`

छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

कैलाली, २० कात्तिकः विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ ।

छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिनुभयो । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने यस पर्वका लागि घाटमा पूजाकक्ष निर्माणदेखि सजावटका कामहरू भइरहेको उहाँले बताउनुभयो ।

घाटमा दुई सय ५० जति पूजास्टल निर्माण गरिएका छन् । ती पूजास्टलमा टेन्ट, बत्ती, रङ्गीचङ्गी माला, पताका लगायतले सजाउने काम भइरहेको छ । यस्तै, भक्तजन तथा दर्शनार्थीहरूलाई पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरी पेन्टिङ तथा सजाउने काम गरिरहेका छन् ।

पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुत गरिने अध्यक्ष मण्डलको भनाइ छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमका लागि छिमेकी मुलुक भारतबाट समेत कलाकार निम्त्याइएको उहाँले बताउनुभयो ।

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, २० कात्तिक : संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर विमानमार्फत त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका एक सय ३५ जना शान्ति सैनिकको टोली हिजै यहाँ आइपुगेको छ । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा रहेको टोली स्वदेश फर्किएको हो ।

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

काठमाडौँ, २० कात्तिक : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गर्नुभएको छ । इजिप्टको कायरोमा आज भएको ‘सहर र जलवायु सङ्कट’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो ।

नेपालजस्ता विकासोन्मुख देशले धेरै कम कार्वन उत्सर्जन गरेता पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष आग्रह गर्नुभयो ।

“एकातिर नेपालमा तीव्रगतिमा सहरिकरण बढिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका असरका रुपमा अतिवृष्टि, अनावृष्टि, बेमौषमी वर्षा, बाढी, पहिरो, हिम पहिरो, हिम ताल विष्फोटनलगायत जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटना बढिरहेकाले हरेक वर्ष लाखौँ मानिसहरू प्रभावित हुनुपरेको छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेपाल सरकारले सहरी नीति र विकास रणनीति पुनरावलोकन गर्दै जलवायुमैत्री बनाएको उहाँले स्पष्ट पार्नुभयो । नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनःनिर्माण र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरे पनि विपद्का घटना धेरै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गाह्रो भएको बताउनुभयो ।

विपद्पश्चात राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी र साझेदार सङ्घसंस्थाले गरेको सहयोगका लागि पनि उहाँले प्रशंसा गर्नुभयो । विश्व वाटर अपरेटर्स पार्टनरसीप अलाइन्स (गोपा)को सत्रमा पनि वक्ता रहनुभएका उपप्रधानमन्त्री सिंहले जलवायुजन्य विपद्जस्तै बाढीबाट खानेपानी र सरसफाइका क्षेत्रमा परिररहेको असरबारे पनि विश्वसमुदायको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी सहरी विपन्न वर्गमा ठूलो असर देखिएकाले विपद् उत्थानशील संरचना निर्माणमा नेपाल सरकार अग्रसर रहेको भन्दै यसमा संयुक्त राष्ट्रसङ्घलगायत साझेदार सङ्घसंस्थाको साथ सहयोग अपरिहार्य रहेको व्यहोरा विश्वसमुदाय समक्ष गर्नुभयो ।

भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव

काठमाडौँ, २० कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधानका लागि मन्त्रालय भूमिगत पानीलाई व्यवस्थापन गर्न लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । चुरे दोहन र जलवायु परिर्वतनका कारण तराईका जिल्लामा चापाकल सुक्दै गएका छन् । पानीको समस्या समाधनका लागि हामी अगाडि बढिरहेका छौँ ।”

यसैगरी मन्त्री यादवले ‘एक घर, एक नल’ को परियोजनाअन्तर्गत काम गर्नेगरी तयारी गर्दै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिरोले खानेपानीका क्षेत्रमा पनि करिब रु छ अर्ब बराबरको क्षति भएको छ । तर बाढीले क्षति पु¥याएका आयोजना मर्मत वा पुनःनिर्माण गर्ने बजेट मन्त्रालयसँग छैन ।” 

बाढीले क्षति गरेका खानेपानीका क्षेत्रमा अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनःनिर्माण गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले करिब रु छ अर्ब बढीको क्षति भएको छ । खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र विभिन्न आयोजनाअन्तर्गतका खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ । प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ ।”

सवारी दुर्घटनामा परी चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

चितवन, २० कात्तिकः बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन् । दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए । 

यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् ।

चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो । प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, “सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो । ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन् ।” 

दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकास्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी पदेशसभा सदस्य मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो ।

विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।

ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । उक्त अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गर्यो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ

रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो ।

यो तैनाथीले युद्धको एक हजार दिनको माइलस्टोन नजिकिँदै गर्दा युद्धलाई नयाँ स्वरूप दिएको छ । “पहिलो उत्तर कोरियाली सैनिकहरूमाथि कुर्स्क क्षेत्रमा गोलाबारी गरिएको छ”, युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेख्नुभयो । उहाँले थप विवरण दिनुभएन ।

उत्तर कोरियाली सैनिकहरूलाई रूसको कुर्स्क सीमा क्षेत्रमा पठाइने पश्चिमी सरकारहरूले अपेक्षा गरेका थिए । त्यहाँ युक्रेनी सेनाको तीन महिने घुसपैठ दोस्रो विश्वयुद्धपछि रूसी भूमिको पहिलो कब्जा हो र यसले क्रेमलिनलाई लज्जित बनाएको छ ।

अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले १२ हजारसम्म उत्तर कोरियाली लडाकू सैनिक युद्धमा पठाउँदैछ । लडाइँको गुणस्तर र युद्ध अनुभव अज्ञात रहेका उत्तर कोरियाली सैनिकहरू युद्धक्षेत्रमा युक्रेनको बिग्रँदो स्थितिमा थप भइरहेका छन् ।

युक्रेनी सुरक्षा विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रमा रूसको महँगो तर निरन्तर महिनौँ लामो आक्रमणको दबाबमा भत्किँदै छ ।    रूसी अग्रगमन हालै तीव्र भएको छ । उसलाई डोनेट्स्कका केही भागहरूमा नौ किलोमिटरसम्मको युद्धक्षेत्र लाभ भएको बेलायती रक्षा मन्त्रालयले मङ्गलबार सामाजिक प्लेटफर्म एक्समा बताएको छ ।

रूससँग उच्च सैन्य सङ्ख्या रहेको र भारी क्षति भए पनि क्रेमलिनको भर्ती अभियानले दबाब कायम राख्न पर्याप्त नयाँ सैनिकहरू प्रदान गरिरहेको मन्त्रालयले बताएको छ ।     रूसले पछिल्लो एक वर्षदेखि युक्रेनमा युद्धक्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

अक्टोबरको सुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्त्वपूर्ण पहाडमाथि रहेको भुह्लेदार शहरबाट युक्रेनी सैनिकहरूलाई लखेटेका थिए ।   यो पूर्वमा युक्रेनी सुरक्षाको एक प्रमुख हिस्सा थियो । रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्त्त्वपूर्ण चासिभ यार शहर रहेका छन् । 

  यसैबीच अधिकारीहरूका अनुसार रूसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको छ ।  दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बताउनुभयो ।

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौँ, २० कात्तिक : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ ।

 बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् । विमानस्थल विस्तारपछि एयरलाइन्सको उडान व्यवस्थापनमा पनि सहजता हुने भएकाले अहिलेको निर्धारित मर्मतको समय सान्दर्भिक रहेको प्रवक्ता कर्णले बताउनुभयो ।

 इन्ट्रुमेन्ट फ्लाईट राडर ‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भए पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी भिजुअल फ्लाइट रुल्स ‘भीएफआर’ गन्तव्यहरूमा भिजिविलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ ।

 कम्पनीले जारी गरेको ६ बुँदे निर्देशिकामा समयमै उडान भर्न पर्याप्त विमानहरू रहे पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको उल्लेख छ । उपयुक्त कारणहरुले टिकटमा तोकिएको समयभित्रै विमानस्थल ‘चेक–इन’ काउण्टरमा रिर्पोटिङका लागि पुग्न पनि कम्पनीले यात्रुलाई अनुरोध गरेको छ ।

उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ । खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने कम्पनीले उल्लेख गरेको छ ।

 उडान रद्द भएका टिकटलाई ‘रिफण्ड प्रोसेसिङ’ गरिने र त्यसका लागि तीनदेखि चार दिनको समय लाग्नेछ । एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध नगराइने कम्पनीले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ ।

सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

काठमाडौँ, २० कात्तिकः सरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको उक्त रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गर्नुभएको हो । उहाँले मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको हो ।

थारु बहुल क्षेत्र र समुदायलाई पायकपर्ने गरी उक्त अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट उक्त समुदायका करिब १२ प्रतिशत नागरिक प्रभावित भएको मन्त्रालयको आँकलन छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत भू–भागमा बसोबास गर्ने थारु समुदायका नागरिक सिकलसेल एनिमियाबाट बढी प्रभावित भएको पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम हाल सरकारले यस रोगको उपचारका लागि रु एक लाखसम्म निःशुल्क खर्चको व्यवस्था गरेको छ ।

अफगानिस्तानमा दादुराका केसहरूमा वृद्वि

अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ । यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

“सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भन्नुभयो ।

उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिनुभयो ।

दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो । दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ ।

दादुराबाट सङ्क्रमित व्यक्तिले आफूसँग नजिकको सम्पर्कमा आएका १० जनामध्ये खोप नदिइएका नौ जनालाई सङ्क्रमण गर्न सक्छ ।

भूपेन्द्र अमेरिका जाने

काठमाडौँ, २० कात्तिक : गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने भएका छन् ।

क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ३० राष्ट्रका दुई सय ५० भन्दाबढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा भूपेन्द्रले यसअघि तीन स्वर्णपदक जितिसकेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्याण्डमा भएको सातौँ विश्व कुङ्फु च्याम्पियनसिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४औँ राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

भूपेन्द्रलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङ्फु सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई र आदिवासी खेलकुद सङ्घ नेपालका प्रशिक्षक इजिकेल परियारले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । भूपेन्द्र बुधबार अमेरिका प्रस्थान गर्नेछन् ।

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौँ, २० कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो ।

यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।

सो समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनुभयो ।

ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।

नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई ‘भिषा फ्रि’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ ।

‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’

काठमाडौँ, २० कात्तिकः स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिएको बताउनुभएको छ ।

आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बिमा दर्ता तथा नवीकरण गर्नसक्ने व्यवस्था लागू गर्न सम्झौता गरिएको बताउनुभयो ।

कार्यकारी निर्देशक डा बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले बिमा दाबी भुक्तानीमा समस्या भए पनि ऐन तथा कार्यविधि मै रहेर भुक्तानी गरिने बताउनुहुँदै हालको तीन महिनाको अन्तरमा भुक्तानी भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य बिमालाई दिगो बनाउन गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले बेहोरीदिने प्रयोजनका लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्ने, सूचना प्रविधिलाई स्तरोन्नति गरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआइ) का माध्यमबाट सञ्चालन गर्नुपर्ने, स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्ने, बिमामा आबद्ध नभइ सरकारबाट उपलब्ध गराइने कुनै पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध नगराउने गरी निःशुल्क स्वास्थ्य सेवालाई बिमासँग आबद्ध गर्ने सुझाव दिनुभयो ।

“यो कार्यक्रम गरिब तथा विपन्न नागरिकको उपचार गर्ने निकै सहयोगी बनेको छ । हामी अहिले बिमा कार्यक्रमको सुरुआती चरणमा छौँ । विकसित देशहरूमा स्मार्ट कार्डबाट सेवा लिन पाइन्छ, हाम्रोमा पनि भविष्यमा त्यो लागू हुन्छ होला”, कार्यकारी निर्देशक डा बसौलाले भन्नुभयो ।

विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुआत भएको यो कार्यक्रममा जनसङ्ख्याअनुसार ३० प्रतिशत आबद्ध भएका छन्भने नवीकरण दर ७९ प्रतिशत रहेको छ ।

ह्यारिस वा ट्रम्प : अमेरिकाले कडा चुनावमा निर्णय गर्दै

अमेरिकी मतदाताहरूले मङ्गलबार असाधारण रूपमा अस्थिर चुनावको फैसला गर्दैछन् । फैसलाले या त कमला ह्यारिसलाई अमेरिकी इतिहासको पहिलो महिला राष्ट्रपति बनाउनेछ वा डोनाल्ड ट्रम्पलाई विश्वभर तरङ्ग ल्याउने कमब्याक दिनेछ ।

चुनाव दिनमा पहिलो मतदान केन्द्रहरू खुल्दा ६० वर्षीया डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र ७८ वर्षीय रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्प आधुनिक समयको सबैभन्दा कडा र अस्थिर ह्वाइट हाउस दौडमा बराबरीमा हुनुहुन्छ ।

कडा प्रतिद्वन्द्वीहरूले आफ्नो अभियानको अन्तिम दिन आफ्ना समर्थकहरूलाई मतदान गर्न प्रेरित गर्न र स्विङ राज्यहरूमा बाँकी रहेका अनिर्णित मतदाताहरूलाई जित्ने प्रयासमा बिताउनुभयो ।

यद्यपि अभियानमा भएका धेरै आश्चर्यजनक मोडहरूका बाबजुद – जुलाईमा राष्ट्रपति जो बाइडेनको पद त्यागबाट ह्यारिसको नाटकीय प्रवेशदेखि लिएर ट्रम्पको दुई वटा हत्या प्रयास र एक आपराधिक दोषी ठहरबाट बचाएसम्म – कुनै पनि कुराले जनमत सर्वेक्षणमा गतिरोध तोड्न सकेको छैन ।

पूर्वी तटमा स्थानीय समयानुसार बिहान ६ः०० बजे मतदान केन्द्रहरू खुले । करोडौँ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ । यसका साथै विगत हप्ताहरूमा पहिले नै आठ करोड २० लाखभन्दा बढी मानिसले अग्रिम मतदान गरिसकेका छन् ।

नतिजाहरू जनमत सर्वेक्षणले सुझाव गरे जस्तै नजिक भएमा अन्तिम परिणाम थाहा पाउन केही दिन लाग्न सक्छ । यसले गहिरो रूपमा विभाजित राष्ट्रमा तनाव थप्नेछ ।

साथै यदि ट्रम्पले हार्नुभयो र सन् २०२० मा जस्तै नतिजालाई चुनौती दिनुभयो भने उथलपुथल र यहाँसम्म कि हिंसाको समेत डर छ । ह्वाइट हाउस वरिपरि अवरोधहरू खडा गरिएका छन् र वासिङ्टनमा व्यवसायहरू बन्द गरिएका छन् ।

नतिजाले मध्यपूर्वको द्वन्द्व, युक्रेनमा रूसको युद्ध र ट्रम्पले धोका भन्नुभएको जलवायु परिवर्तनको सामना गर्नमा ठूलो प्रभाव पार्ने भएकाले विश्वले निर्वाचनलाई चिन्तापूर्वक हेरिरहेको छ ।

– हरेक एक मत महत्त्वपूर्ण छ –

ह्यारिस र ट्रम्प सात मुख्य स्विङ राज्य – एरिजोना, जर्जिया, मिशिगन, नेभादा, नर्थ क्यारोलाइना, पेन्सिल्भेनिया, विस्कन्सिनमा प्रभावकारी रूपमा बराबरीमा हुनुहुन्छ ।

मतदानको अघिल्लो दिन ह्यारिसले जित्नै पर्ने पेन्सिल्भेनिया राज्यमा सबै जोड लगाउनुभयो । ‘रकी’ चलचित्रले प्रसिद्ध बनाएको फिलाडेल्फियाको सिँढीमा र्याली गर्दै घोषणा गर्नुभयो, “गति हाम्रो पक्षमा छ ।”

“तथापि यो इतिहासको सबैभन्दा नजिकको दौडहरू मध्ये एक हुनसक्छ – हरेक एक मत महत्त्वपूर्ण छ”, लेडी गागा र ओप्रा विन्फ्रेसहित सेलिब्रिटीहरूसँग जोडिनुभएकी ह्यारिसले सावधान गराउनुभयो ।

दोषी ठहर हुनुभएका र राष्ट्रपति बन्ने सबैभन्दा उमेर पुगेको व्यक्ति हुनुहुने ट्रम्पले आफूलाई टर्मिनल पतनमा रहेको र ‘जङ्गली’ आप्रवासीहरूले कब्जा गरेको देशको विनाशकारी दृष्टिको एकमात्र समाधानको रूपमा प्रस्तुत गर्नुभयो ।

“भोलि तपाईंको मतले हामी हाम्रो देशले सामना गरिरहेको हरेक समस्या समाधान गर्न सक्छौँ र अमेरिका – वास्तवमै, विश्वलाई – नयाँ उचाइमा नेतृत्व गर्न सक्छौँ”, ट्रम्पले नर्थ क्यारोलाइना र पेन्सिल्भेनिया भ्रमण गरेपछि महत्त्वपूर्ण स्विङ राज्य मिशिगनको ग्र्यान्ड र्यापिड्समा आफ्नो अन्तिम र्यालीमा भन्नुभयो ।

यसैबीच ह्यारिसले संयुक्त राज्य अमेरिकाभरि ट्रम्प–समर्थित गर्भपतन प्रतिबन्धको आफ्नो विरोधमा जोड दिनुभयो । यो महत्त्वपूर्ण महिला मतदाताहरूसँग उहाँको एक प्रमुख मत–विजयी स्थिति हो ।

तर उहाँले सकारात्मक स्वर पनि प्रहार गर्नुभयो र हप्तौँसम्म ट्रम्पलाई आफ्ना राजनीतिक विरोधीहरूमाथि बदला लिने उहाँको फोहोरी बयान र दोहोरिएको धम्कीका लागि लोकतन्त्रको खतराको रूपमा सीधै लक्षित गरेपछि उल्लेखनीय रूपमा ट्रम्पको नाम उल्लेख गर्न बच्नुभयो ।

– इतिहास रचियो –

ट्रम्पको कमब्याक ऐतिहासिक हुनेछ । उहाँ सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बन्नुहुनेछ ।

ट्रम्पको फर्काइले तुरुन्तै अन्तर्राष्ट्रिय अस्थिरतालाई बढावा दिनेछ । युरोप र नाटोका अमेरिकी सहयोगीहरू उहाँको एकान्तवादी ‘अमेरिका पहिलो’ नीतिहरूबाट चिन्तित छन् । व्यापारिक साझेदारहरूले उहाँको व्यापक आयात शुल्क लगाउने प्रतिज्ञालाई चिन्तापूर्वक हेरिरहेका छन् ।

ह्यारिसको जितले अमेरिकालाई आफ्नो पहिलो अश्वेत महिला र दक्षिण एशियाली राष्ट्रपति दिनेछ र करिब एक दशकदेखि अमेरिकी राजनीतिमा हावी रहेको ट्रम्प युगको अन्त्यको सङ्केत दिनेछ ।

ट्रम्पले सन् २०२८ मा फेरि चुनाव नलड्ने बताउनुभएको छ ।

तथापि रिपब्लिकनले अझै पनि उहाँले सन् २०२० को चुनावमा बाइडेनसँग निष्पक्ष रूपमा हारेको स्वीकार गर्न अस्वीकार गर्छन् र नतिजाको प्रमाणीकरण रोक्न उहाँका समर्थकहरूले अमेरिकी क्यापिटलमा गरेको हिंसात्मक आक्रमणको आघात अझै गम्भीर छ ।

ट्रम्पले अर्को हार स्वीकार नगर्ने सङ्केत दिनुभएको छ र अभियानको अन्तिम दिनहरूमा निराधार चुनावी धाँधली दाबीहरू उठाउँदै ‘मैले कहिल्यै ह्वाइट हाउस छोड्नु नपर्ने थियो’ भन्नुभएको छ ।

अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिनुभएको छ । मङ्गलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ सिएनएनका अनुसार कनेक्टिकट, न्युजर्सी, न्युयोर्क, न्युह्याम्पशायर र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्रहरू अहिले खुला छन् ।

इन्डियाना र केन्टकीमा मतदान पहिले नै सुरु भइसकेको छ र मध्य समय क्षेत्रका केही क्षेत्र भारतीय समयानुसार साँझ ५ः३० बजे खुलेका छन् ।मेनमा सबै मतदान स्थलहरू खुला छन् तर पाँच सयभन्दा कम जनसङ्ख्या भएका केही नगरपालिका भारतीय समयानुसार राति ८ः३० बजे खुल्न सक्छन् ।

न्युह्याम्पशायर राज्यको डिक्सभिल नच टाउनशिपले दशकौँ लामो परम्परा अनुरूप मध्यरातमा (स्थानीय समय) मतदान गरेको छ । हाल ह्यारिस र ट्रम्प तीन–तीन मतमा बराबरीमा हुनुहुन्छ ।

अमेरिकी मतदाताहरू आफ्नो सबैभन्दा महत्त्वपूर्ण चुनावमा मतदान गर्न जाँदैछन् । मतदानले केवल अमेरिकाको मात्र नभई अबको चार वर्षसम्म विश्व भू–राजनीतिमा समेत प्रभाव पार्ने दिशा तय गर्नेछ ।

मतदान समय राज्यपिच्छे फरक हुनेछ तर धेरैजसो स्थानमा मङ्गलबार (स्थानीय समय) बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मतदान हुनेछ । मतदान सुरु भएपछि एग्जिट पोल आउन थाले पनि सबै राज्यमा मतगणना सकिएपछि मात्र अन्तिम नतिजा आउनेछ ।

पहिलो मतदान जर्जियासहित छ राज्यमा पूर्वी समयअनुसार साँझ ७ बजे (भारतीय समयानुसार बिहान ५ः३० बजे) मा बन्द हुनेछ । अन्तिम मतदान ब्लु स्टेट हवाई र रेड स्टेट अलास्कामा पूर्वी समयअनुसार बिहान १२ बजे (भारतीय समयानुसार बिहान १०ः३० बजे) मा बन्द हुनेछ ।

कूल मतदान पूर्वी समयअनुसार दिउँसो १ बजे (भारतीय समयानुसार बिहान ११ः३० बजे) सम्ममा बन्द हुनेछ । त्यसपछि मतगणना सुरु हुनेछ । साना राज्यहरूको नतिजा मतदान सकिएलगत्तै प्रक्षेपण गर्न सकिन्छ । केही प्रमुख युद्धभूमि राज्यमा विजेता प्रक्षेपण गर्न घन्टौँ लाग्न सक्छ ।

धेरै अन्य पार्टीको उपस्थिति भए पनि अमेरिकी दौड डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच छ । उपराष्ट्रपति कमला ह्यारिस पदासीन डेमोक्रेटकी उम्मेदवार हुनुहुन्छ र उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्ने लक्ष्यमा हुनुहुन्छ । निर्वाचित भएमा उहाँ संयुक्त राज्य अमेरिकाको पहिलो भारतीय मूलको राष्ट्रपति पनि हुनुहुनेछ ।

अर्कोतर्फ रिपब्लिकन उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हुनुहुन्छ । उहाँ सन् २०२० मा कटु बहिर्गमनपछि ह्वाइट हाउसमा ऐतिहासिक कमब्याक गर्ने लक्ष्यमा हुनुहुन्छ । विशेषगरी यदि ट्रम्पले जित्नुभयो भने यो एक सय वर्षभन्दा बढी समयमा ह्वाइट हाउसमा कुनै राष्ट्रपतिले दुई गैर–लगातार कार्यकाल सेवा गरेको पहिलो उदाहरण हुनेछ ।

धेरैजसो सर्वेक्षणले ट्रम्प र ह्यारिसबीच धेरै नजिकको दौड भविष्यवाणी गरेका छन् । सबै अग्रता त्रुटिको मार्जिनभित्र प्रक्षेपित छन् ।एबिसी न्युजको ‘फाइभ थर्टी एट’ प्लेटफर्मले प्रदान गरेको राष्ट्रिय सर्वेक्षणअनुसार ह्यारिस (४८) ले डोनाल्ड ट्रम्प (४६.९) विरुद्ध १ प्रतिशत विन्दुको सामान्य अग्रता लिनुभएको छ ।

एनबिसी न्युज र एमर्सन कलेजले दुई उम्मेदवारबीच राष्ट्रियस्तरमा ४९%–४९% को टाई प्रक्षेपण गरेका छन् । इप्सोसले ह्यारिसलाई तीन अङ्कको अग्रता (४९%–४६%) प्रक्षेपण गरेको छ भने एटलसइन्टेलले ट्रम्पलाई दुई अङ्कको अग्रता (५०%–४८%) प्रक्षेपण गरेको छ ।

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

काठमाडौँ, २० कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताउनुभएको थियो ।

मन्त्री खड्काले आइएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउनुहुँदै उक्त पदमा विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बुढीगण्डकी जलविद्युत् परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । आइएसएका कार्यक्रमलाई अगाडि बढाउन आइएसए र नेपालबीच चाँडै द्विदेशीय साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री खड्काको जोड थियो ।

भेटमा आइएसएका अध्यक्ष एवम् भारतीय समकक्षी जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन आइएसए कोषबाट आर्थिक सहयोग गरिने बताउनुभयो ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंहलगायत नेपाली प्रतिनिधिमण्डलका साथै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।

नेकपा (एकीकृत समाजवादी) : ‘एक पद एक व्यक्ति’ को संरचना

काठमाडौँ, २० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताउनुभयो ।

अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ ।

पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिनुभयो ।

कोप–२९ : नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै

काठमाडौँ, २० कात्तिकः नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उहाँले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नुहुनेछ ।

यसका साथै नेपालले आफ्ना एजेण्डा माथि विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । सम्मेलनकक्षमै अलग कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल सरकारले युएनएफसिसिसी सचिवालयबाट अनुमतिप्राप्त गरिसकेको छ ।

मन्त्री शाहीका अनुसार यसपटकको सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना हुने छ । बैठकमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधिको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

कोप–२९ मा नेपालको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उहाँले सम्मेलनमा हुने सम्बन्धित विषयका सत्र, वार्ता, छलफल र प्राविधिक सत्रमा प्रभावकारी र उपलब्धिपूर्ण सहभागिताका लागि विषयगत विज्ञ समूह बनाइएको बताउनुभयो ।

यसका साथै नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्र भई आफ्ना प्रतिबद्धता पूरा गर्दै आएको छ । नेपालले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयनसमेत गरिरहेको छ ।

गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा पनि नेपालले हिमालका मुद्दाबारे विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीको नेतृत्वमा सम्मेलनकक्षमै उच्चस्तरीय बैठकको आयोजना गरेको थियो ।

नेपालले यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको कोप–१५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको कोप–२४ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा सम्पन्न कोप–२७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सहभागिता जनाएको थियो ।

वनसचिव डा दीपककुमार खरालले कोप–२९ को तयारीका लागि मन्त्रालयले राष्ट्रिय मार्गदर्शन तयार गरी सोहीअनुसार कार्य गरेको बताउनुभयो । कोप–२९ सम्मेलन विशेषगरी जलवायु वित्तमा बढी केन्द्रित हुने जानकारी गराउँदै उहाँले भन्नुभयो, “यसबाहेक जलवायुका लक्ष्य हासिल गर्न नयाँ नीति, योजना र कार्यक्रम तय गरेर जानुपर्छ भन्ने छभने अर्कातिर जलवायुका असर न्यूनीकरणका लागि लगानी प्रविधि तथा क्षमता विस्तार गरेर जानुपर्छ भनेर तय भएको छ ।” ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुप दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताइएको छ ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले नेपालले कार्बन व्यापार, न्यूनीकरण, अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण, जलवायु वित्त, क्षमता विकास, पारदर्शिता र सुशाासन, पर्वतीय मुद्दामा विधागत समूह निर्माण गरी प्रदेश तहसम्मका सुझाव लिएर राष्ट्रिय स्थिति पत्र तयार गरिएको बताउनुभयो । मन्त्रालयले कोप–२९ का लागि तयार गरेको राष्ट्रिय स्थिति पत्रमा हानि तथा नोेक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नोभेम्बर ५ र ६ तरिखमा कम विकसित मुलुक (एलडिसिज) को समूहगत तयारी बैठक हुने, ९ र १० तारिखमा जि ७७ एण्ड चाइना समूहको बैठक हुने र ती दुवै समूहका बैठकमा नेपाल सहभागी हुने छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्य विमल रेग्मीले कोप–२९ मा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र चासोेअनुसार हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो । “हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरलाई प्राथमिकताका साथ उठाउनुपर्छ, नेपालको जलवायु सङ्कटको समाधानका लागि यो अपरिहार्य पनि छ, यसमा अरु मुलुकको कम चासो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

धानखेत मासेर किबीखेती : बजारमा उच्च माग

गलकोट (बागलुङ), २० कात्तिकः एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ ।

गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ ।

किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उहाँजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

“सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।”

बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूलखेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ई कँडेलले यो वर्ष रु तीन लाख बढीको किबी बिक्री गर्ने लक्ष्य लिनुभएको छ ।

पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताउनुभयो । उहाँले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिनुभयो ।

“बीस क्विन्टल किबी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “एकपटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने ।” किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउनुहुन्छ ।

किबीको उत्पादन बढेपछि रु छ सय पर्ने किबीको मूल्य भने घटेर रु तीन सय प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गर्दै आउनुभएको छ । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताउनुभयो । आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूलखेतीमा आकर्षण गर्न आफैँबाट सुरु गरेको बताउनुभयो ।

बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

केही नयाँ हुनुहुन्छ भने केही किबीका पुराना किसान हुनुहुन्छ । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताउनुभयो ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो ।

धानखेत मासेर किबीखेती : बजारमा उच्च माग

गलकोट (बागलुङ), २० कात्तिकः एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ ।

गत वर्ष पाँच सय केजी किबी बजार पठाउनुभएका उहाँको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ ।

किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उहाँजस्ता सयौँ किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

“सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।”

बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूलखेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ई कँडेलले यो वर्ष रु तीन लाख बढीको किबी बिक्री गर्ने लक्ष्य लिनुभएको छ ।

पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताउनुभयो । उहाँले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिनुभयो ।

“बीस क्विन्टल किबी फलेको छ, एकैपटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “एकपटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारीखेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने ।” किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउनुहुन्छ ।

किबीको उत्पादन बढेपछि रु छ सय पर्ने किबीको मूल्य भने घटेर रु तीन सय प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबीखेती गर्दै आउनुभएको छ । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताउनुभयो । आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूलखेतीमा आकर्षण गर्न आफैँबाट सुरु गरेको बताउनुभयो ।

बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

केही नयाँ हुनुहुन्छ भने केही किबीका पुराना किसान हुनुहुन्छ । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताउनुभयो ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो ।

पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ, २० कात्तिकः वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो ।

साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो । उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

रुसले निजी इरानी उपग्रहहरू कक्षमा प्रक्षेपण गर्ने

एक रुसी रकेटले मङ्गलबार बिहान दुईवटा निजी क्षेत्रद्वारा निर्मित इरानी उपग्रहहरूलाई कक्षमा प्रक्षेपण गर्ने मस्कोस्थित इरानी दूतावासवले बताएको छ । मस्को र तेहरानबीचको नजिकको अन्तरिक्ष सहयोगको रूपमा यसलाई स्वागत गरिएको छ ।

युक्रेनमाथिको रुसी सैन्य कारबाही र मध्यपूर्वमा भइरहेको द्वन्द्वका बीच यी दुई देशले सम्बन्ध र व्यापार बढाएका छन् । यसमा अन्तरिक्ष प्रक्षेपण उनीहरूको बढ्दो साझेदारीको एउटा पक्ष मात्र हो । 

“इरान–रुस वैज्ञानिक र प्राविधिक सहयोगको विकासको निरन्तरतामा दुईवटा इरानी उपग्रह – कोस्वार र होधहोद – पाँच सय किलोमिटरको कक्षमा प्रक्षेपण गरिनेछ”, मस्कोमा इरानका राजदूत काजेम जलालीले सोमबार सामाजिक सञ्जालमा भन्नुभयो ।

उहाँका अनुसार प्रक्षेपण तेहरान समयअनुसार ०२ः४८ (सोमबार २३ः१८ जीएमटी) मा रुसी सोयुज रकेट प्रयोग गरेर हुनेछ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार इमेजिङ र सञ्चार उपग्रहहरू इरानको ओमिद फजा कम्पनीद्वारा डिजाइन र निर्माण गरिएका हुन् र यसले कृषि, वातावरणीय अनुगमन र दूरदराजका क्षेत्रहरूमा सञ्चारलाई सहयोग गर्नेछ ।

रुसले पहिले पनि केही इरानी उपग्रहहरू प्रक्षेपण गरेको थियो तर जलालीका अनुसार यो निजी क्षेत्रको पहिलो पहल हो ।

“यी दुई उपग्रहको प्रक्षेपणसँगै इस्लामिक गणतन्त्र इरानको निजी क्षेत्रको अन्तरिक्ष क्षेत्रमा प्रवेशको दिशामा एउटा दृढ र निर्णायक पहिलो कदम चालिने आशा छ”, उहाँले भन्नुभयो ।

उही प्रविधि आणविक–सज्जित ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गर्न पनि प्रयोग गर्न सकिने भन्ने डरले पश्चिमी देशहरूले इरानको नवोदित अन्तरिक्ष कार्यक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।

तेहरानले उसको अन्तरिक्ष कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावसँग मेल खाने बताएको छ । सुरक्षा परिषद्ले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई सीमित गर्ने लक्ष्य राख्छ ।    मस्कोलाई युक्रेनमाथिको आक्रमणमा इरानी सैन्य हार्डवेयर र प्रविधि विशेषगरी स्व–विस्फोटक शाहेद ड्रोनहरू प्रयोग गरेको आरोप लगाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको ‘जानाजानी आक्रमण’ को निन्दा गर्नुभएको छ । “म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उहाँले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा भन्नुभयो, “हाम्रा कूटनीतिज्ञहरूलाई डराउने कायरतापूर्ण प्रयासहरू पनि त्यस्तै भयावह छन् ।”

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले भारत सरकारले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएपछि भारत र क्यानाडाबीचको सम्बन्ध बिग्रिएको छ ।

भारतको विदेश मन्त्रालयले क्यानाडाको आरोपलाई बारम्बार अस्वीकार गरेको छ र नयाँदिल्लीले ओटावालाई दशकौँदेखि धार्मिक चरमपन्थीहरूलाई शरण दिएको आरोप लगाएको छ । 

यद्यपि उग्र कूटनीतिक विवादमा मोदीको यो पहिलो टिप्पणी थियो । “हिंसाका यस्ता कार्यहरूले भारतको सङ्कल्पलाई कहिल्यै कमजोर पार्दैन । हामी क्यानाडा सरकारले न्याय सुनिश्चित गर्ने र विधिको शासन कायम राख्ने अपेक्षा गर्दछौँ”, उहाँले भन्नुभयो ।

अनियन्त्रित भई पोखरीमा कार डुब्यो, दुईजना बेपत्ता

बरहथवा (सर्लाही), २० कात्तिकः सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ । कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु, आज नहाय खाय

महेन्द्रनगर (धनुषा), २० कात्तिकः आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।

छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्य भगवान्लाई अघ्र्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइँएको छ ।

गङ्गासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ । गङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गर्नुभएको छ । उहाँले छठ घाटमा अघ्र्य लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिङ गरिएको बताउनुभयो ।

उहाँले पछिल्लो तीन वर्ष प्रतिअघ्र्य रु पाँच सय ५१ निर्धारण गरिएकामा यस वर्ष रु पाँच सयमात्र निर्धारण गरिएको बताउनुभयो । गङ्गासागरमा गङ्गासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरङ्ज युवा क्लबले छठको तयारी गर्ने गरेको छ ।

जनकपुरधामको प्रसिद्ध गङ्गासागर, धनुष सागर तथा अङ्गराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइउको छ । यसका लागि यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ । जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठपर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।

चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

भजनी (कैलाली), २० कात्तिकः प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।

भजनी–५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन लाएका हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताउनुभयो । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो । 

रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ । झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको विकले जानकारी दिनुभयो । “आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकताअनुसार उद्योग सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ ।”

दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताउनुभयो । उहाँले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहेने उल्लेख गर्नुभयो । “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ । यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो”, कार्कीले भन्नुभयो, “हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ ।”

भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गर्नुभयो । प्लास्टिकको झोला बजारमा प्रतिकेजी रु तीन सयमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उहाँको भनाइ छ । 

स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताउनुभयो । “धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा व्यापारी महँगोमा झोला खरिद गर्न चाहिरहनुभएको छैन ।” 

गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास उहाँहरुको छ ।

बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

पाटन (ललितपुर), २० कात्तिकः गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो । 

बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै पाउनुभएन । 

“पहिरो यति तीव्र गतिमा झ¥यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो । 

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो । 

“भ¥याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो ।

डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो । 

बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो ।

मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो । 

“मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उहाँहरुले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भन्नुभयो, “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।” 

वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उहाँले भन्नुभयो । 

वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एक/दुई दिनमा वितरण गर्नेछौँ”, उहाँले भन्नुभयो । 

विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताउनुभयो । 

“विस्तापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरुलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरुप पाउनेछ”, प्रमुख फुयाँलले भन्नुभयो ।

महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

बैतडी, २० कात्तिकः नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोसीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे । 

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७.३ ओभरमा एक सय ८३ रनमा समेटियो । सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए । 

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ ।  प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन् ।

छठ पर्व आजदेखि विधिपूर्वक सुरु, यस्तो छ धार्मिक विश्वास

जलेश्वर (महोत्तरी), २० कात्तिकः मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लालकर्णले बताउनुभयो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको पुजारी पाठकले बताउनुभयो ।

पहिलापहिला तराई मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौँसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सुनसरीमा पनि छठको तयारी सकियो

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठको सम्पूर्ण तयारी पूरा भएको छ । तिहार सकिएसँगै छठ पर्व मनाउन जुटेका सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्नेहरुले पर्वको तयारी सकेका हुन् ।

इनरुवासहित कोसी, भोक्राहा, हरिनगर, देवानगञ्ज, धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, गढी, बर्जु गाउँपालिकामा बसोबास गर्ने छठको तयारी पूरा भएको इनरुवाका मिथलेश झाले बताउनुभयो । छठ पर्वका लागि आवश्यक पर्ने सामग्री जुटाउनुका साथै घाट ओगट्नेलगायत काम पूरा भएको स्थानीय हरिनगरका चन्दन मेहताले जानकारी दिनुभयो ।

केहीदिनदेखि छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरालगायत सामग्री खरिद गर्नेको बजारमा घुइँचो लागेको गौरी यादवले उल्लेख गर्नुभयो । जिल्लाको आसपासमा रहेका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामान कतिपय व्यापारीले सवारीसाधनको प्रयोग गरेर गाउँघरमा पु¥याएका छन् ।

छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेसँगै व्यापार पनि वृद्धि भएको व्यवसायीले बताएका छन् । छठ पर्वमा केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत सामग्री अत्यधिक खपत हुने भएकाले समयमा नै आवश्यक सामग्री जुटाइएको स्थानीय यादवले बताउनुभयो ।

एकघरी केराको मूल्य अहिले रु पाँच सयदेखि रु आठ सयसम्म पुगेको व्यापारीले बताएका छन् । छठ पर्वमा केराको सिङ्गै घरी प्रसादका रुपमा चढाउनुपर्ने भएकाले बजारमा केराको माग बढेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

वासिङ्टन डिसी (अमेरिका), २० कात्तिकः विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।

सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ ।

निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।

मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहनुभएको छ ।

स्वीङ्ग राज्यहरु निर्णायक

अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित हुनुभएको थियो । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।

पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।

कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

नेपालीहरुको मत निर्णायक हुन सक्छ ?

व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।

नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुग्नुभएका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताउनुभयो । शनिबार मात्रै उहाँको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुट्नुभएका भण्डारी हरेक मतको मूल्य हुने बताउनुभयो ।

भण्डारीले भन्नुभयो, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।”

“राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले भन्नुभयो ।

पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उहाँले धारणा राख्नुभयो । 

स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भन्नुभयो, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।”

पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”

पेन्सलभेनियामा नै बस्दै आउनुभएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गर्नुभयो । यसैगरी प्रकाश ढुङ्गानाले भन्नुभयो, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।”

नेपालीहरु पनि दुवै पक्षधर

आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् । 

ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण 

अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ । 

चुनावी र्‍यालीको अन्तिम

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गर्नुभएको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको छ ।

अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् । 

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत चयन

काठमाडौँ, १९ कात्तिक : विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा भारत चयन भएको छ ।

भारतको नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भारतले नेतृत्व लिएको हो । यस्तै, सहअध्यक्षमा फ्रान्स चयन भएको छ भने महानिर्देशकमा भारतका आशिष खन्ना निर्वाचित हुनुभएको छ ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल भएको नेपालबाट सहभागी विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिनुभयो ।

उक्त सम्मेलनका क्रममा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल जलविद्युत्को धनी देश भए पनि नेपालमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेकाले यसको सही सदुपयोग गर्नका लागि आइएसएको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो

ऊर्जामन्त्री खड्काले सौर्य ऊर्जाको विकासका लागि नीतिगत समन्वय र क्षमता अभिवृद्धि जस्ता विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमार्फत नेपालले धेरै फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले घर र कृषिको सौर्यकरणमा आइएसए सम्मेलन ठूलो अवसरसमेत भएको बताउनुभयो ।

मन्त्री खड्काले जलविद्युत र सौर्य ऊर्जामार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताउँदै गठबन्धन देशबीचको सहकार्यबाट ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायतका विभिन्न सात कार्यक्रममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ ।

क्यानाडाको हिन्दू मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा

टोरन्टो नजिकैको हिन्दू मन्दिरमा भएको हिंसात्मक झडपमा केहीले सिख कार्यकर्ताहरूलाई दोष लगाएपछि भारतले सोमबार क्यानाडालाई आफ्ना नागरिकहरूको रक्षा गर्न माग गरेको छ ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठुलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले भारत सरकारले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएपछि भारत र क्यानाडाबीचको सम्बन्ध बिग्रिएको थियो ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसअघि टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटनको हिन्दू मन्दिरमा आइतबार भएको हिंसा ‘अस्वीकार्य’ भएको बताउनुभएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओटावालाई भारतीय नागरिकहरूको सुरक्षाका लागि चिन्तित रहेको भन्दै पूजा स्थलहरूको सुरक्षा गर्न आह्वान गर्नुभयो ।

“हिन्दू सभा मन्दिरमा चरमपन्थी र पृथकतावादीहरूले गरेको हिंसाको हामी निन्दा गर्दछौँ”, जयसवालले विज्ञप्तिमा भन्नुभयो ।सामाजिक सञ्जालमा प्रसारित भिडियोमा पहेंँलो खालिस्तानको झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिहरूसहित प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ । त्यहाँ अलग–अलग मुक्कासहित झगडा पनि भएको भिडियोले देखाउँछ ।

“हामी क्यानाडा सरकारलाई सबै पूजास्थलहरू यस्ता आक्रमणहरूबाट सुरक्षित भएको सुनिश्चित गर्न आह्वान गर्दछौँ”, जयसवालले भन्नुभयो, “हिंसामा संलग्नहरूलाई मुद्दा चलाइनेछ भन्ने पनि हामीले आशा गरेका छौँ । हामी क्यानाडामा भारतीय नागरिकहरूको सुरक्षाका बारेमा गहिरो चिन्तित छौँ ।”

निज्जरको हत्या बाहेक क्यानाडाले क्यानाडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी भारतले व्यापक अभियान चलाएको आरोप लगाएको छ । यसमा धम्की र हिंसा समावेश रहेको ओटावाले बताएको छ ।

क्यानाडाली प्रधानमन्त्री ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले क्यानाडाको सार्वभौमिकता उल्लङ्घन गरेको आरोप लगाउनुभयो । भारतले यी आरोपहरूलाई अस्वीकार गरेको छ ।

नयाँदिल्लीले शनिबार गृहमन्त्री अमित शाहले क्यानाडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गर्ने षड्यन्त्र गरेको कुरा अस्वीकार गरेको थियो र ओटावालाई ‘अर्थहीन र आधारहीन’ आरोपमाथि आधिकारिक रूपमा झपारेको बताएको छ ।

यस महिनाको सुरुमा नयाँदिल्ली र ओटावाले एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए ।

नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने

काठमाडौँ, १९ कात्तिक : आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ । उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि

धनुषा, १९ कात्तिक : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताउनुभएको छ ।

महोतरीका कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधीले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताउनुभयो । निधिले भन्नुभयो, “मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

सर्वपक्षीय सर्वदलीय सङ्र्घषपछि कांग्रेसको नेतृत्वमा सङ्घीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाइएको बताउँदै उहाँले स्व शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गर्नुभयो ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले स्व मिश्र लोहरपट्टी मात्र होइन देशकै सपुत रहेको बताउनुभयो । कांग्रेस महोतरीका सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिनुभएको थियो ।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टीसहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधीलाई आग्रह गर्नुभयो

जर्मनीकी शीर्ष कूटनीतिज्ञ किएभमा, अमेरिकी चुनावले युद्धमा पार्नसक्ने प्रभावका लागि युक्रेन तयार

जर्मनीकी शीर्ष कूटनीतिज्ञ सोमबार अघोषित भ्रमणमा युक्रेनी राजधानी किभ पुग्नुभएको छ । यो भ्रमण अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा युक्रेनप्रति युरोपेली समर्थनको प्रदर्शनका रूपमा देखिएको छ । अमेरिकी चुनावले रुसको पूर्ण आक्रमणप्रति वाििङ्टनको नीतिमा व्यापक परिवर्तन ल्याउन सक्छ ।

जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो हतियार आपूर्तिकर्ता हो । जर्मन विदेशमन्त्री अन्नालेना बेयरबकले बर्लिनको समर्थन अटल रहने प्रतिबद्धता जनाउनुभयो ।

जर्मन समाचार एजेन्सी डिपिएका अनुसार उहाँले भन्नुभयो, “विश्वभरका धेरै साझेदारहरूसँगै जर्मनी दृढतापूर्वक युक्रेनको साथमा छ । हामी युक्रेनीहरूलाई त्यतिबेलासम्म समर्थन गर्नेछौँ जतिबेलासम्म उनीहरूलाई न्यायपूर्ण शान्तिको बाटोमा अघि बढ्न आवश्यक पर्छ ।”

युक्रेनका लागि युद्ध महत्त्वपूर्ण मोडमा छ । रुसी सेनाले युद्धभूमिमा विस्तारै प्रगति गरिरहेको छ र रुसले युक्रेनी विद्युत् प्रणालीमा निरन्तर आक्रमण गरिरहेकाले अर्को कठोर जाडो आउँदैछ ।

अमेरिकी मतदानअघि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनका पश्चिमी समर्थकहरूलाई दीर्घकालीन ‘विजय योजना’ मा बाँध्ने प्रयास गर्नुभयो । यसमा युक्रेनलाई नाटोमा औपचारिक आमन्त्रण र रुसमा सैन्य लक्ष्यहरूमा आक्रमण गर्न पश्चिमी लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति समावेश थियो तर किएभका अधिकारीहरूका लागि प्रतिक्रिया निराशाजनक रह्यो ।

रुसले आफ्नो राम्रो सङ्ख्याको प्रयोग गरेर अग्रपङ्क्तिमा युक्रेनी स्थितिहरूमा दबाब बढाइरहेको छ । युक्रेनका शीर्ष कमान्डर जनरल ओलेक्जान्डर सिर्स्कीले शनिबार उहाँका सैनिकहरू युद्धको ‘सबैभन्दा शक्तिशाली (रुसी) आक्रमणहरू’ मध्ये एकलाई रोक्न सङ्घर्ष गरिरहेको बताउनुभयो ।

पश्चिमी गुप्तचर स्रोतहरूका अनुसार रुसले अब आफ्नो आक्रमणमा मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले पठाएका करिब १० हजार उत्तर कोरियाली लडाकू सैनिकहरूको बल थपिरहेको छ ।

यसले जेलेन्स्कीको पश्चिमी सहयोगप्रतिको कुण्ठा बढाएको छ । उहाँले शनिबार सहयोगीहरूलाई ‘हेरिरहन’ छोडेर उत्तर कोरियाली सैनिकहरू युद्धभूमिमा पुग्नुअघि कदम चाल्न आग्रह गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “उत्तर कोरियाली सैनिकहरूलाई कुन रुसी शिविरहरूमा तालिम दिइँदैछ भन्ने किएभलाई थाहा छ तर रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न पश्चिमी–निर्मित लामो दूरीका हतियारहरू प्रयोग गर्न सहयोगीहरूको अनुमतिबिना युक्रेनले तिनीहरूमाथि आक्रमण गर्न सक्दैन ।”

अधिकारीहरूका अनुसार बेयरबक किभ पुगेको केही घन्टापछि हवाई सुरक्षाद्वारा अवरोध गरिएका ड्रोनका अवशेषहरू शहरका दुई जिल्लामा खस्दा साना आगलागीहरू भए । किएभ शहर प्रशासनका प्रमुख सेर्हिई पोप्कोका अनुसार आक्रमणबाट कुनै मानिस वा सम्पत्तिमा क्षति पुगेन ।

क्षेत्रीय प्रहरीका अनुसार आइतबार राति रुसी ग्लाइड बम आक्रमणमा उत्तरपूर्वमा रहेको युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा १५ जना घाइते भए ।

युक्रेनी वायु सेनाका अनुसार रुसले राति युक्रेनी शहरहरूमा करिब ८० शाहेद ड्रोन प्रहार गरेको थियो ।

लाहोरमा खतरनाक वायु गुणस्तरका कारण प्राथमिक विद्यालयहरू एक हप्ताका लागि बन्द

सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

एक करोड ४० लाख जनसङ्ख्या भएको लाहोर शहरमा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी र अन्य रोगहरूबाट जोगाउने बृहत्तर प्रयासको हिस्साका रूपमा लाहोरमा यी कदम चालिएका हुन् । सरकारले लाहोरमा सबैले मास्क लगाउनु अनिवार्य भएको बताएको छ ।

शहरमा ‘हरित लकडाउन’ को हिस्साका रूपमा ५० प्रतिशत कर्मचारीले पनि घरबाटै काम गर्नुपर्ने सरकारले बताएको छ । साथै फिल्टरबिना बार्बेक्यू गर्न प्रतिबन्ध लगाइएको छ र मोटरचालित रिक्साहरूलाई सीमित गरिएको छ । विवाह हलहरू राति १० बजे बन्द गर्नुपर्नेछ । प्रदूषणसँग लड्न कृत्रिम वर्षाको प्रयोग गरिने सम्भावना रहेको छ ।

सप्ताहन्तमा लाहोरमा वायु–गुणस्तर सूचकाङ्क एक हजार नाघेको छ । यो पाकिस्तानमा रेकर्ड उच्च हो ।भारतसँग सीमा जोडिएको पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा गत महिनादेखि वायु गुणस्तर बिग्रन थालेपछि विषाक्त खैरो धुवाँले दशौँ हजार मानिस, मुख्यतया बालबालिका र वृद्धवृद्धाहरूलाई बिरामी बनाएको छ ।

सरकारले केही क्षेत्रमा निर्माण कार्यमा पनि प्रतिबन्ध गरेको छ र धुवाँ उत्सर्जन गर्ने सवारी साधनका मालिकहरूलाई जरिवाना गरेको छ । सरकारी सूचनाअनुसार प्रदूषणका कारण विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।पञ्जाब वातावरण संरक्षण विभागका अनुसार हावामा पिएम २.५ वा सूक्ष्म कणको मात्रा ४५० नजिक पुगेको छ र यसलाई खतरनाक मानिन्छ ।

लाहोर एक समय बगैँचाहरूको शहरका रूपमा चिनिन्थ्यो र यो १६औँ देखि १९औँ शताब्दीसम्मको मुगल कालमा सर्वव्यापी थियो । यद्यपि द्रुत शहरीकरण र जनसङ्ख्या वृद्धिले हरियालीका लागि थोरै ठाउँ मात्र छोडेको छ ।

‘लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ’ – मुख्यमन्त्री सिंह

जनकपुर, १९ कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ ।

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आज आयोजित छठ लक्षित विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा उहाँले सबै खाले भेदभावविरुद्ध सद्भाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री सिंहले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकामा आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधामको छठ पर्व मौलिक र विशिष्ट रहेको बताउनुभयो । उहाँले यसलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “चाडपर्वमा सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले प्रदेश सरकारसँग समन्वय गरेर जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेका छौँ, त्यसपछि भने यहाँको अवस्था थप सुधार हुनेछ”, नगरप्रमुख साहले भन्नुभयो ।

कार्यक्रममा जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेको थियो । कार्यक्रममा सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको थियो ।

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

बागमती, १९ कात्तिक – मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, १९ कात्तिक : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिनुभयो ।

वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बिचबाटोमै रोकिएका छन् । मुस्ताङतर्फ जाने सवारी साधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारी साधनहरू भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन् ।