`

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने

दमौली (तनहुँ), २९ कात्तिकः निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उहाँको भनाइ छ ।

पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ, २९ कात्तिकः निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गर्नु भएको थियो । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै वित्तीय संस्थाले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति रु दश लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति रु बीस लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ ।

“यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ । यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ”, सम्झौताबारे निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन (बागलुङ), २९ कात्तिकःढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिनुभयो ।

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

काठमाडौँ, २९ कात्तिकः धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ।

धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ ।

यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।

नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ कात्तिकः नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा र बिक्रीदर आठ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ एक पैसा, कतार रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २९ कात्तिकःहाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह

धनुषाधाम, २८ कात्तिकः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख दर्द दुर गर्न सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । वर्तमान सरकारले सोहीअनुरुप काम गरिरहेको उहाँले बताउनुभयो ।

प्राथमिकताका आधारमा जनताको पिरमर्का, सवाल र मुद्दा पहिचान गरी सम्बोधन गर्नेतर्फ सरकार अगाडि बढिरहेको उहाँको भनाइ छ । उहाँले आज गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा आँखा उपचार केन्द्र उद्घाटन गर्नुभयो । 

उद्घाटनसँगै केन्द्रमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको केन्द्रबाट अधिकतम सेवा उपभोग गर्न सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सेवा भावबाट खोलिएको उपचार केन्द्रमा मैले सक्दो सहयोग गर्छु ।” 

यस्तै विकास निर्माणलाई गति दिन वर्तमान सरकारले राजनीतिक स्थिरता र स्थायित्वमा जोड दिइरहेको उहाँले बताउनुभयो । कोभिडपछि ठप्प आर्थिक गतिविधिलाई सरकारले लयमा ल्याउने काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवं जसपा नेपालका नेता दीपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सञ्चालन गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना साकार गरिदिन उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले मधेसमा सिँचाइको उचित व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो । 

नगर प्रमुख यादवले प्रकाशमान सिंह स्थानीय विकासमन्त्री रहेकै बेला उहाँका पिता सर्वमान्य नेता गणेशमान सिंहको नाउँले नगरपालिकाको नामाकरण भएको स्मरण गराउँदै उक्त पालिकाको समग्र विकासमा अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : दाहाल

काठमाडौँ, २८ कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पछिल्लो समय महिला खेलाडीले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गर्नुभएको छ ।  

आज साँझ युएईलाई पराजित गर्दै आइसिसी महिला यु–१९ टी–२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ । पहिलोपटक आइसिसी यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर देशको गौरव बढाएको छ ।” 

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । 

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरद्धारा एक सय ४६ करदाताको बैंक खाता रोक्का

चितवन, २८ कात्तिक : आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १६ हजार छोरीको बिमा

जनकपुरधाम, २८ कात्तिक : मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बिमा गरेको छ ।

 मधेस प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत सो बिमा गरिएको हो । मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार सो बिमाबापत रु ५९ करोड ७५ लाख खर्च भएको छ ।

 आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरुको उत्थान तथा महिला सशक्तीकरणका लागि बिमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिनुभयो ।

 उक्त अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बिमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु भएको सो अभियानअन्तर्गत छोेरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ ।

 यसैगरी छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि रु ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा बिमा गर्ने व्यवस्था गरिएको छ । बीमित किशोरीले २० वर्षपछि रु तीनलाख पाउने छन् । तर त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ । विवाह २० वर्ष अगाडि गरेमा उक्त बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले सञ्चालन गर्दै आएको छ । साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ ।

सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुन्जदै गायक कालीप्रसाद बासकोटा

काठमाडौं । नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् ।

काली र उनको व्याण्ड साथीभाई यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुती दिँदैछन् । यहाँ उनीहरुको व्याण्डको तेस्रो प्रस्तुती हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरुबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ ।

काली र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलमा काली र उनको व्याण्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन् ।

पोखरा र बुटवलपछि काली र उनको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायतका स्थानमा आफूलाई गुञ्जाउँदैछन् । यसअघि उनीहरुले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुती दिइसकेका छन् ।
‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन् ।कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ ।

‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनिहरु मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन् । उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन् । उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन् ।

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २८ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भन्नुभएको छ, “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।”

आज संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हँुदैछ । 

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् । 

झापामा दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

झापा, २८ कात्तिक : झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।

आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पु-याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन ।

“मानिसहरु आ–आफ्नो काम धन्धामा व्यस्त थिए”, भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्नुहुन्छ, “हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।” नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएको उहाँले बताउनुभयो ।

झापामा एक दर्जन बढी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन् ।

उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन् । १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन । हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन ।

प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ ।

“हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन”, चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्नुहुन्छ, “जङ्गलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन । राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ ।”

जनावरहरुले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उहाँ बताउनुहुन्छ । जङ्गलमा मात्र डुल्ने बाँदरहरु अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन् । कागलगायत चराहरु मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरुको आनीबानी परिवर्तनका रुपमा लिनुपर्ने खरेल बताउनुहुन्छ ।

