`

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

काठमाडौँ, १६ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

धनुषा, १६ मङ्सिरःजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

सर्वपक्षीय बैठक सम्पन्न

निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ ।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।

‘क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक छ’ – उपप्रमुख डङ्गोल

काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा) की उपप्रमुख सुनिता डङ्गोलले क्यान्सरका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभएको छ ।

ऐन्ट फाउन्डेसनद्वारा आयोजित ‘क्यान्सर सचेतना र प्रारम्भिक पहिचान’ सम्बन्धी छलफलमा उहाँले रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम हुने भएकाले जनचेतना फैलाउन र नियमित रुपमा स्वास्थ्य परीक्षण गराइराख्नु पर्नेमा जोड दिनुभयो । कामपाले स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउन स्वस्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा जानकारी दिँदै उपप्रमुख डङ्गोलले वडावडामा खोलिएका सहरी क्लिनिकले नियमित परीक्षण गराउनुपर्छ भनेर सचेतना फैलाइरहेको बताउनुभयो ।

स्तन क्यान्सर सर्जन डा सुजिता हिराचनले नेपालमा हरेक वर्ष क्यान्सर रोगपीडितको सङ्ख्या बढ्दै गएको र अधिकांश ढिलो गरी अस्पताल आउँदा समस्या हुने गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“क्यान्सरका बारेमा जनचेतना फैलिन सकेको छैन । धेरै जना अवस्था जटिल बनिसकेपछि मात्रै उपचारका लागि आउँछन् । सहरी क्षेत्रमा सचेतना छ तर गाउँ–गाउँमा जनचेतना पुग्न सकेको छैन । क्यान्सरबारे छलफल, पैरवी र परामर्श आवश्यक छ ।”

क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले धेरै महिला क्यान्सरको स्क्रिनिङबाट वञ्चित रहेको बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको परीक्षण सुविधा तथा विज्ञहरू भए पनि धेरैको पहुँच नहुँदा धेरैजना स्क्रिनिङको सुविधाबाट वञ्चित भइरहेको उल्लेख गर्नुभयो ।

क्यान्सर सर्भाइभर (विजेता) तथा नर्स इनु बस्नेतले आत्मबलले नै क्यान्सर जित्न सकेको बताउनुभयो । “क्यान्सर लागेको पहिलोपटक थाहा पाउँदा शून्य अवस्थामा थिएँ । प्रारम्भिक चरणमै पत्ता लागेका कारण क्यान्सरबाट मुक्त भएँ । स्वस्थ्य जीवनशैली र समय–समयमा परीक्षण गर्दा पछि जटिल अवस्था आउँँदैन”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार

बागमती – बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरु उपत्यका भित्रका तीन जिल्लाका छन् । “बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्‍यौँ”, रजिष्ट्रार पोखरेलले भन्नुभयो, “तीमध्ये धेरै सहकारीका सञ्चालक सम्पर्कमा आउँनै चाहेनन्, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् । त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ ।”

बागमती प्रदेश सरकारले दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अनुसार काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी सस्ंथालाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो । दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताउनुभयो ।

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते

काठमाडौँ – हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ ।

उक्त आगलागीमा परेर तीनजना घाइते भएका छन् । आगलागीबाट सात लाखभन्दा बढीको क्षति भएको छ । चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय स्थानमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । नेपालमा आगलागीबाट बर्सेनि अर्बौंको क्षति हुँदै आएको छभने मानवीय क्षति पनि हुने गरेको छ । अहिले दैनिकजसो नै आगलागीका घटना दोहोरिँदै आएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाडौँ, भक्तपुर र पर्वतमा आगलागीका घटना भएको छ । आगलागीबाट झापामा एक, बारामा एक र पर्वतमा एक गरी तीनजना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गएको वैशाखदेखि कात्तिकसम्म दुई हजारभन्दा बढी आगलागीका घटना भएको र ती घटनाबाट ६६ जनाको मृत्यु भएको छ । आगलागीबाट एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

एनपिएल : सोमबार दुई खेल हुँदै, कुन कुन टिम भिड्दैछन् ?

काठमाडौँ – सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

त्रिवि क्रिकेटमा मैदानमा मङ्सिर १६ गते अर्थात् आइतबार कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो ।

आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।

विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै

झापा, १६ मङ्सिर : विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छभने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा रु. १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये रु. छ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा छ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ ।

उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ । नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन्भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युत्का खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी– कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ । हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना

घोडाघोडी (कैलाली), १६ मङ्सिर : खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।”

पक्की घरमा बस्न नपाउँदै थारुका सासू, ससुरा बित्नुभयो । “हामीले पनि पक्की घरमा बस्न पाउँदैनौँ कि जस्तो लागेको थियो । तर सपना पूरा भयो”, खुसी हुँदै उहाँले भन्नुभयो । बर्खाको समयमा सर्पको डरसँगै खाने अन्न पानीले भिज्ने हैरानी खेप्नुपरेको उल्लेख गर्र्दै थारु भन्नुहुन्छ, “अब ती समस्या हटेर जानेछन् ।”

सीताजस्तै सोही ठाउँकी राजकुमारी डगौरा पनि खुसी हुनुहुन्छ । “पक्की घर पाउँदा सपनाजस्तै लागेको छ, यस्तो घर बनाउने त सपना पनि देखेको थिइनँ, तर आज सरकारले पूरा गरिदिएको छ”, उहाँले भन्नुभयो ।

घरको दैनिकी गुजार्दागुजार्दै चार वर्ष पहिले राजकुमारीका श्रीमान् बित्नुभयो । “मजदुरी गरेर घर चलाउने गर्थेँ, छोराहरू पनि सानै उमेरमा पढ्न छाडेर कमाउन थाले, यस्तो पक्की घर बनाउन त खै कहिले पो सकिन्थ्यो । घर खर्च चलाउन पनि सकस भइरहेका बेला नयाँ घरमा बस्ने सपना परै थियो”, डगौरा भन्नुहुन्छ ।

सरकारले नयाँ घर दिएपछि डगौरालाई नयाँ जीवन पाएझैँ महसुस भएको छ । पक्की घर पाउँदा सुरज डगौरा पनि मक्ख हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो घरमा पानी जम्थ्यो, सर्पको पनि त्यस्तै डर थियो । पक्की घरमा बस्ने सपना पूरा भयो, धन्यवाद छ सरकारलाई ।”

कैलालीको बर्दगोरिया–४ दनुवाफाटाका १२ मुक्तकमैया परिवार नयाँ पक्की घर पाएपछि खुसी छन् । गाउँपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्कलगायतको साझेदारीमा १२ नयाँ घर निर्माण गरिएका हुन् । उक्त बस्तीमा ३२ घर मुक्तकमैया छन् । तर पहिलो चरणमा १२ मात्र सुरक्षित आवास निर्माण गरिएका हुन् । बाँकी रहेकाको पनि घर निर्माणका लागि समन्वय भइरहेको बर्दगोरियाका अध्यक्ष कर्ण कुँवरले बताउनुभयो ।

“तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकामा एक सय घर बनाइदिन आग्रह गरेका थियाँै, तर १२ वटामात्र घर बने, बाँकी रहेकाको पनि घर बन्ने आशा गरेका छाँै”, उहाँले भन्नुभयो ।

दानुवाफाटा शिविरका १२ घर निर्माणका लागि रु ८० लाख ९४ हजार खर्च भएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ३७ लाख ३३ हजार, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले रु २७ लाख ७७ हजार खर्च गरेका छन् भने स्थानीय लाभग्राहीले रु १५ लाख ८४ हजारबराबरको श्रमदान गरेका छन् । प्रतिघर रु छ लाख ७४ हजार लागत रहेको बताइएको छ ।

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

बेनी (म्याग्दी), १६ मङ्सिर : अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्वविद्यार्थी रहनुभएकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आउनुभएको हो ।

तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र कक्षा १० सम्मको पठनपाठन हुन थालेको छ । विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ । कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन् । आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।

उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्तोषजनक नतिजा ल्याउने गरेको छ । तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गर्नुभएकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियोभने तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गर्नुभएको थियो । स्नातक तहमा अध्ययन गर्दा गर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिनुभएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिनुभएको छ ।

“आफँैले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ”, प्रअ बानियाँले भन्नुभयो । विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उहाँ बताउनुहुन्छ । विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उहाँले बताउनुभयो ।

बानियाँ २०७० सालमा प्रावि द्वितिय तहमा बढुवा हुनुभएको छ । आफैँले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापना हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हाल्नु बानियाँको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन् । बानियाँ प्रअको जिम्मेवारीमा आएपछि २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो ।

“प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौँ, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपथ्र्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौँ”, प्रअ बानियाँले भन्नुभयो ।

समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उहाँको अनुभूति छ । आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुआती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको बानियाँले बताउनुभयो ।

“महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुपर्यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुपर्यो, जेजति विद्यालयका लागि समय लगानी गरेँ, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ”, प्रअ बानियाँ सुनाउनुहुन्छ ।

विद्यालयलमा तत्कालीन समयमा निजी स्रोतका शिक्षकलाई मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो । अहिले तल्लो तहमा कार्यरत भए पनि माथिल्लो तहमा पनि पठनपाठन गर्ने शिक्षकको सुविधा र निजी स्रोतका शिक्षकलाई गरी रु ९० हजारसम्म विद्यालयलाई व्ययभार परेको प्रअ बानियाँ बताउनुहुन्छ । विद्यालयले देउसीभैलो, चन्दा सङ्कलन र सामुदायिक वनको सहयोगबाट विद्यालयको व्ययभार पूर्ति गर्दै आएको छ । केही वर्ष शिक्षक तलबस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले रु १० लाखको अक्षयकोष स्थापना गरिदिएको छ ।

विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ । विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्वविद्यार्थी र शिक्षकले समेत रकम जम्मा गर्दै आएका छन् । कच्ची भवनलाई विस्थापित गरेर पक्की भवन बनेसँगै विद्यालयको स्वरुप फेरिएको छ । गाजा युवा क्लब, तत्कालीन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरेर विद्यालयमा नयाँ पक्की भवन बनेसँगै अधिकांश विद्यालयका विद्यार्थीले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालयमा अझै दुई कक्षा कच्ची र जीर्ण भवनबाट काम गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ बानियाँ बताउनुहुन्छ । विद्यालयले शिक्षण सिकाइमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ ।

लामो समय हुने बिदाको समयमा शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठनमा पुनर्ताजगी गर्ने गर्छन् । आधारभूत तहको पढाइलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उत्तीर्ण हुने विद्यार्थीलाई एक वर्ष पढेरमात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ । विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने शिक्षण सिकाइलाई जोड दिने गरिएको छ । नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेतलगायत बस्तीका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा अहिले एक सय ८५ विद्यार्थी अध्ययनरत छन् । बानियाँका श्रीमान् निजामती सेवामा हुनुहुन्छ भने छोराले इञ्जिनियरिङ र छोरीले स्टाफ नर्स उत्तीर्ण गर्नुभएको छ ।

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

गलकोट (बागलुङ), १६ मङ्सिर : सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।

गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको हो । गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्याङ्कनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिनुभयो ।

सङ्कलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गर्नुभएको थियो । महायज्ञमा सङ्कलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ ।

उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मङ्सिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा मधेश, बागमती र कोशी प्रदेशका सभामुख क्रमशः रामचन्द्र मण्डल, भुवनकुमार पाठक र अम्बरबहादुर विष्ट हुनुहुन्छ । त्यस्तै लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाण केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरी र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने पनि उक्त अध्ययन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ ।

नेपाली प्रतिनिधिमण्डलले मलेसियाका सभामुख र उपसभामुखका साथै सेलागोर प्रान्तीय संसद्का सभामुख र उपसभामुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । उपाध्यक्ष घिमिरेको नेतृत्वमा रहेको टोली यही मङ्सिर २१ गते स्वदेश फर्कनेछ ।

आठ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

कुनौली (सप्तरी), १६ मङ्सिर : मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इञ्जिनियर सञ्जीवनारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ गतेदेखिको तयारी रहेको उहाँले जानकारी गराउनुभयो । सन् २०१५ मा सुरू भएको एमपीएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन नपाएको बताउनुभयो । “दुई संस्करणमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्यो, पछि कोरोना महामारीलगायत कारणले निरन्तरता दिन सकिएन”, उहाँले भन्नुभयो ।

तेस्रो संस्करणका लागि आजदेखि एक महिनासम्म खेलाडीको नाम रजिष्ट्रेशन सुरु गरिएको प्रालिका सचिव इञ्जिनियर तीर्थ दासले बताउनुभयो । तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ ।

प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ । वीरगञ्ज र जनपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको रु ५० लाख बजेटका लागि पहल गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने

मान्म (कालीकोट), १५ मङ्सिर : उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो । तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुयो ।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उहाँले बताउनुभयो । “मङ्सिर १६ गते आइतबार बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तह उपनिर्वाचन २०८१ मङ्सिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो ।”

तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदान हुनेछ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो ।

“निर्वाचनका दिन सबैले मताधिकार पाऊन भनेर वडामा बिदा दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।”

आज स्थानीय तहको उपनिर्वाचन

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।

कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

राजविराज (सप्तरी), १५ मङ्सिर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा पर्यटकीय विकास तथा जैविक विविधता संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको पथरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको निरीक्षणपछि मुख्यमन्त्री सिंहले आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ जानकारी दिनुभयो । उहाँले आरक्षको पश्चिमी भेग (मधेश प्रदेश) मा रहेका अर्ना, दुई गैँडा, दुई हात्ती, हाँसका विभिन्न जात, लालसर, बकुल्ला, गरूड, सारसलगायत पानी चराहाँसको संरक्षणबाट आरक्ष तथा मध्यवर्ती क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने र त्यसबाट स्थानीय समुदायको जीविकोपार्जनमा मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

आरक्ष तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा विकासमा जुट्न आरक्ष कर्मचारीहरूलाई निर्देशन दिँदै कोशीटप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र निर्माण, पर्यापर्यटन विकास एवम् जीविकोपार्जन सुधार व्यवस्थापनका विषयमा प्रदेश सरकारले विभिन्न निकायसँग सहकार्य गर्ने बताउनुभयो ।

आरक्षको वन्यजन्तु उद्धार केन्द्रमा चितवन राष्ट्रिय निकुञ्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जली नामका दुईवटा एकसिङ्गे गैँडा ल्याइएको छ । गत वर्ष असोजमा ल्याइएका दुवै गैँडाका लागि उद्धार केन्द्र वरपरको तीन हेक्टर क्षेत्रफलमा चरन क्षेत्र बनाइएको बताउँदै त्रियुगा नदीको नजिकको यो ठाउँमा गैँडालाई पानी खुवाउने र आहाल खेल्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

गैँडा चरणका लागि क्षेत्रफल थप गरी घाँसेमैदान विस्तार तथा विभिन्न प्रजातिअनुसार संरचना निर्माण आवश्यक रहेको बताउँदै आरक्षमा खोरलगायत संरचात्मक कार्य भएपछि बाघ व्यवस्थापन हुनसक्ने र त्यसबाट गैँडासँगै बाघका लागि पनि टप्पु क्षेत्रमा जङ्गल सफारी आरम्भ भई त्यस क्षेत्रको पर्यापर्यटनले गति लिने मध्यवर्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको नेपालको एकमात्र वन्यजन्तु आरक्ष रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको एक सय ७५ किलोमिटर वर्गकिलोमिटरमा एक सय ७३ वर्ग किलोमिटर थप गरी मध्यवर्ती क्षेत्र घोषणा भएको थियो । मध्यवर्ती क्षेत्रमा सुनसरी र उदयपुरसँगै मधेश प्रदेशको सप्तरी जिल्लामा पनि  पर्छ । 

‘घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाइने छ’ : मुख्यमन्त्री सिंह

कुनौली (सप्तरी), १५ मङ्सिरः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताउनुभएको छ ।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–१ को ॐसृजन कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा आज उहाँले महिलालाई व्यावसायिक रूपमा घरेलु उत्पादनमा लाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री सिंहले स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापडलगायत समानहरू तयार पार्न सुझाव दिँदै त्यसलाई बजारीकरणका लागि सरकारले व्यवस्था मिलाउने आश्वासन दिनुभयो । “यहाँ प्रयोग भएको फूलको माला पनि बाहिरबाट किनेर ल्याइएको होला । अब आफैँ किन उत्पादन नगर्ने ? तपाईंहरू यहाँ पाँच, दश बिघामा फूलको खेती गर्न चाहनुहुन्छ भने सरकारले आवश्यक सहयोग गर्छ”, उहाँले भन्नुभयो । 

युवाहरू विदेशमा गएर यस्तै काम गर्ने तर देशमै नगर्नाले देशपछाडि परेको मुख्यमन्त्री सिंहको भनाइ थियो । “पढेर कोही खेती गर्छ भने यहाँ समाजले पनि फलानोको छोरा पढेर पनि केही गर्न सकेन भनेर कुरा काट्छ । यस्तो प्रवृत्ति बन्द हुनुपर्छ, कामलाई प्रोत्साहन गर्नुपर्छ अनि मात्र देश र मधेश समृद्ध हुन्छ”, उहाँले थप हौसला भर्नुभयो । 

इन्डोनेसियाबाट १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीको उद्धार

इन्डोनेसियाको तटीय क्षेत्रमा रोहिङ्ग्या शरणार्थी यात्रा गरिरहेको डुङ्गा डुबेपछि डुङ्गामा सवार १०० भन्दा बढी शरणार्थी महिला र बालबालिकाको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शनिबार जनाएको छ ।

म्यान्मारमा मुस्लिम समुदायका रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र उक्त उत्पीडन र गरिबीबाट निकाश खौज्दै हरेक वर्ष हजारौँले मलेसिया वा इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

यूएनएचसीआरका फैजल रहमानले शनिबार एएफपीसँग भन्नुभयो, “हामीलाई पूर्वी आचेह सरकारले डुङ्गामा कूल ११६ शरणार्थी रहेको रिपोर्ट प्राप्त भएको छ ।”

उहाँले भन्नुभयो, “शरणार्थीहरू अहिले पनि समुद्रको तटमा छन्, उनीहरूलाई कहाँ लैजाने भन्ने निर्णय भएको छैन।”

उत्तरपूर्वी सुमात्रा टापुको समुद्री किनारबाट केही पर रोहिङ्ग्यालाई लिएर जाँदै गरेको काठको डुङ्गा आधा डुबेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

स्थानीय माझी सैफुद्दीन ताहिरका अनुसार शनिबार बिहान पहिलो पटक डुङ्गा पूर्वी आचेहको पानीमा प्रवेश गरेको देखिएको र त्यसको केही घण्टापछि डुङ्गा डुब्न लागेको थियो ।

“सबै यात्रुहरू बाँच्न सफल भएका छन् तर तिनीहरूमध्ये एक जना बिरामी थिए र तुरुन्तै उपचार भएको छ”, सैफुद्दिनले एएफपीसँग भन्नुभयो, “डुङ्गा समुद्र तटबाट १०० मिटरको दूरीमा डुबेपछि कतिपय शरणार्थीहरू तटीय क्षेत्रको सुरक्षित स्थानसम्म आँफै गएका थिए भने कतिपयलाई स्थानीय माझीहरूले उद्धार गरेका थिए ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी चल्ने महिनाहरूमा सुस्तता देखिन्छ भने समुद्रको अवस्था शान्त हुँदा उच्च हुन्छ ।

गत महिना १५२ रोहिंग्या शरणार्थीलाई दक्षिण आचेह जिल्लाको तटमा केही दिनसम्म रोकेपछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेका थिए।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आउने रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ।

दशकँैंदेखिको रक्तपातपूर्ण द्वन्द्वको सम्झना बोकेका थुप्रै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन्।

तर कतिपयले भने रोहिंग्या समुदायले दुर्लभ स्रोत साधन उपभोग गर्ने र कहिलेकाहीं स्थानीयसँग द्वन्द्वमा पर्ने गरेको बताएका छन् ।

रोहिङ्ग्या समुदायसँगको विवादका कारण सन् २०२३ को डिसेम्बरमा सयौँ इन्डोनेसियाली विद्यार्थीले १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई अन्यत्र स्थानान्तरण गर्न आन्दोलन गर्दै आचेहको एक सामुदायिक भवनमा आक्रमण गरेका थिए।

कालीगण्डकी कोरिडोर : मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

म्याग्दी, १५ मङ्सिर : भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इञ्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दूरीमा प्राइम कोट (बिटुमिन) बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिनुभयो । तेह्र किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले बताउनुभयो । विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ । 

विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका–४ का वडाअध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । 

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो । 

राज्यको आवश्यकताअनुरूप वर्तमान सरकार : उपप्रम सिंह

गण्डकी, १५ मङ्सिर : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकताअनुसार वर्तमान सरकार गठन भएको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आज आयोजना गरेको छलफल एवं अन्तरक्रियामा नेता सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताउनुभयो ।

प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि मिलाएर राजनीतिक स्थायित्व दिन सक्छ कि भन्ने कुराले नै यो समीकरण बनेको नेता सिंहले स्पष्ट पार्नुुभयो । छोटो समयमा सरकार परिवर्तन हुँदा त्यसप्रति जनताले पनि प्रश्न उठाउन थालेको उल्लेख गर्दै उहाँले नटिक्ने सरकारले हाम्रा लागि के काम गर्छ ? टिक्ने सरकार त हुनुपर्‍यो नि भन्ने जस्ता आवाज जनस्तरबाट आउन थालेको बताउनुभयो ।

शान्ति सम्झौतालाई कांग्रेसले आँट गरेर नै अघि बढाएको प्रसङ्ग स्मरण गर्दै मन्त्री सिंहले राजनीतिक स्थायित्वका लागि नै प्रमुख ठूला दल एकताबद्ध बन्दै अघि बढेको जिकिर गर्नुभयो । साना दललाई मौका दिँदा कहिले कांग्रेसलाई त कहिले एमालेलाई खेलाएको बताउँदै उहाँले त्यसले परिणाम दिन नसकेकै कारण राजनीतिक स्थिरता र विद्यमान समस्याको समाधानका लागि अघि बढिएको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार देशका तमाम समस्याको पहिचान गरी एक एक केलाउँदै त्यसको समाधानका लागि अघि बढेको उहाँको भनाइ छ । सरकार दलहरूबीचकै समझदारीअनुसार अघि बढ्ने र सातबुँदे समझदारीअनुसार सरकार गठन भएको कुरा बहालवाला प्रधानमन्त्रीले स्वयंले भन्दै आउनुभएको भन्दै उहाँले सरकार त्यसअनुरूप नै अघि बढ्ने धारणा राख्नुभयो ।

कांग्रेसको कुनै नेता तथा कार्यकर्तामाथि प्रश्न उठ्यो भने पार्टीकै कार्यकर्ता वास्तविक कुरा नबुझी हल्लाको पछि लाग्ने गरेको बताउँदै उपप्रधानमन्त्री सिंहले कोही माथि प्रश्न उठ्छ भने विधिको शासनअनुसार कानुनबमोजिम छानबिन भई दोषी भए कारबाही हुने उहाँले बताउनुभयो । कांग्रेसकै पार्टीका नेता भ्रष्टाचारको मुद्दामा जेल गएर अहिले राजनीतिमा नै नरहेका उदाहरण रहेको उहाँले बताउनुभयो ।

पार्टीभित्र पार्टीको नियमअनुसार बस्नुपर्ने उल्लेख गर्दै मन्त्री सिंहले हामीले कांग्रेसको चरित्रअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीले गाउँ, पालिका, क्षेत्र र केन्द्रमा बस्नेले तत्तत् ठाउँका विवाद मिलाएर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीमा राम्रो व्यवस्थापन गरेर लैजान नसकेको अवस्थामा झन् बिग्रेर जाने बताउनुभयो ।

नेपालको अहिलेको आर्थिक अवस्था कमजोर भएको भन्दै नेता सिंहले ऋण दियो भन्दैमा जति दियो भने पनि लिने पछि देखाजायगा भनेर बस्नु नहुुने बताउनुभयो । कांग्रेस एमाले मिलेर बनेको सरकार भएका कारण प्रधानमन्त्री चीन जाँदा बिआरआईको कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्नु अगाडि केकेमा संशोधन गर्नुपर्छ भन्नेमा साझा अवधारणा बनाइएको उहाँले बताउनुभयो । विकास निर्माणका आयोजनाहरू, जनताका तहमा आदानप्रदानका कुराहरूलगायत साझा कुराहरू तयार गरेका चीनमा पठाइएको बताउँदै उहाँले त्यहाँको पनि के प्रतिक्रिया आउँछ त्यसअनुरूप हुने उल्लेख गर्नुभयो । 

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी आफ्नो स्थापनाकालीन आदर्शलाई आत्मसात् गर्दै अघि बढेमा कसैसँग झुक्नु नपर्ने धारणा राख्नुभयो । 

शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १५ मङ्सिरः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ । शुक्रबार राति हृदयघातका कारण निधन हुनुभएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्घको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

स्व ज्ञवालीलाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।

दुई कार्यकाल सङ्घको नेतृत्व गर्नुभएका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति निधन भएको हो । गुल्मी स्थायी घर हुनुभएका ज्ञवालीले कास्कीमा शिक्षक रहँदा नै शिक्षक सङ्घमा आबद्ध भई विसं २०५३ देखि २०५७ सम्म जिल्ला अध्यक्ष हुनुभएको थियो । यस्तै, विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेस गुल्मीको महाधिवेशन प्रतिनिधिसमेत हुनुभएको थियो । पूर्वअध्यक्ष ज्ञवालीको निधनमा नेपाल शिक्षक सङ्घले गहिरो दुःख व्यक्त गरेको छ । सङ्घको आज बसेको आकस्मिक बैठकले ज्ञवालीको निधनले नेपालको शिक्षक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।

बैठकले सङ्घका सम्पूर्ण निकाय सङ्घ, प्रदेश र स्थानीय तहमा १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र तीन दिनसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट, चीन भ्रमणबारे छलफल

काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।

यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

एनपिएल : पहिलो खेल जित्दा खुसी लाग्यो – कप्तान साह

काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताउनुभयो । उहाँले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताउनुभयो । 

त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । 

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट

कीर्तिपुर (काठमाडौँ), १५ मङ्सिर : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ ।

दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पु¥याएको थियो । 

क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । 

मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्‍यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । 

यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताउनुभयो । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको भनाइ उहाँको थियो । 

“भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उहाँको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौँ, १५ मङ्सिरः त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताउनुभयो ।

शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

स्व रेग्मीको योगदानलाई पार्टीले सम्मान गर्छ : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), १५ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वर्गीय मतिकुमारी रेग्मीले मुलुकमा लोकतन्त्रको स्थापनाका लागि पु¥याएको योगदानको पार्टीले सम्मान गर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ निवासी रेग्मीको निधन भएको आज १०औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिमा उहाँले स्वर्गीय रेग्मी र उहाँका परिवारले मुलुकका लागि पु¥याएको योगदानलाई भुल्न नमिल्ने बताउनुभयो ।

मन्त्री पौडेलले आगामी दिनमा पनि रेग्मी परिवार कुनै पनि सङ्कटका बेलामा लोकतन्त्रका पक्षमा सतिसालझै दृढ उभिने विश्वास व्यक्त गर्नुभयो । मुलुक तथा पार्टीका लागि उहाँको परिवारले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै स्वर्गीय रेग्मीले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो ।

शोकसभामा नेपाली काग्रेस जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, शुक्लागण्डकी नगरसमिति सभापति गोपी गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।

‘प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’ : उपसभापति वाग्ले

दमौली (तनहुँ), १५ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताउनुभयो ।

नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए  ऋण नै लिए पनि फरक पर्दैन । ३०÷४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ”, उहाँले भन्नुभयो,“केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”

उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पार्नुभयो ।

मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्क अनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन् ।तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरूलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो ।

यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरूबाट हिंडिरहेको देख्न सकिन्थ्यो ।

म्यानमामा माछा मार्ने डुंगाका ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु

थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व्यक्तिको मृत्यु भएको नौसेना कमाण्डरले जानकारी दिनुभयो ।

दक्षिणी प्रान्त रानोङका नौसेना कमाण्डर सुवात डोन्साकुलले भन्नुभयो,“एक थाई माछा मार्ने व्यक्ति डुबेको र ३१ जनालाई म्यानमा लगिएको छ । उनीहरूलाई कसले हिरासतमा राखेको छ भनी बताएको छैन ।”

शनिबार घटना भएको बेला म्यानमाको जलक्षेत्रमा धेरै थाई माछा मार्ने डुङ्गा चलिरहेको सुवतले बताउनुभयो ।
“मृतकले आक्रमणको क्रममा पानीमा हाम फाले,” उहाँले थप्नुभयो ।

सुवतले स्थानीय अधिकारीहरूलाई म्यानमाका समकक्षहरूसँग वार्ता गर्न निर्देशन दिएको बताउनुभयो ।थाइल्यान्डको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो,“उनीहरुको रिहाई सुरक्षित गर्न म्यानमा पक्षसँग पनि वार्ता हुनेछ ।”
थाइल्याण्डको माछापालन विभागको वेबसाइटमा रहेको सूचना अनुसार थाई माछा मार्ने डुङ्गाहरू अवैध रूपमा म्यान्माको पानीमा चलिरहेका छन् । यसले दुई देशबीच तनाव बढाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते

काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् ।

आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वर बस्ने २५ वर्षका जयन श्रेष्ठ, धादिङ खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेश बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा काम गर्ने प्रहरी दानबहादुर राउत घाइते भएका छन् ।

यस्तै गुल्मीको कालिगण्डकी घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई हाल काठमाडौँको सितापाइला ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम मुसिकोट घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँको अहिले बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउनुपर्छ’

बारा, १५ मङ्सिरः मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले भारतको अयोध्यामा दिनहँु अढाई लाखसम्म दर्शनार्थीहरू रामलालको दर्शन गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै गढीमाईमा पनि तिनै तहको सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेशका धार्मिकस्थलको अनिवार्य दर्शन गर्ने गरी माहोल मिलाउन लाग्नुपर्ने धारणा राख्नुभयो । “मधेश प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ । जनकपुरधामस्थित माता सीताको पुण्य भूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुप¥यो”, मन्त्री लेखीले भन्नुभयो ।

मेलामा शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाउन, जोखिम क्षेत्रको पहिचान गरेर त्यसैअनुसार सतर्कता अपनाउन, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका लागि कटिबद्ध भएर लाग्न उहाँले सुरक्षा प्रमुखहरूलाई आग्रह गर्नुभयो । गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेलाको तयारीका बारेमा जानकारी दिँदै भरपुर सुरक्षाको माग गर्नुभएको थियो ।

बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिल्सिना र मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि अर्चायलगायत बारा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

डोल्पा, १५ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँका एखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले डोल्पावासी आमनागरिकका हरेक आवश्यकता पूरा गर्नका लागि नेपाल सरकार सधैँ तत्पर र कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले डोल्पाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध छ, खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ ।”

आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले डोल्पावासी आम नागरिकहरूको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका काममा राम्रो उपलब्धि सम्भव भएको बताउनुभयो ।

यसैगरी, मन्त्री यादवले आजै डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ ।”

मन्त्री यादवले खानेपानी तथा सरसफाइ योजना तथा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानीका लागि थप सुदृढ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस आयोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाइको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु ।” डोल्पा जिल्लामा निर्माण गरिएका खानेपानीका आयोजना निर्माण सम्पन्न कार्यलाई सफल पार्न एवं सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरू, स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियनप्रति मन्त्री यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो । 

उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको थियो ।

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौँ, १५ मङ्सिरः भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।

आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।

मानव बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार

राँझा . बाँके – मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष ०८०÷८१ मा जोखिममा रहेका दुई सय ९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

उक्त संस्थाले नेपालगञ्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।

त्यसमध्ये पाँच जनालाई भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दुई सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइएको र ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयाजक निर्मल सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका नौ हजार आठ सय ९६ महिला तथा बालबालिकालाई परामर्श दिएको छ । यो अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखन अभियोगमा तीनवटा मुद्दा दर्ता गरेको छ ।

“बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखन विरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले दलालले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने गरेको छ”, सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ, सबैभन्दा बढी जोखिममा १८ देखि २५ वर्ष उमेर समूह रहेको तथ्यले देखाएको छ ।”

शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्दार संयोजक भूमि भट्टराईले मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निरुत्साहित पार्न ग्रामीण नाकामासमेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा शतबीज छर्दै भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्न आएका भक्तजनको घुइँचो । तस्बिर ः हरिराम भेटुवाल

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्दै भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृको सम्झनामा आज बत्ती बाल्न आएका भक्तजन।

साम्प्रदायिक झडपपछि शान्तिका लागि बङ्गलादेशी राजनीतिज्ञहरूको आह्वान

बङ्गलादेशका प्रमुख राजनीतिक दलहरूले हिन्दू प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा एक वकिल मारिएपछि व्यापक अशान्तिका बीच शान्तिको आह्वान गरेका छन् ।

एउटा र्‍यालीका क्रममा बङ्गलादेशी झण्डाको अनादर गरेको आरोपमा पक्राउ परेका हिन्दू आध्यात्मिक गुरु चिन्मय कृष्ण दास ब्रह्मचारीका आक्रोशित समर्थकहरूले उहाँलाई जमानत नदिइएपछि प्रहरीसँग भएको झडपमा सार्वजनिक अभियोजक सैफुल इस्लाम अलिफको मङ्गलबार मृत्यु भएको थियो ।

धार्मिक सम्बन्धहरू १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा अस्थिर भएका छन् । यहाँ विद्यार्थी नेतृत्वको क्रान्तिले अगस्टमा स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी छिमेकी भारतमा पलायन गर्न बाध्य बनाएको थियो ।

हसिनाको १५ वर्षको कार्यकालका दुई मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र जमात–ए–इस्लामीले संयम अपनाउन आग्रह गरेका छन् ।

प्रथम आलो दैनिकले शुक्रबार बिएनपी महासचिव मिर्जा फखरूल इस्लाम आलमगिरलाई उद्धृत गर्दै हसिनाको अवामी लिगको सन्दर्भमा पछिल्लो भड्काउको पछाडि ‘पराजित फासीवादी समूह’ रहेको बताएको थियो ।

“यो घटना पूर्णतः अनुचित छ”, उहाँले अखबारलाई भन्नुभयो, “हामी यसको कडा निन्दा गर्दछौँ र सबैलाई परिस्थितिलाई शान्तपूर्वक हेर्न आग्रह गर्दछौँ ।”

जमातका शफिकुर रहमानले निरन्तर अशान्तिको दोष ‘देशलाई अस्थिर पार्ने षड्यन्त्रकारी निहित समूह’ माथि लगाउनुभयो ।

यद्यपि इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सेसनेस (इस्कोन) माथि प्रतिबन्ध लगाउने मागका लागि सडकमा विरोध प्रदर्शनको आह्वान गरिएको छ । हरे कृष्ण आन्दोलनका रूपमा पनि चिनिने इस्कोन अन्तर्राष्ट्रिय हिन्दू धार्मिक समूह हो र यसमा दास कथित रूपमा संलग्न हुनुहुन्थ्यो ।

इस्लामिक शिक्षालयहरूको सामूहिक हेफाजत–ए–इस्लामले शुक्रबार इस्कोनमाथि प्रतिबन्धको माग गर्दै र्‍याली आयोजना गरेको थियो । उसले इस्कोनलाई भारतका तर्फबाट हसिनालाई सत्तामा फिर्ता गर्ने मोर्चा हो भनेर आरोप लगाएको थियो ।

“बङ्गलादेशमा साम्प्रदायिक दङ्गा भड्काउन सावधानीपूर्वक योजना बनाइएको छ तथा भारत र शेख हसिनाको तर्फबाट यसलाई कार्यान्वयन गर्न इस्कोन यहाँ छ”, हेफाजत–ए–इस्लामका मामुनुल हकले र्‍यालीमा समर्थकहरूलाई भन्नुभयो ।

– राष्ट्रिय झण्डा अपवित्र गर्ने –

बिहीबार पूर्वी भारतीय सहर कोलकातामा प्रदर्शनकारीहरूले बङ्गलादेशमा हिन्दूहरू विरुद्धको कथित अत्याचार र दासको गिरफ्तारीको विरोधमा बङ्गलादेशी वाणिज्य दूतावास बाहिरका अवरोधहरू तोड्ने प्रयास गरेका थिए ।

हिन्दू नेताको बिना शर्त रिहाइको माग पेस गर्न प्रदर्शनकारीका प्रतिनिधिहरूलाई भवनभित्र प्रवेश गर्न अनुमति दिइएको थियो ।

बङ्गलादेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोलकातामा प्रदर्शनकारीहरूले देशको राष्ट्रिय झण्डा जलाएको र अन्तरिम नेताको पुतला जलाएको बताएको छ ।

“हिन्दू समूह बोङ्गियो हिन्दू जागरणले राष्ट्रिय झण्डा अपवित्र गरेको र मुख्य सल्लाहकार मुहम्मद युनुसको पुतला जलाएको निन्दनीय कार्यको सरकार कडा निन्दा गर्दछ”, सरकारले विज्ञप्तिमा भनेको छ ।

हसिनाले यस हप्ताको सुरुमा दासलाई हिरासतबाट ‘तत्काल रिहाइ’ गर्न माग गर्नुभएको थियो र उहाँको गिरफ्तारीलाई ‘अवैध’ बताउनुभएको थियो ।उहाँले पनि वकिलको हत्याको निन्दा गर्दै यसलाई ‘मानव अधिकारको स्पष्ट उल्लङ्घन’ भन्नुभयो ।

भारतले दासको पक्राउ र जमानत अस्वीकारलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ । तर इस्कोनले दाससँग कुनै पनि सम्बन्ध अस्वीकार गर्दछ ।

“इस्कोनको अनुशासन उल्लङ्घन गरेको आरोपमा चिन्मयविरुद्ध मुद्दा दर्ता हुनुभन्दा धेरैअघि नै हामीले उहाँलाई निष्कासन गर्यौं”, समूहका बङ्गलादेशका अध्यक्ष सत्य रञ्जन बराईले शुक्रबार भन्नुभयो, “उहाँलाई आफ्नो कर्तव्यबाट मुक्त गरियो तर उहाँले आदेशको अवहेलना गर्नुभयो र आफ्ना गतिविधिहरू जारी राख्नुभयो ।”

बङ्गलादेशको सर्वोच्च अदालतले बिहीबार इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरेको निवेदनलाई खारेज गरेको छ । “मुसलमान, हिन्दू, बौद्ध, ईसाई… सह–अस्तित्वमा विश्वास गर्छन्, र यो सामञ्जस्य भाँच्न दिइने छैन”, अदालतले फैसला सुनायो ।

सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन

जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले शुक्रबार बताएको छ ।

अन्तरसरकारी सङ्गठनका अनुसार विश्वव्यापी उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने २९ देशमा उत्पादन २२ करोड ७० लाखदेखि २३ करोड ५० लाख हेक्टरसम्म पुग्ने अनुमान गरिएको छ ।

मध्यम स्तरको २३ करोड १० लाख हेक्टोलिटर उत्पादनले सन् २०२३ को तुलनामा दुई प्रतिशत र पछिल्लो १० वर्षको औसतभन्दा १३ प्रतिशत कमी देखाएको छ ।

“दुवै गोलार्धमा जलवायुजन्य चुनौतीहरू पुनः विश्व उत्पादन मात्रा घटाउने प्रमुख योगदानकर्ता हुन्”, ओआइभीले एक प्रतिवेदनमा भनेको छ, “प्रारम्भिक अनुमानहरूले जलवायु परिवर्तनका कारण युरोपेली सङ्घ (इयु) वाइन क्षेत्रहरूमा जलवायु अवरोधहरूको जटिल परिदृश्य प्रकट गर्दछ ।”

ओआइभीका अनुसार सन् २०२३ जस्तै चरम वा असामान्य मौसमी घटनाहरूले विश्व उत्पादनमा मुख्य प्रभाव पार्छन् तथा प्रारम्भिक चिसो, भारी वर्षा र लामो सुक्खा अवधिले अङ्गुरको उत्पादकत्वलाई नाटकीय रूपमा प्रभावित पार्छ ।

गत वर्षको सबैभन्दा ठुलो उत्पादक फ्रान्सको उत्पादन २३ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । यो यस क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो ।

इटालीले गएको वर्षको कम उत्पादनबाट थोरै सुधार गरी फ्रान्सलाई पछाडि पार्दै पुनः शीर्ष स्थान फेरि प्राप्त गरेको छ ।

“क्षेत्रहरूको एउटा सानो समूह–विशेष गरी संयुक्त राज्य अमेरिका र हङ्गेरी, जर्जिया र मोल्दोभासहित धेरै पूर्वी युरोपेली देशहरूले–अधिक अनुकूल जलवायु परिस्थितिहरू भोगे र औसत वा औसतभन्दा बढी उत्पादन मात्रा हासिल गरे”, ओआइभीले भनेको छ ।

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

त्रिशूली (नुवाकोट), १५ मङ्सिरः यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर (प्रसूति गृह)मा सुत्केरी गराउने र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गराइ घटना दर्ता अभियानसँग आबद्ध गरिएको छ ।

उक्त मापदण्डभित्रका सुत्केरीलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी घरदैलोमा वा नजिकैको स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

गर्भवती र सुत्केरी समयमा पोषणसहितको सरसफाइको सावधानी एवम् सचेतना जगाउनसमेत पोषण प्याकेज लिएर घरघरमा जान थालेको स्वास्थ्य शाखा प्रमुख रामराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी हुने अवस्थामा हुनसक्ने जोखिम न्यूनिकरण, नियमति गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पु¥याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको हो ।

“गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराइ बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा उनीहरुको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिने छ ।”

उक्त प्याकेजमा घ्यू, नरिवल, छोगडा, बदाम, दाल, गुद, ठूलो औषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री समावेश गरेर सुत्केरी भेट्न जनप्रतिनिधि र कर्मचारी घरमै वा नजिक पर्ने स्वास्थ्य संस्थामा जान सुरु गरिएको नगरपालिकाले नजाएको छ । यस अभियान वार्षिक दुई पटक मङ्सिर र जेठमा राखिएको हुँदा गर्भवती र सुत्केरीले जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमसमेत मिलाइएको छ ।

पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीसहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल एवम् सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरुको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रुपमा पनि नगरले लिएको छ ।

‘दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउँछौँ’ – मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्चवर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउने बताउनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना २०८१÷०८२–०८५÷०८६ सम्बन्धी विज्ञहरूसँगको अन्तरक्रियामा उहाँले नीति प्रधान हुने गरी काम गर्दा सबैका लागि मान्य हुने बताउनुभयो । “यो प्रदेश सरकारको दस्ताबेज हो, यसले परियोजना होइन, नीति बोकेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “त्यसैले आज विज्ञबाट प्राप्त सुझाव समावेश गरी प्रदेश सरकारले कार्यान्वयनमा लैजानेछ ।”

मुख्यमन्त्री कँडेलले सरकार बदलिए पनि कर्णाली प्रदेशको चालु नीति, कार्यक्रम र बजेट निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतदेखि कर्णालीका योजना किनबेचको व्यापार गर्ने प्रवृत्तिलाई पूर्णरुपले अन्त्य गरी पारदर्शी र विधिसङ्गत हुने गरी आगामी वर्षको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण हुनेसमेत प्रष्ट पार्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामाजिक न्याय, समृद्धि र सुशासन कायम गर्न उहाँले खर्च गर्ने क्षमता बढाउनुका साथै प्रदेशको आन्तरिक आम्दानी बढाउन जरूरी रहेको धारणा राख्नुभयो । मन्त्री शाहले हाल प्रदेशको आम्दानी रु ५४ करोड मात्रै रहेकाले राजस्व वृद्धिका लागि स्रोतको पहिचान गर्ने काम भइहेको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारुप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषय, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक मामिला सचिव रविलाल पन्थले दोस्रो पञ्चवर्षीय योजनामा कर्णाली विकासका लागि परियोजना बैंकको अवधारणासहित सरकार अगाडि बढेको जनाउनुभयो ।

उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका प्रा डा चन्द्रप्रसाद रिजालले लैङ्गिक समानता, सामाजिक समावेशिता, अपाङ्गतामैत्री र सङ्घीयताको अभ्यासलाई सघाउने योजना निर्माण गर्न सुझाउनुभयो । विश्वविद्यालयका पूर्वउपकुलपति सहप्राध्यापक कालीप्रसाद पाण्डेले कर्णालीको विकास र समृद्धि हामी आफँैले गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयकै प्राडा नारायणप्रसाद पौडेल, दीपबहादुर रावल, उपप्राध्यापक डा विष्णुकुमार खड्का, कल्पना पौडेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चन्द्रा भारती, नागरिक अगुवा पीताम्बर ढकाललगायतले सुझाव दिएका थिए ।

बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति

म्याग्दी (बेनी), १५ मङ्सिरः म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो ।

ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छे« हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतिको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो ।

यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि रु एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । “निर्माण व्यवसायी कार्य क्षेत्रमा परिचालन भइसकेको छ, धमाधम सडक स्तरोन्नति गरे अहिले आएको बजेटले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ”, उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ ।

करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आवश्यक मात्रामा निर्माण सामग्री र मेसिन उपकरण परिचालन गरेको र निर्माण कार्यलाई द्रुत गतिमा निर्धारित समयअगावै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नति हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीयस्तरमा सहजीकरण गर्न स्थानीयवासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् ।

सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गासम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा निगरानी बढाइएको बताउनुभयो । “जिल्ला सदरमुकामसँग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतिको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ । गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी

काठमाडौँ, १५ मङसिर : नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना एनपिएल मार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरु नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले नया ढङ्गले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको उद्गार महत्त्वपूर्ण छन् ।

प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्ने धारणा राख्नुभएको थियो । एनपिएलबाट लुकेर बसेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एनपिएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुङ्गा बन्ने उहाँको बुझाइ छ । यसले नेपाली खेलाडीका लागी व्यावसायिक ढोका समेत खोलेको छ ।

सरकारले एनपिएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरुसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपिएलमा साझेदार रहेका सरकारी तथा नीजि क्षेत्र उत्साहित छन् । एनपिएलमा नीजि क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । अगामी दिनमा पनि उनीहरु क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् ।

क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपिएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपिएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरुलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरु गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ । एनपिएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपिएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरुले रु ६० लाख पाउने निश्चित भएको छ । एनपिएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्ने छ । एनपिएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

एनपिएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्ने छ । एनपिएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्ने छ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपिएलको सफल आयोजनाले नेपाली भूमि अरु देशका झैँ ठुल्ठुला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्ने छ । अरु देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।

एनपिएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनुभएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चितरुपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जाने छ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपिएलको ट्रफीमा राखिनुले अझ खास महत्त्व राख्ने छ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्ने छ ।

एनपिएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरुसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउने छन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्ने छ । यसपटक एनपिएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपिएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ ।

एनपिएलले विश्वका अरु देशका ठूला ठूला लिग प्रतियोगिता खेल्ने अवसर सृजना गर्ने छ । एनपिएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तिका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आइपिएलपछिको दोस्रो ठूलो लिगका रुपमा एनपिएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ ।

सरकारी तथा नीजि क्षेत्रले पहिलोपटक नेपाली खेलकुदमा यतिधेरै लगानी गरेको छ । राज्यले नेपालको खेलकुदमा पर्याप्त लगानी गर्न सकेको छैन । एनपिएलका माध्यमबाट सरकारी तथा नीजि क्षेत्रको यतिधेरै ध्यान पहिलो पटक गएको छ । खासमा क्रिकेट खेलाडी मात्र होइन, सारा नेपाली खेलाडी घरको लगानीको भरमा खेलमा समर्पित भएको अवस्था छ । घरपरिवारको साथले मात्र उनीहरु विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसका लागि उनीहरुलाई सरकारी तथा नीजि क्षेत्रको पर्याप्त साथको आवश्यकता छ । खेलकुद स्वयम् खेलाडी र उनीहरुका अभिभावकका भरमा छाड्ने हो भने केवल सहभागितामा मात्र सीमित बन्ने छ ।

केही वर्षअघिसम्म नेपालका खेलकुद प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न असम्भव जस्तै थियो । यसका लागि प्रतियोगिता स्थल सम्मै पुग्नुबाहेक अन्य विकल्प थिएन । नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपिएल प्रत्यक्षरुपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्टस्’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा पहिलोपटक आजदेखि सुरु हुनगइरहेको नेपाल प्रिमियर लिग भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कै ढाँचामा सुरु हुन लागेको छ । एनपिएल नेपाली क्रिकेटका लागि चुनौती र अवसर दुवै हो । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपिएलभने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपिएलले विशेष महत्त्व राखेको छ । खेलाडी आर्थिक रुपमा पनि बलिया भएका छन् । उनीहरु कम्तीमा रु दुई लाखदेखि बढीमा रु २० लाखसम्ममा अनुबन्धित भएका छन् ।

फ्रेन्चाइज टोलीले रु सात करोडदेखि रु नौ करोडसम्म खर्च गरेका छन् । टोलीका मालिकहरूले यसलाई नेपाली क्रिकेट विकासको सुरुआती लगानीका रूपमा लिएका छन् । उनीहरुले आगामी दिनमा समेत लगानीलाई निरन्तरता दिने सोच बनाएका छन् । क्यानले यसपटकको एनपिएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपिएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।

विदेशी खेलाडी अनुबन्धले एनपिएललाई अझ खास बनाएको छ । उनीहरुको सहभागिताले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै एनपिएलले ठूलो उचाइ लिने विश्वास गरिएको छ । एसोसिएट देशमा गरिएको यो लिगलाई विश्वभर विशेष रुपमा हेरिएको छ । केही एसोसिएट देशले यस्ता लिगहरु आयोजना गर्दै आए पनि सफल हुन सकिरहेका छैनन् । यस्तोमा नेपालको एनपिएल पनि चुनौतीपूर्ण बनेको छ । एनपिएलले आगामी दिनमा गति लिनेमा क्यान अध्यक्ष चन्द विश्वस्त हुनुहुन्छ । एनपिएलमा सबै प्रदेशको प्रतिनिधित्वले अझ धेरै महत्व राखेको छ ।

एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आवद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।