प्रतिबन्धित लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ


रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो ।
स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुल सहित पक्राउ गरिएको रौतहट प्रहरीकाडीएसपी दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागुऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागुऔषध फेला परेको उनले जानकारी दिए ।
उनलाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।