दिउँसो जङ्गलका हात्ती गाउँमा निस्कँदा मानिसमाथि आक्रमणको सम्भावना अझ बढ्ने उहाँको भनाइ छ । “राति मानिस घरभित्र सुतेका हुन्छन्”, अभियन्ता खरेल भन्नुहुन्छ, “दिउँसो बालबालिका र वृद्धवृद्धा घर बाहिर निस्किएका हुन्छन् । खेतमा कामदार आफ्नै धुनमा हुन्छन् । यस्तो बेला हात्तीले अचानक हमला गर्दा ठूलो मानवीय क्षति हुनसक्छ ।” हात्तीले आफूलाई असुरक्षित अनुभूति नगरेसम्म भरसक आक्रमण नगर्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीलाई जङ्गलभित्रै पर्याप्त आहार मिल्ने पारिस्थितिक प्रणाली बनाउन मानिसले प्रयास गर्नुपर्ने अवधारणा विकसित भएको छ । झापाको अर्जुनधारा, मेचीनगर, हल्दीबारीलगायतका स्थानीय तहका सामुदायिक वनमा हात्ती, बाँदर र चराका लागि आहार बन्नसक्ने विभिन्न बोटबिरुवा रोप्ने अभियान चलाइएको छ ।

कोसी प्रदेश सरकारलेसमेत गत वर्ष ‘जसको जङ्गल, उसकै मङ्गल’ अभियानको घोषणा गर्दै पूर्वी नेपालको बाहुनडाँगीदेखि उदयपुरको बेल्टारसम्म हात्तीको बासस्थान र विचरण क्षेत्र पहिचान गरी जङ्गलभित्र आहार हुने बोटबिरुवा रोप्न थालेको थियो । तर, हाल उक्त अभियानले निरन्तरता पाएको छैन ।

जङ्गलभित्र पेटभरि खान पाउने हो भने जङ्गली हात्ती गाउँ नपस्ने खरेल बताउनुहुन्छ । जङ्गल फँडानी र जङ्गलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जङ्गलमा शान्तले बस्ने वातावरण नभएको उहाँको विश्लेषण छ ।
वन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार विगत १५ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वका कारण ६७ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मारिएका छन् । पुरातन सोच र अभ्यासबाट मानव–हात्ती द्वन्द्वको अन्त्य नहुने ठोकुवा गर्दै मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की अब सहअस्तित्व र हात्तीमैत्री सोचबाट अघि बढ्न आवश्यक रहेको बताउनुहुन्छ । “हात्ती त जनावर भइगयो, मानिसले चाहिँ आफ्नो प्रवृत्ति र सोचमा परिवर्तन ल्याउनुपर्छ”, हात्तीमैत्री अवधारणालाई आफ्नो वडामा व्यावहारिक रुपमा लागू गर्दै आउनुभएको कार्की भन्नुहुन्छ, “हात्तीसँग झडपमा उत्रने पुरातन तरिका बन्द गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गर्दै बाली बिमा लागू गरेर क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ ।”

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

वीरगञ्ज (पर्सा), २८ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभएको बताउनुभएको छ । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास र आत्मनिर्भरताको विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने छ । यो तालिम महिला र किशोरीका लागि निकै उपयोगी हुनेछ ।”

तालिमको सफलताका लागि वीरगञ्ज महानगरपालिका, नेपाल–भारत सहयोग मञ्च र अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै मन्त्री यादवले भविष्यमा यस्ता तालिमलाई अन्य जिल्लामा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहभागी सबै किशोरीहरूलाई तालिममा प्राप्त सीपलाई जीवनमा सकारात्मक तरिकाले प्रयोग गर्न सुझाव दिनुभयो ।

“सम्पूर्ण समाजले महिला सशक्तीकरणका लागि यस कार्यक्रमलाई सहयोग र समर्थन गर्नुपर्छ । यसले न केबल महिलाको सुरक्षामा सुधार ल्याउँछ तर समाजमा नयाँ सोच र उदाहरण पनि स्थापित गर्छ”, मन्त्री यादवले भन्नुभयो ।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरूलाई दिएको आजको तालिम सुरुआत मात्रै भएको बताउँदै अब वीरगञ्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाका लागि मार्शल आर्टस्सम्बन्धी तालिम दिइने बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकामा तालिम लिनका लागि कम्तीमा पनि १५ हजार एक सय छात्राले नाम दर्ता गराएकामा १२ हजार नौ सय ७४ जनाको फाराम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको नगरप्रमुख सिंहले जानकारी दिनुभयो । यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ सात हजार चार सय एक जना छात्रालाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।

तालिममा किशोरीहरूलाई शारीरिक र मानसिक रुपमा सुरक्षित रहन आवश्यक सीप सिकाइएको थियो । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा भारतका ख्यातिप्राप्त मार्शलआर्ट प्रशिक्षक डाक्टर चितायजनेश सेट्टीले छात्राहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

काठमाडौँ, २८ कात्तिक : स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् । यहाँ आज आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताउनुभयो ।

“विसं २०७९ मा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै नयाँ र पुरानाबीच व्यवसायीबीच ध्रुवीकरण देखिएको थियो, त्यसलाई आजको समझदारीसँगै समाप्त पारेको छ”, ढकालले भन्नुभयो, “यसले पक्कै पनि हाम्रो पुँजीबजार र धितोपत्र व्यवसायीलाई नयाँ दिशानिर्देश गर्ने र यस अवसरले हामीलाई हाम्रो व्यावसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने हामीले विश्वास लिएक छौँ ।”

अध्यक्ष ढकालले आगामी दिनमा संयुक्त रुपमा एउटै संस्थाका रुपमा अगाडि बढ्दै पुँजीबजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछिको संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाहमा विश्वास व्यक्त गर्नुभयो ।

स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजीबजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वध्यक्ष सन्तोषराज मैनाली र सदस्यमा मदन पौडेल र सुयोग अधिकारी हुनुहुन्छ भने धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यमा सुमनकुमार मल्ल र सन्दीप विक्रम राणामा हुनुहुन्छ ।

कोप२९ मा ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजनाको घोषणा गर्दै अमेरिका

अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा पनि टिकेर रहने द्विदलीय परियोजनाका रूपमा सन् २०५० सम्ममा आणविक ऊर्जालाई तीन गुणा गर्ने नयाँ योजनाहरू बुधबार घोषणा गरेका छन् ।

ह्वाइट हाउसले गत वर्ष गरेको प्रतिबद्धता पूरा गर्दै नयाँ आणविक ऊर्जा क्षमताका लागि मङ्गलबार ठूलो पहलको घोषणा गरेको थियो ।

यो कदम जो बाइडेनले छोड्दा अमेरिकाले लागू गर्न सक्ने महत्त्वाकांक्षी ऊर्जा सङ्क्रमण नीतिको अन्तिम अंशमध्ये एक हुनसक्छ ।

जलवायु परिवर्तनको वास्तविकतामाथि प्रश्न उठाउने र ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता लिने वाचा गर्ने ट्रम्पको पुनर्निर्वाचनले कोप२९ जलवायु वार्तालाई तरङ्गित बनाएको छ ।

तर बाकुमा भएको बैठकमा अमेरिकी अधिकारीहरूले ट्रम्पले अमेरिकी जलवायु कार्य रोक्न सक्षम हुनुहुने छैन भनेर समकक्षीहरूलाई आश्वासन दिन खोजेका छन् ।

साथै बाइडेनका जलवायु सल्लाहकार अली जैदीले बुधबार विशेष गरी आणविक योजनाहरू यसको उदाहरण भएको सुझाव दिनुभयो ।

“यो त्यस्तो क्षेत्र हो जहाँ केवल द्विदलीय समर्थन मात्र देखिएको छैन... तर यो त्यस्तो क्षेत्र पनि हो जहाँ डेमोक्रेटिक र रिपब्लिकन प्रशासनहरूले एक अर्कोलाई प्रगतिलाई निरन्तर रूपमा बनाएर राखेका छन्”, उहाँले भन्नुभयो, “यी लक्ष्यहरू साहसिक छन्, तर ती प्राप्त गर्न योग्य पनि छन् ।”

यो कदम अमेरिकामा आणविक उर्जामा बढ्दो चासोका साथ आएको हो ।

दुई अमेरिकी ऊर्जा कम्पनीले अमेरिकी इतिहासमा सबैभन्दा खराब व्यावसायिक आणविक ऊर्जा दुर्घटना भएको थ्री माइल आइल्यान्डसहित आणविक उर्जा स्टेशनहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

कार्बन–मुक्त बिजुली स्रोतहरू खोजिरहेका अमेजन, माइक्रोसफ्ट र गुगललगायतका प्रौद्योगिकी दिग्गजहरूले पनि हालै आणविक ऊर्जाका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आणविक रिएक्टरहरू निर्माण गर्न सौर्य वा पवन ऊर्जा सुविधाहरूभन्दा धेरै महँगो हुन्छन् । साथै फुकुसिमा वा चेर्नोबिलमा भएका प्रकोपहरू जस्ता दुर्घटनाहरूको जोखिमलाई ध्यानमा राख्दै आणविक ऊर्जाले कडा विरोधको सामना गर्न सक्छ ।

तर धेरै देशहरूले नेट–जिरो प्रतिबद्धतालाई पूरा गर्नका लागि बढ्दो आणविक ऊर्जा नै एकमात्र उपाय हुने विश्वास गर्छन् ।

कोप२९ मा अमेरिकी प्रतिनिधिमण्डलले वासिङ्टनको जलवायु कार्य बलियो रहने देखाउने प्रयास गरिरहेको छ । 

जैदीले बाइडेनको जलवायु एजेन्डाको ‘स्थायित्वमा विश्वास’ व्यक्त गर्नुभयो । “यसको एउटा ठूलो अंश भनेको निजी क्षेत्रद्वारा सञ्चालित सरकारबाहिर निर्माण गरिएको गतिशीलता हो”, उहाँले भन्नुभयो, “आगामी चार वर्षमा जलवायु परिवर्तन मात्र रोकिँदैन, म विश्वस्त छु कि संयुक्त राज्य अमेरिकामा स्वच्छ ऊर्जा ऐन र लगानी र रोजगारी पनि रोकिनेछैन ।”

उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

मलेखु (धादिङ), २८ कात्तिक : गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ । सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन् ।

पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण बिरामी परेका थिए ।

त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहनुभएका पत्रकार मिलन तिमिल्सिनाले बताउनुभयो ।

“फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राति त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ”, तिमल्सिनाले भन्नुभयो । ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उहाँले जानकारी दिनुभयो ।

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी

लुम्बिनी, २८ कात्तिक : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । उहाँले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेसमेत बताउनुभयो ।

रुपन्देही व्यापार सङ्घको रजतजयन्ती मूल समारोहमा मन्त्री भण्डारीले वर्तमान सरकार संविधान संशोधनमार्फत नीतिगत रुपमै सुधारका लागि साझा मुद्दा बनाइएको बताउनुभयो । उहाँले शासन प्रणाली, संरचनागत क्षेत्रमा रहेका कमजोरीलाई सुधारका लागि फरक आस्था र प्रमुख प्रतिस्पर्धी पार्टीबीच गठबन्धन बनेको बताउनुभयो ।

सरकारले निजी क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै मन्त्री भण्डारीले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभयो । उहाँले निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन निरासालाई चिरेर आशा र अपेक्षा जगाउनेगरी सकारात्मक सन्देश दिने काममा लाग्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले सरकारले लगानीको प्राथमिकता जोड दिएको तर लगानीका क्षेत्र र सम्भावना प्रशस्त हुँदाहुँदै पनि हँुदाहँदै पनि बैँकमा पुँजी थुप्रिएर रहेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न र स्वदेशी उत्पादनमा जोड दिनुभयो ।

सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा उद्योगीको आकर्षण बढ्दै गएको बताउँदै मन्त्री भण्डारीले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रको सञ्चालनको काम अघि बढ्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशको विकासमा निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यसहित अघि बढ्नेसमेत बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा निजी क्षेत्र र उपमहानगरपालिका एकसाथ अघि बढ्ने बताउनुभयो । कार्यक्रममा सङ्घको स्थापनादेखि हालसम्म विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

बङ्गलादेशः आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद

बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालिन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत जानुभएको थियो । उहाँले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराउनुभएको थियो ।

आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए ।

सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुकहरू सङ्कलन गर्ने अभियान नै चलाएको थियो ।

कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली सङ्कलन गरिएको छ।

खानले भन्नुभयो, “हाम्रो खोजी अभियान अझपनि जारी छ ।”

हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना)लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो।

खानले भन्नुभयो, “सेना फिर्ता गर्ने विषयमा सरकारका तर्फबाट कुनै निर्देशन आएको छैन ।”सेनाले अगस्ट यता सैनिक हिरासतमा चार जनाको मृत्यु भएको भन्ने समाचारलाई अस्वीकार गर्दै सेनाले नियमको कडाइका साथ पालना गरिरहेको जनाएको छ ।उहाँले भन्नुभयो, “कुनै गुनासो आएमा आवश्यक कारबाही गर्छौं ।”

जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह

धर्मेन्द्र झा, बाकु(अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् ।

उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरेका हुन् ।

सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग बुधबार भएको सामुहिक भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।

“जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ, यो कुरा राष्ट्रसंघमार्फत विकसित देशले बुझुन, “राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, “ यो समस्याको सृजना नेपालजस्ता मुलुकले नगरेको हुँदा यसको न्यूनिकरणका लागि उपपलब्ध स्रोत ऋणमा लिन नसकिने भएकाले अनुदानमा उपलब्ध गराउन आग्रह गर्दछु, “बैठकमा राष्ट्रपति पौडेलले भने ।

सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई परेको छ तर विकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताए ।

उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरसले विपतको पूर्वचेतावनी प्रणाली स्थापनामा अल्पविकसित राष्ट्रहरूलाई प्राथमिकतामा राखेकोमा राष्ट्रपति पौडेलले आभार व्यक्त गर्दै जलवायु परिवर्तनले आर्थिक र सामाजिक अवस्था कमजोर भएका अल्पविकसित देशहरूलाई सबैभन्दा बढी असर गरेको बताए ।

राष्ट्रपति पौडेलले महासचिव गुटेरसले सन् २०२३ मा नेपाल भ्रमण गर्दा हिमालहरू कसरी पग्लिरहेका छन् भन्ने प्रत्यक्ष अनुभव गरेको भन्दै यसवर्ष थामेमा हिमताल फुटेको तथा काठमाडौं र आसपास क्षेत्रमा बाढीपहिरोले ठूलो विध्वंस गरेको जानकारी दिए ।

उनले जलवायु वित्तका श्रोतमा पनि विभिन्न प्रक्रियागत तथा अन्य जटिलताका कारण हाम्रो पहुँच हुन नसकेको बताए । “प्राप्त हुने श्रोत सरकारी संयन्त्रबाटै खर्च हुँदा बढी प्रभावकारी हुन्छ किनकी सरकार सधैं जनताप्रति जवाफदेही हुन्छ, अन्य क्षेत्रले यस्तो जवाफदेहिता बहन गर्नु पर्दैन, यसतर्फ पनि विकसित देशहरूलाई आश्वस्त पार्न संयुक्त राष्ट्रसंघले भूमिका खेल्न सक्छ भन्ने लाग्छ”, राष्ट्रपति पौडेलले भने ।

अल्पविकसित देशहरूको विश्व समन्यव परिषदको अध्यक्ष राष्ट्रका हैसियतमा यी देशहरूको चासो र हकहित रक्षाको लागि नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघले अल्पविकसित तथा विकासशील देशहरूलाई प्राथमिकतामा राखेकोमा कृतज्ञता व्यक्त गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा राष्ट्रसंघसँगको सहकार्य अझ घनिभुत बन्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रसंघका महासचिव गुटेरसले जलवायु परिवर्तनको कारण उत्पन्न समस्या र जोखिम व्यहोनुपरेका मुलुकलाई सहुलियतपूर्ण स्रोत उपलब्ध गराउनुपर्ने धारणा राख्दै कोप २९ अन्तर्गत हुने बैठक, छलफल र वार्तामा यो विषयलाई जोडदार रूपमा उठाउन सुझाव दिएको पनि पोखरेलले जानकारी दिए ।

बैठकमा बंगलादेशका अन्तरिम सरकारका प्रमुख, मालावीको उपराष्ट्रपति र गाम्वियाका मन्त्रीको सहभागिता रहेको थियो ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा कोप –२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन् । उनलाई यहाँस्थित हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए ।

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।

सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थिए । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् ।

“हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू अझै पनि विद्यामान छन्”, अब्बास अराघचीले साप्ताहिक क्याबिनेट बैठकको साइडलाइनमा भन्नुभयो, “अमेरिकीहरूसँग हाम्रा मतभेदहरू छन्, जुन कहिलेकाहीँ धेरै आधारभूत र केन्द्रीय हुन्छन् र समाधान हुन सक्दैनन्, तर हामीले उनीहरूको लागत घटाउन र तनाव कम गर्न व्यवस्थापन गर्नुपर्छ ।”

उहाँले गत महिना अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ता गर्नका लागि कुनै आधार नभएको बताउनुभएको थियो । “हामीले वर्तमान सङ्कट पार नगरेसम्म यी वार्ताका लागि कुनै आधार देख्दैनौँ”, क्षेत्रीय भ्रमणको हिस्साका रूपमा अक्टोबर १४ मा ओमानको खाडी सल्तनतको भ्रमणका क्रममा उहाँले भन्नुभएको थियो ।

ओमानले लामो समयदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्दै आएको छ । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि पश्चिमी नेतृत्वको शाह मोहम्मद रेजा पहलवीलाई हटाएसँगै अमेरिकाले इरानसँगको सम्बन्ध तोडेको थियो ।

इरानी शीर्ष कूटनीतिज्ञको टिप्पणी मङ्गलबार देशका राष्ट्रपतिले प्रतिध्वनित गर्नुभएको थियो । “अमेरिकाको सन्दर्भमा, चाहे हामीलाई मनपर्दछ वा मनपर्दैन, हामी अन्ततः क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस देशको सामना गर्नेछौँ र यो मुद्दालाई आफैँले व्यवस्थापन गर्नु राम्रो हुन्छ”, राष्ट्रपति मसुद पेजेस्कियानले भन्नुभयो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको इरान सन् २०१५ मा अमेरिकासहितका प्रमुख शक्तिहरूसँग आफ्नो आणविक कार्यक्रमलाई सीमित गर्न र क्रमशः प्रतिबन्धहरू हटाउने सम्झौतामा पुगेको थियो ।

तर ट्रम्प प्रशासनले यो सम्झौतालाई तीन वर्षपछि फिर्ता लिएर प्रतिबन्धहरू पुनः लागु गरेपछि सम्झौता विफल भयो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले देशको आणविक कार्यक्रममा इरानी अधिकारीहरूसँग वार्ता गर्न बुधवार तेहरानको भ्रमण गर्ने क्रममा यो घटनाक्रम आएको हो ।

“एजेन्सीसँग कसरी सहयोग गर्ने भन्ने विषयमा समस्या र असहमति छ”, बुधबार अराघचीले भन्नुभयो । उहाँले ग्रोसीको भ्रमणका क्रममा दुवै पक्षले ‘अस्तित्वमा रहेका केही मतभेद र भविष्यमा कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा सहमतिमा पुग्नसक्ने’ आशा व्यक्त गर्नुभयो ।

द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

काठमाडौँ, २८ कात्तिक : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो ।

समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”

