`

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उपनिर्वाचन : महाबुमा एमाले, गढी–६ मा कांग्रेस,डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ, १७ मङ्सिरः आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ ।

महाबुमा एमाले

दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गढी–६ मा कांग्रेस

इनरुवाः सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिनुभयो ।

डाक्नेश्वरी १ र ४ मा जसपा

सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा देवेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

सुर्मा–४ मा कांग्रेस

बझाङः सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपनिर्वाचनः सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी

काठमाडौँ, १७ मङ्सिरः सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले आठ सय १६ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गर्नुभयो ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषा, १७ मङ्सिरः धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित हुनुभएको छ ।

आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गर्नुभएको छ ।

उपनिर्वाचनः स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

बाजुरा, १७ मङ्सिरः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ ।

आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गर्नुभएको छ । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित हुनुभएको थियो । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनः रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

काठमाडौँ, १७ मङ्सिरः रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनः उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

काठमाडौँ, १७ मङ्सिरः उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाउनुभयो । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाउनुभएको आयोगले जनाएको छ ।

उपनिर्वाचनः सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

काठमाडौँ, १७ मङ्सिरः सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

चन्द्रपुर(रौतहट), १७ मङ्सिर : रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ ।

हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ५५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याउनुभएको थियो भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित हुनुभएको थियो ।

यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।

उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी

काठमाडौँ, १७ मङ्सिरः काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । 

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ  । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौँ, १७ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ ।   प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

नयाँ गिती कथा ‘जुनेली’ सार्वजनिक, समिक्षा अधिकारीले दिइन् स्वर

काठमाडौँ । नयाँ गिती कथा ‘जुनेली’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारीको स्वर रहेको गीतीकथा १७ मिनेटको छ । कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको देखिन्छ । गीतमा गोविन्द भट्टका शब्द छन् । गोविन्दले लेखेका शब्द र बाबुल गिरीले भरेको संगीतले मिठास भरेको छ । त्यसमाथी समिक्षाको स्वरले गीतलाई आनन्दीत बनाएको छ ।

भिडिओ १५ मिनेट लामो छ । भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कबिता आले, सुबास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ र जासा घलेले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । देवेन्द्रको निर्देशकिय कलाले भिडिओ राम्रो बनेको देख्न सकिन्छ । उनले भिडिओको बिच बिचमा प्रयोग गरेको गीतले भिडिओ अझ मिठास हुन गएको छ । भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर गरेका छन् । यस्तै भिडिओमा ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गरेका छन् ।

जुनेलीमा गोविन्दले लेखेका शब्द यतिबेला टिकटकमा छरिएका छन् । बिशेषगरी भिडिओ सार्वजनिक अगावै अडियो प्लेफर्मबाटै गीत धेरैले सेयर गरिरहेका छन् । यो देख्दा गोविन्द निकै खुसी छन् । उनले आफूले लेखेका शब्द खोजि खोजि दर्शकले टिकटक बनाएको देख्दा आफूलाई थप उर्जा मिलेको बताएका छन् । साथै गोविन्दले यस गीतका लागी आफूहरुले निकै मिहिनत गरेको बताएका छन् ।

गीतको भिडिओ छायांकनका लागी धादिङको गणेश हिमाल छेउसम्म पुगेको उनी बताउँछन् । गोविन्द्रले लेखेको गाउँले ठिटो गीत अभिनेता राजेश हमालले गाइसकेका छन् । उक्त समयमा त्यो गीतको चर्चा पनि भएको थियो । यस्तै ‘तैंका ठमक’, ‘सानै छ उमेर’, ‘सुन माया’ लगायतका दुईदर्जन गीत उनले लेखिसकेका छन्

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।

उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका निर्वाचन अधिकृत पाण्डेले बताए । निर्वाचनमा १५ मत बदर भएको थियो ।

उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।

एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग

काठमाडौँ, १६ मङ्सिरः राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा विभिन्न अवसरबाट वञ्चित रहेको देखाएको छ ।

आज विश्व एड्स दिवसका अवसरमा आयोगले ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ सार्वजनिक गर्दै सङ्क्रमित तथा उनीहरूका परिवारले यस्तो समस्या भोग्दै आएको देखाएको हो । एचआइभी सङ्क्रमित भई मृत्यु भएका व्यक्तिका सङ्क्रमित श्रीमती, छोरा र छोरीको जन्मदर्ता तथा नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।

जन्मदर्ता तथा नागरिकताकै अभावमा सङ्क्रमित तथा उनीहरूका परिवारले व्यवसाय, रोजगारी, स्वास्थ्य बिमा, अचल सम्पत्ति खरिदजस्ता विभिन्न समस्यासँग सङ्क्रमितहरू जुधिरहेको अध्ययनले देखाउँछ । प्रतिवेदनले अछाम, कैलाली र कपिलवस्तु जिल्लामा यस्तो समस्या देखाएको छ ।

सरकारी निकाय, एआरटी सेन्टर लगायतले तथ्याङ्क प्रणालीमार्फत सङ्क्रमितको गोपनीयताको अधिकार संरक्षण गरिरहे पनि समग्रमा सङ्क्रमितको गोपनीयताको अधिकार सुरक्षित नदेखिएको प्रतिवेदनले देखाएको छ । यसैगरी, सङ्क्रमितले विभिन्न ठाउँमा लाञ्छना र विभेद भोग्दै आएको देखाएको छ । कपिलवस्तुमा स्वास्थ्यकर्मीले कागजातमा ठूलो अक्षरमा एचआइभी सङ्क्रमित लेखिदिने कारण गोपनीयता उल्लङ्घन महसुस गरेको प्रतिवेदनले देखाउँछ । गोरखामा गोपनीयता भङ्ग भएकै कारण विद्यालय शिक्षकले रोजगारी गुमाउनुपरेको उल्लेख छ ।

प्रतिवेदनले मुलुकी अपराधसंहिता २०७४, मुलुकी देवानीसंहिता, २०७४ जस्ता मौजुदा कानुनमा विभेदजन्य भाषा संशोधन गर्नुपर्ने सुझाव दिएको छ । एचआइभी सङ्क्रमण दर नियन्त्रण, अद्यावधिक, जनचेतना, सङ्क्रमितको जीविकोपार्जनलगायत काममा स्थानीय र प्रदेश दुवै तहको सरकारको भूमिका कमजोर देखिएको जनाइएको छ ।

