`

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर, २८ कात्तिकः उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।
साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताउनुभयो । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उहाँले बताउनुभयो ।

फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा हाल छायांकनरत फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई आशिष इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को टीम सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पहेलो रंगको जर्सी सार्वजनिक गरेको हो ।कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट टीमका सञ्चालकले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिगका लागि टीमहरुले गरेको तयारी उत्साहपूर्ण रहेको बताए । उनले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाइ धेरै माथि उठाउने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा अनुवन्धित भएका छन् ।

प्रधानमन्त्री ओली आज जुम्ला जादै

काठमाडौँ, २८ कात्तिक : प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा,बेच्न भ्याइनभ्याइ

गलकोट (बागलुङ) २८ कात्तिकः बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो ।

तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उहाँले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उहाँले किबीसँगै कागती पनि फलाउनुभएको छ । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताउनुभयो । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाउनुभयो । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताउनुभयो । हाल स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको बताउनुभयो ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी, २८ कात्तिक ः मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा म¬ङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।

मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।

प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष रु एक करोड ५० लाख बजेट छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताउनुभयो ।

प्रदेश सरकारमार्फत पखेर–बरङजासहित म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कोप–२९: राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान), २८ कात्तिक : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन हुँदैन ।”

माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग मङ्गलबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

यसपटक नेपाल ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा राष्ट्रपति पौडेलको नेतृत्वमा सहभागी भएको छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुग्नु भएको हो । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुनुहुन्छ ।

इरानले तेहरानमा ‘रक्षात्मक’ सुरुङ निर्माण गर्दै

इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मङ्गलबार रिपोर्ट गरेका छन् । तर उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा प्रकाश पारेका छैनन् ।

“देशमा पहिलोपटक तेहरानमा रक्षात्मक क्षमतासहितको सुरुङ निर्माण भइरहेको छ”, सिटी काउन्सिल ट्रान्सपोर्ट कमिसनका प्रमुख जाफर तासाकोरीलाई आधिकारिक इरना समाचार एजेन्सीले उद्धृत गर्दै भनेको छ, “यो सुरुङले ‘द डिफेन्डर्स अफ हेल्थ’ र ‘इमाम खोमेनी अस्पताल’ मेट्रो स्टेसनहरू बीचको बाटो पछ्याउँछ, र यस मेडिकल सेन्टरमा सिधा सुरुङ पहुँच प्रदान गर्दछ ।” 

तासाकोरीले सुरुङको रक्षात्मक क्षमताका बारेमा थप विवरण दिनुभएको छैन । तथापि, ‘डिफेन्स’ शब्दले फारसीमा धेरै कुराहरूलाई जनाउँछ । फारसीमा चिकित्सक र नर्सहरूलाई ‘स्वास्थ्य रक्षक’ र प्रहरीलाई ‘सुरक्षा रक्षक’  भनिन्छ ।

मङ्गलबारको घोषणा इरान र यसको कट्टर शत्रु इजरायलबीचको बढ्दो तनावको पृष्ठभूमिमा आएको छ । इजरायलले अक्टोबर १० मा इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो । 

यो इरानको अक्टोबर १ को इजरायलमा भएको आक्रमणको प्रतिक्रिया थियो । उक्त आक्रमण स्वयं इरान–समर्थित क्रान्तिकारी गार्डको एक प्रमुखको हत्याको प्रतिशोध थियो ।

इरानी अधिकारीहरूले अक्टोबर १० को आक्रमणमा चार सैनिकहरूको मृत्यु भएको र राडार प्रणालीहरूमा ‘सीमित क्षति’ भएको बताएका छन् । मिडिया रिपोर्टहरूले एक नागरिक पनि मारिएको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले त्यसो नगर्न चेतावनी दिए तापनि इरानले गत महिनाको आक्रमणको बदला लिने धम्की दिएको छ ।

ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।

सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उहाँलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गर्नुभएमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ ।

उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् ।

यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गर्नुभयो भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

यदि उहाँले त्यसो गर्नुभएन भने ट्रम्पको कानूनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर–इन–चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

“मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ ।

मेची-महाकाली राष्ट्रिय उद्धार अभियान भक्तपुरमा, २३१ जनाको उद्धार

भक्तपुर, २८ कात्तिकः विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको बताउनुभयो । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ ।

अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना,  कर्णालीबाट तीन जना र सुदूरपश्चिमबाट आठ जनाको उद्धार गरिएको भन्दै उहाँले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको उहाँको भनाइ छ । 

अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उहाँले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष अधिकारीले भन्नुभयो, “विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ, काठमाडौँ महानगरपालिकामै समस्या र चुनौती छ, काठमाडौँ महानगरबाट मात्रै तीन दिनमा ४० जनाको उद्धार गरेका छौँ, भक्तपरका चार वटै पालिका, प्रहरी र प्रशासन एवं सरोकाराला निकायले चासो दिँदै सहयोग गरेर सडक मानवमुक्त घोषणा गर्न आग्रह गर्दछौँ ।”

उद्धार अभियानका सहयोगकर्ता एवं गायिका आनिछोइङ डोल्माले अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामी मानव भएर जन्मिएपछि हर मानवमा करुणा भाव हुन आवश्यक छ, । हामीले गर्ने व्यवहार र बोल्ने बोली सधँै सकारात्मक हुनुपर्छ । सम्भव छ ।”
उहाँले राज्यका तीन वटै सरकारले सहकार्य गर्ने, जिल्ला जिल्लामा हातेमालो गर्ने, सडकमा सडक मानव देखिने वित्तिकै अश्रमलाई खबर गरेर उद्धार गर्ने र सबै निकायबाट सकारात्मक सहयोग प्राप्त हँदा ०८२ मा नेपाललाई सडक मानवमुक्त बनाउन सकिने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले राज्यका सबै निकायले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउँदै भक्तपुरलाई सडक मानवमुक्त बनाउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने धारणा राख्नुभयो । अभियन्ता नवराज काफ्लेले आगामी पुसभित्र भक्तपुरलाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बाडे, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइँटेललगायतले सरकारले चाल्नुपर्ने अभियान संस्थाले चालेको भन्दै यसलाई सफल पार्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।

मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।

डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो । तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो ।

उहाँ भन्नुहुन्छ, “रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नशाहरुमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि सधँैका लागि गुम्ने खतरा पनि हुक्छ ।” लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स-साना रक्तनलीमा असर पु¥याउने गर्दछ । उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने उहाँको भनाइ छ ।  

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्य आधा जनसङ्ख्या मात्र यसबारे जानकार छन् ।

चिकित्सकका अनुसार यो समस्याले आँखाको अगाडि कालो थोपा (भुसुना) जस्तो देखिने, छायाँ जस्तो देखिने, दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिनेलगायतका लक्षणहरु देखाउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ्यकर भोजन, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको सेवन नगरेमा मधुमेहबाट बच्न सकिन्छ र पूर्वरोकथाम पनि गर्न सकिन्छ । मधुमेह रोग विशेषज्ञ डा दीपक मल्लले मधुमेह भएका सबै बिरामीले आँखाको जाँच गराउनै पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डायबेटिक रेटिनोपेथीको समस्या आइसकेको छ भने त छ महिनाको अन्तरालमा जाँच गराउनुपर्छ । मधुमेह भएकाले भने वर्षमा एकपटक जाँच गराएकै हुनुपर्छ ।”

