`

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’, उपचार के हो ?

काठमाडौँ, २७ मङ्सिर : के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उहाँ भन्नुहुन्छ, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला !”

आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ । “पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ”, तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापित भन्नुहुन्छ, “रेटिनोब्लाष्टोमाको समयमा उपचार नहुँदा आँखाको ज्योतिमात्र गुम्दैन यसले बालबालिकाको मृत्युको जोखिमसमेत बढाउछ ।”

प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्न सके यो रोग फैलिनबाट बचाउन सकिने उहाँको भनाइ छ । “आँखामा ट्युमर विकास हुनुअघि नै यसको पहिचान हुनुपर्छ । यसबारे अभिभावक सुरुदेखि नै सचेत हुनुपर्छ ”, डा स्थापितको सुझाव छ ।

विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमाको समस्या हुने गर्छ । धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यो समस्या देखिने गरेको चिकित्सहरूले बताउने गरेका छन् । डेढ वर्षको उमेर समूहका बालबालिकामा यो समस्या बढि देखिने गरेको डा स्थापितले जानकारी दिनुभयो । उहाँका अनुसार तिलगंगा आखाँ प्रतिष्ठानमा मात्रै वार्षिक ५० जना यस्ता नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये मधेश प्रदेशका सिरहा र सर्लाहीबाट आउने बिरामी धेरै छन् । “नेपालमा आँखा परीक्षण गर्ने चलन छैन । कतिपय बालबालिकालाई जन्मदै आँखामा यो समस्या हुन सक्छ । त्यसैले समयमै आफ्नो बालबालिको आँखा स्वास्थ्यबारे ख्याल गरौँ”, डा स्थापित भन्नुहुन्छ ।

विकशित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।

उपचार के हो ?

रेटिनोब्लास्टोमाको उपचार शल्यक्रियाबाट हुन्छ । डा स्थापितले शल्यक्रियाबाट ट्युमरको उपचारका साथै अवस्थाअनुसार किमो थेरापी र रेडियसन पनि आवश्यक हुने बताउनुभयो । शल्यक्रियाबाट नक्कली आँखा प्रत्यारोपणसमेत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । “आँखा र दृष्टि दुवै बचाउनका लागि समयमा पहिचान हुनु अनिवार्य छ, अस्पताल छिटो आउनुपर्‍यो । रोग लागिसकेपछि लेजर पद्धतिबाट शल्यक्रिया गरिन्छ । यसको उपचार लगातार दुई तीन वर्षसम्म गरिरहनुपर्ने हुन्छ”, डा स्थापित भन्नुहुन्छ ।

यस रोगबारे पर्याप्त जनचेतना नहुनु र कमजोर आर्थिक अवस्थाका कारण पनि बिरामीले समयमै पहिचान र उपचार पाउन नसकेको नेत्र रोग विशेषज्ञहरू बताउछन् ।

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’ – र्‍यापर गिरिस खतिवडा

काठमाडौँ, २६ मङ्सिरः नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्‍यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ ।

पछिल्लो समय नेपाली र्‍याप र र्‍यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्‍यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ ।

र्‍यापर गिरिस खतिवडा पछिल्लो समय र्‍यापको सुनौलो समय आएको बताउनुहुन्छ । “हामी कलाकारको लागि र्‍याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत पनि चिन्ने गरेको छु”, उहाँले भन्नुभयो ।

खतिवडाले आफूले र्‍यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउनुहुन्छ । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उहाँको बुझाइ छ ।

अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताउनुभयो । “हामीले र्‍यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्‍याप अहिले पेसा बनिसकेको छ । अहिले र्‍याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रूपमा पाएको उहाँले बताउनुभयो । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्‍यापर ।

यद्यपि र्‍यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्‍यापर हाकिमले बताउनुभयो । “र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हँुदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नुहुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्‍यापर हुन् । किनकि र्‍यापमा बेदना, भोगाई र बुझाइ हुन्छ”, उहाँ भन्नुहुन्छ ।

र्‍यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्‍यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहनुभएका उहाँले नवोदितको पीडा राम्रोसँग बुझेको बताउनुभयो ।

“मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि ¥यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्‍यापमा देखिएको पनि हुन् सक्छ”, गायक श्रेष्ठले भन्नुभयो । उहाँ केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानुभएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय हुनुभएको छ । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउनुहुन्छ ।

हाल र्‍यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्‍यापर खतिवडाको धारणा छ । “हामीले र्‍याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्‍यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु”, उहाँले भन्नुभयो ।

र्‍यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउनुहुन्छ । “हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ”, उहाँले भन्नुभयो ।

र्‍यापर हाकिमले ‘जी–बब’जस्ता र्‍यापर ‘रियालिटी शो’मार्फत नै आएको बताउनुभयो । उहाँसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्‍यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उहाँले देख्नुभएको छ ।

“अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्‍यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्‍यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छु”, र्‍यापर हाकिमले भन्नुभयो ।

उहाँको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उहाँले स्मरण गर्नुभयो । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ । “अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्‍याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्‍याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्‍यापका लागि राम्रो देखिएको छ”, र्‍यापर हाकिमले भन्नुभयो ।

