`

किरात समुदायले हर्षोल्लासका साथ मनाए उधौली

ललितपुर । किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् । यस चाडको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

किराँत समुदायका युवतीहरू आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भने, ‘आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।’

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक–फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ ।

भूमिपूजा गरेर किरात महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्दछन् । ‘ललितपुरको हात्तीवनमा पितृपूजा गरेर यहाँ नखिपोटमा साकेली सिली नाच्छौँ । साकेला सिलीमा हाम्रो पुर्खाहरूले ढुङ्गेयुगदेखि आजसम्म के–के गरे सबै देखाइन्छ । विभिन्न खानपीनसहित चाड मनाइन्छ ।’

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।

सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

असदको पतनपछि ५ दिनमा ७,६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता

सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ ।

एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गर्नुभएको छ । यसमा पाँच दिनको सङ्ख्या सात हजार छ सय २१ आप्रवासी थिए।  

टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ । 

सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ । 

येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो । 

टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।  

टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ ।

गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत)  अलेप्पो क्षेत्रका हुन् ।

नयाँ सरकारलाई सैन्य सहयोग गर्न टर्की तयार : रक्षामन्त्री

यसैबीच टर्कीले असदलाई सत्ताच्यूत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।

रक्षामन्त्री यासर गुलरले आइतबार पत्रकारहरूसँग राज्य समाचार संस्था अनाडोलु र अन्य टर्की मीडिया माध्यमहरूमा रिपोर्ट गरिएका कुरामा नयाँ नेतृत्वलाई ‘अवसर’ दिइनुपर्ने र टर्की ‘नयाँ प्रशासनले अनुरोध गरेमा आवश्यक सहयोग गर्न तयार’ रहेको बताउनुभयो ।

“नयाँ प्रशासनले के गर्छ भनेर हेर्न आवश्यक छ । हामीलाई लाग्छ उनीहरूलाई मौका दिनु आवश्यक छ”, गुलरले हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनको बारेमा भन्नुभयो । उक्त गठबन्धन अल–कायदाको सिरिया शाखामा निहित छ र धेरै पश्चिमी सरकारहरूद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा घोषित गरिएको छ ।  

तर एचटिएसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ र यसको सङ्क्रमणकालीन सरकारले कानूनको शासनसँगै सबै सिरियालीहरूको अधिकारको रक्षा गरिने कुरामा जोड दिएको छ । 

नयाँ प्रशासनले ‘सबै सरकारी संस्था, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सम्मान गर्ने’ वाचा गरेको र रासायनिक हतियारको कुनै पनि प्रमाण ओपिसिडब्लु निगरानी संस्थालाई रिपोर्ट गर्ने वाचा गरेको गुलरले बताउनुभयो ।

खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बोदेबरसाइन (सप्तरी), ३० मङ्सिरः जिल्लाको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको अस्पताल जाने क्रममा मृत्यु भएको हो ।

सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नं भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुर्घटनामा परेको मोटरसाइकल चालक सोही खडक नगरपालिका ११ का अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उहाँको स्थानीय जीवनज्वति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।     स्कारपिओका चालक फरार रहेको प्रहरीले बताए । साथै दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

तनहुँको आँबुखैरेनीमा दिनहुँ चितुवा देखिन थालेपछि स्थानीय त्रसित

दमौली (तनहुँ), ३० मङ्सिरः आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।

पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो ।

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।

गलैँचा, मुढा बेचेर मासिक पाँच हजार घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ), ३० मङ्सिरः यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।

घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।

“उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भन्नुभयो । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।

सिरहामा दुर्घटनाग्रस्त कारमा भेटियो १३० किलो गाँजा,चालक फरार

सिरहा, ३० मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

ब्राजिलका पूर्व रक्षामन्त्री पक्राउ

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पु¥याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

ब्राजिलको सङ्घीय प्रहरीले अनुसन्धानमा बाधा पु¥याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।“ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,” स्रोतले जानकारी गराएको छ ।

