`

कतार सिरियाली इस्लामिक समूह एचटिएससँग सम्पर्कमा

कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।

“कतारीहरूले एचटिएससँग सञ्चारको पहिलो च्यानल स्थापना गरेका छन् । एचटिएस र कतारी कूटनीतिज्ञहरूसँगको सञ्चार आगामी २४ घन्टामा अल बशीरसँग जारी रहने अपेक्षा गरिएको छ”, वरिष्ठ विद्रोही मोहम्मद बशीरलाई उद्धृत गर्दै नाम नछाप्ने सर्तमा अधिकारीले भने ।

असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि कतार सशस्त्र विद्रोहको मुख्य समर्थक र पदच्यूत नेताको कडा आलोचक थियो ।

सन् २००० देखि सत्तामा रहनुभएका असद एचटिएस र यसका सहयोगीहरूको द्रुत अभियानपछि सप्ताहन्तमा पदच्यूत हुनुभएको थियो ।

छलफलको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्ने अधिकारीले भने, “एचटिएस र अन्यसँगको सञ्चारको फोकस… शान्ति कायम गर्न र सङ्क्रमण अवधिमा सिरियाको सार्वजनिक संस्थाहरूको संरक्षण गर्न आवश्यक छ ।”

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले आफ्नो देशले एचटिएससँग विशेष कुरा गरिरहेको छ कि छैन भनेर भन्न अस्वीकार गर्दै यसअघि कतार ‘हामी सिरियाली मोजाइकभित्र सधैँ सम्पर्कमा रहेका सबै समूहहरूसँग सम्पर्कमा रहेको’ बताउनुभएको थियो ।

प्रवक्ताले असद विरुद्धको विद्रोहको समयमा विपक्षी समूहहरूका लागि खोलिएको कतारको सिरियाली दूतावास अब ‘सिरियामा नयाँ वास्तविकताको पहिलो दूतावास’ भएको पनि बताउनुभयो ।

“म यस समयमा भइरहेको विशेष कल वा बैठकहरूमा विशेष टिप्पणी गर्न सक्दिन तर म तपाईंलाई भन्न सक्छु कि हाम्रो ढोका खुला छ, हामी सबैसँग कुरा गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

असदलाई अपदस्थ गर्नुअघि कतारले शनिबार सिरियामा रूसी, इरानी, टर्की र अरब अधिकारीहरूसँग बैठकहरू आयोजना गरेको थियो ।

“शनिबारको बैठकमा सबै पक्षहरूबीच सहमति भयो, प्राथमिकता सिरियामा स्थितिलाई नियन्त्रणमा राख्ने र इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरूले सिरियामा पकड बनाउन नसक्ने सुनिश्चित गर्ने हो” अधिकारीले भने ।

महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्छः उपसभामुख मगर

काठमाडौँ, २५ मङ्सिरः प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताउनुभएको छ ।

महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उहाँले लैङ्गिक हिंसा कम गर्न कानुन कडा बनाएर मात्र नहुने भन्दै विद्यालयस्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले भन्नुभयो, “मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ ।”

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूूर्णलाई धन्यावाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसापीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताउनुभयो । उहाँले आयोगबाट हिंसापीडित महिलाको उद्धार, उपचार, राहत, आश्रयस्थल प्रदान, मनोसामाजिक तथा कानुनी परामर्श, पुनःस्थापना, सीपमूलक तालिम रोजगारी व्यवस्थापनलगायतका सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।
सचिव अर्यालले आव २०७५ देखि २०८० सम्म आयोगमा प्राप्त कुल उजुरीमा घरेलु तथा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा ३० प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसा चार प्रतिशत देखिएको बताउनुभयो ।

कार्यक्रममा महिला आयोगले हिंसापीडितलाई कसरी सेवा दिन्छ भन्ने विषयमा नाटक प्रस्तुत गरिएको थियो भने हेल्पलाइन अपरेटरका साथै आयोगको सहकार्यमा लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न ११ वटा सरकारी तथा गैरसरकारी निकाय तथा संस्थालाई सम्मान गरिएको थियो । यसैगरी आयोगको सहायता कक्षमा सेवामा खटिएका कर्मचारीहरूलाई समेत सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ बाट गत एक वर्षभित्र एक हजार दुई सय २२ वटा उजुरी आएका, २८ सय ७७ वटा फलोअप टेलिफोन गरी चार हजार ९९ सय टेलिफोन कल प्राप्त भएका र समग्रमा चार हजार एक सय हिंसापीडितले प्रत्यक्ष लाभ लिएको महिला आयोगले जनाएको छ । साथै आयोगले विगत पाँच आर्थिक वर्षमा दिइएका सेवाको ‘केस स्टडी’ को सङ्क्षिप्त विवरणसमेत प्रस्तुत गरिएको थियो । गत वर्षमात्र ३७९ हिंसापीडितका उजुरीमा मेलमिलाप गराउँदा दुई हजार दुई सय पटक छलफल गराउनुपरेको आयोगले जनाएको छ ।

विसं २०७४ मङ्सिर २४ गते हेल्पलाइन सेवा ‘११४५’ को स्थापना भएको थियो । यस सेवामा पीडित आफैँ वा निजको तर्फबाट उजुरी दिने व्यक्तिले आयोगमा उपस्थित भई वा हुलाक, टेलिफोन, फ्याक्स, इमेल वा अन्य जुनसुकै माध्यमबाट २४ सै घण्टा पीडितको पहुँच प्राप्त हुने आयोगले जनाएको छ ।

विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन

सिमकोट, (हुम्ला), २५ मङ्सिरः हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उहाँले बताउनुभयो । विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफँै पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो। जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।

सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगञ्ज र सुर्खेत एक–एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले बताउनुभयो ।

हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएका छन् ।

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । अपराह्न ४ बजे बोलाइएको बैठक केही ढिला सुरू भएको हो ।

भारतले सन् २०२६ देखि स्थानीय–मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने

चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीय रूपमा निर्मित सौर्य मोड्युलहरू मात्र प्रयोग गर्न सक्नेछन् ।

रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् ।

उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित छ ।

भारतीय कम्पनीहरूले पहिले नै सरकारी परियोजनाहरूमा स्थानीय रूपमा निर्मित सौर्य प्यानलहरू प्रयोग गर्न कानूनद्वारा अनिवार्य गरिएको छ ।

नयाँ नियमले प्रकाश ऊर्जालाई विद्युत्मा परिवर्तन गर्ने स्थानीय रूपमा निर्मित फोटोभोल्टिक सेलबाट बनेका मोड्युलहरू मात्र प्रयोग गर्न सक्नेछन् । सोमबारको आदेशपछि बोलीको समयसीमा भएका परियोजनाहरूमा प्रयोग गर्न सकिन्छ ।

“यो सर्त कार्यान्वयनको मिति जस्तोसुकै भए पनि पालन गर्नुपर्नेछ”, भारतको नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ ।

देशमा सौर्य सेलहरूको स्थापित क्षमता मागभन्दा कम भएकाले सरकारले अझै सौर्य सेलका स्वीकृत निर्माताहरूको सूची जारी गरेको छैन ।

तर आदेशमा ‘देशमा सौर्य सेलहरूको स्थापित क्षमता अर्को वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ, स्वीकृत निर्माताहरूको सूची अब जारी गरिनेछ’ भनिएको छ ।

हालैका वर्षहरूमा भारतको सौर्य उपकरण निर्माण क्षेत्रले तीव्र गतिमा प्रगति गरेको छ ।

बेङ्गलुरुस्थित परामर्श फर्म मर्कम इन्डियाको एक प्रतिवेदनले सन् २०२५ को अन्त्यसम्ममा देशको सौर्य प्यानलको उत्पादन ९५ गिगावाट पुग्ने अनुमान गरेको छ । भारतले २०२४ को पहिलो छ महिनामा १३.३ गिगावाट सौर उपकरण निर्माण क्षमता थपेको छ ।

अष्ट्रेलियाबाट गायक रमणले ल्याए ‘बिछोडको घाउ’को भिडियो

काठमाडौँ । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन् । प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ । केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ । भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन् ।

केशवराज र शिल्पाको अभिनयलाई दर्शकले रुचाएको गायक रेग्मीले बताए । भिडियोमा त्रिकोणत्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ । जहाँ आँफुलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाड्य प्रेमी रोजेको कथालाई देखाइएको छ ।

केशवराजकै कोरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ । कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन् । गीत ‘ रमण रेग्मी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । गायक रेग्मीले यसअघि घर त लगन खेलको रिमेक भर्सन, मुखै चिलाउनी , खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतहरु ल्याईसकेका छन् ।

‘जय करबाकेली बाबा’ भन्दै आए गायक जीतबहादुर पुर्जा पुन

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ । गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ ।

जि पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुनको अभिनय छ । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतले पुन समुदायको सांस्कृतिक विविधतालाई देखाएको छ ।

भिडियोमा राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन छ । भिडियोको पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो । भिडियो जि पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक जि पुनले पुन समाज भित्रका थुप्रै भाषिक, सांस्कृतिक विषयवस्तुलाई आगामी दिनमा पनि भिडियो बनाएर श्रोता तथा दर्शकमाझ ल्याउने बताए ।

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक

भेरीगङ्गा (सुर्खेत), २५ मङ्सिर : गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आउनुभएका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गर्नुभयो ।

“हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भन्नुभयो, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?”

लाखौँ सर्वसाधारण जनताको रकम दुरूपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताउनुभयो ।

“अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?”, गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो । रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उहाँले बताउनुभयो ।

मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, “न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?”

पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशङ्का गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।

एक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा

काठमाडौँ, २५ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो । 

एक आर्थिक वर्षमा कति राजस्व सङ्कलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उहाँले बताउनुभयो । “मुख्य राजनीतिक दलमा यस्ता विषयमा छलफल नै हुँदैन, सञ्चारमाध्यमले पनि यस्ता विषयमा बहस गराउन सकेको छैन, सत्तारुढ दलको दुई दलीय संयन्त्रमा मैले यस्ता विषयमा बहसको आरम्भ गराएको छु, रोजगारी सिर्जना गर्न सकियो भने राजनीतिक नेतृत्वलाई पनि सहज हुन्छ”, उहाँले भन्नुभयो ।

अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ छ । धेरै युवा रोजगारीकै लागि विदेशिएकाले वैदेशिक रोजगारसहित स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने गरी मन्त्रालयको व्यवस्था गरिनुपर्ने उहाँको धारणा छ ।

नागरिकप्रति उत्तरदायी भएर काम गर्न मन्त्री यादवद्वारा निर्देशन

वीरगञ्ज (पर्सा), २५ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ ।

आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपार्इंहरुलाई निर्देशन दिन्छु ।”

सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक घर, एक धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।”

खानेपानी संस्थान वीरगञ्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीनकुमार साहले वीरगञ्ज महानगरपालिका भरिमा कुल ११ हजार चार सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिनुभएको थियो ।

काठमाडौँ महानगरले ल्यायो स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

काठमाडौँ, २५ मङ्सिर : काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिनुभयो । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।

स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।

बैंकमार्फत निःशुल्क कपडा वितरण

महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ ।

प्रमुख निरौलालाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ । वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताउनुभयो ।

यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ । कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ । कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलिदेखि

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो

दमौली (तनहुँ), २५ मङ्सिर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।”

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।

पुटिनले आणविक हतियारको खतरा बुझ्नुहुन्न : नोबेल शान्ति पुरस्कार विजेता

जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले सोमबार मस्कोको आणविक सिद्धान्तलाई भर्खरै अपडेट गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा बुझ्नुभएको छैन भनेको छ ।

“राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नुभएको छ”, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भन्नुभयो, “आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग... मानवताको विरुद्धमा हुनेछ ।”

ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताउनुभएको हो ।

सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाल्नुभयो र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गर्नुभयो ।

आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ ।

सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।

तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो।

बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए ।

यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो ।

नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ ।

एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

ः एसियाली विकास बैङ्क (एडीबी)ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी साझेदारी मार्फत महत्वपूर्ण पूर्वाधार विकासलाई समर्थन गर्न उक्त ऋण स्वीकृति गरिएको हो ।

एडीबीले बङ्गलादेशले मुख्यतया सार्वजनिक क्षेत्रबाट सञ्चालित देशको पूर्वाधार विकासले सीमित स्रोत र कार्यान्वयन बाधाका कारण चुनौतीहरूको सामना गरिरहेको बताएको छ ।

बङ्गलादेशका लागि एडीबीका निर्देशक युन जियोङले भन्नुभयो,“यस परियोजनाले बङ्गलादेशलाई निजी क्षेत्रको वित्तपोषणलाई उत्प्रेरित गर्न, पूर्वाधार विकास घाटालाई सम्बोधन गर्न, सार्वजनिक वित्तमा दबाब कम गर्न र थप रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।”

यस ऋणले बङ्गलादेश इन्फ्रास्ट्रक्चर फाइनान्स फण्ड लिमिटेडको वित्तीय र संस्थागत क्षमतामा बृद्धि गर्नेछ । यसमा लैङ्गिक र जलवायु परिवर्तनमा विशेष ध्यान केन्द्रित गर्दै सार्वजनिक–निजी साझेदारी मार्फत दिगो निजी लगानीलाई समर्थन गर्ने वातावरण निर्माण गर्नेछ ।

एयर इन्डियाद्वारा थप १०० विमान खरिद गर्न आदेश

एयर इन्डियाले सोमबार ए३२१एनइओ सहित १० वाइडबडी ए३५० र ९० न्यारोबडी ए३२० विमान सहित १०० थप एयरबस विमानहरू खरिद गर्न आदेश दिएको छ ।

यी १०० नयाँ विमान एयर इन्डियाले गत वर्ष एयरबस र बोइङसँग राखेका ४७० विमानको अर्डरका अतिरिक्त हुन् ।

पछिल्लो अर्डरले ४० ए३५० र २१० ए३२० परिवारका विमानहरू सहित सन् २०२३ मा एयर इण्डियाद्वारा एयरबसलाई अर्डर गरिएका विमानहरूको कुल सङ्ख्या ३५० पुग्छ ।

एयर इन्डियाले आफ्नो बढ्दो ए३५० विमानको मर्मतसम्भार आवश्यकताहरूलाई समर्थन गर्न एयरबसको उडान घण्टा सेवा–कम्पोनेन्ट चयन गरेको पनि घोषणा गरेको छ ।

नयाँ सामग्री र मर्मत सम्झौताले एयर इण्डियालाई यसको ए३५० विमानको भरपर्दो इन्जिनियरिङ सेवाहरू र एयरबसद्वारा प्रदान गरिएको दिल्लीमा अन–साइट स्टक सहितको विश्वसनीयता र कार्यसम्पादनलाई अनुकूलन गर्न मद्दत गर्नेछ ।

टाटा सन्स र एयर इण्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भन्नुभयो, “भारतमा यात्रु वृद्धिले बाँकी विश्वलाई पछाडि पार्दै, यसको पूर्वाधारमा उल्लेख्य सुधार भइरहेको र एक महत्वाकांक्षी युवा जनसङ्ख्या बढ्दो विश्वव्यापी रूपमा बढ्दै गइरहेकोले हामी एयरको लागि गर्व गर्छौं ।”

उहाँले थप्नुभयो,“यी थप १०० एयरबस विमानहरूले एयर इण्डियालाई ठूलो विकासको बाटोमा लैजान मद्दत गर्ने र एयर इन्डियालाई विश्व–स्तरीय एयरलाइन बनाउने हाम्रो लक्ष्यमा योगदान पु¥याउनेछ, जसले भारतलाई संसारको हरेक कुनामा जोड्छ ।”

एयरबस प्रमुख कार्यकारी अधिकृत गिलाउम फÞौरीले भन्नुभयो, “व्यक्तिगत रूपमा हालैका महिनाहरूमा भारतीय उड्डयन क्षेत्रको अतुलनीय वृद्धि देखेर ए३२० र ए३५० विमानहरू दुवैको लागि यो अतिरिक्त अर्डरको साथमा यो कोसेढुङ्गा हासिल गर्न पाउँदा म खुसी छु । यो निरन्तर साझेदारी मार्फत हामी टाटाको दृष्टि र नेतृत्वमा एयर इन्डियाको विहान एआई रूपान्तरण योजनाको सफलतालाई समर्थन गर्न प्रतिबद्ध छौं ।”

एक सय थप विमानको अर्डरसँगै एयर इन्डियासँग हालसम्म छ वटा ए३५० प्राप्त भई एयरबसबाट जम्मा ३४४ नयाँ विमानहरू खरिद गरिरहेका छन् । एयर इन्डियाले सन् २०२३ मा बोइङबाट २२० वाइडबडी र न्यारोबडी विमान पनि अर्डर गरेको थियो, जसमध्ये १८५ वटा विमान अझै डेलिभरी हुन बाँकी छ ।

एयर इन्डिया रोल्स–रोयस ट्रेन्ट एकसडबलुबी इन्जिनहरूद्वारा संचालित एयरबस ए३५० सञ्चालन गर्ने पहिलो भारतीय एयरलाइन हो । असाधारण इन्धन दक्षता, यात्रुको आराम र लामो दूरीको क्षमता प्रदान गर्दै ए३५०एसले अब दिल्लीदेखि लन्डन र न्यूयोर्कसम्म ननस्टप उडान गर्ने यात्रुहरूलाई एयर इन्डियाको उडान अनुभव प्रदान गर्दछ ।

ए३२० इन्जिनहरूद्वारा संचालित एयर इन्डियाको घरेलु र छोटो दूरीको सञ्चालनको मेरुदण्ड हो । इसले एयरलाइनका लाखौं ग्राहकहरूलाई विश्व–स्तरीय उडान अनुभवका साथै उल्लेखनीय परिचालन दक्षता र उडान अर्थशास्त्र प्रदान गर्दछ ।

पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

गण्डकी, २५ मङ्सिरः रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको २६औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो । 

महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गर्नुभयो । कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिनुभयो ।

यस वर्ष लमजुुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने उहाँले उल्लेख गर्नुभयो । 

देशभर पश्चिमी वायुको प्रभाव,तराईमा हुस्सु र कुहिरो

काठमाडौँ, २५ मङ्सिर : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

एनपिएल : आज दुई खेल हुने

काठमाडौँ, २५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । 

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । 

एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । 

 काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ  पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । 

विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।    

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

काठमाडौँ, २५ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जन्ममिति फरक भएकाले बिमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ मङ्सिरः नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालले नारिकतामा पटकपटक जन्ममिति परिवर्तन गरी तोकिएको समयभन्दा बढी सरकारी सेवामा रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुने समय विसं २०८० साउन १६ गते भए पनि हालसम्म पनि सेवामा रहेको पाइएको आयोगले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सिल्वालको नागरिकतामा जन्ममिति विसं २०३२ फागुन २४ गतेको नेपाली नागरिकतामा प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकताको २०६६ वैशाख १७ गते जारी भएको प्रतिलिपिमा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख छ । यस्तै, त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको शैक्षिक प्रमाणपत्रमा फरकफरक जन्ममिति उल्लेख रहेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सरकारी सेवामा प्रवेश गर्दा सिल्वालले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा ट्रान्सक्रिप्टको जन्ममिति अर्थात् २०१५ साउन १५ उल्लेख गरी २०४३ साउन १ मा शाखा अधिकृतको नियुक्ति पाएको देखिन्छ । सोही जन्ममितिका आधारमा निजामती किताबखानाबाट निजले निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको पाइएको आयोगले जनाएको छ । उहाँले नेपाल सरकारको सचिव पदबाट २०७३ साउन १५ गते ५८ वर्षे उमेर हदबाट अनिवार्य अवकाश पाउनुभएको थियो ।

यस्तै, कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न दिएको आवेदनमा झुटो विवरण दिइ जन्ममिति २०१८ कात्तिक २४ अर्थात् सन् १९६१ नोभेम्बर ९ कायम गरेको देखिएको छ । आफ्नो वास्तविक जन्ममितिभन्दा करिब तीन वर्ष उमेर घटाएर कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार २०८० साउन १५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहोदा नपाउनेमा जानीजानी सो पदमा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर पुष्टि भएको छ ।

सो कसुरका लागि कैद तथा जरिवानाका साथै सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको लाभ सुविधाबापतको रकम रु ३६ लाख ६२ हजार जफत तथा असुल गर्न पनि आयोगले माग दाबी गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

कुलमान घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गर्नुभएको छ ।

ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिनुभएको हो । अनुगमनका क्रममा उहाँले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव सात प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

मुख्य बाँध निर्माणअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।

आयोजनाको चरण दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।

चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर दुई सय २० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ ।

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ, २५ मङ्सिरः मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ । आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिनुभयो ।

सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य : नेपाली सेना

काठमाडौँ, २४ मङ्सिर : संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो ।

इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ । उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो । उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो ।

“उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्र्तगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ”, नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाकाबारेमा अमेरिकी चासो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए ।

सहायक विदेशमन्त्री लुले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुवात कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाए।

उनले सोमबार स्वदेश फर्किनुअघि सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोष व्यक्त गरे ।

यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो । साथै उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासोसमेत व्यक्त गरे ।

सहायक विदेशमन्त्री लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रुपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए । उनको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैङ्गिक समानता र सामुदायिक सशक्तिकरणलगायत प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र थप प्रगति हुने विश्वास गरिएको छ ।

पुटिनले आणविक हतियारको खतरा बुझ्नुहुन्न : नोबेल शान्ति पुरस्कार विजेता

जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले सोमबार मस्कोको आणविक सिद्धान्तलाई भर्खरै अपडेट गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा बुझ्नुभएको छैन भनेको छ ।

“राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नुभएको छ”, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भन्नुभयो, “आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग… मानवताको विरुद्धमा हुनेछ ।”

ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताउनुभएको हो ।

सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाल्नुभयो र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गर्नुभयो ।

आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ ।

सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो।

बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए ।यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो ।

नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ ।

भारतद्वारा नयाँ केन्द्रीय बैंक प्रमुख नियुक्त

भारतले सोमबार आफ्नो पूर्ववर्तीको कार्यकाल समाप्त हुनुभन्दा एक दिनअघि वित्त मन्त्रालयको बुद्धिजीवी सञ्जय मल्होत्रालाई देशको केन्द्रीय बैंकको नेतृत्व गर्न नियुक्त गरेको छ ।

आफ्ना पूर्ववर्ती शक्तिकान्त दासले आफ्नो कार्यकाल फेरि विस्तार गर्नुहुनेछ कि भनेर हप्तौँको अटकलबाजीपछि मल्होत्राले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको मौद्रिक नीति अघि बढाउनु हुनेछ ।

भारतीय क्याबिनेटको नियुक्ति समितिको अधिसूचनाअनुसार मल्होत्रालाई बुधबारदेखि सुरु हुने ‘तीन वर्षको अवधि’ का लागि भारतीय रिजर्भ बैंक (आरबिआई) को नेतृत्व गर्न नियुक्त गरिएको छ ।

वित्त मन्त्रालयको वेबसाइटका अनुसार मल्होत्रा इन्जिनियरिङ स्नातक हुनुहुन्छ र उहाँले प्रिन्सटन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ ।

हाल राजस्व विभागका सचिव उहाँले यस्तो समयमा कार्यभार सम्हाल्नुहुनेछ जतिबेला आर्थिक वृद्धि सुस्त भएपछि आरबिआईमाथि ब्याज दर घटाउन दबाब बढिरहेको छ ।

सेप्टेम्बरको त्रैमासिकमा भारतको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार भएको छ । यो आरबिआईको ७ प्रतिशतको अनुमानभन्दा करिब दुई वर्षको न्यून हो ।

यसका बावजुद केन्द्रीय बैंकको मौद्रिक नीति समितिले जारी मुद्रास्फीति जोखिमलाई उद्धृत गर्दै सन् २०२३ फेब्रुअरीदेखि ब्याज दर ६.५ प्रतिशतमा स्थिर राखेको छ ।

भारतको सेप्टेम्बर त्रैमासिकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्कले अनुमानलाई छाडेपछि सन् २०१८ मा पहिलो पटक आरबिआईको प्रमुखका रूपमा नियुक्त दासको भविष्यबारे स्थानीय मिडिया रिपोर्टहरूले पहिले नै अनुमान लगाएका थिए ।

“खाद्य मूल्यहरू बाहेक मुद्रास्फीतिलाई ध्यानमा राख्दै सरकारको धेरै क्षेत्रले कम ब्याज दरको आवश्यकतालाई उजागर गरेका छन्”, निर्मल ब्याङ इन्स्टिट्युशनल इक्विटिजकी विश्लेषक टेरेसा जोनले एक टिप्पणीमा भन्नुभयो ।

मल्होत्रा ‘वर्तमान सरकारी सोचसँग परिचित हुने र तिनीहरूका विचारहरूप्रति सहज हुने’ सम्भावना रहेको उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

काठमाडौँ, २४ मङ्सिर : काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ ।

महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले आज सो कार्यको औपचारिक उद्घाटन गर्नुभयो । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गर्नुभयो । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्याङ्कमा महानगरवासी सुसूचित हुने बताउनुभयो ।

यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २.५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ । पीएम २.५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरू हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।

यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सर जस्ता समस्या निम्त्याउँछ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन् । यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन् ।

‘स्वच्छ र सफा महानगर अनि स्वस्थ महानगरवासी’ को उद्देश्यलाई आत्मसात गर्दै महानगरपालिकाले वायुप्रदूषण नियन्त्रण र वातावरणीय सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसीजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो ।

विश्वका धनी तथा विकसित मुलुकहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा देउवाले उक्त अदालतमा नेपालको धारणा राखेकी हुन् ।

सो अदालतको सुनुवाइका क्रममा उनले नेपाल दोहोरो मारमा परेको दृष्टान्त पेस गर्दै भनिन्, ‘जलवायु परिवर्तनका कारकमा नेपालको योगदान अति नगण्य छ तर पनि अहिले हामी जलवायुजन्य सङ्कटसँग जुध्नका लागि आवश्यक स्रोतको अभाव झेलिरहेका छौँ । त्यसैले हामी दोहोरो मारमा परेका छौँ ।’

नेपालको भौगोलिक अवस्थिति र विकासको स्तरका कारण जलवायु परिवर्तनको प्रतिकुल असर देखिएको मात्र नभई नेपाल उच्च जोखिममा रहेको उनले बताइन् ।

नेपालका उच्च पहाड र हिमालहरुले प्राकृतिक रुपमा जलवायु सन्तुलन कायम गर्दै आएका तथा यहाँका नदीहरूको स्रोत हिमाल रहेको र यही नदी स्थानीय बासिन्दाको पानीको स्रोत रहेकामा अहिले तिनै हिमाल कालापत्थरमा परिणत भइरहँदा यो नै प्राकृतिक बिपत्तिको कारण बनेको उनले बताइन् ।

इसिमोडको हालैको एक अध्ययनले अहिलेकै अनुपातमा हिउँ पग्लिँदै जाने हो भने हिन्द कुश हिमालय क्षेत्रका हिमनदीहरुले यो शताब्दिको अन्त्यसम्ममा हाल विद्यमान अवस्थाको ८० प्रतिशतसम्म हिउँ गुमाउने देखाएको दृष्टान्त पेस गर्दै मन्त्री डा देउवाले यसका कारण उच्च पहाडी क्षेत्रहरुमा बाढीपहिरोका साथै अन्य पूर्वाधारसम्बन्धी समस्या थप बढ्ने खतरा रहेको बताइन् ।

उनले नेपालको संवेदनशीलतालाई सङ्केत गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ को अक्टोबरमा नेपालको संसदलाई सम्बोधन गर्दै नेपालले जलवायु सङ्कट ज्यादै नराम्रोसँग भोगिरहेको बताएको पनि मन्त्री डा देउवाले स्मरण गराइन् ।

उनले भनिन्, ‘हामीले यसै वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको सामना गर्नुपर्‍यो । नेपालमा भिषण बर्षा भयो र हामीले अकल्पनीय क्षति पनि व्यहोर्नुपर्यो । जसका कारण २५० भन्दा बढी मानिसको ज्यान गयो भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुग्यो ।’

नेपालले यसवर्ष धेरै मात्रामा जलवायुजन्य विपदहरूको सामना गर्नुपरिरहेको, बाढी पहिरोमा परेर ३०० जनाको ज्यान जानुका साथै पिउने पानी, सडक, ऊर्जा, सिँचाइ तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुग्दा देशमा एक अर्ब तीन करोड अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको जानकारी मन्त्री डा देउवाले सो अदालतसामु गराइन् ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरिरहेको यो अवस्था निकै नै अन्यायपूर्ण रहेको उनको तर्क थियो । उनले भनिन्, ‘यो अवस्था हेर्दा लाग्छ हामीले कहिल्यै नगरेको गल्तीको सजायँ भोग्दैछौँ, हामीले कहिल्यै नगरेको अपराधमा हामीलाई दोषी सावित गरिँदैछ ।’

नेपालको संविधानले स्वस्थ र स्वच्छ रूपमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको व्यवस्था गरेको स्मरण गराउँदै यसका लागि नेपालले जलवायु परिवर्तनका क्षेत्रका चुनौतीहरूको सामना गर्न सामूहिक प्रयासहरू जारी राखेको पनि उनले बताइन् ।

जलवायु न्यायको आशाका साथ नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रक्रिया र प्रतिबद्धताहरूलाई उच्च महत्वका साथ अगाडि बढाएको पनि उनले बताइन् । जलवायु परिवर्तनले गर्दा मानवीय जीवनका आधारभूत अधिकारहरू जस्तो कि खाद्य अधिकार, स्वास्थ्य अधिकार, आवासको अधिकार, सरसफाइ र पानीको अधिकार आदिको प्राप्ति र उपभोगमा पनि बाधा पुगिरहेको उनले बताइन् ।

त्यसैले नागरिकका यी मौलिक अधिकारको संरक्षण गर्न र विश्वका कार्बन उत्सर्जनमा बढी योगदान पुर्‍याइरहेका देशहरूको दायित्वको पूर्ण रूपमा कार्यान्वयन गर्न तथा नेपाललाई ती देशहरूबाट भौतिक, प्राविधिक र आर्थिक सहायता उपलब्ध गराउन आवश्यक रहेको मन्त्री डा देउवाको जोड थियो ।

यस अदालतको परामर्श सहितको रायले विशेषगरी जलवायु परिवर्तनका विषयमा राज्यहरूको दायित्वलाई थप उजागर गर्ने, राष्ट्रहरूले आफ्नो दायित्व उल्लङ्घन गरेका खण्डमा त्यसलाई बोध गराउने र नेपालजस्ता पीडित राष्ट्रहरूलाई जलवायु न्याय प्राप्त गर्न सघाउने भएकाले नेपालले पनि जलवायु न्यायका लागि अपिल गरेको उनको भनाइ थियो ।

उनको प्रतिनिधिमण्डलमा रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीले पनि सो सुनुवाईका क्रममा जलवायु परिवर्तनका क्षेत्रमा नेपालको अवस्था र व्यवस्थाको जानकारी गराउँदै नेपालले जलवायु न्याय प्राप्त गर्न पाउनुपर्ने तर्कहरू प्रस्तुत गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको आदेशअनुसार सो अदालतले अहिले विश्वका १०० भन्दा बढी देशसँग जलवायु न्यायका लागि सुनुवाइ गरी सुझावहरू लिइरहेको छ । सोही बमोजिम नेपालले पनि आज जलवायु न्याय माग्दै आफ्नो दाबी पेस गरेको हो ।

ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

काठमाडौँ, २४ मङ्सिर : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने बनाइएका मोटरसाइकल आज नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो । ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन् ।

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताउनुभयो ।

कांग्रेसद्वारा सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा मनोनित

काठमाडौँ, २४ मङ्सिरः नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनित गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गर्नुभएको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधनसहित) (सातौँ संशोधन २०८१)लाई परिमार्जनसहित पारित गरेको छ ।

अशान्त भारतीय राज्यमा जातीय द्वन्द्वपछि इन्टरनेट प्रतिबन्ध हटाइयो

घातक जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडप रोक्न ब्ल्याकआउटको आदेश दिइएको केही हप्तापछि सोमबार भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट पुनःस्थापित गरिएको थियो।

मणिपुरमा गएको वर्ष हिन्दू मेइतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच जातीय द्वन्द्व भड्किँदा २५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।त्यसबेलादेखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यको भूभागमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन् ।

यसअघि हिंसाबाट मुक्त भएको मणिपुरको एउटा भागमा गत महिना कम्तीमा १७ जनाको ज्यान गएको ताजा झडपले राज्यमा हालसालै लगाइएको धेरैवटा इन्टरनेट बन्द आदेशहरूलाई प्रेरित गरेको थियो ।हत्याबाट आक्रोशित प्रदर्शनकारीहरूले राज्यको राजधानी इम्फालमा राजनीतिज्ञहरूको घरमा आक्रमण गर्ने प्रयास गरेपछि र केही सम्पत्तिहरू तोडफोड गरेपछि त्यो आदेश आएको हो ।