तौल घट्नु, प्यास लागिराख्नु, भोक लागिराख्नु, धमिलो देख्नु, पिसाब लागि राख्नुलगायतका समस्या मधुमेहका लक्षणहरु हुन् । डा मल्लका अनुसार यस्ता खालका लक्षण देखिएको छ भने सुगरको जाँच गराउनुपर्छ । 

“ओपिडीमा आउने केही बिरामीहरु आँखा, मिर्गौला तथा खुट्टासम्बन्धी समस्या लिएर आउने हुन्छन् । यो भनेको ढिलो भएको अवस्था हो । त्यसैले नियमित सुगरको जाँच, सुगर नियन्त्रणमा राख्ने र चिकित्सक सल्लाअनुसार  समयमा फलोअप गरेमा यी समस्याबाट जोगिन सकिन्छ”, डा मल्ल भन्नुहुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ‘जनसङ्ख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’ का विषयमा गरेको देशव्यापी अध्ययनले मधुमेहको समस्या आठ दशमलव पाँच प्रतिशतमा रहेको देखाएको छ । करिब १० लाखलाई मधुमेह छ भन्ने यो अध्ययनले आकलन गरेको छ ।

डा थापाका अनुसार मधुमेह भएका करिब एक तिहाइ बिरामीलाई डायबेटिक रेटनोपेथी देखिन्छ जसमा एक तिहाइ बिरामीलाई तुरुन्त उपचार गर्नुपर्छ । उहाँ कुनै व्यक्तिलाई मधुमेह भएको २० वर्षको अवधिमाm पहिलो प्रकारको मधुमेह हुने करिब ९९ प्रतिशतलाई नै डायबेटिक रेटिनोपेथी भएको देखिने बताउनुहुन्छ । साथै दोस्रो प्रकारको मधुमेहमा दुई तिहाइ बिरामीमा डायबेटिक रेटिनोपेथी भइसकेको हुन्छ ।

डा थापा भन्नुहुन्छ, “उच्च रक्तचाप, अनियन्त्रित सुगर, रगतमा चिल्लोको मात्रा बढी छ भने मधुमेह भएको २० वर्ष अगाडि डायबेटिक रेटिनोपेथी देखिन सक्छ । धुमपान गर्ने, रक्तअल्पता भएका, गर्भावस्थामा पनि रेटिनोपेथी छिटो देखिन्छ ।”

मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई जानकारी नभएकाले धेरैजसो ढिलो अस्पताल आइपुग्छन् । तिलगङ्गा आँखा प्रतिष्ठानमा दैनिक एक सय जना ओपिडीमा आउनेमध्ये औसतमा ५० जनामा यस प्रकारका लक्षण देखिने गरेको छ ।

“खास गरेर वैदेशिक रोजगारीमा जाने युवा उमेरका व्यक्तिहरुमा डायबेटिक रेटिनोपेथी अलि ढिलो भइसकेको अवस्थामा आइरहेका छन् । मधुमेह जँचाउने तर आँखा राम्ररी नजँचाउने भएकाले जटिलता निम्तिएको देखिन्छ”, डा थापाले भन्नुभयो । 

यससम्बन्धी जनचेतना जगाउनका निमित्त तिलगङ्गा आँखा प्रतिष्ठानले विगत वर्षझैँ यस वर्ष पनि ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै छ । अस्पतालले यही कात्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह भएका बिरामीलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीलाई उपचार खर्चमा छुटको व्यवस्था गरेको जनाएको छ ।

चिसो बढेपछि गोठाला बेँसी झरे ,सुनसान ‘बुकीपाटन’

ढोरपाटन (बागलुङ), २८ कात्तिकः चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताउनुभयो । 

बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।”

समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् । 

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताउनुभयो । “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हे¥यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उहाँले भन्नुभयो । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् । 

जलनपीडितले भेटे स्वास्थ्यमन्त्री पौडेललाई

काठमाडौँ- जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको बताएका हुन् ।

 आफै जलनपीडित समेत रहनुभएकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताउनुभयो । “उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्”, उहाँले भन्नुभयो ।

जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आउनुभएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताउनुभयो । अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । थापाले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताउनुभयो ।

तनहुँका श्याममणि आचार्यले जलनपीडितका लागि निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताउनुभयो । झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महङ्गो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु वा अङ्गभङ्ग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तारका लागि पहल भएको बताउनुभयो ।

“मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु”, उहाँले भन्नुभयोे, “यी समस्या समाधान गर्न बजेटमा नपरे पनि  पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौँ ।”

मन्त्री पौडेलले अब विद्युत्का कारण हुने जलनमा विद्युत् प्राधिकरणबाट उपचार वा बिमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताउनुभयो । कस्मेटिक उपचारमा महङ्गो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गरिने उहाँको भनाइ थियो ।

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

भक्तपुर-चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान तीन बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै आज रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकै दिन दर्शन गरेको जानकारी दिनुभयो । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रुपमा पुजिँदै आइएको छ ।

हरिबोधिनी एकादशीको दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् ।

हरिबोधिनी एकादशीको दिन चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवाण विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ कात्तिकः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ पाँच पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २८ कात्तिकःहाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

झापा, २८ कात्तिकः नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ ।

विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।

पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट रु ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र रु पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट रु १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रु नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।

नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।

हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उहाँले जानकारी दिनुभयो । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् ।

काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उहाँको भनाइ छ । 

नेपाल भेनियर उत्पादक सङ्घका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पु¥याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने बताउनुहुन्छ ।

हाल भेनियर पत्ती भारत निकासी गर्दा प्रति केजी रु छका दरले भन्सार महसुल बुझाउनुपरेको उहाँले बताउनुभयो । जबकि, सरकारले प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेको छ । नेपाल भेनियर उत्पादक सङ्घले भेनियर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटकपटक माग गरिरहे पनि सुनुवाइ नभएको बर्माले गुनासो गर्नुभयो ।

हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही

बाकु (अजरबैजान), २७ कात्तिक : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्मेलनका क्रममा  भूटानद्वारा आज यहाँ आयोजित वातावरण मन्त्रीको बैठकमा उहाँले त्यसका लागि हिन्दुकुश हिमालयन क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “जलवायु परिवर्तन विरुद्धको लडाईमा क्षेत्रीय हातोमालोका साथै विश्वव्यापी साझेदारीका लागि सबैसँग अनुरोध गर्दछु ।”

हिमताल विष्फोटन हुँदा हिमाली गाँउ थामे बगाएको तथा एक महिनाअघि नेपालमा आएको बाढी पहिरोबाट  दुई सय ५० भन्दा बढी मानिसको मृत्य भएको घटना प्रस्तुत गर्दै उहाँले जलवायु परिवर्तनबाट हाम्रो जस्तो पर्वतीय मुलुकमा कति हानी नोक्सानी पुग्दो रहेछ भन्ने उदारणकारूपमा ती दुवै घटनालाई लिन सकिने बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “हिन्दकुश हिमालयन क्षेत्रमा रहेको नेपाल एउटा पर्वतीय देश हो, संसारकै अग्लो सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला वर्षैभर हिँउले ढाकिएका पर्वत यहाँ छन्, जुन जलवायु परिवर्तनले उच्च जोखिममा छन् ।”

हिन्दकुश पर्वतीय क्षेत्र जलवायु परिवर्तनका हिसाले संसारकै जोखिमयुक्त क्षेत्रमा पर्ने बताउँदै मन्त्री शाहीले यो पर्वतीय भू–भागले संसारका झण्डै एकचौथाई  मानव समुदायलाई पानी, जैविक विविधतालगायत वातारणीय सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो ।

