`

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव

वीरगञ्ज (पर्सा), १७ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

मन्त्री यादवले आज यहाँ कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरुको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताउनुभयोे । “कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु, उहाँले भन्नुभयो, ‘‘कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत्को समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।” 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “महानगरले महिला कैदीबन्दीहरुको  स्वास्थ्य र सरसफाइलगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि सहजीकरण गर्नेछ,” उहाँले भन्नुभयो । 

पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरुको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिनुभयो । कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराउनुभएको थियो ।

सरकारले एक सय दिनमा राम्रो काम गरिरहेको छ : सभापति देउवा

भक्तपुर, १७ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उहाँले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।”

प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउदै उहाँले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको उल्लेख गर्नुभयो । 

आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने उहाँको भनाइ थियो । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उहाँले उल्लेख गर्नुभयो । 

उहाँले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औल्याउनुभयो । 

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति पनि खुसी रहेको बताउदै उहाँले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने उल्लेख गर्नुभयो । 

भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा सभापति देउवाले भन्नुभयो, “भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस, एमालेको संयुक्त सरकार छ, त्यसर्थ हामी सहकार्यमा छौँ, तर वडा तहदेखि पालिका, प्रदेश र केन्द्रीय सरकारमा रहेका सबैले एमालेभन्दा राम्रो काम कसरी गर्ने भनेर काम र प्रगतिमा प्रतिस्पर्धा भइरहेको छ, त्यसैले सबै जनप्रतिनिधिदेखि मन्त्रीसम्मले राम्रो काम गरेर देखाउन पर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, पार्टीका बागमति प्रदेश सभापति इन्द्र बाँनियाँ, जिल्ला सभापति तथा सङ्घीय सांसद दुर्लभ थापा, जिल्ला नेता रबीन्द्र प्रधान, यादव अधिकारीलगायतले कांगे्रसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्नुपर्नेमा जोड दिनुभयो ।

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर, १७ कात्तिक – शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०÷५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ ।

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भैरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुराभै दुई सय २५ घनमिटरको टङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुराभै रङगरोगन,विद्युत जडानको कार्य भैरहेको छ । उभोक्ताको घर घर सम्म खानेपानी पुर्याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाईन विछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताउनु भयो । एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन विछयाउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाईन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।
वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुरयाउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगती ८० प्रतिशत रहेको छ ।

बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

दमौली (तनहुँ), १७ कात्तिक : पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबद्र्धन गर्न लागेको हो ।

चालु आर्थिक वर्षमा मुकुन्देश्वरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको निर्माण पुरातत्व विभागले र अन्य पूर्वाधार गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पूर्वाधारहरू तयार गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

यस वर्ष मुकुन्देश्वरी गढी र थानीमाई मन्दिरको डिपीआरका लागि रु छ लाख विनियोजन गरिएको थापाले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले छ लाख ५० हजार, वडा नम्बर २ बाट रु एक लाख ५० हजार विनियोजन गरेको उहाँले बताउनुभयो ।

यसअघि नै मन्दिर पुग्नका लागि सिढी, प्रतिक्षालय र बिजुली पु¥याइसकिएको छ ।

ऐतिहासिक स्थल मुकुन्देश्वरी गढी संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएको थियो । यहाँ दरबार, सङ्ग्रहालय, पार्क, दृश्यावलोकन केन्द्र लगायतका संरचनाहरू बनाउने योजना छ ।

बन्दीपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको जनविश्वास छ । यहाँ मुकुन्देश्वरी मन्दिर सहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०÷३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८÷१० फिट भन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् ।

विसं १५७५ देखि १६१० सम्म पाल्पा राज्य गरेका राजा मुकुन्दसेन विसं १५८१ १५८२ १५८३ सालमा पाल्पाबाट काठमाडौँ उपत्यका जाँदा होस् या आफ्ना राज्यका तीर्थस्थलहरुमा भ्रमण गर्न जाँदा बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी आउने गर्दथे ।

यहाँ रहेको मुकुन्देश्वरी मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किंवदन्ती रहँदै आएको छ ।

स्थानीय सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।

बन्दीपुर आउने पर्यटकहरूलाई उक्त स्थानमा पु¥याउनका लागि विभिन्न योजनाहरू सहित काम भइरहेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने योजना पनि गाउँपालिकाको छ ।