र्‍यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उहाँहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्नुहुन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५३ रुपैया ९८ पैसा रहेको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैया ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा कायम गरेको छ । यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ७९ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौँ, २६ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सो समारोहमा यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सिरियामा फसेका पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुग्यो

सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् । यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री सेहबाज सरिफले सोमबार सिरियाबाट छिमेकी देशहरू हुँदै फर्कन चाहने पाकिस्तानीहरूलाई द्रुत र सुरक्षित निकासीका लागि कार्य योजना तयार गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो । सिरियाले जारी राजनीतिक अस्थिरता र द्वन्द्वका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । यसले त्यहाँका बासिन्दा र विदेशी नागरिकहरूलाई सुरक्षा जोखिमहरू खडा गरेको छ ।

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

काठमाडौँ, २६ मङ्सिर : नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गर्नुभएको हो ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोेजिम गठन गरिएको उक्त समितिले  महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।  

त्यसैगरी नेपाल महिला सङ्घको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासङ्घको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरुमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

नेपाल भूतपूर्व सैनिक सङ्घको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरुमा उमेशजङ्ग रायमाझी र गणेश लामा रहनुभएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू सङ्घको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी हुनुहुन्छ ।

यस्तै, नेपाल प्रजातन्त्र सेनानी सङ्घको निर्देशन समितिको संयोजकमा प्रा डा गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

मानव बेचबिखनमा वृद्धि : राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ लागूऔषध तथा अपराध कार्यालय (युएनओडीसी) द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकहरूलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।

विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको सङ्ख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको सङ्ख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको सङ्ख्या ३८ प्रतिशतले बढेको छ ।

एक सय ५६ देशको तथ्याङ्कको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।

युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितहरूलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकाहरूलाई सहयोग बढाउन आह्वान गर्नुभयो ।

शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह

पाँचथर, २६ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताउनुभएको छ ।

विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । पठनपाठन प्रभावकारी हुन नसक्दा विद्यार्थी अनुत्तीर्ण हुने गरेको पाइएको बताउँदै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गर्नुभयो । तेह्रथुमको आठराई गाउँपालिका–४ इवा आफूले कक्षा ४ सम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधार अनिवार्य भएको बताउनुभयो ।

आफू प्रधानमन्त्रीमा नरहँदा विकास निर्माणका कार्य रोकिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिन, स्थिर राजनीतिक वातावरण बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको बताउनुभयो । उहाँले सरकारले विकास निर्माणमा अवरूद्ध योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित प्रणामी माध्यमिक विद्यालयको १८ कोठे भवनको उद्घाटन गर्नुभएको हो । उक्त भवन हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रू चार करोड ४९ लाख ६० हजार, कोसी प्रदेश सरकारले रू २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रू ६९ लाख लगानी गरेका छन् । प्रणामी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता गुरूङ, कोसी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको समेत उपस्थिति थियो ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

बेन्जाओ (चीन), २६ मङ्सिर : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।

चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीनमैत्री सङ्घको सहकार्यमा हिमशृङ्खलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आजदेखि सुरु भएको हो ।

उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटा पत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरहरूमा एक महिनासम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

 प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्त आइपुगेको हो । 

उक्त प्रदर्शनीको सुरुवात सान्तोङ प्रोभिन्सका पूर्वउपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)र विन्जाओ फोटोग्राफर एसोसियसनबीच सांस्कृतिक तथा व्यावसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको ‘वान बेल्ट वान रोड’को अवधारणालाई पनि सहयोग पुग्ने बताउनुभयो ।

 एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’ – नेपाल धितोपत्र बोर्ड

काठमाडौँ, २६ मङ्सिर : नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आज आयोजित स्वागत कार्यक्रमा उहाँले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गर्नुभयो ।

“अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ”, उहाँले भन्नुभयो । उहाँले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरेरहेको जानकारी दिनुभयो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चार वटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताउनुभयो । “पुँजीबजारको विकासका लागि यी सबै संस्थाबीच सहकार्य र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो, “धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उहाँको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ ।” पुँजीबजार क्षेत्रका यी तीन वटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा एतिहासिक काम गर्ने जिम्मेवारी आएको उहाँको भनाइ थियो ।

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गर्नुभयो । धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उहाँको भनाइ थियो । पुँजीबजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर सङ्घ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । “पुँजीबजारका लगानीकर्ताको मनोवल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ”, उहाँले भन्नुभयो, “यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ ।”

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विभिन्न सङ्घ संस्थाका नवनियुक्त तथा नवनिर्वाचित पदाधिकारिलाई बधाई दिँदै पुँजी बजारलाई चलायमान बनाउन र देखिएका समस्या समाधान गर्नका लागि शुभकामना दिनुभयो ।

‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’ – जनसङ्ख्या मन्त्रालय

काठमाडौँ, २६ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा जनसङ्ख्या घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार ३४ जिल्ला र तीन सय १९ तहमा जनसङ्ख्या ऋणात्मक रहेकाले बढ्दो असन्तुलनलाई कम गर्न राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको हो ।