अध्ययनका लागि सङ्क्रमितकै परामर्शमा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तु, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनलाई नमूना जिल्ला छनोट गरी प्राथमिक तथा द्वितीय तथ्याङ्कको सङ्कलन तथा विश्लेषण गरिएको छ ।

भारतमा श्रम गरेर फर्किने नेपाली आप्रावासी श्रमिक र उनीहरूका परिवार, यौनकर्मी, यौनकर्मीका ग्राहक, लागुऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययनको मुख्य उद्देश्य एचआइभी सङ्क्रमित व्यक्तिको मानव अधिकारको अवस्था र यसको समीक्षा गर्न प्रतिवेदन सार्वजनिक गर्नाका साथै थप आवश्यक कार्य सम्पादनका लागि सरकारसमक्ष सिफारिस गर्नु रहेको बताउनुभयो ।

रातो घोडा सेतो घोडा भन्दै आए रचना र दीपक

काठमाडौँ । गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए । डिपी खनालको शब्द शृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइल्को संगीत रहेको छ ।

विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमीले जोडीले बिताएको रोमान्टिक समयलार्य भिडियोमा कलात्मक शैलीमा निर्देशक राजीव समरले देखाएका छन् । राजीव समरकै कोरियोग्राफी रहेको छमछम नचाउने गीतमा दीपक र अस्मिता दुवै खुलेका छन् । दीपकले निकै आशा गरेको गीत उनकै अफिसियल च्यानल दीपक भुजेल अफिसियलबाट बजारमा आएको हो ।

‘क्लोथ बैँक’ उद्घाटन गर्दा जे देखियो

काठमाडौँ । क्लोथ एण्ड फुड बैँक नेपालले धादिङको धुनिवेशी नगरपालिका परिसरमा ‘क्लोथ बैँक’ (कपडा बैँक)सञ्चालनमा ल्याएका छन् । ‘कोही कपडा विहिन नरहुन्’ भन्ने द्येयले अघिल्लो वर्ष फागुन देखि बुटवलको एक नगरपालिकाबाट सुरु ‘क्लोथ बैँक’ स्थापनाको अभियानलाई धुनिवेशीमा महानायक राजेश हमालले उद्घाटन गरे ।

आइतबार आयोजित एक कार्यक्रममा महानायक हमालले ‘क्लोथ बैँक’ अवधारणा समाज सेवासँग जोडिएको भन्दै प्रयोगमा नआएका लत्ताकपडालाई ‘क्लोथ बैँक’मा जम्मा गरिदिन आग्रह गरे । नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागरिकको हितमा हुने जुनसुकै कार्यक्रम वा अभियानमा साथ दिन तयार रहेको दाबी गर्दै ‘क्लोथ बैँक’ले पनि विपन्न नगरबासीलाई सहयोग पुग्ने अपेक्षा राखे । ‘क्लोथ एण्ड फुड बैँक नेपाल’ले प्रशोधन केन्द्र स्थापना गर्ने योजना ल्याए नगरपालिकाले निशुल्क जग्गा उपलब्ध गराउने उद्घोष गरे ।

नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीले ‘क्लोथ बैँक’ अभियान नागरिक मैत्री रहेकाले सफलताको शुभकामना व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले ‘क्लोथ बैँक’को अवधारणा परोपकारी सँगै वातावरण मैत्री भएकाले प्रयोगमा नआएका कपडा बैँकमा जग्गा गरिदिन अपिल गरे ।

यस अभियानका अवधारणाकर्ता कमल जिसी हुन् । उनका अनुसार अघिल्लो फागुनबाट सुरु अभियान हालसम्म १६० प्लस स्थानीय तहमा विस्तार गरिसकिएको छ । प्रयोगमा नआएका लत्ताकपडा संकलन गरी प्रशोधन तथा शुद्धिकरण गरि लगाउन मिल्ने कपडालाई आवश्यकताको आधारमा विपद पीडित समुदाय, विपन्न परिवारसम्म पुग्ने माध्यम ‘क्लोथ बैँक’ बन्न पुगेको क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष जिसीले बताए ।

पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको निवेदन दर्ता गर्न अस्वीकार

काठमाडौँ, १६ मङ्सिरः सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।

रजिष्ट्रार भद्रकाली पोखरेलले आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गर्नुभएको रिट निवेदन दरपीठ गर्नुभएको हो । “कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भन्ने व्यवस्था रहेको छ”, दरपीठ आदेशमा भनिएको छ, “उक्त मुद्दाको अभियोगपत्रमा ‘लिला बल्लभ अधिकारीको प्रस्तुत वारदातमा सङ्लग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले निजउपर थप प्रमाण प्राप्त भएका बखत कानुनबमोजिम हुने नै हुँदा…’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता गर्न मिलेन ।”सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीविरूद्ध यही मङ्सिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियोे ।

एलिना रायमाझीलाई मोडल विक्रम बुढाथोकीको प्रश्न किन रून हुन्न र मर्दले ?

काठमाडौँ । बहुचर्चित गायक प्रमोद खरेलको स्वर रहेको किन रूनु हुन्न र मर्दले बोलको गीतको भिडियो रिलिज गरिएको छ । आरजे समेत रहेका राम शर्माका शब्द सृजना समावेश गीतमा संगीत रोशन सिंहले भरेका छन् । जसमा विशाल निरौलाको एरेन्ज रहेको छ । प्रेम, रोमान्स र विरहले भरिएको भिडियोमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय देख्न सकिन्छ । एक विवाहित जोडीले भोगेको आर्थिक संकटलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जहाँ एलिना र बिक्रम गज्जबसँग खुलेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। भिडियोको निर्माण लोकप्रिय संचारकर्मी लक्ष्मण शर्माले गरेका हुन् । संचारकर्मी शर्मा आर्टिस्ट खबरका समाचार प्रस्तोता समेत हुन् । भिडिओ आरएल क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