महाभारत श्रृङ्खला अन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरीदेखि माछापुछ्रे अन्नपूर्ण मनास्लु हिमचुली गणेश लाङटाङसम्मका दर्जनौं हिमशृङ्खलाहरु लगायत तनहुँ लमजुङ गोर्खा चितवन र नवलपुरका स्थानहर आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिढि चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

काठमाडौँ । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

दमौली (तनहुँ), १७ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ ।

कृषकले प्रत्येक शुक्रबार आफूले उत्पादन गरेका कृषिउपज बिक्री वितरणका हाटबजारमा ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि सामाग्री किन्न पाइएला भनेर कुर्छन् । गत वर्षको फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामान बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।

आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले हाटबजार आँबुखैरेनीको पहिचान बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताहरु कहिले शुक्रबार आउँछ र गाउँबाट आएका ताजा सामग्री किन्न पाइन्छ भनेर बस्नुहुन्छ । हाटबजारले कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ ।”

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक सुकमाया चेपाङ हाटबजार कृषि सामाग्री बजारीकरणका लागि सहयोगी बनेको बताउनुहुन्छ । “अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेका छौँ । सहज रुपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ । मैले गिठा, भ्याकुर, चिउरीलगायतका कृषिउपज बिक्री गर्ने गरेकी छु”, उहाँले सुनाउनुभयो ।

छिम्केश्वरीकै कृषक सुकबहादुर गुरुङले हाटबजारमार्फत् महले बजार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै खोसाखोस हुन्छ । बरु उत्पादन पो बढाउन सकिएको छैन ।”

गाउँपालिकाले सञ्चालन गरेकायो बजार कृषकको सहयोगी बनेको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाभित्रका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने चुमानको भनाइ छ ।

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसले गर्दा कृषकलाई कृषि पेसामा लागिराख्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ ।

नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति

काठमाडौँ, १७ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त गर्नुभयो ।

साथै राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । “लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो, हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्”, सन्देशमा भनिएको छ ।

राष्ट्रिय विभूतिसाख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत: अध्यक्ष दाहाल

काठमाडौँ, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका बताउनुभएको छ । दिपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले विविधितायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरुको मौलिक पहिचानका रुपमा रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रुपमा रहेको स्पष्ट पार्नुभयो । यसवर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गर्नभएको छ । 

तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

सुदूरपश्चिम, १७ कात्तिकः ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ ।

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नभुयो ।

व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताउनुभयो । सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उहाँको भनाइ छ । “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे । भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनार पाएको छ”, भट्टले भन्नुभयो ।

धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ । टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ ।

धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो ।

उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो । धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ ।
स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी, १७ कात्तिक : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा÷च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ ।

दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भन्नुभयो, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।”

जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन् ।

गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौँ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उनले भने, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।”

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

साता दिनपछि चिसो बढ्ने सम्भावना

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उनले भने, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”

शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।

काठमाडौँमा वायु प्रदूषण बढ्यो, कारण के ?

काठमाडौँ, १७ कात्तिक: नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ ।

एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् ।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरु उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताउनुभएको छ । “दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,” उहाँले भन्नुभयो, “अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ ।”

पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

उनीहरुले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थामा भनिएको छ,“कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।”

सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ । उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । (ख) मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु पचास हजारसम्म जरिबाना र (ग) मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा रु तीस हजारसम्म जरिवानाको व्यवस्था छ ।

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ? हेर्नुहोस्

काठमाडौँ, १७ कात्तिक: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो । गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।

घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान सेप्टेम्बर १ मा सुरु भएको हो । 

पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा गरियो र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण अक्टोबर १४ मा अनुसूचीअनुसार सुरु भयो । युद्धमा मानवीय विरामको सहययोगमा पहिले केन्द्रीय गाजामा र त्यसपछि दक्षिणमा खोप अभियान सुरु भएको हो ।

तथापि डब्लुएचओले ‘तीव्र बमबारी’ का कारण जमिनी अवस्था ‘असम्भव’ भएकाले अक्टोबर २३ मा सुरु हुन लागेको उत्तरमा अन्तिम चरण स्थगित ग¥यो । हमास लडाकुहरूलाई त्यहाँ पुनः सङ्गठित हुन नदिने उद्देश्यले इजरायलले गत महिना उत्तरी गाजामा ठूलो हवाई र स्थल आक्रमण सुरु ग¥यो ।

“उत्तरी गाजामा पोलियो खोप भोलि पुनः सुरु हुन तयार छ”, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले शुक्रबार सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी गाजा सहरमा खोप अभियान गर्न आवश्यक मानवीय विरामको बारेमा आश्वस्त छौँ, दुर्भाग्यवश कभर गरिएको क्षेत्र पहिलो खोप चरणको तुलनामा उल्लेख्य रूपमा घटाइएकाले केही बालबालिकालाई असुरक्षित र सङ्क्रमणको उच्च जोखिममा छोड्नेछ ।”

उत्तरमा खोपहरू स्थगित गर्नुको आफ्नो मूल कारणमा संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले मानवीय विरामका लागि अनुमोदित क्षेत्र गाजा सहर मात्र सीमित रहेको बताएको थियो । 

यसको अर्थ धेरै बालबालिकाहरूले आफ्नो दोस्रो खुराक छुटाउनेछन् । यसले गाजामा पोलियोभाइरसको संचरणलाई रोक्ने प्रयासलाई ‘गम्भीर रूपमा खतरामा’ पार्नेछ ।

गत शुक्रबार प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिक पीपरकोर्नले केन्द्रीय र दक्षिणी गाजामा चार लाख ५२ हजार बालबालिकालाई खोप लगाइएको र उत्तरमा एक लाख १९ हजार बालबालिका आफ्नो दोस्रो खुराकको प्रतीक्षामा रहेको बताउनुभयो ।

डब्लुएचओका अनुसार मौखिक खोपको न्यूनतम दुई अलग–अलग खुराकहरू पोलियोभाइरस संचरणलाई रोक्न आवश्यक छन् । यसका लागि एउटै समुदायमा १० वर्षमुनिका सबै बालबालिकाको ९० प्रतिशतले खोप लगाउनुपर्छ ।

सामान्यतया ढल र प्रदूषित पानीद्वारा फैलिने पोलियोभाइरस अत्यधिक सङ्क्रामक हुन्छ । यसले विकृति र पक्षाघात ल्याउन सक्छ र मुख्य रूपमा पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्दै यो सम्भावित रूपमा घातक हुन्छ ।

–––

‘संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने’ : मुख्यमन्त्री कार्की

मोरङ, १६ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताउनुभएको छ ।

मुख्यमन्त्री निवासमा आज मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखि एक सुत्रमा बाँध्न सहयोग पुगेको बताउनुभयो । 

उहाँले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले ती कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गर्नुभयो । भारतीय पर्यटकलाई लक्षित गरी झापाको काँकडभिट्टा र विराटनगरको पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षसहितको जानकारी दिन सूचना केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । प्रदेश सरकारले अघिसारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । 

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

काठमाडौँ, १६ कात्तिक : गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताउनुभएको छ । ‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

“कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उहाँले भन्नुभयो ।

एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताउनुभयो । “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उहाँले भन्नुभयो ।

बागमती प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

बागमती, १६ कात्तिक : बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाति, सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारका गरी १७ हजार आठ सय ३१ परिवारको स्वास्थ्य बिमा गराएको हो ।

बिमा गराएकाहरूको प्रिमियमबापत हालसम्म बिमा कम्पनीलाई रु छ करोड २५ लाख ९३ हजार पाँच सय ५० भूक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रविन भुषालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी दोलखा जिल्लामा तीन हजार ४५२ परिवारको स्वास्थ्य बिमा भएको छ भने सबैभन्दा कम मकवानपुर जिल्लामा १०१ परिवारको स्थास्थ्य बिमा भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चितवनमा तीन हजार १२७ परिवार, सिन्धुपाल्चोकमा दुई हजार ५९८ परिवार, धादिङमा एक हजार ५९३ परिवार, काभ्रेपलाञ्चौकमा एक हजार ५४९ परिवार, काठमाडौँमा एक हजार २०६ परिवार, रामेछापमा एक हजार २९० परिवार, ललितपुरमा नौ सय ४८ परिवार, नुवाकोटमा नौँ सय ३ परिवार, सिन्धुलीमा ६४९ परिवार, रसुवामा दुई सय २५ परिवार र भक्तपुरमा एक सय ५ परिवारको स्वास्थ्य बिमा गरिएको छ ।

चार जना सदस्य भएको परिवारले रु तीन हजार र सात जना सदस्य रहेको परिवारले रु तीन हजार ५०० बार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गराइएकामध्ये महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारको बिमा बापतको प्रिमियम रकममा ५० प्रतिशत सङ्घीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताउनुभयो ।

लोपोन्मुख जाती, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गताको प्रिमियम बापतको सम्पूर्ण रकम भने प्रदेश सरकारले बिमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था रहेको डा भुषालले बताउनुभयो ।

प्रत्येक स्थानी तहको वडामा खटिएका दत्र्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बिमा गर्ने गरिएको उहाँको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भएका अस्पतालबाट बिमा गराएको परिवारले वर्षमा रु एक लाखसम्मको निःशुल्क औषधोचार पाउने गरेका छन् । आयश्रोत कमजोर भएर बिमाको प्रिमियम बुझाउनै नसक्ने परिवारको स्वास्थ्य बिमा गराएर प्रदेश सरकारले लोकप्रिय काम गरेको स्थानीयको भनाइ छ ।

रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ ।

“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो ।

युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गर्नुभएको छ । एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो ।

अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताउनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताउनुभएको छ।

जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ ।
लिनले भन्नुभयो, “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन ।”

चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–प्रदान

चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स ९यूएई० का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार दुई देशको कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना सन्देश आदान –प्रदान गर्नु भएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन र संयुक्त अरब इमिरेट्स असल मित्र रहेकाले एक अर्कालाई विश्वास गरी द्धिपक्षिय सहयोगका लागि असल साझेदार रहने बताउनु भएको छ ।

उहाँका अनुसार कूटनीतिक सम्बन्ध स्थापना भएदेखि चीन–संयुक्त अरब इमिरेट्सले राजनीतिक विश्वास, विकास र रणनीतिको तालमेल गर्दै विभिन्न क्षेत्रमा सहयोग, सांस्कृतिक आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा समन्वय कायम राखेको छ ।

सीले गत मे महिनामा मोहम्मदको चीन भ्रमणको क्रममा दुई राष्ट्र प्रमुखहरू सहमतिमा अर्को चरणमा चीन–युएई सम्बन्ध विकास गर्ने मार्ग तय गरेकोसमेत जनाउनु भएको छ ।

सीले चीन–युएई सम्बन्धलाई आत्मसाथ गर्दै कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवको सन्दर्भमा मोहम्मदसँग थप काम गर्न तयार रहेको जनाउनु भएको छ ।

आफ्नो सन्देशमा युएईका राष्ट्रपतिले युएई–चीन कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिँदै दुई देशको निरन्तर विकास र समृद्धिका साथै विभिन्न क्षेत्रमा थप सहयोगको कामना गर्नु भएको छ ।

युएईले सँधै दुवै देशका जनताको फाइदाका लागि युएई–चीन बीच रणनीतिक साझेदारीलाई सुदृढ गर्दै विकास गर्न प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ ।

सोही अवसरमा चिनियाँ प्रधानमन्त्री ली किआङ र युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले पनि बधाई तथा शुभकामना सन्देश आदान प्रदान गर्नु भएको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्धको वर्षगाँठ दुई देशका राष्ट्र प्रमुख बीचको सहमति कार्यान्वयन गर्ने अवसर भन्दै चीन–युएई रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन संयुक्त अरब इमिरेट्ससँग काम गर्न चीन इच्छुक रहेको बताउनु भएको छ ।

बधाई तथा शुभकामना सन्देशमा मोहम्मदले युएईले चीनसँग द्विपक्षीय सम्बन्ध सुदृढ बनाइ विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको उल्लेख गर्नु भएको छ ।

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित

बैतडी, १६ कात्तिकः नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो । मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे । सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २÷२ विकेट हात पारे । 

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे ।

मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । मधेश भने चौथो स्थानमा छ ।

यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ, १६ कात्तिकः काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताउनुभयो । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।  

कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ । 

कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो ।  किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ । 

गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

काठमाडौँ, १६ कात्तिकः यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।

गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग÷सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरुले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय÷निकायहरुमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ ।”

यसअघि यातायात व्यवसायीहरुले अवैध रुपमा कर लिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराएका थिए ।

नेपाल यायातायत व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यही कात्तिक ८ गते यातायात मन्त्रालयलाई स्थानइि सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो ।

सोही पत्रका आधारमा मन्त्रालयले यही कात्तिक ११ गते गृहमन्त्रालयलाई पत्राचार गरेकोमा कात्तिक १२ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरु पत्राचार गरेको हो ।

सिटौलाले देशका विभिन्न पालिकाहरुले सरकारले रोकेको कर उठाउने कार्य पालिकाहरुले जारी राखेको पाइएपछि उक्त कार्य रोक्न माग भएअनुसार गृहबाट आवश्यक निर्देशन गएकाले रोकिने आशा रहेको बताउनुभयो ।

विसं २०७५ सालको मन्त्रिपरिषद बैठकले कर उठाउने कार्य रोक्ने निर्णय गरेको थियो । उक्त निर्णय इकार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्य योजना बनाएर लागू पनि गरिसकेको छ ।

आज देशभर मौसम अनुकूल रहने

काठमाडौँ, १६ कात्तिकः देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध छ ।

मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

इनरुवा (सुनसरी), १६ कात्तिक : “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै आज लक्ष्मी पूजा मनाइएको छ ।

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको इनरुवा–३ का मिथलेश झाले बताउनुभयो । इनरुवा, कोशी, हरिनगर, धरान, इटहरी, देवानगञ्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मी पूजा गरेको हरिनगरका चन्दन मेहताले बताउनुभयो ।

सनपाटबाट निकालिएको सनठी र खडको प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ । मिथला क्षेत्रका व्यक्तिले हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मी पूजाको रातिमा खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा–३ का चन्द्रमोहन झाले बताउनुभयो । हुक्कापाती खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ । हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ ।

हुक्कापाती खेलिसकेपछि पूजाकोठामा जलेको सनठी ल्याएर राख्ने चलन रहेको झाले बताउनुभयो । हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय सहरी क्षेत्रमा बस्ने मैथली समुदायले कम खेल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यसका चलन अझै पनि ग्रामीण क्षेत्रमा छ । विषेशगरी वृद्धवृद्धाले यसको संरक्षण गर्दै आएका छन्भने युवापुस्ताको ध्यान यसप्रति घट्दै गएको छ । हुक्कापाती विषेश गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेको छ ।

पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्का पाती मनाउँदै आएको छ । हुक्का पातीको मिथला क्षेत्रमा बसोबास गर्ने मैथली समुदायमा विषेश महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुक्कापाती सुनठीको अभाव र युवापुस्तामा पर्वको विषयमा जागरुकता ल्याउनका लागि यसलाई निरन्तरता दिँदै आएको इनरुवाका गौतम यादवले बताउनुभयो । त्यसैले आफ्नो संस्कृतिको संरक्षणका लागि सबैको ध्यान जान आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने

जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृ त्युद ण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा इरानी वाणिज्य दूतावास बन्द गर्ने जानकारी दिनुभएको हो ।

“हामीले तेहरानलाई पटक–पटक स्पष्ट रुपमा भनिसकेका छौ जर्मन नागरिकको मृत्युदण्डले गम्भीर परिणाम भोग्नुपर्नेछ,” बेयरबोकले फ्रयाङ्कफर्ट, म्युनिख र ह्याम्बर्गमा रहेका वाणिज्य दूतावासहरू बन्द गर्ने घोषणापछि पत्रकारसँगको कुराकानीमा बताउनुभयो ।

चान्सलर ओलाफ स्कोल्जले यसलाई ‘हत्या प्रकरण’ को संज्ञा दिनुभएको छ भने यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सङ्कट निम्त्याएको छ ।

बेयरबोकले भन्नुभयो, “मध्यपूर्वको पछिल्लो घटनाक्रमको आलोकमा यो हत्या भएको तथ्यले इरानको तानाशाही, अन्यायपूर्ण शासनलाई देखाउँछ। यसले सामान्य कूटनीतिक तर्कअनुसार काम गर्दैन।”

उहाँले भन्नुभयो, “हाम्रो कुटनीतिक सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा पुगिसकेको पछिल्लो घटनाले पुष्टि गरेको छ।”

विदेश मन्त्रालयका अनुसार बाणिज्य दूताबास बन्दले कूल ३२ कन्सुलर कर्मचारीप्रभावित हुनेछन् ।

बेयरबोकले जर्मनीले तेहरानस्थित हाम्रो कूटनीतिक च्यानल र दूतावासलाई निरन्तरता दिने बताउनुभयो ।

घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

गुल्मी, १६ कात्तिकः जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन् ।

उहाँहरू दसैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिलो सवारीसाधनमार्फत बेलाउती (अम्बा) बिक्री गर्न सदरमुकाम तम्घास आउने दैनिकीजस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरि अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन् ।

गाउँमा यतिबेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन् । गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताउनुभयो ।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउनका लागि सदरमुकाम तम्घाससम्म आइपुगेको बताउनुहुन्छ । सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उहाँहरूले बताउनुभयो । “भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अबस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौंँ”, राधिका मुखियाले भन्नुभयो ।

राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक रु पाँच सयदेखि आठ सयसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । एक दाना अम्बा रु दुईदेखि तीनमा बिक्री हुने गर्छ । बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो”, मुखियाले भन्नुभयो । सहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ । तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर बेलाउती (अम्बा) बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक

जलेश्वर (महोत्तरी), १६ कात्तिक : तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताउनुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।

जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु छ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताउनुभयो ।

त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु छ सयमा कारोबार गरेको बताउनुभयो । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु एक सय ६६ तिर्नुपरेको बताउनुभयो ।

त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु एक सय ६६ लिएका छन्भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु एक सय ६६ लिने गरेका छन् ।

बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु छसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार छ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु सात–आठसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् ।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला, १६ कात्तिक : यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।

त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

‘आज तिहारको कुनै पर्व छैन’ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ, १६ कात्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँले सुनाउनुभयो । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो ।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उहाँको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ ।

लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

काठमाडौँ, १६ कात्तिक : नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिन्छ । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ ।

काठमाडौँ उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ ।

पसलमा आगलागी, चार लाखको क्षति

यसैगरी काठमाडौँ महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हँुदा रु चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो ।

“देशमा विकास भएको छ, राम्रा काम भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर, विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।”

प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्कने बताउनुभयो । उहाँले भन्नुभयो, “निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ । गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ, तर, मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।”

सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरुप कामलाई तीव्रताका साथ अगाडि बढाउछ”, उहाँले भन्नुभयो । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

तिहारका अवसरमा विगतका वर्षमा जस्तै सिस्नोपानी नेपालले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको हो । देउसी कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो ।

सिस्नोपानी नेपालले समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै देउसी कार्यक्रम आयोजना गर्ने गरेको छ । सो अवसरमा हास्यकलाकार मनोज गजुरेललगायतको समूहले विशेष प्रस्तुति प्रस्तुत गरेको थियो ।

मध्यपूर्वको द्वन्द्वले ‘दीर्घ असर’ गर्ने आइएमएफको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गाजा, लेबनान र सुडानले आफ्नो भूमिमा जारी द्वन्द्वले छोड्ने आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने बताएको छ ।

गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले चालेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो ।

“यी द्वन्द्वका कारण भएको क्षतिले दशकौंसम्म यसको केन्द्रविन्दुमा चिरकालीन असर छोड्नेछ,” कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आएमएफले सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने बताएको छ । यो प्रक्षेपण कोषले यस पहिले गरेको प्रक्षपणको तुलनामा ०.६ प्रतिशतले कमी हो ।

सेप्टेम्बरमा तयार पारिएको आईएमएफको क्षेत्रीय आर्थिक प्रभाव समीक्षा रिपोर्टअनुसार द्वन्द्वका कारण आगामी वर्षको यस क्षेत्रको आर्थिक वृद्धिदर ४.० प्रतिशतमा सीमित हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मध्यपूर्व तथा मध्य एशिया विभागका निर्देशक जेहाद अजौरले दुबईमा पत्रकारसँग भन्नुभयो, “यो वर्ष द्वन्द्वले विनाशकारी मानवीय पीडा र दीर्घकालीन आर्थिक क्षति पु¥याएको छ ।”

उहाँले भन्नुभयो, “लेबनानमा पछिल्लो समय भएको द्वन्द्वका वृद्धिले सम्पूर्ण मेना क्षेत्रमा अनिश्चितता बढाएको छ।”

लेबनानको इजरायलसँग यस महिना तीव्र रूपमा द्वन्द्व बढेका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले लेबनानका लागि गरेको पूर्वानुमानलाई स्थगित गरिएको जनाएको छ। तर ‘परम्परागत’ अध्ययनले यो वर्ष ९.० देखि १० प्रतिशतले सङ्कुचन आएको छ।

“यसको असर (लेबनानमा) गम्भीर हुनेछ र यो द्वन्द्व कहिलेसम्म रहन्छ भन्नेमा निर्भर रहनेछ,” लेबनानका पूर्व अर्थमन्त्रीले भन्नुभयो।

“ओपेक प्लस कार्टेलमार्फत साउदी अरबको नेतृत्वमा मूल्य वृद्धि गर्ने उद्देश्यले गरिने तेल कटौतीले ‘धेरै अर्थव्यवस्थाहरूमा निकट अवधिको सुस्त वृद्धिमा योगदान पुर्याइरहेको छ’,” आईएमएफले भनेको छ।

वस्तुको मूल्यमा उतारचढाव, द्वन्द्व र जलवायु परिवर्तनजस्ता नकारात्मक जोखिमहरू हावी रहेको अन्तराष्ट्रिय ऋण प्रदायक संस्थाले बताएका छन्।

ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने

अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

फिलाडेल्फियाीसथत अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिनुभएको हो ।

फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गर्नुभएको थियो।

न्यायाधीश एनी मेरी कोयलले भन्नुभयो, “सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।”

मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहनुभएको छ र अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहनुभएको छ भने राज्यहरूमा अरूलाई मतदान गर्न रिफर गर्नेहरूलाई ४७ डलर दिइरहनुभएको छ ।

स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पार्नुभएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई आफ्नो व्यक्तिगत सहयोग ११ करोड ८० लाख अमेरिकी डलर सहयोग गर्नुभएको छ ।

पेन्सिलभेनियामा आयोजित चुनावी ¥यालीमा ट्रम्पसँगै मस्क पनि मञ्चमा देखा पर्ने गर्नुभएको छ ।

यसअघि बाराक ओबामालाई समर्थन गरेका मस्कले एक्समा दैनिक २० करोड २० लाख ‘फलोअर्स’ छन् ।

सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार परीक्षण गरिने

काठमाडौँ, १५ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्नेभएको छ ।

मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मातृशिशु अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा ती परीक्षण गरिने छ । विश्वमा छ प्रतिशत बालबालिकामा जन्मिना साथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते

अछाम, १५ कात्तिकः अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उहाँका छोरा छ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ । घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ ।

गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।

थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने

काठमाडौँ, १५ कात्तिकः थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ ।

यही कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

कम्पनीलाई सातामा काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वत रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ ।

“नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौँबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ । ‘एप्रुभल सेड्युल’ अनुसार काठमाडौँ र भैरहवासँगै उडान गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिनुभयो ।

बिना अनुमति थाइल्याण्डबाट काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँ विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो ।

थाइ एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो ।

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

गलेश्वर (म्याग्दी) १५ कात्तिकः तिहारको दोस्रो दिन आज कुकुर तिहार । मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ ।

कुकर मानव सभ्यतादेखिनै मानवसँग अत्यन्त नजिक बफादार जीव मानिन्छ । वैदिककालमा समेत कुकुरको महत्वपूर्ण भूमिका हुनेगरेको शास्त्रमा वर्णन गरिएको छ । त्यसैगरी चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।

आधुनिक युगमा पनि कुकुरलाई बफादार जीव मानेर मानिसले जङ्गलदेखि सहरका महलको सुरक्षा गर्ने र प्रहरी वा सेनाले पनि अनुसन्धानमा प्रयोग गर्दै आएका छन् । 

म्याग्दीका लेकाली जङ्गल र खर्कहरुमा भेडाबाख्राको रक्षा गर्नेदेखि लिएर गाउँ सहरमा घरको सुरक्षाका लागि कुकर पाल्ने चलन छ । 

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका टेकबहादुर तिलिजा वर्षौदेखि लेकाली क्षेत्रमा लगिएका भेडिगोठको सुरक्षाका लागि कुकुरको प्रयोग गदैै आउनुभएको छ ।

विगत सात वर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालको गोठमा रहेका करिब छ सय वटा भेडाबाख्राको सुरक्षाका लागि पालिएका छ वटा कुकुरले जङ्गली खर्कहरुमा भेडाबाख्राको सुरक्षा गरिरहेका छन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जङ्गली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालालाई सङ्केत गर्ने काम कुकुरले गर्ने उहाँको भनाइ छ ।

“कुकुर भएपछि वनको बीचमा रहेको गोठमा हामी रातभरी ढुक्कले सुत्न पाउछौँ, भेडाबाख्रा पनि सरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “बिहान कुकुरलाई खाना दिएपछि छोड्दियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउछन् ।”
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यावसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ । गोठ वन जङ्गलको बीचमा हुने र गोठालाहरु पनी कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टेकबहादुर तिलिजा पनि लेकाली खर्क र घना जङ्गलमा भेडाबाख्रा चराउन महिनौंसम्म एक्लै बस्ने गर्नुहुन्छ  । करिब ५० वर्षदेखि भेडाबाख्रा पाल्दै आउनुभएका  ६९ वर्षीय तिलिजाको जङ्गल र खर्कका साथी कुकुर हुन् । 

भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तिलिजाले दुई वटा ‘भोटे कुकुर’ पाल्नुभएको छ । फिरन्ते शैलीमा भेडाको गोठ सार्दै लेक–बेशी गर्ने तिलिजा कुकुरनै आफ्नो साथी भएको बताउनुहुन्छ ।

“झरी, बादल, हिउँद, बर्खा केही नभनी एक्लै गोठमा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “दिन–रातसँगै हुने कुकुरले म र भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउँछ ।” तिलिजाले करिब तीनसय वटा भेडाबाख्रा पाल्नुभएको छ । ती भेडाबाख्राको सुरक्षा गर्ने जिम्मा कुकुरलाई नै सुम्पिएको उहाँले बताउनुभयो । 

पाउद्धारकै कमल तिलिजाले पनि चरनका लागि खर्क र हिमालको फेदीमा लैजाने भेडाबाख्राको सुरक्षाका लागि दुईवटा कुकुर पाल्नुभएको छ । ती कुकुरले गोठको वरपर रुगेर  भेडाबाख्राको सुरक्षा गर्न पहरा दिन्छन् । 

“जङ्गली जनावर र चोर आएको थाहा पाएपछि कुकुरले भुकेर सङ्केत गर्छ”, तिलिजाले भन्नुभयो,   “भगाउन नसके भीड्न पनि तयार हुन्छन् ।”

म्याग्दीका अधिकांश भेडाबाख्रा पालक कृषकको पशुधनको सुरक्षा गर्न कुकुरको महत्वपूर्ण योगदान छ । भेडाबाख्रा गोठका लागि कुकुर अनिवार्य आवश्यकता हो । ठूला शरीर भएका देख्दै डरलाग्दा कुकुर गोठमा पालेपछि चोरले आँट गर्दैनन् । बस्तीदेखि टाढाको घना जंगल भेडाबाख्राको चरन क्षेत्र हो ।

जङ्गलमा चितुवा, ब्वासो र स्यालले भेडाबाख्रालाई आक्रमण गरेर घाइते बनाउने र मार्ने जोखिम हुन्छ । ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन् । अनकन्टार जङ्गल, भीर, पाखामा भेडाबाख्राको सुरक्षा गर्न कुकुर अत्यन्तै भरपर्दो साथी भएको गोठाला प्रेमबहादुर तिलिजा मगरले बताउनुभयो ।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुँदै आएको व्यवसायीयको भनाइ छ । घुम्ती चरनबाट पाल्दै आएका व्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ । 

मनिसलाई हेरालु राख्दा खर्च बढी हुने र जङ्गली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउनुहुन्छ ।