अध्यक्ष दाहालद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन


काठमडौँ, १३ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ ।
आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीहरूको मेहिनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक÷शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्नुभएको छ ।
उहाँले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्जवल भविष्यको शुभेच्छा व्यक्त गर्दछु ।”
यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए ।