`

बागमती प्रदेशमा मन्त्रालय विभाजन

मकवानपुर, २७ कात्तिकः बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ ।

विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो।

यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौंदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।

सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन्। उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशको रुपमा अनुमोदन गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदहरूले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो ।

केसीएनएले भनेको छ, “दुवै पक्षले अनुमोदनका लिखत आदानप्रदान गरेको दिनदेखि यो सम्झौता लागू हुने बताइएको छ ।”

उत्तर कोरिया युक्रेनमा रूसको आक्रमणको सबैभन्दा मुखर र महत्वपूर्ण समर्थक बनेको छ।

पश्चिमा राष्ट्रहरूले लामो समयदेखि मस्कोलाई युक्रेनमा प्रयोग गर्नका लागि तोपका गोला र क्षेप्यास्त्रहरू आपूर्ति गरेको आरोप प्योङयाङलाई लगाउँदै आएका थिए तर हालैका हप्ताहरूमा हजारौं उत्तर कोरियाली सैनिकहरू युद्धमा संलग्न हुन तयार भएपछि यो समर्थन बढेको छ।

दुई देशबीचको सम्झौता गत जुनमा क्रेमलिन प्रमुखको उत्तर कोरिया भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए ।

यसले दुवै देशलाई एकअर्कामाथि आक्रमण भएमा ‘अविलम्ब’ सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्न बाध्य बनाएको छ।
पुटिनले गत जुनमा भएको सम्झौतालाई ‘ब्रेक थ्रु डकुमेन्ट’ को संज्ञा दिनुभएको थियो ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भन्नुभयो, “द्विपक्षीय अनुमोदनसँगै प्योङयाङ र मस्कोले रूसमा उत्तर कोरियाको सैन्य तैनाथीका लागि वैधता दाबी गर्नेछन्।”

फुकुशिमा परमाणु केन्द्रको फोहोर परीक्षणका लागि टोकियो पुर्‍याइयो

जापानको फुकुशिमा आणविक केन्द्रबाट रोबोटले निकालेको रेडियोधर्मी फोहोरको सानो मात्रा टोकियो नजिकैको एक अनुसन्धान प्रयोगशालामा आइपुगेको छ।

मङ्गलबार प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले गत हप्ता विशेष रूपमा विकसित विस्तारयोग्य उपकरणको प्रयोग गरेर फोहोर उठाई र परीक्षणका लागि ल्याबमा पठाउने कठिन काम पूरा भएको पुष्टि गर्नुभएको छ ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको विनाशकारी सुनामीले विश्वकै सबैभन्दा भयानक आणविक दुर्घटना निम्त्याएको १३ वर्षभन्दा बढी भइसक्दा पनि करिब ८८० टन रेडियोधर्मी सामग्री हटाउन सकिएको छैन ।

उच्च विकिरणको स्तरको कारण दशकौँ लामो शुद्धिकरण र व्यवस्थापन गर्ने परियोजनामा यो भग्नावशेष हटाउनु सबैभन्दा चुनौतीपूर्ण रूपमा हेरिएको छ।

प्राविधिक समस्याका कारण ढिलाइ भए पनि रिएक्टरभित्रको जोखिमको अवस्था बारेमा जानकारीका लागि अध्ययन गर्ने उद्देश्यले उत्तरपूर्वी जापानको फुकुसिमा प्लान्टबाट परीक्षणका लागि नमूना झिकी ल्याबमा पु¥याइएको हो ।

टेप्कोले मङ्गलबार सञ्चारमाध्यमलाई पठाएको इमेलमा भनिएको छ, “परीक्षण अभियानका क्रममा सङ्कलन गरिएको इन्धनबाट निस्केको फोहोरको ढुवानी पूरा भएको छ।”
जापान आणविक ऊर्जा एजेन्सी (जेएईए) को ओराई न्युक्लियर इन्जिनियरिङ इन्स्टिच्युटको १६० किलोमिटर (१०० माइल) को यात्रा कहिले हुनेछ भन्ने बारे कम्पनीले सुरक्षाको कारण देखाउँदै यसअघि विस्तृत विवरण दिएको थिएन।

जापानी सञ्चारमाध्यमका अनुसार रोबोटले निकालेको नमूनाको तौल ०.७ ग्राम (०.०२ औंस) रहेको छ भने जेएईएले यसको उचित विश्लेषणका लागि कम्तीमा एक ग्राम नमूना आवश्यक पर्ने बताएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण फुकुशिमाका छ वटा रिएक्टरमध्ये ३ वटा रिएक्टरमा क्षति पुगेको थियो ।

जापानले गत वर्ष ५४० वटा ओलिम्पिक स्विमिङ पुलको लागि पुग्ने रिएक्टर कूलिङ पानीमध्ये केही पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको थियो ।

यस कदमले चीन र रूससँग कूटनीतिक विवाद सिर्जना भएको र दुबैले एक आपसमा समुद्री खाना (सि फुड) आयातमा प्रतिबन्ध लगाएका थिए । यद्यपि जापानले समुद्रमा छोडिएको पानी निर्वहन सुरक्षित रहेको दाबी गरेको थियो भने यसलाई संयुक्त राष्ट्र सङ्घीय आणविक निकायले समर्थन जनाएको थियो ।

समूद्रमा छोडिएको पानी सुरक्षित रहेको राष्ट्र सङ्घीय निकायको भनाइपछि बेइजिङले सेप्टेम्बरदेखि जापानबाट सि फुड आयात गर्न ‘बिस्तारै सुरु’ गर्ने बताएको थियो ।

‘उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाऔँ’

काठमाडौँ, २७ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सकारात्मक वातावरण तयार गर्न आमसञ्चार माध्यमलाई आह्वान गरेको छ ।

आयोगले सबै आमसञ्चार प्रतिष्ठान तथा सार्वजनिक सञ्चार माध्यमलाई उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्री सम्प्रेषण तथा प्रचारप्रसार गरी निर्वाचनमा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमसँग आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनसँग सम्बन्धित आयोगका निर्णय तथा विज्ञप्तिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले उपनिर्वाचन हुने सबै जिल्लाका सञ्चारमाध्यमले आफ्ना समाचारदातालाई विशेष जिम्मेवारी तोकी निर्वाचनसम्बन्धी गतिविधिलाई आ–आफ्नो सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्न अनुरोध गर्नुभएको हो ।

आयोगले उपलब्ध गराएका उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीलाई छापा माध्यमले पहिलो पृष्ठमा प्रकाशनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार सबै पक्षले पालना गर्नुपर्ने आचरणसम्बन्धी जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न आयोगले आग्रह गरेको हो ।

सञ्चारमाध्यमको नियमित कार्यक्रमभित्र उपनिर्वाचनसम्बन्धी छलफल, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्न तथा विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनमार्फत निर्वाचनसँग सम्बन्धित सामग्री प्रसारण तथा प्रकाशन गर्ने व्यवस्था मिलाउन आयोगले अनुरोध गरेको छ ।

