`

मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई

गोरखा, २९ मङ्सिरः गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जित्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उहाँले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।

उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो हुनुभएको छ । उहाँले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै रु ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभएको छ । खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा एक सय ५ जना खेलाडीको सहभागिता रहेको थियो । सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिषरबाट सुरु भएको प्रतियोगिता माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम १४ वर्ष उमेरका वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही रु १२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विपिन र उपासनाको चलचित्र ‘कर्मा’को छायांकन सुरु

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ(मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ ।

निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ(मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो ।

यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

निर्देशक चौधरीलाई ‘अगस्त्यस् च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

विगत छ दिनमा करिब सात हजार सिरियाली लेबनान प्रवेश गर्यो

आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात हजार सिरियालीहरू लेबनान प्रवेश गरेका छन् ।

अनुमानित ९० हजार विस्थापित व्यक्ति अवैध क्रसिङ्गहरू मार्फत लेबनान प्रवेश गरेको अज्ञात स्रोतहरूले पत्ता लगाए ।

अल–अखबरले सिरियामा हालैको राजनीतिक उथलपुथलबाट उत्पन्न सुरक्षा चिन्ताका कारण यी मध्ये केही सिरियालीहरू छाडेको बताए ।

शुक्रबार, सिरियालीहरू बोकेको यात्रुवाहक बसले उत्तरी अक्कर प्रान्तमा सिरिया र लेबनान बीचको अवैध क्रसिङ नजिकै एउटा फुटपाथमा पल्टियो र लगभग ३० जना घाइते भएको थियो ।

हयात तहरीर अल–शामको नेतृत्वमा सिरियाली लडाकु समूहहरूले नोभेम्बर २७ मा उत्तरी सिरियाबाट ठूलो आक्रमण सुरु गरे र १२ दिन भित्र राजधानी दमास्कस कब्जा गरे, जसले अल–असदको सरकारको पतन भयो ।

वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि

श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख भन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेश गएका शुक्रबार घोषणा गरेका छन् ।

तीन लाख १६२ जना मध्ये एक लाख ७७ हजार ७०४ पुरुष कर्मचारी र एक लाख २२ हजार ३५८ महिला कर्मचारी रहेको एजेन्सीले जनाएको छ ।

कुवेत श्रीलङ्काका कामदारहरूको लागि प्रमुख गन्तव्य थियो । एजेन्सीले सन् २०२४ को अन्त्यसम्ममा वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्या तीन लाख ११ हजार पुग्ने अनुमान गरेको छ । सन् २०२२ मा तीन लाख १० हजार ९४८ जनाले वैदेशिक रोजगारीका लागि श्रीलङ्का छाडेका थिए ।

आधिकारिक तथ्याङ्कका अनुसार, श्रमिकहरूको रेमिटेन्स श्रीलङ्काको शीर्ष विदेशी राजस्व कमाउने मध्ये एक हो ।

पत्रकार महासङ्घ सप्तरीमा पुनः प्रेस युनियनका देव निर्वाचित

राजविराज (सप्तरी), २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित हुनुभएको छ ।

प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गर्नुभएको छ ।

यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी  हुनुभएको छ । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल,  सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो ।

महिला सदस्यमा रक्षा चौधरी,  दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् ।   यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गर्नुभएको थियो ।

केशव सुवेदीको पहलमा अनन्तका छोराका लागि आयो ४७ हजार सहयोग, जसको मुटुमा छ प्वाल

काठमाडौँ । गोरखाका अनन्त लामिछानेका २ महिनाका छोराको मुटुमा प्वाल परेपछि अहिले परिवार उपचारको खोजीमा छ । आर्थिक अवस्था कमजोर भएका अनन्तका छोराको उपचारका लागि नेपाल कल्याण समाज जापानको टिमले ४७ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल कल्याण समाज जापानका महासचिव समेत रहेका मनकारी युवा व्यबसायी केशव सुवेदीले जापानमा कार्यरत साथीहरु मिलेर उक्त रकम संकलन गरेर वीर अस्पतालका व्यवस्थापक एवं समाजसेवी भवनाथ पुडासैनीको हातबाट बिरामीका अविभावकलाई उक्त रकम हस्तान्तरण गरिएको बताए ।

व्यबसायी सुवेदी जापानको कानागावाको ओदावरा भन्ने स्थानमा कार्यरत छन् । नेपाल कल्याण समाज जापानले स्थापनाकालदेखि नै नेपालका विभिन्न स्थानदेखि दुरदराजका गाउँसम्म यस्तै सहयोग अभियान संचालन गर्दै आइरहेको छ । अनन्त लामिछानेका जम्मा २ महिनाका छोराको लागि वीर अस्पतालका व्यवस्थापक एवं समाजसेवी पुडासैनीले उपचारका लागि लाग्ने खर्च छुटका लागि पनि अस्पताल सञ्चालक मार्फत केही छुटहरू गराइदिएका छन् ।

गोरखाका भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ निवासी अनन्त लामिछानेको दुई महिना भएको नवजात शिशुमा मुटुमा प्वाल र अहिले निमोनियाको पनि समस्या देखिएपछि परिवारले सहयोगको अपिल गरेको छ । जापानबाट सहयोग गर्ने सहयोगि दाताहरुको नाम यसप्रकार रहेको छ।

रोमान्टिक, डान्सिङ शैलीको मायामा ठ्यक्क ठुक्कको चर्चा

काठमाडौँ । मायामा ठाक्क ठुक्क बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । रोमान्टिक, डान्सिङ शैलीको यो म्युजिक भिडियोको कथा सोहि टोलीको म्युजिक भिडियो ‘अठार कट्यौ कि कटेनौ’ को कथा बाट निरन्तर गरिएको निर्देशक गम्भिर विष्ट बताउँछन् । म्युजिक भिडियोमा डान्स, रोमान्स, केहि बोल्ड दृश्य कलात्मक ढ्ङ बाट देखाएका छन साथ साथै भिडियोमा देखिने कमेडि दृश्यहरु ले मज्जाले हसाउने छ । गीत सुन्दा जो कोहिलाइ पनि नाचु नाचु लाग्न सक्छ । डान्सिङ र कमेडि शैलीको म्युजिक भिडियो बनाउन माहिर निर्देशक गम्भिर विष्ट यस म्युजिक भिडियोको पनि निर्देशक हुन ।

गीतमा नबिन पौडेल / बेनिषा पौडेलको स्वर, सब्द / सङीत/ र्याप जगत तिरुवाको रहेको छ । भिडियोमा सुमन ज्योती (ल्याङ्री दादा ), उमेश बराल (विश्व) , सुरक्षा इतनी, नेहा गौतम , सुरेन्द्र बसेल लगायत कलाकारको अभिनय रहेको छ । रोशन विश्वक्रमाको कोरियोग्राफि, राकेश दाहालको सम्पादन/ कलर/ पोस्टर डिजाइन , प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ , सह निर्देशक सुरेन्द्र बसेलको रहेको छ। भिडियोलाइ जे अ्म डि कृयसनले निर्माण गरेका छ्न ।

काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग निर्माण गरिएको काठमाडौँस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।

कूल रु दुई करोड ९२ लाख लागतमा निर्मित उक्त परियोजना  जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी  तथा समाजसेवीहरुको समेत उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो भने जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने यहाँ स्थित भारतीय दूतावासले जनाएको छ । यसले सिकाईका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्याउनेछ ।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद्   (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस सन् २००० मा स्थापना भएको हो । क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पिसिएल) अध्यापन गराउँदै आएको छ र प्रत्येक वर्ष एक सय २० तालिमप्राप्त नर्स उत्पादन गर्नेछ ।

दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार नजिकै दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिमराजमार्ग छेउमा रहेको घाटगद्दीमा चितुवा देखापरेको हो ।

स्थानीय बासिन्दाले चितुवा देखेपछि होहल्ला गरेर वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले बताउनुभयो । अमरपुर र कलुवापुर बजारको बस्तीसँगै जोडिएको क्षेत्रमा दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो ।

ऐरका अनुसार एक साताअघि पूर्व पश्चिम राजमार्गको वनहरा पुल छेउमा स्थानीयले साँझपख पाटेबाघ देखापरेको थियो । “सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जङ्गली जनावरको सङ्ख्या बढ्दो छ”, ऐरले भन्नुभयो, “नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि स्थानीय उपभोक्ताले वन क्षेत्रमा जान छाडेका छन् ।”

सामुदायिक वनको सभाहलमा बिहान योगाभ्यासको कार्यक्रम केही दिनदेखि सञ्चालन हँुदै आएकामा चितुवा देखिएपछि सुरक्षाका कारणले कार्यक्रम बन्द गर्नु परेको स्थानीय बासिन्दाको भनाइ छ । दिउँसै हिंस्रक जनावर देखिन थालेपछि साँझका बेला हिँड्डुल गर्न डराउनुपर्ने अवस्था आएको स्थानीय टेकबहादुर भण्डारीले बताउनुभयो ।

जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्छः अध्यक्ष थापा

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सो पार्टीद्वारा यहाँ आयोजित ‘नेपालमा जलस्रोतको चुनौती र समाधान’ विषयक अन्तरक्रियामा उहाँले कसैको स्वार्थमा नेपालको जलसम्पदा प्रयोग हुन नदिन पर्याप्त राष्ट्रिय बहस र साझा धारणा आवश्यक रहेको बताउनुभयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले सम्पदाको समुचित सदुपयोग गर्न नीति बन्न नसक्दा सिँचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरूबीच पनि यति महत्वपूर्ण विषयमा गम्भी।र बहस हुन नसकेको धारणा राख्नुभयो ।

जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जलस्रोत उपयोगका चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै राजनीतिकीकरणको चपेटामा पर्दा नेपालको जलस्रोत क्षेत्र तहसनहस भएको बताउनुभयो। 

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ-नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको शुक्रबार साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो ।

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह निर्वाचित

धनुषा, २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ । साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुनुभएको छभने उहाँका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गर्नुभयो । 

सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाउनुभयो । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उहाँका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाउनुभयो । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनुभएको छभने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित हुनुभएको छ ।

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ, २९ मङ्सिरः भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–२ डी क्यारियर रकेटद्वारा दिउँसो ३ः१७ मा पाँचवटा उपग्रह प्रक्षेपण गरिएको थियो ।प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५५१ औं मिशन थियो ।

पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम

गण्डकी, २८ मङ्सिर : पोखरा महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन २०८१ अनुसार महानगपालिकाको कूल एक हजार १३ दरबन्दी स्वीकृत भएको छ ।

महानगरपालिकाको विशेष नगरसभाले ओएनम प्रतिवेदन अनुसार सो दरबन्दी स्वीकृत गरेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमल्सिनाले जानकारी दिनुुभयो । स्वास्थ्यअन्तर्गत सङ्घीय सरकारको एक सय ७८ समेत गरी महानगरपालिकामा कूल एक हजार एक सय ९१ दरबन्दी कायम भएको उहाँले जानकारी दिनुुभयो ।

नगरसभाले महानगरपालिकामा कार्यरत श्रेणिविहीनबाहेक करार कर्मचारीहरूको म्याद पुस मसान्तपछि थप नगर्ने र करार सेवामुक्त गरिएका ३५ जना करार कर्मचारीलाई थप दुुई महिनाको पारिश्रमिक बराबरको सेवा उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुुभयो ।

त्यस्तै गण्डकी प्रदेश किताब खानामा दर्ता हुने महानगरपालिकाको दरबन्दी संरचनामा नसमेटिएका अन्य स्थानीय तहबाट कामकाजमा रहेका दरबन्दीभन्दा बढीका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा कनिष्ठताका आधारमा काज फिर्ता गर्ने, महानगरपालिकाको स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगको अस्थायी योग्यता क्रमको सूचीबाट करारमा नियुक्ति गरी कामकाजमा लगाउने नगरसभाले निर्णय गरेको छ ।

अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरूवा भई आएका कर्मचारीको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको आर्थिक दायित्व नलिने निर्णय पारित गरेको छ ।

महानगरपालिकाको आन्तरिक सुशासन प्रवर्द्धन गर्न आर्थिक दायित्व पर्नेगरी कुनै कर्मचारी पदाधिकारीहरूको वैदेशिक भ्रमण स्वीकृत नगर्ने, कुनै आयोग, समिति र प्रतिष्ठान गठन नगर्ने, विनियोजन ऐनले तोकेको सीमाभन्दा बाहिर गएर कुनै योजना वा कार्यक्रममा रकमान्तर नगर्ने निर्णय गरेको छ ।

त्यस्तै बेरूजु असुली प्रक्रियालाई अभियानको रूपमा सञ्चालन गर्ने, महानगर गौरवका योजनाबाहेक कुनै योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न परामर्शदाताको सेवा नलिने र राजस्व बक्यौता असुली कार्य योजना बनाइ आगामी नगरसभामा पेस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुुभयो । 

नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा अधिकारी

दमौली (तनहुँ), २८ मङ्सिरः नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी हुनुभएको छ । आज सम्पन्न अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत प्राप्त गर्नुभएको छ । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अस्मिता खनालले १६ मत प्राप्त गर्नुभएको छ ।

सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गर्नुभएको छ ।

इसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गर्नुभएको छ ।

सङ्घीय परिषद् सदस्य खुल्लमा प्रदीप काफ्ले, सङ्घीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

ऊर्जा क्षेत्रको विकासमा सरकार कटिबद्ध छः मन्त्री खड्का

काठमाडौँ, २८ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासका लागि सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आज साँझ यहाँ आयोजना गरेको मुलुकको विकासका लागि ऊर्जा क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा उहाँले ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव भएको बताउनुभएको हो ।

ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु्भयो । कूल २८ हजार पाँच सय मेवावाट विद्युत् उत्पादन गर्न ४६ अर्ब अमेरिकन डलर लाग्ने मन्त्री खड्काको भनाइ थियो ।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार गरिब तथा धनी सबै वर्गका लागि हुने भएकाले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गका लागि सरकारले दुई लाखदेखि पाँच लाखसम्मको बिना सहुलियत धितोको  व्यवस्था गरेको उल्लेख गर्नुभयो । “हुने वर्गका लागि भन्दा पनि नहने वर्गलाई लक्षित गरी सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो  ।

  उहाँले आफूले राम्रो काम गरे पनि विभिन्न सञ्चार माध्यमले आफ्नो पछाडि लागेको भन्दै मुलुकको विकासका लागि नडराई काम गर्ने बताउनुभयो । उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उल्लेख गर्नुभयो ।

  ऊर्जामन्त्री खड्काले विद्युत् खरिद सम्झौता (पिपिए) चाँडो खुल्ने स्पष्ट पार्नुभयो । मन्त्री खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ

गण्डकी, २८ मङ्सिरः गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुुभएको छ ।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराउनुभएको हो ।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बन्नुभएको हो । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्नुहुने भएको छ ।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताउनुभयो ।

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण

काठमाडौँ, २८ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।

यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहनुभएका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पु¥याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेकोे छ ।

पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।
खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको थियोे ।

संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्नुहुने बताउनुभयो ।

महामन्त्री शर्मा सङ्घीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बन्नुभएको छ । साथै उहाँ मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारी समेत बन्नुभएको छ ।

आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी हुनुन्थ्यो ।

अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ

श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएको छ ।

गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उहाँका सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाइएको थियो ।

यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएको थियो ।

श्रीलङ्काका बन्दरगाहमन्त्री विमल रत्नायकेले अडानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताउनुभएको छ ।

“अडानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” बिहीबार राति बन्दरगाहको भ्रमणका क्रममा उहाँले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “अडानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो।”

रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलङ्काको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्त्वपूर्ण छ ।

बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर रहेको छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ ।

अडानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो ।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ ।

अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएको छ ।

श्रीलङ्काले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेको थियो ।

नयाँ बामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु उर्जा परियोजनाको विरुद्धमा अभियान चलाउनुभएको थियो ।
बन्दरगाह मन्त्री रत्नायकेले पनि आफ्नो सरकार यसको विपक्षमा रहेको बताउनुभएको छ ।

रत्नायकेले भने, “यो देशलाई अहितकर हुनेछ ।”

दिसानायकेले यो परियोजनालाई श्रीलङ्काको ऊर्जा सम्प्रभुताका लागि खतरा को संज्ञा दिनुभएको थियो ।

अडानी समूहका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूले भारत सरकारका अधिकारीलाई घूस दिएको आरोप लागेपछि अडानी समूहले सेयर बजारमा करिब ५५ अर्ब अमेरिकी डलर गुमाएको जनाएको छ ।

कोइला, एयरपोर्ट, सिमेन्ट र मिडियाको व्यापार साम्राज्यको साथ, अडानी समूहले पहिलेका कर्पोरेट धोखाधडीको आरोपहरूको सामना गरेको छ र गत वर्ष पनि यस्तै आरोपको सामना गरेको छ।

सन् २०२३ मा ह्यान्डेनबर्ग रिसर्चको एक रिपोर्टले ‘कर्पोरेट फ्रड’को आरोप लगाएपछि सन् २०२३ मा यसको शेयरको बजार मूल्यबाट १५० अर्ब अमेरिकी डलर कम भएको थियो ।

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ, २८ मङ्सिरः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आगामी पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान÷अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले आज विज्ञप्ति निकालेर उक्त निर्णयमा आपत्ति जनाएको हो ।

साथै क्यानले सो क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्वाध र नियमितरुपमा व्यावसायिक उडान सञ्चालन गर्न÷गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैरसैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र सो कानुनअन्तर्गतका नियमावलीमा भएको व्यवस्थाबमोजिम क्यानमा निहित रहेको क्यानले स्मरण गराएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानुनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको सो पत्राचारको कुनै पनि कानुनी आधार र औचित्य नभएको क्यानको जिकिर छ ।

“निकुञ्ज कार्यालयले प्राधिकरणको नियमन दायरामा रहेका ११ वटा हेलिकप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थानको संरक्षण, ध्वनि प्रदूषण नियन्त्रण र खुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै हेलिकप्टरको उडानमा पूर्णरुपमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट

काठमाडौँ, २८ मङ्सिरः उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन’ (सिपिपिसिसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त अवसरमा शुभकामना आदानप्रदानपश्चात् नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोगलगायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताउनुभयो ।
‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७०औँ वर्ष पूरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु”, उहाँले भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।” उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो ।

“चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पु¥याएको योगदानलाई म स्मरण गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको छ ।”

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनुभयो । पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकासलगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहनरूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुसी व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै शुनको नेपाल भ्रमण सफल र बसाई सुखद् रहोस् भन्ने कामना गर्नुभयो ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन(सिपिपिसिसी)को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट सङ्घका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरु लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गर्दै यो पवित्रभूमिप्रति आफूसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताउनुभयो ।

“प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचीकृत गरिएको छ”, उहाँले भन्नुभयो, “चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ ।” उहाँले नेपाल पवित्रभूमि विश्वका सम्पूर्ण बौद्धमार्गीको मन र हृदयमा रहेको बताउनुभयो ।

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ, २८ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ नं वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताउनुभएको हो ।

“केही मान्छेको स्वार्थका कारण देश बन्न सक्दैन । देश अघि बढ्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”

एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

काठमाडौँ, २८ मङ्सिरः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो ।

कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे । तर, त्यो टीमको जितका लागि पर्याप्त भएन । कुल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पु¥याउन पर्याप्त भएन । नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुप¥यो ।

लिगको चरणको आफ्नो अन्तिममा खेलमा आज लुम्बिनी लायन्स कर्णाली याक्ससँग पाँच रनले पराजित भयो । जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन ।

हारको सिलसिला सुरुदेखि अन्तिमसम्मै
लुम्बिनीको हारको सुरुआ पहिलो खेलदेखि नै भयो । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेटले पराजित भयो । दोस्रो खेलमा पोखरासँग १० विकेटले हार्यो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुरसँग एक रनले पराजित भएको थियो ।

पाँचौँ चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो । तर, छैटौँ खेलमा काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपिएलको जारी संस्करणबाट बाहिरिने पहिलो टोली बन्न पुुग्यो ।

चलेनन विदेशी खेलाडी
लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द र क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरलाई भित्र्याएको थियो ।

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो । तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन् । लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द । चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए । उनी आइपिएल स्टार समेत हुन् । तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन् ।

लुम्बिनीबाट उन्मुक्त चारवटा खेल खेले । पोखराविरुद्धको खेलमा उनी शून्य रनमै आउट भए । सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन् । चार रन बनाएर आउट हुन् पुगे । चितवनविरुद्धको खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमाडौँ गुर्खाजविरुद्धको खेलमा भने १४ रन बनाए । एनपिएलका चार खेलमा उन्मुक्तले १८ रन मात्रै बनाए ।

अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन् । एनपिएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रन मात्रै जोडे । ३७ वर्षीय दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सन्राइजर्स हैदरावादले सन् २०१६ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जिते पनि एनपिएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो ।

लुम्बिनीको तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्सले भने केही योगदान गरे । लुम्बिनीबाट सातवटै खेल खेलका उनले एक सय ६५ रन बनाए ।

यस्तै, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले लुम्बिनीका लागि सातवटै खेल खेले । सातवटा खेलबाट ८३ रन बनाएका उनले नौ विकेट आफ्नो नाममा दर्ता गरे ।

बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो । सातवटै खेल खेलेका उनले ब्याटिङतर्फ छ रन बनाउँदा बलिङतर्फ भने नौ विकेट लिन सफल भए ।

स्वदेशी खेलाडीको प्रदर्शन
लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल एनपिएलका लिग चरणका सातवटै खेल खेले । उनले सात वटा खेलबाट २७९ रन बनाउन सफल भए भने आठ विकेट आफ्नो नाममा दर्ता गरे । उनले एनपिएलमा सर्वाधिक ९५ रन बनाए भने दुई अर्धशतक समेत प्रहार गरे ।

लुम्बिनीबाट सातवटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा । उनले सातवटा खेलबाट एक सय २० रन बनाउँदा एक विकेट पनि आफ्नो नाममा दर्ता गराए ।

छवटा खेल खेलेका अर्जुन साउदले कूल ६८ रन जोडे । विवेक यादवले छ खेलबाट एक सय रन बनाए भने तीन विकेट हात पारे । उनले एक अर्धशतक समेत प्रहार गरेका थिए । टोलीका लागि छवटै खेल खेलेका आशुतोष घिरैयाले कूल ४४ रन जोडे ।

साथै पाँच वटा खेल खेलेका दुर्गेश गुप्ताले कूल पाँच रन बनाउँदा तीन विकेट आफ्नो नाममा दर्ता गराए भने चार खेल खेलेका सुर्य तामाङले कूल १८ रन जोड्दै एक विकेट लिए भने चार खेल नै खेलेका अभिषेक गौतमले एक रन जोड्न नसके पनि छ विकेट लिए ।

लुम्बिनीबाट दिनेश अधिकारी दुई खेल खेले । जसमा उनले १४ रन जोडे । लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्री एक÷एक खेल खेले । जसमा भण्डारीले तीन रन बनाए भने तीन विकेट लिए । यस्तै, आग्रीले तीन विकेट आफ्नो नाममा दर्ता गरे ।

रोहितको एक्लो प्रयास
लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो । एनपिएलमा आफ्नो पहिलो खेलमा विराटनगर किङ्सविरुद्व कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए । विराटनगरविरुद्ध बलिङ भने गरेनन् ।

रोहितले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए ।

तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्व पाँच रन बनाए भने एक विकेट हात पारे । चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्व उनले सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारे ।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्दा लुम्बिनीका पौडेल ब्याटिङ र बलिङ दुवैतर्फ नायक बने । उनले चितवन राइनोजविरुद्ध ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा बलिङतर्फ चार विकेट चट्काए ।

छैटौँ खेल र सातौँ खेलमा भने उनी जम्न सकेनन् । छटठौं खेलमा काठमाडौँविरुद्ध आठ रन मात्रै बनाएका रोहितले बलिङतर्फ एक विकेट पनि झार्न सकेनन् । आठौँ खेलमा कर्णालीविरुद्ध १० रन मै आउट भएका रोहित बलिङतर्फ भने एक विकेट लिन सफल बने ।

पौडेल जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन् । उनले सात खेलबाट सर्वाधिक दुई सय ७९ रन बनाउन सफल भएका छन् । रोहित जारी एनपिएलमा ११ छक्का र २६ चौकासमेत प्रहार गरेका छन् ।

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।”

आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरूङले भन्नुभयो, “नेपालको आदिवासी आन्दोलन काठमाडौँमा मात्रै सीमित हुँनुहुँदैन, किनकी एसियाको सबैभन्दा ठूलो आन्दोलन भनेकै आदिवासी जनजाति आन्दोलन हो ।”

अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ, त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको मन्त्री गुरूङको धारणा छ ।

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २८ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापारसम्बन्धी मन्त्रीसमेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा उहाँहरूबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्यलगायत विषयमा कुराकानी भएको थियो ।

सो भेटका क्रममा मन्त्री डा देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गर्नुभएको थियो।

नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि छलफल भएको थियो ।

नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि युरोपियन युनियनमार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा देउवाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो भेटका क्रममा परराष्ट्रमन्त्री डा देउवाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभएको थियो ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालले अकल्पनीय क्षति ब्यहोर्नुपरिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियममार्फत् युरोपियन युनियनसँग उहाँले आग्रह पनि गर्नुभयो ।

सो वार्तामा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानुनहरू निर्माण भएका जानकारी पनि गराउनुभयो ।

साथै उहाँले विदेशमन्त्री बर्नार्डसँग संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार आयोगको सदस्यमा नेपालले उम्मेदवारी दिन लागेकाले त्यसमा नेपालले बेल्जियम सरकारको सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको थियो ।

सिरियामा आइएसविरुद्ध काम गर्न ‘अनिवार्य’ रहेको ब्लिन्केनको भनाइ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा बशर अल असदको पतनपछि इस्लामिक स्टेट (आइएस) को पुनरुत्थानविरुद्ध काम गर्नु ‘अत्यावश्यक’ भएको टर्कीएका अधिकारीसँगको कुराकानीमा बताउनुभएको छ ।

बशर अल असदको सरकार ढलेपछि सिरिया सङ्कटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणको क्रममा टर्कीएका विदेशमन्त्री हाकान फिदानसँग अन्कारामा भएको भेटवार्तापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

ब्लिन्केनले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “हाम्रो देशले धेरै मेहनत गरेको छ र आईएसआईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयासहरू जारी राख्न अनिवार्य छ ।

जवाफमा फिदानले टर्कीए सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

“हाम्रो प्राथमिकता सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्ने, आतङ्कवादलाई बलियो हुनबाट रोक्ने र आईएसआईएस र पीकेकेलाई त्यहाँ प्रभुत्व जमाउनबाट रोक्ने हो,” टर्कीएविरुद्ध दशकौँ लामो विद्रोह लडेको कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) लाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।

ब्लिन्केनले टर्कीएका विदेशमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेटवार्ता गरेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको अमेरिकी अधिकारीले बताएका छन् ।

भेटमा एर्दोगानले ब्लिङ्केनलाई सिरियामा आइएस जिहादीविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने तर चरमपन्थीहरूलाई नियन्त्रण गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

एर्दोगानले भन्नुभयो, “टर्कीले आइएसआइएसविरुद्धको लडाइँमा कुनै कमजोरी हुन दिने छैन ।

भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ

भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २ ः द रूल’ को विशेष प्रदर्शन (स्क्रिनिङ) का लागि पग्नुभएको थियो । उहाँलाई हेर्न ठूलो भीड भेला भएको र भीड अनियन्त्रित हुँदा भाग दौड मच्चिएको र एक महिलाको मृत्यु भएको थियो ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “४२ वर्षीय अभिनेतालाई खतरनाक हतियार वा साधनले स्वेच्छाले चोट पु¥याउनेलगायत तीन वटा अपराधको आशङ्कामा पक्राउ गरिएको हो ।

अधिकारीका अनुसार यस घटनामा संलग्न अन्य सात जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।

टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उहाँलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ ।

आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो ।

महिलाका परिवारले अर्जुन, उहाँको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताउनुभएको थियो ।

उहाँले एक्समा लेख्नुभएको छ, “परिवार दुःखी हुने अवस्थालाई सम्मान गर्दै म उनीहरूलाई यो चुनौतीपूर्ण यात्राबाट फर्कन मद्दत गर्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु।”

अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्प फिल्म फ्रेन्चाइज’ले बक्स अफिसमा करोडौं कमाएको छ ।

उहाँले दुई वर्षअघि रिलिज भएको सिरिजको पहिलो चरणमा नै आफ्नो शीर्ष भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्नुभएको छ ।

पाकिस्तानी टोलीद्वारा विभिन्न विधामा १० वटा ‘एपिक्टा अवाड’ प्राप्त

पाकिस्तानको टेक्नोलोजी टोलीले एशिया प्यासिफिक इन्फर्मेशन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी एलायन्स (एपिक्टा) अवार्ड सन् २०२४ मा विभिन्न विधामा १० वटा अवार्ड प्राप्त गरेको स्थानीय मिडियाले बिहीबार रिपोर्ट गरेको छ ।

स्थानीय मिडिया बोर्नियो बुलेटिनका अनुसार पाकिस्तानको इनोभेसन शोकेसले २० सदस्यहरूको प्रतिनिधिमण्डल ल्याएको थियो, जसमा नवीन कम्पनी, स्टार्ट–अप र शैक्षिक टोलीहरूका प्रतिनिधिहरू थिए । यसले असाधारण रचनात्मकता र प्राविधिक विशेषज्ञता प्रदर्शन गरेका थिए ।

यो उपलब्धिले विश्वव्यापी सूचना तथा सञ्चार प्रविधि (आइसीटी) परिदृश्यमा देशको बढ्दो प्रख्याततालाई प्रकाश गर्दछ ।

एपिक्टा अवार्ड यस वर्ष ब्रुनाईले आयोजना गरेको थियो । यो कार्यक्रमलाई २४ विधामा आयोजित गरिएको थियो, जसमा १८० भन्दा बढी सहभागी टोलीहरूबाट २७० प्रविष्टिहरू थिए ।

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगद्वारा आज यहाँ आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुनजरूरी रहेको स्पष्ट पार्नुभयो ।

“संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन”, उहाँले भन्नुभयो, “यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिररहन्छ ।”

सत्तरी प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर

सुदूरपश्चिम, २८ मङ्सिरः मानसिक स्वास्थ्य समस्या हुनेहरुमध्ये ७० प्रतिशत व्यक्ति अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको सरोकारवालाले बताएका छन् । विकासोन्मुख देशमा मानसिक स्वास्थ्य सेवामा बजेट न्यून विनियोजन हुने र उपलब्ध स्वास्थ्योपचार सेवा पनि सहर केन्द्रित हुँदा ठूलो सङ्ख्यामा मानसिक रोगी स्वास्थ्य सेवाको पहुँचमा नपुगिरहेको बताइएको छ ।

धनगढीमा आज आयोजित मानसिक स्वास्थ्यको अवस्था र मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनासम्बन्धी अन्तक्र्रियामा नेपालमा मानसिक स्वास्थ्य समस्या बर्सेनि बढ्दै गएको जानकारी दिइयो । अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक मनोचिकित्सकको व्यवस्थापन हुननसक्दा यो समस्या थप गम्भीर बन्दै गएको छ ।

नेपालमा अहिले औसतमा एक जना विज्ञ चिकित्सकले चार लाख ६० हजार जनाको उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । मानसिक स्वास्थ्यको मुख्य समस्याको रुपमा ‘डिप्रेसन’ र ‘एन्जाइटिस’ देखिएको छ । समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत ‘डिप्रेसन’ र ४० प्रतिशत ‘एन्जाइटिस’सँग सम्बन्धित समस्या हुने गरेको छ ।

एक तथ्याङ्कका अनुसार नेपालमा पाँच दशमलव दुई प्रतिशत १३ देखि १७ वर्ष उमेरका किशोरकिशोरी र दश प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानिसक स्वास्थ्य समस्या पाइएको छ । जटिल मानसिक रोगकै कारण बर्सेनि आत्महत्या गर्नेको दर पनि बढ्दो छ ।

मानसिक रोग प्रवद्र्धनका क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र(सिएमसी)ले यो रोगको रोकथामका लागि चेतनामूलकलगायतका गतिविधि गर्दै आएको छ । केन्द्रका प्रादेशिक संयोजक हिमाल गैरेले कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमलाई विभिन्न कार्यक्रममा मूलप्रवाहीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा गम्भीररुप लिँदै गएको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि ठोस रणनीति एवं योजना त्याएर कार्यान्वयनमा लैजान जरुरी भइसकेको छ ।” घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले मानसिक स्वास्थ्यको समस्यालाई केन्द्रित गरेर गाउँ र वडा तहसम्म योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताउँनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ ।”

सरकारले निःशुल्करुपमा उपलब्ध गराउने ११ प्रकारका औषधि मानसिक रोगसँग सम्बन्धित छन् । कार्यक्रमका सहभागीले मानसिकरोगीको समस्या बढ्दै गए पनि गाउँ र वडा तहसम्म पुग्नुपर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको र सरकारले निःशुल्करुपमा उपलब्ध गराउने औषधिको पहुँचमा अधिकांश बिरामी पुग्न नसकिरहेको अनुभव सुनाउनुभएको थियो । प्रदेश तहमा मानसिक रोग रोकथामका लागि योजना तथा स्पष्ट नीति बनाएर अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वमा प्रतिएक लाख जनसङ्ख्यामा ११ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा यो सङ्ख्या प्रतिएक लाख जनसङ्ख्यामा २३ दशमलव चार जना छन् ।

विकासोन्मुख देशमा मानसिक स्वास्थ्य समस्या हुने कारणमा लडाइँ प्राकृतिक विपद्, दुर्घटना, गरिबी तथा आर्थिक भेदभाव, बालबालिकको आभिभावक विहीनता, एक्लोपना, लामो अवधिको तनाव वा शारीरिक अस्वस्थ्यता, लागुऔषधको कुलतलगायत देखिएका छन् ।

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट), २८ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले जिल्लामा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउनुपर्छ ।” दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुत खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण योजना अगाडि सारेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानी पहुँचको दिगो समाधानका लागि सरकार प्रतिबद्ध छ ।

यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।” मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट पार्नुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठले हुम्लामा खानेपानी प्रणालीको दिगोे सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताउनुभयो । सो क्रममा हुम्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो । हुम्लाको दुर्गम भूगोल चुनौतीपूर्ण भए पनि खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आवमा १७ वटा आयोजना कार्यान्वयन गरिरहेका र जसमा कूल आठ दशमलव पाँच करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

दमौली (तनहुँ), २८ मङ्सिरः मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

पर्वत, २८ मङ्सिरः कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।

अट्ठाइस लाख जुटाएर तीन रोपनी जग्गा खरिद गरी खेलमैदान

म्याग्दी, २८ मङ्सिरः अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले रु १३ लाख ५० हजार, रु पाँच लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहनुभएका घारका ददीवल खड्काबाट रु पाँच लाख, घार कोटमन्दिरबाट रु एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उहाँल जानकारी दिनुभयो ।

एनपिएलः लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौँ, २८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।

कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।

लोप हुँदै लालुपाते

गलेश्वर (म्याग्दी), २८ मङ्सिर : चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ ।

जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो ।

तीन–चार वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो ।

पत्रकार महासङ्घको निर्वाचन आज

काठमाडौँ २८ मङ्सिरः नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

आत्म–रक्षाका लागि गोलान बफर जोन कब्जा गरेको इजरायलको भनाइ

गोलान हाइट्समा इजरायली र सिरियाली सेनालाई छुट्याउने संयुक्त राष्ट्रसङ्घद्वारा नियन्त्रित बफर जोनबाट पछि हट्न फ्रान्सले आग्रह गरेपछि इजरायलले बिहीबार ‘आफ्नो रक्षाका लागि कार्य जारी राख्ने’ बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार सिरियाली राष्ट्रपति बशर अल–असदलाई विद्रोहीहरूले सत्ताबाट हटाएपछि गोलान हाइट्सको सिरियाली नियन्त्रित भागमा रहेको असैन्यीकृत क्षेत्रलाई ‘कब्जा’ गर्न सेनालाई आदेश दिएको घोषणा गर्नुभएको थियो । 

इजरायलले बिहीबार आफ्नो रक्षा गर्ने उद्देश्यले कब्जा गरिएको बताएको थियो । “यो सीमा नजिकै सक्रिय जिहादी समूहहरूद्वारा उत्पन्न खतराहरूका कारण रक्षात्मक कारणले आवश्यक थियो”, विदेश मन्त्रालयका प्रवक्ता ओरेन मार्मोर्स्टेनले एक्समा भन्नुभयो, “इजरायलले आफ्नो रक्षा गर्न र आवश्यकता अनुसार आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न कार्य गर्न जारी राख्नेछ ।” 

बिहीबार छुट्टै वक्तव्यमा प्रधानमन्त्री कार्यालयले असदको शासनको पतनले ‘इजरायलको सीमा र बफर जोनमा खाली ठाउँ’ सिर्जना गरेको बताएको छ । 

“यसैकारण इजरायली सेनाले बफर जोनमा प्रवेश गरी इजरायलको सीमा नजिकका रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको हो”, विज्ञप्तिमा भनिएको छ, “सन् १९७४ (युद्धविराम) को सम्झौताका लागि प्रतिबद्ध बल स्थापना नभएसम्म र हाम्रो सीमामा सुरक्षाको ग्यारेन्टी नभएसम्म यो तैनाथी अस्थायी हो ।” 

इजरायलको पछिल्लो बयान फ्रान्सले संयुक्त राष्ट्रसङ्घ र क्षेत्रका केही देशसँगै इजरायली सेनालाई बफर क्षेत्रबाट पछि हट्न माग गरेपछि आएको हो ।

फ्रान्सको विदेश मन्त्रालयले यसलाई सन् १९७४ को विघटन सम्झौताको ‘उल्लङ्घन’ भनेको छ । उक्त सम्झौताले संयुक्त राष्ट्रसङ्घ–नियन्त्रित बफर जोन स्थापना गरेको थियो ।

“फ्रान्स इजरायललाई क्षेत्रबाट बाहिर निस्कन र सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न आह्वान गर्दछ”, मन्त्रालयका प्रवक्ताले बुधबार भन्नुभयो । 

सप्ताहन्तमा नेतान्याहुले सम्झौता रद्द भएको घोषणा गर्नुभयो र सेनालाई बफर जोनका साथै त्यसभन्दा बाहिरका रणनीतिक विन्दुहरू कब्जा गर्न आदेश दिनुभयो । 

मार्मोर्स्टेनले सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणलाई रोक्न यो कदम आवश्यक रहेको बताउनुभयो । उहाँले इजरायल प्रवेश गर्नुअघि सन् १९७४ को सम्झौताको उल्लङ्घन भइसकेको बताउनुभयो । 

इजरायली विदेशमन्त्री गिडियोन सारले यस हप्ताको सुरुमा आफ्ना फ्रान्सेली समकक्षी जिन–नोएल बारोटसँग यस विषयमा छलफल गर्नुभएको मार्मोर्स्टेनले एक्समा जानकारी दिनुभयो । 

गत साता इजरायली सेनाले आक्रमणलाई रोक्न बफर जोनमा युएनडिओएफ शान्ति सेनालाई सहयोग गरेको बताएको थियो । सशस्त्र व्यक्तिहरू आफ्नो एउटा अड्डामा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । 

इजरायलले सन् १९६७ को अरब–इजरायल युद्धको समयमा सिरियाबाट गोलान हाइट्सको अधिकांश भाग कब्जा गरेको थियो । 

सन् १९७३ को अरब–इजरायली युद्धको समयमा यसले यस क्षेत्रलाई आफ्नो कब्जामा लिएको थियो र सन् १९८१ मा संयुक्त राज्य अमेरिकाले मात्र मान्यता दिएको कदममा यस क्षेत्रलाई आफ्नो क्षेत्रमा संलग्न गरेको थियो ।