विकास निर्माणका लागि सबैले द्रुतगतिमा काम गर्ने हो भने मुलुक समृद्ध हुन धेरै समय नलाग्ने बताउँदै सभापति खतिवडाले भन्नुभयो, “यहाँको प्राविधिक टोलीको काम हेर्दा सुरुङ निर्माण गर्न नेपाली सेनासक्षम हुने देखिएछ । गौरवका आयोजना समयमै सम्पन्न गर्न पाइएमा मुलुकले ठूलो लाभ लिन सक्छ ।” उहाँले राष्ट्रिय गौरवको सर्वाधिक महत्त्वको सो आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण काम भइरहेको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ ।

द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा चार दशमलव छ, मकवानपुर ४९ दशमलव ७७ र बारामा सात दशमलव सात दशमलव छ किमी सडक रहनेछ ।

द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको छ वटा सुरुङ रहनेछ । सो सडकमा विभिन्न स्थानमा कूल १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । एसियाली मापदण्डका आधारमा निर्माण भइरहेको सो सडक आयोजनाको कूल लागत रु दुई खर्ब ११ अर्ब ९३ करोड लागत रहेको छ । सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ ।

सांसद चित्रबहादुर केसीले काठमाडौँमा बसेर गरिएको अन्दाजभन्दा सडक निर्माणमा भएको प्रगति भिन्न रहेको प्रतिक्रिया दिनुभयो । “फास्ट ट्र्याकबारे पढ्थेँ, राज्यव्यवस्था समितिमा पनि कुराकानी हुन्थ्यो, काठमाडौँमा बसेर जे अन्दाज गरेका थिएँ, त्योभन्दा अहिले यहाँ आउँदा बेग्लै देखेँ”, उहाँले भन्नुभयो, “धेरै राम्रो काम भएको छ, बाँकी काम पूरा गरौँ, त्यसलाई समयमा सम्पन्न गर्न आफ्नोतर्फबाट सक्दो कोसिस गर्छु ।”

निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा

काठमाडौँ, २८ कात्तिक : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बला त्कारपछि ह त्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको ह त्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” विसं २०७५ साउन १० गते निर्मला पन्तको बला त्कारपछि ह त्या भएको थियो ।

सरकारमा हुदा माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको अध्यक्ष दाहालको दाबी

काठमाडौँ, २८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वका सरकारले अघि बढाएका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गर्नुभयो ।

“जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।” सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको दाबी गर्दै उहाँले पार्टीले पूरा गर्न नसकेका काम सम्पन्न गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गर्नुभयो ।

कीर्तिपुर क्षेत्र इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्ने छ ।”

इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षक तथा कीर्तिपुरका सामाजिक व्यक्तित्वका रुपमा स्थापित प्राडा शिवशरण महर्जनलाई पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । विभिन्न जातजातिको सङ्गम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल नेतृत्व प्राडा महर्जनले मात्रै गर्न सक्ने बताउनुभयो ।

“सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जीत निश्चित छ ।”

इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक

प्यालेष्टिनी इस्लामिक समूह (हमास) को सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद लडाकू समूहले बुधबार एक इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ ।

गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायली बन्धक भन्दै भिडियोमा आफ्नो रिहाईमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् ।

भिडियोमा आफूलाई साशा ट्रुपानोभ बताउने ती बन्धकले लेबनानमा इजरायली सैन्य अभियानको बारेमा कुरा गरेका थिए भने इजरायलीहरूलाई बन्धकहरूको रिहाईका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका थिए।

यसैबीच, भिडियो सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाईमा ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् ।

इजरायलमा गत बर्षको अक्टुबर ७ मा भएको आक्रमण कम्तीमा एक हजार २०६ जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाइएको थियो ।

हमास समूहको नेतृत्वमा भएको आक्रमणको बदलामा इजराउलले गरेको जवाफी कारबाहीमा गाजामा ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आक्रमणमा मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र त्यसमा पछि महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको छ ।

‘प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित’

बागमती, २८ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।

प्रदेश सरकारको सय दिनको उपलब्धि पत्रकार सम्मेलन गरी आज उहाँले सार्वजनिक गर्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएयता सय दिनमा सरकारकोे संस्थागत विकास र नीति निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर उहाँले गर्नुभयो । उहाँले यस अवधिमा सरकारले महत्वपूर्ण तीनवटा ऐन जारी गराई कार्यान्वयनमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

उहाँले प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायको कार्यसम्पादन प्रभावकारी बनाउन मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता गरी प्रगति समीक्षाको सुरुआत गरिएको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि दीर्घकालीन सोचसहित सरकारले दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्नुभयो ।

हालैको प्राकृतिक विपद्को समयमा क्षतिग्रस्त भौतिक पूर्वाधार मर्मतसम्भारका लागि द्रुत प्रतिकार्य टोली गठन गरी काम भइरहेको बताउँदै मुख्यमन्त्री लामाले बाढी पहिरोका कारण अवरुद्ध अधिकांश सडक मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

बालबालिका ऐन संशोधन गर्न सांसदहरुको जोड

काठमाडौँ, २८ कात्तिक : राष्ट्रियसभाका सांसदहरुले ‘बालवालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको छ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन गरी बालबालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का सांसद सुरेशकुमार आले मगरले बालबालिकासम्बन्धी ऐन, २०७५ मा कमीकमजोरी रहेकाले देशैभरका बालबालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । बाल अधिकारकर्मी अशोककुमार जैरुले बालबालिकासम्बन्धी ऐन संशोधन गरी अपाङ्गता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आमसञ्चार माध्यमले बालबालिकाको गोपनीयताको हकलाई बेवास्ता गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कडा कारबाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान

बाकु (अजरबैजान), २८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ ।

अजरबैजानको बाकु सहरमा यही सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्षराष्ट्रहरुको सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज यहाँ आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ शीर्षकको उच्चस्तरीय ‘राउण्ड टेबल’ बैठकलाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।

“पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनार माथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र तीव्र दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । “बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाइ तथा साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

“जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याका बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो”, उहाँले भन्नुभयो ।

सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । “तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकी त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो”, उहाँले भन्नुभयो ।

त्यस्तै, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगेका र खर्बभन्दा बढीको हानि नोक्सानी भएको राष्ट्रपति पौडेलले जानकारी दिनुभयो । यस प्रकारको हानि नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उहाँको धारणा थियो ।

“भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानि नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत सङ्ख्यात्मक लक्ष्यमा हानि नोक्सानीसमेत समेट्न विशेष आह्वान गर्नुभयो । अन्त्यमा राष्ट्रपति पौडेलले प्रकृतिको संरक्षणका लागि विश्व समुदायसँग आह्वान गर्नुभयो ।

विशेष सत्रलाई सम्बोधन गर्दै कीर्गिस्तानका राष्ट्रपति सद्यर जापारोभले जलवायु परिवर्तनका असरले पर्वतीय क्षेत्रका पारिस्थितिकीय प्रणाली र त्यहाँका जनताको जीवनशैलीमा पारेको असरबारे ध्यानाकर्षण गराउँदै यसमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सचिवायले कार्य योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पर्वतीय मुलुकका हैसियतले आजै यहाँ विशेष सत्र आयोजना गर्नुभएका कीर्गिस्तानका राष्ट्रपति जापारोभले जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराउनुभयो ।

विशेष सत्रमा भाग लिनुहुने संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायत देशका उच्चपदस्थ अधिकारीहरुसहित एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) जस्ता विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले जलवायु परिवर्तनका कारण विश्वमा पारेको असर, यसका चुनौती र सम्बोधन गर्नुपर्ने पक्षबारे धारणा राखेका थिए ।

नव्याश्रीले काली र पार्वती दुवैको भूमिका निर्वाह गरेको ‘महाकाली’ को चर्चा

काठमाडौं । सांगीतिक लघु चलचित्र ‘महाकाली’ सार्वजनिक भएसँगै यसको भिडियोलाई लिएर चर्चा भइरहेको छ । शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गरेको यस सांगीतिकमा श्रीधरको संगीतमा एलिना चौहान र श्रीधर अधिकारीको स्वर छ भने संगीत श्रीधरको नै छ ।

यसको लेखन, निर्माण तथा अभिनय नव्याश्रीले गर्नुभएको छ । बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गर्नुभएको छ । लोमश शिवको भूमिकामा देखिनुभएको छ भने राजकुमार थापा र प्रकाश कँडेलको पनि अभिनय छ । नव्याश्री भारतको दार्जिलिङकी बासिन्दा हुनुहुन्छ ।

उहाँले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जित्नुभएको थियो । रामजी राउत एसोसिएट निर्देशक रहेको यसमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवको शिष्टाचार भेट

बाकु (अजरवैजान), २८ कात्तिक- जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै हुनुहुन्छ । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी हुनुहुनेछ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुग्नुभएको हो । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ ।

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर, २८ कात्तिकः उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।
साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताउनुभयो । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उहाँले बताउनुभयो ।

फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को टीम सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पहेलो रंगको जर्सी सार्वजनिक गरेको हो ।कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट टीमका सञ्चालकले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिगका लागि टीमहरुले गरेको तयारी उत्साहपूर्ण रहेको बताए । उनले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाइ धेरै माथि उठाउने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा अनुवन्धित भएका छन् ।

प्रधानमन्त्री ओली आज जुम्ला जादै

काठमाडौँ, २८ कात्तिक : प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा,बेच्न भ्याइनभ्याइ

गलकोट (बागलुङ) २८ कात्तिकः बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो ।

तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उहाँले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उहाँले किबीसँगै कागती पनि फलाउनुभएको छ । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताउनुभयो । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाउनुभयो । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताउनुभयो । हाल स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको बताउनुभयो ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी, २८ कात्तिक ः मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा म¬ङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।

मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।

प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष रु एक करोड ५० लाख बजेट छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताउनुभयो ।

प्रदेश सरकारमार्फत पखेर–बरङजासहित म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कोप–२९: राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान), २८ कात्तिक : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन हुँदैन ।”

माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग मङ्गलबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

यसपटक नेपाल ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागी भएको छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुग्नु भएको हो । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ ।

इरानले तेहरानमा ‘रक्षात्मक’ सुरुङ निर्माण गर्दै

इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मङ्गलबार रिपोर्ट गरेका छन् । तर उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा प्रकाश पारेका छैनन् ।

“देशमा पहिलोपटक तेहरानमा रक्षात्मक क्षमतासहितको सुरुङ निर्माण भइरहेको छ”, सिटी काउन्सिल ट्रान्सपोर्ट कमिसनका प्रमुख जाफर तासाकोरीलाई आधिकारिक इरना समाचार एजेन्सीले उद्धृत गर्दै भनेको छ, “यो सुरुङले ‘द डिफेन्डर्स अफ हेल्थ’ र ‘इमाम खोमेनी अस्पताल’ मेट्रो स्टेसनहरू बीचको बाटो पछ्याउँछ, र यस मेडिकल सेन्टरमा सिधा सुरुङ पहुँच प्रदान गर्दछ ।” 

तासाकोरीले सुरुङको रक्षात्मक क्षमताका बारेमा थप विवरण दिनुभएको छैन । तथापि, ‘डिफेन्स’ शब्दले फारसीमा धेरै कुराहरूलाई जनाउँछ । फारसीमा चिकित्सक र नर्सहरूलाई ‘स्वास्थ्य रक्षक’ र प्रहरीलाई ‘सुरक्षा रक्षक’  भनिन्छ ।

मङ्गलबारको घोषणा इरान र यसको कट्टर शत्रु इजरायलबीचको बढ्दो तनावको पृष्ठभूमिमा आएको छ । इजरायलले अक्टोबर १० मा इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो । 

यो इरानको अक्टोबर १ को इजरायलमा भएको आक्रमणको प्रतिक्रिया थियो । उक्त आक्रमण स्वयं इरान–समर्थित क्रान्तिकारी गार्डको एक प्रमुखको हत्याको प्रतिशोध थियो ।

इरानी अधिकारीहरूले अक्टोबर १० को आक्रमणमा चार सैनिकहरूको मृत्यु भएको र राडार प्रणालीहरूमा ‘सीमित क्षति’ भएको बताएका छन् । मिडिया रिपोर्टहरूले एक नागरिक पनि मारिएको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले त्यसो नगर्न चेतावनी दिए तापनि इरानले गत महिनाको आक्रमणको बदला लिने धम्की दिएको छ ।

ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गर्नुभएमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ ।

उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् ।

यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गर्नुभयो भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

यदि उहाँले त्यसो गर्नुभएन भने ट्रम्पको कानूनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर–इन–चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

“मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ ।

मेची-महाकाली राष्ट्रिय उद्धार अभियान भक्तपुरमा, २३१ जनाको उद्धार

भक्तपुर, २८ कात्तिकः विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको बताउनुभयो । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ ।

अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना,  कर्णालीबाट तीन जना र सुदूरपश्चिमबाट आठ जनाको उद्धार गरिएको भन्दै उहाँले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको उहाँको भनाइ छ । 

अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उहाँले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष अधिकारीले भन्नुभयो, “विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ, काठमाडौँ महानगरपालिकामै समस्या र चुनौती छ, काठमाडौँ महानगरबाट मात्रै तीन दिनमा ४० जनाको उद्धार गरेका छौँ, भक्तपरका चार वटै पालिका, प्रहरी र प्रशासन एवं सरोकाराला निकायले चासो दिँदै सहयोग गरेर सडक मानवमुक्त घोषणा गर्न आग्रह गर्दछौँ ।”

उद्धार अभियानका सहयोगकर्ता एवं गायिका आनिछोइङ डोल्माले अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामी मानव भएर जन्मिएपछि हर मानवमा करुणा भाव हुन आवश्यक छ, । हामीले गर्ने व्यवहार र बोल्ने बोली सधँै सकारात्मक हुनुपर्छ । सम्भव छ ।”
उहाँले राज्यका तीन वटै सरकारले सहकार्य गर्ने, जिल्ला जिल्लामा हातेमालो गर्ने, सडकमा सडक मानव देखिने वित्तिकै अश्रमलाई खबर गरेर उद्धार गर्ने र सबै निकायबाट सकारात्मक सहयोग प्राप्त हँदा ०८२ मा नेपाललाई सडक मानवमुक्त बनाउन सकिने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले राज्यका सबै निकायले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउँदै भक्तपुरलाई सडक मानवमुक्त बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने धारणा राख्नुभयो । अभियन्ता नवराज काफ्लेले आगामी पुसभित्र भक्तपुरलाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडे, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइँटेललगायतले सरकारले चाल्नुपर्ने अभियान संस्थाले चालेको भन्दै यसलाई सफल पार्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।