`

नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै,के भन्छ स्थानीय सरकार ?

डोल्पा, १ पुस : कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ ।

हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री किनमेल गर्न सहज भएको छ । हिल्सा क्षेत्रमा सीमा सुरक्षाका लागि हिल्साबाहेक डोल्पाको मोरिम्ला नाका पनि आशिंक रूपमा खुल्ने तर प्रचुर व्यापारिक सम्भावना बोकेको चिनियाँ नाका हो । पाँच वर्षअघिसम्म नियमित रूपमा प्रत्येक वर्ष खुल्ने मोरिम्ला नाका यस वर्ष पाँच वर्षपछि खुलेको हो । 

कोरोना कहरपछि चीनले पाँच वर्षसम्म नाका खुलाउन अनुमति नदिँदा नाका खुल्न सकेन । यस वर्ष गत साउन महिनामा १५ दिनका लागि नाका खुलाइएको हो भने प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय डोल्पाले एक हजार आठ सयभन्दा धेरै सीमा पास जारी गरेको थियो । 

अस्थायी रूपमा सञ्चालन हुँदै आएको मोरिम्ला नाका क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा (बिओपी) राख्ने कुरा वर्षौंदेखि अन्योलमा पर्दै आएको छ । दुई देश बीचको व्यावहारिक समझदारीमा नाका सञ्चालन भए पनि न सीमा सुरक्षा पोष्ट छ न त भन्सार कार्यालय राखिएको छ । 

नेपालको संविधानअनुसार सीमा सुरक्षा गर्ने दायित्व सशस्त्र प्रहरीको हो । तर डोल्पाका पुराना यी दुई नाका भने सुरूदेखि नै सीमा सुरक्षा फौज राखिएको छैन । यी दुई नाका चीन नेपाल र भारतबीच हुने त्रिदेशीय व्यापारिक नाकाका रूपमा समेत रहेका छन् । रणनीतिक महत्त्व बोकेका यी तीन नाकामध्ये मोरिम्ला नाका पूर्ण रूपमा सञ्चालन आएमा चीनको सामान नेपाल हुँदै भारत र भारतको सामान नेपाल हुँदै चीन पुर्‍याउन सकिन्छ । यी तीन नाका जोड्ने प्रमुख सडक भेरी करिडोर हो । जुन सडकको जाजरकोट जिल्लाको तल्नुबगरसम्म स्तरोन्नति सुरू गरिएको छभने त्योभन्दा माथि मोरिम्लासम्म ‘ट्र्याक’ मात्र खुलाइएको छ । 

डोल्पामा पर्ने ल्यासीक्यापदेखि शिसौलसम्मको ४० किलोमिटर सडक त ट्र्याक नै खुलाइएको छैन । भौगोलिक रूपमा कठिन भूगोल भएकाले सेनालाई निर्माणको जिम्मा दिने बताइएको एक वर्ष बितिसक्दासमेत काम सुरू भएको छैन । मोरिम्ला नाका डोल्पोबुद्ध गाउँपालिकामा पर्दछ भने क्याटो नाका शे–फोक्सुण्डो गाउँपालिकामा पर्दछ । उपल्लो डोल्पामा बसोबास सुरू भएदेखि उपल्लो डोल्पावासी र तिब्बती व्यापारीबीच दैनिक उपभोग्य वस्तुलगायत वस्तुहरूको व्यापार हुँदै आएको उपल्लो डोल्पावासीको भनाइ छ । 

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम झरेर दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाँच दिन लाग्ने भएकाले पनि दुई दिनमा क्याटो र मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ । त्यतिमात्र नभई यी दुई नाका आधिकारिक रूपमा खुलाइएमा चिनियाँ सामान सिधै नेपाली बजारमा भित्र्याउन सकिने र नेपालमा उत्पादन हुने यार्सागुम्बालगायत नेपाली जडीबुटी सिधै चिनियाँ बजारमा निर्यात गर्न सकिने डोल्पाली व्यापारीहरू बताउँछन् । 

त्यसो त उपल्लो डोल्पावासीले पहिलादेखि नै चिनियाँ नाकाबाटै दैनिक उपभोग्यलगायत सम्पूर्ण घरायसी सामानहरू खरिद गरेर आफ्ना आवश्यकता टार्दै आएका छन् । उपल्लो डोल्पावासीले खाद्यवस्तुमात्र होइन मोटरसाइकललगायत मेसिनरी सामानसमेत चिनियाँ नाकाबाट खरिद गर्दै आएका छन् । नेपालमा सात लाखसम्म पर्ने मोटरसाइकल दुई–तीन लाखमै आउने भएपछि आवतजावतको सुविधाका लागि प्रायः स्थानीयले चिनियाँ नाकाबाट मोटरसाइकल खरिद गर्ने गरेको धेरै वर्ष भएको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयको भनाइ छ ।

सीमा सुरक्षाको जिम्मेवारी 

उपल्लो डोल्पामा रहेका मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि राज्यले नै बेवास्ता गरेको पाइएको छ । प्रत्येक वर्ष सीमाक्षेत्र अनुगमनका लागि भन्दै हेलिकप्टरमा उपल्लो डोल्पा पुग्ने सरकारी प्रतिनिधि, उच्च राजनीतिक नेतृत्वले पनि नाकालाई वैध बनाउनका लागि ठोस कदम चाल्ने बताउने गरे पनि काम भने भएको  छैन । त्यतिमात्र नभई स्थानीय सरकारका प्रतिनिधि, जिल्लास्थित सुरक्षाका निकायका प्रमुखहरू, जिल्लाका सांसद मन्त्रीहरूको पनि भ्रमण हुने गरे पनि उपलब्धि भने शून्य देखिन्छ । 

मोरिम्ला र क्याटो नाकालाई स्थायी बनाउन पहिलो काम भनेको सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने जिल्लाका सुरक्षा अधिकारीहरू नै बताउँछन् । यससँगै अस्थायी भए पनि भन्सार कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको भनाइ छ । जग्गा प्राप्तिपछि सरकारले सीमाक्षेत्रमा अत्याधुनिक भवन बनाइदिएमा बाह्रै महिना बसेर सशस्त्र प्रहरीले सिमाना सुरक्षा गर्न सक्ने बताइन्छ । 

नेपाल–चीन सीमा सुरक्षाका लागि जिम्मा पाएको सशस्त्र प्रहरी नहुँदा नेपालको भौगोलिकता अखण्डताको रक्षामा राज्यले नै चासो नदिएको प्रस्ट हुने डोल्पाका सरोकारवाला बताउँछन् । त्यतिमात्र नभई सीमाक्षेत्रको निगरानी, शान्तिसुरक्षा कायम गर्न र ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्ने कार्यसमेत हुन सकेको छैन । अहिले एकल रूपमा चिनियाँ प्रहरीले सीमाक्षेत्रहरू नियमित रूपमा अनुगमन गरिरहको देख्न सकिने उपल्लो डोल्पावासी बताउँछन् । 

सीमा सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले राज्य र सरकारको चासो धेरै हुनुपर्ने डोल्पोबुद्धका स्थानीय पेम्माछेवाङ्ग गुरूङले बताउनुभयो । त्यसमा पनि डोल्पाबाट निर्वाचित मन्त्रीहरूले यो कुरा सरकारसम्म पुर्‍याएर कार्यान्वयन गर्न लगाउनुपर्ने उहाँको भनाइ छ । 

“उपल्लो डोल्पाको तीन्जेमा सशस्त्र प्रहरीको बिओपी राख्ने कुरा वर्षौंदेखि उठे पनि अहिले अन्योलमा परेको छ, तीन्जेबाट मोरिम्ला नाका नजिक पनि पर्दछ, आफ्नो देशभित्रको साँध सिमाना सुरक्षा गर्ने दायित्व राज्यको हो तर डोल्पाको हकमा राज्यको चासो देखिँदैन,” उहाँले भन्नुभयो, “जग्गा खोज्नका लागि आवश्यक पहल स्थानीय सरकारले गर्नुपर्छ, जुन कुरा भएको छैन्, बिओपी स्थापना गर्न राज्य पनि तातिएको छैन ।”

सशस्त्र प्रहरीका अनुसार बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा चाहिन्छ । तर, डोल्पोबुद्ध गाउँपालिकाकै धो ताक्सीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने भन्दै साढे एक रोपनी जग्गा प्राप्त भएर शिलान्यास गरिएको भवन अलपत्र छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी राख्दा सीमाक्षेत्रबाट पनि टाढा पर्ने भएकाले बिओपी राख्न उपयुक्त नहुने जिल्लाका सुरक्षा अधिकारी बताउँछन् । 

मोरिम्ला नाकाबाट नजिक पर्ने तिन्जे, पोल्दे, फालमध्ये एक ठाउँमा बिओपी स्थापना गर्नुपर्ने उहाँहरूको भनाइ छ । बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा आवश्यक पर्नेछ । 

यसकारण आवश्यक छ बिओपी

आफ्नो देशको साँध सिमाना सुरक्षा गर्नु देशको प्रमुख दायित्व हो । विश्व परिवेश नियाल्दा आफ्नो सीमाक्षेत्र रक्षाका लागि कतिपय देशबीच युद्धसमेत हुने गर्दछ । भौगोलिक अखण्डताको सुरक्षा, भौगोलिक सीमा सुरक्षा सुनिश्चित गर्न, अनधिकृत आवगमन तस्करी, गैह्रकानुनी गतिविधिहरूको खतरासमेत बढेको छ । त्यतिमात्र नभई सीमावर्ती बस्तीहरूको सुरक्षा, आपत्कालीन रूपमा आइपर्ने प्राकृतिक प्रकोपका घटनाहरूमा राहत तथा उद्धारको पूर्वतयारीसमेत हुन सकेको छैन । 

राज्यले जतिसक्दो चाँडो सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । सीमाक्षेत्र परेको ठाउँमा सुरक्षा बल राख्नु राज्यको प्रमुख दायित्व भएको उहाँको भनाइ छ । त्यसका लागि डोल्पाबाट निवार्चितहरूको विशेष पहल हुनुपर्ने बुढाले बताउनुभयो ।

हुँदैन सीमा गस्ती

उपल्लो डोल्पामा सीमा सुरक्षा बल बिओपी नहुँदा नियमित रूपमा सीमा गस्ती हुन सकेको छैन । प्रत्येक दिन सिमानमा नेपाली सुरक्षा टोली पुग्नुपर्ने भए पनि अहिले उपल्लो डोल्पामा पर्ने सीमाक्षेत्र सुरक्षाविहीन भएका छन् । 

तीन्जेमा सशस्त्र प्रहरीको बिओपी स्थापना हुन नसकेको पछि मोरिम्ला र क्याटो दुवै नाका सुरक्षाविहीन भएका हुन् । दुई देश बीचको उक्त सीमाक्षेत्रमा चिनियाँ प्रहरी भने नियमित पुग्ने गरेको उपल्लो डोल्पावासी बताउँछन् । तर नेपालका तर्फबाट भने सुरक्षा बल नहुँदा चिनियाँ प्रहरीले के कस्ता गतिविधि गर्छन् भन्ने कुरा रहस्यमय रहेको उहाँहरूको भनाइ छ । 

तीन वर्षअघि आफ्नो सीमाक्षेत्र कायम गरिएको १५ नं पिल्लर हेर्न पुगेका पूर्वाधार विकास कार्यालय डोल्पाका इन्जिनियर प्रकाश बुढालाई किन आइस् भन्दै चिनियाँ प्रहरीले नियन्त्रमा लिनसमेत खोजेको थियो । त्यतिमात्र नभई चिनियाँ प्रहरी एकल रूपमा सीमा स्तम्भ रङ्गाएको समाचार समेत बाहिरिएको थियो ।

सर्वसाधारणमा सधैँ सुरक्षा त्रास

भौगोलिक रूपमा अत्यन्तै विकट उपल्लो डोल्पा पुग्न जिल्ला सदरमुकाम दुनैबाट पाँच दिनसम्म लाग्ने गर्दछ । त्यसकारण पनि उपल्लो डोल्पावासीलाई सधैँ सुरक्षा त्रास हुने गर्दछ । उपल्लो डोल्पाको धो, साल्दागं, कागकोटलगायत स्थानमा नेपाल प्रहरीको सुरक्षा चौकी राखिएको छ । 

बाह्रै महिना हिमपात हुने उपल्लो डोल्पामा कात्तिकपछि अत्यधिक चिसो बढ्ने र प्रशस्त हिमपात हुने भएकाले चौकीहरू पनि जिल्ला कार्यालयमा गाभिने गर्दछन् । यस समयमा उपल्लो डोल्पामा सुरक्षा चुनौती थपिने शे–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा गुरूङले बताउनुभयो । यस वर्ष पनि सबै चौकीहरू दुनैमा गाभिसकेका छन् ।

कात्तिकदेखि चैतसम्म चिसो नघट्न भएकाले उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ । छ महिनासम्म सुरक्षा नहुँदा उपल्लो डोल्पामा ऐतिहासिक सम्पदा चोरी हुने, गाउँघर लुटिने, सर्वसाधारण, वन्यजन्तुको आखेटोपहार अवैध रूपमा बिक्री गर्नेजस्ता आपराधिक गतिविधिहरू विगतमा घटेको पाइएको छ । त्यतिमात्र नभई हिँउदको समयमा कतिपय सर्वसाधारणहरू घर, गुम्बामा ताला मारेर जाडो छल्न बँेसी झर्ने भएकाले हतियारधारी समूहद्वारा पुरातात्विक सम्पदा चोरी हुनेगरेको हो । 

भरपर्दो सुरक्षा व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालय डोल्पाको ‘रिपोर्ट’ अनुसार २०७२ सालदेखि हालसम्म उपल्लो डोल्पाबाट ७३ थान प्राचीन मूर्ति चोरी भएकामा ५० थान फेला परे । अझै २३ थान फेला पर्न बाँकी छ । चोर्ने मनसाय राख्ने मान्छेहरू प्रायः मान्छे नभएको मौका छोपी हिउँदको समयमा उपल्लो डोल्पाको गाउँबस्तीमा छिर्ने गरेकाले यस समयमा सुरक्षा खतरा बड्ने धो का स्थानीयको भनाइ छ । करिब छ महिना उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ भने छ महिना मात्र नेपाल प्रहरीको आशिंक सुरक्षा हुन्छ । अहिले उपल्लो डोल्पाको फोक्सुण्डोमा बाहेक अन्य सबै सुरक्षा चौकीहरू दुनै सरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो ।

छैन अस्थायी भन्सार

राज्यका कारण मोरिम्ला र क्याटो नाका वैधानिक हुन सकेका छैनन् तर प्रत्येक वर्ष प्रहरी भने खटाइन्छ । यसमा पनि क्याटो नाका कहिलेकाहीँ मात्र खुल्ने गर्दछ । वर्षमा एक पटकमात्र खुल्ने उक्त नाकाहरूमा अस्थायी भन्सार कार्यालयसमेत राखिएको छैन । जडीबुटीलगायत वन पैदावार बेच्न जाने सर्वसाधारणको चेक जाँचका लागि सीमाक्षेत्रमा डिभिजन वन कार्यालयको चेक पोष्टसमेत छैन । व्यापारीहरू निर्बाध रूपमा जडीबुटीको कारोबार गर्ने गर्दछन् । राज्यको दरिलो उपस्थिति नहुँदा प्रत्येक वर्ष नाका खुल्दा गैह्रकानुनी गतिविधि हुन सक्ने बताइन्छ । 

उपल्लो डोल्पाको कतिपय क्षेत्र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कस्तुरी, हिँउचितुवालगायत वन्यजन्तुहरू पाइन्छन् । त्यतिमात्र नभई बहुमूल्य जडीबुटी पुरातात्विक मूर्ति राखिएका ऐतिहासिक गुम्बाहरू समेत उपल्लो डोल्पामा छन् । तर नाका खुल्दा सामान्य चेकजाँच गरेरै सर्वसाधारणलाई पठाइने भएकाले अवैध गतिविधि हुन सक्ने आकलन समेत गरिएको हो । 

नाका खुल्दा जिल्लाबाट पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरीले अस्थायी रूपमा सुरक्षा दिँदै आए पनि पूर्ण सुरक्षाका लागि बिओपी स्थापना गरिनुपर्ने उपल्लो डोल्पावासीको माग छ । वर्षमा एकपटक चिनियाँ क्षेत्रमा लाग्ने व्यापारिक मेलामा सर्वसाधारणले करोडौँको वस्तु आयात तथा निर्यात गर्ने गरे पनि भन्सार शुल्क रू एकसम्म उठ्दैन । जसले गर्दा राज्यलाई उठ्नुपर्ने भन्सार कर त्यसै खेर जाँदै आएको हो । प्रत्येक वर्ष जति दिन नाका खुल्छ त्यति समयका लागि भए पनि अस्थायी भन्सार कार्यालय सरकारले राख्नुपर्ने जिल्लाका सुरक्षा प्रमुखहरूको धारणा छ ।

के भन्छ स्थानीय सरकार ?

उपल्लो डोल्पामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी राख्न अत्यावश्यक रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्माधोर्चे गुरूङले बताउनुयभयो । “उपल्लो डोल्पामा चीनसँगका दुईवटा खुला सिमाना छन्, ती सिमानाहरू, सीमास्तम्भहरू के कस्तो अवस्थामा छन् राज्यको ध्यान पुग्न सकेको छैन, उपल्लो डोल्पाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा फौज राख्ने भनेको पाँच छ वर्ष भयो तर उपलब्धि हात लागेको छैन”, उहाँले भन्नुभयो ।

गुरूङका अनुसार दुई वर्षअघि नै सशस्त्र प्रहरीको टोलीलाई डोल्पोबुद्ध गाउँपालिकाको तीन ठाउँमा २०/२५ रोपनी क्षेत्रफलसम्म भएका जग्गा देखाएको थियो । त्यसपछि कुनै प्रतिक्रिया आएन । उहाँले उपल्लो डोल्पामा दुई स्थानमा बिओपी स्थापना गर्न आवश्यक जग्गा दिन गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समन्वय गर्न पनि तयार छ, बरू प्रजिअलगायत जिल्लाको सुरक्षा टोलीले चासो राख्नुपर्‍यो ।”

उहाँका अनुसार उपल्लो डोल्पाको तीन्जेमा बिओपी स्थापनापछि सीमा सुरक्षा मात्र होइन जनताको जनधनको सुरक्षाको ‘ग्यारेन्टी’ हुन्छ, शान्तिसुरक्षा कायम गर्न सकिन्छ । तिन्जेबाट एक घण्टामा मोरिम्ला नाका पुग्न सकिने उपाध्याक्ष गुरूङले बताउनुभयो । उपल्लो डोल्पामा पर्याप्त सुरक्षाकर्मी नहुँदा अहिले पनि नागरिक त्रासमा जिउन बाध्य भएको उहाँको भनाइ छ । बिओपी राख्ने भनिएको तिन्जेदेखि भित्रको भूभाग निकुञ्ज क्षेत्रमा नपर्ने भएकाले कानुनी जटिलता पनि नभएको उहाँको भनाइ छ । 

यता डोल्पाका सङ्घीय सांसद धनबहादुर बुढाले सीमा सुरक्षा बल स्थापनाका लागि सुरूदेखि नै आवश्यक पहल गरिरहेको बताउनुभयो । “उपल्लो डोल्पामा सशस्त्र प्रहरीको बिओपी राख्न आवश्यक हो, जिल्लाका सुरक्षा प्रमुखहरूसँग पनि कुरा भइरहेको छ तर पनि जग्गा प्राप्त हुन सकेको छैन, त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई जग्गा टुङ्ग्याउन भनेको छु, आशा छ यो काम छिट्टै होला”, उहाँले भन्नुभयो । जग्गाको प्राप्तिको कुरा सकिएपछि बाँकी केन्द्रमा गर्ने प्रक्रियामा जस्तोसुकै सहयोग गर्न पनि तयार भएको उहाँको भनाइ छ ।

के भन्छ प्रशासन ?

उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि एउटा बिओपी राख्न आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताउनुभयो । “त्यसका लागि सुरूमा जग्गा चाहियो, जग्गा प्राप्त हुन सकेको छैन्, जिल्लाका सुरक्षा अधिकारीहरूले पनि जग्गा कहाँ कति खाली छ हेर्न जान पाएको छैन, अब एक पटक जिल्लाको सुरक्षा टोली पुग्छौँ र जग्गाका लागि सामान्य गर्छौं”, सहायक प्रजिअ ज्ञवालीले भन्नुभयो, “भौगोलिक विकटताका कारण पनि भनेको समयमा पुग्न सकिँदैन्, बिओपी स्थापनापछि अस्थायी भए पनि राज्यले भन्सार कार्यालय स्थापना गर्नुपर्छ, जसबाट राज्यलाई राजस्वसमेत प्राप्त हुन्छ ।” प्रत्येक वर्ष आधा महिनाका लागि मात्र खुल्ने यो नाका हुम्लाको हिल्सा नाका जस्तै कम्तीमा सात–आठ महिना खुलेमा डोल्पालीहरूलाई किनमेल गर्न सजिलो हुने उहाँको भनाइ छ ।

पोखरामा यही पुुस १० गतेदेखि थाई–बक्सिङ प्रतियोगिता हुने

गण्डकी, १ पुस : शक–यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता गरिने भएको छ ।

व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो । खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी गरी पाँच वटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ । प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कूल ४२ फाइट तय गरिएको छ । 

प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरी अन्य फाइटमा महिला र पुरुषतर्फ ८/८ विजेताले नगद रु १५ हजार र उपविजेताले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद रु २५ र उपविजेताले रु १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । 

पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीन जना उदीयमान खेलाडीहरूलाई नगदसहित सम्मान गरिने जनाइएको छ । नेपाल राष्ट्रिय मुवाँथाई सङ्घ र गण्डकी प्रदेश मुवाथाई सङ्घको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नुहुने जनाइएको छ । 

नाइजेरियाको बेनु नदीमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु

मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।

स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताउनुभयो ।

जेम्सले थप्नुभयो,“त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।”
मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताए ।नाइजेरियामा डुङ्गा दुर्घटनाहरू प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले गर्दा हुन्छ ।

कांग्रेस नेताहरूद्वारा पूर्वनगरप्रमुख सिंहप्रति श्रद्धाञ्जली अर्पण

पाटन (ललितपुर), १ पुस : आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

८७ वर्षको उमेरमा निधन हुनुभएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २ः३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियोे । 

स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय काम गर्नुभएका सिंहले नेपाली कांग्रेसको पार्टी संगठनका साथै नेपालको राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याउनु भएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रेस संयोजक जगन्नाथ दुलालले बताउनुभयो । उहाँ २०४९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँको प्रमुख पदमा निर्वाचित हुनुभएको थियोे ।

दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

काठमाडौँ, १ पुसः नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ ।

जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गर्नुभयो ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपत् व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्यलाई पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिवद्धता जनाइएको छ । 

चेम्बर अफ कमर्श र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यन्व्यनमा आउनेछ । राष्ट्रसङ्घीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपुर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताउनुभयो ।

युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसङ्घीय लक्ष्यहरु पूरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताउनुभयो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्वपूर्ण भएको उहाँले बताउनुभयो । 

निजी क्षेत्रको कार्यक्षमता विकास गरी देशको समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने चेभिलार्डले बताउनुभयो । नेपालको हिमाल जोगाउन तथा जलवायु परिवर्तनविरुद्ध चेम्बरसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ छ । 

दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते

घोराही (दाङ), १ पुसः दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित : ओसीएचए

मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।

मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेको र चालीस लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौं सोमालीहरूको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ ।

भन्सार छली गरेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज (पर्सा), १ पुसः सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब रु ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिनुभयो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्राइएको रु १३ लाख ३६ हजार नौ सय ३५ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटरपार्ट्स, मोबाइल एसेसोरिज र कपडालगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ना५३प ९३०६ नम्बरको करिब रु दुई लाख मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ ।

सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले वीरगञ्ज महानगर–६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु ३० लाख ४९ हजार मूल्य पर्ने कपडा बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ ।

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी गर्दै गैँडाकोटका कृषक

नवलपुर (नवलपरासी), १ पुसः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिनुभयो ।

विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याउनुभएको थियो । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताउनुभयो ।

उहाँले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताउनुभयो । “साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।” फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा रु एक लाख ५० हजार जति खर्च हुने गरेको छ । “पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायतका तरकारीसमेत लगाएको छु”, उहाँले भन्नुभयो, “गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।” यहाँ उत्पादन हुने दूध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ ।

“फार्ममा उत्पादन हुने तरकारी तथा दूध बिक्रीका लागि समस्या छैन”, उहाँले भन्नुभयो, “तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दूध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।” आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध रु ७५ र भैँसीको दूध रु १०० मा बिक्री हुँदै आएको बताउनुभयो । “गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु”, उहाँले भन्नुभयो, “घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।”

पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताउनुभयो । “हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “सधैँ सबै काम चार जनालेमात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरुलाई पनि काममा लगाउने गरेका छौँ ।” गाईभैँसीको दूध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दूध दुहुन साढे एक घण्टा लाग्ने उहाँले बताउनुभयो ।

व्यावसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि रु एक लाख ५० हजार अनुदान पाएको उहाँले बताउनुभयो । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरुपमा गर्भाधान गराउने गरेको उहाँले बताउनुभयो ।

झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भद्रपुर (झापा), १ पुसः दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।

यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताउनुभयो । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनपिएल : सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ, १ पुसः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको ह त्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।हत्याको कारण थाहा हुन सकेको छैन ।

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

म्याग्दी, १ पुस : मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ । सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि भनेको मूल्य र बजार दुवै पाएको घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक वुद्धिमान लालचनले बताउनुभयो ।

“असोजमा टिपेर चिस्यानगृहमा राखेको स्याउ जेठसम्म केही भएन”, उहाँले भन्नुभयो, “याममा प्रतिकिलो रु एक सय ५० सम्म पर्ने स्याउ बेसिजनमा प्रतिकिलो रु दुई सय ५० सम्म बिक्री भयो”, लालचनले १० मेट्रिक टन क्षमताको चिस्यानगृहमा स्याउ भण्डारण गर्नुभएको छ ।

चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका कृषक विश्व लालचनले बताउनुभयो । “चिस्यानगृह नहुँदा घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो”, बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।

मुस्ताङमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहहरुले करिब तीन सय मेट्रिक टन क्षमताको दशवटा चिस्यानगृह निर्माण गरेका छन् । सबै चिस्यानगृहमा बेमौसममा बेच्नका लागि स्याउ राखिएको छ ।

वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका हुन् । मुस्ताङमा प्रभावकारी भएकाले कोल्ड स्टोरको माग बढी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनका प्रमुख भरतराज गौतमले बताउनुभयो ।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ । यहाँका घरपझोङ र वारागुङमुक्ति स्याउका पकेट क्षेत्र हुन् ।

रु ८२ करोड बराबरको स्याउ मुस्ताङबाट पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लामा निकासी गरे भने बाँकी रु १० करोड मूल्य बराबरको स्याउ मुस्ताङ भ्रमणमा आएका पर्यटकले किनेर लगेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले यस वर्ष छ सय हेक्टर उत्पादनशील क्षेत्रमा लगाइएका स्याउका बोटमा सात हजार तीन सय २९ मेट्रिक टन स्याउ उत्पादन भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत स्याउ उत्पादन वृद्धि भएको छ । उच्च घनत्वको स्याउको बारीमै प्रतिकेजी रु दुई सय र अन्य स्याउ बारीमा प्रतिकेजी रु एक सय ६० मा बिक्री भएको हो ।

छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) जातको स्याउ खेती विस्तार भएको, रोगव्याधि व्यवस्थापन भएको र अनुकूल मौसमका कारण यस वर्ष स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्र्रमुख गुरुङले बताउनुुभयो ।

एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम

काठमाडौँ- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम हुनुभएको छ । शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उहाँले रु २ लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारका लागि नगद रु ३० हजार प्राप्त गर्नुभएको छ ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो ।  निर्णायकमण्डलमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वमिस नेपाल सुगरिका केसी रहनुभएको थियो । 

आयोजक एनसिसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा  ल्याउनाका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताउनुभयो ।  यस्तै,  कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको सङ्घका अध्यक्ष डा बद्री केसीले बताउनुभयो । 

एनसिसी इजरायलले आफ्नो १७औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने दुईजना अतिथि वक्ताहरू ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित हुनुभएको जनाइएको छ ।

नेपाल कबड्डी लिग : ६ टिममा ८४ खेलाडी छनोट

काठमाडौँ- नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणका लागि ज टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ । उक्त छनोटमा छ टिमका ८४ खेलाडी चुनिएका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा छ सहरका छ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।


विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार रहेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले जानकारी दिनुभयो ।
१९औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कास्यपदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाउनुभएको छ भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुनुहुन्छ ।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुनुहुन्छ ।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको छनोट गरिएको छ । छनोटका लागि ९२ नेपाली र २५ विदेशी गरी कूल एक सय १७ खेलाडी सूचीमा थिए । 

प्रशिक्षकहरूले आआफ्नो रणनीतिअनुसार ८४ खेलाडी छनोट गरेका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले दुई देखि चार जनासम्म विदेशी खेलाडी लिएका छन् ।
उक्त छनोट कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले निजी क्षेत्रले खेलकुदको क्षेत्रमा ठूलो योगदान दिइरहेको बताउनुभयो । उहाँले एनकेएलको सुरुआतले कबड्डी खेललाई व्यावसायिकताको मार्गमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भन्नुभयो, “मधेसमा लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिन एनकेएल ल्याएका छौँ । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ ।” 

तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ सर्वसम्मत चयन

बेलायत- तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । तमु धिं भवन मिचेटमा शनिबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ महाधिवेशनबाट अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन हुनुभएको हो ।

अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो । जुमकाजीसहित २९ जना निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ, दिलमाया गुरुङ, तथा महासचिवमा डा विशाल गुरुङ चयन हुनुभएको छ । 

त्यसैगरी कमलादेवीको नेतृत्वमा २८ सदस्यीय आमा समूह निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यो समूहले यही २८ डिसेम्बरबाट औपचारिक रुपमा जिम्मेवारी लिनेछ । 

कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की

इनरुवा (सुनसरी- पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताउनुभएको छ ।

 कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्नुहँुदै उहाँले कोशी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोशी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ”, प्रतिनिधिसभा सदस्य कार्कीले भन्नुभयो । 

पूर्वमन्त्री कार्कीसँगै कोशी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलसमेत उहाँ सहभागी हुनुभएको थियो । दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गर्नुभएको थियो ।

विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली प्रदेश सरकार

काँक्रेविहार (सुर्खेत), १ पुस : कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो ।

 जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आए लगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा भौतिक संरचना निर्माण गर्न अख्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । यही मङ्सिर १८ गते निर्णय गरेर पठाएको उहाँले बताउनुभयो । जाजरकोटको बारेकोट–६ को सीता माध्यमिक विद्यालय पुनःनिर्माणलाई रु ७५ लाख विनियोजन गरिएको छ । 

त्यसैगरी सोही वडाको जनज्योति आधारभूत विद्यालय पुनःनिर्माणलाई रु ५० लाख, बारेकोट–९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय सक्लालाई रु ७५ लाख, बारेकोट–७ सुवाकोट विद्यालयलाई रु ७५ लाख, बारेकोट–१ बयालमा रहेको भगवती आधारभूत विद्यालयलाई रु ५० लाख विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो । 

नलगाड नगरपालिका–६ स्थित निर्मल ज्योति आधारभूत विद्यालयलाई रु ७० लाख, नलगाड–८ को पञ्च भयार माध्यमिक विद्यालयलाई रु ७० लाख, नलगाड–७ को त्रिभुवन प्राथमिक विद्यालयको भवन निर्माण गर्न ७० लाख, नलगाड–३ को कैलाशकन्या आधारभूत विद्यालय रु ४५ लाख विनियोजन गरिएको छ । 

 त्यसैगरी भेरी नगरपालिका–१० स्थित भैरव आधारभूत विद्यालय भुरचौरलाई रु ५५ लाख, भेरी नगरपालिका–७ को सूर्यज्योति आधारभूत विद्यालय मिथेन्ग्रालाई रु ६० लाख, भेरी ३ स्यालास्थित विजय प्राथमिक विद्यालय रु ५५ लाख विनियोजन गरिएको छ । 

 छेडागाड नगरपालिकाको छेडागाड नगरपालिका–७ टिकाचौरस्थित भानुभक्त आधारभूत विद्यालय निर्माण गर्न रु ७५ लाख, छेडागाड–१० स्थित सरस्वती आधारभूत विद्यालय काफ्लाको भवन निर्माण गर्न रु ६० लाख, छेडागाड–९ राजिकोटस्थित शान्ति आधारभूत विद्यालयको भवन निर्माण गर्न रु ६० लाख र छेडागाड–४ को दीपेन्द्र आधारभूत विद्यालय चौरजेवाको भवन निर्माण गर्न रु ६० लाख रकम विनियोजन गरिएको जनाइएको छ । 

कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालय टालेगाउँलाई रु ७५ लाख,  वडा नम्बर ८ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवन निर्माण सँटालाई रु ७५ लाख, वडा नम्बर ६ को छहरागाउँस्थित पुतली प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु ६५ लाख विनियोजन गरिएको छ । 

त्यसैगरी शिवालय नगरपालिकामा पाँच वटा विद्यालय बन्ने भएका छन् । जनता प्राथमिक विद्यालय शिवालय–८ लाई रु ६० लाख, नेरा मावि शिवालय– २ सिस्नेलाई रु ६० लाख, शिवालय–२ कालिका प्राविलाई रु ६० लाख, नेपाल राष्ट्रिय मावि शिवालय–१ लाई रु ५५ लाख र शिवालय–६ को सरस्वती माविलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ छ । 

जुनिचाँदे गाउँपालिकामा–५ वटा विद्यालय निर्माण हुने भएका छन् । जसमा जुनिचाँदे–५ को जय गौरव प्रावि खातीगाउँलाई रु ६५ लाख, वडा नम्बर २ को सरस्वती आधाभूत विद्यालयलाई रु ७५ लाख, वडा नम्बर २ को भैरव माविलाई रु ७५ लाख, वडा नम्वर ८ को पदन ज्योति माविलाई रु ७५ लाख र वडा नम्बर ९ को कालिका प्रावि लातालाई रु ४५ लाख विनियोजन गरिएको छ । जाजरकोटमा २२ वटा विद्यालय पहिलो चरणमा पुनःनिर्माण हुन लागेका हुन् । 

कहाँ कहाँ निर्माण हुँदैछन् स्वास्थ्य संस्था ?

बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाइ कठर रुससिललाई रु ५० लाखमा भवन निर्माण गर्न लागिएको छ । त्यस्तै वडा नम्बर ४ को जिरीमा रहेको सामुदायिक स्वास्थ्य एकाईलाई रु ५० लाखमा पूर्वाधार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । 

नलगाड नगरपालिका १२ को भगवती स्वास्थ्य चौकी औलगुत्तालाई रु ५० लाख, वडा नम्बर ४ को स्वास्थ्य चौकी लहँलाई रु ४५ लाख विनियोजन गरिएको छ । भेरी नगरपालिका–२ को स्वास्थ्य चौकी बाहुनथानालाई रु ४० लाख, वडा नम्बर ६ को गंगटियालाई रु ४० लाख विनियोजन गरिएको छ । छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीलाई रु ५० लाख, वडा नम्बर ८ को सामुदायिक स्वास्थ्य एकाई रुवलाई रु ५० लाख, वडा नम्बर ६ को सुवानाउली स्वास्थ्य एकाइलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ । 

जुनिचाँदे गाउँपालिका–२ स्थित मजकोट स्वास्थ्य चौकी निर्माण गर्न रु ५० लाख, वडा नम्बर ११ को कोताङ स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ । 

सल्यानको दामा गाउँपालिकामा चार वटा विद्यालय निर्माण हुने भएका छन् । दार्मा गाउँपालिका–५ स्थित अन्नासक आधारभूत विद्यालयलाई रु ७५ लाख, वडा नम्बर ४ को कालिका आधाभूत विद्यालयलाई रु ७५ लाख विनियोजन गरिएको छ । सिद्धकुमाख गाउँपालिकाको ४ सागिनेमा रहेको जनसेवा आधारभूत विद्यालयलाई रु २५ लाख र शारदा नगरपालिका–५ को जनकल्यान आधारभूत विद्यालयलाई रु २५ लाख रकम विनियोजन गरिएको छ ।

स्वास्थ्य संस्थाहरुमा कुमाख गाउँपालिका–३ सामुदायिक स्वास्थ्य एकाई निर्माण गर्न रु ५० लाख, बागचौर नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको छ । रुकुम–पश्चिममा भने अझै निर्माणका लागि भौतिक संरचनाको टुङ्गो लागेको छैन ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ  ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५२ रुपैया ३० पैसा तोकिएको छ । 

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको  छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ४३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयकोे खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैया ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६६ पैसा कायम गरेको छ । 

त्यसैगरी ओमनी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ, १ पुस : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।

 विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । 

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गर्नुभएको थियो ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ । 

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको सङ्कल्प

काठमाडौं, ३० मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसङ्गठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसङ्गठन अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ ।

आगामी चैत महिनासम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कुप्रचारको प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो । यसै गरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव कमरेड शङ्कर पोखरेलले पनि कार्यशालालाई सम्बोधन गर्नुभएको थियो ।

कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्ज र संगठन विभागका सदस्यले सहजीकरण गर्नुभएको थियो । कार्यशालाको दोस्रो दिन समूहगत छलफलका प्रतिवेदन पेस गरिएका थिए ।

मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ व्यक्तिको मृत्यु

फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएका अधिकारीहरूले बताएका छन् ।उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन् ।

अधिकारीहरूले सङ्कलन गरेको अस्थायी सूचीमा १४ जनाको मृत्यु भएको एक सुरक्षा स्रोतले एएफपीलाई बताएको छ ।मेयोटको राजधानी मामुदजोउका मेयर अम्बादिलवाहेदोउ सौमाइलाले चक्रवातका कारण २४६ जना गम्भीर घाइते भएका बताउनुभयो । “अस्पताल तथा विद्यालयहरू प्रभावित भएका छन् । घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।”

कार्यवाहक आन्तरिक मन्त्री ब्रुनो रिटेललेउले भन्नुभयो,“ शनिबार राति पेरिसमा सङ्कट बैठक पछि कम्तिमा २२६ किलोमिटर प्रति घण्टाको आँधीले यस क्षेत्रका धेरै बस्तीहरू पूर्ण रूपमा ध्वस्त गरेको छ । आँधीले बिजुलीका खम्बाहरू उडाइयो, रूखहरू उखेलियो साथै कम्तिमा एक तिहाइ जनसङ्ख्याको मृत्यु भयो ।“मृत्युको पूर्ण सङ्ख्या स्थापित गर्न धेरै दिन लाग्नेछ,” उहाँले थप्नुभयो ।

किरात समुदायको चाड ‘साकेला उधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

खोटाङ, ३० मङ्सिरः किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि औपचारिक रूपमा सुरुआत भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन् ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानहरूमा साकेल सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ । 

उधौलीको चाडको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रम अयोजना गरियो । यहाँ गैरकिरात समुदायका युवायुवतीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।  

समुन्द्री सतहदेखि करिब दुई हजार सात सय मिटर उचाइमा अवस्थित रुपाकोटगढीमा आज नै भेला भएका खार्मी, जालपा, हौँचुरलगायत किराती पुर्खा तथा धामीहरूले प्रकृतिको पूजाआराधना गरी उधौली चाडको औपचारिक रुपमा सुरुआत गरेका छन् । रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ । 

किरात ऐतिहासिकस्थल रुपाकोटगढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गर्ने गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । उभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किरात समुदायले उधौलीमा भने, एकै ठाउँ (रुपाकोटगढी) मा भेला भएर सामूहिक रुपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् । 

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यसमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ । 

उधौली र उभौलीमा किरात राईहरूका प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । 

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको जनाइएको छ । साकेला उधौली तथा उभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

उधौली तथा उभौलीको अवसरमा किरात समुदायले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । 

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, ३० मङ्सिर : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।

डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

अमेरिकी फेडरल रिजर्भद्वारा बाइडेन युगको अन्तिम बैठकमा दर घटाउने अपेक्षा

मुद्रास्फीतिमा हालैको वृद्धिका बावजुद जो बाइडेनको राष्ट्रपति कार्यकालको अन्तिम बैठकमा अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रमुख उधारो दरमा एक चौथाई प्रतिशतका दरले कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

फेडले अब आउने समयमा राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आर्थिक प्रस्तावको प्रभावमा अनिश्चितताका कारण दर कटौतीको सुस्त बाटोलाई सङ्केत गर्ने सम्भावना छ ।
मङ्गलबार र बुधबारको बैठक बाइडेनले जनवरी २० मा ह्वाइट हाउस छोड्नुअघि अन्तिम फेड दर निर्णय हो । जनवरी २० मा बाइडेनले रिपब्लिकन ट्रम्पलाई दोस्रो कार्यकालका लागि कुर्सी हस्तान्तरण गर्नुहुनेछ । विश्लेषकहरूले ठूला नीतिगत परिवर्तनहरूको अपेक्षा गरेका छन् ।

“(ट्रम्प) प्रशासनले लागु गर्ने नीतिहरूलाई ध्यानमा राख्दै फेडले मौद्रिक नीतिलाई सहज बनाउन थप क्रमिक हुने अपेक्षा गरिएको छ”, इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले भन्नुभयो । उहाँले अझै पनि नीति निर्माताहरूले यस हप्ता दर कटौतीका लागि मतदान गर्ने अपेक्षा गर्नुभएको छ । 

मुद्रास्फीति र बेरोजगारीलाई सम्बोधन गर्दा फेडसँग संसद्बाट स्वतन्त्र रूपमा कार्य गर्ने जनादेश छ तर यसले अझै पनि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा सरकारको वित्तीय नीतिको प्रभावहरू विचार गर्नुपर्दछ ।

ट्रम्पले जीवनयापनको उच्च लागतलाई सम्बोधन गर्ने वाचा गर्नुभएको छ । यो नोभेम्बरको चुनावमा उहाँलाई उपराष्ट्रपति कमला हैरिसलाई हराउँदै फेरि ह्वाइट हाउसमा फर्काउने मतदाताहरूको प्रमुख चिन्ता हो ।

तर धेरै विश्लेषकहरूले विशेष गरी संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सामानहरूमा व्यापक शुल्क लागू गर्ने र लाखौँ कागजातविहीन कामदारहरूलाई निर्वासित गर्ने धम्कीसहित उहाँका केही प्रमुख नीतिगत पहलहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् । 

केपिएमजीकी प्रमुख अर्थशास्त्री डायन स्वोन्कले भन्नुभयो, “ती दुवैले एकसाथ मुद्रास्फीतिलाई उत्तेजित र वृद्धिलाई सीमित गर्ने प्रवृत्ति राख्छन् ।” यद्यपि उहाँले फेडले बुधबार दर कटौतीको घोषणा गर्ने अपेक्षा गर्नुभयो । 

– कति कटौती ? –

श्रम बजारलाई राम्रो समर्थन गर्नेतर्फ दुई प्रतिशतको दीर्घकालीन मुद्रास्फीति लक्ष्यलाई प्राथमिकता दिँदै फेडले सेप्टेम्बरदेखि दरहरू शून्य दशमलव ७५ प्रतिशत–विन्दुले कटौती गरेको छ । 

फेडको यो परिवर्तन तथ्याङ्कले निर्देशित छ । त्यसको प्राथमिक मुद्रास्फीति मापक हालै तीव्र रूपमा घटेको छ र हालको सामान्य वृद्धिका बावजुद दुई प्रतिशत लक्ष्यमा नजिक छ ।

साथै अमेरिकी आर्थिक वृद्धि अझै आश्चर्यजनक रूपमा मजबुत रहेको छ । श्रम बजार थोरै कमजोर भएको छ तर समग्रमा लचिलो रहेको छ ।

यस हप्ता एक–चौथाई प्रतिशत दर घटाउँदा फेडको मुख्य ऋण दर चार दशमलव २५ र चार दशमलव ५० प्रतिशत बीचमा झार्नेछ । यो वर्षको सुरुमा दर कटौती सुरु गर्नुभन्दा एक पूर्ण प्रतिशत कम हुनेछ ।

सिएमई समूहको तथ्याङ्कअनुसार शुक्रबार वायदा बजारले फेडले एक–चौथाई प्रतिशत दर घटाउने सम्भावनालाई ९५ प्रतिशतभन्दा बढी अनुमान गरेको छ ।

तर आउने वर्षको चित्र अझै अनिश्चित देखिन्छ । वित्तीय बजारहरूले सन् २०२५ को अन्त्यमा आजको तुलनामा तीन–चौथाई प्रतिशत कम दर हुने ६५ प्रतिशतभन्दा केही कम सम्भावना देखाएका छन् ।

यसले बुधबार अपेक्षित एक दर कटौतीका साथै अर्को वर्ष थप दुई एक–चौथाई प्रतिशत दर कटौती हुनसक्ने सङ्केत दिन्छ ।

पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौँ, ३० मङ्सिरः नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गर्नुभयो ।

उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा छ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाउनुभयो । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले तीन सय ६३ मत पाउनुभयो । 

महासचिव पदमा आशिष गुरागाईं पाँच सय ६७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी  रामचन्द्र दुलालले पाँच सय नौ मत पाउनुभयो । उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाउनुभयो । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले छ सय १९ मत पाउनुभयो भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गर्नुभयो ।  

कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाउनुभएको छ । 

यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी हुनुभएको छ । महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित हुनुभएको छ । 

दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी हुनुभएको छ । मधेशी  र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित हुनुभएको छ । 

महासङ्घको उपत्यका प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन् ।

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न

काठमाडौँ, ३० मङ्सिरः प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो ।

विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा आठ जना डिजाइनले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए ।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ । चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।”

फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदिप खड्का,¥यापर साकारलगायत कलाकारले प्रस्तुति दिनुभएको थियो ।

माया बराबर’ भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ ।फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ।

‘नेपमेलो’ नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ ।

सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ ।यस ‘माया बराबर’ गीतको भिडियोलाई कलाकार द्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइयो धान्य पूर्णिमा

काठमाडौँ, ३० मङ्सिरः वैदिक सनातन धर्मावलम्बीले आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी भित्र्याइएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवान्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेँसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ ।

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, ३० मङ्सिरः प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्कनुभएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, प्रतिरक्षा प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो । महारथी सिग्देल भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।

भारतमा रहँदा महारथी सिग्देलले भारतीय सेनाको दक्षिण कमाण्ड फोर्स केन्द्रलगायत विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गर्नुभयो ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे : प्रान्तीय अधिकारी

अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन् । उनले अधिकारीहरूले घन्टौँदेखि फसेकाहरूलाई उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिए ।

समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समङ्गनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिनुभयो ।

“बत्तीस जना फसेका छन् र तीमध्ये कतिजना मरेका छन् वा जीवित छन् भन्ने स्पष्ट छैन”, उनले भने “उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन ।” 

अफगानिस्तानको खानी उद्योगको निगरानी कमजोर छ र घातक दुर्घटनाहरू सामान्य छन् । 

कोइलासँगै अफगानिस्तानमा सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ तर मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा गियर बिना प्राथमिक खाडलहरूमा काम गर्छन् ।  

सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा भूमिगत फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो । 

सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो । 

एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो । उक्त दुर्घटनामा मृत्यु अज्ञात छ । 

गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

नवलपरासी, ३० मङ्सिरः पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो ।

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए । सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ । उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।

पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

किरात समुदायले हर्षोल्लासका साथ मनाए उधौली

ललितपुर । किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् । यस चाडको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

किराँत समुदायका युवतीहरू आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भने, ‘आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।’

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक–फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ ।

भूमिपूजा गरेर किरात महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्दछन् । ‘ललितपुरको हात्तीवनमा पितृपूजा गरेर यहाँ नखिपोटमा साकेली सिली नाच्छौँ । साकेला सिलीमा हाम्रो पुर्खाहरूले ढुङ्गेयुगदेखि आजसम्म के–के गरे सबै देखाइन्छ । विभिन्न खानपीनसहित चाड मनाइन्छ ।’

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।

सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

असदको पतनपछि ५ दिनमा ७,६०० सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता

सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ ।

एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बीचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल सङ्ख्या सूचीबद्ध गर्नुभएको छ । यसमा पाँच दिनको सङ्ख्या सात हजार छ सय २१ आप्रवासी थिए।  

टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ । 

सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएको देखे र गृह मन्त्रालयको तथ्याङ्कले त्यस दिन एक हजार दुई सय ५९ जनाले पार गरेको देखाएको छ । 

येरलिकायाका अनुसार अर्को दिन एक हजार छ सय ६९, बुधबार एक हजार दुई सय ९३, बिहीबार एक हजार पाँच सय ५३ र शुक्रबार एक हजार आठ सय ४७ जनाले सीमा पार गरेका थिए ।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमा पार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो । 

टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।  

टर्की समाजभित्र सिरियाली विरोधी भावना बढ्दै जाँदा अङ्कारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ ।

गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत)  अलेप्पो क्षेत्रका हुन् ।

नयाँ सरकारलाई सैन्य सहयोग गर्न टर्की तयार : रक्षामन्त्री

यसैबीच टर्कीले असदलाई सत्ताच्यूत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।

रक्षामन्त्री यासर गुलरले आइतबार पत्रकारहरूसँग राज्य समाचार संस्था अनाडोलु र अन्य टर्की मीडिया माध्यमहरूमा रिपोर्ट गरिएका कुरामा नयाँ नेतृत्वलाई ‘अवसर’ दिइनुपर्ने र टर्की ‘नयाँ प्रशासनले अनुरोध गरेमा आवश्यक सहयोग गर्न तयार’ रहेको बताउनुभयो ।

“नयाँ प्रशासनले के गर्छ भनेर हेर्न आवश्यक छ । हामीलाई लाग्छ उनीहरूलाई मौका दिनु आवश्यक छ”, गुलरले हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनको बारेमा भन्नुभयो । उक्त गठबन्धन अल–कायदाको सिरिया शाखामा निहित छ र धेरै पश्चिमी सरकारहरूद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा घोषित गरिएको छ ।  

तर एचटिएसले आफ्नो बयानबाजीलाई मध्यम बनाउन खोजेको छ र यसको सङ्क्रमणकालीन सरकारले कानूनको शासनसँगै सबै सिरियालीहरूको अधिकारको रक्षा गरिने कुरामा जोड दिएको छ । 

नयाँ प्रशासनले ‘सबै सरकारी संस्था, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सम्मान गर्ने’ वाचा गरेको र रासायनिक हतियारको कुनै पनि प्रमाण ओपिसिडब्लु निगरानी संस्थालाई रिपोर्ट गर्ने वाचा गरेको गुलरले बताउनुभयो ।

खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बोदेबरसाइन (सप्तरी), ३० मङ्सिरः जिल्लाको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको अस्पताल जाने क्रममा मृत्यु भएको हो ।

सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नं भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ । अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुर्घटनामा परेको मोटरसाइकल चालक सोही खडक नगरपालिका ११ का अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उहाँको स्थानीय जीवनज्वति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।     स्कारपिओका चालक फरार रहेको प्रहरीले बताए । साथै दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

तनहुँको आँबुखैरेनीमा दिनहुँ चितुवा देखिन थालेपछि स्थानीय त्रसित

दमौली (तनहुँ), ३० मङ्सिरः आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।

पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो ।

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।

गलैँचा, मुढा बेचेर मासिक पाँच हजार घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ), ३० मङ्सिरः यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।

घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।

“उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भन्नुभयो । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।

सिरहामा दुर्घटनाग्रस्त कारमा भेटियो १३० किलो गाँजा,चालक फरार

सिरहा, ३० मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

ब्राजिलका पूर्व रक्षामन्त्री पक्राउ

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पु¥याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

ब्राजिलको सङ्घीय प्रहरीले अनुसन्धानमा बाधा पु¥याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।“ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,” स्रोतले जानकारी गराएको छ ।

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको सपथ ग्रहण रोक्न ‘कू’ को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो ।यो सूचीमा नेट्टो पनि सामेल हुनुहुन्थ्यो र सन् २०२२ को चुनावमा उहाँको प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो ।

महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सह–षडयन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’ को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढङ्गले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ ।

सन् २०२२ मा लुलाले जितेको चुनावमा धाँधली भएको दाबी गर्न र सर्वोच्च अदालतलाई किनारा लगाउन आदेशको प्रयोग गर्न बोल्सोनारो र उहाँका सैन्य अधिकारीहरूसहित उहाँका केही अधिकारीहरूको मिलेमतो रहेको बताइएको छ ।

प्रतिवेदनमा भनिएको छ, “ब्राजिलका तत्कालीन राष्ट्रपति बोल्सोनारोले चुनावी पराजयपछि पनि सत्तामा रहिरहनका लागि दस्तावेज र रणनीतिको मस्यौदामा प्रत्यक्ष संलग्न रहेर ‘कू’ योजना निर्माणमा सक्रियतापूर्वक भाग लिनुभएको थियो ।

बोल्सोनारोलाई उहाँका उपराष्ट्रपति तथा सर्वोच्च अदालतका न्यायाधीश लुलाको हत्या गर्ने कुलीन सैनिकको कथित योजनाबारे पनि ‘पूर्ण जानकारी’ रहेको रिपोर्टमा उल्लेख छ ।

‘ग्रीन एण्ड एलो डगर’ भनिने यो योजनाको बारेमा नेट्टोको घरमा छलफल भएको थियो ।अनुसन्धानकर्ताहरूका अनुसार ब्राजिलको राष्ट्रपतिको कार्यालय प्लानाल्टो दरबारमा यो छापिएको थियो।बोल्सोनारोको लिबरल पार्टीको मुख्यालयमा नेट्टोका एक सल्लाहकारको सामानमा ‘कू’ योजनाको मस्यौदा फेला परेको थियो