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको सपथ ग्रहण रोक्न ‘कू’ को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो ।यो सूचीमा नेट्टो पनि सामेल हुनुहुन्थ्यो र सन् २०२२ को चुनावमा उहाँको प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो ।

महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सह–षडयन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’ को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढङ्गले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ ।

सन् २०२२ मा लुलाले जितेको चुनावमा धाँधली भएको दाबी गर्न र सर्वोच्च अदालतलाई किनारा लगाउन आदेशको प्रयोग गर्न बोल्सोनारो र उहाँका सैन्य अधिकारीहरूसहित उहाँका केही अधिकारीहरूको मिलेमतो रहेको बताइएको छ ।

प्रतिवेदनमा भनिएको छ, “ब्राजिलका तत्कालीन राष्ट्रपति बोल्सोनारोले चुनावी पराजयपछि पनि सत्तामा रहिरहनका लागि दस्तावेज र रणनीतिको मस्यौदामा प्रत्यक्ष संलग्न रहेर ‘कू’ योजना निर्माणमा सक्रियतापूर्वक भाग लिनुभएको थियो ।

बोल्सोनारोलाई उहाँका उपराष्ट्रपति तथा सर्वोच्च अदालतका न्यायाधीश लुलाको हत्या गर्ने कुलीन सैनिकको कथित योजनाबारे पनि ‘पूर्ण जानकारी’ रहेको रिपोर्टमा उल्लेख छ ।

‘ग्रीन एण्ड एलो डगर’ भनिने यो योजनाको बारेमा नेट्टोको घरमा छलफल भएको थियो ।अनुसन्धानकर्ताहरूका अनुसार ब्राजिलको राष्ट्रपतिको कार्यालय प्लानाल्टो दरबारमा यो छापिएको थियो।बोल्सोनारोको लिबरल पार्टीको मुख्यालयमा नेट्टोका एक सल्लाहकारको सामानमा ‘कू’ योजनाको मस्यौदा फेला परेको थियो

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

म्याग्दी, ३० मङ्सिर : यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।

कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उहाँले जानकारी दिनुभयो । रु १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो । ६४ जना शेयर सदस्यको रु चार करोड ८३ लाख शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले रु पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।

सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ ।

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

गलकोट (बागलुङ), ३० मङ्सिरः बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।

स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो ।

“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ ।

कञ्चनपुरमा उखुबारीमा तीस किलो बढी तौलको अजिङ्गर फेला

कञ्चनपुर- यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरिएको छ ।

कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

उहाँका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ । यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ । यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ । 

डेढ अर्ब लगानीमा खुल्यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’

काठमाडौँ-ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले रू एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना र सेवासहितको मल्टिभेन्यु द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।

सिजी होल्डिङ्सका परामर्शदाता अर्जुनराज गिरीले अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार र सुविधायुक्त द प्लाजा नेपालकै ठूलो मल्टिभेन्यु भएको बताउनुभयो ।

कुल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीनवटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिने जनाइएको छ ।

कुल ४३ हजार वर्ग फिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकताअनुसार सचिवालय र भिआइपी कक्षको पनि सुविधा छ ।

कार्यक्रमको उच्चस्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउन्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने जनाइएको छ ।

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल

काठमाडौँ, ३० मङ्सिरः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभएको छ ।

किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गर्नुभएको छ ।

कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।

उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको बताउनुभएको छ ।

“हाम्रो देश नेपाललाई संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरिएको छ । हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, आस्थाअनुसार धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ ।

हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उहाँले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको बताउनुभएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, ३० मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।

सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैबीच, काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै

काठमाडौँ, ३० मङ्सिर: यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।

नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै

काठमाडौँ, ३० मङ्सिरः नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

आजैका धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० मङ्सिरः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

