`

पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश नगरिनेः ट्रम्प

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताउनुभएको छ ।पूर्व विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गर्नुभएको छ ।

आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल, ट्रुथ सोसल सोसल नेटवर्कमा लेख्दै ट्रम्पले आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला आफूले ती दुबै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने बताउनुभएको छ ।

पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रूसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो ।

ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आउनुभएको छ भने रूसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् ।

हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नु अघि उहाँबिरूद्ध प्रतिस्पर्धा गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले शनिबार लेख्नुभएको छ, “म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु।”

ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिसक्नुभएको छ । ह्वाइट हाउसको महत्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त हुने उहाँ पहिलो महिला हुनुहुन्छ ।

युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दावी

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ । आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ ।

मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।

युद्धमा युक्रेनको राजधानी किएभमा रूसद्वारा व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ ।

युक्रेनी ड्रोनलाई ग्रीनविच समय अनुसार ४ः०० देखि ७ः०० बीचमा छ वटा क्षेत्रमा खसालेको रूसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रूसले पुष्टि गरेको छ ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन् ।

रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लामा रहेको एक घरमा आगो लागेको देखिएको छ ।

गत सेप्टेम्बरमा मस्को नजिकै व्यापकरूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानी नजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।

सन् २०२३ को मे महिनामा क्रेमलिन नजिकै दुईवटा ड्रोन नष्ट गरिएको थियो भने सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण भएका थिए ।

कालीकोटमा जिप दुर्घटना : ६ जनाको मृत्यु,गम्भीर घाइते सात यात्रुको हेलिकप्टरमार्फत उद्धार

कालीकोट । कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया रहेका छन् ।

यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र  रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ । 

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् ।

यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी दुई सय ५३ छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिएको कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

यसैगरी, पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक भूमिकाको कार्यविभाजनको गृहकार्य गरेको छ ।

समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती, प्रतिकिलो चार सय ५० सम्ममा बिक्री

बलेवा (बागलुङ), २५ कात्तिकः कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उहाँले किबीखेती गर्ने निर्णय गर्नुभयो ।

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाल्नुभयो । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उहाँ नमूना किसान हुनुभएको छ । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उहाँलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उहाँले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उहाँका उत्पादन बजारमा पाइन्छन् ।

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उहाँले किबी खेती सुरु गर्नुभएको थियो । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गर्नुभएका उहाँले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताउनुभयो ।

उहाँको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गर्नुभएको छ ।

एकतीस वर्षपछि बागीश्वरी सडक कालोपत्र

दमौली (तनहुँ), २५ कात्तिकः एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ ।

मुकुन्देश्वरी पदमार्ग निर्माण

यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।

फाल्गुनन्द जयन्तीः कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु

झापा, २५ कात्तिकः किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराउनुभएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताउनुभएको छ ।

समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उहाँको निधन भएको हो ।

महागुरु फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानका रूपमा भएको थियो । उहाँ आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनुभएको थियो । न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनुभएको थियो । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिनुभएको थियो । जागिर छाडेर उहाँ अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुग्नुभएको थियो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उहाँलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि ९देवदूत०का रूपमा सम्मान गर्छन् । उहाँका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराउनुभएको थियो । उक्त १० बुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशका रूपमा मानिन्छ । तत्कालीन लिम्बूवान क्षेत्रका सबै अग्रजहरूले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपि सुरक्षित राखिएको अध्यक्ष थेगिम बताउनुहुन्छ ।

किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकाल्नुभएको उहाँको तर्क छ । सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गर्नुभएको थियो । भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए ।

महागुरु फाल्गुनन्द किराँत वेद ‘मुन्धुम’को ज्ञाता हुनुहुन्थ्यो । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले प्रतिपादन गर्नुभएको धर्म मुचुल्कामा किराँतीहरूले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नुपर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्नेलगायत सामाजिक सुधारका नीतिहरू समावेश भएका छन् । नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने उहाँको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तीकरणको अवस्था सराहनीय छ ।

महागुरु फाल्गुनन्दको सम्मानमा सरकारले २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०७२ देखि फाल्गुनन्द जन्मजयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि बिदा दिन थालेको हो ।

झापाको दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा, बुद्धशान्ति, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायत पालिकाले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा विगतदेखि नै सार्वजनिक बिदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयाँै सालिक स्थापना भइसकेका छन् ।

विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उहाँका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहनुभएको छ । इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गर्नुभएको माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् ।

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो

त्रिवेणी (नवलपरासी), २५ कात्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।

देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताउनुभयो । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उहाँले बताउनुभयो ।

“घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो”, उहाँले भन्नुभयो, “बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।”

घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताउनुभयो । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उहाँको भनाइ छ । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।

देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो । स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताउनुभयो । “पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।

देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताउनुभयो । परियोजनाले देवचुली–५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।

इन्डोनेसियासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को थालनी : चीन

चीनले इनडोनेसियासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ सुरू भएको जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङल इन्डोनेसियाली समकक्षीसँग शनिबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत पार्ने बताउनुभएको हो ।

गत अक्टोबरमा पदभार ग्रहण गरेयता इन्डोनेसियाली नेताको पहिलो विदेश भ्रमणको क्रममा चीनका राष्ट्रपति सीले शनिबार बेइजिङमा राष्ट्रपति प्राबोवो सुबिआन्तोसँग वार्ता गर्नुभएको छ । 

चीन इन्डोनेसियासँग मिलेर आत्मनिर्भरता, सहयोग, पारस्परिक लाभ र प्रमुख विकासशील मुलुकका रूपमा विजयी नतिजाको नयाँ अध्याय लेख्न इच्छुक रहेको सीले पत्रकारसामु प्रबोवोसँग ऐक्यबद्धता जनाउनुभएको छ । 

बेइजिङ र जकार्ता प्रमुख आर्थिक सहयोगी हुन्, चिनियाँ कम्पनीहरूले हालैका वर्षहरूमा इन्डोनेसियाली विशेष गरी निकेल क्षेत्रमा प्राकृतिक स्रोतहरू निकाल्न लगानी गरिरहेको छ ।

कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी, २५ कात्तिक: राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।

एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलब पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु. ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।

मुस्ताङको कैकुखोला देखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ । हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक रु १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णुु चापागाईले बताउनुभयो ।

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उहाँले दिनुभयो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२÷८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

लागुऔषध कारोबारी प्रहरीको थुनाबाटै फरार

बरहथवा (सर्लाही-लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् । बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया फरार भएका हुन् ।

हिरासत कक्ष सरसफाइ गर्ने क्रममा मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।

‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्’

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत) को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैङ्क तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गरेकामा अहिले भने ह्याकरले बैङ्कका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताउनुभयो ।

प्रवक्ता बोगटीले भन्नुभयो, “त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने बित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।” 

सिआइबीले विभिन्न बैङ्क तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर, जन्ममिति, ओटिपी कोड, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैङ्कमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ । 

सिआइबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शङ्कास्पद÷अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैङ्क वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।”

यता बैङ्कहरुले भने कर्मचारीहरूले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्थिक अपराधहरू भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

त्यही  कारण  नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले  बताउनुभयो । प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमा समेत पेस गरिसकेको छ । 

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

कमलकुमार बस्नेत, काठमाडौँ । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथा लगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो ।

हाम्रो टोलीका आठ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए । दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ । हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए । ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो ।

सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो । गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड) मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो । कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो ।

हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो । अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो । मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिए । बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो । यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो । रिङ्गटा लागेजस्तै टाउको भारी भयो । एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो । पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ ।

दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै पाँच हजार एक सय ८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहालिन् । कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुगेका उनले हामीलाई विस्तारै होटलभित्र पुर्याए । उनले सुरुमा तातोपानी दिए । त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो । उनले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याए । र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गर्नुभयो । चाउचाउको झोलले शरीर तात्न थाल्यो । मेरो शरीरले अलिक बिसेक मान्यो ।

एकमनले त यहाँसम्म आइहालियो, अब कालापत्थर नचढौँ कि भन्ने पनि भयो । लेक लागेर (अक्सिजन अभाव) सिकिस्तै भएका पर्यटकलाई एकैछिन अघि हेलिकप्टरमार्फत उद्धार गरेको देखेकाले पनि होला आत्मबल घट्दो थियो । तर मिङ्मा र कमल प्रसाईँले यो सामान्य हो भन्दै सम्झाउनुभयो । उहाँहरुको परामर्शपछि अलिकति आत्मबल बढेझैँ भयो । तलमाथि भइहाल्यो भने उनीहरु छन् भन्ने सोचले हौसला मिल्यो । होटलभित्र झण्डै आधा घण्टा बिताएपछि हामी कालापत्थर आरोहणका लागि तयार भयौँ ।

गोरकसेप सगरमाथाको प्रवेशविन्दु हो । गोरकसेपको नाम चराबाट लिइएको रहेछ । शेर्पाहरू राभेन चरालाई गोरक भन्दा रहेछन् । कुनै शेर्पाले यस क्षेत्रमा मरेको गोरक देखेकाले यस ठाउँको नाम गोरकसेप रहन गएको भन्ने जनविश्वास रहेछ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि यस क्षेत्रको लोकप्रियता र व्यापकता विश्वभर फैलिएको मानिन्छ । पर्यटकहरू गोरकसेपमा विश्राम गरेर कालापत्थर, सगरमाथा आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्छन् । लुक्लाबाट नाम्चे हुँदै गोरकसेप पुगेपछि चोला पास र गोक्योसम्म जाने पनि यही भेटिन्छन् ।

गोरकसेपबाट कालापत्थर र आधार शिविरतर्फ शेर्पाका साथमा लामबद्ध विदेशी पर्यटकले त्यतिबेलाको माहोल ‘गुल्जार’ बनाएको थियो । पिठ्यँुमा ब्यागप्याक र दुवै हातमा ट्रेकिङ पोलका साथमा विभिन्न गन्तव्यतर्फ पाइला चालिरहेका पर्यटकहरूको पङ्क्ति निकै लोभलाग्दो थियो । हाम्रो गन्तव्य भने कालापत्थरको चुचुरो थियो । कालापत्थरको चुचुरोबाट जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबारे पत्रकार सम्मेलनमार्फत विश्वको ध्यानाकर्षण गराउनु थियो । हेर्दा नजिकैजस्तो देखिए पनि गोरकसेपबाट त्यहाँ पुग्न करिब दुई घण्टा लाग्ने रहेछ । तर मिङ्माजस्ता आरोहीका लागि भने आधा घण्टा नै काफी हुने रहेछ । वरिपरि सेताम्मे हिमाल भएर पनि कालापत्थर मात्र भएकाले यसको नाम कालापत्थर रहन गएको हो । यद्यपि कालापत्थरको उचाइमा हिउँको केही अंश भने बाँकी नै थियो ।

कालापत्थरबाट देखिने सगरमाथाको दृश्य अविष्मरणीय थियो । किनभने यसअघि माउन्टेन फ्लाइटलगायतबाट सगरमाथाको शिरमात्र देखेका मेरा आँखाले झण्डै पूर्ण आकारको सगरमाथा देख्नु ‘बकेट लिस्ट’ कम गर्नु थियो । सगरमाथाको पश्चितर्फ उभिएको नुप्त्से (शेर्पा भाषामा पश्चिम चुचुरो) र दक्षिणतर्फको ल्होत्से हिमाल (शेर्पा भाषामा दक्षिण चुचुरो) तथा कालापत्थरसँगै शिरको पुमोरीलगायतका हिमालको पानारोमिक भ्यूमा हेर्न पाउनु जति रोमाञ्चक र सुन्दर छ त्यतिनै सङ्घर्ष त्यहाँसम्म पुग्नमा रहेछ । पुमोरीको अर्र्थ शेर्पा भाषामा अविवाहित छोरी भनिने रहेछ । कतिपयले यसलाई सगरमाथाको छोरीका रूपमा पनि अथ्र्याउने रहेछन् ।

कालापत्थर पुग्ने हाम्रो योजना दसैँ अगाडि नै बनिसकेको थियो । तर पर्यटकीययाम भएकाले विदेशी पर्यटकको बाक्लो उपस्थितिका कारण जहाजको टिकट र हेलिकप्टर पाउनै मुस्किल हुनेरहेछ । काठमाडौँ–लुक्लाका लागि विमानको टिकट नपाएपछि हामी काठमाडौँबाट गाडीमा रामेछाप पुग्यौँ । प्रतिकूल मौसमका कारण विमान मन्थली–लुक्ला–मन्थली विमान र हेलिकप्टर नचल्दा हामीभन्दा अगाडि नै करिब पन्ध्र सय पर्यटक मन्थलीमै रोकिएका रहेछन् । त्यति नै सङ्ख्यामा लुक्लाका होटलमा रहेछन् । मन्थलीमा तीन दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि हामी काठमाडौँ फर्कन बाध्य भयौँ ।

तर काठमाडौँ फर्केको एकाध दिनमा मौसम खुल्यो । मौसमसँगै हाम्रो मन पनि उज्यालियो । काठमाडौँबाट रामेछापसम्म गाडीमा र त्यहाँबाट विमान चढ्ने हाम्रो योजना बने पनि संयोगले काठमाडौँ–लुक्लाको उडानको टिकट मिल्यो । अक्टोबर २५ तारिखमा तीन जना र भोलिपल्ट दुई जना विमान तथा एक जना हेलिकप्टरमार्फत हामी लुक्ला पुग्यौँ । दुई जना भने पहिले नै लुक्ला पुगिसकेका थिए ।

हामी लुक्लामा छँदा त्यहाँका प्रायः सबै होटल पर्यटकले भरिएका थिए । पर्यटन व्यवसायीका लागि ‘पिकआवर’ थियो । प्रायः सबै खालको सुविधा प्राप्त हुने लुक्ला सगरमाथा क्षेत्रका लागि प्रवेशविन्दु हो । यहाँसम्म पुग्नका लागि हवाई उडान एकमात्र विकल्प हो । त्यसो त केही पर्यटक सल्लेरी हुँदै पदयात्रामार्फत पनि पुग्ने रहेछन् । यद्यपि अब लुक्लालाई मोटरेबल सडकको पहुँचले जोड्ने काम पनि भइरहेको रहेछ । विमानस्थल नजिकै बसपार्क निर्माणका लागि जग्गा पनि छुट्याइएको रहेछ । लुक्लासम्म सामान ढुवानीका लागि मानिसबाहेक विमान, हेलिकप्टरका साथै खच्चर र घोडा प्रयोग गरिन्छ भने त्यसभन्दा माथि हेलिकप्टर, खच्चर र घोडाले बोक्छन् । खच्चरलाई नाम्चेभन्दा माथि लैजान पाइँदैन ।

दुई दिन अगाडि नै लुक्ला पुगेका हामी तीन जनाले लुक्लाको गाउँ र बजार घुम्न पायौँ । स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले सुच्या र अमेरिकानोको स्वाद चखाउँदै पासाङल्याह्मु शेर्पाको सङ्ग्रहालयसहित लुक्ला बजार घुमाए । स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतसँग भलाकुसारीसहित गुम्बालगायतका ऐतिहासिक सम्पदा पुग्ने मौका पनि जुर्यो । कालापत्थर जानुभन्दा अघिल्लो दिन मेरापिक जाने बाटोतर्फ पदयात्राको छोटो–मीठो ‘रिहर्सल’ पनि गर्न पायौँ ।

गोरकसेप जानका लागि अक्टोबार २७ तारिखको बिहान साढे ६ बजे नै हेलिप्याड बोलाइएको थियो । हामी त्यहाँ पुग्दा हेलिकप्टर उडान र अवतरण भइरहेको थियो । विदेशीहरू आउने र जाने क्रम चलिरहेकै थियो । यत्तिकैमा हाम्रो पनि पालो आयो । लुक्लादेखि पाक्दिङ, नाम्चेबजार, पाङबोचे, दुक्ला हुँदै विभिन्न हिमशृङ्खला र हिमताल हेर्दै निमेषभरमै गोरकसेप पुगेको पत्तै भएन ।

गोरकसेपबाट कालापत्थरको उचाइसम्मको दूरी धेरै होइन । समथर भए १० मिनेट र पहाडमा भए करिब ३० मिनेट । तर उच्च उचाइको उक्त क्षेत्रमा पाइला अघि बढाउनै मुस्किल हुनेरहेछ । हामी त्यसै पनि दुई घण्टामा पाँच हजार एक सय ८० मिटरबाट पाँच हजार छ सय ५३ मिटरको उचाइमा पुग्दै थियौँ । पाइलैपिच्छे अल्टिच्युड बढ्ने भएकाले प्रत्येक पाइला चाल्दा मात्रै शरीरमा बोझ थपिएजस्तो हुनेरहेछ । हामी प्रत्येक १०–१५ पाइलापछि थकाइ मेट्थ्याँै । सबैभन्दा अगाडि मिङ्मा र पछाडिबाट नाम्गेल शेर्पाले टोलीलाई सम्हाल्दै अगाडि बढाइरहेका थिए । फुर्बाले समयसमयमा चकलेटको टुक्रा र त्यसलाई निल्न तातोपानी दिँदै शरीरमा ऊर्जा थपिरहेका थिए । कमल प्रसाईँ तस्बिर र श्रव्यदृश्य कैद गर्दै अगाडि बढेका थिए ।

कालापत्थरको चुचुरोमा पुगेपछि मिङ्माले हिमालबारेको अनुभव साट्नुभयो । “तपाईँहरूले देखेको सगरमाथा, नुप्त्से र ल्होत्से पहिलेजस्ता छैनन्, १७ वर्षअघि मैले यस क्षेत्रमा काम गर्दा हिमालमा बाक्लो हिउँ हुन्थ्यो, तर अहिले कालापहाडजस्तै बनेका छन्, कतैकतै मात्रै बाक्लो हिउँ देखिन्छ अन्यत्र पातलो छ”, उनले भने । उनका अनुसार यो जलवायु परिवर्तनको असर हो । यही कारणले खुम्बु क्षेत्रकै थोमेमा केही समय अगाडि बाढीपहिरो गयो । दुईवटा हिमताल फुट्दा पर्यटकीय गाउँ थामेको पहिचान मेटिएको उनको बुझाइ छ ।

पर्यटन व्यवसायी नाम्गेलले पनि त्यस्तै अवस्था सुनाउनुभयो । सगरमाथाको पारिपट्टिको चीनमा भएका ठूला औद्योगिक क्षेत्रबाट उत्पन्न हुने कार्बन उत्सर्जनको असर हाम्रो हिमालमा देखिएको उनको बुझाइ थियो । त्यसो त गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाएका थिए ।

जलवायुको असर

खुम्बु क्षेत्र हिमाल हेर्न रहर गर्नेका लागि जति रहरलाग्दो छ, त्योभन्दा बढी पीडा जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबाट यहाँका स्थानीय पीडित छन् । एसियाली विकास बैंकले केही दिनअघि प्रकाशित गरेको ‘द रुफ अफ द वर्ल्ड इज मेल्टिङ’ शीर्र्षकको लेखमा जलवायु परिवर्तनका कारणले एसियाका हिमनदी तीव्रगतिमा पग्लन थालेकाले यसले स्थानीयमा जोखिम बढाएको उल्लेख छ ।

हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ । त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ ।

खुम्बुमात्र होइन, नेपालसहितका आठवटा देशमा फैलिएको विश्वको तेस्रो महत्वपूर्ण ‘वाटर टावर’ भनिने हिन्दुकुश हिमालय क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा प्रभावित छ । हिन्दुकुश हिमालय क्षेत्रलाई अत्यधिक ‘आइस रिजर्भ’का कारण पनि पृथ्वीको तेस्रो पोल पनि भन्ने गरिन्छ । एसियाली विकास बैंकको अध्ययनअनुसार यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा जलवायु परिवर्तनका कारण जम्मा भएको हिउँको ७५ प्रतिशत पग्लनेछ । यसले बाढीपहिरो बढाउनुका साथै खानेपानी, सिँचाइ, कृषि, जलविद्युत््लगायतका लागि खानेपानीको अभाव सुरु हुनेछ ।

कुल तीन हजार पाँच सय किलोमिटर हिमाली क्षेत्रमा फैलिएको यो क्षेत्र नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ । यो क्षेत्रबाट निस्कने प्रमुख नदीमा अमु दर्या, ब्रह्मपुत्र, गङ््गा, हिन्दुस, एरावती, मेकोङ, सलविन, तारिम, याङते र यल्लो नदी छन् । जसमा यस क्षेत्रको ठूलो जनसङ्ख्या आश्रित छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । त्यसैले हिमालमात्र होइन, यससँग आश्रित तराईसम्मको पारिस्थितिक प्रणाली जोगाउनका लागि पनि जलवायु परिवर्तनले पारेको असरबारे गम्भीर हुनुपर्ने समय आइसकेको छ ।

गाउँलेको खान्की कोदो गन्यमान्यले खोज्न थालेपछि ग्रामीण भेगमा कोदोखेती विस्तार

गलेश्वर (म्याग्दी), २५ कात्तिकः केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ ।

सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताउनुभयो ।

मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताउनुभयो । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उहाँले बताउनुभयो ।

“सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, सात–आठ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भन्नुभयो ।

पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उहाँले बताउनुभयो । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

काठमाडौँ, २५ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताउनुभएको छ ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।” सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उहाँले स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २५ कात्तिकः वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् ।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, २५ कात्तिक : हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा मुलुकका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । 

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल     युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

आज फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपर्नुभयो । त्यसक्रममा उहाँले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भयो ।

किराँत समाज सुधारमा पुर्याउनुभएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

सिमकोट (हुम्ला), २५ कात्तिक- आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।

सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिनुभयो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी घरदैलोमा व्यस्त छ । चार समूह बनाएर घरदैलो अभियान गरिरहेको एमाले जिल्ला सचिव तीर्थराज बोहराले बताउनुभयो ।

माओवादी केन्द्र पनि उम्मेदवार चयनका लागि सर्केगाडमा केन्द्रित भएको सो पार्टीका जिल्ला सचिव धर्मराज बोहराले बताउनुभयो । यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित हुनुभएको थियो । सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुनलागेका हो ।

राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कनुहुने कार्यतालिका छ ।

‘कतार गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता नरहने’

कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट पछि हटेको छ । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको छ ।

“हमासले अब कतारबाट आफ्नो उद्देश्य पूरा गर्दैन,” एक कूटनीतिक स्रोतले शनिबार एएफपीसँग भन्यो ।
नाम नबताउने शर्तमा स्रोतले भन्यो, “कतारीहरूले इजरायली र हमास दुवैलाई जबसम्म सद्भावपूर्वक सम्झौता गर्न इन्कार गरिन्छ, तबसम्म उनीहरूले मध्यस्थता जारी राख्न सक्दैनन् भन्ने सूचित गरिसकिएको छ।

फलस्वरूप, हमासको राजनीतिक कार्यालयले अब आफ्नो उद्देश्य पूरा गर्दैन।”संयुक्त राज्य अमेरिका र इजिप्टसँग कतारले बन्धक र कैदीहरूको रिहाईको लागि युद्धविरामको लागि महिनौंदेखि निरर्थक देखिएको वार्ता वार्ताको नेतृत्व गरिरहेको छ।

स्रोतका अनुसार कतारले आफ्नो निर्णयबारे इजरायल र हमासका साथै अमेरिकी प्रशासनलाई समेत जानकारी गराइसकेको छ ।   “कतारीहरूले अमेरिकी प्रशासनलाई दुवै पक्षले वार्ताको टेबुलमा फर्कन इमानदार इच्छा प्रदर्शन गरेमा मध्यस्थतामा पुनः संलग्न हुन तयार रहेको पनि जानकारी गराएका छन्,” स्रोतले भन्यो।

बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा

काठमाडौँ, २४ कात्तिकः ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेको छ ।बागमती सरसफाइको छ सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सरसफाइ महाअभियानले आज आयोजना गरेको ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादमा आयोजना ग¥यो ।

त्यसक्रममा बागमती सफाइका लागि निजी तथा सरकारी क्षेत्रबाट भए÷गरेका काम कारबाही तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आमनागरिकमा बागमती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यस अभियानको ठूलो उपलब्धि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती सफाइ महाअभियानले राम्रो सन्देश दिइरहेको छ, सबैमा बागमती सफा राख्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ, यो राम्रो सन्देश हो ।”

कार्यक्रममा बागमती महाअभियानका अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल, गोकर्णेस्वर नगरपालिका प्रमुख दीपककुमार रिजाल, डा सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे, हरिबहादुर थापा, बागमती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायतको सहभागिता रहेको थियो ।

दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित, तीन लाख ७९ हजार विस्थापित

दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोप (बाढी) का कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा ‘कान्छो देश’ को मुख्यतः उत्तरी क्षेत्र दशकौँ यताकै सबैभन्दा खराब बाढीको चपेटामा परेको सहायता एजेन्सीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार दक्षिण सुडान र सुडान दुवैले दाबी गर्दै आएको ४३ वटा काउन्टी र विवादित अबेई क्षेत्रमा आएको बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।

“२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,” राष्ट्रसङ्घले शुक्रबार राति जारी विज्ञप्तिमा भनिएको छ।

“बाढीका कारण ‘स्वास्थ्य प्रणालीलाई भारी असर पारेको छ र बाढी प्रभावित क्षेत्रहरूमा स्थिति र प्रभावलाई अझ बढावा दिएको र औलोको प्रकोप बढेको रिपोर्ट गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ

एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ ।व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन युनियन (इयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन सङ्घर्ष गरिरहेको छ ।

परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारहरूमा निर्भर क्रोएशियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौं हजार रोजगारीका लागि लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारहरूमा भरोसा गरिरहेको छ।

तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने एक कामदारमाथि शारीरिक आक्रमण गरेको आशङ्कामा पक्राउ परेका चारै जनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।

शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य तीन वटा घटना भएका थिए जसमा एक नेपाली गम्भीर घाइते भएका थिए । अर्का एक जना भारतीय नागरिक थिए भने अन्य दुई जनाको राष्ट्रियता खुलाइएको छैन ।

प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ ।सन् २०२३ मा क्रोएसियाले इयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो।

यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ । सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार इयूभन्दा बाहिरका नागरिकहरूका लागि वर्क परमिट जारी गरेको थियो।

राजधानी जाग्रेबका प्रहरीले यस वर्षको सुरुमा विदेशी कामदारहरू, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको सङ्ख्या बढ्दै गएको बताएका थिए।

प्रायजसो घटनाहरूमा आक्रमणहरू जातीय नभई डकैतीजन्य थिए। तथापि, आप्रवासीहरूलाई नियमित रूपमा अनलाइनमा सार्वजनिक गर्ने गरिएको छ भने भाषाको अवरोध र बाहिरी व्यक्तिहरूप्रति नकारात्मक दृष्टिकोणले नयाँ श्रम शक्तिको लागि बाधा प्रस्तुत गरेको छ।

क्रोएसियाको कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन् ।

समाजमा सकारात्मक प्रेरणाका स्रोत नै फोटो पत्रकार हुन् : मन्त्री यादव

काठमाडौँ, २४ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रममा उहाँले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय भएको बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरूका चुनौती पनि धेरै छन्, सरकारले तपाईंहरूका समस्याहरू समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधैँ सकारात्मक रहेको छ ।”

यसैगरी, मन्त्री यादवले फोटो पत्रकारहरूलाई आवश्यक पर्ने स्रोतसाधन खरिददेखि उनीहरूको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारको बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार सङ्कलनका क्रममा सबैभन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरूको बीमा सरकारले गरिदिनुपर्छ, त्यसका लागि मैले के सहयोग गर्छु ।”

फोटो पत्रकारहरूको सुरक्षाको प्रत्याभूति सरकारले लिने र फोटो पत्रकारका सुखदुःखमा सरकारले सधैँ साथ दिने मन्त्री यादवले विश्वाससमेत दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूको साथ र सहयोग सरकारलाई आवश्यक छ, हामी पनि तपाईंहरूको साथमा छौँ, बसेर सरसल्लाह गरौँ, सरकारले के सहयोग गर्नुपर्छ, सरकार तयार छ ।”

    नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्त्व रहेकाले फोटोग्राफी मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको बताउनुभयो । अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उहाँले बताउनुभयो । 

अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले अनुशासनमा बस्न सकेनौँ, पत्रकारिता बुझ्न सकेनौँ भने र विश्वसनीयता राम्रोसँग बुझ्न सकेनौँ भने क्यामेरा बोकेको कुनै अर्थ हुँदैन ।” उहाँले केही युट्युब अनलाइनका कारण पत्रकारिता क्षेत्रमा विश्वसनीयता घट्न थालेको र त्यस्ता युट्युब अनलाइनलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको जानकारी दिनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकाररिता आफैँमा जोखिमयुक्त पेसा भए पनि आफूहरूले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरिमा कम्तीमा पनि पाँच सयजना फोटो पत्रकार आबद्ध रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिले शुभकामना प्रदान गर्नुभएको थियो । आजको उक्त कार्यक्रममा सातजना फोटो पत्रकार तथा फोटो पत्रकार रामेछाप जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो ।

सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला

उदयपुर, २४ कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताउनुभएको छ ।

आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उहाँले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दुवे पार्टी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । “अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ ।

देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिष्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भन्नुभयो,“आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो । त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ ।”

उहाँले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आमकार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राई, नेता हरि भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौँ, २४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधनसमेत गर्नुभएको थियो । उहाँलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । 

विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सम्मेलनमा सहभागी प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नेबारे छलफल गरिएकाले भ्रमण फलदायी रहेको बताउनुभयो । उहाँले सम्मेलनमा त्यहाँका शीर्षनेताहरूसँग बहुपक्षीय सहयोग आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा सहकार्य गर्ने विषयमा जोड दिइएको बताउनुभयो । अध्यक्ष नेपाल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि

जनकपुर, २४ कात्तिकः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

आज यहाँ जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा उहाँले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।

नेता निधिले अधिकारका लागि फेरी आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । “संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ, हामीले नौ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकार अधिकारसम्पन्न हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “जनता नजिकको शासकीय अभ्यास गर्ने प्रदेश संरचनालाई अधिकारसम्पन्न बनाउन सकेनौँ भने सङ्घीयताको के अर्थ ? चाँडोभन्दा चाँडो प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ । सङ्घीयताको अनुभूतिका लागि सङ्घीय सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्छ । यसका लागि मैले पार्टीभित्र पनि आवाज उठाइरहेको छु ।”

पूर्वउपसभापति निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरी आन्दोलन हुनसक्ने चेतावनी दिनुहुँदै त्यसको नेतृत्व कांग्रेसले गर्नसक्ने अवस्था आउनसक्ने धारणा राख्नुभयो ।

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो

भक्तपुर, २४ कात्तिक : सर्वमान्य नेता एवं लौहपुरुष स्व गणेशमान सिंहको ११० औँ जन्मजयन्ती आज भक्तपुरमा मनाइएको छ ।
आज सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित गणेशमान सिंह स्मृति बाटिकामा गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहको सालिकमा माल्यार्पण गर्नुका साथै प्रजातन्त्र प्राप्तिमा उहाँको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पार्टीको १०० दिने विशेष अभियानका लागि भक्तपुरका केन्द्रीय प्रतिनिधि बलबहादुर केसीले गणेशमान सिंहको योगदानलाई पार्टीले मात्रै नभई सिङ्गो देशले भुल्न नहुने बताउनुभयो ।

काँग्रेस जिल्ला सभापति एवं सङ्घीय सांसद दुर्लभ थापा, गणेशमान सिंह स्मृति वाटिकाका अध्यक्ष माथवरसिंह बस्नेत र पाटी जिल्ला सहसचिव यादव अधिकारीले सिंहको लामो, कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्षबारे चर्चा गर्दै नेता केसीले मुलुकका लागि पुर्याउनु भएको योगदानलाई देशले भुल्न नहुने बताउनुभयो ।

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर कांग्रेसका नेता सिंह जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहाई त्याग गर्दै सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेको घटना नेपाली राजनीतिमा नमूनाको रुपमा लिइँदै आएको छ ।

व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग

गण्डकी, २४ कात्तिकः पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

आज पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन् ।

पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउनुहुँदै पोखराबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गर्नुभयो । उहाँले पोखरा आउने सडकको स्तरोन्नतिलाई तीव्रता दिन, नेपाल र चीनबीचको कोरला नाका सहज र नियमित सञ्चालनका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग गर्न माग गर्नुभयो । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र राजमार्गको स्तरोन्नतिमा सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र नेपालको गरिबी निवारण हुनसक्ने भएकाले खेल पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटन एवम् शान्ति सङ्गीत महोत्सव गर्न सुझाव दिनुभयो ।

यसैबीच होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउनुहुँदै होटललाई उद्योग सरह मान्यता दिई सोहीअनुसार व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जाजस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने माग गर्नुभयो । रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकासभन्दा पनि प्रवर्द्धनका काममा जोड दिनुपर्ने सुझाव दिइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण खोजिरहेको र मन्त्रालयले प्राविधिक टोलीसँग बुझेर थप कार्य अगाडि बढाइने विश्वास दिलाउनुभयो । होटल सञ्चालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, मुद्रा सटही व्यवसायी सङ्गठन पोखराका अध्यक्ष रुपकराज मिश्रलगायतले पोखराको पर्यटनका सम्भावनालगायत विषयमा धारणा राख्नुभएको थियो ।

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २४ कात्तिक : पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो ।

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो । जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन् । यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।

त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ ।

टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन् ।

पुरुष यू–१९ एसिया कप–२०२४ आगामी मङ्सिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ । एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आड राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले मङ्सिर १४ गतेहुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ । यस्तै, मङ्सिर १६ गते बङ्गलादेश र मङ्सिर १८ गते अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ ।

दुबै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ । मङ्सिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलबाट दुबै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ । खेल मङ्सिर २३ गतेसम्म चल्नेछ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि : एमाले

काठमाडौँ, २४ कात्तिक – नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ । नेपालको अधिकतम राष्ट्रियहितमा हुनेगरी यो भ्रमणलाई सफल पार्दछौँ ।”

उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ । सरकारले आधारभूतरूपमा ठिक ढङ्गले काम गर्दै अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस र एमालेबीचमा समझदारीलाई अझ प्रगाढ बनाउने र काममा अझ समन्वय गर्नका लागि सयन्त्र बनेको उहाँले जानकारी दिनुभयो ।

ज्ञवालीले उपनिर्वाचनमा उम्मेदवारको नाम अनुमोदन बैठकले उपनिर्वाचनको लागि प्रदेश कमिटीले सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको बताउनुभयो । उहाँका अनुसार बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रित हुन निर्देशन दिएको छ ।

“उपनिर्वाचनका लागि प्रदेश कमिटीबाट निर्णय भइआएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो । उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो ।

बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङ्गको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्वपुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । प्रदेश कमिटी सदस्य अधिकारीलाई प्रदेश कमिटीले पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

“उहाँ माथि लागेका सबै आरोपको वस्तुनिष्ट तथ्यपरक र गम्भीर छानबिन राज्यका सबै निकायले गरुन र त्यो छानबिनमा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

मङ्सिर ७ गते पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरणसभालाई सफल बनाउन जनवर्गीय कमिटी र सम्पर्क मञ्चलाई सहयोग गर्नका लागि आह्वान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीले पार्टीका केन्द्रीय सल्लाहकार देवी पोखरेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री

काठमाडौँ, २४ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सचालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पार्नुभयो । उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थ सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

“मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर तद्अनुरुप कार्य प्रक्रिया अगाडि बढायौँ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठनगरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा करलगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान संभव भएको हो ।” उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पाण्डेले ठूलो पुँजी लागानी गरेका विमानस्थल पूर्णरूपमा सञ्चालका लागि त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रमलगायत अन्तरसम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरू अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै उहाँले यी तमाम कामलाई चरणबद्ध रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो बृहत विकास परियोजना पूर्णक्षमता सञ्चालनमा आउन केही समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनुपर्नेजस्ता प्राविधिक समस्याहरू विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।”

राजनीतिक स्थिरताका लागि काङ्ग्रेस र एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ

दमौली (तनहुँ), २४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताउनुभएको छ । नेकपा (एमाले) का उपमहासचिव रहनुभएका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताउनुभयो ।

राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एकखालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।”

दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, “जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठीक ढङ्गले लयमा अगाडी बढेको छ ।”

जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “संविधान पनि काङ्ग्रेस एमाले मिलेर बनाएका हौँ । पञ्चायत विरुद्धको आन्दोलनमा पनि हामी सँगै थियो । जबजब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ ।” सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्नेगरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।

पाकिस्तान रेलवे स्टेशनमा विस्फोट हुदाँ मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २५ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो ।

“मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,” एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताउनुभयो ।

स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताउनुभयो ।

बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ ।

रेल स्टेशनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरू मध्ये एक बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको दावी गरेको छ ।

पाकिस्तानी सेनाको एक इकाईलाई लक्षित गरी आक्रमण गरिएको बीएलएले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

पाकिस्तानको आधिकारिक समाचार एजेन्सी एसोसिएटेड प्रेसले रेलवे अधिकारीहरूलाई उद्धृत गर्दै दुईवटा रेल छुट्ने क्रममा टिकट बुथ नजिकै विस्फोट भएको बताएको छ ।

परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), २४ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताउनुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्मढङ्गबाट कार्यन्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।”

एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राख्नुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ विमोचन

काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत छ वटा खण्डहरू छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको उक्त पुस्तक प्रेरणादायी रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यको विकासमा यस कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुची भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न सो कृति रचना गरेको जानकारी दिनुभयो ।

साहित्यकार डा बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताउनुभयो ।

पूर्व रथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गर्नुभयो । लेखक थापाका यस अघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौति नामक कृति प्रकाशित छन् ।

हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण

हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायल तर्फ करिब पाँचवटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिएका थिए ।

इजरायली सेनाले अधिकांश रकेटहरू रोकिएका एक विज्ञप्तिमार्फत जनाएको छ । राज्यको स्वामित्वमा रहेको कान टिभी समाचारले उत्तरी इजरायलको एउटा आवासीय घरमा रकेट प्रहार भएको जनाएको छ ।

इजरायली म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन ।

हालसम्म हिजबुल्लाहले आक्रमणको पुष्टि गरेको छैन ।हिजबुल्लाहका नेता शेख नइम कासिमले इजरायली सेनामाथि विजय नहुँदासम्म लड्ने वाचा गरेपछि बुधबार उत्तरी र मध्य इजरायलमा हिजबुल्लाहद्वारा रकेटका आक्रमणहरू गरिएका थिए ।यी घटनाक्रमहरू इजरायल र हिजबुल्लाहबीच जारी सीमापार द्वन्द्वको बीचमा भएको हो ।