`

उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर, २६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पार्नुभएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाउनुभयो ।

उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”

प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो ।

कैलालीमा कुटपिटबाट घाइते भुलको मृत्यु

सुदूरपश्चिम, २६ कात्तिक : कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जङ्ग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार सङ्घका जिल्ला सहसचिव रहेको जनाइएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा सङ्लग्न माथि कारबाही गर्न माग गरेको छ । बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताउनुभयो ।

कालीगण्डकी कोरिडोर सडक : चराङ्खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी, २६ कात्तिक : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको–लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण गरेको ८० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुलको सोमबार लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्ट (राजु) ले उद्घाटन गर्नुभयो ।

पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हट्ने लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष बिष्टले बताउनुभयो । विसं २०७५ असार २९ गते रु १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको पुलको ठेक्का पाँचाँै पटक थपिएको थियो ।

विसं २०७७ पुषमा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाका साथै उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटक र सामान ओसार पसार गर्ने ब्यवसायीलाई समस्या भएको थियो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङ्स्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, ११ वटा निर्माण सकिएको, तीन वटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रियामा छन् ।

दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी विष्णुु चापागाईँले बताउनुभयो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध छ’ – मन्त्री पौडेल

धरान (सुनसरी), २६ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताउनुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताउनुभएको हो ।

“तपाईँले जुन कुरा जान्नु भएको छ । यो क्षेत्रबाहेक अरुले त्यही ढङ्गबाट यो विषय जानिरहेको हुँदैन”, मन्त्री पौडेलले भन्नुभयो, “त्यसैले नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न यहाँहरुको योगदान हामीले खोजेका छौँ ।”

सो समारोहमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आज सम्पन्न १३औँ दीक्षान्त समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानले सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीलाई कुलपति ओलीले आज दिक्षित गर्नुभएको हो ।

भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन

भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।

न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३–० ले हारेपछि कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । रोहितले तीन खेलमा ९१ रन र कोहलीले जम्मा ९३ रन बनाउनुभयो ।

ब्लकबस्टर पाँच खेलको टेस्ट शृङ्खलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताउनुभयो ।

“उनीहरू अविश्वसनीय रूपमा कडा मानिस हुन्”, उहाँले भन्नुभयो, “उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन् ।”

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उहाँमाथि प्रहार गर्नुभयो । “भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?” गम्भीरले भन्नुभयो ।

न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताउनुभयो । यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृङ्खला ह्वाइटवास हो । “मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृङ्खलामा जे भयो त्यसपछि”, उहाँले भन्नुभयो ।

गम्भीरले अस्ट्रेलियामा सबैभन्दा ठुलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताउनुभयो । त्यहाँका पिच परम्परागत रूपमा स्पिन अनुकूल छन् ।

तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको बताउनुभयो ।

“हामी अस्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ”, केही आलोचनाको सामना गरिरहनुभएका उहाँले भन्नुभयो, “यदि हामी आफ्नो क्षमताअनुसार खेल्यौँ, हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।”

ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गर्नुभएको द वासिङ्टन पोस्टले आइतबार बताएको छ ।

डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गर्नुभएको समाचारमा उल्लेख छ ।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भन्नुभएको छ, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।”

ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराउनुभएको नाम नछाप्ने आधारमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ ।

उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गर्नुभएको थियो ।

ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गर्नुभएको र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत हुनुभएको’ सोल्सका प्रवक्ताले बताउनुभयो ।

ट्रम्पले लडाईं चाँडै अन्त्य गर्न जोड दिँदै किएभका लागि वासिङ्टनको अर्बौं डलर सहयोगमा शङ्का व्यक्त गर्दै आउनुभएकाले उहाँको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्नुभयो । कुराकानीमा रिपब्लिकनका अर्बपति समर्थक एलन मस्क पनि उल्लेखनीय रूपमा सहभागी हुनुभएको थियो ।

राष्ट्रपति जो बाइडेनको बाहिरिन लागेको डेमोक्रेटिक प्रशासनले जनवरी २० मा ट्रम्पको शपथग्रहण अघि युक्रेनलाई सक्दो सहयोग पठाउने पुष्टि गरेको छ ।

बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आइतबार ह्वाइट हाउसले ‘युक्रेनलाई युद्धभूमिमा सबैभन्दा बलियो स्थितिमा राख्ने लक्ष्य राखेको छ ताकि यो अन्ततः वार्ता टेबलमा सबैभन्दा बलियो स्थितिमा होस्’ भन्नुभयो । यसमा युक्रेनका लागि बाँकी रहेको छ अर्ब डलर रकम प्रयोग गर्ने कुरा समावेश हुने सुलिभानले बताउनुभयो ।

रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार भन्नुभयो, “सङ्केतहरू सकारात्मक छन्… कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ ।”

आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्नो सोचाइको विवरण नदिइ शपथग्रहणअघि नै युक्रेन युद्ध छिटै अन्त्य गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।

रक्षा कम्पनी र विदेश नीतिका बाजहरूको भ्रष्ट युद्ध–समर्थक नेक्ससलाई सहयोग गर्छ भन्ने सङ्केत गर्दट्रम्प र उहाँका सहयोगीहरूले युक्रेनका लागि अमेरिकी कोषको विरोध गरेका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले शनिबार इन्स्टाग्राममा सेयर गर्नुभएको भिडियोमा राष्ट्रपति निर्वाचितको छेउमा जेलेन्स्की उभिएको देखिन्छ र क्याप्सनमा लेखिएको छ, “दृष्टिकोण : तपाईं ३८ दिनमा आफ्नो भत्ता गुमाउँदै हुनुहुन्छ ।”

युक्रेनमा कुनै पनि द्रुत सम्झौताले किएभलाई युक्रेनको दक्षिण र पूर्वमा रूसी आक्रमणकारीहरूलाई गुमाएको केही क्षेत्र हस्तान्तरण गर्न आवश्यक पर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पका पूर्वसल्लाहकार ब्रायन लान्जाले शनिबार बिबिसीलाई सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने कुनै पनि महत्त्वाकांक्षा युक्रेनले त्याग्नुपर्ने बताउनुभयो ।

युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी

रूसले सोमबार युक्रेनको सैन्य गुप्तचरले रूसी एमआई–डएमटिपीआर–१ इलेक्ट्रोनिक युद्ध हेलिकप्टर अपहरण गर्ने प्रयासलाई रोकेको जनाएको छ ।

युक्रेनी सैन्य गुप्तचर अधिकारीहरूले यो हेलिकप्टरलाई युक्रेनी सशस्त्र बलद्वारा नियन्त्रित क्षेत्रमा सार्न रूसी सैन्य पाइलट भर्ती गर्ने प्रयाससमेत गरेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) सुरक्षा एजेन्सीले जनाएको छ ।

घटनाको स्पष्ट मिति उल्लेख नगरिएको भएता पनि अपरेसनको क्रममा प्राप्त गुप्तचरले युक्रेनी स्थानहरूमा आक्रमण गर्न अनुमति दिएको बताएको छ ।

रूसी समाचार एजेन्सी आरआईए नोभोस्तीले एफएसबीलाई उद्धृत गर्दै पाइलटलाई किभ सुरक्षा सेवाले सम्पर्क गरेको जनाइएको छ ।

गत जुलाईमा, एफएसबीले आर्थिक पुरस्कार र इटालियन नागरिकताको बदलामा “रूसी सैन्य पाइलट“ को सहभागितामा उक्त प्रयासलाई रोकेको दाबी गरेको थियो ।

सन् २०२३ को गर्मीमा युक्रेनले द्वन्द्वको विरोध गर्ने रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुजमिनोभलाई भर्ती गरेको थियो । जसको सन् २०२४ को सुरुमा स्पेनमा मृत्यु भएको जनाइएको छ ।

‘विदेशिने क्रम बढ्दा देशमा दक्ष जनशक्तिको अभाव छ’ – मन्त्री भण्डारी

काठमाडौँ, २६ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दा देशमा दक्ष जनशक्तिको अभाव भएको बताउनुभएको छ ।

पीयुएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि) को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासमा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्र्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “म विशेष गरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्ने वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्कमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।”

सन् २००१ देखि नेपालमा सेवा सुरु गरेको पीयुएमले एक हजार बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पु¥याएको उल्लेख गर्दै उहाँले फूलखेती, डेरी उद्योग, पर्यटन व्यवसाय, हस्तकला, कपडा उद्योग, तरकारीखेतीलगायतमा गरेको योगदानको सराहना गर्नुभयो ।

उहाँले उद्योग मन्त्रालयले रोजगारी सिर्जना तथा अन्य आर्थिक गतिविधि बढावा दिन वृद्धिसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पीयुएम नेदरल्याण्डस् सन् १९७८ मा नेदरल्यान्डसमा स्थापित भई नेपालमा २३ वर्षदेखि विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो । वृद्धि पीयुएमसितको सहकार्यमा त्यसै संस्थाका कामको निरन्तरतासहित नेपालमा रोजगारी तथा आर्थिक उत्थानका क्षेत्रमा काम गर्न स्थापित संस्था रहेको जनाइएको छ ।

मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुँदै

काठमाडौँ, २६ कात्तिक- आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।

नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । 

करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उहाँको भनाइ छ । 

यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसुत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताउनुभयो । “यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बालबालिकालाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोसाकमा सजिएर नेपाली झण्डा बोक्दै म नेपाली हो भनेर चिनाउने मौका पाउँछन्”, उहाँले भन्नुभयो, “अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसर हो ।”

कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ । 

यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उहाँको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौँ, २६ कात्तिक : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । समितिको आजको बैठकमा सांसदले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिनुभयो ।

संशोधनकर्ता सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थालाई राजनीतिक भागबण्डाबाट बाहिर राख्न नसक्दा त्यस्ता संस्था निरीह हुने र यसबाट मूल्यमान्यता र पद्धति कागजमा सीमित हुने बताउनुभयो । “भ्रष्टाचार मुक्त समाज नभएसम्म सुशासन कायम हुन सक्दैन, ‘सिंहदरबार र भ्रष्टाचार’ पर्याय बनेको छ, यसलाई चिर्न अख्तियार दुरुपयोग आयोग ऐनलाई बलियो बनानुपर्छ”, उहाँले भन्नुभयो ।

नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचार रोक्न नसकिए अवस्था झन् जटिल हुनसक्ने औँल्याउँदै सांसद केसीले नीतिगत निर्णयसम्बन्धी व्यवस्था थप प्रष्ट हुनुपर्छ भन्नुभयो । “नीतिगत निर्णय नै भ्रष्टाचारको मुल कारक हो, यससम्बन्धी प्रावधान हटाइनुपर्छ”, उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को निर्णय, संसदीय समितिका निर्णय अख्तियारले हेर्न नपाउने निर्णय हटाइनुपर्छ ।”

सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार न्यूनीकरण गर्न राज्य सञ्चालक नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । एक पटकको भ्रष्टचारी सँधैको भ्रष्टाचारी भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारीलाई कारबाहीको हद राख्न नहुनेमा जोड दिनुभयो । “अख्तियारले सरकारी संस्थामा भएका भ्रष्टाचारका राम्ररी अध्ययन गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् निर्णयमाथि पनि अनुसन्धान गर्न सक्ने व्यवस्था ऐनमा गर्नुपर्छ ।”

सांसद नारायणी शर्माले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्ने गरी अख्तियारसम्बन्धी ऐन बताइनुपर्ने बताउनुभयो । सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनै नहुनेमा जोड दिनुभयो ।

सांसद रोशन कार्कीले संवैधानिक निकायमाथिका राजनीतिकरण बन्द हुनुपर्नेमा जोड दिँदै अतिराजनीतिक कारणबाट ती संस्थाले प्रभावकारी काम हुन नसकेको टिप्पणी गर्नुभयो । सांसद राजेन्द्र केसीले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने र निजी क्षेत्रका नियामक निकायको भूमिकालाई नै प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।

समिति सभापति रामहरि खतिवडाले उक्त संशोधन विधेयकमा ३२ सांसदले ६३ वटा संशोधन दर्ता गराएको जानकारी दिनुभयो । समितिले अर्को बैठकमा संशोधनकर्ता सांसदसँग थप छलफल गर्ने भएको छ । समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई सहभागी हुनुहुन्थ्यो ।

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।

जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा भ्यान चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् ।

भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको छ ।

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

कास्की, २६ कात्तिक :सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताउनुभयो । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।

जिल्लाका बाँकी माछापुच्छे«, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो । हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।

यसैगरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् । पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ । अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा (सुनसरी), २६ कात्तिक : सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उहाँको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उहाँले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उहाँको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ ।

उहाँले भन्नुभयो, “ ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा रु ५० हजार आम्दानी हुन्छ । ”

गर्मीयामका बेलामा रु एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उहाँको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आउनुभएको छ । उहाँले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताउनुभयो ।

दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको रु ४० लिने गरेको उहाँको भनाइ छ । दैनिक रुपमा रु चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताउनुभयो ।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उहाँले बताउनुभयो । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उहाँले बताउनुभयो । रु एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर रु ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन । ”

नमोबुद्ध जात्रा : बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने मेला

काभ्रेपलाञ्चोक, २६ कात्तिक : कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । गौतमबुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित यहाँको ऐतिहासिकस्थल नमोबुद्ध ।

‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् । जिल्लाको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ ।

बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिन्छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहेको छ”, लामाले भन्नुभयो ।

विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्ती छ । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।

“पाँच डमरु जन्माउने बघिनीलाई लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो, राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो”, लामागुरु लामा भन्नुहुन्छ, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ ।” संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।

उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामा बताउनुहुन्छ । उहाँका अनुसार मेलामा यस वर्ष पनि छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने गर्दछ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपंकर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीरअर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो ।

धेरैजसो बुद्धमार्गी पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ ।

पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ । केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणी दूरीमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेका छन् । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर पनि रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

चितवनमा १० प्रकारका आलुको अध्ययन

चितवन, २६ कात्तिक : जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरिएको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो । यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ । औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो । एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो ।

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । किसानले परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।

आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताउनुयो । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।” जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उहाँले जानकारी दिनुभयो । क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव

फिक्कल (इलाम), २६ कात्तिक : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताउनुभयो ।

यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरण समेत गर्ने उहाँले जानकारी दिनुभयो । “माईपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो, “महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ ।”

महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दू, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाइने छ । त्यस्तै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेशभूषा प्रदर्शन एवं जातीय सांस्कृतिक परिकार प्रदर्शन गरिने अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकले फूल, आलु, मूला, अर्गानिक चिया र तरकारीको प्रदर्शन गरिनेछ ।

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ । माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताउनुभयो ।

नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निकै मनमोहक देखिन्छ ।

हरेक वर्ष हरिबोधनी एकादशी र नयाँ वर्षमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यस पटक भने महोत्सव नै आयोजना गरिएको आयोजक समिति सदस्य लिला भट्टराईले बताउनुभयो । “विगतमा यहाँ धार्मिक मेला लाग्ने गर्दथ्यो, यसपटक हामीले बहुधार्मिक महोत्सव नै आयोजन गर्ने जमर्को गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले माईपोखरीको पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा विश्वस्त छौँ ।”

