`

‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण छ’ – माधवकुमार नेपाल

काठमाडौँ, २२ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सबै समुदायका संस्कृति तथा चाडपर्वले एकापसमा सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उहाँले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल

गण्डकी, २२ कात्तिक । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गर्नुभयो । गभारोले यस अघि बाली सखाप नपारेको अनुुभव उहाँले सुनाउनुुभयो । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले रासससँग भन्नुुभयो । साथै उहाँले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुनेछ – प्रदेशप्रमुख

गण्डकी, २२ कात्तिकः गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुुभएको छ ।

छठका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गर्नुभएको छ । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उहाँले भन्नुुभएको छ ।

सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित. फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ ।

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनगर, २२ कात्तिक: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पत्र गरिन्छ ।

इजरायली गोलाबारीमा १६ प्यालेस्टिनीको मृत्यु

इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् ।बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ ।

लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौँ मृतक र घाइते अझै बेत लाहियामा भग्नावशेषमुनि दबिएका छन् ।

यसैबीच, जबलिया अल नाजलाको हलिमा अल सादिया स्कुलको परिधिमा इजरायली ड्रोन आक्रमणमा दुई दिनअघि घाइते भएका प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले अल सफ्तावीमा आवासीय संरचना र ब्लकहरूमा गोलाबारी तीव्र पारेको छ । जबलिया शिविरका साथै बेत लाहिया सहरमा विस्फोटका आवाज सुनिएको थियो ।

बिहान सबेरै इजरायली सेनाका सशस्त्र गाडीहरू बेत लाहियाको पश्चिममा अल–साइमा क्षेत्रमा प्रवेश गरे र जबलिया शिविरको पश्चिममा रहेको अल–फखौरा स्कूलतर्फ अघि बढेको थियो ।चुनौतीपूर्ण मानवीय अवस्था र बासिन्दाहरूलाई विस्थापित गर्ने प्रयासका बीच सेनाले उत्तरी गाजा पट्टीको ३२औँ दिनका लागि आफ्नो घेराबन्दी जारी राखेको छ ।

हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार

हिजबुल्लाहले बुधबार मध्य र उत्तरी इजरायलमा करिब दस रकेट प्रक्षेपण गरेको र एउटा रकेट तेल अभिव नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहार गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

बासिन्दाहरूले तेल अभिव क्षेत्रमा विस्फोटको आवाज सुनेको बताएका छन् । इजरायलको आर्थिक केन्द्र तेल अभिवसहित मध्य इजरायल, इजरायलको कब्जामा रहेको पश्चिम किनार र उत्तरी इजरायलका करिब एक सय ५० सहर र समुदायमा रकेट आक्रमणको चेतावनी दिँदै साइरन बजाइएको छ ।

इजरायली प्रहरीले बेन गुरियन एयरपोर्टमा रकेट प्रहार गरेको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिरले विमानस्थल क्षेत्रमा रहेको खाली पार्किङ स्थलमा क्षति पुगेको देखाएको छ ।

इजरायली प्रहरीले बेन गुरियन विमानस्थलमा रकेट प्रहार भएको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिरले विमानस्थल क्षेत्रमा खाली पार्किङ स्थलमा क्षति भएको देखाएको छ । तेल अभिवको उपनगर रानानामा अर्को रकेट पार्किङमा रहेको खाली कारमा ठोक्किएको थियो ।

हिजबुल्लाहले आक्रमण विमानस्थल नजिकैको सेरफिन आधारलाई लक्षित गरेके विज्ञप्तिमा बताएको छ । इजरायलको म्यागेन डेभिड एडोम उद्धार सेवाले तत्काल कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

जर्मनीमा असमानता र गरिबीको जोखिम

हालैका वर्षहरूमा सम्पत्तिमा वृद्धि भए तापनि जर्मनीमा असमानता र गरिबीको जोखिममा खासै परिवर्तन नभएको बुधबार प्रकाशित प्रतिवेदनले देखाएको छ । सन् २०२१ मा जर्मनीका शीर्ष १० प्रतिशत घरपरिवारले देशको कूल सम्पत्तिको ५६ प्रतिशत ओगटेका थिए । यसले जर्मनीलाई युरोपमा सबैभन्दा असमान मुलुकहरूमा राखेको सामाजिक विज्ञान अनुसन्धान केन्द्र बर्लिन (डब्लुजेडबी) द्वारा संयुक्त रूपमा प्रकाशित २०२४ सामाजिक प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरी पूर्वी र पश्चिम जर्मनीबीच सम्पत्ति वितरणमा असमानता उच्च छ । पूर्वी जर्मन घरपरिवारको औसत सम्पत्ति एक लाख ५० हजार नौ सय युरो रहेको छ भने पश्चिममा तीन लाख ५९ हजार आठ सय युरो रहेको प्रतिवेदनमा बताइएको छ । भनिएको छ । पछिल्लो दशकमा यसमा थोरै सुधार देखिएको छ ।

प्रतिवेदनले पूर्वी जर्मनीमा ६० देखि ७९ वर्ष उमेर समूहका चारमध्ये एक जना गरिबीको जोखिममा रहेको पनि प्रकाश पारेको छ ।

जर्मन समाचार एजेन्सी डिपिएका अनुसार डब्लुजेडबी विशेषज्ञ फिलिप वोत्श्याकले पूर्वी र पश्चिम जर्मनीबीचको निरन्तर असन्तुलन आंशिक रूपमा पूर्वमा कम ज्याला स्तरको कारणले भएको बताउनुभयो । पूर्वमा कम ज्याला स्तर हुँदा सम्पत्ति सञ्चयलाई सीमित गर्दछ ।    यसबाहेक आंशिक रूपमा जनसङ्ख्याको गिरावटका कारण पूर्वी जर्मनीमा सम्पत्तिको मूल्यमा कुनै वृद्धि देखिएको छैन ।

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ, २२ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बतानुभएको छ । प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताउनुभएको छ ।

“सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो”, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।”

प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

दमौली (तनहुँ), २२ कात्तिकः प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ ।

नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।

दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक रु दुई हजार, दोस्रोपटक रु चार हजार र तेस्रोपटक रु छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिनुभयो ।

यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रोपटक रु तीन हजार जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलोपटक रु दश, दोस्रोपटक रु ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, २२ कात्तिकः हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

राष्ट्रपति पौडेललाई कोप–२९ मा उठाउनुपर्ने विषयबारे सुझाव

काठमाडौँ,- राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाव दिनुभएको छ ।

उक्त सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदैछ । समितिका सभापति एवं सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटी जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, वन राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

देशलाई नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुनेछः अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल विश्वविद्यालय उद्घोषण सभा तथा ‘राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले यस प्रयासले देशलाई नयाँ युगतर्फ उन्मुख गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले विश्वविद्यालयको सफलताका लागि सरकार र राजनीतिक नेतृत्वको समर्थन निरन्तर रहने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयमार्फत समकालीन विश्वमा उच्च शिक्षा प्रणालीका आधारभूत सिद्धान्त र मान्यतालाई अवलम्बन गर्दै उदाहरणीय बन्नसक्ने धारणा राख्नुभयो ।

विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले अन्तर्राष्ट्रिय सहकार्यमार्फत गुणस्तरीय शिक्षा र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।

नेपाल विश्वविद्यालय ऐन २०८१ गत असोज २३ गते प्रमाणीकरण भई कानुनी रूपमा स्थापित भएको उपलक्ष्यमा आज आयोजित गोष्ठीमा विभिन्न राजनीतिक दलका नेता, सांसद, उच्च सरकारी अधिकारी, स्वदेशी तथा विदेशी प्राज्ञहरूको सहभागिता रहेको थियो भने गोष्ठीमा स्वदेशी तथा विदेशी प्राज्ञ तथा शिक्षाविद्हरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालको शैक्षिक र सामाजिक विकासमा विद्यालयहरूको प्रभाव, जिम्मेवारी र सम्भावित योगदानमाथि छलफल भएको थियो । कार्यक्रममा उच्च शिक्षामा गुणस्तर सुधार र चुनौतिहरूको पनि चर्चा गरिएको थियो ।

समकालीन विश्वमा प्रतिस्पर्धी हुँदै विकास, समृद्धि र राष्ट्र निर्माणको अभियानलाई अघि बढाउन आवश्यक पर्ने सीपमूलक, गुणस्तरीय उच्च शिक्षाका लागि सार्थक योगदान पुर्‍याउने लक्ष्य राखी नेपाल विश्वविद्यालयको स्थापना गरिएको जनाइएको छ ।

फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका

त्रिवेणी (नवलपरासी), २२ कात्तिकः बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ । मध्यविन्दु नगरपालिकाले फोहरको व्यवस्थापनसँगै जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको छ । पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो ।

यहाँ स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाका इन्जिनियर विवेक पोखे्रलले बताउनुभयो । स्थानीयस्तरमा सङ्कलित फोहरलाई वर्गीकरण गरी कुहिने फोहरलाई जैविक मलको रूपमा उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको इन्जिनियर पोख्रेलले बताउनुभयो ।

नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि एक सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो रु पाँच छुट प्रदान गरिने उहाँले बताउनुभयो । उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ । “उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्डअनुसारको रहेको छ । हामीले त्यसको परीक्षण गरेका छौँ, नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तोकिएअनुसारै छ”, इन्जिनियर पोख्रेलले भन्नुभयो ।

जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग पुग्ने, खाद्य उत्पादनमा टेवा पु¥याउने अपेक्षा रहेको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । हिजोआज कृषि उत्पादनका क्रममा धेरै रासायनिक मल प्रयोग गर्ने क्रम रहेकाले त्यसलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई बढाउनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । “हामीकहाँ अहिले कृषि उत्पादन गर्दा रासायनिक मल धेरै प्रयोग गर्ने, विषादी प्रयोग गर्ने गरिन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ, यसका लागि जैविक मलको प्रयोग गर्न सकारात्मक सन्देश दिनसमेत सहयोग पुग्ने अपेक्षा छ”, नगरप्रमुख अधिकारीले भन्नुभयो ।

मध्यविन्दु नगरपालिकाले–११, कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब रु चार करोड ३७ लाखको लागतमा फोहर व्यवस्थापनकार्य अघि बढाएको र यसैबाट जैविक मल उत्पादनसमेत सुरु गरिएको हो ।

मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर सङ्कलन गर्ने गरिएको छ । यसरी सङ्कलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोर छुट्टाएर बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो ।

उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ, २२ कात्तिकः उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।

उपसभामुख रानाले व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाक्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले हरेक समुदाय र क्षेत्रमा आफ्नो आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको मौलिक सांस्कृतिक विशेषता रहेको बताउनुहँदै भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेषभूषा र सभ्यताका दृष्टिले नेपाली विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्नुभयो ।

“नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात् गरेको छ । छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, उपसभामुख रानाले भन्नुभएको छ ।

छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस्ः सभामुख घिमिरे

काठमाडौँ, २२ कात्तिकः सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

“छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु” सन्देशमा भनिएको छ, “यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् ।”

शुभकामना सन्देशमा छठ पर्व विशेष् ारूपमा सूर्य देवताको आराधना र उपासना गर्ने पर्व भएको र जसले स्वास्थ्य, सुख–समृद्धि र सन्तान सुखको आशीर्वाद दिने विश्वास गरिने उल्लेख छ । सूर्य देवतालाई रोग निवारण, शक्ति, र स्वास्थ्यका देवता मानिन्छ । यस पर्वमा सूर्य, जल र प्रकृतिको महत्वपूर्ण भूमिका हुन्छ ।

“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकाबारे हामी सबै जानकार नै छौँ । छठ पर्वले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेको छ”, सन्देशमा भनिएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २२ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा

काठमाडौँ, २२ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।

छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउनुभयो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र यस पर्वका अवसरमा सभापति देउवाले तराईवासीलगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

“नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ, २२ कात्तिक: राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गर्नुभएको छ ।

सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ । खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । भेदभावविना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग

काठमाडौँ, २२ कात्तिकः वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ०८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ ।

“प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबीचको लिकङ्रोड निर्माणकार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने सङ्घले पूर्णविश्वास लिएको छ । सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुक्ताका साथ गरिदिनुहुन सङ्घ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा सङ्घ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दिर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने सङ्घको विश्वास रहेको छ ।

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ, २२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

२५ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधनी एकादशी मेला हुँदै

गलकोट (बागलुङ), २२ कात्तिकः कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन ।

पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिनुभयो । उहाँले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताउनुभयो ।

“विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुननसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।

विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् । आरती वाचक तथा गायक रमेश खड्काले पुर्खाैँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ ।

यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ । मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो ।

मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

काठमाडौँ, २२ कात्तिकः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू बताउँछन् ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्र्घ दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराई मधेशलगायत सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरूप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।

कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौँ, २२ कात्तिकः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गर्नुभएको छ । मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ प्रस्थान गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीे मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमकोे योजना तयार गरिनेछ ।

मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुनेछ । उहाँले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारीलगायत हुनुहुन्छ ।

भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा

भक्तपुर, २१ कात्तिक : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठ पर्वको तयारी पूरा भएको छ ।

छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका हुन् । तराई मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमल पोखरी, मनोहरा र गोदावरी खोलामा छठ मनाउने तयारी पूरा गरेको हो ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दाबढी परिवारले छठ पर्व मनाउने गरी पोखरी सिँगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएको उहाँले बताउनुभयो ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि छठ पर्वको तयारी पूरा भएको बालकोट बस्दै आएका दशरथ ठाकरले जानकारी दिनुभयो । उहाँले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ दुई सयभन्दा बढी परिवारले छठ मनाउने तयारी पुरा गरेको उहाँले जानकारी दिनुभयो ।

रौनियारले भन्नुभयो, “तराई मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका एक सय ५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौँ । छठ पर्वका लागि यहाँको पोखरी सिँगारेका छौँ, मूर्ति ल्याएर स्थापना गरेका छौँ । पोखरी झकिझकाउ भएका छन् ।”

सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिँगारिए पर्वको तयारी गरिएको छ । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले छठ पर्वलाई सहयोग गर्दै आएका छन् ।्

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी बिहीबार जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन भोली कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी शुक्रबार सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले बताउनुभयो ।

कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण

काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन–०८१ केन्द्रीय संयोजन समिति’ को आज बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले विभिन्न जिम्मेवारी निर्धारण गरेको हो ।

उक्त निर्णयअनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेस प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेश, प्रवक्ता डा प्रकाशशरण महतलाई अन्तरपार्टी समन्वय, केन्द्रीय सदस्यहरु एनपी साउँदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचारप्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहँुच हुनुपर्नेमा जोड

काठमाडौँ, २१ कात्तिक : सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवालगायतले कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि ज्यादा प्रतिकूल असर बेहोर्न बाध्य नेपालजस्ता विकासोन्मुख मुलुकको जलवायु वित्त कोषमा सहज र न्यायोचित पहुँच हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय र क्षेत्रीय नागरिक मञ्च तथा सञ्जालहरुद्वारा आज यहाँ आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाले जलवायु परिवर्तनसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालले उठाउनुपर्ने मुद्दाहरू सम्बन्धमा विभिन्न सुझाव दिनुभएको थियो ।

जलवायु वित्तमा समान तथा न्यायोचित पहुँच सम्बन्धमा नेपालले उठाउनुपर्ने मुद्दाहरूबारे छलफल गर्ने उद्देश्यले ‘२९औँ जलवायु सम्मेलन र जलवायु वित्तमा नेपालको पहुँच नागरिक समाजका सुझाव’ विषयक परामर्श कार्यक्रम गरिएको हो । कोप–२९ यही कात्तिक २६ गतेदेखि मंसिर ०७ गतेसम्म अजरबैजानको बाकु सहरमा हुँदैछ ।

जलवायु न्यायको सिद्धान्तका आधारमा अतिकम विकसित र विकासोन्मुख देशहरूले प्राप्त गर्ने जलवायु वित्त मुख्यतः कार्बन उत्सर्जन न्यूनीकरणमा केन्द्रित र ऋणमा आधारित बन्दै गएकामा उपस्थित नागरिक समाजका सदस्यहरूले चिन्ता व्यक्त गरे ।

यस किसिमको असमान र अन्यायपूर्ण अवस्थालाई बदल्न नेपालले अनुकूलन, उत्थानशीलता एवं हानिनोक्सानीलाई सम्बोधन गर्न बनेको कोषबाट पर्याप्त अनुदान पाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

कार्यक्रमका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सन् २०३० सम्ममा नेपालले वन क्षेत्रफललाई ४५ प्रतिशतसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएको र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले कोप–२९ मा सरकारको ध्यान अनुकूलन, हानिनोक्सानीको क्षतिपूर्ति, तथा क्षमता अभिवृद्धिको मुद्दामा केन्द्रित रहने उल्लेख गर्नुभयो ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले नेपालजस्ता देशको कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु सङ्कटको सामना गर्नुपरेकाले सरकारले जलवायु न्यायसम्बन्धी चासोहरू जलवायु सम्मेलनमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले जलवायु परिवर्तन र यसले निम्त्याएका सङ्कटमा नेपालको कुनै भूमिका नभए पनि उक्त सङ्कट सामनाका लागि आवश्यक जलवायु वित्त उपलब्ध गराउन सर्तमाथि सर्त राखिनु असान्दर्भिक भएको बताउनुभयो ।

कार्यक्रमका मुख्य वक्ता डा माधव कार्कीले नेपालजस्ता अतिकम विकसित र पर्वतीय मुलुकमा जलवायु परिवर्तनका समस्या सम्बोधन हालको जस्तै सुस्त भएमा छिट्टै जलवायु आपत्कालको चरण सुरु हुने उल्लेख गर्नुभयो ।

यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा अर्जुन कार्कीले विकसित मुलुकले अतिकम विकसित र विकासोन्मुख देशहरूका लागि सार्वजनिक, अनुदानमा आधारित, नयाँ र थप वित्तीय सहयोग निःशर्त प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि साथै सरकारी निकाय, द्विपक्षीय तथा बहुपक्षीय निकायका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, डेडिकेटेड ग्रान्ट मेकानिज्म फर इन्डिजिनिअस पिपुल्स एण्ड लोकल कम्युनिटिज (डिजिएम नेपाल, नेपाल आदिवासी जनजाति महाङ्घ (नेफिन), साथसाथै, विश्वखाद्य मञ्च नेपाल, मानव अधिकार एलाइन्स, एसियन पिपल्स मुभमेन्ट अन डेट एण्ड डेभलप्मेन्ट (एपिएमडिडी), गरिबी उन्मूलनका लागि दक्षिण एशिया मञ्च (सापे), लैङ्गिक उत्तरदायी जलवायु नीति सञ्जाल, अतिकम विकसित मुलुकका सञ्जाल (एलडिसी वाच) र युएन बुमनको सहआयोजनामा भएको थियो ।

कार्तिक शुक्ल पञ्चमी : छठको दोस्रो दिन गरियो खरना

काठमाडौँ, २१ कात्तिक : छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाएका छन् ।

छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । यो पर्वको मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

छठका वर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध भएर बस्ने गर्छन् । केही वर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टअर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।

महाकुम्भ सन् २०२५ मा एआइको प्रयोग हुने

आगामी महाकुम्भ सन् २०२५ को तयारीमा उत्तर प्रदेश सरकारले प्रयागराज रेलवे स्टेशनहरूलाई निगरानी गर्न प्रविधिसँग सुसज्जित गरेर भक्तहरूको सुरक्षालाई प्राथमिकता दिइरहेको छ ।

महाकुम्भमा पहिलो पटक सिसिटिभी क्यामेरासँगै एक सय फेसियल रिकग्निसन (एफआर) क्यामेरा जडान हुन लागेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा सञ्चालित यी एफआर क्यामेराहरू संदिग्ध गतिविधिहरूको निगरानी र सम्भावित खतराहरू पहिचान गर्न अत्यधिक प्रभावकारी छन् ।

महाकुम्भमा करिब १० करोड मानिसले रेलबाट यात्रा गर्ने अपेक्षा गरिएको छ । यसलाई ध्यानमा राख्दै प्रयागराज रेलवे डिभिजनले विशेष सुरक्षा व्यवस्था गरेको छ ।

प्रयागराज रेलवे डिभिजनका पिआरओ अमित सिंहले भक्तजन र पर्यटकहरूका लागि सुरक्षित र सहज अनुभव सुनिश्चित गर्न व्यापक सुरक्षा उपायहरू अन्तर्गत एआई–आधारित एफआर क्यामेराहरू लगाइने बताउनुभयो ।

यी क्यामेराहरूले एआई टेक्नोलोजी प्रयोग गरेर अनुहारहरू चिन्न सक्छन् । यसले ठूलो भीडमा पनि संदिग्धहरूलाई पहिचान गर्न अनुमति दिन्छ । यो क्षमताले संदिग्ध गतिविधिहरूलाई रोक्न र भीडको अवस्थाहरू बढ्नुअघि नियन्त्रण गर्न मद्दत गर्दछ ।

सिंहका अनुसार छ सय ५० सिसिटिभी क्यामेराबाहेक पहिलो पटक प्रयागराजको रेलवे स्टेशनहरूमा एक सय एफआर क्यामेराहरू जडान गरिनेछ । प्रयागराज सहरका सबै नौ रेलवे स्टेशनका रुट र प्लेटफर्मको अनुगमन गरिनेछ ।

यो काम डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । महाकुम्भ सुरु हुनुअघि जनवरीसम्ममा सबै उपकरण सञ्चालनमा ल्याइनेछ ।

कीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

कीर्तिपुर (काठमाडौँ), २१ कात्तिक : कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । उप निर्वाचनमार्फत नगरप्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर चुनावका आकांक्षी र सम्भावित परिणाम बारे चर्चा सुरु भएको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरुले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख राजकुमार नकर्मी मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो ।

वडा नं १ का तत्कालीन वडाध्यक्ष हीरालाल महर्जन कलेजो रोगको उपचारका क्रममा र ४ का वडाध्यक्ष श्याम अधिकारीको दुर्घटनामा परी निधन भएपछि प्रमुख र दुई वडाध्यक्ष पद रिक्त छन् । सत्तारुढ दलहरुमध्ये नगरप्रमुख पदमा नेपाली कांग्रेसको नगर समितिबाट सभापति कृष्णमान डङ्गोलसहित ११ जना आकांक्षीको नाम काठमाडौँ जिल्ला समितिसमक्ष सिफारिस गरिएको छ । सिफारिस हुने अन्य आकांक्षीमा नगरसमितिकै पूर्वसभापति बद्रीलाल महर्जन, ५ नं वडाका पूर्ववडाअध्यक्ष हिमाल कार्की, दिवङ्गत प्रमुख राजकुमार नकर्मीकी धर्मपत्नी जमुना नकर्मी, महिला नेतृ सङ्गीता बोगटी तथा स्थानीय नेताहरु शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।

वडा नं १ का अध्यक्षका लागि नेपाली कांग्रेसका इच्छाकुमार महर्जन, सिकन्दर महर्जन र महेश्वर महर्जन आकांक्षी छन् । यसैगरी वडा नं ४ को वडाअध्यक्षका लागि मुरारी विष्ट, मिलन विष्ट, राजेन्द्र बानियाँ, सुभद्रा सिग्देल, कालुभाइ खड्का, सुजन बस्नेत, इन्द्र बुढाथोकी र अनिल बाँस्कोटा आकांक्षीका रुपमा देखिएका छन् । नेपाली कांग्रेसले यसअघि आफूले जितेको प्रमुख र १ नम्बर वडाध्यक्ष कायम राख्दै वडा नं ४ को अध्यक्ष समेत कब्जा गर्ने लक्ष्य लिएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेको नगर कमिटीबाट सर्वसम्मत सिफारिस हुनुभएका उहाँको नाम बुधबार बसेको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।

यसैगरी वडा नं १ मा २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित हुनुभएका हर्षमान महर्जनलाई एमालेले अघि सार्ने जनाएको छ । वडा नं ४ को वडाअध्यक्षको उम्मेद्वारका लागि बद्री बुढाथोकीलाई अघि सार्ने पार्टीको तयारी छ । पछिल्लो स्थानीय चुनावमा प्रमुखसहित नगरपालिकाका महत्वपूर्ण पदहरु गुमाएको एमाले पुरानो साख फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ ।

प्रमख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्राध्यापक डा शिवशरण महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी वडा नं १ मा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिहीबारबाट मात्र उम्मेद्वार छनोट प्रक्रिया थाल्ने पार्टीका जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिनुभयो । “निर्वाचन परिचालन समिति बनेपछि उम्मेदवारीका लागि आवेदन आह्वान हुनेछ । त्यसपछि सर्वसम्मत नभएका पदहरुमा आन्तरिक चुनावबाट उम्मेदवारी छनोट हुनेछ ।”

कीर्तिपुरको चुनावी मैदानमा केही स्वतन्त्र उम्मेदवारको समेत चर्चा चलेको छ । सफाइ अभियन्ता राजमान मानवले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । भाषा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले पनि नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल

पाटन (ललितपुर), २१ कात्तिक : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणासभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताउनुभयो ।

“यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।

सरकार अभिछिन्न रुपमा विश्वविद्यालयको साथमा रहनेछ भन्नुहुँदै उहाँले यो विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रुपमा परिचित हुने विश्वास व्यक्त गर्नुभयो ।

“यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रुपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उहाँले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गर्नुभयो ।

“यात्रा सहज छैन, सबै चुनौतीहरुलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारकोतर्फबाट निरन्तर सहयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गर्नुभयो ।

नेपाल विश्वविद्यालय विकास बोर्डको अन्तर्राष्ट्रिय परामर्श बोर्डका अध्यक्ष तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका प्रोफेसर रोवर्ट उलर्डले नेपाल विश्वविद्यालयले दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्नसक्ने अवसर सिर्जना गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको विकास र समृद्धिका लागि विश्वविद्यालय स्थापना भएकामा आफू निकै खुसी भएको वताउनुभयो ।

संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत लिवरल आर्टस् एण्ड साइन्स’ अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीले जानकारी गराउनुभयो ।

