`

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ, २३ कात्तिक : समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।

क्यास्पियन सागरमा दुर्लभ सिलको सामूहिक मृत्यु भएको रिपोर्ट

पछिल्लो दुई हप्तामा कजाकिस्तानमा खतरामा परेका पाँच सयभन्दा बढी क्यास्पियन समुद्री सिलहरू क्यास्पियन सागरको किनारमा आएको प्रदूषण वा रोगलाई सम्भावित कारणका रूपमा उद्धृत गर्दै अधिकारीहरूले बिहीबार बताएका छन् ।

क्यास्पियन सिलहरू विश्वको सबैभन्दा ठूलो अन्तर्देशीय जलाशयमा रहने एकमात्र स्तनधारी प्राणीहरू हुन् । यिनीहरूले आफ्नो जैविक विविधता र प्राणीहरूमाथि गम्भीर खतरा उत्पन्न गर्ने जलस्तर र तापक्रमको कमी देखेका छन्।

“अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म पाँच सय ३४ वटा मृत सिल तटमा ल्याइएका छन्”, कजाकिस्तानको मत्स्य पालन समितिले आजरबैजानमा हुने कोप २९ जलवायु शिखर सम्मेलनभन्दा केही दिनअघि एक वक्तव्यमा भनेको छ, “वैज्ञानिकहरूका अनुसार समुद्री प्रदूषण र सङ्क्रामक रोग महामारीहरू उनीहरूको मृत्युको सम्भावित कारणहरू हुन् ।” समितिले केवल तीन प्रतिशत सिल माछा मार्ने जालमा फसेको बताएको छ ।

अधिकारीहरूले ‘अत्यधिक सडेको अवस्था’ मा रहेका शवहरूको नमूना परीक्षणका लागि प्रयोगशालामा लगिएको र नतिजा प्राप्त गर्न चार महिना लाग्नसक्ने बताएका छन्।

प्राकृतिक संरक्षण अन्तर्राष्ट्रिय सङ्घले पछिल्लो शताब्दीमा घटिरहेको सङ्ख्या भएका यी सिलहरूलाई विलुप्त हुने खतरामा परेका प्रजातिको सूचीमा राखेको छ र अधिकारीहरूले यसको सङ्ख्या करिब दुई लाख ७० हजार मात्र रहेको बताएका छन्।

क्यास्पियन सागरको सीमानामा रहेका कजाकिस्तान र रुस सन् २०२१ मा सिल जनसङ्ख्याको संरक्षणका लागि ‘संयुक्त कार्ययोजना’ का लागि सहमत भएका थिए ।

क्यास्पियन सागर पाँच देश अजरबैजान, इरान, कजाकिस्तान, रुस र तुर्कमेनिस्तानको सिमानामा रहेको एउटा बन्द समुद्र हो र उनीहरूले समय–समयमा आफ्नो किनारमा मृत सिलहरू फेला पारेको रिपोर्ट गर्छन् ।

सन् २०२२ मा कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले यस मुद्दालाई ‘आफ्नो व्यक्तिगत नियन्त्रणमा’ ल्याउने प्रतिज्ञा गर्नुभएको थियो र यस क्षेत्रमा प्राकृतिक भण्डारहरू सिर्जना गर्न सुझाव दिनुभएको थियो ।

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

इनरुवा (सुनसरी), २३ कात्तिकः सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उहाँले बताउनुभयो ।

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी, २३ कात्तिकः धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ ।

स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठ्ुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।”

केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् ।

नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झनुहुन्छ ।

चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउनुहुन्छ । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उहाँ भन्नुहुन्छ, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।”

केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउनुहुन्छ ।

“डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयोभने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले रासससँग भन्नुभयो, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उहाँले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।

पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ

निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन ।

निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भन्नुभयो । सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो ।

धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउनुहुन्छ । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।

हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ । उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।

उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

गौरीगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर (झापा), २३ कात्तिकः गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि अस्पताल लगिएकामा त्यसक्रममा निजको मृत्यु भएको उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकमा बस एकापसमा ठोक्किँदा दुर्घटनाः चार जनाको मृत्यु, छ जना घाइते

चितवन, २३ कात्तिकः नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो

जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कमजोर बिक्री प्रमुख कारक भएको पत्रकारहरूलाई बताउनुभएपछि कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ।

बेइजिङद्वारा समर्थित तीव्र गतिमा बढिरहेका विद्युतीय वाहन कम्पनीहरूका कारण निसान र यसका घरेलु प्रतिद्वन्द्वीहरूले पनि चीनमा आफ्नो आधार खडा गर्न सङ्घर्ष गरिरहेका छन् ।

“गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र बजारमा परिवर्तनहरू द्रुत रूपमा अनुकूलन गर्न सक्षम अधिक लचिलो व्यवसाय सिर्जना गर्न तत्काल उपायहरू लिइरहेको छ”, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, “निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यबल नौ हजारले घटाउनेछ ।”

उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताउनुभएको छ ।

कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरिएको तुलनामा अब एक सय २७खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ ।

तर निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान जारी गरेन। जुलाईमा १० अर्ब येनसम्म पु¥याएको थियो । वर्षको पहिलो छ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो।“नियोजित पुनर्लाभ प्रयासहरूका लागि आवश्यक लागतहरूको निरन्तर मूल्याङ्कनका कारण शुद्ध आय निर्धारण गर्नुपर्नेछ”, उचिदाले भन्नुभयो ।