गायिका पल्मु शेर्पाले ल्याईन् ‘धरोधर्म सत्य’ को भिडियो

काठमाडौँ । नेपाली गीतसंगीतमा लामो समयदेखी सक्रिए गायिका पल्मु शेर्पाले नयाँ गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक ‘धरोधर्म सत्य’ बोलको गीतमा पल्मुसँगै सिडी बिजय अधिकारीको स्वर रहेको छ । गएको शुक्रबार पल्मु शेर्पा अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतका भिडिओले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गीतमा नवराज भुमरी आचार्य र सिडी बिजय अधिकारीको शब्द रहेको छ भने संगीत पनि सिडी बिजयले नै दिएका छन् । मिक्सिङको काम भने राजकुमार बगरले गरेका हुन् । एरेन्ज भने पुष्कर खत्रीको छ । गीतको भिडिओ बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ उत्तम हुमागाईको टिमले खिचेको हो । भिडिओको सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन् ।

भिडिओमा लोकप्रिय नायिका शिल्पा पोखरेल र मोडल बिमल अधिकारीको अभिनय देख्न सकिन्छ । गीतले युवतीले आफ्ना लागी केटाहरु मरिहत्ते गर्ने भन्दै मायाका कुरा गरिरहेकी छिन् भने युवाले पनि आफ्नो पछि केटीहरु लागिरहने भन्दै प्रेम भाव देखाइरहेका छन् ।

गायिका पल्मुले यसगीतबाट ठुलो आशा बोकेको बताएकी छिन् । उनले भनिन्, यसअघिका गीत पनि दर्शक तथा स्रोताले माया गरिदिनुभएको छ, यसपटक पनि अडियो र भिडिओका ेटिममा कुनै पनि कमी हुन दिएका छैनौं त्यसैले दर्शक तथा स्रोताले माया गरिदिनुहुन्छ भन्ने ठुलो आशा बोकेकी छु । गायिका पल्मुका यसअघिका ल्होसार मेला, नाच्देऊ मैच्याङ, तिमी डम्फुको तालैमा, हिमाली छोरी लगायतका गीत लोकप्रिय छन् ।

पल्मुले एकबर्ष अघि वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटासँग सहकार्य गरेको नाचिदेऊ मैच्याङले चर्चा पाएको थियो । युट्युवमा १७ लाख भन्दा बढी पटक हेरिएको उक्त भिडिओमा पल शाह र छिरिङ शेर्पाले नृत्य गरेका थिए । गायिका पल्मु सौन्दर्य कला व्यवसायी समेत हुन् । नुमुज व्यूटी एण्ड स्किन केयरकी सञ्चालिका समेत रहेकी पल्मु समाजसेवी र व्यूटीसियनको रुपमा परिचित छिन् । उनी शेर्पा कलाकार संघ नेपालकी कोषाध्यक्ष समेत हुन् ।

नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

काठमाडौँ, १६ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू जनस्तरमा पु¥याउन गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गर्नुभएको थियो । सोही अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ । अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा छ । “बिरामी भएपछि हुने उपचारका लागि हामीले ठूलो स्रोत साधन खर्चनु परिरहेको छ”, मन्त्री पौडेलले भन्नुभयो, “हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौँ ।”

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन

महेन्द्रनगर (धनुषा), १६ मङ्सिरः आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो ।

यो विधि हेर्नका लागि मन्दिर प्राङ्गणमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको थियो । भगवान् राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ ।

नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई बालकलाई नगर दर्शन गराइएको थियो । विवाहपञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आउनुभएको थियो । मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।

धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको यस पर्व आजदेखि भव्यताका साथ मनाउन सुरु भएको छ । भोलि १७ गते पुष्पवाटिका फूलबारी लिला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यही दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदा गर्ने चलन छ । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने प्रचलन अनुसार यसपटक यहाँ उत्साह अझै थपिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णले बताउनुभयो ।

उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

काठमाडौँ, १६ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

सभापति देउवाले आज प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा सबैले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनुभएकामा धन्यवादज्ञापन गर्नुभएको हो । उहाँले आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गर्नुभएको छ ।

यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको सभापति देउवाको भनाइ छ । उहाँले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको छ । यसका साथै मतदान कार्यमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्णलाई पार्टीका तर्फबाट सभापति देउवाले धन्यवाद दिनुभएको छ ।

कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान

कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि सुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् ।

कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, १६ मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा उहाँले प्रधानमन्त्रीले खोज्नुभएको रूपान्तरणको योजनालाई ख्याल गर्दै नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयन कार्यविधि र प्रारूप अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत मन्त्रालय मातहतका निकायसँग निरन्तर संवादसहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।

उहाँले समन्वय र सहकार्यको अभावमा कार्यसम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्वका भावनाअनुसार प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा मन्त्रालयका सचिवहरूसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ, १६ मङ्सिर : गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षाकर्मी, निजामति कर्मचारी, सञ्चारकर्मी तथा मतदानमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद दिनुका साथै उहाँहरुप्रति आभार व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

निर्वाचन लोकतन्त्रको मेरूदण्ड भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले शान्तिपूर्ण तथा भयरहित वातावरणमा मतदान सम्पन्न भएको सो कार्यका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३३ जिल्लामा स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार चुनावी मैदानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

मन्त्रालय मातहतका निकायलाई कामको प्रगति विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १६ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिनुभएको हो । “खानेपानी क्षेत्रमा हालसम्म के कति प्रगति भएको छ, कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा रिपोर्ट पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस्”, उहाँले भन्नुभयो । 

मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँदै  कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसका कारण लिखित रूपमा पेस गर्न निर्देशन दिनुभयो । यस्तै, मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना उच्च व्यवस्थापन समूहको बैठक (एसएमटी) राख्न निर्देशन दिइएको थियो ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, पिआइडी, काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी दिनुभएको थियो । 

जिसस कैलालीको प्रमुखमा निर्वाचित भुललाई प्रमाणपत्र

सुदूरपश्चिम,१६ मङ्सिरः जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृत प्रेमराज भट्टले उहाँलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँलाई आजै जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

जिसस प्रमुखमा उम्मेदवारी दिनुभएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधनभएपछि यो पद रिक्त भएको थियो ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहनुभएका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो ।

बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल मतदाताको ५२ प्रतिशत मत खसेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता थिए ।

यसैगरी बझाङको सुर्मा गापा-४को वडा अध्यक्षको चुनावमा ७६ प्रतिशत, डोटीको पूर्वीचौकी गापा—६को वडा अध्यक्षको चुनावमा ५३, दाुर्चलाको दुहुँ गापा-५को वडा अध्यक्षको चुनावमा ६९ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका-६को वडा अध्यक्षको चुनावमा ५५प्रतिशत मत खसेको उहाँले जानकारी दिनुभयो ।

पाँच पदका लागि आज भएको उपनिर्वाचनमा रहेका कुल १७ हजार तीन सय १३ मतदाता मध्ये नौ हजार सात सय ८८ ले मतदान गरका छन् । मतपेटिका प्राप्त भइसकेपछि मतगणनाको काम सुरु गर्ने तयारी गरिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १६ मङ्सिर : यही मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गरिएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने ‘फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना’ विषयक खाका सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

“प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको लागि प्रतिवद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी  ७९.२३ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायतातर्फ साविकको प्राविधिक सहायता र कुल बजेटको अनुपात नबढ्ने गरी परिमार्जित कार्यक्रम दस्तावेज स्वीकृत गर्ने र सो सम्बन्धी संशोधित संयुक्त वित्तीय व्यवस्था अनुमोदन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ”, मन्त्री गुरुङले भन्नुभयो । 

मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडलाई चितवनको राप्ती नगरपालिकामा २–१९–१६.९ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पुष्पलाल (मध्यपहाडी) राजमार्ग परियोजनालाई राष्ट्रिय वनको १.०७२ हेक्टर जग्गा प्रयोग गर्न दिने र नेपाल विद्युत् प्राधिकरणलाई कालिगण्डकी–रिडी १३२ केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको ६.२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै आगामी पुस ३ देखि १० गतेसम्म गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने तथा एसियाली विकास बैंकबाट ‘क्लाइमेट रेसिलेन्ट ल्याण्डस्कोप एण्ड लाइभलिहुड’ परियोजनाका लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैगरी एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिँचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने एक सय १० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘२९औँ पार्टनरशिप समिट’मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने र चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु पाँच सय ८५ निर्धारण गरिएको छ ।

नेपाल सरकार र ‘इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्सटिच्युट बीच हुने मेमोरेन्डम अफ अन्डरस्टयान्डिङ स्वीकृत गर्ने, नेपाल सरकार र दि इन्टरनेशनल सेन्टर फर रिसर्च इन एग्रोफोरेस्ट्री एण्ड दी सेन्टर फर इन्टरनेशनल फरेष्ट्री रिसर्च (सीआईएफएएफ) बीच हुने समझदारी पत्र स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

त्यसैगरी सरकारले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्नुका साथै गोकर्णेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

यस्तै उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०७६ सहित) को दफा ३(१) बमोजिम चालु आव २०८१/८२ का लागि अनुदान रकम प्रति क्वीन्टल रु ७० कायम गर्ने पनि निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयअन्तर्गतका निकायको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने निर्णय

काठमाडौँ, १६ मङ्सिरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाइसम्बन्धी कार्य अब नेपाल प्रज्ञा प्रतिष्ठानस्थित प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालय र अन्तर्गतका निकाय निकायबाट गरिने छपाइसम्बन्धी कार्य प्रज्ञा छापाखानाबाट छपाइ गर्ने निर्णय गरेको हो ।

बैठकले सो छापाखानाको क्षमताअनुरुप गर्न सकिने छपाइका कामको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र काम गरिरहेको छापाखाना पूर्णक्षमतामा सञ्चालनमा आउने छ भने वार्षिक रूपमा रु १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुनेछ भने यसले राज्यको रु तीनदेखि चार करोड जोगिने बताइएको छ ।

केही समय पहिले संस्कृतिमन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई आय बढाउने विषयमा प्राज्ञसँग छलफल गर्नुभएको थियो ।

बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज

पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध सन् २००४ को घातक ग्रेनेड आक्रमणको मास्टरमाइन्डको आरोपमा एक शीर्ष बङ्गलादेशी राजनीतिज्ञलाई दोषमुक्त गरिएको छ । यो उहाँको लन्डन निर्वासनबाट फर्कने अपेक्षित बाटोमा अर्को कदम हो ।

दुई पटककी प्रधानमन्त्री खालिदा जियाका छोरा र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का वास्तविक नेता तारिक रहमानलाई हसिनाको राजनीतिक सभामा भएको आक्रमणका लागि अनुपस्थितिमा दोषी ठहर गरिएको थियो ।

तर ढाकाको उच्च अदालतले ट्रायल अदालतले प्रक्रिया ठीकसँग पालना नगरेका कारण उहाँ र अन्य ४८ जना विरुद्धको दोषी फैसला अवैध भएको फैसला गर्यो ।

बिएनपीले लगातार आक्रमणमा संलग्नता अस्वीकार गर्दै आएको छ र हसिनाको सरकारले आफ्ना विरोधीहरूलाई सताउन मुद्दामा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।

“राज्यले २२५ साक्षी प्रस्तुत गरेको छ, तीमध्ये कसैले पनि आरोपितहरूले ग्रेनेड फाल्दै वा षड्यन्त्र बैठकमा भाग लिँदै देखेका छैनन्”, मुख्य प्रतिरक्षा वकिल एस.एम. शाहजहानले आइतबारको फैसलापछि रिपोर्टरहरूलाई भन्नुभयो ।

सन् २००४ मा हसिनाको अवामी लिग पार्टीको र्यालीलाई लक्षित गरी ग्रेनेड आक्रमण भएको थियो । अवामी लिग त्यस समयमा विपक्षी दल थियो र हसिनाले आफ्नो भाषण समाप्त गरिरहेकै बेला विस्फोट भएको थियो ।

तारिककी आमा, हासिनाको लामो समयदेखिको प्रतिद्वन्द्वी तथा तत्कालीन प्रधानमन्त्री जियाले आक्रमणको मूल अनुसन्धानमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकार चलाउनुभएको थियो । आक्रमणमा दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

अर्का प्रतिरक्षा वकिल शिशिर मोनिरले हसिनाको नेतृत्वमा पछि अनुसन्धानले संदिग्धहरूलाई तारिक र अन्य बिएनपी नेताहरूलाई आक्रमणमा दोषीको रूपमा नाम दिन बाध्य पारेको बताउनुभयो ।