काठमाडौँ, ३० मङ्सिरः नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ । यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको र यी महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पु-याएको छः राष्ट्रपति पौडेल

काठमाडौँ, ३० मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।”

प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज उधौली पर्व मनाउँदै किरात समुदाय

काठमाडौँ, ३० मङ्सिरः मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ ।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष दाहाल

लुम्बिनी, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताउनुभयो । “माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका छन् । सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ । यसमा सबै लाग्नुहोला”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रको हितलाई सर्वोपरी राखेर छिमेकी राष्ट्र भारत र चीन तथा अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

धादिङमा बस दुर्घटना, आठ जना घाइते

मलेखुु (धादिङ), २९ मङ्सिर : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका आठैजनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ । बस चालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

आवश्यकता परिपूर्ति र प्रकृति संरक्षणमा सन्तुलन चुनौतीपूर्णः मन्त्री शाही

गण्डकी, २९ मङ्सिरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताका आवश्यकता परिपूर्ति र प्रकृति संरक्षणमा सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा पोखरामा आयोजित ‘वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण’ विषयक दुुई दिवसीय कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले नेपाल जस्तो अल्पविकसित र स्थानीय समुदायले जीविकोपार्जनका लागि प्राकृतिक स्रोतमाथि आश्रित हुने मुलुकका लागि जनताका आवश्यकता परिपूर्ति र प्रकृति संरक्षणमा सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

यही सन्तुलनका लागि स्थानीय समुदायको प्राकृतिक स्रोतमाथिको निर्भरतालाई दृष्टिगत गरी सामुदायिक वन, संरक्षण क्षेत्र जस्ता समुदायमा आधारित वन व्यवस्थापनका पद्धति अवलम्बन गरिएको वनमन्त्री ठकुरीले बताउनुभयो । उहाँले जैविक विविधतातर्फ पनि नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै विगत १० वर्षमा बाघ, गैँडा, जङ्गली हात्ती, गौरीगाई, अर्ना, कृष्णसार जस्ता वन्यजन्तुको संरक्षणका कारण सङ्ख्यासमेत बढेको पाइएको बताउनुभयो ।

यस्तै समुुदायमा आधारित वन व्यवस्थापन पद्धतिको सफलतास्वरुप विगत दुुई दशकमा देशमा वनको क्षेत्रफल बढ्दै गएको मन्त्री ठकुरीको भनाइ थियो । “वन, वनस्पति, वन्यजन्तु, वातावरण संरक्षणमा समेत समस्या छ । अझै पनि चोरी–सिकार, वन्यजन्तुु आखेटोपहारको व्यापार, जडीबुटीलगायत वनपैदावरको अवैध ओसारपसार र व्यापार जस्ता गैरकानुनी घटना हुने गरेका छन् । यस्ता जस्ता गैरकानुनी कार्यमा सङ्लग्न जोकोहीलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्वभित्र पर्छ । त्यसैले सरकारले संरक्षणका गतिविधिसमेत बढाइरहेको छ, जसले गर्दा वन क्षेत्र विस्तार तथा वन्यजन्तुको संरक्षणमा समेत टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

संसार जलवायु परिवर्तन, जैविक विविधताको क्षय र प्रदूषणको सङ्कटबाट गुज्रिरहेको अवस्थामा यी विषयमा राज्यका सबै अङ्गमा समान बुझाइ हुनु आवश्यक रहेको मन्त्री शाहीले जोड दिनुभयो ।

मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी

जनकपुरधाम, २९ मङ्सिर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये छ हजार चार सय ७२ उजुरी फर्छ्योट गरेको जनाएको छ ।

सो कार्यालयबाट प्राप्त प्रतिवेदनका अनुसार सो कार्यालयमा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेश प्रदेशको आठ जिल्लाबाट कुल आठ हजार पाँच सय २९ उजुरी दर्ता भएको थियो । जसमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।

प्राप्त प्रतिवेदनमा उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार चार सय २२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छ्योट भएको थियो ।