उहाँले निसानका ‘कोर’ वाहन मोडेलहरू पश्चिमी अमेरिकामा पहिलेजस्तो राम्रो प्रदर्शन नगरेको बताउनुभयो । “लागत दृष्टिकोणबाट र ब्राण्ड शक्तिको दृष्टिकोणबाट हामी अमेरिकामा हाम्रो ब्रान्डको पुनर्निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो ।

अन्य उपायमा कार कम्पनीले मित्सुबिशी मोटर्समा आफ्नो हिस्सा घटाएर कम्पनीलाई बिक्री गर्नेछ । यसले मित्सुबिशीमा यसको हिस्सेदारी हालको ३४ प्रतिशतबाट करिब २४ प्रतिशतमा झर्ने बताएको छ । निसानले कम्पनीसँग घनिष्ठ सम्बन्ध राख्ने उचिदाले बताउनुभयो ।

निसानले २०१८ मा पूर्व प्रमुख कार्यकारी अधिकृत कार्लोस घोसनको गिरफ्तारीसहितको अशान्त दशक देखेको छ । घोसन अब लेबनानमा अन्तर्राष्ट्रिय देशद्रोही हुनुहुन्छ र उहाँले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्नुभएको छ । निष्पक्ष परीक्षण प्राप्त गर्न नसकिने विश्वासमा उहाँ जापानबाट भाग्नुभएको थियो ।

समाजवाद सामूहिक निर्णयले अगाडि बढ्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद सामूहिक निर्णयले अघि बढ्ने बताउनुभएको छ । उहाँले व्यक्तिगत निर्णयका आधारमा नभई सामूहिक निर्णयले गर्ने काममा जोड दिन आग्रह गर्दै भ्रष्टाचार र अनियमिततालाई राजनीतिक क्षेत्रले संरक्षण गर्न नहुनेमा जोड दिनुभयो ।

आफैले लेख्नुभएको ‘अक्टोबर क्रान्ति र यसको महत्व’ (नेपालको परिवेशमा) दोस्रो संस्करण पुस्तक यहाँ सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुनुपर्नेमा जोड दिँदै कामदार वर्गको हित समाजवादी व्यवस्थामा मात्रै हुने बताउनुभयो । ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकले विश्वमा समाजवादी आन्दोलन अगाडि बढाउन देखाएको मार्गनिर्देशनबारे उहाँले स्पष्ट पार्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईँ, सिर्जना सैँजु, स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, इञ्जिनियर समाजका सदस्य राजेन्द्र हाडा, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङलगायतले उक्त पुस्तकका विषयमा चर्चा गर्नुभयो ।

सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो : नेता महत

चितवन – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताउनुभएको छ ।

यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता डा महतले सङ्घीय, प्रदेश र स्थानीय तहमा समझादरी बढाउन संयन्त्र अवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो ।”

देशको अर्थतन्त्रलाई चलायमान बनाउन युवाशक्तिलाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको प्रवक्ता डा महतको भनाइ थियो । अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशभित्रै अवसर छ । विदेश मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ ।”

उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न

धनुषा, २३ कात्तिकः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।

बिर्तामोडमा आगलागी हुँदा १० लाखको क्षति

बनियानी (झापा), २३ कात्तिकः बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

आजको मौसम : देशभरको मौसम सफा रहने

काठमाडौँ, २३ कात्तिकः हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

बेलबारी (मोरङ), २३ कात्तिक : हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ ।

जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउनुहुन्छ । “जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ”, तिम्सिना भन्नुहुन्छ ।

सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई व्यवस्थित गरी रैथाने प्रजातिका वनस्पतिको संरक्षणमा सबै लाग्नुपर्ने चरा जानकार तिम्सिना बताउनुहुन्छ । खेतबारीमा लगाइएको अन्नबालीमा बढ्दो विषादी प्रयोगले चरालाई सङ्कट बढ्दै गएको हुँदा सबै सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान जरुरी रहेको तिम्सिनाको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै मान्ने गरिन्छ । देशभरि पाइने आठ सय ९५ चरामध्ये हाल यहाँ पाँच सय ३५ चरा फेला परिसकेका छन् । कोशी बर्ड सोसाइटीको अगुवाइमा भएको जलपक्षी गणना सन् २०२३ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार छ सय ६८ को सङ्ख्यामा चरा आएको तथ्याङ्क छ । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमा रहन्छन् भन्ने हुँदैनन्”, बर्ड वाचिङ क्याम्प कोशी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।”

कोशी टप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउनुहुन्छ । उहाँका अनुसार कोशीटप्पुकै आसपासको बर्जुताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईको अनुसार कोशी टप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् । नेपालका विभिन्न भागबाट साथै दक्षिण भारत र साइबेरियासम्मका चरा वेतनामा मज्जाले हेर्न पाइन्छ । विशेषगरी मङ्सिरदेखि चैतसम्म विदेशी चरा यहाँ बस्ने गर्छन् । पछिल्लो समय जलवायु परिवर्तन प्रभावका कारणको कारण हुनसक्छ विगतका वर्षहरूमा जस्तो चराको झुण्ड कम देखिन्छ ।

बेलबारीका जीव विज्ञान जानकार डिल्ली कोइरालाले भन्नुभयो, “उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन् ।” उहाँका अनुसार जलवायु परिवर्तनका कारण चराले प्रवासनको समय परिवर्तन गर्न सक्छ, जसले तिनीहरूको प्रजनन र अवतरणमा असर पार्न सक्ने साथै चरा बस्ने स्थानको तापमान र वर्षापातको ढाँचा परिवर्तन गर्न सक्छ र तिनीहरुको जन्म स्थानमा असर पार्न सक्छ ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् ।

जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् ।

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागि परेका लक्ष्मण

घोडाघोडी (कैलाली), २३ कात्तिक : जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्नुहुन्छ । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उहाँले बताउनुभयो ।

दसैँ र तिहारमा पनि उहाँलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उहाँ भने सर्प उद्धार गर्न व्यस्त हुनुहुन्थ्यो । भाइटीका लगाउँदै थिएँ, टीकापुर–५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएँ । राम्रोसँग भाइटीका लगाउन नपाउनुभएका उहाँले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गर्नुभयो ।

दसँैको समयमा पनि उहाँले ३० भन्दा बढी सर्पको उद्धार गर्नुभयो । यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उहाँले बताउनुभयो । उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ । हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उहाँले बताउनुभयो । गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिङ्गरलगायतको उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको धेरैजसो विषालु सर्प छन् ।

विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उहाँ भन्नुहुन्छ, “साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले । सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो । दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ । दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ ।”

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आउनुभएको छ । उहाँको एउटै उद्देश्य छ– टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने । उहाँ भन्नुहुन्छ, “मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ ।” टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आउनुभएको छ ।

कसैको पनि कुनै सहयोगबिना आफूले यो काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “कसैको सहयोगले मात्र काम गर्नुपर्छ भन्ने हँुदैन, आफ्नो इच्छाले गरिरहेको छु । मैले गरेको कार्यले सर्पको पनि उद्धार भइरहेको छ र मान्छेमा सर्प मार्नु हँुदैन भन्ने चेतना पनि फैलिरहेको छ, यसैमा म सन्तुष्ट छु ।”

विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे कक्षा पनि सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । कक्षामा बसेका कतिपय सर्प उद्धार गर्न सक्ने भइसकेको बताउँदै उहाँ भन्नुहुन्छ, “मजस्तै सर्प उद्धार गर्ने र चेतना फैलाउने अरु पनि बनाउन चाहन्छु ।”

उहाँले गरेको कार्यले समुदायमा परिवर्तन हुँदै गएको छ । उहाँले भन्नुभयो, “पहिले सर्प देख्नेबित्तिकै मार्ने गरिन्थ्यो तर अहिले उद्धारका लागि बोलाउँछन् । विभिन्न कार्यमार्फत सर्प उद्धारसँगै चेतना फैलाउन थालेपछि ९० प्रतिशत सर्प मार्ने क्रम घटेको छ ।”

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्याय पेसाले शिक्षक हुनुहुन्छ । उहाँले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्लिस स्कुलमा अध्यापन गराउँदै आउनुभएको छ । पेसाले शिक्षक भए पनि उहाँलाई धेरैले उद्धारकर्ताको रूपमा चिन्ने गरेका छन् ।

‘छठ वैदिककालदेखिको पर्व हो’ – गगन थापा

चन्द्रपुर (रौतहट), २३ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताउनुभएको छ । बिहीबार साँझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौँको कमलपोखरीमा छठघाट बनाएको स्मरण गर्नुभएको थियो । बूढापाकाका भनाइअनुसार हिन्दूहरूले छठपर्व वैदिककालदेखि मनाउँदै आएको हुँदा यो पर्व देशव्यापी रूपमा मनाउन थालिएको महामन्त्री थापाले बताउनुभयो ।

“सबैले देशको भाषा, संस्कृति तथा धर्मका बारेमा जान्न अति जरुरी छ,” महामन्त्री थापाले भन्नुभयो, “यही कुरा सिकाउन पनि आफू श्रीमती र छोरीसहित छठ हेर्न मधेस झरेको हुँ ।” उहाँ बिहीबार विभिन्न जिल्ला हुँदै रौतहटबाट वीरगञ्ज जानुभएको नेविसङ्घ रौतहटका पूर्वअध्यक्ष श्यामहरि चौलागाईँले जानकारी दिनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादव, रौतहट जिल्ला सभापति तथा मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव, रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमिल्सिना, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, गढीमाई नगरपालिकाका प्रमुख श्याम यादव, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका प्रमुख रजिक आलमलगायत कांग्रेसका नेताहरूको सहभागिता थियो ।

लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए

रसुवा, २३ कात्तिक : लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो ।

समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए ।

ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरे/नगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

म्याग्दी, २३ कात्तिक : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो ।

वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण चुनौती बनेको छ । मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजीकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीहरूले फालेको प्लाष्टिक, स्टिल र सिसाजन्य फोहरका कारण प्रदूषण बढेको बताउनुभयो ।

“पदमार्ग र आधार शिविरमा प्लाष्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको छ”, उहाँले भन्नुभयो, “कुहिने फोहरलाई खाडलमा गाड्ने, नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ ।” कति मात्रामा फोहर छभन्ने यकिन नभए पनि पदयात्रीले सामान राखेर लगेका प्लाष्टिक, बोरा, बट्टा, बोत्तल, कपडा र ग्यासको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताउनुभयो ।

हालसम्मकै धेरै पर्यटक

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब चार हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । यो याममा हालसम्मकै धेरै सङ्ख्यामा पर्यटक अन्नपूर्ण आधार शिविर गएका उहाँले बताउनुभयो ।

बेनी, काठमाडौँ, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट विशेष गरेर जागिरे र युवायुवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा आएका छन् । तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

सरसफाइ कार्यक्रम

फोहर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीको टोलीले पछिल्लो एक महिनाको अवधिमा दुईपटक उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेका छन् । हाल बेलायत बस्दै आउनुभएका धनकुमार पाइजाको सहयोगमा घराम्दीका भलिबल खेलाडी १९ जनाको टोलीले गत असोज १७ देखि १९ गतेसम्म कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाएका थिए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको नेतृत्वमा स्थानीय युवाहरूको टोलीले गत हप्ता पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरिएको थियो ।

शौचालय अभावमा समस्या

पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ । फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो । सम्धीखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गर्नुभयो ।

जेठो हिमाल

फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले सन् १९५० को जुन ३ तारिखका दिन आरोहण गरेको अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हिमाल हो । सगरमाथाभन्दा तीन वर्षअघि आरोहण भएको अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलाबाट आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

गाउँपालिकाको प्रयास

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पारिएको छ । अध्यक्ष पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेटबाट आश्रयस्थलको क्षमता विस्तार, शौचालय, खानेपानी, पुललगायत पूर्वाधार निर्माणमा परिचालन गरिने बताउनुभयो ।

मोबाइल र विद्युत् सुविधा विस्तारका लागि सम्बद्ध निकायमा पहल गर्नुका साथै स्थानीय सामाजिक सङ्घसंस्थासँग समन्वय गरेर फोहर व्यवस्थापनको प्रयास गरेको अध्यक्ष पुनले बताउनुभयो । पर्यटकको खानेबस्ने सुविधाका लागि सामुदायिक होटल तथा लज सञ्चालनको विषयमा छलफलको तयारी गरेको पनि उहाँले बताउनुभयो ।

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ, २३ कात्तिक : सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।”

फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताउनुभयो ।

घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् ।

जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् ।

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

काठमाडौँ, २३ कात्तिक : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।

त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।

बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, २३ कात्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

दोलखामा ४.५ रेक्टरको भूकम्प

काठमाडौँ, २२ कात्तिक : दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले उल्लेख गरेको छ ।

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौँ, २२ कात्तिकः गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।

चलचित्रको मुख्य भूमिकामा रहनुभएका कलाकार विजय बरालले काठमाडौँ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिनुभयो ।

हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै रु आठ करोड २५ लाख सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बरालले जानकारी दिनुभयो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा रहनुभएको छ भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहनुभएको छ ।

यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।

पुटिनलाई युक्रेनमा छुट दिने प्रस्ताव युरोपका लागि ‘आत्मघाती’ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दिने प्रस्ताव गर्नु ‘आत्मघाती’ हुने बताउनुभएको छ ।

हङ्गेरीमा भएको शिखर सम्मेलनमा युरोपेली नेताहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अल्टिमेटम माग पूरा गर्न आग्रह गर्नेहरूको कडा आलोचना गर्नुभयो र डोनाल्ड ट्रम्पको चुनावपछि युरोप र संयुक्त राज्य अमेरिकालाई आपसी सम्बन्ध कमजोर नबनाउन आग्रह गर्नुभयो ।

“पुटिनलाई मान्यता दिने, पछि हट्ने, केही मिनाहा गर्ने आवश्यकताका बारेमा धेरै कुरा भएको छ… यो यूक्रेनको लागि अस्वीकार्य छ र सम्पूर्ण युरोपका लागि आत्महत्या हो”, एएफपीलाई यूक्रेनी राष्ट्रपतिद्वारा प्रदान गरिएको अभिव्यक्तिको प्रतिलिपिमा भनिएको छ ।

उहाँले केही युरोपेली नेताहरूलाई आरोप लगाए, कसले युक्रेनलाई ‘पुटिनलाई सुविधा’ दिन ‘कडा’ दबाब दिएको छ भनेर निर्दिष्ट नगरी उहाँले केही युरोपेली नेतामाथि आरोप लगाउनुभयो । यसले क्रेमलिन नेतालाई मात्र प्रोत्साहित गर्ने र थप आक्रमणलाई प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

“हामीलाई पर्याप्त हतियार चाहिन्छ, वार्तामा समर्थन होइन । पुटिनसँग अङ्कमाल गर्नाले कुनै फाइदा हुनेछैन । तपाईँहरूमध्ये केहीले उहाँलाई २० वर्षदेखि आलिङ्गन गरिरहनुभएको छ, र अवस्था अझ खराब हुँदै गइरहेको छ”, जेलेन्स्कीले भन्नुभयो ।

किएभलाई पश्चिमको अर्बौं डलरको समर्थनको विरोध गर्नुभएका हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले यो शिखर सम्मेलन आयोजना गर्नुभएको थियो ।जेलेन्स्कीले यस हप्ता ट्रम्पको चुनावी जितपछि युरोप र अमेरिकालाई आफ्नो बलियो सम्बन्ध कायम राख्न पनि आग्रह गर्नुभयो ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सहायताको बारम्बार आलोचना गर्दै आफूले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युद्ध अन्त्य गर्नसक्ने बताउनुभएको छ ।

“हामीलाई आशा छ, अमेरिका बलियो हुनेछ । युरोपलाई चाहिने यस्तो प्रकारको अमेरिका यही हो र एउटा बलियो युरोप अमेरिकालाई चाहिएको छ । यो सहयोगीहरू बीचको सम्बन्ध हो जुन मूल्यवान हुनुपर्छ र हराउन सकिँदैन”, जेलेन्स्कीले भन्नुभयो ।आफ्नो सङ्घर्षरत सेनाका लागि थप पश्चिमी हतियारको आह्वान दोहोर्याउँदै जेलेन्स्कीले उत्तर कोरियाले महादेशपमा प्रभावकारी रूपमा ‘युद्ध छेड्दैछ’ भन्ने कुरा युरोपले बुझ्नुपर्ने बताउनुभयो ।

“उत्तर कोरियाले वास्तवमा अहिले युरोपमा युद्ध गरिरहेको छ । उत्तर कोरियाली सैनिकहरूले युरोपेली भूमिमा हाम्रा मानिसहरूलाई मार्ने प्रयास गरिरहेका छन्”, प्योङयाङले आक्रमणलाई समर्थन गर्न रसियामा सेना तैनाथ गरेको रिपोर्टलाई उल्लेख गर्दै उहाँले भन्नुभयो ।

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु, २२ कात्तिकः सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२÷१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताउनुभयो । आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन् । नाम्चेबाट आज चार सय ७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्याङ्क छ ।

“सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यतिकै रहेको छ”, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भन्नुभयो ।

चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ । मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

विश्वले ‘जलवायु प्रकोप’ का लागि अनुकूल हुनुपर्छ : गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार जलवायु परिवर्तनले निम्त्याएको ‘विपत्ति’ का लागि विश्व तयार नभएको र भविष्यमा अझ खराब अवस्थाका लागि तत्काल तयारी गर्नुपर्ने बताउनुभएको छ ।

विश्वव्यापी तापक्रमले प्रकोपहरूको आवृत्ति र तीव्रतालाई गति दिने भएकाले जलवायु परिवर्तनसँग अनुकूलन गर्ने विश्वव्यापी प्रयासहरू– रक्षात्मक समुद्री पर्खालहरू निर्माण गर्नदेखि खडेरी प्रतिरोधी बालीहरू रोप्नेसम्म कार्यले गति राख्दैनन् ।

युरोपेली सङ्घ (इयु) जलवायु नियन्त्रण एकाइका अनुसार बाढी, आगलागी र अन्य जलवायु आघातहरूले एक वर्षमा करिब हरेक महादेशलाई असर गरेको छ र यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने निश्चित छ ।

संयुक्त राष्ट्र वातावरण कार्यक्रम (युएनइपी) ले उपलब्ध गराएको डाटाको नवीनतम वर्ष २०२२ को नयाँ मूल्याङ्कनमा अनुकूलन उपायहरूका लागि गरिब देशहरूमा जाने रकम उनीहरूको कमजोर अर्थतन्त्रहरूलाई विपद्–प्रमाणीकरण गर्न गर्न आवश्यक पर्ने पैसाको दशौँ भाग मात्र रहेको बताइएको छ ।

“जलवायु प्रकोप नयाँ वास्तविकता हो र हामी यसबाट पछाडि परिरहेका छौँ”, युएनइपीको वार्षिक अनुकूलन अन्तर प्रतिवेदनको विमोचनमा गुटेरेसले भन्नुभयो ।

यस महिनाको संयुक्त राष्ट्रसङ्घीय कोप २९ शिखर सम्मेलनमा धनी राष्ट्रहरू विकासोन्मुख देशहरूमा जलवायु कार्यका लागि उनीहरूले प्रतिबद्धता गरेको एक सय अर्ब डलर पर्याप्त मात्रामा बढाउन दबाबमा छन् ।

तर केही दाता सरकारहरू वित्तीय र राजनीतिक दबाबमा छन् र अजरबैजानमा हुने सम्मेलनमा सार्वजनिक पैसाको प्रमुख नयाँ प्रतिबद्धताहरू अपेक्षित छैनन् ।

यस महिना संयुक्त राष्ट्रसङ्घको जैविक विविधताको बैठक कोष सम्झौतामा पुग्न असफल भयो र विश्वव्यापी जलवायु सहयोगको विरोध गर्नुहुने डोनाल्ड ट्रम्पको चुनाव कोप २९ मा अड्किएको छ ।

– कोही पनि प्रतिरक्षित छैन –

जलवायु परिवर्तनका लागि प्रतिबद्ध अधिकांश सार्वजनिक पैसा यसका दीर्घकालीक प्रभावहरूमा अनुकूल गर्नमा नभई विश्वव्यापी तापक्रम उत्सर्जन घटाउनमा जाने गर्छ ।

सन् २०२२ मा जलवायु अनुकूलनका लागि विकासोन्मुख देशहरूलाई सार्वजनिक वित्तमा करिब २८ अर्ब डलर भुक्तानी गरिएको थियो ।

यो अघिल्लो वर्षको तुलनामा वृद्धि थियो तर अझै पनि समुद्रमा एक थोपा बराबर हो । युएनइपीको अनुमानअनुसार विकासोन्मुख देशहरूमा अनुकूलनका लागि वार्षिक दुई खर्ब १५ अर्ब डलरदेखि तीन खर्ब ८७ अर्ब डलरको आवश्यकता पर्छ ।

धनी देशहरूले सन् २०२५ सम्ममा रकम दोब्बर गरी वार्षिक करिब ४० अर्ब डलर बनाउने वाचा गरेका थिए तर यसले पनि ‘अत्यन्त ठूलो’ अनुकूलन कोषको अन्तर छाड्ने युएनइपीले बताएको छ ।

ग्लोबल सेन्टर अन एडप्टेसनका सिइओ प्याट्रिक भर्कुइजेनका अनुसार जलवायु प्रकोपले सबैभन्दा गरिब समुदायलाई सबैभन्दा बढी असर गरेको छ तर निष्क्रियताको लागत अब उनीहरूले मात्रै वहन गर्दैनन् ।

“बढ्दो समुद्र र चरम गर्मीको छालदेखि निरन्तर खडेरी र बाढीसम्म जलवायु परिवर्तनको प्रभाव अब विश्वको हरेक कुनामा पुगेको छ । कुनै पनि राष्ट्र, कुनै पनि समुदाय प्रतिरक्षित छैन”, उहाँले भन्नुभयो ।

गत महिना आएको ठूलो आँधीका कारण आएको बाढीले दुई सयभन्दा बढीको ज्यान लिएको बेला स्पेनी अधिकारीहरूमाथि पर्याप्त रूपमा तयार नभएको आरोप लगाइएको थियो ।

जलवायु वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम अधिक चरित्र र कठोर चरम मौसममा लगिरहेको छ । “हामीले सुरक्षा स्थगित गर्न सक्दैनौँ । हामीले अनुकूलन गर्नुपर्छ – अहिले”, गुटेरेसले भन्नुभयो ।

चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा

काठमाडौं, २२ कात्तिकः मुलुकभित्रको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा तीन सय २० एमभिए र १३२/३३ केभीतर्फ, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । आयोजनाअन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

अनुमानित लागत रु तीन अर्ब ६२ करोड ८९ लाख रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैँक (केएफडब्लू)को अनुदान छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् जुनसुकैवेला जोड्न सकिने बताउनुभयो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र १४ दशमलव आठ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।

रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दसैँ र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो ।

कूल २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट छ सय ८० देखि दुई हजार छ सय मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो ।

उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९,निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ()मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो ।

प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ साल कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

उपनिर्वाचनका लागि उम्मेदवार छनोट

काँक्रेबिहार (सुर्खेत), २२ कात्तिक : आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले आज उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

प्रधानन्यायाधीश राउतद्वारा छठी माताको पूजा

पाटन (ललितपुर), २२ कात्तिक : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गर्नुभएको हो ।

प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको थियो ।

प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गर्नुभएको थियो ।

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, २२ कात्तिक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि हालसम्म आठौँ पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान एक सय २० यात्रुसहित आज दिउँसो २ बजे पोखरा अवतरण गरेर ३ बजेर ४० मिनेटमा चीनको कुनमिङ उडेको थियो । यद्यपि, यो विमानस्थलमा विभिन्न चार्टर्ड उडान भएपनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुनसकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । विसं २०८० असार ६ गते सिचुवान एयरलाइन्सले पोखरामा पहिलो चार्टर्ड उडान गरेको थियो । उक्त एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान भरेको हो ।

खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा यही कात्तिक २४ गतेदेखि हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आएका हुन् । ‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने छन् ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरुले प्रतियोगितालाई सघाउने बताइएको छ ।

प्रतियोगिताका लागि चिनियाँ खेलाडी आज चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानबाट आएको प्रतियोगिताको आयोजक हिमालय टुरिजम फोरमले जनाएको छ ।

सभापति देउवाद्वारा छठी माताको पूजा

पाटन (ललितपुर), २२ कात्तिक : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गर्नुभएको हो ।

सभापति देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको हो । सभापति देउवालाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झाले स्वागत गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गरिन्छ ।

संयोजक झाका अनुसार नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्कालगायत विशिष्ट व्यक्तित्वसमेत कुपोण्डोल घाट पुगेर छठ पूजामा सहभागी हुनुभएको थियो ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ ।

रुसद्वारा युक्रेनीहरूको ‘विनाश’ रोक्न पश्चिमलाई वार्तामा प्रवेश गर्न माग

किएभले रातभर ठूलो मात्रामा ड्रोन आक्रमणलाई रोकेका कारण रुसले बिहीबार युक्रेनीहरूमाथि भएको क्रूर आक्रमण रोक्नका लागि मस्कोसँग वार्ता गर्न किएभका सहयोगीहरूलाई माग गरेको छ ।

किएभमा एएफपी पत्रकारहरूले रातभर युक्रेनी वायु रक्षा एकाइहरूले रूसी ड्रोनहरूलाई खसालेको सुने भने हवाई आक्रमणको साइरन सहरभर गुञ्जिएको थियो ।

रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले पश्चिमले युद्धमा मस्कोसँग वार्ता गर्न वा युक्रेनको जनसङ्ख्याको निरन्तर ‘विनाश’ बीचको विकल्पको सामना गर्नुपर्ने भन्दै वार्ताको आह्वान गर्नुभयो ।

“अब युद्ध क्षेत्रको स्थिति किएभको पक्षमा छैन, किएभलाई वित्तीय सहायता दिन र युक्रेनी जनसङ्ख्याको विनाश जारी राख्न वा वर्तमान वास्तविकतालाई चिन्न र वार्ता सुरू गर्न पश्चिमले विकल्प छनोट गर्नुपर्छ”, शोइगुले रक्षा अधिकारीहरूको एक बैठकमा भन्नुभयो ।

एक दिनमै युद्ध अन्त्य गर्न सक्छु भनेर घमण्ड गर्नुहुने डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएको घोषणा पश्चात युक्रेनको मुख्य राजनीतिक र सैन्य सहयोगीपछि यो रूसी अधिकारीहरूको पहिलो टिप्पणीहरू मध्ये एक थिए ।

युक्रेनी अधिकारीहरूले देशभरि अर्को रात हवाई बमबारीपछि र मस्कोले पूर्वी युक्रेनको अर्को गाउँ कब्जा गरेको दाबी गर्दा उहाँको यस्तो टिप्पणी आएको हो ।

प्लास्टिक प्रदूषण सन्धि वार्तामा मन्त्रीहरूको सहभागिता होस् भन्ने युरोपको चाहना

विश्वको पहिलो प्लास्टिक प्रदूषण सन्धि उच्च महत्त्वाकांक्षी बन्न सकोस् भन्ने सुनिश्चित गर्न युरोपले संयुक्त राष्ट्रसङ्घीय वार्तामा मन्त्रीहरूको सहभागिता चाहेको छ ।

पर्यवेक्षकहरूका अनुसार कोरियाको बुसानमा नोभेम्बर २५ मा हुने वार्तामा विषयवस्तुको प्रगति अत्यन्त सुस्त छ र कतिपय देशले कुनै पनि अन्तिम सन्धिलाई कमजोर बनाउन खोजिरहेका छन् ।

युरोपेली सङ्घ (इयु) का देशहरू नयाँ ‘भर्जिन’ प्लास्टिकको उत्पादनमा कटौती गर्नुपर्ने माग गर्ने गठबन्धनको हिस्सा रहेका छन् ।

फ्रान्सका पर्यावरणमन्त्री एग्नेस पानियर–रुनाचरले सांसदहरूलाई भन्नुभयो, “मन्त्रीहरू नभएकाले महत्त्वाकांक्षी सन्धि गर्ने यो एउटा कमजोर इच्छाशक्ति देखाउँछ ।”

उहाँले एक सय ७५ मुलुक बुसानमा भेला हुँदा सम्झौता गर्नका लागि ‘राजनीतिक गति दिन’ मन्त्रीहरूलाई वार्तामा आमन्त्रित नगरेको बताउनुभयो ।

इयुको घुमाउरो अध्यक्षता गर्ने हङ्गेरीले २७ सदस्य मुलुकलाई ‘प्लास्टिक प्रदूषण विरुद्धको लडाइँमा इयुको सामूहिक प्रयासलाई सुदृढ बनाउन’ मन्त्रीहरूलाई सहभागी हुन अनुरोध गरेको छ ।

प्लास्टिक उत्पादन २० वर्षमा दोब्बर भएको छ र सन् २०६० सम्ममा वर्तमान दरको तीन गुणाले बढ्न सक्ने आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) को प्रतिवेदनले उल्लेख गरेको छ ।

तथापि ९० प्रतिशतभन्दा बढी प्लास्टिक रिसाइकल गरिँदैन र यसको ठूलो हिस्सा प्रकृतिमा फालिन्छ वा डम्पिङ स्थलमा गाडिन्छ ।

हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो

म्याग्दी, २२ कात्तिकः हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताउनुभयो । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए ।

उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो । सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’ – उपमहासचिव ज्ञवाली

गुल्मी, २२ कात्तिक : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्नुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उहाँको भनाइ थियो ।

देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । पटकपटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थीरता बढेको, लोकतन्त्रप्रति जनतामा निरासा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

“एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दैआएको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उहाँको भनाइ थियो ।

एमाले सचिव गोकर्ण विष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भइरहको बताउनुभयो । उहाँले सधैँ नकारात्मकता र निराशाले देश उभो नलाग्ने उल्लेख गर्दै पुराना पार्टीमाथि प्रश्न उठाएर देशमा नयाँ पार्टीले भ्रम पैदा गर्ने काम गरेको आरोप लगाउनुभयो । बलियो जनाधार र दूरदृष्टि भएका पार्टीलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापी सम्भव नहुने सचिव विष्टको भनाइ थियो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ

वीरगञ्ज (पर्सा),२२ कात्तिकः अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।

वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसो १२ बजेपछि घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेका थिए ।

छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।

बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगञ्जमा निष्ठा र श्रद्धापूर्वक मनाइएको बताउनुभयो । “श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्”, उहाँले भन्नुभयो, “छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।”

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले वीरगञ्जमा छठ पर्वलाई आदरपूर्वक मनाइने बताउनुभयो । “हामीले विगत २२ वर्षदेखि प्राचीन कला संस्कृतिको संरक्षण र जर्गेना गर्दै छठ पर्व मनाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।”

अध्यक्ष कानुले छठ पर्वमा परिवारका सदस्यले छठ पूजाका सामग्रीलाई ढकिया, डालोलगायत राखेर छठ घाटमा ल्याउने परम्परा रहेको बताउनुभयो । “महिला बर्तालुहरु पानी नखाई व्रत बस्ने भएकाले परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन छ”, उहाँले भन्नुभयो, “परिवारको सुख, शान्ति र भातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ ।” समितिका अध्यक्ष कानुले वीरगञ्जका अन्य स्थानमा भन्दा घडीअर्वा पोखरीमा दर्शनार्थी र अवलोकनकर्ताको धेरै घुइँचो लाग्ने बताउनुभयो ।

“हामीले रु १८ लाख रकम खर्चेर छठ पर्वका लागि घडीअर्वा पोखरी झकिझकाउ गराएका छौँ”, अध्यक्ष कानुले भन्नुभयो, “भक्तजनसहित करिब एक लाख ५० हजारले अवलोकन गर्ने अनुमान गरेका छौँ ।” वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, मुर्ली घठघाट, माइधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा धेरै भक्तजनको बाक्लो सहभागिता रहन्छ ।

करेन्ट लागेर एक घटनास्थलमैको मृत्यु, दुई घाइते

बागमती, २२ कात्तिकः मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतक दियाल लेसनायक पदमा कार्यरत हुनुहुन्थ्यो ।

करेन्ट लागेर डँडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाडाैँ पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँ पठाइएको उहाँले बताउनुभयो ।

“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा ।नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो ।

सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए । “सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै सिनेमाको रुप लिएको हो ।”, उनले भने ।

सिनेमालाई अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए । उनले अग्निदहनले कमाएको रकम निर्माताको खल्टीमा नजाने र शिक्षा चेतनाकै माध्यमबाट मात्रै बोक्सी प्रथा उन्मुलन हुने उल्लेख गरे ।

निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको बताए । पृथक सिनेमा बनाइएको र स्वच्छ भावनाले काम गरिएको सिनेमा भएकाले पनि हलमा समेत दर्शकको माया पाउनेमा उनी आशावादी छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाई उनको छ ।

कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोहि सिनेमा भएको बताए । बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको भनाई उनको छ ।
कलाकार माओत्से गुरुङले सिनेमामा अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैंबाट यता नेपाली सिनेमाले हलमा गरेको व्यापार सकरात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको सिनेमालाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे ।

कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिले सम्म नगरेको पात्रका रुपमा आफुले अभिनय गरेको जानकारी उनले गराइन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छिन् ।लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् । सिनेमाको गीत र टे«लर सार्वजनिक भइसकेको छ ।

अञ्जली डिसीको स्वरमा‘ए मेरो परदेशी ’ सार्बजनिक

गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।

लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ ।

बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकार ले मौका को सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।

दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

‘छठ’ पर्वको तयारी सम्पन्न

विराटनगर, २२ कात्तिक : तिहारपछि विशेषगरी तराईमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वका लागि विराटनगरसहित आसपासका प्रमुख बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको छ ।

‘छठ’ पूजाका लागि आवश्यक हरियो तरकारी र फलफूल, स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, ऊखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायत सामग्री किन्न आउनेको भीड रहेको छ । यसैगरी कोनिया, ढक्की र नाङ्लोजस्ता बाँसबाट निर्मित सामग्रीसमेत खरिद गर्न आउने पनि प्रशस्तै देखिन्छन् ।

‘छठ’पर्व मनाउन स्थानीयवासी अहिले ताल, तलैया एवं पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै पूजास्थल सुरक्षित गर्न व्यस्त रहेका विराटनगर नगरपालिका– ११ का धनिकलाल कामत बताउनुहुन्छ ।

विराटनगरको सिङ्घीया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेको स्थानीय धार्मिक व्यक्तित्व एवं अगुवासमेत रहेको कामतले जानकारी दिनुभयो ।

यसैगरी विराटनगर महानगरपालिका–११ पिचरास्थित स्थानीय युवा क्लबको नेतृत्वमा स्थानीयवासी नहर आसपासका क्षेत्र सरसफाइ गरी सिँगार्न व्यस्त छन् । ‘छठ’ पर्वका अवसरमा विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्रका नहर आसपास सरसफाइ गरेसँगै व्रतालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको स्थानीयको भनाइ छ । पर्व मनाउन सहज होस् भनी सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरमा पानी छाडेको छ ।

स्थानीय ताल, नदी, पोखरी र नहरको पानी फोहर भएको भनी कतिपय मानिस आ–आफ्नै घरमा घाट बनाई पूजापाठ गर्ने गरेकोसमेत पाइएको छ ।

आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । छठ पर्वका अवसरमा सङ्घीय सरकारले आज र कोसी प्रदेश सरकारले भोलि कात्तिक २३ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति पौडेलद्वारा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठी माताको पूजा आराधना

काठमाडौँ, २२ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अघ्र्य दिनुभएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपति  पौडेललाई  गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो । 

गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजा स्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षक रुपमा सजाइएको छ ।

कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन हो । आज निराहार व्रत बसेका बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ । मित्रपार्क चोकदेखि नै भक्तजन गुह्येश्वरी जाने लाममा लागेका छन् । यहाँको छठ पूजाको व्यवस्थापन गुह्येश्वरी छठ पूजा समितिले गर्दै आएको छ ।