उपनिर्वाचनमा सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए÷नभएको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।

आयोगले उपनिर्वाचन हुने जिल्लामा रेडियो नेपाल तथा नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधिको नेटवर्क तयार गरी समन्वयात्मक रुपमा निर्वाचनसम्बन्धी सूचना सङ्कलन, प्रकाशन, प्रसारण र सम्प्रेषणको उपयुक्त व्यवस्था मिलाउने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ ।

उपनिर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमका लागि आवश्यकताअनुसार निर्वाचन आचारसंहिता जारी गरी लागू गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

उपनिर्वाचनसँग सम्बन्धित विषयगत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरी नियन्त्रण र कारबाहीको व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई पत्राचार गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचन सफल बनाउन नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिइने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका निकायलाई सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको स्पष्ट पार्नुभयो ।

छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले उपनिर्वाचनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सम्बन्धित क्षेत्रका समाचारदाता परिचालन गरी समाचार सम्प्रेषण गरिने बताउनुभयो ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्त सगुनशमशेर जबरा, निर्वाचन आयोगका सचिव रविलाल पन्थ, सञ्चार मन्त्रालयका सचिव अर्याल, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, राससका महाप्रबन्धक राई, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह र गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीलगायत सहभागी हुनुहुथ्यो ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

सुदूरपश्चिम, २७ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको छ ।

सरकार गठनको एक सय दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालु आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि सुरुआतका दिनमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाएर बजेट ल्याइएको बताउनुभयो ।

प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्व तथा सुशासनको प्रत्याभूति दिनेगरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने बाटो तय गर्ने कार्य पूरा भएको उहाँले बताउनुभयो । “राजनैतिक अस्थिरताका बीच स्थिर र स्थायी सरकार दिनुपर्ने सन्देश दिन सफल भएका छौँ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यस अवधिमा कानुनी संरचना निर्माण र प्रणाली सुधारमा केन्द्रित रह्यौँ ।”

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रमलाई कार्यान्वयन गर्न समयमै बजेट कार्यक्रम आउन नसक्दा उत्पन्न जटिल परिस्थितिबाट देखिएका समस्यालाई चिर्दै वर्तमान सरकारले गत भदौ ३१ गते बजेट ल्याएको थियो । यस अवधिमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामति सेवा (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएसँगै प्रशासनिक संयन्त्र चलायमान भएको र आवधिक योजना, विकास कार्यक्रम, बजेट प्राथमिकीकरण तथा सुशासनका लागि गरिएको प्रयासलाई उपलब्धि मानिएको छ ।

प्रदेशसभा सदस्यको सहभागितमा सम्बन्धित निर्वाचन क्षेत्रको प्राथमिकता, राष्ट्रिय नीति, प्रादेशिक प्राथमिकता, आवधिक योजना, वार्षिक नीतिकार्यक्रमलगायत काममा प्रादेशिक सन्तुलन कायम गरिएको र स्थानीय तहसँगको समन्वय तथा सहकार्य संस्कृतिलाई निरन्तरता दिई प्रदेश सरकारलाई र स्थानीय तहसँग सामाजिक सञ्जालमा जोड्न गरिएको कामलाई पनि उपलब्धि मानिएको छ ।

आयोजना बैङ्कमार्फत आयोजनाको छनोट प्राथमिकीकरण तथा प्रतिफल र औचित्यका आधारमा योजनाको विनियोजन दक्षता र कार्यान्वयन कुशलताका लागि विद्युतीय ‘पोर्टल’निर्माण भई आयोजना प्रबिष्ट गर्ने कामलाई उपलब्धिमा समेटिएको छ । यस अवधिमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८१ र आपाङ्गतासम्बन्धी प्रदेश नीति–२०८१, बनेको र ऐनतर्फ प्रदेश निजामति ऐन (पहिलो संशोधन) ऐन–२०८०, सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन–२०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन)–२०८१ पारित भएको विषयलाई उपलब्धिका रुपमा लिइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआतका दुई महिना बजेट शून्यतामा रहेको वर्तमान प्रदेश सरकारले बाँकी अवधिमा कुल बजेटको आठ दशमलव शून्य दुई प्रतिशत खर्च गर्न सकेको छ । यस अवधिमा लक्ष्यको तुलनामा २३ दशमलब ९४ प्रतिशत राजस्व परिचालन भएको छ ।

प्रदेशको स्थायी राजधानी स्थापना गर्न तोकिएको स्थलमा जग्गाको अनुमति दिन प्रधानमन्त्रीसमक्ष समन्वय गरिएको जानकारी दिँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “सङ्घीय सरकारले सो क्षेत्रको जग्गामा राजधानी स्थापना गर्न अनुमति नदिएमा विकल्प अघि बढाइने छ ।”

कैलालीको गोदावरी नगरपालिकाको तेघरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी निर्माण गर्नेसम्बन्धी प्रस्ताव तत्कालीन प्रदेशसभाको बैठकमा दुई तिहाइ बहुमतले पारित भए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन ।

जर्मनीमा फेब्रुअरी २३ मा निर्वाचन गर्न चान्सलर स्कोल्जलाई दवाब

जर्मनीका ठूला राजनीतिक दलबीच आगामी फेब्रुअरी २३ मा हुने आमनिर्वाचनको समयतालिकामा सहमति भएको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्र्याट्स (एसपीडी) पार्टीका एक स्रोतका अनुसार जर्मनी गहिरो राजनीतिक सङ्कटमा फसेको बेला वामपन्थी एसपीडीको संसदीय समूह र प्रमुख कन्जरभेटिभ विपक्षी सीडीयू÷सीएसयूबीच यो सम्झौता भएको हो ।

यदि संसद्मा स्कोल्जलाई बहुमत विश्वासको मत प्राप्त नभएमा आगामी जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिँदा जर्मनी आफ्नो चुनावी अभियानको बीचमा हुनेछ ।

सबैभन्दा सानो दल लिबरल र प्रो–बिजनेस फ्री डेमोक्र्याट्स (एफडीपी)को बहिर्गमनसँगै स्कोल्जको त्रिपक्षीय गठबन्धन टुटेको केही दिनपछि यो सम्झौता भएको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा लगातार दोस्रो वर्ष आर्थिक वृद्धि खुम्चिएको र बढ्दो भूराजनीतिक अस्थिरताबीच युक्रेन र मध्यपूर्वमा युद्ध चर्किँदै जाँदा यो राजनीतिक उथलपुथल भएको हो ।

फेरि चुनाव लड्न चाहेका जर्मन चान्सलर स्कोल्जले सुरुमा मार्चको अन्त्यमा चुनाव गर्ने प्रस्ताव दललाई राखेको भएपनि सीडीयू र उहाँको आफ्नै ग्रीन्स गठबन्धन साझेदारले चुनावी प्रक्रियालाई गति दिन दबाब दिएका थिए।