नीतिगत परिमार्जनका लागि स्थानीय सरकारको पनि जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “आफ्नो पालिकाभित्र जनसङ्ख्या किन घट्यो भनेर पालिकाले पनि सोच्नु जरुरी छ ।” प्रजनन दर ऋणात्मक हुने अवस्थामा त्यसको असर जनसाङ्ख्यिक विकासमा पर्ने उहाँको भनाइ थियो ।

उहाँले सहरी क्षेत्रमा बढ्दो बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या वृद्धि भएकाले रोजगारी र आर्थिक अवसर प्रमुख समस्याका रुपमा देखा परेकाले नीतिगत सुधारका लागि ऐन परिमार्जन गरिने धारणा राख्नुभयो ।

मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संशोधनका लागि संसद्मा लैजाने गरी परामर्श गरिरहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौँ, २६ मङ्सिरः जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”

गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।

अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भन्नुभयो,“दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।”

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए ।

उहाँ वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए । प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दावी गरेको छ । तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो ।

‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’: मन्त्री शाही

काठमाडौँ, २६ मङ्सिर : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रुपमा रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गर्नुभयो । मन्त्री शाहीले भन्नुभयो, “हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम र दिगो विकासका चुनौती हुन्, यी सबै चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।”

पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रसंशनीय रहेको उहाँको भनाइ थियो । “सामुदायिक वनमा हामीले प्राप्त गरेको सफलता, जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र योगदान आज अन्य देशहरुका लागि प्रेरणाका स्रोत भएका छन्”, उहाँले भन्नुभयो ।

मन्त्री शाहीले बसाइँसराइले गर्दा वन माथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने बताउनुभयो ।

“नेपालका हिमाल नेपालीका श्रीपेचको रुपमा छन्, हिमालले उत्पादन गरेको सफा पानी र स्वच्छ हावा अन्तर्राष्ट्रिय समुदायका सार्वजनिक सम्पत्ति हुन्”, उहाँले भन्नुभयो, “हिमालहरु हाम्रो गौरव मात्र होइनन्, पारिस्थितिकीय, सांस्कृतिक र आर्थिक पहिचानको आधार पनि हुन् ।”

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले नेपालका हिमालहरू वनस्पति र वन्यजन्तुहरूको भण्डारण भएको उल्लेख गर्दै मूल्यवान जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेकामा जोड दिनुभयो ।

“हाम्रा हिमाल जलवायु परिवर्तनको उच्च जोखिमा परेको तथ्य जगजाहेर छ । छिटोछिटो हिउँ पग्लिँदा सेता हिमाल काला पहाडमा परिणत भएका छन्”, राज्यमन्त्री विकले भन्नुभयो, “यी चुनौतीहरूको सम्बोधनका लागि प्रकृतिमा आधारित समाधानहरूको खोजी गरी जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायको साथ सहयोग चाहिन्छ ।”

कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास, आर्थिक सहायता तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुशुमदेवी थापा, राष्ट्रियसभा सांसद अन्जना शाक्य, वनसचिव डा दीपककुमार खराल, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर हाम्दी, इसिमोडका महानिर्देशक डा पेमा ग्याम्च्यो लगायतले जीवनलाई दिगो बनाउन हिमालको भूमिका बारेमा प्रकाश पारेका थिए ।

पाकिस्तानको उर्जा पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी) ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको उर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ । पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण कम्पनीहरूको क्षमता सुधार गर्न उक्त ऋण स्वीकृत गरिएको हो ।

एडीबीको विद्युत वितरण सुदृढीकरण परियोजनाले देशको द्रुत रूपमा बढ्दो बिजुलीको माग पूरा गर्न वितरण प्रणालीको स्तरोन्नति र आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ ।

यस परियोजनाले महत्वपूर्ण ऊर्जा घाटा घटाउने तथा जलवायु परिवर्तन र विपद् सम्बन्धी जोखिमहरू विरुद्ध पूर्वाधारको लचिलोपन बढाउने बैङ्कले जनाएको छ ।

एडीबीले देशका तीन प्रमुख वितरण कम्पनीहरूमा कम्तीमा अनलाइन ट्रान्सफर्मर कार्यसम्पादन अनुगमन प्रणाली स्थापना गर्न आर्थिक सहयोग गर्ने जनाएको छ ।

कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा

काठमाडौँ, २६ मङ्सिरः विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ ।

आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो । सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानअध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिनुभयो । जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताउनुभयो । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन् ।

यस विधिले लाखौँ बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पु¥याउँदै उनीहरूलाई स्वतन्त्ररूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ । कुमोन आइजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गर्नुभयो । यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने जनाउनुभयो ।

कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा सकारात्मक परिवर्तन देखा परको बताउनुभयो ।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कैलालीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

सुदूरपश्चिम, २६ मङ्सिरः कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग

महोत्तरी, २६ मङ्सिरः बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

प्रतिष्ठानको सहयोगमा ३३ जना चारवर्षे र २४ जना तीनवर्षे प्राविधिक डिप्लोमा एवं नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् । आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीय विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी सोही वर्षदेखि विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो ।

यसैगरी बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेसन स्थापना गरेर सोही वर्षदेखि सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नाका साथै २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । हालसम्म उक्त संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । हालसम्म उक्त बैंकबाट छ जना लाभान्वित भएका छन् ।

टर्कीले सिरियालाई फेरि विभाजन हुन दिने छैन : एर्दोआन

टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले मङ्गलबार सिरियालाई फेरि कहिल्यै विभाजित हुन दिइन नहुने भन्दै टर्कीले आफ्नो क्षेत्रलाई खतरा पार्ने कुनै पनि व्यक्तिविरुद्ध कारबाही गर्ने बताउनुभएको छ ।

“अबदेखि हामी सिरियालाई फेरि विभाजित हुन दिन सक्दैनौँ... सिरियाली जनताको स्वतन्त्रता, नयाँ प्रशासनको स्थिरता र यसको भूमिको अखण्डतामाथि कुनै पनि आक्रमण भए हामी त्यसका विरुद्धमा उभिनेछौँ” उहाँले भन्नुभयो ।

सिरियाको ‘क्षेत्रीय अखण्डता’ का लागि आफ्नो समर्थन दोहोर्याउँदै असदको निष्कासनपछि गोलान हाइट्समा संयुक्त राष्ट्रद्वारा नियन्त्रित बफर जोनमा इजरायली सेना प्रवेश गरेपछि टर्कीको विदेश मन्त्रालयले यसअघि इजरायलको निन्दा गरेको थियो ।

“सिरियाली जनताले धेरै वर्षदेखि चाहेको शान्ति र स्थिरता प्राप्त गर्ने सम्भावना देखा परेको यो संवेदनशील अवधिमा इजरायलले फेरि एक पटक आफ्नो कब्जा गर्ने मानसिकता प्रदर्शन गरिरहेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

गोलान हाइट्स सिरियाको दक्षिणपश्चिमी किनारमा रहेको पहाडी पठार हो । यसको अधिकांश भाग सन् १९६७ को छ दिने युद्धको समयमा इजरायलले कब्जा गरेको थियो र पछि सामेल गरेको थियो ।

गोलान हाइट्सलाई सिरियाली पक्षबाट संयुक्त राष्ट्र–नियन्त्रित बफर जोनद्वारा अलग गरिएको छ । यहाँ इजरायली सेना सप्ताहन्तमा प्रवेश गरेको थियो ।

इजरायलका शीर्ष कूटनीतिज्ञ गिडियन सारले ‘सुरक्षा कारण’ का लागि यो कदम ‘सीमित र अस्थायी कदम’ भएको बताउनुभयो ।

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

काठमाडौँ, २६ मङ्सिरः नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि यहाँ अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

समाजका अध्यक्ष डा पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

उहाँले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गाैला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिनुभयो । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।

नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मूल्याङ्कन प्रणाली नहुँदा चोरी–तस्करी बढ्दो

वीरगञ्ज (पर्सा), २६ मङ्सिरः नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् ।

वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् ।

भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् । पर्सास्थित सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको प्रथम चार महिनामा भन्सार छलेर भित्र्याइएका रु १५ करोड १८ लाखका सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बरामद गरेका सामग्रीमा लत्ताकपडा, विद्युतीय सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किराना सामान अधिक छन् । सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान पनि बरामद भएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सीमावर्ती सहरमा भारतले लागू गरेको जिएसटी र नेपालको भन्सार महसुलबीच एकरुपता नहुँदा अवैध निकासी र पैठारीका नियन्त्रणमा हुन नसकेको बताउनुभयो ।

“हाल हाम्रो देशमा निकासी र पैठारीमा अवैध अर्थतन्त्रले प्रश्रय पाइरहेको छ । अत्यधिक भन्सार महसुल लाग्ने वस्तुको भारतीय र नेपाली बजार मूल्यमा धेरैको फरक हुनुले पनि अवैध रूपमा निकासी र पैठारी हुने गरेको हो”, उहाँले भन्नुभयो, “अत्यधिक भन्सार महसुल र दैनिक उपभोग्य एक सय वस्तुको पहिचान गरी भारतीय मूल्य जिएसटीसहित तथा नेपाली मूल्यमा एकरूपता दिएमा निकासी पैठारी घटाउन सकिन्थ्यो । यसले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न मद्दत पुग्थ्यो ।”

