`

नेपाली कूटनीतिज्ञ तथा सरकारी अधिकारी अध्ययनका लागि भारत भ्रमणमा जाँदै

काठमाडौँ । नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६ जना कूटनीतिज्ञ तथा अधिकारी यही मंसीर ५ देखि १५ गतेसम्म अध्ययनका लागि भारत भ्रमणमा जाने भएका छन् ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू भोलिदेखि त्यहाँ जान लागेका भारतीय दूतावासले जनाएको छ ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधि रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युल राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण सहर र ठाउँको भ्रमण समावेश छन् ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले आज २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग उनीहरु भारत जानुअघि अन्तरक्रिया गरेका थिए । साथै उनले सबैलाई उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गरेका थिए।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीको भारत भ्रमणले संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई झल्काउँछ ।

मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको छ – महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकार मुलुकको बिकास र समृद्धिका लागि काम गरिरहेको र त्यस अनुसार नजिता देखिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बस्नेतले मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको र सकारात्मक संकेत देखिएको बताउनुभएको हो । उहाले पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको बताउनुभयो ।

त्यस्तै उहाले सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिनुभयो । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको बताउनुभयो । उहाले कुलमान घिसिङ पनि पपुलिष्ट हुन खोजेको भन्दै राजनीतिक दल खोलेर आउन सुझाव दिनुभयो ।

हमासका वार्ताकारहरू ‘दोहामा छैनन्’ तर राजनीतिक कार्यालय बन्द भएको छैन : कतार

कतारले मङ्गलबार हमासका वार्ताकारहरू दोहामा नरहेको तर उनीहरूको कार्यालय स्थायी रूपमा बन्द नगरिएको बताएको छ । हमासलाई कतारी राजधानीबाट बाध्यपूर्वक निष्कासित गरिएको अटकलपछि कतारको यस्तो भनाइ आएको हो ।

“वार्ता टोलीभित्र रहेका हमासका नेताहरू अहिले दोहामा छैनन्”, विदेश मन्त्रालय प्रवक्ता माजेद अल–अन्सारीले भन्नुभयो, “कार्यालय स्थायी रूपमा बन्द गर्ने निर्णय... तपाईंहरूले हामीबाट सिधै सुन्नुहुनेछ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले गाजा युद्धमा युद्धविरामका लागि महिनौँको निष्फल वार्ताको नेतृत्व गरेको थियो तर उसले यस महिनाको सुरुमा आफ्नो मध्यस्थता प्रयासहरू स्थगित गरेको घोषणा गरेको थियो ।

सन् २०१२ देखि कतारले संयुक्त राज्य अमेरिकाको आशीर्वादमा आतिथ्यता गर्दै आएको हमासलाई आफ्नो राजनीतिक ब्युरो अब स्वागतयोग्य छैन भनेर चेतावनी दिएको रिपोर्टपछि यो घोषणा गरिएको हो ।

“मध्यस्थता प्रक्रिया अहिले स्थगित छ... जबसम्म हामीले दुवै पक्षको स्थितिमा आधारित निर्णयलाई उल्टाउने निर्णय गर्दैनौँ”, कतारले हमासका अधिकारीहरूलाई छोड्न भनेको थियो कि भनेर पुष्टि गर्न अस्वीकार गर्दै अन्सारीले मङ्गलबार भन्नुभयो, “दोहामा हमासको कार्यालय मध्यस्थता प्रक्रियाका लागि बनाइएको थियो । स्पष्ट रूपमा, जब मध्यस्थता प्रक्रिया हुँदैन, कार्यालयमा नै कुनै काम हुँदैन ।”

हमासका एक वरिष्ठ नेताले सोमबार एएफपीलाई ‘कसैले पनि हामीलाई छोड्न आग्रह गरेको छैन’ र ‘हमासको राजनीतिक क्षेत्रका विभिन्न स्तरका नेताहरूले समय–समयमा टर्कीको समन्वित भ्रमण गर्ने’ भन्दै सदस्यहरू टर्कीमा बसाइँ सरेका रिपोर्टहरूलाई अस्वीकार गरेका थिए ।

गत वर्ष कतारले मध्यस्थता गरेको लडाइँमा एक हप्ताको विरामपछि सयौँ प्यालेस्टिनी कैदीको बदलामा धेरै बन्धकलाई रिहा गरियो तर वार्ताको लगातार चरणहरूमा कुनै प्रगति भएन ।

स्थायी युद्ध विराम प्रदान नगरेको भन्दै नोभेम्बरको सुरुमा हमासले इजिप्ट र कतारबाट थोरै समयको युद्ध विरामको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

इजरायलले युद्धको उद्देश्य (हमासलाई कुल्चने र बन्धकहरूलाई घर ल्याउने) हासिल नगरेसम्म लडाइँ नरोक्ने बारम्बार प्रतिज्ञा गरेको छ ।  अप्रिलमा कतारले वार्तामा गतिरोधका क्रममा आफ्नो मध्यस्थताको भूमिकाको पुनर्मूल्याङ्कन गरिरहेको बताएको थियो । यसबाट केही समूह सदस्यहरूलाई टर्कीका लागि जान बाध्य पा¥यो ।

युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी

रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।

“स्थानीय समयानुसार बिहान ०३ः२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेपणास्त्रहरू प्रयोग गरिएको थियो”, सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।

युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र ‘उचित र स्पष्ट जवाफ’ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो बयानमा रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाद्वारा पाँचवटा क्षेप्यास्त्र खसालिएको र छैटौँको टुक्रा अनिर्दिष्ट ‘सैन्य सुविधा’ मा खसेको भन्दै सानो आगलागी भएको बताएको छ । “कुनै हताहत वा क्षति भएको छैन”, मन्त्रालयले भन्यो ।

युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’ का रूपमा प्रशंसा गर्नुभयो ।

दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा

म्याग्दी, ४ मङ्सिर : दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएको बताउनुभयो ।

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९८२ र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका प्रहरी निरीषक अधिकारीले जानकारी दिनुभयो ।

कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ । दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ ।

होटल व्यवसायीका अनुसार मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम रु १५ हजार खर्च गर्छन् । असोज र कात्तिक यहाँ भित्रिएका पर्यटकले रु दुई अर्ब ५९ करोड ६९ लाख ६५ हजार बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

मुस्ताङमा रहेका तीन सय २५ वटा होटलमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बस्न सक्ने क्षमता रहेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताउनुभयो ।

दसैँतिहारको समयमा मुस्ताङका सबैजसो होटल पर्यटकले भरिभराउ भएका थिए । मङ्सिर लागेसँग चिसो बढेपछि भने केही दिनयता पर्यटक आगमन घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा चार लाख २७ हजार र २०७९÷०८० मा तीन लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ पुगेका थिए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।

म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक यहाँ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जाँदा यहाँका व्यवसायी भने चिन्तित छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने घरपझोङका अध्यक्ष लालचनले बताउनुभयो ।

दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा श्रद्धाञ्जलीसभा

देउखुरी (दाङ), ४ मङ्सिर : नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज दाङको घोराहीमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो । “आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैँ स्मरणीय हुन्छ,” उहाँले भन्नुभयो ।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त सरल र सालिन व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमूना भएको बताउनुभयो । उहाँले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैँ सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्नुभयो । “कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,” ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं एमाले महासचिव शङ्कर पोखरेलले परिवारका लागि दाजुको त्याग र योगदानको स्मरण गर्नुभयो । उहाँले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुआत गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो । पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  

स्वर्गीय पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवं सभासद् बहिनी मेनका पोखरेलले उहाँको सङ्घर्षशील जीवनका केही प्रसङ्ग उजागर गर्नुभयो । उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो ।

श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले मन्तव्य व्यक्त गर्नुभयो । 

श्रद्धाञ्जली सभामा कविता वाचन गरेर तुलसीपुर–१९ हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो । 

देवी पोखरेलको जीवन र योगदान बहुआयामिक रहेको स्मरण गर्नुभयो । उहाँको जन्म २००७ साल मङ्सिर ७ गते साविक विजौरी गाविस–६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो । उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गर्नुभएको थियो ।  

सामाजिक सेवामा स्व. पोखरेलको योगदान

शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दाङको घोराहीमा रहेको दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीको उपचारमा सहयोग पुर्‍याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिनुभएको थियो ।  

आन्दोलन र सङ्घर्षका क्रममा उहाँले धेरै यातना भोग्नु परेपनि कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनुभएन । उहाँले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउनुभएको थियो । साथै, उहाँको नेतृत्वमा पार्टीको सङ्गठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुभएको थियो ।  

कार्यक्रममा सहभागी नेताले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गर्नुभएको थियो  ।

सुनसरीमा स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु

धरान (सुनसरी), ४ मङ्सिर : सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ ।

रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको युपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियोले सिटीलाई मङ्गलबार ठक्कर दिँदा सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे ।

स्करपियो गाडी ठक्करबाट गम्भीर घाइते सफारी चालकलाई उपचारका लागि स्थानीय हस्पिटल ओमसाई झुम्कामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलार्ई प्रहरीले नियन्त्रणामा लिएको छ । इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

जेलेन्स्की : सन् २०२५ ले युक्रेन युद्ध कसले जित्छ भन्ने निर्णय गर्नेछ

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुने बताउनुभएको छ ।

युद्धको निर्णायक क्षणमा युक्रेनका लागि ‘लचिलोपन योजना’ प्रस्तुत गर्दै उहाँले वासिङ्टनले किएभलाई अमेरिकी मिसाइलहरू रूसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखि प्रतीक्षा गरिएको स्वीकृति दिएपछि सो कुरा बताउनुभएको हो ।

“निर्णायक क्षणहरूमा – र तिनीहरू अर्को वर्ष आउँदैछन् – हामीले संसारमा कसैलाई पनि हाम्रो सम्पूर्ण राज्यको लचिलोपनमा शङ्का गर्न दिनु हुँदैन । साथै यस चरणमा कसले जित्नेछ भन्ने निर्णय भइरहेको छ”, जेलेन्स्कीले युक्रेनी सांसदहरूलाई भन्नुभयो, “यो युद्ध पोक्रोभस्क, कुपियान्स्क वा अन्य कुनै सहर, नगर वा गाउँका बारेमा मात्र होइन, हाम्रो यो वा त्यो क्षेत्रको बारेमा मात्र होइन । यो युद्ध सम्पूर्ण युक्रेनका बारेमा हो, यो युद्ध सम्पूर्ण युरोपका बारेमा हो, सम्पूर्ण विश्वको व्यवस्था वा अराजकताको बारेमा हो ।”

मस्कोले जाडोअघि युक्रेनी सहरहरूमा हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको छ र उत्तर कोरियाबाट युद्धमा प्रयोग गर्न १० हजारभन्दा बढी लड़ाकू सैनिक प्राप्त गरेको छ ।कूटनीतिक मोर्चामा संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको निर्वाचनपछि युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताको चर्चा बढिरहेको छ ।

अमेरिकी सहायताको अनिश्चितताका बीच जेलेन्स्कीले किएभले अरू कसैलाई देशको भविष्य निर्णय गर्न दिनुहुँदैन भन्नुभयो । “यो एउटा यस्तो युद्ध हो जसले सम्पूर्ण राष्ट्रको भाग्य निर्धारण गर्छ र कसैले पनि हाम्रो लागि यो निर्णय गर्नु हुँदैन वा गर्न सक्दैन”, उहाँले भन्नुभयो ।

ट्रम्पका वक्तव्यहरूले युद्ध अन्त्य गर्न चाँडै सम्झौता गर्न लक्ष्य राखेको बताउँदै वासिङ्टनले किएभलाई क्षेत्रीय सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डर सिर्जना भएको छ ।जेलेन्स्कीका अनुसार किएभले आफ्नो पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रलाई पुनः प्राप्त गर्न रूसमा भ्लादिमिर पुटिनको शासनको अन्त्यसम्म पर्खनु पर्ने हुनसक्छ ।

“सम्भवतः युक्रेनले आफ्ना सबै लक्ष्यहरू हासिल गर्न मस्कोमा कसैलाई हराउनु पर्नेछ… सायद राज्यको पूर्ण अखण्डता पुनःस्थापना गर्न”, जेलेन्स्कीले युक्रेनको संसद्लाई सम्बोधन गर्दै भन्नुभयो ।

अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच

काठमाडौं । अनुकूलन कोषले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई आफ्नो नयाँ राष्ट्रिय कार्यान्वयन निकाय (एनआइई)को रूपमा छनोट गरेको छ । अजारबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को दौरानमा नेपालमा अनुकूलन कोषको रकम ल्याउन, जलवायु अनुकूलनसम्बन्धीका परियोजना निर्माणदेखि कार्यान्वयनका लागि सहज बनाउन अनुकूलन कोषले एनआइईको रूपमा एनटिएनसीलाई छनोट गरेको हो ।

यसअघि पनि एनटिएनसी हरित जलवायु कोषबाट राष्ट्रिय मान्यता प्राप्त निकाय (डिएइ) को रूपमा छनोट भई कार्यान्वयनको अवस्थामा छ । हरित जलवायु कोष (जिसिएफ)बाट नेपालमा हालसम्म तीनवटा संस्था डिएइको रूपमा छनोट भई कार्यरत छन् । ती निकायमध्ये एनटिएनसी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एनएमबिएल बैंक जिसिएफको डिएइको रूपमा रहेका छन् ।

अनुकूलन कोषले भने नेपालमा पहिलोपटक एनटिएनसीलाई एनआइईको रूपमा छनोट गरेको हो । अब एनटिएनसीमार्फत मुलुकले सोझै जिसिएफ र अनुकूलन कोषजस्ता जलवायुका ठूला अन्तर्राष्ट्रिय कोषमा सोझै पहुँच पुर्‍याउने अधिकार पाएको छ ।