त्यसैगरी, दुई वर्षमा बाराबाट एक हजार दुई सय सात उजुरीमध्ये आठ सय ८७, सप्तरीबाट एक हजार एक सय ७० उजुरीमध्ये नौ सय ७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये सात सय ३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये आठ सय ३४ उजुरी फर्छ्योट भएको जानकारी दिइएको छ ।

त्यस्तैगरी, पर्साबाट नौ सय ५६ उजुरीमध्ये छ सय ९१, सिरहाबाट आठ सय ८१ उजुरीमध्ये छ सय ८७ तथा सर्लाहीबाट आठ सय ३६ उजुरीमध्ये छ सय ४२ उजुरी फर्छ्योट भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ । सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नोे कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएको थियो ।

संवैधानिक सङ्कटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त

जर्जियाको सत्तारुढ दलले शनिबार विवादास्पद निर्वाचन प्रक्रियामा इयुप्रति वफादार अति दक्षिणपन्थी व्यक्तिलाई शनिबार राष्ट्रपतिमा नियुक्त गरेको छ ।

जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विजय हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक सङ्कट देखिएको छ ।

गत महिना युरोपियन युनियन (इयु) को सदस्यता वार्ता स्थगित गर्ने उसको निर्णयपछि इयुको पक्षमा व्यापक प्रदर्शनहरू भएका छन् ।

सत्तारुढ जर्जियाली ड्रिम पार्टीको नियन्त्रणमा रहेको र विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई २२४ मतका साथ पाँच वर्षे कार्यकालका लागि देशको आगामी नेतामा निर्वाचित गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जियोर्जी कलान्ड्रिश्विलीले जानकारी दिनुभयो ।

विपक्षीले शनिबारको निर्वाचनलाई ‘नाजायज’ भन्दै निन्दा गर्दै वर्तमान राष्ट्रपति सालोम जुराबिश्विली देशको एक मात्र वैध नेता रहेको बताएका छन् ।

जर्जियाली ड्रीमसँग विवादमा रहेका पश्चिमसमर्थक जुराबिश्भिलीले पद छोड्न अस्वीकार गर्नुभएको छ र नयाँ संसदीय निर्वाचनको माग गरिरहनुभएको छ ।

शनिबार बिहान प्रदर्शनकारीहरू संसद भवन बाहिर भेला हुन थालेपछि उक्त स्थानलाई प्रहरीले घेराहालेको थियो ।

जुराबिश्विलीले कावेलाश्विलीमा प्रदर्शनकारीहरू हिउँमा फुटबल खेलिरहेको भिडियो फुटेज सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “जर्जियाले कहिल्यै पनि आफ्नो हास्यभाव गुमाउँदैन, एक फुटबलरलाई राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उत्सव मनाउँछ।”

प्रदर्शनकारीमध्ये एक ४० वर्षीया नाटिया अप्खाजाभाले आफू ‘आफ्नो देशको युरोपेली भविष्यको रक्षाका लागि’ प्रदर्शनमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो संसदीय चुनावमा धाँधली भयो । हामीलाई नयाँ निर्वाचन चाहिएको छ।”

उहाँले भन्नुभयो, “हामी १६ दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छौं । र हामी हाम्रो युरोपेली भविष्यका लागि सङ्घर्ष जारी राख्नेछौं।”

तिब्लिसीका करिब एक दर्जन स्थानमा विरोध प्रदर्शन हुने बताइएको छ । प्रदर्शनका क्रममा इयु समर्थक हजारौँ प्रदर्शनकारीले शुक्रबार राजधानीका सडकमा प्रदर्शन गरेका थिए भने त्यसपछि लगातार १६ औँ दिन पनि संसद बाहिर भेला भएका थिए ।

जर्जियाली पूर्व कूटनीतिज्ञ जुराबिश्विलीले प्रदर्शनपछिको राष्ट्रपतिको नियुक्ति जर्जियाको युरोपेली आकाङ्क्षाहरूको चम्किलो दीपका रूपमा हर्नुहुन्छ । उहाँ प्रदर्शनकारीबीच एक अत्यधिक लोकप्रिय व्यक्ति मानिनुहुन्छ ।

दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान

काठमाडौँ, २९ मङ्सिर : काठमाडौँ महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू हुनुहुन्छ । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस हुनुभएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस हुनुभएका १५ जना गुरू हुनुहुन्छ ।

यस्तै, केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस हुनुभएका तीन टोलका तीनजना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस हुनुभएका सातजना बाजा गुरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डङ्गोलले, परम्परागत वादनमा किशोरी र युवतीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रापर्वहरू लैङ्गिकमैत्री बन्दै गएका छन्”, उहाँले थप्दै भन्नुभयो, “परम्परागत वाद्य गुरूहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरूहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाजा गुरूहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताउनुभयो । “वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरूहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा खड्का

झापा, २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उहाँ छ सय १४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित हुनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

काठमाडौँ, २९ मङ्सिर : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।

आज काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ ।” उहाँले विश्वभर रहेका नेपालीलाई नेपालीत्व झल्किने प्रस्तुतिलाई समेट्नेबाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी दिँदै नेपालसहित विदेशमा रहेका नेपालीका सहरमा अडिसन हुने जानकारी दिनुभयो ।

“हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रूपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के हुनुहुन्छ ।

यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुनुहुन्छ ।

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरूङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरू हुनेछ । अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

यस्तै, फागुन १७ र १८ मा भारतको मुम्बई नेपालगञ्ज, फागुन २४ र २५ मा भारतको सिलिगुरी, चैत २ र ३ मा झापाको दमक र चैत १६ र १७ मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायकमध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रतियोगिताको उद्देश्य मनोरञ्जनमै मात्र सीमित छैन । यसले कला र संस्कृतिको प्रवद्र्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना साकार बनाउने काम गर्दैछ । म यो परिवारमा निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित छु ।”

आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी, पल्पसा डङ्गोल, निर्देशक पुर्नेन्दु झालगायते उपस्थित हुनुहुन्थ्यो ।

‘पार्टी जीवनमा समस्या देखियो’ – महासचिव पोखरेल

काठमाडौँ, २९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै उहाँले पार्टीको नीति जनतासम्म पु¥याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताउनुभयो ।

महासचिव पोखरेलले अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो । उहाँले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो ।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गर्नुभयो ।

महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताउनुभयो ।

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै उहाँले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताउनुभयो । उहाँले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले पार्टीको सङ्गठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गर्दै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने जोड दिनुभयो ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

कार्यशालामा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायतको सहभागिता रहेको थियो । कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र सङ्गठन विभागका प्रमुख, जनसङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ ।

जसपा नेपालले सङ्गठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । बैठक शुक्रबार सुरु भएको थियो ।

बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले सङ्गठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यस्तै, बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत सङ्गठनात्मक गतिविधि सञ्चालन र सङ्गठन निर्माणका लागि विशेष साङ्गठनिय कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए ।

महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने, पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने र आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए । तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ सङ्गठन स्वतः विघटन हुनेसमेत निर्णय गरिएको जसपाले जनाएको छ ।

ब्लिन्केनले इरान समर्थित समूहमाथि खरो रूपमा उत्रिन इराकलाई दबाब

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही गर्न इराकलाई पनि दबाब दिएको शनिबार एक अमेरिकी अधिकारीले बताएका छन् ।

सिरियाली नेता बसर अल असदको पतनपछि तेहरान कमजोर अवस्थामा पुगेको मुल्याङ्कन गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही सुरू गर्न प्रोत्साहन गरेको उनले बताए ।

इस्लामिक नेतृत्वको सिरियाली विद्रोहीले इरानको प्रमुख सहयोगी असद परिवारको आधा शताब्दी लामो शासन अन्त्य गरेपछि भएको क्षेत्रीय भ्रमणको अन्तिम समयमा ब्लिन्केनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग शुक्रबार बग्दादमा भेटवार्ता गर्नुभएको थियो ।

अमेरिकी अधिकारीका अनुसार ब्लिन्केनले सुडानीलाई इरान केही समययता कमजोर अवस्थामा रहेको र इराकसँग तेहरानको प्रभाव कम गर्ने अवसर रहेको बताउनुभएको थियो ।

ब्लिन्केनले सुडानीलाई वर्षौंदेखि इराकमा अमेरिकी सेनामाथि आक्रमण गर्दै आएको इरान समर्थित इराकी शिया सशस्त्र समूहमाथि कडा कारबाही गर्न आग्रह गर्नुभएको थियो ।

ब्लिन्केनले सुडानीलाई इराकी भूमिबाट सिरियामा रहेका कुनै पनि सम्बद्ध समूहलाई इरानी हतियार हस्तान्तरण हुन नदिन सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

बग्दादमा भएको बैठकपछि ब्लिन्केनले आफ्नो सार्वजनिक टिप्पणीमा अमेरिका इराकको सार्वभौमिकताका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

“मलाई लाग्छ, यो इराकका लागि पनि आफ्नो सार्वभौमिकताका साथै स्थिरता, सुरक्षा र सफलतालाई मजबुत बनाउने क्षण हो,” उहाँले इरानको नाम उल्लेख नगरिकन भन्नुभयो ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणले तेहरानका शत्रु सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछि इरानको प्रभाव शिया बहुल छिमेकीमा ह्वात्तै बढेको थियो ।

सिरियामा लामो समयदेखि असदको सरकारले इरान र लेबनानमा उसको शक्तिशाली सहयोगी हिजबुल्लाहको सहयोगमा शक्ति आर्जन गरेको थियो ।

तेहरान समर्थित समूहले इजरायलसँगको हालैको युद्धमा ठूलो क्षति व्यहोरेको छ, यसले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा पनि आक्रमण गरेको छ।

सिरियाको अर्को प्रमुख समर्थक रूसले भने युक्रेनमा जारी युद्धका कारण असदको प्रशासनलाई सहयोग गर्न असफल भएको देखिन्छ ।

अमेरिकी अधिकारीले ब्लिन्केनको अनुरोधमा सुडानीले कस्तो प्रतिक्रिया देखाए भन्नेबारे जानकारी भने दिन अस्वीकार गरेका थिए ।

ब्लिन्केनले एक दशकअघि इराक र सिरियाको विशाल भूभागमा स्वघोषित खलिफा स्थापना गरेको अतिहिंसकारी इस्लामिक स्टेट समूहको पुनरुत्थान रोक्न इराकसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको बताइएको छ ।

इराकी सरकारको इरानसँग घनिष्ठ सम्बन्ध छ र अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बग्दादसँग इराकमा अमेरिकी सेनाको बाँकी उपस्थिति घटाउन सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी प्रशासनले इरानविरुद्ध अमेरिकी कदमलाई कडा बनाउने अपेक्षा गरिएको छ । यद्यपि, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौता गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

बाइडेन प्रशासनले गत महिना इराकलाई प्रतिबन्धका बावजुद इरानबाट बिजुली खरिद गर्न अनुमति दिएको थियो ।

ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले यो कदमको आलोचना गर्दै बाइडेनले इरानमा ठूलो नगद प्रवाहलाई अनुमति दिइरहेको बताउनुभएको थियो ।

दोस्रो ‘इलाम गोल्डकप’को उपाधि पनि एनआरटीकै पोल्टामा

इलाम, २९ मङ्सिरः रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ । ‘प्रथम इलाम गोल्डकप’को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधिपनि हात पारेको हो ।