देशको भन्सार मूल्याङ्कन प्रणालीले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेको बिलबिजकलाई समेत मान्यता नदिँदा व्यवसायी मर्कामा परेका छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष गौतमले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेका बिलबिजकलाई पनि मान्यता दिन ढिलाइ गर्न नहुने बताउनुभयो । “आयातित वस्तुको भन्सार मूल्याङ्कनका क्रममा प्रतिष्ठित कम्पनीको बिलबिजकमा ‘अङ्कित मूल्य’ भारत सरकारको आधिकारिक बिलका साथै भारतीय भन्सारले जारी गरेको ‘बिल अफ एक्पोर्ट’लाई आधार बनाएर भन्सार मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकिएमा अवैध रुपमा हुँदै आएको निकारी –पैठारीलाई धेरै हदसम्म घटाउन सकिन्थ्यो”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष गौतमले हाल भन्सार विभागले कार्यान्वयनमा ल्याएको भन्सार मूल्याङ्कनको सन्दर्भ मूल्य पुस्तिकालाई पनि व्यवस्थित गर्न जरुरी भइसकेको बताउनुभयो । “भन्सार मूल्याङ्कनको प्रमुख आधार भन्सार सन्दर्भ मूल्य पुस्तिका नै रहेको पाइन्छ । आयातकर्ताले सन्दर्भ मूल्यपुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सारले जरिवाना लिने गरेको छ”, उहाँले भन्नुभयो, “आव २०८०/८१ को बजेटमा अन्तःशुल्कमा पनि जरिवानम लिने प्रावधान रहेकाले पनि त्यसबाट जोगिन आयातकर्ताले सन्दर्भ पुस्तिकाभन्दा बढी मूल्य बिलबिजक पेस गर्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।”

पर्सा प्रहरीले आव २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएको सामान बरामद गरेको थियो । सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको थियो । गत आवमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट मात्र रु ८७ करोड ७४ लाख मूल्य पर्ने अवैध वस्तु तथा सामान बरामद गरेको थियो । अनौपचारिक ढङ्गबाट आएका सामानको भने कुनै विवरण नै छैन ।

सीमा क्षेत्रमा चोरी तस्करीका गतिविधि बढेसँगै वीरगञ्जका दुई ठूला भन्सार कार्यालयको राजस्व सङ्कलन पनि अपेक्षाकृतसुधार हुनसकेको छैन । वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार (६४ दशमलव एक प्रतिशत) मात्र राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकोसुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । भन्सार विभागले गत आवमा सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले वार्षिक लक्ष्यको रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार (७१ दशमलव ७५ प्रतिशत) राजस्व सङ्कलन गरेको छ ।

सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सार मूल्याङ्कन पुस्तिका खारेज नभएकाले पनि अनौपचारिक अर्थतन्त्रले प्रश्रय लिँदै आइरहेको दाबी गर्नुभयो । “जुन खालको भन्सार मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यसले औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रलाई बल मिलेको छ । यसलाई सुधार्न जरुरी छ ।”

प्रमुख भन्सार प्रशासक दीपक लामिछाने केही दिनअघि आयोजित राजस्व चुहावट नियन्त्रणसम्बन्धी कार्यक्रममा आयातकर्ताले पनि अन्तरराष्ट्रिय प्रावधान अनुसार हार्मोनाइज्ड सिस्टम ‘एचएस कोड’ को पालना गर्दै मालसामान आयात नगर्दा केही प्राविधिक समस्या आएको बताउनुहुन्छ । “मुलुकको राजस्वको मुख्य आधार नै आयातमुखी छ । आयात घट्दा राजस्व सङ्कलन पनि घटेको छ”, उहाँले भन्नुभयो, “हामी उद्योगी–व्यवसायीका सहजकर्ता हाँै, उहाँहरूका सामानलाई सहज ढङ्गले आयात–निर्यात गराउनेतर्फ हाम्रनो ध्यान सधै केन्द्रित छ ।”

एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, २६ मङ्सिरः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

एक्काइस वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ), २६ मङ्सिरः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।

काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।

चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।

म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

गलेश्वर (म्याग्दी), २६ मङ्सिरः बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो ।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर ढलान गरिने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ । सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ ।

उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

मङ्सिर अन्तिम मङ्गलबार थानीमाइमा ३८ फूलको डोली, पॉच हजार भक्तजन

दमौली (तनहुँ), २६ मङ्सिरः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार आज ३८ फूलको डोली भित्रिएको छ । तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले त्यसक्रममा पॉच हजार २८ भक्तजनले मन्दिरमा पूजाआजा गरेको जानकारी दिनुभयो । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या दुई सय सात रहेको थियो ।

मङ्सिरको पहिलो मङ्गलबार ४३ र तेस्रो मङ्गलबार २६ फूलको डोली भित्रिएको थियो । दोस्रो मङ्गलबार भने एकादशी परेका कारण फूलको डोली भित्रिएको थिएन । 

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । 

मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । 

बाजागाजा र ध्वजापताकासहित थानीमाइको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाइ मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । 

समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो । विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् ।

यस वर्षको पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

गलकोट (बागलुङ) २६ मङ्सिरः यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।

एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । 
जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो । 

यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।  

ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ । 
ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ । 

उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो । 

सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । 

    र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । 
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् । विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

मार्गशीर्ष शुक्ल (मोक्षदा) एकादशी: गीता जयन्ती मनाइँदै

काठमाडौँ, २६ मङ्सिर : वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिनुभएको हो ।

 कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

 “त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो”, उहाँले भन्नुभयो । 

चार वेदका एक हजार एक सय ३१ शाखामध्ये हाल १२ वटा मात्र अस्तित्वमा रही अरु लोप भए जस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो । 

 “ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका एक सय एक शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखा मात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ । विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठ लगायत कार्यक्रम समेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २६ मङ्सिर: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०२ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २२ पैसा तोकिएको छ ।

   राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५९ रूपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ६२ पैसा, बढेको ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ८७ पैसा, बिक्रीदर तीन सय ५३ रूपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै,  भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

   राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन

काठमाडौँ, २६ मङ्सिरः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मङ्गलबार भने चितवन राइनोजलाई पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । एनपिएलमा ४ खेलमै चारै खेल हारेर शून्य अङ्कसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौँ खेलमा सफलता हात पारेपछि अहिले अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

रोहितको अलराउण्डर प्रदर्शन

लुम्बिनीले ५ खेलमा ४ खेलमा हारे कप्तान पौडेलले भने हारेनन् । उनले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल भए । एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किङ्गसको सामना ग¥यो । विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो । उनले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल भए । यद्यपि, उनले विराटनगरविरुद्ध बलिङ भने गरेनन् ।

लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो । पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो । उनले पोखराविरुद्ध एक्लैले ९५ रन बनाए । ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल भए ।

उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका थिए । यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाएपछि उनको रेकर्ड तोडिएको थियो ।

लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो । उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाएर आउट भए बलिङतर्फ एक विकेट हात पारेका थिए । रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२ रन मात्रै खर्चिएका थिए ।

चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो । उनले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारेका थिए ।

लुम्बिनीले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बने । उनले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाए ।

चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाए । ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल भएको हो ।

बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिए । यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित कल्पना गर्न सकिँदैन ।

एनपिएलमा सबैभन्दा धेरै रन रोहित नाममा

जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्, कप्तान रोहित । उनले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाएका छन् ।

रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गरेका छन् । साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा छन् ।

धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा छन् । उनले जारी एनपिएलमा एक सय ६९ रन बनाएका छन् । एनपिएलमा एक सय ८९ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा छन् ।

सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित

लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताउनुभएको छ । मङ्गलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताउनुभयो । उहाँले समय राम्रो चलिरहेको जिकिर गर्नुभयो ।

“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो, “समय राम्रो चलिरहेको छ । गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु ।”

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौँ, २६ मङ्सिरः काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका उपप्रधान एवं विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २५ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो ।

लक्जमबर्ग सिटीस्थित उहाँको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा उहाँहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको बृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो । नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराउनुभएको थियो । उहाँहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गर्नुभएको थियो । मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गर्नुभएको थियो ।

नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा देउवाले बताउनुभएको थियो । सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभयो । साथै उहाँले नेपालले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गर्नुभएको थियो । नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

युक्रेन शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने पोल्यान्डका प्रधानमन्त्रीको भनाइ

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताउनुभएको छ ।

आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहनुभएका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै हुनुहुन्छ । उहाँले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गर्नुभयो ।

उहाँले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्यान्डमा स्वागत गर्ने बताउनुभयो ।

“हाम्रो (इयु) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह–जिम्मेवार हुनेछ र सायद (शान्ति) वार्ताको अवस्था कस्तो हुनेछ जुन यही हिउँदमा सुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्”, टस्कले पत्रकारहरूलाई भन्नुभयो, “आज मैले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग यस विषयमा कुरा गर्ने मौका पाउनेछु ।”

करिब तीन वर्षअघि रुसले आक्रमण गरेदेखि पोल्यान्ड युक्रेनको बलियो समर्थक बनेको छ ।इयु र नाटो सदस्यहरूले किएभलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा काम गर्छन् ।

टस्कले भन्नुभयो, “म्याक्रोन पर्सि सहरमा हुनुहुनेछ । उहाँ हामीलाई पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहनुहुन्छ ।”

म्याक्रोन, जेलेन्स्की र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शनिबार पेरिसमा त्रि–पक्षीय बैठक गर्नुभएको थियो । उक्त बैठकलाई टस्कले ‘छोटो तर महत्त्वपूर्ण’ भन्नुभयो ।

फेब्रुअरीमा चुनावअघि जनमत सर्वेक्षणमा शीर्ष स्थान ओगट्नुभएका जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि किएभको भ्रमणपछि पोल्यान्ड आउनुहुने टस्कले जानकारी दिनुभयो ।

उहाँले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग ‘निरन्तर सम्पर्कमा’ रहेको बताउनुभयो । ती सहयोगीहरूले ‘पोल्यान्ड र पोल्यान्डको (इयु) अध्यक्षतामा युक्रेन र रुसबीच शान्ति–निर्माणका लागि नेतृत्वदायी भूमिका’ देखेका छन्

“मैले स्विडेनका प्रधानमन्त्रीसँग कुरा गरेँ र केही घन्टामै एस्टोनियाका प्रधानमन्त्री यहाँ वार्सामा हुनुहुनेछ”, टस्कले भन्नुभयो ।

भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख रकमसहित चिनियाँ पक्राउ

काठमाडौँ, २५ मङ्सिर : प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रू १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाल बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, रू १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ । 

नौ जुवाडे पक्राउ

काठमाडौँको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जुवाडे पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, सात सय अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो । 

आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज उहाँले विसं २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका माओवादी एक्लैले जितेको बताउँदै जनतासँग साथमा रह्यौँ भने पार्टीलाई विश्वास गर्ने वातावरण सिर्जना हुने उहाँको भनाए थियो । अब जितेको पालिकामा नमूनायोग्य काम गरेर जनताको विश्वास जित्ने गरी काममा लाग्न उपमहासचिव पुनले आग्रह गर्नुभयो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ, २५ मङ्सिर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् ।

एनसिबि अवुधावी युएईको समन्वयमा त्यहाँ पक्राउ परेका रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो ।

यसैगरी प्रहरीले घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टीकाराम तामाङ रहेका छन् ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मस्र्याङ्दी गाउँपालिका र टीकारामलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

उनीहरूले पीडितलाई ‘फ्रि भिषा फ्रि टिकट’ मा कुवेतमा मासिक एक सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पु¥याई नौ सय केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति

गण्डकी, २५ मङ्सिर : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १० दशमलव ०१ प्रतिशत वित्तीय र १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आफू नेतृत्वको मन्त्रालयका एक सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो विषय जानकारी दिनुुभएको हो । उहाँले आफू नेतृत्वको मन्त्रालयको एक सय दिनका विभिन्न एक सय उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गर्नुभएको छ ।

यस अवधिमा भएको वित्तीय तथा भौतिक प्रगति प्रदेश सरकार गठन भएयताकै हालसम्मको धेरै भएको उहाँले बताउनुुभयो । आर्थिक वर्षको अन्तिममा हतारहतार काम गर्ने प्रवृत्तिलाई निरूत्साहित गरिनुपर्ने बताउँदै उहाँले मातहतको कार्यालयका प्रमुखहरूलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न निर्देशन दिएको जानकारी गराउनुुभयो ।

मन्त्री केसीका अनुसार मन्त्रालयको कूल विनियोजित बजेट रू १२ अर्ब ७० करोड १६ लाख छ सय ६० मध्ये यस अवधिमा रू एक अर्ब २७ करोड १९ लाख ५९ हजार मात्र खर्च भई करिब १० दशमवलव ०१ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

यस अवधिमा मन्त्रालयअन्तर्गतका कूल १९ वटा निकायबाट रू ७६ करोड ३९ लाख ३२ हजार तीन सय ७० राजस्व सङ्कलन भएको जानकारी दिँदै मन्त्री केसीले सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय, सवारी कास्कीबाट रू ४३ करोड ११ लाख ८१ हजार दुई सय ७७ राजस्व सङ्कलन भएको जानकारी दिनुुभयो । सहरी विकासतर्फ महेन्द्र गुफा बृहत् विकास परियोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार यस अवधिमा एक हजार आठ सय ४६ योजनामध्ये ३८ वटा सम्पन्न भइसकेका छन् भने चार सय ८५ वटा निर्माणाधीन छन् । त्यस्तै दुई सय ६५ वटा मूल्याङ्कनको चरणमा, तीन सयवटाको बोलपत्र आह्वान भएको र चार सय ८८ वटा लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।

वार्षिक कार्यक्रममा समावेश भएका तर योजनाको नाम, ठेगाना संशोधन गर्नुपर्ने, दोहोरोपन, स्थानीय विवादलगायत विविध कारणले दुई सय ७१ वटा योजना कार्यान्वयन हुन बाँकी रहेकोमा ती योजनाको संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले जानकारी दिनुुभयो ।

यसबीचमा १६ दशमलव ७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे/पक्की सडक निर्माण कार्य सम्पन्न भएको छ भने ११ दशमलव ९३५ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै १९ किलोमिटर सडक पक्की ढलान गर्ने कार्य सम्पन्न भएको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सडक तत्काल मर्मत गरी सहज र सुरक्षित यात्रा हुने व्यवस्थालाई जोड दिँदै बागलुङ जिल्लाको मालढुङ्गा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङ खण्ड एवं कास्की जिल्लाको नयाँपुल–घान्द्रुक सडकमा गएको पहिरोबाट अवरूद्ध सडकको पहिरो हटाएर आवश्यक मर्मतसम्भार गरी यातायात सुचारू गराइएको उहाँले जानकारी दिनुुभयो ।

सेवा प्रवाह सहज होस् भन्ने हेतुले कास्की, तनहुँ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम प्रणाली लागू गरिएको बताउँदै उहाँले आफूले नेतृत्व गरेसँगै यातायात कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णयअनुुसार पाँचवटै यातायात व्यवस्था कार्यालयमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिनुुभयो ।

पोखराको बसपार्क क्षेत्रमा रहेको यातायात कार्यालयमा सेवाग्राहीको चापलाई दृष्टिगत गरी लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने मन्त्रालयले तयारी गरेको छ । त्यसका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा यस मन्त्रालयले उपयोग गर्न स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधि तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुुभयो ।

नेपाली मार्शल आर्ट्स खेलाडी भूपेन्द्रलाई अमेरिकामा दुई पदक

काठमाडौँ, २५ मङ्सिर : नेपालका भूपेन्द्र गुरूङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।

नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा यही डिसेम्बर ८ तारिखमा न्यू टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जितेका हुन् ।

उनको व्यवस्थापकमा मनित गुरूङ रहेका छन् । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आटर््स क्लबका करिब तीन सय ४७ खेलाडी सहभागी थिए ।

भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

काठमाडौँ, २५ मङ्सिरः प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गर्नुभएको छ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँले यही मङ्सिर २६ गतेदेखि मङ्सिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा उहाँकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधान सेनापतिसहितको भ्रमण दल यही मङ्सिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ ।

‘हिंसा प्रभावितको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ’ – महानिरीक्षक कुँवर

काठमाडौँ, २५ मङ्सिरः नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालमया आज प्रहरीको अपराध अनुसन्धान विभाग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले लैङ्गिक हिंसा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताउनुभयो ।

लैङ्गिक हिंसाबाट प्रभावित महिला, बालबालिका र ज्येष्ठ नागरिकमा न्यायको पहँुच सुनिश्चितताका साथै हिंसा नियन्त्रणका लागि देशभर दुई सय ३२ वटा महिला बालबालिका तथा ज्यष्ेठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवा प्रदान भइरहेको महानिरीक्षक कुँवरले जानकारी दिनुभयो ।

उहाँले नेपाल प्रहरीमा लैङ्गिकमैत्री कार्य वातावरण र लैङ्गिक संवेदनशीलतालाई सुनिश्चित गर्न लैङ्गिक नीति २०६९ लाई परिमार्जन गरी नेपाल प्रहरी लैङ्गिक कार्य नीति ०८१ ल्याइएको जानकारी दिनुभयो । उक्त नीति आजै सार्वजनिक गरिएको छ । यसले नेपाल प्रहरीलाई कुनै प्रकारका हिंसाप्रति संवेदनशिल भई कार्य गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

“हिंसा र विभेदका घटना नियन्त्रणका लागि कटिबद्ध रहँदै प्रहरीले पालना गर्नुपर्ने आचारणका विषयमा समेत आचारसंहिता बनाइ कार्यान्वयन गरिएको छ । प्रविधिको विकास र आधुनिक समाजमा देखापरेको अपराधका प्रवृत्तिले थप चुनौती पैदा भएकातर्फ पनि प्रहरी केन्द्रित भएको छ”, महानिरीक्षक कुवँरले भन्नुभयो ।

आज प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा लैङ्गिक हिंसामध्ये ९१ दशमलव १ प्रतिशत चिनाजानकै व्यक्तिबाट हिंसा हुने गरेको पाइएको छ । लैङ्गिक हिंसाअन्तर्गत सबैभन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् ।

प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले एकल प्रयासले मात्रै हिंसा रोक्न नसकिने भएकाले सबैको ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो । कार्यक्रममा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले समग्र अपराधमा लैङ्गिक हिंसाका घटना २६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी कविता अर्याल, गृह मन्त्रालयका उपसचिव सुरेशराज जोशीलगायतले हिँसा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो ।

जापान सन् २०४० सम्ममा नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलो स्रोत बन्ने

जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ ।

योजनाले सन् २०४० सम्ममा कुल विद्युत उत्पादनको ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको थियो, जसले थर्मल पावरलाई उछिनेर ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म योगदान पु¥याउँछ ।

हाल, जापानको ऊर्जा नीतिले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको ३६ प्रतिशतदेखि ३८ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।

नवीकरणीय ऊर्जाले मौसम निर्भरता र उच्च लागत जस्ता चुनौतीहरूको सामना गरिरहेको बेला जापान सरकारले यसको विस्तारलाई अगाडि बढाउन प्राविधिक आविष्कारको परिकल्पना गर्छ ।

यसैबीच, आणविक ऊर्जाले विद्यमान लक्ष्य ढाँचामा आफ्नो २० प्रतिशत हिस्सा कायम राख्नेछ । यसले नवीकरणीय ऊर्जासँगै ‘डेकार्बोनाइजेशन’ प्रयासहरूमा प्रमुख घटकको रूपमा सेवा गर्नेछ । डेकार्बोनाइजेशन भनेको वायुमण्डलमा कार्बन डाइअक्साइड हटाउन वा घटाउन प्रयोग गरिने शब्द हो । कम कार्बन ऊर्जा स्रोतहरूको प्रयोगमा स्विच गरेर डेकार्बोनाइजेशन हासिल गरिन्छ ।

यी लक्ष्यहरू सहितको योजनाको मस्यौदा अर्को हप्ता जारी हुने अपेक्षा गरिएको छ ।