`

टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित

नेपालगञ्ज (बाँके), १४ मङ्सिर : सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् ।

द्वन्द्वपीडित राप्तीसोनारी–८ का देवबहादुर डिसी भन्नुहुन्छ – संसद्बाट पारित भएको विधेयकबारे पर्याप्त जानकारी छैन, पास भयो भन्ने मात्र खबर पाएको छु । द्वन्द्वकालमा गम्भीर अपराधमा संलग्नलाई कारबाही भएपछि मात्र राहत, पुनःस्थापना र परिपूरणको व्यवस्था गर्न आग्रह गर्दै उहाँले द्वन्द्वकालमा आफ्ना सहोदर दाजु छविलाललाई स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अभिभावक नहुँदाको भिन्दै पीडा छ, त्यसमाथि शारीरिक र मानसिक पीडाले थलापर्नुपरेको छ ।”

यातना, हत्या, यौनजन्य अपराधका घटनालगायत गम्भीर अपराधमा संलग्नलाई दण्डित गरेर मात्र परिपूरण हुनुपर्नेमा जोड दिँदै डिसीले भन्नुभयो, “म त घाइते र अपाङ्गता भएको व्यक्ति हुँ, राति सपनामा पनि अझै झस्किरहेको छु ।” उहाँले दोषीमाथि कारबाही हुँदा द्वन्द्वपीडितलाई न्याय हुने भन्दै पीडितलाई जीविकोपार्जन गर्न पनि धौधौ भएको उल्लेख गर्नुभयो । मलिन अनुहार लगाउँदै उहाँ भन्नुहुन्छ, “जसलाई वास्तविक पीडा परेको छ, उसलाई नै सबै कुरा थाहा हुन्छ, कहिलेकाहीँ त बेस्सरी रून मन लाग्छ ।”

आफ्नो शरीरको ढाड र खुट्टामा समस्या भएको र श्रवणशक्ति पनि कमजोर भएकाले उपकरणको सहारामा सुन्नुपरेको भन्दै डिसीले शान्ति प्रक्रियाको काम अझै टुङ्गो नलाग्नु दुखद् भएको औँल्याउनुभयो । उहाँका दाजु अहिलेसम्म बेपत्ता हुनुहुन्छ ।

डिसीले स्थानीय तहमा थोरै बजेटमा केही स्थानीय कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी हुन नसेकेको टिप्पणी गर्दै पीडितलाई मनोपरामर्शलगायत कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले पटकपटक गरेर रु १० लाख अन्तरिम राहत पनि लिएको उल्लेख गर्दै अहिले  नियमित औषधि खान पनि कठिनाइ हुने गरेको बताउनुभयो ।  “मरेर गएका अब फर्कँदैनन्, हामी पीडितका समस्या ज्यूँका त्यूँ छन्, बाँच्नेले झनै पीडा खेपेका छौँ”, द्वन्द्वपीडित सञ्जाल बाँकेका अध्यक्षुसमेत रहनुभएका डिसीले भन्नुभयो, “अब बितेका कुरा फर्केर आउँदैनन्, बाँचेकाहरूले न्याय पाउनुपर्छ, स्थानीय सरकारले तथ्याङ्क सङ्कलन गरी पीडितलाई परिपूरणको व्यवस्था गरिदिनुपर्छ, सम्बन्धित सबै सरोकारवालाले सहजीकरणको भूमिका निर्वाह गरिदिनुपर्‍यो ।”

विधेयकको सजायमा ७५ प्रतिशतसम्म छुट दिइने, पीडितको सहमतिमा क्षमादान दिन सकिने र परिपूरणलाई अधिकारका रूपमा परिभाषित गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक २०७१ हालै संसद्बाट संशोधन भई पारित भएको थियो ।

कोहलपुर–११ की ७० वर्षीया वृद्धा चन्द्रकला अधिकारीले छोरा बेपत्ता पारिएको २२÷२३ वर्ष पुगिसक्दा पनि न्याय नपाउँदा अब न्याय पाउने आशा हराइसकेको बताउनुभयो । टिआरसीबारे जानकारी नहुँदा उहाँलाई न्याय पाइन्छ भन्ने आशा नभएको हो । “मेरो छोरालाई बेपत्ता बनाइएको धेरै वर्ष पुगिसक्यो, अब न्याय पाउँछु भन्ने आशा त मरिसक्यो, यत्रो वर्षसम्म पनि बेपत्ताको केही अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो, “आशा गर्दागर्दै मर्ने बेला पनि हुन लाग्यो, अब त एक प्रतिशतमात्र झिनो आशा छ ।”

राप्तीसोनारी गाउँपालिकाका द्वन्द्वपीडित घाइते, अपाङ्गता रामरतन थारूले निर्मम तरिकाबाट विभिन्न यातना पाएर बाँचेको जीवन औषधोपचार नपाएर झन् पीडा बोक्नुपरेको सुनाउनुभयो । “हामी निम्न वर्गका मान्छे, द्वन्द्वकालमा निर्मम तरिकाले यातना दिइयो, शरीर कुँजो भयो, दुईवटै खुट्टा भाँच्चिएको छ, वैशाखीको सहाराले अलिअलि हिँडडुल गर्न मिल्छ”, उहाँले भन्नुभयो, “मेरो बुबालाई पनि मारियो, मलाई यातना दिएर मर्यो भनेर फालियो, औषधोपचार गर्न पैसा छैन, कम्तीमा पनि निःशुल्क औषधिको व्यवस्था गरिदिए पनि हाम्रो ठूलो राहत हुनेथियो ।”

जुनसुकै सरकारी कार्यालयमा काम गराउँदा द्वन्द्वपीडितलाई प्राथमिकता दिन आग्रह गर्दै थारूले कर छुटको व्यवस्था र सरकारी तथा निजी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो । थारूले भन्नुभयो, “उच्च शिक्षासम्म हाम्रा छोराछोरीलाई निःशुल्क पढाइको व्यवस्था गरिदिनुपर्‍यो, क्षतिपूर्तिसहित अन्तरिम राहतको व्यवस्था हुनुपर्यो र कुनै पेसा व्यवसाय गर्न इच्छुक द्वन्द्वपीडितलाई बिनाधितो ऋणको व्यवस्था गर्नुपर्छ ।”

कोहलपुरकै ८० वर्षीया भूमीसरा थापाले रातिको समयमा सुतिरहेका छोराबुहारीलाई लगेर बेपत्ता बनाएर मारेको भन्दै जसले मारेको हो उनीहरूलाई पनि त्यस्तै कारबाही हुनुपर्ने बताउनुभयो । “हामी कुनै पक्षमा थिएनौँ, राति घरमा सुतिरहेका छोराबुहारीलाई लगेर बेपत्ता बनाएर मारे, लाश पनि बेपत्ता बनाए”, थापाले भन्नुभयो, “यो उमेरमा न्याय पाउँछु कि भनेर हिँड्नुपरेको छ, मेरा छोराबुहारीलाई जस्तै उनीहरूलाई पनि कारबाही भएको देख्न पाए मन शान्त हुने थियो ।”

“हाम्रो सरकारसँग ठूलो कुनै माग छैन, हाम्रा अङ्गभङ्ग भएका शरीरलाई मल्हम लगाउन कम्तीमा पनि निःशुल्क औषधि गरिदिए पुग्छ, मासिक रु आठ–नौ हजारको औषधि खानुपर्छ, औषधिबिना उठ्न सक्दिनँ, एक जना सहयोगी अनिवार्य चाहिन्छ, मर्ने त मरेर गए”, अर्का द्वन्द्वपीडित कलि परियारले भन्नुभयो, “यो दुःख भोग्नुभन्दा बरू उतिबेलै मरेको भए आनन्द हुन्थ्यो होला, घरमा कमाउने कोही छैनन्, स्थानीय सरकारसँग गयो सहयोग पाइँदैन, बाँच्नका लागि कम्तीमा औषधि निःशुल्क र घरको एक जनालाई रोजगारीको व्यवस्था गरिदिए बाँकी जीवन बाँच्न सहज हुने थियो ।”

द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी केन्द्रीय अध्यक्ष उषा दाहालले सरकारले अझै पनि द्वन्द्वपीडितको पहिचान नगरेको बताउनुभयो । टिआरसीमा उल्लेख भएका विषयमा पीडितलाई जानकारी उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । “घरको आँगनमै स्थानीय सरकार छ, तर हामीलाई चिन्दैन, सरकारले हामीलाई कुनै पहिचान दिएन, न्यायको त अझै के पो आशा गर्नु !”, उहाँले भन्नुभयो ।

एडभोकेसी फोरम लुम्बिनीका संयोजक वसन्त गौतमले गम्भीर अपराधमा संलग्न दोषीलाई छुट दिन नहुने पीडितको भनाइ रहेको औँल्याउँदै आयोगमा निष्पक्ष र सक्षम व्यक्तिको छनोट हुनुपर्ने बताउनुभयो । नगरिक अभियन्ता प्रकाश उपाध्यायले आयोगको काम सत्य पत्ता लगाउने र पीडितलाई परिपूरणको प्रबन्ध गर्ने भएको उल्लेख गर्दै अन्तरिम राहत क्षतिपूर्तिमा रूपान्तरण भए त्यसले पीडितलाई अन्याय हुने बताउनुभयो । उहाँले अनुसन्धान कसरी अघि बढ्छ र पीडितलाई विधेयकका बारेमा जानकारी दिन आवश्यक भएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म ६५ जना द्वन्द्वपीडितले जीवन निर्वाह भत्ता लिएका छन् । जिल्लामा एक सय २२ जना अपाङ्ता भएका द्वन्द्वपीडितले राहत लिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या दुई सय ८४, बेपत्ता ६२ र १४ अङ्भङ्ग भएका छन् । 

राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा

काठमाडौँ, १४ मङ्सिर : नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुनसकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका छवटा राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नुपर्ने माग र दबाब भए पनि अनेकन उल्झन देखापरेको छ ।