भूटानका प्रधानमन्त्री प्रमुखको आतिथ्यमा भएको उक्त बैठकमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भूटान, ताजकिस्तान, चीन र भारतलगायतका हिन्दकुश क्षेत्रका मुलुकका वातावरणमन्त्रीको सहभागीता थियो ।

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २७ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई सुधार्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिति, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भए पनि आयात, निर्यात, उत्पादन, माग, पुँजीगत खर्च, लगानीलगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारण र निराकरणका उपाय पनि उत्तिकै आवश्यक हुने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदरलगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताउनुभएको थियो ।

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु

कास्की, २७ कात्तिक : कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् ।

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए । सम्पर्कविहीन भएका उहाँको खोजीका लागि आज बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन् ।

टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि स्थानीय पर्यटन व्यवसायीसहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । “एक विदेशीसहित पाँच जना मर्दी आरोहणका लागि आएको र विदेशीलाई आरोहण गराउने क्रममा मुख्य पर्यटक गाइड लालबहादुर लडेको जानकारीपछि हामी खोजीका लागि मर्दी बेसक्याम्प आइपुगेका छौँ । हेलिकप्टरबाट घटनास्थल पहिचान गरेपछि खोजीका लागि टोली पैदल गएको छ । यहाँको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या छ”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।
तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।

एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा डा जोशी निर्वाचित

काठमाडौँ, २७ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्र्याट युनियनको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अष्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्सलाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता जोश मनुआतुलाई महासचिवमा निर्वाचित गरेको छ । एसिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरु सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको सो पार्टीले जनाएको छ ।

डा जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

हेटौँडामा ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

बागमती, २७ कात्तिक : पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा आज मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित टायर रिपियर पसल नजिक मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको पेट्रोल लोड ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किँदा टायर पसलको मिस्त्री भारतको भोजपुर बस्ने ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सोही घटनामा परी उक्त पसलका कामदार पर्साको धोबिनी गाउँपालिका–२ निवासी १८ वर्षीय जाविर हवारे, ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–११ स्मारक निवासी ३९ वर्षीय देवान लामा, ट्याङ्कर छेउमा उभिरहेका धादिङको धुनिबेँसी नगरपालिका–२ भञ्ज्याङपोखरी निवासी २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा उपमहानगरपालिका–११ नवपलुर निवासी ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल

मोरङ, २७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।

एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उहाँले ‘मिसन ८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताउनुभयो । उहाँले वर्तमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएकाले यसलाई संस्थागत गर्नुपर्नेमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र सङ्कल्पलाई केन्द्रविन्दुमा राखी सिङ्गो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका मोरङ इञ्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले मिसन ८४ लाई सफल बनाउन नेता कार्यकर्तालाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो

सोही अवसरमा आगामी मङ्सिर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो ।

पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौँ, २७ कात्तिक : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ ।

अधिकारीमाथि अवैध रुपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग सङ्लग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याइएको थियो । उहाँसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरु फिर्ता भएका थिए ।

तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी पर्व

काठमाडौँ, २७ कात्तिक : औषधीय गुणयुक्त तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।

 हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजाआराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिएको छ । 

 हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले नटोक्ने र तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन भन्ने गरिन्छ । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

 तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना एवं डेङ्गीबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । 

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भन्ने धार्मिक मान्यता रहेको छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भइ पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

 विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसै विश्वासले आज बूढानीलकण्ठमा पनि लाखौँ भक्तजनको भीड लागेको थियो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजाआराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी भक्तपुरको चाँगुनारायण र ललितपुर विशङ्खुनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको थियो ।

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता

बाकु, अजरबैजान, २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकु सहरमा सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।

“ जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले नेपाल सार्कका क्रियाकलाप अगाडि बढाउन प्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गर्दछ भन्नुभयो ।

काठमाण्डौ र मालेबीच सम्पर्क सञ्जाल विस्तार गर्न गर्न आवश्यक रहेको तथा माल्दिभस्बाट नेपाल भ्रमणमा आएर पर्यटकहरूले यहाँ विशिष्ट अनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपति पौडेलले दुवै देशको आर्थिक विकासमा सघाउ पुग्नेगरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि लागि प्याकेजसहित प्रबद्र्धन गर्न सकिने विचार व्यक्त गर्नुभयो । “वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो, हामीले वैदेशिक लगानीलाई सहजीकरण गर्न कानुन बनाएर वन स्टप सर्भिस सेन्टर स्थापना गरेका छौं, यसमा जलविद्युत, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधि र कृषिजस्ता क्षेत्र छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाल र माल्दिभ्सबीच १ अगष्ट १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनिकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई आजै सम्बोधन गर्नुभयो । यही कात्तिक २६ गतेदेखि शुरु भएको सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी शहर बाकु आइपुग्नुभएको हो ।

ठूला नामहरूले शिखर सम्मेलन छाड्दा अजरबैजान कोप२९ मा जीवाश्म इन्धनको पक्षधर

अजरबैजानमा मङ्गलबार भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनको आयोजकले कोप२९ सम्मेलनमा दर्जनौँ विश्व नेताहरू आइपुगेपछि जीवाश्म इन्धन र देशहरूको प्राकृतिक स्रोतहरूको दोहन गर्ने अधिकारको पक्ष लिएको छ ।

पचहत्तरभन्दा बढी नेताहरू आउने अपेक्षा गरिएको छ तर धेरै शीर्ष प्रदूषणकारी राष्ट्रका प्रमुखहरूले यो जलवायु सङ्कट वार्तालाई छोड्दैछन् । सम्मेलनमा डोनाल्ड ट्रम्पको चुनावी विजयको प्रभावलाई हेरिएको छ ।

विश्वकै लगभग ८० प्रतिशत विश्वव्यापी तापक्रम उत्सर्जन गर्ने जी–२० राष्ट्रका मुठ्ठीभर नेताहरू बाकुमा दुई दिनभन्दा बढी नहुने अपेक्षा गरिएको छ ।

आयोजक अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अजरबैजानलाई जीवाश्म इन्धनको प्रयोगका लागि ‘निन्दा र ब्ल्याकमेल’ गरिएको भन्दै कुनै पनि देशलाई आफ्ना प्राकृतिक स्रोतहरूका लागि दोष दिइन नहुने बताउनुभयो ।

“मलाई उद्धृत गर्नुहोस्, मैले भनेको छु कि यो ईश्वरको उपहार हो, र म आज यहाँ दर्शकहरूको उपस्थितिमा यसलाई दोहोर्याउन चाहन्छु”, उहाँले प्रतिनिधिहरूलाई भन्नुभयो, “तेल, ग्यास, पवन, सूर्य, सुन, चाँदी, तामा – सबै… प्राकृतिक स्रोतहरू हुन् र देशहरूलाई यी स्रोतहरू राख्नका लागि दोष दिइनु हुँदैन र बजारमा ल्याउनका लागि दोष दिइनु हुँदैन, किनकि बजारलाई तिनीहरूको आवश्यकता पर्दछ ।”

ती टिप्पणीहरूको वातावरणीय समूहहरूले आलोचना गरेका थिए ।“देशहरू आफ्ना प्राकृतिक स्रोतहरूका लागि दोषी हुन सक्दैनन् तर उनीहरूले जमिनबाट निकाल्दै र जलवायु प्रभावहरू ड्राइभ गरेर मानवतालाई निम्त्याउने खतराका लागि तिनीहरू जिम्मेवार छन्”, जीवाश्म इन्धन अप्रसार सन्धि पहलका कार्यकारी निर्देशक एलेक्स राफालोभिजले भन्नुभयो ।

