`

चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

बागमती, ३० कात्तिकः चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उहाँलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ ।

आइएइए प्रमुखद्वारा इरानका संवेदनशील आणविक संयन्त्रहरूको भ्रमण

तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको बताएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखले शुक्रबार पश्चिमी चिन्ताको केन्द्रविन्दु बनेका दुईवटा इरानी युरेनियम संवर्धन संयन्त्रको भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमलाई लिएर ‘व्यवहारको सीमा सङ्कुचित हुन थालेको’ चेतावनी दिएपछि इरानको भ्रमण गर्नुभएको हो ।

ग्रोसीले शुक्रबार मध्य इरानमा नातान्ज र फोर्डो संवर्धन संयन्त्रहरूको भ्रमण गर्नुभएको आधिकारिक आइआरएनए (इर्ना) समाचार एजेन्सीले जनाएको छ ।

उहाँसँग इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरोज कमलभान्डी पनि हुनुभएको इर्नाले पोस्ट गरेको तस्बिरले देखाएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा बढेको छ । यद्यपि उहाँका टेक अर्बपति सहयोगी एलोन मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतलाई भेट्नुभएको न्युयोर्क टाइम्सले बिहीबार रिपोर्ट गरेको थियो ।

ट्रम्पको सङ्क्रमण टोली र संयुक्त राष्ट्रसङ्घका लागि इरानको मिसन दुवैले राजदूत सईद इरवानीसँगको भेटको पुष्टि गरेका छैनन् । इरानी मिसनले कुनै टिप्पणी नगरेको बताएको छ ।

ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा तेहरान र प्रमुख शक्तिहरूबीचको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौता त्याग्दै ‘अधिकतम दबाब’ को नीतिमा आर्थिक प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो ।जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।आइएइएका अनुसार ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने इरान एक मात्र गैर–आणविक हतियार मुलुक हो ।

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ, ३० कात्तिक : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौँ, ३० कात्तिक : नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने कोशी र गण्डकी प्रदेशका उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ को वडाध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका-६ को वडाध्यक्ष पदमा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरी जिल्ला गढी गाउँपालिका- ६ को वडाध्यक्ष पदमा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई, ओखलढुङ्गा मोलुङ गाउँपालिका-५ को वडाध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा सञ्जीव काफ्ले र बेलका नगरपालिका-९ को वडाध्यक्ष पदमा नवराज बस्नेतलाई सर्वसम्मत चयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष पदमा भाइकाजी आलेलाई सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको मैदानमा सामेल हुन कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी

काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उहाँले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई सामना गर्दै विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने दायित्वबाट कहिल्यै बिमुख नहुन आग्रह गर्नुभयो । “विगतमा कमजोर व्यवस्थापनका कारण समस्यामा परेका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाएर उल्लेखनीय प्रगति हासिल गर्ने बैंकको रूपमा स्थापित भएको छ । यो बैंक धेरै दुःख गरेर ‘रिकभर’ भएको बैंक हो । राज्य र नियामकले ठूलो लगानी र जोखिम मोलेर बाह्य ऋणसमेत लिएर बैंकको रिकभर गरेको हो । त्यसैले जुन किसिमका नीति नियमन, निर्देशिका बने त्यसको प्रभावकारी कार्यान्यवनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरे । फेरि ‘मिस म्यानेजमेन्ट’का कुरा सुनिन थालेका छन् । त्यस्तो अवस्था आउन नदिन म बोर्ड र उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउन चाहन्छु”, गभर्नर अधिकारीले भन्नुभयो ।

नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पु्र्याउनुका साथै बैंकिङमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न बैंकको अग्रणी भूमिका रहेको उहाँको भनाइ थियो ।

बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी प्रतिस्पर्धी, प्रविधिमैत्री, सुरक्षित र विश्वसनीय बनाउँदै बैंकको संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित भई सहकारिता र साझेदारिताको अनुपम उदाहरण बनेको बताउनुभयो । उहाँले नेपाल बैंकले राष्ट्रिय अर्थतन्त्रका सम्पूर्ण पक्षलाई मुलुकको विकास र समृद्धितर्फ दिशानिर्देश गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराउने र नेपाली मुद्रा चलनचल्तीमा ल्याउने आधार तयार पार्न भूमिका खेलेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा बैंकमा २५ वर्ष र २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक दिनाका साथै उत्कृष्ट १० शाखालाई सम्मान गरिएको थियो ।