एनटिएनसीका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोपमा एनटिएनसी अनुकूलन कोषको एनआइईको रूपमा छनोट भएको घोषणा हुनुले जलवायु अनुकूलनका राष्ट्रिय नीति कार्यान्वयन तथा प्राथमिकता सम्बोधन गर्न र आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहज हुने बताए ।

‘अनुकूलन कार्यक्रम छनोट र सञ्चालनका लागि एनटिएनसीको कार्यदक्षता र क्षमताका आधारमा अनुकूलन कोषबाट एनआइईको रूपमा छनोटमा परेको हो, यो मुलुककै हितमा रहेको छ, अब थप सहकार्य र समन्वयनबाट अनुकूलनका योजनाको छनोट गर्ने छौँ,’ उनले भने ।

कोपमा भाग लिन बाकुमा रहनुभएका वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायु अनुकूलन कोषबाट सोझै रकम ल्याउनका लागि र सरल पहुँच सुनिश्चिताका लागि बाटो खुलेको बताए ।

‘एनटिएनसी एनआइईका रूपमा छनोटमा पर्नु नेपालका लागि ठूलो उपलब्धि हो, अब अनुुकूलन कोषमा पनि नेपालको सोझै पहुँच स्थापित हुनु हाम्रा लागि गर्वको कुरा हो । तर यसो भन्दै अनुुकूलन कोषको रकम नेपालले पाइहाल्छ भन्ने होइन, हामीले अनुकूलनसम्बन्धी परियोजनाको खाका बनाएर प्रस्तुत गर्नुपर्छ, परियोजना छनोट भएको खण्डमा अनुकूलन कोषले वित्त प्रवाह गर्ने संयन्त्रको रूपमा छनोट गरेको एनटिएनसीमार्फत वित्त नेपालमा ल्याउन सकिने भयो,’ उनले भने ।

एनटिएनसीका सदस्य सचिव डा नरेश सुवेदीले अनुकूलन कोषको एनआइई हुुनु एनटिएनसीका लागि मात्रै नभएर मुलुककै लागि गौरव गर्न लायक उपलब्धि रहेको बताउए ।

‘आगामी दिनमा एनटिएनसीले राष्ट्रिय क्षमता विकाससहित जलवायु अनुकूलनसम्बन्धी कार्यहरू गर्नका लागि यस्ता वित्तीय संयन्त्रहरूबाट प्राप्त स्रोतहरूलाई जलवायुजन्य जोखिममा रहेका समुदायलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने छौँ,’ उनले भने ।

एनटिएनसीका जलवायु परिवर्तन विभागका प्रमुख तथा जिसिएफ र अनुुकूलन कोष दुवैका सम्पर्क व्यक्ति डा मनिषराज पाण्डेले एनआइईको रूपमा छनोट हुँदा जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय वित्तमा सहज रूपमा र सोझै पहुँच पुग्ने भएकाले जलवायु वित्तीय अभाव पूरा गर्न सहयोग गर्ने बताए ।

अनुकूलन कोषका अनुसार एनटिएनसीजस्ता एनआइईमा अहिलेसम्म विश्वभरका ३४ वटा राष्ट्रिय मान्यता प्राप्त निकाय सामेल छन् । जलवायु अनुकूलनका परियोजनाहरू पहिचान, विकास र कार्यान्वयन गर्नका लागि सक्षम रहेका विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय निकायलाई अनुकूलन कोषले एनआइईको रूपमा छनोट गर्दै आइरहेको छ ।

लामो र जटिल प्रक्रियापछि अनुकूलन कोषले एनटिएनसीलाई एनआइईको रूपमा छनोट गर्ने घोषणासँगै कोपमा उपस्थित प्रतिनिधि पनि थप उत्साहित भएका छन् । एनटिएनसीले एकीकृत संरक्षण र विकास कार्यक्रमबाट प्रकृति र जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्र्जा प्रवर्द्धन, जलवायु परिवर्तन, पर्यापर्यटन, जीविकोपार्जन, सांस्कृतिक सम्पदा संरक्षण, लैङ्गिक समावेशिता र दिगो विकासका क्षेत्रमा केन्द्रित रहेको पाण्डेको भनाइ छ ।

‘जसमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ । एनटिएनसीले संरक्षित क्षेत्र तथा सदर चिडिया खानाको व्यवस्थापनमा काम गर्दै आइरहेको छ,’ उनले भने ।

पाण्डेले आगामी दिनमा जलवायु अनुकूलनका योजना र प्रभावकारी कार्यान्वनमा जोड दिँदै जलवायुका मुद्दा सम्बोधनका लागि काम गरिने बताए ।

एनआइई के हो ?

राष्ट्रिय कार्यान्वयन एकाइ (एनआइई) जलवायु परिवर्तनसम्बन्धी अनुकलन कोषबाट वित्तीय सहयोग प्राप्त गर्ने, जलवायु अनुकूलनका विभिन्न योजना निर्माण गरी कार्यान्वयन गर्ने अधिकारप्राप्त निकाय हो । यसलाई कुनै पनि देशको सरकार, अर्धसरकारी निकाय वा गैरसरकारी सङ्गठनले प्रतिनिधित्व गर्नसक्ने प्रावधान रहेको छ ।

स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न प्रक्रियाहरू पूरा गरी एनआइई छनोट गरिन्छ । विदेशी मध्यस्थताबिना नै आफ्नो मुलुकका जलवायु परिवर्तनका कार्यक्रमको प्राथमिकता निर्धारण गर्न, क्षमताअनुसार योजना र परियोजनाहरू सञ्चालन गर्न सक्ने भन्दै एनआइई छनोट गरिन्छ ।

पाण्डेका अनुसार कोषको प्रभावकारी उपयोग गर्नुपर्ने, जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयनको अवस्थाबारे पारदर्शिता सुनिश्चित गर्दै सुशासन कायम गर्नुपर्ने र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्नेजस्ता छनोट भएका निकायहरूको दायित्व रहन्छ । तोकिएको लक्ष्य प्राप्तिका लागि आगामी दिनहरूमा अझै बढी एनटिएनसी सशक्त रूपमा लागि पर्ने उनको भनाइ छ ।

जलवायु अनुकूलनसम्बन्धी परियोजना तथा कार्यक्रमहरू राष्ट्रिय नीति र स्थानीय आवश्यकताअनुसार कार्यान्वयन गर्नका लागि सबै सरोकारवालाहरूसँग छलफल गरेर अगाडि बढ्ने पाण्डेले बताएका छन् ।

‘एनआइईको रूपमा छनोट भएका निकायले जलवायु अनुकूलनका परियोजनाहरूको कार्यान्वयनसँगै स्थानीय निकाय तथा समुदायको क्षमता अभिवृद्धिमा सहयोग बढाउने छ,’ उनले भने, ‘वन तथा वातावारण मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय प्राथमिकताका आधारमा जलवायु अनुकूलनका परियोजनाका योजनाहरू तयार गरी अनुकूलन कोषलाई प्रस्तुत गर्नु, परियोजनाहरूलाई सफलताका साथ कार्यान्वयन सुनिश्चित गर्दै निरन्तर अनुगमन र मूल्याङ्कन गर्नुजस्ता अब एनटिएनसीको दायित्व हुन आउँछ ।’

