`

सङ्क्रमणकालीन न्याय निरुपण गर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल

काठमाडौँ, २ पुसः बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन भएको सिफारिस समिति पदाधिकारी चयन गर्न असफल भएको छ ।
यही पुस १ गतेसम्म पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी तोकिएको समितिको म्याद पदाधिकारी चयन गर्न नसकेरै सकिएको छ ।

सङ्क्रमणकालीन न्यायका जानकार तथा अधिवक्ता राजुप्रसाद चापागाईंले सिफारिस समितिसँग बाधाअड्चन फुकाउने विकल्प भए पनि त्यसको प्रयोग गर्न नसकेको टिप्पणी गर्नुभयो । “सङ्क्रमणकालीन न्यायको गम्भीर्यतालाई सिफारिस समितिले बुझेन । काम गर्नसक्ने सक्षम मान्छे छान्न सक्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “ कानुनमा बाधाअड्चन फुकाउने व्यवस्था भए पनि समिति त्यसको प्रयोग नै नगरी जिम्मेवारीविहीन भएको छ ।”

अधिवक्ता चापागाईंले सदस्यहरू सिफारिस गरेर अध्यक्षमा सहमति गर्न सकिने सम्भावना रहेको सुनाउनुभयो ।
द्वन्द्वपीडित साझा चौतारी नेपालका अध्यक्ष सुमन अधिकारी पनि समितिले आफ्नो जिम्मेवारी र अधिकार नै प्रयोग गर्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समितिका पदाधिकारीले आफ्नो अधिकार बुझ्न सक्नुभएन । सबै स्वार्थभन्दा माथि उठेर जिम्मेवारी पूरा गर्नुपथ्र्यो तर त्यसो हुनसकेन । यसले माहोल थप अन्योलग्रस्त भएको छ । यस कार्यले न्यायको पर्खाइमा रहेका द्वन्द्व प्रभावितहरू निराश भएका छन् ।”

सरकारले गत कात्तिक २ गते सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो । समितिमा मानवअधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासङ्घकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य हुनुहन्थ्यो । गत कात्तिक २ गते गठित समितिलाई दुई महिनाको कार्यअवधि दिइएको थियो ।

सिफारिस समितिका पदाधिकारीबीच मत बाझिएपछि समितिले आयोगमा सिफारिस गर्न नसकेको हो । समितिले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उल्लिखित सन्दर्भमा सिफारिस समितिबीच केही विषयमा मतैक्यता हुन नसक्दा बहुमत र अल्पमतको निर्णय गरेमा यसबाट दूरगामी असर पर्नसक्ने देखियो । अध्यक्ष तथा सदस्य नियुक्तिको प्रक्रियालाई थप विश्वसनीय र स्वीकार्य बनाउनको लागि उपयुक्त व्यक्तिको खोजीलाई अझ व्यापक र प्रभावकारी बनाई नियुक्ति प्रक्रिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ ।”

मानवअधिकारकर्मी चरण प्रसाई यस कार्यलाई योग्य पदाधिकारी छनोटको अवसरका रूपमा लिनुपर्ने बताउनुहुन्छ । “सिफारिस समितिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो, यसमा चुक्यो । अब सङ्क्रमणकालीन न्याय बुझ्ने मान्छेलाई जिम्मेवारी दिने गरी प्रक्रिया अगाडि बढाउनुपर्छ ।”

उक्त समितिले गत मङ्सिर २१ गते आवेदन दिएका एक सय ५६ मध्ये अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको थियो । अध्यक्षमा डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको नाम रहेको छ ।

बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का

काठमाडौँ, २ पुसः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ ।
धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ ।

नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

“मङ्सिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिनेसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा २०८१ पुस २ गते प्राप्त भयो”, बोटलर्स नेपाललाई नेप्सेले सोधेको स्पष्टीकरणमा भनिएको छ । धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भनी व्यवस्था रहेको छ । उक्त विनियममा भएको व्यवस्था बोटलर्स नेपालले कार्यान्वयन नगरेको नेप्सेले जनाएको छ ।

चोभार सुख्खा बन्दरगाह : लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

काठमाडौं । व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

चोभार सुख्खा बन्दरगाह चोभारका स्थानीय गोविन्द थापा सुख्खा बन्दरगाहको सुरुवात गर्दा जति व्यापारीक चहलपहलको अपेक्षा गरिएको थियो त्यो नभएको बताउँछन् ।

‘सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो त्यो चाहिँ भएको छैन । वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो । तर त्यस्तो छैन । यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो । त्यो पनि अध्ययन नै नगरी । हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन् ।’

हाल सुख्खा बन्दरगाहमा दैनिक दुईवटा कन्टेनर मात्र भन्सार जाँचपासका लागि आइपुग्छन । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहको भन्सारतर्फको ट्राफिक कम हुनुको मुख्य कारण काठमाडौं–तराई फास्ट ट्रयाकको निर्माण ढिलाइ हो । यद्यपि, चीनको तातोपानी र रसुवा नाकाबाट सिधै चोभार सुख्खा बन्दरगाहमा भन्सार गराउने सुविधा सुरु भइसकेको छ । उनले भने, ‘फास्ट ट्रयाक सम्पन्न भएपछि यहाँको ट्राफिक दोब्बरले बढ्नेछ ।’

कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको मुख्य व्यापार लजिस्टिक हब भएको बताए । गजुरेलले भने, ‘चोभार सुख्खा बन्दरगाहमा संचालनमा ल्याइएको लजिस्टिक हबले व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लजिस्टिक हबमार्फत प्रोसेसिङ, प्याकेजिङ र लेबलिङको सुविधा हामीले उपलब्ध गराएका छौं, जसले व्यापारलाई चलायमान बनाएको छ ।’

गजुरेलले सुख्खा बन्दरगाहलाई निजी क्षेत्रले संचालनमा ल्याएपछि सेवा र आम्दानीमा सुधार आएको बताए । ‘निजी क्षेत्रले वार्षिक तीन करोड रुपैयाँ न्यूनतम राजस्व दिन्छ । ट्राफिक बढेसँगै अबको पाँच वर्षमा ८–१० करोड रुपैयाँ आम्दानी गर्न सकिने देखिएको छ,’ उनले थपे ।

आगामी दिनमा सुख्खा बन्दरगाहको क्षमताले नपुग्ने अवस्था आउन सक्ने भन्दै गजुरेलले हिमाल सिमेन्टको सातसय रोपनी जग्गामध्ये तीन सय रोपनी बन्दरगाहको विस्तारका लागि माग गरिएको बताए ।

‘भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा सुख्खा बनदरगाहको क्षमताले भ्याउँदैन । हामी अहिले त्यसको तयारीतिर लागेका छौं,’ उनले भने, ‘यो कुरा मैले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकारात्मक नै हुनुहुन्छ ।’

चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहको राजस्व संकलन लक्ष्य २७ करोड ९३ लाख एक हजार रहेकोमा ३३ करोड ७२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।’

विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि संचालनमा ल्याइएको हो ।

दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।

जनप्रतिनिधिले म शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएका बताए ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए ।
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे ।

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं – नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् ।

चलचित्रमा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरूको अभिनयले चलचित्रलाई थप बलियो बनाउनेछ । साथै, यस चलचित्रमा अडिसनमार्फत छनौट भएकी सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन् ।

प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । पहिलो पटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीले पर्दामा गजबको जादु चलाउने विश्वास गरिएको छ ।

भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।

पुस १५ बाट छायाङ्कन सुरु हुने चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, २ पुस : खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कायर्मा बाँकी रहेका काम यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन उहाँले दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धिका सबै काम समयमै सम्पन्न गर्न मन्त्री यादवले आग्रह गर्नुभयो । 

ब्रेक्जिटपछिको नागरिक अधिकारका विषयमा इयुले बेलायतलाई युरोपेली अदालतमा लैजाँदै

युरोपेली सङ्घ (इयु) ले सोमबार ब्रेक्जिटपछि ब्लकका नागरिक र उनीहरूका परिवारका सदस्यहरूको स्वतन्त्र आवागमनमा नियमहरू उल्लङ्घन गरेकामा बेलायतलाई युरोपेली अदालतमा लैजाने बताएको छ ।

युरोपेली आयोगले सन् २०२० को अन्त्यमा बेलायतले सन्धिहरू कार्यान्वयन गर्दा ‘धेरै कमजोरी थिए’ भन्ने विश्वास गरेको बताएको छ ।

“युरोपेली आयोगले सन् २०२० को अन्त्यमा इयुका नागरिक र उनीहरूका परिवारका सदस्यहरूको स्वतन्त्र आवागमनमा इयु कानूनको पालना गर्न असफल भएकामा संयुक्त अधिराज्यलाई इयुको अदालतमा पठाउने निर्णय गरेको छ”, आयोगले विज्ञप्तिमा भन्यो ।

यस वर्ष निर्वाचित लेबर सरकारले अघिल्लो कन्जर्भेटिभ प्रशासनअन्तर्गत वर्षौंको ब्रेक्सिटपछिको द्वेषपछि ब्रसेल्ससँगको सम्बन्ध ‘पुनःस्थापित’ गर्न खोजिरहेको बेला कानूनी कारबाही आएको हो ।

बेलायती प्रधानमन्त्री किर स्टारमरले अक्टोबरमा ब्रसेल्समा आयोगका प्रमुख उर्सुला भोन डेर लेयनसँग वार्ता गर्नुभएको थियो भने यस महिना वित्तमन्त्री रेचल रिभ्सले ब्रेक्जिटपछि पहिलो पटक युरोजोन समकक्षीहरूको बैठकमा सहभागिता जनाउनुभयो ।

इयुले बेलायतलाई औपचारिक सूचना पत्र पठाएर राष्ट्रिय कानूनले इयु स्वतन्त्र आवागमन कानूनका लाभार्थीहरूको दायरा सीमित गरेको गुनासो गरेपछि यो मुद्दा सन् २०२० मे महिनामा सुरु भएको थियो ।

लन्डनसँग पत्राचार भए पनि आयोगले कामदारहरूको अधिकार र विस्तारित परिवारका सदस्यहरूको अधिकारसहित गुनासोका धेरै तत्वहरू सम्बोधन हुन बाँकी रहेको भन्दै यसले कानूनी कारबाही आवश्यक बनाएको बताएको छ ।

बेलायत औपचारिक रूपमा सन् २०२० जनवरी ३१ मा इयुबाट बाहिरिएको थियो ।

तर ‘फिर्ता सम्झौता’ अन्तर्गत सन् २०२० को अन्त्यअघि बेलायत सरेका युरोपेली नागरिक र उनीहरूका परिवारका सदस्यहरूलाई ब्रेक्जिटअघि व्यापक रूपमा समान अधिकारहरू प्रदान गरिएको थियो ।

विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा

बरहथवा (सर्लाही), २ पुसः यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।

बागमती नगरपालिका–२ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय, समाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न सुरु गरेका हुन् । विद्यालयले गत मङ्सिर १ गतेबाट ‘बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष’ स्थापना गरेको हो ।

एक महिनामा अक्षयकोषमा रु एक लाख ३० हजार पाँच सय सात सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिनुभयो । आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले समाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उहाँको भनाइ छ । यसरी सङ्कलित रकमबाट निर्माण हुने बृहत् कोषले विद्यालयको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । “बृहत् राशिको कोष बनाउने लक्ष्य छ, कोषको मूल रकम यथावत रहनेगरी ब्याजबाट विद्यालयले बर्सेनि विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्ने छ”, प्रधानाध्यापक जिम्बाले भन्नुभयो । यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर बोहराले बताउनुभयो । विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको उहाँले दाबी गर्नुभयो । “हामीले नगरको प्रत्यक्ष लगानी र जनप्रतिनिधिको उपस्थितिमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा विषेश ध्यान दिएका छौँ, यसले विस्तारै परिणाम दिन थालेको छ । यसको पूरा परिणाम आउन कम्तीमा १० वर्ष लाग्छ । तर सुधारको छनक तपाईँ अहिले पनि देख्न सक्नुहुन्छ”, अध्यक्ष बोहराले भन्नुभयो ।

कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा बालबालिकाको सङ्ख्या दुई गुणाले बढेको छ । मुस्किलले तीन सय छात्रछात्रा भर्ना हुनेमा अहिले छ सय १० विद्यार्थी भर्ना छन् । अभिभावकको माग तथा बालबालिकाको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गराउने गरेको छ ।

अङ्ग्रेजी माध्यमका कारण अभिभावक आकर्षित भएका विद्यालयका शिक्षक निर्मल तिमल्सेनाले बताउनुभयो । विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यवहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ । सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका बागमती –३ का अभिभावक चत्तुरमान वाइबाले बताउनुभयो ।

गाउँको सामुदायिक भनेर हेपिएको विद्यालयले समय अनुकूल पठनपाठन गराउन थालेपछि आफूहरू उत्साहित भएको उहाँ बताउनुहुन्छ । यस विद्यालयले केही समय पहिलामात्र स्थानीय अभिभावक, समाजसेवीको रु चार लाख ४० हजारबराबरको सहयोगमा विद्यालयमा चार थान डिजिटल बोर्डको प्रयोग सुरु गरिसकेको छ ।
यसले समेत बालबालिकामा पठनपाठनप्रति उत्साह देखिएको प्रधानाध्यापक जिम्बाको अनुभव छ । शून्य आन्तरिक आम्दानी रहेको कारण विद्यालयले सामान्य योजनासमेत सञ्चालन गर्न नसकेको अवस्थामा यो बृहत् अक्षयकोष कार्यक्रम ठूलो भरोसा बन्ने अपेक्षा विद्यालयको छ ।

‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित

महोत्तरी, २ पुसः पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।

क्रसिङ सुरु गरेको एक साता भइसके पनि किसानले उखु नल्याइदिँदा घान नपुगेर दिनदिनै क्रसिङ रोक्नुपरेको ती उद्योगले जनाएका छन् । यसपटक क्रसिङ गत मङ्सिर २६ गतेबाट सुरु भएको हो । ‘नो केन’ (उखु अपुग)ले अहिलेसम्म राम्ररी क्रसिङ हुन नसकेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । “हामीले यसपालि चाँडै समयमै क्रसिङ सुरु गर्यौँ, तर उखु भने पर्याप्त नआएर घान नपुग्दा क्रसिङ दिन बिराएर गर्नुपरेको छ”, उहाँले भन्नुभयो ।

उद्योगको क्षमताअनुसार क्रसिङ हुन दैनिक ४० देखि ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । क्रसिङ थालिएको पछिल्ला दिनमा २०–२२ क्विन्टलमात्र उखु पुग्दा क्रसिङ प्रभावित भएको हो । यसले गर्दा एक दिन बिराएर उद्योग चलाइँदा खर्चिलो भएको र चिनी उत्पादन पनि हुन नसकेको महाप्रबन्धक शुक्लाले बताउनुभयो ।

आव २०८१÷८२ मा सरकारले उखु कटानपूर्व नै मूल्य निर्धारण गरेपछि तालिकाअनुसार क्रसिङ राम्ररी चल्छ भन्ने उद्योगको बुझाइ थियो । गत वर्ष उखुको मूल्य निर्धारणबारे उखु उत्पादक महासङ्घ आन्दोलनमा रहँदा पुस ४ गतेमात्र क्रसिङ सुरु भएको थियो । यद्यपि क्रसिङ सुरु गरिँदा पनि मूल्य निर्धारण भने भइसकेको थिएन ।

तर यसपालि मूल्य निर्धारण सरकारले समयमै गरिदिँदा मागअनुसार नपाए पनि उखु दिनभन्दा पहिले नै कति पाइने भन्ने निधो हुँदा किसानले राहत महसुस गरेका छन् । त्यसैले मूल्यमा चित्त नबुझे पनि किसान उखु काट्ने तयारीमा छन् । सरकारले सबै कुराको मूल्यवृद्धिको अनुपात मिलाएर मूल्य निर्धारण नगरिदिँदा आपूmहरू मर्कामा भए पनि कटानपूर्व नै मूल्य निर्धारण हुँदा केही राहत भएको किसानको भनाइ छ ।

“मूल्य त अझै उचित भएन, तर सरकारले समयमै निर्धारण गरेको छ । परम्परागत चाडपर्व र अन्य हिउँदे बाली लगाउने चटारोले पछिल्लो साता उखु कटान पर्याप्त हुन नसकेको हो”, भङ्गाहा–४ रामनगरका उखु किसान अरुण गिरी भन्नुहुन्छ, “मजदुर अन्य काममा लाग्दा कटान गर्न नसकिएको हो, अब अन्य हिउँदे बाली लगाउने काम र मेलाजात्रा पनि सकिएका छन्, अब कटान चल्छ ।”

यसपालि उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष लिएको छ । जसमा महोत्तरीबाट २४ लाख, सर्लाहीबाट सात लाख र अन्य जिल्लाबाट चार लाख क्विन्टल उखु सङ्कलन हुने जनाइएको छ । क्रसिङका लागि २० लाख क्विन्टल उद्योग गेटमा र अन्य विभिन्न ठाउँमा सञ्चालन गरिएका खरिद केन्द्रमा तौल भएर आउने महाप्रबन्धक शुक्ला बताउनुहुन्छ । यो परिमाणको उखु क्रसिङबाट तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन हुने महाप्रबन्धक शुक्ला बताउनुहुन्छ ।

अब मेलापात सकिएका र अन्य हिउँदेबाली लगाउने चाँजो मिल्दै गएको हुँदा अबको साता कटान पर्याप्त हुने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ । अहिले ठाउँठाउँका सडक मर्मत हुन नसक्दा उखुका गाडी चल्न असजिलो छ । क्षतिग्रस्त सडक मर्मत हुँदैछन् । त्यसैले सुरु साता उखु अपुग भएको कुशवाहा बताउनुहुन्छ ।

एभरेष्ट चिनी उद्योगले गत वर्ष २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । गत वर्षभन्दा यसपालि उखुखेतीको क्षेत्रफल र उत्पादन बढेको हुँदा गत वर्षभन्दा छ लाख क्विन्टल बढी उखु क्रसिङ हुने उद्योगका प्रबन्धक विनोद यादवले स्पष्ट पानुभयो ।

अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

काठमाडौँ, २ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।

बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खडा गर्ने पार्टीको साङ्गठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको छ । उहाँले आगामी कार्यक्रम तथा नीतिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मङ्सिर २६ गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । पार्टीको सङ्गठन सुदृढीकरण गरी ‘पार्टी गाउँका जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित कार्यदलले बैठकमा नेताहरूको कार्यविभाजन पेश गरेपछि बैठकले अनुमोदन गर्ने उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयो । विगतमा विभिन्न जिम्मेवारीमा रहेर साङ्गठनिक कार्यसम्पादन तथा राजनीतिक गतिविधिमा योगदान गरेका सक्षम नेताहरूलाई विभाग, जनवर्गीय सङ्गठनका इन्चार्जको जिम्मेवारी प्रदान गर्ने तयारी छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थता कारण बैठकमा लिखित दस्तावेज प्रेसित गर्नुभएको थियो ।

दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन

गलकोट (बागलुङ), २ पुसः निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको छ । उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले पनि प्रयोग गर्दै आएका छन् ।

विसं २०७६ जेठ २६ गते तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथोपटक म्याद थप गर्दा पनि सम्पन्न हुनसकेको छैन । हाल उक्त सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ । उक्त सडकमा बिच्छयाइएको ग्राभेल बर्खाको पानीले बगाएको हो । उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर नगएको काठेखोला –७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडक कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडक कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठ २६ गते सकिएको निर्माण व्यवसायीले चौथोपटक म्याद थप गरेर आगमी चैतसम्मलाई पुर्याएको छ ।

काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नफर्किँदा समस्या भएको छ ।

कोरोना, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमै सडक कालोपत्र गर्ने दाबी गर्नुभयो । सडकको सुरुआत एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा भत्किएको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीयको भनाइ छ ।

महिला यु–१९ एसिया कपः आज नेपाल र भारत बीच प्रतिष्पर्धा हुँदै

काठमाडौँ, २ पुसः मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।

टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

कम्बोडियामा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु

कम्बोडियन सरकारले सोमबार औपचारिक रूपमा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु गरेको छ । अनौपचारिक अर्थतन्त्र भन्नाले सरकारद्वारा नियमन नगरिएका आर्थिक गतिविधिहरूलाई जनाउँछ ।

प्रधानमन्त्री हुन मानेटले पोर्टलले अनौपचारिक अर्थतन्त्र विकास सन् २०२३–२०२८ को राष्ट्रिय रणनीति कार्यान्वयनमा महत्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो ।उहाँले अनौपचारिक अर्थतन्त्रलाई मान्यता र समर्थन प्रदान गर्न प्लेटफर्मको महत्त्वमा जोड दिनुभयो ।

मनेटले थप्नुभयो,“ यस कदमले अनौपचारिक अर्थतन्त्रलाई समर्थन गर्ने, अवसर सिर्जना गर्ने र जीवन स्तर तथा समग्र कल्याणको लक्ष्यलाई समर्थन गर्ने सरकारको प्रतिबद्धता देखाएको छ ।”साथै, यसले सीप विकास, सामाजिक सुरक्षा र औपचारिक वित्तीय सेवाहरू जस्ता फाइदाहरू पहुँच गर्न ढोका खोल्नेछ ।

उद्योग मन्त्री हेम भेन्डीले यस प्लेटफर्मले अनौपचारिक अर्थतन्त्रको बारेमा डाटाको अभावको लामो समयदेखिको समस्याको समाधान प्रदान गर्ने बताउनुभयो ।

कम्बोडियामा करिब ७९ लाख मानिस श्रमशक्तिमा छन्, जसमध्ये १७ लाख औपचारिक क्षेत्रमा र ६२ लाख अनौपचारिक क्षेत्रमा कार्यरत रहेका एक सर्वेक्षणले जनाएको छ ।

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १ दशमलव ८९ प्रतिशतले सङ्कुचित भएको सङ्घीय वाणिज्य र उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयले नोभेम्बरमा अखिल भारतीय डब्ल्यूपीआई सङ्ख्यामा आधारित मुद्रास्फीतिको वार्षिक दर १ दशमलव ८९ प्रतिशत रहेको बताएको छ ।

त्यो मुख्यतया खाद्य वस्तु, उत्पादन, कपडा, मेसिनरी र उपकरणको मूल्य वृद्धिको कारण हो ।थोक मुद्रास्फीति अक्टोबरमा २ दशमलव ३६ प्रतिशत र सेप्टेम्बरमा १ दशमलव ९१ प्रतिशत थियो ।डब्लुपीआइ मुद्रास्फीति थोक बजारमा मूल्यहरूको सूचक, विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा ठूलो वृद्धि वा घटेको कारणले मुख्य रूपमा बढ्छ वा घट्छ ।

रोशीको बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण

काभ्रेपलाञ्चोक, २ पुसः गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो ।

चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ ।

विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ । “अस्थायी आवासले छिमेक एवं आफन्तको घरमा बसेका तथा तथा टहरामा बसेकालाई राहत पुग्नेछ, हामी सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।

उहाँका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियोभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नं २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत सहयोगमा वडा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो । 

अध्यक्ष लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति पुर्याएका पूर्वाधारको मर्मत तथा निर्माणका लागि रु एक करोड, विपद् हेल्पडेस्कका लागि रु पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा रु १० लाख, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि रु ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार रु ५० हजार, मर्मतसम्भारमा रु ५० लाख, विपद् सामग्री खरिदमा रु १० लाख तथा बाढीपीडितलाई सहायताका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित रु ६९ करोड २० लाख ९८ हजारमा रु तीन करोड ४३ लाख घटाएर रु ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरेको छ ।

मुलुकमा अझै पनि ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित

काठमाडौँ, १ पुसः मुलुकमा ८० प्रतिशत नागरिक अझै पनि दन्त उपचार सेवाबाट वञ्चित रहेका छन् । काठमाडौँको वसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज तथा अस्पतालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मुलुकमा अझै पनि ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित रहेका जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको समस्या अधिकांश नेपालीमा रहे पनि यसको उचित उपचार हुन नसकेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको भन्दै उहाँले दन्त सेवामा सबै नेपालीको पहुँच नपुग्दा ८० प्रतिशत जनता उपचारबाट वञ्चित हुनुपरेको जानकारी दिनुभयो । 

डा श्रेष्ठका अनुसार नेपालमा ४५ वर्षभन्दा कम उमेरमा ‘पाइरियाका’ले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिँजाको रोग तथा मुखको क्यान्सरलगायत समस्याहरू देखिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हाल चार हजार आठ सय ८३ दन्त चिकित्सक तथा सात सय ५६ जना दन्त विशेषज्ञ रहेका उहाँले जानकारी दिनुभयो । 

डा श्रेष्ठले अधिकांश ग्रामीण भेगका जनताले चेतनाको अभाव, उपचार पहुँच नहुनुलगायत कारणले उपचार नपाउँदा दाँच किराले खाने, गिँजाको रोग ९दन्तहर्षा तथा पाइरिया०, बाँङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्युमर, सिस्ट तथा अन्य समस्याबाट पीडित हुने गरेका बताउनुभयो ।

  सन् २००७ डिसेम्बरमा स्थापना भएको कान्तिपुर अस्पताल तथा कलेजले एक लाख ५० हजारभन्दा बढी दन्त स्वास्थ्य बिरामीमा सेवा पु¥याउनुका साथै एक हजारभन्दा बढी दन्त चिकित्सक उत्पादन गरिसकेको छ । यसबाहेक सो अस्पतालले हालसम्म देशभरका ६० भन्दाबढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । 

म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

बेनी (म्याग्दी), २ पुसः मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।

उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताउनुभयो । “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उहाँले भन्नुभयो ।

यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए ।

पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको छ ।

सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताउनुभयो । “विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्योभने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो ।

यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट रु ५० हजारदेखि आठ लाखसम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडाँै, बुटवल, भैरवालगायत ठूला सहरमा खपत हुने गरेको छ । व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ ।

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु

काठमाडौँ, २ पुसः चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।

साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो ।

‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।

कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रुपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२÷११ केभी सबस्टेसन निर्माण गरेको थियो ।

चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब आठ दशमलव पाँच मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । 

हालै चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन सम्पन्न हुनेबित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमुना आयोजनाका रुपमा साञ्जेन रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब  ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिनुभयो । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिन्छ ।

नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना हो । नेपालमा नमुना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यास्केड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिन्छ ।

जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रूपमा ठूलो राहत मिल्नेछ । सोही विशेषताका कारण काठमाडौँ विश्वविद्यालयले उक्त आयोजनाको नमुना आफ्नो प्रयोगशालामासमेत सञ्चालन गरेको छ ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमुना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकासलगायत विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने आयोजनाले जनाएको छ ।

कम्पनीले निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ । 

सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र

ढोरपाटन (बागलुङ), २ पुसः सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।

सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । सोमध्ये रुपन्देहीमा चार दशमलव पाँच किमी र अर्घाखाँचीमा १३ दशमलव पाँच किमी मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिनुभयो । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उहाँले बताउनुभयो । 

इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३ दशमलव पाँच किमी कालोपत्र भइरहेको छ । उहाँले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको जानकारी दिनुभयो । 

त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म सात किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको आठ दशमलव दुई किमीसडक कालोपत्र भइरहेको थापाले उल्लेख गर्नुभयो । अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात-सात गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उहाँले बताउनुभयो । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उहाँको भनाइ छ ।

ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताउनुभयो । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उहाँको भनाइ छ । 

बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताउनुभयो । “यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्”, उहाँले भन्नुभयो ।

भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड

धनुषा, २ पुसः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय गर्नुभन्दा आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताउनुभयो । कर्मचारीको तलब कम भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेका हुनसक्ने भएकाले समयसापेक्ष तलब वृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेको पाइएमा ती व्यक्तिमाथि कडा सजायको व्यवस्था गर्ने, सूचनाको हकलाई नागरिकसम्म पहुँच विस्तार गर्नेलगायत काम गरेमा भ्रष्टाचारमा स्वतः कमी आउने उहाँले दाबी गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेका खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गर्नुभयो ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, अर्थमन्त्री सुनीलकुमार यादव, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायको उपस्थिति थियो ।

जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला समन्वय समितिका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागितामा उक्त कार्यकर्ता सम्पन्न भएको हो ।

सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

गलकोट (बागलुङ), २ पुसः कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो ।

अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ । कालोपत्रका लागि विडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता सकिए पनि काम भने करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

म्याद सकिएसँगै १० किमी सडक निर्माणले तीव्रता पाएको हो । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेपछि अहिले मालढुङ्गातर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो ।

सूचना अधिकारी खत्रीका अनुसार निर्माण व्यवसायीलाई छ महिनाभित्र कालोपत्र सक्न निर्देशन दिइएको छ । दुई वर्षमा आधामात्रै काम गरेको निर्माण व्यवसायीलाई छ महिनाका लागि म्याद थपेपछि कामले गति लिएको उहाँले उल्लेख गर्नुभयो ।

“अहिलेको सन्तोषजनक काम भइरहेको छ, सम्झौता सकिँदासम्म कालोपत्र नहुनु समस्याको विषय हो, अहिले थपिएको समयभित्र काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “बागलुङको भकुण्डेस्थित गलुवाको पहिरोका कारण काममा ढिलाइ भएको थियो, अहिले त्यही खण्डमा काम भइरहेको छ ।”

खत्रीका अनुसार बलेवा–हर्मिचौरको ४४ किमी सडक सम्झौताअगावै कालोपत्र भइरहँदा छोटो खण्डको रूपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमी सडक अलपत्र परेको हो । आगामी जेठभित्र कालोपत्र सक्नेगरी मिति थप गरिएको हो । उहाँका अनुसार १० किमी दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे ।

थप गरिएको समयसीमाभित्र सक्न कामलाई तीव्रता दिइएको निर्माण कम्पनीका सञ्चालक ध्रुव विडारी जानकारी दिनुभयो । सुरुमा निर्माणले तीव्रता पाए पनि समयमा भुक्तानी नपाउँदा समस्या भएको उहाँको भनाइ छ । “थप गरेको समयसीमाभित्रै कामसक्ने हाम्रो प्रयास हुन्छ”, विडारीले भन्नुभयो, “अहिले समस्याग्रस्त अलुवा क्षेत्रमा काम भइरहेको छ, गर्मी सुरु हुनासाथ कालोपत्र थाल्ने छौँ ।”

करिडोर कालोपत्रपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप बढ्नेछन् । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ ।

अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ सात पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको  छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैया ५० पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५  पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७९ पैसा कायम गरेको छ ।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९२ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४८ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौँ – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन कार्य संस्थागत हुन नसकको औँल्याएको छ । सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सार्वजनिक उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’को निष्कर्षबारे बताउँदै प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले भन्नुभयो, “विपद व्यवस्थापन कति संस्थागत भएको छ, कि छैन भनेर अध्ययन भएको थियो, यसले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको यस्तै केही स्थानीय तहबाहेक धेरै विपदको मापदण्डभन्दा तल रहेको छ ।”

उहाँले ठूलो विपद भएको अवस्थामा स्थानीय तहले रेस्पोन्स गर्न नसक्ने अवस्था देखिएको जानकारी दिँदै सबै हिसावले क्षमता विकास गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले विपद व्यवस्थापन कोषको रकम प्रशासनिकलगायतमा बढी खर्च हुने गरेको समेत पाइएको बताउनुभयो । पालिकाहरुमा उपकरण दक्ष जनशक्तिको समेत अभाव रहेको पाइएको उहाँको भनाइ छ ।

प्राधिकरणको नेतृत्वमा विभिन्न सहयोगी संघसंस्थाको सहभागितामा भूकम्पको पूर्वतयारी, प्रतिकार्य र सिकाईको विषयमा केन्द्रित भएर उक्त अध्ययन गरिएको थियो । सुदुरपपश्चिमको डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम र जाजरकोट गरी पाँच जिल्लाका २८ वटा पालिकामा उक्त अध्ययन गरिएको थियो ।

कानुनले स्थानीयतहलाई पहिलो  र प्रमुख रेस्पोन्स गर्ने निकायका रुपमा भूमिका दिएको छ । तर त्यही पालिका कमजोर हुँदा विपद प्रतिकार्य नै  कमजोर हुने र त्यसले विपदबाट क्षति बढ्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका र सहयोगीहरू

दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन् ।

प्योङयाङले रुसको युद्ध प्रयासलाई बलियो बनाउन हजारौँ सेना पठाएको छ । तीमध्ये कुर्स्क सीमा क्षेत्रमा युक्रेनले सोमबार आफ्ना लडाकुहरूबाट कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको रिपोर्ट गरेको छ । 

“युक्रेन विरुद्धको रुसको आक्रामक युद्धलाई उत्तर कोरियाको प्रत्यक्ष समर्थनले द्वन्द्वको खतरनाक विस्तारलाई चिह्नित गर्दछ, यसले युरोपेली र इन्डो–प्यासिफिक सुरक्षाका लागि गम्भीर परिणामहरू निम्त्याउँछ”, वक्तव्यमा भनिएको छ । 

अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री र इयुका उच्च प्रतिनिधिले वक्तव्यमा हस्ताक्षर गरेका छन् । 

उनीहरूले रूसले उत्तर कोरियाको व्यापक विनाशका हतियारहरू समावेश गैरकानूनी हतियार कार्यक्रमहरूलाई राजनीतिक, सैन्य वा आर्थिक सहयोग प्रदान गर्नसक्ने सम्भावनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा मस्कोको युक्रेन आक्रमणपछि उत्तर कोरिया र रूसले आफ्ना सैन्य सम्बन्धहरू बलियो बनाएका छन् । विशेषज्ञहरूका अनुसार आणविक हतियार सम्पन्न उत्तर कोरियाका नेता किम जोङ उन मस्कोबाट उन्नत प्रविधि र आफ्ना सैनिकहरूका लागि युद्ध अनुभव प्राप्त गर्न उत्सुक हुनुहुन्छ ।

वक्तव्यमा हस्ताक्षर गर्नेहरूले ‘युक्रेन विरुद्धको युद्धभूमिमा प्रयोग गर्नाका लागि रुसमा उत्तर कोरियाका सेनाहरू तैनाथ गर्ने’ सहित ‘बढ्दो सैन्य सहयोगको कडा शब्दहरूमा निन्दा’ गरेको बताएका छन् ।  

“प्योङयाङद्वारा रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र, तोप र अन्य सैन्य सामग्रीको निर्यातका साथै उत्तर कोरियाली सैनिकहरूलाई हतियारसहितको मस्कोको प्रशिक्षणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको स्पष्ट उल्लङ्घनको प्रतिनिधित्व गर्दछ”, उनीहरूले वक्तव्यमा भनेका छन्, “हामी उत्तर कोरियालाई युक्रेन विरुद्धको रुसको आक्रामक युद्धका लागि आफ्ना सेना फिर्ता गर्नेसहित सबै सहयोग तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ ।” 

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएका छन् । 

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।

सोमबार उनले धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गरेको बताए ।

उनले भने, ‘कि त देश छोडेर जानुपर्यो नजाने हो भने देश बनाउने जिम्मेवारी हामी युवाहरुको हो । हामी यसका लागि अगाडि आउनुपर्छ भनेर स्वतन्त्र युवाहरुले एउटा भ्रष्टाचार विरुद्धको नागरिक अभियान चलाउन खोजिरहेका छौ । त्यसको लागि धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको छ भनेर प्रधानमन्त्रीले समेत आरोप लगाउनुभएको छ । यही विषय नै के हो भनेर अख्तियारमा मुद्दा फैसला गरोस भनेर निवेदन दर्ता गर्न आएको हो ।’

यस्तै, उनले जस्तो व्यवस्था आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन नसकेको भन्दै यसको मुख्य कारण भ्रष्टाचार नै भएको बताए ।

उनले भने, ‘देशमा हामीले जति पनि परिवर्तनका कुराहरु गर्यौ, युवाहरुलाई लिएर जति पनि आन्दोलन भए तर त्यसलाई आर्थिक रुपमा लान सकेनौ । गणतन्त्र, लोकतन्त्र जे आएपनि नेपाली जनताको आर्थिक रुपमा उन्नती हुन सकेन । यसका सबै कारण भ्रष्टाचार हो । तर भ्रष्टाचारका कुराहरु कहिले पनि बाहिर नआउने र कारबाही पनि नहुने काम निरन्तर चलि रहेको छ ।’

श्रीलङ्काद्वारा धेरै क्षेत्रमा पहिरोको चेतावनी

श्रीलङ्काको राष्ट्रिय निर्माण अनुसन्धान सङ्गठन (एनबीआरओ) ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी गरेको छ ।

श्रीलङ्काका केही भागमा भारी वर्षा जारी रहेपछि चेतावनी जारी गरिएको एनबीआरओले जनाएको छ ।

एनबीआरआले मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा बडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाहरूमा धेरै डिभिजनल सचिवालय र वरपरका क्षेत्रहरूमा पहिरो जानसक्न प्रारम्भिक चेतावनी जारी गरेको छ ।

यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी बङ्गालको खाडीको समुन्द्रमा विद्यमान अशान्तिका कारण वर्षा भएको जनाएको छ ।

युइएफएले महिला युरो २०२५ का लागि चार करोड १० लाख युरो पुरस्कार राशि प्रदान गर्ने

युरोपेली फुटबल सङ्घ (युइएफए) ले महिला युरो २०२५ प्रतियोगिताका लागि चार करोड १० लाख युरो (चार करोड ३० लाख डलर डलर) को पुरस्कार रकम स्वीकृत गरेको घोषणा गरेको छ । यो रकम अघिल्लो संस्करणको भन्दा दोब्बर बढी हो ।

सन् २०२२ मा इङ्ग्ल्यान्डले च्याम्पियन भएको बखत प्राप्त गरेको २० लाख ८५ हजार युरोको तुलनामा विजेता टोलीले ५१ लाख युरो प्राप्त गर्नेछ । साथै १६ सहभागी टोली प्रत्येकले १८ लाख युरो प्राप्त गर्नेछन् ।

महिला फुटबलको विकाससँगै महादेशीय प्रतियोगिताका लागि कोष युरो २०१७ पछि पाँच गुणा र इङ्गल्यान्डमा युरो २०२२ मा एक करोड ६० लाख युरो रहेकामा यो १५६ प्रतिशतले बढेको छ । 

कूल रकमको करिब ७० प्रतिशत संलग्न टोलीहरूलाई वितरण गरिनेछ । टोलीहरूले आफ्ना खेलाडीहरूलाई आफ्नो विनियोजनको ‘३० देखि ४० प्रतिशत’ तिर्नुपर्ने युइएफएले बताएको छ । 

समूह चरणमा टोलीहरूले बराबरीमा ५० हजार युरो र जितका लागि एक लाख युरो पाउनेछन् भने क्वार्टर फाइनल, सेमिफाइनल वा फाइनलमा पुगेपछि क्रमशः पाँच लाख ५० हजार, सात लाख र आठ लाख ५० हजार युरो पाउनेछन् ।  

युइएफएले सन् २०३० सम्ममा महिला फुटबलमा एक अर्ब युरो लगानी गर्ने आफ्नो अभिप्राय अक्टोबरमा घोषणा गरेको थियो । यसमा आधारभूत स्तर र शीर्ष स्तरका पेशेवर मापदण्ड तथा स्टेडियम उपस्थितिलाई थप बढाउने लक्ष्य राखिएको छ ।

युरोकप २०२५ स्विट्जरल्यान्डमा जुलाई २ देखि २७ सम्म हुनेछ । 

राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण

राजविराज (सप्तरी), १ पुसः सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “अब राजविराज छायामा पर्नेछैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।”

पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । उहाँले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राख्नुभयो । उहाँले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिनुभयो । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गर्नुभएको थियो ।

त्यसअवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरबको विषय भएको बताउनुभयो । “सप्तरीबासीका लागि गौरवको दिन हो, अब, उडान सङ्ख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ । यो अवस्थामा ल्याइपुर्याउन सहयोग गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो । प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो सुरुआत महत्वपूर्ण कदम भएको अध्यक्ष राउतले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनु गौरवको विषय रहेको उल्लेख गर्दै नियमित उडानका लागि मन्त्रालय र प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्नुभयो । लामो सङ्घर्षपछि यो विमानस्थलमा उडान सञ्चालन भएको भन्दै यसले आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो । 

 नेकपा (एमाले)का नेता सुमन प्याकुरेलले नेपालको पुरानो विमानस्थल सप्तरीको मात्रै नभई सुनसरीको पश्चिम दक्षिण भेगदेखि सिरहासम्मका जनतालाई सेवा दिने यो विमानस्थल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विभिन्न कारण पटक पटक उडान र बन्द हुँदै आएको विमानस्थललाई निरन्तर सञ्चालनका साथै यो विमानस्थल पाइलट तालिमका लागि उपयोग गर्न सुझाव दिनुभयो ।

सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले पटक पटक बन्द हुँदै आएको राजविराज विमानस्थलमा नियमित उडान सञ्चालनका लागि सबैको सहयोग चाहिने खाँचो औंल्याउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभयो ।

 राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले आज काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।

 योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

 प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

 राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताउनुभयो । राजविराजमा रात्रिकालीन उडानले यस भेगको उडानलाई थप सुरक्षित सुढृढ गरेको उहाँको दाबी छ ।

 इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आईएफआर) मा दुई हजार मिटरमा उडान गर्न सकिनेभएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुने भएको छ । यसअघि भिएफआर  उडानका लागि कम्तीमा पनि पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्याबाट राहत मिल्ने विमानस्थलले जनाएको छ ।

 राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।
 राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग छ । लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । श्री एयरलाइन्सले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो ।

 राजविराज विमानस्थल कार्यालयका अनुसार विसं २०५२ र २०६५ मा केही दिन उडान भयो । विसं २०६६ मा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो । विसं २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो । राजविराजमा रात्रिकालीन उडानले मधेसको पर्यटनका निम्ति ढोका खुलेको स्थानीय रोशन मण्डलले बताउनुभयो ।

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, १ पुसः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा आज भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका हिमाली क्षेत्र र समुदायमा अनुसन्धान गर्न म विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्दछु ।”

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस, जिएफजेडका जियोमोर्फोलोजी विभाग प्रमुख प्रा डा निल्स होभियस, परियोजना तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख डा लुडविग स्ट्रोइनक लगायतसँगको भेट र अन्तक्र्रियाका क्रममा मन्त्री डा राणाले सो आग्रह गर्नुभएको हो । 

उक्त संस्थाका जलवायु विज्ञहरुसँग उहाँले हाल नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण पछिल्ला बर्षहरुमा अकल्पनीय क्षति व्यहोरिरहेको जानकारी गराउँदै उहाँले यो समस्या समाधानका लागि थप अनुसन्धान र सहयोगको अपेक्षा गरिएको बताउनुभएको हो । 

सो छलफलका क्रममा नेपालमा भू–प्राविधिक सङ्कटकालीन अवस्थाहरू र जोखिम न्यूनीकरणका लागि बाढीपहिरो नियन्त्रणसम्बन्धी पूर्व चेतावनी प्रणालीका विषयमा कुराकानी भएको थियो । नेपाल र जिएफजेड पहिरोको पूर्व चेतावनी प्रणालीका क्षेत्रमा काम गर्दै आएका छन् । 

त्यसअवसरमा बाढीपहिरो तथा अन्य जोखिमको खतरा र बाढी नियन्त्रणका लागि पूर्व चेतावनी प्रणालीको अवस्था र प्रगतिबारे छलफल एवं समीक्षा भएको थियो । यसबारे गत जुनमा राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमणका क्रममा पनि सो संस्थाले जलवायु परिवर्तनको असरबारे प्रस्तुति दिएको थियो । 

उक्त समयमा पनि नेपालमा जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणका सम्बन्धमा छलफल भएकाले त्यसको ‘फ्लोअप’ स्वरुप आज मन्त्री डा देउवाले उहाँहरुसँग छलफल गर्नुभएको हो । जलवायुसम्बन्धी विश्वप्रसिद्ध यी संस्थाहरूले जल सम्पदा एवं जल चक्रको अवस्था, बाढीपहिरो, वायुमण्डलीय प्रदूषण र जलवायु परिवर्तन तथा यसका असरबारे अध्ययन अनुसन्धान गर्ने गर्दछन् । 

मन्त्री डा देउवाले जलवायु परिवर्तनका विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायको समन्वयमा रहेर आफ्ना प्रतिबद्धताहरु अनुरुप काम गरिरहेको र सबैजसो राष्ट्रसङ्घीय जलवायु सम्मेलन एवं बैठकहरूमा सक्रिय एवं उच्चस्तरीय सहभागिता जनाउँदै आएको बताउनुभयो । 

नेपालले जलवायु न्याय, पर्वतहरूको संरक्षण एवं पर्याप्त तथा दिगो जलवायु वित्तका लागि निरन्तर वकालत गरिरहेको र गत हप्तामात्र नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा आफूले नेपालको जलवायु न्यायको माग दाबी गरेको जानकारी पनि उहाँले दिनुभयो । जलवायु परिवर्तनका कारण विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला तथा बालबालिका, सीमान्तकृत समुदाय एवं हिमाली बस्तीहरु बढी प्रभावित भएका उहाँले जानकारी गराउनुभयो । अन्तक्र्रियामा जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती पनि सहभागी हुनुहुन्थ्यो ।

बुटवलमा औद्योगिक व्यापार मेला हुने, पाँच सय स्टल रहने

लुम्बिनी, १ पुस : बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा ‘औद्योगिक व्यापार मेला बुटवल–२०८१’ गर्न लागिएको हो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घले आयोजना गरेको औद्योगिक व्यापार मेलाको यो २४औँ संस्करण हो ।

बटुवलमा हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र उद्यमशीलताको माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न मेला आयोजना गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनुभयो ।

औद्योगिक उत्पादन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि आयोजना गरिएको मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाइल्स र होटलको छुट्टाछट्टै १० वटा मण्डप रहने आयोजकले जनाएको छ । मेलामा औद्योगिक, हस्तकला, कृषि र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ । विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ ।

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा पाँच सय स्टल रहने छन् भने पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र मेलाभित्र रु १५ करोड बढीको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यङ्ग्य, ब्यूटी शो र टिकटक प्रतियोगिता गरिने मेला कार्यसम्पादन समितिका सदस्य दीपकप्रसाद चापागाईंले जानकारी गराउनुभयो ।

वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौँ, १ पुसः सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभएको छ । आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभएको हो ।

उहाँले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताउनुभयो । 

दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उहाँको भनाइ थियो । साथै उहाँले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौँ, १ पुसः नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ ।

हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ मा स्थापना भएको थियो । कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

चीनमा छ हजारभन्दा बढी ‘आउटलेट’ भएको खाद्यान्न तथा प्याकेटको मासुजन्य परिकार बेच्ने जियान फुडले राँगाभैंसी पालनका लागि प्राविधिक सहायताका साथै नेपालमा रु २० अर्व बराबरको लगानी गर्न चाहेको पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा नवीनकुमार शर्माले जानकारी दिनुभयो । यसबाट पशुपालनमा संलग्न भएका वा हुन चाहने युवाले फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

कार्यक्रमको कार्यान्वयनसँगै घाँस तथा साइलेज, पशुदाना, कुखुराको दानाका लागि चाहिने मासु र हड्डी, छाला प्रशोधनसंग सम्बन्धित उद्योग, कृषिक्षेत्रमा लगानी बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न सक्ने बताइएको छ । सरकारको सहयोगमा खोरेत रोगको नियन्त्रण कार्यक्रम सञ्चालन, घाँस उत्पादनका लागि सरकारी जग्गा उपलब्ध गराउने, पशुपालक किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायत कृषक हितका विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’

सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रागाँको मासुको गुणस्तर सुनिश्चित गरेपश्चात नेपाली उपभोक्ताले उपभोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच सम्पन्न राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारीले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको बताउनुभयो ।

“नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौँ”, मन्त्री अधिकारीले भन्नुभयो, “यसका लागि पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ सङ्कल्पित छौँ ।”

    पशुका रोगको नियन्त्रण गर्न जोनिङलगाय विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादनसहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौताबाट नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्यून लागतमा राँगाभैँसी उत्पादन हुनसक्ने क्षेत्र पहिचान गरेर उत्पादन थाल्ने सुझाव दिनुभयो ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनमा प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभयो । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले मासुको अभाव हुन नदिन विभिन्न ३० वटा पालिकामा राँगाभैसी पालन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

युक्रेनमा सेनाको प्रभुत्व रहेको भन्दै पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताउनुभएको छ ।

वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उहाँले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गर्नुभयो । 

उहाँले पश्चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि आलोचना गर्नुभयो । 

आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् । 

मस्को र किएभ दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न खोजिरहेका छन् । 

रिपब्लिकन ट्रम्पले केही घन्टामै युद्धविराम गर्नसक्ने पटक–पटक बताउँदै आउनुभएको छ । यद्यपि उहाँले कुनै योजना प्रस्तुत गर्न सक्नुभएको छैन र शान्ति वार्ताका बारेमा अनुमान लगाइएको छ । 

– रणनीतिक पहल –

“रूसी सेनाले सम्पूर्ण सम्पर्क रेखामा रणनीतिक पहललाई दृढतापूर्वक राखेको छ”, पुटिनले सेनाका प्रमुख र रक्षा मन्त्रालयका अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भन्नुभयो । 

उहाँले रुसको सेनाले यस वर्ष १८९ युक्रेनी बस्ती कब्जा गरेको र सन् २०२४ लाई आफ्नो अभियानका लागि मस्कोको आधिकारिक भाषा प्रयोग गर्दै ‘विशेष सैन्य कारबाहीको लक्ष्य हासिल गर्ने ऐतिहासिक वर्ष’ भनेको बताउनुभयो । 

सोही बैठकमा पुटिनपछि बोल्दै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले यस वर्ष युक्रेनको करिब चार हजार पाँच सय वर्गकिलोमिटर भूभाग कब्जा गरेको र अहिले दैनिक करिब ३० वर्गकिलोमिटर क्षेत्र ओगट्दै गएको बताउनुभयो । 

उहाँले युक्रेनले पूर्वी लुगान्स्क क्षेत्रको एक प्रतिशतभन्दा कम र डोनेट्स्क, खेरसन र जापोरिजिया क्षेत्रको २५–३० प्रतिशत मात्र नियन्त्रण गरेको जानकारी दिनुभयो । 

कुनै पनि कुरामा पूर्ण नियन्त्रण नभए पनि रुसले सन् २०२२ मा चारै वटा क्षेत्रलाई विलय गर्ने दाबी गरेको थियो । 

रुसी सेनाले सोमबार आफ्नो पछिल्लो अग्रिम भागका रूपमा डोनेट्स्क क्षेत्रको अर्को सानो गाउँ कब्जा गरेको बताएको छ । 

– सैन्य प्रवाह –

पुटिनले रुसको सेनालाई सहयोग गर्न उन्नत हतियार र उपकरण उपलब्ध गराउने रुसको सैन्य उद्योग र रक्षा उद्यमको पनि प्रशंसा गर्नुभयो । 

रुसले मिसाइल प्रणालीको ठूलो उत्पादनमा काम गरिरहेको उहाँले बताउनुभयो । यसमा अरेश्निक मिसाइल जस्ता अति ध्वनिक मिसाइलहरू पनि समावेश छन्, जुन उहाँले पछिल्लो महिना युक्रेनी सहर दनिप्रोमा प्रयोग गर्नुभएको थियो । साथै उहाँले सैनिकहरूले एआई–सञ्चालित प्रणालीहरू प्रयोग गरिरहेको सङ्केत दिनुभयो ।

घरेलु आर्थिक अस्थिरताको सङ्केतका बीच एक चौथाई शताब्दीसम्म सत्तामा रहेका पूर्व केजिबी जासुससमेत रहनुभएका पुटिनले रुसको विशाल रक्षा र सुरक्षा खर्चको बचाव गर्नुभयो । 

सैन्य खर्च जिडिपीको छ प्रतिशतभन्दा बढी पुगेको छ । जबकि समग्र रक्षा र सुरक्षा खर्च लगभग नौ प्रतिशत छ ।  

“कुनै पनि सशस्त्र द्वन्द्व नभएका देशमा समेत यो विश्वको सबैभन्दा ठूलो खर्च होइन”, उहाँले भन्नुभयो, “जे होस्, यो धेरै पैसा हो र यहाँ हामीले यसलाई धेरै तर्कसङ्गत प्रयोग गर्न आवश्यक छ ।” 

यसको विपरीत किएभ आफ्नो रक्षात्मक अभियानको कोष र ज्याला दिन पश्चिमी वित्तीय र सैन्य समर्थनमा निर्भर छ । 

ट्रम्पले अमेरिकी सहायता कटौती गर्न सक्ने डरले रूसको प्रगति रोक्न सक्ने युक्रेनको क्षमतालाई विनाशकारी धक्का दिन सक्छ । 

युक्रेनले पनि मोर्चाहरूमा जनशक्तिको अभावको सामना गरिरहेको छ र वासिङ्टनबाट अधिक सैनिक भर्ती गर्न भर्ती उमेर २५ बाट १८ सम्म घटाउन विचार गर्न दबाब दिइएको छ ।

पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन

त्रिशूली (नुवाकोट), १ पुस : धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् ।

दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजार बढी दर्शनार्थी आएका थिए ।

तिथीको गडबडले यसवर्ष शनिबार र आइतबार दुईदिन पूर्णिमा परेकाले दर्शनार्थी उत्साहजनक रुपमा आएको मन्दिरका पूजारी भगवानहरि धितालले बताउनुभयो । पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीय बासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव रहेको विश्वासमा पूजा आराधाना गर्न थालिएको हो । गाईले दूध चढाएको हुदाँ दुग्धेश्वर हुदैँ हाल यस मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।

मन्दिरका पुजारी धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वरले विशेष गरी पुत्रलाभ गराउने विश्वास गरिन्छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा पशुधन प्राप्त हुने लगायतका विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।

दुई दलले नचाहँदासम्म कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ, १ पुसः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताउनुभएको हो ।

“अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन”, उहाले भन्नुभयो, “यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस ।” महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएर यो राष्ट्रको र वर्तमान सरकारले सोही दिशामा काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने खतरा भएको र देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न हुनु गलत भएको स्पष्ट पार्नुभयो ।

पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ ।” एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उहाँको भनाइ थियो।

“आफूलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमाले लागेको छ”, महासचिव पोखरेलले भन्नुभयो, “यसका लागि हामीले सामथ्र्य बढाउनुपर्छ ।” लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ ।”

अफगानिस्तानमा एक परिवार बोकेको गाडी दुर्घटना, छ जनाको मृत्यु

दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले आइतबार जनाएको छ ।

प्रदेशको बाबाजी जिल्लामा गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित छ जनाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।

गत हप्ता उत्तरी बदख्सान प्रान्तमा एउटा जीप नदीमा खस्दा छ यात्रुले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए ।

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

भरतपुर (चितवन) १ पुसः चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने छ ।

भिआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगतै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इञ्जिनियर वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार टावर–२ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ ।

मैदानको कामअघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताउनुभयो ।

आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँग समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।

रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कूल क्षमता १५ हजार पुग्नेछ ।

गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

‘जडिबुटी खाएका पशुको मासुको माग विदेशमा बढ्दै’ – कृषिमन्त्री अधिकारी

काठमाडौँ, १ पुस : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताउनुभएको छ ।

चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताउनुभयो । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उहाँको जोड थियो ।

“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भन्नुभयो ।

प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उहाँको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताउनुभयो ।

हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, १ पुसः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताउनुभएको हो । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताउनुभयो । 

सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।”

अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचक सरकारको कामको परिमाण भएको उहाँको भनाइ छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा बढेको बताउँदै उहाँले गत आर्थिक वर्षको चार महिनामा तीन प्रतिशत वृद्धि भएको राजस्व सङ्कलन चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशतले बढेको जानकारी दिनुभयो ।

यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंकको ब्याजदर एकल अङ्कमा आउन सम्भव थिएन, “ब्याजदर एकल अङ्कमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।”

सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ छ । 

अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिनुभयो । नाफिज अध्यक्ष मेनुका कार्कीले पुँजीगत खर्च वृद्धि गर्न सुझाव दिँदै सरकारले अन्तरनिकाय समन्वयलाई सुधार गर्नुपर्ने बताउनुभयो । 

नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै,के भन्छ स्थानीय सरकार ?

डोल्पा, १ पुस : कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ ।

हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री किनमेल गर्न सहज भएको छ । हिल्सा क्षेत्रमा सीमा सुरक्षाका लागि हिल्साबाहेक डोल्पाको मोरिम्ला नाका पनि आशिंक रूपमा खुल्ने तर प्रचुर व्यापारिक सम्भावना बोकेको चिनियाँ नाका हो । पाँच वर्षअघिसम्म नियमित रूपमा प्रत्येक वर्ष खुल्ने मोरिम्ला नाका यस वर्ष पाँच वर्षपछि खुलेको हो । 

कोरोना कहरपछि चीनले पाँच वर्षसम्म नाका खुलाउन अनुमति नदिँदा नाका खुल्न सकेन । यस वर्ष गत साउन महिनामा १५ दिनका लागि नाका खुलाइएको हो भने प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय डोल्पाले एक हजार आठ सयभन्दा धेरै सीमा पास जारी गरेको थियो । 

अस्थायी रूपमा सञ्चालन हुँदै आएको मोरिम्ला नाका क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा (बिओपी) राख्ने कुरा वर्षौंदेखि अन्योलमा पर्दै आएको छ । दुई देश बीचको व्यावहारिक समझदारीमा नाका सञ्चालन भए पनि न सीमा सुरक्षा पोष्ट छ न त भन्सार कार्यालय राखिएको छ । 

नेपालको संविधानअनुसार सीमा सुरक्षा गर्ने दायित्व सशस्त्र प्रहरीको हो । तर डोल्पाका पुराना यी दुई नाका भने सुरूदेखि नै सीमा सुरक्षा फौज राखिएको छैन । यी दुई नाका चीन नेपाल र भारतबीच हुने त्रिदेशीय व्यापारिक नाकाका रूपमा समेत रहेका छन् । रणनीतिक महत्त्व बोकेका यी तीन नाकामध्ये मोरिम्ला नाका पूर्ण रूपमा सञ्चालन आएमा चीनको सामान नेपाल हुँदै भारत र भारतको सामान नेपाल हुँदै चीन पुर्‍याउन सकिन्छ । यी तीन नाका जोड्ने प्रमुख सडक भेरी करिडोर हो । जुन सडकको जाजरकोट जिल्लाको तल्नुबगरसम्म स्तरोन्नति सुरू गरिएको छभने त्योभन्दा माथि मोरिम्लासम्म ‘ट्र्याक’ मात्र खुलाइएको छ । 

डोल्पामा पर्ने ल्यासीक्यापदेखि शिसौलसम्मको ४० किलोमिटर सडक त ट्र्याक नै खुलाइएको छैन । भौगोलिक रूपमा कठिन भूगोल भएकाले सेनालाई निर्माणको जिम्मा दिने बताइएको एक वर्ष बितिसक्दासमेत काम सुरू भएको छैन । मोरिम्ला नाका डोल्पोबुद्ध गाउँपालिकामा पर्दछ भने क्याटो नाका शे–फोक्सुण्डो गाउँपालिकामा पर्दछ । उपल्लो डोल्पामा बसोबास सुरू भएदेखि उपल्लो डोल्पावासी र तिब्बती व्यापारीबीच दैनिक उपभोग्य वस्तुलगायत वस्तुहरूको व्यापार हुँदै आएको उपल्लो डोल्पावासीको भनाइ छ । 

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम झरेर दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाँच दिन लाग्ने भएकाले पनि दुई दिनमा क्याटो र मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ । त्यतिमात्र नभई यी दुई नाका आधिकारिक रूपमा खुलाइएमा चिनियाँ सामान सिधै नेपाली बजारमा भित्र्याउन सकिने र नेपालमा उत्पादन हुने यार्सागुम्बालगायत नेपाली जडीबुटी सिधै चिनियाँ बजारमा निर्यात गर्न सकिने डोल्पाली व्यापारीहरू बताउँछन् । 

त्यसो त उपल्लो डोल्पावासीले पहिलादेखि नै चिनियाँ नाकाबाटै दैनिक उपभोग्यलगायत सम्पूर्ण घरायसी सामानहरू खरिद गरेर आफ्ना आवश्यकता टार्दै आएका छन् । उपल्लो डोल्पावासीले खाद्यवस्तुमात्र होइन मोटरसाइकललगायत मेसिनरी सामानसमेत चिनियाँ नाकाबाट खरिद गर्दै आएका छन् । नेपालमा सात लाखसम्म पर्ने मोटरसाइकल दुई–तीन लाखमै आउने भएपछि आवतजावतको सुविधाका लागि प्रायः स्थानीयले चिनियाँ नाकाबाट मोटरसाइकल खरिद गर्ने गरेको धेरै वर्ष भएको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयको भनाइ छ ।

सीमा सुरक्षाको जिम्मेवारी 

उपल्लो डोल्पामा रहेका मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि राज्यले नै बेवास्ता गरेको पाइएको छ । प्रत्येक वर्ष सीमाक्षेत्र अनुगमनका लागि भन्दै हेलिकप्टरमा उपल्लो डोल्पा पुग्ने सरकारी प्रतिनिधि, उच्च राजनीतिक नेतृत्वले पनि नाकालाई वैध बनाउनका लागि ठोस कदम चाल्ने बताउने गरे पनि काम भने भएको  छैन । त्यतिमात्र नभई स्थानीय सरकारका प्रतिनिधि, जिल्लास्थित सुरक्षाका निकायका प्रमुखहरू, जिल्लाका सांसद मन्त्रीहरूको पनि भ्रमण हुने गरे पनि उपलब्धि भने शून्य देखिन्छ । 

मोरिम्ला र क्याटो नाकालाई स्थायी बनाउन पहिलो काम भनेको सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने जिल्लाका सुरक्षा अधिकारीहरू नै बताउँछन् । यससँगै अस्थायी भए पनि भन्सार कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको भनाइ छ । जग्गा प्राप्तिपछि सरकारले सीमाक्षेत्रमा अत्याधुनिक भवन बनाइदिएमा बाह्रै महिना बसेर सशस्त्र प्रहरीले सिमाना सुरक्षा गर्न सक्ने बताइन्छ । 

नेपाल–चीन सीमा सुरक्षाका लागि जिम्मा पाएको सशस्त्र प्रहरी नहुँदा नेपालको भौगोलिकता अखण्डताको रक्षामा राज्यले नै चासो नदिएको प्रस्ट हुने डोल्पाका सरोकारवाला बताउँछन् । त्यतिमात्र नभई सीमाक्षेत्रको निगरानी, शान्तिसुरक्षा कायम गर्न र ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्ने कार्यसमेत हुन सकेको छैन । अहिले एकल रूपमा चिनियाँ प्रहरीले सीमाक्षेत्रहरू नियमित रूपमा अनुगमन गरिरहको देख्न सकिने उपल्लो डोल्पावासी बताउँछन् । 

सीमा सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले राज्य र सरकारको चासो धेरै हुनुपर्ने डोल्पोबुद्धका स्थानीय पेम्माछेवाङ्ग गुरूङले बताउनुभयो । त्यसमा पनि डोल्पाबाट निर्वाचित मन्त्रीहरूले यो कुरा सरकारसम्म पुर्‍याएर कार्यान्वयन गर्न लगाउनुपर्ने उहाँको भनाइ छ । 

“उपल्लो डोल्पाको तीन्जेमा सशस्त्र प्रहरीको बिओपी राख्ने कुरा वर्षौंदेखि उठे पनि अहिले अन्योलमा परेको छ, तीन्जेबाट मोरिम्ला नाका नजिक पनि पर्दछ, आफ्नो देशभित्रको साँध सिमाना सुरक्षा गर्ने दायित्व राज्यको हो तर डोल्पाको हकमा राज्यको चासो देखिँदैन,” उहाँले भन्नुभयो, “जग्गा खोज्नका लागि आवश्यक पहल स्थानीय सरकारले गर्नुपर्छ, जुन कुरा भएको छैन्, बिओपी स्थापना गर्न राज्य पनि तातिएको छैन ।”

सशस्त्र प्रहरीका अनुसार बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा चाहिन्छ । तर, डोल्पोबुद्ध गाउँपालिकाकै धो ताक्सीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने भन्दै साढे एक रोपनी जग्गा प्राप्त भएर शिलान्यास गरिएको भवन अलपत्र छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी राख्दा सीमाक्षेत्रबाट पनि टाढा पर्ने भएकाले बिओपी राख्न उपयुक्त नहुने जिल्लाका सुरक्षा अधिकारी बताउँछन् । 

मोरिम्ला नाकाबाट नजिक पर्ने तिन्जे, पोल्दे, फालमध्ये एक ठाउँमा बिओपी स्थापना गर्नुपर्ने उहाँहरूको भनाइ छ । बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा आवश्यक पर्नेछ । 

यसकारण आवश्यक छ बिओपी

आफ्नो देशको साँध सिमाना सुरक्षा गर्नु देशको प्रमुख दायित्व हो । विश्व परिवेश नियाल्दा आफ्नो सीमाक्षेत्र रक्षाका लागि कतिपय देशबीच युद्धसमेत हुने गर्दछ । भौगोलिक अखण्डताको सुरक्षा, भौगोलिक सीमा सुरक्षा सुनिश्चित गर्न, अनधिकृत आवगमन तस्करी, गैह्रकानुनी गतिविधिहरूको खतरासमेत बढेको छ । त्यतिमात्र नभई सीमावर्ती बस्तीहरूको सुरक्षा, आपत्कालीन रूपमा आइपर्ने प्राकृतिक प्रकोपका घटनाहरूमा राहत तथा उद्धारको पूर्वतयारीसमेत हुन सकेको छैन । 

राज्यले जतिसक्दो चाँडो सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । सीमाक्षेत्र परेको ठाउँमा सुरक्षा बल राख्नु राज्यको प्रमुख दायित्व भएको उहाँको भनाइ छ । त्यसका लागि डोल्पाबाट निवार्चितहरूको विशेष पहल हुनुपर्ने बुढाले बताउनुभयो ।

हुँदैन सीमा गस्ती

उपल्लो डोल्पामा सीमा सुरक्षा बल बिओपी नहुँदा नियमित रूपमा सीमा गस्ती हुन सकेको छैन । प्रत्येक दिन सिमानमा नेपाली सुरक्षा टोली पुग्नुपर्ने भए पनि अहिले उपल्लो डोल्पामा पर्ने सीमाक्षेत्र सुरक्षाविहीन भएका छन् । 

तीन्जेमा सशस्त्र प्रहरीको बिओपी स्थापना हुन नसकेको पछि मोरिम्ला र क्याटो दुवै नाका सुरक्षाविहीन भएका हुन् । दुई देश बीचको उक्त सीमाक्षेत्रमा चिनियाँ प्रहरी भने नियमित पुग्ने गरेको उपल्लो डोल्पावासी बताउँछन् । तर नेपालका तर्फबाट भने सुरक्षा बल नहुँदा चिनियाँ प्रहरीले के कस्ता गतिविधि गर्छन् भन्ने कुरा रहस्यमय रहेको उहाँहरूको भनाइ छ । 

तीन वर्षअघि आफ्नो सीमाक्षेत्र कायम गरिएको १५ नं पिल्लर हेर्न पुगेका पूर्वाधार विकास कार्यालय डोल्पाका इन्जिनियर प्रकाश बुढालाई किन आइस् भन्दै चिनियाँ प्रहरीले नियन्त्रमा लिनसमेत खोजेको थियो । त्यतिमात्र नभई चिनियाँ प्रहरी एकल रूपमा सीमा स्तम्भ रङ्गाएको समाचार समेत बाहिरिएको थियो ।

सर्वसाधारणमा सधैँ सुरक्षा त्रास

भौगोलिक रूपमा अत्यन्तै विकट उपल्लो डोल्पा पुग्न जिल्ला सदरमुकाम दुनैबाट पाँच दिनसम्म लाग्ने गर्दछ । त्यसकारण पनि उपल्लो डोल्पावासीलाई सधैँ सुरक्षा त्रास हुने गर्दछ । उपल्लो डोल्पाको धो, साल्दागं, कागकोटलगायत स्थानमा नेपाल प्रहरीको सुरक्षा चौकी राखिएको छ । 

बाह्रै महिना हिमपात हुने उपल्लो डोल्पामा कात्तिकपछि अत्यधिक चिसो बढ्ने र प्रशस्त हिमपात हुने भएकाले चौकीहरू पनि जिल्ला कार्यालयमा गाभिने गर्दछन् । यस समयमा उपल्लो डोल्पामा सुरक्षा चुनौती थपिने शे–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा गुरूङले बताउनुभयो । यस वर्ष पनि सबै चौकीहरू दुनैमा गाभिसकेका छन् ।

कात्तिकदेखि चैतसम्म चिसो नघट्न भएकाले उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ । छ महिनासम्म सुरक्षा नहुँदा उपल्लो डोल्पामा ऐतिहासिक सम्पदा चोरी हुने, गाउँघर लुटिने, सर्वसाधारण, वन्यजन्तुको आखेटोपहार अवैध रूपमा बिक्री गर्नेजस्ता आपराधिक गतिविधिहरू विगतमा घटेको पाइएको छ । त्यतिमात्र नभई हिँउदको समयमा कतिपय सर्वसाधारणहरू घर, गुम्बामा ताला मारेर जाडो छल्न बँेसी झर्ने भएकाले हतियारधारी समूहद्वारा पुरातात्विक सम्पदा चोरी हुनेगरेको हो । 

भरपर्दो सुरक्षा व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालय डोल्पाको ‘रिपोर्ट’ अनुसार २०७२ सालदेखि हालसम्म उपल्लो डोल्पाबाट ७३ थान प्राचीन मूर्ति चोरी भएकामा ५० थान फेला परे । अझै २३ थान फेला पर्न बाँकी छ । चोर्ने मनसाय राख्ने मान्छेहरू प्रायः मान्छे नभएको मौका छोपी हिउँदको समयमा उपल्लो डोल्पाको गाउँबस्तीमा छिर्ने गरेकाले यस समयमा सुरक्षा खतरा बड्ने धो का स्थानीयको भनाइ छ । करिब छ महिना उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ भने छ महिना मात्र नेपाल प्रहरीको आशिंक सुरक्षा हुन्छ । अहिले उपल्लो डोल्पाको फोक्सुण्डोमा बाहेक अन्य सबै सुरक्षा चौकीहरू दुनै सरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो ।

छैन अस्थायी भन्सार

राज्यका कारण मोरिम्ला र क्याटो नाका वैधानिक हुन सकेका छैनन् तर प्रत्येक वर्ष प्रहरी भने खटाइन्छ । यसमा पनि क्याटो नाका कहिलेकाहीँ मात्र खुल्ने गर्दछ । वर्षमा एक पटकमात्र खुल्ने उक्त नाकाहरूमा अस्थायी भन्सार कार्यालयसमेत राखिएको छैन । जडीबुटीलगायत वन पैदावार बेच्न जाने सर्वसाधारणको चेक जाँचका लागि सीमाक्षेत्रमा डिभिजन वन कार्यालयको चेक पोष्टसमेत छैन । व्यापारीहरू निर्बाध रूपमा जडीबुटीको कारोबार गर्ने गर्दछन् । राज्यको दरिलो उपस्थिति नहुँदा प्रत्येक वर्ष नाका खुल्दा गैह्रकानुनी गतिविधि हुन सक्ने बताइन्छ । 

उपल्लो डोल्पाको कतिपय क्षेत्र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कस्तुरी, हिँउचितुवालगायत वन्यजन्तुहरू पाइन्छन् । त्यतिमात्र नभई बहुमूल्य जडीबुटी पुरातात्विक मूर्ति राखिएका ऐतिहासिक गुम्बाहरू समेत उपल्लो डोल्पामा छन् । तर नाका खुल्दा सामान्य चेकजाँच गरेरै सर्वसाधारणलाई पठाइने भएकाले अवैध गतिविधि हुन सक्ने आकलन समेत गरिएको हो । 

नाका खुल्दा जिल्लाबाट पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरीले अस्थायी रूपमा सुरक्षा दिँदै आए पनि पूर्ण सुरक्षाका लागि बिओपी स्थापना गरिनुपर्ने उपल्लो डोल्पावासीको माग छ । वर्षमा एकपटक चिनियाँ क्षेत्रमा लाग्ने व्यापारिक मेलामा सर्वसाधारणले करोडौँको वस्तु आयात तथा निर्यात गर्ने गरे पनि भन्सार शुल्क रू एकसम्म उठ्दैन । जसले गर्दा राज्यलाई उठ्नुपर्ने भन्सार कर त्यसै खेर जाँदै आएको हो । प्रत्येक वर्ष जति दिन नाका खुल्छ त्यति समयका लागि भए पनि अस्थायी भन्सार कार्यालय सरकारले राख्नुपर्ने जिल्लाका सुरक्षा प्रमुखहरूको धारणा छ ।

के भन्छ स्थानीय सरकार ?

उपल्लो डोल्पामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी राख्न अत्यावश्यक रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्माधोर्चे गुरूङले बताउनुयभयो । “उपल्लो डोल्पामा चीनसँगका दुईवटा खुला सिमाना छन्, ती सिमानाहरू, सीमास्तम्भहरू के कस्तो अवस्थामा छन् राज्यको ध्यान पुग्न सकेको छैन, उपल्लो डोल्पाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा फौज राख्ने भनेको पाँच छ वर्ष भयो तर उपलब्धि हात लागेको छैन”, उहाँले भन्नुभयो ।

गुरूङका अनुसार दुई वर्षअघि नै सशस्त्र प्रहरीको टोलीलाई डोल्पोबुद्ध गाउँपालिकाको तीन ठाउँमा २०/२५ रोपनी क्षेत्रफलसम्म भएका जग्गा देखाएको थियो । त्यसपछि कुनै प्रतिक्रिया आएन । उहाँले उपल्लो डोल्पामा दुई स्थानमा बिओपी स्थापना गर्न आवश्यक जग्गा दिन गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समन्वय गर्न पनि तयार छ, बरू प्रजिअलगायत जिल्लाको सुरक्षा टोलीले चासो राख्नुपर्‍यो ।”

उहाँका अनुसार उपल्लो डोल्पाको तीन्जेमा बिओपी स्थापनापछि सीमा सुरक्षा मात्र होइन जनताको जनधनको सुरक्षाको ‘ग्यारेन्टी’ हुन्छ, शान्तिसुरक्षा कायम गर्न सकिन्छ । तिन्जेबाट एक घण्टामा मोरिम्ला नाका पुग्न सकिने उपाध्याक्ष गुरूङले बताउनुभयो । उपल्लो डोल्पामा पर्याप्त सुरक्षाकर्मी नहुँदा अहिले पनि नागरिक त्रासमा जिउन बाध्य भएको उहाँको भनाइ छ । बिओपी राख्ने भनिएको तिन्जेदेखि भित्रको भूभाग निकुञ्ज क्षेत्रमा नपर्ने भएकाले कानुनी जटिलता पनि नभएको उहाँको भनाइ छ । 

यता डोल्पाका सङ्घीय सांसद धनबहादुर बुढाले सीमा सुरक्षा बल स्थापनाका लागि सुरूदेखि नै आवश्यक पहल गरिरहेको बताउनुभयो । “उपल्लो डोल्पामा सशस्त्र प्रहरीको बिओपी राख्न आवश्यक हो, जिल्लाका सुरक्षा प्रमुखहरूसँग पनि कुरा भइरहेको छ तर पनि जग्गा प्राप्त हुन सकेको छैन, त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई जग्गा टुङ्ग्याउन भनेको छु, आशा छ यो काम छिट्टै होला”, उहाँले भन्नुभयो । जग्गाको प्राप्तिको कुरा सकिएपछि बाँकी केन्द्रमा गर्ने प्रक्रियामा जस्तोसुकै सहयोग गर्न पनि तयार भएको उहाँको भनाइ छ ।

के भन्छ प्रशासन ?

उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि एउटा बिओपी राख्न आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताउनुभयो । “त्यसका लागि सुरूमा जग्गा चाहियो, जग्गा प्राप्त हुन सकेको छैन्, जिल्लाका सुरक्षा अधिकारीहरूले पनि जग्गा कहाँ कति खाली छ हेर्न जान पाएको छैन, अब एक पटक जिल्लाको सुरक्षा टोली पुग्छौँ र जग्गाका लागि सामान्य गर्छौं”, सहायक प्रजिअ ज्ञवालीले भन्नुभयो, “भौगोलिक विकटताका कारण पनि भनेको समयमा पुग्न सकिँदैन्, बिओपी स्थापनापछि अस्थायी भए पनि राज्यले भन्सार कार्यालय स्थापना गर्नुपर्छ, जसबाट राज्यलाई राजस्वसमेत प्राप्त हुन्छ ।” प्रत्येक वर्ष आधा महिनाका लागि मात्र खुल्ने यो नाका हुम्लाको हिल्सा नाका जस्तै कम्तीमा सात–आठ महिना खुलेमा डोल्पालीहरूलाई किनमेल गर्न सजिलो हुने उहाँको भनाइ छ ।