“टास्क फोर्स फर इन्टेलिजेन्सले अभियुक्तहरूलाई २६१ दिनसम्म हिरासतमा राख्यो र जबरजस्ती उनीहरूको स्वीकारोक्ति लिएको थियो”, उहाँले पत्रकारहरूलाई भन्नुभयो, “हामी ग्रेनेड आक्रमणका पीडितहरूप्रति सहानुभूति राख्छौँ, उनीहरू न्यायका लागि योग्य छन्... सरकारले वास्तविक अपराधीहरूलाई खोज्नुपर्थ्यो ।”

विद्यार्थी नेतृत्वको क्रान्तिले हसिनाको १५ वर्षको स्वेच्छाचारी कार्यकाल अन्त्य गरेपछि अगस्टमा उहाँ देशबाट भाग्नुभएको थियो ।

आफ्नी आमाको बिरामी स्वास्थ्यका कारण तारिकले लन्डनमा १५ वर्षभन्दा बढी निर्वासनमा बसेपछि अन्ततः बङ्गलादेश फर्कने र आमाको स्थानमा बिएनपीको नेतृत्व गर्ने व्यापक अपेक्षा गरिएको छ ।

सन् २०१८ मा दोषी ठहरिने ग्रेनेड काण्डका प्रमुख साक्षी रफिकुल इस्लामले आइतबारको फैसलाको बाबजुद मारिएका र घाइतेहरूका परिवारलाई अझै पनि न्यायको आवश्यकता रहेको बताउनुभयो ।

“मैले... शरीरका अङ्गहरू सडकमा छरिएको देखेको थिएँ”, उहाँले भन्नुभयो, “अदालतले सबैलाई सफाइ दिएको छ तर पीडितहरू अझै पनि न्यायको हकदार छन् ।”

पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गर्नुभएको छ । उहाँले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गर्नुभएको छ ।

सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने खर्च ४१ ३९० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ, जसबाट देशको कुल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत घाटा हुनेछ ।

रुसको कुल गार्हस्थ्य उत्पादन सन् २०२५ मा २.०२ ट्रिलियन डलर, २०२६ मा २.१७ ट्रिलियन डलर र २०२७ मा २.३३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२५ मा मुद्रास्फीति ४.५ प्रतिशत र त्यसपछिका वर्षहरूमा चार प्रतिशतभन्दा तल रहने अनुमान गरिएको छ ।

बजेटमा उल्लिखित प्रमुख प्राथमिकताहरूमा सामाजिक दायित्वहरू पूरा गर्ने, राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सुनिश्चित गर्ने, प्राविधिक सम्प्रभुतालाई अगाडि बढाउने र पूर्वाधार विकास गर्ने सामाजिक नीतिहरूको लागि कुल १९७.३ अर्ब डलर, रक्षा र कानून प्रवर्तनको लागि १३१.५ अर्ब डलर र अर्को तीन वर्षमा राष्ट्रिय आर्थिक विकासको लागि १३१.५ अर्ब छुट्याइएको छ ।

वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?

यसलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र बुधबार प्रकाशित नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ ।

औषधि निर्माता गिलियडले उच्च एचआइभी दर भएका १२० गरिब मुलुक मुख्य रूपमा अफ्रिका, दक्षिणपूर्वी एशिया र क्यारेबियनमा सस्तो जेनेरिक संस्करणहरू बेच्न अनुमति दिने घोषणा गरेको छ । 

तर कम्पनीले करिब सबै ल्याटिन अमेरिकालाई बाहिर राखेको छ । त्यहाँ दरहरू धेरै कम तर बढ्दो छ । यो विश्वले रोग रोक्नका लागि महत्त्वपूर्ण अवसर गुमाएको छ भन्ने चिन्ताको विषय भएको छ ।

“यो अहिलेसम्म हामीसँग भएको कुनै पनि अन्य रोकथाम विधिभन्दा उत्कृष्ट छ, यो अभूतपूर्व छ”, युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो । उहाँले यस औषधिको विकासका लागि गिलियडलाई श्रेय दिनुभयो तर एड्स रोक्ने विश्वको क्षमता जोखिममा रहेका देशहरूमा यसको प्रयोगमा निर्भर रहेको बताउनुभयो ।

विश्व एड्स दिवसका अवसरमा आइतबार जारी गरिएको प्रतिवेदनमा युएनएड्सले गत वर्ष एड्सबाट मृत्यु हुने सङ्ख्या–अनुमानित छ लाख ३० हजार बताएको छ । यो सन् २००४ मा चरम बिन्दुमा पुगेको बेलादेखि सबैभन्दा कम थियो । यसले संसार अब ‘ऐतिहासिक चौबाटो’ मा पुगेको र महामारी अन्त्य गर्ने अवसर रहेको सुझाव दिएको छ । 

लेनाक्यापाभिर नामक औषधि पहिले नै अमेरिका, क्यानाडा, युरोप र अन्य ठाउँहरूमा सनलेन्का ब्राण्ड नाममा एचआइभी सङ्क्रमण उपचारका लागि बिक्री गरिएको छ । कम्पनीले चाँडै नै एचआइभी रोकथामका लागि सनलेन्काको अनुमोदन खोज्ने योजना बनाएको छ ।

कन्डम, दैनिक गोली, योनि रिङ र द्वि–मासिक इन्जेक्सन जस्ता सङ्क्रमणबाट जोगाउने अन्य तरिका भए पनि गिलियडको दुई पटक वार्षिक खोप विशेष गरी समलिङ्गी पुरुष, यौनकर्मी र युवा महिलाहरू लगायत हेरचाह गर्न डराउने सीमान्तकृत मानिसहरूका लागि उपयोगी हुने विशेषज्ञहरूले बताएका छन् ।

“यी समूहका लागि यो चमत्कार हुनेछ किनभने यसको मतलब उनीहरूले वर्षमा दुईपटक एक क्लिनिकमा मात्र उपस्थित हुनुपर्छ र त्यसपछि उनीहरू संरक्षित हुन्छन्”, युएनएड्सका ब्यानिमाले भन्नुभयो ।

पछिल्लो प्रकाशित अध्ययनमा भाग लिने मेक्सिकोको ग्वाडलाजाराका ३२ वर्षीय लुइस रुभालकाबाको यस्तै अवस्था थियो । उहाँले आफू समलिङ्गी पुरुषका रूपमा भेदभाव हुने डरले सरकारले उपलब्ध गराएको दैनिक रोकथाम गोलीहरू माग्न डराएको बताउनुभयो । अध्ययनमा भाग लिएकाले उहाँले कम्तीमा अर्को एक वर्षसम्म खोपहरू प्राप्त गर्न जारी राख्नुहुनेछ ।

“ल्याटिन अमेरिकी देशहरूमा अझै पनि धेरै कलङ्क छ, बिरामीहरू गोली माग्न लजाउँछन्”, गुआडलाजाराको एक निजी अनुसन्धान केन्द्रमा एक दर्जन अध्ययन स्वयंसेवक भर्ना गर्ने डा अल्मा मिनर्भा पेरेजले भन्नुभयो ।

देशको स्वास्थ्य सेवा प्रणालीमार्फत मेक्सिकोमा खोपहरू कति व्यापक रूपमा उपलब्ध हुनेछन् भन्ने अझै थाहा हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरूले आफ्ना नागरिकहरूका लागि सनलेन्का किन्ने कुनै पनि योजनामा टिप्पणी गर्न अस्वीकार गरे । एचआइभी रोक्नका लागि दैनिक गोलीहरू सन् २०२१ मा देशको सार्वजनिक स्वास्थ्य प्रणालीमार्फत निःशुल्क उपलब्ध गराइएको थियो ।

“यदि जेनेरिक प्रयोगको सम्भावना खुलेको छ भने मेक्सिको सामेल हुनसक्छ भन्ने मलाई विश्वास छ”, पेरेजले भन्नुभयो ।

अनुसन्धानमा भाग लिने मेक्सिकोबाहेक ब्राजिल, पेरु र अर्जेन्टिनालगायत अन्य देश पनि जेनेरिक सम्झौताबाट बाहिरिएको ब्यानिमाले बताउनुभयो । “अब उनीहरूलाई त्यो औषधि अस्वीकार गर्नु अमानवीय हो”, उहाँले भन्नुभयो ।

एक बयानमा गिलियडले ‘जहाँ सबैभन्दा बढी आवश्यकता छ त्यहाँ एचआइभी रोकथाम र उपचार विकल्पहरूमा पहुँच सक्षम गर्न मद्दत गर्ने निरन्तर प्रतिबद्धता’ रहेको बताएको छ । जेनेरिक संस्करणका लागि योग्य १२० मुलुकमध्ये १८ अधिकांश अफ्रिकी देशले विश्वका एचआइभी बोझको ७० प्रतिशत बेहोर्छन् ।

औषधि निर्माताले ‘एचआइभी रोकथामका लागि लेनाक्यापाभिर चाहने वा आवश्यक सबै मानिससम्म पुग्न द्रुत, प्रभावकारी मार्गहरू’ स्थापना गर्न पनि काम गरिरहेको बताएको छ ।

बिहीबार, पेरु, अर्जेन्टिना, इक्वेडर, चिली, ग्वाटेमाला र कोलम्बियाका १५ पैरवी समूहले सङ्क्रमण दर बढ्दै जाँदा नयाँ एचआइभी रोकथाम उपकरणहरूको पहुँचमा ‘चिन्ताजनक’ असमानतालाई उद्धृत गर्दै ल्याटिन अमेरिकामा जेनेरिक सनलेन्का उपलब्ध गराउन आग्रहसहित गिलियडलाई पत्र लेखेका थिए ।

नर्वे, फ्रान्स, स्पेन र अमेरिकालगायत देशहरूले भने सनलेन्काका लागि प्रति वर्ष ४० हजार डलरभन्दा बढी भुक्तानी गरेका छन् । जेनेरिक उत्पादन एक पटक एक करोड मानिसलाई कभर गर्न विस्तार भएपछि प्रतिउपचार ४० डलरभन्दा कममा उत्पादन गर्न सकिने विज्ञहरूले गणना गरेका छन् ।

ड्युक युनिभर्सिटीका ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा क्रिस बेररले सनलेन्का अफ्रिका र एसियाका सबैभन्दा बढी प्रभावित देशहरूमा उपलब्ध हुनु निकै उपयोगी हुने बताउनुभयो । तर उहाँले समलिङ्गी पुरुष र ट्रान्सजेन्डर जनसङ्ख्यासहितका समूहहरूमा बढ्दो एचआइभी दरले ल्याटिन अमेरिकामा ‘सार्वजनिक स्वास्थ्य आपत्काल’ बनाएको बताउनुभयो ।

मेक्सिकोको सन्लेन्का अध्ययनमा रहेका ३० वर्षीया ट्रान्स महिला र कलाकार हान्या डेनियल टोरेसले सरकारले खोप उपलब्ध गराउने तरिका फेला पार्ने आशा व्यक्त गर्नुभएको छ । “मेक्सिकोमा विश्वका केही धनी व्यक्ति हुन सक्छन् तर यहाँ चरम गरिबी र हिंसामा बाँचिरहेका केही सबैभन्दा कमजोर मानिस पनि छन्”, उहाँले भन्नुभयो ।

अर्को औषधि निर्माता भिभ हेल्थकेयरले पनि करिब ९० मुलुकमा आफ्नो एचआइभी रोकथाम खोपको जेनेरिक अनुमति दिँदा ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरूलाई बाहिर राखेको थियो । एप्रेटुड नामले बेचिएका दुईमासिक खोपहरू एचआइभी रोकथाममा लगभग ८० देखि ९० प्रतिशत प्रभावकारी छन् । मध्यम आय भएका मुलुकहरूमा उनीहरूको लागत वार्षिक एक हजार ५०० डलर छ । यो अधिकांश मानिसले तिर्न सक्दैनन् ।

एडभोकेसी ग्रुप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआइभी सङ्क्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताउनुभयो । उहाँले ब्राजिल र मेक्सिको जस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गर्नुभयो । यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य सङ्कटमा पेटेन्टहरू निलम्बन गर्छन् ।

केही देशले अघिल्लो एचआइभी उपचारका लागि अँगालेको यो एउटा रणनीति हो । विशेष गरी सन् १९९० को अन्त्य र सन् २००० को दशकको अन्त्यमा जब एड्स औषधिहरू पहिलो पटक पत्ता लगाइएको थियो । हालै कोलम्बियाले यसको औषधि निर्माता भिभको अनुमति बिना अप्रिलमा प्रमुख एचआइभी उपचार टिभिकेका लागि पहिलो पटक अनिवार्य इजाजतपत्र जारी गरेको थियो ।

दक्षिण अफ्रिकाको क्वाजुलु–नाटाल विश्वविद्यालयका एड्स विशेषज्ञ डा सलिम अब्दुल करिमले एचआइभी रोकथाममा सनलेन्का जत्तिकै प्रभावकारी देखिने औषधि आफूले कहिल्यै नदेखेको बताउनुभयो । “पहेलीमा हराएको टुक्रा अब हामी यसलाई आवश्यक पर्ने सबैलाई कसरी पुर्याउँछौँ भन्ने हो”, उहाँले भन्नुभयो ।

१२खरी कथा प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम

काठमाडौँ, १६ मङसिरः कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा उहाँ विजेता हुनुभएको हो ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई रु एक लाख पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ लाई तृतीय पुरस्कार प्रदान गरिएको छ । उहाँहरूले क्रमशः नगद रु ६० र ४० हजारसहित पुरस्कार प्राप्त गर्नुभयो । 

कार्यक्रममा प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त नौ सय ३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो । 

प्रतियोगितामा उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ रहेका छन् । 

बाह्रखरी उत्कृष्ट कथा–२०८१ फाइनप्रिन्टले बजारमा ल्याएको हो । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको छ । १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा डा ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य हुनुहन्थ्यो । 

प्रधानमन्त्री ओली भोलि चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ, १६ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।

यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

टस हारेसँगै नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, १६ मङ्सिरः संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् ।

गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै

काठमाडौँ, १६ मङ्सिरः स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् ।

उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

गण्डकी, १६ मङ्सिरः
“मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।”

पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ । बागलुुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरि आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन् । नेपालका बाइसे चैबीसे राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गमस्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो । उक्त महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गर्नुुभएको थियो । त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ ।

एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसैसिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरुप नै परिवर्तन भएको छ ।

धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुुर क्षेत्रीले बताउनुुभयो । एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको बताउँदै उहाँले यसले मुक्तिनाथ दामोदरकुुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको बताउनुुभयो । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुुङको बागलुुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुुटाउने गन्तव्यका रुपमा पञ्चकोट पर्ने गरेको उहाँले जानकारी दिनुुभयो ।

यहाँ निर्मित पञ्चमहालक्ष्मी मन्दिर, विशाल हनुुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण(गरुड शिला), सिंह गुफा, ध्यान कुुटी आदि महत्वपूर्ण आकर्षणका रुपमा स्थापित बनेको उहाँको भनाइ छ । यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटर धार्मिक धामको रुपमा विकास गर्न खोजिएको छ ।

दर्शनार्नीको बढ्दो आगमनसँगै यस तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ । अघिल्लो वर्ष दानपेटिकामा मात्रै रु १५ लाख ५० हजार दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट रु २१ लाख ५० हजार सङकलन भएको थियो । त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुुमान झुुलामा रमाउने पर्यटक वापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुुने गरेको उहाँको भनाइ छ । मन्दिरमा हाल तीन पुुजारी एवं आठ कर्मचारी छन् । पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिनुुभयो ।

एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै

पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुुभयो । रु ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलशलगायतको निर्माणका उद्देश्य राखी पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भएपनि पछि उक्त रकम अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताउनुुभयो ।

यस वर्ष कलश निर्माणका लागि रु दुुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दैै उहाँले यस योजनालाई बहुवर्षीयअन्तर्गत राख्नका लागि पहल भैरहेको बताउनुुभयो । विभिन्न १३ तल्ला संरचनामा निर्माण हुुने उक्त कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुुसार विभिन्न देवीदेवताका मूर्ति, चारधामलगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ । त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्तिहरू राखिनेछ ।

सङ्घअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । कार्यालय प्रमुुख क्षेत्रीका अनुसार यहाँस्थित अतिथि आवासमा सुविधासम्पन्न स्नानकक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ । यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ । उक्त गुरुकुलमा हाल १७÷१८ जना कन्या अध्ययन गरिरहेका छन् । त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाईपालन समेत भैरहेको उहाँले जानकारी दिनुुभयो ।

पञ्चकोटमा सामान्यतः सबै दिनजसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुुजारी कुुमार आचार्यले बताउनुुभयो । विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक विदाका दिनमा ठूलै संख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उहाँको भनाइ छ । धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुुङको पर्यटनमा समेत टेवा पुुगेको स्थानीयवासी बताउँछन् । टाढाटाढाबाट आउने गरेका पर्यटकहरू यहाँ निर्मित संरचनाका साथै यहाँबाट देखिने दृश्यावलोकनले मोहित हुने गरेका छन् ।

पञ्चकोटका बारेमा यस अघि विभिन्न सामाजिक सञ्जालबाट देखेसुनेको बताउनुुहुने तनहुँ ढोरफिर्दीका युवा प्रकाश भट्टराई आफू मङ्सिरको पहिलो साता पारिवारिक भ्रमणका क्रममा पञ्चकोट पुुगेको अनुुभव सुनाउनुुभयो । यसअघि सामाजिक सञ्जालमा देखे सुनेको पञ्चकोटमा त्यहाँ पुुगेपछि छुुट्टै किसिमको रमाइलो अनुुभूति गरेको उहाँले बताउनुुभयो । “पञ्चकोटको भूबनोटलाई उपयोग गरी बनाइएका संरचना र यहाँ भैरहेको पर्यटकीय विकास हाम्रा देशका धेरै स्थानका लागि प्रेरणाका स्रोत पनि हुन्”, उहाँले भन्नुुभयो, “पोखरा पर्यटनको राजधानी भैसकेको अवस्थामा बृहत पोखराको अवधारणाका साथ समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि पञ्चकोटजस्ता गन्तव्यहरूको प्रवद्र्धनमा राज्यले पनि चासो दिनुु आवश्यक छ ।”

कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व बुुझाउन गण्डकी सभा

कालीगण्डकी सभ्यता र शालिग्रामको महत्वबारे बुुझाउन पञ्चकोटमा प्रत्येक महिनाको पहिलो शनिबार गण्डकी सभा सञ्चालन भैरहेको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुुसार गण्डकी सभाका प्रत्येक संस्करणमा विभिन्न विशिष्ट व्यक्तित्वलाई बोलाएर कालीगण्डकी सभ्यता र शालिग्रामको महत्व सम्बन्धमा विशेष छलफल एवम् अन्तरक्रिया गरिएको छ । “हालसम्म ३२औँ संस्कणको गण्डकी सभा सम्पन्न भइसकेको छ”, उहाँले भन्नुुभयो, “आगामी दिनमा कालीगण्डकी सभ्यतासँग जोडिएका नदी किनारस्थित म्याग्दी, पर्वत, स्याङ्जालगायतका स्थानका विभिन्न गन्तव्यमा पुुगी सभाका कार्यक्रम सञ्चालन गर्ने हाम्रो दीर्घकालीन सोच छ ।”

विश्वमा नै यहाँ मात्रै पाइने शालिग्रामको महत्वसँगै कालीगण्डकीको महिमा र गरिमालाई प्रचार गर्न सकेमा यसैका माध्यमबाट समग्र गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उहाँले बताउनुुभयो । त्रिवेणीदेखि मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म दर्शनका लागि आउने भारतीय पर्यटकका लागि यसको महिमा र गरिमालाई बुुझाउन सकेमा देशको समृद्धिमा महत्वपूर्ण टेवा पुुग्न सक्ने उहाँको भनाइ छ ।

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ, १६ मङ्सिरः ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…

काठमाडौँ – सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् ।

शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए ।

कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो ।

“नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।”

कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो ।

पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।”

कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’

बढ्दो क्रिकेट क्रेज
पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ ।

एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए ।

यस्तो छ अन्य खेलहरूको टिकट मूल्य

सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ ।

एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् ।

फ्लोरिडामा ट्रुडो र ट्रम्पबीच भेटवार्ता

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडा राज्यमा ‘सोहाद्र्र कुराकानी’ गरेको शनिबार बताउनुभएको छ ।

ट्रम्पले यसै साताको सुरुमा क्यानडा, मेक्सिको र चीनविरुद्ध आयातमा कर लगाउने घोषणा गरेपछि ट्रुडो शुक्रबार मार–ए–लागोमा रात्रिभोजका लागि उड्नुभएको थियो ।

“हो, हामीबीच निकै राम्रो कुराकानी भएको छ,” ट्रुडोले शनिबार बिहान वेस्ट पामबीचस्थित एक होटलबाट क्यानडा फर्कने क्रममा पत्रकारहरूसँग भन्नुभयो ।

ट्रुडो अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको पछिल्लो उच्च पदस्थ विदेशी अतिथि हुनुहुन्थ्यो । उहाँले आगामी जनवरी मा दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दै हुनुहुन्छ ।

पेन्सिलभेनियाका नवनिर्वाचित सिनेटर डेभिड म्याककोर्मिकले सार्वजनिक गरेको तस्वीरमा ट्रम्प र ट्रुडोसँगै टेबुलमा उभिनुभएको देख्न सकिन्छ भने उहाँहरूलाई ट्रम्पका वाणिज्य मन्त्रीका लागि छानिएका हावर्ड लुटनिक र राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छानिएका माइक वाल्ट्जलगायत एक दर्जन पाहुनाले घेरिनुभएको छ ।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउनेछु, यी दुई अमेरिकी छिमेकीले अवैध लागूपदार्थ फेन्टानिल र कागजातविहीन आप्रवासीबाट अमेरिकामाथि ‘आक्रमण’ गर्न अनुमति दिएका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले पनि बुधबार ट्रम्पसँग फोनमा कुरा गर्नुभएको थियो । कुराकानीमा दुबैले आ–आफ्ना अडान राखेको बताइएको छ ।

ट्रम्पले मेक्सिकोका बामपन्थी राष्ट्रपति शेनबामले अमेरिकाको दक्षिणी सीमालाई गैर–कानुनी प्रवेशलाई प्रभावकारी रूपमा बन्द गर्न मेक्सिको हुँदै र संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्न सहमत भएको बताउनुभएको छ तर, शेनबामले मेक्सिकोमा लामो समयदेखि लागू रहेको अमेरिकी समर्थित आप्रवासन विरोधी नीतिबारे छलफल भएको बताउनुभएको छ ।

शेवनामले व्यापार युद्धको जोखिमलाई कम आँक्दै शुल्क वृद्धिको चेतावनीबारे वार्ता केन्द्रित नभएको उहाँले बताउनुभएको थियो ।

–प्रत्युत्पादक काम –

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले सोही दिन ट्रम्पको कर सम्बन्धी चेतावनीले ओटावा र मेक्सिको सिटीसँग वासिङ्टनको सम्बन्धलाई ‘बिगार्न’ सक्ने चेतावनी दिनुभएको थियो । बाइडेनले भन्नुभयो, “मलाई लाग्छ यो प्रत्युत्पादक काम हो ।”

क्यानाडाको लागि, कुनै पनि नयाँ करको वृद्धिको सम्भावना उच्च छ ।

क्यानाडाको तीन चौथाइभन्दा बढी निर्यात अर्थात् ४२३ अर्ब अमेरिकी डलर गत वर्ष संयुक्त राज्य अमेरिकामा गएको थियो र करिब २० लाख क्यानेडियाली रोजगारी व्यापारमा निर्भर छन् ।

क्यानडाको एक सरकारी स्रोतले एएफपीलाई बताएअनुसार क्यानडाले संयुक्त राज्य अमेरिकाविरुद्ध सम्भावित प्रतिशोधात्मक करहरू बारे विचार गरिरहेको छ।

केही विश्लेषकहरूले ट्रम्पको करको खतरा वृद्धि हुन सक्ने वा भविष्यमा व्यापार वार्तामा चरम विवादको बिषय बन्न सक्ने बताएका छन् ।

ट्रुडोले प्रिन्स एडवर्ड आइल्याण्ड प्रान्तमा पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “डोनाल्ड ट्रम्पले केही कुरा कार्यान्वयनको तयारी गर्नुहुन्छ त्यसलाई सार्वजनिक गर्नुहुन्छ । यसमा कुनै दुबिधा छैन।”