`

मानवअधिकार आयोगद्वारा सभापति लामिछानेमाथि प्रहरीले गरेको दुव्र्यवहारबारे अनुसन्धान सुरु

काठमाडौँ, २४ मङ्सिरः मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको दुव्र्यवहारबारे अनुसन्धान सुरु गरेको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहनुभएका  पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट कास्की लैनाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले आज विज्ञप्तीमार्फत जनाएको छ ।

“उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ”, विज्ञप्तीमा भनिएको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । 

टर्किएमा सैन्य हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कूलका कमाण्डरको पनि मृत्यु भएको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताउनुभयो ।

एम्बुलेन्स र अग्नि नियन्त्रक सहित आपतकालीन प्रतिक्रिया टोलीहरू केसिबोर्लु जिल्ला नजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ ।

‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’ : मन्त्री शाही

काठमाडौँ, २४ मङ्सिरः वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित एशिया–प्रशान्त क्षेत्रीय वायु प्रदूषणसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उहाँले वायु प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य हुनुपर्ने बताउनुभयो । 

“हरेक वर्ष झैँ, जाडो मौसमको सुरुआत सँगै नेपालमा पनि वायु प्रदूषण निरन्तर वृद्धि हुँदै जान्छ । हाम्रोमा मात्र नभई यस क्षेत्रका धेरै शहरमा यो समयमा वायुको गुणस्तर क्रमिकरुपमा खस्किँदै जाने गर्दछ,” मन्त्री शाहीले भन्नुभयो, “यसको असर आँखाले देखिने धुलोसहितको प्रदूषणमा मात्र सीमित नभई, विशेष गरी मानव स्वास्थ्य र समग्र पर्यावरणमा गम्भीर रुपमा दीर्घकालीन असर पारिरहेको अवस्था छ ।”

पेट्रोलियम पदार्थमा आधारित मोटरगाडीको अधिक प्रयोग, निर्माणका गतिविधि, औद्योगिक उत्सर्जन, वन डढेलो, कृषि गतिविधिलगायतका कारण वायू प्रदूषणको स्तर अत्यधिक बढेको  उहाँको भनाइ छ । 

सरकारले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउँदै, इन्धनको गुणस्तर सुधार्ने र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना बनाएको मन्त्री शाहीले बताउनुभयो । 

“काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६” कार्यान्वयनको समन्वय गर्ने, कार्ययोजना कार्यान्वयनमा विभिन्न निकायबीचको समन्वयको अवस्था र हालसम्म भएका उपलब्धिका बारेमा जानकारी लिन छलफल आयोजना गर्ने तयारीमा छौँ,” मन्त्री शाहीले भन्नुभयो । 

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ ।

झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ निरन्तरता दिन आग्रह गर्दै ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ताजपुरिया समुदायको हक, हित र उन्नतिका पक्षमा उठाइएका माग सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरूले उठाउनुभएको मागउपर आवश्यक सुनुवाइ भई यथाशक्य छिटो सम्बोधन गरिने विश्वास दिलाउँदछु ।”  

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो । देशभर २१ हजार हाराहारीमा रहेको ताजपुरिया समुदायका मानिसको पूर्वी नेपालको विशेषगरी  झापा र मोरङ जिल्लामा बसोबास रहेको पाइन्छ ।  

पशुपति क्षेत्रमा सुरु भयो नवदुर्गा नाच

काठमाडौँ, २४ मङ्सिर : मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ ।

रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने जनाइएको छ । नवदुर्गा, भैरव, गणेश लगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउने मल्लकालदेखिको परम्परा छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले टेकेर तर्नुपर्ने चलन रहेको पशुपति क्षेत्रका संस्कृतिका विषयमा अनुसन्धान गरिरहनुभएका स्थानीयवासी मुकुन्दराज वैद्यले राससलाई जानकारी दिनुभयो । 

नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट आई सोही बाटो फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा समूहसमेतले नवदुर्गाका गणलाई आउन दिने गरेको उहाँले बताउनुभयो । 

नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गर्छन् । विगतदेखि कम्तीमा दुई सयभन्दा बढी नवदुर्गाका गण आउने गरेका छन् ।  विसं २०३९ देखि यो जात्रालाई सहयोग एवं समन्वय गर्दै आउनुभएका काठमाडौँ महानगरपालिका–८ का पूर्व वडा अध्यक्ष सुवर्ण वैद्य नवदुर्गा नाचका क्रममा पशुपति क्षेत्रमा धेरै दर्शकले जात्रा अवलोकन गर्ने बताउनुहुन्छ । 

जयवागेश्वरी ल्याएपछि देवीलाई पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीका तर्फबाट बलिसहित पूजा गर्ने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा कसैले यस संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरणसमेत रहेको स्थानीय बताउँछन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानका देवी मन्दिरअघिसमेत लगेर देखाउने परम्परा छ । 

पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् । विगतमा हरिसिद्धि र नवदुर्गाको नाच जयवागेश्वरीमा एकैपटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको हो । विसं २०७८ को मार्गशीर्ष शुक्ल नवमीमा हरिसिद्धिको नाच जयवागेश्वरी आएको थियो । 

जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्था मिलाइने गरिन्छ । यस जात्रालाई विसं २०३९ देखि स्थानीयवासीले पैसा उठाएर सहयोग गर्दै आएका छन् । यसको व्यवस्थापन हाल जयवागेश्वरी युवा क्लबले गर्दै आएका छन् । नवदुर्गाका गणलाई जयवागेश्वरीवासीले घर घरमा लगी टीका लगाइदिने र मीठा कुरा खान दिने परम्परा छ ।  

विगतमा नवदुर्गाका गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकामा रहनुभएका  दयाराम वनमाला बताउनुहुन्छ । उहाँका अनुसार गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ । 

नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरसमेतमा परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ ।

म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

म्याग्दी, २४ मङ्सिरः धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् ।

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गर्नुभयो । “भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं ।”

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।

“आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन”, उहाँले भन्नुभयो, “संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि भएर देखिन थालेका हुन् ।”

रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वबारेमा जानकारी गराइएको थियो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ ।

गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र सङ्घ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुभयो, “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।” रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही

काठमाडौँ, २४ मङ्सिरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तक्र्रिया कार्यक्रमपछि रासससँग कुरा गर्दै उहाँले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताउनुभयो ।
“बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भन्नुभयो । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गर्नुभयो । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उहाँले भन्नुभयो, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताउनुभयो ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुँदा टिकट प्रणालीलाई एकद्वार गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउने र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्तव्य भएकाले जल जङ्गल वन्यजन्तु जोगाउन सबैको कर्तव्य हो ।”

वन क्षेत्रभित्र ढलेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र आयात हुने काठलाई रोक्न मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ । निकुञ्ज र वन क्षेत्रको समस्या समाधानको निम्ति ऐन नियम संशोधन गर्ने कार्यमा मन्त्रालय लागि रहेको जानकारी गराउँदै मन्त्री शाहीले मन्त्रालय विकासको बाधक हो भन्ने भ्रमको अन्त्य गर्न आफूले काम गरिरहेको बताउनुभयो ।

“पर्सा राष्ट्रिय निकुञ्जमा देखिएका समस्या र समाधान गर्नुपर्ने कार्यहरु मैले गम्भीरतापूर्वक लिएको छु”, “मन्त्री शाहीले भन्नुभयो, “निकुञ्जका संरक्षण अधिकृत तथा कर्मचारी राम्रो कामप्रति अझै ध्यान दिनुहोला ।”

झण्डै १० लाख अफगान शरणार्थी स्वदेश फर्किए

विगत आठ महिनामा इरान, पाकिस्तान र टर्कीबाट कुल नौ लाख ७० हजार अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका छन् ।

शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भन्नुभयो,“तिनीहरूमध्ये करिब ८८ हजार पाकिस्तानी, करिब पाँच हजार टर्की र बाँकी इरानका छन् ।”

मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार करिब ७० लाख अफगान शरणार्थी विदेशमा बस्दै आएका छन् । यसमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा रहेका छन् ।

अफगान कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई विदेशमा शरणार्थीको रूपमा बस्न बन्द गर्न र युद्धले क्षतिग्रस्त आफ्नो देशको पुनर्निर्माणमा योगदान दिन स्वदेश फर्किन बारम्बार आग्रह गरेको छ ।

सिरियामा असदको पतनको कारण के थियो ?

सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् ।

सेन्चुरी इन्टरनेसनल थिङ्क ट्याङ्कका फेलो एरोन लुन्डले यस हप्ता विद्रोहीहरूको सफलताको ‘मुख्य कारक’ ‘शासनको कमजोरी र असदलाई अन्तर्राष्ट्रिय सहयोग घट्नु’ भएको बताउनुभयो ।

“इस्लामिक विद्रोही नेता अबु मोहम्मद अल–जोलानीको संस्थाहरू निर्माण गर्ने र विद्रोहको धेरै भाग आफ्नै नियन्त्रणमा केन्द्रित गर्ने काम पनि कथाको ठूलो हिस्सा हो”, उहाँले भन्नुभयो ।

सिरियाको गृहयुद्ध सन् २०११ मा सरकार विरोधी प्रदर्शनमाथि गरिएको दमनबाट सुरु भएको थियो । विद्रोहीहरूले आफ्नो ठूलो आक्रमण सुरु नगरेसम्म मोर्चा विगत चार वर्षदेखि धेरै हदसम्म अपरिवर्तित रहेको थियो ।

असदको अचानक पतनका केही कारण यस्ता छन् ः

– खोक्रो सेना –

पाँच लाखभन्दा बढी मानिस मारेको र देशको अर्थव्यवस्था, पूर्वाधार र उद्योगलाई विनाश गरेको युद्धमा असदको सेना खोक्रो भएको थियो ।

युद्धको प्रारम्भिक वर्षहरूमा विज्ञहरूका अनुसार हताहत, दलबदल र अवैध रूपमा सेनामा भर्ती हुनबाट जोगिने संयोजनले सेनाले आफ्नो तीन लाख शक्तिशाली बलको लगभग आधा गुमाएको थियो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार नोभेम्बर २७ मा विद्रोहीहरूले आक्रमण गरेपछि सेनाले केही क्षेत्रमा कमजोर प्रतिरोध गरेको थियो ।

अब्जर्भेटरीले पटक–पटक देशभरका स्थानहरूबाट सैनिकहरू पलायन गरेको रिपोर्ट गरेको छ ।

फ्रान्सेली अन्तर्राष्ट्रिय र रणनीतिक मामिला संस्थानका डेभिड रिगोलेट–रोजले भन्नुभयो, “सन् २०११ देखि सिरियाको सेनाले जनशक्ति, उपकरण र मनोबलमा क्षय भोग्नुपरेको छ ।”

कम पारिश्रमिक पाउने सैनिकहरूले बाँच्नका लागि स्रोतहरू लुटेका र धेरै युवाहरूले अनिवार्य भर्नाबाट बच्ने गरेको उहाँले बताउनुभयो ।

असदले बुधबार करियर सैनिकहरूको तलबमा ५० प्रतिशत वृद्धि गर्ने आदेश दिनुभयो तर सिरियाको अर्थतन्त्र बिग्रिएको छ र सैनिकहरूको तलब लगभग बेकार छ ।

दमास्कस विद्रोहीको कब्जामा आएपछि सेनाले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

– मित्रहरूद्वारा परित्यक्त –

असद प्रमुख सहयोगी रुस र इरानको सैन्य, राजनीतिक र कूटनीतिक समर्थनमा धेरै भर पर्दै आउनुभएको छ ।

तिनीहरूको सहयोगमा उहाँले सन् २०११ मा सरकार विरोधी प्रदर्शनहरूको दमनसँगै सुरु भएको द्वन्द्वपछि गुमेका क्षेत्रहरू फिर्ता लिनुभएको थियो र रूसको सन् २०१५ को हवाई हस्तक्षेपले युद्धको दिशा असदको पक्षमा परिवर्तन गरेको थियो ।

तर गएको महिनाको विद्रोही आक्रमणले रूस युक्रेनमा युद्धमा अलमल्ल भएको बेला भयो र यस पटक रूसका हवाई आक्रमणहरूले इस्लामिक नेतृत्वका विद्रोहीहरूलाई अलेप्पो, हामा, होम्स र अन्त्यमा दमास्कसलगायत ठूला सहरसहित व्यापक क्षेत्र कब्जा गर्नबाट रोक्न सकेनन् ।

असदको अर्को प्रमुख सहयोगी इरानले लामो समयदेखि सिरियाको सशस्त्र सेनालाई सैन्य सल्लाहकारहरू प्रदान गर्दै आएको छ र भूमिमा सरकार समर्थक सशस्त्र समूहहरूलाई समर्थन गर्दै आएको छ ।

तर गाजा युद्ध सुरु भएपछि र छिमेकी लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबीच शत्रुता सुरु भएपछि इरान र यसका सहयोगी समूहहरूले इजरायलसँगको लडाइँमा असफलता भोगेका छन् ।

“अन्ततः असद सरकारको जीवित रहने क्षमता इरान र रुसले असदलाई यस क्षेत्रमा आफ्नो रणनीतिका लागि कति उपयोगी ठान्छन् भन्ने कुरामा निर्भर गर्दछ”, विद्रोहीहरूले दमास्कस कब्जा गर्नुअघि न्यू लाइन्स इन्स्टिच्युटका विश्लेषक निक हेरासले भन्नुभएको थियो, “यदि ती मध्ये कुनै एक वा दुवै सहयोगीले असदबिना आफ्नो स्वार्थलाई अगाडि बढाउन सक्ने निर्णय गरे भने उहाँको सत्तामा बस्ने दिनहरू गणना गरिएका छन् ।”

– कमजोर हिजबुल्लाह –

लेबनानी लडाकू समूह हिजबुल्लाहले सन् २०१३ देखि दमास्कसलाई खुला समर्थन गर्दै हजारौँ लडाकूलाई सीमापार सेना बलियो बनाउन पठाएको छ ।

तर विद्रोहीहरूले गत महिना लेबनानमा एक वर्षभन्दा बढी शत्रुतापछि इजरायल र हिजबुल्लाहबीच युद्धविराम लागु भएको दिन नै आक्रमण सुरु गरेका थिए ।

हिजबुल्लाहले छिमेकी देशमा आफ्नो उपस्थिति कमजोर पार्दै इजरायलसँग भिडन्त गर्न आफ्ना धेरै लडाकूलाई सिरियाबाट दक्षिण लेबनानमा सारेको थियो ।

हिजबुल्लाहको नजिकको एक स्रोतले एएफपीलाई कुनै सटीक तथ्याङ्क प्रदान नगरी इजरायलसँगको द्वन्द्वमा समूहका सयौँ लडाकु मारिएको बताएको थियो ।