माईपोखरी सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ । माईपोखरी जान इलाम सदरमुकामबाट उत्तरमा बिब्लयाँटे बजार हुँदै आधा जति कालोपत्रे र आधा जति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।

तरुण दलले बनायो श्रमिकको घर

झापा, २६ कात्तिक : नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ ।

इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभएको थियो ।

घर निर्माणमा रु पाँच लाख लागेको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दल भद्रपुर–५का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा थियो ।
नगरप्रमुख गणेश पोखरेलले घरविहीन व्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहल कदमीको प्रशंसा गर्नुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो ।

नवनिर्मित घर प्राप्त गरेपछि दायिराले आर्थिक अभावले लामो समयदेखि घर बनाउन नसकेकोमा नयाँ घर पाउँदा खुसी लागेको बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० अनुदान दिने

मध्यविन्दु (नवलपरासी), २६ कात्तिक : नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पु¥याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । अनुदान रकम साना किसानसम्म पु¥याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनु भयो ।

“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।” हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा रु २० नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८÷७९ देखि प्रतिलिटर रु पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । “हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”
गाउँपालिकाले गत आवमा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो ।

“आव २०८०/८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दूधमा कूल रु पाँच लाख ६४ हजार १२ अनुदान रकम किसानलाई वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रु पाँचको दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको थियो ।”

गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले बताउनुभयो । उत्पादन वृद्धि सँगसँगै किसानलाई उत्साहित गराउन यस वर्ष दूध उत्पादनमा आकर्षक अनुदान रकमको व्यवस्था गरिएको उपाध्यक्ष रानाको भनाई छ । चालु आवका लागि दूधमा अनुदान कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

गुल्मीमा अबदेखि साताको एक दिन मात्र हवाई उडान हुने

गुल्मी-नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । 

रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो । 

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय भाडादर कायम गरेकोे छ । 

उपनिर्वाचन : उदयपुरमा कांग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारको टुङ्गो

उदयपुर-आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाका स्थानीय तहमा रिक्त पदका लागि नेपाली कांग्रेस र माओवोदी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिनुभयो ।

यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार उठाउने निर्णय गरेको निर्वाचन क्षेत्र नं १ का पार्टी सभापति खगेन्द्र राईले बताउनुभयो ।

यसैगरी माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राईलाई तथा बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भने उम्मेदवार तय केही दिनभित्र गर्ने एमाले उदयपुरका सचिव टेकबहादुर राउतले बताउनुभयो । 

बत्तिस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौँ, २६ कात्तिक : २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प-यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उहाँ दुविधामा पर्नुभयो । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर प-यो ।

सोही गीत छनोट गरी गाउनुभयो । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त ग-यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्नुहुन्छ, “ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा थिएन । ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ ।” 

श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताउनुभयो । नोस्टाल्जिक हुँदै उहाँले भन्नुभयो, “आफैँ विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ ।”

युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ । यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्र्सटमा झल्कियो । ३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए । जब ‘हङकङ पोखरा।।’ गीत गायक विवेक श्रेष्ठले गाउनुभयो । त्यसपछि दर्शकको उत्साहको सीमा रहेन । ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहो¥याएर गाउन बाध्य हुनुभयो । 

‘विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जीउ त हैन ढुङ्गाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’

गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाईएको बताउनुभयो । विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ । विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ । “यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्नुहुन्छ, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ । यो गीतमा आफ्नै कथा पाउँछन् । त्यसैले रुचाइएको हुनुपर्छ ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ । 

सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ । वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडाँैमा कन्र्सट गरेको गायक श्रेष्ठले बताउनुभयो । “कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उहाँले भन्नुभयो, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन् ।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताउनुभयो । 

कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए । कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो । 

आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो । वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो । यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन् ।

यस वर्षको दसैँ, तिहार र छठमा मधेसका बजारमा पाँच करोडको फूल किनबेच

जनकपुरधाम, २६ कात्तिकः यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।

पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो ।

उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।

विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उहाँको भनाइ छ । 

जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ । 

कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आउनुभएका  ७० वर्षीय रामदयाल माली भण्डारीले बताउनुभयो । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिनुभयो ।

नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ ।

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर तीन रुपैयाँ ९४ पैसा र बिक्री दर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ४५ पैसा र बिक्री दर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजबाट कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

प्रगति ढकाल, काठमाडौँ ।  गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो ।

अझै पनि त्यो घटना सपना झैँ लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि । “हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ”, उनी भन्छिन्, “अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा ।”

गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यका लगायतका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै तर्साइरहेको छ कैयौँलाई । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् ।  एक सय ७८ जना घाइते भएका छन् । झण्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

किसानले धान भित्र्याउने तयारी गरिरहेकै बेला आएको ठूलो वर्षाले धान उत्पादन घट्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । तीन वर्ष अघि पनि बेमौसमी बाढीका कारण झण्डै आठ अर्ब बढी मूल्य बराबरको धानमा क्षति पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

तीन वर्षअघि मनसुन सुरु भएको एक साता नपुग्दै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीको बाढीले मेलम्ची खानेपानी आयोजनामा रु दुई अर्बभन्दा बढीको क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको थियो । हाल मेलम्चीको ‘हेर्डवक्स’ नै सार्ने तयारी भइरहेको छ । करिब तीन दशकको पर्खाइपछि मेलम्चीको पानी आउँदा उत्साहित उपत्यकावासीको खुसी क्षणभरमै बाढीले टुटाएको थियो । हाल विपद्कै कारण वर्खामा बन्द गर्दै हिउँदमा मात्र आयोजना सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जनाले अकाल मै ज्यान गुमाएका छन् भने ६६ जना बेपत्ता र पाँच सय २२ जना घाइते भएका छन् ।

जलवायुले सिर्जित गरेका यी र यस्ता जोखिमका अन्य थुप्रै घटना छन् । आजदेखि अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ ।  कोप नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने छ । नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन् ।

उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उहाँले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्दै छन् ।

जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरणहरु कोपमा प्रस्तुत गरिने बताउनुहुन्छ, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना । “बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु हामी कोपमा प्रस्ततु गर्ने छौँ”, उनले भने, “यी उदाहरणहरु दिँदै जलवायुजन्य हानी नोक्सानीका लागि वित्तीय पहुँचका लागि पैरवी गर्ने छौँ ।”

सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रि««य जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा जलवायु वित्तलाई नै बढी प्राथमिकता दिइने उनको भनाइ छ ।

“यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण नसोचिएको बाढी आयो, ठाउँठाउँमा पहिरोहरु गए । सोलुखुम्बूको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले अर्बौँको क्षति गरायो, मुस्ताङमा अचानक पहिलोपटक बाढी आयो । केही वर्षअघि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनालाई नै क्षति गरायो । जलवायुजन्य परिस्थितिले हानी नोक्सानी धेरै बढेको छ”, उनले भने, “हाम्रो हिमाल पग्लेका कारण विपद्को सामना गर्नुपर्ने छ । हिउँ पहिरोको समस्या हामीले भोग्नुपर्छ, तसर्थ जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकहरुबाट हामीलाई आवश्यक जलवायु वित्त चाहिन्छ भनेर माग गर्ने छौँ ।”

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले ४७ वटा ठूला हिमताल जोखिममा रहेको र यी हिमतालहरु फुटेमा मुलुकले खर्बौँ आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने भन्दै यी कुराहरु पनि कोपमा उठाउन आवश्यक रहेको बताएका छन् । “जोखिममा रहेका हिमतालमध्ये २५ चीनमा छन्  । २१ वटा नेपालभित्रै छन् भने एक वटा भारतमा छ”, उनले भने, “यी हिमतालहरुको जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ । थामेमा के कारण हिमपहिरो ग¥यो भन्ने विषय यसै वर्ष अध्ययन अगाडि बढाउने छौँ ।”

जोशीले जलवायुजन्य हानी नोक्सानीको वित्तमा पहुँच खोज्नुअघि नेपालले हानी नोक्सानी न्यूनीकरणका लागि के के गर्न सक्यौँ ? के के गर्न सकेनौँ भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । “यत्तिकै जलवायुको असर भयो भन्न मिल्दैन, यस विषयमा गहन अध्ययन हुनु जरुरी छ । हामीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी राम्रो गर्न जरुरी छ र त्यसपछि अन्तर्राष्ट्रिय वित्तीय पहुँच दाबी गर्न सकिन्छ”, जोशीले भने ।

जलवायुविद् मञ्जित ढकालले पनि जलवायुजन्य जोखिमका ज्वलन्त उदाहरणले नेपालले कोपमा राख्ने एजेण्डा कार्यान्वयनका लागि थप सहयोग पुग्ने बताएका छन् ।

जलवायुको बढ्दो जोखिम घटाउन पैरवी 

नयाँ एसियाली विकास बैंक (एडीबी) को अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कूल गार्हस्थ उत्पादन (जीडीपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले वृद्धि भएको छ ।

पर्वतीय क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अन्य जलवायुजन्य जोखिम घटाउन विश्व समुदायलाई नेपाललगायत विकासोन्मुख मुलुकहरुले दबाब दिने तयारी छ ।

कोपका मुख्य छ एजेण्डा 

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य छ वटा एजेण्डालाई उच्च प्राथमिता दिएर नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भइसकेका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छ वटा विषयगत कार्यपत्र तयार भएको जानकारी दिएको छ ।

“नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार गरी कोपमा ल्याइसकेका छौँ,  यसमा राष्ट्रिय अवधारणपत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण र दक्षता, पानी र जलवायुजन्य कार्य, जलवायुको लागि प्रकृतिलगायत विषयवस्तुहरु समावेश गरिएको छ”, मन्त्रालयका सहसचिव डा बुद्धि पौडेलले भने ।

गत वर्ष युएइको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानी–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि  दबाब दिने तयारी भइरहेको छ ।

कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली, २५ कात्तिकः कर्णाली प्रदेशरका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाइतेको प्रभावकारी रूमिा उपचार गर्न निर्देशन दिनुभएको छ ।

दुर्घटना भएलगत्तै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गर्नुभयो ।

आज दिउँसो कालीकोटको पलाँता गाउँपलिका–५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१ ज ५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्युु भएको जनाइएको छ ।घाइते १२ जनाको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

सङ्खुवासभाको चिचिला भिरमा युवकको शव भेटियो, एक जना पक्राउ

खाँदबारी (संखुवासभा), २५ कात्तिकः सङ्खुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।

चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताउनुभयो । उहाँले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जानुभएको हो । उहाँले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ ।

–––

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, २५ कात्तिकः खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पदाधिकारीसँगको छलफलमा उहाँले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “जलवायु परिर्वतनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदै छ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”

उहाँले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अङ्गका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताउनुभयो ।

छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गर्नु भएको थियो । उक्त अध्ययन सामग्रीअनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् । यहाँ भएकामध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधारविज्ञ ढकालको भनाइ थियो ।

सोही संस्थाका अनुगमन, मूल्याङ्कन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा सम्वर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताउनुभयो । उहाँले सुकेका मूलको नक्साङ्कन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मिना श्रेष्ठ, मेलम्ची खानेपानी व्यवस्थापन समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायतको सहभागिता रहेको थियो ।

बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो

व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ ।

यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो १२ः०० बजे (१२०० जिएमटी) पछि ८० हजार डलर नाघेको छ ।

रिपब्लिकन उम्मेद्वार ट्रम्पले डिजिटल मुद्राहरूमा नियमहरू सजिलो बनाउने आशाका कारण गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि यो बढ्दै गएको छ ।

बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार सात सय ९७ दशमलव ९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोड्यो ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँगको प्रतिस्पर्धामा ट्रम्पलाई क्रिप्टो–समर्थक उम्मेदवारका रूपमा हेरिएको थियो ।

आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा ट्रम्पले क्रिप्टोकरेन्सीलाई घोटाला भन्नुभएको थियो, तर त्यसपछि मौलिक रूपमा आफ्नो स्थिति परिवर्तन गर्नुभयो र युनिटका लागि आफ्नै प्लेटफर्म पनि सुरू गर्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटकोइन र क्रिप्टोकरेन्सीेको राजधानी’ बनाउने र टेक अर्बपति तथा दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादी एलन मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने वाचा गर्नुभएको छ ।

ट्रम्पको अघिल्लो कार्यकालमा कर्पोरेट कर कटौतीले बजारमा तरलता बढाउँदा क्रिप्टोकरेन्सी जस्ता उच्च–वृद्धि सम्पत्तिमा लगानी प्रोत्साहित गरेको थियो । 

ट्रम्पले सेप्टेम्बरमा आफ्ना छोराहरू र उद्यमीहरूसँग मिलेर वर्ल्ड लिबर्टी फाइनान्सियल नामक डिजिटल मुद्रा प्लेटफर्म सुरु गर्ने घोषणा गर्नुभएको थियो ।

तर यस महिनाको सुरुमा भएको बिक्री सुरुआत कमजोर रहेको थियो । बजारमा आएका टोकनहरूको एक अंशले मात्र खरिदकर्ता पाएका थिए ।

क्रिप्टोकरेन्सीहरूले तिनको चरम अस्थिरतादेखि लिएर केही उद्योग दिग्गजको पतनसम्म आफ्नो सिर्जनादेखि नै समाचार बनाएका छन् । यसमध्ये एफटिएक्स एक्सचेन्ज प्लेटफर्म सबैभन्दा प्रमुख थियो ।

चुनावका क्रममा न्युयोर्क सिटीको एक रेस्टुरेन्टमा बर्गर किनेर ट्रम्प बिटकोइन प्रयोग गरेर खरिद गर्ने पहिलो पूर्वराष्ट्रपति बन्नुभयो । यसलाई ‘ऐतिहासिक कारोबार’ का रूपमा सम्मान गरियो ।    बिटकोइन आइतबारसहित निरन्तर कारोबार हुन्छ ।

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक, २५ कात्तिकः गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पु¥याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेकोे समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको हो ।

हालसम्म स्थानीय तहले क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा राहत तथा पुनःनिर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । प्राधिकरणको वेभसाईटमा क्षतिको पूर्ण विवरण ‘इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । 

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले यहाँका विभिन्न स्थानीय तहमा धेरै जनधनको क्षति भएको थियो । जिल्लामा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ता छन् । 

प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार घरमा पूर्ण, सात हजार घरमा आंशिक, तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवनमा पूर्ण क्षति भएको जनाइएको छ । 

समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : कांग्रेस नेताहरू

काठमाडौँ, २५ कात्तिक : नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ ।

नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको र त्यो सत्य नभएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलितलगायत पछाडी परेका समुदायको हितका लागि कांग्रेसले सधैँ आवाज उठाएको र समावेशी समानुपातिक प्रतिनिधित्व त्यसैको उपज भएको धारणा राख्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वको सरकारले दलित समुदायको हकअधिकारको कुरा उठान गर्न दलित आयोगलगायत व्यवस्थाका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो । 

“कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै दलितहरूको प्रतिनिधित्वको सवालमा महत्वपूर्ण काम गरेको छ । पार्टीभित्र र राज्यका निकायमा पनि दलितको समान सहभागिता र सशक्तीकरणका लागि आवश्यक बन्दोबस्त गरेको छ । त्यसलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ”, उपसभापति खड्काले भन्नुभयो, “पछिल्लो परिवर्तनपछि नेपालको संविधानमा धेरै व्यवस्थाहरू गरिएका छन् । त्यसलाई थप बलियो र व्यवस्थित गर्नुपर्छ भनेर वर्तमान गठबन्धन सरकारले संविधान संशोधनको कुरा गरिरहेको छ । समानुपातिक मात्रै होइन, अब प्रत्यक्ष निर्वाचनमै दलितको नेतृत्व विकासलाई सुनिश्चितता गर्दै अगाडि बढ्नुपर्छ ।”

कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संविधानमा भएको सबै जातजातिको प्रतिनिधित्वको व्यवस्थालाई थप व्यवस्थित बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले हाल भएको व्यवस्थाले देशभर सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसलाई थप समृद्ध बनाएर जानुपर्नेमा जोड दिनुभयो । 

“संविधानले गरेको व्यवस्थाअनुसार सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो उपलब्धिमा टेकेर थप समृद्ध र व्यवस्थित व्यवस्थाका लागि हामीले जोडबल गछौँ । अहिलेको व्यवस्थालाई थप कमजोर बनाउने कुरा हामीले सोच्नै सक्दैनौँ”, महामन्त्री थापाले भन्नुभयो, “हामी यसलाई थप व्यवस्थित बनाउन चाहन्छौँ । अहिले जहाँ बाध्यकारी भनिएको छ, त्यहाँ मात्रै प्रतिनिधित्वको कुरा गर्ने र बाध्यकारी नभनिएको कुरा पालना नगर्ने प्रवृत्ति छ । त्यसैले संविधान संशोधन गर्दा प्रतिनिधित्वलाई बाध्यकारी बनाउने व्यवस्थाका लागि पार्टीले पहल गर्छ । यसमा दलित सङ्घले सबैसँग छलफल गरेर आफ्नो मत प्रस्तुत गर्न र दबाब बढाउन आवश्यक छ ।”

महामन्त्री थापाले ११ वर्षभन्दा लामो समयदेखि सङ्घको निर्वाचन हुन नसक्दा राम्रो सन्देश नगएको उल्लेख गर्दै अब तोकिएको समय आगामी चैतभित्र महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो । 

पार्टीका सहमहामन्त्री जीवन परियारले अन्य पार्टीको तुलनामा अहिले पनि कांग्रेसमा पहुँच, प्रतिनिधित्व र सम्मानमा कुनै समस्या नरहेको तर यसले मात्रै परिवर्तित अवस्थाका माग तथा मुद्दालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टीले हरेक तहका चुनावमा दलितहरूलाई प्रत्यक्ष निर्वाचनका लागि तयार गर्नुपर्ने र सोही अनुसार टिकट दिनुपर्ने बताउनुभयो । 

“कांग्रेसको जीवनकालमा हालसम्म मलगायत तीन जनाले मात्रै चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अवसर पायौँ । पछिल्लो निर्वाचनमा म आफैँ निर्णायक तहमा रहेर पनि सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सकिएन । यो राम्रो भएन । त्यसैले अब पार्टीभित्र पनि प्रतिनिधित्वको मुद्दालाई थप बलियो बनाउँदै लैजानुपर्छ”, सहमहामन्त्री परियारको भनाइ थियो । 

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले नै ‘कदमजम’ अर्थात् कर्णाली, दलित, मधेशी, जनजाति र महिला अधिकारको कुरा उठाएको र सोही नीतिअनुसार संवैधानिक व्यवस्था गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस नै हो कदमजमको कुरा गर्ने, पछि सोहीअनुसारको व्यवस्था संविधानमा पनि ग¥यौँ । त्यसैले संविधानमा भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप बलियो बनाउँदै लैजानुपर्नेमा हामी प्रस्ट छौँ । तर प्रतिपक्षीहरूले संविधान संशोधन गर्दा यो व्यवस्था विरोधी काम गर्छन् कि भनेर अफवाह फैलाएको सुन्छु, भ्रममा नपर्नुहोला । समानुपातिक प्रतिनिधित्वलाई बलियो बनाउने हो, अहिलेको भन्दा राम्रो व्यवस्था गर्ने हो तर विधिका बारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्छौँ ।”

कार्यक्रममा दलित सङ्घका संस्थापक सभापति मानबहादुर विश्वकर्मा र पूर्वअध्यक्ष मीन विश्वकर्माले कांग्रेसले १३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको दलित समुदायको भावनाविपरीत कुनै काम नगर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँहरूले आफ्नो पार्टीसहितको सरकारले आमदलित समुदायको हितमा काम गर्ने अवस्था बनाउन, संविधान संशोधनको कुरा उठिरहँदा आफ्ना माग सशक्तरूपमा राख्न सङ्घले समयमै महाधिवेशन सम्पन्न गरी रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टीले विश्वास गरेर आफ्नो नेतृत्वमा समिति गठन गरेकामा आभार व्यक्त गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न आफू दत्तचित्त भएर लागिरहेको बताउनुभयो । 

कार्यक्रममा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री रुपा विक, केन्द्रीय सदस्यद्वय सुजाता परियार र  कमल बुढा, नेपाल महिला सङ्घका सभापति आशा रावत मिश्र, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सििना, दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महते, शम्भुहजारा पासवानलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

विगत ११ वर्षदेखि सङ्घको नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । आगामी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित विश्वकर्माको सभापतित्वमा दुई सय ४० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । आज सोही समितिका अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । 

सिरहा कारागार प्रकरण : छानबिन गर्न समिति गठन

सिरहा, २५ कात्तिक : सिरहा कारागारमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले सोमबारदेखि काम सुरु गर्नेछ । 

छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ । छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालले बताउनुभयो । 

केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरुले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यस्तै, कारागारमा लागूऔषध उपलब्ध हुनेगरेको तथ्य पनि खुलेको  थियो । यसअघि शनिबार कारागारमा सिरहाका प्रजिअ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो । उक्त अनुगमनका क्रममा कारागारमा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भेटिएको बताइएको छ ।   

यस्तै, यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो ।

सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की, २५ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले सभापति लामिछानेलाई आज कार्यालय समय खुलेलगत्तै म्याद थपका लागि अदालत लगेको थियो । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने यही कात्तिक २ गते पक्राउ पर्नुभएको हो ।  उहाँलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएकामा पहिलोपटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो । कात्तिक २० गते तेस्रोपटक कात्तिक १५ गतेदेखि लागू हुने गरी १० दिनको अनुसन्धान समय दिइएको थियो । सभापति लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण

विराटनगर, २५ कात्तिक : विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।

प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको सो प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । तालिममा विराटनगर महानगरपालिकाका १२ जनासहित कोशी प्रदेशका १२ स्थानीय तहका ८० कर्मचारीको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिनुभयो ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्याङ्कन हुने उहाँको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीतिनियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीको भएको प्रमुख कोइरालाको भनाइ थियो ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले तालिमबाट कार्यालय सञ्चालन र व्यवस्थापनबारे जानकारी लिन सकिने बताउनुभयो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ ।

पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ । पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गर्नुभएको थियो तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उहाँबाट हस्ताक्षर गरिनुपर्ने थियो ।

क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ ।
यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ ।

उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ ।हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ ।

यसले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ । 

पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गर्नुभएको थियो ।गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।

गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गर्नुभएन, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गर्नुभयो ।

सुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक

काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ ।

गायिका सुशीला लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् । उनले अमेरिकामा हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा नेपाली कला र संस्कृतिलाई झल्काउने गीत–सङ्गीत प्रस्तुत गर्दै उनले नेपाली पहिचानलाई जीवन्त बनाइरहेकी छन् ।

गायिका तिमिल्सिनाले ‘धेरै दिन’ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेकी छन् । उनले अघिल्लो गीतमा प्राप्त माया र समर्थनप्रति धन्यवाद दिँदै यो गीतलाई पनि उत्तिकै माया दिन आग्रह गरिन् । उनले भनिन्, “मेरो सानो प्रस्तुतिले माया पाउनेछ भन्ने आशा गरेकी छु । सुझावलाई माया सम्झेर स्वीकार्ने छु ।”

इन्टरपोलको ९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं, २५ कात्तिक – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता हुनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता हुनु भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।

महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो ।

महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, Annual financial report and financial statements 2023, Programme of activities and draft budget for 2025 and indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुन:निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो ।

महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो । उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका Valdecy Urquiza मनोनयन हुनुभएको भनि घोषणा समेत भएको थियो । महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं, २५ कात्तिक – नागार्जुन नगरपालिका-४ शुभकामना टोलस्थित संखुवासभा खाँदबारी नगरपालिका-४ घर भएकी ४० वर्षीया उषा तामाङको श्रेया खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । एक सय ४० रनको लक्ष्य पछ्याएको थाइलैण्डको पारी १६ ओभरमा ३३ रनमा समेटियो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन् ।  

एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाइलैण्डका लागि   कुनै पनि बयाटरले दोहरो अङ्कामा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई दुई तथा पूजा महतोले एक विकेट लिइन् । 

गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । 

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग १३ रनले पराजित भएको थियो । नेपालले आफ्नो पाँचौँ खेल अब मङ्गलबार कुवेतसँग खेल्ने छ । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर, २५ कात्तिकः मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुनेगरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।  

स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा  सुवासश्री पोखरेलले जानकारी दिनुभयो । “व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ”, उहाँले भत्रुभयो । 

उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष पाँच वर्षको हुनेछ । विद्यार्थीहरूले रु चार लाख ५० हजारमै यो कोर्ष अध्ययन गर्न पाउनेछन् । यो कोर्ष पढ्न चाहने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । 

उपकुलपति डा  पोखरेलले भन्नुभयो,“बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।”

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताउनुभयो । उहाँले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स एन्ड इलेक्टिक इन्जिनियरिङमा स्नातक, वि–फर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु गरिसकेको छ ।

विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयले १० वर्षभित्र तीनवटा  स्कुलअन्तर्गत विभित्र २८ विषयमा विद्यावारिधी (पिएचडी) सम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।