स्थानीय सरकारले सोमबार नोभेम्बर १९ मा लगाइएको ‘इन्टरनेट र डाटा सेवाहरूको सबै प्रकारका अस्थायी निलम्बन’ हटाउन आदेश दिएको छ ।गत वर्ष हिंसाको प्रारम्भिक फैलावटको समयमा मणिपुरमा महिनाौँसम्म इन्टरनेट सेवाहरू बन्द गरिएको थियो । यसबाट सरकारी तथ्याङ्कअनुसार लगभग ६० हजार मानिसहरू आफ्नो घरबाट विस्थापित भएका थिए ।

जारी तनावका कारण राज्यका हजारौँ बासिन्दा अझै घर फर्कन असमर्थ छन् ।मेइतेई र कुकी समुदायहरू बीच लामो समयदेखि चलिरहेको तनाव भूमि र सार्वजनिक रोजगारीका लागि प्रतिस्पर्धासँग सम्बन्धित छन् ।

अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।मणिपुर राज्य प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीद्वारा शासित छ र ह्युमन राइट्स वाचले सरकारलाई ‘हिन्दू बहुसंख्यकवादलाई बढावा दिने विभाजनकारी नीतिहरू’ सहित द्वन्द्वलाई सुविधा प्रदान गरेको आरोप लगाएको छ ।

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको इजरायलको भनाइ

इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताउनुभएको छ । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।

“बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू रमपन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई निगरानी गरिरहेको भन्दै पत्रकार सम्मेलनमा सारले भन्नुभयो, “हामीले गरेका कदमहरू, हाम्रो एकमात्र सरोकार इजरायलको सुरक्षा र त्यहाँका नागरिकहरूको हो ।”

इजरायली मिडियाले शुक्रबार सेनाले सिरियामा रासायनिक हतियारको भण्डारमा आक्रमण गरेको रिपोर्ट गरेको छ ।
बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको बताएको छ ।

“पूर्व शासनको पतनको घोषणा भएको प्रारम्भिक घन्टादेखि नै इजरायलले जानाजानी हतियार र गोला बारुद भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो”, अब्जर्भेटरीले भन्यो।सोमबार एएफपीका तस्बिरहरूले दमास्कसको बाहिरी भागमा रहेको माजेह सैन्य विमानस्थलमा क्षति देखायो, जसमा नष्ट हेलिकप्टर र जेटहरू थिए । त्यहाँ इजरायली सेनाले नजिकैको हतियार भण्डारहरूमा आक्रमण गरेको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।इजरायलले सिरियामा व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्छ तर बारम्बार इरानलाई देशमा आफ्नो उपस्थिति विस्तार गर्न नदिने बताएको छ ।

इजरायलले शनिबार सिरियाको सिमानामा रहेको गोलान हाइट्स क्षेत्रको असैन्यीकृत बफर जोनमा पनि सेना पठाएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले ‘कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा आफूलाई स्थापित गर्न दिने छैन’ भन्नुभयो ।मन्त्री सारले सोमबार बफरको अधिग्रहण ‘सुरक्षा कारणका लागि हामीले लिएको सीमित र अस्थायी कदम’ भएको बताउनुभयो ।

पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ

फुङ्लिङ (ताप्लेजुङ) २४ मङ्सिर : ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्याङ्क १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचानामा उल्लेख गरको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो तथ्याङ्क चालू आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो ।  

तथ्याङ्कअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन् । उक्त वर्ष दुई लाख ८३ हजार नौ सय ४५ जना दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेको थियो । पछिल्ला केही वर्षमा दर्शनार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार नौ सय ६१ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्याङ्क रहेको छ । 

यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन् । उक्त वर्ष एक लाख एक हजार छ सय पाँच जना दर्शनार्थीले मन्दिर दर्शन गरेका थियो । कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ ।  

चालु आव २०८१/८२ को कात्तिक महिना मात्रै ६१ हजार एक सय ७३ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको थियो । असोज महिनामा भने पाँच हजार नौ सय ४९ जनाले मात्र मन्दिरको दर्शन गरेको थियो । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ ।  

क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा यो यात्रा श्रद्धालुहरूका लागि विशेष अनुभव बनेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् । काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ ।  

पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।

वर्तमान संविधान जोगाउने दायित्व कानुन व्यवसायी हो : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २४ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।

नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । 

संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गर्नुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताउनुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उहाँले न्याय क्षेत्रका बारेमा घनिभूत छलफल गरी विकृति र विसङ्गति हटाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो । “हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ, उहाँले भन्नुभयो, “बारले उठाएका माग गलत छैनन् ।” 

रास्वपा सभापति लामिछानेलाई पर्सा ल्याइयो

वीरगञ्ज (पर्सा), २४ मङ्सिर : सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा ल्याइएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो ।  प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याइएको हो ।

पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो । गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा ल्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले आज बेलुकीपख लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा ल्याइएको जानकारी दिनुभयो । “रास्वपाका सभापति लामिछानेलाई सानो पाइला सहकारीको विषयमा थप अनुसन्धानको लागि पर्सा जिल्ला ल्याइएको हो”, उहाँले भन्नुभयो, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजानेछौँ ।”

यसैबीचमा रास्वपाका सभापति लामिछानेलाई वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको जानकारी दिनुभयो । 

सरकारी वकिलको कार्यालयमा आज  जोशी र खनालको बयान कार्य भइरहेको छ । पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो । 

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।

अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सङ्गठितरूपमा सक्रिय हुन प्रधानमन्त्रीको आग्रह

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

एमालेको झापा जिल्ला कमिटीले सोमबार बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूणर् आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिएका हुन् ।

पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरूपमा उच्च नैतिकता कायम गनुपर्नेमा विशेष जोड दिँदै प्रधानमन्त्री ओलीले भने, “हामी देशका लागि केही गर्छौं, परिवर्तन गर्छौं, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ । यो काम एमालेले मात्रै गर्न सक्छ । अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।”

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्वीकार्ने नमुना पार्टीका रूपमा एमालेलाई विकसित गर्नुपर्ने बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिकरूपमा टिप्पणी नगर्न आग्रह गरे ।

‘बीआरआइबाट देशलाई लाभ हुन्छ’

प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउँदै हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएकोे स्पष्ट गरे ।

“अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ । विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । हामीले ऋण लिएर खुरूखुरू घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ,” प्रधानमन्त्री ओलीले भने, “कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ । बिआरआईलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ । हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ ।”

पार्टी छाड्ने र निष्क्रिय हुने प्रवित्ति बढ्यो : उपाध्यक्ष ज्ञवाली

भद्रपुर (झापा), २४ मङ्सिर : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको उल्लेख गर्नुभयो । उहाँले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिनुभयो ।

‘पत्रकार महासंघको गरिमा जोगाउँछौं, विधि विधानमा चलाउँछौं’

काठमाडौं । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको दावी गरिन् ।

उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्याउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताइन । उनले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथी कुन्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताइन् ।

उनले भनिन् , ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० बर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुर्याउनको लागि धेरै योगदान गरेको छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’

साथै उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसंग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर भएको सच्चा श्रमजीवि पत्रकार भएको बताइन् ।

त्यस्तै, महासचिवका उम्मेदवार रामप्रसाद दाहालले पत्रकार महासंघ नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीव पत्रकारको अविभावकत्व लिने संस्था एवम लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको गरिमा जोगाउन आफू मैदानमा उत्रिएको बताए ।

‘मुलुकलाई कहिंकतैबाट अप्ठ्यारो प¥यो या मिडियाको उपभोक्ताहरु नागरिकको अधिकार खोस्ने कतै प्रयास भयो भने यसले डटेर सामना गर्ने नागरिक अगुवा संस्था हो । तर पछिल्लो समय संस्थामाथि वा गरिमामा प्रश्नहरु उठ्न थालेका छन् । ती प्रश्नहरुको निवारणका लागि राम्रो नेतृत्व आवश्यक छ,’ उनले अगाडि भने,‘अहिले विभिन्न तहका सरकारले आफुखुसी नीति नियम बनाउन थालेका छन् । प्रेस स्वतन्त्रलाई संकुचन गर्ने खालका कानुन बनाउने काम भइरहेको छ । त्यसलाई धेरै ठूलो शक्तिले मात्र चिर्न सक्छ । त्यसको लागि नै उम्मेद्वारी हो ।’

रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले आफू डेढ दशक बढी मिडिया आन्दोलनमा होमिएको र श्रमजीविका मुद्दाहरुमा नयाँ नजिर स्थापित गरेको व्यक्ति भएकाले महासंघलाई अन्तर्राष्ट्रिय ट्रेन्डमा हिडाउन चाहेको उल्लेख गरे ।

दाहालले नेपालमा नयाँ मिडियाका कारणले पनि मिडियाको अवस्था दयनीय भएको जनाउँदै त्यसका लागि नीतिगत व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरे । ‘नयाँ मिडियाका कारण विभिन्न चुनौतीहरु देखिएका छन् । त्यसैले अब स्मार्ट महासंघ आवश्यक छ,’ उनले भने ।

समयमै महाधिवेशन नहुँदा र विधि विधान अनुसार नचल्दा पत्रकार महासंघमाथि अनास्था बढेको उनको भनाइ छ । ‘समयमै अधिवेशन भएन । संस्थाको गरिमा खस्कियो । त्यसैले अब महासंघलाई विधि विधानतर्फ फर्काउने बेला आएको छ । यसका लागि आफू योग्य छु जस्तो लाग्छ,’ उनले भने, ‘म सम्भावनाहरुमा टेकेर चुनौतीहरु पार गर्न सकिन्छ भन्नेमा कटिबद्ध छु । पत्रकारिताको राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेन्डसँगै महासंघलाई लैजाने बेला भएको छ । यसकै लागि मेरो उम्मेदवारी हो । देशभरका श्रमजीवि पत्रकारहरु खुशी हुनेगरी काम गर्ने विश्वास दिलाउँछु ।’

नेपाल पत्रकार महासंघको २७ औं निर्वाचनमार्फत नयाँ नेतृत्वका लागि दुईवटा समूह मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलमा शर्माले नेतृत्व गरेकी छन् भने । रमेश विष्टको नेतृत्वमा अर्को प्यानल मैदानमा छ ।

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

काठमाडौं, २४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गर्नुभएको छ ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ । 

“संस्थापक नेताले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सकृयताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ”, उपराष्ट्रपतिले यादवले भन्नुभयो ।

उहाँले  सार्कका महत्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९ औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको महत्वबारे उल्लेख गर्नुभएको थियो । सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

“लोकतान्त्रिक प्रणाली, सुशासन र मानवअधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।”

सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’को लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्क राष्ट्रहरु सम्पन्न हुन साझा प्रयास जरुरी छ ।”