नेपाल बैंक लिमिटेड, नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा विसं १९९४ कात्तिक ३० गते स्थापना भई मुलुकमा संस्थागत बैंकिङ सुुरुआत गर्ने अग्रणी संस्था हो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा रु आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले रु १४ दशमलव ६९ अर्ब छ । बैंकको जगेडा कोषमा रु २२ दशमलव ६९ अर्ब रहेको छभने रु ३७ अर्ब बढी नेटवर्थ रहेको त्यस अवसरमा जानकारी दिइयो ।

हाल बैंकले दुई सय २९ शाखासँगै दुई सय पाँच वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ । विसं २०८० असार मसान्तसम्म दुई सय ८३ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । तीन हजारभन्दा बढी कर्मचारी रहेको बैंकको २५ लाख हाराहारी ग्राहक रहेको जनाइएको छ ।

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।

आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो । “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ¬्घर्षरत रहेको बताउनुभयो । आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत (समाजवादी)का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो ।

अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ

काठमाडौँ, ३० कात्तिकः नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सहयोगमा बिहीबार पक्राउ गरिएको हो ।”

पक्राउ परेका निजउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण

काठमाडौँ, ३० कात्तिकः डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताउनुभयो । कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिनुभएको थियो । प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगीसिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिस्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो ।

जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही

बाकु (अजरबैजान), ३० कात्तिकः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले उक्त सङ्गठनमा सामेल हुने र यसको सामूहिक प्रयासहरूमा योगदान गर्ने सम्भावित लाभका बारेमा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुहुँदै कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय सङ्लग्नतामा नेपालले स्थापित प्रक्रियाहरू पालना गर्ने र सम्बन्धित मन्त्रालयबाट आवश्यक अनुमोदन खोज्ने उल्लेख गर्नुभयो । “हामी संयुक्त अरब इमिरेट्स र डब्ल्युजीइओसँँगको सहकार्यका सम्भावित क्षेत्रहरू विशेषगरी नवीकरणीय ऊर्जा, दिगो कृषि र जलवायु वित्तको क्षेत्रमा प्राविधिक तथा वित्त सहयोग, ज्ञान, सीप तथा हरित वित्तका टुल्स हस्तान्तरण तथा क्षमता अभिवृद्धिलगायतका कार्यहरू अन्वेषण गर्न उत्सुक छौँ”, मन्त्री शाहीले भन्नुभयो ।

यस सहकार्यले नेपालका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण प्रगति हासिल गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालगायत उपस्थित हुनुहुन्थ्यो ।

गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह

हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् ।

“यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायलाई मान्य हुन्छ भने हमास गाजा पट्टीमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भन्नुभयो, “विस्थापित मानिसहरूको फिर्ती, कैदीहरूको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको पहुँच दिने गरी गाजा पट्टीबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्ताहरूलाई जानकारी दिएको छ ।” 

उक्त माग गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि सुरु भएको युद्धविराम वार्ताहरूमा तोकिएका बुँदाहरू हुन् ।

चुनावी प्रचार अभियानमा ट्रम्पले मध्यपूर्वमा शान्तिको वाचा गर्नुभएको थियो र इजरायललाई अझ स्वतन्त्रता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

हमास र इजरायलले वार्तामा ‘गम्भीरता’ नदेखाएसम्म गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि प्रमुख मध्यस्थकर्ताका रूपमा आफ्नो भूमिका निलम्बन गरेको कतारले शनिबार बताएपछि नइमको टिप्पणी आएको हो ।

सन् २०१२ देखि अमेरिकी आशीर्वादमा हमासको राजनीतिक नेतृत्वलाई आफ्नो भूमिमा आश्रय दिएको कतारले गत अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणले सुरु गरेको युद्ध अन्त्य गर्ने लक्ष्यका लागि महिनौँदेखि लम्बिएको कूटनीतिक प्रयासबाटा पछि हट्ने घोषणा गरेको थियो ।

इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु भएको छ । तीमध्ये धेरै सर्वसाधारण थिए ।

रक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण

काठमाडौँ, ३० कात्तिकः रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्ला नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ ।

त्यस क्रममा उहाँले गुल्मको कार्य, जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा उहाँले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष र अन्य सुरक्षा निकायका पदाधिकारीसँग त्यस क्षेत्रका गतिविधि र समस्याबारे केन्द्रित रही अन्तक्र्रियासमेत गर्नुभएको जनाइएको छ ।

परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जनजागरणसभा : महासचिव पोखरेल

काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समाजमा देखिएको अराजकतालाई निरुत्साहित गर्ने कर्तव्य प्रमुख राजनीतिक दलको रहेकाले सभाको आयोजना गर्न थालिएको बताउनुभयो ।

महासचिव पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको र त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । “जनता असन्तुष्ट छन् भन्ने खालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ, त्यो हिसाबले हामीले जागरणसभा गर्दैछौँ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिने परम्परा विश्वव्यापी नै रहेको उल्लेख गर्नुभयो । “छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयंले भाषण गरेर हिँडदै गरेको देखिन्छ । सत्तापक्ष भनेको जनताका बीचमा जानै हुँदैन भन्ने होइन”, उहाँले भन्नुभयो, “सत्तापक्ष पनि जनताका बीचमा जान्छ, आफ्नो दृष्टिकोण स्पष्ट पार्दछ । भ्रमहरूलाई चिर्दछ । जनतालाई आवश्वस्त बनाउँछ । निराशालाई आशामा बदल्छ ।”

महासचिव पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि संयन्त्र बनाएको धारणा राख्नुभयो । “संयन्त्रले साझा धारणा बनाउने र सरकारलाई सुझाव प्रस्तुत गर्ने काम गर्छ । यसले सरकारको काममा हस्तक्षेप गर्ने होइन । सरकारको कामका लागि संयन्त्रले सहजीकरण र समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो”, उहाँले भन्नुभयो ।

अहिले मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको महासचिव पोखरेलको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “सरकारमा रहेका राजनीतिक दलको सामूहिक प्रतिबद्धता र प्रमुख राजनीतिक दलले राजनीतिक स्थायित्व खोज्ने जुन सङ्कल्प गरेका छन् त्यसले पनि मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको छ । अन्योलताको अवस्था एक हदसम्म अन्त्य भएको छ ।”

पत्रकार सम्मेलनमा बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकाले जनजागरणसभाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सभाका लागि बिहान ११ः३० बजे भद्रकालीबाट सुरु भई र्याली न्युरोड–रत्नपार्क–बागबजार–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी सभाआयोजना हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताविरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नका लागि जनजागरणसभा आयोजना गर्न थालिएको बताउनुभयो । उहाँले सभाले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्नेसमेत बताउनुभयो । एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको मुख्य आयोजनामा यही मङ्सिर ७ गते जनजागरणसभा हुँदैछ ।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् ।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राणाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।

परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।’

उनले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताइन् ।

अर्को प्रसङ्गमा राणाले ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन् । उनले भनिन्, ‘देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरुको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।’

परराष्ट्रमन्त्री राणा आफ्नो गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै शुक्रबार डडेलधुरातर्फ गएकी छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन् ।

गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा चलचित्र बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् । निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

झाँक्री प्रकाश भुजेलसँग पिडित पक्षले १ करोड माग गर्यो

दुई दिनअघि झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका नारायण नगरकोटीको शव उठ्न सकेको छैन् । बुधवार शंकरापुर( ९, इन्द्रायणीमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनहरा( २ आलापोटका ३८ वर्षीय नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा घाइते भएकी उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटीलाई सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तरयता मृतक परिवारसँग आर्थिक लेनदेनको कुरा नमिल्दा शव उठ्न नसकेको बताइएको छ । प्रहरीले मृतकको परिवारसँग शव बुझ्नका लागि आग्रह गर्दा चालक भुजेलले मृतक र घाइतेलाई ‘यथोचित’ क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । भुजेलले १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिन चाहेका छन् । तर, मृतकको परिवारले १ करोड माग गरेपछि शब उठ्न सकेको छैन् । ‘पीडित ९मृतक० पक्ष प्रतिव्यक्ति ५० लाखभन्दा घट्न मञ्जुर भएको छैन् ।

भेन्टिलेटरबाट दिइएको कृत्रिम श्वासप्रश्वासका कारणमात्र पत्नी सानुमाया जीवित रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ ।सवारी तथा यातायात ऐन २०४९ अन्तर्गत चल्ने सवारी ज्यान मुद्दामा मृतकका परिवारलाई पाँच लाख ५० हजार रुपैयाँसम्म जरिवाना दिनुपर्ने व्यवस्था छ । ऐनअनुसार घाइतेको सबै उपचार खर्च व्यहोर्नुपर्छ ।‘कुन दफाअन्तर्गत भुजेललाई मुद्दा चलाउने भन्ने कुरा उपलब्ध प्रमाणहरुको अध्ययनपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ रहेको छ । नारायण नगरकोटी पूर्वमाओवादी लडाकु हुन् । नगरकोटी दम्पत्तिका १४ र ६ वर्षिया दुई छोरी छन् ।

यदि लापरवाह तरिकाले सवारी साधन चलाएको पाइएमा उपदफा २ आकर्षित हुन्छ, जसअन्तर्गत बढीमा १० वर्षसम्मको कैद सजाय तोकिएको छ । यदि नियतवस दुर्घटना गराइएको भन्ने कुरा कुनै प्रमाणले खुलेमा दफा १६१ को उपदफा १ आकर्षित हुने व्यवस्था छ । त्यसअन्तर्गत बढीमा २० वर्षसम्म कैद सजाय तोकिएको छ ।

कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

बाकु (अजरबैजान), ३० कात्तिकः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ ।

वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो ।

सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँ बिहीबार नै स्वदेश प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहनुुभएको छ ।

मन्त्री शाही र वनसचिव डा दीपककुमार खरालले आज सम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराउनुभएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउनुहुँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिनुहुँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गर्नुभयो । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्नुहुँदै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराउनुभयो ।

कोप–२९ मा ७३ हजारको सहभागिता

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ । सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो । त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन् ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनफसिसिसीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रको आयोजना गरिएको थियोे ।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौँ, ३० कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन्भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

शान्तिश्री र नेत्रको ‘आधा मुटु’मा गरिमा र सुशान्तको बेजोड अभिनय

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी गीतले एक जोडीकामे प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ ।

शान्तिश्री परियार र नेत्र भण्डारीको स्वर रहेको आधुनिक फ्लेवरको गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ । रिजन नेपालको युट्युब च्यानलकाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् ।

म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा सुजन कोइरालाको भिइ, सिजी, जीएफएक्स र भिएफएक्स रहेको छ ।

तटमा फसेको ‘किलर ह्वेल’को उद्धार

रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ ।
छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरूले यसलाई ट्रकद्वारा नजिकैको नदीमा लगेर छोडेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रूसी समाचार संस्था आरआईए नोभोस्तीले जनाएको छ ।

अक्टोबरमा बच्चासहित ह्वेल परिवारको रिहाइपछि हालैका हप्ताहरूमा यस क्षेत्रमा भएको यो दोस्रो किलर ह्वेल उद्धार अभियान हो ।

क्षेत्रीय विपत् व्यवस्थापनमन्त्री सर्गेई लेभेदेभले आपतकालीन अवस्थामा उपलब्ध सहयोगका लागि ‘स्वयंसेवक, उद्धारकर्ता र सोबोलेव्स्की जिल्लाका बासिन्दा’हरूप्रति गहिरो कृतज्ञता व्यक्त गरेको आरआईए नोभोस्तीले जनाएको छ ।

छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरूले यसलाई ट्रकद्वारा नजिकैको नदीमा लगेर छोडेको जनाइएको छ ।

अक्टोबरमा बच्चासहित ह्वेल परिवारको रिहाइपछि हालैका हप्ताहरूमा यस क्षेत्रमा भएको यो दोस्रो किलर ह्वेल उद्धार अभियान हो ।

चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि

हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ । अन्वेषकहरूले चीनको चाङ्ग’ई–६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण गरेका थिए । यो थोरै अन्वेषण गरिएको टाढाको छेउबाट चट्टान र माटो लिएर फर्केको पहिलो अन्तरिक्ष यान हो ।

दुई अलग–अलग टोलीले लगभग दुई अर्ब ८० करोड वर्ष पुराना ज्वालामुखीय चट्टानका टुक्राहरू फेला पारेका थिए । एउटा टुक्रा अझै पुरानो थियो । यसको उमेर चार अर्ब २० करोड वर्ष थियो । “यस क्षेत्रबाट नमूना प्राप्त गर्न साँच्चै महत्त्वपूर्ण छ किनकि यो त्यस्तो क्षेत्र हो जसको बारेमा हामीसँग कुनै तथ्याङ्क छैन”, अनुसन्धानमा संलग्न नभएका एरिजोना विश्वविद्यालयका ग्रहीय ज्वालामुखी विशेषज्ञ क्रिस्टोफर ह्यामिल्टनले भन्नुभयो ।

पृथ्वीबाट देखिने चन्द्रमाको नजिकको भागमा यस्तै समय अवधिमा सक्रिय ज्वालामुखीहरू थिए भन्ने वैज्ञानिकहरूलाई थाहा छ । नासाको लुनार रेकोनेसेन्स अर्बिटर लगायतका पूर्व अध्ययनहरूले टाढाको भागमा पनि ज्वालामुखीय इतिहास हुनसक्ने सङ्केत गरेका थिए ।

पृथ्वीबाट टाढा रहेको त्यस क्षेत्रबाट लिइएका पहिलो नमूनाहरूले सक्रिय इतिहासको पुष्टि गर्दछन् । यी नतिजाहरू शुक्रबार नेचर एन्ड साइन्स जर्नलमा प्रकाशित भएका थिए । चीनले चन्द्रमामा धेरै अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । सन् २०२० मा चाङ्ग’ई–५ अन्तरिक्ष यानले नजिकको भागबाट चन्द्रमाका चट्टानहरू फिर्ता ल्याएको थियो ।

यो नासाका अपोलो अन्तरिक्षयात्री र सोभियत सङ्घका अन्तरिक्षयानले सन् १९७० को दशकमा सङ्कलन गरेपछिको पहिलो थियो । चाङ्ग’ई–४ अन्तरिक्षयान सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा पुग्ने पहिलो यान बनेको थियो । चन्द्रमाको टाढाको भाग क्रेटरहरूले भरिएको छ र नजिकैको समतल, अँध्यारो मैदानहरू लाभा प्रवाहद्वारा कुँदिएका छन् । अध्ययनका सह–लेखक चिनियाँ एकेडेमी अफ साइन्सेसका क्यु–ली लीका अनुसार यी दुई भाग किन यति फरक छन् भन्ने कुरा अझै रहस्य नै छ ।

लीका अनुसार नयाँ खोजहरूले चन्द्रमाको टाढाको भागमा एक अर्ब वर्षभन्दा बढी समयसम्म भएका ज्वालामुखी विस्फोटहरूको जानकारी दिन्छन् । भविष्यको अनुसन्धानले यो गतिविधि कसरी यति लामो समयसम्म टिक्यो भन्ने कुरा निर्धारण गर्नेछ ।

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : अध्यक्ष डा राउत

झापा, ३० कात्तिकः जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताउनुभएको छ । उहाँले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाउनुभयो ।

यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताउनुभयो । अध्यक्ष डा राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिनुभयो । सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ ।

झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो । निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौँ, ३० कात्तिकः आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आगामी मङ्सिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यसैबीच आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आयोगको आजको निर्णयानुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, ३० कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र जर्मनबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले जर्मनीले नेपालको आर्थिक विकासका लागि गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चिलिमे–त्रिशूली प्रसारण लाइन, लेखनाथ–दमौली प्रसारण लाइन, सौर्य ऊर्जा प्रवर्द्धनजस्ता परियोजनामा जर्मन सरकारले गरेको योगदानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्न, क्षेत्रीय सहयोगलाई बढावा दिन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई प्रवर्द्धन गर्न जर्मन सरकारले सहयोग गरेका परियोजनाबाट निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । ऊर्जामन्त्री खड्काले भर्खरै सम्पन्न भएको आर्थिक तथा प्राविधिक सहयोग सम्झौतामार्फत नेपालमा जर्मनीले गरेको कुल ५६ मिलियन युरो बराबरको प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो ।

भेटमा नेपालका लागि जर्मनीका राजदूत डा प्रिन्जले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक प्रसारण लाइन र सौर्य ऊर्जाको विकासका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभएको थियो । उहाँले नेपाली जनताको जीवनस्तर उकास्नका लागि जर्मन सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा मन्त्री खड्कासँगै ऊर्जासचिव आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठ, मन्त्रीका निजी सचिव मनोज पन्थलगायतको सहभागिता थियो ।

कोप–२९ मा सहभागी भई फर्किए राष्ट्रपति

काठमाडौँ, ३० कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गर्नुभयो ।

राष्ट्रपतिको स्वागतका लागि मन्त्री,सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानगारतबाट सम्मान गरेको थियो ।

राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल पनि स्वदेश फर्कनुभएको छ ।

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती, ३० कात्तिकः प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छभने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

ठूला दलसँगै नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् । पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताउनुभयो । एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ ।

बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा

बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो ।

सरकारले जलवायु परिवर्तनको सामना गर्न ‘महत्त्वपूर्ण कदम’ भन्दै ‘सकेसम्म चाँडो’ नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने घोषणा गर्यो ।

यो घोषणा बेलायतको अन्तिम कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर अक्टोबरमा बन्द भएपछि आएको हो । यसले बेलायतलाई बिजुलीका लागि जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने पहिलो जी७ देश बनाएको छ ।

सेप्टेम्बरमा एउटा ऐतिहासिक फैसलामा बेलायती अदालतले अघिल्लो कन्जर्भेटिभ सरकारले ह्वाइटहेभन, कुम्ब्रियामा एउटा परियोजनालाई दिएको अनुमति खारेज गरेको थियो । यो ३० वर्षका लागि देशको पहिलो नयाँ कोइला खानी बन्ने तय गरिएको थियो ।

यसले स्टिल बनाउनका लागि मात्र प्रयोग हुने मिथाइलिक कोइला उत्खनन गर्ने थियो ।

ऊर्जामन्त्री माइकल स्याङ्क्सले विज्ञप्तिमा भन्नुभयो, “कोइला ऊर्जालाई विगतमा पठाउनाले स्वच्छ, सुरक्षित ऊर्जा प्रणालीका लागि मार्ग प्रशस्त गर्नेछ, यसले बिल भुक्तानी गर्नेहरूलाई जोगाउनेछ र दक्ष कामदारहरूको नयाँ पुस्ता सिर्जना गर्नेछ ।”