पूर्वतयारी नगरी सुरू गरिएका त्यस्ता आयोजनामा निर्माण सामग्रीको अभाव, स्रोत तथा साधनको कम उपलब्धता, रूख कटान प्रक्रियामा लामो समय लाग्ने गरेको छ । विनियोजन भएको बजेट अपुग भएको, राष्ट्रिय निकुञ्जमा सडक तथा पुल निर्माणमा समस्या रहेको स्वयं मन्त्रालयकै विश्लेषण छ । 

कुल २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना, हुलाकी लोकमार्ग आयोजना, उत्तर–दक्षिण कोशी करिडर लोकमार्ग आयोजना, उत्तर–दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजना, उत्तर–दक्षिण कर्णाली करिडर लोकमार्ग आयोजना, पूर्वपश्चिम विद्युतीय रेलमार्ग आयोजना छन् । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो कार्यकालमा मध्यपहाड हुँदै सहज यातायाता सञ्चालन गर्ने लक्ष्यका साथ यो आयोजना अगाडि बढाउनुभएको थियो । आव २०८४/८५ सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत रू ३३ अर्ब ३६ करोड बराबर रहे पनि संशोधित लागत रू ८४ अर्ब ३३ करोड पुगेको छ ।

आयोजनाअन्तर्गत एक हजार आठ सय ७९ किलोमिटर सडक र एक सय ३७ वटा पुल निर्माण हुनेछ । सो आयोजनाको भौतिक प्रगति ७७ दशमलव ३२, वित्तीय प्रगति ८२ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । हालसम्म एक हजार चार सय ५२ किलोमिटर सडक कालोपत्र र एक सय छवटा पुल निर्माण सम्पन्न भएको छ । 

सो आयोजनामा रूख कटान प्रक्रियामा लामो समय लागेको छ । गोरखा, नुवाकोट तथा लमजुङ जिल्लामा रेखाङ्कनलगायत समस्या परेको छ । मुआब्जा तथा क्षतिपूर्ति कार्यमा विवाद छभने सडक सीमा यकिन हुनसकेको छैन । उच्च प्राथमिकतामा आयोजनाको छिटोछरितो वातावरणीय प्रभाव मूल्याङ्कनलगायत विषयमा कानुनी व्यवस्था गर्नुपर्ने, सडक सीमा तोक्नुपर्ने, जग्गाको मुआब्जा वितरणमा थप सहजीकरण गर्नुपर्ने र विकास कर लगाउनुपर्ने सुझाव प्राप्त भएका छन् । 

तराई–मधेश हुलाकी लोकमार्ग आयोजना आव २०६६/६७ देखि सुरू भएको हो । आव २०८३/८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरूआती लागत रू ४७ अर्ब  २४ करोड रहेकामा हाल संशोधित लागत रू एक खर्ब एक अर्ब ६३ करोड बराबर पुगेको छ । एक हजार आठ सय ५७ किलोमिटर सडक तथा दुई सय ५० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ६६ दशमलव ९१ प्रतिशत र वित्तीय प्रगति भने ६२ दशमलव ६९ प्रतिशत बराबर छ । हालसम्म कालोपत्र सडक एक हजार दुई सय ५९ किलोमिटर सडक र पुल/कल्भर्ट एक सय ४२ वटा निर्माण सम्पन्न भएको छ । 

सो आयोजनामा बजेटको अभाव छ । यस्तै, निकुञ्जहरूमा सडक तथा पुल निर्माणमा समस्या छ । दुम्कीबास–त्रिवेणी खण्डमा विवाद रहेको छ । उत्तर–दक्षिण कोशी करिडर लोकमार्ग आयोजना आव २०६५/६६ मा सुरू भएको हो । आव २०८५/८६ सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरू लागत रू ११ अर्ब ९३ करोड बराबर थियो । 

हाल संशोधित लागत रू १६ अर्ब २० करोड बराबर छ । एक सय ६२ किलोमिटर सडक निर्माण/कालोपत्र र २३ वटा पुल निर्माण गर्नुपर्नेछ । हालसम्म भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति ३५ दशमलव ८६ प्रतिशत पुगेको छ । नेपाली सेनामार्फत एक सय ५९ किलोमिटर ट्रयाक खोल्ने कार्य पूरा भएको छ ।  हालसम्म आयोजनामा ७४ किलोमिटर सडक ग्राभेल गरिएको छभने १० वटा पुल निर्माण सम्पन्न भएको छ । 

उत्तर–दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजनाको पहिलो खण्ड ( गैँडाकोट–राम्दी–मालढुङ्गा सडक) आव २०६६/६७ मा सुरू भएको हो । आव २०८३/८४ सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत रू २० अर्ब बराबर रहेकामा संशोधित लागत रू २५ अर्ब बराबर पुगेको छ । 

कुल दुई सय ९३ किलोमिटर सडक कालोपत्रस्तरमा निर्माण/स्तरोन्नति गर्ने लक्ष्यका साथ सुरू भएको सो आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशतबराबर छ । हालसम्म एक सय ९१ किलोमिटर कालोपत्र र ३४ वटा पुल निर्माण सम्पन्न भएको छ भने सातवटा पुल निर्माणाधीन छ ।

यस्तै, उत्तर–दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजनाको दोस्रो खण्ड (बेनी–जोमसोम कोरला सडक) आव २०७३/७४ मा सुरू भएको हो । आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सुरूआती लागत रू १० अर्ब बराबर रहेकामा हाल संशोधित लागत रू १५ अर्ब बराबर पुगेको छ । 

दुई सय दुई किलोमिटर सडक कालोपत्रस्तरमा निर्माण/स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा हालसम्म  भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत बराबर छ । मन्त्रालयका अनुसार हालसम्म कालोपत्र सडक ६१ दशमलव पाँच किलोमिटर, ग्राभेल एक सय २७ किलोमिटर र १० वटा पुल निर्माण सम्पन्न भएको छ । 

उत्तर–दक्षिण कर्णाली करिडर लोकमार्ग आयोजना पनि राष्ट्रिय गौरवमा समावेश छ । आव २०६५/६६ मा सुरू भएको सो आयोजनाको सम्पन्न गर्नुपर्ने मिति  यकिन भइसकेको छैन । कुल लागत रू १२ अर्ब रहेको छ । एक सय २३ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति तीन प्रतिशत र वित्तीय प्रगति दुई दशमलव सात प्रतिशत बराबर छ । सो सडकखण्डको खुलालुबाट सलिसल्लासम्म एक सय २३ किलोमिटर नेपाली सेनाबाट ट्रयाक खुलेको छ ।

त्यस्तै उत्तर–दक्षिण कर्णाली करिडर लोकमार्ग आयोजना हिल्सा–सिमीकोट सडक आव २०६९/७० सुरू भएको हो । आव २०८३/८४ सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत रू चार अर्ब १० करोड ५० लाख ३० हजारबराबर रहेकामा संशोधित लागत रू १५ अर्ब (कालोपत्र स्तरोन्नतिसमेत) पुगेको छ । कुल एक सय ४६ किमी सडक निर्माण/स्तरोन्नति गर्ने १० वटा पुल निर्माण लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ३१ प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ५७ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार एक सय ४५ दशमलव दुई किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । त्यसमा ११ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाबाट भएको हो । यस्तै १५ दशमलव पाँच किलोमिटर ग्राभेल तथा दुईवटा पुल निर्माण सम्पन्न भएको छ । 

तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै यही मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिनुभयो ।

कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ प्रशासनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहायका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।”

“कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ प्रशासनका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्वपशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणलगायत पशुपति क्षेत्रको सबै भू–भागमा माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने जानकारी गराइएको छ ।

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

वालिङ (स्याङ्जा), १४ मङ्सिरः यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।

उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ । 

विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको हो । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गर्नुभएको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ । “बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो । 

कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले  व्यवसाय सञ्चालनमा सहज भएको उहाँ बताउनुहुन्छ । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँ राष्ट्रपतिबाट पुरस्कृत पनि हुनुभएको थियो ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १४ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

भोलिदेखि सुरु हुँदै एनपीएलः विश्वका खेलाडी नेपालमा

गण्डकी, १४ मङ्सिर : स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”

सापकोटाझैँ हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने जनाइएको छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । “नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ”, उनले भने, “क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।”

क्रिकेटप्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । टिमका विदेशी खेलाडी, म्याच कमेन्टेटरहरू अधिकांश नेपालका रहेको प्रवक्ता लामाले जानकारी दिए । टिमहरूको अभ्यासलगायतका कामसमेत अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी रहने जनाइएको छ ।

एनपिएल गर्भनिङ काउन्सिलले गरेको उक्त निर्णयानुसार कतिपय टोलीका विदेशी खेलाडी नेपाल आइपुगेका छन्भने कति आउने चरणमा रहेको क्यानले जनाएको छ । स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको बताए ।

उनले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेटलाई अघि बढाउन एनपिएलले महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । आफूहरूले व्यावसायिक क्रिकेटको विकास गर्दै क्रिकेटलाई उद्योगका रूपमा विकास गर्न लगानी गरेको अध्यक्ष त्रिपाठीले बताए । चार विदेशी खेलाडी टोलीले अनुबन्ध गरेको र एनपिएलका लागि आफ्नो टोलीले रू १० करोड लगानी गर्ने त्रिपाठीले जानकारी दिए ।

उनले भने, “हामी व्यावसायिक क्रिकेट खेलको विकास होस् भन्ने चाहन्छौँ, नाफा वा घाटाको विषय होइन यो, कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ, हामी क्रिकेट विकासका लागि आएका हौँ, त्यस मार्गमा अग्रसर हुन चाहन्छौँ ।”, पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहनेछ ।

उक्त टिममा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरूङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्ड्स), म्याट क्रिचली (इङल्याण्ड), रेमन राइफर (वेस्टइन्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदीप आर्याल (आइकोनिक) खेलाडी रहनेछन् । पोखरा एभेन्जर्सले राजीव कुमारलाई प्रशिक्षक बनाएको छ ।

जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी तथा ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहेका छन् ।

विराटनगर किङ्ग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरूङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहेका छन्भने प्रशिक्षक केभिन ओ ब्राइन रहेका छन् ।

लुम्बिनी लायन्समा नेपालका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेका छन् । उनका साथै सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अष्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ल्याण्ड), रेमन सिमन्ड्स (वेस्टइन्डिज), शादबिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक) छन् । प्रशिक्षक नन्दन फाडनिस रहेका छन् ।

चितवन राइनोजमा कुशल मल्ल मार्की खेलाडी रहेका छन् । रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रटैला, दीपक बोहरा, रञ्जीतकुमार, गौतम केसी, रवि बोपारा (इङ्ल्याण्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), (चोटले अनुपस्थित हुने) हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इङ्ल्याण्ड), सलाहुद्दिन खान (आइकोनिक) खेलाडी तथा उमेश पटवाल प्रशिक्षक रहेका छन् ।

करण केसीको कप्तानीमा रहेको टिम काठमाडौँमा शाहब आलम, भीम सार्की, रसिद खान, शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इङ्ल्याण्ड), स्टेफन इस्किनाजी (इङ्ल्याण्ड), ड्यान डौथवेट (इङ्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक) रहेका छन् । वसन्त शाही काठमाडौँको प्रशिक्षक छन् ।

दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनाष बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक) खेलाडी रहेका छन् ।

कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी रहेका छन् । गुलशनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रमसिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक) तथा ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेका छन् ।

वाग्मतीमा मेलम्चीको पानी छाड्न मन्त्री यादवको निर्देशन

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी वाग्मती नदीमा छाड्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

केन्द्रबाट नदीमा नियमित रूपमा पानी प्रवाह गरेर पवित्र वाग्मती नदी सफा राख्ने कार्यमा लाग्न मन्त्री यादवले  निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सुन्दरीजलको प्रशोधन केन्द्रको पानी दैनिक रूपमा वाग्मती नदीमा छाड्नु होला, मेलम्चीको पानीले वाग्मती नदी पनि सफा हुनुपर्छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी प्रवाहमा सहयोग गर्न केन्द्रको पानी वाग्मतीमा छाडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजदेखि हामीले करिब चार करोड लिटर पानी वाग्मतीमा छाडेका छौँ ।”

काठमाडौँ उपत्यकामा जनसङ्ख्याको आधारलाई मध्यनजर राख्दै सकभर दैनिक, नभएको खण्डमा एक दिन बिराएर भए पनि मेलम्चीको शुद्ध पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिनुभएको थियो ।

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बाला चतुर्दशीका दिन आराध्यदेव भगवान् पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्नेगरी मेलम्चीको पानीको व्यवस्था मिलाउन भन्नुभएको छ ।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले शुक्रबार बाला चतुर्दशी पर्वका अवसरमा कैलाश क्षेत्रमा मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

काठमाडौँ, १४ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ ।

पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडो मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जाँै, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरू अन्न होइन भन्नुहुन्छ । 

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो । 

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसैबखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसैबेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसैबखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । 

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिन नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल प्रहरीका चार जना एसपीको एसएसपीमा बढुवा, को-को परे ?

काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका प्रहरी उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

बढुवा हुनेमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगञ्जमा कार्यरत डा केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा पवनकुमार राय, नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा सुवर्ण कुँवर रहेका बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

स्थानीय तह उपचुनावको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौँ, १४ मङ्सिर : स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।

मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।

यस्तै, निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउनसमेत आयोगले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्याल जानकारी दिनुभयो ।

निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?

काठमाडौँ, १४ मङ्सिर : बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक्ला भन्ने प्रश्न उठेको छ । विगतका कोपहरूमा भएका सहमति कार्यान्वयन गर्न धनी तथा विकसित मुलुकले आनाकानी गरिरहेका बेलामा कोप–२९ मा भएको कार्बन व्यापारसम्बन्धी सहमति पनि कार्यन्वयन नहुने हो कि भन्ने आशंका रहेको हो ।

बाकुमा सम्पन्न २९औँ कोपमा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिप्रति नेपाल भने उत्साहित देखिएको छ । उक्त सहमतिले बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने कार्बन व्यापारलाई अघि बढाउने बाटो खुलेको भन्दै कोपमा उपस्थित भएका नेपाल प्रतिनिधिहरूले सकारात्मक टिप्पणी गरेका छन् । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल कार्बन व्यापारमा जाने अन्तिम तयारीमा रहेका बेला कोपमा भएको सहमतिले कार्बन बजार सुनिश्चित हुने भन्दै यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । “जलवायु वित्त एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर पुर्‍याउनुपर्छ भन्ने हाम्रो माग रहेकामा अहिले तीन सय विलियन अमेरिकी डलर मात्र बढाउन सहमति भएको छ, तर कोपको दस्तावेजमा राखिएकाले आगामी दिनमा हामी निर्णयमा पार्न दबाब दिइरहने छौँ, यीलगायत कतिपय हाम्रा एजेण्डामा सहमति जुट्न सकेन”, उहाँले भन्नुभयो, “तर कार्बन व्यापारसम्बन्धी हाम्रो एजेण्डामा सहमति जुट्नु निकै ठूलो उपलब्धि रह्यो ।”

मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले नेपाल कार्बन व्यापारमा जाने तयारी गरे पनि कार्बनको बजार अनिश्चित रहेका बेलामा कोपमा भएको सहमतिले कार्बनको बजार सुनिश्चित हुने बताउनुभयो । “हामी कार्बन व्यापारमा जाने त तयारी गरिरहेका छौँ, कार्बन खरिदबिक्रीका सहमति पनि भयो । तर अर्को पक्षले कार्बन किन्छु भनेर किनेन भने त हाम्रो बजार सुनिश्चित भएन नि”, उहाँले भन्नुभयो, “कोप–२९ को कार्बन व्यापारसम्बन्धी सम्झौताले अब पेरिस सम्झौतामा टेकेर अगाडि बढ्न पाइन्छ, यी नेपालको हितमा गरिएको महत्त्वपूर्ण निर्णय हो ।”

ढुङ्गानाले कोप–२९ मा नेपालले स्वीडेनसँग कार्बन व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो । “कोपमा भएको स्म्झौताले नेपालले कार्बन उत्सर्जन कटौती गरेर कार्बन सञ्चिती बढाएबापत स्वीडेनले कार्बन खरिद गर्ने भन्ने सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “उक्त सम्झौतमा ऊर्जा क्षेत्रमा कार्बन उत्सर्जन कटौती गर्न डिजेल–पेट्रोलको खपत घटाउने, खाना पकाउने इन्धनको रूपमा बढी प्रयोग हुने दाउरा घटाउने र विभिन्न उद्योगमा प्रयोग गरिने कोइलाको प्रयोग कम गर्ने तथा विद्युतीय सवारीको प्रवर्द्धनमार्फत वायुमण्डीलय सतहमा बढ्दै गइरहेको कार्बनडाइअक्साइडको दर कम गरी कार्बन न्यूनीकरण गरेबापत अब स्वीडेनसँग पैसा लिन सकिन्छ ।” नेपालले यसअघि विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरिसकेको छ । 

रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले पनि नेपाल कार्बन व्यापारमा जान पूर्वतयारीसहित अगाडि बढेको सन्दर्भमा कोपमा पेरिस सम्झौताको धारा ६ मा भएका व्यवस्था कार्यान्वयन गरिने सहमतिले कार्बनको बजार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । “कम कार्बन उत्सर्जनलाई उत्कृष्ट वनवित्त भनेर एउटा ‘लिफ कोलिजन’ संयन्त्र पनि बनेको छ । यस कोलिजनअन्तर्गत अमेरिका, बेलायत, नर्वे, साउथ कोरिया र २६ वटा प्राइभेट सङ्घसंस्था रहेका छन् । यसमा युनिरेभर, नेस्ले, बर्बेली, डैलटाजस्ता ठूला कम्पनीको कोलिजन बनेका छन् । यिनीहरूले इमरजेन्ट भन्ने नाफारहित संस्था बनाएका छन्”, उहाँले भन्नुभयो, “त्यो संस्थासँग नेपाल सरकार र अर्थ मन्त्रालयबीच सन् २०२१ मा भएको आशयपत्र (एलओआई) अनुसार नेपालको तीनवटा प्रदेश गण्डकी, बागमती र लुम्बिनीको ३० मिलियन टन कार्बन उनीहरूलाई बेच्ने भन्ने सहमति भएको छ । अबचाहिँ सम्झौता गर्ने तयारीमा छौँ ।”

निर्णय कार्यान्वयन हुँदा नेपालका लागि फाइदा

जलवायुविद् राजु पण्डित क्षेत्रीले कोप–२९ मा कार्बन व्यापारसम्बन्धी भएको निर्णय कार्यान्वयन भएमा कार्बन सञ्चितीबाट प्राप्ति गर्ने भुक्तानी सुनिश्चित हुने तथा कार्बन न्यूनीकरणका लागि थप प्रोत्साहन मिल्ने र नेपालका लागि फाइदा हुने दाबी गर्नुभयो । 

“पेरिस सम्झौताको धारा ६ कार्बन न्यूनीकरण गर्ने प्रक्रिया हो । विकसित देशले कार्बन उत्सर्जन घटाउनुपर्ने दायित्व रहेको र कम विकसित मुलुकले कार्बन उत्सर्जन कटौती गरेबापत विकसित मुलुकलाई दिने आर्थिक प्रोत्साहन नै कार्बन व्यापार हो”, उहाँले भन्नुभयो, “कार्बन व्यापारको बजार सुनिश्चित हुनसके नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लक्ष्य कार्यान्वयन गर्न सहज हुनेछ ।”

क्षेत्रीले कोपमा निर्णय हुनेबित्तिकै रकम आइहाल्ने व्यवस्था नभएकाले कार्बन व्यापारबाट बढीभन्दा बढी फाइदा लिन अब हामीले घरभित्र नै तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । “नेपालले विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरेको छ, सही क्षेत्रको कार्बन दोहोर्‍याएर अर्को पक्षलाई बिक्री गर्न मिल्दैन । यसबाहेक कार्बन व्यापारका क्षेत्रहरूको राम्रोसँग पहिचान गर्न जरूरी छ । जस्तै नविकरणीय ऊर्जाका क्षेत्र, वनजङ्गलबाट सञ्चिती हुने कार्बनलगायत क्षेत्रहरू छन्”, उहाँले भन्नुभयो, “कुनकुन ठाउँ कार्बन व्यापारको राम्रो सम्भावना रहेको क्षेत्र हो भनेर पहिचान हुनु जरूरी छ ।”

कार्बन बजारको प्रगति

युएनएफसिसिसीको सचिवालयले पेरिस सम्झौताको धारा ६ मा भएको कार्बन व्यापारसम्बन्धी सहमतिले विश्वबजारमा कार्बनको बजार सुनिश्चिता हुने भन्दै यो निकै उपलब्धिमूलक निर्णय भएको प्रतिक्रिया दिएको छ । सचिवालयका अनुसार पछिल्लो दुई हप्ताको महत्त्वपूर्ण उपलब्धि भनेको कार्बन बजारको प्रगतिमा भएको छलाङ हो । करिब एक दशक लामो प्रयासपश्चात् कोपमा उपस्थित विभिन्न मुलुकले पेरिस सम्झौताअन्तर्गत कार्बन बजार कसरी सञ्चालन हुने भन्ने अन्तिम संरचनामा सहमति जनाएका छन् । यसले देशदेखि–देश व्यापार र कार्बन क्रेडिटिङ संयन्त्र पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । 

कोपपछि युएनएफसिसिसीले आफ्नो आधिकारिक वेबसाइड (युएनएफसिसिसी डट आइएनटी) मार्फत भनेको छ, “कोप–२९ बाट भएको निर्णयले कार्बन क्रेडिटको व्यापारलाई देशहरूले कसरी स्वीकृति दिने र यसको ट्रयाक राख्न रजिस्ट्रिहरू कसरी सञ्चालन हुने भन्ने विषयमा स्पष्टता दिएको छ । यसले पारदर्शी प्रक्रियामार्फत प्राविधिक समीक्षा गरी वातावरणीय अखण्डता सुनिश्चित गर्ने विश्वास प्रदान गरेको छ ।”

पेरिस सम्झौताकै धारा ६ को (४) मा केन्द्रित कार्बन बजारसम्बन्धी विषयमा पनि कोपमा सहमति जनाइएको छ । कोप–२९ को पहिलो दिन, देशहरूले संयुक्त राष्ट्रसङ्घअन्तर्गत केन्द्रित कार्बन बजारको मापदण्डमा सहमति गरेको थिए । “यो विकासशील देशका लागि खुसीको खबर हो, यसले नयाँ वित्तीय प्रवाहमा फाइदा पुर्‍याउनेछ र कम विकसित देशहरू (एलडिसी) लाई यो अझ फाइदाजनक छ, यस बजारमा प्रवेश पाउन आवश्यक क्षमता निर्माण सहयोग प्राप्त गर्नेछन्”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

विज्ञान र कार्बन बजार

धारा ६.४ अन्तर्गत संयुक्त राष्ट्रसङ्घीय कार्बन बजारलाई विज्ञानसँग समाहित गर्न निर्देशन दिएको छ । यसले बजारलाई सञ्चालनमा ल्याउने निकायलाई वैज्ञानिक प्रमाणको उपयोग गर्न निर्देशन दिएको हो । “कार्बन बजारमा गरिएको काम बाकुमा मात्र सीमित हुँदैन । नयाँ कार्बन क्रेडिटिङ संयन्त्र स्थापना गर्ने पर्यवेक्षण निकायले २०२५ को लामो कार्यसूची प्राप्त गरेको छ र यसलाई सदस्य राष्ट्रहरूलाई जवाफदेही बनाइनेछ”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ । 

यसैगरी पारदर्शी जलवायु रिपोर्टिङमा उल्लेखनीय प्रगति भएको र जलवायु नीतिहरूलाई सशक्त बनाउन बलियो प्रमाण तयार गर्ने विश्वास लिइएको छ । जसले वित्तीय आवश्यकता तथा अवसर पहिचान गर्न सहयोग गर्ने अपेक्षा छ । युएनफसिसिसीका अनुसार हालसम्म १३ पक्षहरूले पहिलो द्विवार्षिक पारदर्शिता रिपोर्ट (बिटीआर) प्रस्तुत गरिसकेका छन् । जुन सबै पक्षहरूले वर्षको अन्त्यसम्म प्रस्तुत गर्नुपर्ने हुन्छ । 

बेलायतको इन्टरनेशनल फरेस्ट युनिटले ‘युएनएफसिसिसी’ को ‘रेडप्लस’ कार्यक्रममा चार वर्षका लागि तीन मिलियन बेलायत पाउण्ड स्ट्रलिङको प्रतिबद्धता जनाएको छ । यस सहयोगले वन संरक्षणका गतिविधिलाई बलियो बनाउनेछ र सन् २०३० सम्म वनविनाश रोक्न तथा उल्ट्याउन ग्लोबल स्टकटेकको उद्देश्यसँग मेल खाने पारदर्शिता र कार्यान्वयनलाई प्रवर्द्धन गर्ने विश्वास छ । यसअनुसार राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धीका पक्षधर देशले आफ्नो जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धताको मूल्याङ्कन र समीक्षा गर्छन् । यो प्रक्रिया पेरिस समझौताका भागको रूपमा लागू गरिएको हो र प्रत्येक पाँच वर्षमा गरिन्छ । 

के हो कार्बन व्यापार ? 

वायुमण्डलमा कार्बनसाइडलगायत ग्यासको उत्सर्जन बढी हुन गई जलवायु परिवर्तन भएको हो भन्ने तथ्य प्रमाणित भएको छ । राम्रो व्यवस्थापन गर्दा वनजङ्गलले कार्बनडाइअक्साइडलाई सोसेर जलवायु परिवर्तनको प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ । तर अर्कोतर्फ वनको विनाश र क्षयीकरण भएमा त्यसबाट कार्बनडाइअक्साइड उत्सर्जन भई थप जलावायु परिवर्तन हुन जान्छ । 

यस पृष्ठभूमिमा वन विनाश र वनको क्षयीकरण रोकी वनको दिगो व्यवस्थापन, वृक्षरोपण आदि गरी वन क्षेत्रबाट, फोहरमैलाको उचित व्यवस्थापनबाट तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका गतिविधिबाट हरितगृह उत्सर्जन ग्यास कटौतीमार्फत कार्बन सञ्चिति बढाउने र सोबापत अन्तर्राष्ट्रिय भुक्तानी दाबी गर्ने कार्यक्रम कार्बन व्यापार हो । अर्थात् कार्बन उत्सर्जन कटौती गरेबापत आर्थिक प्रोत्सहनस्वरूप अन्तर्राष्ट्रियस्तरबाट उपलब्ध गराउने भुक्तानी नै कार्बन व्यापार हो । 

कार्बन खरिदको संयन्त्र 

वन कार्बन खरिद बिक्रीका विभिन्न प्रक्रिया छन्, जसलाई बाध्यकारी बजार र ऐच्छिक बजार भनिन्छ । हाल विश्व बैंकअन्तर्गतको कार्बन फण्डमार्फत कार्बन बिक्री गर्ने एवं देशको वनक्षेत्रको कार्बन वा उत्सर्जन आधार तयार गरी संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रारूप महासन्धिमा पेश हुँदै आएको छ । 

पछिल्लो समय कार्बन सञ्चिति बढेको भने हरित जलवायु कोषमा रेडप्लसको प्रस्ताव पेश गरी भुक्तानीको दाबी गर्ने र द्विपक्षीय एवं बहुपक्षीय कार्बन व्यापार गरिँदै आएको छ ।

शिभाली फेरि च्याम्पियन

काठमाडौँ, १३ मङ्सिरः नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट टुको गल्र्स एकलतर्फ आज पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् ।

नेपाल टेनिस सङ्घ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ करिन सइजनलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।

त्यस्तै ब्वाइज सिंगल्समा न्यूजील्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट–१ का विजेता अभि अग्रवाललाई ६–२ र ६–० को सोझो सेटमा हराए । अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्याललाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ । उक्त सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजले आफ्नो पहिलो खेल यही मङ्सिर १७ गते काठमाडौँ गुर्खाजसँग खेल्दै छ । उक्त खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । पहिलो खेलको लागि चितवन मेडिकल कलेजदेखि काठमाडौँका लागि बिहान तीन बजे बस प्रस्थान गर्नेछ ।

एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ, १३ मङ्सिरः एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ ।

“क्रिकेटले सबैलाई एकताबद्ध बनाउछ, यस पहलमार्फत हामी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ”, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भन्नुभयो ।

फाउण्डेसनले उपलब्ध गराउने शैक्षिक सामग्री क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा प्रदान गरिनेछ । क्यानले एनपीएलका लागि एनसेलसँग यसअघि नै साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।

अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध पारित

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।

विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।

ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् ।

विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।

केन्द्र–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गर्नुभएको छ र अस्ट्रेलियाका अभिभावकहरूलाई यसबाट टाढा रहन आह्वान गर्नुभएको छ ।

मतदानअघि उहाँले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबावको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन शिकारीहरूको उपकरण’ का रूपमा चित्रण गर्नुभयो ।

– म एउटा बाटो खोज्छु –

तर १२ वर्षीय एङ्गस लिडोम जस्ता युवा अस्ट्रेलियालीहरू प्रभावित छैनन् ।

“म यसको प्रयोग जारी राख्न चाहन्छु र घरमा सबै मेरा साथीहरूसँग कुरा गर्न सक्ने अनौठो महसुस हुनेछ”, उनले भने ।

धेरैले यसको वरपरका तरिकाहरू खोज्ने प्रयास गर्ने सम्भावना छ । “म एउटा उपाय फेला पार्नेछु र मेरा सबै साथीहरूले पनि”, लाइडोमले भने ।

त्यस्तै ११ वर्षीया एल्सी अर्किन्स्थलले विशेष गरी बेकिङ वा कलाको ट्युटोरियल हेर्न चाहने बालबालिकाहरूका लागि सामाजिक सञ्जालको अझै महत्त्व रहेको बताइन् ।

“बालबालिका र किशोरकिशोरीहरूले ती प्रविधिहरू अन्वेषण गर्न सक्षम हुनुपर्छ किनभने तपाईंले ती सबै कुराहरू पुस्तकहरूबाट सिक्न सक्नुहुन्न”, उनले भनिन् ।

कागजमा यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो ।

तर हालको विधेयकले नियमहरू कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गर्दैन । त्यसैले यसले विशेषज्ञहरूमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानून हो भन्ने चिन्ता जगाएको छ ।

नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।

ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइनेछ । यिनीहरूलाई किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अन्य कारणका लागि प्रयोग गर्न आवश्यक पर्दछ ।

सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणको माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधनहरू प्रस्तुत गरिएको थियो ।

– अस्ट्रेलियाले नेतृत्व गर्छ –

सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बच्चाहरूलाई उनीहरूले अनलाइन हेरेका कुराहरूबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउने डिजिटल साक्षरता कार्यक्रमहरू फिनल्यान्डमा प्रयोग गरिएको मोडेल जस्तै अपनाउनु पर्ने बताउनुभयो ।

अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गर्नेछन् र धेरैले समान प्रतिबन्धहरू लागू गर्ने विचार गर्नेछन् ।

स्पेनदेखि फ्लोरिडासम्मका कानूनवेत्ताहरूले युवा किशोरहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धहरू प्रस्ताव गरेका छन् तर अहिलेसम्म कुनै पनि उपायहरू लागू भएका छैनन् ।

चीनले सन् २०२१ देखि किशोरहरूको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेटभन्दा बढी बिताउन अनुमति छैन ।

चीनमा बालबालिकाहरूको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ ।

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको छ ।यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए ।

सरकारले कम्तीमा पाँच सुरक्षाकर्मी मारिएको बताएको छ भने खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले सुरक्षाकर्मीद्वारा कम्तीमा १० जनाको गोली हानी हत्या गरेको आरोप लगाएको छ । सरकारका मन्त्रीहरूले ती आरोपहरू अस्वीकार गरेका छन् ।

लोकप्रिय युट्युब च्यानलका साथ टिभी च्यानल नियो न्युजका प्रस्तुतकर्ता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पिआइएमएस (पिम्स) अस्पतालमा मृत्यु सङ्ख्याको पुष्टि गर्न खोज्दा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

“उनीहरूले मृत्युको कूल सङ्ख्या पत्ता लगाउने प्रयास गरिरहेका थिए”, उनीहरूका वकिल इमान मजारीले भन्नुभयो, “उनीहरूले आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्दै थिए ।” उहाँका अनुसार अर्का पत्रकारलाई छोडिएको छ तर जान अझै हिरासतमा हुनुहुन्छ ।

इस्लामाबाद प्रहरीले जानमाथि लागु औषध सेवन र एक अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । “ड्युटीमा रहेका एक प्रहरी कर्मचारी हत्याको प्रयास गरेको आरोपमा आतङ्कवाद विरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

मजारीले जानलाई बिहीबार दिउँसो इस्लामाबादको आतङ्ककारी विरोधी अदालतमा पेश गरिएको र दुई दिनका लागि हिरासतमा राखिएको बताउनुभयो ।“यसको कारण तपाईँ सबैलाई थाहा छ, म शवहरूको काममा संलग्न थिएँ”, जानले अदालतमा प्रवेश गर्दा पत्रकारहरूलाई भन्नुभयो ।

असहमति खारेज गर्न व्यापक आतङ्कवाद विरोधी कानून प्रयोग गरेकामा अधिकार पर्यवेक्षकहरूले पछिल्ला पाकिस्तान सरकारहरूको आलोचना गरेका छन् ।पाकिस्तान मानवअधिकार आयोगले जानको ‘तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ । “पत्रकारहरूलाई चुप लगाउने यो अधिनायकवादी रणनीति बन्द हुनुपर्छ”, सङ्गठनले सामाजिक सञ्जाल साइट एक्समा एक विज्ञप्तिमा भनेको छ ।

जानको पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानलाई आलोचना गर्ने इतिहास छ । यसलाई विश्लेषकहरूले मुलुकका नागरिक नेताहरूको उदय र पतन प्रभावित पार्ने बताउँछन् ।सन् २०२० मा खानको चार वर्षको कार्यकालको बीचमा उहाँलाई सैनिक पोशाकधारीहरूले केही समयका लागि हिरासतमा पनि राखेका थिए ।

पत्रकार संरक्षण समितिको एसिया कार्यालयले ‘अधिकारीहरूले जानको सुरक्षा र तत्काल रिहाइ सुनिश्चित गर्नुपर्दछ’ भनेको छ ।इस्लामावादमा तीन दिनसम्म चलेको अशान्तिका क्रममा एक हजारभन्दा बढी पदयात्रा गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले भिडमा ‘गैरकानूनी र अत्यधिक बल प्रयोग’ गरेको बताएको छ ।तर सूचनामन्त्री अत्ताउल्लाह तरारले बुधबार पत्रकारहरूलाई भन्नुभयो, “मानिसहरूको मृत्यु भएको भन्दै झूट बोलिरहेका छन् ।”

प्रदर्शनकारीहरूको मुख्य माग खानको रिहाइ थियो । उहाँ सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ र फेब्रुअरीको चुनावमा उहाँको पुनरागमन रोक्नका लागि लगातार कानूनी मुद्दाहरूमा फस्नुभएको छ ।

पिटिआईले चुनावमा अन्य कुनै पार्टीभन्दा बढी सीट जितेको थियो तर सैन्य प्रतिष्ठानसँग नजिक मानिने पार्टीहरूको गठबन्धनद्वारा सत्ताबाट बाहिर गरिएको थियो ।पार्टीले मतदानमा धाँधली भएको आरोप लगाउँदै नियमित विरोध प्रदर्शन गरेको छ तर यो हप्ता मतदानपछि राजधानीमा सबैभन्दा ठूलो प्रदर्शन भयो ।

पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो

पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ ।युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ । स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान गरेको बताएका छन् ।

पहाडी जिल्ला बुलम्बुलीमा बुधबार राति भारी वर्षा भएपछि भूस्खलन भएको हो । यहाँँ भूस्खलन सामान्य छ । यस जिल्ला राजधानी कम्पालाबाट करिब २८०किलोमिटर पूर्वमा पर्दछ ।

यस क्षेत्रका एका पत्रकारले एसोसिएटेड प्रेसलाई स्थानीय अधिकारीहरूले उद्धार प्रयासमा सहयोग गर्न उत्खनन ल्याउने बताएका छन् तर सडकहरू पहिरोले ढाकिएका छन् र अझै पनि वर्षा भइरहेको छ ।

प्रभावित क्षेत्र करिब ५० एकडको छ । त्यहाँ घरहरू र कृषियोग्य जमिनहरू डाँडामा फैलिएका छन् ।

पीडितहरूको खोजीमा माटो खन्ने मानिसहरूको फोटो र भिडियोहरू सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गरिएको थियो । केही घरहरू पहिरोले ढाकिएका थिए भने अरूमा जमिन माथि मात्र छाना देखाइएको थियो ।

डेली मोनिटर अखबारले अहिलेसम्म बरामद भएका अधिकांश शवहरू बालबालिकाहरूको भएको जनाएको छ प्रधानमन्त्री कार्यालयले बुधबार विपद् चेतावनी जारी गर्दै देशभर भारी वर्षाले प्रमुख सडकहरू अवरुद्ध भएको बताएको छ ।

बुधबार नाइल नदीमा एक उद्धार अभियानका क्रममा दुई उद्धार नौकाहरू पल्टिए । त्यहाँ पाकवाच पुल डुबेको थियो ।

मनोचिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन नेपालगञ्जमा

नेपालगञ्ज, १३ मङ्सिर : नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १०औँ राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले उद्घाटन गर्नुभयो ।

सचिव पोखरेलले मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाएको बताउनुभयो । मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वयात्मक ढङ्गले काम गर्न जरुरी भएकामा उहाँले जोड दिँदै पुनःस्थापना गृहलाई सुधार गर्न आवश्यक भएको बताउनुभयो ।

नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा राजीव शाक्यले लागुपदार्थलाई कानुनले प्रतिबन्ध लगाएपछि सेवनकर्ता यसबाट टाढा हुन्छ भन्ने पुरातन सोच भएको उल्लेख गर्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्बन गर्नुपर्ने बताउनुभयो । लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असर तथा यसको उपचारका विभिन्न विधाबारे जानकारी दिन सम्मेलनबाट सहयोग पुग्ने अध्यक्ष शाक्यको भनाइ थियो ।

मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिनुभयो । उहाँले लागुपदार्थ दुव्र्यसनलाई मानसिक स्वाथ्यको रुपमा हेर्ने तथा यसको वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गरिने बताउनुभयो ।

“मानसिक रोगका ८५ प्रतिशत पीडित उपचारबाट वञ्चित छन् समाजमा चेतनाको अभाव छ । समाजमा गलत अवधारणा विद्यमान छ”, उहाँले भन्नुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताउनुभयो । नेपाल मनोचिकित्सक सङ्घको १०औँ राष्ट्रिय सम्मेलनका मूल समितिका महासचिव वरिष्ठ मनोचिकित्सक डा प्रभात सापकोटाले दुई दिने सम्मेलनमा ९३ कार्यपत्र प्रस्तुत हुने जानकारी दिँदै लागुऔषध सेवनलाई रोगको रुपमा बुझाउन नसकिएको बताउनुभयो ।

मनोचिकित्सक डा तनवीर अहमत खानले लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको सम्बन्ध मानसिक स्वास्थ्यमा कसरी परिरहेको छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताउनुभयो । सीएमसी नेपालका सोधकर्ता हिमाल गैरेले सम्मेलनमा अनुभव प्राप्त चिकित्सकबाट गरिने प्रस्तुतीकरणले सरकार र यसमा काम गर्ने साझेदार संस्थालाई मार्ग प्रसस्त गर्ने बताउनुभयो । सो अवसरमा लाइभ टाइम एचिभमेण्ट अवार्डबाट डा नवराज कोइरालालाई सम्मान गरिएको थियो । सम्मेलनमा देशभरबाट करिब दुई सय मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० मनोचिकित्सक सहभागी हुनुहुन्छ ।

वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

बैतडी, १३ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताउनुभएको छ ।

बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामथ्र्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताउनुभयो । चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उहाँले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताउनुभयो ।

“नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन । ऋण लिन सक्ने नेपालको सामथ्र्य नभएकाले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ”, नेता साउदले भन्नुभयो । आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उहाँले बताउनुभयो । गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताउनुभयो ।

कांग्रेसको एक सय दिने विषेश अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिनुभएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अभियान प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । यसले आगामी दिनमा कांग्रेसलाई थप मजबुद र सबै तहका साङ्गठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ ।”

व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौँ, १३ मङ्सिरः सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो ।

अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतबाट यही मङ्सिर ९ गते हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उहाँ क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो ।

आदेशमा भनिएको छ, “यस अदालतमा जीवनरक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरिपाउँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यतासमेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।”

व्यवसायी प्रसाईंका तर्फबाट छोरा नीरजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गर्नुभएको थियो । सोही रिट निवेदन माथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

परराष्ट्रमन्त्री राणा चीनको छन्दुमा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बिहीबार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।

मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गरेको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।  भेटवार्ता शुक्रबार चीनको छन्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् ।

विकल पौडेल र श्रेष्ठलाई आठवर्ष कैद हुने

काठमाडौँ, १३ मङ्सिरः विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र रु तीन करोड ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।

  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो ।

  अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो । उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा रु ३८ करोड ६७ लाख १७ हजार छसय ४० बिगो असुल गर्न माग दाबी गरेको थियो ।

२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक

काठमाडौँ, १३ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शय्या क्षमता छ । त्यसैगरी चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको सङ्ख्या तीन छ । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल–पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि,(नेपालगञ्ज मेडिकल कलेज–बाँके, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेजलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए÷नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए÷नभएको तथा बढी क्षमताबारे प्रचार भए÷नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो ।

लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौँ, १३ मङ्सिरः लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ । 

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले विकास र समृद्धिका लागि विद्यमान कानुन र बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराउनुभयो । 

दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी

  काठमाडौँ, १३ मङ्सिर : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताउनुभएको छ ।

  राष्ट्रिसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताउनुभयो ।  

  “मन्त्रालय डिडिसीलाई सुधार गर्न लागिपरेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ ।”

 संस्थानको चालु खर्चमा ३० प्रतिशत कटौती गर्नेबारे उहाँले जानकारी दिनुभयो । यस्तै चिस्यान केन्द्रको व्यवस्थापन, बजारीकरण गर्न ५० स्थानमा कर्नर र एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री अधिकारीले भन्नुभयो, “दुग्ध विकास संस्थानका सबै आयोजना प्रमुखसँग संयुक्तरुपमा छलफल गरेका छौँ ।”

  मन्त्री अधिकारीले संस्थाको आन्तरिक व्यवस्थापनमा कर्मचारी जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । गत असार मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ५८ करोड बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने रकम रु आठ करोड ३८ लाख, कर्मचारीलाई तलब दिनुपर्ने रु चार करोड ६३ लाख र अन्य भुक्तानी गर्नुपर्ने रु २३ करोड २४ लाख रहेको मन्त्रालयले जनाएको छ । 
  किसानको भुक्तानी रु ५६ करोड बाँकी रहेको मन्त्री अधिकारीले समितिलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार कर्मचारी उपदानतर्फ रु सात करोड २४ लाख, कर्मचारीको (तलब कात्तिक महिना) रु एक करोड सात लाख तथा अन्य भुक्तानी गर्नुपर्ने रु १३ करोड ११ लाख छ । किसानको हातमा रु एक अर्ब ३० करोड भुक्तानी पुगेको उहाँले बताउनुभयो ।

डिडिसीसँग रु ३७ करोड ९४ लाख बराबरको दूध पाउडर पाँच सय ५२ मेट्रिकटन तथा रु ४९ करोड ६० लाखको ६ सय २० मेट्रिकटन बटर मौज्दात रहेको छ । यस्तै उठ्न बाँकी रु ३१ करोड एक लाख रहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । कृषि ऐन निर्माणदेखि रासायनिक मल खरिदका लागि कानुन संशोधन र समयमै कृषि उपजको न्यूनतम मूल्य समर्थन मूल्य तोक्ने विषयमा उहाँले समितिलाई जानकारी गराउनुभयो । 

नेपाल टुर गर्दै तीन सांगीतिक व्याण्ड

काठमाडौं । तीन सांगीतिक व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुनेछ । नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) हो ।

झिल्के एण्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट सुरु भई फेब्रुअरी ७, २०२५ मा समापन हुनेछ । जसअनुसार झापामा डिसेम्बर २१, रुपन्देहीमा डिसेम्बर २४, काठमाडौंमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ ।

व्याण्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौंमा तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ । ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौं । तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुनेछ । यसरी नै ठाउँ अनुसार नाम फेरिनेछ , स्टिभले भनेका छन् ।

व्याण्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति हुने आशा राखेको छ । ‘कार्यक्रमस्थलमा प्रिन्ट, डिजिटल, क्रस प्रोमोसनलदेखि कलेज क्याम्पेनका कार्यक्रम पनि हुनेछन्’, स्टिभ अगाडि भन्छन्, ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’मा १८ देखि ४५ वर्ष उमेर समूहका दर्शकले लाइभ म्युजिकको स्वाद लिन पाउनेछन् ।’

रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रूसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताउनुभएको छ ।

रूसी सेनाले लडाकू विमान र अन्यमाध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विदुत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को प्रयोग गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएका छन् ।

युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ ।

जेलेन्स्कीले भन्नुभयो, “यो रूसी ‘आतङ्कवादी’ रणनीतिको अत्यन्त घृणित वृद्धि हो ।”

सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन (सीएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

“गोलाबारूदले कहिलेकाही लक्षित स्थानमा नलाग्ने तथा नपड्किने हुँदा यसले आक्रमणस्थलमा दीर्घकालीन जोखिम पनि निम्त्याउँछ । तिनीहरूले प्रभावकारी रूपमा बारूदी सुरूङको रूपमा काम गर्छन् जुन वर्षौंपछि पनि विस्फोट हुन सक्छ,” सीएमसीले भनेको छ ।

‘क्लस्टर बम’को प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणलाई निषेध गर्ने सन् २००८ को क्लस्टर युद्धसामग्रीसम्बन्धी महासन्धिको पक्षराष्ट्रमा सम्झौतामा हस्ताक्षर गर्ने ११२ राज्यमा रूस र युक्रेन रहेका छैनन् ।

सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्धसामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रूस र अमेरिकाका सहयोगीहरूले समेत आलोचना गरेका थिए ।

शंकर र अनुको स्वरमा क्रिसमस गीत ‘येशु जन्मिनु भयो’ सार्वजनिक

काठमाडौं । क्रिसमस डेलाई लक्षित गर्दै नयाँ गीत ‘येशु जन्मिनु भयो’ सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गीतमा शंकर थापा (स्माइल) र अनु चौधरीको स्वर रहेको छ । गीतमा राजु सुन्दास र सुरेन्द्र दियालीको शब्द छन् । गीतमा संगीत भर्ने काम भने गायक शंकरले नै गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा भिडिओ प्रिमियर पनि गरिएको थियो । गीतको भिडिओमा कलाकार अभिषेक श्रेष्ठ र बिना राउतसँगै समाजसेवी तथा कलाकार हन्ना बादीको अभिनय रहेको छ । गणेश शाहीले निर्देशन गरेको भिडिओले क्रिसमसलाई उल्लासका साथ मनाउन आग्रह गरेको भाव दिएको छ । भिडिओ खिच्नेकाम बिशाल थापाले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि लोकप्रिय गायिका सलोमी तिमोथी (लेप्चा)ले गीतको प्रसंसा गरिन् । उनले गीतको अडियो देखी भिडियो उत्कृष्ट रहेको भन्दै बधाई तथा सफलताको शुभकामना दिइन् । यस्तै गीतकार राजु सुन्दासले गीतलाई पूर्णता दिनका लागी आजसम्म सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए । गायक शंकर थापा (स्माइल) आफूले अहिलेसम्म काम गरेको झण्डै दुई हजार गीतमध्ये यस्तो किसिमको गीत पहिलोपटक बनाउन र स्वर दिन पाएको भन्दै अनुभव साटे । कार्यक्रममा गायिका अनु भने अनुपस्थित थिइन् ।

यस्तै भिडिओका निर्देशक गणेश शाहीले भिडिओ निर्माणका लागी गीतकार समेत रहेका गीतका निर्माता राजु सुन्दासले कुनैपनि कुरामा कमी हुन नदिएको बताए । उनका अनुसार भिडिओमा ७ लाख लगानी भएको छ । दरबारमार्गस्थित राईजिङ मलको फिल्महलमा १ घण्टा सन्चालित कार्यक्रम पासाङ तामाङको प्राथनाबाट सुरु भएको थियो । कार्यक्रममा समिर अधिकारीले स्वागत मन्तब्य दिएका थिए ।

https://www.youtube.com/watch?v=ZJ6Y13yQUoY

खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौँ, १३ मङ्सिरः अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । 

बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताउनुभयो । 

“मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ”, अधिकारीले बताउनुभयो, “मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” 

उहाँ अमेरिकाबाट एकसाताको मात्र बिदा लिएर नेपाल आउनुभएको हो । कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर रू १४ लाख बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेको उहाँले बताउनुभयो । नर्सरी कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई दुई वटा पेन्सिल, दुई वटा इरेजर, दुई वटा सार्पनर, दुईवटा एक सय पृष्ठका कपी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाएर वितरण गरेको पत्रकार एवं समाजसेवी चुडामणी भट्टराईले बताउनुभयो ।  

त्यसैगरी कक्षा ४ देखि १० सम्मका लागि दुईवटा एक सय पृष्ठका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डटपेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेको भट्टराईले जानकारी दिनुभयो । 

सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मनुभएको हो । डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुग्नुभएको थियो । सोनियाका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व हुनुहुन्छ । 

शरणार्थीलाई पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लाग्नु भएका अधिकारीको नेतृत्वमा रहेको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेको पत्रकार एवं समाजसेवी भट्टराईले बताउनुभयो । 

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुमार्फत संसारभरका नेपाली जातिलाई नेपालसँग जोड्ने अभियान चलाइरहनु भएका अधिकारीले शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक रु पाँच हजार रकम वितरण गरिरहनुभएको छ । दमक नगरपालिका र पथरी नगरपालिकाका एम्बुलेन्स र शरणार्थी शिविरका विद्यालयमा पढाउने ३० जना शिक्षकको तलब पनि फाउण्डेसनले पनि बेहोर्दै आएको बताउनुभएको छ । 

वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं, १३ मंसिर : नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध कायम रहेको र यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताउनुभयो ।

मन्त्री शाहीले नेपालले हालै सप्पन्न कोप–२९ मा कार्बन व्यापारको विषय उठाएको र उक्त मुद्दा सफल भएको उल्लेख गर्नुभयो । दक्षिण कोरियाले नेपालको विकास निर्माणमा सहयोग गरिरहेको र भावी दिनमा पनि कोरियाले नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको मन्त्री शाहीको भनाइ थियो ।

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं, १३ मंसिर : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा उहाँहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले हस्ताक्षर गर्नुभएको हो ।

उक्त परियोजनामार्फत नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य राखिएको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, ‘डिजिटलाइजेसन’, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने जनाइएको छ ।

आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ । जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धी हुने बताउनुभयो । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट

काठमाडौँ, १३ मङ्सिरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेटर्वाता भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर अभिवृद्धि भइरहेको बताउनुभयो । 

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार र प्रवर्द्धन गर्न कोसेढुङ्गा सावित गरेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । 

“नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा दक्षिण कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवर्द्धन र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान र सीपबाट हामी थप लाभान्वित हुन चाहन्छौँ ।”

कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाइ मोटर्सले नेपालमा ‘असेम्बलिङ’ प्लान्ट स्थापना गरी टेलिभिजन र कार उत्पादन गरिरहेकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले कोरिया सरकारमार्फत लगानी बढाउन आग्रह गर्नुभयो । 

“पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी विस्तार गरेकामा हामीलाई खुसी लागेको छ । लगानीका क्षेत्रमा दुई मुलुकबीच अपेक्षित रूपमा सहकार्य विस्तार हुन सकेको छैन, तसर्थ आगामी दिनमा नेपालमा कोरियाली लगानी थप विस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा विश्वास लिएका छौँ”, मन्त्री भण्डारीले भननुभयो ।

राजदूत तेयोङले नेपालमा कोरिया सरकारले लगानी बढाउन चाहेको बताउनुभयो । उहाँले अहिलेसम्मका लगानी मात्र पर्याप्त नभएको उल्लेख गर्दै नेपालका जुनसुकै क्षेत्रमा लगानी बढाउन कोरिया सरकार तयार रहेको मन्त्री भण्डारीलाई जानकारी दिनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तेयोङले उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने ठाउँ पाए दक्षिण कोरिया सरकारले लगानी बढाउँदै जाने बताउनुभएको थियो ।  

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर, १३ मङ्सिरः कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको जानकारी दिनुभयो ।

 भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो सङ्कल्प रहेको मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भईरहेको छ, अब जनताले राहतको अनुभूति गर्नेछन् ।”

 मन्त्रालयमा आवश्यक जनशक्तिको अभावले कतिपय काम समयमा गर्न नसकेको स्पष्ट गदैै मन्त्री राईले आर्थिक अभावका कारण कडा किसिमका रोग लागेका नागरिकलाई दिइने सुविधा प्रदान गर्न नसकिएको बताउनुभयो ।  

 उहाँले भन्नुभयो, “मन्त्रालयमा हाल जम्मा रु पाँच करोड मात्र बजेट छ, खर्च रु १४ करोडको छ । यसको उचित व्यवस्थापन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्न सङ्खीय सरकारसँग पहल गरिरहेका छौँ ।”

 कोशी प्रदेशमा हालसम्म स्वीकृत भएका अस्पताल २४, नवीकरण भएका १४, नयाँ सञ्चालनका लागि स्वीकृत भएका तीन, स्तरोन्नति भएका तीन, ‘एलओआई’ स्वीकृत भएका चार र अस्पतालको लागि निवेदन दर्ता भई स्वीकृत नभएका २३ रहेको जानकारी दिँदै मन्त्री राईले भन्नुभयो, “प्रदेश स्वास्थ्य ऐनको मस्यौदा तयार भइसकेको छ । सैद्धान्तिक स्वीकृत पाएपछि सदनमा प्रवेश भई ऐन बनेपछि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या सम्बोधन हुने विश्वास लिएको छु । ।”

भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर, १३ मङ्सिरः मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की

टीकापुर, १३ मङ्सिरः किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ ।

टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरु आजभोलि नियमित खान थालेका छन् ।

टीकापुरकी पूजा चौधरी महिनावारी हुन थालेपछि कमजोर महसुस गर्न थाल्नुभयो । चौथो पटक महिनावारी भएकी पूजा एक्कासी बेहोस हुनुभयो । अभिभावकले स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउँदा कमजोरी र शरीरमा आइरनको कमी रहेको स्वास्थ्यकर्मीले बताए । त्यसपछि पूजाका अभिभावकले छोरीलाई पोषणयुक्त खानासँगै आइरन चक्की खुवाए । आजभोलि पूजाको स्वास्थ्य राम्रो छ । “ म खानपानमा पोषणयुक्त खानेकुरामा जोड दिन्छु”, उहाँले भन्नुभयो, “विद्यालयमा हरेक आइतबार आइरन चक्की खुवाइन्छ । आइरन चक्कीसँगै किशोरीको स्वास्थ्य र पोषिलो खानाबारे शिक्षकले जानकारी दिन्छन् ।”

सबै विद्यालयकासरकारको पोषण कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन गरिरहेको टीकापुर नगरपालिका रामपुर सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दीपेन्द्र पनेरु बताउनुहुन्छ । “नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने गर्दछन्”, उहाँले भन्नुभयो, “तीन वर्षयता शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने गरेका छन् ।”

विद्यालयमा आइरन चक्की खुवाए, नखुवाएको अनुगमन र सुपरिवेक्षण स्वास्थ्य संस्थाका प्रमुखले गर्ने जिम्मेवारी छ । टीकापुर–२ स्थित जनजागृति मावि सीतापुरमा तीन सय बढी किशोरीले आइरन खान्छन् । सुरुमा खान नमानेका किशोरीहरु आजभोलि कुरा बुझेपछि सहजै खाने गरेका शिक्षक उर्मिला रावलले बताउनुभयो । “सुरुमा किशोरी धेरै डराए, औषधि किन खाने, हामीलाई के रोग छ र ? भनी प्रश्न गर्थे”, उहाँले भन्नुभयो, “नियमित कक्षाकोठामा जानकारी दिएपछि सहजै खान्छन्, किशोरीहरु स्वस्थ हुनुपर्छ भन्नेमा उनीहरू सचेत छन् ।”

यसैगरी, वीरेन्द्र विद्यामन्दिरले पनि हरेक आइतबार कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाइरहेको शिक्षक सुरेन्द्रबहादुर शाहले बताउनुभयो । “कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाउने गरिएको छ”, उहाँले भन्नुभयो, “कक्षा सुरु हुनुअघि किशोरीलाई आइरन चक्की खुवाउने अनि हरेक आइतबार पोषिला खानेकुराबारे जानकारी दिने गरेका छौँ ।”

विद्यार्थीलाई पोषणबारे सिकाउन थालेपछि शिक्षक सचेत भएका छन् । उनीहरुमा पनि ज्ञान बढिरहेको शिक्षकहरु बताउँछन् । केदारेश्वर आधारभूत विद्यालयमा केही किशोरी आइरन खाने उमेरका छन् । कम नै भए पनि उनीहरुलाई बानी बसाउन केही समय लागेको प्रधानाध्यापक बद्रीप्रसाद भट्टराई बताउनुहुन्छ । “पोषणयुक्त खानपानबारे हामीले पनि ज्ञान लिएका छौँ”, उहाँले भन्नुभयो, “छोरीहरुलाई किशोरावस्थाबाटै स्वस्थ बनाएमा कुपोषण अन्त्यमा सहयोग पुग्छ ।”

किशोरीलाई विद्यालयमा आइरन चक्कीसँगै समय समयमा जुकाको औषधि पनि खुवाइन्छ । जसका लागि नगरपालिकामा पालिकाले शिक्षकहरुसँग छलफल गर्ने गरेका छन् । छोरीहरुको महिनावारी हुने हुनाले पनि शरीरमा रगतको अभाव हुनसक्छ । अस्नेहरी सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव सकुन्तला रोकाया आइरन चक्की खुवाउने अभियान क्रमशः प्रभावकारी बन्दै गएको बताउनुभयो ।

कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु

पर्वत, १३ मङ्सिरः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ ।

स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताउनुभयो ।

बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो ।

पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुसदेखि निर्माण सुरु भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएकामा बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा क्षति भएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत रु पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ हो ।

सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम के हुँदैछ?

सहकारीहरूमा रहेको बचत रकमको सुरक्षाका निम्ति संसदीय समितिले नियमनकारी निकाय गठनका लागि दिएको समयसीमा सकिन करिब आधा महिना मात्रै बाँकी रहँदा सरोकारवाला निकायका अधिकारीहरू भने त्यसका लागि कानुनको मस्यौदा बनाउने काम मात्रै भइरहेको बताउँछन्।

“हामीले सहकारी ऐन संशोधन गर्न गइरहेका छौँ। छिट्टै तपाईँहरूको जानकारीमा आउँछ। त्यसभित्र नियमनकारी निकाय बनाउने, न्यायाधिकरण गठन गर्ने, सूचना केन्द्र खोल्ने देखि कोष बनाउने कुराहरू छन्,” भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव फणीन्द्र गौतमको संयोजकत्वमा नयाँ कानुनको मस्यौदा बनाउन कार्यदल गठन गरेको छ। मस्यौदा समितिका संयोजक गौतमले संसदीय समितिले दिएको समयसीमा भित्रै आफूहरूले मस्यौदा बुझाउने बताए।

“मस्यौदाको काम भइरहेको छ। त्यसमा प्राधिकरण नै नभए पनि एउटा प्रभावकारी नियामक निकाय बनाउन प्रस्ताव गरिएको छ,” उनले भने। गौतमका अनुसार त्यस्तो नियामक राष्ट्र ब्याङ्क जस्तै शक्तिशाली निकाय हुने परिकल्पना मस्यौदाले गरेको छ।

संसदीय छानबिन समितिले भदौ ३१ गते बुझाएको प्रतिवेदनमा तीन महिनाभित्र सहकारी संस्थाहरूको नियमनका लागि एक प्राधिकरण गठन गर्न सिफारिस गरिएको थियो।

तर मस्यौदा संसद्‌बाट पारित भएर कानुनको रूपमा आउन समय लाग्न सक्ने जानकारहरू बताउँछन्।

“प्रक्रिया अघि बढेको छ। तीन महिना भित्र परिणाम देखिएला नि। हाम्रो तर्फबाट अघि बढाउने काम हामी गर्छौँ। हाम्रो मन्त्रालय अन्तर्गत परेका जिम्मेवारी चाहिँ छिटो भन्दा छिटो होस् भनेर हामी अघि बढेका छौँ,” तीन महिनाभित्रै नियामक निकाय स्थापना होला त भन्ने प्रश्नमा मन्त्री अधिकारीले भने।

सहकारी विभागका सूचना अधिकारी रघु महत सरोकारवाला निकायका प्रतिनिधि समेत रहेको कार्यदलले छिट्टै काम टुङ्ग्याएको अवस्थामा प्राधिकरण गठनको काम निर्धारित समयभित्रै सक्ने सम्भावना जीवितै रहेको दाबी गर्छन्।

संसदीय समितिले के भनेको थियो

नेकपा एमालेका सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन समितिले “सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियमनकारी निकायका रूपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने गरी स्वायत्त संस्थाका रूपमा सहकारी प्राधिकरण स्थापना गरिनु पर्ने” सिफारिस गरेको थियो।

समितिले तीन महिनाभित्र यस्तो प्राधिकरण बनाउन र त्यस्तो निकाय नबन्दासम्म नेपाल राष्ट्र ब्याङ्क मार्फत् ५० करोड वा सोभन्दा बढी कूल सम्पत्ति भएका वा वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउन भनेको थियो।

तर राष्ट्र ब्याङ्कले “सहकारी संस्थाहरूको सुपरिवेक्षणमा चासो नदिएको” भन्ने विवरणहरू सार्वजनिक भैरहेका छन्।

संसदीय समितिले २५ करोड रुपैयाँभन्दा बढी कूल सम्पत्ति भएका सहकारी संस्थाहरूलाई नियामक प्राधिकरण गठन भएको मितिले छ महिनाभित्र वित्तीय कारोबार सञ्चालन ईजाजतपत्र लिनु पर्ने कानुन बनाउन पनि भनेको छ। मस्यौदा समितिका संयोजक गौतमले संसदीय समितिको सिफारिस सम्बोधन हुने गरी मस्यौदा बनिरहेको बताए।

“सहकारीमा बचतको सीमा तोक्ने, कर्जा सीमा तोक्ने र बचतको बीमा गर्ने जस्ता संसदीय समितिका सिफारिसहरू सम्बोधन हुने गरी मस्यौदा बनिरहेको छ,” उनले भने।

विभिन्न दलका सांसदहरू सम्मिलित संसदीय समितिले सहकारीको सञ्चालन ईजाजतपत्र प्रदान गर्ने, नियमन र सुपरिवेक्षण गर्ने तथा कारबाही गर्ने सम्मको अधिकार भएको प्राधिकरण बनाउने र उक्त निकायको सञ्चालक समितिमा विषय विज्ञ र अनुभवी व्यक्तिहरू राख्न भनेको थियो।

सहकारी संस्थाहरूको नियमन गर्ने छुट्टै निकाय गठनसँगै अहिलेका सहकारी विभाग र बोर्ड जस्ता संरचना नराख्न संसदीय समितिले भनेको छ।

के-के काम हुँदै छन्
मन्त्री अधिकारीका अनुसार संसदीय समितिको सिफारिस कार्यान्वयन हुने गरी कर्जा सूचना केन्द्र र कोषको काम पुरानै निकायबाट गराउने तयारी भइरहेको छ। उनले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई नै सहकारीको बचत सुरक्षण कोषका रूपमा पनि काम गर्ने जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिए। “नियामक निकाय र न्यायाधिकरण चाहिँ नयाँ बनाउने गरी अघि बढ्दै छौँ,” उनले भने।

मन्त्रालयका अनुसार “समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति थप गरेर अलगअलग टोली बनाएर हरेक सहकारीको समस्या बुझ्ने र निकास खोज्ने कामलाई तीव्रता दिने तयारी” भइरहेको छ।

सहकारीको ऋण असुली र पीडित बचतकर्ताहरूको रकम सहकारीबाट असुलेर फिर्ता गर्ने काम निरन्तर भइरहेको र गत कार्तिकमा मात्रै ६,३०० जना भन्दा धेरै बचतकर्ताहरूको रकम फिर्ता भएको अधिकारी बताउँछन्।

बचत फिर्ताका लागि भइरहेका पहलबारे सोधिएको प्रश्नमा मन्त्री अधिकारी भन्छन्, “उहाँहरूको अपेक्षा सहकारीमा जम्मा गरेको रकम अन्यत्र कुनै निकायबाट ल्याएर तिर्दियोस् भन्ने भावना होला जस्तो मलाई लाग्छ। त्यो चाहिँ न सहकारी नियमले भन्छ न कहीँबाट दिन सकिने अवस्था हुन्छ। त्यही सहकारीमा भएको पुँजी परिचालन गरेर दिने हो।”

सहकारी संस्थाहरूमा रहेको बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय समितिले कारबाहीको सिफारिस गरेपछि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने एक महिना १० दिनदेखि प्रहरीको हिरासतमा छन्।

रवि लामिछाने जस्तै सहकारीको बचत अपचलनको आरोप लागेका अरू व्यक्तिहरूमाथि पनि छानबिन हुँदैछ? भन्ने जिज्ञासामा मन्त्री अधिकारी भन्छन्, “छानबिन गरिरहेकै छ नि। कतिपय अहिले जेलमा पनि छन्। कतिपय भागिरहेकालाई खोजी गरिरहेको पनि छ।” समाचार बीबीसी न्यूज नेपालीबाट साभार ।

चार हजार कैदीबन्दीको जेल सजायँ माफी

पूर्वी अफ्रिकी राष्ट्र बुरुन्डीको भीडभाड युक्त जेलखाली गर्ने अभियानअन्तर्गत बुरुन्डीले करिब चार हजार कैदीलाई रिहा गरेको छ ।

राष्ट्रपति इभारिस्टे नदायिशिमिएले यसै महिनाको सुरुमा सामूहिक क्षमादानको घोषणा गर्दै सानातिना अपराधमा संलग्न कैदीहरूलाई मात्र यो लागू हुने र यसलाई लागत बचत गर्ने उपायको रूपमा न्यायोचित ठहराउने बताउनुभएको थियो ।

सरकारी तथ्याङ्कअनुसार क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा रहेका करिब पाँच हजार ५०० कैदीबन्दी रिहा हुन बाँकी छन् ।

यो सङ्ख्या जेलमा रहेका कूल कैदी सङ्ख्याको करिब ४० प्रतिशत हुने अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार अबेर पोस्ट गरिएको एक वक्तव्यमा राष्ट्रपतिको कार्यालयले भनेको छ, “सम्बन्धित पाँच हजार ४४२ कैँदीमध्ये करिब चार हजार जना आफ्नो परिवारमा फर्किसकेका छन्।

तर स्थानीय मानव अधिकार समूह इटेकाका प्रमुखले चार हजारदेखि ५,००० को बीचमा रहेका राजनीतिक कैदीहरूलाई समावेश नगरिएको तथ्यको आलोचना गर्नुभयो ।

इटेकाका अध्यक्ष एन्शेयर निकोयागेजले भन्नुभयो, “राष्ट्रपतिको यो क्षमादान को उपाय केवल सामान्य कानून कैदीहरूसँग सम्बन्धित छ । यस निर्णयले हजारौं राजनीतिक कैदीहरूलाई नसमेटेकोमा हामीलाई खेद छ । उनीहरूले आधाभन्दा बढी जेल सजाय बिताइसकेका छन् तर कैदमाफीमा परेका छैनन्।”

कैदीहरूले एएफपीलाई बुरुन्डीका कारागारहरूको अवस्था ‘अमानवीय’ भएको बताएका छन्।

नाम नबताउने शर्तमा एक कैदीले भने, “हामी धेरै दिनसम्म खाना नखाएरै कैदमा बस्नुपर्ने अवस्था छ, त्यहाँ औषधिको व्यवस्था छैन र अधिकांश कैदी भुइँमा सुत्छन्।

सन् २०२१ मा भएको यस्तै घोषणामा पाँच हजार २५५ जना कैदीबन्दीलाई रिहा गरिएको थियो भने कारागारमा भीडभाड कम गर्ने कार्यक्रम घोषणा गरिएको थियो ।

सन् २०२० मा सत्ता सम्हाल्नुभएका नेताको पूर्व राष्ट्रपति पियरे नकुरुन्जिजाको अराजक र रक्तपातपूर्ण शासनमा वर्षौंदेखिको अलगाववादलाई क्रमशः अन्त्य गर्दै लगेकोमा प्रशंसा गरिएको छ ।

यद्यपि, पत्रकार, कार्यकर्ता र विपक्षी व्यक्तिहरू माथि दमनको जारी रिपोर्टहरूका कारण बुरुन्डीको मानव अधिकारको रेकर्ड अहिले पनि खराब छ।

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी गर्दै विष्ट

धरान (सुनसरी), १३ मङ्सिरः बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उहाँ सुनाउनुहुन्छ । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो । उहाँले १० जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उहाँले सुनाउनुभयो ।

एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उहाँले रु चार हजारदेखि रु पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आउनुभएको छ ।