`

कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही

काठमाडौँ, २१ कात्तिक : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन (कोप–२९)मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताउनुभएको छ ।

नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “मन्त्रालयले संसदीय समितिबाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालासँग गरेका छलफल, कार्यशाला तथा अन्तक्र्रियाबाट प्राप्त सुझाव र विज्ञहरुले कोप–२९ का लागि तयार भएका विषयगत पत्रहरुको आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ ।” कोप–२९ यही नोभेम्बर ११ देखि २२ सम्म अजÞरबैजानको बाकु सहरमा हुँदैछ ।

यस पटकको कोप–२९ मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदै छ । मन्त्री शाहीले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद्को तेस्रो बैठकको मार्गनिर्देशन र जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनका सुझाव समेतलाई मध्यनजर गरी कोप–२९ मा समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित हुन आवश्यक रहेकोले यी विषयहरु नेपालले बहुपक्षीय तथा दुई पक्षीय वार्तामा उठाउने गरी मन्त्रालयले तयारी गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, यहाँस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयका कार्यवाहक आवासीय संयोजक एलिस अकुंगा, वन मन्त्रीका सल्लाहकार जलवायुविज्ञ डा माधव कार्की, आयोजक संस्थाका अध्यक्ष डा अर्जुन कार्की, फेकोफनका अध्यक्ष ठाकुर भण्डारीलगायतले नेपालमा जलवायु परिवर्तनले गरेको असर र नेपालले कोप–२९ मा उठाउनुपर्ने विषय तथा मुद्दाका बारेमा सुझाव दिनुभएको थियो ।

एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस

काठमाडौँ, २१ कात्तिक : नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो । जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौँ जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिनुभयो ।

नगरकमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

कीर्तिपुर नगपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको अध्यक्ष निरौलाले बताउनुभयो । अध्यक्ष निरौलाले कीर्तिपुर नगपालिकाको प्रमुख र महानगरको वडाध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने भएकाले जिल्ला कमिटीले सिफारिस गरिएको बताउनुभयो ।

अब एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट आएका सिफारिसको आधारमा निर्णय गर्नेछ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद खाली थियो । देशभरि आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार

कास्की, २१ कात्तिक : सार्वजनिकस्थल र सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेकाको उद्धार गर्ने उद्देश्यले मानव सेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको छ ।

सो अभियानका क्रममा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट गरी सात जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छ जना पुरुष र एक जना महिलालाई उद्धार गरी मानव सेवा आश्रमको हेमजा सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोलीले बुधबार दिनभर पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रहेका सहयोगापेक्षी मानवको उद्धार सेवामा खटिएको थियो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा गत असोज २८ गतेदेखि झापाको मेचीनगरदेखि उद्धार यात्रा सुरु भएको अधिकारीले जानकारी दिनुभयो ।

यात्राको २४ औँ दिन कास्कीको पोखरासम्म आइपुग्दा एक सय ७७ जना सडकआश्रित मानवको उद्धार गरिएको आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उद्धार गरिएकामा एक सय ३५ जना पुरुष र ४२ जना महिला छन् । त्यसमध्येमा पाँच बालिका र चार बालक रहेको बताइन्छ ।

यसैगरी मेची–महाकाली राष्ट्रिय उद्धार टोली बिहीबार तनहुँ र गोरखाका विभिन्न क्षेत्रमा रहेका सडकआश्रित मानवको उद्धार सेवामा खटिने कार्यक्रम रहेको जनाइएको छ । मानव सेवा आश्रमको देशका सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । आश्रमले विसं २०८२ भित्र नेपाललाई सडक पेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान

काठमाडौँ, २१ कात्तिक : इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पु¥याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।

त्यसपछि युएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको सजिलो काम हो भनेर दुबईबाट कुवेतमा लगी कुवेतस्थित एजेन्ट अफिसमा मानव बेचबिखन गरी बन्धक बनाई चरम श्रम र यौन शोषण गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले नेपाल फिर्ता गराउन अनुरोध गर्दा आरोपी राउतले पैसा मागेपछि उनले मागेबमोजिक रु छ लाख ७५ हजार रकम बुझाई नेपाल फर्कन सफल भएका थिए । त्यसपछि पीडितले गत जेठ ३१ गते ब्युरोमा जाहेरी दरखास्त दिएपछि राउतको खोजी सुरु भएको थियो ।

आवश्यक अनुसन्धान गर्दा रावत कुवेतमा रहेको भन्ने जानकारी पाएलगत्तै ब्युरोले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) मार्फत गएको असोज १८ गते रेड नोटिस जारी भएको थियो ।

सोही आधारमा कुवेतस्थित इन्टरपोल शाखाको सहयोगमा उनलाई पक्राउ गरी सोमबार नेपाल झिकाइएको प्रहरी उपरीक्षक रिमालले बताउनुभयो । अदालत पेस गरिएकोमा आज मङ्गलबारको थुनछेक आदेशले उनलाई कारागार चलान गरिएको रिमालले जानकारी दिनुभयो ।

सरकारको प्रवक्तामा मन्त्री राई

विराटनगर, २१ कात्तिक : कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप रु नौ करोड बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री राईले जानकारी दिनुभयो ।

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

विराटनगर, २१ कात्तिक : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सुदूरपश्चिम प्रदेशले हासिल गरेको छ । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा आज भएको फाइनल खेलमासुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

यसअघि सन् २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । जितसँगै बिजेता टोलीले रु दुई लाखसहित ट्रफी तथा उपविजेता लुम्बिनीले रु एक लाखसहित ट्रफी हात पारे ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई एक सय २७ रनको योगफल बनायो । सुदूरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दीपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाइ एक सय १९ रन मात्र बनाउन सक्यो । लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २÷२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद रु ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद रु २५ हजारसहित ट्रफी हात पारे । प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद रु तीन हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल

अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए । रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गर्नुभएको छ ।

धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो ।    युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए ।

बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।

“ट्रम्प ट्रेड पूर्ण गतिमा छ”, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भन्नुभयो ।

ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ । यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ ।

यसले मुख्य प्रतिद्वन्द्वीविरूद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध एक दशमलव पाँच प्रतिशतभन्दा बढीले बढ्यो । फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दैछ ।

“फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अङ्क कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ, ट्रम्पका नीतिहरू स्वाभाविक रूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दैछौँ”, स्कोप मार्केटका विश्लेषक जोशुआ महोनीले पूर्वानुमान गर्नुभयो ।

अमेरिकी ट्रेजरी प्रतिफलले पनि बुधवार समर्थन प्राप्त गरेको छ । 

“लगानीकर्ताहरूले शुल्क र (अमेरिकी) आप्रवासनमा कडाइका लागि तयारी गरिरहेका छन्, यी नीतिहरूलाई मुद्रास्फीतिका रूपमा मानिन्छ । यसले आगामी वर्षहरूमा ब्याजदर उच्च हुनसक्ने सङ्केत गर्दछ”, हाग्र्रिभ्स ल्यान्सडाउनका मनी एन्ड मार्केट्स प्रमुख सुसान्ना स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको राष्ट्रपतिको अर्थ ठूला प्रविधि र ठूला वित्तमा कम नियमहरू हुनेछन् भन्ने अपेक्षा उच्च छ ।”

ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि पूर्व–बजार अमेरिकी कारोबारमा टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।

– बिटक्वाइन रेकर्ड –

बिटक्वाइन छ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबीच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ”, स्ट्रिटरले भन्नुभयो, “ट्रम्पको अर्को राष्ट्रपतिकालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उहाँका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ ।”

चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता

कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् ।
उहाँको चुनावी जित पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन् ः

– जापान : नयाँ उचाइ –

प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताउनुभयो ।

– दक्षिण अफ्रिका –

सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी२० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताउनुयभो । 

– साउदी अरेबिया : नजिकको सम्बन्ध –

साउदी अरेबियाका राजा सलमान र उहाँका छोरा, वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाउनुभएको तारमा राजा सलमानले ‘दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन्’ भन्दै प्रशंसा गर्नुभएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनायो ।

– कतार : सुरक्षा र स्थिरता –

गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताउनुभयो ।

– टर्की : मेरा मित्र ट्रम्प –

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई’ बधाई दिनुभयो । “टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी सङ्कट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ”, उहाँले वक्तव्यमा भन्नुभयो ।

– इजिप्ट : शान्ति प्राप्ति –

राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गर्नुभयो । “म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु”, उहाँले भन्नुभयो । 

– दक्षिण कोरिया : गठबन्धन अझ उज्यालो चम्कने

राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भन्नुभयो, “तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।”

– इटाली : हार्दिक बधाई –

प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हार्दिक बधाई’ दिनुभयो । “इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन्”, उहाँले भन्नुभयो । 

– हङ्गेरी : सबैभन्दा ठूलो पुनरागमन –

युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भन्नुभएको छ ।

“उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत् उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो”, उहाँले फेसबुकमा लेख्नुभएको छ । 

सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन

सिरहा, २१ कात्तिक : छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरु छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् ।

लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताउनुभयो । नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।

दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरको सरसफाइ युनिट यहाँका पोखरी, नदी तथा जलाशयको सरसफाईमा परिचालित गरिएको हो ।”

सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदी तथा सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीसहित यहाँका स्थानीय पोखरी, गागन खोला, मैनावती खोला, सर्रे खोला, कमला सिँचाइ नहर तथा शाखा नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु भएको हो ।

जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा तथा नेपाल भारत सिमाना नजिकका हुलाकी बजारहरुमा छठमा प्रयोग हुने केराको घरी तथा अन्य प्रसाद सामग्रीको किनमेल गर्ने भक्तजनको घुइँचो बढेको छ ।

छठ पूजाका सामग्रीको मूल्य उच्च

यहाँका बजारमा छठ पूजाका सामग्रीको मूल्यमा उच्च वृद्धि भएको छ । यस वर्ष उखु प्रति लाँक्रा रु २०, नरिवल प्रतिगोटा रु ६०, भोगटे रु २०, केरा प्रतिघरी रु एक हजारसम्म बिक्री भइरहेको छ । छठको विशेष सामग्री माटोको हात्तीको मूल्य रु दुई सय तोकिएको छ । गत वर्षको तुलनामा उक्त सामग्रीको मूल्य दोब्बरले वृद्धि भएको भक्तजनको गुनासो छ ।

केरा व्यापारी श्रीप्रसाद गुप्ताका अनुसार पहाडी जिल्ला र कोशी प्रदेशको मोरङ, धनकुटा, सुनसरीबाट ल्याइने केरा यसवर्ष महँगोमा खरिद गर्नुपरेको छ ।
त्यसैगरी बजारमा ढकिया, नाङ्लो, र कोनियाको मूल्य पनि बढेको छ । ढकिया प्रतिगोटा रु चार सय, नाङ्लो रु तीन सय ५० र कोनिया रु एक सय ५० पुगेको छ ।

विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौँ, २१ कात्तिक : आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

बेहुलीझैँ सिङ्गारिँदै सुनसरीका छठ घाट

इनरुवा (सुनसरी), २१ कात्तिक : लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठका लागि सुनसरीका विभिन्न जलाशयका छठ घाट बेहुलीझैँ सिङ्गारिएका छन् । यहाँस्थित सप्तकोशी नदीसहितका धेरै जलाशयमा छठ घाट सिङ्गारिएका छन् । पूजाका लागि सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बूढीखोला, सुनसरी मोरङ सिँचाइ योजना नहर, कोशी कटान, कोशी ब्यारेज ताथ विभिन्न शाखा नहरलगायतका जलाशय किनारमा बाँस तथा केराको थाम गाडेर छठ घाट बनाइएको इनरुवाका स्थानीय चन्दन मेहताले बताउनुभयो ।

शङ्करपुर शाखा नहरअन्तर्गत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर, राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म घाट निर्माण भएका छन् । सीतागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर, सुनसरी खोला र मरिया खोलामा हजारौँको सङ्ख्यामा छठघाट निर्माण गरिएको मेहताले बताउनुभयो ।

सीमावर्ती क्षेत्रमा पानीको अभाव हुने ठाउँका वर्तालुका लागि हरिनगर गाउँपालिकाले जेसिबीको निःशुल्क व्यवस्था गरेको हरिनगर–४ का वडाध्यक्ष देवनारायण मेहताले बताउनुभयो ।

सदरमुकाम इनरुवासहित दुहवी, रामधुनी, बराहक्षेत्र, इटहरी, कोशी, लौकही, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढीसहितका स्थानीय बजारमा छठमा प्रयोग हुने प्रसाद सामग्रीको किनमेलका लागि भीड बढेको छ । बजारमा केरा, बाँसको सामग्री र माटोका सामग्रीको व्यापार ह्वात्तै बढेको छ । छठका लागि आवश्यक केराको कारोबारमा वृद्धि भएको इनरुवाका व्यापारी विनोद मेहताले बताउनुभयो ।

छठ पूजामा अनिवार्य प्रसादको रुपमा केरा प्रयोग हुने गर्छ । छठमा केराको अत्यधिक माग भएपछि सदरमुकाम इनरुवासहित विभिन्न बजारमा केराको मूल्य अन्य समयको तुलनामा तेब्बरले वृद्धि भएको उपभोक्ताले बताएका छन् ।

केरा यस वर्ष प्रतिकोसा रु ५० सम्म र प्रतिघरी पाँच सयदेखि रु एक हजार पाँच सयमा बिक्री भइरहेको स्थानीय नविता झाले बताउनुभयो ।

विगतमा प्रतिकोसा रु २५ सम्म र प्रतिघरी रु एक सय ५० देखि रु पाँच सयमा खरिद बिक्री भएको थियो । यस वर्ष महँगोमा खरिद गर्नुपरेको उपभोक्ताले बताएका छन् ।

यही असोज ११ र १२ गतेको बाढीका कारण केरा खेतीमा क्षति भएपछि मूल्य वृद्धि भएको उपभोक्ताको भनाइ छ । किसानले भने केराको मूल्य पाउँदा दङ्ग रहेको केरा व्यापारी रमेश मेहताले बताउनुभयो ।

त्यसैगरी छठका लागि आवश्यक उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, माटोका भाँडा, विद्युतीय चिम, प्लाष्टिकका फूल, अदुवाको बोट, हल्दीको बोटलगायतका सामग्रीको कारोबारमा वृद्धि भएको स्थानीयको भनाइ छ ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने

वालिङ (स्याङ्जा), २१ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताउनुभएको हो । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

काठमाडौँ, २१ कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसँैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले म¬ङ्गलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भन्नुभयो, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।”

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विाटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ ।

नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड,  पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले रु चार लाख ५८ हजार, उपविजेताले रु तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार पाउनेछन् ।

विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले  ३० हजार पाउनेछ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर  पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिए । प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे । 

साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् ।

नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उनले बताए । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् ।

क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । 

क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान  चार्टर गरेर एक सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताए । 

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो ।

प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ ।  

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

दमौली (तनहुँ), २१ कात्तिक : सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।

जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

यो वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो । यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार पाँच सय १० क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ । तेह्र हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ

यसैबीच, सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ । वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन् ।

जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा–३ का किसान वेलबहादुर दर्जीले बताउनुभयो ।

यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो । असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो ।

बेनी नगरपालिका वडा नं २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्याएको छभने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ ।

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौँ, २१ कात्तिकः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार

यस वर्ष डबलिनले प्यालेस्टिनी राज्यको औपचारिक मान्यता प्रदान गरेपछि आयरल्यान्डले मङ्गलबार पहिलो पटक पूर्ण प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार गरेको छ ।

वरिष्ठ मन्त्रीहरूले जिलान वहबा अब्दालमाजिदले आफ्नो हालको स्थिति प्यालेस्टिनी मिसन प्रमुखबाट प्यालेस्टिनी राजदूतमा बढुवा हुने पुष्टि गरे ।

मे महिनामा डबलिनले गाजा र पश्चिम किनारालाई समेट्ने ‘एक स्वतन्त्र र स्वायत राज्य’ का रूपमा प्यालेस्टिनको मान्यता प्रदान गर्ने र पूर्ण राजनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको थियो ।

स्पेन र नर्वेले आयरल्यान्डसँगै त्यही दिन प्यालेस्टिनी राज्यको मान्यता दिएका थिए भने स्लोभेनियाले एक हप्ता पछि मान्यता दिएको थियो । उक्त कदमले इजरायलबाट प्रतिक्रियात्मक कदम लिएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा भएका आक्रमणहरूपश्चात् क्षेत्रभर बढ़ेको हिंसाका कारण, आयरल्यान्ड र नर्वे प्यालेस्टिनको ठोस समर्थक रहे ।सेप्टेम्बर महिनामा प्यालेस्टिन र आयरल्यान्डबीच औपचारिक राजनीतिक सम्बन्ध स्थापित भएको थियो ।

गत महिनामा प्यालेस्टिनी प्राधिकरणले सन् १९६१ को भियना महासन्धिअन्तर्गत प्यालेस्टिनी दूतावास स्थापना गर्ने लक्ष्यको नोटिस डबलिनलाई दिएको थियो ।यो अपग्रेडले मिसनलाई भियना महासन्धिअन्तर्गत लागू हुने पूर्ण विशेषाधिकार र छुट हासिल हुनेछ ।

डब्लुएचओको ध्यान बुधबार गाजाबाट ठूलो चिकित्सा निकासीमा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार जारी साताको बुधबार गाजाबाट ठूलो मात्रामा चिकित्सा निकासीको योजना बनाएको बताएको छ । यसमा युद्धग्रस्त क्षेत्रबाट एक सयभन्दा बढी गम्भीर रूपमा बिरामी र घाइते रोगीहरू समावेश हुनेछन् ।

डब्लुएचओका अनुसार यसका सहयोगीहरूसँगै बुधबार उनीहरूले संयुक्त अरब इमिरेट्स र केहीलाई रोमानियामा विशेष उपचारका लागि एक सय १३ रोगीलाई निकाल्ने छन् ।

राष्ट्रसङ्घीय एजेन्सीले कार्यक्रम सफल भयो भने यो सन् २०२३ अक्टोबरपछिको गाजाबाट सबैभन्दा ठूलो निकासी हुने बताएको छ ।

प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पिपरकोर्नले उहाँहरू उद्धार कार्यक्रम अगाडि बढाउन आशावादी रहेको बताउनुभयो ।

उहाँले गाजा क्षेत्रका विभिन्न अस्पतालबाट रोगीहरूलाई खान युनिस दक्षिणमा रहेको गाजा युरोपेली अस्पतालमा ल्याउन प्रयास भइरहेको बताउनुभयो ।

बुधबार बिहान उनीहरूलाई केरेम शालोममा लगिनेछ र त्यहाँबाट संयुक्त अरब इमिरेट्स र रोमानियामा लैजाने गाजाबाट भिडियो कनेक्सनमार्फत जेनेभामा पत्रकारहरूलाई पिपरकोर्नले बताउनुभयो ।

यी रोगीहरू गाजामा चिकित्सकीय कारणले उद्धार हुन प्रतीक्षारत लगभग १४ हजारमध्येका हुन् । “उनीहरूमध्ये आधा युद्धको कारण घाइते भएका छन् र अरू गम्भीर रोगहरू जस्तै क्यान्सरबाट पीडित छन्”, उहाँले भन्नुभयो ।

हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमा घातक आक्रमणपछि गाजा युद्ध सुरु भएदेखि क्षेत्रबाट कम्तीमा पाँच हजारजनालाई चिकित्सकीय निकासी गरिएको छ ।

त्यसका साथै मे महिनाको सुरुमा इजरायलले गाजाको प्रमुख रफाह सीमा क्रस्सिङ बन्द गरेदेखि महिनामा मात्र दुई सय ८२ जना बाहिर जान सकेका छन् । तीमध्ये एक–तिहाइ बच्चा रहेको पिपरकोर्नले जानकारी दिनुभयो ।

उहाँले गाजाबाट अत्यन्त आवश्यक चिकित्सा निकासीका लागि ‘तदर्थ’ पहुँचप्रति दुःख व्यक्त गर्नुभयो । “हामीलाई नियमित पहुँच चाहिन्छ… जुन उचित रूपमा समर्थित, सुविधा प्रदान गरिनेछ र अनावश्यक रूपमा खतरनाक बनाइनेछैन”, उहाँले भन्नुभयो, “हामीलाई चिकित्सा करिडोर चाहिन्छ र यो प्रारम्भिक चिकित्सा करिडोर हामीले मूलतः पुनःस्थापना गर्न अनुरोध गर्छौं त्यो गाजाबाट पूर्वी जेरुसेलम र पश्चिमी किनारमा रेफर गर्ने परम्परागत मार्ग हो, र… इजिप्ट फेरि खोल्नु पर्ने दोस्रो चिकित्सा करिडोर हो ।”

छठका लागि भारतबाट ५० लाखका केरा आयात

जलेश्वर (महोत्तरी), २१ कात्तिकः जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रु ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताउनुभयो । पहिलेपहिले रु २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष रु ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताउनुभयो ।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन्भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले रु ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।

खानेपानीको वितरण सहज बनाउन मन्त्री यादवको निर्देशन

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा सहज रुपमा खानेपानी सेवा उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यकाका खानेपानी संरचनामाथि भएका अध्ययन प्रतिवेदनका सम्बन्धमा मन्त्रालयमा आयोजित अन्तरक्रियामा मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा खानेपानीको दीगो व्यवस्थापनका लागि वित्तीय, प्राविधिक, कानुनी पाटोमा समयसापेक्ष सुधार गरी संविधान प्रदत्त खानेपानी सेवा सहज रुपमा उपलब्ध गराउन म निर्देश गर्छु ।” उहाँले पानी वितरणमा देखिएको समस्याकाे दीर्घकालीन समाधानमा लाग्न समेत निर्देशन दिनुभएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

त्यसअवसरमा विज्ञ डा महेश भट्टराईले खानेपानी क्षेत्रका सम्बन्धमा सुधारका लागि हालसम्म भएका अध्ययनहरु समावेश प्रस्तुतीकरण गर्नुभएको थियो ।

काठमाडौँ उपत्यकामा खानेपानीको सहज आपूर्तिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा चाल्नुपर्ने कदममाथि छलफल भएको मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।

अन्तक्रियामा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, आयोजना कार्यान्वयन निर्देशनालयलगायतका प्रतिनिधिले सरकारको नीतिअनुसार थप व्यवस्थित र चुस्त बनाउने विषय विषयमा धारणा राख्नुभएको थियो ।

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरूबाट रु २९ लाख सात हजार दुई सय ५४ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जुवाताससम्बन्धी कसुरमा पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ ।

पक्राउ पर्नेमा कैलालीबाट सबैभन्दा बढी एक सय ८४ र कञ्चनपुरबाट एक सय ५९ जुवाडे रहेका छन् । यसैगरी डोटीमा १२, डडेलधुरामा २८, अछाममा नौ र बझाङमा पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेशका सबै नौ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न थप चार हजार सुरक्षाकर्मीसमेत गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । सामान्य अवस्थामा नागरिकको सुरक्षाका लागि प्रदेशमा सात हजार पाँच सय प्रहरी खटिने गरेका छन् ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ठाउँठाउँमा पिकेट टोली, मोबाइल टोली, स्ट्राइकिङ, पैदल गस्ती र सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए ।

सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विष्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइएको थियो ।

राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँगको बैठकमा अर्थमन्त्री पौडेलले औषतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनुभएको हो ।

सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनुभयो । संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व सङ्कलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मीलगायत अन्तर निकायसँग समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व सङ्कलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ ‘एक्सन’ लिन पनि उहाँले निर्देशन दिनुभएको जनाएको छ ।

अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताउनुभयो । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

यस वर्षको तिहारमा ५० करोडको फूल बेचियो, सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा

काठमाडौँ, २१ कात्तिकः यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो ।
काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उहाँले बताउनुभयो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन्भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन), २१ कात्तिकः रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ ।

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौँ, २१ कात्तिकः आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभयो ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

मङ्सिर २ गते उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।

मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ ।

महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ ।

आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता

उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले सहभागिता जनाउने छन् ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

पाटन (ललितपुर), २१ कात्तिक : तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । 

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । 

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ । 

यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पु¥याए भनिन्छ । अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको चित्रकारको भनाइ छ । 

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको अध्यक्ष चित्रकारले बताउनुभयो । “कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उहाँले भन्नुभयो ।

मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाच प्रचारप्रसार समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायको भनाइ छ । 

“सत्ताइस दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भन्नुभयो । 

कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउनुहुन्छ । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष दस दिन देखाइदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उहाँले भन्नुभयो । 

लामो समय नाच देखाउन आर्थिक अभाव हुने कलाकार राजोपाध्यायको भनाइ छ । “एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । हामीले कात्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौँ । यसलाई एक महिनासम्म सञ्चालन गर्न सकिने अवस्था तत्काल छैन । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कलाकारहरुले व्यावसायिक रुपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उहाँको भनाइ छ । “कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ, कलाकारहरु विदेश पलायन हँुदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गइरहेको छ भने अर्कोतर्पm सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन”, उहाँ भन्नुहुन्छ । 

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रुपमा रु दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रुपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रुपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ । साथै कलाकारलाई पढ्नका लागि छात्रवृत्ति तथा स्वास्थ्य क्षेत्रमा बिमाको व्यवस्था गर्ने समेत रहेको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । 

अक्षयकोष स्थापनाका लागि ललितपुर महानगरपालिकाले रु एक करोड, वडा नं १६ ले रु १० लाख गराइसकेको र वडा नं. ११ ले यसै वर्ष रु नौ लाख उपलब्ध गराउने भएको छ । 

नाच सञ्चालनका लागि महानगरको उद्योग पर्यटन तथा संरक्षण समितिले रु ३० लाख, वडा नं. १६ ले रु ५० हजार, वडा नं. १९ ले रु ७५ हजार, एनसेन फाउण्डेशनले रु दुई लाख र सम्झना ल्यावोरोटोरीले रु ५० हजार उपलब्ध गराउने कलाकार सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिनुुभयो ।

छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ, २१ कात्तिक : पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।

एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो । 

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको राससलाई जानकारी दिनुभयो । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो, “विषेश दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौँ ।” 

प्रतिसेकेण्ड चार सय लिटर

समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी  छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भन्नुभयो, “मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”

मेलम्ची खानेपानी विकास समिति भन्छ ः दश करोड लिटरसम्म छाड्न सक्छौँ

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । “मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौ”, उहाँले भन्नुभयो, “हामीले सापटीका रुपमा पानी ल्याएका थियौ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी वाग्मती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी वाग्मती नदीमा बगाउन सक्छौँ ।”

मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उहाँको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताउनुभएको छ ।

धाम ड्याम एक महत्व अनेक

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाम ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ ।  योसँगै यस ड्यामले वाग्मती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ । 

पर्यटकीय महत्व पनि उस्तै

धाम ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो । दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिनुभएको छ । 

वर्खामा पानी जम्मा गर्ने, हिउँदमा नदीमा छाड्ने

धाम ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्खामा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोडिने आयोजनाको लक्ष्य छ । 

एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा वाग्मती नदीमा पानी छोड्ने गरिन्छ । ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । आयोजनाका अनुसार यो ड्याममा हाल साढे १३ लाख घनमिटर पानी जम्मा भएको छ ।

सम्भव भएन दैनिक पानी छाड्न

धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा वाग्मती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ । नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको बताउनुहुन्छ उप–निर्देशक नेपालको भनाइ छ ।

“हिउँदको सुक्खा समयमा वाग्मतीमा पानीको सतह  बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौ, तर त्यति परिणमले खासै उपलब्धि नहुने रहेछ”, उहाँले भन्नुभयो, “परिणाम देखिनका लागि प्रतिसेकेण्ड चार सय लिटर पानी आवश्यक पर्छ,  त्यति पानी छाड्नका लागि ड्यामको क्षमता छैन ।”

उहाँले हाल नागमती ड्याम निर्माणको तयारी भइरहेको र नागमती ड्याम निर्माण सम्पन्न भएपछि नदीमा पानी बढाउन सम्भव रहेको बताउनुभएको छ । “अहिले शिवरात्रिमा तीन दिन, बालाचतुर्दशीमा दुई दिन, मातातिर्थ औसीमा एक दिन, छठ पर्वमा दुई दिन, मकर संक्रान्तीमा एक दिन पानी छाड्छौ । यसैगरी हरिबोधनी एकदशीमा एक दिन, माधव नारायण मेलाको पहिलो र अन्तिम दिन गरी दुई दिन, रामनवमीमा एक दिन, नयाँ वर्षमा एक दिन ड्यामको पानी वाग्मती नदीमा बगाइन्छ”, उहाँले भन्नुभयो । 

मेलम्ची र वाग्मतीबीच पानी साटफेर

गत जेठमा मेलम्ची खानेपानी विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा वाग्मती सुधार आयोजनाबीच मेलम्ची खानेपानी आयोजना बन्द भएको समयमा धाप ड्यामबाटै खानेपानी ल्याएर उपोक्तालाई पानीको आपूर्ती सहज गर्ने सहमति भएको थियो । धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखामार्फत केयुकेएललाई प्रवाह गर्ने सहमति भएको थियो । उक्त सहमतिमा सुक्खा यामको समयमा भने सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्नाको स्वरुप वाग्मती नदीमा प्रवाह गर्ने उल्लेख छ ।

वर्षा याममा मनसुनसुन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन मेलम्चीको ढोका बन्द गरिएको थियो । मेलम्ची बन्द भएपछि उपत्यकामा पानीको अभाव हुन नदिन धाप ड्यामको पानी केयूकेयललाई सापटी दिइएको हो । 

नागमती ड्याम पनि बन्दै

वाग्मतीमै पानीमा सतह बढाउने लक्ष्यका साथ नागमती ड्याम पनि निर्माण हुने भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सुरु हुने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार रु २५ अर्बको लागत लाग्ने अनुमान गरिएको यस परियोजनाको वातावरणीय प्रभाव मूल्याकङ्नका लागि वन तथा वातावरण मन्त्रालय पुगेको छ । उक्त ड्याम निर्माण पूरा भएमा सुक्खा यामको नौ महिनामै वाग्मती नदीमा वर्षा याममा जस्तै पानी बग्नेछ । 

के छ छठको महत्व ?

छठ पूजा विशेष गरेर नेपालका तराई क्षेत्रका नेपालीहरूको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । छठमा विशेषगरी महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् । 

छठ पर्व चार दिनसम्म मनाइन्छ । यस पर्वका निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्त्व हुने गर्छ । छठ पूजा कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ । यसमा नुहाउने, खाने, खरना, संध्या अर्घ्य र बिहानको अर्घ्य दिने दिन जस्ता विभिन्न चरणहरू हुन्छन् । मानव र प्रकृतिलाई छाड्ने पर्वको रुपमा पनि छठ पर्वलाई लिने गरिन्छ । 

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २१ कात्तिकः जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध छ ।

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

धरान (सुनसरी), २१ कात्तिकः बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो ।

अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहुनभएको छ । 

हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।”

उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भुइँकटहर प्रतिगोटा रु एक सयदेखि रु एकसय ५० सम्म बिक्री गर्दै आउनुभएको छ । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ । 

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । 

उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।

यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

काठमाडौँ, २१ कात्तिकः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । “विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ”, महानिर्देशक अधिकारीले भन्नुभयो । 

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।   आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो ।

   नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ ।

 नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । 

टीआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् ।  

पटक–पटक विमानस्थल विस्तार र मर्मत

देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ, २१ कात्तिकः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।

मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ । 

साथै आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । 

बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा

महोत्तरी, २१ कात्तिक : लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।  

श्रद्धा, निष्ठा, समर्पणभाव  र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । 

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा  ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अघ्र्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलपूmल सूर्यदेवलाई देखाउने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । 

अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी (मधेशी) मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ । 

यस पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउनुहुन्छ ।

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै

काठमाडौँ, २१ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले  कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

 सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने ‘एजेण्डा’ बारे विभिन्न तहमा तयारी भइरहेको बताइएको छ । सम्मेलन यही कात्तिक २६ सुरु भइ मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भइ राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी

विराटनगर, २० कात्तिक : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् ।

प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २० दशमलव ५ ओभरमै सबै विकेट गुमाई ७५ रनमा सीमित भएको थियो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए । यस्तै दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले तीन÷तीन विकेट लिए । 

आजै वैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । यस खेलअघि  प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो ।  टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन् । मधेसका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए । 

७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेसका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए । 

लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमध्ये ५ मा जीत र १ मा पराजित हुँदै १० अङ्कका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनी ६ मध्ये ५ खेलमा जीत र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । 

यस्तै गण्डकी ६ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ तेस्रो, मधेस ६ मध्ये ३ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ मध्ये २ मा जीत र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ पाँचौ स्थानमा, कर्णाली ६ मा २ मा विजयी र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ छैठौँ स्थानमा र कोसी ६ खेलमा १ मा जीत र ५ खेलमा पराजित हुँदै २ अङ्कका साथ पुछारमा रहेको छ ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौँ : मन्त्री पौडेल

राजविराज (सप्तरी), २० कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताउनुभएको छ ।

सप्तरीको राजविराज–१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलल प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताउनुभयो ।

उहाँले चिकित्सा शिक्षा अध्ययनतर्फको स्नातक तह (एमबिबिएस) को पढाई सञ्चालन गर्ने उद्देश्यका लागि प्रतिष्ठानका पूर्वाधार निर्माण गर्न लागिएको र यसलाई व्यवस्थित गरेमा जनताले सजिलै लाभ लिन सकिने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । अब पूर्वाधार निर्माणका लागि बोलपत्र गरी चाँडै काम अघि बढाइने छ ।” 

प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यस वर्ष आवश्यक पूर्वाधार निर्माणका लागि रु ४० करोड बजेट छुट्याए पनि बोलपत्र आह्वान हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । 

विसं २०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।  ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेसँगै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो । 

रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ, २० कात्तिक : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका छन् । एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ ।

छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

कैलाली, २० कात्तिकः विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ ।

छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने यस पर्वका लागि घाटमा पूजाकक्ष निर्माणदेखि सजावटका कामहरू भइरहेको उहाँले बताउनुभयो ।

घाटमा दुई सय ५० जति पूजास्टल निर्माण गरिएका छन् । ती पूजास्टलमा टेन्ट, बत्ती, रङ्गीचङ्गी माला, पताका लगायतले सजाउने काम भइरहेको छ । यस्तै, भक्तजन तथा दर्शनार्थीहरूलाई पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरी पेन्टिङ तथा सजाउने काम गरिरहेका छन् ।

पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुत गरिने अध्यक्ष मण्डलको भनाइ छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमका लागि छिमेकी मुलुक भारतबाट समेत कलाकार निम्त्याइएको उहाँले बताउनुभयो ।

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, २० कात्तिक : संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली हिजै यहाँ आइपुगेको छ । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो ।

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

काठमाडौँ, २० कात्तिक : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गर्नुभएको छ । इजिप्टको कायरोमा आज भएको ‘सहर र जलवायु सङ्कट’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो ।

नेपालजस्ता विकासोन्मुख देशले धेरै कम कार्वन उत्सर्जन गरेता पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष आग्रह गर्नुभयो ।

“एकातिर नेपालमा तीव्रगतिमा सहरिकरण बढिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका असरका रुपमा अतिवृष्टि, अनावृष्टि, बेमौषमी वर्षा, बाढी, पहिरो, हिम पहिरो, हिम ताल विष्फोटनलगायत जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटना बढिरहेकाले हरेक वर्ष लाखौँ मानिसहरू प्रभावित हुनुपरेको छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेपाल सरकारले सहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको उहाँले स्पष्ट पार्नुभयो । नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनःनिर्माण र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरे पनि विपद्का घटना धेरै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गाह्रो भएको बताउनुभयो ।

विपद्पश्चात राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी र साझेदार सङ्घसंस्थाले गरेको सहयोगका लागि पनि उहाँले प्रशंसा गर्नुभयो । विश्व वाटर अपरेटर्स पार्टनरसीप अलाइन्स (गोपा)को सत्रमा पनि वक्ता रहनुभएका उपप्रधानमन्त्री सिंहले जलवायुजन्य विपद्जस्तै बाढीबाट खानेपानी र सरसफाइका क्षेत्रमा परिररहेको असरबारे पनि विश्वसमुदायको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी सहरी विपन्न वर्गमा ठूलो असर देखिएकाले विपद् उत्थानशील संरचना निर्माणमा नेपाल सरकार अग्रसर रहेको भन्दै यसमा संयुक्त राष्ट्रसङ्घलगायत साझेदार सङ्घसंस्थाको साथ सहयोग अपरिहार्य रहेको व्यहोरा विश्वसमुदाय समक्ष गर्नुभयो ।