सीडीयूले जनमत सर्वेक्षणमा उच्चस्थान ओगटेको छ र यसका नेता फ्रेडरिक मर्जले जतिसक्दो चाँडो चुनावको लागि दबाब दिइरहनुभएको छ । हालै गरिएको एक सर्वेक्षणको दुई तिहाइ मतदाताले पनि ढिलोभन्दा चाँडो चुनाव गराउन चाहेको देखाएको छ ।

फेब्रुअरीमा निर्वाचन गर्ने घोषणाले राजनीतिज्ञलाई जाडोको अँध्यारो र चिसोेमा आफ्नो अभियान सञ्चालन गर्न बाध्य पार्नेछ । जर्मनीमा मतदाता गर्मीमा हुने अभियानको समयमाभन्दा बाहिरी कार्यक्रममा भेला हुन कम उत्साही हुनेछन् ।

स्कोल्जले संसदको तल्लो सदनमा विश्वासको मत आह्वान गरेपछि आधिकारिकरूपमा मिति निर्धारण गरिनेछ, जुन नयाँ सम्झौता अन्तर्गत अब डिसेम्बरमा हुनुपर्नेछ ।

यदि उहाँले विश्वासको मत नपाएमा राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरसँग संसद् विघटन गर्न २१ दिनको समय हुनेछ र त्यसपछि अर्को ६० दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।

सीडीयूका महासचिव कास्र्टन लिनम्यानले जेडडीएफ प्रसारणकर्तालाई भन्नुभयो, “मानिसहरु निकै निराश छन् र देश कहाँ जाँदैछ भन्ने थाहा छैन ।”

उहाँले अगाडि थप्नुभयो, “एकपटक समयतालिकामा थप स्पष्टता आएपछि स्थिति शान्त हुनेछ र हामी चुनावी अभियानमा जान सक्छौं ।”

गत हप्ता एफडीपीको बहिर्गमनपछि स्कोल्जको मध्य–बामपन्थी समूह एसपीडी र ग्रीन्सले अल्पमतको सरकारमा काम गरिरहेका छन् जसले कुनै पनि कानुन पारित गर्न विपक्षीको समर्थन खोज्नुपर्छ ।

सन् २०२१ मा पहिलो पटक जर्मनीमा सङ्घीयस्तरमा त्रिपक्षीय गठबन्धनको प्रयास गरिएको थियो र यी तीन वैचारिकरुपमा विविधता भएका पार्टीले एकसाथ शासन गरिरहेका थिए ।

गत साता स्कोल्जले आर्थिक र वित्तीय नीतिलाई लिएर बढ्दो मतभेदपछि एफडीपीका तर्फबाट अर्थमन्त्री बनेका क्रिश्चियन लिन्डरलाई बर्खास्त गरेपछि आर्थिक र वित्तीय नीतिलाई लिएर बढ्दो मतभेदले पार्टीलाई सरकार छोड्न बाध्य बनाएको थियो ।

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

लुम्बिनी, २७ कात्तिकः लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गर्नुभएको बजेटमा आन्तरिकतर्फ रु ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान रु ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ । व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।

बैठकमा मन्त्री पाण्डेले लुम्बिनीको विकास र सुधारमा मन्त्रालय र आफ्नोतर्फबाट पर्याप्त रूपमा सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएकाले यसबाट लुम्बिनी र त्यस क्षेत्रका पर्यटकीय क्षेत्रले लाभ लिनुपर्ने बताउनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । बैठकमा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गर्दै उक्त सहयोग र ढोका खुला राख्ने हो भने लुम्बिनी गुरुयोजना कार्यान्वयन सक्न सरकारको अनुदानबिना नै पूरा गर्न सकिने तर नेपालको नीतिमा उदार व्यवस्था हुनुपर्ने बताउनुभयो ।

बैठकले लुम्बिनीमा निर्माण गरी राम्रोसँग सञ्चालनमा नआएका बिहार, गुम्बाको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुनःमूल्याङ्कन गर्न अध्ययन कार्यदल बनाउने निर्णयका साथै कर्मचारी सङ्गठनको बदलिँदो आवश्यकताअनुरुप पुनःसंरचना गर्ने निर्णय पनि गरेको छ ।

माओवादीको आन्दोलन सरकारमा नरहनुको छटपटीः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् ।

विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताए । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो विषय संसदको विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताए । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

युक्रेनमा पुटिनको जित ट्रम्पका लागि पनि राम्रो होइन: इयूका उच्च कूटनीतिज्ञ

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनमा रूसलाई जित्न दिनु अमेरिकाका लागि ठूलो क्षति हुने बताउनुुभएको छ ।

“युक्रेन ध्वस्त भयो र पुटिनले युद्ध जिते भने पक्कै पनि यो अमेरिकी नेतृत्वको जीत हुने छैन,” अमेरिकी रिपब्लिकन नेता ट्रम्पले अमेरिकी राष्ट्रपतीय चुनावमा विजय हासिल गरेपछि इयूका एक वरिष्ठ अधिकारीद्वारा किएभ पहिलो भ्रमणका क्रममा बोरेलले भन्नुभयो।

ट्रम्पको पुनः निर्वाचनपछि उहाँले रूसको युक्रेनमा भइरहेको आक्रमणविरुद्ध किएभको लडाईंमा वासिङ्टनको समर्थन रोक्ने चिन्ता युक्रेन र युरोपमा बढेको छ।

चुनावी अभियानका क्रममा ट्रम्पले युक्रेनलाई अमेरिकी सेना र आर्थिक सहयोग कायम राख्नेमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्यका लागि आफूले छिट्टै सम्झौता गर्न सक्ने बताउनु भएको थियो।

अर्को महिना पद छोड्नु अघि भएको बोरेलको युक्रेन भ्रमण सम्भवतः इयूका विदेश नीति प्रमुखका रूपमा उहाँको अन्तिम यात्रा हो तर उहाँले किएभलाई अमेरिकी चुनावको परिणामको बावजूद युरोपको दृढ समर्थन छ भन्ने आश्वस्त पार्ने उद्देश्यले कार्यकालको अन्तिम घडीमा युक्रेनको भ्रमण गर्नुभएको हो ।

ट्रम्प र पुटिनबीच गत साता भएको टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको भन्ने आइतबार छापिएको वासिङ्टन पोस्टको रिपोर्टलाई क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

उनीहरू पहिले नै कुरा गरिसकेका छन् कि छैनन् भन्नेबारे आफूलाई कुनै सङ्केत नभएको तर कुनै न कुनै समयमा उनीहरूले पक्कै पनि कुरा गर्ने बोरेलले बताउनुभयो ।

