`

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौँ, २९ कात्तिकः सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । आगामी मङ्सिर ३ गते उक्त विवादमा सुनुवाइ हुनेछ ।

न्यायाधीश विनोद शर्माको इजलासले यही कात्तिक २७ गते पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको निवेदन अधिवक्ता अनुपम भट्टराईले यही कात्तिक २१ गतेको इजलासमा निवेदन पेस गर्नुभएको थियोे । सो निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै दरपिठ बदर गरी अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियोे ।

उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

निवेदनमा न्यायनिरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा, २९ कात्तिकः नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आउनुभएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो ।

अन्नपूर्र्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताउनुभएएको थियो ।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गर्नुभएको थियो । हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्र्ण प्रथमको पहिलो पटक सफल आरोहण गर्नुुभएको थियो ।

अन्नपूर्र्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

भेटमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो । महानगर फ्रान्स सरकारसँग अन्नपूर्र्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताउनुभयो ।

आजै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग महानगरप्रमुख आचार्यको भेटवार्ता भएको महानगरपालिका कार्यालयले जनाएको छ । भेटमा पोखरा र जापानका बीचमा लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान, पोखरामा जापान सरकारको तर्फबाट सञ्चालित परियोजना र उपलब्धिलगायत विषयमा छलफल भएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीनको चारदिने भ्रमण सकेर स्वदेश फिर्ता

लुम्बिनी, २९ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य छिमेकी मुलुक चीनको चारदिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर उहाँ आज स्वदेश फर्किनुभएको हो । मुख्यमन्त्री आचार्य यही कात्तिक २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधिमण्डललाई बिदाइ गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरू स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

“सम्मेलनमार्फत प्रदेशको विकासका एजेण्डा र भावी योजनाका बारेमा ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्तालाई आकर्षित गर्ने विषयमा यो भ्रमण ऐतिहासिक रह्यो ।”

मुख्यमन्त्री आचार्यले सिचुआन र लुम्बिनी प्रदेशका बीचमा भएको मितेरी सम्बन्ध पुर्नताजगी भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्ने, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका विभिन्न नगरपालिकाको मितेरी सम्बन्ध स्थापना गर्नेबारेमा योजना यस भ्रमणका क्रममा बनेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनीमा सिचुवानसहित कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभएको थियो ।

नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययन गर्न विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी राप्ती देउखुरी जोड्न आवश्यकपर्ने सुरुङमार्ग, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटन भौतिक पूर्वाधार र मोनोरेल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयमा चिनियाँ प्राविधिक उपलब्ध गराउने, प्रदेशसभाका सांसदको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग, कृषक तथा पशुपालकको क्षमता अभिवृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरण, जडीबुटी उत्पादकका लागि क्षमता विकास तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपदर्शकसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणमा सहयोगलगायत विषयमा ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी हुनुहुन्थ्यो । विसं २०७६ मा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गर्नुभएको थियो । कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

राष्ट्रपति पौडेल दोहामा

दोहा (कतार), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई कतारस्थित नेपाली राजदूतावासका कर्मचारीहरूले यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उहाँ कोप–२९ मा सहभागी हुन बाकु पुग्नुभएको थियो ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभयो ।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।

यस सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यही कात्तिक २५ गते काठमाडौँबाट दोहाका लागि प्रस्थान गर्नुभएको थियो ।

“बल अमेरिकी कोर्टमा छ”, ट्रम्प प्रशासनसँगको सम्पर्कबारे रुसी विदेशमन्त्री लाभरोभ

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार आफ्नो मुलुकलाई नयाँ अमेरिकी प्रशासनबाट कुनै अपेक्षा नभएको तर यसको ठोस कदमहरूको मूल्याङ्कन गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गरेको मिडिया रिपोर्टहरू क्रेमलिनले अस्वीकार गरेको केही दिनपछि उहाँको यस्तो टिप्पणी आएको हो । ट्रम्पले पुटिनलाई फोन गरी युक्रेनमा युद्ध बढाउने विरुद्ध चेतावनी दिनुभएको मिडिया रिपोर्टहरूले बताएका थिए ।

डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत रुस अमेरिकासँग सम्पर्क गर्न खुला रहेको तर बल अमेरिकी कोर्टमा रहेको विदेशमन्त्री लाभरोभले पत्रकार मरिना किमसँगको अन्तर्वार्तामा बताउनुभयो ।

“राष्ट्रपति पुटिनले भाल्डाई इन्टरनेसनल डिस्कसन क्लबको बैठकमा उहाँ सँधै कुराकानी गर्न तयार रहेको बताउनुभयो, यो सञ्चारमा बाधा पुर्याउने हामी थिएनौँ : बल अमेरिकी कोर्टमा छ”, लाभरोभले एक प्रश्नको जवाफमा भन्नुभयो, “त्यहाँ कुनै अपेक्षा र कुनै अनुमानहरू हुने छैनन् । हामी ठोस मुद्दाहरूद्वारा न्याय गर्नेछौँ ।”

अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएपछि गत हप्ता दुई नेताबीच फोन वार्ता भएको वासिङ्टन पोस्टले आइतबार रिपोर्ट गरेको थियो । यद्यपि क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले रिपोर्टहरू ‘शुद्ध काल्पनिक’ भएको बताउनुभयो ।

यसबाहेक लाभरोभले बिहीबार डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाका लागि चीनलाई नियन्त्रण गर्नु प्राथमिक कार्य भएको तर वासिङ्टनले रुसलाई ‘वर्तमान समयको खतरा’ का रूपमा हेर्ने बताउनुभयो । 

“चीनलाई नियन्त्रण गर्ने कार्य जो बाइडेनको प्रशासनले तय गरेको थियो । मलाई लाग्छ यो डोनाल्ड ट्रम्प प्रशासनका लागि पनि प्राथमिकता रहनेछ । अनि हामी आजको ‘खतरा’ हौँ । वासिङ्टनले रुसलाई आफू शक्तिशाली खेलाडी हो भनेर प्रमाणित गर्न वा पश्चिमको प्रतिष्ठालाई कमजोर पार्न अनुमति दिन सक्दैन”, उहाँले भन्नुभयो, “कुनै पनि अमेरिकी प्रशासन कमजोर रुस चाहन्छ र यसलाई प्रतिद्वन्द्वीका रूपमा दबाउन चाहन्छ, अमेरिकीहरूले लामो समयदेखि ‘संयुक्त राज्य अमेरिकाभन्दा बढी प्रभावशाली संसारमा कुनै पनि देश हुनु हुँदैन’ भन्ने विचार घोषणा गरेका थिए ।”

मन्त्री लाभरोभका अनुसार अमेरिकामा प्रतिष्ठा धेरै महत्त्वपूर्ण छ र त्यहाँ मानिसको विशेष गरी युक्रेनीहरूको  वास्तविक भाग्यबारे कुरा गरिँदैन ।

“उनीहरूलाई युक्रेनको चिन्ता छैन । उनीहरूले आफ्नो प्रतिष्ठाको ख्याल राख्छन्, उनीहरूले एक पटक युक्रेनमा यो सरकार हुनेछ भनेर भनेका थिए, तर अचानक कसैले असहमति जनाउन साहस ग¥यो । रुस ? वास्तवमै एउटा ठुलो देश तर यसलाई यसको ठाउँमा राख्नु आवश्यक छ । यही हो, यो युक्रेनी मानिसहरूको भाग्यका बारेमा होइन । उनीहरूलाई जनताको चिन्ता छैन”, उहाँले भन्नुभयो ।

रुस र युक्रेनबीचको युद्धविरामबारे सोधिएको प्रश्नमा उहाँले दोहोर्याउनुभयो, “रुसी राष्ट्रपति पुटिनले ‘हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौँ’ भनेर बारम्बार भन्नुभएको छ ।”

उहाँका अनुसार युक्रेन सङ्घर्षलाई समाप्त गर्ने विषयमा प्रमुख विचार प्रस्तुत गर्ने रिपब्लिकन पक्षका कसैले पनि युक्रेनी जनसङ्ख्याको रूसी भाषा बोल्ने, सिक्ने, शिक्षण गर्ने र सूचना प्राप्त गर्ने अधिकारलाई पुनःस्थापित गर्नुपर्छ भन्ने कुरा उल्लेख गरेका छैनन् ।

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै

कलैया (बारा) २९ कात्तिक : महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिनुभयो ।

एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, दुई हजार सात सय पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताउनुभयो । “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्नेभएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज तुल्याएको नगरपालिकाका नगरप्रमुखसमेत रहेका मेला समितिका अध्यक्ष यादवले भन्नुभयो । उहाँका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

भारतको विभिन्न ठाउँबाट आउने भक्तजनको सुविधाका लागि कम्तीमा रेल भडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीसँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले कठमाडौँबाट सिमरासम्म आउने हवाई जहाजलाई बढाउनका लागि छलफल भएको र मङ्सिर १० गते देखि ४० देखि ५० वटा उडान गराउने प्रतिबद्धता आएको बताउनुभयो । पचास लाखभन्दा बढी भक्तजनलाई ‘फ्रि वाइफाइ’ सुविधा मेलाको चार किल्लाभित्रमा मेला अवधिसम्म नेपालमा रहेको विभिन्न नेट कम्पनीबाट उपलब्ध गराउने प्रतिबद्धता आएको बताउनुभयो । भक्तजनका लागि महागढीमाई नगरपालिका र बारा जिल्ला भरका आमनागरिकले आफ्नो गच्छेअनुसार निःशुल्क रूपमा खाना र बस्न व्यवस्थापन गर्नेछन् ।

फरक प्रसङ्गमा समितिका अध्यक्ष यादवले बली गर्न आफूहरू कसैलाई प्रेरित नगर्ने भएको र स्वतः स्फूर्त रूपमा बली लिएर मातामा चढाउने आउने भक्तजनको बलीको व्यवस्थापन समितिले गर्ने सोच गरेको बताउनुभयो । केही समूह मेला भाँड्न लागिपरेको बताउँदै उहाँले माताको महिमाले कुनै हालतमा मेला नभाडिने कुरामा आफू र माताप्रति अस्थावान भक्तजनको बुझाइ स्पष्ट पार्नुभयो ।

‘सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्ने’ – शेखर कोइराला

काठमाडौँ, २९ कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले मन्त्रिपरिषद्मा पुगेको सामाजिक सञ्जाल (प्रयोग तथा नियमन)सम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ ।

मिडिया लयर्स एशोसिएसनले आज यहाँ आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल (प्रयोग तथा नियमन)सम्बन्धी विधेयक’ विषयक अन्तरक्रियामा डा कोइरालाले कुनै पनि कानुन बनाउँदा सरोकार भएकासँग छलफल र परामर्श गरी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यसमा केही कमीकमजोरी भए सरोकार भएकासँग छलफल गरी पुनर्लेखन गर्नु जरुरी छ ।”

डा कोइरालाले कानुन बनाउँदा सरोकार राख्ने व्यक्तिहरूको प्रत्यक्ष सहभागिता जरुरी रहेको औँल्याउँदै बनाइएका कानुन संविधानसँग बाझिएमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले संविधानलाई पूर्णपालना गर्नेगरी कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आपसी सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं सांसद माधव सापकोटाले सामाजिक सञ्जाल नियमन गर्न बन्दै गरेको विधेयकको मस्यौदामा सबैको भावना समेटिनुपर्नेमा जोड दिनुभयो । संसद्मा आएकाबेला आफ्नोतर्फबाट खेल्ने भूमिकामा कमी नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि कानुनको मस्यौदा बनाउँदा संविधानको मर्मविपरीत गर्न नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री एवं सांसद सुनिता बरालले मस्यौदामा अपुग भएका विषयमा केही प्रावधान परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै यसबारे नेतृत्वको ध्याकर्षण गराउने बताउनुभयो ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अभिव्यक्ति स्वतन्त्रता हनन हुनेगरी कानुन बनाउन नहुनेमा जोड दिँदै सामाजिक सञ्जालमा व्यक्तिगत स्वतन्त्रतालाई व्यवस्थित गर्न नियमन जरुरी रहेको औँल्याउनुभयो ।

पत्रकार तारानाथ दाहालले उक्त मस्यौदामा धेरै कुराहरु छुट भएकाले पुनर्लेखनको विकल्प नभएको भन्दै तत्कालै मन्त्रिपरिषद्बाट फिर्ता ल्याएर विज्ञसहितको समूह बनाइ पुनःमस्यौदा लेखन गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल बार एशोसिएसनकी महासचिव अञ्जिता खनालले सरोकार राख्ने निकायसँग नसोधी कानुन ल्याउन नहुने बताउँदै कानुनका मस्यौदा संविधानविपरीत हुन नहुनेमा जोड दिनुभयो ।

जलवायु वित्त : कोप२९ मा कसलाई के तिर्न भनिएको छ ? सरकारहरूले के भुक्तानी गर्नुपर्छ ?

“तपाईंहरू हामीप्रति ऋणी हुनुहुन्छ !”, अजरबैजानमा कोप२९ शिखर सम्मेलनमा प्रदर्शन ब्यानरमा दिइएको शीर्षक हो यो । सम्मेलनमा जलवायु परिवर्तनका लागि जिम्मेवार सबैभन्दा धनी राष्ट्रहरूले गरिब राष्ट्रहरूलाई कति तिर्नुपर्छ भन्नेबारे छलफल तीव्र गतिमा छ ।

विकासोन्मुख देशहरूका लागि सन् २०३० सम्ममा आवश्यक पर्ने वार्षिक १० खर्ब डलर उपलब्ध गराउन सम्झौता गर्नु कोप२९ को शीर्ष प्राथमिकता हो, तर त्यहाँ पुग्नुअघि धेरै बाधा छन् ।

देशहरू गहिरो रूपमा विभाजित छन् ः कसले के तिर्नुपर्छ र कति भन्ने कुरा नोभेम्बर २२ सम्ममा सम्झौतामा पुग्ने बाटोमा उभिएका धेरै अवरोधहरू मध्ये दुई मात्र हुन् ।

यहाँ विकासोन्मुख देशहरूलाई के चाहिन्छ र कसले उनीहरूलाई खर्च तिर्न मद्दत गरिरहेको छ भन्नेबारे हेरौँ ।

– कति आवश्यक छ ? –

सन् २०३० सम्ममा चीनबाहेक विकासोन्मुख देशहरूलाई जलवायु वित्तपोषणमा वार्षिक २४ खर्ब डलरको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले जनाएको छ ।

बिहीबार प्रकाशित एक रिपोर्टमा विज्ञहरूले विकासोन्मुख अर्थतन्त्रहरूलाई जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जामा रूपान्तरण गर्न यो पैसाको दुई तिहाइ आवश्यक रहेको बताएका छन् ।

बाँकीलाई जलवायु परिवर्तनसँग सामना गर्न अनुकूलन उपायहरू, प्रकोप हुँदा पुनःप्राप्ति कोष र प्रकृतिको संरक्षणमा विभाजन गर्नुपर्नेछ ।

यो २४ खर्ब डलरमध्ये अनुमानित १४ खर्ब डलर विकासशील देशहरूबाट आउन आवश्यक छ । तर बाँकी १० खर्ब डलरका लागि बाह्य सहायता आवश्यक पर्नेछ ।

यो विदेशी सरकारहरूबाट प्राप्त अनुदान वा शून्य ब्याजदरका ऋणहरू, निजी लगानी प्रवाह वा वैश्विक करबाट उठेको रकमबाट पूरा गर्न सकिन्छ ।

– सरकारहरूले के भुक्तानी गर्नुपर्छ ? –

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घजस्ता धनी दाताहरूले पर्याप्त काम नगरेको महसुस गर्ने कोप२९ मा धेरैका लागि सरकारहरूबाट प्रत्यक्ष रूपमा कति आउँछ भन्ने मूल प्रश्न हो ।

विशेषज्ञ जलवायु वित्त प्रतिवेदनका सह–लेखक अमर भट्टाचार्यले यो आँकडा करिब तीन खर्बदेखि चार खर्ब डलरको दायरामा हुने बताउनुभयो ।

यो हालको प्रतिबद्धताभन्दा कम्तीमा तीन गुणा बढी हो । साथै देशमा आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेका दाताहरूका लागि यो अप्ठ्यारो लक्ष्य हो । डोनाल्ड ट्रम्प विश्वव्यापी जलवायु सहयोगबाट पछि हट्ने सम्भावना पनि छ । लागत पनि बढ्दै गइरहेको छ।

विकासोन्मुख देशहरू वैश्विक तापक्रमको वृद्धिका लागि कम जिम्मेवार भए पनि जलवायु आघातहरूको जोखिममा छन् र यो पृथ्वी तातिँदै जाँदा तीव्र हुँदै गइरहेको छ ।

सन् २०३५ सम्ममा विदेशी दाताहरूले विकासोन्मुख देशहरूको आवश्यकताहरू पूरा गर्नका लागि वार्षिक एक अर्ब ३० करोड डलर खर्च गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

– कति रकम उठेको छ ? –

धनी राष्ट्रहरूले सन् २०२२ मा जलवायु वित्तमा एक खर्ब १६ अर्ब डलर उठाएको ओइसिडीको पछिल्लो उपलब्ध तथ्याङ्कले देखाएको छ ।

तर प्रयुक्त रकमले वास्तवमा गरिब देशहरूलाई जलवायु परिवर्तनका लागि अनुकूल बनाउन मद्दत गर्दछ ?

– राष्ट्रिय ऋणमा थपिने ऋणहरूबारे के हुन्छ ? –

विकासोन्मुख देश र अभियान समूहहरूले उठाएको पैसाको अझ बढी छानविन गर्न आह्वान गरेका छन् र प्रत्येक राष्ट्रले कति दिन्छ भनेर मापन गर्ने प्रयास गरिएको छ ।

बृटिश थिङ्कट्याङ्क ओडिआईद्वारा गरिएको एक अध्ययनले सन् २०२२ मा कार्बन फुटप्रिन्ट, जनसङ्ख्या आकार र सकल राष्ट्रिय आय आधारमा प्रगतिको समीक्षा गरेको छ ।

यस आधारमा नर्वे शीर्ष स्थानमा रहेको छ भने त्यसपछि फ्रान्स छ । विश्वकै बृहत्तम ऐतिहासिक उत्सर्जक संयुक्त राज्य अमेरिका २३ देशमध्ये दोस्रो अन्तिम स्थानमा रहेको छ ।

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौँ, २९ कात्तिक: प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई निर्देशन दिनुभएको छ । नेपाली सेना प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित चारदिने कानुनी गोष्ठी समापन कार्यक्रममा उहाँले कानुन अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी कानुनी मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

सेनामा कार्यरत कानुन अधिकृतको सैनिक न्यायप्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष उक्त गोष्ठी आयोजना हुँदै आएको छ । प्राड विवाकका महानिर्देशक उपरथी जीवनप्रसाद दाहाल, पूर्वप्रमुखहरू, नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि, उच्च अदालतका पूर्वन्यायाधीशलगायत विषयविज्ञबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैँतिस हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोहीले अनुमति लिए

काठमाडौँ, २९ कात्तिकः शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएकोे बताउनुभयो ।

विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ । 

अमादब्लम १४ आरोही समूहका एक सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका एक सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा र मूल्याङ्कन हुने बताएका छन् ।

बिहीबार कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र सङ्घीयताका मूल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्तासमीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने बताए ।

‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ । नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

अधिकारकर्मीहरूले माग : आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस्

काठमाडौँ, २९ कात्तिक : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् ।

सिफारिस समितिले कार्य प्रारम्भ गरे पनि दुवै आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त माग गरेका हुन् ।

अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईं, कुन्दन अर्याल, दिनेश त्रिपाठी, राजु चापागाईं र मन्दिरा शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा सो विषयमा समितिको ध्यानाकर्षण गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन घटनाको छानबिन गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अत्यन्त गम्भीर दायित्व बहन गर्नुपर्ने आयोग गठनको प्रक्रियामा देखिएको कमीकमजोरीले हामीलाई चिन्तित तुल्याएको छ ।”

विज्ञप्तिमा अपर्याप्त समय, अपूर्ण सूचना र व्यापक प्रचारप्रसारको अभावमा छनोट प्रक्रिया प्रतिस्पर्धी र गुणस्तरीय हुने कुरामा संशय उत्पन्न भएको पनि उनीहरूले उल्लेख गरेका छन् ।

उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू

सुदूरपश्चिम, २९ कात्तिकः सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन दलहरू लागेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले रिक्त रहेको जिल्ला समन्वय समिति कैलालीको संयोजकमा टीका चौधरी भुललाई सिफारिस गरी प्रदेश समितिमा पठाएको छ । उहाँ कैलारी गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत दलहरूले जिसस संयोजकमा आफ्ना प्रत्यासी उठाउने÷नउठाउनेबारेमा आजसम्म टुङ्गोमा पुग्न सकेका छैनन् ।

कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि पार्टीले केशवराज पन्तलाई जिससको संयोजकमा प्रत्यासी बनाउने निर्णय गरेकामा निर्वाचन आयोगको परिपत्रबमोजिम महिलालाई प्रत्यासी बनाउनुपर्ने भएपछि चौधरीको नाम सिफारिस भएको हो । यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ ।”

कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापरका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएपछि पद रिक्त भएको थियो ।

कांग्रेसले रिक्त भीमदत्त नगरपालिका–६ मा प्रकाशबहादुर चन्द, डोटी पूर्वीचौकी गाउँपालिका–६ मा मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका–५ मा धनबहादुर कुँवरलाई वडध्यक्षको प्रत्यासी बनाउने निर्णय गरेको छ । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा भने निर्णय हुन बाँकी रहेको रावतले बताउनुभयो ।

एमालेका प्रदेश कमिटी सचिव रणबहादुर चन्दले स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा, भीमदत्तनगर–६ मा बहादुर चन्द, पूर्वीचौकी–६ मा देवबहादुर थापा र दुहु–५ मा मानबहादुर बडाललाई पार्टीले प्रत्यासी बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्ला समन्वय समितिको संयोजक र सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदको हकमा छलफल भइरहेकाले निर्णय हुन बाँकी छ ।”

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव जनक बुढाले पार्टीले स्वामीकात्तिकखापरको उपाध्यक्षमा राजकुमारी विक रचना, सुर्मा–४ मा पुष्करबहादुर बोहरा, पूर्वीचौकी–६ मा देवीलाल थापा, दुहु–५ मा वीरसिंह कार्की र भीमदत्तनगर–६ को वडाध्यक्षमा नानाराम कोलीलाई प्रत्यासी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिको संयोजक पदमा कसलाई उठाउने वन नउठाउने छलफल भइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वामीकात्तिकखपरमा सुनादेवी थापाभोटेधामीलाई उठाउने निर्णय गरेको सो पार्टीका छत्र शाहीले बताउनुभयो । रिक्त वडाध्यक्ष पदका प्रत्यासीका बारेमा छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम विभिन्न कारणले रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सङ्घीय सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा रिक्तस्थानमा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड

बाकु (अजरबैजान), २९ कात्तिक : नेपालले पेरिस सम्झौताको कार्यान्वयन पक्ष प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । पेरिस सम्झौताअन्तर्गत पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेकाले अब सिधै निर्णयमा पुग्नेगरी काम गर्नुपर्नेमा नेपालले जोड दिएको हो ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले खासगरी जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा बढी असर गरेकोलगायत विषयमा प्राथमिकता विषय उठान गरिरहेको छ ।

सम्मेलनअन्तर्गत आज भएको पेरिस सम्झौताको समीक्षा प्रतिवेदन कार्यान्वयनसम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, वन सचिव डा दीपककुमार खराललगायत विज्ञसम्मिलित टोली सहभागी रहेको थियो । कार्यक्रममा नेपालका तर्फबाट मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले धारणा राख्दै पेरिस सम्झौता समीक्षाको प्रतिवेदन कार्यान्वयनका लागि सिधै ठोस निर्णयमा पुग्नुपर्ने बताउनुभएको थियो ।

पेरिस सम्झौताको धारा १४ मा कार्यान्वयनको अवस्था के छ र कार्यान्वयनका लागि के काम गर्नुपर्‍यो भनेर प्रत्येक पाँच/पाँच वर्षमा समीक्षा गर्नुपर्ने उल्लेख छ । कोप–२८ मा त्यसको पहिलो समीक्षा भएको थियो । नेपालले उक्त समीक्षामा निर्धारित लक्ष्य पूरा गर्नका लागि औँल्याइएका कामका बारेमा निर्णयमा पुग्नुपर्नेमा जोड दिएको हो ।

साथै कार्यक्रममा नेपालले जलवायुजन्य हानिनोक्सानीको क्षतिपूर्तिमा विकसित र ठूला मुलुकहरूले गर्नुपर्ने वित्तिय सहयोगका बारेमा पनि कुरा उठाएको सल्लाहकार ढकालले जानकारी दिनुभयो । पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)का कार्यक्रममा नेपालको प्रभावकारी सहभागिताका लागि मन्त्रालयका कर्मचारीहरूलाई निर्देश गर्नुभयो । कोप–२९ सम्मेलन यही कात्तिक २६ गतेदेखि जारी अजरबैजानको बाकुमा जारी छ ।   

सम्मेलनमा आज दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरिरहनुभएको थियो । उहाँ आजै स्वदेशका लागि यहाँबाट प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री शाहीले गर्नुभयो ।

मन्त्री शाहीले सम्मेलन स्थलनमा उच्च कर्मचारीहरूलाई बोलाएर नेपालका लागि आवश्यक र महत्त्वपूर्ण विषयका प्राविधिक सत्रमा प्रभावकारी रूपमा सहभागी हुन तथा सशक्त रूपमा आफ्ना मुद्दाबारेमा कुरा राख्न निर्देशन दिनुभएको हो ।  

सो अवसरमा रासससँग कुरा गर्दै मन्त्री शाहीले यस सम्मेलनमा नेपालका मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन सबै संयन्त्र परिचालन गरी अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सम्मेलनमा नेपालले जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त, पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले गरेका असरलगायत विषयलाई महत्त्वका साथ उजागर गरिरहेका छौँ ।”

