बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छः महासचिव पोखरेल


काठमाडौँ, १२ असारः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
“बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दर प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली युवा केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका बताउनुभयो । “हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्” उहाँले भन्नुभयो ।
एमालेको नेतृत्वमा रहेको सरकारले ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको महासचिव पोखरेलले बताउनुभयो । एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उहाँको भनाइ थियो ।
पार्टीभित्र नेतृत्वको बहस गर्ने बेला नभएको उहाँले बताउनुभयो । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको बताउनुभयो ।
बैठकमा एमाले केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेलले काठमाडौँमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताउनुभयो । काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाको सङ्गठनात्मक विस्तार कार्यलाई तीव्रताका साथ लगिएको जानकारी दिनुभयो ।