सन् २०१२ मा बेलायतको बिजुली आपूर्तिको करिब ४० प्रतिशत उत्पादन गर्ने कोइला आज शून्य प्रतिशतमा पुगेको सरकारले विज्ञप्तिमा बताएको छ ।

लेबरले जुलाईको आम चुनावमा बेलायतको जलवायु परिवर्तन प्रतिबद्धताहरू पूरा गर्न तयार भएका नीतिहरूमा बढी महत्त्वाकांक्षी हुने वाचा गर्दै सन् २०३० सम्ममा बिजुली ग्रिडलाई डिकार्बोनाइज गर्ने वाचा गरेको थियो ।

अजरबैजानको बाकुमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन शिखर सम्मेलनमा भाग लिँदै प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको घोषणा गर्नुभएको थियो ।

लेबर सरकारले नयाँ तटवर्ती पवन परियोजनाहरूमा प्रभावकारी टोरी प्रतिबन्ध पनि समाप्त गरेको छ र उत्तरी सागरमा नयाँ तेल र ग्याँस अन्वेषण इजाजतपत्रहरू समाप्त गरेको छ ।

इरान संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखसँग ‘अस्पष्टताहरू’ समाधान गर्न इच्छुक

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बिहीबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको कार्यालयमा आउनुभन्दा पहिले आफ्नो आणविक कार्यक्रमबारेमा शङ्का समाधान गर्न इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रपति पेजेस्कियानले इरान भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घीय आणविक वाचडगका प्रमुख राफेल ग्रोसीलाई सो कुरा बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख ग्रोसीले गाजामा हमास र लेबनानमा हिजबुल्लाह विरुद्धको इजरायलको युद्धले पहिले नै भड्काएको क्षेत्रमा नयाँ द्वन्द्वबाट बच्न इरानसँगको आणविक वार्तामा ‘परिणाम’ प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँको भ्रमण इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका आणविक सुविधाहरूमा आक्रमण गर्ने ‘अवसर’ दिइएको भनेको केही दिनपछि भएको हो ।

“हामीले बारम्बार हाम्रो सद्भावना प्रमाणित गरिसकेका छौँ, हामी हाम्रो देशको शान्तिपूर्ण आणविक गतिविधिका बारेमा कथित अस्पष्टता र शङ्का समाधान गर्न यस अन्तर्राष्ट्रिय सङ्गठनसँग सहयोग र अभिसरण गर्न हाम्रो तयारीको घोषणा गर्दछौँ”, पेजेस्कियानले ग्रोसीलाई भन्नुभयो ।

इरानप्रति कडा दृष्टिकोण राख्ने ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि इजरायललाई अझ शक्तिशाली अधिकार दिने अपेक्षा गरिएको छ ।

तेहरानमा ग्रोसीले इरानी आणविक प्रतिष्ठानहरूमा ‘आक्रमण गर्नुहुँदैन’ भन्नुभयो ।ग्रोसीसँगको भेटमा विदेशमन्त्री अब्बास अराघचीले इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ का आधारमा ‘वार्ता गर्न इच्छुक’ रहेको तर ‘दबाब र धम्कीमा वार्ता गर्न तयार’ नभएको बताउनुभयो ।

अराघची सन् २०१५ मा महत्त्वपूर्ण आणविक सम्झौतामा इरानको प्रमुख वार्ताकार हुनुहुन्थ्यो । उक्त सम्झौतालाई ट्रम्पले तीन वर्षपछि त्याग्नुभएको थियो ।

– तत्काल प्रतिकार –

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलाई पनि भेट्नुभयो ।इस्लामीले संयुक्त पत्रकार सम्मेलनमा इरानले आइएइएको बोर्ड अफ गभर्नरबाट कुनै पनि प्रतिबन्धको विरुद्धमा ‘तत्काल प्रतिकार’ गर्ने बताउनुभयो ।

“इस्लामिक गणतन्त्र इरानको आणविक मामिलामा कुनै पनि हस्तक्षेपवादी प्रस्तावले निश्चित रूपमा तत्काल प्रतिकारको सामना गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

ग्रोसीको भ्रमण यस वर्ष तेहरानमा यो दोस्रो भए पनि ट्रम्पको पुनः चुनावपछि पहिलो हो ।सन् २०१७ देखि सन् २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीति अपनाउनुभयो । यसले सन् २०१५ को सम्झौताअन्तर्गत हटाइएको अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागु गर्यो ।

– समाधान खोज्न आवश्यक –

जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।

इरानले गतिरोधका लागि आगामी अमेरिकी राष्ट्रपतिलाई दोष दिएको छ । “सम्झौताबाट बाहिरिने व्यक्ति इरान होइन, अमेरिका थियो”, सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले बुधबार भन्नुभयो, “श्री ट्रम्पले एक पटक अधिकतम दबाबको बाटो खोज्नुभयो र यो बाटोले काम नगरेको देख्नुभयो ।”

जनवरीमा ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले यस वर्षको सुरुमा कट्टर शत्रुहरूले अभूतपूर्व प्रत्यक्ष आक्रमणहरू आदानप्रदान गरेपछि इजरायल र इरानबीचको पूर्ण द्वन्द्वको अन्तर्राष्ट्रिय डर मात्र बढाएको छ ।

“व्यवहारका लागि मार्जिन सङ्कुचित हुन थालेको छ”, ग्रोसीले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा चेतावनी दिँदै भन्नुभयो, “कूटनीतिक समाधानमा पुग्ने तरिकाहरू खोज्न आवश्यक छ ।”

– धार्मिक आदेश –

ग्रोसीले इरानसँग हाल आणविक हतियार नभएको तर धेरै समृद्ध युरेनियम रहेको भन्दै यसलाई अन्ततः एउटा आणविक हतियार बनाउन प्रयोग गर्न सकिने बताउनुभयो ।

पश्चिमसँगको सम्बन्ध सुधार गर्न र सन् २०१५ को सम्झौतालाई पुनर्जीवित गर्ने मञ्चमा पेजेस्कियानले जुलाईमा चुनाव जित्नुभएको थियो ।

तर आणविक सम्झौतालाई ‘लाइफ सपोर्ट’ बाट मुक्त गर्ने सबै प्रयास असफल भएका छन् ।

हालैका वर्षहरूमा तेहरानले आफ्नो आणविक कार्यक्रमको निगरानी गर्न प्रयोग गरिने निगरानी उपकरणहरू बन्द गरेको छ र आइएइए निरीक्षकहरूलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ ।

ग्रोसीले इरानको आणविक कार्यक्रमको ‘पूर्ण तस्वीर’ लिन शुक्रबार फोर्डो र नातान्जमा रहेको युरेनियम संवर्धन संयन्त्रको भ्रमण गर्ने बताउनुभयो ।

यस कार्यक्रमको आधार सन् १९५० को दशकको अन्त्यतिरको हो । त्यसबेला संयुक्त राज्य अमेरिकाले पश्चिमी समर्थित शाह मोहम्मद रेजा पहलवीसँग नागरिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सन् १९७० मा इरानले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धि अनुमोदन गरेको थियो । सन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरूले आफ्नो आणविक सामग्रीहरू आइएइए नियन्त्रणमा घोषणा गर्न र राख्न आवश्यक छ ।

तर इरानले आफ्नो पछिल्लो क्षेप्यास्त्र आक्रमणका लागि इजरायललाई जवाफ दिने धम्की दिँदै केही सांसदहरूले आणविक बम विकास गर्न आफ्नो आणविक सिद्धान्तलाई संशोधन गर्न सरकारलाई आह्वान गरेका छन् ।

उनीहरूले इरानमा अन्तिम अधिकार राख्ने सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आफ्नो लामो समयदेखि रहेको धार्मिक आदेश वा आणविक हतियारहरू प्रतिबन्धित गर्ने फतवामा पुनर्विचार गर्न आह्वान गरेका छन् ।

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

महोत्तरी, ३० कात्तिक: महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।

कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ । यही परम्पराअनुसार मिथिलानी यो पर्व समापनको तयारीमा जुटेका छन् । यो पर्व समापन गरिँदा मिथिलानीले सामा खेलमा प्रयोग गर्ने सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाइ जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन छ । पर्व समापनमा अवसरमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् । यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन् ।

सामाचखेवा पर्वका ११ दिन मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ । बोलीचालीमा ‘सामा खेल’ पनि भनिने यो पर्व दिदीबहिनी र दाजुभाइका लागि आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । पर्वका ११ दिनको मध्यरातसम्म चौबाटोमा समूहमा एकत्र भएर आफ्ना दाजुभाइको पराक्रमको वर्णान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरुबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी बताउँछन् । गीतमार्फत आफूहरुप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले आफूहरूको मनोवल सधैँ उच्च रहने मैथिल युवा भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुर बताउनुहुन्छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँचहजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मानिन्छ । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधरसँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटेले कृष्णलाई सुनाउँदा छोरी स्वच्छन्द प्रवृत्तिकी भएको झोँकमा दुवैलाई सामा र चखेवा हुने श्राप दिएको पौराणिक कथा छ ।

श्रीकृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका वर्णन पनि पुराणमा पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचखेवा पर्वको परम्परा बसेको मिथिला लोकपरम्पराका जानकार सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा (कतार), ३० कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गर्नुभएको थियो ।

अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुग्नुभएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।

यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।

दार्चुलामा दुर्घटना अपडेट :सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन ।

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा, ३० कात्तिकः मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।

मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।

चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।”

यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०÷१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।

परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।

उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ ।

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ ।

प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”

दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु

बैतडी, ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले राससलाई जानकारी दिनुभयो । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उहाँले बताउनुभयो । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

हिमाल हेर्न कोखेडाँडा जाने हाेइन त ?

पर्वत, ३० कात्तिकः मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ ।

म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गर्नुभएको छ । उहाँले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताउनुभयो । उहाँको कटेजमा नेपालीहरूलाई एक रात बास बसेको रु एक हजार पाँच सय निर्धारण गर्नुभएको छ ।

कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ । कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन् । कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ । यो मार्गबाट चारदेखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ । त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँवाट झण्डै छ–सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ भने पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ ।

कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयमार्फत रु १० लाख विनियोजन भएको छ । यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो ।

कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका वडा नं १ लप्सीबोट र भुकदेउराली र ताङ्लेमा रहेको घरबास (होमस्टे)मा पनि बास बस्न सक्नछन् । त्यस्तै मोदी गाउँपालिका वडा नं ४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ ।

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

ढोरपाटन (बागलुङ), ३० कात्तिकः जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।

सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

नागरिकको सहजताका लागि शिविर पालिकाको केन्द्र बोङ्गादोभान आधारभूत अस्पताल र तमान स्वास्थ्यचौकीमा गरी दुई स्थानमा गरिएको सञ्चालन गरिएको उहाँको भनाइ छ । ताकम फाउण्डेसनको सहयोग, नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको उहाँले बताउनुभयो ।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले तमानसम्म ल्याउने÷लैजाने व्यवस्था गरेको थियो । गाउँमै भएको आँखा शिविरले बूढापाकालाई सहज बनाएको स्थानीय प्रेम बुढामगरले बताउनुभयो । आँखाको सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेकामा गाउँमा भएको शिविरले आफूहरूको ठूलो सहयोग भएको उहाँको भनाइ छ ।

वडाध्यक्ष साहको निधन

चन्द्रपुर (रौतहट), ३० कात्तिकः मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ ।

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो ।

त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाश भुजेलमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान हुँदै, पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ- शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले भुजेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो काठमाडाँै शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित शाखु–थलि सडकखण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौँ, ३० कात्तिकः छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ ।

सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशन गरेको थियो । ऐन सार्वजनिक भएको ९१औँ दिनदेखि लागू हुने व्यवस्थाअनुरुप गत साउन १९ गतेदेखि लागू भएको सो ऐनको दफा ५ मा १५ सदस्यीय समितिको व्यवस्था छ ।

समितिका अध्यक्ष एवं कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका अन्य सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सहसचिव, नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक, नेपाल उद्योग वाणिज्य महास्घका प्रतिनिधि, उपभोक्ता हितसम्बन्धी संस्थाका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा खाद्य विज्ञसहितका प्रतिनिधि रहने व्यवस्था छ । समितिको सदस्यसचिव खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक रहने व्यवस्था छ ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य पदार्थको स्तर निर्धारणसम्बन्धी प्रावधान, सिफारिस समितिको काम, कर्तव्य अधिकार तथा स्तर निर्धारण प्रक्रियाका बारेमा छलफल भएको थियो । त्यस अवसरमा सदस्यले धारणा राख्नुभएको थियो । बैठकमा छुर्पीको अनिवार्य गुणस्तरको मापदण्ड सम्बन्धमा बुँदागत रुपमा इमेलमार्फत विभागमा प्राप्त भएको सुझावउपर छलफल गर्दै पेस भएको हो ।

बैठकमा खाद्य स्वच्छता तथा गुण्स्तर ऐन, २०८१ को दफा ७ (च) बमोजिम आवश्यकता र औचित्यतताका आधारमा विज्ञ सम्मिलित विषयगत मस्यौदा तयारी उपसमिति गठन गर्न समितिका सदस्यसचिव तथा विभागका महानिर्देशकलाई जिम्मा दिने निर्णय गरिएको जनाइएको छ ।

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६३ पैसा र बिक्रीदर आठ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, ३० कात्तिकःहाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्नसक्ने भएको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण

डडेल्धुरा, २९ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गर्नुभएको छ । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गर्नुभएको हो ।

सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताउनुभयो । विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन् ।