भविष्यको अमेरिकी जलवायु कार्यको अनिश्चितताले कार्यवाहीलाई छायामा पारेको सम्मेलनमा जो बाइडेन, सी जिनपिङ, नरेन्द्र मोदी, इमानुएल म्याक्रोन र ओलाफ स्कोल्ज जस्ता जी–२० नेताहरू अनुपस्थित हुनुहुन्छ ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सन् २०३५ सम्ममा बेलायतले आफ्नो उत्सर्जन सन् १९९० को स्तरबाट ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको घोषणा गर्नुभयो । अद्यावधिक गरिएका जलवायु लक्ष्यहरूको उद्देश्य ‘जलवायु चुनौतीमा बेलायतको नेतृत्व“ देखाउनु रहेको उहाँले बताउनुभयो ।

– हामी यसलाई स्वीकार गर्न सक्दैनौँ –

यसैबीच वासिङ्टनको प्रतिनिधिमण्डलले ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पछि हट्ने वाचा गर्नुभएका ट्रम्पको नेतृत्वमा विश्वव्यापी तापक्रममा अमेरिकी प्रयासहरू अन्त्य नहुने भनी साझेदारहरूलाई आश्वासन दिन खोजेको छ ।

अमेरिकी जलवायु सल्लाहकार अली जैदीले देश अहिले ‘उत्सर्जनका सन्दर्भमा सुस्थिर र निरन्तर गति’ मा रहेको र वासिङ्टन ‘कोप२९ मा राम्रो परिणाम प्राप्त गर्नमा धेरै केन्द्रित’ रहेको बताउनुभयो ।

बैठकको शीर्ष प्राथमिकता विकासोन्मुख देशहरूमा जलवायु कार्यका लागि कोष बढाउन कडा सङ्घर्षको सम्झौता गर्नु हो ।

यी राष्ट्रहरू तल्लो टापुदेखि लिएर युद्धमा विभाजित राज्यहरूसम्म जलवायु परिवर्तनका लागि कमसेकम जिम्मेवार छन् तर बढ्दो समुद्र, चरम मौसम र आर्थिक आघातबाट सबैभन्दा बढी जोखिममा छन् ।

कतिपयले आफ्ना राष्ट्रहरूको स्वच्छ ऊर्जामा सर्ने र जलवायु आघातमा अनुकूल हुने भविष्यको लागतलाई कभर गर्न कोप२९ मा वार्षिक एक सय अर्ब डलरको विद्यमान प्रतिज्ञालाई दस गुणा बढाउन दबाब दिइरहेका छन् ।

एक सयभन्दा बढी प्रायः विकासशील देश र चीन समूहको अध्यक्ष युगान्डाका एडोनिया आयेबारेले उहाँहरूले बाकुमा पेश गरिएको मस्यौदा सम्झौतालाई पहिले नै अस्वीकार गरिसकेको बताउनुभयो ।

“हामी यसलाई स्वीकार गर्न सक्दैनौँ र हामीले उनीहरूलाई नयाँ पाठ उत्पादन गर्न भनेका छौँ”, उहाँले एएफपीलाई भन्नुभयो ।

कति तिर्नुपर्छ र कसले तिर्नुपर्छ भन्ने कुरामा असहमतिका साथ राष्ट्रहरूले यस विषयमा वर्षौँदेखि मोलतोल गर्दै आएका छन् ।

विकासोन्मुख देशहरूले पर्याप्त वित्त बिना उनीहरूले आफ्नो जलवायु लक्ष्यहरूमा महत्त्वाकांक्षी अद्यावधिकहरू प्रस्ताव गर्न सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । यो देशहरूले अर्को वर्षको सुरुमा पेस गर्न आवश्यक छ ।

“हामीलाई प्रदान गर्न वित्त सम्मेलन चाहिन्छ”, माल्दिभ्सलगायत जलवायु–जोखिममा रहेका देशहरूका नेताहरूले चेतावनी दिए ।

“हामीले युद्ध गर्न स्वतन्त्र रूपमा कोष बगिरहेको देख्छौँ तर जब यो जलवायु अनुकूलनका लागि हुन्छ तब जाँच गरिन्छ”, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले भन्नुभयो ।

– सम्झौता आवश्यक छ –

हाल पैसा योगदान गर्ने विकसित देशहरूको सानो समूहले चीन र खाडी राज्यहरू लगायत अन्य धनी राष्ट्रहरू र शीर्ष उत्सर्जकहरूलाई समावेश गर्न दाता पूल विस्तार गर्न चाहन्छ । यसलाई बेइजिङले दृढतापूर्वक अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार विकासोन्मुख राष्ट्रहरूले ‘बाकुलाई खाली हात छाड्न नहुने’ बताउनुभयो । “सम्झौता आवश्यक छ”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुख साइमन स्टिलले समृद्ध र सुरक्षित ग्रह निर्माणका लागि जलवायु वित्त चरितार्थसँग जोडिएको छ भन्ने कुरा समृद्ध देशहरूलाई मनाउन प्रयास गर्नुभएको छ ।

“जलवायु सङ्कट द्रुत गतिमा अर्थतन्त्र नाश गर्ने स्थितिमा पुगेको छ’, उहाँले चेतावनी दिनुभयो, “जलवायु कार्य विश्वव्यापी मुद्रास्फीति बिमा हो ।”

हालैका ‘राजनीतिक घटनाहरू’ ले विश्वव्यापी जलवायु कूटनीतिलाई अस्थिर नपार्ने कुरा पनि उहाँले वार्तालाई आश्वस्त पार्न खोज्नुभयो । “हाम्रो प्रक्रिया बलियो छ । यो व्यवस्थित छ र यो कायम रहनेछ”, उहाँले भन्नुभयो ।

जलवायु प्रकोपले घेरिएका धेरै अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी देशका नेताहरूसहित रुस र इरानबीचको मुलुक अजरबैजानमा करिब ५० हजार मानिसले शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।

सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे

फुङ्लिङ (ताप्लेजुङ), २७ कात्तिक : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । वैदेशिक रोजगारीमा जानुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् । यस उपनिर्वाचनमा पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या छ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा थप मतदान केन्द्र राख्न सकिने प्रावधान भए पनि, कुञ्जारीमा एक हजार २६ मतदाता मात्र रहेका कारण दोस्रो केन्द्र थप गरिएको छैन । मतदाता सङ्ख्या कम हुँदा जनशक्ति थप्नुपर्ने आवश्यकता नरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि अहिलेजस्तै दुईवटा मतदानस्थल थिए । यसअघि कुञ्जारीमा नौ सय ९४ र ओसेमा पाँच सय २९ मतदाता थिए । अब हुने उपनिर्वाचनमा पाँच मतदाता मात्र थपिएका छन् । कुञ्जारीमा ३२ मतदाता बढ्दा ओसेमा २७ मतदाता घटेका छन् ।

विसं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८९ हजार छ सय ८० मतदाता थिए । अद्यावधिक तथ्याङ्कअनुसार २०८१ मङ्सिर १५ सम्म ताप्लेजुङमा ८९ हजार एक सय ८९ मतदाता रहेका छन्, जसमा ४७ हजार छ सय २७ पुरुष र ४१ हजार पाँच सय ६२ महिला छन् । मृत्यु, नाम सार्ने र दोहोरो नाम हटाएपछि अद्यावधिक गरी निर्वाचन कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