नेपालका लागि एकाइको महत्त्व

नेपालले पछिल्लो समय, बेमौसमी वर्षा, हिमपहिरो, बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाहरू सामना गरिरहेको सन्दर्भमा यस्ता घटनाहरू न्यूनीकरणका लागि अनुकूलन कार्यक्रमको आवश्यकता रहेको बताउँछन्, अनुकूलन कोषका बोर्ड सदस्य समेत रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्मा ।

‘नेपालका लागि जलवायु न्यूनीकरणका कार्यक्रमभन्दा जलवायु अनुकूलनका कार्यक्रम बढी आवश्यक छ, जलवायुजन्य विपद्ले सिर्जित गरेका घटनाहरू सम्बोधन गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन गर्न जलवायु अनुुकूलन कोषबाट बढीभन्दा बढी रकम ल्याउनु सक्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै एनटिएनसी अनुकूलन कोषबाट एनआइईमा छनोट हुनु नै नेपालका लागि राम्रो नतिजा हो । नेपालको पक्षमा अनुकूलन कोषबाट निकै महत्त्वपूर्ण निर्णय भएको छ ।’

बाढी, पहिरो, सुक्खा, हिमताल विस्फोटजस्ता जोखिम न्यूनीकरण गर्न प्रभावकारी परियोजना कार्यान्वयनका लागि अनुकूलन कोषमा सीधै पहुँच पुग्नु आवश्यक रहेको उनको भनाइ छ । स्थानीय तहमा जनशक्ति र स्रोत साधन परिचालन गर्दै समुदायलाई थप सक्षम बनाउने, अन्तर्राष्ट्रिय कोषको प्रभावकारी व्यवस्थापन गर्दै देशको विकासलाई जलवायु अनुकूल बनाउन सहयोग पुर्‍याउने भएकाले एनआइईको महत्त्व रहेको उनले बताए ।

अनुकूलन कोष र हरित जलवायु कोषमा नेपालको सोझै पहुँच पुग्नु नै महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन्छन्, जलवायुविद् मञ्जित ढकाल ।

‘अबदेखि अनुकूलन कोषमा पनि नेपालको सीधै पहुँच पुगेको छ । अनुकूलन कोषमा अहिले धेरै स्रोत छैन । तर कार्बन व्यापारबाट सङ्कलन भएको रकममध्ये पाँच प्रतिशत लेबीबाट यही अनुकूलन कोषमा जम्मा हुनेछ,’ उनले भने, ‘अब भविष्यमा अनुकूलन कोषको आकार बृहत् हुँदै जाने छ । कोप–२१ को पेरिस सम्झौताअन्तर्गत कार्बन व्यापारलाई कार्यान्वयनमा ल्याउनका बाँकी रहेका नियमहरू बनाएमा निरन्तर स्रोत आउने छ ।’

नेपालमा राष्ट्रिय कार्यान्वयन एकाइ स्थापना गरिँदा अनुुकूलनका योजना कार्यान्वयन गर्न जलवायु परिवर्तनका असरसँग लड्न, दिगो विकासका परियोजनाहरू अगाडि बढाउन र जनताको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान गर्न सकिने उनको भनाइ छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले यो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।

मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।

प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आसन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने बताए । उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बताए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए ।

चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ : मन्त्री यादव

काठमाडौँ, ४ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिर्वतन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीसँग सम्बन्धित जटिल समस्या उत्पन्न हुने बताउनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भए पनि वातावरणीय प्रभाव र चुरे दोहनका कारण पानीका मुहान सुक्न थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताउनुभयो । 

मन्त्री यादवले भन्नुभयो, “तराई मधेस क्षेत्रमा धमाधम चुरे दोहन गरिँदै छ, यसले गर्दा पानीका मुहान सुक्दै जान थालेका छन् । पानीको समस्या हुँदै आएको छ ।” उहाँले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचे वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गर्नुभयो । 

यसैगरी मन्त्री यादवले तराई मधेसमा पानीको सतह घट्दै जानु, चापाकलमा पानी सुक्नु र पहाडमा पानीका मुल सुक्दै जाने समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागि रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।” 

मन्त्री यादवले गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण देशभर खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेकाले खानेपानीका ती योजनालाई पुनःनिर्माण गरी जनतालाई शुद्ध खानेपानी खुवाउन चुनौती रहेको बताउनुभयो । “मान्छेका लागि पानी नभइ नहुँने चिज हो, गत असोजमा विपद् आइलाग्यो, थुपै्र खानेपानीका योजना ध्वस्त भए हामीसँग पानी, बाढीले क्षति गरेका आयोजना पुनःनिर्माण गर्ने बजेट थिएन,” उहाँले भन्नुभयो, “जेनतेन गरी विपद्का बेला जनतालाई पानी त खुवायौँ, अब दीर्घकालिन रूपमा कसरी पानी खुवाउने त्यो चिन्ताको विषय बनेको छ ।”

हिमालको शुद्ध पानी, जडिबुटी मिसिएको मेलम्चीको पानी काठमाडौँका नागरिकका लागि ल्याइएको भए पनि विभिन्न ठाउँमा पाइप फुटेका कारण उक्त पानीमा धमिलो पानी मिसिने भएकाले तत्काल मर्मत गर्नका लागि मन्त्री यादवले आग्रह गर्नुभयो ।

कार्यक्रममा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यले बाढीका कारण खानेपानीको क्षेत्रमा ठूलो क्षति भएको र संरचना पुनःनिर्माणका लागि आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले ठूलो क्षति गरेको छ, पुनःनिर्माणका लागि आवश्यक पहल भइरहेको छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले नागरिकलाई शुद्ध खानेपानीको आपूर्तिकका लागि विभाग विगतदेखि नै लागि रहेको र जनशक्ति अभाबका कारण आफूहरु केही खुम्चिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई शुद्ध पानी खुवाउनका लागि विभाग पूर्णरूपमा लागि रहेको छ, आर्थिक र जनशक्ति अभावमा केही खुम्चिनुपर्ने अवस्था रहेको छ, यद्धपि विभागको तर्फबाट गर्नुपर्ने पहल कदमी गाडि बढाइरहेका छौँ ।”

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौँ, ४ मङ्सिर : गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत्, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको बताएको हो ।

समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे अध्ययन गरेको थियो ।

अध्ययनमा निर्माण सम्पन्न भएका विभिन्न २७ वटा जलविद्युत् आयोजना, निर्माणाधीन १९ आयोजनामा रु ६ अर्ब बराबरको क्षति भएको पाइएको छ । यस्तै, प्रसारण र वितरण लाइनतर्फ करिब १६ करोड बराबरको क्षति भएको अध्ययन समितिका सदस्य–सचिव एवं मन्त्रालयका सिडिई शालिग्राम भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी, सङ्घीय सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु चार अर्ब ९८ करोड र बागमती प्रदेशतर्फ रु दुई अर्ब ४३ करोड, ग्रामीण विद्युतीकरणतर्फ रु २० करोड ७१ लाख बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले क्षतिको विवरण तयार पारी भविश्यमा यस्तो प्रकोपबाट क्षति हुनबाट रोक्न अबलम्बन गर्नुपर्ने उपाय तथा क्षतिग्रस्त आयोजनालाई प्रदान गर्नुपर्ने÷गर्न सकिने राहतका विषयसमेतमा सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री खड्काले निकै मेहनतका साथ तयार गरिएको उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले बाढी, पहिरो र डुवानका कारण क्षति भएका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र निजी क्षेत्रका जलविद्युत् आयोजनालगायत समग्र विद्युत् क्षेत्र तथा नदी नियन्त्रण र सिँचाइ आयोजनामा भएको क्षतिको मूल्याङ्कन गरी नेपाल सरकारले प्रदान गर्नसक्ने राहतका बारेमा प्रतिवेदन पेश गर्न ऊर्जा मन्त्रालयका सहसचिव जीवछ मण्डलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो ।

उक्त समितिको सदस्यमा विद्युत् विकास विभागका उपमहानिर्देशक सुनिल पौडेल, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक डा सन्तोष कैनी, नेपाल विद्युत् प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र सदस्य–सचिवमा शालिग्राम भण्डारी हुनुुुहुन्थ्यो । 

डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा मंगलबार दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

सहकारीको समस्या समाधान गर्न अध्ययन भइरहेको छः मन्त्री अधिकारी

काठमाडौँ, ४ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले अध्ययन गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)मा आज अन्तर्वार्ताको क्रममा मन्त्री अधिकारीले सहकारीमा धेरै समस्या देखिएपछि ‘सहकारी समस्या समाधान समिति’ नै बनाएर अध्ययन सुरु गरिएको बताउनुभएको हो ।

“सहकारीमा समस्या देखिएको छ, ती समस्या समाधान गर्न समिति नै बनाएर अध्ययनको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ऋण लगेकाहरूलाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ ।”

मन्त्री अधिकारीले निम्न आय भएका व्यक्तिहरूले थोरै–थोरै बचत गर्ने ठाउँ सहकारी भएकाले यसमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “पछिल्लो समय सहकारीप्रति अलि बढी नकारात्मक भ्रम फैलाउने प्रवृत्ति देखिएको छ, सहकारी सबै खराब पनि छैनन्”, मन्त्री अधिकारीले भन्नुभयो, “सहकारीले राम्रो काम गरेका उदाहरण पनि धेरै छन्, प्रभावकारी नियन्त्रण र नियमनमा कमजोरी देखिएको छ, सरकारी ऐन संशोधन गर्न पनि जरुरी छ । यी काम सरकारले गर्छ ।”

उहाँले मन्त्रालयले सूचना केन्द्रलाई अगाडि बढाउने, कोष खडा गर्ने, न्यायाधीकरण बनाउने र नियमन निकाय बनाउन जरूरी भएको उल्लेख गर्नुभयो । अगाडि भन्नुभयो, “संसदीय समितिको प्रतिवेदन आएपछि त्यहीअनुसार छलफल र अध्ययन भइरहेको छ, सहकारी ऐन संशोधन गरेर नियमनकारी निकाय बनाउने तयारी भइरहेको छ ।”

मन्त्री अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम अघि बढाएको समेत बताउनुभयो । “स्थानीय तहमा कति सहकारी आवश्यक छन्, त्यो अध्ययन भइरहेको छ । कुन स्थानमा सहकारी खोल्ने हो, कुन स्थानमा कति सहकारी जरूरी छ, यस विषय अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारीमा भएको हिनामिनाबारे छानबिन गरेर अध्ययन गर्दा २२ वटा सहकारी समस्याग्रस्त घोषणा भएका र तिनका बारेमा पनि आवश्यक अध्ययन अगाडि बढेको जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्‍याएको झोलुङ्गेपुलबाट जोखिम मोलेर पुल तर्दै विद्यार्थी

गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न आउँदै विद्यार्थी ।

कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी र पाकेको धानबाली भित्र्याउन किसान पनि यो पुलबाट दैनिक आवतजावत गर्न बाध्य छन् । तस्बिरः रमेश ढुंगेल /रासस

सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

गलकोट (बागलुङ), ४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताउनुभएको छ ।

हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उहाँले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताउनुभएको हो ।

मन्त्री पौडेलले जनशक्ति र उपकरणबिना भवनले सेवा दिन नसक्ने भन्नुहुँदै स्वास्थ्य सुविधा दिन सरकारले लगानी बढाउँदै लगेको बताउनुभयो । उहाँले तीन तहकै सरकारले स्वास्थ्य, शिक्षाजस्ता सेवामा लगानी गरेको र एउटा नागरिकले तीन तहबाटै सेवा पाउनु सङ्घीयताको सबल पक्ष रहेको धारणा राख्नुभयो । “हाल नागरिकले तीनै तहबाट स्वास्थ्य र शिक्षामा सुविधा पाउन थालेका छन् तर यो पर्याप्त छैन । स्रोत अभावले देखिएका समस्या पहिचान गर्दै अस्पताललाई वर्गीकरण गर्न सरकार लागेको छ । नेपालमा दुई हजार तीन सय चिकित्सक तत्कालै आवश्यक रहेका छन्, यस विषयमा पनि आवश्यक काम गर्दैछौँ”, मन्त्री पौडेलले भन्नुभयो ।

रु छ करोड १२ लाख लागतमा तिलक निर्माण सेवाले उक्त भवन निर्माण गरेको थियो । दुईतले भवनमा साना–ठूला गरी ५३ वटा कोठा रहेका छन् । बिहुँकोट स्वास्थ्यचौकी भवनलाई स्तरोन्नति गरी पाँच श्ययाको अस्पताल बनाइएको वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजु थापाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन आधारभूत अस्पताल बनाइएको र चिकित्सक राखेर सेवा दिने योजना रहेको बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजनाले उक्त भवन निर्माण गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु

भक्तपुर ।  भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु गरेको छ। अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो।

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए।

अस्पतालका निर्देशक डा चालिसेले भने, ‘सरकारको नीतिअनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक गत २ गतेदेखि यो सेवा सुरु गरेका छौँ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ।’

अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर बिरामीको चाप बढिरहँदा बालबालिकामा पनि विभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउँदै अहिले भक्तपुर क्यासर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको जानकारी दिए। उनले अस्पतालले मन्त्रालयको नीतिअनुसार नै सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको बताए।

बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो।

नेपालमा कूल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ। क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो।

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी, ४ मङ्सिरः भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो ।

म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताउनुभयो ।

गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो ।

यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो । आव २०७९÷८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हँुदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।

देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले दुईवटा शीर्षकमा रु एक करोड ३५ लाख, प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ३५ लाख विनियोजन गरेका छन् ।

सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

गण्डकी, ४ मङ्सिरः पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गर्नुभयो । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्र्छौँ ।”

पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् ।

शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो । आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ । मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उहाँको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ ।

अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् ।

आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

काठमाडौँ, ४ मङ्सिरः यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।

सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वाेच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।

यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक रहेको बताइएको छ । आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।

आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताउनुभयो । सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला

मुग्लिन (चितवन), ४ मङ्सिरः पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो ।

मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार आज रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । बुधबार बिहान ५ बजे सरकारी पूजासहित नियमित पूजापाठ सुरु हुने छभने बिहान १० बजे प्रसाद वितरण कार्यक्रम हुने उहाँले बताउनुभयो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।

केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हँुदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ ।

मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ । इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो । पछिल्लो समय मनकामना, इच्छाकामना, छिम्केश्वरी र त्रिवेणीलाई चारधामका रूपमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय अभियन्ता तथा जनप्रतिनिधिले जोड दिएका छन् ।

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा, ४ मङ्सिरः नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्वबजारमा पुर्याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यसअघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्डबाट बजार पुगिरहेको चर्चा गर्नुभयो ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताउनुभयो । विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताउनुभयो ।

युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ । उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिनुभयो ।

उहाँले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । खाडी मुलुकको युएई, कतार, साउदी अरबलगायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उहाँले बताउनुभयो ।

गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।

गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “इजरायली अधिकारीहरूले जनसङ्ख्याको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो कानुनी दायित्वलाई बेवास्ता गरिरहेका छन्।

ट्रकहरू गाजा पट्टीमा प्रवेश गर्ने वित्तिकै आवश्यक क्षेत्रमा वितरणका लागि पठाइने छ । शरणार्थीको बाँचन पाउने अधिकारका लागि कार्यरत निकायले जिम्मेवारीहरूलाई जारी राखिरहनेछ ।”

आटाको चरम अभावका कारण देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोगप्राप्त आठवटै भण्डार हप्तौंदेखि कम क्षमतामा सञ्चालन भइरहेको र धेरै पूर्ण रूपमा बन्द गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

“तत्काल हस्तक्षेप नगरेमा खाद्यान्नको गम्भीर अभाव अझ विकराल हुने निश्चित छ र यसले बाँच्नका लागि मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह

बाकु (अजरबैजान)-वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ पग्लने र समुन्द्र सतह बढ्नेजस्ता जलवायुजन्य समस्याहरू निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विषेश सल्लाकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटवार्तामा उहाँले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सबै सदस्य मुलुकहरू एकजुट भएर जलवायु सङ्कट समधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानको यस मार्गमा लाग्न प्रेरित गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । गत वर्षको गुटेरेसले गर्नुभएको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोगी भएको भन्दै उहाँले त्यसका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।

भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएको जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्‍याएको बताउनुभयो । “हिमालय पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्रसम्म सीमित हुँदैन । त्यसका असरहरू त्यहाँबाट धेरै पर, विशेषगरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्‍याइरहेको छ ।” नेपालजस्ता मुलुकका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण उहाँले उल्लेख गर्नुभयो ।

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी

जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।

बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ ।

प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०/७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।

क्रिकेटर पूजा महतोको शोभायात्राः बाबुले भने- पूजा देशकी छोरी भइन्, माया र आशिर्वाद दिनुहोला

महोत्तरी- यु–१९ नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतोको सोमबार पैत्रिक नगरमा शोभायात्रा निकालिएको छ । हालै यु–१९ अन्तर्गत टी–२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको उक्त टोलीकी कप्तान पूजाको जिल्लाको गौशाला नगरपालिका तथा स्थानीयले शोभायात्रा गराएका हुन् ।

गौशाला–९ की कप्तान पूजा, उहाँका पिता रञ्जित महतो, बाजेबज्यै र परिवारका अन्यसदस्यलाई सजाइएको सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो । पूजाको शोभायात्रामा गौशाला–२ घर भएका प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो, नगरप्रमुख डा दीपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि, स्थानीयबासिन्दालगायत सहभागी हुनुहुन्थ्यो । 

पूजाले आफ्नो ठाउँ, सिङ्गो मधेस मात्र नभई देशको पहिचान बढाउनुभएकाले शोभायात्रा गरिएको प्रतिनिधिसभाका सांसद महतोले बताउनुभयो । सयौँ नगरवासीको सहभागिता रहेको उक्त शोभायात्रा गौशाला नगरपालिकाका १२ वटै वडाबस्तीमा घुमाएर गौशाला–११ इमलीबजारमा समापन गरिएको हो । 

युएईमा सम्पन्न छनोट प्रतियोगिता जितेर शुक्रबार घर आइपुग्नुभएकी पूजालाई बधाई दिन र हौसला प्रदान गर्नेहरुको जमघटले हिजोआज उहाँको घर भरिभराउ हुन्छ । पूजालाई कुशवाहा कल्याण समाज महोत्तरीका प्रतिनिधिले घरमा पुगेर रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरिसकेका छन् । 

यसैगरी प्रत्येक दिन राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पूजालाई उच्च मनोबलका साथ विश्वकप खेल्न हौसला दिने गरेका छन् । उहाँलाई   भेटेर पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले सफलताप्रति बधाई ज्ञापन गर्नुभयो । 

आफ्नो टिमको सफलताप्रति सबै क्षेत्रबाट प्राप्त हौसला र चासोले आगामी खेलमा उत्कृष्टता देखाउन प्रेरणा मिलेको पूजाले बताउनुभयो । “युएईमा छनोट प्रतिस्पर्धामा सहभागी भइरहँदा सम्पूर्ण नेपालीले हामीलाई हेर्दैहुनुहुन्छ भन्ने विश्वास थियो । यही विश्वास र हौसलाले हामीलाई उत्कृष्ट खेल प्रदर्शन गर्न उत्साहित बनाएको हो”, उहाँले भन्नुभयो, “विश्वकपको उपाधि जित्नु अबको हाम्रो लक्ष्य हो ।” 

छनोट प्रतियोगिता जितेर गत बिहीबार टिमसहित स्वदेश फर्कनुभएकी पूजा आफ्नो घर नपुग्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना प्रतिनिधि पठाइ नेपालको विश्वकप प्रवेश सुनिश्चित भएको खुसी उहाँका परिवारजनमा पु¥याउनुभएको थियो । सो दिन नै उहाँको बस्ती डुमरवानामा साँझ दिपावली गरी खुसी मनाइएको थियो । 

शुक्रबार घर पुग्नुभएकी पूजालाई भेट्ने सबैले छनोट प्रतियोगिताको सफलताका लागि  बधाई ज्ञापन गर्दै आगामी खेलयात्रा अझ सशक्त बन्ने हौसला दिँदै आएका छन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गनैपर्ने दायित्वबोध भएको छ”, पूजा भन्नुहुन्छ,  “सबैको प्रेम र हौसलाले ऊर्जा थपेको छ, हाम्रो टिमले एशिया कप र विश्वकपमा राम्रो प्रदर्शन गर्नेछ ।”

युएईमा भएको यु–१९ अन्तर्गत टी–२० क्रिकेटको एसियाकप छनोट खेलमा कुवेत र युएईसँगको प्रतिस्पर्धामा नेपाली महिला टिमले उत्कृष्टता प्रदर्शन गर्दै छनोट खेलमा सफलता प्राप्त गरेको थियो । 

नेपाली क्रिकेट महिला टिमको यो सफलतामा आम रुपमा व्यक्त चासोले आफ्नी छोरीले देशका लागि केही गर्दैछन् भन्ने विश्वास जागेको उहाँका पिता रञ्जितले बताउनुभयो । “पूजा अब देशकी छोरी हुन्, यिनलाई तपाईंहरुको आर्शिवाद र माया सधैँ आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “यिनले देशको नाम विश्वसम्म परिचित गराउने विश्वास हामीले लिएका छौँ ।”

रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तानमा जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । माहिली छोरी पूजाको सफलताले कान्छी आरती र सबैभन्दा कान्छा छोरा कृष्ण पनि खेलप्रति थप उत्साहित र आशावादी भएका छन् ।

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति, स्थानीयलाई आवतजावतमा समस्या

रामेछाप (मन्थली), ४ मङ्सिरः गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।

सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पु¥याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताउनुभयो । 

बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उहाँको भनाइ छ । बाढीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्‍याफ्टिङ’ व्यवस्था गरेको छ ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । पुल बाढीले बगाएपछि तत्कालका लागि ¥याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रुपमा ¥याफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सुनकोसीमा आएको बाढीले झोलुङ्गे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन् । सोही पालिका–४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पु¥याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।  

खाँडादेवी गाउँपालिकाको कोथबे, पुछिघाट लुवु, डप्खालगायत स्थानका माझी समुदायले कोसी वारपार गर्न  र्‍याफ्टिङ बोर्डको माग गरेका छन् । गाउँपालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि र्‍याफ्टिङ बोर्ड उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

उहाँले तालिम प्राप्त र्‍याफ्टिङ चालको अनुमति लिएका चालकबाट ‘लाइफज्याकेट’ प्रयोग गरी स्थानीयलाई आवतजावतको सुविधा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । र्‍याफ्टिङले स्थानीयलाई स्वास्थ्योपचार सेवा लिन तथा कृषिकर्मका लागि कोसी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

मेची भन्सार कार्यालयबाट चिया निर्यात ६९ प्रतिशतले बढ्यो

भद्रपुर (झापा), ४ मङ्सिरः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ । 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु चार अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो । 

प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी

काठमाडौँ, ४ मङ्सिरः गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार÷चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी रु आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा रु ४६ करोड ७० लाख ९७ हजार सात सय ८० मात्रै भुक्तानी भएको छ । 

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको रु तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ । 

मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को रु छ करोड १६ लाख ९७ हजार पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ । मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको रु ४३ करोड दुई हजार एक सय ७७ बराबरको भुक्तानी भएको छ । 

पुशपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको रु २४ लाख ९२ हजार आठ सय ५४ मात्रै भुक्तानी भएको छ । बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए । त्यस्तै, सामुद्रिक बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, वाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ । 

आजदेखि मङ्सिर ११ गतेसम्म मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द

पर्वत, ४ मङ्सिरः उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उहाँले बताउनुभयो । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताउनुभयो । 

उक्त खण्ड अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३  नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । 

तेह्र किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो । 

तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । 

उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाट खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौँ, ४ मङ्सिर : नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । 

मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । 

यस्तो छ लिग चरणको खेल तालिका ?

मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ ।   यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । 

मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । 

मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । 

मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौँ गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । 

त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौँ गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । 

यस्तो छ, लिग चरणपछिको तालिका

लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । 

त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ ।  दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ ।   एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् । 

वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो

काठमाडौँ, ४ मङ्सिरः नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरु युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताउनुभयो ।

उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो

काठमाडौँ, ४ मङ्सिर : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।

विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ ।

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

काठमाडौँ, ४ मङ्सिरः गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।

सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।

विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो ।

विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन् ।

विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्कीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् ।

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको सोमबार बताउनुभएको छ ।

राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताउनुभएको थियो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गर्नुभएको छ । पोस्टमा भनिएको छ, “नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।”

पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गर्नुभएको छ ।

गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो ।

उहाँले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेटको घोषणा गर्नुभएको छ ।

गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उहाँले समर्थकहरूलाई भन्नुभएको थियो, “मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ ।”

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्। ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दाबी गर्नुभएको छ ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाउनुभएको थियो ।

ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिनुभएको छैन तर आफ्नो चुनावी अभियानको क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने वाचा गर्नुभएको थियो ।

मार्ग शीर्ष कृष्ण तृतीया : अबिर चढाएपछि सम्पन्न गरियो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

काठमाडौँ, ३ मङ्सिर : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा पशुपति क्षेत्र विकास कोष, अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा पनि गरिएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमाका चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा हर्षोल्लासपूर्वक चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो । 

मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगि पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्त्वकासाथ मनाइन्छ ।

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौँ, ३ मङ्सिर : नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब रु २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडिको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

निजलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

इयूले इरानमाथिको प्रतिबन्धलाई थप फराकिलो पार्ने

युरोपेली सङ्घ (इयू) ले युक्रेनविरुद्ध रूसको युद्धमा समर्थन गरेको भन्दै इरानमाथिको प्रतिबन्धलाई सोमबार थप फराकिलो बनाएको छ । तेहरानद्वारा जारी कदममा २७ राष्ट्रको समूह इयूले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (यूएभी) बनाउन प्रयोग हुने सामग्रीको इयूबाट इरानमा निर्यात, स्थानान्तरण, आपूर्ति वा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

उसले प्रतिबन्धित व्यक्ति र संस्थाहरूको ‘स्वामित्व, सञ्चालन वा नियन्त्रण’ र बन्दरगाहसँग कुनै पनि लेनदेनमा प्रतिबन्ध लगाएको छ । इरानले ड्रोन, मिसाइल, हतियार सम्बन्धित टेक्नोलोजीलाई सहयोगी समूहमार्फत् रूसलाई आपूर्ति गर्ने गरेको आरोप इयूको छ । “यो प्रतिबन्धले अमिराबाद र अन्जालीजस्ता बन्दरगाह तथा जल यातायात मार्ग र स्टेसनमा पहुँच र सेवाहरूको प्रावधानलाई अवरूद्ध गर्नेछ,” ब्रसेल्समा इयू समूह राष्ट्रका विदेश मन्त्रीहरूको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै इयूले जानकारी गराएको छ । क्यास्पियन सागरमा रहेका दुई इरानी बन्दरगाह अमिराबाद र अन्जाली हुन् । इयूले प्रतिबन्धलाई खुकुलो पार्न सकिने अवस्थाका बारेमा भनेको छ, “सामुद्रिक सुरक्षाको कारणले गर्दा केही निश्चित परिस्थितिमा आवश्यक पर्ने जहाजहरूलाई अझै पनि सहायता प्रदान गर्न सकिन्छ।” समूहले इरानको सरकारी सामुदिूक ढुवानी कम्पनी आइआरआईएसएलका निर्देशक मोहम्मद रेजा खियाबानी र क्यास्पियन सागरमा हतियार ओसारपसार गरेको आरोप लागेका तीन रूसी पानीजहाज कम्पनीविरुद्ध पनि प्रतिबन्धात्मक कदम चालेको छ ।

ब्रसेल्सले यसअघि नै रूसको युद्धमा सहयोग गरेको आरोप लागेका प्रमुख इरानी अधिकारी र एयरलाइन्सलगायत संस्थामाथि प्रतिबन्ध लगाएको थियो । तेहरानले भने किएभविरुद्ध प्रयोग गर्न मस्कोमा क्षेप्यास्त्र वा ड्रोन स्थानान्तरण गरेको भन्ने पश्चिमाहरूको आरोपलाई अस्वीकार गर्दै आएको छ। इयूले नयाँ प्रतिबन्धको घोषणा गर्नुअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले आफ्नो पानीजहाज मार्गलाई निशाना बनाउन इयूले ‘बहाना’ को प्रयोग गरिरहेको बताउनु भएको थियो । “यस्तो व्यवहारको कुनै कानुनी, तार्किक वा नैतिक आधार छैन।

यसले केवल इरानको जलमार्गलाई जसरी पनि रोक्न खोजेको कुरालाई प्रष्ट पार्छ,” अरागचीले एक्समा लेख्नुभएको छ । “आवागमनको स्वतन्त्रता समुद्री कानूनको आधारभूत सिद्धान्त हो । कसैले छानेर यस्तो प्रतिबन्ध लगाउनु अदूरदर्शिता हुनेछ।” सन् २०१८ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौताबाट वासिङ्टन एकतर्फी रुपमा पछि हटेपछि इरानमा व्यापक अमेरिकी प्रतिबन्धहरू लगाइएको छ । सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले तेहरानले कसरी जवाफ दिने भन्नेबारे छिट्टै निर्णय गर्ने बताउनुभएको थियो ।

जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने

जर्मनीले सोमबार युक्रेनलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्देशित चार हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ । रूसको आक्रमणविरुद्धको लडाइँमा युक्रेनलाई दोस्रो धेरै सैन्य सहायता प्रदान गर्ने मुलुक जर्मनी हो । रक्षामन्त्री बोरिस पिस्टोरियसले बाभेरियामा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उपलब्ध गराइएका ड्रोनहरू ‘एआईद्वारा निर्देशित र समर्थित’ भएको र यसले शत्रुको इलेक्ट्रोनिक ड्रोन प्रतिरक्षालाई बाहिर निकाल्न सक्ने बताउनु भएको छ । पिस्टोरियसले भन्नुभयो, “ड्रोनहरू ‘धेरै छिटो पठाउन सकिन्छ’ र करिब ३० देखि ४० किलोमिटर टाढाबाट लडाकू पोस्ट, रसद केन्द्र र अन्य लक्ष्यहरूमा प्रहार गर्न सकिन्छ । बर्लिनले गत जुनमा युक्रेनलाई ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो तर त्यसबारे विस्तृत जानकारी दिएको थिएन ।

जर्मनीका सञ्चारमाध्यमले मानवरहित हवाई वाहनहरूलाई ‘मिनी–टाउरस’ उपनाम दिएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता नताली जेनिङले सोमबार सरकारी पत्रकार सम्मेलनमा भन्नुभयो, “यी सीमित दायरामा मार हान्ने रणनीतिक ड्रोन हुन् ।” रूस र पश्चिमलाई थप प्रत्यक्ष द्वन्द्वमा तान्न सक्ने डरले ‘सोसल डेमोक्र्याट पार्टीबाट चान्सलर बन्नुभएका ओलाफ स्कोल्जको नेतृत्वमा रहेको वर्तमान सरकारले युक्रेनलाई ‘टाउरस’ प्रणाली प्रदान गर्न अस्वीकार गरेको थियो । रूससँगको लडाईँमा बल पु¥याउनका लागि ५०० किलोमिटर (३१० माइल) भन्दा बढी दूरीको क्षेप्यास्त्रका लागि किएभले पटक–पटक गरेको आग्रह निरर्थक भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार युक्रेनलाई रूसभित्रका लक्ष्यमा प्रहार गर्न लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेपनि सरकारले सोमबार आफ्नो अडानमा कुनै परिवर्तन नआएको बताएको छ । हालैका हप्ताहरूमा रूसी सेनाले तीव्र प्रगति हासिल गरेको र मस्कोले उत्तर कोरियाली सेनालाई आफ्नो युद्ध प्रयासमा सहयोग पुर्याउने निर्णयको बावजुद स्कोल्जले निरन्तर संयमताका लागि लामो दूरीको हतियार प्रयोगका लागि अनुमति दिन आनाकानी गरिरहनुभएको थियो । चान्सलरको आफ्नै सरकारका केही सदस्यले उहाँको अडानप्रति विरोधसमेत जनाएका छन् ।

आगामी फेब्रुअरीमा हुने मध्यावधि आमनिर्वाचनमा ग्रिन पार्टीको नेतृत्व गर्ने भाइस चान्सलर तथा अर्थतन्त्रमन्त्री रोबर्ट हेबेकले आफू चान्सलर भएको खण्डमा युक्रेनलाई ‘टाउरस’ प्रणाली हस्तान्तरण गर्ने बताउनुभएको छ । प्रमुख विपक्षी दल कन्जरभेटिभ क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले पनि किएभमा क्षेप्यास्त्र पठाउने पक्षमा रहेको बताएको छ ।

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष

काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक सोमबार सम्पन्न भएको छ।  बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म काठमाडौँमा चलेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो।

गत शनिबार सुरु भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेण्डामा छलफलपछि संयुक्त हस्ताक्षर गरेका छन्।

संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्यका गर्ने विषय समावेश छन्।

बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिए।

उनका अनुसार नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको बैठकले सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा पनि संयुक्त हस्ताक्षर भएको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्रका महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो। भारतका सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थियो।

बैठकमा भारतीय पक्षले तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको धारणा प्रस्तुत गरेका थिए। यस्तै भारतले तेस्रो मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी भइरहेकाले त्यसको नियन्त्रणमा सहकार्य जरुरी भएको औँल्याएको छ।

उक्त बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुँदै आएको थियो। अब भने हरेक छ, छ महिनामा पालैपालो बैठक बस्ने प्रस्तावसमेत पारित भएको छ। सीमा सुरक्षा अधिकारी र जिल्ला जिल्लाका अधिकारीको बैठक नियमितरुपमा बस्ने विषयमा पनि दुवै पक्ष सहमत भएको जनाइएको छ।