“यसले अन्य क्याम्पस तथा कलेजलाई सम्बन्धन दिने छैन । नेपाल विश्वविद्यालयले आफ्नै सङ्काय, आङ्गीक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिनेछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत पठनपाठन र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिका महासङ्घको अध्यक्ष लक्ष्मी पाण्डेले ऐन पारित भई आधिकारिक रुपमा स्थापित हुन सफल भएकामा विश्वविद्यालयलाई बधाई दिनुभयो । उहाँले यस विश्वविद्यालयले चेतनशील र सिर्जनशील जनशक्ति तयार गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको भविष्य उज्ज्वल बनाउन विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गर्दै समयको मागअनुसारको आवश्यकता परिपूर्ति गर्नसक्ने अपेक्षा राख्नुभयो । उहाँले विश्वविद्यालयले दूरदृष्टि भएका क्षमतावान् नागरिक निर्माण गर्दै राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउनेछ भन्ने धारणा राख्नुभयो ।

काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी

काठमाडौँ, २१ कात्तिक : काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ ।

पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अघ्र्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ का वडासदस्य रोशन श्रेष्ठले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ ।

स्थानीय सङ्घ संस्थाको समन्वय तथा हिमालयन अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।

‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’ – महासचिव गुरुङ

म्याग्दी, २१ कात्तिक : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

“राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,” उहाँले भन्नुभयो, “भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।”

कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उहाँले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताउनुभयो । सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री

काठमाडौँ, २१ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ ।

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्कनुभएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायत आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताउनुभएको हो ।

“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एकआपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ”, मन्त्री खड्काले भन्नुभयो । भारतले नेपालका विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थासँग छलफल गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्तिमन्त्री सिआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद वेंकटेश जोशी र विद्युत्मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो । मन्त्री खड्काले भारतका ऊर्जामन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

मन्त्री खड्काले जलविद्युत्मा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताउनुभयो । उहाँले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युत्का काम गर्न उत्साहित देखिएको उल्लेख गर्नुभयो ।

कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही

काठमाडौँ, २१ कात्तिक : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन (कोप–२९)मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताउनुभएको छ ।

नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मन्त्रालयले संसदीय समितिबाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालासँग गरेका छलफल, कार्यशाला तथा अन्तक्र्रियाबाट प्राप्त सुझाव र विज्ञहरुले कोप–२९ का लागि तयार भएका विषयगत पत्रहरुको आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ ।” कोप–२९ यही नोभेम्बर ११ देखि २२ सम्म अजÞरबैजानको बाकु सहरमा हुँदैछ ।

यस पटकको कोप–२९ मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदै छ । मन्त्री शाहीले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद्को तेस्रो बैठकको मार्गनिर्देशन र जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनका सुझाव समेतलाई मध्यनजर गरी कोप–२९ मा समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित हुन आवश्यक रहेकोले यी विषयहरु नेपालले बहुपक्षीय तथा दुई पक्षीय वार्तामा उठाउने गरी मन्त्रालयले तयारी गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, यहाँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयका कार्यवाहक आवासीय संयोजक एलिस अकुंगा, वन मन्त्रीका सल्लाहकार जलवायुविज्ञ डा माधव कार्की, आयोजक संस्थाका अध्यक्ष डा अर्जुन कार्की, फेकोफनका अध्यक्ष ठाकुर भण्डारीलगायतले नेपालमा जलवायु परिवर्तनले गरेको असर र नेपालले कोप–२९ मा उठाउनुपर्ने विषय तथा मुद्दाका बारेमा सुझाव दिनुभएको थियो ।

एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस

काठमाडौँ, २१ कात्तिक : नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो । जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौँ जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिनुभयो ।

नगरकमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

कीर्तिपुर नगपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको अध्यक्ष निरौलाले बताउनुभयो । अध्यक्ष निरौलाले कीर्तिपुर नगपालिकाको प्रमुख र महानगरको वडाध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने भएकाले जिल्ला कमिटीले सिफारिस गरिएको बताउनुभयो ।

अब एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट आएका सिफारिसको आधारमा निर्णय गर्नेछ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद खाली थियो । देशभरि आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार

कास्की, २१ कात्तिक : सार्वजनिकस्थल र सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेकाको उद्धार गर्ने उद्देश्यले मानव सेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको छ ।

सो अभियानका क्रममा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट गरी सात जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छ जना पुरुष र एक जना महिलालाई उद्धार गरी मानव सेवा आश्रमको हेमजा सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोलीले बुधबार दिनभर पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रहेका सहयोगापेक्षी मानवको उद्धार सेवामा खटिएको थियो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा गत असोज २८ गतेदेखि झापाको मेचीनगरदेखि उद्धार यात्रा सुरु भएको अधिकारीले जानकारी दिनुभयो ।

यात्राको २४ औँ दिन कास्कीको पोखरासम्म आइपुग्दा एक सय ७७ जना सडकआश्रित मानवको उद्धार गरिएको आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उद्धार गरिएकामा एक सय ३५ जना पुरुष र ४२ जना महिला छन् । त्यसमध्येमा पाँच बालिका र चार बालक रहेको बताइन्छ ।

यसैगरी मेची–महाकाली राष्ट्रिय उद्धार टोली बिहीबार तनहुँ र गोरखाका विभिन्न क्षेत्रमा रहेका सडकआश्रित मानवको उद्धार सेवामा खटिने कार्यक्रम रहेको जनाइएको छ । मानव सेवा आश्रमको देशका सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । आश्रमले विसं २०८२ भित्र नेपाललाई सडक पेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान

काठमाडौँ, २१ कात्तिक : इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पु¥याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।

त्यसपछि युएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको सजिलो काम हो भनेर दुबईबाट कुवेतमा लगी कुवेतस्थित एजेन्ट अफिसमा मानव बेचबिखन गरी बन्धक बनाई चरम श्रम र यौन शोषण गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले नेपाल फिर्ता गराउन अनुरोध गर्दा आरोपी राउतले पैसा मागेपछि उनले मागेबमोजिक रु छ लाख ७५ हजार रकम बुझाई नेपाल फर्कन सफल भएका थिए । त्यसपछि पीडितले गत जेठ ३१ गते ब्युरोमा जाहेरी दरखास्त दिएपछि राउतको खोजी सुरु भएको थियो ।

आवश्यक अनुसन्धान गर्दा रावत कुवेतमा रहेको भन्ने जानकारी पाएलगत्तै ब्युरोले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) मार्फत गएको असोज १८ गते रेड नोटिस जारी भएको थियो ।

सोही आधारमा कुवेतस्थित इन्टरपोल शाखाको सहयोगमा उनलाई पक्राउ गरी सोमबार नेपाल झिकाइएको प्रहरी उपरीक्षक रिमालले बताउनुभयो । अदालत पेस गरिएकोमा आज मङ्गलबारको थुनछेक आदेशले उनलाई कारागार चलान गरिएको रिमालले जानकारी दिनुभयो ।

सरकारको प्रवक्तामा मन्त्री राई

विराटनगर, २१ कात्तिक : कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप रु नौ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री राईले जानकारी दिनुभयो ।

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

विराटनगर, २१ कात्तिक : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सुदूरपश्चिम प्रदेशले हासिल गरेको छ । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा आज भएको फाइनल खेलमासुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

यसअघि सन् २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । जितसँगै बिजेता टोलीले रु दुई लाखसहित ट्रफी तथा उपविजेता लुम्बिनीले रु एक लाखसहित ट्रफी हात पारे ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई एक सय २७ रनको योगफल बनायो । सुदूरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दीपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाइ एक सय १९ रन मात्र बनाउन सक्यो । लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २÷२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद रु ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद रु २५ हजारसहित ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद रु तीन हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल

अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए । रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गर्नुभएको छ ।

धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो ।    युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए ।

बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।

“ट्रम्प ट्रेड पूर्ण गतिमा छ”, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भन्नुभयो ।

ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ । यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ ।

यसले मुख्य प्रतिद्वन्द्वीविरूद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध एक दशमलव पाँच प्रतिशतभन्दा बढीले बढ्यो । फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दैछ ।

“फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अङ्क कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ, ट्रम्पका नीतिहरू स्वाभाविक रूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दैछौँ”, स्कोप मार्केटका विश्लेषक जोशुआ महोनीले पूर्वानुमान गर्नुभयो ।

अमेरिकी ट्रेजरी प्रतिफलले पनि बुधवार समर्थन प्राप्त गरेको छ । 

“लगानीकर्ताहरूले शुल्क र (अमेरिकी) आप्रवासनमा कडाइका लागि तयारी गरिरहेका छन्, यी नीतिहरूलाई मुद्रास्फीतिका रूपमा मानिन्छ । यसले आगामी वर्षहरूमा ब्याजदर उच्च हुनसक्ने सङ्केत गर्दछ”, हाग्र्रिभ्स ल्यान्सडाउनका मनी एन्ड मार्केट्स प्रमुख सुसान्ना स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको राष्ट्रपतिको अर्थ ठूला प्रविधि र ठूला वित्तमा कम नियमहरू हुनेछन् भन्ने अपेक्षा उच्च छ ।”

ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि पूर्व–बजार अमेरिकी कारोबारमा टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।

– बिटक्वाइन रेकर्ड –

बिटक्वाइन छ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबीच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ”, स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको अर्को राष्ट्रपतिकालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उहाँका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ ।”