बेलायतले सन् २०३५ सम्ममा हरित गृह ग्यास उत्सर्जनमा ८१ प्रतिशतले कटौती गर्ने

बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँको सरकारले जलवायु परिवर्तनमा आफ्नो महत्वाकांक्षा बढाइरहेको छ ।

लन्डनको अघिल्लो सरकारले सन् २०२१ को तुलनामा यसै अवधिमा यस्तो उत्सर्जनलाई ७८ प्रतिशतले नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको थियो ।

अजरबैजानको बाकुमा कोप२९ जलवायु सम्मेलनको सुरुआतमा भाग लिँदा स्टार्मरले नयाँ लक्ष्य घोषणा गर्नुभयो । सम्मेलनमा उहाँ प्रमुख अर्थतन्त्रका एक मात्र जी–२० नेताहरू मध्ये एक हुनुहुन्छ ।

“हामी जलवायु नेताका रूपमा हाम्रो प्रतिष्ठा निर्माण गर्दैछौँ”, जुलाईमा बेलायतमा सत्ता सम्हाल्नुभएका लेबर पार्टीका नेता स्टार्मरले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो सरकारले विश्व जलवायु सङ्कटको महत्त्वपूर्ण मोड़मा खडा भएको कुरा स्वीकार गरेकाले मैले यस हप्ता यहाँ कोपमा शृङ्खलाबद्ध बैठकहरू गरेको छु ।”

बेलायती नेताले आफ्नो सरकारले नयाँ उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न ‘मानिसहरूलाई आफ्नो जीवन कसरी बाँच्ने भनेर बताउन सुरु गर्नेछैन’ भनी जोड दिनुभयो । “हामीले मानिसहरूलाई उनीहरूले के गर्छन् भनेर निर्देशन दिन सुरु गर्नेछैनौँ”, उहाँले भन्नुभयो ।

स्टार्मरले ‘महत्त्वाकांक्षी’ तर ‘साकार लक्ष्य’ भनेका यो लक्ष्य पूरा गर्न मन्त्रीहरूद्वारा पहिले नै गरिएका प्रयासहरूको प्रशंसा गर्नुभयो । यसमा नयाँ अनावरण पवनजन्य चरण परियोजनाहरूमा प्रतिबन्ध लगाउने कार्य समावेश छ ।

उहाँको लेबर सरकारले उत्तरी सागरमा कुनै नयाँ तेल र ग्यास अन्वेषण इजाजतपत्र जारी नगर्ने र सेप्टेम्बरमा बेलायतको अन्तिम कोइला शक्ति संयन्त्र बन्द गरेको बताएको छ ।

प्रधानमन्त्री स्टार्मरले यसले बेलायतलाई ‘जी–७ अर्थतन्त्रमध्येको पहिलो देश’ बनाएको र अब यसले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई प्राथमिकता दिएको बताउनुभयो ।

“कुनै शङ्का नगर्नुहोस्, भविष्यको स्वच्छ ऊर्जा रोजगारी र भोलिको अर्थतन्त्रका लागि दौड सुरु भएको छ”, उहाँले भन्नुभयो, “अनि म बीचमा बस्न चाहन्नँ । म खेलभन्दा अगाडि बढ्न चाहन्छु ।”

जलवायु वित्तबाट सञ्चालन हुने कार्यक्रम अनुदानका रुपमा राज्यकोषमार्फत संचालन गर्न आवश्यक छ – राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । (सम्बोधनको पूर्णपाठ)

सम्मानीय राष्ट्रपति रामचन्द्र पौडैलज्यूले जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरुको २९ औं सम्मेलन, अजरबैजानमा गर्नुभएको सम्बोधन
अध्यक्षज्यू,
महामहिमहरु,
भद्रमहिला तथा सज्जनवृन्द !
सर्वप्रथम, जलवायु परिवर्तन सम्बन्धी पक्षराष्ट्रहरुको २९ औं सम्मेलन आयोजना गरेकोमा गणतन्त्र अजरबैजानलाई हार्दिक धन्यवाद !
अध्यक्षज्यू,
१. म आज जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको छु।
२. नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ।नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीडामा छ। हालैको बाढी पहिरो र हिमताल विष्फोटन लगायतका विपद्‍बाट सयौं मानिसको मृत्यु र अरबौंको भौतिक क्षति भएको छ जसको पुनर्लाभ र पुनर्स्थापना अझ भइसकेको छैन।
३. जलवायु परिर्वतनको मारबाट पृथ्वीनै संकटमा त छ तर विशेषगरी गरिव, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढि प्रभावित छन्।
अध्यक्षज्यू
४. विश्व समुदायको हित र पृथ्वीको रक्षाको लागि नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेका छौं ।वन क्षेत्र बढाएका छौं । स्वच्छ उर्जा उत्पादन र आपूर्तिमा जोड दिएका छौं।अरु थुप्रै प्रयासहरु भएका छन् ।
५. हाम्रा प्रयासका तुलनामा जलवायु परिवर्तनको असर व्यापक रहेकोले हाम्रा सामु धेरै चुनौतीहरु छन जसको सामाना गर्न हाम्रो क्षमताले पुग्दैन।
अध्यक्ष्यज्यू,
६. जलवायु अनुकुलन र उत्सर्जन न्युनिकरणका लागि हामीले गरिबी निवारणमा छुट्याएको बजेट कटौती गर्नुपरेको छ, यसबाट हामीहरु झन अन्यायमा परेका छौं।यसका लागि प्रदुषकले प्रदुषण वापतको क्षतिपुर्ति तिर्नुपर्ने सिद्दान्त व्यवहारमा लागु गर्नुको साथै उत्सर्जन घटाउनु पनि पर्दछ।
७. जलवायु वित्त कोषहरुमा घोषणा गरिएको रकम अपुग त छदैछ, घोषणा गरिएको रकम पनि जम्मा हुन नसक्नु, जम्मा भएको रकम पनि झन्झटिलो प्रक्रियाले गर्दा लक्षित समुदायमा सहज पहुँच हुननसक्नु दु:खद हो।
८. जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानीनोक्सानी कोषलाई छिटो संचालनमा ल्याउन म आव्हान गर्दछु। हिमाल, स्वच्छ पानी र जैविक विविधताको संरक्षणमा योगदान गर्ने नेपालजस्तो मुलुकको योगदानको मूल्यांकन र सो को भुक्तानीमा जोड दिन चाहन्छु।
९. पेरिस संझौताको वाध्यकारी व्यवस्था र विकसित राष्ट्रको प्रतिबद्धताअनुरूप प्रविधि हस्तान्तरण र क्षमता विकासमा यथेष्ट अनुदान रकम प्रदान गरिनु पर्दछ।
१०. जलवायु वित्तबाट सञ्चालन हुने कार्यक्रम अनुदानका रुपमा राज्यकोषमार्फत संचालन गर्न आवश्यक छ।
अध्यक्षज्यू
११. गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्दछ।
१२. जलवायु न्याय, समता र क्षमताका आधारमा जलवायु वित्तका नवीन साझा परिमाणात्मक लक्ष्य निर्धारण गर्न र पृथ्वीको औषत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सिमित राख्न तथा हिमाली एवम् अल्पविकसित मुलुकहरुलाई जलवायु न्याय एवम् दिगो विकास सुनिश्चित गर्न सम्मेलनले ठोस प्रतिबद्धता गर्नेछ भन्ने आशा लिएको छु।
१३. पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न । यसकालागि हिमालदेखि समुद्रसम्मको एकिकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक सम्वादको विषय बनाउन प्रस्ताव गर्दछु ।नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेको म जानकारी गराउँदछु।
१४. अन्त्यमा, हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं !

धन्यवाद !

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्वोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नविर्सौं

बाकु (अजरबैजान) : राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो ।

“हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक सम्वादको विषय बनाउन समेत सो सम्मेलनमा प्रस्ताव गर्नुभयो । साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको बताउँदै भन्नुभयो, “ गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्दछ ।”

जलवायु परिर्वतनको मारबाट पृथ्वीनै सङ्कटमा रहेको उहाँले बताउनुभयो । विशेषगरी गरिव, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढी प्रभावित रहेको उहाँको भनाइ थियो । “नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीडामा रहेको बताउनुभयो । हालैको बाढी पहिरो तथा हिमताल विष्फोटन लगायतका विपद्बाट सयौं मानिसको मृत्यु र अरबौंको भौतिक क्षति भएको र त्यसको पुनर्लाभ र पुनस्र्थापना अझ भइनसकेको राष्ट्रपति पौडेलले जानकारी दिनुभयो ।

“विश्व समुदायको हित र पृथ्वीको रक्षाको लागि नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेका छौं, वन क्षेत्र बढाएका छौं, स्वच्छ उर्जा उत्पादन र आपूर्तिमा जोड दिएका छौँ तथा अरु थुप्रै प्रयासहरु भएका छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले हाम्रा प्रयासका तुलनामा जलवायु परिवर्तनको असर व्यापक रहेकोले हाम्रा सामु धेरै चुनौतीहरु छन जसको सामाना गर्न हाम्रो क्षमताले पुग्दैन भन्नुभयो । “जलवायु अनुकुलन र उत्सर्जन न्युनिकरणका लागि हामीले गरिबी निवारणमा छुट्याएको बजेट कटौती गर्नुपरेको छ, यसबाट हामीहरु झन अन्यायमा परेका छौं, यसका लागि प्रदुषकले प्रदुषण वापतको क्षतिपुर्ति तिर्नुपर्ने सिद्दान्त व्यवहारमा लागु गर्नुको साथै उत्सर्जन घटाउनु पनि पर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जलवायु वित्त कोषहरुमा घोषणा गरिएको रकम अपुग त छदैछ, घोषणा गरिएको रकम पनि जम्मा हुन नसक्नु, जम्मा भएको रकम पनि झन्झटिलो प्रक्रियाले गर्दा लक्षित समुदायमा सहज पहुँच हुन नसक्नु दुःखद भएको उहाँको भनाइ थियो ।
“जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानी नोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन म आव्हान गर्दछु, हिमाल, स्वच्छ पानी र जैविक विविधताको संरक्षणमा योगदान गर्ने नेपालजस्तो मुलुकको योगदानको मूल्यांकन र सोको भुक्तानीमा जोड दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जलवायु वित्तबाट सञ्चालन हुने कार्यक्रम अनुदानका रुपमा राज्यकोषमार्फत सञ्चालन गर्नु उपयुक्त हुने उहाँको धारणा थियो । “पेरिस संझौताको वाध्यकारी व्यवस्था र विकसित राष्ट्रको प्रतिबद्धताअनुरूप प्रविधि हस्तान्तरण र क्षमता विकासमा यथेष्ट अनुदान रकम प्रदान गरिनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले जलवायु न्याय, समता र क्षमताका आधारमा जलवायु वित्तका नवीन साझा परिमाणात्मक लक्ष्य निर्धारण गर्न र पृथ्वीको औसत तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न तथा हिमाली एवम् अल्पविकसित मुलुकहरुलाई जलवायु न्याय एवम् दिगो विकास सुनिश्चित गर्न सम्मेलनले ठोस प्रतिबद्धता गर्ने विश्वास व्यक्त गर्नुभयो ।सो सत्रमा अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफले स्वागत गर्नुभएको थियो भने संयुक्त राष्ट्र संघका महासचिव एन्टेरियो गुटरेसलगायत विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले सम्वोधन गर्नुभएको थियो ।

बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव

लुम्बिनी, २७ कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्नेबारे योजना अघि सार्नुभएको छ ।

छिमेकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यले व्यापार र लगानीको बारेमा आज भएको विज्ञसहितको कार्यशालामा रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्तासमक्ष योजना अघि सार्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ । यसबाट आउने नतिजाको आधारमा थप प्रक्रियाअघि बढाइने छ । यसका साथै प्रदेश राजधानी सहरलाई नमूना बनाउने र राजधानी सहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ । लगानीकर्ता र विज्ञहरूको ध्यान केन्द्रित गर्न सफल भएका छौँ”, मुख्मन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा कृषि, उद्योग, व्यापार क्षेत्रको विकासमा पनि विदेशी दातृ निकाय तथा लगानीकर्ताको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा मुख्यगरी प्रदेश राजधानी सहर निर्माण आयोजना, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी सहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटकी पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनियाँ विधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेशसभाका सभासद्हरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथ प्रदर्शनसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी हुनुहुन्छ ।

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’ – एन्टोनियो गुटेरेस

बाकु (अजरबैजान), २७ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ ।

सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उहाँले तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

“नयाँ वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ, विकासशील देशहरूले बाकुबाट खाली हात फर्कनुहुँदैन,” उहाँले भन्नुभयो । विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक छ रहेको उहाँको भनाइ छ । जलवायुको भुक्तानी दिन आग्रह गर्दै महासचिव गुटेरेसले जलवायु–प्रेरित मानवीय विपद् रोक्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन समारोहमा अजरबैजनका राष्ट्रपति इल्हामले विश्वभरका करिब दुई सय मुलुकका प्रतिनिधिलाई स्वागत गर्दै सबैलाई जलवायुले निम्ताएका समस्या समाधान गर्न एकता कायम गर्न आग्रह गर्नुभयो । उहाँले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु सङ्कट तीव्र गतिमा अर्थतन्त्रलाई नष्ट गर्ने कारक बन्दै गरेको बताउनुभयो । उहाँले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको बताउनुभयो । जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट भएर लाग्नुपर्ने उहाँको जोड थियो ।

धेरै देशहरूमा जलवायु असरहरूले ५ प्रतिशतसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) घटाइरहेको भन्दै सचिव स्टियलले जलवायु विपद्हरूले घरपरिवार र व्यवसायको खर्च बढाइरहेको बताउनुभयो । उहाँका अनुसार यदि हरेक देशले साहसिक रूपमा जलवायु न्यूनीकरणका लागि एक्सन लिन सकिएन भने जलवायुका असरले महँगीलाई थप बढाउने छ । “अब हामी महामारीबाट सिकौँ–जहाँ अर्बौंले सामूहिक रूपमा कदम चाल्न नसक्दा दुःख पाएका छौँ,” उहाँले भन्नुभयो ।

“जलवायुजन्य समस्या समाधानका हामी यहाँ बाकुमा छौँ, हामीले नयाँ जलवायुवित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाइ राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने, हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनुपर्नेछ”, सचिव स्टियलले थप्नुभयो, “के तपाइँ आफ्नो खाद्यान्न र ऊर्जाको मूल्य अझ बढोस् भन्ने चाहनुहुन्छ ?, के तपाइँ आफ्नो देशलाई आर्थिकरूपमा अक्षम बनाउन चाहनुहुन्छ ? के तपाइँ विश्वव्यापी अस्थिरता अझै बढोस् भन्ने चाहनुहुन्छ, जसले अमूल्य जीवनलाई जोखिममा पार्छ ? यो सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको छ । अब समाधानका लागि एक हुनुपर्छ ।”

स्टियललका अनुसार महत्वाकांक्षी नयाँ जलवायुवित्तको लक्ष्य हरेक राष्ट्रको अझै सबैभन्दा ठूलो र धनी राष्ट्रहरू समेतको हितमा छ । “जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ । आवश्यक पर्ने राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग दिनुपर्नेछ”, उहाँले भन्नुभयो, “यहीँ बाकुमा, हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिमरूप दिनैपर्छ । हामीले पूर्वनिर्धारित लक्ष्यअनुसार अघि बढ्नैपर्छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न

काठमाडौँ, २७ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको प्रगति समीक्षा सम्पन्न गरेको छ ।
आज यहाँ सम्पन्न बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखहरूले प्रस्तुतीकरण राख्नुभएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च हुन नसक्नुका कारण पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयका प्रतिनिधिले मन्त्रालयगत सहकार्य र समन्वयबाट योजना कार्यान्वयनमा आइपरेका समस्या समाधान गरी मुलुकमा उत्पादनशील रोजगारी अभिवृद्धिमार्फत समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न सकिने बताउँदै त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय सदैव तयार रहेको बताउनुभयो ।
त्यस अवसरमा मन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्न, उत्पादन वृद्धिमा टेवा पु¥याउन, उद्योग तथा वाणिज्य क्षेत्रका पूर्वाधार निर्माणको लक्ष्यअनुरूप प्रगति हासिल गर्न, छिमेकी तथा व्यापार सम्भावना भएका देशहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने, वैदेशिक लगानी बढाउन नीतिगत तथा प्रक्रियागत सुधारमा जोड दिन आग्रह गर्नुभयो । “एकलविन्दु सेवा केन्द्र प्रभावकारी बनाउन, व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनमा जोड दिन, सेवा प्रवाहलाई सहज बनाउन, आपूर्ति प्रणालीको व्यवस्थापनलगायत क्षेत्रको सुधारका लागि मन्त्रालयले हरसम्भव प्रयत्न गरिरहेको सन्दर्भमा कर्मचारीहरूलाई देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो,“आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजनाबमोजिम नतिजा हासिल गर्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न मन्त्रालय एवं विभाग र सम्बद्ध निकायका प्रमुखहरूलाई मेरो आग्रह र निर्देशन छ ।”

बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य, मन्त्रालयका सचिवद्वय, महाशाखा प्रमुख, मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

ताप्लेजुङ २७ कात्तिकः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।

पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार आज लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गर्नुभएको छ ।

समितिका अनुसार उक्त क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । जसले भक्तजनलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । मन्दिर क्षेत्रमा मोबाइल नेटवर्क उपलब्ध भए पनि इन्टरनेटको सुविधा राम्रो नभएकाले टेलिकमसँग समन्वय गरी इन्टरनेट विस्तार गरिने जनाइएको छ ।

बागमती प्रदेशमा मन्त्रालय विभाजन

मकवानपुर, २७ कात्तिकः बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ ।

विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो।

यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौंदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।

सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन्। उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशको रुपमा अनुमोदन गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदहरूले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो ।

केसीएनएले भनेको छ, “दुवै पक्षले अनुमोदनका लिखत आदानप्रदान गरेको दिनदेखि यो सम्झौता लागू हुने बताइएको छ ।”

उत्तर कोरिया युक्रेनमा रूसको आक्रमणको सबैभन्दा मुखर र महत्वपूर्ण समर्थक बनेको छ।

पश्चिमा राष्ट्रहरूले लामो समयदेखि मस्कोलाई युक्रेनमा प्रयोग गर्नका लागि तोपका गोला र क्षेप्यास्त्रहरू आपूर्ति गरेको आरोप प्योङयाङलाई लगाउँदै आएका थिए तर हालैका हप्ताहरूमा हजारौं उत्तर कोरियाली सैनिकहरू युद्धमा संलग्न हुन तयार भएपछि यो समर्थन बढेको छ।

दुई देशबीचको सम्झौता गत जुनमा क्रेमलिन प्रमुखको उत्तर कोरिया भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए ।

यसले दुवै देशलाई एकअर्कामाथि आक्रमण भएमा ‘अविलम्ब’ सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्न बाध्य बनाएको छ।
पुटिनले गत जुनमा भएको सम्झौतालाई ‘ब्रेक थ्रु डकुमेन्ट’ को संज्ञा दिनुभएको थियो ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भन्नुभयो, “द्विपक्षीय अनुमोदनसँगै प्योङयाङ र मस्कोले रूसमा उत्तर कोरियाको सैन्य तैनाथीका लागि वैधता दाबी गर्नेछन्।”

फुकुशिमा परमाणु केन्द्रको फोहोर परीक्षणका लागि टोकियो पुर्‍याइयो

जापानको फुकुशिमा आणविक केन्द्रबाट रोबोटले निकालेको रेडियोधर्मी फोहोरको सानो मात्रा टोकियो नजिकैको एक अनुसन्धान प्रयोगशालामा आइपुगेको छ।

मङ्गलबार प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले गत हप्ता विशेष रूपमा विकसित विस्तारयोग्य उपकरणको प्रयोग गरेर फोहोर उठाई र परीक्षणका लागि ल्याबमा पठाउने कठिन काम पूरा भएको पुष्टि गर्नुभएको छ ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको विनाशकारी सुनामीले विश्वकै सबैभन्दा भयानक आणविक दुर्घटना निम्त्याएको १३ वर्षभन्दा बढी भइसक्दा पनि करिब ८८० टन रेडियोधर्मी सामग्री हटाउन सकिएको छैन ।

उच्च विकिरणको स्तरको कारण दशकौँ लामो शुद्धिकरण र व्यवस्थापन गर्ने परियोजनामा यो भग्नावशेष हटाउनु सबैभन्दा चुनौतीपूर्ण रूपमा हेरिएको छ।

प्राविधिक समस्याका कारण ढिलाइ भए पनि रिएक्टरभित्रको जोखिमको अवस्था बारेमा जानकारीका लागि अध्ययन गर्ने उद्देश्यले उत्तरपूर्वी जापानको फुकुसिमा प्लान्टबाट परीक्षणका लागि नमूना झिकी ल्याबमा पु¥याइएको हो ।

टेप्कोले मङ्गलबार सञ्चारमाध्यमलाई पठाएको इमेलमा भनिएको छ, “परीक्षण अभियानका क्रममा सङ्कलन गरिएको इन्धनबाट निस्केको फोहोरको ढुवानी पूरा भएको छ।”
जापान आणविक ऊर्जा एजेन्सी (जेएईए) को ओराई न्युक्लियर इन्जिनियरिङ इन्स्टिच्युटको १६० किलोमिटर (१०० माइल) को यात्रा कहिले हुनेछ भन्ने बारे कम्पनीले सुरक्षाको कारण देखाउँदै यसअघि विस्तृत विवरण दिएको थिएन।

जापानी सञ्चारमाध्यमका अनुसार रोबोटले निकालेको नमूनाको तौल ०.७ ग्राम (०.०२ औंस) रहेको छ भने जेएईएले यसको उचित विश्लेषणका लागि कम्तीमा एक ग्राम नमूना आवश्यक पर्ने बताएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण फुकुशिमाका छ वटा रिएक्टरमध्ये ३ वटा रिएक्टरमा क्षति पुगेको थियो ।

जापानले गत वर्ष ५४० वटा ओलिम्पिक स्विमिङ पुलको लागि पुग्ने रिएक्टर कूलिङ पानीमध्ये केही पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको थियो ।

यस कदमले चीन र रूससँग कूटनीतिक विवाद सिर्जना भएको र दुबैले एक आपसमा समुद्री खाना (सि फुड) आयातमा प्रतिबन्ध लगाएका थिए । यद्यपि जापानले समुद्रमा छोडिएको पानी निर्वहन सुरक्षित रहेको दाबी गरेको थियो भने यसलाई संयुक्त राष्ट्र सङ्घीय आणविक निकायले समर्थन जनाएको थियो ।

समूद्रमा छोडिएको पानी सुरक्षित रहेको राष्ट्र सङ्घीय निकायको भनाइपछि बेइजिङले सेप्टेम्बरदेखि जापानबाट सि फुड आयात गर्न ‘बिस्तारै सुरु’ गर्ने बताएको थियो ।

‘उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाऔँ’

काठमाडौँ, २७ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सकारात्मक वातावरण तयार गर्न आमसञ्चार माध्यमलाई आह्वान गरेको छ ।

आयोगले सबै आमसञ्चार प्रतिष्ठान तथा सार्वजनिक सञ्चार माध्यमलाई उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्री सम्प्रेषण तथा प्रचारप्रसार गरी निर्वाचनमा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमसँग आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनसँग सम्बन्धित आयोगका निर्णय तथा विज्ञप्तिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले उपनिर्वाचन हुने सबै जिल्लाका सञ्चारमाध्यमले आफ्ना समाचारदातालाई विशेष जिम्मेवारी तोकी निर्वाचनसम्बन्धी गतिविधिलाई आ–आफ्नो सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्न अनुरोध गर्नुभएको हो ।

आयोगले उपलब्ध गराएका उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीलाई छापा माध्यमले पहिलो पृष्ठमा प्रकाशनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार सबै पक्षले पालना गर्नुपर्ने आचरणसम्बन्धी जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न आयोगले आग्रह गरेको हो ।

सञ्चारमाध्यमको नियमित कार्यक्रमभित्र उपनिर्वाचनसम्बन्धी छलफल, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्न तथा विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनमार्फत निर्वाचनसँग सम्बन्धित सामग्री प्रसारण तथा प्रकाशन गर्ने व्यवस्था मिलाउन आयोगले अनुरोध गरेको छ ।

उपनिर्वाचनमा सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए÷नभएको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।

आयोगले उपनिर्वाचन हुने जिल्लामा रेडियो नेपाल तथा नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधिको नेटवर्क तयार गरी समन्वयात्मक रुपमा निर्वाचनसम्बन्धी सूचना सङ्कलन, प्रकाशन, प्रसारण र सम्प्रेषणको उपयुक्त व्यवस्था मिलाउने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ ।

उपनिर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमका लागि आवश्यकताअनुसार निर्वाचन आचारसंहिता जारी गरी लागू गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

उपनिर्वाचनसँग सम्बन्धित विषयगत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरी नियन्त्रण र कारबाहीको व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचन सफल बनाउन नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका निकायलाई सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको स्पष्ट पार्नुभयो ।

छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले उपनिर्वाचनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सम्बन्धित क्षेत्रका समाचारदाता परिचालन गरी समाचार सम्प्रेषण गरिने बताउनुभयो ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्त सगुनशमशेर जबरा, निर्वाचन आयोगका सचिव रविलाल पन्थ, सञ्चार मन्त्रालयका सचिव अर्याल, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, राससका महाप्रबन्धक राई, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह र गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीलगायत सहभागी हुनुहुथ्यो ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

सुदूरपश्चिम, २७ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको छ ।

सरकार गठनको एक सय दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालु आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि सुरुआतका दिनमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाएर बजेट ल्याइएको बताउनुभयो ।

प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्व तथा सुशासनको प्रत्याभूति दिनेगरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने बाटो तय गर्ने कार्य पूरा भएको उहाँले बताउनुभयो । “राजनैतिक अस्थिरताका बीच स्थिर र स्थायी सरकार दिनुपर्ने सन्देश दिन सफल भएका छौँ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यस अवधिमा कानुनी संरचना निर्माण र प्रणाली सुधारमा केन्द्रित रह्यौँ ।”

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रमलाई कार्यान्वयन गर्न समयमै बजेट कार्यक्रम आउन नसक्दा उत्पन्न जटिल परिस्थितिबाट देखिएका समस्यालाई चिर्दै वर्तमान सरकारले गत भदौ ३१ गते बजेट ल्याएको थियो । यस अवधिमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामति सेवा (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएसँगै प्रशासनिक संयन्त्र चलायमान भएको र आवधिक योजना, विकास कार्यक्रम, बजेट प्राथमिकीकरण तथा सुशासनका लागि गरिएको प्रयासलाई उपलब्धि मानिएको छ ।

प्रदेशसभा सदस्यको सहभागितमा सम्बन्धित निर्वाचन क्षेत्रको प्राथमिकता, राष्ट्रिय नीति, प्रादेशिक प्राथमिकता, आवधिक योजना, वार्षिक नीतिकार्यक्रमलगायत काममा प्रादेशिक सन्तुलन कायम गरिएको र स्थानीय तहसँगको समन्वय तथा सहकार्य संस्कृतिलाई निरन्तरता दिई प्रदेश सरकारलाई र स्थानीय तहसँग सामाजिक सञ्जालमा जोड्न गरिएको कामलाई पनि उपलब्धि मानिएको छ ।

आयोजना बैङ्कमार्फत आयोजनाको छनोट प्राथमिकीकरण तथा प्रतिफल र औचित्यका आधारमा योजनाको विनियोजन दक्षता र कार्यान्वयन कुशलताका लागि विद्युतीय ‘पोर्टल’निर्माण भई आयोजना प्रबिष्ट गर्ने कामलाई उपलब्धिमा समेटिएको छ । यस अवधिमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८१ र आपाङ्गतासम्बन्धी प्रदेश नीति–२०८१, बनेको र ऐनतर्फ प्रदेश निजामति ऐन (पहिलो संशोधन) ऐन–२०८०, सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन–२०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन)–२०८१ पारित भएको विषयलाई उपलब्धिका रुपमा लिइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआतका दुई महिना बजेट शून्यतामा रहेको वर्तमान प्रदेश सरकारले बाँकी अवधिमा कुल बजेटको आठ दशमलव शून्य दुई प्रतिशत खर्च गर्न सकेको छ । यस अवधिमा लक्ष्यको तुलनामा २३ दशमलब ९४ प्रतिशत राजस्व परिचालन भएको छ ।

प्रदेशको स्थायी राजधानी स्थापना गर्न तोकिएको स्थलमा जग्गाको अनुमति दिन प्रधानमन्त्रीसमक्ष समन्वय गरिएको जानकारी दिँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “सङ्घीय सरकारले सो क्षेत्रको जग्गामा राजधानी स्थापना गर्न अनुमति नदिएमा विकल्प अघि बढाइने छ ।”

कैलालीको गोदावरी नगरपालिकाको तेघरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी निर्माण गर्नेसम्बन्धी प्रस्ताव तत्कालीन प्रदेशसभाको बैठकमा दुई तिहाइ बहुमतले पारित भए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन ।