`

रुसबाट ५६३ युक्रेनी सैनिकको शव फिर्ता

युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए ।

सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।

“पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो,” युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।रुस र युक्रेनले यस लडाईमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् ।

छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, २४ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।

विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।  

सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ ।

प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।

शैक्षिक मेलालाई निरन्तरता

कामपाले बिदाको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि सहयोगका लागि आवश्यक हुने कार्य सञ्चालन गर्ने जनाएको छ । भर्खरै सकिएको नेपालीहरुको महान्  चाड दसैँ, तिहारको बिदाको समयमा पनि कामपाले विभिन्न शैक्षिक गतिविधि गरेको थियो ।

यस्तै कार्यलाई निरन्तता दिने कामपाको भनाइ छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु मेलाको उद्देश्य रहेको कामपा शिक्षा विभागको भनाइ छ ।

दसैँ तिहारको बिदामा पनि कामपाले ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुने भएका पाँच ठूला सामुदायिक विद्यालयमा मेला सञ्चालन गरेको थियो । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न कामपाले यस्तो किसिमको कार्य गरेको जनाएको छ ।

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

काठमाडौँ–नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका शहर, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु गर्ने जानकारी दिइयो । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा समेत सहमति भएको छ ।

जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ट पाइरहेका अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुर्नस्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताउनुभयो । जापानी निकायसँगको प्राविधिक सहकार्यमा बास्तविक लगत संकलन गर्न सकिने उहाँले बताउनुभयो ।

अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा इकुटा एसुकेले विपद् व्यवस्थापन सम्वन्धी सम्पुर्ण कार्यक्रममा बढीभन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक: मुख्यमन्त्री सिंह

राजविराज (सप्तरी)-मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले समृद्ध मधेस निर्माणका लागि शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

राजविराजमा पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन गुणस्तरीय शिक्षण सिकाइ र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिंहले अबको शिक्षा स्वदेशमै रोजगार र समृद्धि हासिल गर्ने खालको हुनुपर्ने भन्नुहुँदै सोही उद्देश्यअनुसार प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको बताउनुभयो । “प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर छ । दक्ष र प्रतिस्पर्धी बजारमा खपत हुने जनशक्ति उत्पादन गरेर भए पनि शिक्षा क्षेत्रलाई सुधार्न आवश्यक छ । त्यसका लागि प्रदेशमा प्राविधिक शिक्षा विकासमा जोड दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले कृषि क्षेत्रमा सुधार नभएसम्म उद्योगको अवस्थामा सुधार नहुने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच प्राथमिकताका साथ काम गरिरहेको धारणा राख्नुभयो ।

पेरिस सम्झौताअन्तर्गत वन मन्त्रालय र विश्व वन्यजन्तु कोषबीच सम्झौता

काठमाडौँ- नेपालको जलवायु कार्य प्रयासलाई थप बढावा दिन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आज भएको सम्झौताको उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप)को आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यस सम्झौताअन्तर्गतका परियोजना जलवायुका क्षेत्रको नेपालको राष्ट्रिय प्रतिबद्धतामा भएको प्रगतिको प्रतिवेदन तयार गर्ने क्षमतालाई सुदृढ गर्न केन्द्रित हुनेछ । जुन विश्वव्यापी जलवायु कार्यको लागि महत्त्वपूर्ण प्रतिबद्धता हो । यो परियोजनाले कृषि, वन, ऊर्जा, उद्योग र फोहोरजस्ता क्षेत्रहरूमा हरितगृह ग्याँस उत्सर्जनको निगरानी गर्नका लागि संस्थागत गर्न योगदान गर्ने बताइएको छ ।

सम्झौताअन्तर्गत तीन वर्षे अवधि रहने सहयोगात्मक परियोजनाको बजेट २ दशमलव ८४ मिलियन अमेरिकी डलर रहेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले यो साझेदारीले नेपालमा जलवायु शासन प्रणाली निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम अघि बढेको बताउनुभयो । साथै उहाँले यसले नेपाललाई आफ्नो जलवायु लक्ष्यहरू प्राप्त गर्न र विश्वव्यापी जलवायु कार्यमा योगदान गर्न सक्षम बनाउने राष्ट्रिय क्षमता र प्रणालीलाई सुदृढ पार्न योगदान गर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयको योजना, अनुगमन र समन्वय महाशाखा प्रमुख एवं सहसचिव बद्रीराज ढुङ्गानाले सम्झौता नेपालको जलवायु कार्य रणनीतिको लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो । यसले नेपाल आफ्नो जलवायु लक्ष्यहरूप्रति उत्तरदायी हुनेछ भन्ने सुनिश्चित गर्ने उहाँको भनाइथियो ।

चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही

काठमाडौँ- काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार तीन सय ५० मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्रगतिमा सवारी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो । प्रवक्ता चतुर्वेदीका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए । 

दुर्घटनामा परी ११ जनाको मृत्यु, ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका प्रवक्ता चतुर्वेदीले बताउनुभयो । यसपालि उपत्यका प्रहरीले काठमाडौँमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो । त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित थिए । 

कुल १८ स्थानमा यात्रु सहायता कक्षा स्थापना भएको थियो । उपत्यका छिर्ने नाकासहितका क्षेत्रमा सुरक्षा जाँच अभियान र सडकका विभिन्न क्षेत्रमा ट्राफिक नियमपालनविरुद्ध कारबाही अभियान चलाइएको थियो ।

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

ढोरपाटन (बागलुङ), २४ कात्तिक : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिनुभयो । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उहाँको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउनुहुन्छ । सडक कालोपत्र गर्न रु ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो ।

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताउनुभयो । “यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ कात्तिक : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गर्नुभएका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उहाँले राजनीति सुरु गर्नुभएको स्मरण गर्नुहुन्छ । त्यागबाट राजनीतिक जीवन सुरु गर्नुभएका सिंहले १९९७ सालदेखि  २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गर्नुभएको उहाँ बताउनुहुन्छ । यो समयमा नियतिले नै उहाँलाई निमित्त बनाएको उहाँ बताउनुहुन्छ । 

सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल हुनुभयो । गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो । गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा विश्वास थियो । त्यो बेला एउटा कम्युनिष्ट दलले अर्को कम्युनिष्ट दललाई पनि विश्वास गर्दै सुरु गर्ने जिम्मेवारी दिइएको छ । 

गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । 

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । 

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि  आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहलाई २०१७ साल पुस १ गतेको कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । 

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाइएको छ ।

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

काठमाडौँ, २४ कात्तिकः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

अमेरिकी डलर र युरोको भाउ बढ्यो

काठमाडौँ, २४ कात्तिकः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो ।

त्यस्तै, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ ।

बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन स्थगित

काठमाडौँ, २४ कात्तिक : आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँडमा समस्या हुने भएकाले नयाँ मिति सार्वजनिक नभएसम्मका लागि ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको दर्शकको साथले सबै चलचित्रकर्मीलाई उत्साहित बनाएको छ । गत दसैँदेखि छठसम्म नेपाली चलचित्रको व्यापार हेर्ने हो भने हामी अब विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था छैन । त्यसैले हामीले ‘मिसिङः केटी हराएको सूचना’ हाललाई प्रदर्शन रोक्ने र चलिरहेका नेपाली चलचित्रलाई साथ दिने घोषणा गरेका छौँ ।”

नयाँ चलचित्र आउँदा दर्शकको साथ प्राप्त चलचित्रलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व ठानेको निर्देशक दीपेन्द्र गौचनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिट्टै नयाँ प्रदर्शनको समय तय गर्नेछौँ । अहिलेलाई हामीले नेपाली चलचित्रको उत्सवलाई ऐक्यबद्धता दिएका हौँ । हामीले अब यसरी नै आपसी समझदारीमा अगाडि बढ्नुपर्छ ।”

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाउनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ झन्डै ३२ वर्षपछि निर्देशन गर्नुभएको हो । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटिएको उक्त चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, २४ कात्तिक : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । “गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ”, उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ ।     

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ  हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुआती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार  धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ ।

टिआइएको स्तरोन्नति सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएको छ । काठमाडौँ विमानस्थल मर्मत र विस्तारको काम सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको हो । 

नेपाल नागरिक उड््डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर  ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।   

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ, २४ कात्तिक : आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ ।

नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौँ, २३ कात्तिक : नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ ।लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो ।

 यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो । 

लोकगायिका सिन्हाको तेस्रो दिनको पून्य तिथिमा विराटनगरमा श्रद्धाञ्जली सभा

विराटनगर, २३ कात्तिक – प्रख्यात लोकगायिका शारदा सिन्हाको तेस्रो दिनको पून्य तिथिमा आज विराटनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नागरिक मिडिया प्रालि विराटनगरद्वारा आयोजित सभामा वक्ताहरुले गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल भएको भन्दै उहाँको योगदानको चर्चा गरेका थिए । सिन्हाको योगदानलाई सम्मान गर्दै भारत सरकारले ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरेको स्मरण गर्दै वक्ताहरूले उहाँले लोकसङ्गीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन अतुलनीय योगदान पु¥याएको बताएका थिए ।

सभामा देवानगङ्ज गाउँपालिका–२ का अध्यक्ष जगनारायण मेहताले सिन्हाले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएको उल्लेख गर्नुभयो ।
वक्ताहरू भीमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा चर्च गर्नुभयो ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक पत्रकार अरविन्द मेहताले सिन्हाका गीतहरूले मैथिली समाजका विभिन्न संस्कार र सांस्कृतिक विविधतालाई अमर बनाउँदै जनतामा आत्मीयता जगाएको धारणा राख्नुभयो । भारतको बिहार निवासी उहाँको उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, २३ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताउनुभएको छ ।

साउथ एसिया विजनेश पार्टनरशीपले आज यहाँ आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उहाँले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बङ्गलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले नेपाल र बङ्गलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताउनुभयो । “भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बङ्गलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बङ्गलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशका व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।

बङ्गलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बङ्गलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताउनुभयो । नेपाल र बङ्गलादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बङ्गलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले दुई देशबीचको व्यापारिक सम्बन्धलाई झन बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोही अवसरमा बङ्गलादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो ।

भूकम्पपछिको पुनः निर्माण कार्य प्रभावकारी बनाउनुपर्नेमा पूर्वअर्थमन्त्रीसहितका सांसदको जोड

काठमाडौँ, २३ कात्तिक : रुकुम पश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने पूर्वअर्थमन्त्रीसहितका सांसदहरूले पश्चिम नेपालमा भूकम्पपछिको पुनः निर्माण कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँगको छलफलमा उहाँहरूले पुनःनिर्माण कार्य थप प्रभावकारी बनाउन माग गर्नुभयो ।

छलफलमा अस्याथी आवासको दोस्रो किस्ताको प्रगति र स्थायी पुनःनिर्माणको काममा प्रभावकारी गराउने विषयमा उहाँहरूसँग छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मासहित रुकुम पश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरू कृष्णबहादुर रोकाय, चन्द्रबहादुर विश्वकर्मा, मैना कार्की र प्रदेशसभा सदस्य राजकुमार शर्मालगायत रुकुम पश्चिम र जाजरकोटका पालिका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाको भूकम्प क्षतिग्रस्त क्षेत्रमा स्थायी आवास पुनःनिर्माण र अस्थायी आवासको दोस्रो किस्ताको रकम निकासाको विषयमा गम्भीर ढङ्गले छलफल भएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

जाजरकोट, पश्चिम रुकुमलगायत क्षेत्रमा गएको भूकम्पको अस्थायी आवास निर्माणको पहिलो किस्ताबापतको काम ९२ प्रतिशत सम्पन्न भएको छ तर दोस्रो किस्ता ३२ हजारले मात्रै लगेका छन् । बाँकी किस्ता निकासा हुन समस्या रहेको र स्थायी पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढाउन प्रतिनिधिमूलक टोलीले प्राधिकरण कोध्यानाकर्षण गराएको थियो ।

छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले केन्द्रबाट गर्नुपर्ने कार्यप्रक्रियाका बारेमा समस्या नभएको तर पालिकाबाट दोस्रो किस्ताका लागि चाहिने फोटोलगायत डकुर्मेन्ट पोर्टलमा हाल्नुपर्ने अवस्था रहेकाले त्यो भइनसकेका कारण केही समस्या देखिएको जानकारी गराउनुभयो ।

जसले रकम कोषमा जम्मा भएको बसेको पनि उहाँले बताउनुभयो । कामलाई तीव्ररुपमा अघि बढाउने विषयमा छलफल भएको र समस्या समाधान गरी रोकिएको काम अघि बढाउने पोखरेलले राससलाई जानकारी दिनुभयो ।

सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि

गत वर्ष सिङ्गापुरमा ४२२ जना युवाहरूले ठगी अपराध गरेका थिए । सामाजिक तथा परिवार विकास मन्त्रालयले जारी गरेको प्रतिवेदनमा ठगी अपराध सन् २०१९ को तुल्नामा २६० प्रतिशतले बढेको देखाएको छ ।

सिङ्गापुरमा २१ वर्ष मुनिका युवाहरूको अपराध दर सन् २०२२ मा प्रति एक हजार व्यक्तिमा ४.६ थियो, जुन सन् २०२३ मा बढेर प्रति एक हजारमा व्यक्तिमा ४.९ पुगेको छ ।

युवा अपराधीहरूले सिङ्गापुरमा गरेका शीर्ष तीन अपराध पसल चोरी, ठगी र यौन अपराध रहेको छ ।

सरकारले युवा अपराधीहरूको लागि पुनर्स्थापना सहयोग विस्तार गर्ने तथा पुनःस्थापना आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न युवाहरूको परिवार र सामुदायिक साझेदारहरूसँग मिलेर काम गर्ने वाचा गरेको छ ।

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौँ, २३ कात्तिक : काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ ।

स्वर्णीम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढाउने मुख्य उद्देश्यका साथ चित्रणीकरण थालेको जानकारी दिएको छ ।

असारदेखि असोजसम्म नियमित पानी परेका कारणबीचमा उक्त कार्य रोकिएको थियो । अहिले पानी पर्न रोकिएसँगै उक्त कार्य पुनः सुरु गरेको कामपाको भनाइ छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन कार्यलाई पुनः सुचारु गरेको कामपा प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख काफ्लेका अनुसार यसको लागि कामपाले प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरी काम थालेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुन्धारा, नयाँबानेश्वर, प्रदर्शनी मार्गका सार्वजनिक भित्ताहरूमा लिच्छवीकालीन, मल्लकालीन चित्रात्मक सभ्यतालई आम सर्वसाधारणले बुज्ने देख्ने गरी भित्ते चित्र बनाउन थालेको हो ।

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामा चित्र कोरिने छन् ।

काफ्लेले भन्नुभयो, “भित्तामा कोरिएको विभिन्न चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्व; कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, वेशभूषा, खानपान विम्बित गर्छ, जसले एउटा इतिहास व्यक्त गर्छ ।”

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने कामपाले विश्वास लिएको छ । प्रमुख काफ्लेले भन्नुभयो, “अब कामपाको सार्वजनिक स्थानका भित्ताहरु विभिन्न चित्र, कुनै रङ छर्केर, पोस्टर वा कागज हासेर होइन ऐतिहासिक सम्पदाले रङ्गिने छन् ।”

कामपाले सार्वजनिक स्थानमा अहिले बनाइएका चित्र छोप्ने गरी अन्य चित्र बनाउन, पोस्टर वा पम्प्लेट बनाउनेजस्ता कार्य नगर्न आग्रह गरी जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ । उक्त कार्य निरन्तर सञ्चालन हुनेछ ।

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौँ, २३ कात्तिक : नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

आज यहाँ बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु,दुई घाइते

पाँचथर, २३ कात्तिक : पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि झापा पाठइएको छ ।
ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिनुभयो । ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ ।

उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो

उदयपुर (गाईघाट), २३ कात्तिक : आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।

माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगरपार्टीका प्रवक्ता गजेन्द्र राईले बताउनुभयो ।

यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उम्मेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले जानकारी दिनुभयो ।

यस्तै बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उम्मेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङले जानकारी दिनुभयो ।

यी दुवै वडाको लागि मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएर स्वीकृतिको लागि माथिल्लो समितिका पठाउन लागिएको पनि सम्बन्धित नगर समिति माओवादी केन्द्रका पार्टी अध्यक्षहरूले बताउनुभएको छ ।

यता नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि हालको कार्यवाहक अध्यक्ष अनिता थापा वा युवा नेता सञ्जीव काफ्लेमध्ये एकलाई उम्मेदवार घोषण गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताउनुभयो ।

बेलका नगरपालिकाको लागि पनि उम्मेदवार छनोट गर्ने तयारी गरिएको कांग्रेस उदयपुरले जनाएको छ । यता नेकपा (एमाले)ले पनि चाँडै उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

लिस्बन, (पोर्चुगल), २३ कात्तिक : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।

पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिनुभयो ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताउनुभयो ।

“हामीले धेरै पटक उनको उद्धार गर्यौँ । परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौँ । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए”, विष्टले रासससँग भन्नुभयो ।” समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताउनुभयो ।

बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उहाँले बताउनुभयो । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।

यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गर्नुभएको छ । नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गर्नुभएको हो ।

प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग

काठमाडौँ, २३ कात्तिक : प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घले आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको टोलीले वनमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको हो । सरकारले सोलुखुम्बू जिल्लाको महाकुलुङ, सोताङ र माप्य दुधकोशी गाउँपालिकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ । उक्त कार्य सरोकारवाला आदिवासी जनजाति समुदायसँगको परामर्श बिना नै हुन लागेकाले महासङ्घले यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको जनाएको छ ।

नेपालको संविधानको धारा ५१(ञ) को ८, जैविक विविधता महासन्धी १९९२, आइएलओ महासन्धि १६९ लगायतमा उल्लेख भए विपरित सरकारले एकलौटी ढङ्गबाट मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको ज्ञापनपत्रमा उल्लेख छ । 

“आदिवासी जनजातिहरूको प्रथाजनित अभ्यास र परम्परागत जीवन पद्धतिलाई उपेक्षा गर्दै आदिवासी जनजातिहरुको प्राकृतिक स्रोतसाधनको उपयोगमा बन्देज लगाउँदै राज्यले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र शिकार क्षेत्रहरु घोषणा गरिरह्यो । आदिवासी जनजातिहरुको मानवअधिकार उल्लङ्घन भइरह्यो”, ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष शेर्पाले भन्नुभयो, “हाल सोलुखुम्बूमा घोषणा गर्न लागिएको राष्ट्रिय निकुञ्जले फेरि हामी आदिवासी जनजातिको थातथलो खोसिन लागेकोप्रति सशंकित र आतङ्कित बनाएको छ ।”

महासङ्घले ज्ञापनपत्रमा आदिवासी जनजातिहरू प्राकृतिक स्रोत जल, जङ्गल र जमिनको दिगो व्यवस्थापन गर्दै यसको समुचित सदुपयोग गर्ने समुदाय भएकाले प्राकृतिक स्रोतहरुको असली संरक्षक र हकदार भएको उल्लेख गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० ले आदिवासीका थुप्रै प्रथाजनित अभ्यास र परम्परागत ज्ञानमाथी हस्तक्षेप हुँदा आदिवासी समुदायले थातथलो नै छोड्नु परेको महासङ्घले जनाएको छ । 

हाल कायम रहेका निकुञ्ज, संरक्षित क्षेत्रलगायतमा समेत प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्न महासङ्घले सरकार समक्ष माग गरेको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

गण्डकी, २३ कात्तिक – पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ ।

खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा चीनको युनान प्रान्तिय खेलकुद ब्युरोका निर्देशक याङ झोङहुआले दुई देशबीच युगौँदेखि कायम सम्बन्धलाई अझै बलियो बनाउन क्रस कन्ट्री प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुुभयो । उहाँले प्रतिस्पर्धात्मक खेलकुदको विकासका लागि खेलकुद क्षेत्रका संस्थाको विकासमा जोड दिँदै खेलकुद प्रणाली र अन्य पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य धर्मराज पन्थीले क्रस कन्ट्री प्रतियोगिता र त्यसअवसरमा गरिएको तस्बिर प्रदर्शनीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले प्रदर्शनीमा विभिन्न ६० वटा तस्बिर राखिएको जानकारी दिनुुभयो । उक्त अवसरमा युनान खेलकुद ब्युरोका तर्फबाट सङ्ग्रहालयलाई रु दुई लाख नगदका साथै ३० वटा ‘फोटो स्ट्याण्ड’ हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि बिहीबार चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चाटर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुुभएको थियो । भोलि हुने प्रतियोगिताअन्तर्गत चार वटा विधाका दौडमा एक हजार दुई सय खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिनुुभयो ।

प्रतियोगिताअन्तर्गत ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कुूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।

समूह दौडका लागि १७ वटा नेपाली र चारवटा चिनियाँ समूह गरी २१ टोली र ६३ खेलाडी दर्ता भएका छन् । कार्यक्रमकै अवसरमा आजै पोखराको बसुन्धरापार्कमा पोखरा–कुनमिङ मित्रता पार्क उद्घाटन गरिएको छ ।

सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत

भरतपुर, २३ कात्तिक : नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, सोही ठाउँकी ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेका छन् । मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान ३ बजेतिर माइक्रोबस र बस एकापसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बोलेरोले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ स्थित नयन चोकमा आज मध्यान्न १२ बजे ना४च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका–४ घर भई हाल गैँडाकोट नगरपालिका–५ मा डेरा गरी बस्दै आएका १७ वर्षीय इशान अन्सारी रहेका छन् । बलेरोको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनुभयो । ठक्कर दिने बलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

अफगानिस्तानका हजार भन्दा बढी पूर्व सरकारी अधिकारी स्वदेश फिर्ता

अफगान व्यक्तित्वहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रिल सन् २०२२ देखि एक हजार आठ जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको आयोगको प्रवक्ता अहमदउल्लाह वासिकले भन्नुभएको छ ।

मन्त्री, सेनापति, गभर्नर र कमाण्डर लगायत अफगान व्यक्तित्वहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएका वासिकले बताउनुभयो । देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेको छ ।

अगस्ट सन् २०२१ मा तालिवानले कब्जा गरेपछि धेरै अफगान सुरक्षा बल र निजामती कर्मचारीहरूले अफगानिस्तान छोडका थिए ।

अफगानिस्तानको कार्यवाहक सरकारले अप्रिल २०२२ मा अफगान व्यक्तित्वहरूको सम्पर्क र स्वदेश फिर्ता गर्ने आयोग गठन गर्यो, जसले सरकार परिवर्तन पछि देश छोडेका अफगानहरूलाई आफ्नो मातृभूमि फर्कन मद्दत गरेको छ ।

जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ : नेता महर

डडेल्धुरा, २३ कात्तिक : नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस डडेल्धुराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ । त्यसैले जनसन्तुष्टिका लागि काम गर्नुको विकल्प छैन”, नेता महरको भनाइ थियो ।

पार्टी शिक्षा विभाग प्रमुखसमेत रहनुभएका केन्द्रीय सदस्य महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मङ्सिर पहिलो हप्तादेखि विमर्श अभियान सुरु गर्ने जानकारीसमेत दिनुभयो ।

अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित

काठमाडौँ, २३ कात्तिक : बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आज भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो । 

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा श्रीलङ्का, प्यालेस्टाइन र साउदी अरेबिया छन् । यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्नेछ । 

‘नेसनल किड्स अफ द इयर’का विजेता उडे थाइल्याड, मन्त्री मानवीरले दिए शुभकामना

काठमाडौंँ । ‘नेसनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाईल्याण्ड उडेका छन् । बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उनीहरु शुक्रबार बिहान थाइल्याण्ड उडेका हुन् ।

‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो । इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धीरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहेका छन् ।

थाइल्याण्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राइले बालबालिकाहरुलाई जितको शुभकामना व्यक्त गर्दै आ–आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गरेका थिए । मन्त्री राईसँंगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड उडेका हुन् । सहभागि बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् ।

निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् । हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन् ।

ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागिहरुको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।

क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण

काभ्रे  । गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए ।

‘जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौँ, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ,’ इन्जिनियर योगेशले भने, ‘पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भैसकेको छ ।’ जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनःनिर्माण गर्न डिभिजन सडक कार्यालय नै सुरु गर्ने उनको भनाइ छ । उक्त राजमार्गको सडक पुनःनिर्माण गर्न सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएपनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखिनै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।

केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ । बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो ।

पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए । उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमास्थल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । ‘राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो,’ उनले भने । उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

पुनःनिर्माण सडक दुई लेनको हुने जनाइएको छ । भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताए । उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन् ।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब दस किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।

कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

वीरगञ्ज (पर्सा), २३ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताउनुभएको छ ।

वीरगञ्जमा आज आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भूत मञ्च भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ ।” पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहनुभएका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।

“कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यस्ता प्रतियोगिताले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्‍याउँछ”, उहाँले भन्नुभयो ।

यस्ता प्रतियोगिताले समुदायमा खेलकुदको महत्त्वलाई पुनःस्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने मन्त्री यदवले बताउनुभयो । “स्थानीय प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो । यस्तो प्रतियोगिताले युवालाई गलत बाटोमा नलागी खेलकुदमा लाग्न प्रेरित गर्छ, जुन स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो”, उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले विराट कुस्तीजस्ता प्रतियोगिता मधेसको सांस्कृतिक धरोहरको पुनःरुत्थानमा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न कुस्तीजस्तो खेललाई संरक्षण गर्नुपर्छ । यसका लागि सरकारको साथसाथै स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ ।”

वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित महावीर मन्दिरमा आयोजित प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीले सहभागिता जनाउनेछन् ।

कार्यक्रममा सहभागी रहनुभएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

“स्थानीय खेलकुदको संरक्षण र विकासका लागि महानगरपालिकाले सधैँ तत्परता देखाउनेछ”, उहाँले भन्नुभयो । प्रमुख सिंहले प्रतियोगितालाई सफल बनाउन स्थानीय सङ्घसंस्था र समाजसेवीको साथका लागि आभार पनि व्यक्त गर्नुभयो ।

टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

काठमाडौँ, २३ कात्तिकः नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेकाअनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डिएसटी तिर्न थालेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवा कर (डिएसटी) को व्यवस्था ल्याएको थियो । यो व्यवस्था कार्यान्वनयमा आएको दुई आर्थिक बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डिएसटीमा आवद्ध गर्न भने सकिएको छैन ।  

कार्यालयका अनुसार हालसम्म गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, गुगल डिजिटल इङ्क, लिङ्क्डइन सिङ्गापुर प्राइभेट लिमिटेड, एनसीएस पिअर्सन इन्कर्पोरेसन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेभ सर्भिस इन्कर्पोरेसन लिमिटेडलगायत कम्पनी छन् । 

त्यस्तै, इब्स्को इन्टरनेसनल इन्कर्पोरेस, मेटा प्लाटफम्र्स आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेड, एडब सिस्टोम्स सफ्वेयर आयरल्याण्ड लिमिटेड, नेटफ्लिक्स प्राइभेट लिमिटेड, जोहो कर्पोरेसन प्राइभेट लिमिटेड, प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए), पिअर्सन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड र एप्पल सर्भिस प्राइभेट लिमिटेड ठूला करदाता कार्यालयमा दर्ता छन् ।

नेपालले केही समयअघिमात्र सर्तसहित प्रतिबन्ध फुकुवा गरेको टिकटक पनि डिएसटी तिर्ने भएको छ । हालसम्म नेपालमा दर्ता भएका कम्पनीमध्ये गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन मध्येको एक गुगलको माउ कम्पनी हो भने सामाजिक सञ्जालहरु फेसबुक (इन्स्टाग्राम र ह्वाट्सएपसमेत), टिकटक र लिङ्क्डइन पनि दर्ता भएका छन् । 

दर्ता भएका अरु कम्पनीमध्ये एनसीएस पिअर्सन इन्कर्पोरेसनले विभिन्न खालका मोबाइल एप्लिकेसन बनाउने गर्छ भने इब्स्को इकर्पोरेसनले रिसर्च प्लेटफर्म र डाटाबेस व्यवस्थापनसँग सम्बन्धित कम्पनी हो । माइक्रोसफ्ट पनि सफ्टवेयर निर्माण र सूचना प्रविधिका क्षेत्रा विश्वकै ठूलो कम्पनीमध्ये एक हो ।

आर्थिक ऐनमा डिएसटीको विषय राखिएसँगै नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनीहरु कर प्रणालीमा दर्ता हुने र त्यसले राजस्वमा पनि उल्लेख्य योगदान गर्ने अपेक्षा गरिएको थियो । यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भएपनि अझै अधिकांश कम्पनीहरु भने कर प्रणाली बाहिर छन् । 

विद्यमान आर्थिक ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कारोबार मूल्यको दुई प्रतिशत कर दाखिला गर्नुपर्छ । तर ठूला करदाता कार्यालयमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट व्यवस्था आर्थिक ऐनमा छैन । नेपालमा सेवा दिइरहेका सबै सूचना प्रविधि क्षेत्रका लागि यस्तो कर प्रणाली बाध्यकारी हुन नसक्दा अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै रहेको देखिन्छ ।

चालु आर्थिक वर्षको आर्थिक ऐनले डिएसटी लाग्ने कारोबार मूल्य रु २० लाखबाट बढाएर रु तीस लाख पुर्याएको थियो । जसअनुसार वार्षिक रू तीस लाखसम्मको कारोबारमा भने अहिले यस्तो कर लाग्दैन ।
त्यस्तै, आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । 

यसरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ व्यवस्था ऐनमा छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीहरुले नेपालमा कर तिर्नका लागि अनिवार्य रुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिदैन ।

नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत विद्युतीय सेवा दिने कम्पनीहरुलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनलेसमेत देखाएका छन् । तत्कालीन राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ ले पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ । 

“नेपालमा कानूनी रुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालहरुले वार्षिक अर्बौं रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन्”, प्रतिवेदनमा भनिएको छ ।

 राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उदृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ । “बजारसम्बन्धी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति बिज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । उक्त आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो”, राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “यसप्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेवापत फेसबुकले वार्षिक ६० अर्ब भन्दा बढी रकम आय गर्दै आइरहेको छ ।” 

यो तीन वर्ष पूरानो तथ्याङ्क हो । हालसम्म नेपालमा कति कम्पनीले विद्युतीय सेवा दिइरहेका छन ? र उनीहरुको अनुमानित वार्षिक कारोबार कति छ ? भन्ने विस्तृत अध्ययने भने भएको देखिदैन ।

पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक

काठमाडौँ, २३ कात्तिक : प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको उल्लेख गर्नुहुँदै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि पुस्तक निकै महत्वपूर्ण हुने धारणा राख्नुभयो । “पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्वपूर्ण भूमिका निभाउन सक्छ । यसका लागि लेख शाक्यको प्रशंसाको पात्र हुनुहुन्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संस्कृति पर्यटनको महत्वपूर्ण आयम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
पुस्तकका लेखक वैद्यले आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम यो पुस्तक भएको बताउनुभयो । अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यसअघि नै विमोचन भई बिक्रीवितरण भइरहेको छ । पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि उहाँले जानकारी दिनुभयो ।

यस पुस्तकमा व्यञ्जनको सांस्कृतिक र ऐतिहासिक महत्वबारे संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली ‘रेसिपी’ समावेश गरिएका छन् ।

काठमाडौँको भीडभाड सडकदेखि हिमालको शान्त फेद र तराईका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संस्कृतिलाई प्रवर्द्धन गर्ने जीवन्त स्वादको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको वैद्यको भनाइ थियो ।

पुस्तकमार्फत वैद्यले प्रसिद्ध नेपाली शास्त्रीय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकार र तिनीहरूरुको संस्कृतिक तथा ऐतिहासिक पक्षलाई सङ्ग्रहित गरिएको छ ।

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ‘ले कोर्डन ब्लु’ र ‘ओरेगन कुलिनरी इन्स्टिच्युट’जस्ता प्रख्यात शैक्षिक संस्थामा दुई दशकभन्दा बढी समय आबद्ध भएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्कृति र परिकार विधामा शिक्षा तथा प्रशिक्षण दिई योगदान गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो ।

विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, २३ कात्तिक : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गर्नुभएको छ ।

विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।

आज परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उहाँहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गर्नुभएको हो ।

सो बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा राणालाई ज्ञापनपत्र दिनुभएको थियो । उहाँहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका जानकारी गराउनुभएको थियो ।

सो बैठकमा मन्त्री डा राणाले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने नेपालीलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।”

नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रतिनिधि प्रज्ञान न्यौपानेलगायले मन्त्री डा राणसँग आग्रह गर्नुभएको थियो ।

मन्त्री डा राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभएको थियो । उहाँले विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीले अस्वाभाविक रूपमा भाडा वृद्धि गर्न नहुने बताउनुभयो ।

मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदैछ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायहरुको खोजी गरिने जानकारी दिनुभयो ।

अर्का मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरुले आफूखुसी मूल्यबृद्धि गर्न नपाउने जिकिर गर्दै समस्याको समाधानका विकल्पका बारेमा छलफल गरिरहेको बताउनुभयो ।

उहाँले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परिस्थितिको समाधानका लागि विकल्प खोजिने बताउनुभयो ।

रानिमत्तामा गाडी दुर्घटनाः मृतकको संख्या पाँचको पुग्यो

दैलेख । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन ।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जानकारी दिइन् । तीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने

पाटन (ललितपुर), २३ कात्तिकः पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कार्तिक डबली’मा कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कार्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार कात्तिक २१ गतेदेखि सुरु भएको कार्तिक नाच ३० गतेसम्म सञ्चालन हुनेछ ।

नाचको तेस्रो दिन आज साँझ ‘बाथः प्याखँ–कौला खिचा’ नृृत्य प्रदर्शन गर्न लागिएको हो । ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । 

“यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन्, उनीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप ‘ब्राह्मणले कुकुर ल्याए । ब्राह्मणले कुकुर ल्याए’ भनेर कराउँछन् । ब्राह्मणले, “यो कुकुर होइन् । यो त बोका हो”, भन्छन् । 

ती तीन व्यक्तिले “होइन, यो कुकुर नै हो भन्छन् । यसो भनेर जिद्धी गरेपछि  ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन् । सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन्”, उहाँले भन्नुभयो ।  यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उहाँको भनाइ छ । 

यसअघि बुधबार राति ‘भक्तसुरदास प्याखँ’ र बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो । 

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कार्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ । 

यस नाच थालनीले सुरुआती चरणदेखिनै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिने रहेको संयोजक शर्माले बताउनुभयो । “कार्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कार्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ”, संयोजक शर्माले भन्नुभयो ।

कार्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको अध्यक्ष चित्रकार बताउनुहुन्छ । 

“श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर २७ दिन सञ्चालन गरेको विश्वास गरिन्छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो”, उहाँ भन्नुहुन्छ ।

यो ललितपुरको मात्र नभइ सिङ््गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने माध्यम पनि बनिरहेको महानगर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य बताउनुहुन्छ । हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अतिनै महत्वपूर्ण सो नाट्य महोत्सव विगतका वर्षमा आठ दिन मात्रै मञ्चन गरिने गरेकोमा यसवर्ष १० दिन मञ्चन हुने भएको छ । 

“यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपाली सामुरहन सफल भएको छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च रहेको छ”, अध्यक्ष शाक्य भन्नुहुन्छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा हरेक वर्ष कार्तिक नाच देखाइन्छ । कार्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरेको हो । नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । 

सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् । पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विभिन्न विदेशी मुलुकमा निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका  निर्देशक सुरेशमान लाखेले बताउनुभयो । 

सोह्र वर्षको उमेर छँदा पहिलोपटक कार्तिक नाचमा देवगणको भूमिका निर्वाह गरेका ६० वर्षीय उत्तमरत्न शाक्य अझै नृत्यमा सिकाउँदै हुनुहुन्छ । उहाँले अहिलेसम्म सयौँ युवालाई नृत्य सिकाइसक्नु भएको छ । 

शाक्यबाटै प्रशिक्षण लिएका एक सयभन्दा बढी युवा विगतझै यसपटकको कार्तिक नाचमा पनि विभिन्न देवगणको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । “कार्तिक नाच मल्लकालीन नाट्य परम्पराको प्रतीक हो । यो नाच तीन सय ८४ वर्षदेखि यो नाच निरन्तर सञ्चालन हुँदै आएको छ । यस अवधिमा बालक, किशोर र युवा गरी करिब एक सय २० जनाले विभिन्न देवगणको भूमिका निर्वाह गर्ने छन्”, प्रशिक्षक शाक्यले भन्नुभयो । 

उहाँ कार्तिक नाचमा प्रवेश गरेदेखि हालसम्म मुख्य प्रशिक्षक रूपमा गरी ४४ वर्षदेखि निरन्तर सक्रिय रहनुहभएको छ । “यस नाचको रौनक र माहोलले विशेषतः बालबालिकाको मन मस्तिष्कमा छोएको छ । त्यससँगै संस्कृति र मौलिक परम्परा संरक्षणको चेत पनि बढ्दै गएको छ”, उहाँ भन्नुहुन्छ । 

कार्तिक शुक्ल सप्तमी : उदाउँदो सूर्यलाई अघ्र्य दिई चार दिने छठ समापन

काठमाडौँ, २३ कात्तिक : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छ्याएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठी समेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।

यस पर्वमा विवाहिता महिला÷पुरुषले पति÷पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने भक्तजनको विश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व मङ्गलबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रुपमा छठ हुन थालेको छ ।

छठका लागि गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुली झैँ सिँगारिएको छ । आज बिहान यी स्थलहरुमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भएको हो । बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुको राजधानीका छठ घाटमा उल्लेख्य उपस्थिति थियो । धेरै व्रतालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।

 सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातबासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातबास सफल भएको विश्वासमा यो पर्व मनाउन सुुरु गरिएको भन्ने भनाइ छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जन विश्वास रहेको छ ।

अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ

टेक्सास (अमेरिका) २३ कातिकः संयुक्त राज्य अमेरिकाको टेक्सासमा रहेका नेपाली मुलका मधेसी समुदायले यस बर्षको छठ पर्ब हर्षोल्लासका साथ मनाएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने ‘मधेसी एसोसियसन ईन अमेरिका’का अध्यक्ष डा सङ्गीत रौनियारले जानकारी दिनुभयो ।  

टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्व मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका विशेषगरी मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं मधेसी समुदायका अगुवाहरूले छठ पर्व कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्ट वर्थमा रहेका मधेसी समुदायको डेन्टनमा उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको डा रौनियारले बताउनुभयो । 

यसैगरी टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्व धुमधामका साथ मनाइएको छ । अस्टिनस्थित नेपाली समुदायको साझा संस्था ‘ग्रेटर अस्टिन नेपाली समाज’ले छठ पर्ब मनाउन सहयोग र सहजीकरण गरेको थियो । अस्टिनस्थित  पशुपतिनाथ मन्दिर नजिकको तलाऊमा अस्ताउँदो सूर्यलाई अर्घ दिनेहरुको भिड लागेको थियो । 

अघिल्ला वर्षहरूमा मधेसी समुदायको मात्र सहभागिता रहने छठ पर्बमा यस बर्ष गैरमधेसी समुदायको पनि सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्वउपाध्यक्ष  तथा सामाजिक अभियन्ता रामकुमार महतोले जानकारी दिनुभयो ।   

त्यस्तै मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं अगुवाहरुका अनुसार संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, फिलाडेलफिया, फोलिरिडा, अटलान्टा, न्यूयोर्कलगायतका राज्य तथा सहरमा पनि यस वर्ष हर्षाेल्लासका साथ छठ पर्ब मनाइएको छ ।  

प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगले लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।