यो लडाइँले हिजबुल्लाहको नेतृत्वलाई पनि ध्वस्त बनायो । समूहका लामो समयका प्रमुख हसन नसरल्लाह, उहाँका अनुमानित उत्तराधिकारी र धेरै वरिष्ठ कमान्डर इजरायली हवाई आक्रमणमा मारिएका छन् ।

आइतबार हिजबुल्लाहको नजिकको अर्को स्रोतले उक्त समूहले राजधानीको बाहिरी इलाका र सीमा नजिकैको होम्स क्षेत्रबाट आफ्नो सेना फिर्ता लिइरहेको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले असदको पतन ‘असदका मुख्य समर्थकहरू इरान र हिजबुल्लाहमाथि हामीले प्रहार गरेको प्रत्यक्ष परिणाम’ भएको बताउनुभयो ।

बङ्गलादेशको व्यापार घाटा छ अर्ब ६६ करोड अमेरिकी डलरमा झरेको

बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ ।

बङ्गलादेश केन्द्रीय बैङ्कको तथ्याङ्कले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ । बङ्गलादेश बैङ्कको तथ्याङ्कले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैङ्कका अधिकारीहरूले जनाएको छ । यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।

कर छली रोक्न राजस्व, भन्सार, र अनुसन्धानले संयुक्त सहकार्य गर्दै

काठमाडौँ-आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मक रूममा अघि बढ्ने निर्णय गरेको छ ।

राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर रूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार तीनै निकायबीच सूचना सङ्कलन तथा आदानप्रदान, बजार अनुगमन तथा गस्ती परिचालन र नक्कली तथा झुटो कारोबारलाई नियन्त्रणमा आवश्यक सहकार्य र समन्वयात्मक रूपमा काम गर्ने निर्णय भएको छ । 

बैठकपछि आज साँझ विज्ञप्ति जारी गर्दै विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान, सूचना सङ्कलन, विश्लेषण तथा सोको कार्यान्वयनका लागि एकापसमा सूचना आदानप्रदान गर्ने निर्णय पनि भएको छ । 

यस्तै, राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वल्र्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रबिष्ट भएका सूचनालाई एकापसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछि थप परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने र राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवालासँग आह्वान गर्ने निर्णय पनि गरिएको जनाइएको छ । 

यस्तै, कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्तिलाई रोक्न अन्तरनिकाय सूचना आदानप्रदान गर्ने र शङ्कास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तथा राजस्व चुहावटका नयाँ प्रवृृत्ति पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय पनि गरिएको विभागले जनाएको छ । 

यस्तै, नक्कली तथा झुटो कारोबारलाई नियन्त्रण गर्नेतर्फ सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छनबिन गरी कारबाहीको दायरामा ल्याउने, फर्म तथा कम्पनीको ‘फेक’ दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने निर्णय पनि भएको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै, बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिल–बीजक मात्र खरिद–बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने, खुला सिमानाबाट हुने चोरी–पैठारी नियन्त्रण गर्न तथा कर छली कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सूक्ष्म रूपमा अनुगमन गर्ने तथा मूल्य अभिवृद्धिकरतर्फ ‘ननफाइलर’ तथा बक्यौता कायम रहेका करदाताको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने निर्णय पनि भएको जनाइएको छ । 

गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल

देउखुरी (दाङ)-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–कांग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै उहाँले दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानीमा दोस्रो आकर्षणको मुलुक भएको बताउनुभयो ।

महासचिव पोखरेलले लागानी मैत्री वातावरण बनेकाले काम गर्न सहज भएको बताउनुभयो । उहाँले नेत्रलाल अभागीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलेले विद्यालय बनाउनेदेखि विद्यार्थीहरुमा शैक्षिका जागरण ल्याउन अभागीको योगदान रहेको स्मरण गर्नुभयो । 

नेत्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले रु एक करोड ६८ लाखमा स्मृति सभाहल निर्माण सुरु भएको बताउनुभयो । उहाँले सिद्धरत्न मावि नारायणपुर र प्रतिष्ठानको समन्वयमा सभाहल निर्माण सुरु भएको बताउनुभयो । सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय, तुलसीपुर–१८ अक्कासीमा नेत्रलाल प्रावि र लमहीमा नेत्रलाल स्मृति भवन रहेका छन् । घोराही–१६ मा नेत्रलाल स्मृति रङ्गशाला निर्माणाधीन अवस्थामा छ ।

कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गर्नुभएको हो ।

सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथि विष्ट (कञ्चनपुर)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात,किसान खुसी (फोटोफिचर)

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

तस्बिर : दाने बोहरा / रासस

अतिथिलाई मायाको चिनो रायोको साग

ढोरपाटन (बागलुङ), २४ मङ्सिर : आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो ।

गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै

तेह्रथुम, २४ मङ्सिर : म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पु¥याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।

विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो । उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ ।
त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताउनुभयो ।

उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताउनुभयो । हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा

‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’ – अर्थमन्त्री पौडेल

काठमाडौँ, २४ मङ्सिर : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ ।

फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गर्नुभयो ।

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले अवलोकन गर्नुभएको थियो ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो । अवलोकनपछि पत्रकारहरुसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पु¥याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गर्नुभयो । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ, २४ मङ्सिर : नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गर्नुभएको हो ।

इर्खुवा हाइड्रोले प्रति सेयर रु एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको रु २८ करोड पाँच लाख ७५ हजार बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै, कानुन निर्माण र कार्यान्वयन दुवै कमजोर

काठमाडौँ, २४ मङ्सिर : भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् ।

भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ ।

मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत र सुधार हुने आशा नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदन कृष्ण शर्मा बताउनुहुन्छ । “अहिले भ्रष्टाचार व्याप्त छ । घटेको अनुभूति हुन सकेको छैन । सरकारले नीतिगत निर्णय गर्दा होस् वा ठूल्ठूला परियोजनाका खरिद, नियुक्ति सरुवा बढुवामा भ्रष्टाचार हुने गरेको पाईएको छ”, उहाँ भन्नुहुन्छ, “सुशासन कायम गर्नमा सहयोग पु¥याउने विभिन्न संस्थाहरुका वार्षिक प्रतिवेदन हेर्दा पनि भ्रष्टाचार निवारणमा देशको अवस्था झन्झन् खस्कँदै गएको देखाएका छन् ।”

सार्वजनिक जवाफेहिता कमजोर बन्दै गएको तथा कानुनको कार्यान्वयन एवं परिपालनाको प्रत्याभूति हुन नसकेको उहाँको बुझाइ छ । त्यस्तै, भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण प्रक्रिया क्रमशः कमजोर बन्दै गएको उहाँले बताउनुभयो । “भ्रष्टाचारको अङ्क मात्र नभई क्षेत्र पनि बढ्दै गएको छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायरा गरेका मुद्दामध्ये एक तिहाई मात्र अदालतबाट कसुर साबित भएको छ”, शर्माले भन्नुभयो, “यसले दायर भएका मुद्दाको गुणवत्ता नै कमजोर हो वा न्यायिक प्रणालीमा समस्या हो भन्ने प्रश्न उठाएको छ । हामी भ्रष्टाचार नियन्त्रणमा सशक्त हुन सकेको छैनौं भन्ने यसबाट पनि पुष्टि हुन्छ ।” सुशासन कायम गर्ने सवालमा राजनीतिक नेतृत्व र प्रशासनबीचका अन्तरसम्बन्ध एवं सीमाहरु स्पष्ट हुन नसकेको र प्रशासनमा राजनीति हावी भएजस्तो देखिएको पनि उहाँले बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सम्बन्धित निकायका प्रमुखको हो । भ्रष्टाचार रोकथाम र नियन्त्रणमा अनुगमन मूल्याङ्कनको भूमिका महत्वपूर्ण हुने भएपनि सार्वजनिक निकायहरुले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको देखिँदैन । सम्बन्धित निकाय, मन्त्रालय, विभाग, निर्देशनालय एवं सार्वजनिक निकायका प्रमुखहरुले आन्तरिक निगरानी र नियन्त्रणको व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे बताउनुहुन्छ । भ्रष्टाचार नियन्त्रणमा सरकारका सबै निकाय, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सञ्चारमाध्यामको भूमिका रहने उहाँको भनाई छ । “सुशासन कायम गर्ने, आयोजना समयमा सम्पन्न गर्ने, खरिद व्यवस्थापनलाई राम्रो बनाउने, सार्वजनिक कोषको रकमलाई मितव्ययी र पारदर्शी बनाउने तथा त्यसलाई सही तरिकाले जनताको काममा खर्च गर्ने, तोकिएको समयमा लेखापरीक्षण गराउने, बेरुजु फछ्र्यौट गर्ने, अनियमितता नियन्त्रण गर्नेलगायतका जिम्मेवारी तीनै तहका सरकार र मातहतका निकायको जिम्मेवारी हो”, घिमिरेले भन्नुभयो, “भ्रष्टाचार भइसकेपछि दण्डात्मक र उपचारात्मक विधिबाट त्यसलाई नियन्त्रण रोकथाम गर्न छानबिन र अभियोजन प्रक्रियामा मात्र आयोगको भूमिका रहने हो । आयोगले उजुरी प्राप्त गर्ने, छानबिन गर्ने र मुद्दा दायर गर्ने काम गर्छ ।”

सूचकमा छैन सुधार ः

ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई)मा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको सूचीमा छ । सिपिआईमा नेपाल ३५ अङ्कसहित एक सय आठौं स्थानमा छ । ५० भन्दा तल अङ्क हुनुलाई भ्रष्टाचार व्याप्त रहेको मुलुकका रुपमा बुझिने अध्यक्ष शर्माले बताउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल देखिनु, कमजोर न्याय प्रणालीलगायत कारणलाई नेपालको कमजोरीका रुपमा ट्रान्सपरेन्सी इन्टरनेसनलले औँल्याएको छ ।

संविधानले प्रत्याभूत गरेको राज्यका नीतिहरुमा ‘राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अबलम्बन गर्ने’ उल्लेख छ । सरकारका नीति तथा आवधिक योजनाहरुले पनि सुशासन कायम गर्ने र भ्रष्टाचार निवारण गर्ने विषयलाई उत्तिकै प्राथमिकता दिएका छन् । सोह्रौँ योजनाको सोच ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ हो । सुशासनमार्फत् सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिने सोह्रौँ योजनामा उल्लेख छ । राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नुलाई विद्यमान योजनाको उद्देश्यमा राखिएको छ । तर त्यसको कार्यान्वयन एवम प्रभावकारिता भने नगण्य छ ।

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले भ्रष्टाचार न्यूनीकरण अनुभूति सुचकाङ्क आर्थिक वर्ष २०८५÷८६ सम्ममा ४३ पु¥याउने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा यस्तो सूचकाङ्क ३५ छ । जबकी, पन्ध्रौँ योजना कार्यान्वयनको वर्ष अर्थात् आर्थिक वर्ष २०७५÷७६ मा ३४ अङ्कमा रहेको उक्त सूचकाङ्कमा अहिले पनि तात्विक सुधार देखिँदैन । त्यस्तै, पन्ध्रौँ योजना कार्यान्वयन हुँदैगर्दा अर्थात् पाँचवर्ष अघि विधिको शासन सुचकाङ्कमा नेपालको शून्य दशमलव ५२ अङ्क थियो । तर आर्थिक वर्ष २०७९÷८० सम्म पुग्दा त्यो घटेर शून्य दशमलव ५२ अङ्कमा झरेको छ । अर्थात विधिको शासन सुचकाङ्कमा नेपाल पहिलेको भन्दा झन् कमजोर बन्दै गएको छ । हाल कार्यान्वयनमा रहेको १६औँ यौजनाको लक्ष्य भने आर्थिक वर्ष २०८५÷८६ सम्ममा विधिको शासन सूचकाङ्क शून्य दशमलव ६० पु¥याउने छ ।

मुलुकलाई पूर्ण भ्रष्टाचारमुक्त बनाउन अर्थतन्त्रमा शतप्रतिशत नगदरहित कारोवारलाई आत्मसात गर्नुपर्ने आवश्यकता सोह्रौँ योजनाले औँल्याएको छ । तर, नेपालमा अदृश्य अर्थतन्त्रसम्बन्धी अध्ययन अनुसन्धान नभएकाले यसको आकार र गहिराइबारे यथार्थ तथ्याङ्क उपलब्ध छैन । फलस्वरूप यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव आँकलन गर्न सकिएको देखिदैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०÷८१) अनुसार गत आर्थिक वर्षमा मात्र २६ हजार नौ सय १८ उजुरी दर्ता भएका थिए । स्थानीय सरकारका विरुद्ध सबैभन्दा धेरै १९ हजार एक सय छ अर्थात् कूल सङ्ख्याको ५२ दशमलव ८० प्रतिशत उजुरी परेको देखिन्छ । त्यस्तै, प्रदेश सरकार र मातहत निकायका विरुद्ध चार हजार चार सय ५७ अर्थात् १२ दशमलव ३२ प्रतिशत र सङ्घ सरकार तथा मातहत निकायका विरुद्ध १२ हजार छ सय २३ अर्थात् ३४ हजार आठ ८४ वटा उजुरी परेका थिए । सङ्घ र प्रदेश सरकार विरुद्धका उजुरीहरूमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी छन् ।

स्थानीय सरकारका विरुद्ध परेका उजुरीहरूको बढी सघनता मधेस प्रदेशका स्थानीय तहमा देखिन्छ । अख्तियारमा परेका सङ्घीय मन्त्रालयविरुद्धका कूल उजुरीमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी अर्थात् १८ दशमलव १३ प्रतिशत रहेका छन् । त्यसैगरी गृह मन्त्रालयको नौ दशमलव ९५ र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नौ दशमलव ६९ प्रतिशत उजुरी रहेको देखिन्छ । विगत ५ आर्थिक वर्षमा आयोगमा परेका उजुरीमध्ये सबैभन्दा बढी उजुरी पर्ने प्रमुख तीन क्षेत्रहरू सङ्घीय मामिला, शिक्षा र भूमि प्रशासन रहेको देखिन्छ ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार पछिल्ला वर्षहरुमा उजुरीको सङ्ख्या बढ्नुको अर्थ सार्वजनिक निकायमा सुशासनको अवस्था खस्किनु हो । “झिनामसिनादेखि ठूलासम्मका उजुरी आउनेक्रम बढेको छ । गुनासो सुन्ने ठाउँमा सुनिएन, सेवा प्रवाह हुनुपर्ने ठाउँमा भएन, विकास निर्माण हुनुपर्ने ठाउँमा भएन, यसकारण आयोगमा उजुरीको सङ्ख्या बढिरहेको छ । हाम्रा सार्वजनिक निकायले सुशासन कायम गर्न नसक्दा उजुरीको सङ्ख्या बढ्यो”, उहाँ भन्नुहुन्छ, “आयोगमा प्राप्त उजुरीको विश्लेषण गर्दा भ्रष्टाचार र अनियमितता व्यापक छ भन्ने देखिन्छ । विद्यमान विधि र संयन्त्रहरुले राम्रोसँग काम गर्न सकेका छैनन् भन्ने भान हुन्छ ।”

भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सम्बन्धित निकायको हुने र आयोगले उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक तथा संस्थागत क्षमता विकासका रणनीतिहरू अवलम्बन गरी कार्यसम्पादन गर्दै आएको प्रवक्ता घिमिरेले बताउनुभयो । जसमा उजुरीहरूको अनुसन्धान गर्ने, दोषी देखिएमा आरोपपत्र दायर गर्ने, पुनरावेदन एवं पुनरावलोकन आयोगले गर्दै आएको छ । यद्यपि, दर्ता भएका उजुरी माथि अनुसन्धान, अभियोजन तथा फछ्र्यौट प्रक्रियामा ढिलाइ हुने गरेको गुनासो छ । अर्कोतर्फ आयोगले दायर गरेका मुद्दामध्ये निकै कम मात्र कसुर सावित हुँदा आयोगकै कार्यशैली माथि पनि प्रश्न उठ्न थालेका छन् ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुको हालसम्म बेरुजु रु ११ खर्ब ८३ अर्ब नाघेको छ । पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९÷८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । 

यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो । महालेखापरीक्षकको प्रतिवेदनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि विभिन्न सुझावसमेत दिएको छ । “पदीय आचरण, नैतिकता, सदाचारिता, निष्ठा अभिवृद्धि हुने कार्यसंस्कृति अवलम्बन गर्नुपर्दछ । भ्रष्टाचारजन्य कार्य हुने प्रमुख जोखिम क्षेत्रबारे सूची तयार गरी त्यस्ता क्षेत्रलाई विशेष निगरानी गर्ने व्यवस्था मिलाउनुपर्दछ”, प्रतिवेदनमा भनिएको छ, “नेतृत्वको पदमा जिम्मेवारी ग्रहण गर्नुपूर्व सम्बन्धित पदले सम्पादन गर्ने कार्य र त्यस्तो पद ग्रहण गर्ने व्यक्ति संलग्न रहेको पेसा व्यवसाय र निजको पृष्ठभूमिबीच स्वार्थ नबाझिने कुरा सुनिश्चित गरी औपचारिक रूपमा नैतिक आचारसंहिताको घोषणा गर्न लगाइ सोको अभिलेख गर्ने व्यवस्था गर्नुपर्दछ । भ्रष्टाचारजन्य क्रियाकलापप्रति सामाजिक र सांस्कृतिक रूपमै बहिस्करण गर्न जनचेतनायुक्त कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” 

शङ्कास्पद तथा आपराधिक क्रियाकलाप र वित्तीय कारोबारसँग सम्बन्धित सूचनासम्बन्धी नियमन तथा सार्वजनिक निर्माणमा पारदर्शिता, समयपालना, गुणस्तर र दिगोपना कायम गर्न विद्युतीय शासनको अवधारणाअनुरूप सूचना प्रविधिमार्फत सेवा प्रवाह गर्नुपर्ने सुझाव महालेखाले दिएको छ ।

कानुन निर्माण र कार्यान्वयन दुवै कमजोर :

नेपाल भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र हो । उक्त महासन्धिका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९ तर्जुमा गरिएको छ । तर उक्त रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन । राजनीतिक र प्रशासनिक दुवै क्षेत्रको सक्रिय पहलविना यो सम्भव नरहेको र कार्यान्वयनका लागि दुवै क्षेत्रले सहकार्यपूर्ण भूमिका निर्वाह आवश्यक रहेको अख्तियारका प्रवक्ता घिमिरे बताउनुहुन्छ । “पक्ष राष्ट्र भएपछि कानुनी दायित्व सिर्जना भएको छ । सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने हुन्छ । हाम्रा कानुनी प्रक्रिया, संयन्त्रहरुमा सुधारको आवश्यकता छ”, उहाँ भन्नुहुन्छ, “अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रा कानुन परिमार्जन हुन सकेका छैनन् । निजी क्षेत्रको भ्रष्टाचारलाई हामीले भ्रष्टाचार निवारण ऐनमा समेट्न सकेका छैनौँ । अनुचित कार्य हेर्ने निकाय छैन । स्वार्थको द्वन्द्वको कानुन छैन । राष्ट्रिय सदाचार नीति छैन । यी कुरा भनेको राजनीतिक प्रतिबद्धतासहित मात्र सम्भव हुन्छ ।”

सुशासनसम्बन्धी दुई वटा कानुन परिमार्जनका लागि संसद्मा दर्ता भएर अड्किएको करिब पाँच वर्ष भयो । विसं २०७६ माघमा संसद्मा दर्ता भएका भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ अहिले पनि राष्ट्रियसभामा विचाराधिन छन् । यसमा राजनीतिक नेतृत्वले पहलकदमी लिन सकेको देखिदैन ।

भ्रष्टाचार निवारण भनेको सबै तह, क्षेत्र, निकाय मिलेर गर्ने हो । यसका लागि सबै पक्षको सहकार्य चाहिन्छ । तर मूल नेतृत्वले यसलाई गम्भीर रुपमा लिनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष शर्माको बुझाइ छ । “भ्रष्टाचार नियन्त्रण माथिल्लो तहबाट हुनुपर्दछ । जुनसुकै निकायबाट हुने निर्णय प्रक्रियामा जोडिएको व्यक्ति आफ्नो स्वार्थबाट मुक्त हुन सकेमा र मुलुकको हितमा रहि कानुनअनुसार काम गरेमा सुशासन कायम हुन्छ ।”, उहाँले भन्नुभयो । जबसम्म कानुनी प्रणालीमा सुधार, संस्थागत पारदर्शिता, र जिम्मेवारी बोध गर्ने संस्कार स्थापित हुँदैन, तबसम्म भ्रष्टाचारको समस्या समाधान हुन गाह्रो देखिन्छ । अहिले नै ठोस रणनीति र प्रभावकारी कार्यान्वयन नगरे, नेपालको सुशासनको लक्ष्य अझै टाढा रहनेछ ।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २४ मङ्सिरः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाराको प्रख्यात गढीमाई मन्दिरमा दर्शनार्थीको भिड

बाराको प्रख्यात गढीमाई मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीहरु । आइतबार यहाँ रागाको बली चढाइएको थियो । यहाँ भारतबाट पनि मेला हेर्न र पूजाअर्चना गर्न भक्तजन आउने गर्छन् । गढीमाई मेलामा सोमबार बोका बलि दिने साइत रहेको छ । तस्बिर : हिमाल लम्साल/रासस

बाजुरामा अनियन्त्रित भई जीप दुर्घटना हुँदा सात जना घाइते

बाजुरा, २३ मङ्सिर : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ । 

घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

सातगाउँले जात्राका अवसरमा मङ्गलबार कीर्तिपुरमा सार्वजनिक बिदा

काठमाडौँ, २३ मङ्सिर : सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मङ्गलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिनुभयो । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।

काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मङ्सिर २५ गते मङ्गलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् ।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ ।

आमा विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीयवासी रश्मिला श्रेष्ठ बताउनुहुन्छ । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिनाश्रृङ्गार बल्खु पुगेकी थिइन् भन्ने भनाइ रहेको छ ।

मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पिठ्युँ फर्काएर बाहिरै बसेको भन्ने भनाइ पनि यहाँका बुढापाकाले सुनाउने गरेका छन् । यसैकारण बल्खुमा सतुङ्गलकी देवीको रथ बिनागरगहना पहिल्यै पु¥याउने गरिन्छ  । मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै फर्काएर राखिन्छ । रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ । 

जात्राको मुख्यस्थान बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएका थिए । तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको स्थानीय वृद्ध मङ्गल महर्जन बताउनुहुन्छ । परेवा उडेर कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालिएको र पछि अपभ्रंश भई यस ठाउँलाई बल्खु भनिएको जानकारहरू बताउँछन् । यहाँ वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमातृकाको पूजा गरिन्छ ।

सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ । नेपाल भाषामा मुःय भनिने मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा हुने गरेको छ । सिङ्गारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराएर सिन्दूरे जात्रासहित बल्खुमा लगिन्छ ।

किएभ रूसबाट आफ्नो रक्षा गर्न ‘स्थायी’ शान्ति चाहन्छ– जेलेन्स्की

युक्रेनी नेता भोलोदिमर जेलेन्स्कीले शनिबार पेरिसमा भएको भेटघाटपछि अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष किएभलाई रुसले भविष्यमा ‘विनाश’ गर्न नसक्ने ‘स्थायी’ शान्ति चाहिन्छ भनेको बताउनुभएको छ ।

यसअघि ट्रम्पले जेलेन्स्की ‘सम्झौता’ गर्न इच्छुक रहेको भन्दै वार्ता सुरु गर्न आह्वान गर्नुभएको थियो ।

यो जोडीले एक दिनअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एलिसीमा भेट गरेको थियो ।

हालैका हप्ताहरूमा घातक आक्रमणहरू बढ्दै जाँदा जारी द्वन्द्वका कारण मस्को र किएभ दुवैले ह्वाइट हाउसमा आफ्नो आगमनका लागि कसरी तयारी गरिरहेका छन् भन्ने कुरा नभइकन आफूले द्रुत गतिमा द्वन्द्व अन्त्य गर्न सक्ने ट्रम्पले दाबी गर्नुभएको छ ।

“हामीलाई न्यायपूर्ण र स्थायी शान्ति चाहिन्छ भनेर मैले स्पष्ट पारेको छु – त्यस्तो शान्ति जुन रुसीहरूले केही वर्षमा विनाश गर्न सक्ने छैनन्, जस्तो उनीहरूले विगतमा पटक–पटक गरेका छन्”, जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभयो ।

करिब तीन वर्षको युद्धले युक्रेनलाई तहसनहस पारेको छ, हजारौँको ज्यान गएको छ र लाखौँ देश छोडेर भागेका छन् ।

“युक्रेनीहरू अरू कोहीभन्दा बढी शान्ति चाहन्छन् । रुसले हाम्रो भूमिमा युद्ध ल्याएको छ र शान्तिको सम्भावनालाई बाधा दिन सबैभन्दा बढी चाहने रुस नै हो”, उहाँले भन्नुभयो ।

उहाँले पश्चिमी मित्रराष्ट्रहरूलाई ‘कब्जा’ प्रति अन्धो भएर नबस्न आह्वान गर्दै किएभले दीर्घकालीन शान्ति ल्याउने सम्झौतालाई मात्र स्वीकार गर्ने बताउनुभयो । “युद्ध अनन्त हुन सक्दैन – शान्ति मात्र स्थायी र भरपर्दो हुनुपर्छ”, उहाँले भन्नुभयो । 

एक दुर्लभ सङ्ख्यात्मक स्वीकारोक्तिमा जेलेन्स्कीले ४३ हजार युक्रेनी सैनिक युद्धमा मारिएका र करिब तीन लाख ७० हजार घाइते भएका बताउनुभयो । दुवै पक्षले विशाल क्षति व्यहोरेको मानिन्छ र त्यो सङ्ख्या वास्तवमा धेरै बढी हुने विश्वास गरिन्छ ।

– छलफलका ‘मुख्य शर्तहरू’ –

राष्ट्रपति जेलेन्स्कीले वार्ता कस्तो हुन सक्छ भन्ने मुख्य पक्षहरूको बारेमा कुनै ठोस विवरण दिनुभएन तर एक वरिष्ठ युक्रेनी अधिकारीले युद्ध अन्त्यका लागि ‘केही प्रमुख सर्तहरू’ बारे छलफल गरेको बताए ।

“हामीले विवरणहरू खुलासा गरिरहेका छैनौँ तर राष्ट्रपतिहरूले बैठकमा शान्तिको विश्वसनीयताको ग्यारेन्टी गर्ने कुरा हुनुपर्छ भनी छलफल गर्नुभएको छ”, स्रोतले भन्यो ।

यसैबीच क्रेमलिनले युक्रेनलाई युद्धको अन्त्यका लागि वार्ता गर्न ‘अस्वीकार’ गरेको आरोप लगाउँदै शान्ति वार्तामा प्रवेश गर्ने रुसको सर्तहरू अपरिवर्तित रहेको बताएको छ । ती सर्तहरूमा किएभले चार क्षेत्र त्याग्नुपर्ने समावेश छन् ।

“युक्रेनी पक्षले वार्ता अस्वीकार गरेको छ र गर्दैछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो । उहाँले सन् २०२२ को युक्रेनी आदेशलाई उल्लेख गर्नुभयो । उक्त आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न अस्वीकार गरिए पनि अन्य रूसी अधिकारीहरूसँग अस्वीकार गरिएको थिएन ।

यसअघि ट्रम्पले ‘तत्काल युद्धविराम’ का लागि आह्वान गर्दै वार्ता सुरु गर्न आग्रह गर्नुभएको थियो । “धेरै जीवन अनावश्यक रूपमा बर्बाद भइरहेका छन्, धेरै परिवार विनाश भइरहेका छन् र यदि यो जारी रह्यो भने यो केही ठूलो र झन् खराब कुरामा परिणत हुन सक्छ”, उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो ।

ट्रम्पले पुटिनसँग राम्रो सम्बन्ध रहेको बताउनुभएको छ ।

– कति समयसम्म युद्धमा रहन सक्छौँ ? –

तर नेताहरूले किएभ, मस्को र पेरिसमा बयान दिँदै गर्दा पूर्वी युक्रेनको जमीनी अवस्था डरलाग्दो रह्यो । मस्कोले आइतबार पूर्वमा अर्को गाउँ डोनेट्स्क क्षेत्रको ब्लागोडात्ने कब्जा गरेको दाबी गर्यो । त्यहाँ उसले निरन्तर प्रगति गर्दैछ ।

ट्रम्पको पदभार ग्रहणले आफूहरूलाई रूससँग वेदनादायक सहुलियतहरू गर्न बाध्य पार्न सक्छ भन्दै युक्रेनमा धेरैले डर व्यक्त गरेका छन् । राष्ट्रले पनि थकान भोगिरहेको छ ।

पूर्वी खार्किव क्षेत्रको ओसिनोभो गाउँमा ट्रम्प र जेलेन्स्कीबीचको भेटको खबरले फ्रन्टलाइन गाउँका अन्तिम बाँकी बासिन्दाहरू मध्ये एक माइकोला लिटभिनोभलाई केही आशा दिलाएको छ ।

आफ्नो पछाडिको बगैँचामा तरकारीबाट माटो सफा गर्दै ८० वर्षीय लिटभिनोभले यो भेटले वार्तामार्फत द्वन्द्व अन्त्य गर्न सघाउ पुर्याउन सक्ने आशा व्यक्त गर्नुभयो ।

“हामी कति समयसम्म युद्धमा रहन सक्छौँ ? कति मानिस मारिएका छन्, कति युवा मारिएका छन् र तपाईँले विनाशको ठूलो स्तर देख्नुहुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले युक्रेनले पहिले नै रुससँग वार्ता गरेर आफ्नो अधिक क्षेत्र कायम राख्न सक्ने सुझाउ दिनुभयो । यद्यपि उहाँले अर्को व्यक्तिगत कारणका लागि लडाइँको अन्त्य हुने आशा व्यक्त गर्नुभयो । “मेरा दुवै छोराहरू लड्दैछन् । म केवल उनीहरू जीवित रहून् भन्ने चाहन्छु”, उहाँले भन्नुभयो ।  युक्रेनले डोनेट्स्क क्षेत्रमा दुई सर्वसाधारण मारिएको र दक्षिणी खेरसन क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको बताएको छ ।

जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरुसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । 

“सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कतव्र्य हो”, उहाँले भन्नुभयो, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षत बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।”

मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाउनुभयो । आफ्ना अनुभव बाँड्दै उहाँले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताउनुभयो ।

मन्त्री गुरुङले प्रवक्ताहरुले काम गर्दा भोग्नु परेका समस्याहरु सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे

सुदूरपश्चिम, २३ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिसम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले निजी क्षेत्र अगाडि नबढेमा सरकारको एकल प्रयासले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । दक्षिण र पश्चिममा भारतसँग टाँसिएकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटनको गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसका लागि आवश्यक पूर्वाधार जुटाउने वातावरण बनाउन जरुरी रहेकामा जोड दिनुभयो । मन्त्री पाण्डेले समयानुकूल पर्यटन र हवाई नीति बनाउन लागिएको जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनको विकासका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उहाँले निर्माणाधीन सेती लोकमार्गमार्फत सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुल्न सकेमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपालकै बाटो भएर कैलास मानसरोवर पुग्नसक्ने भई यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने देखिएकाले आफूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेको बताउनुभयो । 

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र स्तरोन्नति, उरै भन्ज्याङ हुँदै कैलास मानसरोवर जाने बाटोको व्यवस्था, गौरीफन्टा र वनबासा नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माण, उड्डयन क्षेत्रको सबलीकरण र नीतिगत सुधारमा सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा गरिरहेको गतिविधिका बारेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रकाश पार्नुभएको थियो । प्रदेशको मन्त्रालयले पर्यटन गुरुयोजना र पर्यटन ऐन लागू गरेर पर्यटनसम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि पूर्वाधार निर्माणमा पर्याप्त बजेटको अभाव रहँदा यसको विकासमा अपेक्षित सुधार आउन सकिरहेको छैन । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गरेपनि त्यस अनुसारका पूर्वाधार अझै जुट्न सकेको छैन । 

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशसभा सदस्य धर्मराज पाठक, शिवसिंह ओलीलगायतले पर्यटनको विकासका लागि गर्नुपर्ने सुधारका बारेमा सुझाव दिनुभएको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसअन्तर्गतका निकायका कर्मचारी, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने मुख्यमन्त्रीको विश्वास

भद्रपुर (झापा) २३, मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन प्रवरद्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यापारिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा आज उहाँले उद्योगी–व्यापारीहरूबाट यहाँ व्यापार–व्यवसाय सञ्चालनका लागि अनौपचारिक प्रस्ताव आउन थालिसकेकाले सयौँ युवाले रोगजारी पाउने बताउनुभयो । “बजारमा यस कम्प्लेक्सका बारेमा गलत प्रचार भए पनि यहाँको विकासले त्यसको जवाफ दिनेछ । यसको सञ्चालनले दमक र प्रदेश मात्रै होइन, समग्र देशलाई नै आर्थिक विकासमा लाभ पुग्नेछ । त्यसैले प्रदेश सरकारले कम्प्लेक्स सञ्चालनका लागि प्राथमिकता दिएको छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले पनि कम्प्लेक्सबाट बढीभन्दा बढी लाभ लिने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेपाली कांग्रेस र नेकपा ( एमाले) नेतृत्वको वर्तमान सरकारले देशको राष्ट्रिय आवश्यकता पूर्ति एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।

दमक नगरप्रमुख रामकुमार थापाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्य भएमात्र विकास र समृद्धिको लक्ष्यमा पुग्न सकिने धारणा राख्नुभयो ।

चैत ८ मा देशब्यापी प्रर्दशनमा आउँदै ‘द्रौपदी’

काठमाडौं । जेएलसन अधिकारी अभिनित ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’को प्रदर्शन मिति तय भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिएका छन ।

वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको पनि अभिनय रहेको उनले जानकारी दिए । आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्ममा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् ।

पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्मको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ, २३ मङ्सिर : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष दाहालले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताउनुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुङ्गिन थालेकामा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताउनुभयो ।

सहायकमन्त्री लुले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिकी सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो ।

चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ ।

रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ, २३ मङ्सिर : नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो ।

अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

मानव अधिकारको परिपालना गर्नु सबैको दायित्व होः राष्ट्रियसभा अध्यक्ष दाहाल

पाटन (ललितपुर), २३ मङ्सिरः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको मानव अधिकारको परिपालना गर्नु राज्य र हरेक व्यक्तिको दायित्व भएको बताउनुभएको छ ।

७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १६औँ मानवअधिकार राष्ट्रिय महाभेला २०८१ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले राज्यले मानव अधिकारको सुनिश्चितता र हरेक व्यक्तिले त्यसको परिपालना गर्नुपर्ने बताउनुभएको हो । “मानवअधिकार रक्षाको विषय समग्र सीमान्तकृत समुदाय, बहिष्करणमा परेका वर्ग र समुदायको संरक्षण तथा संवर्द्धनको पक्षमा उभिनु हो । यसको संरक्षण तथा संवर्द्धनका काम गर्नु हरेकको साझा दायित्व हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले राज्य र राज्यका हरेक निकायले विपन्न र सीमान्तीकृत समुदायको मानव अधिकारको रक्षाको विषयमा प्रतिबद्ध हुनुपर्ने धारणासमेत राख्नुभयो । “मानव अधिकारको कुरा गर्दा सीमान्तकृत नागरिकमैत्री भएर छलफल हुनु जरूरी छ । समान अवसर र समानुपातिक न्यायका लागि अधिकार संरक्षणमा बाधक भएका नीति नियम परिवर्तन गर्न जरूरी छ । यस्तै समाजलाई समतामूलक बनाउनु हामी सबैको दायित्व हो”, उहाँको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सीमान्तकृत समुदायका लागि राष्ट्रिय मानव अधिकार आयोगले काम गरिरहेको बताउनुभयो । उहाँले मानव अधिकारका विषयमा अध्ययन प्रतिवेदनसहित सरकारमा पेस गरिए पनि त्यसको कार्यान्वयन फितलो रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मानवअधिकार रक्षा राज्यको मात्रै दायित्व नभई प्रत्येक व्यक्तिको दायित्व भएकामा ध्यानाकर्षण गराउनुभयो । महिला अधिकार राज्य पक्षभन्दा गैरराज्य पक्षबाट बढी हनन भइरहेकाले यसलाई रोक्न राज्यले कडाइका साथ दण्डित गर्नुपर्नेमा जोड दिनुभयो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मानव अधिकारका सन्दर्भमा संविधानमा गरिएको विशिष्टीकृत व्यवस्था इमानदारीपूर्वक पालना गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपाल सरकारले विभिन्न समयमा हरवाचरवा र कमैया राख्ने प्रथाको अन्त्य गरेको भए पनि आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले यो प्रथा कायमै रहेको धारणा राख्नुभयो । उहाँहरूले सीमान्तीकृत समुदाय विस्थापित हुने अवस्थामा रहेकाले तत्काल व्यवस्थापनका लागि सरकारको ध्यानाकर्ष गराउनुभयो ।

राष्ट्रियसभा सदस्य भुवन सुनारले ऐन कानुन निर्माणका क्रममा सीमान्तकृत समुदायको आवाजलाई समावेश गरेर हकअधिकार स्थापित गर्न पहल गर्ने बताउनुभयो ।

एफएचआई ३६० का नेपाल निर्देशक भगवान श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष भावना भट्ट, महाभेला २०८१ का सहसंयोजक दीपक सोनी, महाभेलाका पूर्वसंयोजक नरेन खतिवडालगायतले शक्ति राष्ट्रहरूले लडाइँ र युद्धका घटना निम्त्याएर मानवअधिकारको हनन गरेको बताउनुभयो । उहाँहरूले मानवअधिकार कागजमा लेखिने मात्रै नभई व्यावहारिक कार्यान्वयनमा आउनुपर्ने, सीमान्तकृत समुदायको मानवअधिकारको रक्षा गरिनुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकार राष्ट्रिय महाभेलाका संस्थापक संयोजक चरण प्रसाईंले सबै संस्थाका मानव अधिकारवादीहरूलाई एकताबद्ध भएर दिवस मनाउन महाभेलाको सुरुआत गरिएको बताउनुभयो । उहाँले महाभेला आयोजना गरेर मानवअधिकार क्षेत्रमा काम गर्ने मानिसहरूको पहिचान गराउन पहल गरेको बताउनुभयो ।

मानवअधिकार महाभेलामा चार दशकदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत साहित्यकार तथा समाजसेवी दुर्गा घिमिरेलाई पुरस्कृत गरिएको थियोे । उहाँले सामाजिक क्षेत्रमा ३५ भन्दा बढी देशहरूमा भ्रमण गरी कार्यपत्र प्रस्तुत गर्नुभएको जानकारी गराइएको थियोे ।

त्यस्तै, २०६३ सालदेखि दलित महिला मानवअधिकारका क्षेत्रमा क्रियाशील किस्मतीदेवी रामलाई शान्तलक्ष्मी श्रेष्ठ महिला मानवअधिकार पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।

आर्थिक विकासमा ‘भ्यूटावर’को महत्व छ : मन्त्री सिंह

दमक (झापा), २३ मङ्सिर : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहँुदै उपप्रधानमन्त्री सिंहले यहाँका भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने बताउनुभयो । दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले राष्ट्रिय गौरवका योजनाका रुपमा रहेका यस्ता सम्पदालाई स्थायी रुपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गर्नुभयो । 

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका सरंचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताउनुभयो । कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उहाँले औँल्याउनुभयो । कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उहाँको भनाइ थियो ।

सो भेलामा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले कांग्रेसले देशकै अगुवाइ गर्न अब सङ्गठित भएर जुट्नुपर्ने बताउनुभयो । 

इन्डोनेसियामा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु, ४९ जनाको उद्धार

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार एउटा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु र ४९ जनाको उद्धार
गरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

उक्त पानी जहाज सुमेनेप रिजेन्सीको बन्दरगाहबाट प्रस्थान गरेपछि दिउँसो १ः१० बजे दुर्घटना भएको हो ।

जहाज सितुबोन्डो रेजेन्सीको बन्दरगाहतर्फ गइरहेको थियो । प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद हरियादीका अनुसार दुवै राज्यहरू पूर्वी जाभा प्रान्तमा अवस्थित छन् ।

मुहम्मद हरियादीले भन्नुभयो,“एक जनाको मृत्यु भएको, अर्को बेपत्ता र अन्य ४९ जनाको उद्धार गरिएका छन् ।”

उद्धारमा संयुक्त उद्धार टोलीका करिब ५० जना कर्मचारी संलग्न रहेका र बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । हरियादीले उक्त घटनाका लागि चरम मौसमी अवस्थालाई दोष लगाइए ।

“खराब मौसमका कारण यस्तो भएको हो,” उहाँले थप्नुभयो ।इन्डोनेसियाको मौसम विज्ञान तथा जियोफिजिक्स एजेन्सीले भारी वर्षा लगायतका चरम मौसमी अवस्थाहरूको चेतावनी दिएको छ ।

छेबाङ लामाको नयाँ गीत ‘एकोहोरो मायामा मिरुना मगर

काठमाडौँ – गायक छेवाङ लामा स्वरमा नयाँ गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ ।एक देव लिम्बुको शब्द तथा सङ्गीतमा रहेको नयाँ गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ ।

केन्द्र मोसन पिक्चर्स बाट सार्वजनिक गरिएको प्रेमिल साङ्गीतिक कोसेलीलाई बिटू (गेन स्टुडियो)ले तयार गरेको हो भने म्युजिक भिडियोलाई मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार गरेका हुन् ।

आकाश पौडेलको निर्देशन रहेको म्युजिक भिडियोमा विकेश मगरको छायाङ्कन, सम्पादन तथा कलरिङ देख्न सकिन्छ। सार्वजनिक गीतमा मनिष गन्दर्भले सारङ्गीको काम गरेका छन् भने सन्तोष सिं ठाकुरले क्रिएटिम निर्देशन तथा नवीन निरौलाले लाइटिङको काम गरेका छन् ।

सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २३ मङ्सिरः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल शिक्षक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको हो ।

ज्ञवालीको यही मङ्सिर १४ गते निधन भएको थियो । उहाँ नेपाल शिक्षक सङ्घ कास्कीको पूर्वजिल्ला अध्यक्ष, नेपाल शिक्षक सङ्घको पूर्वकेन्द्रीय महासचिव, नेपाल शिक्षक युनियनका संस्थापक महासचिव, सार्क शिक्षक महासङ्घको एक कार्यकाल अध्यक्ष तथा नेपाल शिक्षक सङ्घको दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

विसं २०२२ असोज २ गते जन्मनुभएका स्व ज्ञवालीले कांग्रेस र नेपाल शिक्षक सङ्घको सङ्गठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन तथा शैक्षिक क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक कुशल र अनुभवी शिक्षाविद्लाई गुमाएको जनाएको छ ।

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

काठमाडौँ, २३ मङ्सिरः प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ ।

समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो ।

यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।”

निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो ।

राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ ।

मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो । उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो ।

विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ ।

त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो । कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो ।

“लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।

लोक, संस्कृति झल्कने भुँव नृत्य प्रस्तुत गर्दै कलाकार

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ का अवसरमा लोक, संस्कृति झल्कने भुँव नृत्य प्रस्तुत गर्दै बाजुरा सेवा समाजका कलाकार । तस्बिरः तिलकराज ओझा

धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ का अवसरमा लोक, संस्कृति झल्कने भुँव नृत्य प्रस्तुत गर्दै बाजुरा सेवा समाजका कलाकार

मह बेचेर दीपकुमारले गर्छन् एक याममा १२ लाख आर्जन

घोराही (दाङ), २३ मङ्सिरः घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गर्नुभएको छ । उहाँले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु १२ लाखको मह बेच्ने उहाँको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ ।

उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”उहाँको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् ।

मौरीपालनबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उहाँले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताउनुभयो । उहाँले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ ।

साथै उहाँले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गर्नुभएको छ । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उहाँले बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु पाँच सय र जङ्गली स्रोतको रु छ सयमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ ।