`

युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताउनुभएको छ ।

तथापि किएभलाई अमेरिकी समर्थन युद्धलाई अन्त्य गर्ने प्रयासमा प्रमुख लाभ हुने भएकाले ट्रम्पले युक्रेनलाई नत्याग्ने बताउनुभयो ।

वासिङ्टनले युक्रेनलाई रुसको भित्री भागसम्म प्रवेश गर्नसक्ने आफ्नो लामो दूरीको एटिएसिएमएस मिसाइलहरू आपूर्ति गरेको छ । यसले मस्कोबाट क्रोधपूर्ण प्रतिक्रिया ल्याएको छ र उसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ ।

“म रूसमा सयौँ माइल मिसाइलहरू पठाउने कुरामा धेरै दृढतापूर्वक असहमत छु । हामी किन यसो गर्दैछौँ ?”, टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो । म्यागाजिनले बिहीबार उहाँनलाई ‘पर्सन अफ द इयर’ का रूपमा सम्मानित गरेको थियो ।

सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कअनुसार एटिएसिएमएस मिसाइलको अधिकतम दूरी १९० माइल (३०० किलोमिटर) छ । 

यो अन्तर्वार्ता ‘थ्याङ्क्सगिभिङ’ र नोट्रे डेम क्याथेड्रल पुनः खुल्ने अवसरमा फ्रान्सका राष्ट्रपतिको मध्यस्थतामा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पको ‘हाइ–प्रोफाइल’ बैठक हुनुभन्दा अघि भएको थियो । 

“हामी यो युद्धलाई बढाइरहेका छौँ र यसलाई अझ खराब बनाउँदैछौँ”, उहाँले भन्नुभयो । 

युक्रेनलाई आफ्नो समर्थनमा जोड दिँदै ट्रम्पले युद्धलाई अन्त्य गर्न वासिङ्टनको समर्थनलाई लाभको रूपमा प्रयोग गर्ने बताउनुभयो । उहाँ किएभलाई समर्थन गर्ने लागतमा प्रश्न उठाउँदै उदासीन रहनुभएको थियो । 

“म सहमति प्राप्त गर्न चाहन्छु र सहमति प्राप्त गर्ने एकमात्र तरिका त्याग्नु होइन”, उहाँले भन्नुभयो ।

किएभको दृष्टिकोणप्रति ट्रम्पको स्पष्ट आलोचनातिर ध्यान आकर्षित गर्दै रुसी समाचार एजेन्सीहरूले उहाँको टिप्पणीमा फड्को लगाएका छन्। 

खुम्बु क्षेत्रमा उडान रोक्न निकुञ्जको परिपत्र, सङ्घले दियो नरोकिने जानकारी

काठमाडौँ, २८ मङ्सिरः वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।

सङ्ले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनेको छ ।

साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।

राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ, १० दिनभित्रमा उजुरी दिन अनुरोध

काठमाडौँ, २८ मङ्सिरः सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस हुनुभएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

२९ हजार सात सय अमेरिकी डलरसहित २५ वर्षीय मोहम्मद झापाबाट पक्राउ

बनियानी- झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उहाँले बताउनुभयो ।

आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जन्तीढुङ्गा क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने

दाङ- तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको जन्तीढुङ्गा संंरक्षणका लागि स्थानीय सरकारले पहल सुरु गरेको छ । त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेको तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाले त्यसको संरक्षणका लागि चारैतिरबाट तारबार गरिसकेको छ ।

यसपटक पनि सो क्षेत्रको विकास गर्न वडाबाट केही रकम विनियोजन गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । यसैबीच सो क्षेत्रको आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थलगत निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा नगरप्रमुख खड्काले मानव उत्पत्तिका क्रममा मानव कङ्काल फेलापरेको तुही उपत्यकाभित्र पर्ने जन्तीढुङ्गाको संरक्षणमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले यस क्षेत्रको बाघढुङ्गा, हात्तीढुङ्गा र जन्तीढुङ्गाको संरक्षण गरी यस क्षेत्रको पर्यटकीय केन्द्रका रूपमा विकास गरिने बताउनुभयो । वडा नम्बर १४ वडाध्यक्ष शङ्कर खड्काले जन्तीढुङ्गा क्षेत्रमा खानेपानी, विद्युत् विस्तार सुरु गरिएको बताउनुभयो ।

जन्तीढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचारप्रसार गर्दै आएको बताउनुभयो । पौराणिककालमा जन्ती जाने क्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्तीढुङ्गाका रूपमा प्रतीक रहेको भन्ने जनविश्वास रहेको छ । करिब एक बिघा क्षेत्रफलमा जोडिएर हजारौँ ढुङ्गा त्यहाँ रहेका छन् ।

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौँ, २८ मङ्सिर : सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा पर्नुभएको छ ।

बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनुभएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

काठमाडौँ, २८ मङ्सिर : चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु पाँच खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो ।

शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा

काठमाडौँ, २८ मङ्सिर : मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।

यस्तै, चालु खाता रु एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब छ करोडले बचतमा रहेको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु एक अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु तीन अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छभने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८ दशमलव तीन प्रतिशत र तीन प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छभने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।

यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः शून्य दशमलव नौ प्रतिशत र दुई दशमलव नौ प्रतिशतले वृद्धि भएको छभने अन्य मुलुकबाट भएको आयातमा पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस्, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

कुल वस्तु व्यापार घाटामा शून्य दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६० अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा तीन दशमलव तीन प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ५७ अर्ब २४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ५३ अर्ब ८४ करोड बराबरको भएको थियो ।

आज देशभरको मौसम सफा रहने,तराईमा हुस्सु

काठमाडौँ, २८ मङ्सिरः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, २८ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा काठमाडौँ विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल

कर्णाली, २७ मंसिरः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका मन्त्री तथा सचिवहरुलाई बजेट, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्षको मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिदंै मुख्यमन्त्री कँडेलले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिनुभएको हो । “समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्,” उहाँले भन्नुभयो, बरु नियमसंगत रुपमा अड्केको कसरी फुकाउन सकिन्छ । त्यतातर्फ लाग्नुहोस ।”

बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउदै मुख्यमन्त्री कडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा बिगतमा देखिएका कमिकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउदैं उहाँले हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य र उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्नसमेत सुझाउनुभयो ।

नागरिकको तहबाट उठेका विभिन्न टिप्पणीहरुलाई कानूनसम्मत तरिकाले सम्बोेधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कँडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको चौमासिक समीक्षाको प्रगति सोचे अनुरुप हुन नसक्नुका कारणहरु खोजेर समाधानतिर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकार निर्देशित सरकार नभएको बताउँदै मुख्यमन्त्री कँडेलले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियमसंगत ढंगले काम गर्न र कसैको मुख नताक्न, धेरै जसो पैसा बिगतका योजनामा होल्ड भएको बताउदै मुख्यमन्त्री कडेलले लगानी भइसकेका योजनालाई अलपत्र छाडने नभई समयमै सम्पन्न गर्ने तर्फ लाग्न पनि निर्देशन थियो ।

उहाँले भन्नुभयो, “पटक पटक अवसर आउदैन । मन्त्री पद स्थायी होइन । अवसर पाएको बेला जनअनुमोदन हुनेगरी कार्यसम्पादन उत्कृष्ट देखाउनुहोस् ।” भेला बैठकलाई सकेसम्म प्रविधिको माध्यमबाट कम खर्चमा छिटो र उपलब्धिमूलक बनाउन सकिने चर्चा गर्दै मुख्यमन्त्री कँडेलले जिल्लामा जाँदा सकेसम्म आफ्ना कार्यालयका प्रमुख र कार्यकर्तासँग मात्र नभई आम नागरिकसँग पनि अन्तरक्रिया गर्न मन्त्रीहरुलाई सुझाव दिनुभयो ।

सरकारले वितरण गर्ने अनुदानको बारेमा आफूकहाँ व्यापक गुनासाहरु आउने गरेका बताउँदै मुख्यमन्त्री कडेलले अनुदानको नाममा हुने विकृतिहरुलाई हटाउन निर्देशन पनि दिनुभयो । दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा सात मन्त्रालयका मन्त्रीहरु, सचिवहरुको उपस्थिति थियो ।

नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी

काठमाडौँ, २७ मङ्सिरः झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवाप्रदायकको आम्दानी घट्दो क्रममा छ । तर सोही समयमा इन्टरनेट सेवा प्रदायकको आम्दानी भने बढ्दो देखिएको छ । टेलिकम सेवा प्रदायकहरुको आम्दानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७९/८० मा २० दशमलव ९२ प्रतिशतले आम्दानी घटेको छ । जबकी सोही अवधिमा इन्टरनेट सेवा प्रदायकहरुको आम्दानी भने झण्डै दोब्बर अर्थात् ९७ दशमलव ५० प्रतिशतले बढेको देखिन्छ ।
जानकारहरु टेलिकम कम्पनीसम्बन्धी कानुन र टेलिकम कम्पनीलाई हेर्ने दृष्टिकोण सङ्कुचित हुँदा यो क्षेत्र नै सङ्कटमा परेको बताउँछन् । दूरसञ्चारसम्बन्धी कानुनमा तत्काल आवश्यक संशोधन नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्नसक्ने उहाँहरुको विश्लेषण छ । नेपालमा हाल दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली २०५४ कार्यान्वयनमा छन् । झण्डै तीन दशक पुरानो ऐनले बदलिँदो आधुनिक प्रविधिलाई सम्बोधन गर्न नसकेको विज्ञहरुको धारणा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल पुरानो कानुन तत्कालीन समयमा निकै राम्रो भए पनि त्यसलाई समयसापेक्ष संशोधन गर्न नसकिएको बताउनुहुन्छ । “जसरी प्रविधिमा परिवर्तन हुँदै गयो, सोहीअनुसार कानुनलाई ढाल्दै जानुपर्ने हो, त्यसमा हामी चुकेका छौँ”, उहाँले भन्नुभयो, “यदि बजारको माग र परिवर्तित प्रविधिलाई कानुनले सम्बोधन गर्न सक्दैन भने लगानीको जोखिम बढ्छ ।”

कँडेल नीतिगत सुधार नभएकै कारण टेलिकम कम्पनीहरुको ठूलो लगानी जोखिममा पर्नुका साथै आम्दानी घट्दै गएको धारणा राख्नुहुन्छ । “टेलिकम कम्पनीहरुको पूर्वाधारमा लगानी ठूलो छ, अनुमतिपत्र नवीकरण शुल्क पनि निकै बढी छ, टेलिकमले जस्तै भ्वाइस र म्यासेजको सेवा दिने ओटिटीलगातयका प्लेटफर्मका कारण उनीहरुको आम्दानी खुम्चँदै गइरहेको छ । यसले उनीहरुको भविष्यसमेत अन्योल देखिएको छ”, उहाँले भन्नुभयो । 

कँडेलका अनुसार नीतिमा सुधार नभएकै कारण छ वटा टेलिकम सेवाप्रदायक संस्था अहिले दुई वटामा सीमित भएका छन् । उहाँले भन्नुभयो, “वास्तवमा रु २० अर्ब नवीकरण शुल्क आफैँमा निकै बढी थियो । यही कारणले अन्य चार वटा सेवाप्रदायकले आफूलाई प्रतिस्पर्धामा टिकाइ राख्नसक्ने अवस्था भएन र बन्द भए ।” चार वटा टेलिकम सेवाप्रदायक कम्पनी बन्द हुनुको कारण पनि नवीकरण शुल्क भएको उहाँको बुझाइ छ ।

प्राधिकरणका पूर्वअध्यक्ष सुरेशकुमार पुडासैनी पनि कँडेलको भनाइमा सहमत हुनुहुन्छ । “म २०५३ सालको दूरसञ्चार ऐन पूर्ण रुपमा संशोधन गर्नुपर्छ वा नयाँ ऐन आवश्यक नै हो भन्ने पक्षमा छैन, तर नियमावली वा निर्देशिकामार्फत सेवाप्रदायकलाई सहजीकरण भने गरिदिनुपर्छ”, उहाँले भन्नुभयो, “ऐन, नियम तथा निर्देशिकाहरु प्रविधिमैत्री भएनन् भने समस्या भइरहन्छ, त्यसैले स्थिरताका लागि नीति परिवर्तन गरिरहनेभन्दा पनि विकसित आधुनिक प्रविधिलाई समेट्ने गरी कानुन निर्माण जरुरी छ ।”

पूर्वअध्यक्ष पुडासैनी कानुनलाई स्थिर बनाउँदै परिवर्तित प्रविधिलाई सम्बोधन गर्ने खालको सरल बनाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “प्रविधि आधुनिक भयो भन्नेबित्तिकै कानुन संशोधन गर्दै जाने हो भने भोलिका दिनमा सिक्स जी, एआइलगायतका नयाँ प्रविधि आउँछन्, त्यसैले भविष्यमा हुनसक्ने प्रविधिको विकासलाई पनि समेट्ने गरी कानुन बनाउनुपर्छ । कानुन प्रविधिमैत्री होस् भन्नेमा सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँ टेलिकम क्षेत्रलाई राजस्व प्राप्तिका दृष्टिले मात्रै हेर्न नहुने धारणा राख्नुहुन्छ । दूरसञ्चार क्षेत्रलाई गतिलो र भरपर्दो राजस्वका क्षेत्रका रुपमा मात्रै हेरिँदा पनि यसप्रकारको समस्या आउने उहाँको बुझाइ छ ।

“टेलिकम क्षेत्रबाट जति पनि पैसा लिन सकिन्छ भन्ने धारणा छ, तर दूरसञ्चारका कारण कृषि, स्वास्थ्य, शिक्षा र आर्थिकलगायत क्षेत्रमा कसरी फाइदा पुगिरहेको छ भन्ने विषयमा ध्यान दिइँदैन, त्यसबाहेक विभिन्न सेवाका लागि छुट्टाछुट्टै लाइसेन्स लिने व्यवस्थाको साटो एकीकृत लाइसेन्सको अवधारणामा जानु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो । 

पूर्वअध्यक्ष पुडासैनी नवीकरणको हकमा पनि शुल्क अत्यधिक भएको तर्क गर्नुहुन्छ । “सामान्यतयाः अनुमतिपत्र लिँदाको शुल्कभन्दा नवीकरण शुल्क बढी हुँदैन, दूरसञ्चार क्षेत्रकै इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले पनि रु तीन लाख अनुमतिपत्रको शुल्क र नवीकरण शुल्कबापत रु दुई लाख ७० हजार बुझाउँछन्, तर टेलिकमका हकमा भने यो सिद्धान्त लागू नहुँदा सेवाप्रदायक मारमा परेका छन्”, उहाँले भन्नुभयो । 

उहाँले अर्बौं रकम तिरेर सेवा दिइरहेका टेलिकम कम्पनीहरुले जस्तै नियमनभन्दा बाहिर रहेर समान प्रकृतिको सेवा प्रदान गरिरहेका ओटिटीका कारण पनि समस्या भएको बताउनुहुन्छ । टेलिकम कम्पनीहरुले अर्र्बौं रकम खर्चेर नवीकरण गर्ने तर ओटिटी प्लेटफर्मले भने सोही प्रकृतिको सेवा दिँदा त्यसको घाटा ती कम्पनीलाई मात्रै नभई राज्यलाई ठूलो घाटा भइरहेको जानकारहरुको भनाइ छ ।

ओटिटी प्लेटफर्महरु जस्तै ह्वाट्सएप, भाइबर, स्काइप, इमोलगायतले दिने सेवाका कारण टेलिकम कम्पनीको आम्दानीमा सङ्कुचन आएको छ । उनीहरुको आम्दानी घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय आगमन कलतर्फको आम्दानी हेर्ने हो भने पछिल्लो सात वर्षमा ६० प्रतिशतभन्दा बढीले घटेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमले आव २०७३/७४ मा अन्तर्राष्ट्रिय कूलमार्फत रु आठ अर्ब आम्दानी गरेको थियो भने हाल उक्त आम्दानी प्रत्येक वर्ष खुम्चँदै आव २०७९/८० मा आइपुग्दा रु तीन अर्ब ९१ करोडमा सीमित भएको छ । साथै एनसेलले पनि आव २०७३/७४ मा रु १७ अर्ब आम्दानी गरेकामा आव २०७९/८० मा रु छ अर्ब ९३ करोडमा सीमित भएको छ ।

टेलिकमको व्यवसाय प्रभावित हुनुमा इन्टरनेट सेवा प्रदायक पनि कारक देखिएको पुडासैनीको बुझाइ छ । इन्टरनेट सेवा प्रदायकले हरेक क्षेत्रमा ‘हटस्पट’ राख्ने चलनका कारण टेलिकमको व्यवसाय प्रभावित भएको उहाँ बताउनुहुन्छ । त्यसैले हटस्पट राख्ने नियममा कडाइ गरिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । 

प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल हालको ऐन सङ्कीर्ण भएकाले संशोधन आवश्यक रहेको बताउनुहुन्छ । ऐनले पूर्वाधार क्षेत्रमा स्पष्ट नीति लिनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ उहाँ । सेवाप्रदायकले ठूलो लगानीमा निर्माण गरेका पूर्वाधारको सुरक्षा नभएको र राज्यले पनि त्यस विषयमा ध्यान दिन नसकेको उहाँ बताउनुहुन्छ ।

“प्रविधि छिटोछिटो परिवर्तन भइरहेको अवस्था छ, सोहीअनुसार सेवा प्रदायकले पूर्वाधारमा लगानी बढाइरहेका छन्, तर ती पूर्वाधारको भौतिक र लगानीको सुरक्षा राज्यले दिन सकेको छैन”, उहाँले भन्नुभयो, “यस विषयलाई नीतिगत तहबाटै सम्बोधन गर्न सकियो भने मात्रै सेवादायकलाई सहज हुन्छ अन्यथा यो क्षेत्रको सङ्कट थप गहिरिन्छ ।”

खनाल नीतिगत सुधारमार्फत टेलिकम क्षेत्रमा लगाइएको चर्को शुल्क कम गर्नुपर्ने, नवीकरणमा सहजीकरण गर्नुपर्ने तथा लगानीको सुरक्षाको प्रत्याभूति नगर्दासम्म अपेक्षाकृत सफलता हासिल नहुने बताउनुहुन्छ । “टेलिकम संवेदनशील क्षेत्र हो । योबिना हामीले अघि सारेको डिजिटल नेपालको योजना पूरा हुँदैन, त्यसैले सरकारले त्यो पाटोलाई हेरेर नीतिगत सहजीकरण गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “कुनै कम्पनीले अर्बौं खर्च गरेर टेलिकम कम्पनी सञ्चालन गरिरहेको छ, तर उसलाई पाँच वर्षपछि के हुन्छ भन्ने अन्योल छ भने त्यसले राम्रो गर्दैन, यसले संस्थागत क्षयीकरण गराउँछ ।”

नयाँ ऐन आयो भने यस क्षेत्रमा नयाँ टेलिकम कम्पनी आउनका लागि सहज हुने उहाँको बुझाइ छ । “हाल दुई वटा टेलिकम कम्पनी सञ्चालनमा छन्, बजारमा अझै कम्तीमा एउटा टेलिकम कम्पनीका लागि स्थान नरहेको होइन, यो प्रतिस्पर्धात्मक बजारका लागि पनि आवश्यक छ”, उहाँले भन्नुभयो । 

नेपाल टेलिकम कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी पनि टेलिकम कम्पनीहरुको आम्दानी घट्दो क्रममा रहेकाले बदलिँदो परिवेशमा सोहीअनुसारको नीति आवश्यक भएको बताउनुहुन्छ । “घट्दो आम्दानी रहेको अवस्थामा प्रत्येक पाँच वर्षमा ठूलो रकम खर्चेर नवीकरण गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । 

एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशाल उपाध्याय निरन्तर ओरालो लागेको आयलाई सुधार गर्न र सेवाग्राहीलाई लाभ दिन पनि अन्य सार्वजनिक सेवामा जस्तै टेलिकम क्षेत्रमा मुद्रास्फीतिका आधारमा शुल्क निर्धारणमा समायोजनको सुविधा आवश्यक भएको बताउनुहुन्छ । “हामीले अत्यावश्यक ठानेका बिजुली र पानीलगायत सेवामा शुल्क हेरफेर गर्दै आएका छौँ भने टेलिकमका क्षेत्रमा पनि यो गरिनुपर्छ भन्ने हाम्रो सुझाव छ । भारतमा पनि टेलिकमको अवस्था खराब हुँदा ‘मर्जर’ तथा ‘एक्विजिसन’को विकल्पका साथै शुल्क २७ प्रतिशतसम्म बढाएको उदाहरण छ”, उहाँले भन्नुभयो । 

अनुमति नलिएका ह्वाट्सएप, भाइबर, म्यासेञ्जर जस्ता ओटिटी एपका कारण नेपालको भ्वाइस सेवाको बजारमा करिब ४० प्रतिशतभन्दा बढी असर परिरहेको उल्लेख गर्दै उहाँले भ्वाइस सेवाको प्रयोग, यसबाट हुने आय र अन्तर्राष्ट्रिय आगमन कलको ट्राफिक हरेक वर्ष घटिरहेको दाबी गर्नुभयो । 

“मोबाइल सेवाप्रदायकले फोरजी नेटवर्कमा बृहत् लगानी गरे पनि नेटवर्क मनिटाइजेसन हुन सकेको छैन । विगत सात वर्षको तथ्याङ्क हेर्ने हो भने डाटा खपत वृद्धि भए पनि शुल्क घटेकाले यसबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य वृद्धि हुन सकेको छैन”, उहाँले भन्नुभयो, “त्यसैले यो समस्या समाधानका लागि सरकारले सेवाका दरहरु मूल्यवृद्धिका आधारमा परमार्जिन गर्नुको विकल्प छैन ।”

प्रक्रियामा ऐन निर्माण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने हाल दूरसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न दूरसञ्चार विधेयक ल्याउने तयारी भइरहेको जनाएको छ । मन्त्रालयले गत असारमा दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेकयमा आवश्यक राय तथा सुझावका लागि ‘दूरसञ्चार ऐन, २०८१’को मस्यौदा वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ । उक्त ऐनमा हाल टेलिकम सेवा प्रदायकले भोगिरहेको नवीकरणलगायतका समस्या समाधानमा सम्बोधन गर्ने विज्ञहरुको बुझाइ छ । 

ऐनको मस्यौदामा नेपाल टेलिकम र एनसेल दुवैले लिखित रुपमै मन्त्रालयमा सुझाव पठाइसकेका छन् । लामो समयपछि निर्माण हुन लागेको ऐन प्रविधिमैत्री हुने र सेवाप्रदायकले हाल भोगिरहेका समस्या समाधानका लागि पनि मार्गनिर्देश प्राप्त हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडी बताउहुन्छ ।

वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही

काठमाडौँ, २७ मङ्सिरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वायु प्रदूषणले समुदायमा परेको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्री शाहीले यसलाई न्यूनीकरण गर्न हरियाली विकास, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । वन र वातावरणलाई जनताको आयस्तरमा जोडेर मुलुकमा समृद्धि कायम गर्न सकिने उहाँले भनाइ थियो ।

न्यायाधीश सपना मल्ल प्रधानले स्वच्छ वातावरणको अधिकारलाई मौलिक हकमा व्यवस्था गरिएकाले वातावरणीय न्यायका लागि कार्य गर्नुपर्ने बताउनुभयो । वातावरणविद् भूषण तुलाधरले पछिल्लो समय बढ्दै गएकोवायु प्रदूषण तथा त्यसले समाजमा पारेका असरबारे जानकारी गराउनुभयो । 

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वायु प्रदूषणका नीतिगत सुधारको आवश्यक रहेको बताउँदै विकास र वातावरण नागरिकको हितमा हुने गरी सन्तुलित रुपमा लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा वन तथा वातावरण संरक्षण क्षेत्रका विज्ञ, सरसफाइ क्षेत्रका कर्मचारी, अधिकारकर्मी वातावरणीय पिडित लगायतको सहभागिता थियो ।

टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा

टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ । नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्नुहुने ट्रम्पले आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको शीर्षक आवरण सजाउनुभएको छ ।

“ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न डोनाल्ड ट्रम्प टाइमको २०२४–पर्सन अफ द इयर हुनुहुन्छ ।”

यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरियो र दुईपटक हत्याको प्रयास गरियो – र अन्त्यमा दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा हुनुहुन्छ ।

“हामीले लोकप्रियताको पुनरुत्थान, पछिल्लो शताब्दीलाई परिभाषित गर्ने संस्थाहरूमा बढ्दो अविश्वास र उदार मूल्यमान्यताहरूले अधिकांश मानिसको राम्रो जीवनमा नेतृत्व गर्नेछ भन्ने विश्वासलाई बिगार्दै गएको देखिरहेका छौँ । ट्रम्प यी सबैको एजेन्ट र लाभार्थी दुवै हुनुहुन्छ”, पत्रिकाले एक विज्ञप्तिमा भन्यो । 

वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार यस वर्षको सबैभन्दा प्रभावशाली व्यक्तित्वको स्वीकृति हो । विगतका विजेताहरूमा टेलर स्विफ्ट, भोलोदिमर जेलेन्स्की र ट्रम्प स्वयं, सन् २०१८ मा हिलारी क्लिन्टनको आश्चर्यजनक पराजयपछि समावेश हुनुहुन्छ । 

– ट्रम्पको प्रभाव –

सन् २०२४ को समाचार घटनाहरूमा प्रभुत्व जमाएपछि जनवरीमा राष्ट्रपति पद ग्रहण गर्दा ट्रम्पको प्रभाव जारी रहने छ । 

यस पटक ट्रम्पले कागजातविहीन आप्रवासीहरूको सामूहिक निष्कासन र प्रमुख भन्सार शुल्क लगाउने वाचा गर्नुभएको छ । यसले अमेरिकी अर्थतन्त्रलाई मात्र नभई प्रमुख व्यापार साझेदारहरूलाई पनि हल्लाउने खतरा छ । 

उहाँले रुसी आक्रमण विरुद्धको लडाइँमा युक्रेनलाई निरन्तर समर्थन गर्ने कुरामा शङ्का व्यक्त गर्नुभएको छ र फ्लोरिडाको मार–ए–लागो एस्टेटमा विदेशी नेताहरूलाई आकर्षित गर्दै उहाँ पहिले नै छायाँ राष्ट्रपति बन्नुभएको छ ।

टाइम म्यागाजिनको आवरण र अमेरिकी सरकारको नेतृत्वमा उहाँको पुनरागमन केही वर्षअघि कल्पना गर्न असम्भव थियो ।

समर्थकहरूले उहाँको सन् २०२० को चुनावी हारलाई उल्ट्याउने प्रयासमा क्यापिटल भवनमा आक्रमण गरेपछि रिपब्लिकन दलले उहाँलाई त्याग्न तयार छ जस्तो देखिएको थियो ।    सन् २०२० को चुनावी परिणाम उल्ट्याउने उहाँको प्रयासलाई लिएर आपराधिक मुद्दा दायर गरियो र उहाँलाई यौन दुर्व्यवहारका अदालतमा दोषी ठहर गरियो ।

 उहाँ अमेरिकी र विश्व राजनीतिमा विभाजनकारी व्यक्ति बन्नुभएको छ ।तथापि यीमध्ये कुनैले पनि उहाँलाई रिपब्लिकन टिकटको शीर्षमा पुग्न र त्यसपछि ह्यारिसविरुद्ध आम चुनावमा जित्नबाट रोक्न सकेन ।  मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र दिवङ्गत विपक्षी नेता अलेक्सी नाभाल्नीकी विधवा रुसी अर्थशास्त्री युलिया नाभाल्नायासहित ह्यारिसलाई अवार्डका लागि छनोट गरिएको थियो । 

दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौँ, २७ मङ्सिर : सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,” उहाँले भन्नुभयो ।

सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिनुभयो । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौँ,२७ मङ्सिरः प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर चाँगुनारायण नगरपालिका–४ एकान्त ठाउँमा यही मङ्सिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरीकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ रु छ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।”

उनीहरुको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

राधिका पन्तद्वारा लिखित ‘हाम्रो योगयात्रा’ लोकार्पण

काठमाडौँ, २७ मङ्सिरः योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

पतञ्जली योग समिति भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा डा यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता कमला ओली, प्राध्यापक चेतोनाथ गौतम, पूर्वसचिव सोमबहादुर थापा, लेखनाथ पन्तलगायतले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल भावसहित लोकार्पित पुस्तकमा योगशास्त्र, योगविधि, योगदर्शनलगायत विषयमा विस्तृत जानकारी दिइएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले पन्तद्वारा लिखित पुस्तकले योगअभ्यास गर्नेहरुका लागि अत्यन्तै महत्वपूर्ण र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पन्तको लेखनशैली अत्यन्त उत्कृष्ट रहेको उल्लेख गर्दै आगामी दिनमा पनि योग साहित्य एवं कलालाई केन्द्रमा राखेर थप कृति आउने अपेक्षा पनि गर्नुभयो ।

पुस्तकमाथि प्रकाश पार्दै उपप्राध्यापक ज्ञवालीले योगलाई जीवनसँग जोड्दा हुने बहुआयामिक उपयोगिताबारे पुस्तकले स्पष्ट पार्नुका साथै योग विधिबारे पनि व्यापक र गहन संष्लेषण गरेको बताउनुभयो ।

कार्यक्रमका सभापति नित्यनाथ श्रेष्ठले पुस्तक पढिसकेपछि योग साधनालाई प्रभावकारी बनाउन थप ऊर्जा प्राप्त हुने भएकाले पुस्तककी लेखक राधिका पन्तको प्रयत्नलाई सह्राहना गर्नुभयो ।

प्रकाशित एक सय ८० पृष्ठको पुस्तकको मूल्य रु तीन सय पाँच तोकिएको छ । पुस्तकमा अष्टे«लिया यात्रा, योग जागरण गोरखा, माडीबसाइका उपलब्धिहरु, २०८० सालका गतिविधिहरु, चैत्रलगायतका शीर्षक छन् । पन्तको तीजका ‘गीत सङ्ग्रह, ‘भोको मान्छे’ ‘कविता सङ्ग्रह’, ‘विजय शोककाव्य’ ‘राधालेख मिश्रित विद्या’लगायत आधादर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् ।

संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’

प्यालेस्टिनी लडाकु समूह हमासले बिहीबार गाजामा तत्काल र बिना शर्त युद्धविरामका लागि संयुक्त राष्ट्र महासभाको मतदानलाई स्वागत गरेको छ । यो प्रतीकात्मक कदमलाई संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका छन् ।

हमासले विज्ञप्तिमा भनेको छ, “गाजामा युद्धविरामको माग गर्दै (गाजा) पट्टीका नागरिकहरूलाई आवश्यक सेवा र मानवीय सहायतामा तत्काल पहुँच दिन सक्षम बनाउँदै १५८ देशले समर्थन गरेको संयुक्त राष्ट्र महासभाको प्रस्तावलाई स्वीकृत गरेकामा हमास स्वागत गर्दछ ।”

महासभाले बुधबार नौ विरुद्ध १५८ मतले प्रस्ताव पारित गरेको थियो भने १३ जना अनुपस्थित थिए ।

प्रस्तावले ‘तत्काल, बिना शर्त र स्थायी युद्धविराम’ र ‘सबै बन्दीको तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ । यो शब्दावली गत महिना सुरक्षा परिषद्मा वासिङ्टनद्वारा भिटो गरिएको पाठसँग मिल्दो छ ।

सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु गर्ने हमास भनेको छ, “यस आक्रमणका क्रममा हामीले युद्धविरामका लागि नेतृत्व गर्ने कुनै पनि निर्णय वा पहलहरूको जवाफ दिन निरन्तर इच्छा व्यक्त गरेका छौँ ।”

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र संयुक्त राज्य अमेरिकालाई निरन्तर लडाइँका लागि दोष दिएको छ ।

आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित एक हजार दुई सय आठ जनाको मृत्यु भएको थियो । उक्त गणनामा प्यालेस्टिनी क्षेत्रमा राखिएको बेला मारिएका बन्धकहरू समावेश छन् ।

सशस्त्र समूहले २५१ बन्दी अपहरण गरे । तीमध्ये ९६ वर्तमानमा गाजामा छन् । जसमा ३४ जनालाई इजरायली सेनाले मृत भनेर बताएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको प्रतिशोधात्मक आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ४४ हजार आठ सय ३५ जनाको गाजामा मृत्यु भएको छ ।

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गर्नुभएको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिनुभएको छ । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ ।

“सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु”, बाइडेनले विज्ञप्तिमा भन्नुभयो, “लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दैछु ।”

ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ ।

“अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो”, बाइडेनले भन्नुभयो, “राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ ।”

यस महिना बाइडेनले आफ्नो छोराको कानूनी समस्यामा हस्तक्षेप नगर्ने पहिलेको आश्वासनका बावजुद दुई आपराधिक मुद्दाका लागि सजाय भोगिरहेका आफ्नो छोरा हन्टरलाई आधिकारिक माफी जारी गर्नुभएकामा आलोचनाको सामना गर्नु परेको थियो ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको बैठकमा प्रधानमन्त्री ओली तथा मन्त्रीगण सहभागी छन् । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल भइरहेको छ।

मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका हुन् ।

खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ । खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गरेकी हुन् ।

प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।

महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजि
री जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ ।

त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ । ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री

ललितपुर, २७ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उदघाटन गर्दै  प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुुभयो ।
प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनमा नेपालको सक्रियता उल्लेख गर्दै भन्नुुभयो, “नेपालले न्यूयर्क कन्भेन्सन र सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।” नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको प्रधानमन्त्रीले बताउनुुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यस वर्षको एडीआर सप्ताहको मुख्य शीर्षक ‘ग्रीन आर्बिट्रेसनः हिमालय बचाऔं, भविष्यको पिँढीका लागि पृथ्वी बचाऔं’ अत्यन्तै महत्त्वपूर्ण छ । विवाद समाधान कार्यमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाई गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ ।

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २७ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल छ ।”

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसैअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषयमा छलफल गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ । खरिद ऐनलाई पुनःविचार गर्न आवश्यक छ ।”

समितिका सांसद देवेन्द्र पौडेलले बिमा सरल र सहज नभएको बताउनुभयो । उहाँले कुनै नागरिकले भनेको बेला उपचार पाउनुपर्ने बताउनुभयो ।

सांसद डा तोसिमा कार्कीले नेपालमा उत्पादन भएको औषधिलाई प्रवर्द्धन गर्नका लागि सरकारले कस्तो रणनीति ल्याउँदैछ भनेर प्रश्न गर्नुभयो । त्यसैगरी सांसद सुमना श्रेष्ठले अस्पतालमा उपचार गर्नका लागि मिटर ब्याजमा नागरिकले पैसा लिनुपरेको बताउँदै स्वास्थ्य उपचार सेवा सर्वसुलभ हुनुपर्ने बताउनुभयो ।सांसदहरुले प्रस्तुत विषयमा थप सरोकारवाला र विज्ञ बोलाएर छलफलको आवश्यकता औँल्याउनुभयो ।

इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो । रफाहमा भएको आक्रमणमा सात र अर्को आक्रमणमा खान युनुसमा पाँच जना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताउनुभयो । 

“कब्जाले एक पटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्यो”, आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भन्नुभयो ।

“पिठो बोकेका ट्रकहरू युएनआरडब्लुएका गोदामहरूतर्फ गइरहेका थिए”, बासलले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीलाई उल्लेख गर्दै भन्नुभयो, “कब्जाको उद्देश्य गाजा पट्टीभरका नागरिकहरूका लागि सबै सेवाहरू नष्ट गर्नु हो ।” आक्रमणपछि बासिन्दाहरूले ट्रकबाट पिठो लुटेका थिए । 

इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटीक आक्रमण’ गरेको बताएको छ ।  

“मारिएका सबै आतङ्ककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतङ्कवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए”, सेनाले विज्ञप्तिमा दाबी गरेको छ । 

संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले गाजा पट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय सङ्कटबारे बारम्बार चेतावनी दिएका छन् । 

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, २७ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराउनुभयो ।

आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा बुढाथोकीले भन्नुभयो, “एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।”

विज्ञप्तिमा भनिएको छ, “देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पु¥याइ नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।”

डा बुढाथोकीले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र उक्त निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने भइरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौँ, २७ मङ्सिरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ ।

बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो । 

नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उहाँहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो । युरोपियन युनियन नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुुभयो ।    

त्यसअवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभएको थियो । 

मन्त्री डा राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरुमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गर्नुभएको थियो । 

त्यसैगरी मन्त्री डा राणाले युरोपेली आकासमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गर्नुभएको थियो । यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उहाँले युरोपियन युनियनको ध्यानाकर्षण गराउनुभएको थियो ।

मधेसका पत्रकार चुनावमा व्यस्त, निर्वाचन भोलि

महोत्तरी, २७ मङ्सिरः सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।

मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ ।

महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।

मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा छन् । वर्तमान प्रदेश महासचिव पर्साका श्याम वञ्जारा, सप्तरीका अवधेश झा र धनुषाका नवलकिशोर यादवसहित तीन समूह चुनावी मैदानमा छन् । यीमध्ये वञ्जारा नेतृत्वको समूह नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको गठबन्धनको हो । यसैगरी झालाई प्रेस सेन्टर नेपाल, नेपाल प्रेस मञ्च र समाजवादी प्रेस सङ्गठन समर्थन छ । यद्यपि उम्मेदवार यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गर्नुभएको छ । मधेशका आठ जिल्लामा महासङ्घका ७७२ सदस्य छन् । यी सदस्यमध्येका मतदातालाई मनाउन उम्मेदवारहरुको घरदैलो सकिएको छैन ।

यो निर्वाचनमा पत्रकारका सङ्गठनहरुले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् । नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपाल एउटा गठबन्धनमा छन् भने प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म यो गठबन्धनको प्रभाव देखिएको छ ।

वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो

वीरगंज ।  वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा  २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए ।मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए ।

त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने

जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ ।

सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ ।

प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४ बिलियन अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको र सरकारले कर वृद्धि मार्फत वार्षिक एक ट्रिलियन येन थप संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकार र सत्तारुढ दलहरूले आगामी वैशाखदेखि सुरु हुने आर्थिक वर्ष सन् २०२५ का लागि बृहत् कर सुधार योजनाको मस्यौदा तयार गरिरहेका छन् । कर वृद्धिको अन्तिम कार्यतालिका डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुने मस्यौदामा उल्लेख हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।जापानको सैन्य बजेटको विस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढाएको छ ।

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

ढोरपाटन (बागलुङ), २७ मङ्सिर: तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिनुभयो ।

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो २०७५ सालमा खुलेको हो ।

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताउनुभयो । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ ।

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

धरान (सुनसरी), २७ मङ्सिरः नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ ।दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचाँै संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताउनुभयो ।

नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।

संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

लेबनानमा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युएनआइएफआइएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।

बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।

“युनिफिल बलहरूले सर्वेक्षण गर्दै छन् र यस शहरमा लेबनानी सेनाको एकाइ तैनाथ गर्ने तयारीमा मुख्य र माध्यमिक सडकहरूबाट अवरोधहरू हटाउँदै छन्,” स्रोतले जनाएको छ ।

लेबनानी सेनाले लगभग छ हजार सिपाही र सयौं सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भयो, जसको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको झण्डै १४ महिनादेखि चलेको लडाइँलाई रोक्ने लक्ष्य थियो ।

जाजरकोटमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत), २७ मङ्सिरः जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, २७ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता

काठमाडौँ- मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले  भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ ।

साथै, उहाँले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

आजै, प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी उहाँको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौँ, २७ मङ्सिरः काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कञ्चनपुर, २७ मङ्सिरः कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो ।

“बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उहाँले भन्नुभयो । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो ।

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उहाँले भन्नुभयो,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।”

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफँैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उहाँ भन्नुहुन्छ,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।”

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उहाँले जानकारी दिनुभयो । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भन्नुभयो ।

बागलुङको रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

गलकोट (बागलुङ), २७ मङ्सिरः बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।

हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्र्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् ।

पहिलो चरणमा छ महिना अघिदेखि रु ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ ।

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतीका लागि रु १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ । छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

“बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किमी सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडासम्मको चार किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ”, वडाध्यक्ष गौतमले भन्नुभयो, “बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो ।”

बहुवर्षीय आयोजनाअन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्र्तगत काम भइरहेको छ । वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा छ किमी सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् । स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो । सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गर्नुभयो ।