वन सचिव डा दीपककुमार खरालले सबै सहसचिवहरूलाई विषयगत जिम्मेवारीअनुसार कामको बाँडफाँट गरिएको र सोहीअनुसार नै सबैले कार्यक्रममा भाग लिइरहेको मन्त्री शाहीलाई जानकारी गराउनुभएको थियो । उहाँले विषय नेतृत्व लिनुभएका सहसचिवहरूले दैनिक रूपमा आफूले गरेको काम र भाग लिएका सत्र बारेमा रिर्पाेटिङ गर्दै आएको बताउनुभयो ।

कोप–२९ सम्मेलनको यहीँ कात्तिक २६ गते भव्य समारोहकाबीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रको आयोजना गरिएको थियोे ।

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्यगरी छ वटा मुद्दालाई उच्च प्राथमिकता दिइ नेपाली प्रतिनिधि तथा विज्ञहरू कोपमा उपस्थित भएका छन् ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका छ विषयगत कार्यपत्र तयार गरिएका छन् ।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार

काठमाडाैँ, २९ कात्तिकः नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

८० अर्ब पाउन्ड लगानी अनलक गर्न विशाल पेन्सन कोषहरू बनाउने बेलायतको योजना

वित्तमन्त्री रचेल रिभ्सले बेलायतले अस्ट्रेलिया र क्यानाडाका योजनाहरूको अनुकरण गर्दै देशमा करिब ८० अर्ब पाउन्डको लगानी बढाउन सक्ने विशाल पेन्सन कोषहरू बनाउने योजना गरेको घोषणा गर्नुभएको छ ।

लेबरको ‘मेगाफन्ड’ योजनाले एक सय चार अर्ब डलर बराबरको ‘पूर्वाधार परियोजना र भविष्यका व्यवसायहरूमा लगानी’ गर्नसक्ने वित्त मन्त्रालयले बुधबार राति विज्ञप्तिमा जनाएको छ ।

जुलाईमा भएको आम चुनावमा जितपछि पार्टीका नेता किर स्टार्मर बेलायतको प्रधानमन्त्री बन्नुभएको छ र लेबरले इङ्ग्ल्यान्ड र वेल्समा रहेका ८६ स्थानीय सरकारी पेन्सन योजनाको सम्पत्तिलाई एकत्रित गर्ने उद्देश्य राखेको छ ।

मन्त्रालयका अनुसार यी योजना सन् २०३० सम्ममा पाँच सय अर्ब पाउन्डभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्ने क्रममा छन् ।

सरकारले कामदारहरूको परिभाषित योगदान योजनाहरू, पेन्सनको साझा रूपलाई एकीकृत गर्ने योजना पनि बनाएको छ ।

रिभ्सले आफ्नो पहिलो मेन्सन हाउस भाषणअघि योजनाहरू खुलासा गर्नुहुनेछ । यो वार्षिक व्यापार नेताहरूलाई सम्बोधन गर्ने चान्सलर अफ एक्सचेकरको कार्यक्रम हो ।

“यी मेगाफन्डले अस्ट्रेलिया र क्यानाडामा रहेका व्यवस्थाका अनुकरण गर्दछन् जहाँ पेन्सन कोषले ठूलो आकारको फाइदा लिँदै उच्च वृद्धि क्षमता भएका सम्पत्तिमा लगानी गर्छन्”, मन्त्रालयले भनेको छ ।

अक्टोबरको अन्त्यमा रिभ्सले आफ्नो पहिलो बजेटमा व्यापार कर र सरकारी उधारो बढाउनुभएपछि यो घोषणा आएको हो ।

“गत महिनाको बजेटले आर्थिक स्थिरता पुनःस्थापना गर्न र हाम्रा सार्वजनिक सेवाहरूलाई बलियो आधारमा राख्नका लागि आधार तयार पारेको छ”, पेन्सन घोषणाका साथमा टिप्पणीमा रिभ्सले भन्नुभयो, “अब हामी विकासका लागि जाँदैछौँ । व्यापार र पूर्वाधारमा दशौँ अर्ब पाउन्डको लगानी अनलक गर्न दशकौँमा पेन्सन बजारमा भएको सबैभन्दा ठूलो सुधारबाट यो सुरु हुनेछ ।”

उहाँले यी सुधारले सेवानिवृत्तिमा मानिसहरूको बचत बढाउने र आर्थिक वृद्धि प्रेरित गर्ने पनि बताउनुभयो । केही विश्लेषकले यस पुनर्गठनमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

“सरकारको आशा... मापदण्डको अर्थव्यवस्था हुनेछ”, लगानी मञ्च एजे बेलका सार्वजनिक नीति निर्देशक टम सेल्बीले भन्नुभयो, “बेलायतमा लगानी बढाउने सरकारी लक्ष्य र जनताको सेवानिवृत्ति नतिजाले खतरा ल्याउन सक्छ । यदि यो राम्रो भयो भने सबैले उत्सव मनाउन सक्छन् तर यो दिशामा जाँदा पनि गलत हुनसक्छ, त्यसैले अर्को व्यक्तिको पैसाको प्रयोग गरेर आर्थिक वृद्धि ड्राइभ गर्ने यस प्रयासमा केही सावधानी आवश्यक छ ।”

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २९ कात्तिकः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

“नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिररहेको जानकारी दिँदै उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले उठाएका कुरालाई सरकारले सकाात्मक रूपमा लिएको छ ।”

भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय तथा वैकल्पिक ऊर्जा क्षेत्रका उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिका बारेमा सूचना आदानप्रदान गरिने छ ।

२२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ

पर्सा,२९ कात्तिक- वीरगंज महानगरपालिका-१५ भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २२ किलो५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुरबस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाईउक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

काठमाडौँ, २९ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिनुभएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ ।

उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ । नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी प्रतियोगितामा सफलताको कामना गर्नुभएको छ ।

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा

काठमाडौ, २९ कात्तिकः संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल आउनुभएको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रममा सहभागी हुनुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उहाँको मुख्य भूमिका युवाको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु हो । यसले लोकतन्त्रको प्रवर्द्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ ।

फिनकेनाउरको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै युवालाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने दूतावासले जनाएको छ ।

स्कोल्जद्वारा अमेरिकी सम्बन्ध र युक्रेनका लागि समर्थनको वाचा

सरकारी सङ्कटमा फस्नुभएका जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बुधबार डोनाल्ड ट्रम्पको चुनावी जितपछि अमेरिकी सम्बन्धलाई बलियो बनाउने र युद्धग्रस्त युक्रेनलाई समर्थन कायम राख्ने वाचा गर्नुभएको छ ।

संसद्मा बोल्दै उहाँले आफ्नो सरकारको रेकर्डको उत्साहपूर्ण रक्षा गर्नुभयो र फेब्रुअरी २३ का लागि निर्धारित आकस्मिक चुनावका लागि अगाडि बढ्ने बाटोलाई औँल्याउनुभयो ।

ट्रम्प ह्वाइट हाउसमा पुनः निर्वाचित भएको दिन र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले गम्भीर अवरोधको सामना गरिरहेको समयमा स्कोल्जको तीन दलीय गठबन्धन एक हप्ता अघि विस्फोट भएको थियो ।

उहाँले तीन दिनअघि ट्रम्पसँग ‘राम्रो कुराकानी’ भएको र जर्मन–अमेरिका सम्बन्ध ‘दशकौँदेखि हाम्रो देशको सफलताको आधार रहेको’ जोड दिनुभयो ।

“यहाँ वा त्यहाँ को सत्तामा भए पनि, यो सम्बन्ध राम्रोसँग विकास हुन जारी छ भनेर सुनिश्चित गर्न हामीले आगामी दशकहरूमा हामीले गर्नसक्ने सबै कुरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

ट्रम्पको चुनावी विजयले युक्रेनलाई भविष्यको अमेरिकी समर्थनको स्तरमा शङ्का खडा गरेको छ । युक्रेनमा रूसको प्रतिरोधमा अहिले पनि तेस्रो हिउँद चल्दैछ ।

स्कोल्जले युक्रेनलाई जर्मन समर्थन रोकिने छैन भनेर प्रतिज्ञा गर्नुभयो । उहाँको सरकार वासिङ्टनपछि किएभलाई सैन्य सहायता प्रदान गर्ने दोस्रो ठूलो प्रदाता हो ।

“युक्रेनलाई एक्लै नछोड्नु हाम्रो दायित्व हो, किएभले हाम्रो देशमा र हाम्रो एकजुट भावनामा भरोसा गर्न सक्छ”, उहाँले भन्नुभयो, “यो युद्ध अझ बढ्न नदिन र हामी युद्धको पक्ष बन्न नपरोस् भनी सुनिश्चित गर्न हामीले गर्न सक्ने सबै कुरा गर्नु पनि त्यति नै महत्त्वपूर्ण छ ।”

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

काठमाडौंँ, २८ कात्तिकः किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।

अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राससलाई बताउनुभयो ।

मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो ।

आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगका साथै सरकारी लगानी पनि छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।

ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उहाँले बताउनुभयो ।

उपनिर्वाचनको सरगार्मी ह्वात्तै बढ्यो, कनकाई–६ मा उम्मेदवार चयन

झापा, २९ कात्तिकः आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।

उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् ।

विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ ।

यसैगरी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।

बाढीपहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति

बागमती, २९ कात्तिकः हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताउनुभयो ।

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका उहाँले बताउनुभयो । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उहाँले बताउनुभयो ।

बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा छ, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी छ जना घाइते भएका थिए ।

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान (सुनसरी), २९ कात्तिकः घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आउनुभएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो ।

उहाँले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताउनुभयो । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै हो”, उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु । झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो ।”

झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उहाँले बताउनुभयो । अचेल घोँगी भने जताततै पाइँदैन । मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ । “अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ । आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला”, उहाँको भनाइ थियो ।

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन् । मागअनुसार घोँगी पु¥याउनै नसकिएको मुखियाले बताउनुभयो । उहाँले प्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटियाबजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको बताउनुभयो ।

उहाँ मात्रै होइन सोही नगरको वडा नं १ की रत्नीदेवि माला विगत १२ वर्षदेखि घोँगीको व्यापार गर्दै आउनुभएको छ । उहाँले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पाल्नुभएको छ । यही पोखरीबाट उत्पादन भएको घोँगी इटहरी, झुम्का, कालाबन्जरलगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्दै आएको मालाले बताउनुभयो । “घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेको बेला मान्छेले अत्याधिक खरिद गर्ने गरेका छन् । अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ”, उहाँले भन्नुभयो ।

रामधुनी नगरपालिका–१ कै रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि घुँगीको व्यापार गर्दै आएको बताउनुभयो । उहाँले पनि भन्नुभयो, “विगत सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु । राम्रो आम्दानी हुन्छ । खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्ष छैन । पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु । दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु ।”

गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ । पुसको दोश्रो सातादेखि माघ–फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ । यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दश जना महिला लहरै बसेर व्यापार गर्दै गरेको देखिन्छन् ।

तनहुँमा छ लाख नगदसहित १३ जना पक्राउ

तनहुँ, २९ कात्तिकः शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती, २९ कात्तिकः निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।

उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताउनुभयो । “उद्योगको क्लिनिकलरलगायत उपकरणको मर्मतकार्य अझै भइरहेकै छ । हामीले तिहारसम्ममा मर्मत सकिन्छ र लगत्तै पुनः उत्पादन सुरु हुने अनुमान गरेका थियौँ । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन हुन अझै करिब १५ दिन लाग्न सक्छ”, उहाँले भन्नुभयो ।

उद्योगबाट यही असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो । उपकरण मर्मतका लागि भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले यससम्बन्धी काममा थप समय लागेको जानकारी दिनुहुँदै अध्यक्ष भण्डारीले तीव्र रूपमा मर्मतसम्भार भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताउनुभयो । “हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन । उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिद प्रक्रिया अघि बढिसकेको छ, त्यसैले कोइलाको समस्या छैन”, उहाँको भनाइ थियो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना गरिएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

गलकोट (बागलुङ), २९ कात्तिकः मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न हुनुहुन्छ ।

१६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउनुहुन्छ । “भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उहाँ भन्नुहुन्छ ।

बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताउनुभयो । “भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरेँ । १६ घण्टा काम गर्नुपर्दा निकै दुःख थियो । कमाइ खासै थिएन तर काम भने सिकियो, भारतमै केही वर्ष सिल्टेबाट बनेका भाडा बिक्रीको काम पनि गरँे, व्यवसायमा घाटा भएपछि नेपाल फर्के”,उहाँले भन्नुभयो,“पुर्खाको पेसा र भारतको सिकाइले मलाई आत्मबल मिल्यो । बालीघरे प्रथाले पहिला गाउँमा खासै आम्दानी थिएन, बागलुङ बजार झरेपछि भने श्रमको मूल्य पाएको छु ।”

आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी हुनुहुन्छ । साथीभाई अहिले रोजगारीका लागि विभिन्न देश पुगे पनि भारतबाट फर्केपछि आफूलाई भने विदेश जान मन नलागेको उहाँको भनाइ छ । “आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगए पनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्”, विश्वकर्माले भन्नुभयो, “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”

सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताउनुभयो । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको विश्वकर्माको गुनासो छ । उहाँले परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा विश्वकर्माले चिन्ता व्यक्त गर्नुभयो । “अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक

उदयपुर, २९ कात्तिकः आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले. उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।

त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

काठमाडौं । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । डेंगुका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनलाई गएराति हृदयाघात भएको थियो ।

उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजेतिर निधन भएको परिवारतले जानकारी दिएको छ । उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो ।

छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै अन्त्येष्टि गरिने पारिवारिकले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।

उनको म्यादीमा होटल व्यवसाय रहेको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेकी गौचन म्याग्दीकी हुन् । केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको थियो ।

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख, २९ कात्तिकः जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताउनुभयो ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ ।

कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी

विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।

ग्लोबल कार्बन प्रोजेक्टका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालको प्रारम्भिक अनुसन्धानका अनुसार तेल, ग्यास र कोइलाबाट हुने कार्बनडाइअक्साइड उत्सर्जन यस वर्ष रेकर्ड उचाइमा पुगेको छ ।

यो प्रतिवेदन आएको बेला नेताहरू जलवायु परिवर्तनसँग सामना गर्न कमजोर देशहरूलाई अनुकूलन गर्न र स्वच्छ ऊर्जामा सङ्क्रमण गर्न अधिक वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता गर्न अजरबैजानमा कोप२९ जलवायु वार्तामा भेला भएका थिए।

पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमालाई सीमित गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न विश्वलाई सन् २०५० को सट्टा सन् २०३० को दशकको अन्त्यतिर नै कार्बन उत्सर्जन शून्य हुनुपर्ने आवश्यक रहेको अनुसन्धानले पाएको छ ।

“यस वर्षको सुरुदेखि नै राष्ट्रपतिले यसलाई बढावा दिइरहनुभएको छ, समय सङ्कुचित हुँदै गइरहेको छ र हामीले तत्काल कार्य गर्न आवश्यक छ”, कोप२९ का लागि अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले भन्नुभयो, “अझै पनि १.५ डिग्रीलाई पहुँचमा राख्ने सम्भावनाहरू छन् र जलवायु वित्तमा सम्झौता गर्नाले हामीलाई यो अवसर प्राप्त गर्न निश्चित रूपमा मार्ग प्रशस्त गर्नेछ ।”

जनवरीमा राष्ट्रपतिको पदभार सम्हालेपछि संयुक्त राज्य अमेरिकालाई फेरि पेरिस सम्झौताबाट बाहिर निकाल्ने वाचा गर्नुभएका डोनाल्ड ट्रम्पको निर्वाचनपछि विश्वव्यापी जलवायु कार्यको भविष्यबारेमा बढ्दो चिन्ताका साथ यो चेतावनी आएको छ ।

बाकुमा केही नेताहरूले दुई दिनको भाषणमा जीवाश्म इन्धनको पक्षमा बोलेका थिए तर जलवायु प्रकोपबाट ग्रस्त देशका अन्य नेताहरूले समय समाप्त हुँदै गएको चेतावनी दिए ।

केही कडा शब्दहरू अल्बानियाका प्रधानमन्त्री एडी रामाबाट आएका थिए । उहाँले ‘जलवायु परिवर्तनका बारेमा राम्रा शब्दहरूले भरिएका हाम्रा भाषणहरूले केही परिवर्तन गर्दैनन्’ भनी गुनासो गर्नुभयो । रामाले यस वर्षको कार्यक्रम छोडेर गएका धेरै नेताहरूको आलोचना गर्दै उनीहरूको अनुपस्थितिले ‘चोटको अपमान’ भएको बताउनुभयो ।

– सुस्त मार्ग –

यसैबीच, इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हाम्रो उत्पादन र सामाजिक प्रणालीको दिगोपन’ भन्दा ‘कार्बनमुक्तीकरण’ (डिकार्बनाइजेशन) लाई प्राथमिकता दिनुपर्ने ‘यथार्थवादी विश्वव्यापी दृष्टिकोण’ को माग गर्नुभयो ।

“हामीले प्रकृतिको रक्षा गर्नुपर्छ, यसको मूलमा मानिस हुनुपर्छ । यस विषयमा धेरै वैचारिक र व्यावहारिक नभएको दृष्टिकोणले हामीलाई सफलताको बाटोबाट टाढा लैजान्छ”, उहाँले भन्नुभयो, “वर्तमानमा जीवाश्म इन्धन आपूर्तिको कुनै एकल विकल्प छैन ।”

ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले देशहरूले ‘आफूलाई औद्योगिक विनाशमा धकेल्न सक्दैनन्’ भनी चेतावनी दिनुभयो ।

ती दृष्टिकोणहरू जलवायु प्रकोप र बढ्दो समुद्री सतहले घेरिएका देशहरूको धारणासँग एकदम विपरीत थिए ।

टुभालुका प्रधानमन्त्री फेल्टी पेनिटाला टेओले उहाँको जस्ता प्रशान्त टापुवासी राष्ट्रहरूका लागि ‘बर्बाद गर्ने कुनै समय छैन’ भन्नुभयो । उहाँले देशहरूलाई ‘विश्वले तुरुन्तै जीवाश्म इन्धन समाप्त गरिरहेको छ भन्ने स्पष्ट सङ्केत दिन’ आग्रह गर्नुभयो ।

– पैसाको लडाइँ –

नेताहरू बोल्दा, वार्ताकारहरूले वित्तसम्बन्धी नयाँ मस्यौदा सम्झौता जारी गरेका छन् । यसमा वित्त उठाउनका लागि धेरै विकल्पहरू समावेश छन् तर लामो समयदेखि सम्झौता ढिलाइमा पार्ने अड्कलहरू अझै समाधान भएका छैनन् ।

अधिकांश विकासोन्मुख देशले कम्तीमा १३ खर्ब अमेरिकी डलरको प्रतिबद्धता समृद्ध देशहरूबाट चाहन्छन् । यो रकम अहिले अमेरिका, युरोपेली सङ्घ (इयु) र जापानलगायत सीमित सङ्ख्याका विकसित देशहरूले वार्षिक एक खर्ब डलर भुक्तानी गर्दै आएको रकमको १० गुणाभन्दा बढी हो ।

कतिपय दाताहरू आफ्नो घरेलु आर्थिक र राजनीतिक दबाबको सामना गर्नुपरेको बेलामा आफ्नो बजेटबाट ठूला नयाँ रकमहरू प्रतिज्ञा गर्न अनिच्छुक छन् ।

उनीहरू यसको सट्टा निजी क्षेत्रको परिचालनको प्रतिज्ञा गर्न चाहन्छन् । यसलाई गैरसरकारी सङ्गठनहरूले ‘इच्छामात्र आधारित विचार’ भन्छन् ।

“उनीहरू सधैँ निजी क्षेत्रलाई जादुई पैसाको बोटका रूपमा हेर्न मन पराउँछन्’, मर्सी कोपर्सका लागि विश्वव्यापी जलवायु नीति प्रमुख डेबी हिलियरले भन्नुभयो ।

अमेरिकी जलवायु दूत जोन पोडेस्टाले सम्झौतामा ‘नयाँ योगदानकर्ताहरू’ समावेश हुनुपर्ने बताउनुभयो । यसमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो प्रदूषक भए पनि विकसित देश भनेर लेबल नगरिएको चीनलाई समावेश गर्नुपर्ने उहाँको भनाइ थियो ।

पहिले नै ऋणमा डुबेका विकासोन्मुख देशहरूले ऋणको सट्टा अनुदानको रूपमा नयाँ सहायता चाहन्छन् ।आँधीबाट प्रभावित बहामासका प्रधानमन्त्री फिलिप डेभिसले द्वीप राष्ट्रहरूले जलवायु वित्तमा प्राप्त गरेको सहयोगभन्दा १८ गुना बढी ऋण भुक्तानी गरेको बताउनुभयो ।

“विश्वले युद्धका लागि आर्थिक सहयोग गर्ने क्षमता र महामारीविरुद्ध परिचालन गर्ने क्षमता पाएको छ”, उहाँले भन्नुभयो, “तर पनि जब हाम्रो समयको सबैभन्दा गहिरो सङ्कट, राष्ट्रहरूको अस्तित्वलाई सम्बोधन गर्ने कुरा आउँछ, त्यो नै क्षमता कहाँ छ ?”

अमेरिकी सरकारी कर्मचारीमाथि इरानमा आक्रमण गर्ने इजरायलको योजनामा वर्गीकृत कागजातहरू चुहाएको आरोप

अमेरिकी सरकारका लागि काम गर्ने एक व्यक्तिलाई बुधबार दायर गरिएको अदालतको कागजातअनुसार इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ ।

आसिफ विलियम रहमानका रूपमा पहिचान गरिएको व्यक्तिलाई यस हप्ता कम्बोडियामा एफबिआईले पक्राउ गरेको थियो । उनलाई गुआममा पहिलो पटक अदालतमा पेश गरिनेछ ।

उनलाई गत हप्ता भर्जिनियाको अमेरिकी अदालतमा ‘राष्ट्रिय रक्षा जानकारीको जानाजानी प्रसारण’ गरेको दुई मुद्दामा अभियोग लगाइएको थियो । यो आपराधिक आरोपमा महत्त्वपूर्ण जेल सजाय हुनसक्छ ।

रहमानसँग वकिल थिए वा कुन सङ्घीय एजेन्सीले उनलाई नियुक्त गरेको थियो भन्ने तुरून्त स्पष्ट भएन तर अधिकारीहरूले उनीसँग गोप्य सुरक्षा स्वीकृति थियो भनेका छन् ।

अभियोगहरू टेलिग्राम मेसेजिङ एपको च्यानलमा गत महिना देखा परेको नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स एजेन्सी र नेसनल सेक्युरिटी एजेन्सीलाई श्रेय दिइएको कागजातहरूबाट आएको हो ।

कागजातहरूले इजरायलले अझै पनि अक्टोबर १ मा इरानको विस्फोटक ब्यालिस्टिक मिसाइल आक्रमणको प्रतिक्रियामा सैन्य आक्रमण गर्न सैन्य सरसामानहरू सार्दै गरेको उल्लेख गरेका छन् ।

इजरायलले अक्टोबरको अन्त्यमा इरानका धेरै स्थलहरूमा जवाबी आक्रमण गरेको थियो ।‘फाइभ आइज’ भनिने यी कागजात संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, न्युजिल्यान्ड र अस्ट्रेलियाले आपसमा साझेदारी गर्न योग्य थिए ।न्युयोर्क टाइम्सले उनको गिरफ्तारीको पहिले रिपोर्ट गरेको थियो ।

कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनका विषयमा सोधपुछ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिमपाटस्थित सिआइबीको कार्यालयमा बुधबार उहाँसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

बयान लिएपछि उहाँसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा उपसभापति गुरुङसँग बुधबार सोधपुछ गरिएको हो ।

प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक पक्राउ

झापा, २९ कात्तिक: प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताउनुभयो । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

सूचनाको हक हरेक क्षेत्र र निकायले कार्यान्वयन गर्नुपर्छः प्रमुख सूचना आयुक्त गुरुङ

दाङ – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । आयोगले तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा उहाँले हरेक तीन÷तीन महिनामा आफूले गरेका कामकारबाही सार्वजनिक र कुनै पनि नागरिकले माग गरेका सूचना सहज रूपमा उपलब्ध गराउने हो भने सूचनाको हक स्वतः कार्यान्वयन हुने बताउनुभयो । प्रमुख सूचना आयुक्त गुरुङले सरकारी तथा गैरसरकारी संघसंस्थालाई सूचना अधिकारी अनिवार्य तोक्न आदेश दिइसकेकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा उपमहानगर गम्भीर रहेको बताउनुभयो । उहाँले ऐनमा भएको व्यवस्थाअनुसार नै सूचना अद्यावधिक गर्ने गरिएको जानकारी दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पारदर्शी हिसाबले सेवा प्रवाह गर्दा सूचनाको हकमा मद्दत पुग्ने बताउनुभयो । राष्ट्रिय सूचना आयोगका उपसचिव युवराज अधिकारीले सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो भने दिनेश भट्टराईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौंँ – सरकारले देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) अभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने छ । किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्नुपरेको मन्त्री पौडेललाई उद्धृत गर्दै डा बुढाथोकीले भन्नुभयो ।

यस्तै, मन्त्रालयले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप समावेश गराउने निणय गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को केही सहयोग र सरकारले पनि खरिदका लागि लगानी गरेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने बताउनुहुन्छ । यस भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गरेको जानकारहरूको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने

दमौली (तनहुँ), २९ कात्तिकः निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उहाँको भनाइ छ ।

पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ, २९ कात्तिकः निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गर्नु भएको थियो । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै वित्तीय संस्थाले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति रु दश लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति रु बीस लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ ।

“यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ । यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ”, सम्झौताबारे निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ कात्तिकःढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिनुभयो ।