कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा रहेको दाबी गर्दै महतले भने– विभाजन हामीले गरेका होइनौँ
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमा मात्रै पार्टीको वास्तविक आत्मा, विचार र सिद्धान्त रहेको दाबी गरेका छन्। देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी विभाजनको दोष अर्को पक्षलाई लगाउँदै गगन थापा नेतृत्वको पक्षले विधि, प्रक्रिया र विचार छाडेर व्यक्तिवाद अपनाएको आरोप लगाए।
उनले भने, ‘तपाईंहरूलाई कतिपयले भन्छन् रूख र झण्डा त उता छ । रूखको पछाडि नै जानुपर्यो, झण्डाको पछाडि जानुपर्यो भन्ने कुरा आउँछ । मूलभूत रूपमा कुरा पार्टीलाई विभाजन हामीले गरेको होइन । पार्टीलाई विभाजन उहाँहरूले गरेको हो।’
महतले अर्को पक्षले कुनै सर्त र आधारमा पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै त्यसको प्रभाव निर्वाचन आयोगदेखि न्यायिक निकायसम्म पुगेको बताए । सर्वोच्च अदालतले यसअघि भएका निर्णयमा कमी–कमजोरी र त्रुटि रहेको स्वीकार गरिसकेको उल्लेख गर्दै उनले न्यायको पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ। जे भए तापनि मूल कुरो के हो भने नेपाली कांग्रेसको आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ। नेपाली कांग्रेसको जुन विचार छ, सिद्धान्त छ, आदर्श छ, त्यो विचार र सिद्धान्तलाई हामीले बोकेका छौँ।’
