गरिन् ।

पुरुष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रवीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), १३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

महिला डबल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

दिशा बेहेरा र अरजान खोराकÞीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।

त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धारण हुनेछ ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स÷महिला एकल तथा डबल्स गरी चार ‘इभेन्ट’मा प्रतियोगिता सञ्चालन हुने र विजेता तथा उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन् ।

राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन

वीरगञ्ज (पर्सा), २० मङ्सिर : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा कृष्णहरि पुष्करले राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले आज यहाँ आयोजना गरेको राजस्व चुहावट नियन्त्रण तथा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले बारा, पर्सा र रौतहटका प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरुलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिनुभएको हो ।

‘‘सरकारले तोकेअनुसारको राजस्व सङ्कलन हुन सकिरहेको छैन । तपाईँहरुले आआफ्नो ठाउँबाट समन्वयात्मक ढंगले सशक्त काम गर्न जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘एउटा निकायले अर्काे निकायलाई दोषारोपण गरेर होइन । हातेमालो गरेर सरकारको लक्ष्य भेटाउने गरी काम गर्न अनुरोध गर्दछु ।’’

उहाँले सरकारी निकायले निजी क्षेत्रसँग सहकार्य र हातेमालो गरेर राजस्व बढाउनेतर्फ अग्रसर हुन अनुरोध गर्नुभयो । ‘‘निजी क्षेत्रलाई हतोत्साही ढङ्गले नभई हातेमालो गरेर अघि बढाउन जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘कतिपय धेरै खालका समस्या स्थानीयस्तरबाटै समाधान गर्र्नेतर्फ अग्रसर हुन अनुरोध गर्दछु ।’’

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष हरि गौतमले मुलुकमा अनौपचारिक कारोबार बढेकाले पनि सरकारले अपेक्षाकृत ढङ्गले राजस्व सङ्कलन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो राजस्व सङ्कलन गर्ने पद्धति नै सुधार गर्नुपर्ने देखिन्छ । राजस्व बढाउनका लागि भन्सारको दरबन्दी बढाउने प्रचलन छ । सीमा क्षेत्रको वस्तुको मूल्य र हाम्रो वस्तुको मूल्य कति अन्तर छ हेरिँदैन । जसले गर्दा राजस्व चुहावटका घटनामा वृद्धि भइरहेको छ ।’’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थ आयात क्रमशः घट्दै गइरहेको बताउनुभयो । ‘‘नेपालको राजस्व प्रणाली नै आयातमुखी छ । पछिल्लो समय आयात घटेकाले राजस्व सङ्कलनमा दबाब परिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘सबै निकायले समन्वय गरेर काम गर्न आवश्यक छ ।’’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक निकायले अर्काेलाई दोषारोपण गरेरभन्दा सबै निकायले हातेमालो गरेर अघि बढेको खण्डमा सरकारको लक्ष्य प्राप्ति गर्न सकिने बताउनुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै निकायले समन्वयात्मक ढङ्गले काम गरेको खण्डमा सरकारले राखेको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।

राजस्व अनुसन्धान कार्यालय पथैलया बाराका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले राजस्व चुहावट सम्बन्धि गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको दाबी गर्नुभयो । कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा राजस्व चुहावटतर्फ पाँच करोड ४३ लाख रकम धरौटी असुलेको जनाएको छ । विदेशी विनिमयतर्फ एक करोड ९६ लाख रकम असुल गरिएको बताइएको छ ।

भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’ स्थापना

चितवन, २० मङ्सिर : भरतपुर अस्पतालले विपन्न बिरामी र कुरुवालाई लक्षित गरी ‘कपडा बैंक’ स्थापना गरेको छ । दिनसक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”

अस्पतालका सर्जन डा दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ । डा न्यौपानेले नयाँ कपडा किनेर पनि दान गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउनुहुन्छ, सबैलाई हामीले दिएर मात्रै पुग्दैन, सबैले दान गर्न मिलोस् भनेर बैंक सञ्चालन गरेका हौं ।”

‘अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी’ – श्रममन्त्री भण्डारी

पाटन (ललितपुर), २० मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरुलाई कसरी जोड्ने भनेर लागिपरेको बताउनुभएको छ ।

नेत्रहीन युवा सङ्घको आयोजनामा ललितपुरमा भएको अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलनको आज समापन समारोहमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरु समतामूलक समाजको हिस्सेदार भएको बताउनुभयो । “यो सम्मेलन सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिन महत्वपूर्ण छ, यहाँबाट बनेको घोषणापत्र तपाईंहरुको हितका लागि नीति, बजेट तथा कार्यक्रम तय गर्न सरकार तत्पर छ, यो सम्मेलन अधिकार प्राप्तिको लडाईंको पहिलो चरण हो”, उहाँले भन्नुभयो ।

सम्मेलनले तय गरेको नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री भण्डारीले बताउनुभयो । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उहाँको भनाइ थियो ।

“हामी श्रम ऐन र रोजगार ऐनको संशोधन तथा व्यवस्थापनमा लागेका छौँ, सार्वजनिक निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकालाई कसरी जोड्ने भनेर लागेका छौँ, रोजगारदाताको मागअनुसारको तालिम दिएर सीप विकास गर्न सक्छौँ, रोजगारदातालाई रोजगारी खोज्नेसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले अब चुनौतीलाई मात्रै सम्झने नभइ त्यसको समाधान गर्न कार्यान्वयनमा जाने बेला भएको उल्लेख गर्नुभयो । “एक्काइसौँ शताब्दीमा सबैलाई समानरुपले अवसर प्रदान गर्नुपर्छ, अपाङ्गता भएका व्यक्ति हाम्रै परिवारका सदस्य हुन्, उहाँहरु सबैलाई सहायता गर्न ठूलो र फराकिलो तरिकाले सोच्नुपर्छ, नेपालले कसैलाइ पछाडि नछोडाँै भन्ने अभिप्रायले योजना तय गर्ने नीति लिएको छ, हामीले मन र मस्तिष्कलाई बदलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

हरेक बालबालिका कुनै अवरोधबिना विद्यालय जान सक्ने, सरकारी सेवासुविधा पाउनसक्ने र स्वास्थ्य सेवा लिनसक्ने बनाउनुपर्ने उल्लेख गर्दै आवासीय प्रतिनिधि सिङ्गरले लिफ्ट बनाउनु, ¥याम्प बनाउनुले मात्रै अपाङ्गतामैत्री सेवा पर्याप्त नभएको भन्दै सेवा प्रवाह पनि अपाङ्गतामैत्री हुनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । समावेशी शिक्षा परिवर्तनको जग हो भन्दै उहाँले अपाङ्गता भएकाहरु पनि अन्य बालबालिकासरह बसेर बढ्न सकुन् भन्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले समाजमा अपाङ्गता किन बढ्दैछ भनेर सोच्नुपर्ने अवस्था आएको छ भन्नुभयो । उहाँले अपाङ्गताको समस्या र यस सम्मेलनबाट बनेको घोषणापत्र संसद्मा प्रस्तुत गरेर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद राजन दाहालले सम्मेलनमा विचारविमर्शबाट तयार भएको घोषणापत्र कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुको सहजताका लागि कानुन संशोधन र राज्यलाई जिम्मेवार तथा जवाफदेही बनाउन भूमिका खेल्ने बताउनुभयो ।

सांसद रेखा यादवले संविधान संशोधनका बेलामा अपाङ्गता भएकाहरुको आवश्यकतालाई सम्बोधन गर्न आवाज उठाउने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आवासीय विद्यालयको व्यवस्थाका लागि आवाज उठाउने भन्दै उहाँहरुको समस्या मेरै समस्या हो भन्ने सम्झेर अधिकार सुनिश्चितताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेत्रहीन युवा सङ्घका अनुसार सङ्घमा आठ सयभन्दा बढी दृष्टिविहीन युवा आबद्ध छन् । देशमा समग्र जनसङ्ख्याको दुई दशमलव १० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो । बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको सम्मेलन ३४बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबीच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता

काठमाडौँ, २० मङ्सिर : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबीच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा आज सहमति भएको छ ।

पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोधवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो । यहाँ आयोजित कार्यक्रममा विभागका प्रमुख डा कुन्दन अर्याल र बोर्ड कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकोले त्यसलाई प्रवर्द्धन गर्न शोधवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । विभाग प्रमुख डा अर्यालले विद्यार्थीहरुलाई आकर्षित गर्न बोर्डले गरेको शोधवृत्तिको सराहना गर्दै यसले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।

जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा छ प्रतिशतले वृद्धि भएको पनि स्विस रेले जनाएको छ ।

यसैबीच, हेलेन र मिल्टन नामक विनाशकारी आँधीबेहरीका कारण बिमा गरिएको क्षति १७ प्रतिशतले वृद्धि भई १३५ अर्ब अमेरिकी डलर पुगेको स्विस रेले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

बीमा घाटा १०० अर्ब डलरभन्दा माथि पुगेको यो लगातार पाँचौं वर्ष भएको कम्पनीले जनाएको छ ।

स्विस रेका विपत्ति र खतराका प्रमुख बाल्ज ग्रोलिमुन्डले एक विज्ञप्तिमा भन्नुभएको छ, “यो बढ्दो क्षतिको बोझको अधिकांश परिणाम शहरी क्षेत्रमा मूल्य एकाग्रता, आर्थिक वृद्धि र बढ्दो पुनर्निर्माण लागतको परिणाम हो।”

स्विस रेले बीमा कम्पनीहरूको बीमाकर्ताको रूपमा काम गर्छ र जलवायु परिवर्तनको प्रभावमा महत्व दिन्छ ।

ग्रोलिमुन्डले भन्नुभयो, “यस वर्षको धेरै विपत्तिको कारण बनेको परिस्थितिलाई समर्थन गरेर, जलवायु परिवर्तनले पनि बढ्दो भूमिका खेलिरहेको छ।”

कम्पनीले विशेष गरी बाढीको बढ्दो बीमा लागतलाई महत्व दिएको छ ।

युरोप र संयुक्त अरब इमिरेट्समा मात्र तीव्र बाढीका कारण बीमाकर्ताहरूले १३ अर्ब अमेरिकी डलर खर्च गरेका छन्।

सन् २०२४ बाढीका लागि विश्वमा तेस्रो र युरोपका लागि दोस्रो सबैभन्दा महँगो वर्ष हो ।

संयुक्त राज्य अमेरिकाले यसबीचमा सबैभन्दा बढी बीमा गरिएको नोक्सानी व्यहोरेको छ ।

सेप्टेम्बरको अन्त्य र अक्टोबरको सुरुमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा आएको ‘हेलेन’ र ‘मिल्टन’ नामक आँधीका कारण मात्रै ५० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको स्विस रेले जनाएको छ ।

तीव्र आँधीबेहरीको उच्च श्रृङ्खलाको मतलब संयुक्त राज्य अमेरिकाले सन् २०२४ को कुल विश्वव्यापी बीमा हानिको कम्तिमा दुई–तिहाईको लागी जिम्मेवार रहेको स्वीस बिमा कम्पनीले जनाएको छ ।

युक्रेनमा रुसी तनाव बढाएकामा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेबार रहेको बताउनुभएको छ ।

युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिन यी दुई नेता माल्टामा हुनुहुन्थ्यो । लाभरोभको सन् २०२२ मा रुसको आक्रमणपछि युरोपेली सङ्घको देशमा पहिलो भ्रमण थियो ।

“अब मलाई खेद छ कि हाम्रा सहकर्मी श्री लाभरोभ कोठा छोडेर जानुभएको छ, हामीले उहाँलाई सुन्दा उहाँले हामीलाई सुन्ने शिष्टाचार दिनुभएन । र निस्सन्देह, हाम्रो रूसी सहकर्मी गलत सूचनाको सुनामीले श्रोताहरूलाई डुबाउन धेरै निपुण हुनुहुन्छ”, ब्लिन्केनले भन्नुभयो, “तर हामी आफैँलाई मूर्ख नबनाऔँ र उहाँलाई वा अरू कसैलाई पनि हामीलाई मूर्ख बनाउन नदिनुहोस् । यो रुसको सुरक्षाका बारेमा होइन र कहिल्यै पनि भएको छैन । यो युक्रेनलाई नक्साबाट मेटाउने श्री पुटिनको साम्राज्य परियोजनाका बारेमा हो, हाम्रा एकजना सहकर्मीले तनाव वृद्धिको बारेमा कुरा गर्नुभयो । उहाँ ठ्याक्कै सही हुनुहुन्छ । तनाव वृद्धिका बारेमा कुरा गरौँ ।”

ब्लिेन्केनले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न सैनिक पठाएको तथ्यलाई सन्दर्भ दिनुभयो । साथै उहाँले ‘युक्रेनको ऊर्जा लगायत त्यसको आणविक प्रसारण समूहमा जारी आक्रमणले यस कोठामा रहेका हरेक देशलाई ठूलो खतरा खडा गर्छ’ भन्नुभयो ।

ब्लिन्केन र लाभरोभको माल्टामा आमनेसामने भेट हुने योजना थिएन ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।

“अमेरिकास्थित मोलिक्युलर डायग्नोस्टिक्स कम्पनी सेफिडले उत्पादन गरेको एक्सपर्ट एमटिबी÷आरआइएफ अल्ट्रा क्षयरोग निदान र एन्टिबायोटिक संवेदनशीलता परीक्षणका लागि पहिलो परीक्षण हो जसले डब्लुएचओको पूर्व–योग्यता मापदण्डहरू पूरा गर्दछ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले भन्यो ।

डब्लुएचओको पूर्व–योग्यताको उद्देश्य प्रमुख स्वास्थ्य उत्पादनहरूले गुणस्तर, सुरक्षा र प्रभावकारिताका लागि विश्वव्यापी मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नु हो ।

डब्लुएचओले पहिले नै परीक्षणको सिफारिस गरिसकेको छ तर पूर्व–योग्यताको अर्थ युनिसेफ जस्ता संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू वा गाभी खोप गठबन्धन जस्ता अन्यसँग सीमित स्रोत भएका देशहरूमा उत्पादन खरिद गर्न र वितरण गर्न सरल मार्ग प्रदान गर्दछ ।

“क्षयरोगको निदान परीक्षणको यो पहिलो पूर्व–योग्यताले डब्लुएचओका सिफारिसहरू र यसको कडा गुणस्तर, सुरक्षा र प्रदर्शन मापदण्डहरू दुवै पूरा गर्ने उच्च गुणस्तरको क्षयरोग जाँचहरूमा पहुँच बढाउन र गति दिन देशहरूलाई सहयोग गर्ने डब्लुएचओको प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो”, डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीले भन्नुभयो, “यसले विश्वको सबैभन्दा घातक सङ्क्रामक रोगहरूमध्ये एकलाई सम्बोधन गर्न त्यस्ता अभूतपूर्व निदान उपकरणहरूको महत्त्वलाई जोड दिन्छ ।”

रोकथाम योग्य र उपचार योग्य रोग क्षयरोग ब्याक्टेरियाको कारणले हुन्छ र यसले सबैभन्दा बढी फोक्सोलाई असर गर्छ । फोक्सोको क्षयरोग भएका मानिसहरूले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा यी ब्याक्टेरिया हावामा फैलिन्छन् ।

सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगका घटनाहरू पत्ता लगाइएको डब्लुएचओले अक्टोबरमा बताएको थियो । यो सन् १९९५ मा विश्वव्यापी क्षयरोग अनुगमन सुरु भएदेखि सबैभन्दा बढी हो ।

साथै डब्लुएचओका अनुसार १२ लाख ५० हजार सम्बन्धित मृत्युसँगै क्षयरोग सम्भवतः एकल सङ्क्रामक कारकबाट अग्रणी मृत्युको कारण बन्यो । यसलाई तीन वर्षपछि कोभिड–१९ ले प्रतिस्थापन गरेको थियो ।

परीक्षणले क्षयरोग ल्याउने ब्याक्टेरियाको आनुवंशिक सामग्रीलाई थुकको नमूनामा पत्ता लगाउँछ र केही घन्टाभित्र सटीक परिणाम प्रदान गर्छ ।डब्लुएचओका अनुसार क्षयरोग विशेष गरी औषधि प्रतिरोधी उपभेदको सही र प्रारम्भिक पहिचान विश्वव्यापी स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता हो ।

“उच्च गुणस्तरको निदान परीक्षणहरू प्रभावकारी क्षयरोग हेरचाह र रोकथामका आधारशिला हुन्”, डब्लुएचओको नियमन र पूर्व–योग्यता निर्देशक रोजेरियो ग्यास्परले भन्नुभयो ।

यो रोगले ३० उच्च–बोझ भएका मुलुकहरूलाई असमान रूपमा प्रभावित गर्छ । भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सहितका पाँच मुलुकले विश्वव्यापी क्षयरोग बोझको आधाभन्दा बढी हिस्सा ओगट्छन् । यसमध्ये एक चौथाइभन्दा बढी केस भारतमा मात्रै पाइन्छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई

अन्नपूर्ण (कास्की), २० मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव समापन कार्यक्रममा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन निर्माणको काम सकेर कार्यान्वयन गर्ने तयारीमा रहेको बताउनुभयो । “शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्नुपर्छ भनेर योजनासमेत बनाइसकेको छ । यो ऐन कार्यान्वयन गर्ने हो भने नेपाल सरकारले २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्छ भन्ने खाकासहित कार्ययोजना तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआत कहाँबाट गर्नेभन्दा सङ्घीय सरकारअन्तर्गतका जति पनि निकाय छन् । तिनीहरुले जति शुल्क उठाइरहेका छन् ती शुल्क हटाउँदै लैजानुपर्छ ।” यसको सुरुआत यही वर्षमा गर्नेगरी तयारी थालिएको उहाँको भनाइ थियो ।

मन्त्रालयले खाजा, पुस्तक, ट्युसन शुल्क निःशुल्क गर्दा पनि सार्वजनिक विद्यालयमा विद्यार्थी घटिरहेकामा मन्त्री भट्टराईको चिन्ता थियो । “जबसम्म स्थानीयले अनुगमन गर्न सक्दैन । त्यतिबेलासम्म विद्यालयले केही पनि गर्न सक्दैन”, उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सबै स्थानीय तहमा शिक्षा योजना हुनुपर्छ भन्ने प्रावधान बनाएको छ ।” यो ऐन कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले नेपालका विद्यालयमा पढाइने पाठ्यक्रम समय सान्दर्भिक बनाउन जरुरी रहेको बताउनुभयो । मन्त्रालयले सामाजिक शिक्षा विषयको पाठ्यक्रमलाई पुनरावलोकन गरिरहेको उहाँले जानकारी दिनुभयो । “देशलाई चिनाउने, माटोलाई चिनाउने अनि हाम्रो देशमा भएका विश्वविद्यालयका बारेमा जानकारी गराउने गरी हाम्रा पाठ्यक्रम निर्माण गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

‘नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा’ :मुख्यमन्त्री आचार्य

लुम्बिनी, २० मङ्सिर : मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

‘प्रदेशस्तरीय खाद्यसुरक्षा तथा बहुक्षेत्रीय पोषण’ विषयक अनुभव तथा सिकाइ आदानप्रदान कार्यक्रमलाई आज प्रदेश राजधानीस्थित राप्ती उपत्यकाको देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम लागू गरिएको बताउनुभयो । “प्रदेशमा कुपोषण प्रमुख स्वास्थ्य समस्याका रुपमा देखापरेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “मातृशिशु मृत्युदरलाई घटाउछौँ । पोषणको अवस्थालाई सुधार गर्छौं । बालमृत्युदर घटाउछौँ ।” 

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागू गरेको बताउनुभयो । यसबाट नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो । 

तथ्याङ्कगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागू गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । विभिन्न बहानामा अझै पनि बालबिवाह हुने गरेको, यसले मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या देखापरेकाले यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।   

कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११बँुदे ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्नेलगायत माग समेटिएका छन् ।