“यो कुनै आश्चर्यको कुरा होइन”, उहाँले भन्नुभयो, “जर्मनीका चान्सलर ओलाफ स्कोल्जलगायत इयूका नेताहरूले पनि पुटिनसँग वार्ता गर्न तयार रहेको चर्चा सुनिएको छ।

“यो खेलको हिस्सा हो,” उहाँले भन्नुभयो।

– ‘अस्तित्ववादी’ युद्ध –

सन् २०२२ मा रूसको आक्रमणपछि युरोपले युक्रेनलाई सहयोग गर्न करिब १२५ अर्ब डलर खर्च गरिसकेको छ भने संयुक्त राज्य अमेरिकाले मात्र ९० अर्ब डलरभन्दा बढी रकम उपलब्ध गराएको जर्मन अनुसन्धान निकाय किएल इन्स्टिच्युटका एक ट्रयाकरले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न पुगेका बोरेलले भन्नुभयो, “अमेरिकाको अवस्था के हुन्छ भनेर म अनु तर म एउटा कुरा भन्छु, हामीले अमेरिकी अभिनयको तर्कबाट बच्नुपर्छ र हामी युरोपले प्रतिक्रिया जनाइरहेका छौं र हामीसँग काम गर्ने आफ्नै क्षमता हुनुपर्छ।”

उनीहरू युद्धका तीन वर्षकोे नजिक पुगेका छन् र युद्धभूमिमा युक्रेनका सैनिकहरू रूसको विजयलाई रोक्न सङ्घर्ष गरिरहेका छन्।

बोरेलले पुटिनको उद्देश्य युक्रेनी समाजलाई रुसी प्रभुत्वको बुटमुनि राख्नु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसैले उनीहरूले यसको प्रतिरोध गर्नुपर्छ। यो अस्तित्वको कुरा हो।”

युक्रेनमा रहँदा युक्रेनको सेनाका लागि ड्रोन उत्पादन गर्ने प्लान्टको भ्रमण गरेका बोरेलले इयूले किएभको प्रतिरक्षा उद्योगलाई बलियो बनाउन आफ्नो सहयोग बढाउनुपर्ने बताउनुभएको छ ।

युरोपेली सङ्घले युक्रेनको सैन्य उत्पादन बढाउन ४० करोड युरो (४२ करोड ६० लाख अमेरिकी डलर) खर्च गरिसकेको छ ।

“युक्रेनीहरूलाई उनीहरूको आफ्नै औद्योगिक क्षमता विकास गर्न सहयोग गर्न यो धेरै प्रभावकारी छ,” उहाँले भन्नुभयो।

अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई ‘निरन्तरता दिने’

संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताउनुभएको छ ।

ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता गर्नुभएका आगामी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता र जलवायु परिवर्तनबारे उहाँको नियमित प्रश्नका कारण बाकुमा हुने वार्तामा ट्रम्पको पुनरागमनले छायाँ पारेको छ ।

पोडेस्टाले आगामी प्रशासनले ‘यु–टर्न लिने प्रयास गर्ने’ स्वीकारे पनि उहाँले अमेरिकी शहर, राज्य र व्यक्तिगतरूपमा नागरिकले यस अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

“डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यलाई पछाडि धकेल्न सक्छ, तर संयुक्त राज्य अमेरिकामा जलवायु परिवर्तन नियन्त्रणका लागि प्रतिबद्धता, आकर्षण र विश्वास जारी रहनेछ,” उहाँले भन्नुभयो ।

“यो स्वच्छ, सुरक्षित पृथ्वीको लागि हाम्रो लडार्इंको अन्त्य होइन । यो लडाईं कुनै चुनाव र देशको राजनीतिक चक्रभन्दा व्यापक छ र यसले निरन्तरता पाउनुपर्छ ।”

बाकु वार्ता विश्वव्यापी सहयोगका लागि आह्वान र जलवायु विपत्तिका बारेमा ताजा चेतावनीका साथ सोमबार सुरु भएको हो ।

संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले देशहरूलाई ‘विश्वव्यापी सहयोग गणनाको लागि कम छैन भनेर देखाउन’ आग्रह गर्दै वार्ताको थालनी गर्नुभएको थियो ।

उहाँले धनी देशहरूलाई ‘जलवायु वित्त दान हो भन्ने कुनै पनि विचार त्याग्न’ आग्रह गर्नुभयो ।

न स्टिएलले भन्नुभयो, “एक महत्वाकाङ्क्षी नयाँ जलवायु वित्त लक्ष्य पूर्ण रूपमा सबै राष्ट्रको हितमा छ, जसमा सबैभन्दा ठूलो र धनी राष्ट्र पनि समावेश छ ।”

केही देशहरूले गत वर्षको कोप २८ सम्झौताको कार्यान्वयनलाई जलवायु वित्तको ढाँचाभित्र मात्र छलफल गर्न जोड दिएपछि तेल र ग्याँसको धनी अजरबैजानको राजधानी बाकुमा सुरू भएको वार्ता लगभग तुरुन्तै रोकिएको थियो ।

जलवायु परिवर्तनमामिलाबारे अनुसन्धान र दवाबका लागि काम गर्ने थिङ्क ट्याङक ई–थ्रीजीका वरिष्ठ सहयोगी एल्डन मेयरले भन्नुभयो, “जबसम्म एजेन्डाले समाधानका लागि आउँदैनन्, वार्ता र सहमतिले मात्र केही हुँदैन । समस्या समाधानका लागि सबैको तत्परता आवश्यक हुन्छ ।”

कोप–२९ का अध्यक्षले वार्ता टोलीलाई काम गर्न लगाउन नसक्ने उहाँको भनाइ रहेको छ ।

वार्ताकारहरूले विकासशील राष्ट्रहरूलाई जलवायु परिवर्तनको बढ्दो प्रभावका लागि तयारी गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न वार्षिक १०० अर्ब डलरको लक्ष्य बढाउनुपर्छ ।

विवादका केही प्रमुख बुँदाहरू प्रस्तावमा कति हुनेछ, कसले भुक्तानी गर्नेछ, र कसले कोषहरूमा पहुँच कायम गर्न सक्दछ भन्ने रहेका छन् ।

कोप–२९ का अध्यक्ष मुख्तार बाबायेवले यसको आवश्यकता बार्षिक ‘खर्बौंमा’ रहेको स्वीकार्नुभएको तर थप ‘यथार्थवादी लक्ष्य’ सयौँ अर्बमा रहेको बताउनु भएको छ ।

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

बाकु (अजरबैजान), २७ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु आइपुग्नुभएको हो । सम्मेलन (कोप–२९) सोमबारदेखि यहाँ प्रारम्भ भएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले भोलि बुधबार बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ ।

सम्मेलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट उत्पन्न समस्या ध्यानाकर्षण गराउँदै सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह गरिनेछ ।

साथै नेपालले जलवायु परिवर्तनका विषयमा नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयन बारेका प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सम्मेलनमा सहभागी हुनुहुनेछ । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।

चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

फिक्कल (इलाम), २७ कात्तिकः चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो ।

सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो । पन्ध्र कठ्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको हो । अस्पताल भवन निर्माणसँगै मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रवाह गर्नेगरी औपचारिक उद्घाटनको तयारी गरिएको छ ।

यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ । अस्पताल परिसरमा आयोजना गरएको महापुराण आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिनुभयो । महापुराणमा मुख्यगरी हिन्दू, बौद्ध र किराँत धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने उहाँले बताउनुभयो ।

गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । “अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन”, अध्यक्ष केरुङले भन्नुभयो, “अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ ।” महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले अस्पतालन सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चतता गर्न अक्षयकोषका लागि महापुराण आयोजना गरिएको बताउनुभयो । “अस्पताल सञ्चालनको सबै खर्च गाउँपालिकाले नै ब्यहोर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले धान्न नसक्ने भएकाले अक्षयकोष बनाउन महापुराण आयोजना गरिएको हो ।”

महापुराणमा श्रीमद् भागवत, पाठपारायणसँगै नियमित रूपमा भजनकीर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी, केवलकृष्ण अधिकारी, मुन्धुम अध्येता चन्द्रकुमार शेर्मासहित विभिन्न धर्मगुरुबाट आलोपालो गरी फरकफरक दिन प्रवचन सुनाउने व्यवस्था मिलाइएको पुराण व्यवस्थापन समिति सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिनुभयो । विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको समिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि महापुराणले योगदान पुर्याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ ।

हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमा भक्तजनको भीड

भक्तपुर, २७ कात्तिकः हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने गर्दछन् ।

आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेहरूले पनि चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरेबराबरको पुण्यप्राप्त हुने मान्यता रहेकाले यस मन्दिरमा बिहानदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको पुजरी राजोपाध्यायले बताउनुभयो ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिङ्गारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सख्खरखण्ड, तरुणका परिकार खाने प्रचलन रहेको छ ।

नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरेको छ । मेलाको व्यवस्थापनका लागि चाँगनारायण नगरपालिकाले चारैवटा नाकामा स्वागतद्धार निर्माण गर्नुका साथै मन्दिरलाई सिङ्गारेर झिलीमिली बत्तीहरू हालेर मन्दिरलाई आकर्षक बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्र सफा गरेका छौँ, मन्दिर सिङ्गारिएर झकमक्क बनाएका छौँ, साँझ झलमल्ल बत्ती बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाएका छौँ, मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकामा स्वागतद्धार बनएका छौँ । मन्दिरमा सहज दर्शनका लागि स्वयंसेवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौँ ।”

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गएराति मन्दिरको अनुगमन गरी रातिदेखि नै मेला भर्नेका लागि सहज व्यवस्थापन मिलाएको बताउनुभयो । उहाँले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्नेगरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनको तयारी गरिएको उहाँले बताउनुभयो ।

सार्वजनिक बिदा

चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरमा मेला लाग्ने अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दै आज नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय गरेको बताउनुभयो ।

मन्दिरमा मेला भर्न र व्यवस्थापन गर्न आज बिदा दिएको उहाँले जानकारी दिनुभयो । सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो ।

पहिलो चरणमा रु ५१ हजार रकम जम्मा गरेर स्थापना गरिएको अक्षयकोषलाई बर्सेनि बढाउँदै लैजाने योजना रहेको अक्षयाकोषका संरक्षक एवं जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले जानकारी दिए । अक्षयकोषबाट आएको ब्याजले हरेक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रतोत्साहनस्वरुप पुरस्कृत गरिने जनाइएको छ ।

अक्षयकोषका लागि चन्दाहँछा परिवारले उपलब्ध गराएको नगद रकम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिवङ्गत आफन्तको स्मृति तथा वंश नाम राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको अभिभावकले बताएका छन् ।

विसं २०१७ मा स्थापना भएको विद्यालयमा यसअघि एकै वर्ष चार वटा अक्षयकोष स्थापना भएको थियो । विसं २०६८ मा रु एक लाख ११ हजार ११ राशिको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष, रु ७८ हजार तीन सय १३ राशिको भूतपूर्व विद्यार्थी अक्षयकोष, रु ५५ हजार राशिको सेरालुङहँछा अक्षयकोष र रु ५१ हजार राशिको स्वर्गीय दैवप्रसाद–तुलसा स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

यस्तै २०७२ सालमा रु एक लाख राशिको स्वर्गीय चिमा राई स्मृति क्षयकोष, २०७५ सालमा रु ५५ हजार पाँच सय ५५ राशिको स्वर्गीय विद्याकुमारी कार्की स्मृति अक्षयकोष, २०७५ सालमा नै रु ५१ हजार राशिको स्वर्गीय भीमप्रसाद घिमिरे स्मृति अक्षयकोष, २०७६ सालमा रु एक लाख एक हजार राशिको स्वर्गीय जसमान–जयमति राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । विसं २०७८ मा रु दुई लाख २२ हजार दुई सय २२ राशिको स्वर्गीय असुनमाया राई स्मृति अक्षयकोष, सोही वर्ष रु ५० हजार राशिको स्वर्गीय आमा–छोरा स्मृति अक्षयकोष र २०७९ सालमा रु ७१ हजार एक सय ११ राशिको स्वर्गीय दीपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा स्थापना भएको १२ वटा अक्षयकोषको सावाँब्याज गरी रु १७ लाख ३० हजार दुई सय ९९ पुगेको विद्यालयका शिक्षक एवं अक्षयकोष व्यवस्थापन समितिका संयोजक यादवप्रसाद घिमिरेले जानकारी दिए । अक्षयकोषबाट आएको ब्याजमध्ये रु एक लाख तीन हजार रकम यस वर्षको वार्षिकोत्सवमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि छुट्याइएको जनाइएको छ ।

अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौ प्रतिशत छात्रवृत्ति र नौ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिए । चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा तीन सय ६१ जना विद्यार्थी अध्ययनरत छन् ।

चार दिनसम्म मनाइने ६४औँ वार्षिकोत्सवको औपचारिक शुभारम्भ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर ले गरेका छन् । निकै तामझामका साथ उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन अक्षयकोष स्थापनाका साथै नगरपालिकास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको प्रारम्भ गरिएको छ ।

यसैबीच, वडा नम्बर ५ लफ्याङले विद्यालयको वार्षिकोत्सवका अवसर पारेर त्यहाँ अध्ययनरत बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका तीन सय ६१ जना छात्रछात्रालाई ट्रयाकसुट वितरण गरेको छ । वडा कार्यालयले विनियोजन गरेको रु छ लाख बजेटबाट खरिद गरिएको ट्रयाकसुट वडामा सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत वितरण गरिएको वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर (चितवन), २७ कात्तिकः चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो ।

नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइमा करिव दुई हजार आठ सय केजी फोहर स¬ङ्कलन गरिएको उहाँले बताउनुभयो । सो क्रममा सिसा, प्लाष्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहर भेटिएको जनाइएको छ

अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न २१ हजार स्वयंसेवक खटिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन् । तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिनुभयो । “यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ”, उहाँले भन्नुभयो । “प्लाष्टिक तथा सिसाजन्य फोहरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ ।”

राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो ।

‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’

काठमाडौँ, २७ कात्तिक : नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्यायसम्पादन गर्न अनुरोध गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत रहेको तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का सम्पूर्ण मुद्दा चल्ने २१ प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख र सहायकका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

यसअघि उपत्यका प्रहरीले मातहतका मुद्दा चल्ने प्रहरी युनिटमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कमीकमजोरीका विषयमा समीक्षा गर्दै सुधारका लागि उक्त छलफल गरिएको अपराध अनुसन्धान शाखा कार्यालयले जनाएको छ । 

उक्त विषयमा प्रहरी उपरीक्षक प्रवीण धितालले प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको उपत्यका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उपत्यकामा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तीनवटै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिइएको थियो ।

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

दमौली (तनहुँ), २७ कात्तिकः तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ ।

थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हाँै ।”

थापाका अनुसार अहिले दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । उहाँले भन्नुभयो, “केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।”

पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले जानकारी दिनुभयो । यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत परिमाण गरिएको छ । 

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो । 

विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने बताउनुभयो । 

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । 

सदरमुकाम दमौलीबाट १८ किमी डुम्रे हुँदै आठ किमी उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ । 

लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा बढी क्षति

तुलसीपुर, २७ कात्तिकः लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।

सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ, भने दुई सय २९ घाइते भएका छन् ।

विपद्बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले उल्लेख गनुभयो । 

रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर (पाल्पा), २७ कात्तिकः रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताउनुभयो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।

हुम्लाबाट जिल्ला बाहिर जान जहाजको टिकट पाउन समस्या

सिमकोट (हुम्ला), २७ कात्तिक : यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।

रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् ।

सीता, समिट र तारा एयरलाइन्सले दैनिक उडान नगर्दा यहाँका नागरिकलाई गन्तव्यसम्म पुग्न समस्या हुँदै आएको छ । तारा एयरले सोमबार, सीता र समिट एयरले साताको बुधबार एकदिन मात्रै उडान गर्दा अत्यावश्यक काम परेर जिल्ला बाहिर जान पनि नसकिएको स्थानीय बताउँछन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार र मङ्गलबार उडान गर्ने गरेका छ । बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ । 

विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले छोरीको दुवै मृगौला फेल भएर उपचारका लागि बाहिर जिल्ला जान टिकटको खोजी गरिरहेको भन्दै बिरामीको मात्रै टिकट पाइएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले ‘रिफर’ गरेको कागज पेस गरेपछि मुस्किलले एउटा मात्र टिकट पाइएको उहाँले बताउनुभयो । 

नेपाल एयरलाइन्सले सातामा दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएर टिकट उपलब्ध गराएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

पाल्पामा कृषि प्राविधिक विषय अध्ययन गर्दै आउनुभएका सिमकोट–२ ठेहेका सन्देश बोहराले अन्तिम परीक्षा दिन जानुपर्नेमा टिकट नपाउँदा समस्या भएको बताउनुभो । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई सास्ती हुने गरेको छ ।

‘जलवायु परिवर्तनले निम्ताएका समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ’

महेन्द्रनगर (धनुषा), २७ कात्तिकः मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताउनुभएको छ ।

बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशसहित देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिंहले नेपालको समग्र विकासमा बेलायती सरकारले गरेको सहयोगको सराहना गर्नुभएको थियो । उहाँले बेलायत सरकारले नेपाललाई निरन्तर र उपलब्धिमूलक सहयोग गरिरहेको बताउँदै पछिल्लो समय यहाँको आवश्यकता अनुसार सहयोग परियोजना सञ्चालन गरेकामा सो प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री सिंहले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारले यस विषयमा अन्र्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको चर्चा गर्नुभयो । 

उहाँले जलवायु परिवर्तनका कारण मधेस प्रदेशसहित मुलुकले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइको सङ्कट, हिमपहिरोलगायत समस्या भोगिरहेको उल्लेख गर्नुभयो ।

“गर्मीयाममा सुक्खा हुन्छ । जाडोयाम जाने बेलामा कठ्याङ्ग्रिने चिसो हुन्छ । अहिले जाडो हुने समयमा पसिनाले निथ्रुक्क भिजाउँछ । यो सबै जलवायु परिवर्तनले निम्ताएको सङ्कट हो”, मुख्यमन्त्री सिंहले भन्नुभयो । 

चुरे संरक्षणका लागि पुनर्जलीयकरण र जलपुनर्भरण गरी भूमिगत जलको सतह वृद्धि गर्ने, मधेस प्रदेशको पूर्वदेखि पश्चिमसम्म नदी जोड्ने योजनाबाट पानी व्यवस्थापन गर्ने, बगरलाई पुनःकृषि भूमिमा परिणत गर्ने, बाढी व्यवस्थापन गरी सिँचाइको उपलब्धता बढाउने योजनामा प्रदेश सरकारले काम गरिरहेको भन्दै ती योजनामा बेलायती सरकारसँग आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले प्रदेशको आवश्यकताअनुसार आफ्नो आग्रहमा बेलायत सरकारले फोहरमैला व्यवस्थापन, पर्यटन विकासलगायत परियाजनाबारे अध्ययन गरिरहेकामा सोको उच्च प्रशंसा गर्दै इनोभेसन सेन्टर, शिक्षकका लागि एड्भान्स तालिम केन्द्रलगायत क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रीन ग्रोथ नेपाल बेलायत सरकारको नयाँ कार्यक्रम हो । सन् २०२४ देखि २०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमले नेपालमा हरित, दिगो र समावेशी विकासलाई जोड दिनेछ ।”

कार्यक्रमले स्थायी आर्थिक नीतिलाई मजबुत गर्दै हरित र जलवायुमैत्री आधारभूत संरचना, हरित उद्योग र सेवामा लगानी विस्तार गर्ने मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । यसले नेपालको विकासलाई रेखाङ्कीत गर्दै पर्यावरण र प्राकृतिक सम्पदाको संरक्षण गर्दैै समृद्धिमा मद्दत गर्नेछ । कार्यक्रमले हरित, जलवायुमैत्री र कम कार्बन उत्सर्जन हुने सहरीकरणलगायत पूर्वाधार विकासमा जोड दिने उहाँले बताउनुभयो । 

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, २७ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

काठमाडौँ, २७ कात्तिकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ ।

अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ ।

अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गर्नुभएको छ । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहनुभएको छ भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), मनोनयन गर्नुभएको छ ।

यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहनुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको सो पार्टीले जनाएको छ ।

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

काठमाडौँ, २७ कात्तिकः हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।  

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो ।  

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । 

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । 

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । 

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

डडेल्धुरा, २६ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आउनुभएको छ । उहाँले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभयो ।

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो ।

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उहाँको भनाइ छ ।

राज्यबाट पाउने अधिकार सुनिश्चित नभएसम्म हामिहरुको संघर्ष जारी रहनेछ – उपेन्द्र यादव

काठमाडौँ, २६ कात्तिक : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट पाउने अधिकार सुनिश्चित नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताउनुभएको छ ।

जसपा नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाइ नगरपालिका–८ वीरनगरामा आयोजना गरेको जनसभामा बोल्दै उहाँले मधेशी समुदायले जनसङ्ख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, शासन र प्रशासन, नीति, कानुन बनाउने अधिकारका लागि सङ्घर्ष जारी राखेको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको दाबी गर्नुभयो । देशको आधाभन्दा बढी जनसङ्ख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसङ्ख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेस पछाडि परेको उहाँको आरोप थियो ।

उहाँले मधेसमा लगभग ५४ प्रतिशत जनसङ्ख्या भएपनि शासकले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको जिकिर गर्नुभयो । उहाँले मधेसको विकासका लागि राज्यले यथोचित लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २६ कात्तिक : सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग, २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आज ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आयोगको प्रतिवेदनमा विवादको विषय, डेडिकेटेड र ट्रङ्क लाइनको परिभाषा, त्यसको उद्देश्य र मापदण्ड, महशुल निर्धारणसम्बन्धी मापदण्ड, महशुल छुट बिल तथा विभिन्न अदालतबाट भएका फैसला उल्लेख छ ।

ऊर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको अध्यक्षतामा ऊर्जा मन्त्रालयका सचिव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सदस्य रहने समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्को २०८० पुस २४ को निर्णयअनुसार उक्त आयोग गठन गरिएको थियो । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै कार्यान्वयनमा जाने जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल उठाउने र के कति हो भनेर निर्धारण गर्ने जिम्मेवारी प्राधिकरणको भएको निर्णय भएकाले उसले नै आफ्नो प्रक्रिया पूरा गर्ने बताउनुभयो । मन्त्री खड्काले अब तत्कालै लाइन काटिएका उद्योगको बिजुली जोडिने उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद् प्राधिकरणको सञ्चालक समितिभन्दा माथि भएकाले तत्काल बैठक नबसे पनि मङ्गलबारका लागि बैठक बोलाइएको जानकारी दिनुभयो । उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले प्राधिकरणले बिजुली प्रयोग गरेको बिल दिने उद्योगीले महशुल तिर्नुपर्ने भनेर नै मन्त्रालयले सहजीकरण गरिदिएको मन्त्री खड्काको प्रष्टोक्ति थियो ।

खासगरी आयोगले तीन अवधिमा विवाद रहेको ठहर गरेको छ । विसं २०७२ साउनदेखि २०७२ पुससम्मको पहिलो अवधि, नेपालका लोडसेडिङ अन्त्य हुनुअघिको अवधि २०७२ माघदेखि २०७५ वैशाखसम्म र नेपालमा लोडसेडिङ अन्त्य भएपछिको अवधि २०७५ जेठदेखि २०७७ सम्मको अवधि मानिएको छ । त्यसमा पहिलो र तेस्रोलाई छाडेर दोस्रो अवधिको महशुल उठाउनुपर्ने विषयलाई स्पष्टका साथ उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा ऊर्जा सचिव सुरेश आचार्यले २०७२ पुस अघि अदालतको आदेश बमोजिम हुने र २०७५ वैशाखपछि लोडसेडिङ अन्त्य भएको जानकारी दिनुभयो । आयोगको सिफारिश बमोजिम बिल काटेर बक्यौता रकम असुल गरिने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि, कांग्रेस नेताद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, २६ कात्तिक : नेपाली कांग्रेसका नेता एवं वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन हनुभएका वाग्लेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

  नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका वाग्लेको पार्थिव शरीरमा पार्टीका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

  श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी हुनुहुन्थ्यो ।

 कपार्टीका केन्द्रीय सदस्यहरु बलबहादुर केसी, शङ्कर भण्डारी, कमला पन्त, रामहरि खतिवडा, अब्दुल सत्तार, प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाई, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेलगायत दर्जनौँ नेता तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

  नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपाल पूर्वमहासचिवसमेत रहनुभएका ५५ वर्षीय वाग्लेलाई कलेजोको समस्या देखिएपछि कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

  स्वर्गीय वाग्लेको ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय रहेको छ । उहाँको जलविद्युत्, बीमा, बैंकलगायतमा लगानी छ । स्वर्गीय वाग्ले विगत तीन दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । स्वर्गीय वाग्ले कांग्रेस नेता एवं पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा हुनुहुन्छ । 

‘लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार’:मुख्यमन्त्री पाण्डे

नवलपुर (नवलपरासी), २६ कात्तिक : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ ।

आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार  तयार रहेको बताउनुभएको हो । “तपाईँहरुको लगानीमा कुनै सुरक्षाको खतरा छ भने त्यो मलाई भन्नुस्”, उहाँले भन्नुभयो, “सुरक्षाको ग्यारेन्टी गर्छौँ ।” 

निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐन कानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएकाले पूर्वाधार निर्माण र सडक स्तरोन्नति गरिरहेको उहाँले बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको सुझाव छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु छन् । 

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ, २६ कात्तिक : निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

गाजा र लेबनानमा युद्धविराम गर्न साउदी युवराजको माग

साउदी अरबका युवराज माहम्मद विन सलमानले गाजा र लेबनानमा तत्काल युद्धविराम गर्न रियाद सम्मेलन आह्वान गर्नुभएको छ।

इजरायल–हमास युद्ध र क्षेत्रीय तनावको एक वर्षभन्दा बढी समयपछि अरब तथा इस्लामिक राष्ट्रहरूका नेताहरू रियादमा शिखर सम्मेलनका लागि भेला भएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि सम्मेलनको शुभकामनाका लागि सन्देश पठाउन सक्ने अनुमानहरू गरिएको छ। यद्यपि, यसबारे ट्रम्प निकटस्थ स्रोतबाट कुनै भनाई सावैजनिक भएको छैन ।

शिखर सम्मेलनको उद्घाटन गर्दै राजकुमार बिन सलमानले अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन र लेबनानमा आफ्ना दाजुभाइविरुद्ध इजरायली कारबाही तत्काल रोक्नुपर्ने बताउँदै गाजामा इजरायलको अभियानलाई ‘नरसंहार’ को संज्ञा दिनुभयो ।

“प्यालेस्टाइन र लेबनानका दाजुभाइलाई जारी इजरायली आक्रमणको विनाशकारी मानवीय परिणामबाट मुक्त गर्न साउदी अरबले आफ्नो प्रतिवद्धता पुष्टि गर्छ,” उहाँले भन्नुभयो ।

शिखर सम्मेलनको मस्यौदा प्रस्तावमा प्यालेस्टिनी जनताका लागि ‘राष्ट्रिय अधिकार’ को लागि ‘दृढ समर्थन’ मा जोड दिइएको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण बिषय ‘उनीहरूको स्वतन्त्रताको अधिकार र एक स्वतन्त्र, सार्वभौम राज्यको अधिकार’ हो भनिएको छ।

इजरायलका नवनियुक्त विदेशमन्त्री गिदोन सारले प्यालेस्टाइनी राज्य स्थापना गर्नु ‘यथार्थपरक’ नभएको भन्दै त्यसलाई ‘हमास राज्य’ को संज्ञा दिनुभएको केही घण्टापछि साउदी राजकुमारको भनाई प्यालेष्टिनी पक्षमा आएको हो ।

सारले जेरूशेलममा एक कार्यक्रममा एक प्रश्नको जवाफमा भन्नुभयो, “यो स्थिति अब यथार्थवादी छ भन्ने मलाई लाग्दैन । हामी यथार्थवादी हुनुपर्छ।”

साउदी विदेश मन्त्रालयले अक्टोबरको अन्त्यमा रियादमा भएको एक बैठकमा प्यालेस्टिनी राज्यको स्थापनाको लागि दबाब दिन एक नयाँ ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को बैठकको क्रममा शिखर सम्मेलनको योजनाको घोषणा गरेको थियो।

कायरोस्थित अरब लिग र जेद्दाहस्थित इस्लामिक सहयोग संगठनको रियादमा भएको जस्तै भेलामा गाजामा इजरायली सेनाको गतिविधिलाई ‘बर्बर’ भन्दै नेताहरूले निन्दा गरेका थिए ।

कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

बाकु (अजरबैजन) २६ कात्तिक : आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ । उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी उद्घाटन सत्रमा बोल्दै निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेलेदले सबैको सहकार्य र एकताले जलवायुजन्य समस्या निराकरणमा सहयोग पुग्नेमा जोड दिनुभयो । “म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु कि सबैको सकारात्मकताले नै जलवायु न्यूनीकरणका नीति कार्यान्वयनलाई बलियो बनाउन सकोस्”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको बताउनुभयो । जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।

आगामी नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोप सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुग्नुभएको छ । राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्वन उत्सर्जनले निम्त्याएका समस्या समीक्षा गर्दै यसको न्यूनीकरणका लागि कोप सम्मेलनमा समाधान पहिल्याउने विश्वास व्यक्त गर्नुभयो । विकासशील देशहरुले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनले निष्कर्ष निकाल्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि विश्वसमक्ष नेपालको धारणा प्रस्तुत गर्दै हुनुहन्छ । एक सय ९२ भन्दा बढी मुलुकको राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सम्मिलित सम्मेलनमा उहाँले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेललाई दर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्ने क्रममा हालको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताउनुभएको छ । यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

काठमाडौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको मन्त्री शरत्सिंह भण्डारीले जानकारी दिए।

‘यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो’, मन्त्री भण्डारीले भने ।

श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस थ्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली सङ्घसंस्थालाई पनि परिचालित गरीने मन्त्री भण्डारीको भनाइ छ ।

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

काठमाडौँ, २६ कात्तिक : नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ ।

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।

श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको डेली न्यूजले जनाएको छ ।

श्रीलङ्कामा सन् २०२४ को पहिलो दश महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।

श्रीलङ्काका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व उत्पादन गर्ने माध्यम हो । पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ ।

उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर, २६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पार्नुभएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाउनुभयो ।

उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”

प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो ।

कैलालीमा कुटपिटबाट घाइते भुलको मृत्यु

सुदूरपश्चिम, २६ कात्तिक : कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जङ्ग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार सङ्घका जिल्ला सहसचिव रहेको जनाइएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा सङ्लग्न माथि कारबाही गर्न माग गरेको छ । बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताउनुभयो ।

कालीगण्डकी कोरिडोर सडक : चराङ्खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी, २६ कात्तिक : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको–लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण गरेको ८० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुलको सोमबार लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्ट (राजु) ले उद्घाटन गर्नुभयो ।

पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हट्ने लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष बिष्टले बताउनुभयो । विसं २०७५ असार २९ गते रु १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको पुलको ठेक्का पाँचाँै पटक थपिएको थियो ।

विसं २०७७ पुषमा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाका साथै उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटक र सामान ओसार पसार गर्ने ब्यवसायीलाई समस्या भएको थियो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङ्स्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, ११ वटा निर्माण सकिएको, तीन वटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रियामा छन् ।

दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी विष्णुु चापागाईँले बताउनुभयो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध छ’ – मन्त्री पौडेल

धरान (सुनसरी), २६ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताउनुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताउनुभएको हो ।

“तपाईँले जुन कुरा जान्नु भएको छ । यो क्षेत्रबाहेक अरुले त्यही ढङ्गबाट यो विषय जानिरहेको हुँदैन”, मन्त्री पौडेलले भन्नुभयो, “त्यसैले नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न यहाँहरुको योगदान हामीले खोजेका छौँ ।”

सो समारोहमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आज सम्पन्न १३औँ दीक्षान्त समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानले सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीलाई कुलपति ओलीले आज दिक्षित गर्नुभएको हो ।

भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन

भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।

न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३–० ले हारेपछि कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । रोहितले तीन खेलमा ९१ रन र कोहलीले जम्मा ९३ रन बनाउनुभयो ।

ब्लकबस्टर पाँच खेलको टेस्ट शृङ्खलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताउनुभयो ।

“उनीहरू अविश्वसनीय रूपमा कडा मानिस हुन्”, उहाँले भन्नुभयो, “उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन् ।”

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उहाँमाथि प्रहार गर्नुभयो । “भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?” गम्भीरले भन्नुभयो ।

न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताउनुभयो । यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृङ्खला ह्वाइटवास हो । “मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृङ्खलामा जे भयो त्यसपछि”, उहाँले भन्नुभयो ।

गम्भीरले अस्ट्रेलियामा सबैभन्दा ठुलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताउनुभयो । त्यहाँका पिच परम्परागत रूपमा स्पिन अनुकूल छन् ।

तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको बताउनुभयो ।

“हामी अस्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ”, केही आलोचनाको सामना गरिरहनुभएका उहाँले भन्नुभयो, “यदि हामी आफ्नो क्षमताअनुसार खेल्यौँ, हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।”