आज भएको फाइनलमा एनआरटीले ३–० गोलअन्तरले लिग विजेता चर्च ब्याइजलाई पराजित गरेको हो । एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । उपाधिसँगै एनआरटीले रु १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले रु पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजारले पुरस्कृत गरिएको तथा ‘म्यान अफ दी म्याच’लाई रु सात हजार पाँच सयले पुरस्कृत गरिएको सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

आयोजक संस्थाका सदस्य निरोज खड्गीका अनुसार प्रतियोगिताका लागि इलाम नगरपालिकाले रु १० लाख प्रदान गरेको थियो भने तारा रोजु सापकोटा च्यारिटेबल ट्रष्टले दोस्रो पुरस्कारका लागि रु पाँच लाख उपलब्ध गराएको थियो ।

प्रतियोगिता सम्पन्न गर्दासम्म अनुमानित रु ९० लाख खर्च भएको आयोजकले जनाएको छ । “गत वर्षभन्दा पुरस्कार नै दोब्बर बनाइनु, महँगी बढ्नु तथा खेलमैदान स्तरीकरण गर्न ठूलो खर्च हुनुले यस वर्षको कुल खर्च अत्यधिक वृद्धि भएको हो”,सचिव घिमिरेले भन्नुभयो ।

यही मङ्सिर २२ गतेदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा बिजेता डिफेण्डिङ च्याम्पियन न्युरोड टोली (एनआरटी) र उपविजेता चर्च ब्वाइज युनाइटेडसहित सङ्कटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष भएको पहिलो संस्करणको उपाधि न्युरोड टोली एनआरटीले नै जितेको थियो । विजेताले नगद रु पाँच लाख र उपविजेता विर्तामोड युनाइटेडले रु तीन लाख पुरस्कार प्राप्त गरेको थियो ।

यहाँ आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा दर्शक बस्नका लागि स्थायी प्यारापिट नहुँदा प्रतियोगिता खर्चिलो हुने गरेको छ । दिगो प्यारापिटको अभावमा प्रत्येक वर्ष बाँसको अस्थायी प्यारापिट निर्माणमा नै ठूलो खर्च हुने गरेको आयोजक संस्थाकी कोषाध्यक्ष अस्ना श्रेष्ठले बताउनुभयो ।

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु

फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित पाँच जनाको मृत्यु भएको ब्यूरोले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।

जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई व्यवस्थापन पदहरूमा महिलाहरूको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार यस कदमको उद्देश्य व्यवस्थापकीय भूमिकामा महिलाहरूको सक्रिय नियुक्तिलाई बढावा दिन र सम्भावित रोजगारदाताहरूको मूल्याङ्कन गर्दा जागिर खोज्नेहरूलाई सान्दर्भिक जानकारी प्रदान गर्नु हो ।

मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणअनुसार शाखा प्रमुख र माथिको तहमा व्यवस्थापकीय भूमिकामा महिलाको सहभागिता १२.७ प्रतिशत मात्रै रहेको थियो, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै कम हो । तलब असमानता सम्बन्धी पारदर्शिता सुनिश्चित गर्न मध्यम आकारका कम्पनीहरूलाई लैंगिक तलब अन्तर खुलाउन बाध्य पार्ने पनि मन्त्रालयको योजना छ । मन्त्रालयले वर्षको अन्त्यसम्ममा यी उपायहरूलाई अन्तिम रूप दिने र औपचारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढीे तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताउनुभएको छ । कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेका धर आठ मत बदर भएको छ । महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ । अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ ।

यदि उहाँलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नुहुनेछ । प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित भएसँगै पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।” महाभियोग पारित हुन दुई सय मत आवश्यक थियो र विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी) का कम्तीमा आठ जना सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो। “आजको महाभियोग जनताको ठूलो जीत हो,” विपक्षी डेमोक्रेयाटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भन्नुभयो ।” उहाँले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्म सम्मानलाई प्रकट गर्ने बताउनुभयो ।

‘मन चाहिन्छ शुद्ध’को अपार सफलतापछि हेमन्त कान्छाले ल्याए दुई दिने चोला

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईलीको स्वर रहेको दुई दिने चोलामा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायक स्वयमकै शब्द, संगीत तथा मिक्सिगं र मास्टरिगं रहेको छ । भिडियोमा मोडलद्धय सगुन खत्री र दिव्यानी वली मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विबाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक विशाल घिमिरेले प्रस्तुत गरेका छन् ।

गायन र सारंगीवादनको क्षेत्रमा एकपछि अर्को सफल गीत दिइरहेका गायक हेमन्त कान्छा रसाईलीले दुई दिने माया मार्फत प्रेममा सफल हुनेहरुको कथालाई यस गीत मार्फत व्यक्त गर्न खोजेका छन् । करन चैसियारको छायांकन, अमृत चापागाईको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक हेमन्त कान्छा रसाईली स्वयमकै युट्युब च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो रमायलो गवीतको भिडियो

मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई

गोरखा, २९ मङ्सिरः गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जित्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उहाँले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।

उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो हुनुभएको छ । उहाँले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै रु ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभएको छ । खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा एक सय ५ जना खेलाडीको सहभागिता रहेको थियो । सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिषरबाट सुरु भएको प्रतियोगिता माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम १४ वर्ष उमेरका वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही रु १२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

विपिन र उपासनाको चलचित्र ‘कर्मा’को छायांकन सुरु

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ(मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ ।

निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ(मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो ।

यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

निर्देशक चौधरीलाई ‘अगस्त्यस् च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

विगत छ दिनमा करिब सात हजार सिरियाली लेबनान प्रवेश गर्यो

आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात हजार सिरियालीहरू लेबनान प्रवेश गरेका छन् ।

अनुमानित ९० हजार विस्थापित व्यक्ति अवैध क्रसिङ्गहरू मार्फत लेबनान प्रवेश गरेको अज्ञात स्रोतहरूले पत्ता लगाए ।

अल–अखबरले सिरियामा हालैको राजनीतिक उथलपुथलबाट उत्पन्न सुरक्षा चिन्ताका कारण यी मध्ये केही सिरियालीहरू छाडेको बताए ।

शुक्रबार, सिरियालीहरू बोकेको यात्रुवाहक बसले उत्तरी अक्कर प्रान्तमा सिरिया र लेबनान बीचको अवैध क्रसिङ नजिकै एउटा फुटपाथमा पल्टियो र लगभग ३० जना घाइते भएको थियो ।

हयात तहरीर अल–शामको नेतृत्वमा सिरियाली लडाकु समूहहरूले नोभेम्बर २७ मा उत्तरी सिरियाबाट ठूलो आक्रमण सुरु गरे र १२ दिन भित्र राजधानी दमास्कस कब्जा गरे, जसले अल–असदको सरकारको पतन भयो ।

वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि

श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख भन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेश गएका शुक्रबार घोषणा गरेका छन् ।

तीन लाख १६२ जना मध्ये एक लाख ७७ हजार ७०४ पुरुष कर्मचारी र एक लाख २२ हजार ३५८ महिला कर्मचारी रहेको एजेन्सीले जनाएको छ ।

कुवेत श्रीलङ्काका कामदारहरूको लागि प्रमुख गन्तव्य थियो । एजेन्सीले सन् २०२४ को अन्त्यसम्ममा वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्या तीन लाख ११ हजार पुग्ने अनुमान गरेको छ । सन् २०२२ मा तीन लाख १० हजार ९४८ जनाले वैदेशिक रोजगारीका लागि श्रीलङ्का छाडेका थिए ।

आधिकारिक तथ्याङ्कका अनुसार, श्रमिकहरूको रेमिटेन्स श्रीलङ्काको शीर्ष विदेशी राजस्व कमाउने मध्ये एक हो ।